सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌ | दाऊद

‘लडाइँ यहोवाकै हो’

‘लडाइँ यहोवाकै हो’

सिपाहीहरू दाऊदलाई धकेल्दै पछि हटिरहेका थिए। उनीहरू डरले आँखा ठूलो-ठूलो पार्दै रणभूमिबाट भाग्दै थिए र एउटै व्यक्‍तिको नाम लिइरहेका थिए। किन? त्यो मानिस निर्धक्क भई उनीहरूकै आमनेसामने उभिरहेको थियो। त्यो जत्तिको अग्लो मान्छे दाऊदले अहिलेसम्म देखेकै थिएनन्‌।

त्यो मान्छे गोल्यत थियो! सिपाहीहरू किन डराएका रहेछन्‌ भनेर दाऊदले बल्ल बुझे। गोल्यत बडेमानको थियो, ऊ पहाडजस्तै देखिन्थ्यो। उसले बोकेको ठूलठूलो हातहतियार बाहेक उसको वजन दुई जना अग्ला-अग्ला मानिसहरूको भन्दा धेरै थियो। त्यसमाथि उसले गह्रौं हातहतियार पनि बोकेको थियो। ऊ निकै बलियो र अनुभवी योद्धा थियो। गोल्यतले चिच्याउँदै इस्राएलको सेना र राजा शाऊललाई चुनौती दियो। ऊ गर्जेको आवाज डाँडाहरूमा गुञ्जिएको कल्पना गर्नुहोस्‌। उसले जोसुकैलाई पनि आफूसँग लड्‌न हाँक दियो।—१ शमूएल १७:४-१०.

इस्राएलीहरू डराइरहेका थिए। राजा शाऊल डराइरहेका थिए। दाऊदले भर्खर मात्र थाह पाएको यो अवस्था एक महिनाभन्दा अघिदेखि चलिरहेको थियो। गोल्यतले दिनदिनै चुनौती दिइरहेको थियो तर पलिश्‍ती र इस्राएली सेनाहरू भने चुपचाप थिए। दाऊदले यो कुरा सहनै सकेनन्‌। इस्राएलका राजा डराउनु र दाऊदका तीन दाइहरू पनि भएको इस्राएली सेना डरले लुत्रुक्क पर्नु कत्ति लज्जास्पद कुरा! दाऊदको नजरमा त्यो मूर्तिपूजक गोल्यतले इस्राएलका सेनाको मात्र होइन, इस्राएलका परमेश्‍वर यहोवाको गिल्ला गरिरहेको थियो। तर दाऊदजस्तो भर्खरको केटोले के नै गर्न सक्थे र? दाऊदको विश्‍वासबाट हामी के सिक्न सक्छौं?—१ शमूएल १७:११-१४.

“त्यसलाई अभिषेक गर्‌। व्यक्‍ति यही हो”

थुप्रै महिना अघि घटेको घटनामा ध्यान दिऔं। दाऊद साँझपख बेतलेहेम नजिकैको डाँडामा आफ्नो बुबाको भेडा चराइरहेका थिए। तिनी राता-राता गाला, चम्किला आँखा भएका आकर्षक किशोर थिए। तिनी शान्त वातावरणमा वीणा बजाएर समय बिताउँथे। परमेश्‍वरको सुन्दर सृष्टिलाई हेर्दा तिनको मन छुन्थ्यो अनि तिनी सङ्‌गीत अभ्यास गरेर घण्टौं बिताउँथे। साँझपख भए पनि तिनलाई तुरुन्तै घर बोलाइयो। तिनको बुबा तिनलाई भेट्‌न आतुर थिए।—१ शमूएल १६:१२.

दाऊदले आफ्ना बुबा यिशैलाई एक जना वृद्ध व्यक्‍तिसित कुरा गरिरहेको देखे। तिनी विश्‍वासी भविष्यवक्‍ता शमूएल थिए। तिनलाई यहोवा परमेश्‍वरले यिशैका छोराहरूमध्ये एक जनालाई इस्राएलका राजा अभिषेक गर्न पठाउनुभएको थियो। शमूएलले दाऊदका सात जना दाइहरूलाई भेटे। तर आफूले छानेको व्यक्‍ति तिनीहरू होइन भनेर यहोवाले शमूएललाई बताउनुभयो। दाऊद आउने बित्तिकै यहोवाले शमूएललाई भन्‍नुभयो: “त्यसलाई अभिषेक गर्‌। व्यक्‍ति यही हो!” शमूएलले विशेष तेल भएको सीङ खोलेर तिनका दाइहरूको सामने तिनलाई अभिषेक गरे। यसरी अभिषेक गरेपछि दाऊदको जीवनमा थुप्रै परिवर्तन आयो। बाइबलमा यस्तो लेखिएको छ: “परमप्रभुका आत्मा दाऊदमाथि आउनुभयो, र त्यस दिनदेखि उसो तिनीसँग रहनुभयो।”—१ शमूएल १६:१, ५-११, १३.

