सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

चार घोडसवारहरूको दौड!

चार घोडसवारहरूको दौड!

अध्याय १६

चार घोडसवारहरूको दौड!

दर्शन ३—प्रकाश ६:१-१७

विषय: चार घोडसवारको घोडदौड, शहीद भएका साक्षीहरू वेदीमनि र क्रोधको त्यो ठूलो दिन

पूर्ति समयावधि: सन्‌ १९१४-देखि यस रीतिरिवाजको विनाशसम्म

१. येशूले खोल्नु हुने रहस्यमय पुस्तकका कुराहरू यहोवाले यूहन्‍नालाई कसरी प्रकट गर्नुहुन्छ?

 यो सङ्‌कटको घडीमा के हामी “चाँडै अवश्‍य हुनआउने कुरा”-मा गहिरो रुचि राख्दैनौं र? अवश्‍य राख्छौं। आखिर ती कुराहरूमा हामी आफै पनि त बिथोलित छौं! अतः आउनुहोस्‌, येशूले त्यो रहस्यमय पुस्तक अब खोल्नु हुँदा हामी पनि यूहन्‍नासित बसेर हेरौं! तर छक्कलाग्दो कुरा के हो भने, यूहन्‍नाले त्यो पुस्तक पढ्‌नु पर्दैन। किन? किनभने त्यसमा भएका कुराहरू यूहन्‍नालाई “चिह्नहरू”द्वारा गतिशील, घटनायुक्‍त र श्रृङ्‌खलाबद्ध दर्शनहरूको रूपमा बताइन्छ।—प्रकाश १:१, १०.

२. (क) यूहन्‍ना के देख्छन्‌ र सुन्छन्‌ अनि करूब देखा पर्नुको अर्थ के हुन सक्छ? (ख) प्रथम करूबको आदेश कसका लागि हो र तपाईं त्यसो किन भन्‍नुहुन्छ?

येशूले पुस्तकको प्रथम छाप खोल्नुहुँदा, यूहन्‍ना के भन्छन्‌, सो सुन्‍नुहोस्‌: “अनि जब थुमाले ती सातमध्ये एउटा छाप खोल्नुभयो, तब मैंले हेरें, र ती चारमध्येका एउटा जीवित जीवातले गर्जनको आवाजजस्तै ‘आऊ’ भनेको मैंले सुनें।” (प्रकाश ६:१) यो प्रथम करूबको आवाज हो। यहोवाको सङ्‌गठनले पनि साहसपूर्वक यहोवाको न्याय कार्यान्वयन गर्नेछ भनी यूहन्‍नालाई त्यो सिंहको रूपबाट बोध हुन्छ। तर त्यो आदेश कसका लागि हो? यूहन्‍नाका लागि त हुन सक्‍तैन किनभने यी भविष्यसूचक दृश्‍यहरूमा भाग लिने निम्तो यूहन्‍नाले पहिले नै पाइ सकेका थिए। (प्रकाश ४:१) अतः त्यो ‘गर्जनजस्तै आवाजले’ यी चारवटा श्रृङ्‌खलाबद्ध र सनसनीपूर्ण घटनाहरूमा भाग लिने अरूलाई नै बोलाइरहेछ।

सेतो घोडा र त्यसको सुप्रसिद्ध सवार

३. (क) यूहन्‍नाले अब कुन कुरा वर्णन गर्छन्‌? (ख) बाइबलको प्रतिकात्मक प्रयोगअनुसार सेतो घोडाले कुन कुरालाई चित्रित गर्छ?

यूहन्‍ना तथा तिनका साथमा जोशिला यूहन्‍नावर्ग र तिनीहरूका वर्तमान सङ्‌गीहरूले एउटा गतिशील नाटक हेर्ने सुअवसर पाएका छन्‌! यूहन्‍ना भन्छन्‌: “औ मैंले हेरें, र सेतो घोडा र त्यसमाथि बस्नेले एउटा धनु लिएको मैंले देखें, र तिनलाई एउटा मुकुट पनि दिइयो, औ तिनी विजय गर्दै र विजय गर्नालाई निस्के।” (प्रकाश ६:२) हो, त्यो गर्जनजस्तै आवाजले “आऊ” भन्‍नासाथै सेतो घोडा दौड्‌दै आउँछ। बाइबलमा घोडा अक्सर युद्धको प्रतीक हो। (भजन २०:७; हितोपदेश २१:३१; यशैया ३१:१) यो सम्भवतः एउटा सुन्दर आँडू घोडा हुनुपर्छ जसको चम्किलो सेतो रङ्‌गबाट निष्कलङ्‌क पवित्रताको बोध हुन्छ। (प्रकाश १:१४; ४:४; ७:९; २०:११-सित तुलना गर्नुहोस्‌।) कति उपयुक्‍त! किनकि यो घोडा एउटा यस्तो युद्धको प्रतीक हो जो यहोवाको पवित्र दृष्टिमा शुद्ध र धार्मिक छ!—प्रकाश १९:११, १४ हेर्नुहोस्‌.

४. सेतो घोडाको घोडसवार को हुनुहुन्छ? व्याख्या गर्नुहोस्‌।

यो सेतो घोडामाथि को सवार छ? उनीसित धनु अर्थात्‌ युद्धको एउटा आक्रामक हतियार छ। तर उनलाई एउटा मुकुट पनि दिइएको छ। प्रभुको दिनमा मुकुट लाउने धार्मिक जनहरू येशू र २४ जना प्राचीनहरूद्वारा चित्रित वर्ग मात्र हुन्‌। (दानियल ७:१३, १४, २७; लूका १:३१-३३; प्रकाश ४:४, १०; १४:१४) a साथै, २४ जना प्राचीनहरूको समूहबाट कुनै एक जनाले पनि आफ्नै योग्यताको आधारमा मुकुट पाएको चित्रण गरिनु सम्भाव्य देखिंदैन। अतः यी एक्लो घोडसवार येशू ख्रीष्ट बाहेक अरू कोही हुनै सक्‍तैन। यहाँ यूहन्‍नाले खासगरी १९१४-मा घटित इतिहासको त्यो ऐन घडीमा येशूलाई स्वर्गमा देख्छन्‌। त्यतिखेर स्वयं यहोवाले पनि “मैले आफ्नै राजालाई स्थापित गरेको छु” भनेर घोषित गर्नुहुन्छ। र यसको उद्देश्‍य चाहिं “अन्यजातिहरूलाई तिम्रो सम्पत्ति तुल्याइदिनु हो” भनेर यहोवाले येशूलाई बताउनु हुन्छ। (भजन २:६-८) b तसर्थ, परमेश्‍वरको नियुक्‍त समय आएपछि येशू आफै नै त्यो नयाँ गद्दीनसिन राजाको रूपमा प्रकट हुनु भएर युद्धमा कसरी जाइलाग्नु हुनेछ, सो उहाँले प्रथम छाप खोल्नु हुँदा प्रकाश पार्नु हुन्छ।

५. भजन रचयिताले सेतो घोडाको सवारबारे प्रकाश ६:२-सित मिल्दोजुल्दो वर्णन कसरी गरेका छन्‌?

उक्‍त दृश्‍य र यहोवाले सिंहासनमा बसाल्नु भएको राजालाई सम्बोधन गर्ने यो भजन ४५:४-७, कति राम्ररी मिल्दोजुल्दो छन्‌: “अनि सत्यता, नम्रता र धार्मिकताको निम्ति तिम्रो महामहिमामा सफलतासाथ सवारी गर। औ तिम्रो दाहिने हातले तिमीलाई भयानक काम सिकाउला। तिम्रो काँडाहरू तीखा तीखा छन्‌, राजाका शत्रुहरूका बीचमा ती हुनेछन्‌। मानिसहरू तिम्रो सामने घोप्टो पर्छन्‌। . . . तपाईंको सिंहासन सर्वदा . . . [परमेश्‍वर हुनुहुन्छ।] [ NW] पक्षपातरहितको राजदण्ड तपाईंको राज्यको राजदण्ड हो। तपाईंलाई धार्मिकता मन पर्छ, र दुष्टतालाई तपाईं घृणा गर्नुहुन्छ, यसकारण परमेश्‍वरले, तिम्रा परमेश्‍वरले तिम्रा साथीहरूभन्दा बढ्‌ता गरेर हर्षको तेलले तिमीलाई अभिषेक गर्नुभएको छ।” उक्‍त भविष्यसूचक वर्णनसित यूहन्‍ना परिचित भएको हुनाले त्यो विवरण येशूकै राजकीय गतिविधिसित सम्बन्धित छ भनी उनले बुझ्न सक्छन्‌।—हिब्रू १:१, २, ८, ९-सित तुलना गर्नुहोस्‌।

विजयी हुँदै अघि बढ्‌नु

६. (क) सेतो घोडाको सवार किन विजय गर्दै अघि बढ्‌नु पर्छ? (ख) यो विजय-दौड कुन समयावधिसम्मै कायम रहनेछ?

