सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

दुई साक्षीहरूको पुनःजागरण

दुई साक्षीहरूको पुनःजागरण

अध्याय २५

दुई साक्षीहरूको पुनःजागरण

१. ती बलवान स्वर्गदूतले यूहन्‍नालाई के गर्न अह्राउँछन्‌?

 दोस्रो अभिशाप पूरा नहुँदै ती बलवान स्वर्गदूतले यूहन्‍नालाई अझ अर्को भविष्यसूचक प्रस्तुतिमा भाग लिने आह्वान दिन्छन्‌। यो प्रस्तुति मन्दिरसित सम्बन्धित छ। (प्रकाश ९:१२; १०:१) यूहन्‍नाको बयान यसप्रकार छ: “अनि नाप्ने डण्डाजस्तो एउटा निगालो मलाई दिइयो, र एउटाले भन्यो, ‘उठ, र परमेश्‍वरको मन्दिर, वेदी र त्यसमा पूज्नेहरूलाई नाप।’ ”—प्रकाश ११:१.

मन्दिर

२. (क) हाम्रो दिनसम्मै कुन चाहिं मन्दिर रहनेछ? (ख) मन्दिरको प्रधान पूजारी को हुनुहुन्छ र त्यसको अति-पवित्र स्थान चाहिं के हो?

यहाँ उल्लिखित मन्दिर यरूशलेमको शाब्दिक मन्दिर हुन सक्‍तैन। किनभने यरूशलेमको आखिरी मन्दिरलाई त रोमीहरूले सा.यु. ७०-मा नष्ट पारेका थिए। तथापि, त्यो मन्दिर नष्ट हुनुभन्दा अघि नै प्रेरित पावलले आज हाम्रो दिनसम्मै कायम रहने एउटा अर्को मन्दिर अस्तित्वमा आएको चर्चा गरे। यो थियो त्यो महान आत्मिक मन्दिर, जसले उजाडस्थानका बासस्थान र यरूशलेममा निर्मित मन्दिरहरूका भविष्यसूचक विशिष्टताहरूलाई पूरा गर्थ्यो। त्यो कुनै “मानिसले खडा गरेको होइन तर प्रभुले खडा गर्नु भएको पवित्र स्थान” हो। त्यसको प्रधानपूजारी येशू हुनुहुन्छ जो प्रेरित पावलको बयानअनुसार “स्वर्गहरूमा महिमाको सिंहासनको दाहिने हाततिर . . . बस्नु” भएको छ। साथै, यस आत्मिक मन्दिरको अति पवित्र स्थान चाहिं स्वर्गमा यहोवाको उपस्थिति नै हो।—हिब्रू ८:१, २; ९:११, २४.

३. बासस्थानमा (क) पवित्र र अतिपवित्र स्थानलाई छुट्टयाउने पर्दा (ख) जनावरहरूको बलिदान र (ग) बलिदान चढाउने वेदी, सबैले कुनकुन कुरालाई चित्रित गरेका थिए?

बासस्थानको पवित्र स्थान र अति पवित्र स्थान बीच रहेको पर्दाले येशूको शरीरलाई चित्रित गर्छ भनेर प्रेरित पावलले व्याख्या गर्छन्‌। आफ्नो जीवन बलिदान चढाउनु हुँदा त्यो पर्दा दुई फ्याक भएर च्यातियो। यसबाट अब येशूलाई स्वर्गमा यहोवाको उपस्थितिको सामु जानदेखि उहाँको हाडमासुको शरीरले रोक्ने छैन भन्‍ने कुरा बोध भयो। साथै, मरणान्त विश्‍वासी रहने उहाँका अभिषिक्‍त उप-पूजारीहरूले पनि केही समयपछि येशूको बलिदानकै आधारमा स्वर्गमा प्रवेश पाउने भए। (मत्ती २७:५०, ५१; हिब्रू ९:३; १०:१९, २०) साथै, प्रेरित पावलको व्याख्याअनुसार मन्दिरमा चढाइने जनावरहरूको बलिदानले येशूको सिद्ध मानवीय जीवनको एक मात्र बलिदानलाई चित्रित गर्थ्यो। बलिदान चढाउने चोकको वेदी चाहिं यहोवाको इच्छा र प्रबन्धको एउटा प्रतीक थियो। यसैको आधारमा यहोवाले मुक्‍तिका लागि ‘येशूको प्रतीक्षा गर्ने’ ‘धेरै जनाको’ तर्फबाट अर्थात्‌ पहिले अभिषिक्‍त जनहरू र पछि अरू भेडाहरूको तर्फबाट येशूको बलिदान स्वीकार्नु हुने थियो।—हिब्रू ९:२८; १०:९, १०; यूहन्‍ना १०:१६.

४. (क) पवित्र स्थान र (ख) भित्रपट्टिको चोक कुन कुराको प्रतीक थिए?

अतः यस ईश्‍वर प्रेरित जानकारीअनुसार, बासस्थानको पवित्र स्थानले एउटा पवित्र अवस्थालाई चित्रित गर्छ भन्‍ने निष्कर्षमा हामी पुग्दछौं। त्यस पवित्र अवस्थाको आनन्द पहिले ख्रीष्ट र त्यसपछि राजकीय पूजारीहरूका १,४४,००० अभिषिक्‍त सदस्यहरूले पृथ्वीमा छँदै अर्थात्‌ “पर्दा” भित्र पस्नअघि नै उठाउँछन्‌। (हिब्रू ६:१९, २०; १ पत्रुस २:९) त्यो अवस्थाले तिनीहरू परमेश्‍वरका आत्मिक धर्मपुत्रहरूको रूपमा स्वीकृत भएको कुरा जनाउँछ। जस्तोगरी यर्दन नदीमा येशूले सा.यु. २९-को साल बप्तिस्मा लिनु भएपछि यहोवाले उहाँलाई आफ्नो पुत्र स्वीकार्नु भएको थियो। (लूका ३:२२; रोमी ८:१५) तर भित्री चोकबारे के भन्‍न सकिन्छ? बासस्थानको यो एकमात्र भाग थियो जसलाई गैरपूजारी इस्राएलीहरूले देख्न सक्थे र जहाँ बलिदानहरू पनि चढाइन्थ्यो। अब यस ठाउँले चाहिं येशूको मानव सिद्धतालाई बोध गराउँछ जसले गर्दा मानिसजातिका लागि आफ्नो जीवन बलिदान चढाउन उहाँ योग्यको हुनु भयो। यसै बलिदानको आधारमा अभिषिक्‍त जनहरू पृथ्वीमा छँदै धर्मी ठहरिन्छन्‌ र तिनीहरूको यो धार्मिक स्थितिलाई मन्दिरको भित्री चोकले चित्रित गर्थ्यो। aरोमी १:७; ५:१.

मन्दिरको नाप लिनु

५. हिब्रू शास्त्रका भविष्यवाणीहरूमा (क) यरूशलेमको नाप लिनु र (ख) इजकिएलले दर्शनमा मन्दिरको नाप लिनुको अर्थ के थियो?

