सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

‘काटिएका प्राणहरू’ पुरस्कृत हुन्छन्‌

‘काटिएका प्राणहरू’ पुरस्कृत हुन्छन्‌

अध्याय १७

‘काटिएका प्राणहरू’ पुरस्कृत हुन्छन्‌

१. हामी कुन समयावधिमा छौं र त्यसको प्रमाण के हो?

 परमेश्‍वरको राज्यले शासन गर्दैछ! सेतो घोडाको सवारले आफ्नो विजय पूरा गर्नै लागेका छन्‌! रातो घोडा, कालो घोडा र पहेंलो घोडा पृथ्वीमा जताततै दौडिरहेछन्‌! येशूले आफ्नो शाही उपस्थितिबारे गर्नु भएका भविष्यवाणीहरू पूरा भइरहेका छन्‌। (मत्ती अध्याय २४, २५; मर्कूस अध्याय १३; लूका अध्याय २१) हो, हामीहरू यस रीतिरिवाजका अन्तिम दिनहरूमा बाँचिरहेका छौं। (२ तिमोथी ३:१-५) अतः थुमा, येशू ख्रीष्टले पुस्तकको पाँचौं छाप खोल्नु हुँदा हामी पनि ध्यान पुऱ्‍याएर हेरौं। अब प्रकाश गरिने अझ कुन कुन कुराहरूमा हामीले भाग लिनेछौं?

२. (क) पाँचौं छाप खोल्दा यूहन्‍नाले के देखे? (ख) स्वर्गमा पनि बलिदान चढाउने प्रतीकात्मक वेदी छ भन्‍ने कुरा पढ्‌दा हामी किन छक्क पर्नु हुँदैन?

यूहन्‍नाले एउटा हृदयस्पर्शी दृश्‍यको यसप्रकार वर्णन गर्छन्‌: “औ जब उहाँले पाँचौं छाप खोल्नुभयो, तब वेदीमन्तिर मैले तिनीहरूका आत्मा देखें जो परमेश्‍वरको वचनको निम्ति र तिनीहरूले दिएका साक्षीको कारण काटिएका थिए।” (प्रकाश ६:९) यो के हो? माथि स्वर्गमा पनि बलि चढाउने वेदी? हो! यूहन्‍नाले यहाँ वेदीको चर्चा प्रथम पटक गर्दैछन्‌। तथापि, सिंहासनमा विराजमान यहोवा, उहाँको वरिपरि उभिएका करूबहरू, बिल्लोर जस्तो समुद्र, बत्तीहरू र धूप लिएका २४ जना प्राचीनहरूको चाहिं उनले पहिले नै वर्णन गरिसकेका छन्‌। ती जम्मै कुरा पार्थिव बासस्थान अर्थात्‌ इस्राएलमा यहोवाको मन्दिरसित मिल्दोजुल्दो चीजहरू हुन्‌। (प्रस्थान २५:१७, १८; ४०:२४-२७, ३०-३२; १ इतिहास २४:४) अतः बलि चढाउने प्रतीकात्मक वेदी स्वर्गमा देखा पर्दा के हामी छक्क पर्नुपर्छ र?—प्रस्थान ४०:२९.

३. (क) प्राचीन यहूदी मन्दिरमा मानौं प्राणहरूलाई “वेदीको आधारमा” कसरी खन्याइन्थ्यो? (ख) काटिएका साक्षीहरूको प्राणलाई यूहन्‍नाले स्वर्गमा एउटा प्रतीकात्मक वेदीमनि किन देखे?

