सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय १२

“शान्तिका परमेश्‍वर”-को सेवा गर्न व्यवस्थित

“शान्तिका परमेश्‍वर”-को सेवा गर्न व्यवस्थित

यस अध्यायमा हामीले सिक्ने मुख्य कुरा

यहोवा आफ्ना जनहरूलाई क्रमिक रूपमा व्यवस्थित पार्नुहुन्छ

१, २. जनवरी १८९५ मा प्रहरीधरहरा-को आवरणमा के परिवर्तन गरियो? भाइहरूले यस परिवर्तनलाई कसरी लिए?

 जोन ए. बोनेट नाम गरेका जोसिला बाइबल विद्यार्थी जनवरी १८९५ अङ्‌कको प्रहरीधरहरा पाएपछि असाध्यै खुसी भए। किनभने यो अङ्‌कको आवरण बेग्लै थियो। बिलकुलै नयाँ त्यो आवरणमा निकै आकर्षक चित्र थियो। त्यो चित्रमा उर्लंदै गरेको छालले प्रकाशगृहलाई हिर्काइरहेको थियो अनि प्रकाशगृहमा बलिरहेको बत्तीको उज्योलोले चाहिं अँध्यारो चिरिरहेको थियो। पत्रिकाको नयाँ आवरणबारे जानकारी दिन “हाम्रो नयाँ डिजाइन” शीर्षकको लेख पनि छापिएको थियो।

आवरण असाध्यै मन परेकोले भाइ बोनेटले भाइ रसललाई एउटा चिठी लेखे। तिनले यसो भने, “प्रहरीधरहरा पत्रिकाको नयाँ आवरण देखेर धेरै खुसी लाग्यो। असाध्यै राम्रो छ!” त्यसैगरि अर्का वफादार बाइबल विद्यार्थी जोन एच. ब्राउनले नयाँ आवरणबारे यस्तो लेखे: “आवरण अति आकर्षक छ। आँधी र छाल आए पनि त्यो धरहरा रतीभर डगमगाएको छैन, त्यसको जग कत्ति बलियो!” प्रहरीधरहरा-को नयाँ आवरण त्यस वर्षको पहिलो परिवर्तन थियो। तर अन्तिम भने थिएन। सङ्‌गठनमा अर्को एउटा ठूलो परिवर्तन सोही वर्षको नोभेम्बरमा भयो। चाखलाग्दो कुरा, यो परिवर्तन पनि आँधीले गर्दा उर्लेको छालले नै निम्त्याएको थियो।

३, ४. नोभेम्बर १५, १८९५ को प्रहरीधरहरा-मा कुन समस्याबारे चर्चा गरिएको थियो? त्यसमा पछिसम्म असर गर्ने के घोषणा गरियो?

बाइबल विद्यार्थीहरूको सङ्‌गठनको शान्ति भङ्‌ग गर्ने छालसरी उर्लंदै गरेको एउटा समस्याबारे नोभेम्बर १५, १८९५ को प्रहरीधरहरा-मा खुलस्त बताइएको थियो। त्यो थियो, मण्डलीमा कसको नेतृत्व हुनुपर्छ भन्‍ने विषयमा भाइहरूबीच चर्कंदै गरेको विवाद। प्रतिस्पर्धाको मनोभावले मण्डलीमा फाटो ल्याउँछ भनेर बुझाउन उक्‍त लेखमा सङ्‌गठनलाई एउटा जहाजसँग तुलना गरिएको थियो। मण्डलीमा नेतृत्व लिइरहेका भाइहरूले जहाजरूपी सङ्‌गठनलाई आँधीबेहरीको लागि तयार पार्न सकिरहेका छैनन्‌ भनेर त्यस पत्रिकामा नलुकाई भनिएको थियो। त्यसोभए, ती भाइहरूले के गर्नुपर्ने थियो?

आँधी आएको खण्डमा यात्रुहरूको ज्यान जोगाउन आवश्‍यक साधनहरू जहाजमा छ कि छैन र जहाजका कामदारहरू तम्तयार छन्‌ कि छैनन्‌ भनेर योग्य कप्तानले पक्का गर्छ भनी उक्‍त लेखमा बताइयो। त्यसैगरि सङ्‌गठनमा नेतृत्व लिइरहेका भाइहरूले पनि आँधीसरी समस्याहरू आउँदा त्यसको सामना गर्न मण्डली तयार छ कि छैन भनेर पक्का गर्नुपर्थ्यो। त्यसको लागि उक्‍त लेखमा पछिसम्म असर गर्ने एउटा परिवर्तनको घोषणा गरिएको थियो। “बगालको ‘निरीक्षण गर्न’” तुरुन्तै “प्रत्येक मण्डलीमा एल्डरहरू छान्‍न” निर्देशन दिइयो।—प्रेषि. २०:२८.

५. (क) एल्डरहरूलाई छान्‍न पहिलोचोटि गरिएको प्रबन्ध किन समय सुहाउँदो थियो? (ख) हामी कुन प्रश्‍नहरू केलाउनेछौं?