तर यी नयाँ गद्दीनसिन राजा किन युद्ध गर्न जाइ लाग्नु पर्छ? किनभने यहोवाको खास दुश्‍मन दियाबल अर्थात्‌ शैतान र जानाजानी होस्‌ वा अन्जानमा शैतानकै सेवा गर्ने पृथ्वीका बासिन्दाहरूको घोर विरोधको सामु उहाँको राजत्व स्थापित हुन्छ। यहाँसम्म कि मसीही राज्यको जन्म नै स्वर्गमा ठूलो युद्धको कारण हुन जान्छ। त्यस युद्धमा भाग लिंदा येशूले माइकल (जसको अर्थ हो “परमेश्‍वर जस्तो को छ र?”) नाउँ धारण गर्नुहुन्छ। उहाँले शैतानलाई पराजित गर्नुहुन्छ र त्यसलाई त्यसका प्रेतहरू समेत तल पृथ्वीमा फ्याँकिदिनु हुन्छ। (प्रकाश १२:७-१२) प्रभुको दिनका प्रारम्भिक दशकहरूको दौडान भेडाखालका मानिसहरूलाई जम्मा गरिंदा येशूको विजयी घोडदौड कायम रहन्छ। सारा संसार “दुष्टको अधीनमै” भए तापनि येशूले आफ्ना अभिषिक्‍त भाइहरू र उनीहरूका सङ्‌गीहरूलाई प्रेमपूर्वक लगातार डोऱ्‍याउनु हुन्छ। उहाँले तिनीहरू प्रत्येकलाई विश्‍वासको विजय हासिल गर्न मदत दिनुहुन्छ।—१ यूहन्‍ना ५:१९.

७. प्रभुको दिनका प्रथम दशकहरूमै येशूले पृथ्वीमा के विजय हासिल गर्नु भएको छ र हाम्रो अठोट के हुनुपर्छ?

येशूले प्रभुको दिनको गत ९० वर्षभन्दा बढी समयको दौडान अरू कुनकुन विजय हासिल गर्नु भएको छ? प्रेरित पावलले आफ्नो सेवकाईको प्रमाण प्रस्तुत गर्दा वर्णन गरेजस्तै थुप्रै कठिनाइ, सतावट र दबावहरू यहोवाका जनहरूले पनि विश्‍वभरि, मण्डलीय र व्यक्‍तिगत, दुवै तवरमा अनुभव गरेका छन्‌। (२ कोरिन्थी ११:२३-२८) खासगरी युद्ध र हिंसाको रङ्‌गमञ्चमा उभिनु पर्दा, यहोवाका साक्षीहरूलाई धैर्य धारण गर्न असामान्य “शक्‍ति”-को आवश्‍यकता परेको छ। (२ कोरिन्थी ४:७) तर कठिनभन्दा कठिन स्थितिमा पनि विश्‍वासी साक्षीहरूले पावलले झैं यसो भन्‍न सकेका छन्‌: “प्रभु मेरो साथमा खडा हुनुभयो, र मलाई खूब बलियो तुल्याउनुभयो।” (२ तिमोथी ४:१७) हो, येशूले नै तिनीहरूलाई तिनीहरूको पक्षमा विजय हासिल गराइदिनु भएको छ। र हामीले पनि विश्‍वासमा अन्तसम्मै विजयी हुने अठोट गरेका छौं भने उहाँले हाम्रालागि पनि विजय हासिल गराइ दिनु हुनेछ।—१ यूहन्‍ना ५:४.

८, ९. (क) यहोवाका साक्षीहरूको विश्‍वव्यापी मण्डलीले कुनकुन विजयहरूमा भाग लिएको छ? (ख) विशेषगरि कुन देशहरूमा यहोवाका साक्षीहरूले अद्‌भुत वृद्धि अनुभव गरेका छन्‌?

आफ्नो विजयी राजाको निर्देशन अन्तर्गत यहोवाका साक्षीहरूको विश्‍वव्यापी मण्डलीले थुप्रै विजयहरूमा भाग लिएको छ। विशेषतः १९१८-मा बाइबलका यी विद्यार्थीहरूमाथि शैतानको राजनैतिक सङ्‌गठन केही समयका लागि ‘विजयी’ हुँदा येशूले तिनीहरूलाई सम्पूर्णतः नाश हुनदेखि बचाउनु भयो। उहाँले १९१९-मा तिनीहरूलाई झ्यालखानाबाट समेत मुक्‍त गराउनु भयो। उनीहरूलाई “पृथ्वीको अन्तसम्मै” सुसमाचार घोषणा गर्न उहाँले पुनःजागृत पार्नुभयो।—प्रकाश १३:७; प्रेरित १:८.

दोस्रो विश्‍वयुद्ध पूर्व र त्यसको दौडान पनि जर्मनी, इटाली र जापानका एकजुट तानाशाह शक्‍तिहरूले यहोवाका साक्षीहरूलाई नामेट पार्ने कोशिश गरे। खासगरी ती देशहरूमा जहाँ मूलतः रोमन क्याथोलिक गिर्जाका धर्मगुरुहरूले क्रूर शासकहरूलाई खुलेआम तथा मौन स्वीकृति दिए। यहोवाका १०,०००-भन्दा बढी साक्षीहरूलाई लामो समयसम्म झ्यालखाना र यातना शिविरहरूमा थुनेर राखियो र झन्डै २,००० त मारिए पनि। तापनि १९३९-मा युद्ध सुरु हुँदा ७१,५०९ साक्षीहरू थिए भने १९४५-मा युद्ध समाप्त हुँदा ती साक्षीहरूको सङख्या बढेर १,४१,६०६ भयो। आज भने पृथ्वीभरि सक्रिय साक्षीहरूको सङ्‌ख्या ६० लाखभन्दा बढी भएको छ। क्याथोलिक मुलुकहरू र सबैभन्दा कठोर सतावट अनुभव गरिएका देशहरू अर्थात्‌ जर्मनी, इटाली, र जापानमा विशेष वृद्धि भएको छ। प्राप्त रिपोर्टअनुसार, यी देशहरूमा आज कुल ६,००,०००-भन्दा बढी साक्षीहरू सक्रिय क्षेत्र सेवकहरू छन्‌।—यशैया ५४:१७; यर्मिया १:१७-१९.

१०. ‘कानुनन्‌ सुसमाचारको रक्षा र समर्थन’ गर्ने सिलसिलामा पनि विजयी राजाले आफ्ना मानिसहरूलाई के कस्ता विजयहरूद्वारा आशिष दिनु भएको छ?

१० हाम्रो विजयी राजाले आफ्ना जोशिला जनहरूलाई अझ अर्को आशिष पनि दिनु भएको छ। तिनीहरूले ‘कानुनन्‌ सुसमाचारको रक्षा र समर्थन’ गर्न खोज्दा उहाँले तिनीहरूलाई अदालत र शासकहरूको सामु धेरै पटक विजयी तुल्याउनु भएको छ। (फिलीप्पी १:७; मत्ती १०:१८; २४:९) सो उहाँले अन्तर्राष्ट्रिय स्तरमा गर्दै आउनु भएको छ जस्तो कि अष्ट्रेलिया, अर्जेन्टीना, क्यानाडा, ग्रीस, भारत, स्वाजीलैन्ड, टर्की र अझ अन्य देशहरूमा। संयुक्‍त राज्य अमेरिकाको सर्वोच्च अदालतबाट यहोवाका साक्षीहरूले ५० कानुनी मुद्दाहरू जितेका छन्‌। तीमध्येका केही जीतहरूबाट नै “घर-घरमा र खुल्लमखुल्ला” सुसमाचार प्रचार गर्ने हाम्रो अधिकार र राष्ट्रियतासम्बन्धी मूर्तिपूजक रीतिथितिमा भाग नलिने हाम्रो फैसला सुरक्षित हुने भयो। (प्रेरित ५:४२; २०:२०; १ कोरिन्थी १०:१४) यसप्रकार बढ्‌दो विश्‍वव्यापी साक्षी दिने कार्यका लागि ढोका खुला रहेको छ।

११. (क) सेतो घोडाको सवारले कसरी आफ्नो “विजय” पूरा गर्छन्‌? (ख) दोस्रो, तेस्रो र चौथो छापहरू खुलेपछि हामीमाथि के असर पर्नु पर्ने हो?

