सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय ३

परमेश्‍वरलाई प्रेम गर्नेहरूलाई साथी बनाउनुहोस्‌

परमेश्‍वरलाई प्रेम गर्नेहरूलाई साथी बनाउनुहोस्‌

“बुद्धिमान्‌सित हिँड्‌ने मानिस बुद्धिमान्‌ हुन्छ।”—हितोपदेश १३:२०.

१-३. (क) हितोपदेश १३:२० बाट के सिक्न सक्छौँ? (ख) हामीले किन बुद्धिमानीपूर्वक साथी रोज्नुपर्छ?

शिशुले आफ्नो आमाबुबालाई ध्यान दिएर नियालिरहेको के तपाईँले याद गर्नुभएको छ? बोली फुट्‌नुअघि नै उसले आफूले देखेको र सुनेको कुराबाट धेरै कुरा सिक्छ। हुर्कँदै जाँदा उसले आमाबुबाको नक्कल गर्न थाल्छ। वयस्कहरू पनि जोसित धेरै समय बिताउँछन्‌, तिनीहरूजस्तै सोच्न र व्यवहार गर्न थाल्छन्‌।

हितोपदेश १३:२० भन्छ: “बुद्धिमान्‌सित हिँड्‌ने मानिस बुद्धिमान्‌ हुन्छ।” यस पदमा चलाइएको कसैसित ‘हिँड्‌नु’ भन्‍ने अभिव्यक्‍तिले उक्‍त व्यक्‍ति र तपाईँ सँगै हुनुलाई मात्र बुझाउँदैन बरु तिनीसित समय बिताउनुलाई पनि बुझाउँछ। एक बाइबलविद्‌अनुसार कसैसित हिँड्‌नु भनेको उसलाई प्रेम गर्नु र ऊसित नजिक हुनु हो। हामी जोसँग धेरै समय बिताउँछौँ, उसैको प्रभाव हामीमा धेरै पर्छ। विशेषगरि उक्‍त व्यक्‍तिसित हामी घनिष्ठ छौँ भने अझ धेरै प्रभाव पर्छ।

साथीहरूले हामीलाई सकारात्मक वा नकारात्मक प्रभाव पार्न सक्छन्‌। हितोपदेश १३:२० को बाँकी भाग यसो भन्छ: “मूर्खसित सङ्‌गत गर्ने मानिसले दुःख भोग्छ।” परमेश्‍वरलाई प्रेम गर्ने व्यक्‍तिलाई साथी बनायौँ भने तिनीहरूले हामीलाई परमेश्‍वरप्रति वफादार रहन प्रोत्साहन दिनेछन्‌। हामी कसरी बुद्धिमानीपूर्वक साथी रोज्न सक्छौँ? यसको जवाफ पाउन यहोवा कस्तो व्यक्‍तिलाई आफ्नो साथी बनाउनुहुन्छ, छलफल गरौँ।

परमेश्‍वरका साथीहरू को हुन्‌?

४. परमेश्‍वरको साथी हुन पाउनु किन सम्मानको कुरा हो? यहोवाले अब्राहामलाई किन “मेरो मित्र” भन्‍नुभयो?

ब्रह्‍माण्डकै सर्वोच्च परमेश्‍वर यहोवाले हामीलाई उहाँको साथी बन्‍ने मौका दिनुभएको छ। यो हाम्रो लागि ठूलो सम्मानको कुरा हो। यहोवा जो-कोहीलाई आफ्नो साथी बनाउनुहुन्‍न। उहाँलाई प्रेम गर्ने र उहाँमाथि विश्‍वास गर्नेहरूलाई उहाँ साथी बनाउनुहुन्छ। अब्राहामलाई विचार गरौँ। तिनी परमेश्‍वरको लागि जे पनि गर्न तयार थिए। यहोवाप्रति वफादार र आज्ञाकारी भएको कुरा तिनले बारम्बार देखाए। तिनी आफ्नो छोरालाई बलि चढाउनसमेत तयार भए। “परमेश्‍वरले इसहाकलाई मृत्युबाट समेत ब्युँताउन सक्नुहुन्छ” भन्‍ने कुरामा अब्राहाम विश्‍वास गर्थे। (हिब्रू ११:१७-१९; उत्पत्ति २२:१, २, ९-१३) तिनी वफादार र आज्ञाकारी भएकोले यहोवाले तिनलाई “मेरो मित्र” भन्‍नुभयो।—यसैया ४१:८; याकुब २:२१-२३.