दाऊदले जङ्‌गली जनावरलाई मार्न सकेको श्रेय नम्र भई यहोवालाई दिए

अभिषेक भएपछि तिनमा राजा बन्‍ने इच्छा तीव्र हुन थाल्यो कि? अहँ, त्यस्तो भएन। तिनी जिम्मेवारी वहन गर्ने उपयुक्‍त समयको लागि यहोवाको पवित्र शक्‍तिको डोऱ्‍याइमा भर परे। तिनले नम्र हुँदै पहिलेदेखि गर्दै आएको गोठालोको काम गरिरहे। यो काममा तिनी साहसी हुँदै तनमनले लागे। तिनले आफ्ना बुबाको भेडाहरूलाई एक पटक भालुको आक्रमणदेखि र अर्को पटक सिंहको आक्रमणदेखि जोगाए। दाऊदले ती जनावरलाई टाढैबाट धपाउने काम मात्र गरेनन्‌। बरु आफ्ना बुबाको भेडाहरूलाई जोगाउन ती जनावरसँग लड्‌न गए। दुवै पटक तिनी एक्लैले हिंस्रक जङ्‌गली जनावरलाई मारे।—१ शमूएल १७:३४-३६; यशैया ३१:४.

दाऊदलाई पछि पनि बोलाइयो। तिनको चर्चा राजा शाऊलको कानसम्म पुगेको थियो। हुन त शाऊल अझै वीर योद्धा थिए तर यहोवा परमेश्‍वरले दिनुभएको निर्देशन नमानेकोले तिनले उहाँको अनुमोदन गुमाएका थिए। यहोवाले आफ्नो शक्‍ति शाऊलबाट हटाउनुभएको थियो र तिनलाई बेला-बेलामा दुष्ट शक्‍तिले सताउँथ्यो। त्यसैले तिनी बेसरी रिसाउने, शङ्‌कालु र हिंस्रक हुन थाले। शाऊललाई दुष्ट शक्‍तिले सताएको बेला सङ्‌गीतले तिनको मन शान्त पार्थ्यो। शाऊलका केही मानिसलाई दाऊद एक जना कुशल सङ्‌गीतकार र वीर योद्धा हुन्‌ भनेर थाह थियो। त्यसैले दाऊदलाई राजाकहाँ बोलाइयो र केही समय नबित्दै तिनी शाऊलको सङ्‌गीतकार र हातहतियार बोक्ने व्यक्‍तिको रूपमा नियुक्‍त भए।—१ शमूएल १५:२६-२९; १६:१४-२३.

दाऊदको विश्‍वासबाट विशेषगरि जवानहरूले धेरै राम्रो कुरा सिक्न सक्छन्‌। तिनले फुर्सदको समय यहोवासित घनिष्ठ हुन बिताए। साथै तिनले जीवनमा उपयोगी हुने सीपहरू सिके। त्यसैले तुरुन्तै काम पाउन सके। सबैभन्दा मुख्य कुरा, तिनले यहोवाको पवित्र शक्‍तिको डोऱ्‍याइ खोजे। हामीले तिनीबाट सिक्नुपर्ने कत्ति महत्त्वपूर्ण पाठ, हैन र?—उपदेशक १२:१.

“हतास नहुनुहोस्‌”

शाऊलको सेवा गरिरहेकै बेला दाऊद आफ्ना बुबाको घरमा भेडा गोठालोको काम गर्न जान्थे। कहिलेकाहीं त लामो समयको लागि जान्थे। त्यही समयमा यिशैले शाऊलको सेनामा काम गर्ने आफ्ना तीन जना छोराहरूको हालखबर बुझ्न दाऊदलाई पठाए। तिनी आज्ञाकारी हुँदै दाइहरूको निम्ति केही खानेकुराको कुम्लो बोकेर एलाको बेंसीमा गए। तिनी त्यहाँ पुग्दा यस लेखको सुरुमा उल्लेख गरिएझैं दुवै पक्षका सेनाहरू चुपचाप खडा थिए। यो देखेर तिनी छक्क परे। पलिश्‍तीहरू एउटा डाँडामा र इस्राएलीहरू अर्को डाँडामा थिए, तिनीहरूका बीचमा एउटा बेंसी थियो।—१ शमूएल १७:१-३, १५-१९.