११ येशूले कसरी आफ्नो “विजय” अभियान पूरा गर्नुहुन्छ? c उहाँले झूटो धर्मको नाश गर्नु हुनेछ। यसपछि यहोवाको सार्वभौमिकताको प्रमाणीकरण गर्नु हुँदै उहाँले शैतानको दृश्‍य सङ्‌गठनको बाँकी जम्मै भागलाई विनाशको प्रतीकात्मक “अग्नि कुण्डमा” फालिदिनुहुनेछ। हामी विश्‍वस्त भएर आरमागेडोनको बाटो हेर्छौं जब शैतानको क्रूर राजनैतिक सङ्‌गठनमाथि हाम्रो “राजाहरूको राजा” अन्ततः विजयी हुनुहुनेछ! (प्रकाश १६:१६; १७:१४; १९:२; १४-२१; इजकिएल २५:१७) तर अहिले चाहिं सेतो घोडाको ती अजेय सवार अघि बढ्‌दा यहोवाले आफ्नो धार्मिक पार्थिव राष्ट्रमा इमान्दार व्यक्‍तिहरू थप्दै जानु हुन्छ। (यशैया २६:२; ६०:२२) यो राज्यसम्बन्धी आनन्दमय बढोत्तरीमा के तपाईंले पनि अभिषिक्‍त यूहन्‍नावर्गसित भाग लिनु हुँदैछ? लिनु हुँदैछ भने, बाँकी तीन वटा छाप खोल्दा प्रेरित यूहन्‍नाले देखेका कुराहरूबाट तपाईं यहोवाको वर्तमान कार्यमा अझ बढी भाग लिन उत्प्रेरित हुनु हुनेछ।

लौ हेर्नुहोस्‌, अग्निमय रातो घोडालाई!

१२. येशूले उहाँको अदृश्‍य राजकीय उपस्थिति के द्वारा चिन्हित हुनेछ भन्‍नुभयो?

१२ येशूको पार्थिव सेवकाईको अन्ततिर उहाँका अनुयायीहरूले उहाँलाई एकान्तमा यो सोधे: “हामीलाई भन्‍नुहोस्‌, तपाईंको आगमन र जगतको अन्तको चिह्न के हुन्छ?” यसको जवाफमा येशूले “कष्टको सुरु”-मा हुने विपत्तीहरूबारे अग्रिमसूचना दिनु भयो। येशूले यसो भन्‍नुभयो: “जातिको विरुद्धमा जाति, र राज्यको विरुद्धमा राज्य उठ्‌नेछ, ठूला ठूला भैंचालो जानेछ, औ विभिन्‍न ठाउँहरूमा रूढी र अनिकाल हुनेछ, आकाशबाट डरलाग्दा लक्षण र ठूला ठूला चिह्नहरू हुनेछन्‌।” (मत्ती २४:३, ७, ८; लूका २१:१०, ११) येशूको उक्‍त भविष्यवाणीसित मेल खाने विशेष समानान्तर, पुस्तकका बाँकी छापहरू खोल्दा यूहन्‍नाले देख्ने कुराहरूमा पाइन्छ। यसकारण अब महिमावान येशूले दोस्रो छाप खोल्नु हुँदा ध्यान पुऱ्‍याएर हेर्नुहोस्‌!

१३. यूहन्‍नाले अब कुन विरोधाभास देख्नै लागेका छन्‌?

१३ औ जब उहाँले दोस्रो छाप खोल्नुभयो, तब दोस्रो जीवित जीवातले मलाई ‘आऊ’ भनेको मैंले सुनें।” (प्रकाश ६:३) यो आदेश बहर जस्तो दोस्रो करूबले दिन्छ। यहाँ चित्रित गुण शक्‍ति हो जो धार्मिकतानुसार प्रयोग गरिन्छ। तर यसको ठीक विपरीत, अब शक्‍तिको घीनलाग्दो र मृत्युदायी दुरुपयोग यूहन्‍नाले देख्नै लागेका छन्‌।

१४. यूहन्‍नाले अब कुन घोडा र घोडसवार देख्छन्‌ अनि यस दर्शनबाट के बोध हुन्छ?

१४ तथापि, “आऊ!” भन्‍ने यो दोस्रो आदेश कसरी पालन गरिन्छ? यसरी: “औ अर्को एउटा उज्ज्वल रातो घोडा निस्केर आयो, र एउटाले अर्कोलाई काटमार गराई पृथ्वीबाट शान्ति हरण गर्ने अख्तियार त्यस घोडामाथि चढनेलाई दिइयो, र तिनलाई एउटा ठूलो तरवार दिइयो।” (प्रकाश ६:४) कति भीषण दर्शन हो यो! र यसले स्पष्टतः एउटै कुरालाई चित्रित गर्छ: युद्ध! तर यहोवाको अजेय राजाले लड्‌ने धार्मिक तथा जयन्त युद्ध चाहिं होइन। यो त हो अनावश्‍यक रक्‍तपात र पीडाग्रस्त क्रूर, मानवकल्पित अन्तर्राष्ट्रिय युद्ध। नभन्दै यो घोडसवार एउटा अग्निमय रातो घोडामाथि सवार छ!

१५. दोस्रो घोडसवारको दौडमा हामी कुनै रीतिले पनि सहभागी हुन किन चाहँदैनौं?

१५ निःसन्देह, यो घोडसवार र उसको बौलाहा दौडमा यूहन्‍ना सहभागी हुन चाहँदैनन्‌। किनभने परमेश्‍वरका जनहरूबारे यो भविष्यवाणी गरिएको थियो: “तिनीहरूले अब उप्रान्त युद्ध गर्न सिक्नेछैनन्‌।” (यशैया २:४) यूहन्‍नाका साथै यूहन्‍नावर्ग र ठूलो भीड “संसारमै” भए तापनि तिनीहरू यस रक्‍तरञ्जित “संसारको” भाग चाहिं होइनन्‌। हाम्रा हतियारहरू आत्मिक हुन्‌ जो “परमेश्‍वरका सामने शक्‍तिमान” छन्‌। यी हतियारहरू शारीरिक युद्ध लड्‌न होइन तर सक्रियतासाथ सत्य घोषणा गर्न प्रयोग गरिन्छन्‌।—यूहन्‍ना १७:११, १४; २ कोरिन्थी १०:३, ४.

१६. रातो घोडाको सवारलाई “ठूलो तरवार” कहिले र कसरी दिइयो?