यसअघि एल्डरहरू छान्‍ने प्रबन्ध नै थिएन। मण्डलीलाई व्यवस्थित पार्न चालिएको यो कदम समय सुहाउँदो थियो। यस प्रबन्धले गर्दा हाम्रा भाइहरूले पहिलो विश्‍वयुद्ध चलिरहेको बेला सङ्‌गठनलाई अघि बढाउन सके। पछि सङ्‌गठनमा गरिएका अरू परिवर्तनहरूले गर्दा यहोवाका जनहरू उहाँको सेवा गर्न पहिलेभन्दा झन्‌ सुसज्जित भए। के यस्ता परिवर्तनहरू हुनेछन्‌ भनेर बाइबलमा भविष्यवाणी गरिएको थियो? तपाईंले सङ्‌गठनमा कस्ता परिवर्तनहरू देख्नुभएको छ? ती परिवर्तनहरूले गर्दा तपाईंलाई के लाभ भएको छ?

‘म तेरा हाकिमहरूलाई मेलमिलाप गराउने तुल्याउनेछु’

६, ७. (क) यशैया ६०:१७ को भविष्यवाणीको अर्थ के हो? (ख) भविष्यवाणीमा “निरीक्षकहरू” र “नाइकेहरू” उल्लेख गर्नुको कारण के हो?

यहोवाले आफ्ना जनहरूलाई आशिष्‌ दिनुहुन्छ र तिनीहरूको वृद्धि हुन्छ भनेर यशैयाले गरेको भविष्यवाणीबारे हामीले अध्याय ९ मा छलफल गरेका थियौं। (यशै. ६०:२२) तर यहोवाले यसै भविष्यवाणीमा अर्को एउटा प्रतिज्ञा पनि गर्नुभयो। उहाँले यसो भन्‍नुभयो: “काँसाको सट्टा सुन र फलामको सट्टा चाँदी म ल्याउनेछु, र काठको सट्टा पितल र ढुङ्‌गाको सट्टामा फलाम। म तेरा हाकिमहरूलाई मेलमिलाप गराउने, र तेरा शासकहरूलाई न्यायपूर्वक काम गर्ने तुल्याउनेछु।” (यशै. ६०:१७) यस भविष्यवाणीको अर्थ के हो? यो भविष्यवाणी आज कसरी पूरा भइरहेको छ?

राम्रो कुराको ठाउँमा त्योभन्दा झनै राम्रो कुरा ल्याइनेछ

यशैयाले नराम्रो कुराको ठाउँमा राम्रो कुरा आउनेछ भनेर भविष्यवाणी गरेनन्‌। तिनले राम्रो कुराको ठाउँमा त्योभन्दा झनै राम्रो कुरा ल्याइनेछ भनेर भविष्यवाणी गरे। जस्तै, काँसाको सट्टा सुन र फलामको सट्टा चाँदी। काँसाको ठाउँमा सुन प्रयोग हुनु भनेको उन्‍नतिको चिन्ह हो। तिनले आफ्नो भविष्यवाणीमा उल्लेख गरेका अरू कुराको विषयमा पनि यस्तै भन्‍न सकिन्छ। यसरी आफ्ना जनहरूको अवस्था झन्‌झन्‌ सुधार्दै लैजानेछु भनेर यहोवाले बताउनुभयो। तर कस्तो किसिमको सुधार हुनेछ? यस पदमा भएका “हाकिमहरू” अनि “शासकहरू” भन्‍ने शब्दहरूलाई कुनै-कुनै बाइबलमा “निरीक्षकहरू” र “नाइकेहरू” भनेर अनुवाद गरिएको छ। त्यसैले आफ्ना जनहरूको हेरविचार गर्ने र तिनीहरूलाई व्यवस्थित पार्ने तरिकामा सुधार ल्याइनेछ भनेर यहोवाले यो भविष्यवाणीमा सङ्‌केत गर्नुभयो।

८. (क) कसले यशैयाको भविष्यवाणीमा बताइएका सुधारहरू गर्नेछ? (ख) ती सुधारको कारण हामी के लाभ उठाउन सक्छौं? (“ सच्याइँदा तिनले नम्र भई आफ्नो गल्ती स्वीकारे” शीर्षक भएको पेटी पनि हेर्नुहोस्‌।)

तर सुधार कसले गर्नेछ? यहोवा भन्‍नुहुन्छ: ‘सुन र चाँदी ल्याउनेछु’ र ‘ मेलमिलाप गराउने तुल्याउनेछु।’ हो, मण्डलीलाई व्यवस्थित पार्न जे-जत्ति सुधार गरिन्छ, ती सबै यहोवाको निर्देशनबमोजिम नै हुन्छन्‌। येशू राजा हुनु भएपछि यहोवाले आफ्नो छोरालाई चलाएर मण्डलीमा थुप्रै सुधार गर्नुभएको छ। यस्ता सुधारहरूले गर्दा हामीलाई के फाइदा भएको छ? ती सुधारले गर्दा “मेलमिलाप” र ‘न्यायले’ बास गर्नेछ भनेर यशैयाले भविष्यवाणी गरे। परमेश्‍वरको निर्देशन पालन गर्दै आवश्‍यक छाँटकाँट गर्दा हामीमाझ “मेलमिलाप” अर्थात्‌ शान्ति छाउँछ। साथै, न्याय अर्थात्‌ परमेश्‍वरको स्तरप्रतिको प्रेमले हामीलाई “शान्तिका परमेश्‍वर” यहोवाको सेवा गर्न जुरमुऱ्‍याउँछ।—फिलि. ४:९.

