सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

दुइटा डरलाग्दा जनावरहरूसित मुकाबिला

दुइटा डरलाग्दा जनावरहरूसित मुकाबिला

अध्याय २८

दुइटा डरलाग्दा जनावरहरूसित मुकाबिला

दर्शन ८—प्रकाश १३:१-१८

विषय: सात शिर भएको जंगली जनावर, दुई सीङे जंगली जनावर र जंगली जनावरको मूर्ति

पूर्ति समयावधि: निम्रोदको समयदेखि महासङ्‌कष्टसम्म

१, २. (क) यूहन्‍नाले अजिङ्‌गरबारे के भन्छन्‌? (ख) अजिङ्‌गरद्वारा सञ्चालित दृश्‍य सङ्‌गठनलाई प्रतीकात्मक भाषामा यूहन्‍नाले कसरी वर्णन गर्छन्‌?

 त्यो ठूलो अजिङ्‌गर तल पृथ्वीमा खसालिएको छ! त्यो साँप र त्यसका पछि लाग्ने प्रेतहरू फेरि कहिल्यै पनि स्वर्ग फर्कन पाउने छैनन्‌। सो प्रकाशको पुस्तकको अध्ययनद्वारा स्पष्ट भएको छ। तर “सारा संसारलाई ठग्ने” “दियाबल र शैतान”-को कथा यति मै टुङ्‌गिदैन। त्यसले ‘स्त्री र स्त्रीको सन्तान’सित युद्ध गर्दा प्रयोग गर्ने माध्यमको अझ विस्तृत विवरण अब हामी पाउँनेछौं। (प्रकाश १२:९, १७) यूहन्‍ना त्यो सर्परूपी अजिङ्‌गरबारे यसो भन्छन्‌: “औ समुद्रको बालुवामाथि त्यो उभियो।” (प्रकाश १३:१क) यसकारण आउनुहोस्‌, हामी केही छिन त्यो अजिङ्‌गरको कार्य-माध्यमलाई जाँच गरौं।

पवित्र स्वर्ग अब शैतान र त्यसका प्रेतहरूको उपस्थितिले पीडित छैन। ती दुष्टात्माहरू स्वर्गबाट तल पृथ्वीको आसपासमा निष्कासित भएका छन्‌। निःसन्देह यसैले गर्दा अहिले प्रेतवादसम्बन्धी गतिविधिहरू अचाक्ली बढेको छ। त्यो धूर्त साँपको अधीनमा अझ पनि एउटा भ्रष्ट आत्मिक सङ्‌गठन कायमै छ। तर मानिसजातिलाई भ्रममा पार्न के त्यसले कुनै दृश्‍य सङ्‌गठन पनि प्रयोग गर्छ? यूहन्‍ना हामीलाई यसो भन्छन्‌: “अनि मैले दशवटा सीङ र सातवटा शिर र त्यसका सीङहरूमाथि दशवटा राजमुकुट, र त्यसका शिरहरूमा ईश्‍वरनिन्दाका नाउँहरू भएको एउटा जनावर समुद्रबाट निस्किरहेको देखें। औ मैले देखेको त्यो जन्तु चितुवाजस्तै थियो, त्यसका खुट्टाहरू भालूका जस्ता थिए, र त्यसको मुख सिंहको जस्तो थियो। औ त्यस अजिङ्‌गरजस्तै पशुले त्यसलाई आफ्नो शक्‍ति, आफ्नो सिंहासन र ठूलो अख्तियार दियो।”—प्रकाश १३:१ख, २.

३. (क) अगमवक्‍ता दानियलले दर्शनमा कुन कुन भयानक जनावरहरू देखे? (ख) दानियल ७-का जनावरहरूले केलाई चित्रित गरे?

यो अनौठो जनावर हो के? यसको जवाफ बाइबलले स्वंय दिन्छ। सा.यु.पू. ५३९-मा बेबिलोनको पतनअघि यहूदी अगमवक्‍ता दानियलले दर्शनमा डरलाग्दा जनावरहरू देखे। दानियल ७:२-८-मा उनले समुद्रबाट निस्किरहेका चार जनावरहरूको वर्णन गर्छन्‌। प्रथम जनावर सिंहजस्तो छ, दोस्रो भालूजस्तो, तेस्रो चितुवाजस्तो र हेर्नुहोस्‌ चौथो जन्तु “डरलाग्दो, भयङ्‌कर र अत्यन्त बलियो” छ र त्यसका “दशवटा सीङ” पनि छन्‌। यो जनावर यूहन्‍नाले करीब सा.यु. ९६-तिर देखेको जन्तुसित निकै नै मिल्दोजुल्दो छ। यूहन्‍नाले देखेको जनावर पनि हेर्नमा सिंह, भालू र चितुवा जस्तो छ र त्यसको शिरमा दश सिङहरू छन्‌। तर दानियलले देखेका ठूलठूला जनावरहरू कुन कुराका प्रतीक हुन्‌? उनी भन्छन्‌: “यी ठूलठूला चार जन्तुहरू चार राज्य हुन्‌ जो पृथ्वीमा खडा हुनेछन्‌।” (दानियल ७:१७) हो, ती जनावरहरूले “राज्यहरू” अथवा पृथ्वीका राजनैतिक शक्‍तिहरूलाई चित्रित गर्छन्‌।

४. (क) दानियल ८-मा साँढ भेडा र बोकाले केलाई चित्रित गरे? (ख) बोकाको ठूलो सिङ भाँचिएर त्यसको ठाउँमा चार सिङहरू उम्रनुको अर्थ के हो?

अझ अर्को दर्शनमा दानियलले दुई सिङ भएको साँढ-भेडा देख्छन्‌ जसलाई एउटा ठूलो सिङ हुने बोकाले प्रहार गर्छ। यसको अर्थ गब्रिएल दूतले दानियललाई यसप्रकार बताउँछन्‌: “तिमीले देखेको दुई सीङे साँढ-भेडा मादी देश र फारस देशका राजाहरू हुन्‌। औ त्यो बोका चाहिं यूनानीहरूको राज्य हो।” साथै, त्यो बोकाको ठूलो सिङ भाँचिनेछ र त्यसको ठाउँमा चार सिङ उम्रनेछन्‌ भनी गब्रिएलले अझ भविष्यवाणी गर्छन्‌। यो वास्तवमा २०० वर्षपछि पूरा भयो जब महान सिकन्दरको मृत्युपश्‍चात्‌ उनको राज्य चार राज्यहरूमा विभाजित भयो। तीमाथि उनका चार जना जर्नेलहरूले राज्य गर्न थाले।—दानियल ८:३-८, २०-२५. a

५. (क) जनावरका लागि प्रयोग हुने युनानी शब्दले के कस्ता गुणहरूलाई बोध गराउँछ? (ख) प्रकाश १३:१, २-को जङ्‌गली जनावर र त्यसका सात शिरहरूले कुन कुराको प्रतिनिधित्व गर्छन्‌?

निःसन्देह, ईश्‍वरप्रेरित बाइबलको महान लेखकको नजरमा पृथ्वीका राजनैतिक शक्‍तिहरू पशु समान छन्‌। तर कस्तो किसिमका पशुहरू? एक जना टिप्पणीकारले प्रकाश १३:१, २-को जनावरलाई “जङ्‌गली पशु” भनेर सम्बोधन गर्दै अझ यसो भन्छन्‌: “यहाँ प्रयोग गरिएको थेरियोन [जनावर बोध गराउने युनानी शब्द, थेरियोन] शब्दबाट बोध हुने निठूरी, विध्वंसक, भक्षक, राक्षस इत्यादि सबै नै अर्थलाई हामी स्वीकार्छौं।” b मानिसजातिमाथि शासन गर्न शैतानले प्रयोग गर्दै आएको रक्‍तरञ्जित राजनैतिक समाजको यो कति उपयुक्‍त वर्णन हो! यस जङ्‌गली जनावरका सात शिरहरूले ती छ वटा ठूलठूला विश्‍व-शक्‍तिहरूलाई चित्रित गर्छन्‌ जो यूहन्‍नाको पालोसम्म बाइबलको इतिहासमा देखा परेका थिए। ती शक्‍तिहरू हुन्‌ मिस्र, अशूर, बेबिलोन, मादी-फारसी, ग्रीस, रोम र पछिबाट देखा पर्ने एउटा सातौं विश्‍व-शक्‍तिको पनि भविष्यवाणी गरिएको थियो।—प्रकाश १७:९, १०-तुलना गर्नुहोस्‌।

६. (क) जङ्‌गली जनावरका सात शिरहरूले के गर्नमा अगुवाइ लिएका छन्‌? (ख) यहूदी समाजमाथि यहोवाले आफ्नो न्याय कार्यान्वयन गर्नु हुँदा रोमको प्रयोग कसरी भयो र यरूशलेमका मसीहीहरूलाई के भयो?

