सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“त्यो पुस्तक खोल्न सक्ने को छ?”

“त्यो पुस्तक खोल्न सक्ने को छ?”

अध्याय १५

“त्यो पुस्तक खोल्न सक्ने को छ?”

१. यूहन्‍नाको दर्शनमा अब के हुन्छ?

 आगोका बत्तीहरू, करूबहरू, २४ जना प्राचीनहरू र ऐनाजस्तै समुद्रको माझमा यहोवाको सिंहासनको प्रभावकारी दर्शन कति शान्तिप्रद छ! कति भयङ्‌कर! तर यूहन्‍ना, यसपछि तिमी के देख्छौ? त्यस स्वर्गीय दृश्‍यको केन्द्रबिन्दुमै एकटक लाएर हेर्दै यूहन्‍ना यसो भन्छन्‌: “अनि सिंहासनमा विराजमान हुनुहुनेको दाहिने बाहुलीमा भित्र र बाहिरपट्टि लेखिएको एउटा पुस्तक मैंले देखें, त्यसमा सातवटा छापले छाप लाएको थियो। औ एउटा बलवान स्वर्गदूतलाई ठूलो सोरले यसो भनिरहेको मैले देखें, ‘त्यो पुस्तक खोल्न र त्यसका छापहरू फुकाल्नसक्ने को छ?’ औ स्वर्गमा अथवा पृथ्वीमा अथवा पृथ्वीमनि त्यस पुस्तकको छाप खोल्ने अथवा त्यसमा हेर्नसक्ने कोही थिएन। औ कोही पनि त्यो पुस्तक खोल्न अथवा त्यसमा हेर्न योग्यको नपाइएका हुनाले म खूबै रोएँ।”—प्रकाश ५:१-४.

२, ३. (क) पुस्तक खोल्न सक्ने कुनै न कुनै व्यक्‍ति फेला परोस्‌ भनेर यूहन्‍ना किन उत्सुक छन्‌ तर यो कतिको सम्भाव्य देखिन्छ? (ख) हाम्रो समयमा परमेश्‍वरका अभिषिक्‍त जनहरूले उत्सुकतापूर्वक कुन कुराको प्रतीक्षा गर्दै आएका छन्‌?

सारा सृष्टिको सार्वभौम प्रभु यहोवाले नै त्यो पुस्तक हातमा लिइ राख्नु भएको छ। त्यो पुस्तक पक्कै पनि अत्यावश्‍यक जानकारीले भरिपूर्ण छ। त्यसको अघि र पछि अथवा दुवैपट्टि लेखिएको छ। त्यसले हामीमा नै उत्सुकता जगाइ सक्यो। त्यस पुस्तकमा के छ? यहोवाले यूहन्‍नालाई दिनु भएको यो निम्तो हामी फेरि सम्झन्छौं: “यतामाथि आऊ, र अब यसपछि हुनआउने कुराहरू म तिमीलाई देखाउनेछु।” (प्रकाश ४:१) ती हुनआउने कुराहरू सिक्न हामी भावोत्तेजक प्रतीक्षामा छौं। तर अफसोस्‌, त्यो पुस्तक ठ्याम्मै बन्द छ। त्यसमाथि सात वटा छाप लगाइएको छ!

त्यो पुस्तक खोल्ने योग्यको कुनै व्यक्‍ति के ती बलवान स्वर्गदूतले फेला पार्न सक्लान्‌? किङ्‌गडम इन्टरलिन्यर अनुसार त्यो पुस्तक यहोवाको “दाहिने बाहुलीमा” छ। अर्थात्‌ उहाँले त्यसलाई आफ्नो खुला हत्केलामा राख्नु भएको छ। तर त्यसलाई टिपेर खोल्ने योग्यको व्यक्‍ति स्वर्ग र पृथ्वीमा कतै पनि छैन जस्तो छ। पृथ्वीमनि रहेका परमेश्‍वरका विश्‍वासी मृत सेवकहरूमध्ये पनि यो ठूलो सम्मानको योग्य कोही छैन। त्यसैकारण त यूहन्‍ना स्पष्टतः विचलित छन्‌! सम्भवतः उनले अब “हुन आउने कुराहरू” सिक्न पाउने छैनन्‌। प्रकाशको पुस्तकमाथि यहोवाको ज्योति र सत्यताका लागि परमेश्‍वरका अभिषिक्‍त जनहरूले हाम्रो दिनमा पनि बडो उत्सुकतासाथ प्रतीक्षा गर्दै आएका छन्‌। तर आफ्ना मानिसहरूलाई “महान मुक्‍ति”-को मार्गमा डोऱ्‍याउनका लागि उहाँले भविष्यवाणी पूरा हुने समयमा मात्र सो ज्योति र सत्यता क्रमशः दर्साउनु भएको छ।—भजन ४३:३, ५NW].

योग्य व्यक्‍ति

४. (क) पुस्तक र त्यसका छापहरू खोल्ने योग्यको कुन्‌ चाहिं व्यक्‍ति फेला पर्छ? (ख) यूहन्‍नावर्ग र उनीहरूका सङ्‌गीहरू अब कुन पुरस्कार र विशेषाधिकारमा सहभागी हुन्छन्‌?