९. मण्डलीको सुव्यवस्था र एकताको लागि मण्डलीको जग केमा बसालिएको हुनुपर्छ? किन?

यहोवा “गोलमालका परमेश्‍वर होइन तर शान्तिका परमेश्‍वर हुनुहुन्छ” भनेर प्रेषित पावलले बताए। (१ कोरि. १४:३३) पावलले यहाँ गोलमालको तुलना शान्तिसित गरे, सबै कुरा टक्क मिलेको अवस्थासित गरेनन्‌। किन? किनभने सबै कुरा व्यवस्थित रूपमा चले तापनि त्यसले गर्दा शान्ति छाउँछ भन्‍ने ग्यारेन्टी छैन। उदाहरणको लागि, रणभूमिमा सिपाहीहरूले आफ्ना शत्रुहरूमाथि व्यवस्थित ढङ्‌गमा आक्रमण गर्छन्‌। तर तिनीहरू व्यवस्थित भए पनि त्यसले शान्ति ल्याउँदैन बरु युद्ध चर्काउँछ। हामी ख्रीष्टियनहरूले एउटा महत्त्वपूर्ण कुरा बिर्सनु हुँदैन। त्यो हो, कुनै एउटा सङ्‌गठन व्यवस्थित छ तर त्यसको जग शान्तिमा बसालिएको छैन भने ढिलो होस्‌ वा चाँडो, त्यसको पतन हुन्छ। तर जुन ठाउँमा परमेश्‍वरको शान्तिले बास गरेको हुन्छ, त्यो ठाउँ सधैंभरि व्यवस्थित हुन्छ। त्यसैले, “शान्ति दिनुहुने परमेश्‍वर”-ले हाम्रो सङ्‌गठनलाई डोऱ्‍याउनुभएकोमा र शुद्ध पार्नुभएकोमा हामीले त्यसको धेरै कदर गर्नुपर्छ। (रोमी १५:३३) परमेश्‍वरले दिनुहुने शान्ति नै हाम्रो सङ्‌गठनको जग भएकोले मण्डलीहरू सुव्यवस्थित ढङ्‌गमा चलेको छ र यहोवाका उपासकहरूमाझ एकता छ। हामीले सधैं यसको कदर गरिरहनुपर्छ।—भज. २९:११.

१०. (क) सुरु-सुरुमा हाम्रो सङ्‌गठनमा के-कस्ता सुधार गरिए? (“ निरीक्षण गर्ने काममा कस्ता सुधार गरिए?” शीर्षक भएको पेटी हेर्नुहोस्‌।) (ख) अब हामी कुन प्रश्‍नहरूबारे छलफल गर्नेछौं?

१० हाम्रो सङ्‌गठनलाई व्यवस्थित बनाउन सुरु-सुरुमा के-कस्ता छाँटकाँट गरिए, त्यसबारे “ निरीक्षण गर्ने काममा कस्ता सुधार गरिए?” शीर्षक भएको पेटीमा बताइएको छ। त्यसोभए हालसालै यहोवाले हाम्रो राजामार्फत “काँसाको सट्टा सुन” ल्याउन कस्ता परिवर्तनहरू गर्नुभएको छ त? निरीक्षण गर्ने काममा भएका सुधारहरूले गर्दा संसारभरिका मण्डलीहरूमा कसरी पहिलेभन्दा झन्‌ शान्ति छाउनुका साथै एकता बढेको छ? ती छाँटकाँटले “शान्तिका परमेश्‍वर”-को सेवा गर्न तपाईंलाई कसरी मदत गरेको छ?

ख्रीष्टले कसरी मण्डलीलाई डोऱ्‍याउनुहुन्छ

११. (क) बाइबलको गहिरो अध्ययन गरेपछि के कुरा थाह भयो? (ख) सङ्‌गठनमा अगुवाइ लिइरहेका भाइहरू के गर्न तत्पर भए?