यो साँचो हो, इतिहासमा उक्‍त सात विश्‍व-शक्‍तिहरूबाहेक अन्य शक्‍तिहरू पनि थिए। जस्तो कि यूहन्‍नाले देखेको जङ्‌गली जनावरको पनि शरीरबाहेक सात शिर र दश सिङहरू थिए। तर सात शिरहरूले ती सात ठूलठूला विश्‍व-शक्‍तिहरूलाई चित्रित गर्छन्‌ जसले पालै पालो परमेश्‍वरका मानिसहरूलाई थिचोमिचो गरे। सा.यु. ३३-मा रोम शक्‍तिको शिखरमा पुगेको थियो र यसै विश्‍व-शक्‍तिलाई शैतानले पनि परमेश्‍वरको पुत्रको हत्या गर्न प्रयोग गऱ्‍यो। त्यतिबेला परमेश्‍वरले विश्‍वासहीन यहूदी रीतिरिवाजलाई त्याग्नु भयो र पछि सा.यु. ७०-मा तिनीहरूमाथि आफ्नो न्याय कार्यान्वयन गर्न उहाँले रोमलाई नै चलाउनु भयो। तर खुशीको कुरा, परमेश्‍वरको साँचो इस्राएल अथवा अभिषिक्‍त मसीहीहरूको मण्डलीलाई चाहिं यसबारे अग्रिम चेताउनी दिइएको थियो। यसले गर्दा तिनीहरू जो जो यरूशलेम र यहूदियामा बस्थे, सबै नै यर्दन नदी पार सुरक्षित ठाउँमा भागी सकेका थिए।—मत्ती २४:१५, १६; गलाती ६:१६.

७. (क) जगतको अन्त र प्रभुको दिन सुरु भएपछि के हुनेवाला थियो? (ख) प्रकाश १३:१, २-मा उल्लिखित जङ्‌गली जनावरको सातौं शिर को हुन गयो?

तथापि, सा.यु. प्रथम शताब्दीको अन्ततिर यस प्रारम्भिक मण्डलीका धेरैले सच्चाइ छाडिसकेका थिए। सामाहरू अथवा “दुष्टका सन्तान” बीच साँचो मसीही गहुँ अर्थात्‌ “राज्यका सन्तान” प्रायः निस्सासिएका थिए। तर यस रीतिरिवाजको अन्त हुने बेला आउनासाथै अभिषिक्‍त मसीहीहरूको समूह फेरि सङ्‌गठित रूपमा देखा पऱ्‍यो। प्रभुको दिनको दौडान धर्मी जनहरू ‘सूर्य जस्तै चम्कनु परेको थियो।’ अतः कामका लागि मसीही मण्डली सङ्‌गठित गरियो। (मत्ती १३:२४-३०, ३६-४३) त्यतिबेलासम्म रोमी साम्राज्यको अन्त भइसकेको थियो। विशाल ब्रिटिश साम्राज्यका साथै शक्‍तिशाली संयुक्‍त राज्य अमेरिकाले विश्‍व-रङ्‌गमञ्चमा प्रमुख भूमिका खेलिरहेको थियो। यी द्वैध विश्‍वशक्‍ति जङ्‌गली जनावरको सातौं शिर साबित भयो।

८. एङ्‌गलो अमेरिकी द्वैध विश्‍वशक्‍तिलाई एउटा जनावरसित तुलना गर्नु किन कुनै छक्कपर्दो कुरा होइन?

तर शासनारुढ राजनैतिक शक्‍तिहरूलाई जङ्‌गली जनावरसित तुलना गर्नु अत्यन्तै अचम्मको कुरा होइन र? केही विरोधीहरूले दोस्रो विश्‍व युद्धको दौडान यस्तै ठाने। त्यतिखेर अदालतहरूमा विश्‍वभरि यहोवाका साक्षीहरूले सङ्‌गठनात्मक तथा व्यक्‍तिगत तवरमा ठूलो चुनौतीको सामना गरिरहेका थिए। तर एकछिन विचार गर्नुहोस्‌! के राष्ट्रहरूले स्वयं नै पशु तथा जङ्‌गली जनावरहरूलाई आफ्नो राष्ट्रिय प्रतीक बनाएका छैनन्‌ र? उदाहरणका लागि, बेलायतको सिंह, अमेरिकाको गरुड र चीनको अजिङ्‌गर सबै राष्ट्रिय प्रतीकहरू हुन्‌। अतः पवित्र बाइबलको ईश्‍वरीय लेखकले पनि विश्‍व-शक्‍तिहरू चित्रण गर्न पशुहरू प्रयोग गर्नु हुँदा कसैले किन आपत्ति जनाउने?

९. (क) शैतानले जङ्‌गली जनावरलाई ठूलो अख्तियार दिन्छ भन्‍ने कुरा बाइबलमा पढ्‌दा किन कसैले आपत्ति गर्न मिल्दैन? (ख) बाइबलमा शैतानको वर्णन कसरी गरिएको छ र त्यसले सरकारहरूमाथि कसरी प्रभाव पार्छ?

साथै, शैतानले नै जङ्‌गली जनावरलाई ठूलो अख्तियार दिएको कुरा बाइबलले उल्लेख गर्दा कसैले आपत्ति गर्नु सुहाउँछ र? त्यो अभिव्यक्‍तिको स्रोत परमेश्‍वर हुनुहुन्छ र उहाँको सामु ‘सबै जातिहरू ता गाग्रोबाट चुहेको थोपोजस्तै मात्र र तराजूमा टाँसेको धूलोजस्तै’ हुन्‌। यसकारण ती राष्ट्रहरूले परमेश्‍वरको भविष्यसूचक वचनमा आफ्नो वर्णन पढेर रिसाउनुको सट्टा परमेश्‍वरको अनुग्रहको पात्र हुने कोशिश गरेमा तिनीहरूकै भलो हुने थियो। (यशैया ४०:१५, १७; भजन २:१०-१२) शैतान कुनै पौराणिक व्यक्‍ति होइन जो मृतात्माहरूलाई सताउन नरकको अग्निकुण्डमा खटाइएको छ। यस्तो कुनै ठाउँ नै छैन। बरु शास्त्रमा शैतानलाई “ज्योतिर्मय स्वर्गदूत” भनेर सम्बोधन गरिएको छ। त्यो एक धूर्त ठगाहा हो जसले आमराजनैतिक गतिविधिहरूमा शक्‍तिशाली प्रभाव पार्दछ।—२ कोरिन्थी ११:३, १४, १५; एफिसी ६:११-१८.

१०. (क) जम्मै दश सिङहरूमाथि भएको एकएक वटा राजमुकुटबाट के बोध हुन्छ? (ख) ती दश सिङ तथा दश राजमुकुटहरूले केलाई चित्रित गर्छन्‌?

१० त्यो जङ्‌गली जनावरको सात शिरमा दश सिङ छन्‌। सम्भवतः चार शिरमा एकएक र तीन वटा शिरमा चाहिं दुईदुई सिङ थिए होलान्‌। यसबाहेक, त्यसका सिङहरूमा दशवटा राजमुकुटहरू थिए। दानियलको पुस्तकमा डरलाग्दा जनावरहरूको वर्णन गरिएको छ र तिनीहरूका सिङहरूको सङख्याको अर्थ शाब्दिक छ। उदाहरणका लागि, साँढ भेडामा भएको दुइटा सिङले मादी र फारसीहरूको द्वैध विश्‍व-साम्राज्यलाई जनाउँथ्यो। बोकाका चार सिङहरू चाहिं महान सिकन्दरको युनानी साम्राज्यबाट उम्रेका चार समकालीन साम्राज्यहरूका प्रतीक थिए। (दानियल ८:३, ८, २०-२२) तर यूहन्‍नाले देखेको जनावरका दश सिङहरू चाहिं प्रतीकात्मक जस्ता देखिन्छन्‌। (दानियल ७:२४; तुलना गर्नुहोस्‌ प्रकाश १७:१२) तिनीहरूले सार्वभौमसत्ता सम्पन्‍न राष्ट्रहरूको सम्पूर्णतालाई प्रतिनिधित्व गर्छन्‌ जसद्वारा शैतानको सारा राजनैतिक सङ्‌गठन बनेको छ। यी सबै सिङहरू हिंसात्मक र आक्रामक छन्‌। तर ती सात शिरहरूबाट बोध भएझैं, प्रभुत्व एक पटकमा एउटै विश्‍व-शक्‍तिमा मात्र निहित हुन्छ। यस्तैगरी सबै नै सार्वभौमसत्ता सम्पन्‍न राष्ट्रहरूले त्यस बेलाका सबैभन्दा प्रभावशाली राष्ट्र अथवा विश्‍व-शक्‍ति सँगसँगै राज्याख्तियार चलाउने छन्‌ भनी ती दश राजमुकुटहरूले सङ्‌केत गर्छन्‌।

११. त्यो जङ्‌गली जनावरका “शिरहरूमा ईश्‍वरनिन्दाका नाउँहरू” हुनुको अर्थ के हो?