५. आफूप्रति वफादार हुनेहरूलाई यहोवा कस्तो ठान्‍नुहुन्छ?

यहोवा आफ्ना साथीहरूलाई अनमोल ठान्‍नुहुन्छ। उहाँका साथीहरूको लागि उहाँप्रति वफादार हुनु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। (२ समुएल २२:२६ पढ्‌नुहोस्‌) तिनीहरू उहाँलाई प्रेम गर्छन्‌, त्यसैले तिनीहरू उहाँप्रति वफादार र आज्ञाकारी हुन्छन्‌। “सोझो मानिस” अर्थात्‌ परमेश्‍वरको आज्ञा मान्‍नेहरूलाई “उहाँ आफ्नो मित्र बनाउनुहुन्छ” भनेर बाइबल बताउँछ। (हितोपदेश ३:३२) यहोवा आफ्ना साथीहरूलाई आफ्नो “पालमा” विशेष अतिथि हुन निम्तो दिनुहुन्छ। उहाँ तिनीहरूलाई उहाँको उपासना गर्ने र जुनसुकै समयमा प्रार्थना गर्ने सुअवसर दिनुहुन्छ।—भजन १५:१-५.

६. येसुलाई प्रेम गरेको कसरी देखाउन सक्छौँ?

येसुले यसो भन्‍नुभयो: “यदि कसैले मलाई प्रेम गर्छ भने उसले मेरो वचन पालन गर्नेछ र मेरो बुबाले उसलाई प्रेम गर्नुहुनेछ।” (युहन्‍ना १४:२३) त्यसैले यहोवाको साथी बन्‍न हामीले येसुलाई पनि प्रेम गर्नुपर्छ र उहाँले सिकाउनुभएको कुरा पालन गर्नुपर्छ। जस्तै: सुसमाचार प्रचार गर्ने र चेला बनाउने। (मत्ति २८:१९, २०; युहन्‍ना १४:१५, २१) हामी येसुलाई प्रेम गर्छौँ, त्यसैले ‘उहाँको पाइला राम्ररी पछ्याउँछौँ।’ (१ पत्रुस २:२१) हामीले आफ्नो बोली अनि व्यवहारद्वारा येसुको अनुकरण गर्न सक्दो गरेको देख्दा यहोवालाई खुसी लाग्छ।

७. हामीले किन यहोवाका साथीहरूलाई आफ्नो साथी बनाउनुपर्छ?

यहोवाका साथीहरू विश्‍वासी, वफादार र आज्ञाकारी हुन्छन्‌ अनि उहाँको छोरालाई प्रेम गर्छन्‌। यहोवा जस्तो व्यक्‍तिलाई साथी बनाउनुहुन्छ, के हामी पनि त्यस्तै व्यक्‍तिलाई साथी बनाउँछौँ? तपाईँका साथीहरू येसुको अनुकरण गर्छन्‌ र परमेश्‍वरको राज्यबारे अरूलाई सिकाउन मेहनत गर्छन्‌ भने तिनीहरूले तपाईँलाई अझ राम्रो व्यक्‍ति बन्‍न र यहोवाप्रति वफादार रहन मदत गर्नेछन्‌।

बाइबलका उदाहरणबाट पाठ सिक्नुहोस्‌

८. रुथ र नाओमीको मित्रताको कुन कुरा तपाईँलाई मन पऱ्‍यो?

बाइबलमा धेरै मानिसको मित्रताबारे उल्लेख गरिएको छ। जस्तै: रुथ र उनकी सासू नाओमीको मित्रता। यी दुवै स्त्रीको देश र पृष्ठभूमि फरक थियो। नाओमी उमेरमा रुथभन्दा निकै पाको थिइन्‌। तैपनि उनीहरू घनिष्ठ साथी बने किनभने उनीहरू दुवै यहोवालाई प्रेम गर्थे। नाओमी मोआब छोडेर इस्राएलमा फर्कन लाग्दा ‘रुथले नाओमीलाई छोडिनन्‌।’ रुथले नाओमीलाई भनिन्‌: “तपाईँका मानिसहरू मेरा मानिसहरू हुनेछन्‌ अनि तपाईँका परमेश्‍वर मेरा परमेश्‍वर हुनुहुनेछ।” (रुथ १:१४, १६) रुथ नाओमीसित कोमल व्यवहार गर्थिन्‌। इस्राएलमा पुगेपछि रुथले आफ्नी साथी नाओमीको ख्याल राख्न धेरै मेहनत गरिन्‌। नाओमी रुथलाई धेरै माया गर्थिन्‌। तिनी रूथलाई राम्रो सल्लाह दिन्थिन्‌ र रुथ पनि तिनको कुरा मान्थिन्‌। परिणामस्वरूप, उनीहरू दुवैले थुप्रै आशिष्‌ पाए।—रुथ ३:६.

