सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय ८

यहोवा आफ्ना सेवकहरू स्वच्छ भएको चाहनुहुन्छ

यहोवा आफ्ना सेवकहरू स्वच्छ भएको चाहनुहुन्छ

“तिमीहरूले आफूलाई चोख्याएर पवित्र पार किनकि . . . म पवित्र छु।”—लेवी ११:४४.

१-३. (क) आमाले किन छोराको स्वच्छतामा ध्यान दिन्छिन्‌? (ख) यहोवा आफ्ना सेवकहरू किन स्वच्छ भएको चाहनुहुन्छ?

एउटी मायालु आमा आफ्नो छोरालाई स्कुल पठाउन तयार पार्दै छिन्‌। तिनी छोरालाई नुहाइदिन्छिन्‌ र सफा लुगा लगाइदिन्छिन्‌। यसरी सरसफाइमा ध्यान दिँदा छोरा स्वस्थ रहन्छ अनि आमाबुबाले छोराको राम्रो ख्याल राखेको अरूले पनि याद गर्छन्‌।

हाम्रो बुबा यहोवा पनि हामी स्वच्छ अनि पवित्र भएको चाहनुहुन्छ। (लेवी ११:४४, ४५) स्वच्छ हुँदा हाम्रै फाइदा हुन्छ भनेर उहाँलाई थाह छ। हामी स्वच्छ छौँ भने अरू मानिसहरू यहोवाको प्रशंसा गर्न उत्प्रेरित हुन्छन्‌।—इजकिएल ३६:२२; १ पत्रुस २:१२ पढ्‌नुहोस्‌।

तर स्वच्छ हुनु भनेको के हो? स्वच्छ रहँदा कस्तो फाइदा हुन्छ? यी प्रश्‍नहरूबारे विचार गर्दा हामीले सुधार्नुपर्ने ठाउँ देख्न सक्छौँ।

हामी किन स्वच्छ रहनुपर्छ?

४, ५. (क) हामी किन स्वच्छ रहनुपर्छ? (ख) स्वच्छताबारे यहोवाको दृष्टिकोण बुझ्न सृष्टिका कुराहरूले कसरी मदत गर्छ?

स्वच्छ र पवित्र रहने सन्दर्भमा यहोवा स्वयम्‌ले हाम्रो लागि उदाहरण बसाल्नुभएको छ। (लेवी १९:२) त्यसैले स्वच्छ रहनुपर्ने मुख्य कारण हो: हामी ‘परमेश्‍वरको देखासिकी गर्न’ चाहन्छौँ।—एफिसी ५:१.

यहोवा स्वच्छतालाई कुन दृष्टिकोणले हेर्नुहुन्छ भन्‍ने कुरा सृष्टिलाई हेरेर थाह पाउन सक्छौँ। उहाँले हावा र पानीलाई सफा राखिराख्न विभिन्‍न प्राकृतिक चक्र बनाउनुभएको छ। (यर्मिया १०:१२) मानिसहरूले पृथ्वीलाई प्रदूषित बनाए पनि यसले आफैलाई विभिन्‍न तरिकामा सफा गर्छ। उदाहरणको लागि, यहोवाले थुप्रै सूक्ष्म जीवाणु बनाउनुभएको छ। माइक्रोस्कोपबाट मात्र हेर्न सकिने त्यस्ता जीवाणुहरूले विषालु कुराहरूलाई अहानिकारक कुरामा परिणत गर्न सक्छन्‌। यस्तो प्रक्रिया साँच्चै अचम्मको छ। प्रदूषणको असरलाई उल्टाएर वातावरणलाई स्वच्छ बनाउन वैज्ञानिकहरूसमेत यस्ता जीवाणुहरूको प्रयोग गर्छन्‌।—रोमी १:२०.

६, ७. यहोवाका उपासकहरू स्वच्छ हुनै पर्छ भनेर मोसाको व्यवस्थाले कसरी देखाउँछ?