यस वेदीमनि चाहिं “परमेश्‍वरको वचनको निम्ति र तिनीहरूले दिएका साक्षीको कारण काटिएकाहरू” छन्‌। यिनीहरू को हुन्‌? यिनीहरू गैरमसीही युनानीहरूले विश्‍वास गरेका जस्तै शरीरबाट अलग्गिएका प्राणीहरू हुन सक्‍तैनन्‌। (उत्पत्ति २:७; इजकिएल १८:४) यूहन्‍नालाई थाह छ, प्राण अथवा जीवनको प्रतीक रगत हो र पुरातन यहूदी मन्दिरमा जनावरको बलिदान चढाइँदा रगतलाई “वेदीको वरिपरि” छर्किन्थ्यो अथवा “होमबलिको वेदीको आधारमा” खन्याइन्थ्यो।” (लेवी ३:२, ८, १३; ४:७; १७:६, ११, १२) यसप्रकार जनावरको रगत र बलि चढाइने वेदी दुवैबीच नजीकको सम्बन्ध थियो। तर परमेश्‍वरका यी सेवकहरूका प्राणहरू अथवा रगत, स्वर्गको प्रतीकात्मक वेदीमनि हामी किन देख्तछौं? किनभने तिनीहरूको मृत्युलाई पनि बलिदान नै ठानिन्छ।

४. आत्माद्वारा अभिषिक्‍त मसीहीहरूको मृत्यु कुन अर्थमा बलिदानरूपी हो?

वास्तवमा, परमेश्‍वरका आत्मिक पुत्रहरू हुन छानिएका सबै जनाको मृत्यु बलिदानरूपी हुन्छ। तिनीहरूले यहोवाको स्वर्गीय राज्यमा एउटा खास भूमिका निभाउनु परेको हुन्छ। जसले गर्दा पृथ्वीमा अनन्त जीवन पाउने आशा तिनीहरूले त्याग्नु पर्छ र परमेश्‍वर पनि तिनीहरूबाट यही चाहनु हुन्छ। तसर्थ तिनीहरू यहोवाको सार्वभौमिकताको खातिर बलिदानरूपी मृत्यु मर्न तयार हुन्छन्‌। (फिलिप्पी ३:८-११; २:१७-सित तुलना गर्नुहोस्‌।) र यूहन्‍नाले वेदीमन्तिर देखेका जनहरूबारे यो कुरा अक्षरशः सत्य भएको छ। तिनीहरू उही अभिषिक्‍त जनहरू हुन्‌ जो आफ्नो जीवनकालमा यहोवाको वचन र सार्वभौमिकतालाई जोशका साथ समर्थन गर्दा शहीद भए। तिनीहरू “परमेश्‍वरको वचन . . . र तिनीहरूले दिएको साक्षीको निम्ति [ मार्टिरीयन] काटिएका थिए।”

५. विश्‍वासी जनहरूका प्राणहरू मरिसके तापनि इन्साफका लागि कसरी कराइरहेका छन्‌?

दृश्‍य अझ खुल्दै जान्छ: “औ तिनीहरू यसो भनेर ठूलो सोरले कराए, ‘हे प्रभु, हे पवित्र र सत्य, अझै कतिसम्म तपाईंले पृथ्वीमा रहनेहरूलाई इन्साफ गरेर हाम्रो रगतको बदला दिनुहुन्‍न?’ ” (प्रकाश ६:१०) तर बाइबलले त मरेकाहरू अचेत हुन्छ भन्छ। अतः बदलाका लागि तिनीहरूका प्राणहरू अथवा रगत कसरी कराउन सक्छ र? (उपदेशक ९:५) तथापि, हाबिललाई कयिनले मारेपछि धर्मी हाबिलको रगतले बदलाका लागि गुहारेको थिएन र? अनि यहोवाले पनि कयिनलाई भन्‍नु भएको थियो: “यो तैंले के गरिस्‌? तेरो भाइको रगतले भूमिबाट मलाई दुहाइ दिइरहेछ।” (उत्पत्ति ४:१०, ११; हिब्रू १२:२४) यहाँ हाबिलको रगत साँच्चै नै बोलिरहेको थिएन। बरु, हाबिल एक जना निर्दोष शिकार भएर मरेका थिए र उनको हत्यारा दण्डित हुनै पर्छ भन्‍ने न्यायको पुकार थियो। यस्तैगरी मसीही शहीदहरू पनि निर्दोष छन्‌ र तिनीहरूको मृत्युको बदला लिनु न्यायोचित छ। (लूका १८:७, ८) यसरी शहीद भएर अनेकौं हजार मरेका हुनाले बदलाका लागि गुहार्ने आवाज पनि निकै चर्को छ।—यर्मिया १५:१५, १६-सित तुलना गर्नुहोस्‌।

६. कहिले बगाइएको निर्दोष रगतको बदला सा.यु.पू. ६०७-मा लिइयो?

