सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आगोले खारिएको सुन किन्‍नुहोस्‌

आगोले खारिएको सुन किन्‍नुहोस्‌

अध्याय १३

आगोले खारिएको सुन किन्‍नुहोस्‌

लाओडिसिया

१, २. महिमावान येशूबाट सन्देश पाउने सात वटा मण्डलीमध्यका आखिरी मण्डली कुन ठाउँमा थियो र त्यस शहरका केही विशेषताहरू के हुन्‌?

 येशूको पुनरुत्थानपछि उहाँबाट सन्देश पाउने सात वटा मण्डलीहरूमध्ये आखिरी मण्डली लाओडिसिया हो। र यहाँ पठाइएको सन्देश पनि अति नै प्रबुद्ध र उत्साहवर्धक छ!

आज लाओडिसियाको खण्डहर अलासेहिरदेखि ८८ किलोमिटर दक्षिणपूर्व डेनिज्लि नजिक पाउनु हुनेछ। प्रथम शताब्दीमा लाओडिसिया एउटा समृद्धशाली शहर थियो। मूल बाटोमा परेको यो शहर आर्थिक लेनदेन र व्यापारको एउटा खास केन्द्र थियो। त्यसको समृद्धिको एउटा थप कारण आँखामा लाउने प्रसिद्ध गाजलको बिक्री थियो र त्यहीं उत्पादित उच्चस्तरीय कालो ऊनी वस्त्रहरूका लागि पनि लाओडिसिया प्रख्यात थियो। पानीको अभाव शहरको विशेष समस्या भए तापनि टाढामा रहेको मूलको तातो पानी कुलोद्वारा शहरसम्म ल्याउने व्यवस्था मिलाइएको थियो। त्यसैले त्यहाँ लाओडिसियामा आइपुगुञ्जेलसम्म पानी मनतातो भइ सकेको हुन्थ्यो।

३. लाओडिसियाको मण्डलीलाई दिने सन्देश येशूले कसरी आरम्भ गर्नु हुन्छ?

लाओडिसिया कलस्सीनिर पर्द थियो। कलस्सीहरूलाई पत्र लेख्दा पावलले लाओडिसियामा पठाएको पत्रबारे चर्चा गरेका छन्‌। (कलस्सी ४:१५, १६) उक्‍त पत्रमा पावलले के लेखेका थिए, सो हामी जान्दैनौं। तर त्यहाँको आध्यात्मिक स्थिति अति नै दुःखदायी छ भनी येशूले अहिले पठाउनु हुने पत्रबाट बुझिन्छ। सदाझैं येशूले पहिले आफ्नो परिचय दिनु हुँदै यसो भन्‍नुहुन्छ: “अनि लाओडिसियामा भएको मण्डलीका दूतलाई लेख। यी कुरा विश्‍वासयोग्य र साँचो साक्षी, परमेश्‍वरको सृष्टिको सुरु, आमिनले भन्‍नुहुन्छ।”—प्रकाश ३:१४.

४. येशू किन “आमिन” हुनुहुन्छ?

येशूले आफूलाई “आमिन” भनेर किन सम्बोधन गर्नुहुन्छ? किनभने यस पदले उहाँको सन्देशलाई न्यायिक बल दिन्छ। “आमिन” हिब्रू शब्दको एउटा अक्षरशः अनुवाद हो। प्रार्थनाहरूमा व्यक्‍त विचारलाई पुष्टि दिन प्रार्थनाको अन्तमा प्रयोग गरिने यस शब्दको अर्थ हो “निश्‍चय पनि” र “यस्तै होस्‌।” (१ कोरिन्थी १४:१६) येशू “आमिन” हुनुहुन्छ किनभने उहाँको सिद्ध निष्ठा र बलिदानरूपी मृत्युले नै यहोवाका अनमोल प्रतिज्ञाहरूको पूर्तिलाई निश्‍चित अथवा पक्का तुल्याएको छ। (२ कोरिन्थी १:२०) अतः येशूको मृत्युपश्‍चात्‌ यहोवालाई सम्बोधित सबै प्रार्थनाहरू येशूद्वारा चढाउनु उचित भयो।—यूहन्‍ना १५:१६; १६:२३, २४.

५. येशू कुन अर्थमा “विश्‍वासयोग्य र बुद्धिमान साक्षी” हुनुहुन्छ?

येशू “विश्‍वासयोग्य र साँचो साक्षी” पनि हुनुहुन्छ। भविष्यवाणीहरूमा उहाँ अक्सर विश्‍वासिलोपना, सच्चाइ र धार्मिकतासित सम्बन्धित हुनुहुन्छ। यहोवा परमेश्‍वरको सम्पूर्णतया भरपर्दो सेवक पनि उहाँ नै हुनुहुन्छ। (भजन ४५:४; यशैया ११:४, ५; प्रकाश १:५; १९:११) उहाँ यहोवाको सबैभन्दा महान साक्षी हुनुहुन्छ। वास्तवमा उहाँ “परमेश्‍वरको सृष्टिको सुरु” हुनुहुन्छ। अतः उहाँले आरम्भदेखि नै परमेश्‍वरको महिमाको घोषणा गर्दै आउनु भएको छ। (हितोपदेश ८:२२-३०) पृथ्वीमा मानिसको रूपमा हुनु हुँदा पनि उहाँले सत्यको पक्षमा गवाही दिनु भयो। (यूहन्‍ना १८:३६, ३७; १ तिमोथी ६:१३) आफ्नो पुनरुत्थानपछि उहाँले पवित्र आत्मा पठाउने प्रतिज्ञा आफ्ना चेलाहरूसित गर्नु हुँदै यसो भन्‍नुभयो: “तिमीहरू यरूशलेममा, सारा यहूदियामा, सामरियामा र पृथ्वीको अन्तसम्म मेरा गवाही हुनेछौ।” सा.यु. ३३-को पेन्तिकोसदेखि येशूले यी अभिषिक्‍त मसीहीहरूलाई “स्वर्गमनि भएका सारा सृष्टिमा” सुसमाचार प्रचार गर्न निर्देशित गर्नु भयो। (प्रेरित १:६-८; कलस्सी १:२३) साँच्चै नै येशू विश्‍वासयोग्य र साँचो साक्षी हुने योग्यको हुनुहुन्छ। उहाँका शब्दहरू सुनेमा लाओडिसियाका अभिषिक्‍त मसीहीहरू लाभान्वित हुनेछन्‌।

६. (क) येशूले लाओडिसियाको मण्डलीको आध्यात्मिक स्थितिको वर्णन कसरी गर्नुहुन्छ? (ख) लाओडिसियाका मसीहीहरूले येशूको कुन राम्रो उदाहरण अनुकरण गरेका छैनन्‌?