यूहन्‍नालाई “परमेश्‍वरको मन्दिर, वेदी र त्यसमा पूज्नेहरूलाई” नाप्न अह्राइन्छ। यसको तात्पर्य के हो? हिब्रू शास्त्रमा उल्लिखित भविष्यवाणीहरूअनुसार यसरी नाप्नुको अर्थ यहोवाका सिद्ध स्तरहरूको आधारमा न्याय प्रदान गरिने ग्यारेन्टी हुन्थ्यो। दुष्ट राजा मनश्‍शेको पालोमा यरूशलेमलाई भविष्यसूचक ढङ्‌गमा नाप्नुको अर्थ त्यो शहर नाश हुनेछ भन्‍ने अकाट्य न्यायिक फैसलाको प्रमाण थियो। (२ राजा २१:१३; विलाप २:८) तर यर्मियाले पछि फेरि यरूशलेमलाई नापेको देख्दा चाहिं त्यो शहरको पुनर्निमाण हुन्छ भन्‍ने कुरा पक्का भयो। (यर्मिया ३१:३९; जकरिया २:२-८-पनि हेर्नुहोस्‌।) त्यस्तैगरी आफ्नो दर्शनमा देखा परेको मन्दिरलाई पनि विस्तृत ढङ्‌गमा नापेको इजकिएलले देखे। यसले चाहिं बेबिलोनमा रहेका यहूदी कैदीहरूलाई तिनीहरूको आफ्नो देशमा साँचो उपासना पुनःस्थापित हुनेछ भन्‍ने निश्‍चित आशा प्रदान गऱ्‍यो। साथै यसले ती इस्राएलीहरूलाई आफ्ना गलतीहरू ध्यानमा राख्दै परमेश्‍वरका पवित्रस्तरहरू अब उप्रान्त अपनाउने आवश्‍यकता पनि महसुस गरायो।—इजकिएल ४०:३, ४; ४३:१०.

६. यूहन्‍नाले मन्दिर र त्यसमा पूजनेहरूलाई नाप्नु कुन कुराको चिन्ह थियो? व्याख्या गर्नुहोस्‌.

अतः यूहन्‍नाले मन्दिर र त्यसमा पूज्नेहरूलाई नाप्ने आदेश पाउनु एउटा चिह्न थियो। त्यो चिह्न एउटा सङ्‌केत थियो कि मन्दिर र त्योसित सम्बन्धित व्यक्‍तिहरूबारे यहोवाका उद्देश्‍यहरूको पूर्तिलाई कुनै कुराले पनि रोक्न सक्‍तैन र ती उद्देश्‍यहरू पूरा हुने बेला पनि अब नजिक आइ सकेको छ। साथै, सबै कुरा यहोवाको बलवान स्वर्गदूतको पाउमनि राखिसकिएको हुनाकारण अब “परमप्रभुको भवन बसालिएको पर्वत” “सबै पर्वतहरूभन्दा उच्च” पारिने समय आएको छ। (यशैया २:२-४) हो, मसीहीजगतको शताब्दियौं लामो धर्मत्यागपछि अब यहोवाको शुद्ध उपासना उच्च पारिनु पर्छ। येशूका मृत विश्‍वासी भाइहरूलाई पनि पुनःजीवित पारेर “सर्वपवित्र स्थानमा” प्रवेश गराउने बेला आएको छ। (दानिएल ९:२४; १ थिस्सलोनिकी ४:१४-१६; प्रकाश ६:११; १४:४) साथै, पृथ्वीमा बाँकी रहेका “परमेश्‍वरका दासहरू”लाई पनि ईश्‍वरीय स्तरअनुसार जाँच्नु परेको छ। तिनीहरू त्यो मन्दिररूपी प्रबन्धमा सदासर्वदा परमेश्‍वरका आत्माद्वारा अभिषिक्‍त पुत्रहरू हुने योग्यको हुन परेका छन्‌। परमेश्‍वरका ती पवित्र स्तरहरूबारे आज यूहन्‍नावर्गलाई पूरा ज्ञान छ र ती स्तरबमोजिम जीवन बिताउने अठोट तिनीहरूले गरेका छन्‌।—प्रकाश ७:१-३; मत्ती १३:४१, ४२; एफिसी १:१३, १४; रोमी ११:२०-सित तुलना गर्नुहोस्‌।

चोकलाई कुल्चने

७. (क) यूहन्‍नालाई मन्दिरबाहिरको चोक किन ननाप्नु भनिन्छ? (ख) पवित्र शहरलाई ४२ महिनासम्म खुट्टामनि कहिले कुल्चियो? (ग) यहोवाका धार्मिक स्तरहरूलाई ४२ महिनासम्म कायम राख्न मसीहीजगतका पादरीहरू कसरी असफल भए?

यूहन्‍नालाई चोक नाप्न किन निषेध गरियो? यसको जवाफ उनले हामीलाई यी शब्दहरूमा दिन्छन्‌: “तर मन्दिरबाहिर रहेको चोकलाई छोड, र ननाप, किनकि त्योचाहिं जाति जातिहरूलाई दिइएको छ, र पवित्र शहरलाई बयालीस महीनासम्म तिनीहरूले खुट्टाले कुल्चनेछन्‌।” (प्रकाश ११:२) हामीले अझसम्म बुझेअनुसार भित्र पट्टिको चोकले आत्माद्वारा अभिषिक्‍त मसीहीहरूको धार्मिक पार्थिव स्थितिलाई चित्रित गर्दछ। अतः यहाँ ती शाब्दिक ४२ महिनाहरूलाई अर्थात्‌ १९१४-को डिसेम्बरदेखि १९१८ को जूनसम्मको समयावधिलाई सङ्‌केत गरिएको छ। त्यस समयअवधि भित्र मसीही हुने दाबी गर्ने सबैले नै कठोर परीक्षाको सामना गर्नु परेको थियो। के तिनीहरूले ती युद्धग्रस्त सालहरूमा पनि यहोवाका धार्मिक स्तरहरूलाई कायम राखेका थिए? धेरैले राखेनन्‌। सामूहिक तवरमा मसीहीजगतका पादरीहरूले ईश्‍वरीय आदेशलाई पालन गर्नुभन्दा राष्ट्रियतालाई प्राथमिकता दिए। अधिकांश मसीहीजगतकै राष्ट्रहरूबीच लडिएको त्यो युद्धमा दुवै पक्षका पादरीहरूले युवकहरूलाई सेनामा भर्ना हुने धर्मोपदेश दिए। लाखौं मारिए। सन्‌ १९१८-मा परमेश्‍वरको घरानादेखि इन्साफ सुरु होउञ्जेलसम्म त संयुक्‍त राज्य अमेरिका पनि त्यो रक्‍तपातमा समावेश भइसकेको थियो। जम्मै मसीहीजगतका पादरीहरूले आफूमाथि रगतको यति ठूलो दोष थोपरे कि त्यो आज पनि ईश्‍वरीय इन्साफका लागि पुकारीरहेको छ। (१ पत्रुस ४:१७) मसीहीजगत सदाका लागि त्यागिएको छ।—यशैया ५९:१-३, ७, ८; यर्मिया १९:३, ४.

८. प्रथम विश्‍वयुद्धको दौडान धेरैजसो बाइबल स्टुडेन्ट्‌सहरूलाई कुन कुराको जानकारी थियो तर तिनीहरूले कुन चाहिं सिद्धान्तलाई राम्ररी बुझ्न सकेका थिएनन्‌?

तर बाइबल स्टुडेन्ट्‌सहरूको सानो समूहबारे चाहिं के भन्‍न सकिन्छ? ईश्‍वरीय स्तरहरूप्रति आफ्नो लगनशीलताको आधारमा के तिनीहरूको इन्साफ १९१४-मै हुने थियो कि? थिएन। मसीही भनौंदाहरू जस्तै तिनीहरू पनि जाँचिन बाँकी नै थियो। यसकारण घोर विरोध र सतावटको सामना गर्न तिनीहरू ‘जातिहरूको हातमा सुम्पिए।’ आफ्नो सङ्‌गी मानवलाई मार्नु हुँदैन भनी तिनीहरूमध्ये धेरैलाई थाह भए तापनि मसीही तटस्थाको विषयलाई तिनीहरूले राम्ररी बुझेका थिएनन्‌। (मीका ४:३; यूहन्‍ना १७:१४, १६; १ यूहन्‍ना ३:१५) राष्ट्रहरूबाट दबाब आइपर्दा तिनीहरूमध्ये कोही कोही आफ्नो अडानमा दृढ रहन सकेनन्‌।

९. त्यो पवित्र शहर के हो जसलाई अन्यजातिहरूले खुट्टामनि कुल्चेका थिए र त्यस शहरलाई पृथ्वीमा कसले प्रतिनिधित्व गर्छन्‌?