हो, त्यो पुस्तक खोल्न सक्ने एक जना व्यक्‍ति हुनुहुन्छ! यूहन्‍ना यसो भन्छन्‌: “औ धर्मगुरुहरूमध्ये एउटाले मलाई भने ‘नरोऊ, हेर, त्यो सिंह, जो यहूदाको कुलका हुन्‌, दाऊदका मूल, त्यो पुस्तक र ती सातवटा छापहरू खोल्नालाई विजयी हुनुभएको छ।’ ” (प्रकाश ५:५) यसकारण, यूहन्‍ना, तिमी आफ्नो आँसु पुछ! आज यूहन्‍नावर्ग र तिनीहरूका वफादार साथीहरूले पनि यो ज्ञान हासिल गर्नका लागि कैयौं दशकदेखि कठोर परीक्षाहरूको सामने धैर्य धारण गर्दै आएका छन्‌। तर अब भने त्यो दर्शन बुझ्न पाउनु एउटा सान्त्वनाप्रद पुरस्कार हो। त्यसमा उल्लिखित सन्देश अरूलाई घोषणा गर्दै सो भविष्यवाणीको पूर्तिमा भाग लिन पाउनु पनि कस्तो महान विशेषाधिकार हो!

५. (क) यहूदाबारे के भविष्यवाणी गरिएको थियो र यहूदाका सन्तानहरूले कहाँ राज्य गरे? (ख) शीलो को हुनुहुन्छ?

ओहो, “यहूदाका कुलको . . . सिंह!” यहूदी जातिको पुर्खा याकूबले आफ्नो काइँलो छोरो यहूदाबारे गरेको भविष्यवाणीसित यूहन्‍ना परिचित छन्‌: “यहूदा सिंहको डमरु हो, ए मेरो छोरा, शिकारबाट तँ उकालो आएको छस्‌, त्यो निहुरियो, र सिंहझैं लेटिरह्‍यो, अँ सिंहनीझैं, कसले त्यसलाई उठाउने आँट गर्छ? यहूदाको हातबाट राजदण्ड हट्‌नेछैन, राज्य चलाउनेको लाठी त्यसका खुट्टाको बीचबाट हट्‌नेछैन, जबसम्म शीलो आउँदैन। औ मानिसहरू उहाँको आज्ञाकारी बन्‍नेछन्‌।” (उत्पत्ति ४९:९, १०) परमेश्‍वरका जनहरूको शाही घराना यहूदाको वंशबाट आएको थियो। दाऊदको समयदेखि बेबिलोनीहरूले यरूशलेमलाई नष्ट नपारुञ्जेलसम्म त्यहाँ राज्य गर्ने जम्मै राजाहरू यहूदाकै घरानाका थिए। तर तीमध्ये एक जना पनि याकूबले भविष्यवाणी गरेका शीलो चाहिं थिएनन्‌। शीलोको अर्थ हो “उनी जसको अधिकार छ।” भविष्यवाणीमा यस नाउँले येशूलाई औंलाइरहेको थियो। किनकि दाऊदको राज्यमाथि अब सदाका लागि येशू नै हकदार हुनुहुन्छ।—इजकिएल २१:२५-२७; लूका १:३२, ३३; प्रकाश १९:१६.

६. येशू कुन अर्थमा यस्सीको “ठुटा” र “दाऊदको मूल” हुनु हुन्थ्यो?

“दाऊदको मूल”-भन्‍नुको तात्पर्य यूहन्‍नाले तुरुन्तै बुझिहाल्छन्‌। प्रतिज्ञा गरिएको मसीहलाई भविष्यवाणीमा “यस्सीको [दाऊदको पिता] ठुटा [र] . . . बोट” भनेर सम्बोधन गरिएको छ। साथै, “यस्सीको जगलाई नै मानिसहरूले खोज्नेछन्‌” पनि भनिएको छ। (यशैया ११:१, १०) येशू यस्सीको ठुटा हुनुहुन्थ्यो किनभने यस्सीको पुत्र, दाऊदको शाही घरानामा येशूले जन्म लिनु भयो। साथै यस्सीको ठुटाको रूपमा उहाँले नै दाऊदको राज्यलाई फेरि पलाउन दिनु भयो। त्यसलाई सदाका लागि पुनःजीवन र बल प्रदान गर्नु भयो।—२ शमूएल ७:१६.

७. सिंहासनमा विराजमान हुनु हुनेको हातबाट पुस्तक थाप्न येशू के कारणले योग्य हुनुहुन्छ?

मुख्यतः येशूले एक जना सिद्ध मानवको रूपमा आफ्नो निष्ठा कायम राख्दै घोर दुःखको सामने पनि यहोवाको सेवा गर्नु भयो। उहाँले शैतानको चुनौतीलाई मुखभरिको जवाफ दिनु भयो। (हितोपदेश २७:११) त्यसैकारण त उहाँले आफ्नो बलिदानरूपी मृत्युअघिको रात “मैंले संसारलाई जितेको छु” भन्‍न सक्नु भयो। (यूहन्‍ना १६:३३) परिणामस्वरूप, यहोवाले येशूलाई उहाँको पुनरुत्थानपश्‍चात्‌ “स्वर्ग र पृथ्वीमा सारा अधिकार” दिनु भयो। परमेश्‍वरका जम्मै सेवकहरूमध्येबाट उहाँ एक जना मात्र त्यो पुस्तक थाप्न र त्यसमा भएका कुराको जानकारी अरूलाई दिने योग्यको हुनुहुन्छ।—मत्ती २८:१८.

