सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय ६

मनोरञ्जन छान्दा विचार पुऱ्‍याउनुपर्ने कुराहरू

मनोरञ्जन छान्दा विचार पुऱ्‍याउनुपर्ने कुराहरू

“सबै थोक परमेश्‍वरकै महिमाको निम्ति गर।” —१ कोरिन्थी १०:३१.

१, २. मनोरञ्जन छान्दा किन होसियार हुनुपर्छ?

स्वादिलो फल खानै लागेको बेला त्यसको कुनै भाग कुहिएको देख्नुभयो भने तपाईँ के गर्नुहुन्छ? कुहिएको भागसहित सिङ्‌गै फल खानुहुन्छ? सिङ्‌गै फल फाल्नुहुन्छ? अथवा कुहिएको भागजति फालेर नकुहिएको भाग खानुहुन्छ?

एक अर्थमा मनोरञ्जनलाई पनि त्यस्तो फलसित तुलना गर्न सकिन्छ। मनोरञ्जन आफैमा नराम्रो कुरा होइन तर प्रायजसो मनोरञ्जनमा अनैतिकता, हिंसा वा प्रेतविद्याजस्ता “कुहिएका” कुराहरू पनि हुन्छन्‌। त्यसैले मनोरञ्जन छान्दा “जस्तो मनोरञ्जन छाने पनि के भयो र, त्यो मेरो इच्छाको कुरा हो” भन्‍नुहुन्छ कि? अथवा “एउटै मनोरञ्जन गतिलो छैन” भन्‍नुहुन्छ कि? अथवा होसियार भई नराम्रो मनोरञ्जन इन्कार गरेर राम्रो मनोरञ्जन रोज्नुहुन्छ?

३. मनोरञ्जन छान्दा कुन कुरामा विचार पुऱ्‍याउनुपर्छ?

हामी सबैलाई कहिलेकाहीँ मनोरञ्जन चाहिन्छ तर हामीले विचार पुऱ्‍याएर मनोरञ्जन छान्‍नुपर्छ। त्यसैले हामीले आफैलाई यस्तो प्रश्‍न सोध्नुपर्छ, ‘मैले छान्‍ने मनोरञ्जनले मैले यहोवालाई चढाइरहेको उपासनामा कस्तो असर पुऱ्‍याउँछ?’

“सबै थोक परमेश्‍वरकै महिमाको निम्ति गर”

४. मनोरञ्जन छान्‍न मदत गर्ने बाइबलको एउटा सिद्धान्त कुन हो?

यहोवालाई आफ्नो जीवन समर्पण गर्दा जीवनभर उहाँकै इच्छाअनुसार गर्छु भनेर वाचा गरिरहेका हुन्छौँ। (उपदेशक ५:४ पढ्‌नुहोस्‌) साथै ‘सबै थोक उहाँकै महिमाको निम्ति गर्छु’ भनेर पनि वाचा गरिरहेका हुन्छौँ। (१ कोरिन्थी १०:३१) यसको मतलब, सभा र प्रचारमा मात्र होइन, रमाइलो वा मनोरञ्जन गर्दा पनि हामी यहोवामा समर्पित छौँ भनेर देखाउनुपर्छ।

५. हामीले यहोवालाई कस्तो उपासना चढाउनुपर्छ?

हामीले गर्ने हरेक कुराले हामीले यहोवालाई चढाउने उपासनालाई असर गर्छ। यसबारे पावलले यसो भने: “आफ्नो शरीरलाई जीवित, पवित्र अनि ग्रहणयोग्य बलिदानको रूपमा परमेश्‍वरलाई अर्पण गर।” (रोमी १२:१) येसुले पनि यसो भन्‍नुभयो: “तिमीहरूले यहोवा तिमीहरूका परमेश्‍वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा ज्यानले, आफ्नो सारा दिमागले र आफ्नो सारा बलले प्रेम गर्नू।” (मर्कुस १२:३०) हामी सधैँ यहोवालाई उत्तम कुरा दिन चाहन्छौँ। इस्राएलीहरूको पालामा यहोवाको लागि चढाइने बलिहरू निष्खोट हुनुपर्थ्यो। खोट भएको जनावर परमेश्‍वरले स्विकार्नुहुन्‍न थियो। (लेवी २२:१८-२०) हामीले चढाउने उपासना पनि यहोवाको लागि अस्वीकार्य हुन सक्छ। कसरी?

