सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

एउटा डरलाग्दो रहस्यको समाधान

एउटा डरलाग्दो रहस्यको समाधान

अध्याय ३४

एउटा डरलाग्दो रहस्यको समाधान

१. (क) त्यो महा वेश्‍या र उसको डरलाग्दो सवारी देखेर यूहन्‍नाले कस्तो प्रतिक्रिया व्यक्‍त गर्छन्‌ र किन? (ख) भविष्यवाणीरूपी दर्शनलाई पूरा गर्ने घटनाहरू आज घट्‌दै जाँदा यूहन्‍नावर्गले कस्तो प्रतिक्रिया व्यक्‍त गर्छन्‌?

 ती महा वेश्‍या र ऊ सवार भएकी डरलाग्दो जनावर देख्दा यूहन्‍नाले कस्तो प्रतिक्रिया व्यक्‍त गर्छन्‌? उनी स्वयं भन्छन्‌: “त्यसलाई देखेर म ज्यादै अचम्म लागेर छक्क परें।” (प्रकाश १७:६ख) यो कुनै मानिसले कल्पनै गर्न नसक्ने दृश्‍य थियो! टाढा—अनकन्टार उजाड स्थानमा—एउटी छाडा वेश्‍या चहकिलो रातो रङ्‌गको जनावरमाथि बसेकी छे! (प्रकाश १७:३) यो भविष्यवाणीरूपी दर्शन पूरा भएको देखेर आज यूहन्‍नावर्ग ज्यादै चकित हुन्छ। यसलाई देख्न सकेमा संसारका मानिसहरू पनि ‘असम्भव!’ भन्दै कराउने थिए। संसारका शासकहरूको विचारमा पनि यो ‘सोच्नै नसक्ने कुरा!’ हुने थियो। तर यही दर्शन हाम्रो समयमा एउटा आश्‍चर्यमय वास्तविकतामा परिणत हुन्छ। यस दर्शनको पूर्तिमा परमेश्‍वरका जनहरूले विशेष भाग पनि लिइसकेका छन्‌। तिनीहरू विश्‍वस्त छन्‌ कि यो भविष्यवाणी अब त्यसको विस्मयकर चरमोत्कर्षतर्फ अघि बढ्‌नेछ।

२. (क) यूहन्‍ना छक्क परेको देखेर स्वर्गदूतले उनलाई के भन्छन्‌? (ख) यूहन्‍नावर्गलाई कुन कुन कुरा कसरी प्रकट गरिएको छ?

यूहन्‍ना छक्क परेको स्वर्गदूतले पनि देख्छन्‌। “अनि” यूहन्‍ना भन्छन्‌ “ती दूतले मलाई भनें, ‘तिमीले किन अचम्म मान्यौ? त्यो स्त्री र त्यसलाई बोक्ने सात शिर र दस सीङ भएको जनावरको रहस्य म तिमीलाई भन्‍नेछु।” (प्रकाश १७:७) आहा! स्वर्गदूतले अब रहस्य खोलिदिनेछन्‌! उनले तीन छक्क परेका यूहन्‍नालाई दर्शनका विभिन्‍न पक्षहरू र हुनै लागेका प्रभावकारी घटनाहरू बुझाउने छन्‌। यस्तै गरी आज पनि स्वर्गदूतीय निरीक्षण अन्तर्गत काम गर्ने सजग यूहन्‍नावर्गलाई यो भविष्यवाणीको समझ प्रदान गरिएको छ। आखिर “सपनाको अर्थ त परमेश्‍वरकै हातमा हुँदैन र?” हो, अर्थ खोल्ने काम परमेश्‍वरकै हातमा हुन्छ भनी विश्‍वासी यूसुफ झैं हामी पनि विश्‍वस्त छौं। (उत्पत्ति ४०:८; दानियल २:२९, ३०-सित तुलना गर्नुहोस्‌।) परमेश्‍वरका जनहरूमाथि नै विशेष ध्यान केन्द्रित गर्दै यहोवाले यस दर्शनको अर्थ र यसले तिनीहरूको जीवनमा के कस्तो प्रभाव पार्नेछ, सो बुझाउनु हुन्छ। (भजन २५:१४) ठीक समयमै उहाँले तिनीहरूलाई त्यस स्त्री र जङ्‌गली जनावरको रहस्य खोलिदिनु भएको छ।—भजन ३२:८.

