सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

एउटा अत्यन्त ठूलो भीड

एउटा अत्यन्त ठूलो भीड

अध्याय २०

एउटा अत्यन्त ठूलो भीड

१. एक लाख चौवालीस हजारमाथि छाप लाएको वर्णन गरी सकेपछि यूहन्‍नाले अर्को कुन समूहलाई देख्छन्‌?

 एक लाख चवालीस हजारमाथि छाप लगाइएको वर्णन गरी सकेपछि यूहन्‍नाले शास्त्रको सबैभन्दा रोमाञ्चकारी प्रकाशको बयान गर्न थाल्छन्‌। आनन्दले गद्‌गद्‌ हुँदै उनले यो बयान गरे होलान्‌: “यी कुरापछि हेर, कसैले गन्‍न नसक्ने हरेक जातिबाटको र सबै कुलको र मानिसको, र भाषा भाषाहरूको एक ठूलो भीड्‌, सिंहासन र थुमाको अगाडि सेता लुगा लगाएर हातमा खजूरका हाँगाहरू लिएर उभिरहेका मैले देखें।” (प्रकाश ७:९) हो, चार बतासलाई थामेर राख्दा आत्मिक इस्राएलका १,४४,०००-सदस्यहरू बाहेक अर्को समूह अर्थात्‌ बहुभाषा बोल्ने अन्तर्राष्ट्रिय ठूलो भीडले पनि मुक्‍ति पाउने मौका पाउँछ। aप्रकाश ७:१.

२. सांसारिक टिप्पणीकारहरूले ठूलो भीडबारे के अर्थ लगाएका छन्‌ र बितेको समयमा बाइबल विद्यार्थीहरूले पनि यस समूहलाई के ठानेका थिए?

सांसारिक टिप्पणीकारहरूको भनाइअनुसार यो ठूलो भीड मसीही धर्म अपनाउने गैरयहूदीहरू अथवा स्वर्ग जाने मसीही शहीदहरू हुन्‌। बाइबल विद्यार्थीहरूले पनि बितेका समयहरूमा यस ठूलो भीडलाई स्वर्ग जाने द्वितीय श्रेणी ठानेका थिए। उदाहरणका लागि, १८८६-मा स्टडीज इन द स्क्रिप्चर्स, द डिभाइन प्लान अफ दि एजेज-मा यसो भनिएको थियो: “यिनीहरूले सिंहासन र ईश्‍वरीय स्वभाव पाउने इनाम गुमाउँछन्‌। तर अन्ततः ईश्‍वरीय स्वभावभन्दा कमसल आत्मिक अस्तित्व चाहिं प्राप्त गर्छन्‌। हुनत यिनीहरू पनि समर्पित हुन्‌। तर सांसारिक आत्माको वशमा साह्रै जकडिएका हुनाले यिनीहरू आफ्नो जीवनलाई बलिदानको रूपमा चढाउन असमर्थ हुन्छन्‌।” र यही विचार १९३०-सम्म पनि लाइट पुस्तकको प्रथम भागमा यसप्रकार व्यक्‍त गरिएको थियो: “ठूलो भीडका मानिसहरू ती हुन्‌ जसले प्रभुका जोशिला साक्षीहरू हुने निम्तो स्वीकार गर्दैनन्‌।” यिनीहरूलाई एउटा आत्म-श्रेष्ठ समूह ठानिन्थ्यो जसले सच्चाइ थाह पाएर पनि यसबारे प्रचार गर्ने कुनै खास प्रयास गर्दैन थिए। यिनीहरूले स्वर्गमा द्वितीय श्रेणीको रूपमा प्रवेश गर्न पाए तापनि ख्रीष्टसित शासन गर्न चाहिं पाउने थिएनन्‌।

३. (क) पछि गएर प्रचारकार्यमा जोशिला र धार्मिक मनोवृत्ति देखाउने केही व्यक्‍तिहरूका लागि कुन आशा प्रस्तुत गरियो? (ख) सन्‌ १९२३-को द वाच टावर-ले भेडा र बाख्राको उखानको के अर्थ लगाएको थियो?

तथापि, अभिषिक्‍त मसीहीहरूका अन्य अरू सङ्‌गीहरू पनि थिए जो पछिगएर प्रचारकार्यमा अति नै जोशिला भए। यिनीहरूको स्वर्ग जाने अभिलाषा थिएन। यहोवाका जनहरूद्वारा १९१८ देखि १९२२-सम्म उद्‌घोषित जन-भाषणको शीर्षकअनुरूप यिनीहरूको आशा थियो। मूलतः त्यो भाषणको शीर्षक थियो: “संसारको अन्त आइसक्यो—आजका लाखौं जीवित कहिल्यै मर्ने छैनन्‌।” b यसको केही समयपश्‍चात्‌ नै अक्टोबर १५, १९२३-को वाच टावर पत्रिकामा येशूले भन्‍नु भएको भेडा र बाख्राको उखानको (मत्ती २५:३१-४६) यो अर्थ लगाइयो: “भेडाहरूले सबै राष्ट्रका ती मानिसहरूलाई प्रतिनिधित्व गर्छन्‌ जो आत्माद्वारा अभिषिक्‍त नभए तापनि धार्मिक प्रवृत्तिका छन्‌। तिनीहरूले येशू ख्रीष्टलाई मनैबाट प्रभु स्वीकार गर्छन्‌ र तिनीहरू उहाँको शासनअन्तर्गत्‌ सुखमय समयहरूको आशा र प्रतीक्षामा छन्‌।”

४. पार्थिव वर्गबारे १९३१, १९३२ र १९३४-मा ज्योति कसरी झन्‌ झन्‌ चहकिलो हुँदै गयो?

केही वर्षपछि १९३१-मा भिन्डीकेशन नामक पुस्तकको प्रथम खण्डमा इजकिएल अध्याय ९-को छलफल गरियो। संसारको अन्त हुँदा बाँच्नका लागि निधारमा छाप लगाइएका मानिसहरू उपरोक्‍त उखानका भेडाहरू हुन्‌ भनेर यो छलफलद्वारा बुझाइयो। १९३२-मा विमोचित भिन्डीकेशन पुस्तकको तेस्रो खण्डले गैरइस्राएली पुरुष यहोनादाबको धार्मिक मनोवृत्तिको वर्णन गऱ्‍यो। यो मानिसले इस्राएलको अभिषिक्‍त राजा येहूलाई साथ दिएका थिए। उनी येहूको रथमा चढेर झूटो धर्म मान्‍नेहरूको विरुद्धमा येहूको जोश हेर्न गएका थिए। (२ राजा १०:१५-१७) सोही पुस्तकले यो टिप्पणी गरेको थियो: “वर्तमान समयमा येहूले गरेको जस्तै काम [यहोवाका न्यायिक फैसलाहरू घोषणा गर्ने] चलिरहेको बेलामा यहोनादाबले चाहिं यहाँ पृथ्वीको एउटा खास श्रेणीका मानिसहरूलाई चित्रित गर्छन्‌, जो परमेश्‍वरको अनुग्रहका पात्रहरू हुन्‌। यिनीहरू शैतानको सङ्‌गठनअनुरूप छैनन्‌। यिनीहरू धार्मिकताको पक्षमा अडान लिन्छन्‌। यिनीहरूलाई प्रभुले आरमागेडोनमा बचाउनु हुनेछ। यिनीहरूलाई त्यो सङ्‌कष्टमय स्थितिमा सुरक्षित राख्नु भएर पृथ्वीमा अनन्त जीवन दिनु हुनेछ। हो, यिनीहरू नै ‘भेडा’ वर्गका हुन्‌।” यस्तो पार्थिव आशा राख्ने मसीहीहरूले पनि यहोवालाई आफ्नो जीवन समर्पण गरेपछि बप्तिस्मा लिनुपर्छ भनेर वाचटावर पत्रिकाद्वारा १९३४-मा स्पष्ट पारियो। यो पार्थिव श्रेणीबारे ज्योति झन्‌झन्‌ चहकिलो हुँदै गइरहेको थियो।—हितोपदेश ४:१८.