११ त्यो जङ्‌गली जनावरका “शिरहरूमा ईश्‍वरनिन्दाका नाउँहरू” छन्‌। त्यसले यस्ता यस्ता दाबी गर्छन्‌ जसबाट यहोवा परमेश्‍वर र ख्रीष्ट येशूको ठूलो अपमान हुन्छ। त्यसले आफ्नै राजनैतिक स्वार्थसिद्धिका लागि परमेश्‍वर र ख्रीष्टको नाउँ चलाएको छ; त्यसले झूटो धर्मलाई साथ दिएको छ र पादरीहरूलाई राजनैतिक गतिविधिहरूमा भाग लिने अनुमति समेत दिएको छ। उदाहरणका लागि, बेलायतको हाउस अफ लर्ड्‌समा बिशपहरू पनि सम्मिलित छन्‌। फ्रान्स र इटालीमा क्याथोलिक कार्डिनलहरूले प्रमुख राजनैतिक भूमिका निभाएका छन्‌। हालसालै, ल्याटिन अमेरिकामा पादरीहरूले पनि राजनैतिक ओहोदाहरू स्वीकारेका छन्‌। “हामी ईश्‍वरमा भरोसा गर्छौं” भन्‍ने धार्मिक नारा सरकारहरूले आफ्नो बैंकका नोटहरूमा छाप्छन्‌। आफ्ना सिक्काहरूद्वारा तिनीहरू आफ्ना शासकहरूमाथि ईश्‍वरको अनुमोदन छ भन्‍ने दाबी गर्छन्‌। उदाहरणका लागि, ती शासकहरू “परमेश्‍वरको अनुग्रहबाट” नियुक्‍त भएका हुन्‌ भनी तिनीहरूले आफ्ना सिक्काहरूमा कोरेका हुन्छन्‌। यी जम्मै कुराहरू वास्तवमा ईश्‍वरनिन्दक हुन्‌। यस्ता कुराहरूले राजनीतिको बदनाम अखडामा परमेश्‍वरलाई मुछ्‌ने प्रयास गर्छ।

१२. (क) त्यो जङ्‌गली जनावर “समुद्रबाट” निस्कनुको अर्थ के हो र त्यो कहिले देखि बाहिर निस्कन थाल्यो? (ख) अजिङ्‌गरले त्यो प्रतीकात्मक जनावरलाई ठूलो अख्तियार दिनुको अर्थ के हो?

१२ जङ्‌गली जनावर “समुद्र”बाट निस्कन्छ जो अशान्त भीडहरूको एउटा उपयुक्‍त प्रतीक हो। यी भीडहरूबाटै मानव सरकारहरू उत्पन्‍न हुन्छन्‌। (यशैया १७:१२, १३) यो जङ्‌गली जनावर अशान्त मानव-समाजबाट निम्रोदको समयदेखि (करीब सा.यु.पू. २१-औं शताब्दीमा) निस्कन थाल्यो। जलप्रलयपछि यहोवाको विरोध गर्ने व्यवस्था त्यतिबेला प्रथम पटक देखा पऱ्‍यो। (उत्पत्ति १०:८-१२; ११:१-९) तर त्यसका सात शिरहरूमध्येको सातौं शिर चाहिं प्रभुको दिनमा मात्र पूर्ण रीतिले प्रकट भएको छ। साथै, हेर्नुहोस्‌, यहाँ “जनावरलाई आफ्नो शक्‍ति, आफ्नो सिंहासन र ठूलो अख्तियार” अजिङ्‌गरले नै दिन्छ। (लूका ४:६-तुलना गर्नुहोस्‌) भीडका भीड मानिसजातिहरूबीच यो जनावर शैतानको राजनैतिक सृजना हो। शैतान साँच्चै नै “यस संसारको मालिक” हो।—यूहन्‍ना १२:३१.

मरणतुल्य चोट

१३. (क) प्रभुको दिनको सुरुमै त्यो जङ्‌गली जनावरमाथि के विपत्ति आइपर्छ? (ख) जङ्‌गली जनावरको एउटै शिरले मरणतुल्य चोट खाँदा सम्पूर्ण जनावर पिरोलिनुको अर्थ के हो?

१३ प्रभुको दिनको सुरुमै यो जङ्‌गली जनावरमाथि विपत्ति आइपर्छ। यूहन्‍ना भन्छन्‌: “अनि मैले त्यसका शिरहरूमध्ये एउटालाई चाहिं मरुञ्जेल हिर्काइराखेको जस्तो देखें, औ त्यसको मरणतुल्य-चोट निको भयो र सिङ्‌गै पृथ्वी छक्क परेर त्यस जनावरको पछिपछि लागे।” (प्रकाश १३:३) यस पदअनुसार जङ्‌गली जनावरको एउटा शिरले मरणतुल्य चोट खान्छ। तर १२-औं पदअनुसार त पूरै जनावर पीडित भएको जस्तै देखिन्छ। किन होला? किनभने त्यस जनावरका जम्मै शिरहरूले एकै साथ शासन गरेका छैनन्‌। प्रत्येकले पालै पालो मानिसजातिमाथि खासगरी परमेश्‍वरका जनहरूमाथि थिचोमिचो गर्दै आएका छन्‌। (प्रकाश १७:१०) अतः प्रभुको दिन सुरु हुँदा त्यहाँ एकै वटा शिर अर्थात्‌ सातौं शिरले संसारको प्रमुख विश्‍व-शक्‍तिको रूपमा राज्य गरिरहेको हुन्छ। त्यस शिरमाथिको मरणतुल्य चोटले सम्पूर्ण जङ्‌गली जनावरलाई नै पिरोल्छ।

१४. त्यो मृत्युदायी प्रहार कहिले पऱ्‍यो र शैतानको जङ्‌गली जनावरमाथि त्यसको असरलाई एक जना सैनिक अफसरले कसरी वर्णन गरे?

१४ त्यो मरणतुल्य चोट के थियो? पछि गएर त्यसलाई तरवारको चोट भनिन्छ र तरवार युद्धको प्रतीक हो। प्रभुको दिनको सुरुमै प्रहार गरिएको यो तरवारको चोट प्रथम विश्‍व-युद्ध हुनुपर्छ। यो युद्धले शैतानको राजनैतिक जङ्‌गली जनावरलाई उजाड र निर्बल तुल्याइ दियो। (प्रकाश ६:४, ८; १३:१४) उक्‍त युद्धका एक सैनिक अफसर तथा लेखक मरिस जेनेभ्वाले त्यसबारे यसो भने: “मानिसजातिको इतिहासमा अगस्त २, १९१४-भन्दा बढी महत्त्वपूर्ण मिति कमै छ भनी प्रायः सबै सहमत छन्‌। पहिले युरोप र त्यसपछि सारा मानवजाति एउटा भीषण घटनामा मुछिए। अधिवेशनहरू, सम्झौताहरू, नैतिक मान्यताहरू, आधारशीलाहरू जम्मै हल्लिए; आजको भोली मै सबै कुरा शङ्‌कास्पद हुन थाल्यो। अनिष्टसूचक पूर्वाभास र प्रत्याशालाई माथ गर्ने घटना थियो त्यो। त्यो दारुण र नृशंस भद्रगोलको पछिपछि हाम्रो अझ पनि लछारपछार भइरहेछ।”—अकादेमी फ्रान्से-का सदस्य मोरिस जेनेभ्वालाई प्रमिस अफ ग्रेटनेस नामक पुस्तकमा (१९६८) उद्धृत गरिएको।

१५. जङ्‌गली जनावरको सातौं शिरमाथि मरणतुल्य चोट कसरी पऱ्‍यो?

१५ जङ्‌गली जनावरको प्रमुख सातौं शिरका लागि त्यो युद्ध ठूलो दुर्घटना थियो। अन्य युरोपेली राष्ट्रहरूका साथै बेलायतका पनि धेरै नै जवानहरू युद्धमा मारिए। सन्‌ १९१६-मा लडिएको बेटल अफ द रिवर सोम भन्‍ने एउटै मात्र युद्धमा ४,२०,००० ब्रिटिश सिपाहीहरू, करीब १,९४,००० फ्रेञ्च सिपाहीहरू, ४,४०,००० जर्मन सिपाहीहरू गरी जम्माजम्मी १०,००,०००-भन्दा धेरै मानिसहरू मारिए! बेलायतका साथै बाँकी युरोपको पनि आर्थिक ह्रास भयो। विशाल ब्रिटिश साम्राज्य यो प्रहारको असरले लडखडाउन थाल्यो। त्यसको मारबाट ऊ आजसम्मै पनि सम्पूर्णतः निको हुन सकेको छैन। अट्ठाइस्‌ प्रमुख राष्ट्रहरूले भाग लिएको त्यस युद्धले सारा संसारलाई नै मानौं मृत्युदायी प्रहार ख्वाएर भौंतारिन लगायो। प्रथम विश्‍व-युद्धको मात्र ६५ वर्षपछि अगस्त ४, १९७९-मा बेलायत, लन्डनको दी इकोनोमिस्ट-ले यो टिप्पणी गऱ्‍यो: “सन्‌ १९१४-मा विश्‍वले आफ्नो सम्बद्धता हरायो र आजसम्म त्यसलाई पुनःप्राप्त गर्न सकेको छैन।”

१६. द्वैध विश्‍व-शक्‍तिको भाग संयुक्‍त राज्य अमेरिका हो भन्‍ने कुरा उसले प्रथम विश्‍व-युद्धको दौडान कसरी साबित गऱ्‍यो?