३, ४. (क) एन. एच. नोरद्वारा १९४२-मा कुन जनभाषण दिइयो र यसबाट चहकिलो रातो रङ्‌गको जनावरलाई कसरी ठम्याउन सकियो? (ख) स्वर्गदूतले यूहन्‍नालाई भनेका कुन शब्दहरूको छलफल एन. एच. नोरले गरे?

दोस्रो विश्‍व-युद्ध जोडतोडसित चलेको बेलामा यहोवाका साक्षीहरूले संयुक्‍त राज्य अमेरिकामा न्यु वर्ल्ड थियोक्रेटिक सम्मेलन १९४२-को सेप्टेम्बर १८ देखि २०-सम्म आयोजित गरे। मुख्य शहर क्लिवलैण्ड, ओहायोमा दिइएका भाषणहरू ५०-वटा अन्य सम्मेलन-शहरहरूमा पनि टलिफोनद्वारा सुनाउने व्यवस्था मिलाइएको थियो। यसले गर्दा जम्माजम्मी १,२९,६९९-व्यक्‍तिहरूले सुन्‍न सके। युद्धग्रस्त स्थितिले जहाँ सम्भव हुन्थ्यो, त्यहाँ सम्मेलनहरू आयोजित गर्दै सो कार्यक्रम संसारभरि दोहोराइयो। दोस्रो विश्‍वयुद्ध नै अन्ततः परमेश्‍वरको आरमागेडोनको युद्धमा परिणत हुनेछ भनी त्यतिखेर यहोवाका थुप्रै जनहरूले ठानेका थिए; त्यसैकारण त “पीस—क्यान इट लास्ट [शान्ति—के यो रहन सक्छ?] भन्‍ने आमभाषणको शीर्षकले धेरै जनामा जिज्ञासा जगायो। तर राष्ट्रहरूले शान्तिको ठीक विपरीत अनुभव गरिरहेको बेलामा वाच टावर सोसाइटीका नयाँ सभापति, एन. एच. नोर-ले शान्तिबारे भाषण दिने साहस किन गरे? a किनभने यूहन्‍नावर्गले भविष्यवाणीको वचनलाई “बढी उत्कट ध्यान” दिइरहेका थिए।—हिब्रू २:१; २ पत्रुस १:१९.

अतः “शान्ति—के यो रहन सक्छ?” भन्‍ने भाषणले भविष्यवाणीबारे अझ के ज्योति दिन सक्यो? प्रकाश १७:-मा उल्लिखित चहकिलो रातो रङ्‌गको जनावर नै राष्ट्र संघ हो भनेर स्पष्टसित औंल्याउँदै एन. एच. नोरले त्यसको उपद्रवी जीवनकालको छलफल गरे। यो छलफल स्वर्गदूतले यूहन्‍नालाई भनेका यी शब्दहरूमा आधारित थियो: “तिमीले देखेको त्यो जनावर हुनलाई ता थियो, तर छैन, र सत्यानाशमा जानालाई अगाध खाँदबाट त्यो आउनलागेको छ।”—प्रकाश १७:८क.

५. (क) कुन अर्थमा “त्यो जनावर हुनलाई त थियो तर छैन”? (ख) “राष्ट्र संघ अगाध खाँद मै रहने छ र?” भन्‍ने प्रश्‍नको जवाफ एन. एच. नोरले कसरी दिए?

