सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

एउटा पवित्र रहस्य उघारिन्छ

एउटा पवित्र रहस्य उघारिन्छ

अध्याय ६

एउटा पवित्र रहस्य उघारिन्छ

१. प्रकाश १:१०-१७ को चहकदार चित्रले हामीमा के कस्तो प्रतिक्रिया जगाउनु पर्छ?

 सम्मानित येशूको यो दर्शन वास्तवमा कति भयङ्‌कर छ! हामी पनि प्रेरित यूहन्‍नासित त्यहाँ दर्शक हुँदो हौं त त्यो प्रभावशाली महिमा देखेर हामी पनि विह्वल हुने थियौं। यूहन्‍ना जस्तै साष्टाङ्‌ग घोप्टो पर्ने थियौं। (प्रकाश १:१०-१७) हामीलाई आज सक्रिय हुने प्रेरणा दिनका लागि त्यो सर्वोत्कृष्ट दर्शन साँचेर राखिएको हो। यूहन्‍नाले जस्तै हामीले पनि त्यो दर्शनको सम्पूर्ण अर्थको मोल गर्नुपर्छ। हाम्रो पदासीन राजा, प्रधानपूजारी र न्यायाधीश येशूको हामी सधैं गहिरो श्रद्धा गरौं।—फिलिप्पी २:५-११.

“आदि र अन्त”

२. (क) येशूले आफूलाई को भनेर प्रस्तुत गर्नु हुन्छ? (ख) यहोवाले “म नै पहिलो र पछिल्लो हुँ” भन्‍नुको अर्थ के हो? (ग) “आदि र अन्त” भन्‍ने येशूको पदले कुन कुरातिर हाम्रो ध्यान आकर्षित गराउँछ?

तथापि, हाम्रो यो धक डरमा परिणत हुनु नपर्ने हो। येशूले यूहन्‍नालाई शान्त पार्नु भएको कुरा उनी अब भन्छन्‌: “औ उहाँले आफ्नो दाहिने बाहुली यसो भनेर ममाथि राख्नुभयो, ‘नडराऊ, आदि र अन्त, औ जीवित चाहिं मै हुँ।’ ” ( प्रकाश १:१७ख, १८क) यहोवा एकमात्र सर्वशक्‍तिमान परमेश्‍वर हुनुहुन्छ र यसबारे उहाँ स्वंयले यशैया ४४:६ मा यसो भन्‍नु भएको छ: “मनै पहिलो र पछिल्लो हुँ, मबाहेक अरू परमेश्‍वर छैन।” a तर येशूले आफूलाई “आदि र अन्त” भन्‍नुको अर्थ उहाँले आफूलाई महान सृष्टिकर्ता, यहोवा तुल्य पार्न खोज्नु भएको होइन। साँचो परमेश्‍वरले उहाँलाई प्रदान गर्नु भएको पदको उहाँले प्रयोग मात्र गर्नु भएको हो। तर यशैयाको पुस्तकमा यहोवाले चाँहि उहाँ एकमात्र साँचो परमेश्‍वर हुनुहुन्छ भन्‍ने तथ्यलाई जोड दिनु हुँदै थियो। उहाँ नै सनातनको परमेश्‍वर हुनुहुन्छ र उहाँ बाहेक अरू कुनै परमेश्‍वर छैन। (१ तिमोथी १:१७) तर प्रकाशको पुस्तकमा येशूले आफूलाई प्रदान गरिएको पद र आफ्नो पुनरुत्थानतर्फ ध्यान आकर्षित गर्दै हुनुहुन्छ।

३. (क) येशू कसरी “आदि र अन्त” हुनुभयो? (ख) येशूसित “मृत्यु र पातालका साँचाहरू” छन्‌ भनेको अर्थ के हो?

