सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय चौध

वृद्धावस्थामा सँगै प्रवेश गर्ने

वृद्धावस्थामा सँगै प्रवेश गर्ने

१, २. (क) बुढेसकाल नजीक आउन थाल्दा के कस्ता परिवर्तनहरू अनुभव गरिन्छ? (ख) बाइबलकालीन ईश्‍वरभक्‍त मानिसहरूले बुढेसकालमा कसरी सन्तोष पाउन सके?

 वृद्धावस्था सँगसँगै थुप्रै परिवर्तनहरू आउँछन्‌। शारीरिक कमजोरीले शक्‍ति चुस्न थाल्छ। ऐना हेर्दा दिनदिनै नयाँ चाउरीहरू देखा पर्छन्‌। कपाल बिस्तारै फुल्न अनि झर्न समेत थाल्छ। स्मरणशक्‍ति घट्‌नसक्छ। छोराछोरीले विवाह गर्दा तथा नातिनातिनीहरू जन्मँदा नयाँ साइनोहरू सृजिन्छ। कामबाट अवकाश लिएपछि कसैकसैले भने एउटा बेग्लै जीवनशैली आरम्भ गर्नुपर्छ।

वास्तवमा, उमेर ढल्दै जाँदा अनेकौं सङ्‌कट आइपर्नसक्छ। (उपदेशक १२:१-८) तर परमेश्‍वरका बाइबलकालीन सेवकहरूलाई विचार गर्नुहोस्‌। हो, अन्ततः तिनीहरू सबैको मृत्यु भयो। तर तिनीहरूले बुद्धि तथा समझशक्‍तिको आर्जनबाट बुढेसकालमा ठूलो सन्तोष पाए। (उत्पत्ति २५:८; ३५:२९; अय्यूब १२:१२; ४२:१७) तिनीहरूले वृद्धावस्थालाई किन आनन्दसाथ स्वीकार्न सके? किनभने तिनीहरूले बाइबलमा लिपिबद्ध सिद्धान्तअनुसार जीवन बिताए।—भजन ११९:१०५; २ तिमोथी ३:१६, १७.

३. पावलले वृद्ध पुरुष तथा स्त्रीहरूलाई के सल्लाह दिए?

तितसलाई लेखेको पत्रमा प्रेरित पावलले पाका हुन थालेकाहरूलाई यो लाभदायी सल्लाह दिए: “वृद्ध पनि परहेजी, गम्भीर, आत्मसंयमी, विश्‍वास, प्रेम र धीरजमा पक्का होऊन्‌। त्यही माफिक वृद्धाहरू पनि पवित्र चालचलनका, अर्कालाई सित्तैं दोष नलाउने, रक्सी धेरै नपिउने, बढिया कुराहरूको शिक्षा दिने होऊन्‌।” (तितस २:२, ३) यी शब्दहरूबाट वृद्धावस्थाका चुनौतीहरूको सामना गर्ने मदत पाउन सकिन्छ।

छोराछोरीलाई आफ्नो खुट्टामा उभिन दिनुहोस्‌

४, ५. छोराछोरीले घर छाड्‌दा अधिकांश आमाबाबुको प्रतिक्रिया कस्तो हुन्छ र धेरैले यो नयाँ परिस्थितिसित कसरी सम्झौता गर्छन्‌?

भूमिकाहरू बदलँदा काँटछाँटको खाँचो पर्छ। अझ विशेषगरि हुर्केका छोराछोरीले घर छाड्‌दा अथवा विवाह गर्दा यो कुरा लागू हुन्छ! यो घटना धेरैजसो आमाबाबुका लागि बुढेसकालको प्रथम खुड्‌किलो हुन्छ। छोराछोरी वयस्क भएकोमा खुशी भए तापनि, छोराछोरीलाई आफ्नो खुट्टामा उभिने यथाशक्य प्रशिक्षण पो दिन सकियो कि सकिएन भनी तिनीहरू चिन्तित हुन्छन्‌। घरमा छोराछोरी नहुँदा तिनीहरूलाई शून्य लाग्नसक्छ।