येशूले लाओडिसियाका मसीहीहरूलाई के खबर दिनुहुन्छ? स्पष्टतः उनीहरूको प्रशंसामा भन्‍नु पर्ने उहाँसित कुनै कुरा छैन। उहाँले तिनीहरूलाई सफासफी यसो भन्‍नुहुन्छ: “मलाई तिम्रा कामहरू थाह छ। तिमी नता तातो न चीसो, कि चीसो कि तातो भएता हुनेथियो! तर मनतातो भएको हुनालेनै मेरो मुखबाट म तिमीलाई थुकिदिनेछु।” (प्रकाश ३:१५, १६) प्रभु येशू ख्रीष्टबाट यसप्रकारको सन्देश तपाईंले पाउनु भएमा तपाईंको प्रतिक्रिया कस्तो हुनेथियो? के तपाईं जागरुक भएर आत्मजाँच गर्नु हुने थिएन र? अवश्‍य गर्नु हुने थियो र ती लाओडिसियालीहरू पनि जागरुक हुनु परेको छ। तिनीहरू आध्यात्मिक तवरमा सुस्त भएका छन्‌। तिनीहरूले थुप्रै कुरालाई हल्का ठानिरहेका छन्‌। (२ कोरिन्थी ६:१-सित तुलना गर्नुहोस्‌।) मसीही हुनाकारण तिनीहरूले येशूको अनुकरण गर्नुपर्छ। उहाँले यहोवाको सेवामा सधैं नै प्रचण्ड जोश प्रदर्शित गर्नुभयो। (यूहन्‍ना २:१७) उहाँ नम्र जनहरूसित सधैं नै विनयी र आत्मसंयमी हुनुहुन्थ्यो। भतभत पोल्ने दिउँसोको घाममा एक कचौरा चिसो पानी जतिकै उहाँ आरामदायी हुनुहुन्थ्यो। (मत्ती ११:२८, २९) तर लाओडिसियाका मसीहीहरूचाहिं न तातो छन्‌ न चिसो। तिनीहरूको शहरमा बगेर आउने पानी जस्तै तिनीहरू मनतातो भएका छन्‌। तिनीहरू येशूद्वारा पूर्णतया तिरस्कृत हुने अथवा ‘मुखबाट ओकलेर निकाल्ने’ योग्यका छन्‌! तर हामी भने येशूले जस्तै सधैं नै अरूहरूलाई आध्यात्मिक आराम र स्फूर्ति दिन जोशका साथ प्रयास गर्न नछाडौं।—मत्ती ९:३५-३८.

“ ‘म धनी छु’ तिमीले भनेको हुनाले”

७. (क) येशूले लाओडिसियाका मसीहीहरूको समस्याको मूल कारण कसरी औंलाउनु हुन्छ? (ख) येशूले लाओडिसियाका मसीहीहरू “अन्धो र नाङ्‌गो” छन्‌ किन भन्‍नुहुन्छ?

लाओडिसियालीहरूको समस्याको मूल कारण के हो? येशूले अब भन्‍नु हुने कुराहरूबाट त्यो कारण निकै राम्ररी बुझ्न सकिन्छ: “ ‘म धनी छु, र मसँग धन-सम्पत्ति छन्‌, र मलाई केही कुराको खाँचो छैन’ भनी तिमीले भनेको हुनाले, र तिमी दुःखी, अभागी, गरीब, अन्धा र नाङ्‌गो छौ भन्‍ने तिमीले थाहपाएका छैनौं]।” (प्रकाश ३:१७; लूका १२:१६-२१-सित तुलना गर्नुहोस्‌।) हो, तिनीहरू समृद्धशाली शहरमा बसेका छन्‌ र आफूसित धन-सम्पत्ति छ भन्दैमा ढुक्क मान्छन्‌। सम्भवतः तिनीहरूको जीवनशैलीमा त्यहाँको रङ्‌गशाला, नाचघर र खेलकुद केन्द्रहरूको प्रभाव परेको छ। तिनीहरू “परमेश्‍वरभन्दा सुख-विलास निको मान्‍ने” गर्छन्‌। a (२ तिमोथी ३:४) तर भौतिक कुराहरूले सम्पन्‍न ती लाओडिसियालीहरू आध्यात्मिक तवरमा गरिब छन्‌। तिनीहरूले ‘स्वर्गमा धन थुपारेको’ छैन भने पनि हुन्छ। (मत्ती ६:१९-२१) तिनीहरूले आफ्नो आँखालाई सरल राखेका छैनन्‌। तिनीहरूले परमेश्‍वरको राज्यलाई जीवनमा प्रथम स्थान दिएका छैनन्‌। तिनीहरू साँच्चै नै अन्धकारमा छन्‌। तिनीहरू अन्धो छन्‌। तिनीहरूमा आध्यात्मिक दृष्टि पटक्कै छैन। (मत्ती ६:२२, २३, ३३) भौतिक धनले किनेको आफ्नो उच्चस्तरीय वस्त्रको बावजूद तिनीहरू येशूको नजरमा नाङ्‌गो छन्‌। मसीही भनेर चिनाउने आध्यात्मिक वस्त्र तिनीहरूसित छँदै छैन।—प्रकाश १६:१५-सित तुलना गर्नुहोस्‌।

८. (क) लाओडिसियाको जस्तै परिस्थिति आज पनि छ भन्‍नु किन मिल्छ? (ख) यो लोभी संसारमा केही मसीहीहरूले आफूलाई कसरी धोका दिएका छन्‌?