यसलाई सा.यु.पू. ७१६-मा राजा मनश्‍शेले शासन गर्न थालेपछि धर्मत्यागी यहूदाको स्थितिसित तुलना गर्न सकिन्छ। राजा मनश्‍शेले धेरै मात्रामा निर्दोष रगत बगाए। सम्भवतः यशैया अगमवक्‍तालाई पनि ‘चीर्ने’ आदेश दिए। (हिब्रू ११:३७; २ राजा २१:१६) मनश्‍शेले पछि पश्‍चात्ताप गरेर आफूमा सुधार ल्याए। तापनि रक्‍तदोष यथावत रह्‍यो। अतः “मनश्‍शेले गरेका पाप र तिनले निर्दोष रगत बगाएको कारण तिनीहरूलाई आफ्नो सामनेबाट निकालिदिने परमप्रभुको अभिप्राय पूरा हुन यी सबै यहूदामाथि हुनआयो। मनश्‍शेले निर्दोषी रगतले यरूशलेमलाई पूरा भिजाएका थिए। यसैले परमप्रभुले तिनीहरूलाई क्षमा गर्नु भएन।” सा.यु.पू. ६०७-मा बेबिलोनीहरूले यहूदालाई उजाड पारे।—२ राजा २४:३, ४.

७. “पवित्र जनहरूको रगत” बगाउनमा मुख्यतः को दोषी छ?

बाइबलका समयहरूमा जस्तै आज पनि परमेश्‍वरका साक्षीहरूको हत्या गर्ने धेरै जसो व्यक्‍तिहरू मरिसकेका छन्‌। तर तिनीहरूलाई शहीद बनाउने सङ्‌गठनहरू चाहिं आज पनि सक्रिय र रक्‍तदोषी छन्‌। त्यो हो शैतानको पार्थिव सङ्‌गठन अर्थात्‌ पार्थिव सन्तान। त्यसको प्रमुख भाग चाहिं झूटो धर्मको विश्‍व साम्राज्य महान बेबिलोन हो। a ऊ “पवित्र जनहरूको रगत र येशूका शहीदहरूका रगत पिएर मात्तिएकी” छे भनी वर्णन गरिएको छ। हो, “त्यसैमा अगमवक्‍ताहरू, पवित्र जनहरू र पृथ्वीमा मारिएका सबैका रगत पाइएको” छ। (प्रकाश १७:५, ६; १८:२४; एफिसी ४:११; १ कोरिन्थी १२:२८) रक्‍तदोषको कति ठूलो भार! महान बेबिलोन रहुञ्जेल, त्यसका शिकारहरूको रगतले इन्साफका लागि आवाज उठाइनै रहनेछन्‌।—प्रकाश १९:१, २.

८. (क) यूहन्‍नाको जीवनकालमा कस कसलाई शहीद पारिएको थियो? (ख) रोमी सम्राटहरूले के कस्ता सतावटहरू सुरु गरे?

प्रथम शताब्दीमा त्यो निठूरी सर्प र त्यसको पार्थिव सन्तानले अभिषिक्‍त मसीहीहरूको भर्खरै बढ्‌दो मण्डलीमाथि हमला गर्दै कतिलाई शहीद तुल्याएको यूहन्‍ना स्वयंले देखेका थिए। यूहन्‍नाले हाम्रो प्रभुलाई समेत झुन्ड्याएर मारेको देखेका थिए। उनले स्तिफनस, आफ्नै भाइ याकूब, पत्रुस, पावल र अरू नजिकका सङ्‌गीहरूको हत्या पनि देखेका थिए। (यूहन्‍ना १९:२६, २७; २१:१५, १८, १९; प्रेरित ७:५९, ६०; ८:२; १२:२; २ तिमोथी १:१; ४:६, ७) सा.यु.पू. ६४-मा रोमको ठूलो अग्निकाण्डका लागि सम्राट नीरो नै दोषी हुन्‌ भन्‍ने हल्ला दबाउनका लागि सम्राटले मसीहीहरूमाथि दोष थोपरी दिए। इतिहासकार ट्यासिटसको रिपोर्ट यसप्रकार छ: “तिनीहरू [मसीहीहरू] ठूलो ठट्टाको पात्र भएर मरे; केहीलाई जङ्‌गली जनावरको छाला ओडाइयो र कुकुरहरूद्वारा धुजाधुजा पारियो। कतिलाई शूलीमा टाँगेर b मारियो र अझ अरूहरूलाई चाहिं रातको अँध्यारोमा ज्योति दिन राँको सरह जलाइयो।” पछि फेरि सम्राट डोमिशियनको पालोमा (सा.यु. ८१-९६) सतावटको अर्को जोडदार आँधी चल्यो जसले गर्दा यूहन्‍ना पनि पतमोसको टापुमा निर्वासित भए। येशूले भन्‍नु भएझैं: “तिनीहरूले मलाई सताए भने, तिमीहरूलाई पनि सताउनेछन्‌।”—यूहन्‍ना १५:२०; मत्ती १०:२२.