५. (क) सन्‌ १९३५-मा ठूलो भीडबारे के बुझ्न सम्भव भयो? (ख) सम्मेलनमा उपस्थित र पृथ्वीमा सधैंभरि बाँच्ने आशा भएको श्रोतागणलाई १९३५-मा जे. एफ. रदरफर्डले खडा हुने अनुरोध गर्दा के भयो?

प्रकाश ७:९-१७-को अर्थ अब सम्पूर्णतः स्पष्ट हुनै लागेको थियो! (भजन ९७:११) मे ३० देखि जून ३, १९३५-सम्म, वाशिङ्‌गटन डी. सी., संयुक्‍त राज्य अमेरिकामा आयोजित सम्मेलन यहोनादाबले चित्रित गरेका मानिसहरूका लागि “यथार्थमा सान्त्वनादायी र लाभप्रद हुनेछ” भन्‍ने आशा वाचटावर पत्रिकाले बारम्बार अभिव्यक्‍त गर्दै आएको थियो। र त्यस्तै भयो पनि! सम्मेलनमा उपस्थित करीब २०,००० श्रोताहरू समक्ष त्यतिबेला विश्‍वव्यापी प्रचारकार्यमा नेतृत्व लिइरहेका जे. एफ. रदरफर्डले “ठूलो भीड” विषयमा सनसनीयुक्‍त भाषण दिए। उनले यी आधुनिक अन्य भेडाहरू नै प्रकाश ७:९-मा उल्लिखित ठूलो भीड हुन्‌ भनेर शास्त्रीय प्रमाण प्रस्तुत गरे। आफ्नो भाषणको चरमोत्कर्षमा वक्‍ताले यो अनुरोध गरे: “पृथ्वीमा सधैंभरि बाँच्ने आशा राख्नेहरू कृपया उभिनु हुन्छ कि?” श्रोतागणको ठूलो भाग जुरुक्क उभिए। अनि तिनीहरूलाई सङ्‌केत गर्दै वक्‍ताले यो घोषणा गरे: “हेर्नुहोस्‌! त्यो ठूलो भीड!” एकछिन त सन्‍नाटा छायो। फेरि तुरुन्तै जोडदार करतलध्वनि गुञ्जायमान भयो। यूहन्‍नावर्गका साथसाथै यहोनादाब समूह हर्षले विह्वल भए! भोलिपल्टै ८४०-जना नयाँ साक्षीहरूले बप्तिस्मा लिए। यीमध्ये धेरैजसोले ठूलो भीडका हुने दाबी गरे।

ठूलो भीडको पहिचान अझ पक्का

६. (क) पृथ्वीमा सधैंभरि बाँच्ने आशा राख्ने समर्पित मसीहीहरूको आधुनिक समूह नै ठूलो भीड हो भनेर हामी स्पष्टसित किन बुझ्न सक्छौं? (ख) ठूलो भीडका सेता वस्त्रहरू कुन कुराका प्रतीक हुन्‌?

परमेश्‍वरको पृथ्वीमा सधैंभरि बाँच्ने आशा राख्ने समर्पित मसीहीहरूको यो आधुनिक समूह नै ठूलो भीड हो भनी हामी यति निश्‍चित कसरी हुन सक्छौं? केही समयअघि मात्र “हरेक कुल, भाषा, मानिस र जाति”-बाट किनिएको एउटा स्वर्गीय समूहलाई यूहन्‍नाले दर्शनमा देखेका थिए। (प्रकाश ५:९, १०) हुनत ठूलो भीडलाई पनि यसरी हरेक कुल, भाषा र मानिसबाटै लिइएको हुन्छ। तर तिनीहरूको गन्तव्य स्थान चाहिं बेग्लै छ। तिनीहरूको संख्या परमेश्‍वरको इस्राएलको संख्याझैं पूर्वनिश्‍चित छैन। तिनीहरू अन्ततः जम्माजम्मी कति जना हुने हुन्‌, सो कुनै पनि मानिसले भन्‍न सक्‍तैन। तिनीहरूले आफ्ना लुगाहरू थुमाको रगतमा धोएर सेता बनाएका छन्‌। यसको अर्थ तिनीहरू येशूको बलिदानमाथि विश्‍वास राख्छन्‌ र यहोवाको नजरमा धर्मी ठहरिएका छन्‌। (प्रकाश ७:१४) तिनीहरूले मसीहलाई आफ्नो राजा स्वीकार्दै हातमा खजूरका हाँगाहरू हल्लाई रहेका छन्‌।

७, ८. (क) खजूरका हाँगाहरू हल्लाइँदा प्रेरित यूहन्‍नालाई निस्सन्देह कुन कुराको सम्झना भएको हुनुपर्छ? (ख) ठूलो भीडका जनहरूले खजूरका हाँगाहरू हल्लाउनुको अर्थ के हो?

यो दर्शन देखेर यूहन्‍नाले सम्भवतः ६० वर्षअघि पृथ्वीमा येशूको अन्तिम हप्ता झलझली सम्झे होलान्‌। नीसान महिनाको ९ तारिख, सा.यु. ३३-मा, भीडका भीडका मानिसहरू येशूलाई यरूशलेममा स्वागत गर्न जम्मा भएका थिए। तिनीहरूले “खजूरका हाँगाहरू लिएर उहाँलाई स्वागत गर्न निस्के, र ‘होसन्‍ना! धन्य परमप्रभुका नाउँमा आउने इस्राएलका राजा’ भन्दै कराए।” (यूहन्‍ना १२:१२, १३) सोही ढङ्‌गमा ठूलो भीडले पनि खजूरका हाँगाहरू लिएर कराउनुको अर्थ तिनीहरूले येशूलाई यहोवाद्वारा नियुक्‍त राजाको रूपमा बडो हर्षोल्लाससाथ स्वीकार्नु हो।

निस्सन्देह, यी खजूरका हाँगाहरू र हर्षमय जयजयकारहरूले यूहन्‍नालाई प्राचीन झुप्रो बासको चाडको पनि सम्झना गराउँछ। यस चाडको सम्बन्धमा यहोवाले यो आदेश दिनु भएको थियो: “पहिलो दिन तिमीहरूले असल असल रूखका फलहरू, खजूरका हाँगाहरू, धेरै पात भएका रूखहरूका हाँगाहरू, खोलाका बैंसहरू लिएर परमप्रभु तिमीहरूका परमेश्‍वरको सामने सात दिनसम्म खुशी मनाउनू।” खजूरका हाँगाहरूको प्रयोग हर्षोल्लासको एउटा प्रतीक थियो। ती कच्चा झुप्रोहरूले चाहिं यहोवाले आफ्ना मानिसहरूलाई मिश्रबाट बचाउनु भएर उजाडस्थानमा पालहरूमा बस्न दिनु भएको सम्झना गराउँथ्यो। यस चाडमा “विदेशी, टुहुरा-टुहुरी र विधवाहरू” सबैले भाग लिन्थे। सारा इस्राएललाई “औधी हर्षित” हुने प्रोत्साहन दिइन्थ्यो।—लेवी २३:४०; व्यवस्था १६:१३-१५.