कस्तो डरलाग्दो स्थिति! तर यस्तै स्थिति के आज पनि देखिंदैन र? यसको मूल कारण के हो? भौतिक सम्पत्ति र मानवीय साधनहरूमा आधारित आत्मविश्‍वासी प्रवृत्ति। मसीहीजगतका गिर्जा धाउने सदस्यहरूले तथा यहोवाका केही साक्षीहरूले पनि कहिलेकाहीं सभाहरू धाउँदैमा परमेश्‍वर प्रसन्‍न हुनुहुनेछ भनी सोच्दै आफूलाई धोका दिएका छन्‌। तिनीहरू नामका लागि मात्रै “वचन पालन” गरेर सन्तोष मान्‍न चाहन्छन्‌। (याकूब १:२२) यूहन्‍नावर्गबाट बारम्बार चेताउनी पाउँदा पाउँदै पनि तिनीहरूले थरीथरीका वस्त्र, मोटरकार, घर र मनोरञ्जन तथा सुख-विलासमा आधारित जीवनशैलीतिर मन लगाउँछन्‌। (१ तिमोथी ६:९, १०; १ यूहन्‍ना २:१५-१७) यी सबै कुराहरूले गर्दा आध्यात्मिक समझशक्‍ति सुस्त भएर जान सक्छ। (हिब्रू ५:११, १२) अतः शिथिल र मनतातो हुनुको सट्टा “आत्माको आगोलाई” तिनीहरूले पुनः तेज पार्नु परेको छ। “वचन प्रचार गर्न” तिनीहरूले स्फूर्ति र उत्सुकता देखाउनु पर्छ।—१ थिस्सलोनिकी ५:१९NW]; २ तिमोथी ४:२, ५.

९. (क) येशूका कुन शब्दहरूले मनतातो मसीहीहरूलाई होशमा ल्याउनु पर्छ र किन? (ख) बराल्ने “भेडाहरूलाई” मण्डलीले कसरी मदत दिन सक्छ?

मनतातो मसीहीहरू येशूको नजरमा कस्ता हुन्छन्‌? उहाँले सफासफी “तिमी दुःखी, अभागी, गरिब, अन्धा र नाङ्‌गो छौ” भन्‍नु हुँदा तिनीहरू होशमा आउनु पर्ने हो। तिनीहरूको अन्तःकरण यति लाटो भइसकेको छ कि आफ्नो डरलाग्दो स्थितिको तिनीहरूलाई चेतना समेत छैन। (हितोपदेश १६:२; २१:२-तुलना गर्नुहोस्‌।) मण्डलीको यो गम्भीर अवस्थालाई हल्का ठान्‍नु मिल्दैन। अनुकरणीय जोश र प्रेमपूर्ण देखरेखद्वारा प्राचीनहरू र उनीहरूबाट नियुक्‍त अन्य सदस्यहरूले यी बरालिने “भेडाहरूलाई” होशमा ल्याउन सक्छन्‌। यी भेडाहरूले पूर्ण हृदयसाथ गरिने सेवाको आनन्द पुनः अनुभव गर्न सक्छन्‌।—लूका १५:३-७.

‘धनी बन्‍ने’ सल्लाह

१०. लाओडिसियाका मसीहीहरूलाई येशूले उहाँबाट किन्‍न लगाउनु हुने “सुन” के हो?

१० के लाओडिसियाको दुःखद स्थितिको कुनै निवारण छ? छ। तर त्यहाँका मसीहीहरूले येशूको यस सल्लाह मान्‍नुपर्छ: “तिमी धनी हुनालाई आगोमा शुद्ध पारेको सुन . . . मबाट किन्‍नालाई म सल्लाह दिन्छु।” (प्रकाश ३:१८क) सबै अशुद्धता हटाइएको र आगोमा प्रशोधित साँचो मसीही “सुन”-ले तिनीहरूलाई “परमेश्‍वरतर्फ धनी” तुल्याउनेछ। (लूका १२:२१) तर यसप्रकारको सुन तिनीहरूले कहाँबाट किन्‍न सक्छन्‌? पक्कै पनि स्थानीय व्यापारीहरूबाट त होइन। तिनीहरूले यो “सुन” येशूबाट किन्‍नु पर्छ! तर यसप्रकारको सुन वास्तवमा के हो, सो व्याख्या गर्दै प्रेरित पावलले “यस वर्तमान संसारका धनीहरूलाई . . . तिनीहरूले असल गरून्‌, तिनीहरू असल काममा उदारचित्त भएर धनवान होऊन्‌, बाँडचुड गर्नमा तत्पर होऊन्‌, पछि आउने समयको ख्याल गरेर तिनीहरू आफैको निम्ति असल जग” बनाऊन्‌ भन्‍ने कडा आज्ञा तिमोथीद्वारा दिए। उपरोक्‍त कुराहरूमा परिश्रम गरेरमात्रै ती धनी मानिसहरूले “साँच्चैको जीवन [लाई] . . . पक्री राख्न” सक्नेछन्‌। (१ तिमोथी ६:१७-१९) ती धनसम्पन्‍न लाओडिसियालीहरूले पावलको उक्‍त सल्लाहलाई अनुसरण गर्नु परेको थियो। तत्पश्‍चात्‌ तिनीहरू आध्यात्मिक तवरमा धनाढ्य हुन सक्थे।—हितोपदेश ३:१३-१८ पनि हेर्नुहोस्‌।

११. “आगोमा शुद्ध पारेको सुन” किन्‍नेहरूका केही आधुनिक उदाहरणहरू दिनु होस्‌।

११ “आगोमा शुद्ध पारेको सुन” किन्‍ने व्यक्‍तिहरूको आधुनिक उदाहरणहरू पनि छन्‌ कि? छन्‌! मसीहीजगतले सिकाउने त्रिएक, आत्माको अमरत्व, नरकको सन्ताप, शिशु बप्तिस्मा र मूर्तिपूजा (क्रूस र मरियमको मूर्तिहरू लगायत) जस्ता थुप्रै बेबिलोनी शिक्षाहरू झुट्टा हुन्‌ भनेर बाइबलका विद्यार्थीहरूको एउटा सानो समूहले प्रभुको दिन नजिक आइपुग्दा बिस्तारै बुझ्न थाले। बाइबलको सच्चाइलाई हार्दिक समर्थन दिंदै यी मसीहीहरूले मानवजातिको एक मात्र आशा परमेश्‍वरको राज्य हो र येशूले चढाउनु भएको छुटकाराको बलिदान नै मुक्‍तिको आधार हो भनी घोषणा गरे। यसबाहेक, पृथ्वीमा स्तब्ध पार्ने घटनाहरूका साथ अन्यजातिहरूको समय समाप्त हुने साल १९१४ हो र उक्‍त सालबारे बाइबलको भविष्यवाणीमा अग्रिमसङ्‌केत गरिएको थियो भनी तिनीहरूले १९१४-भन्दा करीब ४० वर्षअघि नै बताएका थिए।—प्रकाश १:१०.