१६ त्यसै समयमा त्यो महा युद्धले संयुक्‍त राज्य अमेरिकालाई एङ्‌गलो अमेरिकी विश्‍व-शक्‍तिको एउटा अभिन्‍न भागको रूपमा छर्लङ्‌ग देखा पर्ने मौका खोली दियो। युद्धका प्रारम्भिक सालहरूमा जनविचारअनुसार संयुक्‍त राज्य अमेरिका त्यो द्वन्दमा विथोलित थिएन। तर इतिहासकार एस्मी विङ्‌फिल्ड स्ट्रेटफोर्डको लेखोटअनुसार “मूल प्रश्‍न नै यो थियो: के बेलायत र संयुक्‍त राज्य अमेरिका यस सङ्‌कष्टको घडीमा आफ्नो शक्‍तिशाली एकता र साझे जिम्मा-जमानीको खातिर आपसी भिन्‍नता बिर्सन तयार थिए?” तयार थिए भन्‍ने कुरा घटनाक्रमबाट देखियो। सन्‌ १९१७-मा संयुक्‍त राज्य अमेरिकाले मित्र राष्ट्रहरूको लडखडिन थालेको युद्ध प्रयासलाई बल दिन आवश्‍यक साधन र मानवशक्‍ति प्रदान गऱ्‍यो। यसप्रकार सातौं शिर अर्थात्‌ बेलायत र संयुक्‍त राज्य अमेरिका विजयी पक्ष भए।

१७. युद्धपश्‍चात्‌ शैतानको पार्थिव व्यवस्थालाई के भयो?

१७ युद्धपछिको संसार अति नै बेग्लै थियो। शैतानको पार्थिव रीतिरिवाज मरणतुल्य चोट खाएर बरबाद भए तापनि त्यो पुनःजागृत भयो। त्यो पहिलेभन्दा अझ शक्‍तिशाली हुन गयो। त्यसलाई निको भएको देखेर मानिसहरूले त्यसको प्रशंसा गर्न थाले।

१८. आममानिसजाति “छक्क परेर त्यस जनावरको पछिपछि लागे” भनेर कसरी भन्‍न सकिन्छ?

१८ इतिहासकार चार्ल्स मी, जुनियर लेख्छन्‌: “स्वशासनको बिस्तार, नयाँ राष्ट्र र वर्गहरूको मुक्‍ति तथा नयाँ स्वाधीनताहरू फैलिनअघि पुरानो व्यवस्थाको ह्रास [प्रथम विश्‍वयुद्धले गराएको] हुनु आवश्‍यक थियो।” यी युद्धपश्‍चात्‌-गतिविधिहरूमा जङ्‌गली जनावरको भर्खरै निको भएको सातौं शिरले अगुवाइ लिन थाल्यो। साथमा संयुक्‍त राज्य अमेरिका पनि एउटा प्रमुख भूमिका निभाउन अघि बढ्‌दै थियो। राष्ट्र संघ र संयुक्‍त राष्ट्र संघ दुवैलाई समर्थन गर्न यी द्वैध विश्‍व-शक्‍ति अग्रसर भयो। सन्‌ २००५ सम्ममा संयुक्‍त राज्य अमेरिकाको राजनैतिक शक्‍तिले विकशित देशहरूलाई अझ उच्च जीवनस्तर सृजने, रोगको रोकथाम गर्ने र प्रविधिलाई उन्‍नत पार्ने बाटो देखाइ सकेको थियो। ऊ चन्द्रमामा १२ जना मानिस पठाउन पनि सक्षम भइसकेको थियो। यसकारण आममानिसजाति “छक्क परेर त्यस जनावरको पछिपछि” लागेको छ।

१९. (क) मानिसजातिले त्यो जङ्‌गली जनावरको प्रशंसाबाहेक अरू के पनि गरेको छ? (ख) पृथ्वीका जम्मै राज्यहरूमाथि कसको सम्पूर्ण अधिकार छ र यो हामी कसरी भन्‍न सक्छौं? (ग) शैतानले जङ्‌गली जनावरलाई अधिकार कसरी दिन्छ र अधिकांश मानिसहरूमाथि यसको कस्तो असर परेको छ?

१९ तर मानिसजाति छक्क परेर त्यो जनावरको पछिपछिमात्र लागेको छैन। यूहन्‍ना अझ यसो पनि भन्छन्‌: “औ त्यसले त्यस जनावरलाई आफ्नो अख्तियार दिएको हुनाले तिनीहरूले त्यस अजिङ्‌गरजस्तै पशुलाई दण्डवत गरे, र त्यस जनावरलाई यसो भनेर दण्डवत गरे, ‘त्यस जनावरजस्तो अरू को छ र? अनि यससँग लडाइँ गर्नसक्ने को छ?’ ” (प्रकाश १३:४) येशू पृथ्वीमा हुनुहुँदा शैतानले पृथ्वीका जम्मै राज्यहरूमाथि आफ्नो प्रभुत्व जमाउने दाबी गऱ्‍यो। यो दाबीलाई येशूले खण्डन गर्नु भएन; बरु उहाँले पनि शैतानलाई संसारको शासक भनेर सम्बोधन गर्नु भयो। तत्कालीन राजनीतिमा भाग लिन उहाँले साफ इन्कार गर्नु भयो। यूहन्‍नाले मसीहीहरूबारे पछि यसप्रकार लेखे: “हामी जान्दछौं कि हामी परमेश्‍वरका हौं, र सारा संसार त्यस दुष्टको अधीनमा परेको छ।” (१ यूहन्‍ना ५:१९; लूका ४:५-८; यूहन्‍ना ६:१५; १४:३०) शैतानले त्यो जङ्‌गली जनावरलाई राष्ट्रिय स्तरमा अख्तियार दिन्छ। अतः ईश्‍वरीय प्रेमको बन्धनमा बाँधिनुको सट्टा जातीय र राष्ट्रिय अहङ्‌कारको कारण मानवपरिवार विभाजित छ। अधिकांश मानिसहरूले आफ्नो देशमाथि जङ्‌गली जनावरको जुन भागले प्रभुत्व जमाएको हुन्छ, सोही भागको पूजा गर्ने गर्छन्‌। तसर्थ जनावरको हर भागको प्रशंसा र पूजा गरिन्छ।

२०. (क) मानिसहरूले कुन अर्थमा जङ्‌गली जनावरको पूजा गर्छन्‌? (ख) यहोवा परमेश्‍वरको उपासना गर्ने मसीहीहरूले जङ्‌गली जनावरको उपासनामा किन भाग लिंदैनन्‌ र यसमा तिनीहरूले कसको उदाहरण अनुकरण गर्छन्‌?

२० तर यसप्रकारको पूजा कसरी गरिन्छ? परमेश्‍वरको प्रेमलाई भन्दा देश-प्रेमलाई बढी प्राथमिकता दिएर। अधिकांश मानिसहरू आफ्नो जन्मभूमिलाई प्रेम गर्छन्‌। असल नागरिकहरूको हैसियतमा साँचो मसीहीहरूले पनि आफू बसोबास गर्ने देशका शासकहरू र प्रतीकहरूको श्रद्धा गर्छन्‌। त्यहाँका कानुनहरू पालन गर्छन्‌। आफ्नो समाज र छिमेकीहरूको भलाइका लागि ठोस योगदान दिन्छन्‌। (रोमी १३:१-७; १ पत्रुस २:१३-१७) तथापि तिनीहरूले एउटा देशलाई अन्धा भक्‍ति चढाउँदै अरू जम्मै देशहरूको विरोध गर्न सक्‍तैनन्‌। “जे भए पनि हाम्रै देश ठीक” भन्‍ने धारणा मसीही शिक्षा होइन। अतः यहोवा परमेश्‍वरको उपासना गर्ने मसीहीहरूले जङ्‌गली जनावरको कुनै पनि भागलाई राष्ट्रवादी र अहङ्‌कारयुक्‍त उपासना चढाउन मिल्दैन। यसो गरेमा त्यो जनावरको अख्तियारको स्रोत अर्थात्‌ अजिङ्‌गरको उपासना गरे सरह हुनेछ। तिनीहरूले प्रशंसाको भावसाथ “यस जनावरजस्तो अरू को छ र?” भनेर सोध्नु मिल्दैन। बरु तिनीहरूले त यहोवाको ब्रह्‍माण्डीय सार्वभौमिकताको समर्थन गर्दै माइकलको उदाहरण अनुकरण गर्छन्‌ जसको नाउँको अर्थ हो: “परमेश्‍वर जस्तो को छ र?” परमेश्‍वरले तोक्नु भएको समयमा यी माइकल अर्थात्‌ ख्रीष्ट येशूले जसरी शैतानलाई स्वर्गबाट सफलतापूर्वक हटाउनु भयो, त्यसरी नै उहाँ यो जनावरसित पनि युद्ध गर्नु भएर विजयी हुनु हुनेछ।—प्रकाश १२:७-९; १९:११, १९-२१.