९. दाउद र जोनाथनको मित्रताको कुन कुरा तपाईँलाई मन पऱ्‍यो?

दाउद र जोनाथनको मित्रता पनि उल्लेखनीय छ। तिनीहरू दुवै यहोवाप्रति वफादार थिए। जोनाथन दाउदभन्दा लगभग ३० वर्ष जेठा थिए र इस्राएलका भावी राजा थिए। (१ समुएल १७:३३; ३१:२; २ समुएल ५:४) तर परमेश्‍वरले दाउदलाई राजा हुन रोज्नुहुँदा जोनाथनले ईर्ष्या गरेनन्‌ न त दाउदलाई आफ्नो प्रतिस्पर्धी सम्झे। बरु दाउदलाई साथ दिन सकेजति गरे। जस्तै: दाउद खतरामा पर्दा जोनाथनले उनलाई “यहोवा परमेश्‍वरमाथिको भरोसा अझ बलियो बनाउन हौसला दिए।” दाउदको लागि तिनले आफ्नो ज्यानै जोखिममा पारे। (१ समुएल २३:१६, १७) दाउद पनि वफादार साथी थिए। उनले जोनाथनको परिवारको हेरविचार गर्ने वाचा गरे। जोनाथनको मृत्युपछि पनि उनले आफ्नो वाचा पूरा गरे।—१ समुएल १८:१; २०:१५-१७, ३०-३४; २ समुएल ९:१-७.

१०. तीन हिब्रू युवकबाट तपाईँले मित्रताबारे के सिक्नुभयो?

१० तीन हिब्रू युवक सद्रक, मेसक र अबेद्‌नेगोलाई कलिलै उमेरमा बेबिलोन लगियो। परिवारदेखि टाढा भए तापनि तिनीहरूले एकअर्कालाई यहोवाप्रति वफादार रहिरहन मदत गरे। पछि वयस्क हुँदा तिनीहरूको विश्‍वासको जाँच भयो। राजा नबुकद्‌नेजरले सुनको मूर्तिलाई पुज्न आदेश दिए। सद्रक, मेसक र अबेद्‌नेगोले त्यसो गर्न इन्कार गरे र राजालाई यसो भने: “न हामी हजुरका देवताहरूलाई पुज्नेछौँ न त हजुरले स्थापना गर्नुभएको त्यस सुनको मूर्तिलाई ढोग्नेछौँ।” विश्‍वासको जाँच हुँदा ती तीन साथी यहोवाप्रति वफादार रहे।—दानिएल १:१-१७; ३:१२, १६-२८.

११. पावल र तिमोथि कसरी घनिष्ठ साथी भए?

११ प्रेषित पावलले तिमोथिलाई भेट्‌दा तिमोथि जवान थिए। तिनी यहोवालाई प्रेम गर्ने र मण्डलीको ख्याल राख्ने व्यक्‍ति रहेछन्‌ भनेर पावलले याद गरे। त्यसैले पावलले तिनलाई विभिन्‍न ठाउँका ख्रिष्टियनहरूलाई मदत गर्न तालिम दिए। (प्रेषित १६:१-८; १७:१०-१४) तिमोथिको लगनशीलता देखेर पावलले यसो भने: “सुसमाचार फैलाउनमा तिनले मसँगै परिश्रम गरे।” तिमोथिले “साँचो चासो” राखेर दाजुभाइ दिदीबहिनीलाई मदत गर्नेछन्‌ भनेर पावललाई थाह थियो। पावल र तिमोथि सँगै मिलेर जोडतोडले यहोवाको सेवामा लाग्दा घनिष्ठ साथी भए।—फिलिप्पी २:२०-२२; १ कोरिन्थी ४:१७.

साथीहरू कसरी रोज्न सक्छौँ?

१२, १३. (क) मण्डलीभित्रै पनि साथी रोज्दा किन विचार पुऱ्‍याउनुपर्छ? (ख) पहिलो कोरिन्थी १५:३३ मा प्रेषित पावलले कस्तो चेतावनी दिए र किन?