६, ७. हामीले गर्ने मनोरञ्जनले हामीले यहोवालाई चढाउने उपासनामा कस्तो असर पार्छ?

यहोवा भन्‍नुहुन्छ: “तिमीहरू पवित्र हुनै पर्छ किनकि म पवित्र छु।” (१ पत्रुस १:१४-१६; २ पत्रुस ३:११) हामीले चढाउने उपासना पवित्र वा शुद्ध छ भने मात्र यहोवाले त्यो स्विकार्नुहुन्छ। (व्यवस्था १५:२१) यदि हामी अनैतिकता, हिंसा वा प्रेतविद्याजस्ता यहोवाले घृणा गर्नुहुने कुराहरूमा भाग लिन्छौँ भने शुद्ध उपासना चढाउन सक्दैनौँ। (रोमी ६:१२-१४; ८:१३) अर्कोतर्फ, यस्ता कुराहरूमा प्रत्यक्ष भाग नलिए तापनि यस्ता कुराहरू समावेश भएको मनोरञ्जनबाट आनन्द उठाउँछौँ भने हामीले यहोवालाई दुःखी बनाइरहेका हुनेछौँ। यसले हामीले चढाउने उपासनालाई अशुद्ध बनाउँछ। यहोवाले यस्तो उपासना स्विकार्नुहुन्‍न। फलस्वरूप, यहोवासितको हाम्रो सम्बन्ध तहसनहस हुन सक्छ।

त्यसोभए हामी कसरी बुद्धिमानीसाथ मनोरञ्जन छान्‍न सक्छौँ? कस्तो किसिमको मनोरञ्जन स्वीकार्य छ अनि कस्तो चाहिँ छैन भनेर छुट्ट्याउन बाइबलका कस्ता सिद्धान्तहरूले मदत गर्छ?

खराब कुरालाई घृणा गर्नुहोस्‌

८, ९. हामीले कस्तो किसिमको मनोरञ्जन गर्नु हुँदैन? किन?

संसारमा आज थुप्रै किसिमका मनोरञ्जन पाइन्छन्‌। तीमध्ये कुनै-कुनै मनोरञ्जन ख्रिष्टियनहरूले गर्न हुने खालका छन्‌ भने धेरैजसो चाहिँ गर्न नहुने खालका छन्‌। सबैभन्दा पहिला, हामीले कस्तो किसिमको मनोरञ्जन गर्नु हुँदैन, त्यसबारे छलफल गरौँ।

थुप्रै चलचित्र, वेबसाइट, टेलिभिजन कार्यक्रम, भिडियो गेम अनि गीतहरू अनैतिकता, हिंसा र प्रेतविद्याले भरिएका हुन्छन्‌। यस्ता खराब कुराहरूलाई प्रायजसो अहानिकारक अनि रमाइलो देखिने तरिकामा प्रस्तुत गरिन्छ। तर ख्रिष्टियनहरू मनोरञ्जन छान्‍ने सन्दर्भमा होसियार हुन्छन्‌ र यहोवाको पवित्र स्तरसित मेल नखाने मनोरञ्जनलाई तिरस्कार गर्छन्‌। (प्रेषित १५:२८, २९; १ कोरिन्थी ६:९, १०) यसो गर्दा जे कुरा दुष्ट छ, त्यसलाई घृणा गर्छौँ भनेर हामीले यहोवालाई देखाइरहेका हुन्छौँ।—भजन ३४:१४; रोमी १२:९.

१०. गलत किसिमको मनोरञ्जन छान्दा के हुन्छ?