८. (क) राज्यसम्बन्धी येशूको योग्यता कसरी प्रदर्शित हुन्छ? (ख) चौबीस जना प्राचीनहरूमध्येकै एक जनाले यूहन्‍नालाई पुस्तक खोल्ने योग्यको व्यक्‍ति देखाइ दिनु किन उचित हो?

हो, त्यो पुस्तक खोल्न वास्तवमा येशूलाई मात्र सुहाउँछ। उहाँ १९१४-देखि परमेश्‍वरको मसीही राज्यको राजाको हैसियतमा सिंहासनमा विराजमान हुनुहुन्छ। सोही राज्य र त्यसका उपलब्धिहरूबारे उक्‍त पुस्तकले निकै नै जानकारी दिन्छ। येशू पृथ्वीमा हुनु हुँदा उहाँले त्यस राज्यसम्बन्धी सत्यताको पक्षमा विश्‍वासिलो भएर साक्षी दिनु भयो। (यूहन्‍ना १८:३६, ३७) उहाँले आफ्ना अनुयायीहरूलाई त्यो राज्य आओस्‌ भनेर प्रार्थना गर्न सिकाउनु भयो। (मत्ती ६:९, १०) मसीही युगको प्रारम्भमा उहाँले राज्यको सुसमाचार प्रचार अभियान सुरु गर्नु भयो। साथै, अन्तको समयमा उपरोक्‍त प्रचारकार्यको समापनबारे पनि भविष्यवाणी गर्नु भयो। (मत्ती ४:२३; मर्कूस १३:१०) अतः ती बन्द छापहरू खोल्ने व्यक्‍ति पनि येशू नै हुनुहुन्छ भनेर यूहन्‍नालाई २४ प्राचीनहरूमध्ये एक जनाले बताउनु एकदम सुहाउँछ। किन? किनकि यी प्राचीनहरू पनि ख्रीष्टसितै साझे हकवालाहरू भएर सिंहासनहरूमा बस्छन्‌ र सिरमा मुकुट लाउँछन्‌।—रोमी ८:१७; प्रकाश ४:४.

‘मारिएको थुमा’

९. सिंहको सट्टा यूहन्‍नाले “सिंहासनको माझमा” के उभिरहेको देख्छन्‌ र यसको वर्णन उनले कसरी गर्छन्‌?

यूहन्‍नाले “यहूदाको कुलको . . . सिंह” लाई हेर्न थाल्छन्‌। तर कस्तो आश्‍चर्यमय कुरा! त्यहाँ एउटा सम्पूर्णतः बेग्लै प्रतीकात्मक रूप पो देखा पर्छ। “औ मैले त्यो सिंहासन र ती चार जीवित जीवातहरू, र धर्म-गुरुहरूका बीचमा उभिरहेका मारिएको एउटा थुमाजस्तैलाई देखें, जसका सिङ, र सात आँखा थिए, जो सारा पृथ्वीमा पठाइएका परमेश्‍वरका सात आत्माहरू हुन्‌।”—प्रकाश ५:६

१०. यूहन्‍नाले देखेको “थुमा” को हुनुहुन्छ र यो अभिव्यक्‍ति किन उपयुक्‍त छ?

१० ठीक माझमा, सिंहासननेर चार जीवित जीवातहरू र २४ जना प्राचीनहरूको घेराभित्र एउटा थुमा छ! निःसन्देह, यूहन्‍नाले तुरुन्तै यो थुमा “यहूदाको कुलको . . . सिंह” र “दाऊदको मूल” हो भनेर चिनिहाल्छन्‌। उनलाई थाहा छ कि बप्तिस्मा दिने यूहन्‍नाले करीब ६० वर्षअघि आसपासका यहूदीहरूको सामु येशूलाई “संसारको पाप उठाइलैजाने परमेश्‍वरका थुमा” भनेर चिनाएका थिए! (यूहन्‍ना १:२९) आफ्नो पार्थिव जीवनभरि येशूलाई संसारले कलङ्‌कित पार्न सकेन। उहाँ एउटा निर्दोष थुमाजस्तै हुनुहुन्थ्यो। अतः उहाँले आफ्नो निर्दोष जीवनलाई मानवजातिका लागि बलिदानको रूपमा चढाउन सक्नु भयो।—१ कोरिन्थी ५:७; हिब्रू ७:२६.

११. महिमायुक्‍त येशूलाई “मारिएको थुमा” भनेर प्रस्तुत गर्नु उहाँलाई अपमानित गरेको अथवा होंच्याएको किन होइन?