अमर आत्मिक जीवनमा पुनरुत्थान पाउनु हुने “प्रथम मानव” वास्तवमा येशू नै हुनुहुन्थ्यो। (कलस्सी १:१८) साथै, स्वयं यहोवाले यसरी बिउँताउनु हुने “अन्तिम” व्यक्‍ति पनि उहाँ नै हुनुहुन्छ। यसप्रकार उहाँ “सधैंको निम्ति जीवित” हुनुहुन्छ। उहाँले अमरत्वको आनन्द उठाउन सक्नुहुन्छ। यसर्थ उहाँ आफ्नो अमर पिता जस्तै हुनुहुन्छ जसलाई “जीवित परमेश्‍वर” पनि भनिन्छ। (प्रकाश ७:२; भजनसंग्रह ४२:२) सारा मानवपरिवारका लागि चाहिं येशू स्वयं “जीवन र पुनरुत्थान” हुनुहुन्छ। (यूहन्‍ना ११:२५) त्यसैकारण यूहन्‍नालाई उहाँ यसो भन्‍नुहुन्छ: “म मरेको थिएँ, हेर, म सधैंको निम्ति जीवित छु, औ मृत्यु र पातालका साँचाहरू मसँग छन्‌।” ( प्रकाश १:१८ख) उहाँलाई यहोवाले मरेकाहरूलाई बिउँताउने अधिकार दिनु भएको छ। यसैकारण त मृत्यु र हेडिसको (चिहान) बन्धनमा परेकाहरूलाई मुक्‍त पार्ने साँचाहरू उहाँसितै छन्‌ भनेर येशू भन्‍न सक्नुहुन्छ।—मत्ती १६:१८-सित तुलना गर्नुहोस्‌.

४. येशूले कुन आदेश दोहोऱ्‍याउनु हुन्छ र कसको हितका लागि?

दर्शनलाई लिपिबद्ध गर्ने आदेशलाई दोहोऱ्‍याउँदै येशू यहाँ यूहन्‍नालाई फेरि यसो भन्‍नु हुन्छ: “तिमीले देखेका कुराहरू, भएका कुराहरू, र यसपछि हुनआउने कुराहरू . . . लेख।” ( प्रकाश १:१९) हाम्रो शिक्षाका लागि यूहन्‍नाले अझ कुन कुन रोमाञ्चकारी कुराहरू प्रकट गर्नेछन्‌?

ताराहरू र सामदानहरू

५. “सात तारा” र “सात सामदान” को व्याख्या येशूले कसरी गर्नुहुन्छ?

येशू आफ्नो दाहिने हातमा सात वटा तारा लिएर सात वटा सामदानहरूको माझमा हिंड्‌नु भएको यूहन्‍नाले देखेका छन्‌। (प्रकाश १:१२, १३, १६) त्यसको अर्थ येशू यहाँ बताउनु हुन्छ: “मेरो दाहिने हातमा तिमीले देखेका यी सात तारा र सुनका यी सात सामदानको रहस्य लेख। सात तारा सात मण्डलीका दूतहरू र सातवटा सामदानचाहिं सात मण्डली हुन्‌।”—प्रकाश १:२०.

६. सात ताराहरूले के लाई चित्रित गर्छन्‌ र येशूको सन्देशमा खास तिनीहरूलाई नै किन सम्बोधन गरिएको छ?

“ताराहरू” भनेको “सात मण्डलीका दूतहरू” हुन्‌। प्रकाशको पुस्तकमा ताराहरूले कहिलेकाहीं साँच्चैका स्वर्गदूतहरूलाई चित्रित गर्छन्‌। तर येशूले अदृश्‍य आत्मिक व्यक्‍तिहरूलाई खबर पठाउँनु हुँदा कदापि पनि कुनै मानवीय लेखनदासलाई प्रयोग गर्नु हुने थिएन। तसर्थ “ताराहरू” भनेको मण्डलीका मानवीय निरीक्षकहरू अथवा प्राचीनहरू नै हुनुपर्छ। b यी सन्देशहरूमा ताराहरूलाई सम्बोधन गरिएको छ किनकि यहोवाको झुण्डको रेखदेख गर्ने जिम्मेवारी यिनीहरूलाई नै सुम्पिएको हुन्छ।—प्रेरित २०:२८.

७. (क) येशूले प्रत्येक मण्डलीमा एक जना स्वर्गदूतसित मात्र कुरा गर्नु भएकोले प्रत्येक मण्डलीमा एउटा प्राचीन मात्र छ भन्‍नु किन मिल्दैन? (ख) येशूको दाहिने हातमा भएका सात ताराहरूले वास्तवमा कसलाई चित्रित गर्छन्‌?