९. ठूलो भीडले कुन हर्षोल्लासको गानमा भाग लिन्छन्‌?

यसैकारण ठूलो भीड आत्मिक इस्राएलको भाग नभए तापनि, तिनीहरूलाई खजूरका हाँगाहरू हल्लाउनु बिलकुल सुहाँउछ। किनभने तिनीहरूले पनि आनन्दपूर्वक परमेश्‍वर र थुमालाई विजय र मुक्‍तिको श्रेय दिन्छन्‌, र यसको विवरण यूहन्‍नाले यसप्रकार प्रस्तुत गर्छन्‌: “र ठूलो सोरले यसो भनेर ती कराउँदा रहेछन्‌, ‘सिंहासनमा विराजमान हुनुहुने हाम्रा परमेश्‍वर र थुमामा मुक्‍ति छ।’ ” ( प्रकाश ७:१०) यो ठूलो भीड सबै जातिहरूबाट अलग्गिएको भए तापनि तिनीहरू जम्मै त्यो एउटै “ठूलो सोरले” कराउँछन्‌। तर आफ्नो राष्ट्रिय र भाषीय विविधताको बावजूद तिनीहरू यसरी एकै स्वरले कसरी कराउन सक्छन्‌?

१०. ठूलो भीडका सदस्यहरू बेग्लाबेग्लै राष्ट्र र भाषाहरूबाट आएको भए तापनि तिनीहरू एउटै “स्वरले” कसरी कराउन सक्छन्‌?

१० यो ठूलो भीड आज पृथ्वीको एकमात्र एकताबद्ध अन्तर्राष्ट्रिय सङ्‌गठनको भाग हो। तिनीहरूले बेग्लाबेग्लै देशका लागि बेग्लाबेग्लै नियमहरू तोक्दैनन्‌। बरु, तिनीहरू जहाँ बसे तापनि बाइबलका सही सिद्धान्तहरूलाई व्यवहारमा उत्तार्छन्‌। तिनीहरू कुनै पनि राष्ट्रवादी अथवा क्रान्तिकारी आन्दोलनहरूमा भाग लिंदैनन्‌। तिनीहरूले वास्तवमा आफ्ना ‘तरवारहरू पिटेर हलोको फाली’ बनाएका छन्‌। (यशैया २:४) तिनीहरू बेग्लाबेग्लै सम्प्रदाय अथवा धार्मिक मतहरूमा विभाजित छैनन्‌। मसीहीजगतका धर्महरूलेझैं तिनीहरूले अलमलाउने अथवा विरोधाभासपूर्ण सन्देशहरूको घोषणा गर्दैनन्‌; ईश्‍वरको जयजयकार गाउने आफ्नो काम पनि तिनीहरूले कुनै पेशेवर पादरीवर्गलाई सुम्पेका छैनन्‌। तिनीहरूले मुक्‍तिको श्रेय पवित्र आत्मालाई दिंदैनन्‌ किनभने तिनीहरू कुनै त्रिएक भगवानका सेवकहरू होइनन्‌। पृथ्वीभरि करीब २००-भन्दा बढी भौगोलिक इलाकाहरूमा तिनीहरू एकमुख भएर यहोवाको नाउँको पुकारा गर्छन्‌। तिनीहरू सच्चाइको एकमात्र शुद्ध भाषा बोल्छन्‌। (सपन्याह ३:९) मुक्‍तिको परमेश्‍वर, यहोवा र उहाँद्वारा नियुक्‍त मुक्‍तिका प्रमुखकर्ता, येशू ख्रीष्टमै मुक्‍ति छ भनी तिनीहरूले खुल्लमखुल्ला स्वीकार्छन्‌।—भजन ३:८; हिब्रू २:१०.

११. आधुनिक प्रविधिले ठूलो भीडलाई आफ्नो सोर अझ चर्को पार्न कसरी मदत दिएको छ?

११ यो संयुक्‍त ठूलो भीडको स्वरलाई आधुनिक प्रविधिले अझ चर्को पार्नमा मदत दिएको छ। पृथ्वीको अरू कुनै पनि धार्मिक सङ्‌गठनलाई ४०० भन्दा बढी भाषाहरूमा बाइबल अध्ययनमा मदत दिने साहित्यहरू प्रकाशित गर्ने खाँचो छैन। किनकि पृथ्वीका सबै मानिसहरूसमक्ष संयुक्‍त खबर पुऱ्‍याउने चासो अन्य कुनै पनि धार्मिक सङ्‌गठनलाई छैन। यस काममा अझ मदत दिन यहोवाका साक्षीहरूका अभिषिक्‍त परिचालक निकायको सुपरिवेक्षणमा एउटा मल्टी लेङ्‌गवेज इलेक्ट्रोनिक फोटोटाइपसेटिङ्‌ग सिस्टम (मेप्स)-को विकास गरियो। अनुवादित लेखहरू छाप्न यही मेप्स सिस्टम हाल १२५ भन्दा बढी देशहरूमा प्रयोग गरिंदैछ। यसले गर्दा अर्धमासिक पत्रिका द वाचटावर-लाई एकै साथ १३० भन्दा बढी भाषाहरूमा प्रकाशित गर्न सम्भव भएको छ। यहोवाका जनहरूले थुप्रै भाषाहरूमा यो जस्तै अन्य पुस्तकहरू पनि एकैसाथ प्रकाशित गर्छन्‌। यसप्रकार, प्रत्येक साल सम्पूर्ण प्रचलित भाषाहरूमा लाखौं-लाख प्रकाशनहरू वितरण गर्ने काममा यहोवाका साक्षीहरूले भाग लिन्छन्‌, जसमध्ये अधिकांश ठूलो भीडका सदस्यहरू हुन्‌। यसरी तिनीहरूले सबै जाति र भाषाका अझ धेरै मानिसहरूलाई परमेश्‍वरको वचन अध्ययन गर्न र ठूलो भीडको चर्को स्वरमा स्वर मिलाउन सहायता दिन्छन्‌।—यशैया ४२:१०, १२.

स्वर्गमा कि पृथ्वीमा?

१२, १३. ठूलो भीड कुन अर्थमा “सिंहासन र थुमाको अगाडि” उभिएको छ?