“तिमीले देखेको त्यो जङ्‌गली जनावर हुनलाई ता थियो।” हो, जनवरी १०, १९२०-देखि राष्ट्र संघको रूपमा त्यो थियो। त्यसमा ६३ राष्ट्रहरूले समय समयमा भाग लिने गर्थे। तर त्यसबाट पालैपालो गरी जापान, जर्मनी र इटाली पछि हटे र पहिलेको सोभियत संघलाई चाहिं स रा स बाट हटाइयो। सेप्टेम्बर १९३९-मा जर्मनीको नाजीवाद तानाशाहले दोस्रो विश्‍व-युद्ध सुरु गऱ्‍यो। b विश्‍वमा शान्ति कायम राख्न असमर्थ भएर त्यो संघ मानौं निष्क्रियताको अगाध खाँदमा खस्यो। सन्‌ १९४२-सम्म त त्यो अतीतको कुरा भइसकेको थियो। यहोवाले पनि नता त्यो भन्दापछि न त्यो भन्दाअघि, तर ठीक त्यही सङ्‌कटकालीन घडीमै आफ्ना मानिसहरूलाई त्यस दर्शनको पूरा अर्थ खोलिदिनु भयो! न्यु वर्ल्ड थियोक्रेटिक सम्मेलनमा एन. एच. नोरले उक्‍त भाविष्यवाणीकै शब्द प्रयोग गर्दै भने कि “त्यो जनावर . . . छैन।” यसपछि उनले सोधे, “के यो संघ अब अगाध खाँदमै रहनेछ?” प्रकाश १७:८ उद्धृत गर्दै उनले स्वयं जवाफ दिए: “सांसारिक राष्ट्रहरूको यो संघ फेरि उठ्‌नेछ।” र त्यस्तै भयो पनि। यहोवाको भविष्यवाणीरूपी वचन सत्य प्रमाणित भयो!

अगाध खाँदबाट बाहिर निस्केको

६. (क) चहकिलो रातो रङ्‌गको जनावर अगाध खाँदबाट कहिले बाहिर निस्क्यो र कुन नयाँ नाउँ लिएर? (ख) संयुक्‍त राष्ट्र संघ वास्तवमा पुनःजागृत गराइएको चहकिलो रातो रङ्‌गको जनावर किन हो?

त्यो चहकिलो रातो रङ्‌गको जनावर अगाध-खाँदबाट साँच्चै नै बाहिर निस्क्यो। जून २६, १९४५-मा बडो धुमधामसाथ सानफ्रेनसिस्को, अमेरिकामा ५०-राष्ट्रहरूले संयुक्‍त राष्ट्र संघीय बडापत्रलाई आफ्नो स्वीकृति दिए। यस संघले “अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा” कायम राख्नु थियो। राष्ट्र संघ र संयुक्‍त राष्ट्र संघबीच थुप्रै समानताहरू थिए। द वर्ल्ड बूक इनसायक्लोपिडिया भन्छ: “प्रथम विश्‍व-युद्ध पश्‍चात्‌ सङ्‌गठित राष्ट्र संघ र संयुक्‍त राष्ट्र संघका केही पक्षहरू एकसमान छन्‌। . . . राष्ट्र संघ स्थापित गर्नमा सहयोग पुऱ्‍याउने थुप्रै राष्ट्रहरूले संयुक्‍त राष्ट्र संघको स्थापनामा पनि हात दिए। राष्ट्र संघझैं संयुक्‍त राष्ट्र संघ पनि राष्ट्रहरू बीच शान्ति कायम गर्न स्थापित गरिएको थियो। संयुक्‍त राष्ट्र संघका मुख्य अङ्‌गहरू प्रायः राष्ट्र संघका जस्तै छन्‌।” अतः, त्यही चहकिलो रातो रङ्‌गको जनावरको पुनःजागृत रूप स रा स हो। यसका झन्डै १९० सदस्य राष्ट्रहरू छन्‌ जबकि राष्ट्र संघमा मात्र ६३ सदस्य राष्ट्रहरू थिए; राष्ट्र संघभन्दा संयुक्‍त राष्ट्र संघका जिम्मेवारीहरू पनि धेरै नै विस्तृत छन्‌।

७. (क) पृथ्वीका बासिन्दाहरूले पुनःजागृत रातो रङ्‌गको जनावरको प्रशंसा कसरी गरेका छन्‌? (ख) संयुक्‍त राष्ट्र संघले कुन लक्ष्य प्राप्त गर्न सकेको छैन र यससम्बन्धमा त्यहाँको महा सचिवले के भने?