१० तर कसै-कसैलाई हिंसा, अनैतिकता र प्रेतविद्याले भरिएको मनोरञ्जन गर्नुमा कुनै खराबी छैन जस्तो लाग्छ। तिनीहरू यस्तो तर्क गर्छन्‌: ‘यसले के हानि गर्छ र? म साँच्चै यस्तो काम त गर्दिनँ नि।’ यस्तो सोचाइ राख्छौँ भने हामीले आफैलाई झुक्क्याइरहेका हुन्छौँ। बाइबल भन्छ: “मानिसको हृदय साह्रै छली हुन्छ, त्यो अति भ्रष्ट हुन्छ।” (यर्मिया १७:९) यदि हामी यहोवाको नजरमा अस्वीकार्य कुराहरूले भरिएको मनोरञ्जनबाट आनन्द लिन्छौँ भने खराब कुरालाई घृणा गर्छौँ भनेर कसरी भन्‍न सक्छौँ र? हामी जति धेरै त्यस्तो मनोरञ्जन गर्छौँ, हामीलाई त्यति नै त्यो सामान्य लाग्न थाल्छ। अनि बिस्तारै-बिस्तारै हाम्रो अन्तस्करण बोधो हुन्छ र गलत छनौट गर्दा त्यसले हामीलाई चेतावनी दिन छोड्‌छ।—भजन ११९:७०; १ तिमोथि ४:१, २.

११. गलाती ६:७ ले हामीलाई मनोरञ्जन छान्‍न कसरी मदत गर्छ?

११ परमेश्‍वरको वचन भन्छ: “मानिसले जे छर्छ, त्यसैको कटनी पनि गर्नेछ।” (गलाती ६:७) हामी खराब कुराले भरिएको मनोरञ्जन गर्छौँ भने पछि गएर त्यस्तै खराब काम गर्ने हदसम्म पुग्न सक्छौँ। उदाहरणको लागि, अनैतिकताले भरिएको मनोरञ्जनको प्रभावमा परेर कुनै-कुनै ख्रिष्टियन अनैतिक काम गर्न पुगेका छन्‌। तर यहोवाले हामीलाई बुद्धिमानीसाथ मनोरञ्जन छान्‍न मदत गर्नुहुन्छ।

बाइबल सिद्धान्तको आधारमा निर्णय गर्नुहोस्‌

१२. मनोरञ्जन छान्‍ने सन्दर्भमा सही निर्णय गर्न कुन कुराले मदत गर्छ?

१२ कुनै मनोरञ्जन यहोवाको नजरमा अस्वीकार्य छ भनेर स्पष्ट छ भने हामी त्यस्तो मनोरञ्जन गर्दैनौँ। तर स्पष्ट छैन भने नि? हामीले कस्तो कुरा हेर्न, सुन्‍न र पढ्‌न हुन्छ अनि कस्तो कुराचाहिँ हुँदैन, यहोवाले नियमहरूको सूची दिनुभएको छैन। बरु हामीले बाइबल प्रशिक्षित अन्तस्करण चलाएर निर्णय गरेको यहोवा चाहनुहुन्छ। (गलाती ६:५ पढ्‌नुहोस्‌) यहोवाले सिद्धान्तहरू दिनुभएको छ। यस्ता सिद्धान्तहरू अर्थात्‌ आधारभूत सत्यहरूले हामीलाई उहाँको जस्तै सोचाइ राख्न र अन्तस्करणलाई तालिम दिन मदत गर्छ। साथै “परमेश्‍वरको इच्छा के हो,” सो बुझ्न पनि मदत गर्छ। अनि हामी उहाँलाई खुसी पार्ने खालको निर्णय गर्न सक्छौँ।—एफिसी ५:१७.

बाइबलका सिद्धान्तहरूले मनोरञ्जन छान्‍न मदत गर्छ

१३. मनोरञ्जन छान्‍ने सन्दर्भमा ख्रिष्टियनहरूको छनौट किन फरक हुन्छ? तर निर्णय गर्दा कुन कुरामा ध्यान दिनै पर्छ?

१३ मनोरञ्जनको सन्दर्भमा ख्रिष्टियनहरूको छनौट प्रायजसो फरक-फरक हुन्छ। किन? किनभने हामी सबैको रुचि एउटै हुँदैन। अनि एउटा ख्रिष्टियनलाई स्वीकार्य लाग्ने कुरा अर्को ख्रिष्टियनलाई स्वीकार्य नलाग्न सक्छ। तैपनि यस विषयमा सही निर्णय गर्न सबैले बाइबलका सिद्धान्तहरूमा ध्यान दिनै पर्छ। (फिलिप्पी १:९) यसो गरेमा हामीले परमेश्‍वरको नजरमा स्वीकार्य मनोरञ्जन छान्‍न सक्नेछौँ।—भजन ११९:११, १२९; १ पत्रुस २:१६.

