सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

चाँडै हुन आउने कुराहरू

चाँडै हुन आउने कुराहरू

अध्याय ३

चाँडै हुन आउने कुराहरू

१. यस संसारमाथि आउने परमेश्‍वरको न्यायिक दण्डबाट तपाईं कसरी बाँच्न सक्नुहुन्छ?

 तपाईंले वर्तमान विश्‍वघटनाहरूमा गहिरो चासो लिनु आवश्‍यक छ। तर किन? किनभने परमेश्‍वरको न्यायिक दण्डबाट यो संसार उम्कन सक्ने छैन। तर तपाईं भने उम्कन सक्नुहुन्छ। नाश हुने यो ‘संसारको [भाग, NW] नभएर’ तपाईं बाँच्न सक्नुहुन्छ। तर यसको अर्थ तपाईंले कुनै सन्यासी अथवा वैरागी जीवनशैली अपनाउनु होइन। बरु राजनैतिक भ्रष्टाचार, लोभी व्यापार, ईश्‍वरनिन्दक धर्म र हिंसात्मक तथा अनैतिक व्यवहारबाट आफूलाई अलग राखेर एउटा स्वस्थकर तथा अर्थपूर्ण जीवन बिताउनु हो। यसका साथै, तपाईंले दैनिक आचरणसम्बन्धी परमेश्‍वरका उच्च स्तरहरूको अनुसरण गर्दै उहाँको इच्छा गर्ने कोशिश गर्नुपर्छ। (यूहन्‍ना १७:१४-१६, NW; सपन्याह २:२, ३; प्रकाश २१:८) यी कुराहरूको सन्दर्भमा तपाईंले कतिको प्रयास गर्नु खाँचो छ र आफ्नो जीवनशैलीमा कुन कुन आवश्‍यक परिवर्तनहरू ल्याउनु पर्छ, सो प्रकाशको पुस्तकले देखाउँछ।

२. प्रकाशको पुस्तकको महान भविष्यवाणीको सुरु प्रेरित यूहन्‍नाले कसरी गर्छन्‌ र यो गहकिलो समाचार परमेश्‍वरले कसलाई दिनु भयो?

यस महान भविष्यवाणीको सुरुआत प्रेरित यूहन्‍नाले यी शब्दहरूका साथ गर्छन्‌: “येशू ख्रीष्टको प्रकाश, जो परमेश्‍वरले चाड़ै अवश्‍य हुनआउने कुरो के हो, त्यो आफ्ना दासहरूलाई देखाउनालाई, उहाँलाई दिनुभयो।” (प्रकाश १:१क) अतः, यो गहकिलो समाचार येशू ख्रीष्टले परमेश्‍वरबाट पाउनु भएको थियो। हामीले यहाँ येशूलाई रहस्यमय त्रिएकको भाग हुनुको सट्टा आफ्नो पिताको अधीनमा रहनु भएको देख्तछौं। यस्तैगरी, मसीही मण्डलीका “दासहरू” पनि येशू ख्रीष्टको अधीनमा छन्‌ र उहाँ ‘जताजता जानुहुन्छ तिनीहरू उहाँका पछिपछि’ लाग्दछन्‌। (प्रकाश १४:४; एफिसी ५:२४) तर आज परमेश्‍वरका “दासहरू” वास्तवमा को हुन्‌ र प्रकाशको पुस्तकबाट तिनीहरूले कसरी लाभ उठाउँछन्‌?

३. (क) येशू ख्रीष्टको अधीनमा हुने “दासहरू” को हुन्‌? (ख) स्वर्गदूतहरूको निरीक्षणमा विश्‍वासी “दासहरू”ले के काम गरिरहेका छन्‌?

ती दासहरूमध्ये एक जना त प्रकाशको पुस्तक लेख्ने प्रेरित यूहन्‍ना थिए र सो उनले स्वयं स्वीकारेका छन्‌। प्रेरितहरूमध्ये त्यतिखेर उनी एक जना मात्र जीवित थिए। साथै स्वर्गमा अमरत्व प्राप्त गर्न छानिएका आत्माद्वारा अभिषिक्‍त “दासहरू” मध्ये उनी पनि एक जना थिए। ती अभिषिक्‍त दासहरूमध्येका केही हजार मात्र आज पृथ्वीमा बाँकी छन्‌। तर परमेश्‍वरका अझ अरू सेवकहरूको एउटा ठूलो भीड पनि छ जसमा लाखौं पुरुष, स्त्री र केटाकेटीहरू सम्मिलित छन्‌। स्वर्गदूतको निरीक्षणमा यस ठूलो भीडकाहरूले अभिषिक्‍त “दासहरू” सित मिलेर सारा मानवजातिलाई सुसमाचार सुनाउने काममा भाग लिइरहेका छन्‌। पृथ्वीका दीन जनहरूलाई मुक्‍ति पाउने मदत दिन यी “दासहरू” ले कति साह्रो परिश्रम गर्छन्‌! (मत्ती २४:१४; प्रकाश ७:९, १४; १४:६) यो आनन्दमय सुसमाचारबाट लाभ उठाउनका लागि तपाईंले के गर्नुपर्छ, सो प्रकाशको पुस्तकले बताउनेछ।