तर पवित्र शहर ती राष्ट्रहरूको खुट्टामनि कसरी कुल्चियो? स्पष्टतः यो पवित्र शहर त्यो यरूशलेम होइन जो प्रकाशको पुस्तक लेखिनुभन्दा लगभग २५ वर्षअघि नै नष्ट भइसकेको थियो। बरु, यो पवित्र शहर नयाँ यरूशलेम हो जसको वर्णन केही समयपछि प्रकाशको पुस्तकमा गरिएको छ। यो नयाँ यरूशलेमलाई आज मन्दिरको भित्री चोकमा हुने शेष अभिषिक्‍त मसीहीहरूले प्रतिनिधित्व गर्छन्‌। अतः तिनीहरूलाई कुल्चनु, स्वयं शहरलाई नै कुल्चनु जस्तै हो।—प्रकाश २१:२, ९-२१.

ती दुई साक्षीहरू

१०. आफूलाई अरूले कुल्चिंदा यहोवाका विश्‍वासी साक्षीहरूले के गर्नुपर्छ?

१० तर अरूले तिनीहरूलाई कुल्चिंदैमा ती भक्‍त जनहरू यहोवाका विश्‍वासी साक्षीहरू होइनन्‌ भन्‍न मिल्दैन। यसैकारण भविष्यवाणी अगाडि यसो भन्छ: “ ‘औ मेरा दुइ साक्षीहरूलाई एक हजार दुइ सय साट्ठी दिनसम्म भाघ्रको लुगा लाएर अगमवाणी बोल्ने शक्‍ति दिनेछु। पृथ्वीका प्रभुको सामने खडा रहेका भद्राक्षका दुइटा रूखहरू र दुइ सामदानहरू यिनै हुन्‌।”—प्रकाश ११:३, ४.

११. विश्‍वासी अभिषिक्‍त मसीहीहरूले “भाघ्र” लाएर भविष्यवाणी गर्नुको तात्पर्य के थियो?

११ यी विश्‍वासी अभिषिक्‍त मसीहीहरूलाई धैर्य चाहिएको थियो। तिनीहरूले ‘भाघ्र’ लाएर भविष्यवाणी बोल्नु परेको थियो। यसको अर्थ के थियो? बाइबलको समयमा भाघ्र अक्सर शोकको प्रतीक हुन्थ्यो। भाघ्र लाउने मानिसले आफ्नो पीडित अथवा शोकाकुल स्थिति जनाउथ्यो। (उत्पत्ति ३७:३४; अय्यूब १६:१५, १६; इजकिएल २७:३१) परमेश्‍वरका अगमवक्‍ताहरूले घोषणा गर्नुपर्ने दुःखद अथवा विनाशक सन्देशहरूसित पनि भाघ्र लगाउनु सम्बन्धित थियो। (यशैया ३:८, २४-२६; यर्मिया ४८:३७; ४९:३) ईश्‍वरीय चेताउनी सुनेपछि आफ्नो नम्र तथा पश्‍चात्तापी मनोवृत्तिलाई पनि भाघ्र लाएर प्रदर्शित गर्न सकिन्थ्यो। (योना ३:५) यी दुई साक्षीहरूले पहिरेको भाघ्र चाहिं नम्रता र धैर्यपूर्वक यहोवाका न्यायिक फैसलाहरूको उद्‌घोषणाको एउटा प्रतीक जस्तो देखिन्छ। जाति जातिहरूलाई पनि शोकित तुल्याउने ईश्‍वरीय बदलाको दिन प्रचार गर्ने तिनीहरू परमेश्‍वरका साक्षीहरू थिए।—व्यवस्था ३२:४१-४३.

१२. पवित्र शहरलाई खुट्टामनि कुल्चिने समयावधि किन शाब्दिक हुनपर्छ जस्तो देखिन्छ?

१२ यूहन्‍नावर्गले यो सन्देश एउटा निश्‍चित समयसम्म अर्थात्‌ १,२६० दिन अथवा ४२ महिनासम्म प्रचार गर्नु परेको थियो। यति नै समयसम्म पवित्र शहरलाई पनि खुट्टामनि कुल्चिने थियो। यो समयावधि शाब्दिक जस्तो देखिन्छ किनभने यसलाई दुई बेग्लाबेग्लै ढङ्‌गमा अर्थात्‌ पहिले महिना र पछि दिनको हिसाबले व्यक्‍त गरिएको छ। साथै, प्रभुको दिनको सुरुमै परमेश्‍वरका जनहरूले साढे तीन वर्षसम्म भोगेका कठिन अनुभवहरू र यहाँ प्रकाशमा वर्णन गरिएका घटनाहरू ठ्याक्क मिल्छन्‌। विशेषगरी १९१४-को डिसेम्बरदेखि जून १९१८-सम्म। (प्रकाश १:१०) मसीहीजगत र बाँकी संसारको विरुद्धमा तिनीहरूले मानो “भाघ्र” लाएर यहोवाको न्यायवचन प्रचार गरे।

१३. (क) दुई साक्षीहरू अभिषिक्‍त मसीहीहरूका प्रतीक थिए भन्‍ने कुरा कसरी बोध हुन्छ? (ख) यूहन्‍नाले ती दुई साक्षीहरूलाई “भद्राक्षका दुइटा रूखहरू र दुई सामदानहरू” भनेर सम्बोधन गर्दा जकरियाको कुन चाहिं अगमवाणी स्मरण हुन्छ?

१३ तिनीहरूलाई दुई साक्षीहरूले चित्रित गरेको हुनाकारण तिनीहरूको सन्देश सही र सत्य थियो। (व्यवस्था १७:६-सित तुलना गर्नुहोस्‌; यूहन्‍ना ८:१७, १८) यूहन्‍नाले तिनीहरूलाई “पृथ्वीका प्रभुको सामने खडा रहेका भद्राक्षका दुइटा रूखहरू र दुइ सामदानहरू” भनेर सम्बोधन गर्छन्‌। यो सम्बोधन र जकरियाले बोलेको भविष्यवाणी स्पष्टतः सम्बन्धित छ किनभने जकरियाले पनि सातवटा दियो बाल्ने पानस र दुइटा भद्राक्षका रूखहरू देखेका थिए। ती भद्राक्षका रूखहरूले “सारा पृथ्वीका परमप्रभुका सामने खडा” हुने “दुई अभिषेक” जनहरू अर्थात्‌ राज्यपाल यरूबाबेल र प्रधानपूजारी यहोशूलाई चित्रित गर्छन्‌ भनिन्छ।—जकरिया ४:१-३, १४.

१४. (क) जकरियाले दर्शनमा देखेका दुइटा भद्राक्षका रूखहरू र सामदानले कुन कुरालाई सङ्‌केत गरेको थियो? (ख) अभिषिक्‍त मसीहीहरूले प्रथम विश्‍वयुद्धको दौडान के अनुभव गर्ने थिए?

