सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आवरण लेख | सान्त्वना कहाँ पाउन सक्नुहुन्छ?

ईश्‍वरले सान्त्वना दिनुहुने तरिका

ईश्‍वरले सान्त्वना दिनुहुने तरिका

प्रेषित पावलले यहोवालाई a ‘हाम्रा सबै सङ्‌कष्टहरूमा सान्त्वना दिनुहुने सबै सान्त्वनाका परमेश्‍वरको’ रूपमा व्याख्या गरे। (२ कोरिन्थी १:३, ४) त्यसैले ईश्‍वरको मदत सबैले पाउन सक्छन्‌ अनि जस्तोसुकै आपत्‌विपद्‌ आए पनि उहाँले सान्त्वना दिन सक्नुहुन्छ भनेर बाइबल हामीलाई आश्‍वस्त पार्छ।

हो, यहोवाबाट सान्त्वना पाउन हामीले केही न केही गर्नै पर्छ। यदि डाक्टरलाई भेट्‌ने समय नै मिलाएनौं भने तिनले हामीलाई कसरी मदत गर्न सक्छन्‌ र? भविष्यवक्‍ता आमोसले यस्तो प्रश्‍न गरे: “दुई जनाको आपसमा सहमत नभएसम्म के ती दुई सँगसँगै हिंड्‌छन्‌ र?” (आमोस ३:३) त्यसैले बाइबलले हामीलाई यस्तो आग्रह गर्छ: “परमेश्‍वरसित नजिक होओ र उहाँ तिमीहरूसित नजिक हुनुहुनेछ।”—याकूब ४:८.

परमेश्‍वर हामीसित नजिक हुनुहुनेछ भनेर हामी कसरी पक्का हुन सक्छौं? पहिलो कुरा त, परमेश्‍वर हामीलाई मदत गर्न चाहनुहुन्छ भनेर उहाँले बारम्बार बताउनुभएको छ। (पृष्ठ ५ को  पेटी हेर्नुहोस्‌।) दोस्रो कुरा, हामीसित ईश्‍वरबाट सान्त्वना पाएका व्यक्‍तिहरूको ज्वलन्त उदाहरण छ। तिनीहरू विगतका र हाम्रो समयका वास्तविक व्यक्‍तिहरू हुन्‌।

अहिले थुप्रै मानिस आपत्‌विपद्‌ आउँदा ईश्‍वरलाई पुकार्छन्‌। प्राचीन समयका राजा दाऊदले पनि विभिन्‍न आपत्‌विपद्‌ सहनुपरेको थियो। एक पटक तिनले यहोवालाई यस्तो बिन्ती गरे, “जब . . . तपाईंलाई पुकारा गर्छु, तब मेरो अन्तरबिन्ती सुन्‍नुहोस्‌।” के ईश्‍वरले तिनको बिन्ती सुन्‍नुभयो? हो, सुन्‍नुभयो। दाऊदले यसो पनि भने: “मैले सहायता पाएको छु। यसकारण मेरो हृदय ज्यादै रमाउँछ।”—भजन २८:२, ७.

शोक गर्नेहरूलाई सान्त्वना दिने सम्बन्धमा येशूको भूमिका

सान्त्वना दिने सम्बन्धमा येशूले मुख्य भूमिका खेलेको ईश्‍वर चाहनुहुन्थ्यो। उहाँले येशूलाई थुप्रै जिम्मेवारी दिनुभएको थियो। त्यसमध्ये येशूले ‘मन भाँचिएकाहरूको हृदयलाई निको पार्नुपर्थ्यो’ अनि ‘विलाप गर्नेहरू सबैलाई सान्त्वना दिनुपर्थ्यो।’ (यशैया ६१:१, २) भविष्यवाणी गरिएझैं येशूले “श्रमले थाकेका र भारले दबिएका” मानिसहरूमाथि विशेष चासो राख्नुभयो।—मत्ती ११:२८-३०.