४. (क) यूहन्‍नाले प्रकाशको पुस्तक लेखेको १,९०० भन्दा धेरै वर्ष बितिसकेको भए तापनि उनले “चाँडै हुन आउने कुराहरू”बारे बोले भन्‍नु किन मिल्छ? (ख) अग्रिमवाणी गरिएका कुराहरूबारे के प्रमाणित भइरहेछ?

तर यी “दासहरू” लाई अब “चाँडै अवश्‍य हुन आउने कुरा” बताइनेछ भनेर यूहन्‍नाले कसरी भन्‍न सके त? आखिर यी शब्दहरू भनिएको अहिले १,९०० भन्दा धेरै वर्ष भइ सक्यो, होइन र? हो, तर यहोवाको दृष्टिमा हजार वर्ष पनि “हिजो” को दिन जस्तो मात्र हो। साथै पृथ्वी सृजनु भएर त्यसलाई मानिस बस्ने योग्यको बनाउनु हुँदा उहाँले बिताउनु भएका युगानुयुगको तुलनामा त यी १,९०० वर्ष साँच्चै नै छोटो समयावधि हो। (भजनसंग्रह ९०:४) प्रेरित पावलले समेत आफ्नो “उत्कट प्रतीक्षा र आशा” बारे लेखे किनकि आफूले पाउने इनाम उनका लागि एउटा वास्तविकता तथा चाँडै हुने कुरा जस्तो थियो। (फिलिप्पी १:२०) तथापि आज चाहिं अग्रिमवाणी गरिएको सबै कुरा ठीक समयमै पूरा हुनेछ भनेर प्रशस्त प्रमाण देखिन्छ। इतिहासमा पहिले कहिल्यै पनि मानवजातिको बचाउ खतरामा परेको थिएन। समाधान परमेश्‍वरको हातमा मात्र छ!—यशैया ४५:२१.

सञ्चार माध्यम

५. प्रेरित यूहन्‍नाकहाँ र त्यसपछि मण्डलीहरूकहाँ प्रकाशको पुस्तकको सञ्चार कसरी गरियो?

प्रकाश १:१ख, २ यसो भन्छ: “र उहाँलेयेशूले] आफ्नो दूतद्वारा आफ्ना सेवक यूहन्‍नाकहाँ पठाएरप्रकाश] थाह गराउनुभयो। तिनले परमेश्‍वरको वचन र येशू ख्रीष्टको साक्षी, अर्थात्‌ तिनले देखेका सबै कुराहरूको गवाही दिए।” अतः यूहन्‍नाले यो प्रेरित समाचार एक जना स्वर्गदूतद्वारा पाए। त्यो समाचार उनले चर्मपत्रमा लेखेर आफ्नो समयका मण्डलीहरूलाई पठाइदिए। तर खुशीको कुरा के हो भने, परमेश्‍वरले आज पृथ्वीमा उहाँका एकताबद्ध सेवकहरूका झन्डै १,००,००० मण्डलीहरूको प्रोत्साहनका लागि त्यो समाचारलाई साँचेर राखिदिनु भएको छ।

६. आज आफ्ना ‘दासहरू’ का निम्ति पौष्टिक आहार प्रदान गर्दा प्रयोग गर्नु हुने माध्यमलाई येशूले कसरी चिनाउनुभयो?