११ सन्‌ १९६४ देखि सन्‌ १९७१ बीच सङ्‌गठनमा अगुवाइ लिइरहेका भाइहरूले बाइबलको गहिरो अध्ययन गर्ने एउटा विशेष योजना बनाए। त्यतिखेर अध्ययन गरिएका थुप्रै विषयमध्ये एउटा प्रथम शताब्दीका ख्रीष्टियन मण्डलीहरूसित सम्बन्धित थियो। a यो अध्ययनले गर्दा मण्डलीलाई कसरी डोऱ्‍याउनुपर्छ भन्‍ने विषयमा एउटा महत्त्वपूर्ण कुरा थाह लाग्यो। त्यो थियो, प्रथम शताब्दीमा मण्डलीहरूलाई एक जना एल्डर वा निरीक्षकले होइन एल्डरहरू मिलेर बनेको निकायले डोऱ्‍याउने गर्थ्यो। (फिलिप्पी १:१; १ तिमोथी ४:१४ पढ्‌नुहोस्‌) परमेश्‍वरका जनहरूको सङ्‌गठनलाई सुधार्न येशूले आफूहरूलाई डोऱ्‍याउँदै हुनुहुन्छ भन्‍ने कुरा सङ्‌गठनमा अगुवाइ लिइरहेका भाइहरूले महसुस गरे। ती भाइहरू राजा येशू ख्रीष्टले देखाउनुभएको नयाँ निर्देशनअनुसार चल्न तयार भए। मण्डलीमा एल्डरहरूको नियुक्‍ति बाइबलमा बताइएअनुसारै होस्‌ भनेर ती भाइहरूले तुरुन्तै छाँटकाँट गरे। सन्‌ १९७० को दशकमा थुप्रै छाँटकाँट भए। केही छाँटकाँट अब हामी हेरौं।

१२. (क) परिचालक निकायमा के छाँटकाँट भयो? (ख) परिचालक निकायले अहिले कसरी व्यवस्थित रूपमा काम गर्छ, बताउनुहोस्‌। (पृष्ठ १३० मा “ परिचालक निकायले कसरी राज्यसम्बन्धी गतिविधिहरूको निरीक्षण गर्छ?” शीर्षक भएको पेटी हेर्नुहोस्‌।)

१२ सबैभन्दा पहिलो छाँटकाँट त हाम्रो सङ्‌गठनको नेतृत्व लिने भाइहरूको समूहमै भयो, जसलाई हामी अहिले परिचालक निकाय भन्‍ने गर्छौं। त्यतिबेलासम्म वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटी अफ पेन्सिलभेनियाको सञ्चालक समितिका सात जना अभिषिक्‍त भाइहरूले नै परिचालक निकायको रूपमा हाम्रो सङ्‌गठनको नेतृत्व गरिरहेका थिए। तर सन्‌ १९७१ मा नेतृत्व लिने भाइहरूको सङ्‌ख्या ७ जनाबाट बढाएर ११ पुऱ्‍याइयो। परिचालक निकायको भूमिका स्पष्ट रूपले निर्वाह गर्न थालेका यी भाइहरूको समूहले त्यसपछि आफूलाई वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटी अफ पेन्सिलभेनियाको सञ्चालक समितिबाट अलग पारे। परिचालक निकायका सबै सदस्य बराबर छन्‌ भन्‍ने दृष्टिकोण राख्दै हरेक वर्ष प्रत्येक सदस्यले आफ्नो नामको वर्णानुक्रमअनुसार पालैसित परिचालक निकायको अध्यक्षता ग्रहण गर्ने चलन पनि सुरु भयो।

१३. (क) चालीस वर्षसम्म मण्डलीको निरीक्षण गर्ने कस्तो प्रबन्ध थियो? (ख) सन्‌ १९७२ मा परिचालक निकायले के गऱ्‍यो?

१३ त्यसपछि गरिएको अर्को छाँटकाँटले भने मण्डलीलाई असर गऱ्‍यो। कसरी? सन्‌ १९३२ देखि सन्‌ १९७२ सम्म मण्डलीको निरीक्षण गर्ने जिम्मा एक जना भाइको काँधमा हुन्थ्यो। सन्‌ १९३६ सम्म तिनलाई सेवा निर्देशक भन्‍ने गरिन्थ्यो। त्यसपछि तिनलाई कम्पनी सेवक भन्‍न थालियो अनि क्रमशः मण्डली सेवक र मण्डली निरीक्षक भनियो। ती नियुक्‍त भाइले बगालको आध्यात्मिक हितमा गहिरो चासो लिन्थे। मण्डलीसम्बन्धी केही निर्णय गर्नुपर्दा तिनले प्रायः अरू कसैसँग सल्लाह नगरी एक्लैले निर्णय गर्ने गर्थे। तर सन्‌ १९७२ मा परिचालक निकायले एउटा ऐतिहासिक परिवर्तनको लागि बाटो तयार पाऱ्‍यो। त्यो परिवर्तन के थियो?

१४. (क) अक्टोबर १, १९७२ मा कुन नयाँ प्रबन्ध सुरु भयो? (ख) एल्डरहरूको निकायको संयोजकले फिलिप्पी २:३ मा पाइने सल्लाह कसरी पालन गर्छन्‌?