१२. बिउँझिरहेका मसीहीहरूको अगुवाइ लिने एक जना व्यक्‍ति को थिए र स्वर्गमा धन थुपार्ने सम्बन्धमा उनले कसरी एउटा खास उदाहरण कायम गरे?

१२ बिउँझिरहेका यी मसीहीहरूको अगुवाइ त्यतिखेर चार्लस टेज रसलले लिए। सन्‌ १८७०-को दशकको सुरु-सुरुमा उनले संयुक्‍त राज्य अमेरिकाको पेन्सिल्वेन्या, एलेघनीमा (जो हाल पिट्‌स्बर्गको भाग हो) बाइबल अध्ययन गर्ने समूह स्थापित गरे। सच्चाइको आफ्नो खोज सुरु गर्ने बेलामा रसल उनको पितासित मिलेर व्यापार गर्थे र चाँडै नै लखपति हुने उनको सुर थियो। तापनि विभिन्‍न ठाउँहरूमा स्थित आफ्नो व्यापारका शाखाहरू उनले बिक्री गरी दिए र पृथ्वीभरि परमेश्‍वरको राज्य घोषणा गर्ने काममा आर्थिक मदत पुऱ्‍याउन आफ्नो भएभरको रकम प्रयोग गरे। आज वाचटावर बाइबल एन्ड ट्रेक्ट सोसाइटी अफ पेन्सिल्वेन्या नाउँले परिचित निगमको प्रथम सभापति १८८४-मा रसल भए। उनको मृत्यु सन्‌ १९१६-मा पाम्पा, टेक्सास नजिक एउटा रेल मै भयो। उनी पश्‍चिम संयुक्‍त राज्य अमेरिकाको आफ्नो अन्तिम प्रचार अभियानपश्‍चात्‌ थाकेर न्युयोर्क तर्फ जाँदै थिए। स्वर्गमा धन थुपार्ने सम्बन्धमा उनले अद्वितीय उदाहरण कायम गरे। आज पनि आत्मबलिदानको भाव दर्साउने हजारौं अग्रगामीहरूले सोही उदारहणको अनुकरण गरिरहेका छन्‌।—हिब्रू १३:७; लूका १२:३३, ३४; १ कोरिन्थी ९:१६; ११:१-सित तुलना गर्नुहोस्‌.

आँखामा आत्मिक गाजल लाउन

१३. (क) लाओडिसियालीहरूको आध्यात्मिक स्थितिमा आत्मिक गाजलले कसरी उन्‍नति ल्याउन सक्छ? (ख) कुन प्रकारको वस्त्र लगाउने प्रोत्साहन येशूले दिनुहुन्छ र किन?

१३ येशूले ती लाओडिसियालीहरूलाई यो कडा हप्की पनि दिनु हुन्छ: “र तिम्रो त्यही नग्नताको शर्म नदेखिओस्‌ भनेर तिमीले लाउनालाई सेता लुगा र तिमीले देख्नालाई तिम्रा आँखामा लाउन भनी गाजल मबाट किन्‍नलाई म सल्लाह दिन्छु।” (प्रकाश ३:१८ख) आफ्नो आध्यात्मिक अन्धोपनलाई निको पार्न तिनीहरूले उपचारात्मक गाजल किन्‍नु परेको थियो। तर त्यहाँका स्थानीय व्यापारीहरूबाट चाहिं होइन। त्यसप्रकारको गाजल येशूले मात्र दिन सक्नुहुन्थ्यो। त्यो गाजलले तिनीहरूलाई आध्यात्मिक समझ प्राप्त गर्ने मदत दिने थियो। त्यसबाट तिनीहरूले “धर्मीको चाल” चल्ने सहायता पाउने थिए। आफ्ना उज्याला आँखाहरूलाई तिनीहरूले परमेश्‍वरको इच्छा गर्नमा केन्द्रित गर्न सक्थे। (हितोपदेश ४:१८, २५-२७) यसप्रकार लाओडिसियामा उत्पादित महङ्‌गो कालो ऊनी वस्त्रहरू पहिरनुको सट्टा येशू ख्रीष्टका अनुयायी हुने आफ्नो सुअवसर जनाउने “सेता लुगा” तिनीहरूले पहिरन सक्थे।—१ तिमोथी २:९, १०; १ पत्रुस ३:३-५-सित तुलना गर्नुहोस्‌.

१४. (क) सन्‌ १८७९-देखि कुन प्रकारको आत्मिक गाजल उपलब्ध भएको छ? (ख) यहोवाका साक्षीहरूको आर्थिक सहायताको प्रमुख स्रोत को हुनु हुन्छ? (ग) स्वेच्छाकृत चन्दाहरूको प्रयोग गर्नमा यहोवाका साक्षीहरू अरूहरूभन्दा कसरी भिन्‍न छन्‌?