१४ जकरिया पुनःनिर्माणको समयमा बाँचेका थिए। उनले देखेका ती दुइटा भद्राक्षका रूखहरूको दर्शनअनुसार मानिसहरूलाई कामका लागि बलियो तुल्याउन यरूबाबेल र यहोशूले पवित्र आत्मा पाउने थिए। ‘नगण्य हिसाबले सुरु भएको कामलाई तुच्छ’ ठान्‍नु हुँदैन भनी त्यो सामदानको दर्शनले जकरियालाई सम्झना गराएको थियो। किनकि यहोवाका उद्देश्‍यहरू “नता बलले, न शक्‍तिले, तर मेरो आत्माले” पूरा हुनेछन्‌ भनी “सेनाहरूको परमप्रभु”-ले भन्‍नु भएको थियो। (जकरिया ४:६, १०; ८:९) प्रथम विश्‍व युद्धको दौडान हर बाधाविघ्नको बावजूद मानिसजातिबीच निरन्तर ज्योति चम्काउने काममा लागेका मसीहीहरूको सानो समूहलाई पनि यसैप्रकार पुनःनिर्माणको काममा प्रयोग गरिने थियो। तिनीहरू पनि प्रोत्साहनको स्रोत हुने थिए। सङख्यामा थोरै भए तापनि तिनीहरूले यहोवाको शक्‍तिमाथि भरोसा गर्न र सानो स्तरमा सुरु भएका कुराहरूलाई तुच्छ नठान्‍न सिक्ने थिए।

१५. (क) अभिषिक्‍त मसीहीहरूलाई दुई साक्षीहरूको रूपमा पनि वर्णन गर्दा हामीलाई कुन कुराको सम्झना हुन्छ? व्याख्या गर्नुहोस्‌। (ख) दुई साक्षीहरूले के कस्ता चिन्हहरू गर्ने अधिकार पाएका छन्‌?

१५ ती दुई साक्षीहरूले हामीलाई येशूको रुपान्तरको पनि सम्झना गराउँछ। त्यस दर्शनमा येशूका तीन जना प्रेरितहरूले उहाँलाई आफ्नो राजकीय महिमामा मोशा र एलियाका साथमा देखे। यो दर्शन त्यो आउँदो समयको एउटा पूर्वाभास थियो जब १९१४-देखि आफ्नो सिंहासनमा विराजमान येशूले ती दुई जना अगमवक्‍ताहरूद्वारा पूर्वचित्रित काम गर्नु हुने थियो। (मत्ती १७:१-३) यसैकारण, अब ती दुई साक्षीहरूले मोशा र एलियाको सम्झना गराउने किसिमका चिह्नहरू गर्न थालेको हामी देख्तछौं। उदाहरणका लागि, यूहन्‍नाले तिनीहरूबारे यसो भन्छन्‌: “औ कुनै मानिसले तिनीहरूलाई हानि गर्ने इच्छा गऱ्‍यो भने, तिनीहरूकै मुखबाट निस्केको आगोले तिनका शत्रुहरूलाई नाश पार्नेछ, औ कुनै मानिसले तिनीहरूलाई नोक्सानी गर्ने इच्छा गऱ्‍यो भने, त्यही किसिमले तिनीहरू मारिनेछन्‌। तिनीहरूले अगमवाणी बोलेका दिनहरूमा पानी नपरोस्‌ भनी आकाश बन्द गर्ने तिनीहरूसँग शक्‍ति छ।”—प्रकाश ११:५, ६क.

१६. (क) आगोसम्बन्धी चिन्हले हामीलाई इस्राएलमा मोशाको अख्तियारलाई मान्यता नदिने समयको कसरी सम्झना गराउँछ? (ख) मसीहीजगतका पादरीहरूले बाइबल स्टुडेन्ट्‌सहरूको विरुद्धमा प्रथम विश्‍वयुद्धको दौडान कसरी उपद्रव मच्चाए र यिनीहरूले पनि त्यसको प्रतिरोध कसरी गरे?

१६ यो पढ्‌दा हामीलाई त्यो समयको सम्झना हुन्छ जब इस्राएलमा मोशाको अख्तियारलाई कसैकसैले चुनौती दिएका थिए। त्यतिखेर ती अगमवक्‍ताले अग्निमय न्यायवचनहरू बोले र यहोवाले पनि आकाशबाट साँच्चैको आगो खसाल्नु भएर २५०-जना विरोधीहरूलाई भस्म पार्नु भयो। (गन्ती १६:१-७, २८-३५) यस्तैप्रकार बाइबल स्टुडेन्ट्‌सहरूसित तिनीहरू धार्मिक विश्‍वविद्यालयहरूबाट उत्तीर्ण भएको प्रमाणपत्र छैन भन्दैमा तिनीहरूलाई मसीहीजगतका अगुवाहरूले कुनै मान्यता दिएनन्‌। तर परमेश्‍वरका साक्षीहरूसित परमेश्‍वरका सेवकहरू हुने सबैभन्दा उच्चस्तरका प्रमाणपत्रहरू थिए: शास्त्रमा आधारित तिनीहरूको सन्देश सुन्‍ने नम्र जनहरू नै तिनीहरूका प्रमाणपत्रहरू थिए। (२ कोरिन्थी ३:२, ३) सन्‌ १९१७-मा बाइबल स्टुडेन्ट्‌सहरूले इजकिएल र प्रकाशको पुस्तकको प्रभावकारी व्याख्या गर्ने द फिनिश्‍ड मिस्ट्री नामक पुस्तक प्रकाशित गरे। यसपछि चार पृष्ठ भएको द बाइबल स्टुडेन्ट्‌स मन्थली भन्‍ने पर्चाको १०,०००,००० प्रति वितरण गरियो। यस पर्चाको मुख्य लेखको शिर्षक थियो, “बेबिलोनको पतन—मसीहीजगतले अहिले किन दुःख पाउनै पर्छ—उसको अन्तिम परिणाम।” संयुक्‍त राज्य अमेरिकाको क्रोधित पादरीहरूले युद्धकाललाई निहुँ बनाएर उक्‍त पुस्तकमाथि सरकारी प्रतिबन्ध लगाउन लगाए। अन्य देशहरूमा चाहिं त्यो पुस्तकमाथि सेन्सर गरियो। तरैपनि परमेश्‍वरका सेवकहरूले किङ्‌गडम न्युज भन्‍ने चार पृष्ठे पर्चाका अग्निमय वाणरूपी अङ्‌कहरूद्वारा सङ्‌घर्ष गर्न छाडेनन्‌। प्रभुको दिन जसै अगाडि बढ्‌दै गयो, मसीही जगतको बेकम्मा आध्यात्मिक स्थितिलाई अन्य प्रकाशनहरूद्वारा प्रष्ट पारियो।—यर्मिया ५:१४-सित तुलना गर्नुहोस्‌।

१७. (क) एलियाको पालोमा कुन घटनाहरू खडेरी र आगोसित सम्बन्धित थिए? (ख) दुई साक्षीहरूको मुखबाट आगो कसरी निस्क्यो र कुन खडेरी यहाँ बिथोलित थियो?