प्रत्येक मण्डलीमा एक मात्र प्राचीन हुनाकारण येशूले पनि मण्डलीको एक मात्र “स्वर्गदूत” सित कुरा गर्नु भएको हो कि? होइन्‌। पावलको समयमा पनि एफिसी मण्डलीमा एक जना मात्र होइन, थुप्रै प्राचीनहरू थिए। (प्रकाश २:१; प्रेरित २०:१७) अतः यूहन्‍नाको समयमा सबै मण्डलीहरूलाई (एफिसस लगायत) पढेर सुनाउने खबर ती सात वटा ताराहरूलाई पठाइँदा, ती सात ताराहरूले अवश्‍य पनि यहोवाको अभिषिक्‍त मण्डलीमा सेवा गर्ने जम्मै प्राचीनहरूलाई चित्रित गरेको हुनुपर्छ। यी प्राचीनहरू आज पनि येशूको नेतृत्वमा सेवा गर्छन्‌। परिचालक निकायका अभिषिक्‍त निरीक्षकहरूले पठाएका पत्रहरूलाई मण्डलीका निरीक्षकहरूले सारा मण्डलीलाई पढेर सुनाउँछन्‌। येशूको सरसल्लाहलाई आ-आफ्नो मण्डलीले अनुसरण गरेको छ-छैन, सो स्थानीय प्राचीनहरूको समूहले पता लाउनु पर्छ। किनकि उक्‍त सल्लाह मण्डलीका प्राचीनहरूका लागि मात्र नभएर सारा मण्डलीको फायदाका लागि हो।—प्रकाश २:११क हेर्नुहोस्‌।

८. प्राचीनहरू येशूको दाहिने हातमा हुनु कुन कुराको प्रतीक हो?

येशू मण्डलीको सिर हुनु भएकोले प्राचीनहरू स्वभाविकतः उहाँको दाहिने हातमा अर्थात्‌ उहाँको नियन्त्रण र निर्देशनको अधीनमा हुन्छन्‌। (कलस्सी १:१८) येशू प्रमुख गोठालो हुनुहुन्छ र तिनीहरू चाहिं उप-गोठालाहरू हुन्‌।—१ पत्रुस ५:२-४.

९. (क) सात सामदानहरूले कुन कुराको प्रतिनिधित्व गर्छन्‌ र तिनका लागि सामदानहरू किन एउटा उपयुक्‍त प्रतीक हुन्‌? (ख) यो दर्शन देखेर यूहन्‍नालाई सम्भवतः कुन कुराको सम्झना भएको हुन सक्छ?

सात वटा सामदान भनेको सात वटा मण्डलीहरू हुन्‌ र प्रकाशको पुस्तकमा यूहन्‍नाले यी मण्डलीहरू अर्थात्‌ एफिसस, स्मर्ना, पर्गामम, थिआटायरा, सार्डिस, फिलाडेल्फिया र लाओडिसियालाई नै सम्बोधन गरेका छन्‌। सामदानलाई मण्डलीहरूको प्रतीकको रूपमा किन प्रयोग गरिएको हो? किनभने मसीहीहरूले यो अन्धकारमय संसारमा दुवै व्यक्‍तिगत र सामूहिक तवरले ‘आफ्नो ज्योति मानिसहरूको सामु चम्काउन’ परेको छ। (मत्ती ५:१४-१६) यसको अलावा सुलेमानको मन्दिर पनि सामदानहरूले सुसज्जित थियो। मण्डलीहरूलाई सामदानहरूसित तुलना गर्दा अभिषिक्‍त जनहरूको प्रत्येक मण्डली पनि प्रतीकात्मक रूपमा “परमेश्‍वरको मन्दिर” अथवा परमेश्‍वरको आत्माको बासस्थान जस्तै हो भन्‍ने कुराको सम्झना यूहन्‍नालाई हुन सक्थ्यो। (१ कोरिन्थी ३:१६) तर यति मात्र होइन। यहूदी मन्दिरद्वारा चित्रित महान व्यवस्था अथवा परमेश्‍वरको महान आत्मिक मन्दिरमा अभिषिक्‍त जनहरूको मण्डलीले “राजकीय पूजारीगिरी” को हैसियतमा सेवा गर्छ। यस प्रबन्धको प्रधान पूजारी येशू हुनुहुन्छ र यसको स्वर्गीय पवित्र स्थानमा चाहिं स्वयं यहोवा विराजमान हुनुहुन्छ।—१ पत्रुस २:४, ५, ९; हिब्रू ३:१; ६:२०; ९:९-१४, २४.