१४ मण्डलीको निरीक्षण गर्ने जिम्मेवारी एक जना भाइलाई मात्र सुम्पनुको सट्टा अबदेखि बाइबलले तोकेको स्तरअनुसार योग्य ठहरिएका अरू भाइहरूलाई पनि ईश्‍वरतान्त्रिक ढङ्‌गमा ख्रीष्टियन एल्डर नियुक्‍त गर्ने प्रबन्ध सुरु भयो। यस्ता भाइहरू मिलेर बनेको समूहलाई एल्डरहरूको निकाय भनियो र मण्डलीको निरीक्षण गर्ने जिम्मा यो निकायलाई सुम्पियो। सन्‌ १९७२ अक्टोबर १ देखि यो प्रबन्ध लागू भयो। अहिले एल्डरहरूमध्ये एक जनालाई एल्डरहरूको निकायको संयोजकको जिम्मेवारी दिइन्छ। तर तिनले आफूलाई अरू एल्डरहरूभन्दा ठूलो ठान्दैनन्‌। बरु “आफूलाई सबैभन्दा सानो” ठान्छन्‌। (लूका ९:४८) हामीमाझ त्यस्ता नम्र भाइहरू हुनु ठूलो आशिष्‌को कुरा हो!—फिलि. २:३.

 हाम्रो बुद्धिमान्‌ राजा येशू ख्रीष्टले समयमै आफ्ना अनुयायीहरूलाई चाहिने गोठालाहरू खोज्नुभएको छ

१५. (क) एल्डरहरूको निकायको प्रबन्धबाट भाइबहिनीले के लाभ उठाएका छन्‌? (ख) हामी किन येशू बुद्धिमान्‌ हुनुहुन्छ भन्‍न सक्छौं?

१५ मण्डलीको निरीक्षण गर्ने काम एल्डरहरूको निकायले गर्ने यस नयाँ प्रबन्धले गर्दा धेरै फाइदा भएको छ। तीनवटा फाइदा विचार गर्नुहोस्‌: पहिलो र सबैभन्दा महत्त्वपूर्ण, आफूले सम्हाल्ने जिम्मेवारी जतिसुकै महत्त्वपूर्ण भए तापनि येशू नै मण्डलीको शिर हुनुहुन्छ भन्‍ने कुरा एल्डरहरूले सधैं सम्झिरहन्छन्‌। (एफि. ५:२३) दोस्रो, हितोपदेश ११:१४ ले भनेझैं “सल्लाहकार धेरै भएकाले सुरक्षा हुन्छ।” मण्डलीको आध्यात्मिक हितलाई असर गर्न सक्ने मामिलाहरूबारे सबै एल्डरले आपसमा सरसल्लाह गर्ने भएकोले तिनीहरूले बाइबल सिद्धान्तसित मेल खाने निर्णय गर्न सक्छन्‌। (हितो. २७:१७) अनि त्यसरी मिलेर गरेको निर्णयहरूमा यहोवाको आशिष्‌ हुने भएकोले ती सफल हुन्छन्‌। तेस्रो, बाइबलले तोकेको स्तरअनुसार योग्यता हासिल गरिसकेका धेरैभन्दा धेरै भाइहरूलाई एल्डर नियुक्‍त गर्ने प्रबन्धले गर्दा मण्डलीको निरीक्षण गर्ने अनि गोठालोको काम गर्ने भाइहरूको बढ्‌दो माग सङ्‌गठनले पूरा गर्न सकेको छ। (यशै. ६०:३-५) सन्‌ १९७१ मा संसारभरि २७,००० वटा मण्डली थिए, तर त्यो सङ्‌ख्या बढेर सन्‌ २०१३ मा १,१३,००० भन्दा धेरै पुगिसकेको छ! हो, हाम्रो बुद्धिमान्‌ राजा येशू ख्रीष्टले समयमै आफ्ना अनुयायीहरूलाई चाहिने गोठालाहरू खोज्नुभएको छ।—मीका ५:५.

“बगालको उदाहरण भएर”

१६. (क) एल्डरहरूले कुन जिम्मेवारी पाएका छन्‌? (ख) “भेडाहरूको हेरचाह गर” भन्‍ने येशूको आज्ञालाई बाइबल विद्यार्थीहरूले कसरी लिए?

१६ भाइ रसलको समयमै एल्डरहरूले सङ्‌गी उपासकहरूलाई परमेश्‍वरको सेवा गर्न मदत गर्नु आफ्नो जिम्मेवारी हो भनेर बुझिसकेका थिए। (गलाती ६:१० पढ्‌नुहोस्‌) सन्‌ १९०८ मा प्रकाशित एउटा अङ्‌ग्रेजी प्रहरीधरहरा-मा “मेरा साना भेडाहरूको हेरचाह गर” भनेर येशूले दिनुभएको आज्ञाबारे छलफल गरिएको थियो। (यूह. २१:१५-१७) त्यस लेखमा एल्डरहरूलाई यस्तो सल्लाह दिइएको थियो: “बगालको हेरचाह गर भनेर मालिकले अह्राउनुभएको कामलाई हामीले प्राथमिकता दिनुपर्छ भनेर हामी कहिल्यै नबिर्सौं। प्रभुका अनुयायीहरूलाई खुवाउने र तिनीहरूको हेरचाह गर्ने कामलाई हामीले ठूलो सुअवसर ठान्‍नुपर्छ।” त्यसैगरि सन्‌ १९२५ मा प्रकाशित अङ्‌ग्रेजी प्रहरीधरहरा-मा गोठालोको रूपमा सेवा गर्नु गम्भीर जिम्मेवारी हो भनेर एल्डरहरूलाई सम्झाइएको थियो। उक्‍त प्रहरीधरहरा-मा यसो भनिएको थियो: “मण्डली परमेश्‍वरकै हो, . . . भाइहरूको हेरचाह गर्ने जिम्मा पाउने प्रत्येकले उहाँलाई लेखा दिनुपर्नेछ।”

