सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय १०

विवाह​—⁠परमेश्‍वरको वरदान

विवाह​—⁠परमेश्‍वरको वरदान

“तीन सुताले बाटिएको डोरी सजिलै चुँडिदैन।”—उपदेशक ४:१२.

१, २. (क) नवविवाहित जोडी आफ्नो वैवाहिक जीवन कस्तो भएको चाहन्छ? (ख) यस लेखमा कस्ता प्रश्‍नहरू छलफल गरिनेछ?

कल्पना गर्नुहोस्‌, दुलहा-दुलही विवाह बन्धनमा बाँधिनै लागेका छन्‌। तिनीहरू निकै खुसी छन्‌। तिनीहरूले मीठा-मीठा सपना बुनेका छन्‌। तिनीहरू आफ्नो वैवाहिक जीवन स्थायी र सुखमय होस्‌ भन्‍ने चाहन्छन्‌।

धेरैको वैवाहिक जीवन सुरुमा राम्रै भए तापनि बिस्तारै तिनीहरूको सम्बन्ध चिसिँदै जान सक्छ। दम्पतीले आफ्नो वैवाहिक जीवन स्थायी र सुखी बनाउन परमेश्‍वरको निर्देशन पालन गर्नुपर्छ। त्यसैले बाइबलले यी प्रश्‍नहरूको जवाफ कसरी दिन्छ, छलफल गरौँ: विवाह गर्नुका केही फाइदा के-के हुन्‌? विवाह गर्ने विचार गर्दै हुनुहुन्छ भने तपाईँ कसरी असल जीवनसाथी रोज्न सक्नुहुन्छ? तपाईँ कसरी असल पति वा पत्नी बन्‍न सक्नुहुन्छ? वैवाहिक सम्बन्धलाई बलियो बनाइराख्न के गर्न सक्नुहुन्छ?हितोपदेश ३:५, ६ पढ्‌नुहोस्‌।

विवाह गरूँ कि नगरूँ?

३. के खुसी हुन विवाह गर्नै पर्छ? व्याख्या गर्नुहोस्‌।

कोही-कोही विवाह नगरी खुसी हुन सकिँदैन भन्छन्‌। तर यो कुरा साँचो होइन। येसुले अविवाहित रहनु वरदान हो भन्‍नुभयो। (मत्ति १९:११, १२) प्रेषित पावलले पनि अविवाहित रहँदा हुने फाइदाहरूबारे बताए। (१ कोरिन्थी ७:३२-३८) विवाह गर्ने कि नगर्ने भनेर हामी आफैले निर्णय गर्नुपर्छ। साथीभाइ र परिवारको दबाबमा परेर वा आफ्नो संस्कृतिमा विवाहलाई अत्यन्तै महत्त्व दिइन्छ भन्दैमा विवाह गर्ने निर्णय गर्नु बुद्धिमानी होइन।

४. बलियो वैवाहिक सम्बन्धका फाइदाहरू के-के हुन्‌?

बाइबलले विवाह गर्नु पनि परमेश्‍वरको वरदान हो भनी बताउँछ। साथै विवाह गर्नुका फाइदाबारे पनि बताउँछ। पहिलो मानिस आदमलाई परमेश्‍वरले यसो भन्‍नुभयो: “मानिस एक्लो रहन असल छैन। म उसको लागि सुहाउने एक जना साथी बनाइदिनेछु, उनी मानिसको सहयोगी हुनेछिन्‌।” (उत्पत्ति २:१८) यहोवाले हव्वालाई सृष्टि गरेर आदमलाई जीवनसाथीको रूपमा दिनुभयो। यसरी मानव परिवारको सुरुवात भयो। यदि कुनै दम्पतीको छोराछोरी छन्‌ भने तिनीहरूको वैवाहिक सम्बन्धले गर्दा छोराछोरीले हुर्कनको लागि राम्रो वातावरण पाउँछन्‌। तर विवाह गर्नुको उद्देश्‍य छोराछोरी जन्माउनु मात्र होइन।—भजन १२७:३; एफिसी ६:१-४.

५, ६. वैवाहिक बन्धन कसरी “तीन सुताले बाटिएको डोरी”-जस्तै हुन्छ?