पवित्र जनहरूको विरुद्धमा युद्ध गर्न

२१. शैतानले जङ्‌गली जनावरलाई चतुराइका साथ प्रयोग गरेको वर्णन यूहन्‍ना कसरी गर्छन्‌?

२१ त्यो धूर्त शैतानले आफ्नै फायदाका लागि जनावरलाई चलाउने जाल रचेको थियो। यसबारे यूहन्‍ना भन्छन्‌: “औ त्यसलाई [सात शिर भएको जनावरलाई] अहङ्‌कारी कुरा बोल्ने र ईश्‍वर-निन्दा गर्ने मुख दिइयो। औ त्यसलाई बयालीस महीनासम्म काम गर्ने अख्तियार मिल्यो। औ त्यसले परमेश्‍वरको विरुद्धमा निन्दा गर्न, उहाँको नाउँ र उहाँको बासस्थान, र स्वर्गमा बस्नेहरूसमेत सबैको निन्दा गर्नालाई मुख खोल्यो। औ त्यसलाई पवित्र जनहरूसँग लडाइँ गर्न र तिनीहरूलाई जित्नालाई अख्तियार दिइयो, र त्यसलाई सबै कुल, मानिसहरू, भाषाहरू र जातिहरूमाथि अख्तियार दिइयो। औ संसारको उत्पत्तिदेखि मारिएका थुमाको जीवनको पुस्तकमा नाउँ नलेखिएको पृथ्वीमा रहने हरेकले त्यसलाई दण्डवत गर्नेछ।”—प्रकाश १३:५-८.

२२. (क) ती ४२ महीनाहरूले कुन समयावधिलाई सङ्‌केत गर्छन्‌? (ख) ती ४२ महिनाहरूको दौडान अभिषिक्‍त मसीहीहरू कसरी ‘पराजित’ भए?

२२ यहाँ उल्लिखित ४२ महीना र दानियलको भविष्यवाणीको एउटा जनावरमा उम्रेको सिङले पवित्र जनहरूलाई साढे तीन सालसम्म दुःख दिने समयावधि एकै जस्तो देखिन्छ। (दानियल ७:२३-२५; प्रकाश ११:१-४ पनि हेर्नुहोस्‌) अतः १९१४-को अन्त देखि १९१८-सम्म एकातिर युद्धग्रस्त राष्ट्रहरू साँच्चिकै जनावरहरूझैं एकअर्कालाई लुछालुछ गर्न व्यस्त थिए भने अर्कोतिर ती राष्ट्रहरूका नागरिकहरूलाई चाहिं जङ्‌गली जनावरको पूजा गर्न, राष्ट्रियताको धर्ममा भाग लिन र आफ्नो देशका लागि मर्न समेत तयार हुन बाध्य गराइँदै थियो। यसप्रकारको दबाब आइपर्दा यहोवा परमेश्‍वर र उहाँका पुत्र ख्रीष्ट येशूप्रतिको आज्ञाकारितालाई नै प्रथम स्थान दिने थुप्रै अभिषिक्‍त जनहरूले धेरै दुःख भोगे। (प्रेरित ५:२९) तिनीहरूको सङ्‌कष्टको पराकाष्ठा जून १९१८-मा पुग्यो। तिनीहरू ‘पराजित’ भए। संयुक्‍त राज्य अमेरिकामा वाच टावर सोसाइटीका केही प्रमुख अधिकृतहरू र अन्य प्रतिनिधिहरू झूटो अभियोगमा झ्यालखानामा थुनिए। तिनीहरूका मसीही भाइहरूको सुव्यवस्थित प्रचार-कार्यमा पनि ठूलो बाधा आइपऱ्‍यो। “सबै कुल, मानिसहरू र जातिहरूमाथि” अख्तियार भएको हुनाकारण त्यो जनावरले परमेश्‍वरको कार्यलाई विश्‍वभरि ठ्याम्मै बन्द गरी दियो।

२३. (क) “थुमाको जीवनको पुस्तक” के हो र १९१८-देखि यता कुन काम समाप्त हुन लागेको छ? (ख) शैतानको दृश्‍य सङ्‌गठनले “पवित्र जनहरूमाथि” गरेको कुनै विजय किन एउटा फोस्रो विजय मात्र हो?

२३ यसो हुँदा शैतान र त्यसको सङ्‌गठन विजयी भएको जस्तै देखियो। तर यसबाट तिनीहरूले कुनै दीर्घकालीन लाभ चाहिं उठाउन सक्ने थिएनन्‌। किनकि शैतानको दृश्‍य सङ्‌गठनको कुनै पनि सदस्यको नाउँ “थुमाको जीवनको पुस्तकमा” लेखिएको थिएन। येशूसित उहाँको स्वर्गीय राज्यमा शासन गर्नेहरूका नाउँ मात्र यस पुस्तकमा लाक्षणिक तवरमा लेखिएका छन्‌। प्रथम नाउँहरू पेन्तिकोसको दिन सा.यु. ३३-मा लेखिए। अनि त्यसपछि सालहरू बित्दैजाँदा त्यहाँ अझै अरू नाउँहरू थपिए। सन्‌ १९१८-देखि यी १,४४,००० राजकीय उत्तराधिकारहरूका शेष जनहरूलाई छाप लाउने काम क्रमशः पूरा हुँदै गएको छ। चाँडै नै तिनीहरू सबैको नाउँ थुमाको जीवनको पुस्तकमा कहिले नमेटिने गरी लेखिनेछ। तर जङ्‌गली जनावरलाई पूजा गर्ने कुनै पनि विरोधीको नाउँ त्यो पुस्तकमा लेखिने छैन। यसकारण, तिनीहरूले हाल “पवित्र जनहरू”माथि जस्तोसुकै विजय हासिल गरे तापनि त्यो वास्तवमा एउटा अल्पकालीन र फोस्रो विजय मात्र हो।

२४. यूहन्‍नाले समझदार व्यक्‍तिहरूलाई कुन कुरा सुन्‍न आग्रह गर्छन्‌ र ती शब्दहरूले परमेश्‍वरका जनहरूका लागि के अर्थ राख्छ?

२४ अब भने यूहन्‍नाले समझशक्‍ति हुने सबै जनालाई ध्यानपूर्वक सुन्‍ने अनुरोध गर्छन्‌: “यदि कुनै मानिसको कान छ भने, त्यसले सुनोस्‌। कुनै मानिस कैदको निम्ति छ भने, त्यो कैदमै जान्छ, कुनै मानिसले तरवारले मार्छ भने, त्यो अवश्‍य तरवारैले मारिनेछ। पवित्र जनहरूका धीरज र विश्‍वास यसैमा छ।” (प्रकाश १३:९, १०) यी शब्दहरूसित मिल्दोजुल्दो कुरा सा.यु.पू. ६०७-भन्दा अघिका सालहरूमा यर्मियाले पनि लेखेका थिए। अविश्‍वासी यरूशलेम शहरको विरुद्धमा अब यहोवाले आफ्ना न्यायिक फैसलाहरू बदल्नु हुनेछैन भनी देखाउन उनले ती वचन लेखेका थिए। (यर्मिया १५:२; यर्मिया ४३:११ पनि हेर्नुहोस्‌; जकरिया ११:९) कुनै हालतमा पनि सम्झौता गर्नु हुँदैन भनेर येशूले आफ्ना अनुयायीहरूलाई आफ्नो ठूलो सङ्‌कष्टको घडीमा यसो भन्‍नु भएको थियो: “तरवार लिनेहरू सबै जना तरवारैले नष्ट हुनेछन्‌।” (मत्ती २६:५२) यस्तैगरी आज प्रभुको दिनमा पनि परमेश्‍वरका जनहरूले बाइबलका सिद्धान्तहरूलाई पक्रिराख्नु पर्छ। जङ्‌गली जनावरको उपासना गर्ने कोही पनि अन्तमा उम्कने छैन। भविष्यमा सतावट र अन्य परीक्षाहरूको सफलतापूर्वक सामना गर्नका लागि हामी सबैलाई नै धैर्य र अटल विश्‍वासको खाँचो पर्नेछ।—हिब्रू १०:३६-३९; ११:६.