हो, छोराछोरी घर छाडेर गइसकेपछि पनि तिनीहरूको चिन्ता गर्न आमाबाबुले छाड्‌दैनन्‌। एउटी आमा भन्छिन्‌: “तिनीहरू सबै सञ्चै छन्‌ भनी बराबर खबर पाउन सकेमा म कत्ति ढुक्क हुन्थें।” एक जना बाबु भन्छन्‌: “छोरीले घर छाड्‌दा हामीलाई असाध्यै गाह्रो भयो। सबै कुरा एकसाथ गर्ने हाम्रो बानी थियो। ऊ जाँदा घरै रित्तो भयो।” छोराछोरीले छाडेको रित्तोपनको सामना आमाबाबुले कसरी गरेका छन्‌? अक्सर अरूलाई मदत दिन अघि बढेर।

६. पारिवारिक सम्बन्धबारे सही दृष्टिकोण अपनाउन कुन कुराले मदत दिन्छ?

छोराछोरीको विवाहपश्‍चात्‌ आमाबाबुको भूमिका बदलन्छ। उत्पत्ति २:२४ भन्छ: “मानिसले आफ्ना आमा-बाबुलाई छोडछ, र आफ्नी स्वास्नीसँग मिलिरहन्छ, औ तिनीहरू एउटै जीउ हुन्छन्‌।” अगुवाइ तथा सुव्यवस्थासम्बन्धी ईश्‍वरीय सिद्धान्त स्वीकार्ने आमाबाबुलाई सबै कुरा सुचारुरूपले गर्नु सजिलो हुन्छ।—१ कोरिन्थी ११:३; १४:३३, ४०.

७. छोरीहरूको विवाहपश्‍चात्‌ एक जना बाबुले कस्तो राम्रो मनोवृत्ति विकास गरे?

आफ्ना दुइटी छोरीहरूले विवाहपश्‍चात्‌ बसाइँ सर्दा एउटा दम्पतीलाई जीवन खल्लो लाग्यो। सुरुसुरुमा पति आफ्ना ज्वाइँहरूसित अप्रसन्‍न पनि भए। तर अगुवाइको सिद्धान्तलाई विचार गर्दा चाहिं अब उनका ज्वाइँहरू नै आ-आफ्नो घरबारका लागि जिम्मेवार छन्‌ भन्‍ने कुराको मोल उनले गर्नसके। तसर्थ, छोरीहरूले सल्लाह माग्दा प्रथमतः ज्वाइँहरूको विचार सोधेर त्यसैलाई सकेसम्म समर्थन गर्न थाले। फलतः अब ज्वाइँहरूले पनि उनलाई मित्र ठान्छन्‌। उनको सल्लाह मान्छन्‌।

८, ९. छोराछोरी आफ्नै खुट्टामा उभिन थालेपछि केही आमाबाबुले आफ्नो सोचविचारमा के कस्ता काँटछाँट गरेका छन्‌?

तर नवदम्पतीहरूले कुनै गैरशास्त्रीय काम नगरे तापनि आमाबाबुले असल ठानेको कुरा नगर्दा के गर्ने? विवाहित छोराछोरी भएका एउटा दम्पती भन्छन्‌: “हामी सधैं तिनीहरूलाई यहोवाको दृष्टिकोण अपनाउन मदत दिन्छौं। तिनीहरूको कुनै फैसलासित हामी सहमत छैनौं भने पनि त्यो फैसला स्वीकार्छौं र तिनीहरूलाई मदत तथा प्रोत्साहन दिन्छौं।”

केही एसियाली मुलुकहरूमा छोराहरू आफ्नै खुट्टामा उभिन थाल्दा आमाहरूलाई गाह्रो लाग्छ। तर यी आमाहरूले मसीही सुव्यवस्था तथा अगुवाइ स्वीकार्दा बुहारीहरूसितको अमेल धेरै कम हुन्छ। छोराहरू घर छाडेर गएपछि एउटी मसीही स्त्रीले “दिनदिनै धन्यवाद” चढाउने कारण पाएकी छे। तिनीहरूको घरजम गर्ने योग्यता देखेर ऊ हर्षले गद्‌गद्‌ छे। फलतः बुढेसकालमा ऊ र उसको पतिको बोझ पनि धेरै कम भएको छ।