९. (क) चौथो शताब्दीसम्म शैतानले छलको कुन करामात प्रस्तुत गऱ्‍यो र त्यो कसको मुख्य भाग हो? (ख) प्रथम तथा दोस्रो विश्‍वयुद्धमा मसीहीजगतका केही शासकहरूले यहोवाका साक्षीहरूसित कस्तो व्यवहार गरे?

सा.यु. चौथो शताब्दीसम्म त त्यो पुरानो सर्प शैतान अर्थात्‌ दियाबलले आफ्नो छलको करामत—धर्मत्यागी मसीहीजगतको रचना गरिसकेको थियो। बाहिरबाट “मसीही” कहलाइए तापनि यो खासमा थियो बेबिलोनी व्यवस्था। सर्पको सन्तानको यो एउटा प्रमुख भाग पनि हो। यही नै पछिगएर आपस्तमा नमिल्ने थुप्रै सम्प्रदायहरूमा विभाजित भयो। प्राचीनकालीन यहूदाकोझैं मसीहीजगतको पनि रक्‍तदोषको ठूलो भार छ। मसीहीजगतले प्रथम र दोस्रो दुवै विश्‍वयुद्धहरूमा दुवै पक्षसित पूरा भाग लिएको छ। मसीहीजगतका केही राजनैतिक शासकहरूले त यी युद्धहरूको बहाना बनाउँदै परमेश्‍वरका अभिषिक्‍त सेवकहरूको हत्या समेत गरे। हिट्‌लरले यहोवाका साक्षीहरूलाई सताएको सम्बन्धमा टिप्पणी गर्दै फ्रिड्‌रिक जिफेलको कर्खनकाम्फ इन डोइशलैण्ड (जर्मनीका चर्चहरूको झगडा) नामक पुस्तकले यसो भन्छ: “एक तिहाइ [साक्षीहरू] मृत्यु दण्ड, हिंसात्मक कार्यहरू, भोक, रोग अथवा दासत्वद्वारा मारिए। यो यातनाको क्रूरता अतुलनीय थियो। यसको मूल कारण राष्ट्रिय समाजवादी आदर्शसित मेल खानै नसक्ने तिनीहरूको अडिग विश्‍वास थियो।” मसीहीजगत र उसका पादरीवर्गबारे साँच्चै नै यसो भन्‍नु मिल्छ: “तेरो वस्त्रमा निर्धन निर्दोषहरूको जीवन-रक्‍त भेट्टाइयो।”—यर्मिया २:३४. c

१०. अनेकौं देशहरूमा ठूलो भीडका युवकहरूले के कस्ता सतावटहरू भोगेका छन्‌?