राजा सुलेमानले यस्तो लेखे: “एकभन्दा दुई असल हो। तिनीहरूले आफ्नो मेहनतको मीठो फल पाउँछन्‌। किनकि यदि एउटा लड्यो भने अर्कोले आफ्नो साथीलाई उठाउनेछ। तर कुनै मानिस लड्‌दा उसलाई उठाउने कोही पनि छैन भने उसको हालत के होला? . . .  अनि तीन सुताले बाटिएको डोरी सजिलै चुँडिदैन।”—उपदेशक ४:९-१२.

घनिष्ठ पतिपत्नी एकअर्काको सबैभन्दा असल साथी हुन्छन्‌। तिनीहरू एकअर्कालाई मदत गर्छन्‌ अनि हौसला र सुरक्षा दिन्छन्‌। प्रेमले वैवाहिक बन्धन मजबुत बनाउँछ। पतिपत्नी मिलेर यहोवाको उपासना गर्दा तिनीहरूको सम्बन्ध झनै घनिष्ठ हुन्छ। तिनीहरूको सम्बन्ध “तीन सुताले बाटिएको डोरी”-जस्तै अटुट हुन्छ। यस्तो डोरी दुई सुताले बाटिएको डोरीभन्दा धेरै बलियो हुन्छ। त्यसैले वैवाहिक जीवनमा यहोवालाई तेस्रो सुता बनाउँदा पतिपत्नीको सम्बन्ध झनै बलियो हुन्छ।

७, ८. विवाहको विषयमा पावलले कस्ता सल्लाहहरू दिए?

विवाहपछि पतिपत्नी एकअर्काको यौनइच्छा पूरा गरेर आनन्दित हुन सक्छन्‌। (हितोपदेश ५:१८) तर कसैले आफ्नो यौनइच्छा पूरा गर्ने उद्देश्‍यले मात्र विवाह गर्न चाहन्छ भने उसले जीवनसाथी रोज्ने सन्दर्भमा बुद्धिमानी निर्णय गर्न सक्दैन। त्यसैले बाइबलले “बैँस” अर्थात्‌ यौनइच्छा प्रबल हुने अवस्था पार गरिसकेपछि मात्र विवाह गर्न सल्लाह दिन्छ। (१ कोरिन्थी ७:३६) यस्तो इच्छालाई वशमा राख्न सक्ने नभएसम्म कुर्नु बुद्धिमानी हुन्छ। बैँस पार गरेको व्यक्‍तिले राम्ररी सोचविचार गर्न सक्छ अनि सही छनौट गर्न सक्छ।—१ कोरिन्थी ७:९; याकुब १:१५.

विवाह गर्ने विचार गर्दै हुनुहुन्छ भने त्यो सँगसँगै आइपर्ने जिम्मेवारी र चुनौतीबारे पनि सोच्नुहोस्‌। विवाहित व्यक्‍तिले “शारीरिक दुःखकष्ट झेल्नेछ” भनी पावलले बताए। (१ कोरिन्थी ७:२८) पतिपत्नीको सम्बन्ध जति नै राम्रो भए पनि तिनीहरूको जीवनमा कुनै न कुनै समस्या त पक्कै आउँछ। त्यसैले सोचविचार गरेर जीवनसाथी रोज्नुहोस्‌।

जीवनसाथी कसरी रोज्ने?

९, १०. यहोवाको उपासना नगर्ने व्यक्‍तिसित विवाह गर्दा नतिजा कस्तो हुन्छ?

जीवनसाथी रोज्ने सन्दर्भमा बाइबलको यो महत्त्वपूर्ण सिद्धान्त केलाउनु राम्रो हो: “विश्‍वास नगर्नेहरूसित एउटै जुवामा ननारिओ।” (२ कोरिन्थी ६:१४) यो उदाहरण खेतीकिसानीसित सम्बन्धित छ। किसानले बलियो र कमजोर वा अग्लो र होचो जनावरहरूलाई एउटै जुवामा नारेर जोत्दैन। त्यसरी जोत्दा दुवै जनावरले सास्ती भोग्छन्‌। त्यसैगरि, कुनै ख्रिष्टियनले यहोवाको उपासना नगर्ने व्यक्‍तिसित विवाह गऱ्‍यो भने तिनीहरूको जीवनमा समस्याको ओइरो लाग्न सक्छ। त्यसैले बाइबलको यो सल्लाह पालन गर्नु कति बुद्धिमानी छ: ‘प्रभुको चेलासित मात्र विवाह गर्नू।’—१ कोरिन्थी ७:३९.