आफ्नो वैवाहिक बन्धनलाई बलियो पार्नुहोस्‌

१०, ११. वृद्धावस्थाका केही पासोहरूबाट जोगिने मदत धर्मशास्त्रमा उल्लिखित कुन सल्लाहबाट पाउन सकिन्छ?

१० अधबैंसे हुनथाल्दा बेग्लाबेग्लै मानिसहरूको बेग्लाबेग्लै प्रतिक्रिया हुन्छ। केही पुरुषहरू आफू जवान देखिने प्रकारको लुगा लाउन थाल्छन्‌। धेरै आइमाईहरू चाहिं रजोहीनतासम्बन्धी परिवर्तनहरूबारे चिन्तित हुन्छन्‌। दुःखको कुरा, केही अधबैंसेहरू चाहिं आफूभन्दा कम उमेरको पुरुष तथा स्त्रीसित प्रेमलीला सुरु गरेर आफ्नो पति वा पत्नीमा क्रोध तथा डाह उत्पन्‍न गर्छन्‌। तर ईश्‍वरभक्‍त वृद्ध पुरुषहरूको “शुद्ध मन” हुन्छ। अनुचित अभिलाषाहरूलाई तिनीहरू वशमा राख्छन्‌। (१ पत्रुस ४:७) यस्तैगरि, परिपक्व स्त्रीहरू आफ्नो वैवाहिक जीवनको स्थायित्वलाई बल दिन हर कोसिस गर्छन्‌। किनकि तिनीहरू आ-आफ्नो पतिलाई प्रेम गर्छन्‌। तिनीहरू यहोवालाई प्रसन्‍न तुल्याउन इच्छुक हुन्छन्‌।

११ ईश्‍वरीय प्रेरणाद्वारा राजा लमूएलले ती “सुयोग्य पत्नी[को]” प्रशंसा गरे जसले “आफ्नो जीवनकालभरिनै आफ्ना पतिको भलो गर्छिन्‌।” पत्नीले अधबैंसे हुनलाग्दाको भावनात्मक उथलपुथलसित संघर्ष गर्दा मसीही पतिले सहानुभूति देखाउनेछ। उसले प्रेमपूर्वक पत्नीको “प्रशंसा” गर्नेछ।—हितोपदेश ३१:१०, १२, २८.

१२. सालहरू बित्दै जाँदा पतिपत्नी कसरी झन्‌ घनिष्ठ हुनसक्छन्‌?

१२ वर्षौंसम्म छोराछोरी हुर्काउनमै व्यस्त हुनुहुँदा तपाईं दुवैले शायद बच्चाहरूको आवश्‍यकतालाई प्राथमिकता दिनुभएको हुनुपर्छ। सम्भवतः तपाईंले आफ्नो व्यक्‍तिगत रुचिलाई पन्छाउनुभएको हुनसक्छ। तर अब छोराछोरीको पखेटा लागिसक्यो। अब तपाईंले आफ्नै वैवाहिक जीवनतर्फ ध्यान पुनः केन्द्रित गर्नुपर्छ। एक जना पति भन्छन्‌: “छोरीहरूको विवाह भइसकेपछि मैले पत्नीसित विवाहअघिको जस्तै रमाइलो घुमफिर फेरि सुरु गरें।” अर्को पति भन्छन्‌: “हामी एकअर्काको स्वास्थ्यको ख्याल राख्छौं र एकअर्कालाई व्यायाम गर्न सम्झाइरहन्छौं।” आपसमा एकाकीपन महसुस नहोस्‌ भनेर यो दम्पतीले मण्डलीका अन्य सदस्यहरूलाई आतिथ्य देखाउने गर्छन्‌। हो, अरूको चासो लिंदा आफ्नै हित हुन्छ। यसबाट यहोवा पनि प्रसन्‍न हुनुहुन्छ।—फिलिप्पी २:४; हिब्रू १३:२, १६.