विशाल धर्मत्याग

१०. यहूदी समाज र अपश्‍चातापीहरूका समर्थकहरूलाई सा. यु. ७० मा के भयो?

१० यूहन्‍नाले प्रकाशको पुस्तक लेख्दा मसीही धर्म सुरु भएको ६० वर्षभन्दा बढी भइ सकेको थियो। सुरुसुरुका ४० वर्षसम्म त यसले यहूदी धर्मको विरोधलाई सफलतापूर्वक सामना गऱ्‍यो। तर सा.यु. ७०-मा यहूदी व्यवस्थाले एउटा घातक प्रहार अनुभव गऱ्‍यो। ती अपश्‍चातापी यहूदीहरूले आफ्नो राष्ट्रिय अस्तित्व र मूर्ति सरह ठीङ्‌ग उभिएको यरूशलेम मन्दिर समेत गुमाए।

११. मण्डलीहरूमा बढ्‌दै गइरहेका मनोवृत्तिहरूबारे प्रमुख गोठालाले चेताउनी दिन किन समयानुकूल थियो?

११ तथापि, अभिषिक्‍त मसीहीहरू बीच पनि धर्मत्याग हुनेछ भनेर प्रेरित पावलले अग्रिमवाणी गरेका थिए। यस बाहेक, यूहन्‍नाको बृद्धावस्थामा यो धर्मत्याग बढ्‌दै गएको कुरा येशूले दिनु भएको सन्देशहरूमा पनि झल्किन्छ। स्त्रीको सन्तानलाई भ्रष्ट पार्ने शैतानको उत्कट प्रयासका आखिरी प्रतिरोधकहरूमध्ये यूहन्‍ना पनि एक जना थिए। (२ थिस्सलोनिकी २:३-१२; २ पत्रुस २:१-३; २ यूहन्‍ना ७-११) अतः त्यहाँ बढ्‌दै गएको मनोवृत्तिबारे मण्डलीका प्राचीनहरूलाई परमेश्‍वरद्वारा नियुक्‍त प्रमुख गोठालाले सतर्क गराउन र धार्मिक मनोवृत्ति हुनेहरूलाई धार्मिकताका लागि दृढ हुन प्रोत्साहन दिन समयानुकूल थियो।

१२. (क) यूहन्‍ना पछिका शताब्दीहरूमा धर्मत्यागको विकास कसरी हुँदै गयो? (ख) मसीहीजगतको सुरुआत कसरी भयो?

१२ सा.यु. ९६ मा ती मण्डलीहरूले येशूको सन्देशबारे के कस्तो प्रतिक्रिया व्यक्‍त गरे, सो हामी जान्दैनौं। तर यूहन्‍नाको मृत्युपश्‍चात्‌ धर्मत्याग चाँडचाँडो बढ्‌न थाल्यो, यो चाहिं हामी जान्दछौं। “मसीहीहरूले” यहोवाको नाउँको प्रयोग गर्न छाडे। त्यसको ठाउँमा तिनीहरूले बाइबलका हस्तलिपिहरूमा “प्रभु” अथवा “परमेश्‍वर” राख्न थाले। चौथो शताब्दीसम्ममा त मण्डलीहरूमा त्रिएकको झूटो शिक्षाले प्रवेश गरिसकेको थियो। यसै बेलामा अमर आत्माको शिक्षालाई अपनाउने सुरसार पनि भइरहेको थियो। अन्ततः रोमी सम्राट कन्स्टनटाइनले “मसीही” धर्मलाई मान्यता दियो। यसप्रकार मसीहीजगत फस्टाउन थाल्यो जहाँ गिर्जा र राष्ट्र मिलेर एक हजार वर्षसम्म राज्य गरे। नयाँ ढाँचाको “मसीही” हुन सजिलो भयो। थुप्रै कुलहरूले आफ्नो पुरानो गैर-मसीही धर्म शिक्षाहरूलाई यो नयाँ धर्मको विचारधारासित मिसाउन थाले। मसीहीजगतका थुप्रै अगुवाहरू क्रूर राजनैतिक तानाशाहहरू भए। तिनीहरूले तरवारको बलमा मानिसहरूलाई धर्मत्यागी शिक्षाहरू पालन गर्न बाध्य पारे।

१३. येशूले पाखण्डीहरूबारे चेताउनी दिनु हुँदा हुँदै पनि धर्मत्यागी मसीहीहरूले कुन मार्ग अपनाए?