सुरुसुरुमा त संयुक्‍त राष्ट्र संघमाथि धेरै नै आशा राखिएको थियो। यो पनि स्वर्गदूतकै यी शब्दहरूको पूर्तिअनुरूप थियो: “औ पृथ्वीमा रहने जसको नाउँ संसारको उत्पत्तिदेखि जीवनको पुस्तकमा लेखिएको छैन, तिनीहरूले त्यो जनावर कसरी हुनालाई ता थियो, तर छैन,र पछि आउनेछ, सो देख्ता अचम्म मान्‍नेछन्‌।” (प्रकाश १७:८ख) न्यु योर्कको इस्ट रिवर स्थित शानदार मुख्य कार्यालयबाट सञ्चालित यो नयाँ र बृहत्‌ मूर्तिको जयजयकार पृथ्वीका बासिन्दाहरूले गरेका छन्‌। तर शान्ति र सुरक्षा चाहिं संयुक्‍त राष्ट्र संघको हात पर्न सकेको छैन। बीसौं शताब्दीको प्रायजसो समय विश्‍व शान्तिलाई MAD [निश्‍चित पारस्परिक विनाश]-को खतराले मात्र थामेर राख्यो। हात हतियारको होडबाजी आकासिन लागेको छ। संयुक्‍त राष्ट्र संघको करीब ४० वर्षको प्रयासपछि तत्कालीन सेक्रेटेरी जेनरल, जाविएर पेरेज ड कुलियारले १९८५-मा यसो भन्दै विलाप गरे: “हामी अझ पनि कट्टरपन्थीहरूको युगमा बाँचेका छौं र कसो गर्नु पर्ने हो, हामीलाई थाह छैन।”

८, ९. (क) संयुक्‍त राष्ट्र संघले विश्‍व समस्याहरूको समाधान किन गर्न सक्‍तैन र परमेश्‍वरको हुकुमबमोजिम त्यसलाई चाँडै नै के हुनेछ? (ख) संयुक्‍त राष्ट्र संघका संस्थापकहरू र प्रशंसकहरूको नाउँ परमेश्‍वरको “जीवनको पुस्तकमा” किन लेखिने छैन? (ग) यहोवाको राज्यले सफलतापूर्वक के सम्पन्‍न गर्ने छ?

जवाफ संयुक्‍त राष्ट्र संघसित छैन। र किन छैन? किनभने सारा मानिसजातिको जीवन दाता स रा स को जीवनदाता हुनुहुन्‍न। संयुक्‍त राष्ट्र संघको जीवनकाल छोटो हुनेछ। त्यो “सत्यानाशमा जानेछ” भनी परमेश्‍वरबाट हुकुम भैसकेको छ। संयुक्‍त राष्ट्र संघका संस्थापक र प्रशंसकहरूको नाउँ परमेश्‍वरको जीवनको पुस्तकमा लेखिएको छैन। जुन कुरा यहोवा परमेश्‍वरले उहाँको ख्रीष्टको राज्यद्वारा स्थापित गर्ने घोषणा गर्नु भएको छ, त्यो कुरा पापी, मरणशील र परमेश्‍वरको नाउँको गिल्ला समेत गर्ने मानिसहरूले संयुक्‍त राष्ट्र संघद्वारा कदापि गर्न सक्ने छैनन्‌!—दानियल ७:२७; प्रकाश ११:१५.

संयुक्‍त राष्ट्र संघ वास्तवमा शान्तिको राजकुमार येशू ख्रीष्ट अधीनस्थ परमेश्‍वरको कहिले अन्त नहुने मसीही राज्यको एउटा ईश्‍वरनिन्दक नकल मात्र हो। (यशैया ९:६, ७) संयुक्‍त राष्ट्र संघले एउटा अल्पकालीन र टालटुले शान्ति स्थापित गरे तापनि युद्ध फेरि भडकिनेछ। पापी मानिसको प्रवृत्ति नै यस्तो छ। “तिनीहरूको नाउँ संसारको उत्पत्तिदेखि जीवनको पुस्तकमा लेखिएको छैन।” ख्रीष्टद्वारा यहोवाको राज्यले पृथ्वीमा अनन्त शान्ति स्थापित गर्ने मात्र होइन। परमेश्‍वरको सम्झनामा रहेका धर्मी र अधर्मीहरू येशूको छुडौतीको बलिदानद्वारा बिउँताइने पनि छन्‌। (यूहन्‍ना ५:२८, २९; प्रेरित २४:१५) यसरी बिउँतनेहरू मध्ये तिनीहरू पनि समाविष्ट हुनेछन्‌ जसले शैतान र त्यसको सन्तानको आक्रमणको सामु आफ्नो आज्ञाकारिताको प्रमाण दिएका छन्‌ र अझ अरू पनि जसले आफ्नो आज्ञाकारिता देखाउन बाँकी नै छ। तर महान बेबिलोनका कट्टर समर्थकहरू अथवा त्यो जङ्‌गली जनावरलाई पूजा गर्न नछाड्‌नेहरूको नाउँ परमेश्‍वरको जीवनको पुस्तकमा कदापि हुनेछैन।—प्रस्थान ३२:३३; भजन ८६:८-१०; यूहन्‍ना १७:३; प्रकाश १६:२; १७:५.

