सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलले जीवनलाई नयाँ मोड दिन्छ

म रूखो र हिंस्रक स्वभावको थिएँ

म रूखो र हिंस्रक स्वभावको थिएँ
  • जन्म मिति १९७४

  • जन्म स्थान मेक्सिको

  • विगतमा हिंस्रक, सडकमा गुन्डागर्दी गर्दै हिंड्‌ने किशोर

मेरो विगत:

मेरो जन्म मेक्सिकोको तमौलीपासको स्युडड्‌ मान्त भन्‍ने सुन्दर सहरमा भएको थियो। त्यस सहरका बासिन्दाहरू उदार र दयालु छन्‌। तर दुःखको कुरा, नियोजित अपराधको कारण यो सहर एकदमै खतरनाक थियो।

चार जना दाजुभाइमध्ये म माइलो थिएँ। मेरा आमाबुबाले मलाई क्याथोलिक चर्चमा बप्तिस्मा गराउनुभएको थियो र पछि म स्थानीय चर्चको सदस्य भएँ। म परमेश्‍वरलाई खुसी पार्न चाहन्थें किनकि परमेश्‍वरले सजायस्वरूप नरकमा सास्ती दिने कुरादेखि मलाई एकदमै डर लाग्थ्यो।

म पाँच वर्षको छँदा बुबाले हामीलाई छोडेर जानुभयो। यो कुराले मलाई गहिरो चोट पाऱ्‍यो र खोक्रो महसुस गर्न थालें। हामी उहाँलाई असाध्यै माया गर्थ्यौं, तैपनि किन हामीलाई छाडेर जानुभयो बुझ्नै सकिनँ। हामी चार जनाको लालनपालन गर्न आमाले घण्टौंसम्म घरबाहिर काम गर्नुपऱ्‍यो।

यस्तो अवस्थाको फाइदा उठाउँदै आफूभन्दा ठूलो केटाहरूसँग सङ्‌गत गर्नको लागि स्कुलबाट भाग्न थालें। तिनीहरूले छाडा बोली बोल्न, चुरोट खान, चोर्न र झगडा गर्न सिकाए। अरूलाई हेप्न मलाई खुबै मन पर्थ्यो। त्यसैले बक्सिङ, कुस्ती, मार्सल आर्टका साथै हतियार चलाउन सिकें। म एकदमै हिंस्रक किशोर बनें। गोली काण्डमा पनि मुछिएँ। थुप्रै पटक मानिसहरूले मऱ्‍यो होला भन्‍ने सोचेर रगताम्मे अवस्थामा सडकमै छोडेर जान्थे। मैले आमालाई निकै दुःख दिएँ। उहाँले मलाई मर्नु न बाँच्नुको अवस्थामा अस्पताल लैजानुहुन्थ्यो।

म १६ वर्षको हुँदा सानो छँदाको साथी जोर्जे हाम्रो घरमा आए। तिनले आफू यहोवाको साक्षी भएकोले एकदमै महत्त्वपूर्ण सन्देश सुनाउन चाहन्छु भने। तिनले बाइबलबाटै आफ्नो विश्‍वासबारे बताए। मैले यस्तो कुरा पहिला कहिल्यै पढेको थिइनँ। त्यसैले परमेश्‍वरको नाम र उहाँको उद्देश्‍यबारे सिक्न म एकदमै उत्सुक भएँ। जोर्जेले हामीलाई बाइबल अध्ययनको प्रस्ताव राखे। हामी राजी भयौं।

बाइबलले कसरी मेरो जीवनलाई नयाँ मोड दियो?

नरकको शिक्षा बाइबलको शिक्षा होइन भनेर थाह पाउँदा मैले ढुक्क महसुस गरें। (भजन १४६:४; उपदेशक ९:५) त्यस्तो कुरा बुझेपछि परमेश्‍वरसित बिनसित्ति डराएर बसिनँ। बरु उहाँ एकदमै मायालु बुबा हुनुहुन्छ र आफ्ना छोराछोरीको भलो हुने काम गर्नुहुन्छ भनेर सिकें।

बाइबल अध्ययन गर्दै जाँदा मैले आफ्नो व्यक्‍तित्व परिवर्तन गर्नुपर्ने देखें। म नम्र हुनुपर्थ्यो र हिंस्रक स्वभाव त्याग्नुपर्थ्यो। यसरी आफूमा परिवर्तन ल्याउन १ कोरिन्थी १५:३३ मा दिइएको सल्लाहले मदत गऱ्‍यो। त्यस पदमा “नराम्रो सङ्‌गतले राम्रो आनीबानीलाई बिगार्छ” भनेर लेखिएको छ। मैले आफ्नो आनीबानी सुधार्न खराब मानिसहरूसँग सङ्‌गत गर्न छोड्‌नै पर्छ भनेर महसुस गरें। मैले ती साथीहरूको सट्टा ख्रीष्टियन मण्डलीका दाजुभाइ दिदीबहिनीहरूसित सङ्‌गत गर्न थालें। तिनीहरू एकदमै फरक थिए। तिनीहरू हिंस्रक थिएनन्‌ बरु बाइबलका सिद्धान्तहरू आफ्नो जीवनमा लागू गर्थे।