१३. पतिपत्नीको उमेर ढल्दै जाँदा पारस्परिक निष्कपटता अनि इमानदारीताले के भूमिका निर्वाह गर्छ?

१३ पति वा पत्नीबीच कुराकानी गर्ने बानी सधैं कायम राख्नुहोस्‌। आपसमा मन खोलेर कुरा गर्नुहोस्‌। (हितोपदेश १७:२७) त्यस्तै अर्को एक जना पति भन्छन्‌: “हामी एकअर्काको ख्याल राख्छौं। एकअर्काप्रति विवेकशील छौं। यसो गर्दा हामी एकअर्कालाई अझ नजीकबाट बुझ्दछौं। सहमति जनाउँदै पत्नी भन्छिन्‌: “हाम्रो उमेर ढल्दै गएको छ र अहिले सँगै बसेर चिया खाँदा, कुरा गर्दा तथा एकअर्कालाई सहयोग पुऱ्‍याउँदा ठूलो आनन्द अनुभव गर्न थालेका छौं।” मन खोलेर इमानदारीपूर्वक कुरा गर्दा वैवाहिक सम्बन्ध अझ बलियो हुनसक्छ। फलतः विवाह भक्षक शैतानले आक्रमण गर्दा तपाईंको विवाह विजयी हुनेछ।

आफ्ना नातिनातिनीहरूसित रमाइलो गर्नुहोस्‌

१४. तिमोथी ठूलो भएर मसीही बन्‍नमा उसको बज्यैले कस्तो भूमिका निर्वाह गरिन्‌?

१४ नातिनातिनीहरू बूढापाकाहरूका “मुकुट” हुन्‌। (हितोपदेश १७:६) नातिनातिनीहरूसित संगत गर्नु साँच्चै रमाइलो तथा स्फूर्तिदायी हुनसक्छ। बाइबलमा लोइसको प्रशंसा गरिएको छ। तिनले छोरी युनिससित मिलेर नाति तिमोथीलाई बाल्यकालदेखि आफ्नो विश्‍वास प्रकट गरिन्‌। आफ्नी आमा तथा बज्यैले बाइबलको सत्यलाई कति मोल गर्छन्‌, तिमोथीलाई सानै उमेरदेखि थाह थियो।—२ तिमोथी १:५; ३:१४, १५.

१५. नातिनातिनीको जीवनमा बाजेबज्यैले के योगदान दिनसक्छन्‌ तर उनीहरूले के चाहिं गर्नु हुँदैन?

१५ अतः यो एउटा क्षेत्र हो जहाँ बाजेबज्यैले ठूलो योगदान दिनसक्छन्‌। बाजेबज्यै हो, तपाईंले यहोवाका उद्देश्‍यहरूको ज्ञान आफ्नो छोराछोरीलाई त सिकाउनुभयो। तर अब अझ अर्को पुस्तालाई पनि सिकाउन सक्नुहुन्छ! थुप्रै स-साना केटाकेटीहरूलाई आफ्नो बाजेबज्यैबाट बाइबलका कथाहरू सुन्‍न साह्रै रमाइलो लाग्छ! यसको अर्थ, छोराछोरीलाई बाइबलको सच्चाइ सिकाउने जिम्मेवारी बुबाको साटो पूर्णतः तपाईंले उठाउने होइन। (व्यवस्था ६:७) बरु, बुबालाई आफ्नो जिम्मेवारी उठाउन तपाईं मदत दिनुहुन्छ। तपाईंको प्रार्थना सधैं भजनरचयिताको यो बिन्तीजस्तै होस्‌: “हे परमेश्‍वर, म बूढो हुँदा र मेरो कपाल फुलिसक्दा पनि मलाई नत्याग्नुहोस्‌। जबसम्म म अर्को पुस्तामा र पछि आउने हरेकलाई तपाईंको सामर्थ्य र शक्‍तिको घोषणा गरिसक्‍तिनँ।”—भजन ७१:१८; ७८:५, ६.