दुई सिङ भएको जनावर

२५. (क) विश्‍व-मञ्चमा देखा पर्ने एउटा अर्को प्रतीकात्मक जनावरको वर्णन यूहन्‍ना कसरी गर्छन्‌? (ख) यो नयाँ जङ्‌गली जनावर पृथ्वीबाट निस्कनुको अर्थ के हो र त्यसका दुइटा सिङहरूले केलाई चित्रित गर्छन्‌?

२५ तर अब एउटा अर्को जनावर पनि विश्‍व-मञ्चमा देखा पर्छ। त्यसबारे यूहन्‍ना यसो भन्छन्‌: “अनि मैले पृथ्वीबाट निस्किरहेको अर्को एउटा जनावर देखें, थुमाको जस्तै दुइ सीङ त्यसका थिए, र अजिङ्‌गरजस्तै त्यो बोल्दथियो। औ त्यसले त्यसको सामने पहिलोचाहिं जन्तुको सारा अख्तियार चलाउँदोरहेछ। औ पृथ्वी र पृथ्वीमा बस्ने सबैले त्यस मरणतुल्य-चोट निको भएको पहिलोचाहिं जनावरलाई दण्डवत गर्ने त्यसले तुल्याउँदोरहेछ। औ स्वर्गबाट मानिसको दृष्टिको सामने पृथ्वीमाथि आगो झार्नेसम्मको पनि ठूला ठूला चिह्नहरू त्यसले गर्दोरहेछ।” (प्रकाश १३:११-१३) यस जङ्‌गली जनावरको दुइटा सिङ छन्‌। यसबाट दुइटा राजनैतिक शक्‍तिको साझेदारी बोध हुन्छ। यो जनावर समुद्रबाट होइन, पृथ्वीबाट निस्कन्छ। अतः यो जनावर शैतानको स्थापित पार्थिव रीतिरिवाजबाट उत्पन्‍न हुन्छ। यो एउटा सक्रिय विश्‍व-शक्‍ति हुनुपर्छ जसको अस्तित्व पहिलेदेखि नै थियो र जसले प्रभुको दिनमा विशेष भूमिका निभाउँछ।

२६. (क) दुई सिङ भएको जनावर के हो र सुरुमा देखा परेको जनावरसित यसको के सम्बन्ध छ? (ख) यस जनावरका दुई सिङहरू कुन अर्थमा थुमाका जस्तै छन्‌ तर त्यो बोल्दा चाहिं कसरी “अजिङ्‌गर जस्तै” बोल्छ? (ग) राष्ट्रियताको भाव राख्ने मानिसहरूले वास्तवमा कसको उपासना गर्छन्‌ र राष्ट्रियतालाई केसित तुलना गरिएको छ? (फुटनोट हेर्नुहोस्‌)

२६ यो कुन चाहिं विश्‍व-शक्‍ति हुन सक्छ? यो त्यही प्रथम जङ्‌गली जनावरको सातौं शिर अर्थात्‌ एङ्‌गलो अमेरिकन विश्‍व-शक्‍ति हुनुपर्छ जसले हाल एउटा विशेष भूमिका निभाउनेछ! यसलाई दर्शनमा एउटा बेग्लै जङ्‌गली जनावरको रूपमा प्रस्तुत गर्दा त्यो एक्लैले विश्‍व-मञ्चमा निभाउने भूमिका अझ छर्लङ्‌ग देख्न सकिन्छ। यो दुई सिङ भएको लाक्षणिक जनावर दुइटा समकालीन, स्वाधीन तर परस्पर सहयोगी राजनैतिक शक्‍तिहरूले बनेको छ। यसको “थुमाको जस्तै” दुई सिङले आत्मसंयम, मिलनसारिता र एउटा प्रबुद्ध सरकारको आभास दिन्छ जसलाई सारा संसारले मान्यता दिनु पर्छ। तर यो जनावर बोल्नचाहिं “अजिङ्‌गरजस्तै” बोल्छ। जहाँ जहाँ यसले भनेको जस्तो शासन स्वीकार गरिंदैन, त्यहाँ त्यहाँ यसले दबाब, धम्की र खुलेआम हिंसासमेत प्रयोग गर्छ। यसले मानिसहरूलाई परमेश्‍वरको थुमाको अधीनस्थ परमेश्‍वरको राज्यको अधीनमा बस्ने प्रोत्साहन दिनुको सट्टा ठूलो अजिङ्‌गर अर्थात्‌ शैतानको गतिविधिलाई बढावा दिएको छ। यसले प्रथम जङ्‌गली जनावरको उपासनालाई अझ बल दिंदै राष्ट्रिय विभाजन र घृणाको आगो सल्काएको छ। c

२७. (क) दुई सिङ्‌ भएको जनावरले स्वर्गबाट आगो बर्साउँदा त्यसको मनोवृत्तिबारे के बुझ्न सकिन्छ? (ख) दुई सिङ भएको जनावरको आधुनिक वास्तविकतालाई धेरैजसो मानिसहरूले के ठान्छन्‌?

२७ दुई सिङ भएको यस जनावरले ठूलठूला चिह्नहरू पनि गर्छ। त्यसले स्वर्गबाट आगोसमेत बर्साउँछ। (मत्ती ७:२१-२३-सित तुलना गर्नुहोस्‌) यो पछिल्लो चिह्नले हामीलाई परमेश्‍वरको एक प्राचीन अगमवक्‍ता, एलियाको सम्झना गराउँछ जसले बाल देवताका अगमवक्‍ताहरूसित एउटा प्रतिद्वन्द्वितामा भाग लिएका थिए। उनले यहोवाको नाउँमा सफलतापूर्वक स्वर्गबाट आगो बर्साउँदा उनी स्पष्टतः साँचो अगमवक्‍ता र बालका अगमवक्‍ताहरू चाहिं झूटो साबित भए। (१ राजा १८:२१-४०) ती बालका अगमवक्‍ताहरूले जस्तै दुई सिङ भएको यो जनावरले पनि आफूलाई एक जना प्रमाणिक साँचो अगमवक्‍ता ठान्छ। (प्रकाश १३:१४, १५; १९:२०) भनौं भने यसले दुइटा विश्‍व-युद्धहरूमा दुष्टताका शक्‍तिहरू र कथित नास्तिक साम्यवादमाथि विजयी भएको यसले दाबी गर्छ! धेरैले दुई सिङ भएको यस जङ्‌गली जनावरको आधुनिक वास्तविकतालाई स्वाधीनताको रक्षक र भौतिक समृद्धिको अथाह सागर ठान्छन्‌।

जङ्‌गली जनावरको मूर्ति

२८. थुमाको जस्तै सिङहरू भए तापनि त्यो जनावर थुमाजतिकै सोझो छैन भनी यूहन्‍ना कसरी देखाउँछन्‌?

२८ दुई सिङ भएको यो जनावर के त्यसका थुमाका सिङहरूबाट बोध भएजतिकै सोझो छ? यूहन्‍ना अगाडि भन्छन्‌: “औ त्यस जनावरको दृष्टिमा त्यसलाई काम गर्न दिएको चिह्नहरूद्वारा पृथ्वीमा बस्नेहरूलाई त्यसले यसो भनेर ठग्दो रहेछ, कि शिरमा तरवारको चोट लागेर पनि बाँचेको जनावरको मूर्ति बनाओ भनेर त्यसले पृथ्वीमा बस्नेहरूलाई भन्दोरहेछ। औ त्यस जनावरको मूर्तिले बोलोस्‌, र त्यो मूर्ति पूजा नगर्नेहरू जत्तिलाई मारिदिओस्‌ भनेर, त्यस जनावरको मूर्तिमा सास दिने अख्तियार त्यसलाई दिइयो।”—प्रकाश १३:१४, १५.

२९. (क) जङ्‌गली जनावरको मूर्तिको उद्देश्‍य के हो र यो मूर्ति कहिले बनाइयो? (ख) यो जङ्‌गली जनावरको मूर्ति किन कुनै निर्जिव प्रतिमा होइन?