१४. (क) हामीले विचार पुऱ्‍याउनुपर्ने अर्को कुरा के हो? (ख) पावलले ख्रिष्टियनहरूलाई कस्तो सल्लाह दिए?

१४ विचार पुऱ्‍याउनुपर्ने अर्को कुरा पनि छ। त्यो हो, मनोरञ्जन गर्न बिताउने समय। मनोरञ्जन गर्न हामी कति समय बिताउँछौँ, त्यसले हामी मनोरञ्जनलाई कत्तिको महत्त्वपूर्ण ठान्छौँ भनेर देखाउँछ। हामी ख्रिष्टियनहरूको लागि यहोवाको सेवा गर्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। (मत्ति ६:३३ पढ्‌नुहोस्‌) तर मनोरञ्जनले हाम्रो समय खर्लप्पै खाइदिएको हामीलाई पत्तै नहुन सक्छ। पावलले ख्रिष्टियनहरूलाई यस्तो सल्लाह दिए: “कसरी हिँडिरहेका छौ, होसियार भई ध्यान देओ, तिमीहरू निर्बुद्धि मानिस जस्तोगरि होइन तर बुद्धिमान्‌ मानिस जस्तोगरि हिँड, समयको पूर्ण सदुपयोग गर।” (एफिसी ५:१५, १६) त्यसैले मनोरञ्जनमा कति समय बिताउने भनेर तोक्नुपर्छ अनि सधैँ यहोवाको सेवालाई प्राथमिकता दिनुपर्छ।—फिलिप्पी १:१०.

१५. यहोवासितको सम्बन्धलाई खतरामा पार्न सक्ने मनोरञ्जनबाट हामी कसरी जोगिन सक्छौँ?

१५ यहोवाको नजरमा अस्वीकार्य मनोरञ्जनलाई हामीले तिरस्कार गर्नुपर्छ। तर कुनै मनोरञ्जन ठीक छ कि छैन भनेर शङ्‌का लाग्छ भने नि? के यस्तो बेलामा पनि हामी होसियार हुनु जरुरी छ? एउटा उदाहरण विचार गर्नुहोस्‌। तपाईँ भीरको बाटो हिँड्‌दै हुनुहुन्छ। के तपाईँ त्यस्तो बाटोको छेउ-छेउतिर हिँड्‌नुहुन्छ? तपाईँ आफ्नो जीवनलाई माया गर्नुहुन्छ भने पक्कै खतरा मोल्नुहुन्‍न। मनोरञ्जन छान्‍ने सन्दर्भमा पनि कुरा त्यही हो। परमेश्‍वरको वचन भन्छ: “गलत बाटोमा हिँड्‌नदेखि आफ्नो पाइलालाई रोक।” (हितोपदेश ४:२५-२७) त्यसैले खराब छ भनेर थाह भएको मनोरञ्जनबाट मात्र होइन तर कुनै मनोरञ्जन खराब छ अनि त्यसले यहोवासितको सम्बन्ध बिगार्छ भनेर शङ्‌का मात्र लाग्छ भने पनि हामी त्यसबाट अलग बस्छौँ।

यहोवाको दृष्टिकोण बुझ्नुहोस्‌

१६. (क) यहोवाले घृणा गर्नुहुने केही कुरा बताउनुहोस्‌। (ख) यहोवाले घृणा गर्नुहुने कुरालाई हामी घृणा गर्छौँ भनेर कसरी देखाउन सक्छौँ?