१३ येशूले ती सात मण्डलीहरूलाई पठाउनु भएको समाचारलाई ती धर्मत्यागी मसीहीहरूले ध्यानै दिएनन्‌। येशूले एफिसीहरूलाई आफ्नो पुरानो प्रेम पुनःजागृत गराउन भन्‍नु भएको थियो। (प्रकाश २:४) तर मसीहीजगतका सदस्यहरू यहोवाको प्रेमको बन्धनमा एक हुन छाडे। तिनीहरूले क्रूर युद्धहरू लडे र कठोरतासाथ एकअर्कालाई सताए। (१ यूहन्‍ना ४:२०) येशूले पर्गाममको मण्डलीलाई पाखण्डीहरू देखि सतर्क गराउनु भएको थियो। तर दोस्रो शताब्दीमै अनेक सम्प्रदायहरू देखा परे र आज मसीहीजगत भित्र नै आपस्तमा झगडा गर्ने हजारौं धर्म-सम्प्रदायहरू छन्‌।—प्रकाश २:१५.

१४. (क) येशूले आध्यात्मिक मृत्युबारे सतर्क गराउनु भएपछि पनि मसीही भनौंदाहरूले कुन मार्ग अपनाए? (ख) मूर्तिपूजा र अनैतिकताको विरुद्धमा येशूले दिनु भएको चेताउनीको बेवास्ता मसीही भनौंदाहरूले कसरी गरे?

१४ येशूले सार्डिसको मण्डलीलाई आत्मिक मृत्युबारे सतर्क गराउनु भएको थियो। (प्रकाश ३:१) तर सार्डिस मण्डलीकाहरूले जस्तै मसीही भनौंदाहरूले पनि मसीही कामकुरालाई चाँडै बिर्सिहाले। तिनीहरूले प्रचार कार्य जस्तो महत्त्वपूर्ण काम पनि तलब खाने पादरीहरूको सानो समूहलाई जिम्मा लगाइ दिए। येशूले थिआटायराको मण्डलीलाई मूर्तिपूजा र व्यभिचारबारे सतर्क गराउनु भएको थियो। (प्रकाश २:२०) तर मसीहीजगतले चाहिं मूर्तिहरूको प्रयोगलाई खुलेआम अनुमति दियो। मूर्तिपूजाको अर्को छली रूप राष्ट्रियता र भौतिकवादलाई पनि मसीहीजगतले समर्थन गरेको छ। र अनैतिकताको विरुद्धमा कहिलेकाहीं भाषणहरू दिने गरिए तापनि त्यसलाई व्यापक रूपमा मान्यता दिंदै आएको छ।

१५. येशूले सात मण्डलीहरूलाई पठाउनु भएको सन्देशद्वारा मसीहीजगतका धर्महरूको कुन चाहिं कुराको पर्दाफास गुर्न हुन्छ र मसीहीजगतका पादरी वर्ग के साबित भएका छन्‌?

१५ तसर्थ मसीहीजगतका जम्मै धर्महरू यहोवाका विशेष जनहरू हुन असफल भएको कुरा येशूले सात वटा मण्डलीहरूलाई पठाउनु भएको सन्देशबाट प्रष्ट हुन्छ। वास्तवमा, मसीहीजगतको पादरीवर्ग शैतानको सन्तानको प्रमुख सदस्य साबित भएको छ। यस पादरीवर्गलाई ‘अधर्मीहरू’ भनी सम्बोधन गर्दै यिनीहरूको “आगमन शैतानको काम बमोजिम, सबै शक्‍ति, झूटा चिह्नहरू र आश्‍चर्यकामहरूसँग” हुनेछन्‌ भनेर प्रेरित पावलले अग्रिमवाणी गरे।—२ थिस्सलोनिकी २:९, १०.