२९ यो जङ्‌गली “जनावरको मूर्ति” र त्यसलाई बनाउनुको उद्देश्‍य के हो? यो सात शिर भएको जङ्‌गली जनावरको प्रतिरूप हो र सोही जनावरको उपासनालाई बढावा दिनु अर्थात्‌ त्यसको अस्तित्वलाई स्थायित्व प्रदान गर्नु यसको उद्देश्‍य हो। यो सात शिर भएको जनावर तरवारको चोटबाट निको भएपछि अर्थात्‌ प्रथम विश्‍व-युद्ध पश्‍चात्‌ त्यो मूर्ति बनाइन्छ। यो कुनै निर्जिव मूर्ति होइन जस्तो कि नबुकदनेसरले दुराको मैदानमा बनाएका थिए। (दानियल ३:१) विश्‍व-इतिहासमा एउटा सजीव र सक्रिय भूमिका निभाउन सकोस्‌ भनेर यस मूर्तिमा त्यो दुई सिङ भएको जनावरले जीवनको सास फुकि दिन्छ।

३०, ३१. (क) इतिहासका घटनाहरूले यो मूर्तिलाई कसरी चिनाउँछ? (ख) के यो मूर्तिको पूजा गर्न अस्वीकार गर्ने केही जनहरू मारिएका पनि छन्‌? व्याख्या गर्नुहोस्‌।

३० इतिहास देखाउँछ, यो मूर्ति बेलायत र संयुक्‍त राज्य अमेरिकाद्वारा प्रस्तावित, प्रस्तुत र समर्थित त्यो सङ्‌गठन हो जसलाई सुरुमा राष्ट्र संघ भनिन्थ्यो। पछि प्रकाशको १७-औं अध्यायमा एउटा बेग्लै अस्तित्व भएको रातो रङ्‌गको सजीव र सक्रिय जनावर उक्‍त मूर्तिको प्रतीक बन्दछ। यो अन्तर्राष्ट्रिय सङ्‌गठन ‘बोल्छ’ पनि। त्यसले मात्र मानिसजातिका लागि शान्ति र सुरक्षा ल्याउन सक्छ भन्‍ने दाबी गर्छ। तर वास्तवमा त्यसका सदस्य राष्ट्रहरू आपसमा भनाभन गर्ने त्यो एउटा मञ्च मात्र हुन गएको छ। त्यसको अख्तियारलाई मान्यता दिन नचाहने राष्ट्र वा जातिलाई त्यसले बहिष्कार गर्ने अथवा जिउँदै मारिदिने धम्की दिन्छ। राष्ट्र संघको आदर्शअनुसार नहिंड्‌ने राष्ट्रहरूलाई त्यसले साँच्चै निष्कासित गऱ्‍यो। महासङ्‌कष्ट सुरु हुने बेलामा यो जङ्‌गली जनावरका सैनिकरूपी “सीङहरूले” एउटा विनाशकारी भूमिका निभाउनेछन्‌।—प्रकाश ७:१४; १७:८, १६.

३१ हाल संयुक्‍त राष्ट्र संघको रूप धारण गर्ने जङ्‌गली जनावरको यस मूर्तिले दोस्रो विश्‍व-युद्ध पश्‍चात्‌ शाब्दिक तवरमा पनि हत्या गरिसकेको छ। उदाहरणका लागि, १९५०-मा उत्तर कोरिया र दक्षिण कोरियाबीचको युद्धमा संयुक्‍त राष्ट्र संघको सेनाले भाग लिएको थियो। संयुक्‍त राष्ट्र संघको सेना र दक्षिण कोरियालीहरूले करीब १,४२०,००० उत्तर कोरियालीहरू र चिनिया मानिसहरूलाई मारे। यस्तैप्रकार, १९६० देखि १९६४-सम्म संयुक्‍त राष्ट्र संघका सेनाहरू कोङ्‌गोमा (किन्सासा) सक्रिय थिए। यसबाहेक, पोप पौल छैटौं र जाँन पौल दोस्रो लगायत विश्‍वका अन्य नेताहरूले मानव शान्तिको आखिरी र सर्वोत्तम आशा यो मूर्ति नै हो भनेर ठोकुवा गर्दै आएका छन्‌। मानिसजाति यसको सेवा गर्न असमर्थ भएमा मानवपरिवारले आफूलाई नष्ट नगरी छाड्‌दैन भनी तिनीहरू ठोकेर भन्छन्‌। यसप्रकार त्यो मूर्तिको इच्छानुसार नगर्ने तथा त्यसलाई उपासना गर्न इन्कार गर्ने सबै मानिसहरूलाई तिनीहरूले लाक्षणिक रूपमा मारिदिन्छन्‌।—व्यवस्था ५:८, ९.

जङ्‌गली जनावरको चिह्न

३२. परमेश्‍वरकी स्त्रीको सन्तानका शेष जनहरूलाई कष्ट दिनका लागि शैतानले आफ्नो दृश्‍य सङ्‌गठनका विभिन्‍न राजनैतिक भागहरूलाई चतुराइका साथ प्रयोग गरेको वर्णन यूहन्‍नाले कसरी गर्छन्‌?

३२ शैतानले अब आफ्नो दृश्‍य सङ्‌गठनका विभिन्‍न राजनैतिक अङ्‌गहरूद्वारा परमेश्‍वरकी स्त्रीका शेष जनहरूलाई सकेसम्म कष्ट दिने चाल चलेको यूहन्‍ना देख्छन्‌। (उत्पत्ति ३:१५) उनले फेरि त्यो जङ्‌गली “जनावर”को नै वर्णन गर्दै यसो भन्छन्‌: “औ त्यसले साना र ठूला, धनी र गरीब, स्वतन्त्र र बँधुवा, सबैलाई तिनका दाहिने हात, अथवा निधारमा छाप लगाउनलायो, कि त्यस पशुको नाउँ अथवा त्यसको नाउँको संख्याको छाप नभईकन कुनै मानिसले किन्‍न अथवा बेच्न नपाओस्‌। यसैमा ज्ञान छ। जसको समझ छ, त्यसले त्यो जनावरको संख्या गनोस्‌, किनकि यो एउटा मानिसको संख्या हो, र त्यसको संख्या छ सय छयसठ्ठी हो।”—प्रकाश १३:१६-१८.

३३. (क) जङ्‌गली जनावरको नाउँ के हो? (ख) सङख्या ६ के-सित सम्बन्धित छ? व्याख्या गर्नुहोस्‌.

३३ यो पशुको नाउँ छ र त्यो नाउँ एउटा सङख्या हो: ६६६। सङख्य ६ यहोवाका शत्रुहरूसित सम्बन्धित छ। रपाईहरूको एक जना पलिश्‍ती मानिस “राक्षस” जस्तै थियो। उसको “दुवै हात र खुट्टामा छ छ औंला” थिए। (१ इतिहास २०:६) राजा नबुकद्‌नेसरले पनि आफ्ना राजनैतिक कार्यकर्त्ताहरूलाई एकै उपासनामा एकताबद्ध गराउन सुनको मूर्ति बनाए “जसको उँचाइ साठी हात र चौडाइ छ हात” थियो। तर परमेश्‍वरका सेवकहरूले त्यसको उपासना गर्न इन्कार गर्दा राजाले तिनीहरूलाई आगोको भट्टीमा फालिदिने हुकुम गरे। (दानियल ३:१-२३) यो सङख्या ६ ईश्‍वरीय सिद्धतालाई बोध गराउने सातको सङख्याभन्दा कम छ। यसकारण, तीन गुणा छ सङख्याबाट असिद्धताको पराकाष्ठा बोध हुन्छ।

३४. (क) जङ्‌गली जनावरको सङख्या “मानिसको सङख्या” हो भन्‍नुको तात्पर्य के हो? (ख) शैतानको विश्‍व राजनैतिक व्यवस्थाका लागि ६६६ किन एउटा उपयुक्‍त नाउँ हो?

३४ नाउँले व्यक्‍तिलाई चिनाउँछ। अतः यो सङख्याले त्यो पशुलाई कसरी चिनाउँछ? यूहन्‍ना भन्छन्‌, त्यो कुनै आत्मिक व्यक्‍तिको सङख्या नभएर “एउटा मानिसको संख्या हो”। तसर्थ यस नाउँबाट बुझ्न सकिन्छ कि त्यो जङ्‌गली पशु पार्थिव हो। मानवीय सरकारको त्यो एउटा प्रतीक हो। जसरी सातको तुलनामा छ-सङख्या कम हो, त्यसरी नै विश्‍वको विशाल राजनैतिक सङ्‌गठन पनि ईश्‍वरीय सिद्धताको स्तरको तुलनामा धेरै नै कमसल साबित भएको छ। ६६६ अर्थात्‌ तीन गुणा ६ विशाल राजनैतिक सङ्‌गठनका लागि अति नै सुहाउँदो प्रतीक हो। यो सङख्यारूपी नाउँ ६६६-लिएर विश्‍वको राजनैतिक जङ्‌गली जनावरले सर्वशक्‍तिसाथ शासन गर्छ। यसलाई ठूलठूला राजनैतिक, धार्मिक तथा व्यापारिक तत्त्वहरूले मानिसजातिलाई थिचोमिचो गर्ने र परमेश्‍वरका जनहरूलाई सताउने बल दिइ नै रहन्छन्‌।

३५. निधारमा अथवा दाहिने हातमा जङ्‌गली पशुको नाउँ लेखिनुको अर्थ के हो?