शान्ति र सुरक्षा—एउटा निरर्थक आशा

१०, ११. (क) संयुक्‍त राष्ट्र संघले १९८६-मा के घोषणा गऱ्‍यो र यसको प्रतिक्रिया कस्तो थियो? (ख) शान्तिका लागि प्रार्थना गर्न इटालीको आसीसीमा कति वटा “धर्म सम्प्रदायहरू” भेला भए र परमेश्‍वरले के यस्ता प्रार्थनाहरू सुन्‍नु हुन्छ? व्याख्या गर्नुहोस्‌।

१० मानिसजातिको निभ्दो आशालाई जागा राख्ने प्रयास गर्दै, संयुक्‍त राष्ट्र संघले १९८६-लाई “अन्तर्राष्ट्रिय शान्ति वर्ष” घोषित गऱ्‍यो। ध्येय थियो: “मानवजातिको शान्ति र भविष्यको संरक्षण।” युद्धग्रस्त राष्ट्रहरूलाई कम्तिमा एक वर्षका लागि युद्धविराम गर्ने आह्वान दिइयो। तर यसको प्रतिक्रिया के भयो? अन्तर्राष्ट्रिय शान्ति अनुसन्धान संस्थानबाट प्राप्त एउटा रिपोर्टअनुसार, १९८६-मा मात्र ५० लाखभन्दा बढी मानिसहरू युद्धमा मारिए! एकाध विशेष सिक्काहरू र स्मरणीय टिकटहरू प्रकाशित गर्नुबाहेक धेरै जसो राष्ट्रहरूले त्यस सालमा शान्तिको आदर्श पछ्याउने कुनै खास कदम चालेनन्‌। तथापि सधैं नै संयुक्‍त राष्ट्र संघसित राम्रो सम्बन्ध कायम राख्न चाहने संसारका धर्महरूले चाहिं विभिन्‍न ढङ्‌गमा त्यस सालको महत्त्वबारे प्रचार गर्न थाले। संयुक्‍त राष्ट्र संघले गरेको आह्वानको प्रशंसा गर्दै जनवरी १, १९८६-मा पोप जॅन पौलले सो नयाँ वर्षलाई शान्तिको नाउँमा अर्पित गरी दिए। यसपछि अक्टोबर २७-को दिन उनले विश्‍वभरिका धर्मका अगुवाहरूलाई आसीसी, इटालीमा शान्तिका लागि प्रार्थना गर्न निम्ताए।

११ के परमेश्‍वरले शान्तिका निम्ति गरिएका यस्ता प्रार्थनाहरू सुन्‍नु हुन्छ? सोच्नुहोस्‌, यी धार्मिक अगुवाहरूले कुन चाहिं परमेश्‍वरलाई प्रार्थना गरिरहेका थिए? तिनीहरूलाई सोध्नु भएमा प्रत्येकबाट बेग्लाबेग्लै जवाफ पाउनु हुने थियो। तर यी विभिन्‍न ढङ्‌गमा गरिएका प्रार्थनाहरू सुनी दिने के वास्तवमा लाखौं देवताहरू छन्‌ र? त्यहाँ उपस्थित धेरैले मसीहीजगतको त्रीएक c भगवानको उपासना गर्थे। बौद्ध, हिन्दू र अन्य धर्मावलम्बीहरूले चाहिं अनगन्ती देवताहरूको नाउँमा प्रार्थना जपे। जम्माजम्मी १२ वटा बेग्लाबेग्लै “धर्म सम्प्रदायहरू” त्यहाँ भेला भए। तिनीहरूलाई केन्टरबेरीको एङ्‌गलीकन आर्कबिशप, बौद्धधर्मको दलाइ लामा, रूसी कट्टरपन्थी सम्प्रदायको एकजना अगुवा, टोकियोको शिन्टो मन्दिर संघको सभापति, अफ्रिकी आत्मवादीहरू र प्वाँखहरूको शिरपोस लगाएका दुई जना रेड इन्डियनहरू जस्ता प्रतिष्ठित व्यक्‍तिहरूले प्रतिनिधित्व गरे। त्यो साँच्चै नै एउटा रङ्‌गीन जमघट थियो। टिभीका लागि खूबै दृश्‍यात्मक। एउटा धार्मिक समूहले त एकछिन पनि नरोकिकन १२ घण्टासम्मै प्रार्थना गरी रह्‌यो। (लूका २०:४५-४७-सित तुलना गर्नुहोस्‌।) तर के तीमध्येको कुनै एउटै प्रार्थना पनि त्यहाँ भेला हुनेहरूमाथि मडारिएका बाक्ला मेघहरूसम्म पुग्न सक्यो र? सकेन र त्यसका कारणहरू यसप्रकार छन्‌:

१२. शान्ति स्थापनाका लागि विश्‍व धर्मगुरुहरूले गरेका प्रार्थनाहरूलाई परमेश्‍वरले किन सुन्‍नु भएन?

१२ “परमप्रभुको नाउँमा हिंड्‌नेहरू”-को ठीक विपरीत त्यहाँ उपस्थित एक जनाले पनि जीवित परमेश्‍वर यहोवालाई प्रार्थना गरेको थिएन, जसको नाउँ बाइबलको मूल पाठमा करीब ७,००० पटक देखा पर्दछ। (मीका ४:५; यशैया ४२:८, १२) d सामूहिक तवरमा तिनीहरूले परमेश्‍वरलाई येशूको नाउँद्वारा पुकारेनन्‌। त्यहाँ उपस्थित धेरै जसोले त येशू ख्रीष्टमाथि विश्‍वास समेत गर्दैन थिए। (यूहन्‍ना १४:१३; १५:१६) तिनीहरूमध्ये कसैले पनि परमेश्‍वरको इच्छा गरेका थिएनन्‌। किनकि मानिसजातिको एक मात्र आशा संयुक्‍त राष्ट्र संघ नभएर परमेश्‍वरको राज्य हो भनी विश्‍वभरि घोषणा गर्नु आज परमेश्‍वरको इच्छा गर्नु हो। (मत्ती ७:२१-२३; २४:१४; मर्कूस १३:१०) तर यसो गर्नुको सट्टा ती धर्मसङ्‌गठनहरू २० औं शताब्दीका दुइटा विश्‍व-युद्धहरू लगायत इतिहासका सबैभन्दा रक्‍तरञ्जित लडाइँहरूमा ग्रस्त भएका छन्‌। यस्ताहरूलाई परमेश्‍वर भन्‍नुहुन्छ: “तिमीहरूले ज्यादै प्रार्थना गर्दा पनि म सुन्‍नेछैनँ। तिमीहरूका हात रगतले भरिएका छन्‌।”—यशैया १:१५; ५९:१-३.

१३. (क) शान्तिको आह्वान गर्दा विश्‍वका धर्मगुरुहरूले संयुक्‍त राष्ट्र संघसित हात मिलाउनु किन अर्थपूर्ण हो? (ख) शान्तिका लागि गरिएका यी पुकारहरू ईश्‍वरद्वारा अग्रघोषित्‌ कुन चरमोत्कर्षमा टुङ्‌गिने छन्‌?

१३ यसबाहेक, विश्‍वका धर्मगुरुहरूले संयुक्‍त राष्ट्र संघसित मिलेर ठीक यति बेला शान्तिको आह्वान दिनु अति नै अर्थपूर्ण छ। संयुक्‍त राष्ट्र संघलाई प्रभावित पारेर तिनीहरू त्यसको फायदा उठाउन चाहन्छन्‌। खासगरी यो आधुनिक युगमा जब तिनीहरूका धेरै मानिसहरूले धर्मलाई त्यागी रहेछन्‌। यी धर्मगुरुहरूले पनि प्राचीन इस्राएलका अविश्‍वासी अगुवाहरूले झैं “शान्ति नहुँदा पनि ‘शान्ति, शान्ति!’ ” भन्दै हिंड्‌छन्‌। (यर्मिया ६:१४) शान्तिका लागि तिनीहरूको पुकार त्यो चरमोत्कर्षसम्मै निःसन्देह बढ्‌दै जानेछ जसबारे प्रेरित पावलले यसप्रकार अग्रिमवाणी गरेका छन्‌: “प्रभुको दिन ता रातमा चोर आएझैं आउनेछ। जब मानिसहरूले शान्ति र सुरक्षित भनिरहेको हुन्छन्‌, तब सुत्केरी हुने स्त्रीलाई बेथा लागेझैं अचानकसँग तिनीहरूमाथि विनाश आइलाग्छ, र तिनीहरू कुनै रीतिले उम्कनेछैनन्‌।”—१ थिस्सलोनिकी ५:२, ३.