अनि मलाई मदत गरेको अर्को शास्त्रपद रोमी १२:१७-१९ पनि हो। त्यस पदमा यस्तो लेखिएको छ: “कसैलाई खराबीको बदला खराबी नगर। . . . सबै मानिससित शान्तिसित बस्न तिमीहरू सक्दो कोसिस गर। प्रियहरू हो, साटो नफेर . . . किनकि यस्तो लेखिएको छ: ‘बदला लिने काम मेरो हो; म प्रतिशोध लिनेछु, यहोवा भन्‍नुहुन्छ।’” यहोवाले आफ्नै समयमा अनि आफ्नै तरिकाले न्याय गर्नुहुनेछ भन्‍ने कुरालाई मैले स्वीकारें। मैले हिंस्रक बानीलाई बिस्तारै-बिस्तारै हटाएँ।

घर फर्कंदै गर्दा एक साँझ भएको घटना म कहिल्यै बिर्सन सक्दिनँ। पहिला मैले सङ्‌गत गर्ने युवाहरूको ग्याङ्‌गले मलाई आक्रमण गऱ्‍यो। ग्याङ्‌गको नाइकेले मलाई पछाडि हिर्कायो अनि चिच्याउँदै यसो भन्यो: “सक्छस्‌ भने आफूलाई बचा!” त्यतिबेला मैले यहोवालाई तिनीमाथि जाइ नलाग्न मदत गर्नुहोस्‌ भनेर छोटो प्रार्थना गरें। बदला लिने भाव भए पनि त्यहाँबाट जान सकें। भोलिपल्ट ग्याङ्‌गको नाइकेसित जम्काभेट भयो। मलाई एकदमै रिस उठ्यो तर त्यतिबेला पनि आफूलाई काबूमा राख्न मदत गर्नुहोस्‌ भनेर यहोवालाई मनमनै प्रार्थना गरें। अचम्मको कुरा, उसले मकहाँ आएर यसो भन्यो: “हिजो साँझ जे भो, त्यसको लागि मलाई माफ गर। वास्तवमा म तिमीजस्तै हुन चाहन्छु। म पनि बाइबल पढ्‌न चाहन्छु।” मैले रिस थामेकोले नतिजा राम्रो भयो! हामी दुवै जनाले बाइबल अध्ययन गर्न थाल्यौं।

दुःखको कुरा, मेरो परिवारका अरू सदस्यले बाइबल अध्ययनलाई निरन्तरता दिएनन्‌। जेहोस्‌, मैले चाहिं नियमित रूपमा बाइबल अध्ययन गर्ने निर्णय गरें अनि कुनै पनि व्यक्‍ति वा कुरालाई रोक्ने मौका दिइनँ। यहोवाका साक्षीहरूसित सङ्‌गत गर्दै जाँदा मेरो भावनात्मक चोट बिस्तारै निको हुँदै जानेछ र पारिवारिक वातावरण पाउनेछु भनेर मलाई थाह थियो। मैले उन्‍नति गर्दै गएँ अनि सन्‌ १९९१ मा यहोवाको साक्षीको रूपमा बप्तिस्मा गरें।

मैले कसरी लाभ उठाएको छु?

म रुखो, अरूमाथि हैकम जमाउने र हिंस्रक स्वभावको थिएँ। तर मलाई परमेश्‍वरको वचनले पूरै परिवर्तन गरेको छ। अहिले बाइबलले दिने शान्तिको सन्देश सबैलाई सुनाउँछु। बितेका २३ वर्षदेखि पूर्ण-समय सेवकको रूपमा सेवा गर्दै छु।

केही समय मेक्सिकोमा भएको शाखा कार्यालयमा स्वयम्‌सेवा गरें। त्यहाँ मैले जोसिलो जवान ख्रीष्टियन बहिनी क्लाउडियालाई भेटें अनि सन्‌ १९९९ मा हामीले विवाह गऱ्‍यौं। वफादार जीवनसाथी पाएकोमा यहोवाप्रति निकै आभारी छु।

हामी दुवै जनाले कान नसुन्‍नेहरूलाई यहोवाबारे सिक्न मदत गर्दै मेक्सिकोको साङ्‌केतिक भाषाको मण्डलीमा सेवा गऱ्‍यौं। पछि बेलिजका मानिसहरूलाई बाइबलको सन्देश सुनाउन त्यहाँ जाने निम्तो पायौं। हाम्रो जीवन सरल छ तर आनन्दित छौं। हामीलाई कुनै पछुतो छैन।

मेरी आमाले पछि फेरि बाइबल अध्ययन गर्नुभयो र बप्तिस्मा गर्नुभयो। साथै दाइ, भाउजू र उहाँहरूको बच्चाहरू पनि यहोवाका साक्षी भए। मेरा पहिलाका साथीहरू जसलाई मैले राज्य सन्देश सुनाएको थिएँ, उनीहरूमध्ये कोही-कोही अहिले यहोवाको सेवा गर्दै छन्‌।

दुःखको कुरा, मेरा परिवारका केही सदस्यले आफ्नो हिंस्रक स्वभाव त्यागेनन्‌। त्यसैले उनीहरूको मृत्यु भयो। मैले पनि त्यही बाटो अङ्‌गालेको भए त्यस्तै हुन्थ्यो होला। यहोवाले मलाई उहाँ र उहाँका उपासकहरूतर्फ खिच्नुभएकोमा म एकदमै आभारी छु। तिनीहरूले मलाई धीरज र दया देखाउँदै बाइबलको सिद्धान्त लागू गर्न सिकाए।