१० कसै-कसैलाई एक्लै बस्नुभन्दा यहोवाको उपासना नगर्ने व्यक्‍तिसित विवाह गर्नु नै उचित लाग्न सक्छ। तर बाइबलको सल्लाह पालन नगर्दा प्रायजसो दुःखदायी र पीडादायी नतिजा भोग्नुपर्ने हुन्छ। यहोवाका उपासकहरूको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा उहाँको सेवा गर्नु हो। तर त्यही कुरा तपाईँको जीवनसाथीलाई महत्त्वपूर्ण लाग्दैन भने तपाईँलाई कति दुःख लाग्ला! थुप्रैले यहोवालाई माया नगर्ने र उहाँको सेवा नगर्ने व्यक्‍तिसित विवाह गर्नुभन्दा अविवाहित नै रहने निर्णय गरेका छन्‌।भजन ३२:८ पढ्‌नुहोस्‌।

११. तपाईँ कसरी असल जीवनसाथी रोज्न सक्नुहुन्छ?

११ तर कोही यहोवाको सेवक हुँदैमा ऊ तपाईँको लागि असल जीवनसाथी हुन्छ भन्‍ने छैन। विवाह गर्ने विचार गर्दै हुनुहुन्छ भने आफूलाई मन पर्ने र आफ्नो व्यक्‍तित्वसित मिल्ने व्यक्‍ति खोज्नुहोस्‌। आफ्नो जस्तै आध्यात्मिक लक्ष्य भएको र परमेश्‍वरको सेवालाई पहिलो स्थान दिने व्यक्‍ति नभेटेसम्म पर्खनुहोस्‌। विश्‍वासी र बुद्धिमान्‌ दासद्वारा प्रकाशित विवाहसम्बन्धी लेखहरू अध्ययन र मनन गर्नुहोस्‌।भजन ११९:१०५ पढ्‌नुहोस्‌।

१२. मागी विवाहबारे बाइबलमा के बताइएको छ?

१२ कुनै-कुनै ठाउँमा आमाबुबाले नै छोराछोरीको लागि जीवनसाथी खोजिदिने चलन छ। त्यस्ता ठाउँहरूमा आमाबुबाले नै छोराछोरीको लागि उपयुक्‍त जीवनसाथी रोजिदिन सक्छन्‌ भन्‍ने मान्यता छ। मागी विवाह गर्ने चलन बाइबलकालीन समयमा पनि थियो। यदि तपाईँको परिवारमा पनि यस्तै चलन छ भने छोराछोरीको लागि जीवनसाथी रोजिदिँदा कस्ता गुणहरूमा ध्यान दिनुपर्छ भनेर तपाईँका आमाबुबाले बाइबलबाट थाह पाउन सक्नुहुन्छ। उदाहरणको लागि, अब्राहामले आफ्नो छोरा इसहाकको लागि केटी रोजिदिँदा धनसम्पत्ति वा मानप्रतिष्ठालाई महत्त्वपूर्ण ठानेनन्‌। बरु तिनले यहोवालाई प्रेम गर्ने केटी रोजे।—उत्पत्ति २४:३, ६७; नोट २५ हेर्नुहोस्‌।

म कसरी असल जीवनसाथी बन्‍न सक्छु?

१३-१५. (क) एक जना युवक कसरी असल पति बन्‍न सक्छन्‌? (ख) एक जना युवती कसरी असल पत्नी बन्‍न सक्छिन्‌?

१३ विवाह गर्ने विचार गर्दै हुनुहुन्छ भने सबैभन्दा पहिला तपाईँ तयार हुनुपर्छ। हुनत तपाईँलाई आफू तयार छु जस्तो लाग्ला तर विवाहको लागि तयार हुनुमा थुप्रै कुरा समावेश छन्‌। आउनुहोस्‌, त्यसबारे छलफल गरौँ।