१२ ठूलो भीड “सिंहासनको अगाडि उभिनुको” अर्थ तिनीहरू स्वर्गमै छन्‌ भनेको होइन भनी हामी कसरी भन्छौं? यस विषयमा अझ स्पष्ट प्रमाण उपलब्ध छ। उदाहरणका लागि, “अगाडि” (इ-नो-पियोन) भनेर यहाँ अनुवादित युनानी शब्दको शाब्दिक अर्थ हो “आँखाको सामु।” यो शब्दलाई धेरै पटक पृथ्वीमा रहेका मानिसहरूलाई सङ्‌केत गर्न चलाइएको छ जो यहोवाको “अगाडि” अथवा उहाँको “आँखाको सामु” छन्‌। (१ तिमोथी ५:२१; २ तिमोथी २:१४; रोमी १४:२२; गलाती १:२०) एक पटक इस्राएलीहरू उजाडस्थानमा हुँदा मोशाले हारुनलाई यसो भने: “इस्राएलका सारा समुदायलाई भन्‍नुहोस्‌, ‘परमप्रभुको सामने नजीक आओ किनभने उहाँले तिमीहरूको गनगन सुन्‍नुभएको छ।’ ” (प्रस्थान १६:९) त्यतिखेर यहोवाको सामने उभिनका लागि ती इस्राएलीहरूलाई स्वर्गमा लैजानु परेन। (लेवी २४:८ तुलना गर्नुहोस्‌।) बरु, तिनीहरू ठीक त्यहीं उजाडस्थानमा नै यहोवाको आँखाको सामु उभिए र उहाँको ध्यान तिनीहरूमाथि थियो।

१३ यसबाहेक हामी यो पनि पढ्‌छौं: “तर जब मानिसको पुत्र स्वर्गदूतहरूसमेत आफ्नो महिमामा आउला, तब आफ्नो महिमाको सिंहासनमा बस्नेछ। औ उसको सामु सबै देशका मानिसहरू जम्मा हुनेछन्‌।” c यो भविष्यवाणी पूरा हुँदा सम्पूर्ण मानवजाति स्वर्गमा हुनेछैनन्‌। नता “अनन्त दण्ड” भोग्नेहरू नै स्वर्गमा हुनेछन्‌। (मत्ती २५:३१-३३, ४१, ४६) बरु, समस्त मानिसजाति यहाँ पृथ्वीमै येशूको आँखाको अगाडि खडा हुनेछ र तिनीहरूको न्याय गर्न येशूको ध्यान तिनीहरूमाथि केन्द्रित हुनेछ। यस्तैप्रकार ठूलो भीड पनि “सिंहासन र थुमाको अगाडि उभिरहेको” अर्थ तिनीहरू यहोवा र उहाँको राजा ख्रीष्ट येशूको आँखाको सामु छन्‌ र उहाँहरूले तिनीहरूको पक्षमा न्यायिक फैसला सुनाउनु हुन्छ।

१४. (क) “सिंहासनको वरिपरि” र [स्वर्गीय] “सियोन पर्वतमा” को उभिएको वर्णन गरिएको छ? (ख) ठूलो भीडले परमेश्‍वरको “मन्दिरमा” सेवा गरे तापनि तिनीहरू पूजारीवर्ग किन होइनन्‌?

१४ ती २४ जना प्राचीनहरू र १,४४,००० अभिषिक्‍त समूह यहोवाको “सिंहासनको वरिपरि” र “[स्वर्गीय] सियोन पर्वतमा” छन्‌ भनेर वर्णन गरिएको छ। (प्रकाश ४:४; १४:१) ठूलो भीड कुनै पूजारीवर्ग होइन नता त्यो उच्च ओहदा तिनीहरूले कहिल्यै प्राप्त नै गर्नेछन्‌। तापनि प्रकाश ७:१५-अनुसार त्यो ठूलो भीड “परमेश्‍वरको मन्दिर”-मा सेवा गरिरहेको देखिन्छ। तर यहाँ मन्दिर भन्‍नुको अर्थ भित्रपट्टिको पवित्रस्थान होइन्‌। यसले परमेश्‍वरको आत्मिक मन्दिरको पार्थिव चोकलाई मात्र सङ्‌केत गर्दछ। किनभने यहाँ प्रयोग गरिएको युनानी शब्द ना-ओस्‌-ले यहोवाको उपासनाका लागि निर्मित सम्पूर्ण घर-आँगनलाई नै अक्सर बोध गराउँछ। आज भने त्यो घर-आँगनको सट्टा एउटा आत्मिक भवन छ जसले स्वर्ग र पृथ्वी दुवैलाई ढाक्छ।—मत्ती २६:६१; २७:५, ३९, ४०; मर्कूस १५:२९, ३०; यूहन्‍ना २:१९-२१-सित तुलना गर्नुहोस्‌, न्यु वर्ल्ड ट्रान्सलेशन रेफरेन्स बाइबल, फुटनोट.

जयजयकारको विश्‍वव्यापी आवाज

१५, १६. (क) ठूलो भीड देखा पर्दा स्वर्गमा के प्रतिक्रिया व्यक्‍त गरिन्छ? (ख) परमेश्‍वरको उद्देश्‍यसम्बन्धी प्रत्येक नयाँ प्रकाशप्रति यहोवाका आत्मिक जनहरूले के कस्तो प्रतिक्रिया व्यक्‍त गर्छन्‌? (ग) हामी पृथ्वीमा हुनेहरूले पनि त्यो प्रशंसा गानमा कसरी भाग लिन सक्छौं?

१५ ठूलो भीडले यहोवाको प्रशंसा गरिरहेछ। तर उहाँको प्रशंसा अरूहरूले पनि गाइरहेका छन्‌। यूहन्‍नाले यसरी रिपोर्ट गर्छन्‌: “अनि सबै स्वर्गदूतहरू, सिंहासन, धर्मगुरुहरू र जीवित जीवातहरूका वरिपरि उभिरहेका थिए, र तिनीहरू सिंहासनका सामने घोप्टो परे, र यसो भनेर परमेश्‍वरलाई दण्डवत्‌ गरे, ‘आमिन, हाम्रा परमेश्‍वरलाई प्रशंसा, महिमा, ज्ञान, धन्यवाद, आदर, शक्‍ति र सामर्थ्य सदा सर्वदा होस्‌। आमिन।’ ”—प्रकाश ७:११, १२.

१६ यहोवाले पृथ्वी सृजनु हुँदा उहाँका जम्मै पवित्र स्वर्गदूतहरूले “एक साथ गाए” र परमेश्‍वरका पुत्रहरू “रमाहटले कराए।” (अय्यूब ३८:७) यस्तैगरी, यहोवाको उद्देश्‍यसम्बन्धी प्रत्येक नयाँ प्रकाश हुँदा स्वर्गदूतहरू जयजयकार गर्दै कराए होलान्‌। जब २४ जना प्राचीनहरू अर्थात्‌ स्वर्गमा महिमित १,४४,०००-जनाले चर्को स्वरमा थुमालाई स्वीकार गर्छन्‌, तब परमेश्‍वरका बाँकी स्वर्गीय जनहरू पनि येशू र यहोवा परमेश्‍वरको प्रशंसा गाउन थाल्छन्‌। (प्रकाश ५:९-१४) यी स्वर्गीय जनहरू त्यसै पनि हर्षले गद्‌गद छन्‌ किनभने यहोवाले आफ्नो उद्देश्‍य पूरा गर्नु भएको छ। उहाँले आफ्ना विश्‍वासी अभिषिक्‍त सेवकहरूलाई पुनरूत्थान गराउनु भएर तिनीहरूलाई आत्मिक संसारमा एउटा महिमावान स्थान प्रदान गर्नु भएको छ। तर अब ठूलो भीड देखा पर्दा त यहोवाका जम्मै विश्‍वासी स्वर्गीय जनहरू सुमधुर प्रशंसागान गाउन थाल्छन्‌। साँच्चै नै प्रभुको दिनमा बाँच्न पाउनु यहोवाका जनहरूका लागि एउटा अति नै रोमाञ्चकारी अनुभव हो। (प्रकाश १:१०) यहाँ पृथ्वीमा पनि यहोवाको राज्यबारे साक्षी दिंदै त्यो प्रशंसा गानमा भाग लिन पाउनु कति ठूलो विशेषाधिकार हो!