१६ सेतो घोडाको सवारलाई मुकुट प्रदान गर्ने साल अर्थात्‌ १९१४-पूर्व पनि थुप्रै युद्धहरू लडिएका थिए। तर अब भने रातो घोडाको सवारलाई एउटा “ठूलो तरवार” दिइन्छ। यसबाट के सङ्‌केत हुन्छ? प्रथम विश्‍वयुद्ध दन्कनासाथै मानव-युद्धहरूले अझ विध्वंसक र रक्‍तपिपासु रूप धारण गरेको छ। सन्‌ १९१४-१८-बीच खेलिएको रक्‍तमय होलीमा ट्याङ्‌कहरू, विषालु ग्याँस, पनडुब्बीहरू, ठूला-ठूला तोपहरू र स्वचालित हतियारहरू प्रथम पटक अथवा पहिलेभन्दा अति नै विस्तृत रूपमा प्रयोग गरिए। करीब २८ राष्ट्रहरूमा पेशेवर सिपाहीहरूबाहेक जनतालाई समेत युद्धसम्बन्धी गतिविधिमा भाग लिन बाध्य गराइयो। मारिनेहरूको सङख्या विकराल थियो। नब्बे लाखभन्दा बढी सिपाहीहरू मारिए र आम जनताको नोक्सान बयान गरेर साध्य छैन। युद्ध समाप्त भएपछि पनि पृथ्वीमा साँचो शान्ति चाहिं फर्केन। त्यो युद्धपश्‍चात्‌ करीब ५०-वर्षपछि जर्मन राजनीतिज्ञ कन्‌राड एडेनरले यो टिप्पणी गरे: “सन्‌ १९१४-उप्रान्त मानिसहरूको जीवनबाट सुरक्षा र शान्ति लोप भएको छ।” हो, त्यो अग्निमय रातो घोडाको सवारलाई पृथ्वीबाट शान्ति हरण गर्ने अधिकार साँच्चै नै दिइएको थियो!

१७. प्रथम विश्‍वयुद्धपछि पनि “ठूलो तरवार”-को प्रयोग कसरी भइ नै रहेको छ?

१७ अनि रगतको स्वाद पाइसकेपछि त्यो रातो घोडसवार दोस्रो विश्‍व-युद्धतिर हुत्तिंदै गयो। काटमारका झन खतरनाक हतियारहरू प्रयोग गरिए र मारिनेहरूको सङ्‌ख्या प्रथम विश्‍व-युद्धमा भन्दा चारगुना बढी भयो। सन्‌ १९४५-मा दुइटा अणुबमहरू जापानमा पड्‌काइयो। प्रत्येकले क्षणभरमा दसौं हजार मानिसहरूलाई सखाप पाऱ्‍यो। दोस्रो विश्‍व-युद्धमा मात्र रातो घोडाको सवारले करीब साढे पाँच करोड ज्यानहरूको फसल काट्यो। तर यतिले ऊ अघाएन जस्तो छ। भरपर्दो सूत्रअनुसार दोस्रो विश्‍वयुद्धपश्‍चात्‌ दुई करोडभन्दा बढी मानिसहरूमाथि त्यो “ठूलो तरवार”-को चोट परेको छ।

१८, १९. (क) दोस्रो विश्‍वयुद्धदेखि चलिआएको काटमार सैनिक प्रविधिको जीत नभएर कुन कुराको प्रमाण हो? (ख) मानिसजातिको सामु कुन खतरा छँदैछ तर त्यसलाई हटाउन सेतो घोडाको सवारले के गर्नेछन्‌?

१८ के हामीले यसलाई सैनिक प्रविधिको विजय भन्‍नु मिल्छ र? मिल्दैन। बरु यो त त्यो निठुरी रातो घोडा दौडेको प्रमाण हो। यो दौड कहिले समाप्त हुने हो? केही वैज्ञानिकहरूको भनाइअनुसार एउटा नियोजित आणविक विध्वंस होस्‌ नहोस्‌, आकस्मिक आणविक युद्ध हुने चाहिं सम्भावना धेरै छ! तथापि यसबारे विजेता सेतो घोडसवारको सोचाइ बेग्लै छ।

१९ राष्ट्रिय अहङ्‌कार र घृणाको आधारमा टिकेको समाज रहुञ्जेल मानिसजाति आणविक खतराको ढिकोमाथि बसि नै रहनु पर्छ। अन्ततः राष्ट्रहरू हैरान भएर सबै आणविक हातहतियार फाले तापनि ती पुनः उत्पादन गराउने सीप तिनीहरूसित रही नै रहनेछ। ध्वंसात्मक आणविक यन्त्रहरू तिनीहरूले फेरि तुरुन्तै बनाउन सकिहाल्नेछन्‌; जसले गर्दा साधारण हातहतियार प्रयोग गरेर लडिने युद्ध पनि सजिलैसित ठूलो विनाशमा परिणत हुन सक्छ। आज राष्ट्रहरू अहङ्‌कार र घृणाको लपेटमा परेका छन्‌ र यसले मानवजातिलाई आत्महत्याको संघारमा नपुऱ्‍याइ छाड्‌दैन। यसलाई रोक्ने एकमात्र उपाय छ। ती सेतो घोडाको सवारले अग्निमय रातो घोडाको सवारको बौलाहा दौडलाई ठ्याम्मै रोकिदिनु पर्छ। र हामी पनि विश्‍वस्त छौं कि शैतानको यो अधीनस्थ संसारमाथि हाम्रो राजा ख्रीष्ट सम्पूर्णतः विजयी हुनुहुनेछ; उहाँले ईश्‍वर र छिमेकीको प्रेममा आधारित एउटा नयाँ पार्थिव समाज स्थापित गर्नुहुनेछ; आणविक युद्ध रोक्ने हाम्रा बौलाहा समयहरूको निकम्मा उपायहरूभन्दा उपरोक्‍त प्रेम नै शान्ति स्थापनाका लागि धेरै प्रभावकारी शक्‍ति हुनेछ।—भजन ३७:९-११; मर्कूस १२:२९-३१; प्रकाश २१:१-५.

एउटा कालो घोडा वेगसित अघि बढ्‌छ

२०. सेतो घोडाको सवारले जस्तोसुकै विपत्तिजनक स्थितिलाई पनि सम्हाल्न सक्नु हुन्छ भनेर हामी किन निश्‍चिन्त छौं?

२० येशूले अब तेस्रो छाप खोल्नु हुन्छ! यूहन्‍ना, तिमी के देख्छौ? “जब उहाँले तेस्रो छाप खोल्नुभयो, तब तेस्रो चाहिं जीवित जीवातले ‘आऊ’ भनेको मैंले सुनें।” (प्रकाश ६:५क) यो तेस्रो करूबको अनुहार मानिसको जस्तो छ र यसले प्रेम बोध गराउँछ। परमेश्‍वरको नयाँ संसार सैद्धान्तिक प्रेमले भरिनेछ। जस्तो कि आज पनि यहोवाको सङ्‌गठनभरि सोही गुण व्याप्त छ। (प्रकाश ४:७; १ यूहन्‍ना ४:१६) तर अहिले चाहिं यूहन्‍नालाई एउटा सङ्‌कटग्रस्त स्थिति देखाइन्छ। तथापि यो स्थितिलाई पनि “सारा शत्रु आफ्नो पाउमनि नराखुञ्जेल . . . राज्य” गर्ने सेतो घोडाको सवारले प्रेमपूर्वक हटाइ दिनुहुनेछ भनी हामी विश्‍वस्त छौं।—१ कोरिन्थी १५:२५.

२१. (क) कालो घोडा र त्यसको सवारले के लाई चित्रित गर्छ? (ख) कालो घोडा अहिले पनि वेगसित दौडिरहेछ भनेर के ले प्रमाणित गर्छ?

२१ अनि अब “आऊ” भन्‍ने तेस्रो आह्वनको प्रत्युत्तरमा यूहन्‍नाले के देख्छन्‌? “औं मैंले हेरें, र एउटा कालो घोडा देखें र त्यसमाथि बस्नेको हातमा एउटा तराजु थियो।” (प्रकाश ६:५ख) घोर अनिकाल! यही हो यस भविष्यसूचक दृश्‍यको सार। यसले प्रभुको दिनको प्रारम्भतिर हुने परिस्थितिलाई सङ्‌केत गर्दछ जब खाद्यपदार्थ तराजुमा तौलीतौली बडो हिसाबले बाँडिनेछ। सन्‌ १९१४-उप्रान्त अनिकाल निरन्तर एउटा विश्‍वव्यापी समस्या रहेको छ। भनौं भने अनिकाल आधुनिक युद्धको एउटा अभिन्‍न पक्ष हो। साधारणतः भोको जनतालाई ख्वाउने साधनहरू अक्सर युद्धको हातहतियार उपलब्ध गर्नमा लगाइन्छ। खेतमा काम गर्नेहरूलाई जबरजस्ती सेनामा भर्ना गराइन्छ। युद्धमा डढेका अथवा अव्यवहार्य पारिएका खेतहरूले गर्दा खाद्य उत्पादन कम हुन्छ। यी सबै कुरा प्रथम विश्‍व-युद्धमा साक्षात पूरा भएको देखियो। लाखौं मानिसहरू भोकभोकै मरे! तर त्यो कालो घोडाको सवार युद्धपछि पनि शान्त भएन। सन्‌ १९३०-को दशकभित्र युक्रेनमा एउटै अनिकालले ५० लाख मानिसहरूलाई स्वाहा पाऱ्‍यो। दोस्रो विश्‍वयुद्धपश्‍चात्‌ अझ बढी अनिकाल र खाद्यान्‍न अभाव महसुस गरियो। यो कालो घोडाले वेगसित आफ्नो दौड जारी राख्दा, विश्‍व खाद्य परिषदबाट १९८७-को बीचतिर प्राप्त रिपोर्टअनुसार ५१ करोड २० लाख मानिसहरू भोकै बसिरहेका थिए र प्रत्येक दिन ४०,०००-भन्दा बढी केटाकेटीहरू भोकसम्बन्धी कारणहरूले गर्दा मरे।