१७ तर एलियाको बारेमा नि? इस्राएलका राजाहरूको पालोमा बालपूजक इस्राएलीहरूको विरुद्धमा यहोवाको क्रोध व्यक्‍त गर्दै यस अगमवक्‍ताले खडेरीको घोषणा गरे। त्यो खडेरी साढे तीन वर्षसम्म चल्यो। (१ राजा १७:१; १८:४१-४५; लूका ४:२५; याकूब ५:१७) पछि, अविश्‍वासी राजा अहज्याहले सिपाहीहरू पठाएर एलियालाई आफ्नो शाही दरबारमा जबरजस्ती ल्याउन खोज्दा यस अगमवक्‍ताले ती सिपाहीहरूलाई भस्म पार्न स्वर्गबाट आगो बर्साउन लगाए। एक जना सैनिक अफिसरले एलियालाई अगमवक्‍ताप्रति देखाउनु पर्ने उचित आदर देखाएपछि मात्र उनी राजाकहाँ जान राजी भए। (२ राजा १:५-१६) यस्तैगरी, १९१४ र १९१८ बीचका सालहरूमा शेष अभिषिक्‍त जनहरूले मसीहीजगतको आध्यात्मिक खडेरीतर्फ निडरतासाथ ध्यान आकृष्ट गराए। साथै, “परमप्रभुको त्यो महान र डरलाग्दो दिन”-मा मसीहीजगतले अग्निमय न्याय भोग्नेछन्‌ भनेर चेताउनी पनि दिए।—मलाकी ४:१, ५; आमोस ८:११.

१८. (क) दुई साक्षीहरूलाई के अधिकार दिइन्छ र यो अधिकार मोशालाई दिइएको अधिकारसित कसरी मिल्दोजुल्दो छ? (ख) दुई साक्षीहरूले मसीहीजगतको पर्दाफास कसरी गरे?

१८ यूहन्‍नाले ती दुई साक्षीहरूबारे अझ यसो भन्छन्‌: “र पानीहरूलाई रगत तुल्याउने, र पृथ्वीमा तिनीहरूलाई मन लागेका बेलामा हर किसिमको रुढी ल्याउने तिनीहरूसँग शक्‍ति छ।” (प्रकाश ११:६ख) फिरऊनले इस्राएलीहरूलाई जान देओस्‌ भनेर यहोवाले मोशाद्वारा अत्याचारी मिश्रलाई अनेक विपत्तिहरूले प्रहार गर्नु भयो। ती विपत्तिहरूमध्ये एउटा त पानी रगतमा परिणत हुने विपत्ति थियो। शताब्दियौंपछि इस्राएलका पलिश्‍ती शत्रुहरूले मिश्रको विरुद्धमा यहोवाका ती महाकार्यहरूको सम्झना गर्दै यो उद्‌गार गरे: “यस्ता शक्‍तिशाली देवताको शक्‍तिबाट हामीलाई कसले छुट्टाउनसक्नेछ? यी तिनै देवता हुन्‌ जसले मिश्रीहरूलाई छिन्‍न-भिन्‍न पारे र तिनीहरूलाई उजाडस्थानमा ध्वंस पारे।” (१ शमूएल ४:८; भजन १०५:२९) मोशाले येशूलाई चित्रित गरे जोसित आफ्ना दिनका धर्मगुरुहरूको विरुद्धमा ईश्‍वरीय न्याय सुनाउने अधिकार थियो। (मत्ती २३:१३; २८:१८; प्रेरित ३:२२) अनि मसीहीजगतले पनि आफ्नो बगाललाई पिउनका लागि “मृत्युदायी” पानी दिइरहेको कुरा प्रथम विश्‍व-युद्धको दौडान ख्रीष्टका भाइहरू अथवा ती दुई साक्षीहरूले सबैको सामु उदाङ्‌ग पारी दिए।

दुई साक्षीहरू मारिन्छन्‌

१९. प्रकाशको पुस्तकअनुसार ती दुई जना साक्षीहरूले आफ्नो प्रचारकार्य समाप्त गरी सकेपछि के घटना घट्‌छ?

१९ यो विपत्तिले मसीहीजगतलाई साह्रै दुःख्ने गरी प्रहार गऱ्‍यो। अतः ती दुई साक्षीहरूले भाघ्र लाएर ४२ महिनासम्म साक्षी दिइसकेपछि तिनीहरूको ‘हत्या गराउन’ मसीहीजगतले आफ्नो सांसारिक शक्‍ति प्रयोग गर्न थाल्यो। यूहन्‍ना लेख्छन्‌: “औ तिनीहरूले तिनका साक्षीको काम सिध्याइसकेपछि अगाध खाँदबाट आउने त्यस पशुले तिनीहरूसँग लडाइँ गरेर तिनीहरूलाई जितीकन मारिदिनेछ। औ तिनीहरूका लाशहरू त्यस ठूलो शहरका गल्लीमा पस्रिनेछन्‌। जुन शहरलाई दृष्टान्तको रूपमा सदोम र मिश्र भनिन्छ, जहाँ तिनीहरूका प्रभु . . . टाँगिनुभएको थियो। साढे तीन दिनसम्म तिनका लाशहरूलाई मानिसहरू, कुलहरू, भाषाहरू र जाति जातिहरूका मानिसहरूले हेर्नेछन्‌, र ती लाशहरूलाई चिहानमा राख्नदिनेछैनन्‌। औ पृथ्वीमा रहनेहरू तिनीहरूमाथि रमाउँछन्‌, र आनन्द मनाउँछन्‌, र तिनीहरूले आपसमा उपहार लिनेदिने गर्नेछन्‌, किनभने ती दुइ अगमवक्‍ताहरूले पृथ्वीमा रहनेहरूलाई शास्ती दिएका थिए।”—प्रकाश ११:७-१०.

२०. ‘अगाध खाँदबाट निस्कने पशु’ के हो?

२० प्रकाशको पुस्तकमा जङ्‌गली पशुबारे ३७ पटक चर्चा गरिएको छ र तीमध्ये यो प्रथम पटक हो। पछि गएर हामीले यो र अन्य जनावरहरूबारे राम्ररी जाँच गर्नेछौं। तर अहिलेका लागि “अगाध खाँदबाट निस्कने” पशु एउटा सक्रिय राजनैतिक व्यवस्था अथवा शैतानको रचना हो भनेर बुझ्नु यथेष्ट हुनेछ। bप्रकाश १३:१-सित तुलना गर्नुहोस्‌; दानियल ७:२, ३, १७.

२१. (क) ती दुई साक्षीहरूका धार्मिक शत्रुहरूले युद्धको अस्तव्यस्तताको फायदा कसरी उठाए? (ख) ती दुई साक्षीहरूका लाशहरूलाई नगाडिकन राख्नु कुन कुराको सङ्‌केत थियो? (ग) साढे तीन दिनको समयावधिलाई कुन दृष्टिले हेर्नु पर्छ? (फुटनोट हेर्नुहोस्‌.)

२१ सन्‌ १९१४-देखि १९१८-सम्म राष्ट्रहरू प्रथम विश्‍व-युद्धमा ग्रस्त थिए। राष्ट्रियताको भावना चर्केको थियो। अनि १९१८-को बसन्त ऋतुमा यी दुई साक्षीहरूका शत्रुहरूले परिस्थितिको फायदा उठाए। तिनीहरूले राष्ट्रको कानुनी व्यवस्थालाई चलाकीसाथ प्रयोग गरे। देश विद्रोहको झुट्टा अभियोगमा बाइबल स्टुडेन्ट्‌सका जिम्मेवार सदस्यहरू झ्यालखानमा थुनिए। यिनीहरूका विश्‍वासी सङ्‌गीहरू स्तब्ध भए। राज्यसम्बन्धी गतिविधि प्रायः बन्द नै भयो। प्रचारकार्य मानो मृत प्रायः भयो। रीतिपूर्वक चिहानमा नगाडिनु बाइबलको समयमा अपमानजनक ठानिन्थ्यो। (भजन ७९:१-३; १ राजा १३:२१, २२) यसकारण, ती दुई साक्षीहरूलाई चिहानमा नगाड्‌नुको अर्थ तिनीहरूको ठूलो अपमान गरिनु हो। प्यालेस्टाइनको गर्मीमा बाहिर सडकमा फालिएको लाश शाब्दिक साढे तीन दिनपछि साँच्चै नै गह्नाउन थाल्ने थियो। c (यूहन्‍ना ११:३९ सित तुलना गर्नुहोस्‌।) भविष्यवाणीमा उल्लिखित यो विवरण ती दुई साक्षीहरूले सहनु पर्ने अपमानको एउटा प्रतीक हो। थुनामा परेका जनहरूका निम्ति अपील गर्दा पनि तिनीहरूलाई जमानतमा छाड्‌न इन्कार गरियो। तिनीहरू “त्यो ठूलो शहर”-का निवासीहरूको नजरमा स्पष्टतः बेइज्जतीको पात्र भए। तर त्यो “ठूलो शहर” के थियो?

