सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

दोस्रो विपत्ति—घोडचढीहरूको फौज

दोस्रो विपत्ति—घोडचढीहरूको फौज

अध्याय २३

दोस्रो विपत्ति—घोडचढीहरूको फौज

१. पादरीहरूले सलहहरूलाई नामेट पार्न खोजे तापनि के भएको छ र अझ आउन लागेका दुइटा विपत्तिहरूले के सङ्‌केत गर्छन्‌?

 मसीहीजगतमाथि ती प्रतीकात्मक सलहहरूको आक्रमणले १९१९-देखि यता पादरीहरू निकै नै पिरोलिएका छन्‌। तिनीहरूले सलहहरूलाई नामेट पार्ने कोशिश गरेका छन्‌। तर ती सलहहरू भने झन्‌ झन्‌ बलियो हुँदै गएका छन्‌। (प्रकाश ९:७) र त्यति मात्र होइन! यूहन्‍ना लेख्छन्‌: “पहिलो चाहिं अभिशाप गइहाल्यो, हेर यसपछि फेरि दुइ अभिशाप आउँदैछन्‌।” (प्रकाश ९:१२) हो, मसीहीजगतलाई अझ पिरोल्ने विपत्तिहरू आउन बाँकी नै छ।

२. (क) छैटौं दूतले तुरही फुक्दा के हुन्छ? (ख) “वेदीको सामने रहेका सीङहरूबाट” आउने आवाजले के लाई प्रतिनिधित्व गर्छ? (ग) किन चार स्वर्गदूतहरूको चर्चा गरिएको छ?

दोस्रो विपत्तिको स्रोत के हो? यूहन्‍ना लेख्छन्‌: “अनि छैटौं दूतले फुके, र मैले परमेश्‍वरकोसुनको, NW] वेदीको सामने रहेका सीङहरूबाट तुरही लिने छैटौं दूतलाई एक जनाले यसो भनेको एउटा आवाज सुनें, ‘ठूलो नदी यूफ्रेटिसमा बाँधिराखेका ती चारवटा दूतलाई फुकाइदेऊ।’ ” (प्रकाश ९:१३, १४) सुनको वेदीका सिङहरूबाट आएको आवाजको प्रत्युत्तरमा ती स्वर्गदूतहरू फुकाइन्छन्‌। यो सुनको वेदी धूप बाल्ने वेदी हो। यसअघि दुई पटक पनि यसै वेदीका सुनौला कचौराहरूको धूपलाई पवित्र जनहरूका प्रार्थनाहरूसित तुलना गरिएको थियो। (प्रकाश ५:८; ८:३, ४) यसकारण, यो आवाज पनि पृथ्वीका पवित्र जनहरूका संयुक्‍त प्रार्थनाहरूकै एउटा प्रतीक हो। साथै यहाँ “स्वर्गदूत” भनेर अनुवादित शब्दको मूल अर्थ “दूत” हो। अतः तिनीहरूले यहोवाका “दूतहरूको” हैसियतमा फेरि सक्रियतासाथ अझ सेवा गर्न सक्नका लागि छुटकारा पाऊँ भनेर बिन्ती गर्छन्‌। त्यहाँ चार जना स्वर्गदूतहरू किन छन्‌? यो प्रतीकात्मक सङ्‌ख्या सारा पृथ्वीलाई ढाक्न सक्ने तिनीहरूको सङ्‌गठित स्थितिको शायद एउटा प्रतीक हुन सक्छ।—प्रकाश ७:१; २०:८.

३. ती चार स्वर्गदूतहरू “ठूलो नदी युफ्रेटिसमा” कसरी बाँधिन पुगेका थिए?

ती स्वर्गदूतहरू कसरी ‘ठूलो नदी युफ्रेटिसमा बाँधिन’ पुगे? प्राचीन समयमा यो नदी युफ्रेटिस, यहोवाले अब्राहामलाई दिने प्रतिज्ञा गर्नु भएको ठाउँको उत्तरपूर्वीय सिमानामा थियो। (उत्पत्ति १५:१८; व्यवस्था ११:२४) अतः, स्पष्टतः यी स्वर्गदूतहरूलाई तिनीहरूको ईश्‍वरप्रदत्त देश अथवा पार्थिव गतिविधिको क्षेत्रको सिमानामै रोकेर राखिएको थियो। यहोवाले तिनीहरूका लागि तोक्नु भएको सेवामा तिनीहरूले सम्पूर्ण रीतिले भाग लिन पाएका थिएनन्‌। युफ्रेटिस नदीको बेबिलोन शहरसित पनि निकटतम सम्बन्ध थियो। सा.यु.पू. ६०७-मा यरूशलेमको पतनपछि शारीरिक इस्राएलीहरूले बेबिलोनमा ७० वर्ष कैदमा बिताए। तिनीहरू “ठूलो नदी युफ्रेटिसमा बाँधिएका” थिए। (भजन १३७:१) यस्तै बन्धनमा आत्मिक इस्राएलीहरू पनि १९१९-मा परेका थिए। तिनीहरू विचलित भएर यहोवाबाट निर्देशन माँगिरहेका थिए।

४. ती चार स्वर्गदूतहरूलाई के जिम्मेवारी सुम्पिएको छ र त्यो कसरी पूरा भएको छ?