१६ भजनरचयिताले यस्तो लेखे: “हे यहोवालाई प्रेम गर्नेहरू हो, खराब कुरालाई घृणा गर।” (भजन ९७:१०) बाइबल पढेर हामी यहोवाको सोचाइ र भावना बुझ्न सक्छौँ। हामीले सिक्ने कुराले यहोवाको जस्तै सोचाइ राख्न हामीलाई कसरी मदत गर्छ, विचार गर्नुहोस्‌। उदाहरणको लागि, “झूट बोल्ने जिब्रो र निर्दोष मानिसको रगत बगाउने हात, षड्यन्त्र रच्ने मन, खराब काम गर्न दौडिहाल्ने खुट्टा”-लाई यहोवा घृणा गर्नुहुन्छ भनेर हामीले बाइबलबाट सिकेका छौँ। (हितोपदेश ६:१६-१९) साथै ‘अवैध यौनसम्बन्ध, मूर्तिपूजा, तन्त्रमन्त्र, डाह, रिस, ईर्ष्या, अत्यधिक मद्यपान, भोजको अनियन्त्रित मोजमस्ती र यस्तै अरू कुराबाट’ अलग रहनै पर्छ भनेर पनि सिकेका छौँ। (गलाती ५:१९-२१) बाइबलका यी सिद्धान्तहरूले मनोरञ्जन छान्‍ने सन्दर्भमा कसरी मदत गर्छ? हामी जीवनको हरेक क्षेत्रमा यहोवाको स्तरअनुसार चल्न चाहन्छौँ, चाहे अरूसित हुँदा होस्‌ वा एक्लै। (२ कोरिन्थी ३:१८) एक्लै छँदा गर्ने निर्णयले हामी वास्तवमा कस्तो व्यक्‍ति हौँ भनेर देखाउँछ।—भजन ११:४; १६:८.

१७. मनोरञ्जन छान्‍नुअघि आफैलाई कस्ता प्रश्‍नहरू सोध्नुपर्छ?

१७ त्यसैले मनोरञ्जन छान्‍नुअघि आफैलाई यस्ता प्रश्‍नहरू सोध्नुहोस्‌: ‘मेरो छनौटले यहोवासितको मेरो सम्बन्धमा कस्तो असर पार्छ? यसले मेरो अन्तस्करणलाई कस्तो असर गर्छ?’ अब हामी मनोरञ्जन छान्‍न मदत गर्ने अरू सिद्धान्तहरू छलफल गरौँ।

१८, १९. (क) पावलले ख्रिष्टियनहरूलाई कस्तो सल्लाह दिए? (ख) मनोरञ्जन छान्‍न कस्ता सिद्धान्तहरूले मदत गर्छ?

१८ हामी जस्तो मनोरञ्जन गर्छौँ, त्यस्तै कुरा हाम्रो दिमागमा भरिन्छ। पावलले लेखे: “जुन कुराहरू सत्य छन्‌, जुन कुराहरू गम्भीरतासाथ ध्यान दिन लायकका छन्‌, जुन कुराहरू असल छन्‌, जुन कुराहरू चोखा छन्‌, जुन कुराहरू प्रेम गर्न योग्य छन्‌, जुन कुराहरूले राम्रो नाम कमाएका छन्‌, जुन कुराहरूमा सद्‌गुण छ अनि जुन कुराहरू प्रशंसायोग्य छन्‌, ती नै कुराहरूको विचार गरिरहो।” (फिलिप्पी ४:८) असल कुराले आफ्नो दिमाग भर्छौँ भने हामी यसो भन्‍न सक्छौँ: ‘हे यहोवा, मेरो मुखको वचन र मेरो मनको चिन्तनले तपाईँलाई खुसी तुल्याओस्‌।’—भजन १९:१४.

१९ आफैलाई सोध्नुहोस्‌: ‘म कस्तो कुराले आफ्नो दिमाग भर्दै छु? कुनै चलचित्र वा कार्यक्रम हेरेपछि के म त्यसबाट स्फूर्ति पाउँछु? के म आफ्नो अन्तस्करण सफा राखिराख्न सक्छु? (एफिसी ५:५; १ तिमोथि १:५, १९) के म नहिचकिचाई यहोवालाई प्रार्थना गर्न सक्छु? वा प्रार्थना गर्न अप्ठेरो पो लाग्छ कि? मेरो मनमा हिंसात्मक वा अनैतिक कुरा खेल्छ कि? (मत्ति १२:३३; मर्कुस ७:२०-२३) मैले छानेको मनोरञ्जनले “यस युगको चालढालअनुसार चल्न” उक्साउँछ कि?’ (रोमी १२:२) हामीले इमानदार भई यी प्रश्‍नहरूको जवाफ दियौँ भने यहोवासितको हाम्रो सम्बन्धलाई बलियो बनाइराख्न के गर्नुपर्छ भनेर थाह पाउनेछौँ। भजनरचयिताजस्तै हामी पनि यस्तो बिन्ती गर्न चाहन्छौँ: “व्यर्थका कुरा हेर्नदेखि मेरा आँखा फर्काइदिनुहोस्‌।” *भजन ११९:३७.