२२. (क) एउटा आवाजले के भन्छ र यसबाट के को आवश्‍यकता जाहेर हुन्छ? (ख) एक क्रोनिक्स गहुँ र तीन क्रोनिक्स जौको दामले हामीलाई के बुझाउँछ?

२२ तर यूहन्‍नाले हामीलाई भन्‍ने कुरा बाँकी नै छ: “औ मैंले ती चार जीवित जीवातको बीचमा एउटा यसो भन्‍ने आवाज सुनें, ‘एक दिनारको एक क्रोनिक्स गहुँ, र एक दिनारको तीन क्रोनिक्स जौ, औ तेल र दाखमद्यलाई चाहिं हानि नगर्नू।” (प्रकाश ६:६) सा.यु.पू. ६०७-मा यरूशलेमको नाश हुँदा मानिसहरूले खानेकुरा “जोखी जोखीकन चिन्तित भई” खानु परेको थियो। (इजकिएल ४:१६) सोहीअनुरूप अब पनि बडो सावधानीपूर्वक विचार गरेर खाद्यान्‍नको प्रयोग गर्ने बेला आएको छ। यसबारे चारै जीवित जीवात सर्वसम्मत छन्‌। यूहन्‍नाको पालोमा एक क्रोनिक्स गहुँ एक जना सिपाहीको दैनिक रासन मानिन्थ्यो। यति रासनका लागि कति दाम तिरिन्थ्यो? एक दिनार अर्थात्‌ दिनभरिको ज्याला! (मत्ती २०:२) d तर कसैको परिवार भएमा नि? उसले चाहिं तीन क्रोनिक्स खस्रो जौ किन्‍न सक्थ्यो। तर यो पनि एउटा सानो परिवारलाई मात्र ख्वाउन ठीक्क हुने थियो। साथै, जौलाई गहुँ जतिको राम्रो खानेकुरा ठानिन्दैन थियो।

२३. “तेल र दाखमद्यलाई चाहिं हानि नगर्नू” भन्‍नुको अभिप्राय के हो?

२३ तर “तेल र दाखमद्यलाई चाहिं हानि नगर्नू”-भन्‍नुको तात्पर्य के हो? कसैकसैको विचारमा यसको अर्थ एकातिर धेरै मानिसहरू खान नपाएर भोकभोकै मरिरहेका हुने थिए भने अर्कोतिर धनवानहरूको भोगविलासका सरसामानहरूमा चाहिं केही असर पर्ने थिएन। तर मध्यपूर्वमा त तेल र दाखमद्य खास भोगविलाससित सम्बन्धित सामग्रीहरू होइनन्‌। बाइबलकालीन समयहरूमा रोटी, तेल र दाखमद्यलाई साधारण दैनिक आवश्‍यकताहरू मानिन्थ्यो। (उत्पत्ति १४:१८-सित तुलना गर्नुहोस्‌; भजन १०४:१४, १५) पानी सधैं राम्रो हुँदैन थियो। यसकारण पिउनका लागि र यदाकदा औषधीको रूपमा पनि दाखमद्य नै प्रयोग गरिन्थ्यो। (१ तिमोथी ५:२३) तेलबारे चाहिं हामीलाई यादै होला कि एलियाको पालोमा सारपतकी गरिब विधवीसित पनि उब्रेको थोरै पीठो पकाउँदा प्रयोग गर्ने अलिकता तेल थियो। (१ राजा १७:१२) यसकारण “तेल र दाखमद्यलाई चाहिं हानि नगर्नू” भन्‍ने आदेशको तात्पर्य यी मौलिक आवश्‍यकताहरूलाई चाँडचाँडो खर्च गर्नुको सट्टा तिनीहरूलाई फारो गरेर चलाउनु भनेको हुन सक्छ। नत्रभने यिनीहरूको पनि “हानि” हुनेछ अथवा अनिकाल सिद्धिनअघि नै ती कुराहरू सिद्धिनेछन्‌।

२४. कालो घोडा अब धेरै बेरसम्म किन दौडिने छैन?

२४ तर हामी खुशी हुन सक्छौं किनभने चाँडै नै त्यो सेतो घोडाको सवारले यस निरङ्‌कुश कालो घोडालाई आफ्नो वशमा ल्याउनु हुनेछ! उहाँले नयाँ संसारका लागि मिलाउनु भएको मायालु प्रबन्धबारे यसो भनिएको छ: “उसको दिनमा धर्मात्माहरूको फलिफाप हुनेछ। र जून रहुञ्जेल प्रशस्त शान्ति रहनेछ। . . . पृथ्वीमा पहाडका टाकुराहरूमा प्रशस्तगरी अन्‍न हुनेछ।” (भजन ७२:७, १६; यशैया २५:६-८ पनि हेर्नुहोस्‌।)

पहेंलो घोडा र त्यसको घोडसवार

२५. येशूले चौथो छाप खोल्नु हुँदा यूहन्‍नाले कसको आवाज सुन्छन्‌ र यसले के सङ्‌केत गर्छ?

२५ कथा अझै टुङ्‌गिएको छैन। येशूले चौथो छाप खोल्नुहुन्छ र त्यसको परिणाम हामीलाई यूहन्‍नाले बताउँछन्‌: “औ जब उहाँले चौथो छाप खोल्नुभयो, तब चौथो जीवित जीवातले ‘आऊ’ भनेको मैंले सुनें।” (प्रकाश ६:७) यो त्यो करूब हो जो हेर्दा गरूड जस्तो छ र यसले दूरदर्शितापूर्ण बुद्धिलाई सङ्‌केत गर्छ। र यहाँ चित्रित परिस्थितिको माझमा यूहन्‍ना, यूहन्‍नावर्ग र परमेश्‍वरका अरू सबै पार्थिव सेवकहरूले साँच्चै नै अन्तरदृष्टिसाथ सोच्न र काम गर्न आवश्‍यक परेको छ। सो गऱ्‍यौं भने वर्तमान अहङ्‌कारी र अनैतिक पुस्ताका बुद्धिमान भनौंदाहरूलाई पिरोल्ने विपत्तिहरूबाट हामी केही हदसम्म उम्कन सक्नेछौं।—१ कोरिन्थी १:२०, २१.

२६. (क) चौथो घोडसवार को हो र घोडाको रङ्‌ग पनि किन ठीक्क सुहाउँदो छ? (ख) चौथो घोडसवारको पछिपछि को छ र यस घोडसवारको शिकार हुनेजतिलाई के हुन्छ?