११ तर महिमायुक्‍त येशूलाई “मारिएको थुमा”-को रूपमा यसरी प्रस्तुत गर्दा के उहाँलाई अलिकता तुच्छ ठानेको अथवा अपमान गरेको जस्तो हुँदैन र? कदापि हुँदैन! येशू मरणान्तसम्म विश्‍वासी रहनु नै शैतानको ठूलो हार र यहोवा परमेश्‍वरको महा जीत थियो। येशूलाई यसरी प्रस्तुत गर्नु शैतानको संसारमाथि येशूको विजयको ज्वलन्त चित्रण गर्नु हो। साथै यसले मानवजातिप्रति यहोवा र येशूको गहिरो प्रेमको पनि हामीलाई सम्झना गराउँछ। (यूहन्‍ना ३:१६; १५:१३; कलस्सी २:१५-सित तुलना गर्नुहोस्‌।) यसप्रकार, येशू नै प्रतिज्ञा गरिएको सन्तान र पुस्तक खोल्न सक्ने एक मात्र योग्य व्यक्‍ति हुनुहुन्छ भन्‍ने ठोस सङ्‌केत हामी यसबाट पाउँछौं।—उत्पत्ति ३:१५.

१२. थुमाका सात सिङहरूले केलाई चित्रित गर्छन्‌?

१२ हामी “थुमा”-को अझ बढी मूल्याङ्‌कन किन गर्न सक्छौं? किनभने उहाँका सात वटा सिङहरू छन्‌। बाइबलमा सिङ अक्सर शक्‍ति अथवा अख्तियारको प्रतीकको रूपमा प्रयोग गरिन्छ र सातले चाहिं पूर्णतालाई बोध गराउँछ। (१ शमूएल २:१, १०; भजन ११२:९; १४८:१४-सित तुलना गर्नुहोस्‌।) अतः थुमाका सात सिङहरू यहोवाले येशूलाई सुम्पनु भएको व्यापक शक्‍तिको प्रतीक हो। उहाँ “अख्तियार, शक्‍ति र प्रभुत्त्व न केवल यस संसारमा तर आउने संसारमा पनि राखिएको हरेक नाउँभन्दा” अति उच्च हुनुहुन्छ। (एफिसी १:२०-२३; १ पत्रुस ३:२२) यहोवाले येशूलाई १९१४-मा स्वर्गीय राजाको रूपमा सिंहासनमा बसाल्नु भयो। सोही सालदेखि येशूले खास तवरमा शक्‍ति र राज्य अख्तियार प्रयोग गर्नु भएको छ।—भजन २:६.

१३. (क) थुमाका सात आँखाहरूले केलाई चित्रित गर्छन्‌? (ख) थुमा के गर्न अघि बढ्‌नु हुन्छ?

१३ यसबाहेक, येशू पवित्र आत्माले भरपूर हुनुहुन्छ। यसलाई थुमाका सात आँखाहरूले चित्रित गर्छन्‌, जसको अर्थ “परमेश्‍वरका सात आत्मा” हो। येशू नै एउटा माध्यम हुनुहुन्छ जसद्वारा यहोवाको सक्रिय शक्‍ति पूर्णरीतिले उहाँका पार्थिव सेवकहरूसम्म पुग्दछ। (तितस ३:६) स्पष्टतः उहाँ सोही आत्माद्वारा स्वर्गबाट यस पृथ्वीमा भइरहेका कुराहरू देख्नुहुन्छ। येशूसित आफ्नो पिताको जस्तै पूर्ण समझशक्‍ति छ। उहाँको नजरबाट कुनै पनि कुरा लुक्नु सक्‍तैन। (भजन ११:४; जकरिया ४:१०-तुलना गर्नुहोस्‌।) हो, संसारलाई जित्ने निष्ठावान व्यक्‍ति, यहूदाको कुलको सिंह, मानिसजातिका लागि आफ्नो जीवन बलिदान चढाउने दाऊदको मूल, सम्पूर्ण अख्तियार र यहोवा परमेश्‍वरबाट सिद्ध समझशक्‍तिप्राप्त यी पुत्र नै यहोवाको हातबाट त्यो पुस्तक थाप्न विशेषतः योग्यको हुनुहुन्छ। यहोवाको सर्वोत्कृष्ट सङ्‌गठनमा यो जिम्मावारी उठाउन के उहाँ हिचकिचाउनु हुन्छ? हुन्‍न! बरु उहाँ “आउनु भयो र सिंहासनमा विराजमान हुनेका दाहिने बाहुलीबाट त्यो लिनुभयो।” (प्रकाश ५:७) स्वेच्छाकृत आज्ञाकारिताको यो अति नै राम्रो उदाहरण हो!

प्रशंसागान

१४. (क) येशूले पुस्तक लिनु हुँदा चार जीवित जीवात र २४-जना प्राचीनहरूले कस्तो प्रतिक्रिया व्यक्‍त गर्छन्‌? (ख) ती २४ जना प्राचीनहरूबारे यूहन्‍नाले पाएको जानकारीबाट तिनीहरू र तिनीहरूको परिचय कसरी ठम्याउन सकिन्छ?