२२. (क) त्यो ठूलो शहर के हो? (ख) दुई साक्षीहरूलाई चुप पार्दा आम पत्रिकाहरूले पादरीहरूलाई कसरी साथ दिए? (पेटी हेर्नुहोस्‌।)

२२ यूहन्‍नाले हामीलाई केही सुराक दिन्छन्‌। उनी भन्छन्‌, त्यो उही शहर हो जहाँ येशूको हत्या भएको थियो। यो सुन्‍नासाथै हाम्रो ध्यान यरूशलेमतिर जान्छ। तर यूहन्‍ना भन्छन्‌, त्यो शहरलाई सदोम र मिश्र पनि भनिन्छ। स्मरण रहोस्‌, एकताका यरूशलेमलाई पनि उसका खराब कामकुराहरूले गर्दा सदोम भनेर सम्बोधन गरिएको थियो। (यशैया १:८-१०; इजकिएल १६:४९, ५३-५८ तुलना गर्नुहोस्‌।) र प्रथम विश्‍वशक्‍ति मिश्रले कहिलेकाहीं यो संसारको रीतिरिवाजलाई पनि चित्रित गर्दछ। (यशैया १९:१, १९; योएल ३:१९) अतः, यो ठूलो शहर दूषित “यरूशेलम”-को एउटा चित्रण हो। उसले परमेश्‍वरको उपासना गर्ने दाबी गरे तापनि ऊ सदोमझैं अशुद्ध तथा पापी मिश्रझैं यो शैतानी संसारको भाग भएको छ। यसले मसीहीजगतको चित्रण गर्दछ जसलाई आधुनिक अविश्‍वासी यरूशलेम भन्‍न मिल्छ। ती दुई साक्षीहरूद्वारा उद्‌घोषित पिरोल्ने सन्देशको प्रचार बन्द गराउन पाउँदा मसीहीजगतका सदस्यहरू नरमाउने त कुरै थिएन।

पुनःजीवित!

२३. (क) साढे तीन दिनपछि ती दुई साक्षीहरूलाई के हुन्छ र तिनीहरूको शत्रुहरूमाथि के असर पर्छ? (ख) प्रकाश ११:११, १२ र यहोवाले उपत्यकाका सुखा हाडहरूमाथि सास फुकेको इजकिएलको भविष्यवाणीको आधुनिक पूर्ति कहिले भयो?

२३ आम पत्रिकाहरूले पनि परमेश्‍वरका जनहरूको धज्जी उडाउनमा पदरीहरूलाई साथ दिए। एउटा पत्रिकाले यसो भन्यो: “समापित रहस्य (द फिनिश्‍द मिस्ट्री) समापन नै भयो।” तर योभन्दा अझ असत्य अरू केही हुन सक्‍तैन थियो! ती दुई साक्षीहरू मरेको मरेकै रहेनन्‌। तिनीहरूबारे यसो भनिएको छ: “औ साढे तीन दिनपछि परमेश्‍वरबाटको जीवनको सास तिनीहरूभित्र पस्यो, र तिनीहरू आफ्ना खुट्टाले उभिए, औ तिनीहरूलाई देख्नेहरूलाई ठूलो डर भयो। अनि तिनीहरूले स्वर्गबाट यसो भनेको एउटा ठूलो आवाज सुने, ‘यता माथि आऊ।’ औ तिनीहरू बादलमा स्वर्गतिर गए। औ तिनीहरूका शत्रुहरूले तिनीहरूलाई देखे।” (प्रकाश ११:११, १२) यिनीहरूको अनुभव इजकिएलले दर्शनमा देखेका उपत्यकाका सुखा हाडहरूको अनुभव जस्तै थियो। यहोवाले ती सुखा हाडहरूमाथि सास फुकिदिनु भएर तिनीहरूलाई फेरि जीवित पार्नु भएको थियो। यसले बेबिलोनमा ७० वर्षसम्मको कैदपछि इस्राएली राष्ट्रको पुनर्जन्मलाई पूर्वचित्रित गऱ्‍यो। (इजकिएल ३७:१-१४) इजकिएल र प्रकाशका यी दुवै भविष्यवाणीहरू प्रभावशाली ढङ्‌गमा १९१९-मा पूरा भए जब यहोवाले आफ्ना “मृत” साक्षीहरूलाई फेरि सक्रिय र जीवित तुल्याउनु भयो।

२४. दुई साक्षीहरू पुनःजीवित हुँदा, तिनीहरूका धार्मिक विरोधीहरूमाथि के असर पऱ्‍यो?

२४ यो देखेर ती सताउने मान्छेहरू कति स्तब्ध भए! ती दुई साक्षीहरूका लाशहरू अचानक फेरि जीवित र सक्रिय भए। यो कुरा पचाउन ती पादरीहरूलाई निकै नै गाह्रो भयो। किनकि जुन मसीही सेवकहरूलाई तिनीहरूले झ्यालखानमा हाल्ने षडयन्त्र रचेका थिए, तिनीहरू नै अहिले जीवित र सक्रिय मात्र होइन तर पूर्णतः दोषमुक्‍त पनि हुन लागेका थिए। ती पादरीहरू अझ स्तब्ध भए होलान्‌ जब सेप्टेम्बर १९१९-मा बाइबल स्टुडेन्ट्‌सहरूले संयुक्‍त राज्य अमेरिकाको सिडर प्वाइन्ट ओहायोमा एउटा सम्मेलन आयोजित गरे। यस सम्मेलनमा झ्यालखानबाट भर्खरै मुक्‍त भएका जे. एफ. रदरफर्डले प्रकाश १५:२ र यशैया ५२:७-मा आधारित “परमेश्‍वरको राज्य घोषणा” गर्ने विषयमा भाषण सुनाएर उपस्थित सबैलाई उत्साहित पारे। यूहन्‍नावर्गकाहरूले फेरि “भविष्यवाणी” बोल्न अथवा आम प्रचारकार्यमा भाग लिन थाले। तिनीहरू झनः झन्‌ बलियो हुँदै गए र मसीहीजगतको कपटको पर्दाफास गर्न थाले।

२५. (क) दुई साक्षीहरूलाई “यतामाथि आऊ” कहिले भनियो र तिनीहरू कुन अर्थमा माथि उक्ले? (ख) दुई साक्षीहरूको पुनःजागृति देखेर त्यो ठूलो शहरमाथि कस्तो डरलाग्दो प्रभाव पऱ्‍यो?