ठूलो भीड देखा पर्छ

१७. (क) चौबीस जना प्राचीनहरूमध्ये एक जनाले के प्रश्‍न उठाउँछन्‌ र त्यसको उत्तर ती प्राचीनले पाउन सकेकोबाट के बोध हुन्छ? (ख) ती प्राचीनको प्रश्‍नको जवाफ कहिले पाइयो?

१७ यो ठूलो भीडलाई चिन्‍न नसकेर अभिषिक्‍त मसीहीहरू प्रेरित यूहन्‍नाको समयदेखि प्रभुको दिनसम्मै अन्योलमा परेका थिए। यसैकारण, स्वर्गमा पुगिसकेका अभिषिक्‍त जनहरूलाई प्रतिनिधित्व गर्ने २४ जना प्राचीनहरूमध्ये एक जनाले यो उपयुक्‍त प्रश्‍न सोधेर यूहन्‍नाको सोचाईलाई जगाउनु मुनासिबै हो। “औ धर्म-गुरुहरूमध्ये एउटाले मलाई यसो भनेर सोधे, ‘यी सेता लुगा लाउने को हुन्‌ र कहाँबाट आएका हुन्‌? अनि मैले तिनलाई भनें, ‘प्रभु तपाईंनै जान्‍नुहुन्छ।’ ” (प्रकाश ७:१३, १४क) हो, ती प्राचीनले जवाफ पत्ता लाएर यूहन्‍नालाई बताउन सक्थे। अर्थात्‌ २४ जना प्राचीनहरूको समूहका पुनरूत्थानप्राप्त व्यक्‍तिहरूले आज ईश्‍वरीय सच्चाइहरू प्रकट गर्नमा भाग लिन सक्छन्‌। पृथ्वीमा रहेका यूहन्‍नावर्गले चाहिं तिनीहरूको माझमा यहोवाले गरिरहनु भएका कुराहरूलाई नियालेर हेर्दै ठूलो भीडलाई चिन्‍न सके। यहोवाको नियुक्‍त समय अर्थात्‌ १९३५-मा ईश्‍वरतान्त्रिक आकाशमा झलमल चम्केको ईश्‍वरीय ज्योतिको तिनीहरूले तुरुन्तै मूल्याङ्‌कन गर्न सके।

१८, १९. (क) सन्‌ १९२० र १९३०-को दशकमा यूहन्‍नावर्गले कुन आशामाथि जोड दिए तर सुसमाचारलाई स्वीकार्न बढ्‌दो संख्यामा को अग्रसर भए? (ख) सन्‌ १९३५-मा ठूलो भीडलाई ठम्याउन सकेपछि १,४४,००० बारे चाहिं के बुझियो? (ग) स्मरणार्थका तथ्याङ्‌कहरूबाट के प्रष्ट हुन्छ?

१८ सन्‌ १९२० र १९३०-को दशक दौडान यूहन्‍नावर्गले प्रकाशन र प्रचार दुवैद्वारा स्वर्गीय आशालाई नै जोड दिंदै आएका थिए। सम्भवतः त्यतिखेर १,४४,०००-को संख्या पूरा हुन बाँकी नै थियो। तर त्यो खबर सुन्‍ने र साक्षी दिने काममा जोश देखाउने मानिसहरूको बढ्‌दो संख्याले पार्थिव प्रमोदवनमा नै सधैंभरि बाँच्ने चासो देखाउन थाले। तिनीहरूले स्वर्ग जाने अभिलाषा राखेका थिएनन्‌। तिनीहरूले त्यहाँ जाने बोलावट पाएका थिएनन्‌। तिनीहरू सानो बगालका नभएर अरू भेडाहरू थिए। (लूका १२:३२; यूहन्‍ना १०:१६) तिनीहरूलाई सन्‌ १९३५-तिर ठम्याउन सकेको हुनाकारण सम्भवतः त्यतिखेर १,४४,००० छान्‍ने काम प्रायः समाप्त हुन लागेको हुनुपर्छ।

१९ के यस निष्कर्षलाई तथ्याङ्‌कले पनि पुष्टि दिन्छ? दिन्छ। सन्‌ १९३८-मा विश्‍वभरि यहोवाका ५९,०४७ साक्षीहरूले सेवकाईमा भाग लिए। तिनीहरूमध्ये ३६,७३२-जनाले मात्र येशूको मृत्युको वार्षिक स्मरणार्थमा रोटी खाए र दाखमद्य पिए। यसप्रकार तिनीहरूले आफ्नो स्वर्गीय आशा जाहेर गरे। तर तत्पश्‍चात्‌का सालहरूमा चाहिं यसरी रोटी र दाखमद्यबाट भाग लिने मानिसहरूको संख्या क्रमशः घट्‌दै गएको छ। किनभने मूलतः यहोवाका विश्‍वासी साक्षीहरू आफ्नो पार्थिव जीवन सिद्धयाउँदै मरेका छन्‌। सन्‌ २००५ मा ८,५२४ जनाले मात्र स्मरणार्थका सम्झौटाहरूबाट भाग लिए। यो संख्या त्यो विश्‍वव्यापी उत्सवमा भेला हुने १,६३,९०,११६ जनाको ०.०५ प्रतिशत मात्र थियो।

२०. (क) दोस्रो विश्‍वयुद्धको दौडान जे. एफ. रदरफोर्डले अनौपचारिक तवरमा ठूलो भीडबारे के टिप्पणी गरेका थिए? (ख) ठूलो भीड वास्तवमा ठूलो छ भनेर आज कुन तथ्यहरूबाट देख्न सकिन्छ?

२० दोस्रो विश्‍वयुद्ध चर्कंदा ठूलो भीडलाई बटुल्ने काम रोक्न शैतानले उधुम प्रयास गऱ्‍यो। थुप्रै देशहरूमा यहोवाको काममाथि सरकारी प्रतिबन्धहरू लगाइए। ती अन्धकारमय दिनहरूमा जे. एफ. रदरफोर्डको जनवरी १९४२-मा आफ्नो मृत्युको केही समयअघि मात्र यसो भनेको सुनियो: “खै, . . . ठूलो भीड आखिर त्यति ठूलो हुँदैन जस्तो छ।” तर ईश्‍वरीय आशिषले बेग्लै सङ्‌केत दियो! सन्‌ १९४६-मा विश्‍वभरि सेवा गरिरहेका साक्षीहरूको संख्या बढेर १,७६,४५६ पुगेको थियो। यिनीहरूमध्ये धेरैजसो ठूलो भीडका थिए। सन्‌ २००५ सम्म त २३५ वटा बेग्लाबेग्लै मुलुकहरूमा ६३,९०,०२२ साक्षीहरूले विश्‍वासिलो भएर यहोवाको सेवा गरिरहेका थिए। साँच्चै नै एउटा ठूलो भीड! र यसको संख्या निरन्तर बढ्‌दो छ।

२१. (क) प्रभुको दिनमा परमेश्‍वरका जनहरूलाई बटुल्ने काम कसरी यूहन्‍नाको दर्शनअनुरूप नै भएको छ? (ख) केही महत्त्वपूर्ण भविष्यवाणीहरू कसरी पूरा हुन थाले?

