सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आवरण लेख | सान्त्वना कहाँ पाउन सक्नुहुन्छ?

दुःखको समयमा सान्त्वना

दुःखको समयमा सान्त्वना

हामी थुप्रै किसिमका दुःख भोग्छौं। हामीमाथि आइपर्ने सबै दुःखबारे चर्चा गर्न त सम्भव छैन तर हामीले अगाडि चर्चा गरेको चार वटा बुँदालाई विचार गरौं। विभिन्‍न दुःखको सामना गर्दा मानिसहरूले ईश्‍वरबाट कसरी सान्त्वना पाएका छन्‌, केलाएर हेरौं।

जागिर गुमाउनुपर्दा

“सानोतिनोजस्तो देखिने काम पनि गर्नुपर्छ भनेर सिकें अनि अनावश्‍यक कुरामा हुने खर्च पनि कटौती गऱ्‍यौं।”—जोनाथन

श्‍याम a भन्छन्‌: “म र मेरी श्रीमतीले सँगसँगै जागिर गुमाउनुपऱ्‍यो। दुई वर्षजति हामीले परिवारको दया-मायामा र सानातिना काम गरेर गुजारा चलाउनुपऱ्‍यो। यसले गर्दा मेरी श्रीमती प्रमिला निराश भइन्‌। मैले केही गर्न नसकेकोमा आफूलाई कामै नलाग्ने मान्छे ठानें।”

“हामीले यसको सामना कसरी गऱ्‍यौं? प्रमिलाले मत्ती ६:३४ मा येशूले भन्‍नुभएका शब्दहरूलाई बारम्बार विचार गरिन्‌। येशूले भोलिको चिन्ता गर्नु पर्दैन, भोलिको चिन्ता भोलिले नै गर्नेछ भन्‍नुभएको थियो। अनि तिनले मन खोलेर यहोवालाई प्रार्थना पनि गरिन्‌। यसो गर्दा तिनले बल पाइन्‌। मलाईचाहिं भजन ५५:२२ ले सान्त्वना दियो। भजनरचयिताले जस्तै मैले पनि आफ्नो भारी यहोवालाई बिसाएँ, यहोवाले मलाई मदत गर्नुभयो। अहिले मैले जागिर पाएको छु। जागिर खाए पनि हामी मत्ती ६:२०-२२ मा येशूले दिनुभएको सल्लाह लागू गरेर सरल जीवन बिताउँदै छौं। मुख्य कुरा, यहोवासित घनिष्ठ हुन सकेका छौं। साथै हामी दुई जना पनि एकअर्कासित अझ नजिकिएका छौं।”

जोनाथन यसो भन्छन्‌: “हाम्रो परिवारको सानो व्यवसाय डामाडोल भएकोले मलाई भविष्यको एकदमै चिन्ता लाग्थ्यो। हामीले २० वर्षसम्म गरेको सबै मेहनत आर्थिक मन्दीले गर्दा बालुवामा पानी खन्याएझैं भयो। पैसाको विषयलाई लिएर मेरी श्रीमती र मेरो बाझाबाझ हुन थाल्यो। क्रेडिट कार्ड भए पनि पैसा नभएकोले बेइज्जत होला भनेर सामान किन्‍न डराउँथ्यौं।”

“तर हामीलाई परमेश्‍वरको वचन र उहाँको पवित्र शक्‍तिले सही निर्णय गर्न मदत गऱ्‍यो। सानोतिनोजस्तो देखिने काम पनि गर्नुपर्छ भनेर सिकें अनि अनावश्‍यक कुरामा हुने खर्च पनि कटौती गऱ्‍यौं। हाम्रा प्रिय ख्रीष्टियन दाजुभाइ दिदीबहिनीबाट पनि आवश्‍यक मदत पायौं। हामीलाई निकै गाह्रो भएको बेलामा तिनीहरूले प्रोत्साहन दिनुका साथै मदतको हात पनि अघि बढाए।”

वैवाहिक सम्बन्ध टुट्‌दा

राकेल भन्छिन्‌: “श्रीमान्‌ले अचानक छोडेर जाँदा म त छाँगाबाट खसेझैं भएँ। मेरो हृदय छियाछिया भयो अनि बेस्सरी रिस पनि उठ्यो। दुःखको भुमरीमा फसेको महसुस गरें। तर म परमेश्‍वरसित नजिक भएँ अनि उहाँले मलाई सान्त्वना दिनुभयो। मैले शान्तिका परमेश्‍वरलाई आफ्नो सबै व्यथा प्रार्थनामार्फत पोखें। उहाँले मेरो हृदयमा लागेको गहिरो चोटमा मलहम लगाइदिनुभयो।”