१४ यहोवाको सिंहासन सामु उभिरहेका अरूले चाहिं यसमा कस्तो प्रतिक्रिया व्यक्‍त गर्छन्‌? “औ जब उहाँले त्यो पुस्तक लिनुभयो, तब ती चारवटा जीवित जीवात र चौबीसै धर्मगुरुहरू, ती थुमाका सामने घोप्टो परे, प्रत्येकसित वीणा र धूपले भरिएका सुनका पात्रहरू थिए, जो भक्‍त जनहरूका प्रार्थना हुन्‌।” (प्रकाश ५:८) परमेश्‍वरको सामु उभिएका चार जीवित जीवातहरूलेझैं ती २४ जना प्राचीनहरूले येशूको अख्तियार स्वीकार गर्दै उहाँको सामने घोप्टो पर्छन्‌। तर वीणा र धूपका पात्रहरू चाहिं यी प्राचीनहरूसित मात्र छ। a नयाँ गीत पनि उनीहरूले मात्र गाउँछन्‌। (प्रकाश ५:९) यसप्रकार उनीहरू “परमेश्‍वरको [पवित्र] इस्राएल”-का १,४४,००० जस्तै छन्‌। किनभने ती १,४४,००० जनहरूले पनि वीणा बोक्छन्‌ र नयाँ गीत गाउँछन्‌। (गलाती ६:१६; कलस्सी १:१२; प्रकाश ७:३-८; १४:१-४) साथै, ती २४ जना प्राचीनहरू स्वर्गीय पूजारीहरू पनि हुन्‌। यिनीहरूको पूर्वाभास प्राचीन इस्राएलका पूजारीहरूमा पाईन्छ। इस्राएलका ती पूजारीहरूले पनि बासस्थानमा यहोवालाई धूप चढाउने गर्थे। तथापि, येशूलाई झुन्डाएर मारेको काठमै परमेश्‍वरले मोशाको व्यवस्थालाई टाङ्‌गेर हटाइ दिनु भएपछि उपरोक्‍त चलन पनि समाप्त भयो। (कलस्सी २:१४) अतः यी सबै कुराहरूबाट हामी कुन्‌ निष्कर्षमा पुग्छौं? यही कि यस दर्शनले अभिषिक्‍त विजेताहरू अन्ततः ‘परमेश्‍वर र ख्रीष्टका पूजारीहरू भएर ख्रीष्टसित हजार वर्षसम्म राज्य गरेको’ देखाइरहेछ।—प्रकाश २०:६.

१५. (क) इस्राएलमा बासस्थानको पवित्र-स्थानभित्र कसले मात्र प्रवेश गर्न पाउँथ्यो? (ख) पवित्र-स्थानभित्र प्रवेश गर्नुअघि धूप बाल्नु प्रधान-पूजारीका लागि जीवन र मरणको कुरा किन थियो?

१५ प्राचीन इस्राएलमा पवित्र-स्थानभित्र यहोवाको प्रतीकात्मक उपस्थितिको सामु प्रधानपूजारीले मात्र प्रवेश पाउँथ्यो। धूप बालेर भित्र पस्नु उनका लागि जीवन र मरणको सवाल हुन्थ्यो। यहोवाको व्यवस्थामा यसो भनिएको थियो: “तब परमप्रभुको सामनेको वेदीबाट आगोको फिलिङ्‌गोहरूले भरिएको धूपौरो र मसिनो गरी कुटेको सुगन्धित धूप मुठीभरि लिएर छेक्ने पर्दाभित्र ल्याओस्‌। अनि परमप्रभुको सामने आगोमा त्यसले धूप हालोस्‌ र धूपको धुवाँले साक्षी-पाटीमाथि भएको कृपाआसनलाई छोपोस्‌, नत्रता त्यो मर्नेछ।” (लेवी १६:१२, १३) प्रधानपूजारी धूप नबालिकन पवित्र-स्थानभित्र पसेमा उनको प्रवेश सफल हुँदैन थियो।

१६. (क) मसीही व्यवस्थाअन्तर्गत चाहिं प्रतीकरूपी पवित्र-स्थानभित्र कसकसले प्रवेश गर्न पाउँछन्‌? (ख) अभिषिक्‍त मसीहीहरूले किन ‘धूप बाल्नु’ पर्छ?

१६ मसीही व्यवस्थाअनुसार, प्रतीकात्मक प्रधान पूजारी येशू ख्रीष्ट बाहेक १,४४,००० उप-पूजारीहरूले पनि अन्ततः प्रतीकात्मक पवित्र-स्थान अर्थात्‌ स्वर्गमा स्वयं यहोवाको सामु प्रवेश पाउने छन्‌। (हिब्रू १०:१९-२३) तर २४ जना प्राचीनहरूद्वारा चित्रित यी १४४,००० पूजारीहरूले पनि यहोवालाई ‘धूप चढाउनै’ पर्छ अर्थात्‌ यहोवासित निरन्तर प्रार्थना र अन्तरबिन्ती गर्नैपर्छ। नत्रभने तिनीहरूलाई पनि त्यो पवित्र स्थानमा प्रवेश पाउनु असम्भव हुनेछ।—हिब्रू ५:७; यहूदा २०, २१; भजन १४१:२-सित तुलना गर्नुहोस्‌।

एउटा नयाँ गीत

१७. (क) चौबीस जना प्राचीनहरूले कुन्‌ चाहिं नयाँ गीत गाउँछन्‌? (ख) बाइबलमा “नयाँ गीत” भन्‍ने अभिव्यक्‍तिलाई अक्सर कसरी प्रयोग गरिन्छ?