२६ तर अहिले चाहिं “आऊ” भन्‍ने आह्वान सुनेर चौथो घोडसवार अघि बढ्‌दा अरू कुन नयाँ र भीषण विपत्तिहरू प्रारम्भ हुन्छन्‌? यूहन्‍ना हामीलाई यसो भन्छन्‌: “औ मैले हेरें र पहेंलो घोडा देखें र त्यसमाथि चढनेको नाउँचाहिं ‘मृत्यु’ थियो औ पातालचाहिं त्यसको पछिपछि लागेको थियो।” (प्रकाश ६:८क) अन्तिम घोडसवारको एउटा नाउँ छ: मृत्यु। एपोक्यालिप्सको चार घोडसवारहरूमध्ये यही एक जनाले मात्र आफ्नो नाउँ यति स्पष्टसित बताउँछ। साथै, मृत्यु पहेंलो घोडामाथि सवार हुनु एकदम सुहाएको छ। किनकि युनानी साहित्यमा पहेंलो (युनानी, ख्लोरोस्‌ ) भन्‍ने शब्द अक्सर रोगग्रस्त पहेंलो अनुहार वर्णन गर्दा प्रयोग हुन्छ। यसबाहेक, पाताल (चिहान) पनि मृत्युको पछिपछि कुनै अव्यक्‍त ढङ्‌गमा हिंडिरहेछ। किनकि यो चौथो घोडसवारले मच्चाएको विध्वंसमा स्वाहा हुने धेरैजसोलाई पातालले नै बटुल्छ। तापनि, खुसीको कुरा के हो भने, ‘मृत्यु र पातालमा भएका मुर्दाहरूको’ पुनरुत्थान हुनेछ। (प्रकाश २०:१३) तर यो चौथो घोडसवारको शिकार हुनेहरूलाई मृत्युले कसरी बटुल्छ?

२७. (क) मृत्यु नामक घोडसवारले आफ्नो शिकार कसरी बटुल्छ? (ख) मृत्युको अधीनमा पर्ने “पृथ्वीको चौथो भाग” भनेको अर्थ के हो?

२७ केही तरिकाहरू दर्शनमा बताइएको छ: “औ पृथ्वीको चौथा भागमाथि तरवार, र अनिकाल, र रूढी, र पृथ्वीका जङ्‌गली जानवरहरूद्वारा मार्ने अख्तियार त्यसलाई दिइएको थियो।” (प्रकाश ६:८ख) पृथ्वीको जनसङ्‌ख्याको अक्षरशः चौथो भाग मात्र नभएर पृथ्वीको ठूलै भागलाई यहाँ सूचित गरिएको छ। यस भागमा बस्ने मानिसहरू धेरै हुन्‌ वा थोरै, तिनीहरूमाथि यस घोडदौडको असर चाहिं पर्ने नै छ। दोस्रो घोडसवारको ठूलो तरवार र तेस्रो घोडसवारको अनिकाल तथा खाद्यान्‍न अभावले गर्दा मरेका जम्मैलाई यसै चौथो घोडसवारले बटुल्छ। यसबाहेक, लूका २१:१०, ११-मा वर्णित रूढी र भैंचालोहरूले गर्दा मर्नेहरूलाई पनि उसैले बटुल्नु पर्छ।

२८. (क) “रूढी” सम्बन्धी भविष्यवाणी कसरी पूरा भएको छ? (ख) यहोवाका साक्षीहरू आज थुप्रै रोगहरूबाट कसरी बच्न सकेका छन्‌?

२८ यहाँ चासोको सबैभन्दा नयाँ विषय हो “रूढी।” प्रथम विश्‍वयुद्धपछिको तहसनहसबीच अर्थात्‌ १९१८-१९-को केही महिनाहरूमै स्पेनिश फ्लुले २ करोडभन्दा धेरै मानवहरूलाई स्वाहा पाऱ्‍यो। पृथ्वीभरिमा यस रूढीबाट उम्कन सक्ने एक मात्र ठाउँ सेन्ट हेलिनाको सानो टापु थियो। पूरै आबादी सखाप भएका ठाउँहरूमा चाहिं चिता बालेर लाशहरूको रास जलाइयो। आज पनि हृदय रोग र अबुर्द जस्ता व्यथाहरू डरलाग्दो गरी बढिरहेछन्‌। यसको एउटा मुख्य कारण तमाखु-प्रदूषण हो। बाइबलको दृष्टिमा अधर्मी मानिएको जीवनशैली बिताएकोले १९८०-को “कुरुप दशक”-मा एड्‌सको रूढी पनि थपियो। सन्‌ २००० मा अमेरिकाको स्वास्थ्य प्रमुखले एड्‌सलाई “मानिसजातिले अहिलेसम्म नभोगेको सबैभन्दा भयावह महामारी” भने। तिनको अनुसार संसारभरि पाँच करोड बीस लाख मानिसहरू एच आइ भी/एड्‌स-द्वारा संक्रमित भएका थिए जसमध्ये दुई करोड मानिस मरिसकेका थिए। तर यहोवाका जनहरू चाहिं परमेश्‍वरको वचनको बुद्धियुक्‍त सल्लाहले गर्दा आज थुप्रै रोग फैलाउने व्यभिचार र रगतको दुरुपयोगबाट अलग बस्न पाएका छन्‌। यसका लागि तिनीहरू धेरै नै कृतज्ञ छन्‌!—प्रेरित १५:२८, २९; १ कोरिन्थी ६:९-११-सित तुलना गर्नुहोस्‌.

२९, ३०. (क) इजकिएल १४:२१-मा उल्लिखित “चार भयानक दण्डहरू”-को वर्तमान प्रयोग के हुन सक्छ? (ख) प्रकाश ६:८-मा चर्चित “जङ्‌गली जनावरहरू”-को हामी के अर्थ लाउन सक्छौं? (ग) यस भविष्यसूचक दृश्‍यको मूल सार के हुन सक्छ?

२९ यूहन्‍नाको दर्शनअनुसार अकाल मृत्युको चौथो कारण जङ्‌गली जनावरहरू हुन्‌। वास्तवमा चौथो छाप खोलेपछि देखिएका युद्ध, अनिकाल, रोग र जङ्‌गली जनावरहरूलाई प्राचीन समयमा अकाल मृत्युका प्रबल कारणहरू मानिन्थे। अतः तिनीहरूले वर्तमानमा हरप्रकारको अकाल मृत्युका कारणहरूलाई चित्रित गर्छन्‌। जस्तो कि यहोवाले पनि इस्राएलीहरूलाई चेताउनी दिनु हुँदा यसो भन्‍नु भएको थियो: “जब मैले यरूशलेममा मेरा चार भयानक दण्डहरू, अर्थात्‌ तरवार, अनिकाल, दुष्ट पशुहरू र रूढी त्यहाँका मानिस र पशुहरूलाई नष्ट गर्न पठाएँ भने, झन कस्तो हुन्छ होला।”—इजकिएल १४:२१.

३० हाम्रा आधुनिक समयहरूमा जङ्‌गली पशुहरूले मान्छे मारेको कुरा मुख्य समाचारको रूपमा अक्सर सुनिंदैन। तर उष्ण प्रदेशहरूमा जङ्‌गली जनावरहरूले मारेका मानिसहरूको सङ्‌ख्या क्रमशः बढ्‌दो छ। भविष्यमा युद्धपातको कारण अझ थुप्रै ठाउँहरू उजाड हुन गयो भने अथवा अनिकालग्रस्त र कमजोर मानिसहरूले भोका जनावरहरूलाई लघार्न नसकेमा उपरोक्‍त सङ्‌ख्या झन बढ्‌न सक्छ। यसका साथै, आज कतिपय मानिसहरू पनि निर्बुद्धि जनावरहरू जस्ता भएका छन्‌। तिनीहरूले यशैया ११:६-९-मा वर्णित मनोवृत्तिहरूको ठीक विपरीत विचारधारा प्रदर्शित गर्छन्‌। मुख्यतः यस्ता मानिसहरू नै आधुनिक समयको व्यापक र बढ्‌दो लैङ्‌गिक अपराध, हत्या, आतङ्‌क र बम विष्फोटनहरूका लागि जिम्मेवार छन्‌। (इजकिएल २१:३१-सित तुलना गर्नुहोस्‌; रोमी १:२८-३१; २ पत्रुस २:१२) यिनीहरूको शिकार हुनेहरूलाई पनि चौथो घोडसवारले नै बटुल्छ। हो, अनेक तरिकाले अकाल मृत्युको शिकार हुने जम्मै मानिसहरू पहेंलो घोडसवारद्वारा नै बटुलिन्छन्‌—यो नै यस भविष्यसूचक दृश्‍यको सार हो जस्तो देखिन्छ।

३१. रातो, कालो र पहेंलो घोडाहरूले मच्चाएको उत्पातको बावजूद हामी किन उत्साहित हुन सक्छौं?