१६. आफू परिवारमा तनाउको कारण नहुनका लागि बाजेबज्यैले के गर्नुपर्छ?

१६ तर दुःखको कुरा, केही बाजेबज्यैले नातिनातिनीहरूलाई ज्यादै पुलपुल्याएर बिगार्छन्‌। फलतः बाजेबज्यै तथा तिनीहरूका वयस्क छोराछोरीबीच तनाउ उत्पन्‍न हुन्छ। तथापि, तपाईंको दयालु स्वभाव देखेर नातिनातिनीहरूले शायद तपाईंलाई कति कुराहरू सजिलैसित प्रकट गर्नसक्छन्‌ जुन तिनीहरू आफ्ना आमाबाबुलाई बताउन चाहँदैनन्‌। शायद माया गर्ने बाजेबज्यैले आमाबाबुको पक्ष नलिएर आफ्नै पक्ष लिनेछन्‌ भन्‍ने आशा नातिनातिनीले राख्नसक्छन्‌। यस्तो हुँदा के गर्ने? बुद्धि चलाउनुहोस्‌। नातिनातिनीहरूलाई आमाबाबुसित मन खोलेर कुरा गर्न प्रोत्साहित गर्नुहोस्‌। तिनीहरूले यसो गर्दा यहोवा प्रसन्‍न हुनुहुन्छ भनेर बताउनुहोस्‌। (एफिसी ६:१-३) आवश्‍यक परेमा आमाबाबुसित तपाईंले नै कुरा सुरु गर्न सक्नुहुन्छ। बितेका सालहरूको दौडान आफूले सिकेका कुराहरू नातिनातिनीहरूलाई खुलस्त बताउनुहोस्‌। तपाईंको इमानदारी अनि निष्कपटता तिनीहरूका लागि लाभदायक हुनसक्छ।

उमेरअनुसार काँटछाँट गर्नुहोस्‌

१७. भजनरचयिताको कुन चाहिं अठोटलाई पाका मसीहीहरूले अपनाउनुपर्छ?

१७ उमेर ढल्दै जाँदा तपाईं पहिले जति गर्नुहुन्थ्यो अथवा गर्न चाहनुहुन्छ, त्यो गर्न असमर्थ हुनुहुनेछ। अतः यो बुढेसकालको सामना कसरी गर्ने? मनमा आफू ३० वर्ष मात्र पुगेको जस्तो लाग्नसक्छ। तर ऐनामा हेर्दा वास्तविकता अर्कै देखिनसक्छ। निराश नहुनुहोस्‌। भजनरचयिताले यहोवासित यस्तो बिन्ती गरे: “बुढेसकालमा मलाई नत्याग्नुहोस्‌, मेरो बल घटेको बखतमा मलाई नछोडनुहोस्‌।” भजनरचयिताले गरेजस्तै अठोट तपाईं पनि गर्नुहोस्‌। उनले भने: “मचाहिं निरन्तर आशा गरिरहनेछु, औ ज्यादा तपाईंको प्रशंसा गर्नेछु।”—भजन ७१:९, १४.

१८. परिपक्व मसीहीहरूले अवकाशपछि समयको सदुपयोग कसरी गर्नसक्छन्‌?

१८ धेरैले कामबाट अवकाश लिएपछि अझ बढी यहोवाको प्रशंसा गाउने प्रबन्ध मिलाएका छन्‌। अवकाश लिएको एक जना पिता भन्छन्‌: “छोरीले स्कूल छाडेपछि मैले के गर्ने, पहिल्यै योजना बनाएँ। मैले पूर्ण-समय प्रचारकार्य सुरु गर्ने अठोट गरें। यहोवाको सेवा अझ पूर्ण रूपले गर्न आफ्नो कारोबार बेचबिखन गरें। प्रार्थनामा परमेश्‍वरसित निर्देशन मागें।” तपाईंको पनि अवकाश लिने उमेर हुँदैछ भने, हाम्रो महान्‌ सृष्टिकर्ताको यो घोषणाबाट सान्त्वना प्राप्त गर्नुहोस्‌: “तिमीहरूको बुढेसकालसम्म पनि म उही हुनेछु। औ तिमीहरूका कपाल फुलेको अवस्थासम्म पनि म तिमीहरूलाई बोक्नेछु।”—यशैया ४६:४.