१४ उक्‍त आध्यात्मिक गाजल आधुनिक समयहरूमा पनि उपलब्ध छ र? निश्‍चय छ! मायाले पास्टर कहलाइने रसलले सच्चाइको प्रतिरक्षा गर्न आज विश्‍वभरि द वाचटावर अनाउनसिङ्‌ग जेहोभास किङ्‌गडम नामक पत्रिका १८७९-देखि प्रकाशित गर्न थाले। त्यसको दोस्रो अङ्‌कमै उनले यो घोषणा गरे: “[यस पत्रिकाको] समर्थक स्वयं यहोवा हुनुहुन्छ भनी हामी विश्‍वास गर्छौं। अतः सहयोगका लागि मानिसहरूबाट यस पत्रिकाले कहिले पनि भीक माग्ने वा बिन्ती गर्ने छैन। ‘पर्वतहरूको जम्मै सुन र चाँदी मेरै हो’ भन्‍नु हुनेले आवश्‍यक आर्थिक सहयोग दिन छाड्‌नु भएपछि हामीले पनि यो प्रकाशन बन्द गर्ने समय आएछ भनी बुझ्नेछौं।” टेलिभिजनद्वारा प्रचार गर्ने केही प्रचारकहरूले अत्यधिक धन थुपारेर अक्सर लाजमर्दो (र कहिलेकाहीं त अनैतिकतापूर्ण) सुखविलास भोगेका छन्‌। (प्रकाश १८:३) तर यसको ठीक विपरीत बाइबलका विद्यार्थीहरू अर्थात्‌ वर्तमान यहोवाका साक्षीहरूले चाहिं यहोवाको आउने राज्यबारे विश्‍वभरि प्रचारकार्य बढाउन वा आयोजित गर्न प्राप्त स्वेच्छाकृत चन्दाहरूको प्रयोग गरेका छन्‌। आज पनि यूहन्‍नावर्गले नै द वाचटावरअवेक! पत्रिकाहरूको प्रकाशनलाई सञ्चालन गर्छन्‌। सन्‌ २००६ मा उक्‍त प्रकाशनहरूको वितरण संख्या ५ करोड ९० लाखभन्दा बढी थियो। आज द वाचटावर १५० जति भाषाहरूमा उपलब्ध छ। उक्‍त पत्रिका ६० लाखभन्दा बढी सदस्यहरू हुने मण्डलीको आधिकारिक पत्रिका हो। ती ६० लाखभन्दा बढी मसीहीहरूले यस्तो आध्यात्मिक गाजलको प्रयोगद्वारा झूटो धर्मलाई चिन्‍ने र सबै राष्ट्रहरूमा सुसमाचार प्रचार गर्ने महत्त्व बुझ्न सकेका छन्‌।—मर्कूस १३:१०.

सुधार र अनुशासनबाट लाभान्वित हुन

१५. लाओडिसियाका मसीहीहरूलाई येशूले किन कडा सल्लाह दिनु हुन्छ र त्यसप्रति मण्डलीको प्रतिक्रिया कस्तो हुनुपर्छ?

१५ अब हामी फेरि लाओडिसियालीहरूलाई विचार गरौं। येशूको कडा हप्कीप्रति तिनीहरूले कस्तो प्रतिक्रिया देखाउनेछन्‌? येशूले तिनीहरूलाई आफ्नो अनुयायीहरूको रूपमा अब चाहनु हुँदैन भनी ठान्दै तिनीहरू निरुत्साहित हुनु उचित हो कि? होइन, पटक्कै होइन। किनकि सन्देशमा यो कुरा पनि समाविष्ट छ: “जतिलाई म माया गर्छु, म हप्काउँछु र चेताउँछु। यसकारण जोशिलो होऊ र पश्‍चाताप गर।” (प्रकाश ३:१९) यहोवाबाट पाइने अनुशासनझैं येशूले दिनु हुने अनुशासन पनि उहाँको प्रेमको अभिव्यक्‍ति हो। (हिब्रू १२:४-७) लाओडिसियाको मण्डलीले उहाँको यो मायालु चासोबाट लाभ उठाउँदै उहाँको सल्लाहलाई व्यवहारमा ल्याउनु पर्छ। तिनीहरूले पश्‍चाताप गर्नुपर्छ। आफ्नो मनतातो मनस्थिति पापतुल्य हो भनी तिनीहरूले बुझ्नु पर्छ। (हिब्रू ३:१२, १३; याकूब ४:१७) तिनीहरूका प्राचीनहरूले आफ्नो भौतिकवादी तौरतरिका छाडेर ईश्‍वर प्रदत्त आफ्नो वरदानलाई “आगो”-लाई झैं पुनः प्रज्वलित पारून्‌। आध्यात्मिक गाजलको उपचारात्मक असर मण्डलीको सबैका लागि धाराको एक घुट्‌को चिसो पानी जति कै स्फूर्ति र आरामदायी होस्‌।—२ तिमोथी १:६; हितोपदेश ३:५-८; लूका २१:३४.

१६. (क) येशूको प्रेम र माया आज कसरी प्रदर्शित हुन्छ? (ख) कडा सल्लाह पाउँदा हाम्रो प्रतिक्रिया कस्तो हुनुपर्छ?

१६ आज हाम्रोबारेमा के भन्‍न सकिन्छ? येशूले आज पनि ‘संसारमा भएका आफ्ना जतिलाई प्रेम गर्नुहुन्छ।’ सो प्रेम उहाँले “जगतको अन्तसम्म” गर्नुहुनेछ। (यूहन्‍ना १३:१; मत्ती २८:२०) उहाँको प्रेम र माया आधुनिक यूहन्‍नावर्ग र मण्डलीका ताराहरू अर्थात्‌ प्राचीनहरूद्वारा प्रदर्शित गरिन्छ। (प्रकाश १:२०) यी अत्यन्त कठिन समयहरूमा प्राचीनहरूले जवान र बूढा, सबैलाई ईश्‍वरतान्त्रिक गोठभित्रै बस्ने सहायता दिनमा गहिरो चासो लिन्छन्‌। हामीलाई संसारको स्वाधीनता, भौतिक लोभ र अनैतिक फोहरको प्रतिरोध गर्ने मदत दिन्छन्‌। यदाकदा हामीले कडा हप्की वा अनुशासन पायौं भने “शिक्षा र सुधारले जीवनको मार्ग देखाउँछ” भन्‍ने कुरा सधैं सम्झिराख्नु पर्छ। (हितोपदेश ६:२३) हामी सबै नै असिद्ध छौं। अतः हामी आफूमा आवश्‍यक छाँटकाँट ल्याउन र तुरुन्तै पश्‍चात्ताप गर्न राजी हुनुपर्छ। यसप्रकार हामी परमेश्‍वरको प्रेममा सधैं रहन सक्नेछौं।—२ कोरिन्थी १३:११.