यहोवाले इस्राएलीहरूलाई मोसामार्फत दिनुभएको व्यवस्थाले पनि स्वच्छ रहनु कति महत्त्वपूर्ण छ भनेर स्पष्ट पार्छ। उदाहरणका लागि, यहोवालाई स्वीकार्य उपासना चढाउन उहाँका सेवकहरू शारीरिक तवरमा स्वच्छ हुनै पर्थ्यो। प्रधानपुजारीले महापवित्र-कोठामा छिर्ने दिनमा दुई पटक नुहाउनुपर्थ्यो। (लेवी १६:४, २३, २४) अनि अरू पुजारीहरूले पनि बलिदान चढाउनुअघि हातखुट्टा धुनुपर्थ्यो। (प्रस्थान ३०:१७-२१; २ इतिहास ४:६) कुनै-कुनै अवस्थामा त सरसफाइसम्बन्धी नियम पालन नगर्ने व्यक्‍तिले मृत्युदण्डसमेत पाउन सक्थ्यो।—लेवी १५:३१; गन्ती १९:१७-२०.

आज हाम्रो समयबारे चाहिँ के भन्‍न सकिन्छ? व्यवस्थामा दिइएका नियमहरूबाट हामी यहोवाका स्तरहरूबारे थुप्रै कुरा बुझ्न सक्छौँ। (मलाकि ३:६) यहोवाका उपासकहरू स्वच्छ हुनुपर्थ्यो भनेर ती नियमहरूले स्पष्ट पार्छ। यहोवाका स्तरहरू परिवर्तन भएका छैनन्‌। आज पनि उहाँ आफ्ना उपासकहरू स्वच्छ अनि पवित्र भएको चाहनुहुन्छ।—याकुब १:२७.

स्वच्छ हुनुको अर्थ के हो?

८. हामी कुन-कुन क्षेत्रमा स्वच्छ रहनै पर्छ?

यहोवाको नजरमा स्वच्छ हुनुको अर्थ शरीर, लुगा वा घर सफा राख्नु मात्र होइन। यसले हाम्रो जीवनको हरेक क्षेत्रलाई ढाक्छ। यसमा हामीले चढाउने उपासना, हाम्रो आचरण अनि विचारहरू पनि समावेश छ। त्यसैले यहोवाको नजरमा स्वच्छ हुने हो भने जीवनको हरेक क्षेत्रमा स्वच्छ अनि पवित्र हुनै पर्छ।

९, १०. हामी कसरी यहोवालाई स्वच्छ उपासना चढाउन सक्छौँ?

शुद्ध उपासना: हामी कुनै पनि तरिकामा झूटो धर्ममा मुछिनु हुँदैन। बेबिलोनको कैदमा छँदा इस्राएलीहरूको वरपर झूटो धर्म मान्‍ने र धर्मको नाममा अनैतिक कार्यहरू गर्ने मानिसहरू थिए। तर यसैयाले इस्राएलीहरू आफ्नो घर फर्कनेछन्‌ अनि तिनीहरूले साँचो उपासना पुनर्स्थापना गर्नेछन्‌ भनेर भविष्यवाणी गरे। यहोवाले इस्राएलीहरूलाई यसो भन्‍नुभएको थियो: “त्यहाँबाट निस्केर आओ! अशुद्ध कुरा नछोओ! . . . त्यसको बीचबाट निस्केर आओ, तिमीहरू शुद्ध रहिरहो!” तिनीहरूले बेबिलोनीहरूको शिक्षा, आचरण अनि चलनलाई साँचो उपासनासित मिसाउनु हुँदैनथ्यो।—यसैया ५२:११.