दाऊदलाई यस्तो अवस्था सही नसक्नु भयो। मूर्तिपूजक मानिसले धम्क्याउँदा जीवित परमेश्‍वर यहोवाको सेना डराएर भागेको तिनलाई मन परेन। गोल्यतले गरेको गिल्लालाई दाऊदले सिधै यहोवालाई गरेको गिल्लाको रूपमा लिए। त्यसैले दाऊदले गोल्यतलाई जित्नुपर्छ भनेर सिपाहीहरूसित कुरा गरे। तिनको कुरा तिनका जेठा दाइ एलीआबले सुने। उनले दाऊदलाई नराम्रोसित हपारे। ‘युद्धमा मानिसहरूको लास हेर्न आइस्‌’ भनेर गाली गरे। तर दाऊदले यसो भने: “मैले अहिले के गरेको छु र? मैले बोल्नु पनि नहुने।” त्यसपछि उनीबाट एकातिर लागेर तिनी मानिसहरूकहाँ गए र गोल्यतलाई जित्नुपर्छ भनेर निर्धक्क हुँदै भन्‍न थाले। दाऊदले भनेको कुरा मानिसहरूले शाऊललाई सुनाए। अनि राजाले तिनलाई बोलाउन मानिस पठाए।—१ शमूएल १७:२३-३१.

दाऊदले राजासित यी प्रोत्साहनदायी शब्दहरू बोले: “हतास नहुनुहोस्‌।” गोल्यतको कारण शाऊल र तिनका मानिसहरूको सातोपुत्लो उडेको थियो। आफ्नो उचाइ त्यो मानिसको छातीसम्म मात्र पुग्छ भनेर सोच्दै तिनीहरूले आफू र त्यो अजङ्‌गको गोल्यतबीच तुलना गरिरहेका थिए। वास्तवमा त्यसो गर्नु तिनीहरूको ठूलो भुल थियो। ती मानिसहरूले गोल्यतले आफूहरूलाई सजिलै हराउँछ भनेर सोचे। तर दाऊदले त्यसरी सोचेनन्‌। तिनले समस्यालाई बेग्लै तरिकाले हेरे। त्यसैले तिनी गोल्यतसित लड्‌न तयार भए।—१ शमूएल १७:३२.

शाऊलले आपत्ति जनाउँदै यसो भने: “तिमी गएर त्यस पलिश्‍तीसँग लड्‌न सक्नेछैनौ। तिमी त सानै ठिटा मात्र छौ, त्यो चाहिं जीवनभरिनै लडाइँ गर्दै आएको छ।” दाऊद साँच्चै साना ठिटा मात्र थिए त? थिएनन्‌। तर तिनी सेनामा भर्ती हुने उमेर पुगिसकेका व्यक्‍ति भने थिएनन्‌ र हेर्दा पनि कलिलै देखिन्थे। तैपनि पहिलेदेखि नै साहसी योद्धाको रूपमा चिनिन्थे। सायद तिनले किशोर अवस्था पार गर्नै लागेका थिए।—१ शमूएल १६:१८; १७:३३.

दाऊदले शाऊललाई ढुक्क बनाउन आफूले भालु र सिंहलाई मारेको कुरा बताए। दाऊदले धक्कु लगाइरहेका थिए कि? थिएनन्‌। सिंह र भालुलाई कसरी मार्न सके भन्‍ने कुरा दाऊदलाई थाह थियो। तिनले यसो भने: “सिंह र भालुदेखि बचाउनुहुने परमप्रभुले यस पलिश्‍तीको हातदेखि पनि मलाई बचाउनुहुनेछ।” केही सीप नलागेपछि शाऊलले यसो भने, “त्यसो भए जाऊ, परमप्रभु तिमीसँग होऊन्‌।”—१ शमूएल १७:३७, ३८.