विवाहबारे परमेश्‍वरको वचनले दिने सल्लाह पढ्‌न र मनन गर्न पर्याप्त समय दिनुहोस्‌

१४ परिवारमा पति र पत्नीको भूमिका फरक-फरक हुन्छ भनी बाइबल बताउँछ। त्यसैले विवाहको लागि पुरुष र स्त्रीले गर्ने तयारी पनि फरक-फरक हुन्छ। विवाह गर्ने विचार गरिरहेका पुरुषले शिरको जिम्मेवारी बहन गर्न आफू तयार छु कि छैनँ भनेर जाँच्नुपर्छ। पतिले पत्नी र छोराछोरीको भौतिक अनि भावनात्मक आवश्‍यकता पूरा गरेको यहोवा चाहनुहुन्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा, परिवार मिलेर यहोवाको उपासना गर्दा पतिले नेतृत्व लिनुपर्छ। यदि कुनै पुरुषले आफ्नो परिवारको हेरविचार गर्दैन भने ऊ “विश्‍वास नगर्ने मानिसभन्दा पनि खराब हुन्छ” भनी बाइबल बताउँछ। (१ तिमोथि ५:८) त्यसैले विवाह गर्ने विचार गर्दै हुनुहुन्छ भने बाइबलको यो सिद्धान्त कसरी लागू गर्न सक्नुहुन्छ, विचार गर्नुहोस्‌: “पहिला बाहिरको काम गर अनि खेत तयार पार; त्यसपछि आफ्नो घर बनाऊ।” भन्‍नुको मतलब, यहोवाले पतिहरूको लागि तोकिदिनुभएको स्तर पूरा गर्न सक्नुहुन्छ कि सक्नुहुन्‍न, तपाईँले विवाह गर्नुअघि नै पक्का गर्नुपर्छ।—हितोपदेश २४:२७.

१५ विवाह गर्ने विचार गरिरहेकी युवतीले आफू पत्नी वा आमाको भूमिका पूरा गर्न सक्छु कि सक्दिनँ भनेर पहिल्यै विचार गर्नुपर्छ। बाइबलमा असल पत्नीले कसरी पति र छोराछोरीको हेरविचार गर्नुपर्छ भन्‍नेबारे केही तरिका बताइएको छ। (हितोपदेश ३१:१०-३१) आजकल विवाह गर्ने विचार गरिरहेका थुप्रै मानिसहरू जीवनसाथीले आफ्नो लागि के गर्न सक्छन्‌ भन्‍नेबारे मात्र सोच्छन्‌। तर हामीले आफ्नो जीवनसाथीको लागि के गर्न सक्छौँ भन्‍नेबारे सोचेको यहोवा चाहनुहुन्छ।

१६, १७. यदि तपाईँ विवाह गर्ने विचार गर्दै हुनुहुन्छ भने कुन कुरामा मनन गर्नुपर्छ?

१६ यहोवाले पतिपत्नीलाई कस्तो सल्लाह दिनुभएको छ, विवाह गर्नुअघि मनन गर्नुहोस्‌। हुनत पति परिवारका शिर हुन्‌ तर पत्नीलाई शारीरिक वा भावनात्मक रूपमा दुर्व्यवहार गर्ने छुट तिनीसित छैन। तिनले पत्नीलाई शारीरिक दुर्व्यवहार गर्नु हुँदैन वा उनको भावनामा चोट पुऱ्‍याउनु हुँदैन। परिवारको असल शिरले येसुको अनुकरण गर्छन्‌। तिनी परिवारका सदस्यहरूसित सधैँ मायालु र दयालु व्यवहार गर्छन्‌। (एफिसी ५:२३) विवाह गर्ने विचार गरिरहेकी स्त्रीले भने पतिको निर्णयलाई कसरी समर्थन गर्ने र पतिसँगै कसरी मिलेर काम गर्ने भन्‍नेबारे सोच्नुपर्छ। (रोमी ७:२) खुसीसाथ त्रुटिपूर्ण मानिसको अधीनमा बस्न सक्छु कि सक्दिनँ भनेर उनले विचार गर्नुपर्छ। यदि त्यसो गर्न गाह्रो लाग्छ भने उनले केही समय अझै अविवाहितै रहने निर्णय गर्न सक्छिन्‌।

१७ पतिपत्नीले आफ्नो भन्दा जीवनसाथीको खुसीलाई प्राथमिकता दिनुपर्छ। (फिलिप्पी २:४ पढ्‌नुहोस्‌) पावलले यस्तो लेखे: “तिमीहरू हरेकले आ-आफ्नो पत्नीलाई आफैलाई जस्तै प्रेम गर्नुपर्छ अनि पत्नीले पनि आफ्नो पतिको गहिरो आदर गर्नुपर्छ।” (एफिसी ५:२१-३३) पतिपत्नी दुवैले एकअर्काको माया अनि आदर पाएको महसुस गर्नुपर्छ। त्यसैले वैवाहिक जीवन सफल बनाउन पतिले आफ्नी पत्नीलाई प्रेम गर्नुपर्छ र पत्नीले आफ्नो पतिको आदर गर्नुपर्छ।

१८. डेटिङ गर्दा किन होसियार हुनुपर्छ?