१२ मण्डलीमा हामी दाजुभाइ दिदीबहिनीबाट विभिन्‍न कुरा सिक्न सक्छौँ अनि एकअर्काको विश्‍वासलाई बलियो बनाइराख्न मदत गर्न सक्छौँ। (रोमी १:११, १२ पढ्‌नुहोस्‌) तर मण्डलीभित्रै पनि कसलाई घनिष्ठ साथी बनाउने भन्‍ने कुरामा विचार पुऱ्‍याउनुपर्छ। मण्डली विभिन्‍न संस्कृति र पृष्ठभूमिका दाजुभाइ दिदीबहिनी मिलेर बनेको हुन्छ। कोही नयाँ हुन्छन्‌ भने कोहीचाहिँ वर्षौँदेखि यहोवाको सेवा गरिरहेका हुन्छन्‌। कुनै फल पाक्न समय लागेजस्तै यहोवासितको सम्बन्ध बलियो बनाउन पनि समय लाग्छ। त्यसैले हामीले एकअर्कालाई धीरज र प्रेम देखाउनुपर्छ अनि सधैँ बुद्धिमानीपूर्वक साथी रोज्नुपर्छ।—रोमी १४:१; १५:१; हिब्रू ५:१२–६:३.

१३ कुनै-कुनै अवस्थामा अझै होसियार भएर सङ्‌गत छान्‍नुपर्ने हुन सक्छ। जस्तै: कुनै भाइ वा बहिनीले बाइबलको स्तरविपरीत काम गरिरहेका हुन सक्छन्‌। अथवा कसै-कसैलाई गनगन गर्ने बानी परिसकेको हुन सक्छ, जुन बानीले मण्डलीलाई हानि पुऱ्‍याउन सक्छ। यस्ता समस्याहरू देखा पर्दा हामी अचम्म मान्दैनौँ किनभने प्रथम शताब्दीको मण्डलीमा पनि कुनै बेला यस्तै समस्याहरू थिए। त्यसैले प्रेषित पावलले त्यतिखेरका ख्रिष्टियनहरूलाई यस्तो चेतावनी दिए: “नबहकिओ। नराम्रो सङ्‌गतले राम्रो आनीबानीलाई बिगार्छ।” (१ कोरिन्थी १५:१२, ३३) पावलले तिमोथिलाई पनि घनिष्ठ साथी बनाउने विषयमा होसियार हुन चेतावनी दिए। आज हामी पनि होसियार हुनुपर्छ।२ तिमोथि २:२०-२२ पढ्‌नुहोस्‌।

१४. हामीले रोज्ने साथीले यहोवासितको सम्बन्धलाई कसरी असर गर्न सक्छ?

१४ हामीले यहोवासितको आफ्नो सम्बन्धलाई जोगाइराख्नुपर्छ। किनभने यो हाम्रो लागि सबैभन्दा अमूल्य कुरा हो। त्यसैले हामी आफ्नो विश्‍वास र यहोवासितको सम्बन्धलाई कमजोर बनाउन सक्ने कुनै पनि व्यक्‍तिलाई घनिष्ठ साथी बनाउँदैनौँ। स्पन्जलाई फोहोर पानीमा चोपल्दा त्यसले सफा पानी सोस्छ भनेर आशा गर्न मिल्दैन। त्यसैगरि खराब काम गर्नेहरूसित सङ्‌गत गरे तापनि हामी असल काम गरिरहन सक्छौँ भनेर आशा गर्न मिल्दैन। त्यसैले सोचविचार गरेर घनिष्ठ साथी बनाउनुपर्छ।—१ कोरिन्थी ५:६; २ थिस्सलोनिकी ३:६, ७, १४.

तपाईँ यहोवालाई प्रेम गर्ने असल साथीहरू भेट्टाउन सक्नुहुन्छ

१५. असल साथीहरू बनाउन तपाईँ के गर्न सक्नुहुन्छ?