१७. निरीक्षकहरूलाई गोठालोको काम राम्ररी गर्न कसरी मदत दिइएको छ?

१७ एल्डरहरूलाई बगालको हेरचाह गर्न अझ पोख्त बनाउन अर्थात्‌ “फलामको सट्टा चाँदी” चलाउन यहोवाको सङ्‌गठनले तालिमहरूको प्रबन्ध पनि गरेको छ। सन्‌ १९५९ मा निरीक्षकहरूको लागि पहिलो चोटि राज्य सेवा स्कुल सञ्चालन गरियो। त्यस स्कुलका विभिन्‍न कार्यक्रमहरूमध्ये एउटाको विषय “व्यक्‍तिगत चासो दिनुहोस्‌” भन्‍ने थियो। उक्‍त कार्यक्रममा “प्रकाशकहरूलाई तिनीहरूको घरमै गएर भेट्‌ने तालिका मिलाउन” जिम्मेवार भाइहरूलाई प्रोत्साहन दिइएको थियो। त्यस्तो भेटघाटलाई उत्थानदायी बनाउन गोठालाहरूले के-के गर्न सक्छन्‌ भनेर पनि उक्‍त कार्यक्रममा बताइएको थियो। सन्‌ १९६६ मा केही छाँटकाँट गरेर नयाँ राज्य सेवा स्कुल सुरु गरियो। त्यस स्कुलमा “गोठालोको कामको महत्त्व” भन्‍ने एउटा भाग थियो। नेतृत्व लिने भाइहरूले “परमेश्‍वरको बगालको मायालु हेरचाह गर्नुपर्छ। तर तिनीहरूले आफ्नो परिवारको ख्याल राख्ने र प्रचारमा जाने जस्ता जिम्मेवारी पनि पूरा गर्नुपर्छ” भनेर उक्‍त भागमा छलफल गरिएको थियो। हालैका वर्षहरूमा एल्डरहरूका लागि थप स्कुलहरूको प्रबन्ध गरिएको छ। यहोवाको सङ्‌गठनले दिने यस्ता प्रशिक्षणहरूले गर्दा आज ख्रीष्टियन मण्डलीमा हजारौं भाइहरूले राम्रो गोठालोको रूपमा सेवा गरिरहेका छन्‌।

सन्‌ १९६६ मा फिलिपिन्समा भएको राज्य सेवा स्कुल

१८. (क) एल्डरहरूलाई कुन गहन जिम्मेवारी सुम्पिइएको छ? (ख) यहोवा र येशू परिश्रमी एल्डरहरूलाई किन माया गर्नुहुन्छ?

१८ ख्रीष्टियन एल्डरहरूलाई राजा येशूमार्फत नियुक्‍त गरेर यहोवाले एउटा गहन जिम्मेवारी सुम्पनुभएको छ। त्यो जिम्मेवारी हो, मानव इतिहासकै सबैभन्दा कठिन समयमा उहाँका नम्र जनहरूलाई डोऱ्‍याउने। (एफि. ४:११, १२; २ तिमो. ३:१) एल्डरहरूले ‘आफ्नो जिम्मामा सुम्पिइएको परमेश्‍वरको बगाललाई गोठालोले झैं स्वेच्छाले र तत्परता साथ हेरविचार गर र बगालको उदाहरण होओ’ भन्‍ने आज्ञा पालन गर्छन्‌। (१ पत्रु. ५:२, ३) यस्ता परिश्रमी एल्डरहरूलाई यहोवा र येशू असाध्यै माया गर्नुहुन्छ। तर ख्रीष्टियन गोठालाहरूले बगालको निम्ति कसरी उदाहरण बसाल्छन्‌? अनि तिनीहरूले मण्डलीमा शान्ति र आनन्द कायम राख्न कस्तो योगदान पुऱ्‍याउँछन्‌? दुइटा तरिका विचार गरौं।

आज एल्डरहरू कसरी परमेश्‍वरको बगाललाई डोऱ्‍याउँछन्‌

१९. हामीसँगै प्रचारमा जाने एल्डरहरूप्रति हामी कस्तो दृष्टिकोण राख्छौं?