यूहन्‍नाको दिनमा परमेश्‍वरले प्रकाशको पुस्तक एउटा खास सञ्चार माध्यमद्वारा दिनु भयो र त्यो माध्यमको पार्थिव अङ्‌ग यूहन्‍ना थिए। आज पनि आफ्ना ‘दासहरूलाई’ आध्यात्मिक पौष्टिक आहार दिने परमेश्‍वरको एउटा माध्यम छ। यस रीतिरिवाजको अन्तबारे आफ्नो महान भविष्यवाणी भन्‍नु हुँदा येशूले त्यस माध्यमको पार्थिव अङ्‌ग “विश्‍वासी र बुद्धिमान दास” हो र उसलाई “त्यसको मालिकले ठीक ठीक समयमा खान देओस्‌ भनेर आफ्नो परिवारमाथि खटाएको हुन्छ” भन्‍नु भयो। (मत्ती २४:३; ४५-४७) यही यूहन्‍नावर्गलाई नै येशूले यो भविष्यवाणीको अर्थ खोल्न प्रयोग गर्नु हुन्छ।

७. (क) प्रकाशको पुस्तकमा पाइने चिह्नहरूले हामीमाथि के असर पार्नु पर्ने हो? (ख) प्रकाशको पुस्तकको दर्शनहरूको पूर्तिमा यूहन्‍नावर्गका केही जनहरूले कति वर्षदेखि भाग लिंदै आएका छन्‌?

प्रेरित यूहन्‍ना भन्छन्‌ कि येशूले प्रकाशको पुस्तक “चिह्न” र प्रतीकहरूद्वारा प्रस्तुत गर्नुभयो। यी ज्वलन्त चिह्न र प्रतीकहरू जाँच गर्दा हृदय आनन्दले गद्‌गद हुन्छ। यी चिह्न र प्रतीकहरू महान कार्यहरूका चित्रण हुन्‌। यिनीहरूले हामीलाई भविष्यवाणी र त्यसको अर्थ अरूहरूलाई बताउने जोडदार प्रेरणा दिन्छन्‌। प्रकाशको पुस्तकले हाम्रो सामुन्‍ने अनेक सनसनीयुक्‍त दर्शनहरू पनि प्रस्तुत गर्दछ। तीमध्येको प्रत्येक दर्शनमा यूहन्‍नाले या त दर्शकको रूपमा वा साक्षात्‌ भाग लिए। तर धेरै दशकदेखि यूहन्‍नावर्गका केही जनहरूले ती दर्शनहरूको पूर्तिमा भाग लिंदै आएका छन्‌। तिनीहरूले अरूहरूलाई पनि त्यो बताउन सकून्‌ भनेर परमेश्‍वरको आत्माले यी दर्शनहरूको अर्थ खोलिदिएकोमा तिनीहरू अति नै खुशी छन्‌।

८. (क) प्रकाशको पुस्तकको प्रत्येक दर्शन किन भिन्‍न छ? (ख) दानिएलको भविष्यवाणीले हामीलाई प्रकाशको पुस्तकका जनावरहरूको अर्थ बुझ्ने सहायता कसरी दिन्छ?

प्रकाशका दर्शनहरू कालक्रमानुसार प्रस्तुत छैनन्‌। प्रत्येकको पूरा हुने समय बेग्लै छ। केही यस्ता दर्शनहरू पनि छन्‌ जसमा पहिले पहिलेका भविष्यवाणीहरूका शब्दहरू दोहोऱ्‍याइएका छन्‌। यी शब्दहरूले ती भविष्यवाणीहरूको अर्थ खोल्ने सहायता दिन्छन्‌। उदाहरणका लागि, दानिएलको भविष्यवाणीमा वर्णित चारवटा डरलाग्दा जनावरहरूको अर्थ पृथ्वीमा शासन गर्ने शाक्‍तिहरू हुन्‌ भनेर व्याख्या गरिएको छ। अतः प्रकाशको पुस्तकका जनावरहरू पनि आजका लगायत जम्मै राजनैतिक सङ्‌घहरूकै प्रतीक हुन्‌ भनेर हामीले बुझ्ने मदत पाउँछौं।—दानिएल ७:१-८, १७; प्रकाश १३:२, ११-१३; १७:३.

९. (क) यूहन्‍नाले जस्तै, आज यूहन्‍नावर्गकाहरूले पनि कस्तो मनोवृत्ति देखाएका छन्‌? (ख) यूहन्‍नाले हामीलाई आनन्दित हुने कुन मार्ग देखाउँछन्‌?