१० आज पनि साँचो ख्रिष्टियनहरू झूटो धर्मबाट अलग रहन्छन्‌। (१ कोरिन्थी १०:२१ पढ्‌नुहोस्‌) संसारका थुप्रै लोकप्रिय परम्परा, चलन अनि विश्‍वास झूटो धर्मबाट सुरु भएका हुन्‌। उदाहरणको लागि, थुप्रै संस्कृतिका मानिसहरू मान्छे मरे पनि आत्मा मर्दैन भनेर विश्‍वास गर्छन्‌ अनि त्यस्तो विश्‍वासमा आधारित रीतिथिति मान्‍ने गर्छन्‌। (उपदेशक ९:५, ६, १०) ख्रिष्टियनहरू यस्ता रीतिथितिमा भाग लिँदैनन्‌। परिवारका सदस्यहरूले त्यसमा भाग लिन दबाब देलान्‌ तर हामी सम्झौता गर्दैनौँ किनभने हामी यहोवाको नजरमा स्वच्छ रहन चाहन्छौँ।—प्रेषित ५:२९.

११. पवित्र आचरण हुनु भनेको के हो?

११ पवित्र आचरण: यहोवाको नजरमा स्वच्छ रहने हो भने हामी सबै प्रकारको अवैध यौनसम्बन्धबाट अलग रहनुपर्छ। (एफिसी ५:५ पढ्‌नुहोस्‌) बाइबलमा यहोवाले हामीलाई “अवैध यौनसम्बन्धदेखि भाग” भन्‍नुभएको छ। अवैध यौनसम्बन्ध राख्ने अनि पश्‍चात्ताप नगर्नेहरू “परमेश्‍वरको राज्यको हकदार हुनेछैनन्‌” भनेर पनि उहाँले स्पष्ट पार्नुभएको छ।—१ कोरिन्थी ६:९, १०, १८; नोट २२ हेर्नुहोस्‌।

१२, १३. हाम्रो विचार किन पवित्र हुनुपर्छ?

१२ पवित्र विचार: हामी जे सोच्छौँ, प्रायः त्यही गर्न पुग्छौँ। (मत्ति ५:२८; १५:१८, १९) विचार पवित्र छ भने हामी असल काम गर्न उत्प्रेरित हुन्छौँ। हामी त्रुटिपूर्ण भएकोले बेला-बेलामा हाम्रो मनमा गलत सोचाइ आउन सक्छ। त्यस्तो सोचाइ आयो भने हामीले तुरुन्तै आफ्नो दिमागबाट त्यो हटाउनुपर्छ। नत्र हाम्रो हृदय बिस्तारै भ्रष्ट हुन सक्छ। हामी जे सोचिरहन्छौँ, त्यही गर्ने इच्छा जाग्न सक्छ। त्यसैले हामीले आफ्नो दिमाग पवित्र विचारले भर्नै पर्छ। (फिलिप्पी ४:८ पढ्‌नुहोस्‌) यसो गर्न हामी अनैतिक अनि हिंस्रक मनोरञ्जनबाट अलग रहन्छौँ। हामी के पढ्‌ने, के हेर्ने र कस्तो विषयमा कुराकानी गर्ने भनेर विचार पुऱ्‍याउँछौँ।—भजन १९:८, ९.

१३ परमेश्‍वरको प्रेम पाउन लायक भइरहन हामीले चढाउने उपासना, हाम्रो आचरण अनि विचार पवित्र हुनै पर्छ। त्यसबाहेक हामी शारीरिक रूपमा पनि स्वच्छ रहेको यहोवा चाहनुहुन्छ।

शारीरिक स्वच्छतामा के-के समावेश छ?

१४. शारीरिक रूपमा स्वच्छ रहनु किन महत्त्वपूर्ण छ?

१४ आफ्नो शरीर अनि आफूवरपरको वातावरण सफा राख्यौँ भने हामीलगायत अरूलाई पनि फाइदा हुन्छ। हामीलाई आनन्द लाग्छ अनि अरूलाई पनि हामीसित नजिक हुन सजिलो लाग्छ। तर शारीरिक रूपमा स्वच्छ रहनुपर्ने अझ महत्त्वपूर्ण कारण छ। स्वच्छ रहँदा यहोवाको महिमा हुन्छ। मानौँ, एक जना बच्चा सधैँ फोहोरी देखिन्छ। उसलाई देख्दा तपाईँलाई कस्तो लाग्छ? उसको आमाबुबाले उसको ख्यालै राख्दैन रहेछन्‌ भनेर सोच्नुहुन्‍न र? त्यसैगरि हामीले पनि सरसफाइमा ध्यान दिएनौँ अनि फोहोरी भएर बस्यौँ भने मानिसहरूले यहोवाबारे नानाथरी कुरा भन्‍न सक्छन्‌। पावलले भने: “हाम्रो सेवामा कुनै खोट नभेटियोस्‌ भनेर हामी ठेस लाग्ने कुनै कारण दिँदैनौँ, बरु हरतरहले आफूलाई परमेश्‍वरका सेवकहरूको रूपमा सिफारिस गर्छौँ।”—२ कोरिन्थी ६:३, ४.