१९ पहिलो, एल्डरहरू मण्डलीका सदस्यहरूसित मिलेर काम गर्छन्‌। येशू ख्रीष्टका चेला लूकाले उहाँबारे यस्तो लेखेका थिए: “उहाँ परमेश्‍वरको राज्यको सुसमाचारको प्रचार र घोषणा गर्दै सहर-सहर अनि गाउँ-गाउँ डुल्न थाल्नुभयो। अनि बाह्रै जना उहाँसित थिए।” (लूका ८:१) जसरी येशू आफ्ना प्रेषितहरूसित प्रचारमा जानुभयो, त्यसरी नै उदाहरणीय एल्डरहरू पनि सङ्‌गी विश्‍वासीहरूसित काँधमा काँध मिलाएर प्रचारमा जान्छन्‌। यसरी प्रचारको काममा भाग लिंदा मण्डलीको जोस बढ्‌छ भनेर तिनीहरूले बुझेका छन्‌। त्यस्ता एल्डरहरूलाई मण्डलीका सदस्यहरूले कसरी हेर्छन्‌? नब्बे वर्ष पुग्नै लागेकी बहिनी जानेन्‌ यसो भन्छिन्‌: “एल्डरसँगै प्रचारमा जाँदा उहाँसित कुरा गर्ने र उहाँलाई अझ राम्ररी चिन्‍ने मौका पाउँछु।” स्टिभन नाम गरेका ३४/३५ वर्षका भाइ यसो भन्छन्‌: “एल्डरसँगै घरघरको प्रचारमा जाँदा उहाँ मलाई मदत गर्न चाहनुहुन्छ भनेर महसुस गर्छु। उहाँको मदत पाउँदा मलाई धेरै खुसी लाग्छ।”

गोठालाले हराएको भेडा खोजेझैं एल्डरहरू मण्डलीसित सङ्‌गत गर्न छोडेकाहरूलाई खोज्न कडा मेहनत गर्छन्‌

२०, २१. एल्डरहरूले कसरी येशूको दृष्टान्तका गोठालोको अनुकरण गर्न सक्छन्‌? एउटा उदाहरण दिनुहोस्‌। (“ प्रत्येक हप्ता भेट्‌न जाँदा नतिजा राम्रो भयो” शीर्षक भएको पेटी पनि हेर्नुहोस्‌।)

२० दोस्रो, एल्डरहरूले मण्डलीदेखि टाढा हुँदै गइरहेका भाइबहिनीलाई मदत गर्छन्‌। आध्यात्मिक रूपमा कमजोर हुँदै गइरहेका ती भाइबहिनीलाई मदत गर्न यहोवाको सङ्‌गठनले एल्डरहरूलाई तालिम पनि दिएको छ। (हिब्रू १२:१२) एल्डरहरूले किन तिनीहरूलाई मदत गर्नुपर्छ अनि कसरी मदत गर्न सक्छन्‌? यसको जवाफ येशूले बताउनुभएको गोठालो र हराएको भेडाको दृष्टान्तमा पाउन सक्छौं। (लूका १५:४-७ पढ्‌नुहोस्‌) बगालबाट एउटा भेडा हराइरहेको छ भनेर थाह पाउनेबित्तिकै गोठालोले त्यही एउटा भेडाको चिन्ता गरेर त्यसलाई धुइँधुइँती खोज्छ। आज ख्रीष्टियन एल्डरहरूले कसरी त्यस गोठालोको अनुकरण गर्न सक्छन्‌? हराएको भेडालाई गोठालोले अमूल्य ठानेजस्तै परमेश्‍वरका जनहरूसित सङ्‌गत गर्न छाडेका भाइबहिनीलाई एल्डरहरू अमूल्य ठान्छन्‌। आध्यात्मिक रूपमा कमजोर भएको व्यक्‍तिलाई तिनीहरू हराएको भेडाको रूपमा हेर्छन्‌। उनीहरूलाई खोज्नु र मदत गर्नु व्यर्थ हो भन्ठान्दैनन्‌। साथै, जसरी गोठालोले “हराएको त्यो भेडा नभेट्टाउन्जेल” खोजिरहन्छ, त्यसरी नै एल्डरहरू पनि कमजोर भएका भाइबहिनीलाई भेट्‌न र मदत गर्न अघि सर्छन्‌।