२१ प्रभुको दिनमा परमेश्‍वरका जनहरूलाई बटुल्ने काम यूहन्‍नाको दर्शनअनुरूपै भएको छ: सर्वप्रथम, १,४४,०००-का शेष जनहरूलाई एकत्रित गर्ने; त्यसपछि ठूलो भीडलाई जम्मा गर्ने। यशैयाले भविष्यवाणी गरेझैं आज “पछिल्ला दिनहरूमा” सबै राष्ट्रका मानिसहरू यहोवाको शुद्ध उपासनामा भाग लिन ओइरिरहेका छन्‌। यहोवाले “नयाँ स्वर्ग र नयाँ पृथ्वी” सृजनु भएकोमा साँच्चै नै हामी पनि हर्षले विह्वल छौं। (यशैया २:२-४; ६५:१७, १८) परमेश्‍वरले फेरि “चाहे स्वर्गका, चाहे पृथ्वीका, सबै कुरा ख्रीष्टमा गाभ्नालाई” जम्मा गर्नु हुँदैछ। (एफिसी १:१०) येशूको समयदेखि कैयौं शताब्दीको दौडान एकत्रित गरिएका स्वर्गीय राज्यका अभिषिक्‍त हकवालाहरू “स्वर्गका थोकहरू” हुन्‌। र अब पृथ्वीमा अरू भेडाहरूको ठूलो भीडको रूपमा देखा पर्नेहरू चाहिं “पृथ्वीका थोकहरूका” प्रथम सदस्यहरू हुन्‌। यस प्रबन्धअनुसार सेवा गर्नु भयो भने तपाईंले अनन्तकालीन आनन्द उठाउन सक्नुहुनेछ।

ठूलो भीडले पाउने आशिषहरू

२२. ठूलो भीडबारे यूहन्‍नाले के थप जानकारी पाउँछन्‌?

२२ ईश्‍वरीय माध्यमद्वारा यूहन्‍नाले यस ठूलो भीडबारे अझ जानकारी पाउँछन्‌: “तिनले [प्राचीनले] मलाई भने, ‘यी तिनै हुन्‌ जो महा सङ्‌कष्टबाट आएका छन्‌ र तिनीहरूले आफ्ना आफ्ना लुगाहरू थुमाको रगतमा धोएर सेता बनाएका छन्‌। यसकारण तिनीहरू परमेश्‍वरको सिंहासनको सामने छन्‌ र दिन-रात उहाँको मन्दिरमा उहाँको सेवा गर्दछन्‌ औ सिंहासनमा विराजमान हुनुहुनेले तिनीहरूमाथि आफ्नो मण्डप टाँगिदिनुहुनेछ।”—प्रकाश ७:१४ख, १५.

२३. त्यो महासङ्‌कष्ट के हो जसबाट ठूलो भीड “बाँचेर निस्कन्छ”?

२३ केही समयअघि येशूले भन्‍नु भएको थियो कि राज्यको महिमासाथ उहाँ उपस्थित हुनुहुँदा “यस्तो महा सङ्‌कष्ट हुनेछ जो जगतको शुरुदेखि अहिलेसम्म भएको छैन, नता फेरि कहिल्यै हुनेछ।” (मत्ती २४:२१, २२) यस अगमवाणीको पूर्तिमा ती स्वर्गदूतहरूले शैतानको विश्‍व रीतिरिवाजलाई ध्वंस पार्न पृथ्वीका चार बतासहरूलाई छाडिदिनेछन्‌। प्रथमतः झूटो धर्मको विश्‍व साम्राज्य अर्थात्‌ महान बेबिलोन नष्ट हुनेछ। तत्पश्‍चात्‌, महासङ्‌कष्टको चरमोत्कर्षमा येशूले पृथ्वीमा रहेका १,४४,०००-का शेष जनहरूका साथै त्यो अत्यन्त ठूलो भीडलाई बचाउनु हुनेछ।—प्रकाश ७:१; १८:२.

२४. ठूलो भीडका सदस्यहरू कुन आधारमा बचाइनेछन्‌?

२४ ठूलो भीडका सदस्यहरू कुन आधारमा बचाइनेछन्‌? ती प्राचीनले यूहन्‍नालाई भन्छन्‌ कि “तिनीहरूले आफ्ना आफ्ना लुगाहरू थुमाको रगतमा धोएर सेता बनाएका छन्‌।” अर्थात्‌ तिनीहरूले येशूलाई आफ्नो मुक्‍तिदाता स्वीकार्दै उहाँमाथि विश्‍वास राखेका छन्‌। तिनीहरूले यहोवालाई आफ्नो जीवन समर्पण गरेका छन्‌। यो समर्पणको पुष्टि दिंदै तिनीहरूले पानीमा बप्तिस्मा लिएका छन्‌। तिनीहरूले आफ्नो धार्मिक चालचलनद्वारा “असल विवेक” कायम राखेका छन्‌। (१ पत्रुस ३:१६, २१; मत्ती २०:२८) यसप्रकार तिनीहरू यहोवाको नजरमा शुद्ध र धार्मिक छन्‌। तिनीहरूले आफूलाई “दुनियाँबाट निष्कलङ्‌क” राख्तछन्‌।—याकूब १:२७.

२५. (क) ठूलो भीडले यहोवालाई “दिन रात उहाँको मन्दिरमा [पवित्र, NW] सेवा” कसरी चढाइरहेका छन्‌? (ख) यहोवाले ठूलो भीडमाथि कसरी “आफ्नो मण्डप टाँगिदिनु” हुनेछ?

२५ यसबाहेक, तिनीहरू यहोवाका जोशिला साक्षीहरू भएका छन्‌। तिनीहरूले “दिन रात उहाँको मन्दिरमा उहाँको [पवित्र, NW] सेवा गर्दछन्‌।” के तपाईं पनि यो समर्पित ठूलो भीडमध्येको एक जना हुनुहुन्छ? हुनुहुन्छ भने, उहाँको महान आत्मिक मन्दिरको पार्थिव चोकहरूमा निरन्तर सेवा गर्ने विशेषाधिकारको आनन्द तपाईंले पनि उठाउन सक्नुहुन्छ। आज अभिषिक्‍त जनहरूको निर्देशनअन्तर्गत धेरै जसो साक्षी दिने कार्य, ठूलो भीडकाहरूले नै गरिरहेका छन्‌। सांसारिक जिम्मेवारीहरूको बावजूद यिनीहरूमध्ये हजारौं हजारले अग्रगामी भएर आफ्नो पूर्ण समय सेवामा बिताइरहेका छन्‌। तर सो गर्ने अग्रगामीहरूको समूहमा तपाईं नहुनु भए तापनि तपाईंको विश्‍वास र कामहरूले गर्दा तपाईं परमेश्‍वरको मित्रको हैसियतमा धर्मी ठहरिनु भएको छ र उहाँको पालमा तपाईंलाई स्वागत छ भनी तपाईं मग्न हुन सक्नुहुन्छ। (भजन १५:१-५; याकूब २:२१-२६) यहोवाले यसप्रकार उहाँसित प्रेम गर्नेहरूमाथि आफ्नो ‘मण्डप टाँगिदिनु हुन्छ’ र एक जना असल मेजमानको हैसियतमा तिनीहरूको रक्षा गर्नु हुन्छ।—हितोपदेश १८:१०.