३५ जङ्‌गली जनावरको नाउँ आफ्नो निधार अथवा दाहिने हातमा लेखिनुको तात्पर्य के हो? यहोवाले इस्राएललाई व्यवस्था दिनु हुँदा यसो भन्‍नु भएको थियो: “यसकारण तिमीहरूले मेरा यी वचन आफ्ना मन र हृदयमा राख। औ ती आफ्ना हातमा एक चिह्न स्वरूप बाँध्नू र निधारमा त्यो एक व्यवस्था-बूटी बन्‍नेछ।” (व्यवस्था ११:१८) यसको अर्थ त्यो व्यवस्थालाई इस्राएलीहरूले सधैं आफ्नो सामु राख्नु पर्थ्यो। त्यसबाट तिनीहरूका जम्मै कामकाज र विचारहरू प्रभावित हुनु पर्थ्यो। १,४४,०००-जनहरूको निधारमा पनि पिता र येशूको नाउँ लेखिएको हुन्छ भनिन्छ। यसबाट तिनीहरू यहोवा परमेश्‍वर र येशू ख्रीष्टका हुन्‌ भन्‍ने कुरा बोध हुन्छ। (प्रकाश १४:१) यसैको नकल गर्दै शैतानले पनि जङ्‌गली जनावरको प्रेतवादी चिह्न प्रयोग गर्छ। किनबेचजस्तो दैनिक काम गर्दा पनि मानिसहरूलाई त्यो जनावरकै तवर तरिकाबमोजिम काम गर्न बाध्य गराइन्छ। उदाहरणका लागि, चाडबाड मान्‍ने सम्बन्धमा। त्यो जनावरको चिह्न थाप्नका लागि तिनीहरूले त्यसको उपासना गर्नु र त्यसैको शासन अन्तर्गत बस्नु पर्छ।

३६. जङ्‌गली पशुको चिह्न स्वीकार्न नचाहनेहरूले के कस्ता समस्याहरूको सामना गर्नु परेको छ?

३६ त्यो जङ्‌गली जनावरको चिह्न थाप्न नचाहनेहरूले निरन्तर समस्याहरूको सामना गर्नु परेका हुन्छन्‌। उदाहरणका लागि, १९३०-को दशकदेखि यता तिनीहरूले थुप्रै मुद्दाहरू लडन, हिंसात्मक हुलहरूको आक्रमणको सामना गर्न र अन्य अरू सतावटहरूको मुकाबिला गर्न परेको थियो। निरंकुश देशहरूमा तिनीहरू यातना शिविरहरूमा हालिए जहाँ तिनीहरूमध्ये धेरै मरे पनि। दोस्रो विश्‍व-युद्धपश्‍चात्‌ आफ्नो मसीही तटस्थता त्याग्न अस्वीकार गर्ने अनगन्ती मसीही युवकहरूले लामो अवधि झ्यालखानहरूमा बिताए र कतिलाई चाहिं शास्ति ख्वाएर मारे। केही देशहरूमा त मसीहीहरूले किन्‍न वा बेच्न समेत पाउँदैनन्‌; तिनीहरूले आफ्नो नाउँमा कुनै पनि सम्पत्ति राख्न पाउँदैनन्‌। कतिको बलात्कार र हत्या भएको छ। आफ्ना घरहरूबाट खेदिएका छन्‌। किन? किनभने तिनीहरू आफ्नो अन्तस्करण सफा राख्न राजनैतिक पार्टी कार्ड किन्‍न अस्वीकार गर्छन्‌। dयूहन्‍ना १७:१६.

३७, ३८. (क) जङ्‌गली जनावरको चिह्न थाप्न नचाहनेहरूका लागि यो संसारमा बस्नु किन सजिलो छैन? (ख) कसकसले आफ्नो निष्ठा कायम राखेका छन्‌ र तिनीहरूले के गर्ने अठोट गरेका छन्‌?

३७ पृथ्वीका कुनै कुनै क्षेत्रहरूमा सामाजिक जीवन र धर्म यति अविभाज्य छ कि बाइबलको सच्चाइका लागि अडान लिने मानिस परिवार र पुराना मित्रहरूबाट बहिष्कृत हुन्छन्‌। यस्तो हुँदा धैर्य धारण गर्न ठूलो विश्‍वासको खाँचो पर्छ। (मत्ती १०:३६-३८; १७:२२) तर भौतिक सम्पत्तिको पूजा गर्ने यो बेइमानीले भरिएको संसारमा पनि धार्मिक जीवन-पद्धति अपनाउने व्यक्‍तिलाई यहोवाले सँभाल्नु हुन्छ। तसर्थ, एक जना साँचो मसीहीले सधैं नै यहोवामाथि सम्पूर्णतः भरोसा राख्नु पर्छ। (भजन ११:७; हिब्रू १३:१८) साथै, अनैतिकताले ओतप्रोत यस संसारमा आफ्नो शुद्धता कायम राख्न दृढ संकल्पको खाँचो पर्छ। बिरामी पर्ने मसीहीहरूमाथि अक्सर डाक्टर र नर्सहरूले रगतको पवित्रतासम्बन्धी परमेश्‍वरको नियम उल्लङ्‌घन गर्ने दबाब दिन्छन्‌; यी मसीहीहरूले आफ्नो विश्‍वासको ठीक विपरीत जाने अदालती फैसलाहरूसित पनि संघर्ष गर्नुपर्छ। (प्रेरित १५:२८, २९; १ पत्रुस ४:३, ४) साथै बढ्‌दो बेरोजगारीका दिनहरूमा परमेश्‍वरको सामु आफ्नो निष्ठा भङ्‌ग नगर्ने किसिमको जागिर पाउन साँचो मसीहीहरूका लागि झन्‌झन्‌ गाह्रो हुँदै गइरहेको छ।—मीका ४:३, ५.

३८ हो, त्यो जङ्‌गली जनावरको चिह्न नहुनेहरूलाई यो संसारमा बाँच्नु सजिलो छैन। परमेश्‍वरका नियमहरू उल्लङ्‌घन गराउन खोज्ने यतिका थुप्रै दबाबहरूको बावजूद स्त्रीको सन्तानका शेष जनहरू र ठूलो भीडका ६० लाखभन्दा धेरै सदस्यहरूले आफ्नो निष्ठा कायम राख्न सक्नु यहोवाको शक्‍ति र आशिषको एउटा अद्‌भुत प्रदर्शन हो। (प्रकाश ७:९) त्यो जनावरको चिह्न थाप्न अस्वीकार गर्दै हामी एकताबद्ध भएर यहोवाको र उहाँका धार्मिक मार्गहरूलाई पृथ्वीभरि उच्चा पार्न नछाडौं।—भजन ३४:१-३.

[फुटनोटहरू]

a विस्तृत विवरणका लागि कृपया यहोवाका साक्षीहरूद्वारा प्रकाशित दानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्‌! पुस्तकको १६५-१७९ पृष्ठहरू हेर्नुहोस्‌।

b आर. सी. एच. लेन्स्कीद्वारा लिखित दी इन्टरप्रिटेशन अफ सेन्ट जोन्स रेवेलेशन, पृष्ठ ३९०-१.

c राष्ट्रियता एकप्रकारको धर्म हो भनेर अन्य टिकाकारहरूले स्वीकारेका छन्‌। अतः राष्ट्रियताको भाव राख्ने मानिसहरूले वास्तवमा जङ्‌गली जनावरको त्यस भागको पूजा गर्छन्‌ जसको प्रतिनिधित्व तिनीहरू बसोबास गर्ने देशमा गरिन्छ। संयुक्‍त राज्य अमेरिकामा राष्ट्रियताको भावबारे यसप्रकार लेखिएको छ: “राष्ट्रियताको भावलाई धर्मको रूपमा हेर्दा हामी यसको र अतितका अन्य ठूलठूला धर्महरूबीच धेरै नै समानता पाउँछौं। . . . आधुनिक राष्ट्रवादी धर्मावलम्बीले आफ्नै राष्ट्रिय देवतामाथि भर पर्ने आवश्‍यकता महसुस गर्छ। आफ्नै राष्ट्रिय देवताको शक्‍तिशाली मदतको उसले आवश्‍यकता देख्छ। त्यसैलाई उसले आफ्नो पूर्णता र आनन्दको मूल ठान्छ। उसले सम्पूर्णतः धार्मिक रीतिले आफूलाई त्यसैको अधीन तुल्याउँछ। . . . उसको नजरमा राष्ट्र अनन्तकालीन हो र देशका सपूतहरूको मृत्युद्वारा राष्ट्रको अनन्त ख्याति तथा महिमा बढ्‌दछ।”—जे. पल. विल्यम्सले ह्वट अमेरिकन्स बिलिभ एन्ड हाउ दे वर्शिप भन्‍ने पुस्तकको पृष्ठ ३५९-मा कार्लटन जे. एफ. हेसलाई उद्धृत गरेको।

d उदाहरणका लागि द वाचटावर-का निम्न अङ्‌कहरू हेर्नुहोस्‌: सेप्टेम्बर १, १९७१, पृष्ठ ५२०; जून १५, १९७४, पृष्ठ ३७३; जून १, १९७५, पृष्ठ ३४१; फेब्रुअरी १, १९७९, पृष्ठ २३; जून १, १९७९, पृष्ठ २०; मे १५, १९८०, पृष्ठ १०.

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १९५-मा भएको चित्र]

जनावरको मूर्तिमा सास हाल्ने अख्तियार त्यसलाई दिइयो