२१ येशूले सुनाउनुभएको दृष्टान्तमा हराएको भेडा पाएपछि गोठालाले के गर्छ? उसले बिस्तारै भेडालाई बोकेर “आफ्नो काँधमा राख्छ” र बगाल भएतिर फर्कन्छ। त्यसैगरि एल्डरले आध्यात्मिक रूपमा कमजोर भएको व्यक्‍तिमा मायालु चासो लिंदै तिनलाई हौसला दिन्छन्‌ र मण्डलीमा फर्कन मदत गर्छन्‌। मण्डलीसित सङ्‌गत गर्न छाडेका अफ्रिकाका एक जना भाइ भिक्टरले यस्तै महसुस गरे। तिनी भन्छन्‌: “आठ वर्षसम्म निष्क्रिय भएर बस्दा एल्डरहरूले मलाई मदत गर्ने प्रयास गरिरहे।” विशेषगरि कुन कुराले तिनको मन छोयो? तिनी भन्छन्‌: “एक दिन जोन नाम गरेका एल्डर मलाई भेट्‌न आउनुभयो। हामी दुई जनाले अग्रगामी सेवा स्कुलबाट सँगै तालिम लिएका थियौं। स्कुलमा भाग लिंदा खिचिएको हाम्रो फोटोहरू उहाँले देखाउनुभयो। ती फोटोहरूले मलाई थुप्रै रमाइला कुराहरूको सम्झना गरायो। म फेरि यहोवाको सेवामा रमाउन चाहन्थें।” त्यसको केही समयपछि भिक्टर मण्डलीमा फर्के। आज तिनी फेरि अग्रगामी सेवा गर्दै छन्‌। मायालु ख्रीष्टियन एल्डरहरू साँच्चै हामीले आनन्दित भएर यहोवाको सेवा गरोस्‌ भन्‍ने चाहन्छन्‌।—२ कोरि. १:२४.  b

निरीक्षणको काममा भएको सुधारले परमेश्‍वरका जनहरूको एकतालाई दिगो बनाउँछ

२२. न्याय र शान्तिले ख्रीष्टियन मण्डलीको एकतालाई कसरी बलियो बनाउँछ? (“ हामी छक्क पऱ्‍यौं” शीर्षक भएको पेटी पनि हेर्नुहोस्‌।)

२२ यहोवाले आफ्ना जनहरू अझ राम्ररी उहाँका स्तरबमोजिम चल्नेछन्‌ र तिनीहरूमाझ पहिले भन्दा झन्‌ धेरै शान्ति हुनेछ भनेर भविष्यवाणी गर्नुभएको थियो भनेर हामीले यस अध्यायको सुरुतिर छलफल गरेका थियौं। (यशै. ६०:१७) शान्ति र न्यायले मण्डलीको एकता बढाउँछ। कसरी? “परमप्रभु हाम्रा परमेश्‍वर एउटै हुनुहुन्छ।” (व्यव. ६:४) त्यसैले उहाँका स्तरहरू मण्डलीपिच्छे फरक छैन। सही र गलत निर्धारण गर्ने उहाँको स्तर एउटै छ र “पवित्र जनहरूका सबै मण्डलीमा” यही स्तर पालन गरिन्छ। (१ कोरि. १४:३३) जीवनको जुनसुकै क्षेत्रमा परमेश्‍वरको स्तर पालन गऱ्‍यौं भने मात्र मण्डलीको उन्‍नति हुन्छ। त्यसैगरि, मण्डलीमा शान्तिले बास गरोस्‌ भनेर हामीले चाहेर मात्र पुग्दैन, हामी आफैले “शान्ति कायम” गर्ने कोसिस गर्नुपर्छ। अनि हाम्रो राजा येशू ख्रीष्ट हामीले त्यसै गरेको आशा गर्नुहुन्छ। (मत्ती ५:९) त्यसैले हामी “शान्ति कायम हुने . . . कुराहरूको पछि” लाग्छौं। भाइबहिनीसित मनमुटाव हुँदा त्यसलाई सुल्झाउन हामी अघि सर्छौं। (रोमी १४:१९) यसरी मण्डलीमा शान्ति र एकता कायम राख्न हामीले मदत गरिरहेका हुन्छौं।—यशै. ६०:१८.

२३. हामी यहोवाका सेवकहरू किन खुसी छौं?

२३ नोभेम्बर १८९५ अङ्‌कको अङ्‌ग्रेजी प्रहरीधरहरा-मा एल्डर नियुक्‍त गर्ने प्रबन्धबारे पहिलो चोटि घोषणा हुँदा सङ्‌गठनको नेतृत्व गरिरहेका भाइहरूले यो नयाँ प्रबन्धले परमेश्‍वरका जनहरूलाई “चाँडै नै एकत्रित” हुन मदत गरोस्‌ भनेर कामना गर्दै प्रार्थना गरे। बितेका वर्षहरूमा यहोवाले हाम्रो राजामार्फत निरीक्षणसम्बन्धी कामलाई बिस्तारै शुद्ध पार्नुभएकोले हाम्रो एकता अझ दिगो भएको छ। यसको लागि हामी आभारी छौं! (भज. ९९:४) आज संसारभरिका यहोवाका साक्षीहरू “काँधमा काँध मिलाएर,” “उस्तै मनोभाव” देखाएर अनि “एउटै पदचिन्हमा” हिंडेर “शान्तिका परमेश्‍वर”-को सेवा गर्न पाएकोमा खुसी छन्‌।—२ कोरि. १२:१८; सपन्याह ३:९, NRV पढ्‌नुहोस्‌।

a यस गहिरो अध्ययनबाट सिकेका कुराहरू अङ्‌ग्रेजी भाषाको बाइबल बुझ्न मदत भन्‍ने किताबमा छापिएको थियो।