२६. ठूलो भीडले अरू कुन आशिषहरूको पनि आनन्द उठाउनेछन्‌?

२६ सोही प्राचीन अझ यसो भन्छन्‌: “तिनीहरू कहिल्यै भोकाउने र तिर्खाउने छैनन्‌, नता सूर्यको राप अथवा कुनै ताप तिनीहरूमाथि पर्नेछ, किनकि सिंहासनका बीचमा हुने थुमा तिनीहरूका रखवाला हुनुहुनेछ, र तिनीहरूलाई जीवनका पानीहरूका फोहोरासम्म अगुवा भएर लानुहुनेछ, र परमेश्‍वरले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ।” (प्रकाश ७:१६, १७) हो, यहोवा वास्तवमा आतिथ्य गर्न जान्‍नुहुन्छ! तर यसबाहेक, यी शब्दहरूको अझ कुनै गहिरो अर्थ छ कि?

२७. (क) ती प्राचीनका शब्दहरूसित मिल्दोजुल्दो कुन भविष्यवाणी यशैयाले पनि गरेका थिए? (ख) यशैयाले गरेको भविष्यवाणी पावलको समयका मसीही मण्डलीमा पूरा हुन थाल्यो भनेर कसरी प्रदर्शित हुन्छ?

२७ योसित मिल्दोजुल्दो शब्दहरू प्रयोग गर्ने एउटा अर्को भविष्यवाणीलाई अब हामी विचार गरौं: “परमप्रभु भन्‍नुहुन्छ, ‘निगाहको समयमा मैले तँलाई जवाफ दिएको छु, र उद्धारको दिनमा मैले तँलाई सहायता दिएँ। . . . तिनीहरू भोकाउनेछैनन्‌, तिर्खाउनेछैनन्‌, घामको तापले तिनीहरूलाई पोल्नेछैन, किनकि तिनीहरूमाथि कृपा गर्नेले तिनीहरूलाई डोऱ्‍याउनुहुनेछ। पानीको धारानेर उहाँले तिनीहरूलाई अगुवाइ गर्नुहुनेछ।’ ” (यशैया ४९:८, १०; भजन १२१:५, ६ पनि हेर्नुहोस्‌।) यस भविष्यवाणीको केही भागलाई प्रेरित पावलले सा.यु. ३३-मा पेन्तिकोसको दिन सुरु भएको “उद्धारको दिन”-का सम्बन्धमा प्रयोग गरे। उनले यसप्रकार लेखे: “किनभने उहाँ भन्‍नुहुन्छ, ‘खुशी भएको समयमा मैले तिम्रो कुरा सुनें, औ उद्धारको दिन मैले तिमीलाई सहायता दिएँ। हेर, ग्रहणयोग्य समय अहिले छ, हेर, उद्धारको दिन अहिले छ।’ ”—२ कोरिन्थी ६:२.

२८, २९. (क) यशैयाका शब्दहरू प्रथम शताब्दीमा कसरी पूरा भए? (ख) प्रकाश ७:१६-का शब्दहरू ठूलो भीडमाथि कसरी पूरा हुन्छन्‌? (ग) ठूलो भीडलाई “जीवनका पानीका फोहराहरूसम्म” डोऱ्‍याउनुको परिणाम के हुनेछ? (घ) ठूलो भीडका सदस्यहरू सारा मानिसजातिभन्दा कुनअर्थमा बेग्लै हुनेछन्‌?

२८ नभोकाउने, नतिर्खाउने अथवा कुनै तापले नपोल्ने प्रतिज्ञा त्यतिखेर कसरी पूरा भयो? किनकि प्रथम शताब्दीका मसीहीहरूले समय समयमा भोक र तिर्खा अवश्‍य अनुभव गरे। (२ कोरिन्थी ११:२३-२७) तर आध्यात्मिक तवरमा चाहिं तिनीहरूसित प्रशस्त थियो। तिनीहरूले कुनै कुराको अभाव महसुस गरेनन्‌। आध्यात्मिक कुराहरूका लागि तिनीहरू कहिल्यै पनि भोकैप्यासै बस्नु परेन। साथै, यहोवाले सा.यु. ७०-मा यरूशलेमको रीतिरिवाजलाई नष्ट पार्नु हुँदा उहाँको क्रोधको ताप तिनीहरूमाथि दन्केन। यस्तै ढङ्‌गमा प्रकाश ७:१६-का शब्दहरू आज ठूलो भीडमाथि लागू हुन्छ। तिनीहरूले अभिषिक्‍त मसीहीहरूका साथमा प्रशस्त आध्यात्मिक खानेकुराहरूको आनन्द उठाउँछन्‌।—यशैया ६५:१३; नहूम १:६, ७.

२९ तपाईं त्यो ठूलो भीडमध्ये एक हुनुहुन्छ भने आफ्नो हृदय असल भएको कारण तपाईं “गाउनु हुनेछ।” शैतानको रीतिथिति बितेर जानै लागेको बेलामा जे जस्तै दबाब र सङ्‌कष्ट आइ परे तापनि तपाईंमाथि केही फरक पर्नेछैन। (यशैया ६५:१४) त्यस अर्थमा, अहिले पनि यहोवाले ‘तपाईंको आँखाबाट सबै आँसु पुछिदिन’ सक्नुहुन्छ। ईश्‍वरीय इन्साफको पोल्ने “घाम”-को तापसित तपाईं डराउनु पर्दैन। विनाशका चार बतासहरू चल्न थाल्दा यहोवाको अप्रसन्‍नताको “ताप” बाट तपाईं बाँच्न सक्नुहुनेछ। त्यो विनाशपछि “जीवनका पानीका फोहोरा”बाट पूर्ण लाभ उठाउन थुमाले तपाईंलाई डोऱ्‍याउनु हुनेछ। ती फोहराहरू यहोवाले तपाईंलाई अनन्त जीवन प्रदान गर्ने सम्बन्धमा मिलाउनु भएका प्रबन्धहरूका प्रतीक हुन्‌। थुमाको रगतमाथि तपाईंले राख्नु भएको विश्‍वास व्यर्थ साबित हुनेछैन। तपाईं मानव सिद्धता तर्फ बिस्तारै अघि बढ्‌नु हुनेछ। तपाईं ठूलो भीडका समस्त मानवजातिभन्दा एकप्रकारले बेग्लै हुनु हुनेछ। तपाईं ती “लाखौंमध्ये” हुनु हुनेछ जसले मृत्यु कहिल्यै अनुभव गर्नै पर्दैन! तपाईंका आँखाहरूबाट यथार्थमा सबै नै आँसु पुछिसकिएको हुनेछ।—प्रकाश २१:४.

आफ्नो बोलावटलाई निश्‍चित पार्न

३०. यूहन्‍नाको दर्शनद्वारा कुन महान दृश्‍य देख्ने ढोका हाम्रालागि खुलिन्छ र को “खडा” हुन सक्नेछ?