१६. (क) मसीहीजगतका अगुवाहरूले कसको विरुद्धमा खास घृणा व्यक्‍त गरे? (ख) मसीहीजगतमा मध्यकालीन युगहरूको दौडान के के भयो? (ग) प्रोटेस्टेन्ट विद्रोह अथवा धार्मिक संशोधनले पनि मसीहीजगतको धर्मत्यागी गतिविधिमा के कुनै सुधार ल्याउन सक्यो?

१६ मसीहीजगतका सामाजिक र धार्मिक दुवै अगुवाहरूले एकातिर परमेश्‍वरको बगालका गोठालाहरू हुने दाबी गरे भने अर्कोतिर गैरशास्त्रीय शिक्षाहरूको धज्जी उडाउने वा बाइबल पढ्‌न प्रोत्साहन दिन खोज्ने सबैको तिनीहरूले खास घृणा पनि गरे। जोन हस र बाइबल अनुवादक विल्यम टिन्डेल दुवैलाई सताइयो र अन्तमा तिनीहरू शहीद भए। अन्धकारमय मध्यकालीन युगहरूको दौडान, शैतानी क्याथोलिक इन्क्वीजिशनद्वारा (धार्मिक न्यायालयहरू) धर्मत्यागीहरूको शासन आफ्नो चरमबिन्दुमा पुग्यो। गिर्जाका शिक्षाहरू अथवा अधिकारबारे प्रश्‍न उठाउनेहरूलाई निर्ममतासाथ दबाइन्थ्यो। यिनीहरूलाई धर्मविरोधी भनिन्थ्यो र यस्ता कति हजारन्‌लाई तडपाइ तडपाइ मारियो अर्थात्‌ काठमा बाँधेर जलाइ दिए। यसरी शैतानले परमेश्‍वरको स्त्री जस्तै सङ्‌गठनको सन्तानको हर साँचो सदस्यलाई तुरुन्तै खतम पार्ने कोशिश गऱ्‍यो। प्रोटेस्टेन्ट विद्रोह अथवा धार्मिक संशोधन सुरु भएपछि पनि (१५१७ देखि उप्रान्त) धेरै नै प्रोटेस्टेन्ट गिर्जाहरूले यस्तै कठोर मनोवृत्ति देखाए। यिनीहरूले पनि परमेश्‍वर र ख्रीष्टप्रति वफादार हुन खोज्नेहरूको हत्या गरे र रगतको दोषी भए। “पवित्र जनहरूको रगत” साँच्चै नै पानी सरह बगाइयो!—प्रकाश १६:६; मत्ती २३:३३-३६-सित तुलना गर्नुहोस्‌।

सन्तान हराउँदैन

१७. (क) येशूले भन्‍नु भएको गहुँ र सामाको उखानमा कुन कुराको अग्रिमवाणी गरिएको थियो? (ख) सन्‌ १९१८ मा के घटना घट्यो र यसको परिणामस्वरुप कसलाई इन्कार गरियो र को नियुक्‍त भए?

१७ मसीहीजगतले प्रभुत्व जमाउञ्जेल अन्धकारको समय कायम रहनेछ भनी येशूले गहुँ र सामाको उखानद्वारा अग्रिमवाणी गर्नु भएको थियो। तर कैयौं शताब्दीसम्म चल्ने धर्मत्यागको दौडान गहुँ जस्ता मसीहीहरू अर्थात्‌ साँचो अभिषिक्‍त जनहरू पनि फट्याकफुटुक हुने नै थिए। (मत्ती १३:२४-२९, ३६-४३) तसर्थ, अक्टोबर १९१४ मा प्रभुको दिन उदय हुँदा पृथ्वीमा साँचो मसीहीहरू छँदैथिए। (प्रकाश १:१०) यसको करीब साढे तीन वर्षपश्‍चात्‌ अर्थात्‌ १९१८ मा यहोवा उहाँको “करारको दूत” येशूसित आफ्नो आत्मिक मन्दिरमा न्याय गर्न आउनु भएको जस्तो देखिन्छ। (मलाकी ३:१; मत्ती १३:४७-५०) मालिकले झूटा मसीहीहरूलाई इन्कार गर्ने र ‘आफ्नो सारा सम्पत्तीमाथि विश्‍वासी र बुद्धिमान दास’ नियुक्‍त गर्ने समय आएको थियो।—मत्ती ७:२२, २३; २४:४५-४७.