१० अनेकौं देशहरूमा खासगरी १९३५-देखि ठूलो भीडका विश्‍वासी युवकहरूमाथि सतावटको मार परेको छ। (प्रकाश ७:९) दोस्रो विश्‍वयुद्ध समाप्त भइसकेर पनि युरोपको एउटै शहरमा यहोवाका १४ जना जवान साक्षीहरूलाई झुन्ड्याएर मारियो। तिनीहरूको अपराध? ‘युद्ध विद्या सिक्न इन्कार गर्नु।’ (यशैया २:४) सोही विषयलाई लिएर हालसालैमा चाहिं पूर्वीय र अफ्रिकी देशहरूमा जवान पुरुषहरूलाई पिटी-पिटी अथवा गोली हानेर मारेका छन्‌। यी जवान शहीदहरू अर्थात्‌ येशूका अभिषिक्‍त भाइहरूका यी योग्य समर्थकहरू प्रतिज्ञा गरिएको नयाँ पृथ्वीमा पुनरुत्थानद्वारा निःसन्देह आउने छन्‌।—२ पत्रुस ३:१३; भजन ११०:३ तुलना गर्नुहोस्‌; मत्ती २५:३४-४०; लूका २०:३७, ३८.

सेतो वस्त्र

११. शहीद भएका अभिषिक्‍त मसीहीहरूले कुन अर्थमा “सेतो लुगा” पाउँछन्‌?

११ प्राचीनकालीन निष्ठावान व्यक्‍तिहरूको विश्‍वासको बयान गरिसकेपिछ प्रेरित पावलले भने: “औ यिनीहरू सबैले, तिनीहरूका विश्‍वासैद्वारा आफ्ना गवाही पाएका थिए, तापनि प्रतिज्ञाको कुराचाहिं पाएनन्‌। हामीविना तिनीहरू सिद्ध नहोऊन्‌ भनेर परमेश्‍वरले हाम्रा विषयमा केही असल कुराको बन्दोबस्त मिलाउनुभएको थियो।” (हिब्रू ११:३९, ४०) त्यो “केही असल कुरा” के हो जसको प्रतीक्षा पावल र अन्य अभिषिक्‍त मसीहीहरूले गर्दछन्‌? त्यस कुरालाई यूहन्‍नाले यहाँ दर्शनमा देख्छन्‌: “औ तिनीहरू हरेकलाई एउटा एउटा सेतो लुगा दिइयो, र तिनीहरूका सहकर्मी र भाइहरू पनि तिनीहरूजस्तै गरी मारिएर पूरा नहोउञ्जेल, केही बेर पर्खिरहून्‌ भन्‍ने तिनीहरूलाई भनियो।” (प्रकाश ६:११) तिनीहरूले “सेतो लुगा” पाउने कुरा तिनीहरू अमर आत्मिक व्यक्‍तिहरू हुनका लागि पुनःजीवित हुनुसित सम्बन्धित छ। हत्या गरिएका प्राणीहरूझैं तिनीहरू अब वेदीमनि बस्नु पर्दैन। बरु परमेश्‍वरको स्वर्गीय सिंहासनको सामु उपासना गर्ने २४ जना प्राचीनहरूको समूहमा समाविष्ट हुन तिनीहरूको पुनरुत्थान हुन्छ। तिनीहरू स्वयंलाई पनि सिंहासनहरू दिइन्छ र यसबाट तिनीहरू शाही सेवामा हाजिर भएको कुरा जाहेर हुन्छ। स्वर्गीय अदालतमा यहोवाको सामु तिनीहरू सम्माननीय र धर्मी साबित भएको कुरा तिनीहरूलाई दिइएको “सेतो लुगा”-बाट बोध हुन्छ। येशूले सार्डिसको मण्डलीका विश्‍वासी अभिषिक्‍त मसीहीहरूसित गर्नु भएको प्रतिज्ञाअनुरूप नै यो भइरहेछ: “जसले जित्छ, त्यसलाई यसरी सेता लुगा पहिराइदिन्छु।”—प्रकाश ३:५; ४:४; १ पत्रुस १:४.

१२. पुनरुत्थानप्राप्त अभिषिक्‍त जनहरूले कुन अर्थमा “केही बेर पर्खिरहनु” पर्छ र कहिलेसम्म?