१८ विवाह गर्न चाहने पुरुष र स्त्रीको लागि डेटिङ एउटा रमाइलो क्षण हो। त्यतिबेला दुवैले एकअर्कालाई नजिकबाट चिन्‍ने मौका पाउँछन्‌। तिनीहरूले एकअर्कासित जीवन बिताउन सक्छन्‌ कि सक्दैनन्‌ भनेर निर्णय गर्ने समय पनि यही हो। त्यसैले तिनीहरू व्यावहारिक र इमानदार हुनुपर्छ। डेटिङ गर्दा तिनीहरूले आफ्नो भावी पति वा पत्नीसित कसरी कुराकानी गर्ने भनेर सिक्छन्‌। अनि एकअर्काको मनको कुरा बुझ्ने कोसिस गर्छन्‌। मायाप्रीती बढ्‌दै जाँदा एकअर्काप्रति आकर्षित हुनु स्वाभाविकै हो। तर तिनीहरू आफ्नो माया व्यक्‍त गर्दा होसियार भएनन्‌ भने अनैतिक क्रियाकलापमा फस्न सक्छन्‌। साँचो प्रेमले आत्मसंयम देखाउन र यहोवा अनि एकअर्कासितको सम्बन्ध बिगार्ने कुनै काम नगर्न मदत गर्छ।—१ थिस्सलोनिकी ४:६.

डेटिङ गर्दा पुरुष र स्त्रीले आफ्नो भावी पति वा पत्नीसित कसरी कुराकानी गर्ने भनेर सिक्छन्‌

म कसरी आफ्नो वैवाहिक सम्बन्ध दिगो बनाउन सक्छु?

१९, २०. ख्रिष्टियनहरू वैवाहिक सम्बन्धलाई कुन दृष्टिकोणले हेर्छन्‌?

१९ प्रायजसो किताब अनि चलचित्रमा कथाको अन्तमा हिरो र हिरोइनको धूमधामसँग विवाह भएको देखाइन्छ। तर वास्तविक जीवनमा विवाह भनेको सुरुवात मात्र हो। यहोवा मानिसको वैवाहिक सम्बन्ध कहिल्यै नटुटोस्‌ भन्‍ने चाहनुहुन्छ।—उत्पत्ति २:२४.

२० आजकल थुप्रै मानिस वैवाहिक सम्बन्धलाई स्थायी बन्धनको रूपमा हेर्दैनन्‌। तिनीहरू विवाह गर्नु र सम्बन्धविच्छेद गर्नुलाई हल्कासित लिन्छन्‌। कसै-कसैको विचारमा वैवाहिक जीवनमा समस्या देखा पऱ्‍यो भने सम्बन्ध तोड्‌नु नै त्यसको समाधान हो। तर तीन सुताले बाँटिएको डोरी बलियो हुन्छ भन्‍ने बाइबलको उदाहरण सम्झनुहोस्‌। त्यस्तो डोरी असाध्यै गाह्रो अवस्था आइपर्दा पनि हतपती चुडिँदैन। यहोवाको मदत खोज्दा वैवाहिक सम्बन्ध दिगो हुन्छ। येसुले यसो भन्‍नुभयो: “जसलाई परमेश्‍वरले एकसाथ जोड्‌नुभएको छ, त्यसलाई कुनै मानिसले नछुट्ट्याओस्‌।”—मत्ति १९:६.

२१. एकअर्कालाई माया देखाउन पतिपत्नीलाई केले मदत गर्छ?