१४. “शान्ति र सुरक्षित” भन्‍ने पुकारले के रूप धारण गर्न सक्छ र त्यसबाट भ्रममा नपर्नका लागि के गर्नु पर्छ?

१४ हालका वर्षहरूमा राजनीतिज्ञहरूले विभिन्‍न मानव योजनाहरूको वर्णन गर्न ‘शान्ति र सुरक्षा’ भन्‍ने अभिव्यक्‍ति चलाएका छन्‌। विश्‍वका नेताहरूद्वारा गरिएको त्यस्तो प्रयासले १ थिस्सलोनिकी ५:३ को भविष्यवाणी पूर्तिको सुरुवात्‌लाई देखाउँछ? अथवा पावलले संसारकै ध्यान खिच्ने त्यस्तो एउटा नाटकीय घटनालाई मात्र औंल्याउँदै थिए? बाइबल भविष्यवाणीहरू पूरा भइसकेपछि वा पूरा हुने क्रममा मात्रै अक्सर पूरै बुझिने भएकोले त्यसको लागि हामीले पर्खेरै हेर्नुपर्नेछ। त्यतिन्जेल, राष्ट्रहरूले शान्ति र सुरक्षा हासिल गरेको जस्तो देखिए तापनि वास्तवमा केही पनि बद्‌लेको हुनेछैन भनी मसीहीहरूलाई थाह छ। स्वार्थ, घृणा, अपराध, पारिवारिक जीवनको ह्रास, अनैतिकता, रोग, शोक र मृत्यु यथावत रहनेछन्‌। त्यसैकारण तपाईं विश्‍व घटनाहरूबारे सचेत रहनु भयो र परमेश्‍वरका भविष्यवाणीरूपी चेताउनीहरूलाई ध्यान दिनुभयो भने ‘शान्ति र सुरक्षा’ भनी जत्ति नै कराए तापनि तपाईं भ्रममा पर्नुहुने छैन।—मर्कूस १३:३२-३७; लूका २१:३४-३६.

[फुटनोटहरू]

a जनवरी ८, १९४२-मा जे. एफ. रदरफर्डको मृत्युपछि एन. एच. नोर वाच टावर सोसाइटीका सभापति भए।

b नोभेम्बर २०, १९४०-मा जर्मनी, इटाली, जापान र हङ्‌गेरीले एउटा “नयाँ राष्ट्र संघ” आयोजित गर्ने दरखास्त प्रस्तुत गरे। यसको चार दिनपश्‍चात्‌ भेटिकनबाट धार्मिक शान्ति र नयाँ व्यवस्थाका लागि मास (क्याथोलिक धार्मिक विधि) र प्रार्थना प्रसारित गरियो। तर यो “नयाँ संघ” एउटा वास्तविकतामा कहिले परिणत हुन सकेन।

c त्रीएक शिक्षाको सुरुआत प्राचीन बेबिलोनमा भएको थियो। त्यहाँ सूर्य देव शामाश, जून देव सिन र तारा देव इश्‍तारलाई त्रिमूर्तिको रूपमा पुज्ने गरिन्थ्यो। त्यसरी नै मिस्रमा पनि ओसिरीस, आइसिस्‌ र होरस्‌को उपासना गरिन्थ्यो। अश्‍शूरीहरूको मुख्य भगवान अश्‍शूरको पनि तीनवटा शिर देखाइएको छ। सोही नमुनाको नकल गर्दै क्याथोलिक चर्चहरूमा पनि तीनवटा शिर हुने परमेश्‍वरका मूर्तिहरू पाइन्छन्‌।

d वेब्स्टर्स थर्ड न्यु इन्टरनेश्‍नल डिक्शनरी, १९९३-अनुसार यहोवा परमेश्‍वर “सर्वोच्च भगवान र यहोवाका साक्षीहरूले स्वीकारेको एक मात्र ईश्‍वर हुनुहुन्छ।”