१८. सन्‌ १९१४ मा कुन “समय” आयो र त्यतिबेला दासले के गर्नु परेको थियो?

१८ सात मण्डलीहरूका लागि येशूले पठाउनु भएको सन्देशमा लेखिएअनुसार उपरोक्‍त दासले ती सन्देशलाई विशेष ध्यान दिने समय आएको थियो। उदाहरणका लागि, मण्डलीहरूको न्याय गर्न आउनु हुने समयबारे येशूले चर्चा गर्नु भएको छ। त्यो न्याय गर्ने समय १९१८ मा सुरु भयो। (प्रकाश २:५, १६, २२, २३; ३:३) उहाँले फिलाडेल्फियाको मण्डलीलाई “सारा संसारमा आउने” “परीक्षाको समयबाट जोगाउने” कुरा गर्नुहुन्छ। (प्रकाश ३:१०, ११) प्रभुको दिन १९१४ मा सुरु भएपछि मात्र उक्‍त “परीक्षाको समय” आउने थियो। त्यतिबेला परमेश्‍वरको स्थापित राज्यप्रति मसीहीहरूको वफादारीको जाँच हुने थियो।—मत्ती २४:३, ९-१३ तुलना गर्नुहोस्‌।

१९. (क) सात मण्डलीहरूले आज के लाई चित्रित गर्छन्‌? (ख) आज अभिषिक्‍त मसीहीहरूलाई ठूलो सङख्यामा कसले साथ दिएका छन्‌ र येशूको उपदेश र उहाँद्वारा वर्णित परिस्थितिहरू किन ठूलो सङख्याका ती मानिसहरूमा पनि लागू हुन्छ? (ग) येशूले प्रथम शताब्दीका सात मण्डलीहरूलाई पठाउनु भएको सन्देशप्रति हामीले कस्तो दृष्टिकोण राख्नु पर्छ?

१९ यसैकारण, मण्डलीहरूलाई प्रभुले भन्‍नु भएका कुराहरू विशेष ढङ्‌गमा १९१४ देखि नै लागू हुन गयो। यस परिप्रेक्ष्यमा ती सात मण्डलीहरूले प्रभुको दिनमा विद्यमान अभिषिक्‍त मसीहीहरूका मण्डलीहरूलाई चित्रण गर्छन्‌। यसको अतिरिक्‍त, विश्‍वासी मानिसहरूको एउटा ठूलो सङ्‌ख्या यूहन्‍नाले चित्रित गर्ने अभिषिक्‍त मसीहीहरूलाई साथ दिन बितेको ७० वर्षदेखि अग्रसर भएका छन्‌। ती मानिसहरूले पार्थिव प्रमोदवनमा सधैंभरि बाँच्ने आशा राखेका छन्‌। महिमित येशू ख्रीष्टको सल्लाह र सात मण्डलीहरूको जाँच गर्दा उहाँले त्यहाँ देख्नु भएका जम्मै परिस्थितिहरू पार्थिव आशा राख्ने ती मानिसहरूमा पनि उत्तिकै लागू हुन्छ। आखिर, परमेश्‍वरका सबै सेवकहरूका लागि धार्मिकता र विश्‍वासको स्तर एउटै छ। (प्रस्थान १२:४९; कलस्सी ३:११) अतः येशूले प्रथम शताब्दीमा एशिया माइनरका सात वटा मण्डलीहरूलाई पठाउनु भएका सन्देशहरूको कुनै ऐतिहासिक महत्त्व मात्र छैन। ती कुराहरू हाम्रा लागि जीवन र मृत्युको सवाल हो। यसकारण, आउनु होस्‌ हामी येशूले भन्‍नु हुने कुराहरूलाई ध्यानपूर्वक सुनौं।

