सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठ २

तपाईंले परमेश्‍वरजस्तो असल मित्र पाउन सक्नुहुन्‍न

तपाईंले परमेश्‍वरजस्तो असल मित्र पाउन सक्नुहुन्‍न

परमेश्‍वरलाई आफ्नो मित्र बनाउन सक्नुजस्तो अनमोल कुरा अरू केही हुन सक्दैन। परमेश्‍वरले तपाईंलाई आनन्दित र सुरक्षित हुने तरिका सिकाउनुहुनेछ। उहाँले तपाईंलाई थुप्रै गलत विश्‍वास तथा हानिकारक चलनहरूबाट मुक्‍त गर्नुहुनेछ। उहाँले तपाईंको प्रार्थना सुन्‍नुहुनेछ। उहाँले तपाईंलाई मनमा शान्ति र परमेश्‍वरमाथि भरोसा विकास गर्न मदत गर्नुहुनेछ। (भजन ७१:५; ७३:२८) समस्या आइपर्दा परमेश्‍वरले तपाईंलाई आड दिनुहुनेछ। (भजन १८:१८) अनि परमेश्‍वरले तपाईंलाई अनन्त जीवनको वरदान पनि दिनुभएको छ।—रोमी ६:२३.

परमेश्‍वरसित घनिष्ठ हुँदै जानुहुँदा तपाईं परमेश्‍वरका मित्रहरूसित पनि घनिष्ठ हुनुहुनेछ। तिनीहरू तपाईंको पनि मित्र हुनेछन्‌। साँच्चै भन्‍ने हो भने, तिनीहरू तपाईंका भाइबहिनीहरू सरह हुनेछन्‌। तिनीहरू तपाईंलाई परमेश्‍वरबारे सिकाउन, मदत गर्न र प्रोत्साहन दिन खुसी हुनेछन्‌।

हामी परमेश्‍वर बराबर छैनौं। परमेश्‍वरसित मित्रता गाँस्दै जानुहुँदा तपाईंले एउटा महत्त्वपूर्ण कुरा बुझ्नुपर्छ। परमेश्‍वरसित मित्रता गाँस्नु भनेको दौंतरीहरूसित मित्रता गाँस्नुजस्तो होइन। उहाँ हामीभन्दा धेरै पाको, बुद्धिमान्‌ र शक्‍तिशाली हुनुहुन्छ। उहाँ नै हाम्रो वैध शासक हुनुहुन्छ। त्यसैकारण, हामी उहाँको मित्र हुन चाहन्छौं भने हामीले उहाँको कुरा सुन्‍नुपर्छ र उहाँले भन्‍नुभएअनुसार गर्नुपर्छ। यसो गर्दा सधैं हाम्रै भलाइ हुन्छ।—यशैया ४८:१८.