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ २५०-मा भएको पेटी]

“शान्ति”को विरोधाभास

संयुक्‍त राष्ट्र संघले १९८६-लाई अन्तर्राष्ट्रिय शान्ति वर्ष घोषित गरे तापनि आत्मविनाशक हातहतियारको होडबाजी झन बढ्यो। वर्ल्ड मिलिटेरी एण्ड सोसियल एक्सपेन्डीचर्स १९८६-बाट यी सोचनीय तथ्यहरू प्राप्त भएका छन्‌:

१९८६-मा विश्‍वव्यापी सैनिक खर्च ९० हजार करोड डलर थियो।

रोकथाम गर्न सकिने संक्रामक रोगहरूबाट प्रत्येक साल मर्ने ३५ लाख मानिसहरूलाई ती रोगहरूबाट प्रतिरक्षा प्रदान गर्न एक घण्टाको विश्‍वव्यापी सैनिक खर्च मात्र पनि पर्याप्त हुने थियो।

विश्‍वभरि प्रत्येक पाँच जना व्यक्‍तिमध्ये एकले अधम गरीबीमा जीवन बिताइरहेको थियो। विश्‍वले हात-हतियारका लागि गर्ने दुई दिनको खर्च यी जम्मै भोका मानिसहरूलाई सालभरि खुवाउन यथेष्ट हुने थियो।

विश्‍वभरि थुपारिएका आणविक हतियारहरूको विष्फोटन शक्‍ति चर्नोबिलको विष्फोटनभन्दा १६,००,००,०००-गुना शाक्‍तिशाली थियो।

हिरोशिमामाथि १९४५-मा खसालिएको बमभन्दा ५०० गुना बढी विष्फोटन शक्‍ति भएको एउटै आणविक बम खसाल्न सकिन्थ्यो।

आणविक शस्रागारहरूमा दश लाखभन्दा धेरै हिरोशिमा काण्ड गर्ने शक्‍ति लुकेको थियो। ३ करोड ८० लाखभन्दा बढी मानिसहरू मार्ने दोस्रो विश्‍व-युद्धमा प्रयोग गरिएको विष्फोटक शक्‍तिभन्दा यो २,७०० गुना शक्‍तिशाली थियो।

युद्धहरू थुप्रै मात्र होइन तर धेरै नै घातक हुन थालेको थियो। १८-औं शताब्दीमा युद्धमा मारिएकाहरूको संख्या जम्माजम्मी ४४ लाख र १९-औं शताब्दीमा ८३ लाख थियो। तर २०-औं शताब्दीको सुरुको ८६ वर्षभित्र नै ९ करोड र ८८ लाख मरी सकेका छन्‌। १८-औं शताब्दीदेखि यता युद्धमा मर्नेहरूको संख्या विश्‍व जनसंख्याभन्दा ६ गुना बढेको छ। १९-औं शताब्दीमा भन्दा २०-औं शताब्दीमा प्रति युद्ध १० गुना बढी मानिसहरू मारिएका थिए।

[पृष्ठ २४७-मा भएको चित्र]

चहकिलो रातो रङ्‌गको जनावरबारे गरिएको भविष्यवाणीअनुसार, दोस्रो विश्‍व युद्धको दौडान चहकिलो रातो रङ्‌गको जनावर अगाध खाँदमा गयो तर त्यसलाई फेरि संयुक्‍त राष्ट्र संघको रूपमा पुनःजागृत गरियो।

[पृष्ठ २४९-मा भएको चित्र]

संयुक्‍त राष्ट्र संघको “शान्ति वर्ष”को समर्थन गर्दै विश्‍वका धार्मिक प्रतिनिधिहरूले आसीसी, इटालीमा थरीथरीका प्रार्थनाहरू चढाए। तर तीमध्ये एउटै प्रार्थना पनि जीवित परमेश्‍वर यहोवालाई चढाइएन।