३१ प्रथम चार वटा छापहरू खोलेपछि प्रकट हुने जानकारीले हामीलाई निश्‍चिन्त तुल्याउँछ। त्यसले हामीलाई आजको व्यापक युद्ध, भोक, रोग र अकाल मृत्युका अन्य कारणहरू देखेर निराशित हुनदेखि बचाउँछ। साथै, मानवीय नेताहरूले समसामयिक समस्याहरूको समाधान गर्न सकेनन्‌ भन्दैमा हामी आशा नमारौं। रातो, कालो र पहेंलो घोडाका सवारहरू दौडेको विश्‍वस्थितिद्वारा देख्दा, नबिर्सनुहोस्‌, यो घोडदौडको सुरुवात प्रथमतः सेतो घोडाको सवारले नै गरेका थिए। येशू राजा हुनु भएको छ। उहाँले शैतानलाई स्वर्गबाट निष्काशित गर्नु भएर केही हदसम्म विजय हासिल गरी सक्नु भएको छ। तर यसपछि महासङ्‌कष्टमा बाँच्ने लाखौंको ठूलो भीड र आत्मिक इस्राएलका शेष जनहरूलाई समेत जम्मा गर्नु भएर उहाँ अझ विजयी हुनु हुनेछ। (प्रकाश ७:४, ९, १४) आफ्नो विजय पूरा नहोउञ्जेल उहाँको घोडदौड बन्द हुनेछैन।

३२. प्रथम चार वटा छाप खोल्दा प्रत्येक पटक के भएको थियो?

३२ प्रथम चार वटा छापहरू एक एक गरी खोलेपछि “आऊ” भन्‍ने आह्वान सुनियो। प्रत्येक पटक एउटा घोडा र घोडसवार दौड्‌दै अघि बढ्यो। तर अब पाँचौं छापदेखि चाहिं हामी यस्तो कुनै आह्वान सुन्दैनौं। तापनि ती घोडसवारहरू आ-आफ्नो सवारमाथि चढेर दौडिनै रहेका छन्‌ र यस रीतिरिवाजको अन्तसम्मै तिनीहरू दौड्‌नेछन्‌। (मत्ती २८:२०-सित तुलना गर्नुहोस्‌।) बाँकी तीनवटा छापहरू खोल्नु हुँदा येशूले अब अझ कुनकुन महत्त्वपूर्ण घटनाहरू प्रकट गर्नुहुनेछ? ती मध्ये केही घटनाहरूलाई मानवीय आँखाले देख्न सकिंदैन। तर अरू घटनाहरू चाहिं दृश्‍य भए तापनि भविष्यमा मात्र हुनेछन्‌। तथापि, तिनीहरू निश्‍चय नै हुनेछन्‌। अतः ती के हुन्‌, हामी हेरौं।

[फुटनोटहरू]

a तथापि, प्रकाश १२:१-की “स्त्रीले” पनि “बाह्रवटा ताराको” प्रतीकात्मक मुकुट पहिरेकी छे।

b येशूले राज्याधिकार १९१४-मै पाउनु भएको विषयसम्बन्धी विस्तृत प्रमाणका लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? किताबको पृष्ठ २१५-२१८ हेर्नुहोस्‌।

c धेरैजसो अनुवादहरूले यस अभिव्यक्‍तिलाई “विजय गर्न” (रिवाइज्ड स्ट्यान्डर्ड, द न्यु इङ्‌गलिश बाइबल, किङ्‌ग जेम्स भर्सन) अथवा “विजयी हुन” (फिलिप्स, न्यु इन्टरनेश्‍नल भर्सन) भनेर प्रस्तुत गरेको भए तापनि मूल युनानीमा प्रयोग गरिएको परिवर्तनीय कालको संदेहात्मक क्रियाले यहाँ पूर्णता अथवा समापन बोध गराउँछ। अतः रबर्टसनको वर्ड पिक्चर्स इन द न्यु टेस्टामेन्ट-ले यो टिप्पणी गर्छ: “यहाँ चलाइएको परिवर्तनीय कालले निश्‍चित विजय सङ्‌केत गर्छ।”

d न्यु वर्ल्ड ट्रान्सलेशन रेफ्‌रेन्स बाइबल-को पादटिप्पणी हेर्नुहोस्‌।

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ ९२-मा भएको पेटी ]

राजाको विजयी घोडदौड

सन्‌ १९३० र १९४०-का दशकहरूको दौडान कट्टर दुश्‍मनहरूले यहोवाका साक्षीहरूको गतिविधिलाई अवैध, अपराधपूर्ण अथवा विध्वंसकारी साबित गर्न खोजे। (भजन ९४:२०) सन्‌ १९३६-मा संयुक्‍त राज्य अमेरिकमा मात्र १,१४९ गिरफ्तारी भए। साक्षीहरूले पनि संयुक्‍त राज्यको सर्वोच्च अदालतसम्मै कैयौं मुद्दाहरू लडे। तिनीहरूका केही प्रमुख जीतहरू यी हुन्‌:

मई ३, १९४३-मा मर्डोक वि. पेन्सिलवेन्या मुद्दाको सिलसिलामा सर्वोच्च अदालतले सुनाएको फैसलाअनुसार साक्षीहरूले पैसा थापेर साहित्य वितरण गर्दा कुनै अनुमति पत्रको खाँचो पर्दैन। सोही दिन, मार्टिन वि. स्त्रुथर्स शहर भन्‍ने मुद्दामा पनि ढोका-ढोकामा गएर पर्चा तथा अन्य प्रचारसामग्री वितरण गर्दा ढोकाहरूको घण्टी बजाउनु अवैध होइन भनेर अदालतबाट फैसला भयो।

जून १४, १९४३-मा, सर्वोच्च अदालतले टेलर वि. मिसिसिपी-को मुद्दासम्बन्धी यो फैसला सुनायो: साक्षीहरूको प्रचारकार्यले मानिसहरूलाई सरकारप्रति भक्‍तिहीन हुन उक्साउँदैन। सोही दिन वेस्ट भर्जिन्या स्टेट बोर्ड अफ एडुकेशन वि. वार्नेट भन्‍ने मुद्दाको सिलसिलामा झन्डा सलामी गर्न अस्वीकार गर्ने विद्यार्थीहरूलाई स्कूलले निष्काशित गर्न पाउने छैन भन्‍ने फैसला अदालतले सुनायो। यसको भोलिपल्ट नै अस्ट्रेलियाको सर्वोच्च अदालतले यहोवाका साक्षीहरूमाथि लगाएको देशव्यापी प्रतिबन्ध फुकुवा गरियो। सो प्रतिबन्धलाई “मनमानी, निरङ्‌कुश र दमनकारी” घोषित गरियो।

पृष्ठ ९४-मा भएको पेटी]

“पृथ्वीबाट शान्ति हरण गर्ने अख्तियार दिइयो”

आधुनिक प्रविधिले हामीलाई कतातिर लग्दैछ? क्यानाडा, टोरोन्टोको द ग्लोब एन्ड मेल भन्‍ने पत्रिकाले अन्तर्राष्ट्रिय विकास अनुसन्धान नामक केन्द्रको सभापति, आइवान एल. हेडको भाषणको एक भाग यसरी प्रस्तुत गरेको थियो:

“प्राप्त विश्‍वसनीय रिपोर्टअनुसार आज अनुसन्धान र विकासमा लागेका प्रत्येक चार विज्ञानवेत्ता र प्राविधिज्ञहरूमध्ये एक जना चाहिं हतियार बनाउनमा लागेको छ। . . . सन्‌ १९८६-को दरअनुसार, प्रत्येक मिनेट १५ लाख डलर हतियार उत्पादनमा खर्च हुन्छ। . . . यसप्रकारको प्रविधिलाई महत्त्व दिएर के हामी सबै अझ बढी सुरक्षित भएका छौं? दोस्रो विश्‍वयुद्धको दौडान सारा फौजहरूले प्रयोग गरेकोभन्दा ६००० गुना बढी विष्फोटन सामर्थ्य आज महाशक्‍तिहरूको शस्त्रागारहरूमा पाईन्छ। अर्थात्‌ ती शस्त्रागारहरूमा छ हजार वटा दोस्रो विश्‍वयुद्धहरू थुनेर राखिएका छन्‌। सन्‌ १९४५ देखि यता सैनिक गतिविधिबाट यो संसार सात हप्तासम्म पनि मुक्‍त हुन सकेको छैन। एकसय पचासभन्दा बढी अन्तर्राष्ट्रिय तथा गृह युद्धहरू लडिएका छन्‌। यिनमा करीब १ करोड ९३ लाख मानिसहरू मरेको अनुमान लगाइएको छ। यीमध्ये धेरैजसोको मृत्युको कारण चाहिं संयुक्‍त राष्ट्र संघको युगमा उत्पादित नयाँ र दक्ष प्रविधि हो।”