१९. पाका हुन थालेकाहरूलाई के सल्लाह दिइएको छ?

१९ कामबाट अवकाश लिएपछि आवश्‍यक छाँटकाँट गर्नु सजिलो नहोला। प्रेरित पावलले वृद्ध मानिसहरूलाई “परहेजी” हुने सल्लाह दिए। यसका लागि सामान्यतः आत्मसंयम चाहिन्छ। आरामको जीवन बिताउने प्रवृत्तिसित सङ्‌घर्ष गर्नुपर्छ। अवकाश लिएपछि सम्भवतः पहिलेभन्दा समयतालिका तथा आत्मसंयमको बढी आवश्‍यकता पर्नसक्छ। अतः व्यस्त रहनुहोस्‌। “सधैं प्रभुको काममा प्रशस्त हुँदै” जानुहोस्‌। किनकि तपाईंको “परिश्रम प्रभुमा व्यर्थ” हुँदैन। (१ कोरिन्थी १५:५८) ठूलो मनको भएर अरूको हित हुने गतिविधिहरूमा भाग लिनुहोस्‌। (२ कोरिन्थी ६:१३) यसका लागि धेरै मसीहीहरू आफ्नो उमेरअनुसार जोशका साथ सुसमाचार प्रचार गर्छन्‌। पाको हुँदै जाँदा “विश्‍वास, प्रेम र धीरजमा पक्का” बन्‍नुहोस्‌।—तितस २:२.

आफ्नो पति वा पत्नीको मृत्यु हुँदा

२०, २१. (क) वर्तमान रीतिरिवाज रहुञ्जेल पतिपत्नी कुन कारणवश छुट्टिनैपर्छ? (ख) शोकाकुल पति वा पत्नीका लागि हन्‍नाले कुन चाहिं राम्रो उदाहरण कायम गरिन्‌?

२० पतिपत्नीहरू अन्ततः मरेर अलग्गिनु वर्तमान रीतिरिवाजको दुःखद वास्तविकता हो। शोकाकुल मसीहीले आफ्नो प्रिय जीवनसाथी निदाएको मात्र हो भन्‍ने विश्‍वास गर्छ। तिनीसित फेरि भेट हुने आशा गर्छ। (यूहन्‍ना ११:११, २५) तैपनि क्षति दुःखलाग्दो नै हुन्छ। यस्तो परिस्थितिसित कसरी डट्‌ने?  a

२१ बाइबलमा उल्लिखित एक व्यक्‍तिले गरेको कुरा सम्झनुहोस्‌। विवाह भएको सात वर्षपछि नै हन्‍ना विधवा भइन्‌। बाइबलमा तिनको चर्चा हुँदा तिनी ८४ वर्ष पुगिसकेकी थिइन्‌। पतिको मृत्यु हुँदा तिनी निश्‍चय शोकले विह्वल भई होलिन्‌। तिनले त्यो शोकको सामना कसरी गरिन्‌? तिनले दिनरात यहोवा परमेश्‍वरलाई उहाँको मन्दिरमा पवित्र सेवा चढाउने गरिन्‌। (लूका २:३६-३८) प्रार्थना तथा ईश्‍वर-सेवाले गर्दा यस विधवाको एकाकीपन तथा शोक धेरै कम भएको हुनुपर्छ।

२२. पति वा पत्नीको मृत्यु भएका मानिसहरूले एकाकीपनको सामना कसरी गरेका छन्‌?