१७. भौतिक धन हाम्रो आध्यात्मिकताका लागि कसरी हानिकारक हुन सक्छ?

१७ भौतिकवाद, धन वा धनको अभावको कारण हामीले आफूलाई मनतातो हुन दिनु हुँदैन। धनले निःसन्देह सेवकाईसम्बन्धी अनेक ढोकाहरू खोल्नमा मदत दिन सक्ला हो। तर धन खतरनाक पनि हुन सक्छ। (मत्ती १९:२४) उदाहरणका लागि, कुनै धनवान व्यक्‍तिको सोचाइअनुसार उसले समय समयमा निकै नै ठूलो रकम चन्दा दिउञ्जेल आफूले प्रचारकार्यमा अरूहरूले जस्तै विशेष भाग लिनु आवश्‍यक नहोला। अथवा आफू धनसम्पन्‍न हुँदैमा केही विशेषाधिकारहरूमाथि पनि आफ्नो स्वतः हक लाग्छ भन्‍ने सोचाइ हाम्रो मनमा उब्जिन सक्छ। यी बाहेक, धनसम्पन्‍न व्यक्‍तिले अनेकन आनन्ददायी कामकुराहरूमा भाग लिन सक्छन्‌ जो सायद अरू व्यक्‍तिहरूका लागि सम्भव नहोला। तर ती आनन्दायी कामकुराहरूले थुप्रै समय खान सक्छ र होसियार नभएमा ती कुराहरूकै कारण हामी मसीही सेवकाईबाट टाढा हट्‌न सक्छौं। अथवा हामी अलिकता लापरवाह भयौं भने उक्‍त कामकुराहरूले हाम्रो मनस्थितिलाई नै मनतातो तुल्याइ दिन सक्छ। अतः यसप्रकारका सबै जालहरूबाट हामी अलग्ग बस्ने गरौं र अनन्त जीवनलाई ध्यानमा राख्दै हार्दिक “परिश्रम र प्रयत्न” गरी नै रहौं।—१ तिमोथी ४:८-१०; ६:९-१२.

‘भोजन खान’

१८. येशूले लाओडिसियाका मसीहीहरूको सामु कुन मौका राखिदिनु हुन्छ?

१८ येशू अब यसो भन्‍नुहुन्छ: “हेर, म ढोकामा उभिएर घचघचाउँछु, कसैले मेरो सोर सुनेर ढोका खोलिदियो भने, म त्यसकहाँ भित्र आउनेछु, र त्यससङ्‌ग भोज खानेछु र त्यसले मसँग खानेछ।” (प्रकाश ३:२०) लाओडिसियाका मसीहीहरूले येशूलाई तिनीहरूको मण्डलीभित्र स्वागत गरेमा उहाँले तिनीहरूको मनतातोपनलाई निको पार्ने मदत दिनु हुनेछ!—मत्ती १८:२०.

१९. येशूले लाओडिसियाको मण्डलीसित भोज खाने प्रतिज्ञाको तात्पर्य के हुनसक्छ?

१९ येशूले भोज खाने कुरा यहाँ गर्नु हुँदा उहाँले आफ्ना चेलाहरूसित बसेर भोजन गर्नु भएका समयहरूको सम्झना निःसन्देह ती लाओडिसियालीहरूलाई हुन्छ। (यूहन्‍ना १२:१-८) ती अवसरहरू उपस्थित सबैका लागि जहिले पनि आध्यात्मिक तवरमा फायदाजनक हुन्थे। येशूको पुनरुत्थानपछि पनि एकाध खास अवसरहरू थिए जब येशू आफ्ना अनुयायीहरूसित भोजन गर्ने बेलामा उपस्थित हुनु भएर तिनीहरूलाई निकै नै बलियो तुल्याउनु हुन्थ्यो। (लूका २४:२८-३२; यूहन्‍ना २१:९-१९) अतः लाओडिसियाको मण्डलीमा आउनु भएर तिनीहरूसित भोजन खाने प्रतिज्ञा खासमा तिनीहरूलाई प्रचुर मात्रामा आध्यात्मिक आशिष प्रदान गर्ने प्रतिज्ञा हो। तर यसका लागि तिनीहरूले उहाँलाई स्वागत गर्नुपर्छ।

२०. (क) प्रभुको दिनको आरम्भमा मसीही जगतको मनतातोपनको नतिजा के भयो? (ख) येशूको न्यायले मसीहीजगतमाथि के असर पारेको छ?

२० येशूले लाओडिसियालीहरूसित गर्नु भएको प्रेमपूर्ण आग्रहले वास्तवमा वर्तमान शेष अभिषिक्‍त जनहरूका लागि विशेष महत्त्व राख्छ। तीमध्येका केहीलाई आजसम्म सम्झना छ कि प्रभुको दिन सुरु हुने बेलामा मसीहीजगतका धर्मावलम्बीहरू अति नै मनतातो स्थितिमा थिए। सन्‌ १९१४-मा प्रभुको पुनःआगमनलाई स्वागत गर्नुको सट्टा मसीहीजगतका पादरीहरू प्रथम विश्‍व युद्धको रक्‍तपातमा ग्रस्त भए। त्यो रक्‍तपातमा भाग लिने २८ राष्ट्रहरू मध्ये २४ राष्ट्रहरू मसीही हुने दाबी गर्थे। तिनीहरूको रक्‍तदोष कति ठूलो थियो! प्रायः मसीहीजगतमै लडिएको दोस्रो विश्‍वयुद्धमा झूटो धर्मका पापहरू “स्वर्गसम्मै चुल्लिएका” थिए। (प्रकाश १८:५) यतिले नपुगेर मानवजातिका समस्याहरूको समाधान गर्नै नसक्ने राष्ट्र सङ्‌घ, संयुक्‍त राष्ट्र सङ्‌घ र राष्ट्रवादी तथा क्रान्तिकारी आन्दोलनहरूलाई समर्थन गर्दै मसीहीजगतको पादरीवर्गले यहोवाको आउने राज्यप्रति पिठ्युँ फर्काएको छ। तर येशूले यो पादरीवर्गलाई धेरै अघि तिरस्कार गरी सक्नु भएको थियो। मछुवाले आफ्नो जालबाट नराम्रा माछाहरू फाले झैं येशूले पनि पादरीवर्गको इन्साफ गर्नु भएर तिनीहरूलाई फाली सक्नु भएको छ। यसको पुष्टि मसीहीजगतका गिर्जाहरूको वर्तमान दुखःद स्थितिले दिन्छ। मसीहीजगतको अन्तिम दशा हामी सबैका लागि एउटा चेताउनी होस्‌!—मत्ती १३:४७-५०.

