सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आवरण लेख | सान्त्वना कहाँ पाउन सक्नुहुन्छ?

हामी सबैलाई सान्त्वना चाहिन्छ

हामी सबैलाई सान्त्वना चाहिन्छ

सानो छँदा लडेको घटना सम्झनुहुन्छ कि? त्यतिबेला तपाईंको हातमा वा घुँडामा चोट लागेको थियो होला। आमाले कसरी सान्त्वना दिनुभयो? सायद उहाँले घाउ सफा गरिदिनुभयो अनि पट्टी लगाइदिनुभयो। तपाईं रुनुभयो होला तर सान्त्वना मिल्ने उहाँको शब्दहरूले र न्यानो आलिङ्‌गनले गर्दा दुखाइ नै बिर्सनुभयो होला।

तर हामी हुर्कंदै जाँदा समस्या थपिंदै जान्छ। समस्या झन्‌झन्‌ ठूलो हुँदै जान्छ; सान्त्वना पाउन भने गाह्रो हुन्छ। अनि दुःखको कुरा, ती समस्याहरूलाई पट्टीले वा आमाको आलिङ्‌गनले समाधान गर्न सकिंदैन। त्यस्तै केही उदाहरण विचार गरौं।

  • के तपाईंले जागिर गुमाउँदाको पीडा सहनुपरेको छ? जागिर गुमाउनुपर्दा जुलियनले एकदमै नमीठो महसुस गरे। तिनलाई यस्तो लाग्यो, ‘अब परिवारको लालनपालन कसरी गर्ने? यत्तिका वर्ष कम्पनीको लागि काम गरें, अहिले आएर कम्पनीले मलाई किन बेकारको ठान्यो?’

  • तपाईं आफ्नो वैवाहिक बन्धन टुटेकोले निराश हुनुहुन्छ कि? राकेल भन्छिन्‌: “अठार महिनाअघि श्रीमान्‌ले अकस्मात्‌ छोडेर जानुहुँदा मलाई असाध्यै दुःख लाग्यो। मेरो मुटु नै दुई टुक्रा भएजस्तो लाग्यो। मैले शारीरिक र भावनात्मक चोट महसुस गरें। मलाई डरले छोप्यो।”

  • तपाईंलाई गम्भीर रोग लागेको हुन सक्छ अनि सुधारको सङ्‌केत पनि देखिंदैन होला। कहिलेकाहीं तपाईं कुलपिता अय्यूबले जस्तै महसुस गर्नुहुन्छ होला। तिनले यसरी बिलौना गरेका थिए: “म हताश भएको छु, बाँचिरहने मलाई इच्छा छैन।” (अय्यूब ७:१६) तपाईं पनि ८० वर्ष नाघेका लुइसले जस्तै महसुस गर्नुहुन्छ होला। तिनले यसो भने: “कहिलेकाहीं मर्ने दिन पर्खेर बस्दै छु जस्तो लाग्छ।”

  • अथवा आफूले माया गरेको व्यक्‍तिको मृत्युको कारण तपाईंलाई सान्त्वना चाहिएको हुन सक्छ। रोबर्ट भन्छन्‌: “विमान दुर्घटनामा परेर छोराको मृत्यु हुँदा सुरुमा त विश्‍वास गर्नै सकिनँ। पछि मात्र पीडा महसुस गर्न थालें। लामो तरवारले वारपार हुनेगरि छेड्‌दा हुने पीडा महसुस गरें।”—लूका २:३५.

रोबर्ट, लुइस, राकेल र जुलियनले यस्तो गाह्रो अवस्थामा पनि सान्त्वना पाए। सान्त्वनाको सबैभन्दा उत्तम स्रोत, सर्वशक्‍तिमान्‌ परमेश्‍वरमार्फत तिनीहरूले सान्त्वना पाए। उहाँ कसरी सान्त्वना दिनुहुन्छ? उहाँले तपाईंलाई पनि सान्त्वना दिनुहुन्छ कि?