१७ अब एउटा सुमधुर गीत गुञ्जन थाल्छ। यो गीत थुमाका लागि उहाँका सङ्‌गी पूजारीहरू अर्थात्‌ २४ प्राचीनहरूले गाउँछन्‌: “अनि तिनीहरूले यसो भन्‍ने एउटा नयाँ गीत गाए, ‘तपाईं त्यो पुस्तक लिने र त्यसका छाप खोल्ने योग्यको हुनुहुन्छ, किनभने तपाईं मारिनुभएको थियो, र तपाईंले आफ्नै रगतले हरेक कुल, भाषा, मानिस र जातिलाई हाम्रा परमेश्‍वरको निम्ति किन्‍नुभयो।’ ” (प्रकाश ५:९) यो “नयाँ गीत” भन्‍ने अभिव्यक्‍ति बाइबलमा धेरै पटक प्रयोग गरिएको पाईन्छ। अक्सर यो गीत यहोवाद्वारा बचावको कुनै शक्‍तिशाली कार्यको प्रशंसा गर्दा गाइन्छ। (भजन ९६:१; ९८:१; १४४:९) तसर्थ यहाँ प्रकाशमा चर्चित गीत पनि नयाँ हो किनभने यसका गायकले अब यहोवाका अझ थुप्रै महाकार्यहरू घोषित गर्न र यहोवाको महिमावान नाउँप्रति आफ्नो नवीकृत मूल्याङ्‌कन व्यक्‍त गर्न सक्छ।

१८. चौबीस जना प्राचीनहरूले तिनीहरूको नयाँ गीतद्वारा येशूको किन प्रशंसा गर्छन्‌?

१८ तथापि यहाँ २४ जना प्राचीनहरूले यहोवाको होइन तर येशूको सामु नयाँ गीत गाउँछन्‌। तर सिद्धान्त उही हो। येशूले पनि परमेश्‍वरको पुत्रको हैसियतमा तिनीहरूका लागि नयाँ कार्यहरू गर्नु भएको छ। सोही कार्यहरूका लागि तिनीहरूले उहाँको प्रशंसा गाउँछन्‌। येशूले आफ्नो रगतद्वारा नयाँ वाचा बाँध्नु भयो जसले गर्दा यहोवाको विशेष सम्पत्ति हुने नयाँ राष्ट्र गठन गर्न सम्भव हुन सक्यो। (रोमी २:२८, २९; १ कोरिन्थी ११:२५; हिब्रू ७:१८-२५) हुनत यो नयाँ राष्ट्रका सदस्यहरू शारीरिक तवरमा थुप्रै राष्ट्रहरूबाट आएका छन्‌। तापनि येशूले तिनीहरूलाई एउटै राष्ट्रको रूपमा एकै मण्डली तुल्याउनु भयो।—यशैया २६:२; १ पत्रुस २:९, १०.

१९. (क) शारीरिक इस्राएलले आफ्नो अविश्‍वासिलोपनाको कारण कुन आशिष पाउन सकेनन्‌? (ख) यहोवाको नयाँ राष्ट्रले कुन चाहिं आशिषको आनन्द उठाउँछन्‌?

१९ मोशाको पालोमा यहोवाले इस्राएलीहरूलाई एउटा राष्ट्र तुल्याउनु हुँदा उहाँले तिनीहरूसित वाचा बाँध्नु भएको थियो। त्यो वाचाप्रति विश्‍वासी रहेमा तिनीहरू उहाँको सामु पूजारीहरूको राज्य हुनेछन्‌ भनेर उहाँले प्रतिज्ञा गर्नुभयो। (प्रस्थान १९:५, ६) तर इस्राएलीहरू विश्‍वासी रहेनन्‌। तिनीहरूले त्यो प्रतिज्ञाको पूर्ति अनुभव गर्न सकेनन्‌। तर येशूद्वारा स्थापित नयाँ वाचा अन्तर्गत गठित नयाँ राष्ट्र चाहिं विश्‍वासी रहेको छ। यसैकारण त्यसका सदस्यहरूले पृथ्वीमाथि राजा भएर राज्य गर्न पाउनेछन्‌। तिनीहरूले पूजाहारीको काम पनि गर्नेछन्‌। तिनीहरूले धार्मिक मनोवृत्ति भएका मानिसहरूलाई परमेश्‍वरसित मेलमिलाप गर्ने सहायता दिनेछन्‌। (कलस्सी १:२०) यी सबै कुरा नयाँ गीतमा यसप्रकार व्यक्‍त गरिएको छ: “औ तिनीहरूलाई हाम्रा परमेश्‍वरको निम्ति राज्य र पूजाहारी हुने तुल्याउनुभयो, तिनीहरूले पृथ्वीमाथि राज्य गर्छन्‌।” (प्रकाश ५:१०) महिमायुक्‍त येशूको प्रशंसामा यो नयाँ गीत गाउँदा ती २४ जना प्राचीनहरू कति आनन्दित छन्‌!

एउटा स्वर्गीय समूहगान

२०. थुमाको प्रशंसामा अब कुन चाहिं गीत गुञ्जन्छ?

२० यहोवाको सङ्‌गठनको विशाल स्वर्गीय सेनाका अरू सदस्यहरूले चाहिं उक्‍त नयाँ गीतबारे के प्रतिक्रिया व्यक्‍त गर्छन्‌? तिनीहरूको हार्दिक सर्वसम्मती देखेर यूहन्‍ना हर्षले गद्‌गद्‌ हुन्छन्‌: “औ मैले हेरें, र सिंहासन र जीवित जीवातहरू र धर्मगुरुहरूका वरिपरि धेरै स्वर्गदूतहरूका आवाज सुनें, औ तिनीहरूका सङ्‌खया हजारौं, लक्खौं र करोडौंको थियो। तिनीहरू ठूलो सोरले यसो भन्दथिए, ‘मारिएका थुमाचाहिं, शक्‍ति, धन, ज्ञान, बल, आदर, महिमा, र धन्यवाद ग्रहण गर्ने योग्यको हुनुहुन्छ।’ ” (प्रकाश ५:११, १२) कस्तो प्रभावकारी स्तुतिगान!