सन्‌ २००५ सम्म सैनिक गतिविधिले गर्दा दुई करोडभन्दा धेरै मानिसको ज्यान गइसकेको थियो।

[पृष्ठ ९८, ९९-मा भएको पेटी ]

प्रकाशको पुस्तकको आधारभूत रूपरेखा

प्रकाशको पुस्तकबारे यहाँसम्म छलफल गरीसकेपछि उक्‍त पुस्तकको आधारभूत रूपरेखा अलिक स्पष्टसित देख्न सकिन्छ। त्यसको उत्साहवर्धक परिचयपश्‍चात्‌ (प्रकाश १:१-९) प्रकाशको पुस्तकलाई निम्निलिखित १६ बेग्लाबेग्लै दर्शनहरूमा विभाजित गर्न सकिन्छ:

प्रथम दर्शन (१:१०–३:२२): यूहन्‍नाले प्रेरणाद्वारा महिमित येशूलाई देख्छन्‌ जसले सातवटा मण्डलीहरूलाई आत्मीयतापूर्ण सन्देश पठाउनु हुन्छ।

दोस्रो दर्शन (४:१–५:१४): यहोवा परमेश्‍वरको स्वर्गीय सिंहासनको भव्य दर्शन। उहाँले थुमालाई एउटा पुस्तक दिनुहुन्छ।

तेस्रो दर्शन (६:१-१७): पुस्तकको प्रथम छ वटा छाप खोल्दै थुमाले प्रभुको दिनमा हुने घटनाहरूको सामूहिक दर्शन क्रमशः प्रकट गर्नुहुन्छ। एपोक्यालिप्सका चार वटा घोडाहरूको दौड सुरु हुन्छ, परमेश्‍वरका शहीद दासहरूले सेता वस्त्रहरू थाप्छन्‌ र क्रोधको त्यो ठूलो दिनको वर्णन गरिन्छ।

चौथो दर्शन (७:१-१७): आत्मिक इस्राएलका जम्मै १,४४,००० सदस्यहरूमाथि छाप नलगाउञ्जेलसम्म स्वर्गदूतहरूले विनाशकारी बतासलाई रोकेर राख्छन्‌। सबै जातिहरूबाट लिएका मानिसहरूको ठूलो भीडले परमेश्‍वर र ख्रीष्टलाई मुक्‍तिको श्रेय दिन्छन्‌ र तिनीहरूलाई महासङ्‌कष्ट पार गर्न जम्मा गरिन्छ।

पाचौं दर्शन (८:१–९:२१): सातौं छाप खोल्ने बेलामा सातपटक तुरही फुकिन्छ। तुरहीको प्रथम छ वटा फुकाई पाँचौं दर्शनसित सम्बन्धित छ। तुरहीका यी छ-वटा फुकाइ मानिसजातिमाथि यहोवाका न्यायिक उद्‌घोषणाहरूको अभिव्यक्‍ति हो। पाचौं र छैठौं तुरहीको फुकाइले पनि प्रथम र दोस्रो विपत्ति नै घोषित गर्छन्‌।

छैंटौं दर्शन (१०:१–११:१९): एक जना बरिष्ठ स्वर्गदूतले यूहन्‍नालाई एउटा सानो पुस्तक दिन्छन्‌, मन्दिरको नाप लिइन्छ र हामी ती दुई साक्षीहरूका अनुभवहरूबारे सिक्छौं। दर्शनको चरम शिखर पुग्दा सातौं तुरही फुकिन्छ र यसैले परमेश्‍वरका शत्रुहरूका लागि तेस्रो विपत्ति अर्थात्‌ यहोवा र ख्रीष्टको राज्यको आगमन घोषणा गर्छ।

सातौं दर्शन (१२:१-१७): यसले परमेश्‍वरको राज्य स्थापनाको वर्णन गर्छ जसको परिणामस्वरूप माइकलले सर्प अर्थात्‌ शैतानलाई पृथ्वी तलमा फ्याँकिदिनु हुन्छ।

आठौं दर्शन (१३:१-१८): त्यो शक्‍तिशाली जंगली जनावर समुद्रबाट बाहिर निस्कन्छ र त्यसको उपासना गर्न थुमाको जस्तो दुई वटा सिङ भएको पशुले मानिसजातिलाई आग्रह गर्छ।

नवौं दर्शन (१४:१-२०): सियोन पर्वतमा १,४४,००० जनहरूको दिव्य दर्शन। पृथ्वीभरि स्वर्गदूतहरूद्वारा घोषित समाचार सुनिन्छ, पृथ्वीको दाखलताबाट फल काटिन्छ र परमेश्‍वरको क्रोधको कोल कुल्चिन्छ।

दसौं दर्शन (१५:१–१६:२१): स्वर्गीय दरवारको अझ एउटा झलक जसपछि यहोवाको क्रोधको सात कचौरा पृथ्वीमाथि खन्याइन्छ। यो दर्शन पनि शैतानको रीतिरिवाजको अन्तबारे एउटा भविष्यसूचक वर्णनसाथ समाप्त हुन्छ।

एघारौं दर्शन (१७:१-१८): महा वेश्‍या, महान बेबिलोन रातो रंगको जंगली जनावरमाथि सवार छे। त्यो जनावर अल्प समयका लागि अगाध खाँधमा पस्छ तर फेरि बाहिर निस्केर अन्ततः त्यस वेश्‍यालाई बरबाद पार्छ।

बाह्रौं दर्शन (१८:१–१९:१०): महान बेबिलोनको विनाश र पतन घोषित हुन्छ। त्यसको नाशपश्‍चात्‌ केही मानिसहरू शोक मनाउँछन्‌ भने अरूले चाहिं यहोवाको प्रशंसा गर्छन्‌; थुमाको विवाहको घोषणा सुनिन्छ।

तेह्रौं दर्शन (१९:११-२१): येशू स्वर्गका सेनाहरूसहित शैतानको रीतिरिवाज, त्यसको पल्टन र जम्मै समर्थकहरूको विरुद्धमा परमेश्‍वरको क्रोध कार्यान्वयन गर्न जाइलाग्नु हुन्छ; यिनीहरूको लाशलाई गिद्धहरूले खान्छन्‌।

चौधौं दर्शन (२०:१-१०): अगाध खाँदमा शैतान अर्थात्‌ दियाबलको थुनाइ, ख्रीष्ट र उहाँका सह-शासकहरूको हजार वर्षीय राज्य, मानिसजातिको अन्तिम जाँच तथा शैतान र त्यसका प्रेतहरूको विनाश।

पन्ध्रौं दर्शन (२०:११–२१:८): जनसाधारणको पुनरुत्थान र त्यो ठूलो न्यायको दिन; नयाँ स्वर्ग र नयाँ पृथ्वी देखा पर्छन्‌ जसद्वारा धार्मिक मानिसजातिले आशिष पाउँछन्‌।

सोऱ्‍हौं दर्शन (२१:९–२२:५): थुमाको दुलही, नयाँ यरूशलेमको महिमावान दर्शनका साथ प्रकाशको पुस्तक आफ्नो चरमोत्कर्षमा पुग्छ। मानिसजातिका लागि निको पार्ने र जीवनदायी पानी त्यही शहरबाट बग्छ।

यहोवा, येशू, स्वर्गदूत र स्वयं यूहन्‍नाका आत्मीयतापूर्ण अभिवादनसाथ प्रकाशको पुस्तक समाप्त हुन्छ। सबैलाई दिइने निम्तो हो: “आऊ!” —प्रकाश २२:६-२१.