३० यी शब्दहरूले एउटा महान दृश्‍य हेर्ने ढोका हाम्रा लागि खोलिदिन्छ! यहोवा स्वयं सिंहासनमा हुनुहुन्छ र उहाँका जम्मै स्वर्गीय र पार्थिव सेवकहरू एकताबद्ध भएर उहाँको प्रशंसा गाउँछन्‌। यो झन्‌झन्‌ गुञ्जायमान हुने प्रशंसागानमा भाग लिन पाउने महान विशेषाधिकारलाई उहाँका पार्थिव सेवकहरूले एकदमै कदर गर्छन्‌। चाँडै नै यहोवा र येशू ख्रीष्टले न्याय कार्यान्वयन गर्नु हुनेछ र त्यतिखेर यो चर्को स्वर सुनिनेछ: “तिनीहरूको क्रोधको ठूलो दिन आएको छ, र को खडा हुनसक्छ?” (प्रकाश ६:१७) यसको जवाफ? मानिसजातिमध्येको एउटा सानो भाग अर्थात्‌ छाप लगाइएका १,४४,००० मध्ये मानव शरीरमै रहेका र अरू भेडाको ठूलो भीड मात्र बाँच्न अथवा “खडा” हुनेछन्‌।—यर्मिया ३५:१९; १ कोरिन्थी १६:१३.

३१. यूहन्‍नाको दर्शनले दुवै अभिषिक्‍त र ठूलो भीडका मसीहीहरूमाथि के कस्तो असर पार्नु पर्ने हो?

३१ यसै तथ्यलाई दृष्टिगत गर्दै यूहन्‍नावर्गका अभिषिक्‍त मसीहीहरूले “ख्रीष्ट येशूमा . . . माथिको बोलावटको पुरस्कारको निम्ति” उत्कट प्रयास गर्छन्‌। (फिलिप्पी ३:१४) वर्तमान समयका घटनाहरूको सामना गर्न विशेष धैर्यको खाँचो छ भनी तिनीहरूले राम्ररी बुझेका छन्‌। (प्रकाश १३:१०) यतिका धेरै वर्षदेखि वफादारीका साथ यहोवाको सेवा गरी सकेपछि पनि तिनीहरू आफ्नो विश्‍वासमा अटल छन्‌। तिनीहरूको “नाउँ स्वर्गमा लेखिएको छ” भनेर तिनीहरू आनन्द मनाउँछन्‌। (लूका १०:२०; प्रकाश ३:५) “अन्तसम्म स्थिर रहनेले उद्धार पाउनेछ” भन्‍ने कुरा ठूलो भीडकाहरूलाई पनि थाह छ। (मत्ती २४:१३) महासङ्‌कष्टमा ठूलो भीड सामूहिक तवरमा बाँच्ने भए तापनि त्यसमा संलग्न व्यक्‍तिहरूले चाहिं आफूलाई शुद्ध र सक्रिय राख्न जोडदार प्रयत्न गर्न जरुरी छ।

३२. यहोवाको क्रोधको दिनमा दुई समूह मात्रै “खडा” हुन सक्ने भएकोले के गर्नु अत्यावश्‍यक छ?

३२ यहोवाको क्रोधको दिनमा यी दुई समूहबाहेक अरू पनि “खडा” हुन सक्ने कुनै प्रमाण छैन। यसकारण ती लाखौं व्यक्‍तिहरूको के हुनेछ जसले प्रत्येक साल येशूको मृत्युको स्मरणार्थमा भेला हुँदै येशूको बलिदानका लागि केही हदसम्म आदर दर्शाएका छन्‌। तापनि यहोवाको सक्रिय, समर्पित र बप्तिस्माप्राप्त सेवक हुनेसम्मको विश्‍वास चाहिं तिनीहरूले येशूको बलिदानमाथि अझसम्म प्रकट गरेका छैनन्‌। यिनीहरूबाहेक अझ ती व्यक्‍तिहरूबारे के भन्‍ने जो कुनै समयमा सक्रिय थिए तर अहिले चाहिं तिनीहरूको हृदय “जीवनका चिन्ताहरूमा” अलमलिएका छन्‌? उनीहरू सबै जागा हुन सकून्‌। जागा रहून्‌। ताकि तिनीहरू “आउनलागेका कुराहरूबाट उम्कन र मानिसको पुत्र” येशू ख्रीष्टको “सामने खडा हुन” सकून्‌। समय अब धेरै छैन!—लूका २१:३४-३६.

[फुटनोटहरू]

a न्यु वर्ल्ड ट्रान्स्लेशन रेफरेन्स बाइबल-को फुटनोट हेर्नुहोस्‌.

b द वाच टावर, अप्रिल १, १९१८, पृष्ठ ९८.

c द किङ्‌गडल इन्टरलिनियर ट्रान्स्लेशन अफ दी ग्रीक स्क्रिप्चर्स अनुसार, अक्षरशः “उहाँको अघि” हो।

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ ११९-मा भएको पेटी]

अर्थ खोल्ने काम परमेश्‍वरको हो

धेरै दशकदेखि यूहन्‍नावर्गले ठूलो भीडको अर्थ बुझ्ने प्रयास गर्दै आएका थिए। तर तिनीहरूले कुनै सन्तोषजनक व्याख्या पाएका थिएनन्‌। किन? यसको जवाफ हामी विश्‍वासी यूसुफका शब्दहरूमा पाउँछौं। उनले यसो भनेका थिए: “. . . अर्थ त परमेश्‍वरकै हातमा हुँदैन र?” (उत्पत्ति ४०:८) परमेश्‍वरले आफ्ना भविष्यवाणीहरूको पूर्ति कसरी र कहिले बुझाउनु हुन्छ? अक्सर, ती पूरा हुनै लागेको अथवा पूरा भइरहेकै बेलामा बुझाउनु हुन्छ। यसप्रकार ती भविष्यवाणीहरूमा भएको समाचारलाई उहाँका जिज्ञासु सेवकहरूले स्पष्टसित बुझ्न सक्छन्‌। यस्तो समझ “हाम्रो शिक्षाको निम्ति, धीरज र धर्मशास्त्रको शान्तिद्वारा” हामीलाई दिइन्छ।—रोमी १५:४.

[पृष्ठ १२४-मा भएको पेटी]

ठूलो भीडका सदस्यहरू

▪ सबै राष्ट्र, जाति, मानिस र भाषाहरूबाट आउँछन्‌

▪ यहोवाको सिंहासनको अगाडि खडा हुन्छन्‌

▪ आ-आफ्ना लुगा थुमाको रगतमा धोएर सेता बनाउँछन्‌

▪ यहोवा र येशूलाई मुक्‍तिको श्रेय दिन्छन्‌

▪ महासङ्‌कष्टबाट बाँच्छन्‌

▪ यहोवाको मन्दिरमा दिन रात सेवा गर्छन्‌

▪ यहोवाको प्रेमपूर्ण सुरक्षा र रेखदेख अनुभव गर्छन्‌

▪ येशूको अगुवाइमा जीवनका पानीहरूको फोहरासम्म डोऱ्‍याइन्छन्‌

[पृष्ठ १२१-मा भएको पृष्ठभरिको चित्र]

[पृष्ठ १२७-मा भएको चित्र]

ठूलो भीडले परमेश्‍वर र थुमालाई मुक्‍तिको श्रेय दिन्छन्‌

[पृष्ठ १२८-मा भएको चित्र]

थुमाले ठूलो भीडलाई जीवनका पानीहरूको फोहोरासम्म डोऱ्‍याउनु हुनेछ