२१. येशूले लाओडिसियाका मसीहीहरूलाई भन्‍नु भएका कुराहरूप्रति साँचो मण्डलीका मसीहीहरूले १९१९-देखि के कस्तो प्रतिक्रिया देखाएका छन्‌?

२१ साँचो मण्डलीभित्र पनि केही त्यस्ता व्यक्‍तिहरू देखिएका छन्‌ जो नता स्फूर्ति जगाउने तातो चिया जस्तो न शीतल पार्ने चिसो पानी जस्ता छन्‌। तापनि आफ्नो मण्डलीलाई येशूले धेरै नै माया गर्नुहुन्छ। आतिथ्य देखाउने मसीहीहरूलाई मदत दिन उहाँ सधैं तयार रहनु हुन्छ र धेरैले उहाँलाई पनि मानौं साँझको भोज खान स्वागत गरेका छन्‌। परिणामस्वरूप १९१९-देखि बाइबलका भविष्यवाणीहरू बुझ्न तिनीहरूका आँखाहरू खुलेका छन्‌। ठूलो प्रबुद्धि प्राप्त गर्ने समयको तिनीहरूले आनन्द उठाएका छन्‌।—भजन ९७:११; २ पत्रुस १:१९.

२२. येशूले भविष्यमा हुने अर्को कुन भोजलाई पनि ध्यानमा राख्नु भएको हुन सक्छ र त्यसमा कस कसले भाग लिनेछन्‌?

२२ लाओडिसियालीहरूलाई सम्बोधन गर्नु हुँदा सायद येशूको मनमा एउटा अर्को साँझको भोज पनि हुन सक्छ। प्रकाशकै पुस्तकमा केही समयपछि हामी यी शब्दहरू पनि पाउँछौं: “थुमाको विवाहको भोजमा निमन्त्रण पाउनेहरू धन्यका हुन्‌!” यहोवाले झूटो धर्मको विनाश गरी सक्नु भएपछि उहाँको प्रशंसामा आयोजित यो एउटा भव्य विजयोत्सव भोज हुनेछ। यस भोजमा ख्रीष्ट र १,४४,००० द्वारा गठित उहाँको पूर्ण दुलहीवर्गले स्वर्गमा भाग लिनेछन्‌। (प्रकाश १९:१-९) हो, प्राचीन लाओडिसियाको मण्डलीका आज्ञाकारी सदस्यहरू र साँचो अभिषिक्‍त मसीहीहरूलाई चिनाउने सफा वस्त्र पहिरेका ख्रीष्टका वर्तमान विश्‍वासी भाइहरू सबै नै मिलेर आफ्नो दुलहासित उक्‍त भोजमा सरिक हुनेछन्‌। (मत्ती २२:२-१३) जोशिलो र पश्‍चातापी हुन यसले हामीलाई कति ठूलो प्रेरणा दिन्छ!

विजेताहरूका लागि सिंहासन

२३, २४. (क) येशूले अझ कुन पुरस्कारबारे चर्चा गर्नुहुन्छ? (ख) येशू आफ्नो मसीही राज्यको सिंहासनमा कहिले बस्नु भयो र मसीही हुने दाबी गर्नेहरूमाथि कहिलेदेखि न्याय गर्न थाल्नु भयो? (ग) येशूले आफ्नो मृत्युको स्मरणार्थ स्थापित गर्नुहुँदा आफ्ना अनुयायीहरूसित कुन अद्‌भुत प्रतिज्ञा गर्नु भयो?

२३ येशूले एउटा अर्को पुरस्कारबारे पनि यसप्रकार चर्चा गर्नुहुन्छ: “जसले जित्छ, त्यसलाई म मेरो सिंहासनमा मसित बस्न दिनेछु, जसरी मैंले पनि जिते, र मेरा पितासँग उहाँको सिंहासनमा बसेको छु।” (प्रकाश ३:२१) भजन ११०:१, २-मा उल्लिखित दाऊदका शब्दहरूलाई पूरा गर्नु हुँदै, निष्ठावान येशू संसारमाथि विजयी हुनु भयो। सा.यु. ३३-मा उहाँको पुनरुत्थान गराइयो र पितासित उहाँको स्वर्गीय सिंहासनमा बस्ने सम्मान पनि पाउनु भयो। (प्रेरित २:३२, ३३) अर्को महत्त्वपूर्ण साल थियो १९१४ जब येशू राजा र न्यायाधीशको हैसियतमा आफ्नै मसीही राज्यको सिंहासनमा विराजमान हुन आउनु भयो। प्रमाणहरू हेर्दा न्याय गर्ने काम १९१८-देखि सुरु भयो र सर्वप्रथम उहाँले मसीही हुने दाबी गर्नेहरूको नै न्याय गर्न थाल्नु भयो। त्यस समयभन्दा अघि मरेका अभिषिक्‍त विजेताहरूको त्यतिखेर पुनरुत्थान भएर तिनीहरू येशूसित उहाँको राज्यमा समावेश हुनेथिए। (१ पत्रुस ४:१७) यो प्रतिज्ञा उहाँले आफ्नो मृत्युको स्मरणार्थ स्थापित गर्ने बेलामा आफ्ना अनुयायीहरूलाई यसो भनेर गर्नु भएको थियो: “मेरा पिताले मेरो निम्ति नियुक्‍त गर्नुभएझैं तिमीहरूका निम्ति म एउटा राज्य नियुक्‍त गर्छु, र तिमीहरूले मेरो राज्यमा मेरो टेबलमा खाने र पिउनेछौ, औ इस्राएलका बाह्रै कुलको इन्साफ गरेर सिंहासनहरूमा बस्नेछौ।”—लूका २२:२८-३०.