१५ तपाईँले मण्डलीमा यहोवालाई माया गर्ने साथीहरू भेट्टाउन सक्नुहुन्छ। तिनीहरू तपाईँका घनिष्ठ साथीहरू बन्‍न सक्छन्‌। (भजन १३३:१) आफ्नै उमेर वा एउटै पृष्ठभूमिका व्यक्‍तिहरूलाई मात्र साथी नबनाउनुहोस्‌। नबिर्सनुहोस्‌, जोनाथन दाउदभन्दा निकै जेठा थिए अनि रुथ नाओमिभन्दा निकै कान्छी थिइन्‌। हामी बाइबलको यो सल्लाह लागू गर्न चाहन्छौँ: “ठूलो मनका होओ।” (२ कोरिन्थी ६:१३; १ पत्रुस २:१७ पढ्‌नुहोस्‌) तपाईँ जति यहोवाको अनुकरण गर्नुहुन्छ, त्यति नै अरूले तपाईँलाई आफ्नो साथी बनाउन चाहनेछन्‌।

समस्याहरू आइपर्दा

१६, १७. मण्डलीमा कसैले हाम्रो चित्त दुखायो भन्दैमा हामीले के गर्नु हुँदैन?

१६ परिवारमा सबैको व्यक्‍तित्व, विचारधारा अनि काम गर्ने तरिका एउटै हुँदैन। मण्डलीमा पनि कुरा त्यही हो। यस्तो विविधताले हाम्रो जीवनलाई रमाइलो बनाउँछ अनि हामी एकअर्काबाट थुप्रै कुरा सिक्न सक्छौँ। तर यस्ता भिन्‍नताहरूले गर्दा कहिलेकाहीँ हामीमाझ गलतफहमी पैदा हुन सक्छ र आफ्ना दाजुभाइ दिदीबहिनीदेखि हामीलाई दिक्क लाग्न सक्छ। कहिलेकाहीँ अरूले गर्दा हामीलाई रिस उठ्‌न सक्छ वा हाम्रो चित्त दुख्न सक्छ। (हितोपदेश १२:१८) के यस्ता कारणहरूले गर्दा निराश हुनु वा मण्डलीसित सङ्‌गतै गर्न छोड्‌नु सही हो?

१७ होइन। कसैले हाम्रो चित्त दुखायो नै भने पनि मण्डलीसित सङ्‌गत गर्न छोड्‌नु हुँदैन। किनभने हाम्रो चित्त दुखाउने व्यक्‍ति यहोवा हुनुहुन्‍न। उहाँले हामीलाई जीवन अनि अरू थुप्रै कुरा दिनुभयो। उहाँ हाम्रो माया अनि भक्‍ति पाउन योग्य हुनुहुन्छ। (प्रकाश ४:११) मण्डली यहोवाले हामीलाई दिनुभएको उपहार हो, जसले हाम्रो विश्‍वासलाई बलियो बनाइराख्न मदत गर्छ। (हिब्रू १३:१७) कसैले हाम्रो चित्त दुखायो भन्दैमा हामी उहाँले दिनुभएको उपहारलाई कहिल्यै लत्याउनेछैनौँ।भजन ११९:१६५ पढ्‌नुहोस्‌।

१८. (क) दाजुभाइ दिदीबहिनीसित मिलेर बस्न केले मदत गर्छ? (ख) हामीले किन अरूलाई क्षमा दिनुपर्छ?

१८ हामी आफ्ना दाजुभाइ दिदीबहिनीलाई माया गर्छौँ अनि तिनीहरूसित मिलेर बस्न चाहन्छौँ। हामीबाट कहिल्यै गल्ती नै हुँदैन भनेर यहोवा आशा गर्नुहुन्‍न। त्यसैले हामीले पनि अरूबाट त्यस्तो आशा गर्नु हुँदैन। (हितोपदेश १७:९; १ पत्रुस ४:८) हामी सबै जना गल्ती गर्छौँ तर प्रेमले हामीलाई ‘एकअर्कालाई खुला मनले क्षमा गरिरहन’ मदत गर्छ। (कलस्सी ३:१३) प्रेमले सानोतिनो मतभिन्‍नतालाई ठूलो हुन दिँदैन। हो, कसैले हाम्रो चित्त दुखाउँदा मनमा त्यो कुरा खेलिरहन सक्छ। उक्‍त व्यक्‍तिदेखि रिस उठ्‌न सक्छ र क्षमा दिन गाह्रो लाग्न सक्छ। मनमा रिस पालिराख्दा हामी दुःखी र निराश मात्र हुन्छौँ। तर क्षमा दियौँ भने मनोशान्ति पाउन सक्छौँ र मण्डलीमा एकता छाउँछ। सबैभन्दा महत्त्वपूर्ण कुरा, यहोवासितको हाम्रो सम्बन्ध राम्रो भइरहन्छ।—मत्ति ६:१४, १५; लुका १७:३, ४; रोमी १४:१९.