२१. थुमाको प्रशंसा गर्दैमा यहोवाको सार्वभौमिकता अथवा ओहदामा आघात पर्छ र? व्याख्या गर्नुहोस्‌।

२१ तर यसको अर्थ येशूले कुनै न कुनै रूपमा यहोवाको ठाउँ हडप गर्नु भएको हो र? सारा सृष्टिले अब पिताको भन्दा येशूको प्रशंसा गर्न लागेको छ कि? कुनै हालतमा पनि होइन! बरु यो स्तुतिगानले प्रेरित पावलले लेखेको कुरासङ्‌ग मेल खान्छ: “परमेश्‍वरले उहाँलाई [येशूलाई] अति उच्च पार्नुभयो, र उहाँलाई त्यो नाउँ प्रदान गर्नुभयो, जो हरेक नाउँभन्दा उच्च छ, कि स्वर्गमा, पृथ्वीमाथि र पृथ्वीमनि भएका हरेक प्राणीले येशूको नाउँमा घुँडा टेक्नुपर्छ र हरेक जिब्रोले परमेश्‍वर पिताको महिमाको निम्ति येशू ख्रीष्टलाई प्रभु हो भनी स्वीकार गर्नुपर्छ।” (फिलिप्पी २:९-११) हो, यहाँ येशूको प्रशंसा गरिएको छ। किनभने त्यो ठूलो विवाद टुङ्‌ग्‌याउन अर्थात्‌ यहोवाको आधिकारिक सार्वभौमिकताको जीत गराउन येशूले सारा सृष्टिको सामु आफ्नो भूमिका निभाउनु भयो। यसले गर्दा उहाँको पिता साँच्चै नै महिमित हुनु भएको छ!

सामूहिकगानको बढ्‌दो अवाज

२२. पृथ्वीका जनहरूले पनि स्वरमा स्वर मिलाएर कुन प्रशंसागान गाउँछन्‌?

२२ यूहन्‍नाद्वारा वर्णित दृश्‍यमा स्वर्गका सेनाहरूले येशूको विश्‍वासिलोपन र स्वर्गीय अख्तियारको कदर गर्दै सुमधुर प्रशंसा गाइरहेका छन्‌। पार्थिव जनहरूले पनि पिता र पुत्र दुवैको प्रशंसा गर्दै ती स्वर्गीय सेनाहरूसित स्वरमा स्वर मिलाउँछन्‌। जसरी मानवीय पुत्रका उपलब्धिहरूको कारण आमाबाबुको प्रतिष्ठा बढ्‌न सक्छ, त्यसरी नै येशूको वफादार जीवनपद्धति सारा सृष्टिमा गुञ्जायमान हुँदा “परमेश्‍वर पिताको महिमा” हुन्छ। यसैले यूहन्‍ना अगाडि यसप्रकार व्याख्या गर्छन्‌: “औ स्वर्गमा, पृथ्वीमा, पृथ्वीमनि र समुद्रमा हुने सृजिएका जुनसुकै थोकले पनि, र तिनमा भएका जुनसुकैले पनि यसो भनिरहेका मैंले सुनें, ‘सिंहासनमा विराजमान हुनुहुने र थुमालाई धन्यवाद, आदर, महिमा र राज्य सदा सर्वदा होस्‌।’ ”—प्रकाश ५:१३.

२३, २४. (क) सो प्रशंसागान स्वर्गमा अनि पृथ्वीमा सुरु भएको समय हामी कसरी ठम्याउन सक्छौं? (ख) समयको साथसाथ त्यो गीतको आवाज पनि कसरी बढ्‌दै जान्छ?

२३ यो अति सुन्दर गान कहिलेदेखि गुञ्जन थाल्छ? प्रभुको दिनको प्रारम्भदेखि। स्वर्गबाट शैतान र त्यसका दूतहरूलाई हटाइसकेपछि “स्वर्गमा सृजिएका” सबै नै प्राणी एक भएर यस गीतमा भाग लिन सके। र प्राप्त रिपोर्टअनुसार, १९१९-देखि पृथ्वीमा पनि बढ्‌दो सङ्‌ख्याको ठूलो भीडले स्वरमा स्वर मिलाएर यहोवाको प्रशंसा गाइरहेका छन्‌। यस भीडको सङ्‌ख्या केही हजारदेखि बढेर सन्‌ २००५ सम्ममा ६० लाखभन्दा बढी पुगिसकेको थियो। b शैतानको पार्थिव रीतिरिवाज नष्ट भइसकेपछि “पृथ्वीमा [पनि] सृजिएको” हरेक प्राणीले यहोवा र उहाँको पुत्रको स्तुति गाउनेछन्‌। यहोवाको आफ्नै नियुक्‍त समयमा लाखौं तथा अनगन्ती मृतकहरूको पुनरुत्थान आरम्भ हुनेछ। त्यतिखेर चाहिं परमेश्‍वरले सम्झनु हुने “पृथ्वीमनि”-को हर प्राणीले यो स्तुतिगान गाउनमा साथ दिने मौका पाउनेछन्‌।

