सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

एलाको बेंसी

दाऊद र गोल्यतबीचको लडाइँ—के यो साँच्चै भएको थियो?

दाऊद र गोल्यतबीचको लडाइँ—के यो साँच्चै भएको थियो?

केही मानिस दाऊद र गोल्यतबीच भएको लडाँइको विवरणमाथि शङ्‌का गर्छन्‌। यो सत्य घटना नभई दन्त्य कथा पो हो कि भन्‍ने गर्छन्‌। अघिल्लो लेख पढ्‌दै गर्दा तपाईंलाई पनि त्यस्तै लाग्यो कि? त्यसो हो भने यी तीन प्रश्‍नहरू विचार गर्नुहोस्‌।

१ | कुनै व्यक्‍ति साढे नौ फिटजति अग्लो हुन सक्छ र?

गोल्यतको उचाइ “नौ फिटभन्दा अल्गो थियो” भनेर बाइबलमा बताइएको छ। (१ शमूएल १७:४) कसै-कसैले गोल्यत त्यत्ति अग्लो थिएन होला भन्‍ने दाबी गर्छन्‌। तर विचार गर्नुहोस्‌, आधुनिक समयका सबैभन्दा अग्लो व्यक्‍तिको उचाइ ८ फिट ११ इन्च भएको रेकर्ड छ। गोल्यत त्योभन्दा ६ इन्चजति अग्लो हुनु असम्भव कुरा हो र? गोल्यत रपाईम जातिको थियो। उनीहरू असाधारण कदको लागि चिनिन्थे। ईसापूर्व १३०० को मिश्री कागजातमाउल्लेख भएअनुसार कनानका केही वीर योद्धाहरूको उचाइ आठ फिटभन्दा धेरै थियो। त्यसैले गोल्यतको उचाइ अलि अनौठो भए पनि असम्भवै भने होइन।

२ | दाऊद वास्तविक व्यक्‍ति थिए?

कुनै समय केही शास्त्रविद्‌ले राजा दाऊद काल्पनिक व्यक्‍ति हुन्‌ भनेर प्रमाणित गर्न खोजेका थिए। तर तिनीहरूले प्रमाणित गर्न सकेनन्‌। पुरातत्त्वविद्‌हरूले एउटा पुरानो ढुङ्‌गा भेट्टाए, जसमा “दाऊदको घर” भनेर लेखिएको थियो। साथै येशू ख्रीष्टले दाऊदबारे बताउनुभयो। (मत्ती १२:३; २२:४३-४५) येशू मसीह हुनुहुन्छ भनेर प्रमाणित गर्ने दुइटा वंशावलीले पनि उहाँ राजा दाऊदको वंशबाट आउनुभएको थियो भनेर देखाउँछ। (मत्ती १:६-१६; लूका ३:२३-३१) कुरा स्पष्ट छ, दाऊद वास्तविक व्यक्‍ति थिए।

३ | विवरणमा बताइएको घटना घटेको ठाउँ वास्तविक थियो?

बाइबलले युद्ध एलाको बेंसीमा भएको थियो भनेर बताउँछ। अझ तोकेरै भन्‍ने हो भने पलिश्‍तीहरूले सोकोहर अजेका सहरको बीचको डाँडामा छाउनी हाले। इस्राएलीहरूले पारिपट्टिको डाँडामा छाउनी हालेका थिए। के यी ठाउँहरू वास्तविक थिए?

त्यस इलाकामा हालै घुमेर आएका पर्यटकले यसो भने: “धर्मकर्ममा खासै चासो नभएका हाम्रो गाइडले हामीलाई एलाको बेंसीमा लगे। त्यसपछि डाँडाको टुप्पोमा लगे र त्यहाँबाट एलाको बेंसी देखाउँदै १ शमूएल १७:१-३ पढ्‌न लगाए। त्यसपछि तिनले यसो भने: ‘तपाईंहरूको बायाँपट्टि सोकोहको भग्नावशेष छ। दायाँपट्टि चाहिं अजेकाको भग्नावशेष छ। यही दुइटा सहरको बीच जुन तपाईंहरूको सीधा अगिल्तिर छ, त्यही डाँडामा पलिश्‍तीहरूले छाउनी हालेका थिए। त्यसैले हामी उभिरहेको ठाउँचाहिं इस्राएलीहरूले छाउनी हालेको डाँडा हुनुपर्छ।’ म उभिरहेको ठाउँमा शाऊल र दाऊद उभिरहेको कल्पना गरें। अनि हामी त्यहाँबाट ओरालो झऱ्‍यौं। बेंसीमा पुगेपछि हामीले ढुङ्‌गै-ढुङ्‌गा भएको सुक्खा बगर पार गऱ्‍यौं। गोल्यतलाई मार्न दाऊदले त्यही बगरबाट पाँचवटा चिल्ला-चिल्ला ढुङ्‌गा टिप्दै गरेको कल्पना गरें।” बाइबलमा उल्लेख गरिएका सही विवरणहरू देखेर अरू थुप्रै व्यक्‍तिहरूजस्तै ती पर्यटक पनि निकै प्रभावित भए।

यो ऐतिहासिक विवरणको सत्यतामा शङ्‌का गर्ने कुनै आधार छैन। यसमा उल्लेख गरिएका मानिस र ठाउँहरू वास्तविक हुन्‌। अझै महत्त्वपूर्ण कुरा, यसमा भएका विवरण “कहिल्यै झूट नबोल्नुहुने” परमेश्‍वरको वचनमा उल्लिखित विवरण हुन्‌।—तीतस१:२; २ तिमोथी ३:१६.