[फुटनोटहरू]

a पुरातन हिब्रू शास्त्रअनुसार, यशैया ४४:६ मा “पहिलो” र “पछिल्लो” को अघिल्तिर कुनै वर्णात्मक विशेषण छैन। तर प्रकाश १:१७ मा येशूले गर्नु भएको आफ्नो वर्णनमा चाहिं वर्णात्मक विशेषण पाइन्छ। अतः व्याकरणअनुसार प्रकाश १:१७ ले एउटा पदलाई बोध गर्छ भने यशैया ४४:६ मा चाहिं यहोवाको ईश्‍वरत्वलाई सङ्‌केत गरिएको छ।

b युनानी शब्द एज-जेलोस-को (उच्चारण “एन-जेलोस्‌) अर्थ “दूत” र “स्वर्गदूत” दुवै हो। मलाकी २:७-मा लेवी कुलको एक जना पूजारीलाई पनि “दूत” (हिब्रू, मा-लाख्‌) नै भनेर सम्बोधन गरिएको छ।— न्यु वर्ल्ड ट्रान्सलेशन रेफ्‌रेन्स बाइबल-को पादटिप्पणी हेर्नुहोस्‌।

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ ३२-मा भएको पेटी]

जाँच र न्याय गर्ने समय

येशूले यर्दन नदीमा सा.यु. २९ तिर बप्तिस्मा लिनु भयो र राजा हुन उहाँलाई अभिषेक पनि गरियो। साढे तीन वर्षपछि सा.यु. ३३ मा उहाँ यरूशलेमको मन्दिरमा आउनु भयो। त्यस ठाउँलाई जसजसले डाकाहरूको अड्डा बनाइरहेका थिए, तिनीहरूलाई उहाँले बाहिर लघारी दिनु भयो। यस घटनाक्रमको समानान्तर अक्टोबर १९१४ मा येशू शासन गर्न थाल्नु भएको समयदेखिन्‌ मसीही भनौंदाहरूलाई उहाँ जाँच गर्न आउनु भएको समयसम्मको साढे तीन वर्षमा पाउन सकिन्छ जस्तो छ। किनभने सबैभन्दा पहिले परमेश्‍वरकै घरानाको न्याय हुनु परेको थियो। (मत्ती २१:१२, १३; १ पत्रुस ४:१७) सन्‌ १९१८ को सुरुमै यहोवाका जनहरूको राज्यसम्बन्धी गतिविधिले ठूलो विरोधको सामना गर्नु पऱ्‍यो। पृथ्वीभरि त्यो एउटा जाँचको समय थियो। डरपोकहरूलाई अलग छुट्टयाइँदै थियो। सन्‌ १९१८ को मई महिनामा मसीहीजगतको पादरीवर्गले वाचटावर सोसाइटीका प्रमुख अधिकारीहरूलाई झ्यालखानमा थुनिदिने षडयन्त्र रचे। तर उनीहरूलाई नौ महिनापछि नै रिहा गरियो। उनीहरूमाथि लगाइएका झूटा आरोपहरू पनि फिर्ता लिइयो। अतः येशूको मातहतमा यहोवाको राज्य नै मानवजातिको एकमात्र आशा हो भन्दै घोषणा गर्न खारिएका र जाँचमा सफल भएका परमेश्‍वरका जनहरूको संगठन १९१९ देखि अग्रसर भयो।—मलाकी ३:१-३.

येशूले १९१८ देखि जाँच गर्ने काम सुरु गर्नु हुँदा मसीहीजगतको पादरीवर्गले निस्सन्देह कठोर न्यायिक फैसला सुन्‍नु पऱ्‍यो। तिनीहरूले परमेश्‍वरका जनहरूको विरुद्धमा सतावट मात्र ल्याएका थिएनन्‌। तिनीहरूले प्रथम विश्‍वयुद्धको दौडान युद्धमा भाग लिने राष्ट्रहरूलाई समर्थन गर्दै आफूलाई रगतको दोषी बनाएका थिए। (प्रकाश १८:२१, २४) यसपछि ती पादरीहरूले मानवनिर्मित राष्ट्र संघमाथि भरोसा राखे। झूटो धर्मको सारा विश्‍व साम्राज्यको साथसाथै मसीहीजगत १९१९ सम्म त परमेश्‍वरको नजरमा अस्वीकृत भइ सकेको थियो।

[पृष्ठ २८, २९-मा भएको नक्सा]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

पर्गामम

स्मर्ना

थिआटायरा

फिलाडेल्फिया

सार्डिस

एफिसस

लाओडिसिया

[पृष्ठ ३१-मा भएको चित्र]

बाइबल अनुवाद गर्ने, पढ्‌ने अथवा त्यो आफूसित राख्नेहरूलाई समेत सताएर तथा मारेर मसीहीजगत रगतको भारी दोषी भयो