“उहाँले आफ्नो वचन बाइबल दिनुभएकोमा पनि धन्यवाद दिन चाहन्छु। मैले रिस र तीतो भावनालाई जित्न सकें। मैले रोमी १२:२१ मा लेखिएका प्रेषित पावलका यी शब्दहरू मनमा राखें: ‘आफूलाई खराबीसित पराजित हुन नदेऊ, बरु खराबीलाई भलाइले जितिरह।’”

“चिन्ता गर्न ‘छोड्‌ने’ समय छ। . . . अहिले मेरो जीवन अर्थपूर्ण भएको छ।”—राकेल

“एक जना साथीले दिएको सल्लाहले मेरो जीवनमा ठूलै परिवर्तन ल्यायो। तिनले उपदेशक ३:६ देखाए अनि चिन्ता गर्न ‘छोड्‌ने’ समय छ भनेर बुझाए। हुन त त्यो सल्लाह कडाजस्तो देखिन्थ्यो तर त्यो मलाई चाहिएकै सल्लाह थियो। अहिले मेरो जीवन अर्थपूर्ण भएको छ।”

एलिजाबेथ भन्छिन्‌: “वैवाहिक सम्बन्ध टुटेको मान्छेलाई अरूको साथ चाहिन्छ। मलाई पनि एक जना साथीले दिनदिनै त्यस्तै साथ दिइन्‌। उनी मसँगै रोइन्‌, मलाई सान्त्वना दिइन्‌ अनि मलाई हेला होइन, बरु माया गरिन्‌। मेरो भावनात्मक चोट निको पार्न उनलाई यहोवाले नै चलाउनुभएको हो भनेर म विश्‍वस्त छु।”

बिरामी र वृद्धावस्थाको सामना गर्नुपर्दा

“प्रार्थनाले मलाई साहस दिन्छ।”—लुइस

यस पुस्तिकाको सुरुको लेखमा उल्लेख गरिएको लुइसलाई मुटुको समस्या छ। तिनी दुई पटक त मृत्युको मुखबाट बाँचे। तिनलाई अहिले दिनको १६ घण्टा अक्सिजन दिनुपर्छ। तिनी भन्छन्‌: “म यहोवालाई नियमित प्रार्थना गर्छु। यसरी प्रार्थना गरिसकेपछि उहाँले शक्‍ति दिनुभएको महसुस गर्छु। प्रार्थनाले मलाई साहस दिन्छ किनभने म यहोवालाई विश्‍वास गर्छु र उहाँले मेरो हेरविचार गर्नुहुन्छ भनेर मलाई थाह छ।”

असी वर्ष नाघिसकेकी पेट्रा यसो भन्छिन्‌: “हुन त म थुप्रै कुरा गर्न चाहन्छु तर गर्न सक्दिनँ। बल घट्‌दै गएको देख्दा दुःख लाग्छ। औषधीको भरमा बाँच्नुपरेको छ। गाह्रो अवस्था सहनुपर्दा येशूले यहोवालाई यदि सम्भव छ भने हटाइदिनुहोस्‌ भनेर गरेको बिन्ती म अक्सर सम्झन्छु। यहोवाले येशूलाई सहने बल दिनुभयो, मलाई पनि दिनुहुन्छ। प्रार्थना मेरो दैनिक औषधी भइसक्यो। यहोवासित कुरा गरेपछि सन्चो महसुस गर्छु।”—मत्ती २६:३९.

जुलियन लगभग ३० वर्ष अघिदेखि मल्टिपल स्क्‌लेरोसिस्‌ रोगसँग सङ्‌घर्ष गर्दै छन्‌। तिनी भन्छन्‌: “म हाकिमको चेयरमा बसिरहेको थिएँ। अब ह्विलचेयरमा बस्नुपऱ्‍यो। तर अरूको सेवा गर्न पाएकोले मेरो जीवन अर्थपूर्ण भएको छ। अरूको सेवा गर्दा पीडा कम हुन्छ अनि हामीलाई बलियो बनाउने आफ्नो प्रतिज्ञा यहोवाले पूरा गर्नुहुन्छ। पावलले जस्तै म नढाँटी यसो भन्‍न सक्छु: ‘जसले मलाई शक्‍ति दिनुहुन्छ, उहाँद्वारै म सबै कुरा गर्ने बल पाउँछु।’”—फिलिप्पी ४:१३.