२४ “नयाँ सृष्टिमा” शासनारुढ येशूसित बस्न पाउनु र उहाँको सिद्ध बलिदानको आधारमा आज्ञाकारी मानिसहरूलाई अदनको जस्तै सिद्धता पुनःप्राप्त गर्ने मदत दिनु साँच्चै नै कति महान विशेषाधिकार हो! (मत्ती १९:२८; २०:२८) यूहन्‍नाले हामीलाई सूचित गराएअनुसार येशूले विजेताहरूलाई “एउटा राज्य र उहाँका पिता परमेश्‍वरका पूजाहारीहरू तुल्याउनु” हुनेछ। तिनीहरू स्वयं यहोवाकै वैभवशाली सिंहासनको वरिपरिका सिंहासनहरूमा बस्नेछन्‌। (प्रकाश १:६; ४:४) अतः हामी चाहे अभिषिक्‍त जनहरूमध्येका हौं वा प्रमोदवनको पुनःस्थापनामा भाग लिन आशा राख्ने नयाँ पार्थिव समाजका सदस्यहरू हौं—सबैले नै लाओडिसियालीहरूका निम्ति येशूले दिनु भएको सन्देशलाई हृदयङ्‌गम गर्नु पर्छ!—२ पत्रुस ३:१३; प्रेरित ३:१९-२१.

२५. (क) पहिलेका सन्देशहरूलाई झैं येशूले लाओडिसियालाई पठाउने सन्देश पनि कसरी टुङग्याउनु हुन्छ? (ख) येशूले लाओडिसियाको मण्डलीलाई भन्‍नु हुने शब्दहरूप्रति आज मसीहीहरूको व्यक्‍तिगत प्रतिक्रिया कस्तो हुनुपर्छ?

२५ पहिलेका सन्देशहरूलाई झैं येशूले यो सन्देशलाई पनि आग्रहपूर्वक टुङ्‌ग्‌याउनु हुन्छ: “जसको सुन्‍ने कान छ, त्यसले सुनोस्‌, आत्माले मण्डलीहरूलाई के भन्‍नुहुन्छ।” (प्रकाश ३:२२) आज हामी अन्तको समयको समापनमा पुगेका छौं। मसीहीजगतको प्रेम सेलाएको प्रमाण जताततै देखिन्छ। तर साँचो मसीहीहरू झैं हामी प्रभुले लाओडिसियाको मण्डलीलाई दिनु भएको सन्देशलाई मात्र होइन तर सातैवटा मण्डलीलाई दिनु भएको सन्देशप्रति उत्साहपूर्वक ध्यान दिने गरौं। येशूले हाम्रो दिनबारे गर्नु भएको यस महान भविष्यवाणीको पूर्तिमा हामी जोशपूर्वक भाग लिन सक्छौं: “औ राज्यको यो सुसमाचार सारा संसारमा सबै जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिनेछ, त्यसपछि अन्त हुनेछ।”—मत्ती २४:१२-१४.

२६. येशू यूहन्‍नासित प्रत्यक्षतः फेरि कहिले मात्र बोल्नु हुन्छ तर उहाँले कुनकुन कुरामा चाहिं भाग लिइरहनु हुन्छ?

२६ येशूले सात मण्डलीहरूलाई दिनु हुने उपदेश अब समाप्त भएको छ। उहाँले अब प्रकाशको पुस्तकको अन्तिम अध्यायमा मात्र फेरि यूहन्‍नासित कुरा गर्नुहुन्छ; तर उहाँले थुप्रै दर्शनहरूमा, उदाहरणका लागि, यहोवाको न्याय कार्यान्वयनकर्ताको हैसियतमा भाग चाहिं लिनु हुन्छ। आउनुहोस्‌, अब हामी यूहन्‍नावर्गसित मिलेर प्रभु येशू ख्रीष्टद्वारा प्रकाशित दोस्रो अद्‌भुत दर्शनको जाँचपडताल गरौं।

[फुटनोट]

a पुरातत्त्ववेत्ताहरूले लाओडिसियामा यस्ता ठाउँहरू खनेर भेट्टाएका छन्‌।

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ ७३-मा भएको पेटी]

भौतिकवाद विरुद्ध बुद्धि

सन्‌ १९५६-मा एक जना स्तम्भकारले यसप्रकार लेखे: “वर्तमान अनुमानअनुसार एक शताब्दीअघि एउटा व्यक्‍तिको साधारणतः ७२ आवश्‍यकताहरू हुन्थे। ती मध्ये १६ चाहिं अत्यावश्‍यक ठानिन्थ्यो। आज भने एउटा मान्छेको साधारणतः ४७४ आवश्‍यकताहरू छन्‌ र ती मध्येका ९४ चाहिं अत्यावश्‍यक मानिन्छन्‌। एक शताब्दीअघि व्यापारीहरूले एउटा व्यक्‍तिलाई २००-वटा चीज किन्‍न लगाउने प्रयास गर्थे। तर आज भने उसलाई ३२,०००-सरसामान किन्‍न लाउने जोडतोडको प्रयाससित उसले प्रतिरोध गर्नु पर्छ। मान्छेका आवश्‍यकताहरू थोरै—उसका चाहनाहरू असीमित छन्‌।” भौतिक धनसम्पत्ति नै जीवनका प्राथमिकताहरू हुन्‌ भन्‍ने विचार आज मानिसहरूमाथि ओइऱ्‍याइन्दैछ। धेरैले उपदेशक ७:१२-मा उल्लिखित यस सल्लाहको अवहेलना गर्न लागेका छन्‌: “रूपियाँ-पैसाभन्दा बरु बुद्धि प्राप्त गर। बुद्धिलाई चिन्‍नेले त्यसबाट जीवन पाउँछ र त्यो त्यसको निम्ति लाभदायक हुन्छ।”

[पृष्ठ ६७-मा भएको चित्र]

लाओडिसियासम्म पानी पुगुञ्जेल त्यो वाकवाक लाग्ने किसिमले मनतातो हुन्थ्यो। लाओडिसियाका मसीहीहरूको मनोवृत्ति पनि असन्तोषजनक तथा मनतातो थियो।