२४ अहिले पनि “पृथ्वीको पल्लोछेउ . . . समुद्र र . . . समुद्र किनारका देश”-का लाखौं बासिन्दाहरूले यहोवाको विश्‍वव्यापी सङ्‌गठनसित मिलेर नयाँ गीत गाइरहे छन्‌। (यशैया ४२:१०; भजन १५०:१-६) सहस्त्रवर्षीय राज्यको अन्तमा मानवजातिले सिद्धता प्राप्त गरेपछि यो आनन्दमय स्तुतिगान पनि आफ्नो चरमोत्कर्षमा पुग्नेछ। तत्पश्‍चात्‌ उत्पत्ति ३:१५-को पूर्तिमा, त्यो वृद्ध साँप र प्रमुख ठगाहा शैतान सम्पूर्णतया नष्ट हुनेछ। यो मङ्‌गलमय चर्मोत्कर्षमा मानवीय तथा आत्मिक, सबै जीवित प्राणीहरूले स्वरमा स्वर मिलाएर यसो भन्दै गाउनेछन्‌: “सिंहासनमा विराजमान हुनुहुने र थुमालाई धन्यवाद, आदर र महिमा र राज्य सदा सर्वदा होस्‌।” सारा ब्रह्‍माण्डमा विरोधको आवाज कतै सुनिने छैन।

२५. (क) यूहन्‍नाद्वारा प्रस्तुत त्यो विश्‍वव्यापी गीतबाट हामी के गर्न उत्प्रेरित हुन्छौं? (ख) दर्शनको जसै अन्त हुन्छ ती चार जीवित जीवात र २४ जना प्राचीनहरूले हाम्रालागि कस्तो महान उदाहरण प्रस्तुत गर्छन्‌?

२५ त्यतिखेर कति ठूलो हर्षोल्लास मनाइनेछ! साँच्चै नै यूहन्‍नाको यस वर्णनले हाम्रो हृदयलाई आनन्दले भरिदिन्छ। स्वर्गीय सेनाहरूसित मिलेर हामी पनि यहोवा परमेश्‍वर र येशू ख्रीष्टको जयजयकार गर्न उत्प्रेरित हुन्छौं। असल कार्यहरूमा लागिरहन के हामी पहिलेभन्दा अब अझ कटिबद्ध भएका छैनौं र? यसरी असल कार्यहरूमा लागिरह्‌यौं भने अन्ततः यहोवाको मदतद्वारा हामीले व्यक्‍तिगत रूपमा त्यो आनन्दमय चरमोत्कर्ष देख्नेछौं। सारा ब्रह्‍माण्डमा गुञ्जने त्यो सामूहिक स्तुतिगानमा हामीले पनि आफ्नो स्वर मिलाउन पाउनेछौं। निश्‍चय पनि, ती चार जीवित जीवातजस्ता करूबहरू र पुनरुत्थानप्राप्त अभिषिक्‍त मसीहीहरू सबै सर्वसम्मत छन्‌। किनकि दर्शन यी शब्दहरूका साथ समाप्त हुन्छ: “औ ती चारै जीवित जीवातले भने, ‘आमिन।’ औ घोप्टो परेर ती धर्म-गुरुहरूले दण्डवत्‌ गरे।”—प्रकाश ५:१४.

२६. हामीले कुन कुरामाथि विश्‍वास प्रदर्शित गर्नुपर्छ र थुमा के गर्ने तरखरमा हुनुहुन्छ?

२६ प्रिय पाठक, तपाईं कृपया ती ‘योग्य जन’ अर्थात्‌ थुमाको बलिदानमा विश्‍वास प्रदर्शित गर्नुहोस्‌। “सिंहासनमा विराजमान” यहोवाको उपासना र सेवा गर्ने तपाईंका नम्र प्रयासहरूमा आशिष रहोस्‌। “समय समयमा [आत्मिक] भोजन” दिंदै यूहन्‍नावर्गले तपाईंको मदत गरून्‌। (लूका १२:४२) तर हेर्नुहोस्‌! ती सात वटा छाप खोल्न थुमा तयार हुनु हुँदैछ! हाम्रालागि अब कस्ता कस्ता रोमाञ्चकारी रहस्यहरू खुल्नै लागेका छन्‌!

[फुटनोटहरू]

a व्याकरणात्मक दृष्टिले हेर्दा चाहिं “प्रत्येकसित वीणा र धूपले भरिएका सुनका पात्रहरू थिए” भन्‍ने अभिव्यक्‍तिले प्राचीनहरू र चार जीवित जीवातहरू, दुवैलाई सङ्‌केत गरेको हुन सक्छ। तथापि प्रसङ्‌गलाई ध्यानमा राखेर हेर्दा स्पष्टतः उक्‍त अभिव्यक्‍तिले २४ जना प्राचीनहरूलाई मात्र सङ्‌केत गर्दछ।

b पृष्ठ ६४-को विवरणतालिका हेर्नुहोस्‌।

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ ८६-मा भएको पृष्ठभरिको चित्र]