कसैको मृत्यु हुँदा

एन्टोनियो भन्छन्‌: “सवारी दुर्घटनामा परेर बुबाको मृत्यु हुँदा सुरुमा त विश्‍वासै गर्न सकिनँ। उहाँ बाटोमा हिंडिरहनुभएको पैदलयात्री हुनुहुन्थ्यो। उहाँको कुनै दोष थिएन। तर मैले गर्न सक्ने केही थिएन। बुबा पाँच दिनसम्म अचेत अवस्थामा हुनुहुन्थ्यो। पछि उहाँको मृत्यु भयो। आमाको अगाडि जसोतसो आँसु थामें। तर एक्लै हुँदा भने निकै रोएँ। ‘किन? किन?’ यो प्रश्‍न मेरो मनमा आइरह्‍यो।”

“त्यस्तो कठिन अवस्थामा आफ्नो भावनालाई नियन्त्रण गर्न सकूँ र शान्त हुन सकूँ भनेर यहोवालाई प्रार्थना गरिरहें। अनि बिस्तारै शान्त हुन सकें। हामी सबै जना ‘समय र अवसरको’ अधीनमा छौं भनेर बाइबलमा बताइएको कुरा सम्झें। परमेश्‍वर झूट बोल्नुहुन्‍न, त्यसैले बुबा पुनर्जीवित भएपछि उहाँलाई फेरि भेट्‌न पाउनेछु भन्‍ने कुरामा म ढुक्क छु।” —उपदेशक ९:११; यूहन्‍ना ११:२५; तीतस १:२.

“विमान दुर्घटनामा छोराको मृत्यु भए पनि ऊसँग बिताएका खुसीका क्षणहरू ताजै छ।”—रोबर्ट

यस पुस्तिकाको सुरुको लेखमा उल्लेख गरिएको रोबर्टलाई पनि त्यस्तै लाग्छ। तिनी भन्छन्‌: “मेरी श्रीमती र मैले फिलिप्पी ४:६, ७ मा बताइएको मनोशान्ति महसुस गरेका छौं। यहोवालाई प्रार्थना गरेर हामीले त्यस्तो मनोशान्ति महसुस गर्न सक्यौं। यस्तो मनोशान्तिले गर्दा पत्रकारहरूसँग पुनर्जीवनको आशाबारे कुरा गर्न सक्यौं। विमान दुर्घटनामा छोराको मृत्यु भए पनि ऊसँग बिताएका खुसीका क्षणहरू ताजै छ। हामी त्यसैमा ध्यान दिने कोसिस गर्छौं।”

“हामीले आफ्नो विश्‍वासबारे शान्तपूर्वक बताएको कुरा टेलिभिजनमा हेऱ्‍यौं भनी हाम्रा ख्रीष्टियन दाजुभाइ दिदीबहिनीहरूले बताए। हाम्रो लागि गरिएका प्रार्थनाहरूले गर्दा नै हामीले त्यसो गर्न सकेका हौं भनेर उहाँहरूलाई बतायौं। उहाँहरूले सान्त्वनाका अनगिन्ती सन्देश पठाउनुभयो। मलाई विश्‍वास छ, यस्तै सन्देशहरूमार्फत यहोवाले हामीलाई सम्हाल्नुभयो।”

ठूलठूला समस्याको सामना गरिरहेका र पीडा भोगिरहेका मानिसहरूलाई परमेश्‍वरले सान्त्वना दिनुहुन्छ भनेर यस्ता उदाहरणहरूले देखाउँछ। तपाईंलाई नि? जीवनमा तपाईंले जस्तोसुकै समस्या भोग्नु किन नपरोस्‌, तपाईं सान्त्वना पाउन सक्नुहुन्छ। b त्यसकारण यहोवासित मदत माग्नुहोस्‌। उहाँ “सबै सान्त्वनाका परमेश्‍वर हुनुहुन्छ।”—२ कोरिन्थी १:३.

a यस लेखमा केही नामहरू परिवर्तन गरिएका छन्‌।

b यदि तपाईं परमेश्‍वरको नजिक हुन चाहनुहुन्छ र सान्त्वना पाउन चाहनुहुन्छ भने तपाईंको इलाकाका यहोवाका साक्षीहरूसित भेट्‌नुहोस्‌ वा नजिकैको शाखा कार्यालयमा सम्पर्क राख्नुहोस्‌।