२५ मसीहीजगतले १९१८-मा झैं फेरि विजयी हुने धेरै पटक प्रयास गऱ्‍यो। उसले दङ्‌गाफसाद, कानुनी फन्दा, कैद र हत्याको समेत प्रयोग गर्ने कोशिश गऱ्‍यो। तर सबै व्यर्थ! ती दुई साक्षीहरूको आध्यात्मिक क्षेत्र १९१९-देखि उसको पहुँचभन्दा बाहिर थियो। सोही साल यहोवाले तिनीहरूलाई “यता माथि आऊ” भन्‍नु भएको थियो। अनि तिनीहरू पनि एउटा उच्च आध्यात्मिक स्थानमा उक्लेका थिए जहाँ तिनीहरूका दुश्‍मनहरूले तिनीहरूलाई देख्न चाहिं सक्थे तर छुन सक्‍तैन थिए। तिनीहरूको पुनःजागृतिले गर्दा त्यो ठूलो शहरमाथि छाएको डरलाग्दो प्रभावबारे यूहन्‍ना अझ यसो भन्छन्‌: “त्यही घडी ठूलो भूकम्प भयो, र शहरको दशौं भाग ढल्यो, र भूकम्पमा सात हजार मानिसहरू मारिए। बाँकीचाहिं डराए, र स्वर्गका परमेश्‍वरलाई महिमा दिए।” (प्रकाश ११:१३) धार्मिक क्षेत्रमा साँच्चै नै ठूलो उथलपुथल मच्चियो। यी पुनःजागृत मसीहीहरूले जोडतोडका साथ काम सुरु गर्दा स्थापित चर्चहरूका अगुवाहरूले टेकेको भुइँ मानौं हल्लन थाल्यो। तिनीहरूको शहरको दशौं भाग अर्थात्‌ प्रतीकात्मक ७००० व्यक्‍तिहरूमाथि यसले यति ठूलो प्रभाव पाऱ्‍यो कि तिनीहरू मरे सरह भए।

२६. प्रकाश ११:१३-को “शहरको दशौं” भाग र “सात हजार मानिसहरूले” कसलाई प्रतिनिधित्व गर्छन्‌? व्याख्या गर्नुहोस्‌।

२६ “शहरको दशौं भाग” भन्‍ने अभिव्यक्‍तिले हामीलाई प्राचीन यरूशलेमबारे यशैयाद्वारा गरिएको भविष्यवाणीको सम्झना गराउँछ। उक्‍त भविष्यवाणीअनुसार शहरको दशौं भाग चाहिं पवित्र बीउको रूपमा बाँच्ने थियो। (यशैया ६:१३) यस्तैगरी, यो ७,०००-को सङ्‌खयाले हामीलाई त्यो समयको पनि सम्झना गराउँछ जब एलियाले सारा इस्राएलमा उनी एक जना मात्र विश्‍वासी जन बाँकी छन्‌ भनी ठानेका थिए। तर होइन, त्यहाँ बाल देवताको सामु घुँडा नटेक्ने अझ ७००० मानिसहरू बाँकी छन्‌ भनी यहोवाले एलियालाई बताउनु भयो। (१ राजा १९:१४, १८) ती ७००० मानिसहरूले ख्रीष्टको सुसमाचार सुन्‍ने शेष यहूदीहरूलाई चित्रित गरे भनेर प्रेरित पावलले प्रथम शताब्दीमा भने। (रोमी ११:१-५) हो, प्रकाश ११:१३-मा उल्लिखित शहरको “दशौं भाग” र “सात हजार मानिसहरू” वास्तवमा ती जनहरू हुन्‌ जसले पुनःजागृत दुई साक्षीहरूद्वारा प्रचारित कुरा सुन्छन्‌ र त्यो पापी ठूलो शहरलाई त्याग्छन्‌। यी जनहरू मसीहीजगतका लागि मरेतुल्य हुन्छन्‌। तिनीहरूको नाउँ मसीही जगतका सदस्यहरूको नामावलीबाट हटाइन्छ। मसीहीजगतका निम्ति तिनीहरूको कुनै अस्तित्व नै रहँदैन। d

२७, २८. (क) कसरी ‘बाँकीले स्वर्गको परमेश्‍वरलाई’ महिमा गरे? (ख) मसीहीजगतका पादरीहरू कुन कुरा स्वीकार्न बाध्ये भएका थिए?

२७ तर मसीहीजगतका ‘बाँकी जनहरूले’ स्वर्गको परमेश्‍वरलाई कसरी महिमा दिन्छन्‌? निश्‍चय पनि आफ्नो धर्मत्यागी धर्मलाई त्याग्दै परमेश्‍वरको सेवक बनेर होइन। यसको व्याख्या विन्सेन्टको वर्ड स्टडिज इन द न्यु टेस्टामेन्ट-मा गरिएको छ। त्यसमा “बाँकी चाहिं स्वर्गको परमेश्‍वरलाई महिमा दिए” भन्‍ने अभिव्यक्‍तिलाई छलफल गर्दै यसप्रकार टिप्पणी गरिएको छ: “यो अभिव्यक्‍तिबाट नता धर्मपरिवर्तन न पश्‍चात्ताप न कृतज्ञताको नै बोध हुन्छ। यसले खाली स्वीकृतिलाई जनाउँछ र अक्सर शास्त्रमा यही अर्थमा प्रयोग गरिन्छ। यहोशू ७:१९ (सेप्टुआगिन्ट अनुवाद), यूहन्‍ना ९:२४; प्रेरित १२:२३; रोमी ४:२०-सित तुलना गर्नुहोस्‌।” हो, बाइबल स्टुडेन्ट्‌सहरूका परमेश्‍वरले तिनीहरूलाई फेरि मसीही गतिविधिका लागि सक्रिय तुल्याउनु भएर एउटा महाकार्य गर्नु भएको कुरा स्वीकार्न मसीहीजगत हिस्स तथा बाध्य भयो।

२८ हुनसक्छ, यो स्वीकृति ती पादरीहरूले मनमनै अथवा आपसमा मात्र दिए होलान्‌। किनकि तीमध्ये कसैले पनि ती दुई साक्षीहरूका परमेश्‍वरलाई खुलेआम स्वीकृति दिएको सुनिएन। तर तिनीहरूको हृदयको नियत बुझ्न र १९१९-मा तिनीहरूले अनुभव गरेको निराशा र आश्‍चर्य महसुस गर्न यहोवाले यूहन्‍नाद्वारा गर्नु भएको भविष्यवाणीले हामीलाई मदत दिन्छ। उपरोक्‍त सालदेखि मसीहीजगतले आफ्ना भेडाहरूलाई आफैसित राख्ने यथाशक्य प्रयास गऱ्‍यो। तर केही सीप लागेन। उसलाई “सात हजार मानिसहरू”-ले त्याग्न थाल्दा यूहन्‍नावर्गको परमेश्‍वर तिनीहरूको देवताभन्दा धेरै नै शक्‍तिशाली हुनुहुँदो रहेछ भनेर स्वीकार्न उसका पादरीहरूलाई करै लाग्यो। समय बित्दै जाँदा तिनीहरूले यो तथ्य अझ स्पष्टसित बुझ्ने थिए। किनकि तिनीहरूका बगालका अझ धेरै मानिसहरूले तिनीहरूलाई छाडेर जाने थिए। यी मानिसहरू “परमप्रभु [यहोवा, NW] नै साँचो परमेश्‍वर हुनुहुन्छ! परमप्रभु नै साँचो परमेश्‍वर हुनुहुन्छ!” भन्‍ने उद्‌गार दोहोऱ्‍याउँदै जाने थिए जस्तो कि कार्मेल पर्वतमा बालपूजकहरूमाथि विजयी हुँदा एलिया अगमवक्‍ताले कराउँदै भनेका थिए।—१ राजा १८:३९.

२९. यूहन्‍नाले कुन कुरा चाँडै आउँदैछ भन्छन्‌ र मसीहीजगतमा तहल्का मच्चाउने अरू कुन कुरा हुन बाँकी नै छ?