तपाईं पनि दाऊदले जस्तै विश्‍वास बलियो बनाउन चाहनुहुन्छ? तिनको विश्‍वास आदर्शमा मात्र सीमित थिएन। तिनको विश्‍वास ज्ञान र अनुभवमा आधारित थियो। यहोवा मायालु संरक्षक र प्रतिज्ञा पूरा गर्नुहुने व्यक्‍ति हुनुहुन्छ भनेर तिनलाई थाह थियो। यदि हामीमा पनि तिनको जस्तै विश्‍वास भएको चाहन्छौं भने बाइबलमा बताइएको परमेश्‍वरबारे सिकिरहनुपर्छ। जे सिक्यौं, त्यसैअनुसार चल्यौं भने हाम्रो विश्‍वास बलियो हुनेछ।—हिब्रू ११:१.

“परमप्रभुले तँलाई मेरो हातमा सुम्पिदिनुहुनेछ”

सुरुमा त शाऊलले दाऊदलाई उनकै पोसाक र हातहतियार दिए। गोल्यतको जस्तै तामाको टोप र झिलम दिए। दाऊदले त्यो लगाएर चलहल गर्न कोसिस गरे तर एकदमै ठूलो र गह्रौं भएकोले तिनलाई गाह्रो भयो। तिनले सेनाको प्रशिक्षण नपाएकाले त्यस्तो पोसाक र हातहतियारको बानी परेको थिएन। अनि शाऊल इस्राएलमै सबैभन्दा अग्लो व्यक्‍ति भएकोले त्यो पोसाक तिनलाई ठीक भएन। (१ शमूएल ९:२) त्यसैले तिनले ती सबै फुकाले र आफूले गोठालोको काम गर्दा लगाएको पोसाक लगाए।—१ शमूएल १७:३८-४०.

दाऊदले आफ्नो लट्ठी, झोला र घुयेंत्रो लिए। अहिले हामीलाई घुयेंत्रो के नै हो र जस्तो लाग्न सक्छ। तर त्यतिबेला त्यो एकदमै महत्त्वपूर्ण हतियार थियो। छालाको दुइटा लामो फित्ताको बीचमा थैली भएको यो हतियार गोठालोको लागि निकै उपयोगी हुन्थ्यो। गोठालोले थैलीमा एउटा ढुङ्‌गा राख्थे र त्यसलाई टाउको माथिबाट बेस्सरी घुमाएर ठ्याक्कै निसाना पर्ने गरी एउटा फित्ता छोड्‌थे। यो हतियार निकै उपयोगी भएकोले कहिलेकाहीं सेनाहरूमा घुयेंत्रो हान्‍नेहरूको तह पनि छुट्ट्याइन्थ्यो।

दाऊद आफ्नो घुयेंत्रो लिएर शत्रुसँग लड्‌न गए। दाऊदले बेंसीको सुक्खा बगरबाट पाँचवटा चिल्ला-चिल्ला ढुङ्‌गा टिप्नुअघि व्यग्र प्रार्थना गरेको हामी कल्पना गर्न सक्छौं। त्यसपछि तिनी रणभूमिमा गए, हिंड्‌दै होइन दौडँदै!

गोल्यतले आफ्नो शत्रुलाई देखेपछि के सोच्यो होला? त्यसले “राता-राता गाला, चम्किला आँखा भएका सुन्दर ठिटालाई देखेर खिसी” गऱ्‍यो। गोल्यतले कराउँदै भन्यो: “के म कुकुर हुँ र लाठाहरू लिएर मसँग लड्‌न आउँछस्‌?” त्यसले आफ्नो देवताको नाममा दाऊदलाई सराप्न लाग्यो अनि तिनको मासु चराहरू र जनावरलाई खान दिनेछु भन्यो।—१ शमूएल १७:४१-४४.

दाऊदले देखाएको प्रतिक्रिया अहिले विश्‍वासको ठूलो नमुना साबित भएको छ। जवान केटोले गोल्यतलाई यस्तो जवाफ दिएको कल्पना गर्नुहोस्‌: “तँ ता मसँग लडन तरवार, भाला र बर्छा लिएर आएको छस्‌, तर म तँसँग लडन तैंले धम्क्याएका इस्राएलको फौजका परमेश्‍वर, सेनाहरूका परमप्रभुको नाउँमा आएको छु।” मानिसको शक्‍ति र हातहतियारले खासै केही गर्न सकिन्‍न भनेर दाऊदलाई थाह थियो। गोल्यतले यहोवाको अनादर गरेको थियो। त्यसैले यहोवा चुप लागेर बस्नुहुने थिएन। दाऊदले भनेजस्तै “लडाइँ परमप्रभुकै [“यहोवाकै,” NW] हो।”—१ शमूएल १७:४५-४७.