परमेश्‍वरले येशू ख्रीष्टद्वारा दिनु भएको समाचारबारे साक्षी दिन यूहन्‍ना विश्‍वासी भए। उनले “देखेका सबै कुराहरू”को विस्तृत विवरण दिए। यूहन्‍नावर्गकाहरूले पनि यस भविष्यवाणीलाई सम्पूर्ण रीतिले बुझ्न र त्यसमा भएका असल कुराहरू परमेश्‍वरका जनहरूलाई बताउन परमेश्‍वर र येशू ख्रीष्टबाट बडो उत्सुकतासाथ सहायता खोज्दै आएका छन्‌। अभिषिक्‍त मण्डली (र महासङ्‌कष्टमा परमेश्‍वरले बचाउनु हुने ठूलो भीड)को लाभका लागि यूहन्‍ना यसप्रकार लेख्छन्‌: “जसले यो अगमवाणीका वचनहरू पढ़छ, र जस जसले सुन्छन्‌, र त्यसमा लेखिएका कुराहरू पालन गर्छन्‌, तिनीहरू धन्यका हुन्‌, किनभने समय नजीकै छ।”—प्रकाश १:३.

१०. आनन्द प्राप्त गर्न हामीले प्रकाशको पुस्तकबारे के गर्नुपर्छ?

१० प्रकाशको पुस्तक पढ्‌नु भयो र खासगरी त्यसमा लेखिएका कुराहरू पालन गर्नु भयो भने तपाईं अति नै लाभान्वित हुनुहुनेछ। यूहन्‍नाले उनको एउटा पत्रमा यसरी लेखेका थिए: “किनभने उहाँका आज्ञा पालन गर्नुनै परमेश्‍वरप्रति प्रेम हो, र उहाँका आज्ञाहरू कडा छैनन्‌। किनकि परमेश्‍वरबाट उत्पन्‍न भएकोले संसारलाई विजय गर्छ र संसारमाथि विजयी हुने विजयचाहिं हाम्रो विश्‍वास हो।” (१ यूहन्‍ना ५:३, ४) यसप्रकारको विश्‍वास बढाउनु भएर तपाईंले परम आनन्द प्राप्त गर्न सक्नुहुन्छ!

११. (क) यस भविष्यवाणीका वचनहरू पालन गर्नु किन अत्यावश्‍यक छ? (ख) कुन समय अब डर लाग्दो गरी नजिक आइ पुगेको हुनुपर्छ?

११ “समय नजीकै” भएको हुनाले यस भविष्यवाणीका वचनहरू पालन गर्नु अत्यावश्‍यक छ। तर के हुने समय नजीकै छ? प्रकाशको पुस्तकमा उल्लिखित ईश्‍वरीय न्याय र भविष्यवाणीहरू पूरा हुने समय नजीकै छ। परमेश्‍वर र येशू ख्रीष्टले शैतानको विश्‍व-रीतिरिवाजमाथि आखिरी न्यायदण्ड कार्यान्वयन गर्ने समय नजीकै छ। तर “त्यस दिन र त्यस घडी” चाहिं पितालाई मात्र थाह छ भनेर येशूले उहाँ पृथ्वीमा हुनु हुँदा भन्‍नु भएको थियो। हाम्रो समयमा बढ्‌दै गएका आपत्‌विपत्‌हरूबारे अग्रिमवाणी गर्नु हुँदै येशूले यसो पनि भन्‍नु भएको थियो: “यी सबै कुरा भइ नसकुञ्जेल यो पुस्ता बितिजाने छैन।” यसकारण परमेश्‍वरको फैसला कार्यान्वयन गर्न तोकिएको समय डरलाग्दो गरी नजिक आइ पुगेको हुनुपर्छ। (मर्कूस १३:८, ३०-३२) हबकूक २:३ मा भनेझैं: “त्यो दर्शन ठहराएको समयमा पूरा हुनेछ, त्यो पूरा हुने बेला चाँडै आउँदैछ, त्यसले धोका दिंदैन। त्यो पूरा हुनु ढीलो भए तापनि त्यसको बाटो हेर्दै बस, किनभने त्यो निश्‍चय पूरा हुनेछ, त्यसले ढीलो गर्नेछैन।” ईश्‍वरीय भविष्यवाणीको वचन पालन गर्नुमा नै महासङ्‌कष्टमा हाम्रो मुक्‍ति निर्भर गर्दछ।—मत्ती २४:२०-२२.

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १५-मा भएको पेटी]

प्रकाशको पुस्तक बुझ्नका लागि हामीलाई यी कुराहरू चाहिन्छ

● यहोवा परमेश्‍वरको आत्माको सहायता

● प्रभुको दिन आरम्भ भएको समय

● विश्‍वासी र बुद्धिमान दासको पहिचान