येशूले बुद्धिमानी सल्लाह दिएर, मानिसहरूसित दयालु व्यवहार गरेर अनि कहिलेकाहीं त तिनीहरूको रोगबिमार निको पारेर समेत मानिसहरूलाई सान्त्वना दिनुभयो। एक दिन एक जना कुष्ठरोगीले येशूलाई यस्तो बिन्ती गऱ्‍यो: “यदि तपाईंसित इच्छा मात्र छ भने पनि मलाई शुद्ध पार्न सक्नुहुन्छ।” यो सुनेर उहाँ टिठाउनुभयो अनि यसो भन्‍नुभयो: “मसित इच्छा छ। तिमी शुद्ध भइजाऊ।” (मर्कूस १:४०, ४१) तुरुन्तै त्यो कुष्ठरोगी निको भयो।

हामीलाई व्यक्‍तिगत रूपमा सान्त्वना दिन अहिले येशू यस पृथ्वीमा हुनुहुन्‍न। तर उहाँको बुबा यहोवा, जो “सबै सान्त्वनाका परमेश्‍वर” हुनुहुन्छ, उहाँले अहिले पनि खाँचोमा परेकाहरूलाई मदत गर्नुहुन्छ। (२ कोरिन्थी १:३) ईश्‍वरले अहिले मानिसहरूलाई सान्त्वना दिन प्रयोग गर्नुभएको चार वटा मुख्य तरिका विचार गर्नुहोस्‌।

  • बाइबल। “पहिले लेखिएका सबै कुरा हाम्रो शिक्षाका लागि लेखिएका हुन्‌, ताकि हाम्रो सहनशीलता र धर्मशास्त्रबाट पाइने सान्त्वनाद्वारा हामीलाई आशा होस्‌।”—रोमी १५:४.

  • परमेश्‍वरको पवित्र शक्‍ति। येशूको मृत्यु भएको केही समय बितेपछि ख्रीष्टियन मण्डलीमा शान्ति छायो। कारण के थियो? ‘यहोवाको डर अनि पवित्र शक्‍तिबाट पाएको प्रोत्साहनअनुसार हिंडेकोले।’ (प्रेषित ९:३१) पवित्र शक्‍ति अर्थात्‌ परमेश्‍वरको सक्रिय शक्‍ति एकदमै शक्‍तिशाली छ। परमेश्‍वरले जुनसुकै अवस्थामा अनि जोसुकैलाई सान्त्वना दिन यो शक्‍ति प्रयोग गर्न सक्नुहुन्छ।

  • प्रार्थना। बाइबल हामीलाई यस्तो सल्लाह दिन्छ, “कुनै कुराको विषयमा चिन्तित नहोओ तर . . . आफ्नो निवेदन परमेश्‍वरसमक्ष जाहेर गर। अनि परमेश्‍वरको शान्ति, जुन सम्पूर्ण मानव विचारभन्दा उत्कृष्ट छ, त्यसले . . . तिमीहरूको मन र सोच्ने क्षमताको रक्षा गर्नेछ।”—फिलिप्पी ४:६, ७.

  • हाम्रा ख्रीष्टियन दाजुभाइ दिदीबहिनीहरू। ख्रीष्टियन दाजुभाइ दिदीबहिनीहरू हाम्रो लागि गाह्रो अवस्थामा पनि सान्त्वना दिने साँचो मित्रहरू हुन सक्छन्‌। प्रेषित पावलले आफ्ना सहकर्मीहरूलाई “खाँचो अनि सङ्‌कष्टको” समयमा ‘बल दिने मदतगार’ भनेर सम्बोधन गरे।—कलस्सी ४:११; १ थिस्सलोनिकी ३:७.

तर तपाईंलाई लाग्ला, भन्‍नजस्तो सजिलो गर्न कहाँ छ र? हामीले अगाडि चर्चा गरेका मानिसहरूको उदाहरणलाई अझ राम्ररी विचार गरौं अनि समस्याहरू आउँदा तिनीहरूले कसरी सान्त्वना पाए, बुझौं। तिनीहरूले जस्तै तपाईंले पनि परमेश्‍वर आफ्नो यो प्रतिज्ञा पूरा गर्नुहुन्छ भनेर बुझ्न सक्नुहुन्छ: ‘आमाले सान्त्वना दिएजस्तै म तिमीहरूलाई सान्त्वना दिनेछु।’—यशैया ६६:१३.

a बाइबलमा बताइएअनुसार ईश्‍वरको नाम यहोवा हो।