हामी यहोवाका सेवकहरू भएकोले आफूलाई र आफूवरपरको ठाउँलाई सफा राख्नुपर्छ

१५, १६. स्वच्छ रहन हामीले के गर्नुपर्छ?

१५ हाम्रो शरीर र लुगाफाटा: हामीले नियमित सरसफाइ गर्ने बानी बसाल्नुपर्छ। जस्तै: नियमित रूपमा नुहाउनुपर्छ, सकिन्छ भने दिनहुँ। साबुन-पानीले मिचीमिची हात धुनुपर्छ; विशेषगरि खाना पकाउनुअघि, खाना खानुअघि, चर्पी गइसकेपछि अनि फोहोर छोइसकेपछि। हात धुने कुरा साधारणजस्तो देखिएला तर यसले कीटाणु अनि रोगबिमार फैलिनदेखि रोक्छ। यसले ज्यानसमेत जोगाउन सक्छ। चर्पी वा ढलनिकासको व्यवस्था छैन भने फोहोर व्यवस्थापन गर्ने अर्को प्रभावकारी तरिका अपनाउन सकिन्छ। इस्राएलीहरूको पालामा ढलनिकासको व्यवस्था थिएन। त्यसैले तिनीहरू छाउनी र पानीको स्रोतदेखि टाढा गएर दिसा बस्नुपर्थ्यो अनि त्यसलाई पुर्नुपर्थ्यो।—व्यवस्था २३:१२, १३.

१६ हाम्रो लुगा फेसनदार वा महङ्‌गो हुनुपर्छ भन्‍ने छैन। तर सफा अनि चिटिक्क भने हुनुपर्छ। (१ तिमोथि २:९१० पढ्‌नुहोस्‌) हाम्रो पहिरन सधैँ यहोवाको महिमा गर्ने किसिमको होस्‌ भन्‍ने हामी चाहन्छौँ।—तितस २:१०.

१७. हामी आफ्नो घरआँगन किन सफा राख्छौँ?

१७ घरआँगन: हामी जहाँ बसे पनि घरआँगन सफा राख्नुपर्छ। कार, स्कुटर, बाइक वा अरू सवारीसाधन चलाउँछौँ भने त्यो पनि सफा राख्नुपर्छ। खासगरि सभा अनि प्रचार जाँदा हामीले यो कुरामा विशेष ध्यान दिनुपर्छ। हुन पनि हामी प्रचारकार्यमा भविष्यमा पूरै पृथ्वी सफा र सुन्दर हुनेछ भनेर बताउँछौँ नि, होइन र? (लुका २३:४३; प्रकाश ११:१८) हामी सफा नयाँ संसारमा बस्नको लागि तयारी गर्दै छौँ भन्‍ने कुरा हाम्रो सफा घरआँगनले देखाउँछ।

१८. हामी आफ्नो उपासनास्थल किन सफा राख्छौँ?

१८ उपासनास्थल: सभा हुने ठाउँ सफा राखेर पनि हामीले सरसफाइ महत्त्वपूर्ण छ भनेर देखाउनुपर्छ। जस्तै: हामीले राज्यभवन अनि सम्मेलन हुने ठाउँ सधैँ सफा राख्नुपर्छ। पहिलो चोटि सभामा आउने प्रायः मानिसहरू हाम्रो राज्यभवन सफा-सुग्घर भएको याद गर्छन्‌। यसले गर्दा परमेश्‍वरको महिमा हुन्छ। मण्डलीको सदस्य भएकोले हामी सबैले नै राज्यभवन सफा गर्ने अनि त्यसको स्याहारसम्भार गर्ने सुअवसर पाएका छौँ।—२ इतिहास ३४:१०.