मण्डलीबाट कोही बहिष्कार हुँदा

१९. हामीले कस्तो अवस्थामा मण्डलीको कुनै व्यक्‍तिसित सङ्‌गत गर्न छोड्‌नुपर्छ?

१९ परिवार सुखी बनाउन प्रत्येक सदस्यको महत्त्वपूर्ण भूमिका हुन्छ। तर मानौँ, एक जना सदस्यले विद्रोह गर्छ। परिवारका सबैले उसलाई बारम्बार मदत गर्न खोज्छन्‌ तर उसले कसैको कुरा सुन्दैन। उसले घर छोड्‌ने निर्णय गर्न सक्छ अथवा परिवारको शिरले उसलाई घरबाट निकाल्न सक्छ। मण्डलीमा पनि यस्तै हुन सक्छ। कुनै भाइ वा बहिनीले यहोवालाई मन नपर्ने अनि मण्डलीलाई हानि पुऱ्‍याउने काम गरिरहन सक्छन्‌। तिनले कुनै मदत स्विकार्दैनन्‌ अनि तिनको कामबाट पनि तिनी मण्डलीको सदस्य हुन चाहँदैनन्‌ भन्‍ने कुरा देखिन्छ। तिनी आफैले मण्डली त्याग्ने निर्णय गर्न सक्छन्‌ अथवा तिनलाई मण्डलीबाट बहिष्कार गर्नुपर्ने हुन सक्छ। यी दुवै अवस्थामा हामीले के गर्नुपर्छ भनी बाइबलमा स्पष्टसित बताइएको छ: “त्यस्ता मानिसहरूसित सङ्‌गत गर्न छोड्‌नू।” (१ कोरिन्थी ५:११-१३ पढ्‌नुहोस्‌; २ युहन्‍ना ९-११) उक्‍त व्यक्‍ति हाम्रो साथी वा परिवारको सदस्य हुन्‌ भने यो निर्देशन पालन गर्न झनै गाह्रो हुन सक्छ। तर यस्तो अवस्थामा हामी अरू कसैप्रति भन्दा यहोवाप्रति वफादार हुनुपर्छ।—नोट ८ हेर्नुहोस्‌।

२०, २१. (क) बहिष्कार गर्नु किन मायालु प्रबन्ध हो? (ख) साथी रोज्दा हामी किन होसियार हुनुपर्छ?

२० बहिष्कारको प्रबन्ध यहोवाको मायालु प्रबन्ध हो। यस प्रबन्धले मण्डलीका दाजुभाइ दिदीबहिनीलाई यहोवाको स्तर पालन गर्न नचाहने मानिसहरूदेखि जोगाउँछ। (१ कोरिन्थी ५:७; हिब्रू १२:१५, १६) अपश्‍चात्तापी व्यक्‍तिलाई बहिष्कार गरेर एल्डरहरूले यहोवा, उहाँको पवित्र नाम र उहाँको उच्च स्तरलाई प्रेम गरेको कुरा देखाउँछन्‌। बहिष्कारको प्रबन्धप्रति यहोवाको जस्तै दृष्टिकोण राखेर हामी पनि उहाँ र उहाँको स्तरलाई प्रेम गर्छौँ भनी देखाउँछौँ। (१ पत्रुस १:१५, १६) एल्डरहरूले अपश्‍चात्तापी व्यक्‍तिलाई बहिष्कार गर्नु भनेको यहोवाको प्रेमको प्रमाण हो। किनभने यस्तो कडा अनुशासनले तिनलाई आफ्नो गल्ती महसुस गर्न अनि परिवर्तन गर्न उत्प्रेरित गर्छ। बहिष्कार भएका थुप्रै मानिस यहोवाकहाँ फर्केका छन्‌ र तिनीहरूलाई मण्डलीमा न्यानो स्वागत गरिएको छ।—हिब्रू १२:११.

२१ साथीहरूले हामीमा या त राम्रो या नराम्रो प्रभाव पार्छन्‌। त्यसैले साथी रोज्दा हामी होसियार हुनुपर्छ। यहोवाले प्रेम गर्नेहरूलाई हामीले प्रेम गर्नुपर्छ। त्यसो गऱ्‍यौँ भने हामीलाई यहोवाप्रति सधैँ वफादार रहन मदत गर्ने मानिसहरूमाझ हामी हुनेछौँ।