२१ हामी सबैमा राम्रा अनि नराम्रा पक्षहरू छन्‌। हामी अरूको कमीकमजोरी सजिलै देख्छौँ, विशेषगरि आफ्नो जीवनसाथीको। तर अरूको कमीकमजोरीमा ध्यान दिँदा हामी खुसी हुन सक्दैनौँ। अर्कोतर्फ, जीवनसाथीको राम्रो पक्षमा ध्यान दिन्छौँ भने हाम्रो वैवाहिक जीवन सुखी हुन्छ। के त्रुटिपूर्ण जीवनसाथीको राम्रो पक्षमा मात्र ध्यान दिनु सम्भव छ? पक्कै छ। यहोवालाई हामी त्रुटिपूर्ण छौँ भनेर थाह छ तैपनि उहाँ हाम्रो असल गुण हेर्नुहुन्छ। यदि उहाँले हाम्रो कमीकमजोरीमा ध्यान दिनुभएको भए के हुन्थ्यो? भजनरचयिताले यसो भने: “हे याह, तपाईँले हाम्रा गल्तीहरूमा ध्यान दिनुभयो भने हे यहोवा, को खडा रहन सक्ला र?” (भजन १३०:३) पतिपत्नीले एकअर्काको असल गुणमा ध्यान दिएर अनि तुरुन्तै क्षमा दिएर यहोवाको देखासिकी गर्न सक्छन्‌।कलस्सी ३:१३ पढ्‌नुहोस्‌।

२२, २३. अब्राहाम र साराले विवाहित दम्पतीको लागि कसरी असल उदाहरण बसाले?

२२ वर्षहरू बित्दै जाँदा वैवाहिक सम्बन्ध झन्‌झनै बलियो हुँदै जान्छ। अब्राहाम र साराको वैवाहिक सम्बन्ध दिगो र सुखमय थियो। यहोवाले अब्राहामलाई ऊर सहर छोडेर जान आज्ञा दिनुहुँदा साराको उमेर ६० वर्ष कटिसकेको हुन सक्छ। आफ्नो आरामदायी घर छोडेर पालमा बस्न तिनलाई कति गाह्रो भयो होला, कल्पना गर्नुहोस्‌ त। तर साराले आफ्नो पतिको असल साथी र सहयोगीको भूमिका निभाइन्‌। तिनी अब्राहामको निकै आदर गर्थिन्‌। त्यसैले तिनले अब्राहामले गरेको निर्णयलाई समर्थन गरिन्‌ र त्यसलाई सफल बनाउन सक्दो गरिन्‌।—उत्पत्ति १८:१२; १ पत्रुस ३:६.

२३ वैवाहिक सम्बन्ध बलियो छ भन्दैमा पतिपत्नी हरेक कुरामा एकअर्कासित सहमत हुन्छन्‌ भन्‍ने छैन। एकपल्ट साराले भनेको कुरामा अब्राहाम सहमत हुन नसक्दा यहोवाले तिनलाई यसो भन्‍नुभयो: “साराको कुरा सुन।” अब्राहामले त्यसै गरे र त्यसको परिणाम राम्रो भयो। (उत्पत्ति २१:९-१३) कहिलेकाहीँ जीवनसाथीसित कुनै कुरामा मतभेद भयो भने हताश नहुनुहोस्‌। बरु त्यस्तो अवस्थामा पनि जीवनसाथीलाई प्रेम र आदर गर्नुपर्छ।

विवाह गरेको दिनदेखि नै बाइबलको डोऱ्‍याइअनुसार चल्नुहोस्‌

२४. विवाह गर्ने विचार गरिरहेकाहरूले के गर्दा यहोवाको महिमा हुन्छ?

२४ आज हजारौँ ख्रिष्टियन दम्पतीले सुखी वैवाहिक जीवन बिताइरहेका छन्‌। यदि तपाईँ विवाह गर्ने विचार गर्दै हुनुहुन्छ भने जीवनसाथी रोज्नु भनेको महत्त्वपूर्ण निर्णय हो भनेर नबिर्सनुहोस्‌। यस निर्णयले तपाईँको बाँकी जीवनलाई असर गर्छ। त्यसैले निर्णय गर्दा यहोवाको डोऱ्‍याइ खोज्नुहोस्‌। यसो गर्दा तपाईँले असल जीवनसाथी रोज्न र असल जीवनसाथी बन्‍न मदत पाउनुहुनेछ। साथै वैवाहिक सम्बन्धलाई बलियो र सुखमय बनाउन चाहिने गुणहरू विकास गर्न सक्नुहुनेछ। यस्तो सम्बन्धले यहोवाको महिमा हुन्छ।