खराब आनीबानी हटाउनुहोस्‌

१९. हामी कस्ता कुराहरूदेखि अलग बस्नुपर्छ?

१९ हामीले हटाउनुपर्ने कुलतहरूको एक-एक सूची बाइबलमा दिइएको छैन। तर त्यसमा भएका सिद्धान्तहरू विचार गऱ्‍यौँ भने यहोवाको विचार राम्ररी बुझ्न सक्छौँ। हामीले चुरोट खाएको, अचाक्ली रक्सी पिएको अनि लागूपदार्थ सेवन गरेको यहोवालाई मन पर्दैन। हामी यहोवाका साथी हौँ भने यस्ता कुराहरूबाट अलगै रहन्छौँ। किन? किनभने हामी उहाँले दिनुभएको अनमोल उपहार अर्थात्‌ जीवनको मनैदेखि कदर गर्छौँ। यस्ता कुलतहरूले हाम्रो स्वास्थ्य बिगार्न सक्छ, ज्यान लिन सक्छ अनि वरपरका मानिसहरूलाई हानि पुऱ्‍याउन सक्छ। धेरैजसो मानिस स्वस्थ रहन यस्ता कुलतहरू त्याग्ने कोसिस गर्छन्‌। तर हामी यहोवाका साथीहरूसित यस्ता कुलतहरू त्याग्ने सबैभन्दा महत्त्वपूर्ण कारण छ: यहोवाप्रतिको प्रेम। एउटी युवतीले यसो भनिन्‌: “यहोवाको मदतले कुलत त्याग्न सकेँ अनि स्वच्छ हुन सकेँ। . . . आफ्नै बलबर्कतले त यसो गर्न कहिल्यै सक्दिनथेँ होला।” अब हामी खराब आनीबानी हटाउन मदत गर्ने पाँच वटा बाइबल सिद्धान्त विचार गरौँ।

२०, २१. हामी कस्तो आनीबानीदेखि अलग रहेको यहोवा चाहनुहुन्छ?

२० “हे प्रियहरू हो, हामीलाई यी कुरा प्रतिज्ञा गरिएको हुनाले तन र मनलाई अशुद्ध पार्ने हरकिसिमका कुराबाट अलग रहेर आफूलाई शुद्ध पारौँ र परमेश्‍वरको डर राख्दै पूर्णतया पवित्र होऔँ।” (२ कोरिन्थी ७:१) हाम्रो दिमाग अनि शरीरलाई हानि गर्ने अशुद्ध बानीहरूदेखि हामी अलग बसेको यहोवा चाहनुहुन्छ।

२१ ‘अशुद्ध पार्ने हरकिसिमका कुराबाट अलग रहनुपर्ने’ सशक्‍त कारण २ कोरिन्थी ६:१७, १८ मा दिइएको छ। यहोवा हामीलाई यसो भन्‍नुहुन्छ: “अशुद्ध कुरा छुन छोड।” त्यसपछि उहाँ यस्तो प्रतिज्ञा गर्नुहुन्छ: ‘म तिमीहरूलाई ग्रहण गर्नेछु। अनि म तिमीहरूको बुबा हुनेछु र तिमीहरू मेरा छोराहरू र छोरीहरू हुनेछौ।’ हो, यदि हामी आफूलाई अशुद्ध पार्ने कुराहरूदेखि अलग बस्यौँ भने बुबाले छोराछोरीलाई माया गरेजस्तै यहोवाले हामीलाई माया गर्नुहुनेछ।

२२-२५. खराब आनीबानी त्याग्न हामीलाई कस्ता बाइबल सिद्धान्तहरूले मदत गर्छ?