२२ दश वर्षअघि विधवा भएकी ७२ वर्षीया स्त्री भन्छिन्‌: “कुरा गर्ने साथी नहुनु नै मेरो सबैभन्दा ठूलो समस्या भएको छ। मेरो पतिले मेरो कुरा राम्ररी सुन्‍ने गर्नुहुन्थ्यो। हामी मण्डली तथा मसीही सेवकाईसम्बन्धी छलफल गर्थ्यौं।” अर्की विधवा भन्छिन्‌: “समय बित्दै जाँदा चोट आफै निको हुन्छ भनिन्छ। तर मेरो विचारमा चोट निको हुनु या नहुनु त समय कसरी बिताइन्छ, यसैमा भर गर्छ। एक्लो भएकोले तपाईं अरूलाई मदत गर्न अझ सक्षम हुनुहुन्छ।” एक जना ६७ वर्षीय विदुर यसो भन्दै सहमति जनाउँछन्‌: “शोकसित डट्‌ने एउटा सुन्दर उपाय अरू शोकाकुल व्यक्‍तिहरूलाई सान्त्वना दिनु हो।”

बुढेसकालमा परमेश्‍वरसामु मूल्यवान्‌

२३, २४. पाकाहरू र विशेषतः मृत्युको कारण आफ्नो पति वा पत्नीबाट अलग्गिएकाहरूका लागि बाइबलमा कुन चाहिं ठूलो सान्त्वना उपलब्ध छ?

२३ मृत्युको कारण आफ्नो प्रिय जीवनसाथीबाट छुट्टिनु परे तापनि यहोवाको साथ कहिल्यै छुट्‌दैन। उहाँ सधैं हाम्रो साथ हुनुहुन्छ। पुरातन राजा दाऊदले भजनमा यसो भने: “एउटै कुरा मैले परमप्रभुसित मागेको छु, म त्यसैको खोजी गर्नेछु, कि परमप्रभुको शोभा हेर्न, र उहाँको मन्दिरमा ध्यान दिन जीवनभर म परमप्रभुको भवनमा रहनपाऊँ।”—भजन २७:४.

२४ प्रेरित पावल आग्रह गर्छन्‌: “विधवाहरूलाई, जो साँच्चिनै विधवा छन्‌, आदर गर।” (१ तिमोथी ५:३) यो निर्देशनपश्‍चात्‌ दिइएको सल्लाहले नजीकको कुनै नातेदार नहुने योग्य विधवाहरूलाई मण्डलीबाट भौतिक मदत चाहिएको हुनसक्छ भन्‍ने संकेत गर्छ। तथापि, “आदर” गर भन्‍ने उपदेशको मूल अर्थ, कदर गर्नु हो। हो, यहोवाले विधवा तथा विदुरहरूको कदर गर्नुहुन्छ, तिनीहरूलाई थाम्नुहुन्छ। यो कति सान्त्वनादायी कुरा हो!—याकूब १:२७.

२५. वृद्ध मानिसहरूले अझै कुन लक्ष्य राख्नसक्छन्‌?

२५ परमेश्‍वरको प्रेरित वचन भन्छ: “फूलेको केश शोभाको मुकुट हो, धर्मी जीवनबाट त्यो प्राप्त हुन्छ।” (हितोपदेश १६:३१; २०:२९) अतः तपाईं विवाहित होस्‌ वा जीवनसाथीबिना पुनः एक्लो जीवन बिताइरहनुभएको होस्‌, यहोवाको सेवालाई प्राथमिकता दिन नछाड्‌नुहोस्‌। यसो गर्नुभएमा परमेश्‍वरसित राम्रो नाउँ कमाउनुका साथै कष्टमय बुढेसकाल नहुने संसारमा तपाईंले अनन्त जीवन पाउने आशा राख्न सक्नुहुन्छ।—भजन ३७:३-५; यशैया ६५:२०.

a विस्तृत जानकारीका लागि वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित तपाईंको प्रिय जनको मृत्यु हुँदा (अङ्‌ग्रेजी) पुस्तिका हेर्नुहोस्‌।