२९ तर सुन्‍नुहोस्‌! यूहन्‍ना हामीलाई यसो भन्छन्‌: “दोस्रो अभिशाप बित्यो, हेर तेस्रो अभिशाप झट्टै आउँदैछ।” (प्रकाश ११:१४) अझसम्म भएका कुराहरूले गर्दा नै मसीहीजगत थर्कमान भइसकेको छ भने तेस्रो अभिशाप घोषणा हुँदा, सातौं स्वर्गदूतले तुरही फुक्दा र परमेश्‍वरको पवित्र रहस्य अन्ततः समाप्त हुँदा के गर्ने होलान्‌?—प्रकाश १०:७.

[फुटनोटहरू]

a यो महान आत्मिक मन्दिरको विस्तृत छलफलका लागि जुलाई १, १९९६ प्रहरीधरहरा-को अङ्‌कमा प्रकाशित “यहोवाको महान्‌ आध्यात्मिक मन्दिर” र द वाचटावर, डिसेम्बर १, १९७२ को अंकमा “उपासनाको एक मात्र साँचो मन्दिर” भन्‍ने लेख हेर्नुहोस्‌।

b “अगाध खाँद”-ले (युनानीमा एबीसोस्‌; हिब्रू, तेहोम्‌) लाक्षणिक रूपमा निष्क्रिय हुने ठाउँलाई सङ्‌केत गर्छ। (प्रकाश ९:२ हेर्नुहोस्‌।) तथापि शाब्दिक अर्थमा त्यसले विशाल समुद्रलाई जनाउन सक्छ। यसको मूल हिब्रू शब्दलाई अक्सर “गहीरो सागर” भनेर पनि अनुवाद गरिन्छ। (भजन ७१:२०; १०६:९; योना २:५) अतः “अगाध खाँदबाट आउने पशु” र ‘समुद्रबाट निस्कने जनावर’ एकै हुन्‌ भन्‍न मिल्छ।—प्रकाश ११:७; १३:१.

c यस समयमा परमेश्‍वरका जनहरूका अनुभवहरू जाँच गर्दा थाह पाइन्छ कि ४२ महिनाहरूको अर्थ अक्षरशः साढे तीन वर्ष भए तापनि यहाँको साढे तीन दिन चाहिं अक्षरशः ८४ घण्टा होइनन्‌। सम्भवतः यी साढे तीन दिनको निश्‍चित समयावधिबारे दुई-दुई पटक (९ र ११-औं पदमा) चर्चा गर्नुको तात्पर्य योभन्दा पहिलेको साढे तीन वर्षीय गतिविधिको तुलनामा यो साढे तीन दिन निकै नै छोटो समयावधि हुनेछ भन्‍ने सङ्‌केत हुन सक्छ।)

d “मृत,” “मरेको” र “जीवित” शब्दहरूलाई रोमी ६:२, १०, ११; ७:४, ६, ९; गलाती २:१९; कलस्सी २:२०; ३:३-जस्ता शास्त्रपदहरूमा तुलना गरेर हेर्नुहोस्‌।

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १६८-मा भएको पेटी]

प्रकाश ११:१०-को रमाहट

सन्‌ १९३३-मा प्रकाशित प्रिचर्स प्रेजेन्ट आर्म्स-भन्‍ने आफ्नो पुस्तकमा रे एच. एब्राम्सले बाइबल स्टुडेन्ट्‌सद्वारा प्रकाशित पुस्तक द फिनिष्द मिस्ट्री-प्रति पादरीहरूको घोर विरोधको चर्चा गरेका छन्‌। बाइबल स्टुडेन्ट्‌सहरू र तिनीहरूको “रुढी सरह मतलाई” नै नामेट पार्ने पादरीहरूको प्रयासमाथि उनले समालोचना गरेका छन्‌। यी प्रयासहरूको एउटा परिणाम त्यो कानुनी मुद्दा थियो जसले गर्दा जे. एफ. रदरफर्ड र उनका सात संगीहरूलाई लामो समयसम्म झ्यालखानमा थुन्‍ने फैसला भयो। डा. एब्राम्स अगाडि भन्छन्‌: “उक्‍त मुद्दालाई राम्ररी जाँच गर्दा यो बुझिन्छ कि रसलवादीहरूलाई खतम पार्ने यो षडयन्त्रको पछाडि सुरुमा चर्च र पादरीहरू थिए। क्यानाडामा १९१८-देखि पादरीहरूले बाइबल स्टुडेन्ट्‌स र तिनीहरूका प्रकाशनहरू, खासगरी द फिनीष्द मिस्ट्री-को विरोध गर्ने सिलसिलेवार अभियान सुरु गरे। विनीपेग ट्रिब्युन पत्रिकाअनुसार . . . तिनीहरूको पुस्तकमाथि लागेको प्रतिबन्ध प्रत्यक्षतः ‘पादरीहरूकै दबाबले गर्दा’ थियो।’ ”

डा. एब्राम्स अझ यसो पनि भन्छन्‌: “बीस-बीस वर्षको सजायबारे धार्मिक पत्रकारहरूले सुन्‍नासाथै तिनीहरूमध्ये सानोदेखि ठूलो, सबै नै रमाए। कुनै पनि कट्टरपन्थी धार्मिक पत्रिकाहरूले सहानुभूतिको एउटै शब्द पनि व्यक्‍त गरेको मैले अझसम्म सुनेको छैन। अपटन सिन्क्लेरको निष्कर्षअनुसार ‘बाइबल स्टुडेन्ट्‌सहरू विशेषतः “कट्टरपन्थी” धार्मिक सम्प्रदायहरूको घृणाको पात्र भएका हुनाले नै तिनीहरूमाथि त्यो सतावट आइ पऱ्‍यो।’ जुन कुरा चर्चहरूले मिलेर गर्न सकेका थिएनन्‌, त्यो गर्न अब सरकार सफल भएको जस्तो देखियो।” अनेकौं धार्मिक पत्रिकाहरूमा छापिएका अपमानजनक टिप्पणीहरू उद्धृत गरेपछि यी लेखकले कोर्ट अफ अपीलमा फैसला बदर भएको चर्चा गर्दै यसो भने: “यो नयाँ फैसला सुनेर सबै नै चर्चहरू मौन रहे।”

[पृष्ठ १६३-मा भएको चित्र]

यूहन्‍नाले आत्मिक मन्दिरको नाप लिन्छन्‌। अभिषिक्‍त पूजारीहरूले पूरा गर्नुपर्ने आवश्‍यकताहरू

[पृष्ठ १६५-मा भएको चित्र]

यरूबाबेल र यहोशूले गरेको पुनःनिर्माणको काम वास्तवमा एउटा पूर्वचित्रण थियो। त्यसले प्रभुको दिनमा यहोवाका साक्षीहरूको सानो सुरुआतपछि हुने विशाल वृद्धिलाई पूर्वसङ्‌केत गऱ्‍यो। तिनीहरूका आवश्‍यकताहरूलाई पूरा गर्न माथि नक्सामा देखाइएको ब्रुकलिन, न्यु योर्कका जस्तै अझ थुप्रै शाखा कार्यालयहरू स्थापित गर्न तथा बढाउन जरुरी भएको छ

[पृष्ठ १६६-मा भएको चित्र]

दुई साक्षीहरूले घोषणा गरेका अग्निमय न्यायिक सन्देशहरूको पूर्वाभास मोशा र एलियाको भविष्यसूचक कामले दिएको थियो

[पृष्ठ १६९-मा भएको चित्र]

इजकिएलको ३७-औं अध्यायको सुखा हाडहरू जस्तै, ती दुई साक्षीहरू पनि आधुनिक समयमा प्रचारकार्यका लागि पुनःजागृत हुन्छन्‌।