१२ प्राप्त प्रमाणअनुसार यो स्वर्गीय पुनरुत्थान १९१८-देखि सुरु भएको हुनुपर्छ। किनकि १९१४-मा येशूको राज्यारोहणपश्‍चात्‌ उहाँले स्वर्गबाट शैतान र त्यसका प्रेतहरूलाई हटाउनु भएर आफ्नो राजकीय विजय यात्रा आरम्भ गर्नु भयो। तापनि पुनरुत्थान पाएका ती अभिषिक्‍त जनहरूलाई चाहिं “तिनीहरूका सहकर्मी र भाइहरू पनि तिनीहरूजस्तै गरि मारिएर पूरा नहोउञ्जेल केही बेर पर्खिरहून्‌” भनिन्छ। यूहन्‍नावर्गका शेष जनहरू पृथ्वीमा रहुञ्जेल तिनीहरू सङ्‌कष्ट र सतावटको बावजूद अन्तसम्मै निष्ठावान रहनुपर्छ। तिनीहरूमध्ये कतिपय मारिन पनि सक्छन्‌। तथापि, अन्ततः महान बेबिलोन र तिनका राजनैतिक प्रेमीहरूले बगाएको धार्मिक रगतको बदला निश्‍चय लिइनेछ। तर यसै बीच पुनरुत्थान भइसकेकाहरू अन्य स्वर्गीय कामकाजमा व्यस्त रहन्छन्‌। तिनीहरू पर्खनुको अर्थ निष्क्रिय भएर बस्नु होइन। बरु यहोवाले बदला लिनु हुने दिनका लागि धैर्य धारण गर्नु हो। (यशैया ३४:८; रोमी १२:१९) तर झूटो धर्मको विनाश तिनीहरूले देखेपछि र “बोलावट भएका, चुनिएका र विश्‍वासी” जनहरूको हैसियतमा तिनीहरूले पनि शैतानको दुष्ट सन्तानको सम्पूर्ण पार्थिव भागलाई न्यायदण्ड दिने काममा येशूसित भाग लिंदा तिनीहरूको पर्खने म्याद समाप्त हुनेछ।—प्रकाश २:२६, २७; १७:१४; रोमी १६:२०.

‘ख्रीष्टमा मर्नेहरूचाहिं पहिले बिउँतनेछन्‌’

१३, १४. (क) प्रेरित पावलअनुसार स्वर्गीय पुनरुत्थान कहिले सुरु हुन्छ र कस कसको पुनरुत्थान हुन्छ? (ख) प्रभुको दिनसम्म जीवित रहने अभिषिक्‍त जनहरूको स्वर्गीय पुनरुत्थान चाहिं कहिले हुन्छ?

१३ पाँचौं छापको खुलाइले प्रदान गर्ने अन्तरदृष्टि स्वर्गीय पुनरुत्थानसम्बन्धी अरू जम्मै शास्त्रपदहरूसित मेल खान्छ। उदाहरणका लागि, प्रेरित पावलले लेखे: “किनकि प्रभुको वचनद्वारा तिमीहरूलाई हामी यो भन्दछौं कि हामी जो जीवित छौं र प्रभुको आगमनसम्म बाँचिरहन्छौं, कुनै किसिमले पनि मरेकाहरूलाई उछिन्‍नेछैनौं। किनभने ठूलो शब्दले प्रधान दूतको आवाज र परमेश्‍वरको तुरहीको साथ प्रभु आफै स्वर्गबाट ओर्लनुहुनेछ र ख्रीष्टमा मर्नेहरूचाहिं पहिले बिउँतनेछन्‌। तब हामी जिउँदा र बाँचिरहेकाहरू पनि प्रभुलाई आकाशमा भेटनलाई तिनीहरूका साथसाथै बादलमा भेट्‌न जानेछौं, र यसरी हामी सधैं प्रभुकै साथमा रहनेछौं।”—१ थिस्सलोनिकी ४:१५-१७.