दाऊदले गोल्यतको जीउडाल र हातहतियार देखेका थिए। तर त्यस्ता कुराहरूले गर्दा दाऊद डराएनन्‌। शाऊल र तिनको सेनाले जस्तो गल्ती दाऊदले गरेनन्‌। दाऊदले आफूलाई गोल्यतसित तुलना गरेनन्‌। त्यसको सट्टा तिनले गोल्यतलाई यहोवासित तुलना गरे। साढे नौ फिट अग्लो गोल्यत अरू मानिसको तुलनामा निकै ठूलो थियो तर ब्रह्‍माण्डको शासकको तुलनामा नि? साँच्चै! यहोवाको अगाडि अरू मानिसजस्तै त्यो पनि किरा जत्तिकै सानो थियो। अनि यहोवाले त्यसलाई विनाश गर्नै लाग्नुभएको थियो।

दाऊद आफ्नो शत्रु भएतिर दौडिंदै गए अनि झोलाबाट ढुङ्‌गा निकाले। त्यो ढुङ्‌गालाई घुयेंत्रोमा हालेर टाउको माथि सुइँ-सुइँ आवाज नआएसम्म बेस्सरी घुमाउँदै-घुमाउँदै अघि बढे। सायद हतियार बोक्नेलाई अघि लगाएर गोल्यत ऊसँगसँगै अघि बढ्यो। गोल्यत अग्लो भएकोले र त्यसको हातहतियार बोक्ने मानिस सामान्य कदको भएकोले उसले त्यसको शिरको सुरक्षा गर्न सक्ने थिएन। दाऊदको निसाना त्यसको शिर थियो।—१ शमूएल १७:४१.

दाऊदले त्यस अजङ्‌गको मानिसलाई यहोवाको तुलनामा सानो देखे

दाऊदले घुयेंत्रोबाट ढुङ्‌गा छोडे। तिनले ताकेर हानेपछि एकछिन सन्‍नाटा छाएको कल्पना गर्नुहोस्‌। दाऊदले एउटा बाहेक अर्को ढुङ्‌गा हान्‍नै नपर्ने अवस्था यहोवाले बनाइदिनुभयो। ढुङ्‌गा गोल्यतको निधारमै गाडियो। त्यो बडेमाको मानिस घोप्टो परेर भुइँमा डङ्‌ग्रङ्‌ग लड्यो! हतियार बोक्ने सिपाही डराएर टाप कस्यो। दाऊदले गोल्यतको तरवार म्यानबाट थुते र त्यस बडेमान गोल्यतको टाउको काटिदिए।—१ शमूएल १७:४८-५१.

बल्ल शाऊल र तिनका सेनाको साहस बढ्यो। तिनीहरू चिच्याउँदै पलिश्‍तीहरूमाथि जाइलागे। युद्धबारे दाऊदले गोल्यतलाई यसो भनेका थिए: “उहाँले तिमीहरू सबैलाई हाम्रो हातमा सुम्पिदिनुहुनेछ।” साँच्चै! दाऊदले भनेझैं भयो।—१ शमूएल १७:४७, ५२, ५३.

अहिले परमेश्‍वरका सेवकहरू साँच्चैको युद्धमा भाग लिंदैनन्‌। यसरी युद्ध गर्ने कुरा इतिहासमा मात्र सीमित भइसक्यो। (मत्ती २६:५२) तैपनि हामीले दाऊदको विश्‍वासको अनुकरण गर्नुपर्छ। दाऊदलाई जस्तै हामीलाई पनि यहोवा वास्तविक लाग्नुपर्छ अनि उहाँको मात्र सेवा र प्रशंसा गर्न उत्प्रेरित हुनुपर्छ। कहिलेकाहीं हामीलाई आफ्नो समस्या निकै ठूलो लाग्न सक्छ तर यहोवाको शक्‍तिको तुलनामा हाम्रा समस्या केही पनि होइनन्‌। दाऊदले जस्तै हामीले पनि यहोवालाई आफ्नो परमेश्‍वरको रूपमा स्वीकाऱ्‍यौं र उहाँमा विश्‍वास गऱ्‍यौं भने समस्या वा चुनौतीको सामना गर्नुपर्दा हामी डराउनु पर्दैन। किनभने यहोवा सबैभन्दा शक्‍तिशाली हुनुहुन्छ।