२२ “तिमीहरूले यहोवा तिमीहरूका परमेश्‍वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा ज्यानले र आफ्नो सारा दिमागले प्रेम गर्नू।” (मत्ति २२:३७) यो सबैभन्दा ठूलो आज्ञा हो। (मत्ति २२:३८) यहोवा हाम्रो तनमनको प्रेम पाउन योग्य हुनुहुन्छ। तर यदि हामी आफ्नो जीवन छोट्ट्याउने वा दिमागलाई हानि पुऱ्‍याउने कुनै काम गर्छौँ भने कसरी तनमनले यहोवालाई प्रेम गर्न सक्छौँ र? बरु हामी उहाँले दिनुभएको जीवनको आदर गर्न सकेजति सबै गर्छौँ।

२३ “[यहोवाले] नै सबै मानिसलाई जीवन, सास अनि सबै थोक दिनुहुन्छ।” (प्रेषित १७:२४, २५) यदि साथीले विशेष उपहार दियो भने के तपाईँ त्यो फ्याँक्नुहुन्छ वा बिगार्नुहुन्छ? हाम्रो जीवन पनि यहोवाले दिनुभएको अनमोल उपहार हो। हामी मनैदेखि यसको कदर गर्छौँ। त्यसकारण हामी यहोवाको महिमा गर्ने तरिकामा जीवन बिताउन चाहन्छौँ।—भजन ३६:९.

२४ “तिमीहरूले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू।” (मत्ति २२:३९) खराब आनीबानीले हामीलाई मात्र होइन, हामीवरपरका मानिसहरूलाई समेत असर गर्न सक्छ, जसमा खासगरि हामीले औधी माया गर्ने व्यक्‍तिहरू पर्छन्‌। उदाहरणको लागि, घरको कुनै सदस्यले चुरोट खान्छ भने अरू सदस्यलाई पनि त्यसको धुवाँले असर गर्छ र गम्भीर रोग लाग्न सक्छ। तर हामीले खराब बानी त्याग्यौँ भने आफूवरपरका मानिसहरूलाई माया गरिरहेका हुन्छौँ।—१ युहन्‍ना ४:२०, २१.

२५ “तिनीहरूलाई यो कुरा सम्झाइरहनू कि तिनीहरू सरकार र अख्तियारवालाहरूको अधीनमा बसून्‌ अनि उनीहरूप्रति आज्ञाकारी होऊन्‌।” (तितस ३:१) थुप्रै मुलुकमा लागूपदार्थ सेवन गर्न र राख्न निषेध गरिएको हुन्छ। यहोवाले सरकारको आदर गर्ने आज्ञा दिनुभएकोले हामी ती नियमहरू पालन गर्छौँ।—रोमी १३:१.

हामी स्वच्छ र पवित्र रह्‍यौँ भने यहोवाको महिमा गरिरहेका हुन्छौँ

२६. (क) यहोवाले हाम्रो उपासना स्विकार्नुभएको चाहन्छौँ भने के गर्नुपर्छ? (ख) हामीले किन आफूलाई स्वच्छ र पवित्र राख्नुपर्छ?

२६ यहोवाको साथी बन्‍न हामीले आफूमा केही परिवर्तन गर्नुपर्ने रहेछ भनेर महसुस गर्न सक्छौँ। त्यसो गर्न हामीले ढिलासुस्ती गर्नु हुँदैन। खराब आनीबानी त्याग्न सधैँ सजिलो हुँदैन तर यहोवाको मदतले हामी सफल हुन सक्छौँ। उहाँले हामीलाई यस्तो प्रतिज्ञा गर्नुभएको छ: “म यहोवा तिमीहरूका परमेश्‍वर हुँ। तिमीहरूकै भलाइ होस्‌ भनेर म तिमीहरूलाई सिकाउँछु। तिमीहरू हिँड्‌नुपर्ने बाटोमा म तिमीहरूलाई डोऱ्‍याउँछु।” (यसैया ४८:१७) आफूलाई स्वच्छ र पवित्र राख्न सकेजति गरिरहेका छौँ भने त्यसले यहोवाको महिमा गर्छ भन्‍ने कुरामा हामी ढुक्क छौँ।