१४ यी पदहरूले कस्तो रोमाञ्चकारी कथा भन्छन्‌! येशूको उपस्थितिसम्म जिउँदो रहने येशूका अभिषिक्‍त भाइहरू अर्थात्‌ उहाँ उपस्थित हुनुहुँदा पृथ्वीमै बाँचिरहेकाहरू कदापि पनि पहिले मरिसकेकाहरूभन्दा अघि स्वर्गमा प्रवेश गर्ने छैनन्‌। ख्रीष्टमा मरेका यी जनहरूको पुनरुत्थान पहिले हुन्छ अर्थात्‌ येशू ओर्लनु भएर तिनीहरूतर्फ ध्यान दिनुहुँदै तिनीहरूलाई आत्मामा पुनःजीवित तुल्याउनु हुन्छ। तिनीहरूलाई लाउने “सेतो लुगा” दिनुहुन्छ। त्यसपछि त्यतिखेरसम्म मानवीय रूपमा जीवित रहेका जनहरूले आफ्नो पार्थिव जीवनचर्या समाप्त गर्नुपर्छ। यीमध्येका कति जनाले विरोधीहरूको हातबाट हिंसात्मक मृत्यु समेत भोग्नु पर्नेछ। तर अघिअघि मरेकाहरूले मृत्युको निद्रामा परेर पर्खन परेजस्तै यिनीहरूले चाहिं पर्खनु पर्ने छैन। किनकि मर्नासाथै यिनीहरू “आँखाको एक निमेषमा” परिवर्तित हुन्छन्‌। यिनीहरू येशू र उहाँका शरीरका सह-सदस्यहरूका साथ स्वर्गमा एकत्रित हुन्छन्‌। (१ कोरिन्थी १५:५०-५२; प्रकाश १४:१३-सित तुलना गर्नुहोस्‌।) यसप्रकार एपोक्यालिप्सका चार घोडसवारहरूले आफ्नो दौड सुरु गर्नासाथै अभिषिक्‍त मसीहीहरूको पुनरुत्थान सुरु हुन्छ।

१५. (क) पाँचौं छाप खोलेपछि कुन राम्रो खबर उपलब्ध भएको छ? (ख) सेतो घोडामाथि सवार विजेताको घोडदौड कसरी टुङ्‌गिन्छ?

१५ यस पाँचौं छापको खुलाइबाट मरणान्तक विश्‍वासी रहेर विजयी भएका ती निष्ठावान अभिषिक्‍त व्यक्‍तिहरूबारे राम्रो समाचार दिन्छ। तर शैतान र त्यसको सन्तानका लागि चाहिं यसले कुनै राम्रो खबर दिंदैन। सेतो घोडामाथि सवार विजेताको विजययात्रा निरन्तर अघि बढ्‌दो छ। यो ‘दुष्टको अधीनस्थ’ संसारको इन्साफ गर्ने बेलामा त्यो यात्रा आफ्नो चरमोत्कर्षमा पुग्नेछ। (१ यूहन्‍ना ५:१९) थुमाले छैटौं छाप खोल्नु हुँदा उक्‍त कुरा स्पष्ट हुन्छ।

[फुटनोटहरू]

a महान बेबिलोनको पहिचानको विस्तृत विवरण ३३-औं अध्यायमा पाउनु हुनेछ।

b न्यु वर्ल्ड ट्रान्स्लेशन रेफ्रेन्स बाइबल, पृष्ठ १५७७, एपेन्डिक्स ५ग, “टर्चर स्टेक” भन्‍ने शीर्षकसित तुलना गर्नुहोस्‌।

c धर्महरूको रक्‍त-दोषबारे विस्तृत विवरण प्रमाणसहित ३६-औं अध्यायमा प्रस्तुत छ।

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १०२-मा भएको पेटी]

‘मारिएका प्राणहरू’

मेक्लिन्टक एन्ड स्ट्रंग्स साइक्लोपेड्या-ले १८-औं शताब्दीका फ्रेन्च ह्‍युनो आमा बाबुभएका अंग्रेजी प्रोटेस्टेन्ट जन जोर्टिनले भनेका यी शब्दहरू यसप्रकार उद्धृत गर्छ: “जहाँ सतावट सुरु हुन्छ, त्यहाँ मसीही धर्म अन्त हुन्छ . . . मसीही धर्म रोमी साम्राज्यको राष्ट्रिय धर्मको रूपमा स्थापित भएपछि, त्यसका सेवकहरूमाथि धन र सम्मान ओइरिएपछि क्रूर सतावटको राक्षसले ठूलो बल पायो। त्यसले येशूको सुसमाचारको धर्ममाथि पनि जोडदार प्रभाव पार्न थाल्यो।”

[पृष्ठ १०३-मा भएको चित्र]

“तिनीहरू हरेकलाई एउटा एउटा सेतो लुगा दिइयो”