हाम्रो निर्णयले अरूलाई असर गर्छ

२०, २१. मनोरञ्जन छान्दा हामीले किन अरूको अन्तस्करणको ख्याल राख्नुपर्छ?

२० मनमा राख्नुपर्ने अर्को महत्त्वपूर्ण सिद्धान्त यो हो: “सबै कुरा न्यायसङ्‌गत छन्‌ तर सबै कुरा उत्थानदायी हुँदैनन्‌। हरेकले आफ्नो होइन तर अर्को मानिसको फाइदा खोज्ने गरोस्‌।” (१ कोरिन्थी १०:२३, २४) हामीले केही गर्ने स्वतन्त्रता पाएका छौँ भन्दैमा त्यो गर्नै पर्छ भन्‍ने छैन। हाम्रो निर्णयले ख्रिष्टियन दाजुभाइ दिदीबहिनीलाई कस्तो असर गर्छ भनेर विचार पुऱ्‍याउनुपर्छ।

२१ सबैको अन्तस्करण उस्तै हुँदैन। उदाहरणको लागि, तपाईँको अन्तस्करणले कुनै टेलिभिजन कार्यक्रम हेर्न दिन्छ होला। तर अरूको अन्तस्करणले भने नदिन सक्छ। त्यस्तो बेला त्यो कार्यक्रम हेर्ने तपाईँको अधिकार भए तापनि त्यो नहेर्ने निर्णय गर्न सक्नुहुन्छ। किन? किनभने तपाईँ “आफ्ना भाइहरूको विरुद्धमा पाप” गर्न चाहनुहुन्‍न; अझ विशेषगरि “ख्रिष्टको विरुद्धमा पाप” गर्न चाहनुहुन्‍न। (१ कोरिन्थी ८:१२) हामी आफ्ना दाजुभाइ दिदीबहिनीलाई ठेस लाग्ने कुनै पनि काम गर्न चाहँदैनौँ।—रोमी १४:१; १५:१; १ कोरिन्थी १०:३२.

२२. अरूले गरेको निर्णयप्रति हामीले कस्तो दृष्टिकोण राख्नुपर्छ?

२२ अर्कोतर्फ, अरूलाई स्वीकार्य लागेको कुरा तपाईँको अन्तस्करणले हेर्न, पढ्‌न वा गर्न दिँदैन भने नि? तपाईँ ख्रिष्टियन दाजुभाइ दिदीबहिनीलाई माया र आदर गर्नुहुन्छ। त्यसैले तिनीहरूको छनौट पनि तपाईँको जस्तै हुनुपर्छ भनेर दबाब दिनुहुन्‍न। एउटा उदाहरण विचार गर्नुहोस्‌। एक जना गाडी चालकले आफ्नै गतिमा गाडी चलाउँछ। तर अरू चालकहरूले ऊभन्दा द्रुत वा कम गतिमा गाडी चलाउँछन्‌ भन्दैमा ती चालकहरू राम्रा छैनन्‌ भनेर उसले सोच्दैन। ठीक त्यसैगरि, कुन मनोरञ्जनलाई स्वीकार्य ठान्‍ने भन्‍ने विषयमा तपाईँ र अरू ख्रिष्टियनहरूको विचार फरक हुन सक्छ। तर तपाईँहरू दुवैले बाइबलका सिद्धान्तहरू पालन गरिरहनुभएको हुन सक्छ।—उपदेशक ७:१६; फिलिप्पी ४:५.

२३. उचित किसिमको मनोरञ्जन छान्‍न हामीलाई केले मदत गर्छ?

२३ त्यसोभए उचित किसिमको मनोरञ्जन छान्‍न हामीलाई केले मदत गर्छ? बाइबल प्रशिक्षित अन्तस्करण चलाएर अनि दाजुभाइ दिदीबहिनीको ख्याल राखेर हामी सही छनौट गर्न सक्छौँ। यसरी “सबै थोक परमेश्‍वरकै महिमाको निम्ति” गरेर हामी आनन्दित हुन सक्छौँ।

^ अनु. 19 हितोपदेश ३:३१; १३:२०; एफिसी ५:३, ४ र कलस्सी ३:५, ८, २० मा पाइने सिद्धान्तहरूले पनि मनोरञ्जन छान्‍न मदत गर्छ।