तर यूहन्‍ना अब यो खुशीको खबर सुनाउँछन्‌: “औ ती चार दूत फुकाइए जो मानिसहरूको तेस्रो भागलाई मार्नालाई त्यस घडी, दिन, महीना र वर्षको निम्ति तयार पारेर राखिएका थिए।” (प्रकाश ९:१५) यहोवा ठीक समयअनुसार काम गर्ने व्यक्‍ति हुनुहुन्छ। उहाँको आफ्नो समयतालिका छ र उहाँ त्यसैबमोजिम काम गर्नुहुन्छ। यसकारण, यी दूतहरूलाई पनि तिनीहरूले गर्नुपर्ने काम गर्नका लागि ठीक समयमै फुकाइन्छ। बन्धनबाट मुक्‍त र कामका लागि तम्तयार भएर १९१९-मा अघि लम्कन पाउँदा तिनीहरू कति खुशी भए होलान्‌, यसो कल्पना गर्नुहोस्‌! तिनीहरूले पिरोल्ने मात्र होइनन्‌ तर अन्तमा ‘एक तिहाइ मानिसहरूलाई मार्ने’ काम पनि पाएका छन्‌। यो काम प्रथम चार वटा तुरहीको आवाजद्वारा घोषित विपत्तिहरूसित सम्बन्धित छ जसले एक तिहाइ पृथ्वी, समुद्र, समुद्रका प्राणीहरू, नदी र पानीका फोहोराहरू र आकाशीय ज्योतिका श्रोतहरूमाथि असर पारे। (प्रकाश ८:७-१२) तर अब यी चार दूतहरूले योभन्दा बढी गर्छन्‌। तिनीहरूले “मार्छन्‌” अथवा मसीहीजगतको आध्यात्मिक मृतावस्थाको पूरै पर्दाफास गरिदिन्छन्‌। यो कार्य १९२२-देखि यता तुरही फुकेर घोषित उद्‌घोषणाहरूद्वारा सम्पन्‍न हुँदै आएको छ।

५. मसीहीजगतका सम्बन्धमा छैटौं तुरहीको आवाज १९२७-मा कसरी जोडसित गुञ्जायमान भयो?

नबिर्सनु होस्‌, स्वर्गीय दूतले भर्खरै मात्र छैटौं तुरही फुकेको छ। यसैको प्रत्युत्तरमा बाइबल स्टुडेन्ट्‌सहरूका वार्षिक सम्मेलनहरूको श्रृङ्‌खलाको छैटौं सम्मेलन टोरन्टो, क्यानाडामा आयोजित गरियो। आइतबार, जुलाई २४, १९२७-को कार्यक्रमलाई ५३-वटा रेडियो स्टेशनहरूद्वारा प्रसारित गरियो। त्यो तत्कालीन सबैभन्दा विस्तृत प्रसार प्रबन्ध थियो। यो भाषणरूपी सन्देशलाई सम्भवतः लाखौंले सुन्‍ने मौका पाए। प्रथमतः एउटा जोडदार प्रस्तावद्वारा मसीहीजगतलाई आत्मिक तवरमा मरेतुल्य साबित गर्दै यो आह्वान दिइयो: “यो सङ्‌कष्टको घडीमा यहोवा परमेश्‍वरले मानिसहरूलाई ‘मसीहीजगत’ अथवा ‘सङ्‌गठित मसीही धर्म’बाट सधैंका लागि आफूलाई अलग पार्न र त्यसलाई सम्पूर्णतः त्याग्न आग्रह गर्नु हुन्छ; . . . मानिसहरूले आफ्नो हार्दिक भक्‍ति र वफादारी यहोवा परमेश्‍वर, उहाँको राजा र राज्यलाई दिऊन्‌।” यसपछि दिइएको जनभाषणको शीर्षक थियो: “मानिसहरूका लागि स्वतन्त्रता।” यो भाषणलाई जे. एफ. रदरफर्डले सदाझैं रवाफिलो ढङ्‌गमा प्रस्तुत गरे। यो जोश यूहन्‍नाले आउँदो दर्शनमा देख्ने “आगो, धुवाँ र गन्धक” जतिकै उपयुक्‍त थियो।

६. यूहन्‍नाले अब देख्ने घोडचढीहरूको फौजलाई कसरी वर्णन गर्छन्‌?

“औ ती घोडचढी फौजको सङ्‌खया बीस करोड थियो। मैले तिनीहरूको संख्या सुनें। औ यसरी मैले ती घोडाहरूलाई र तीमाथि चढनेहरूलाई आगो, नीलम र गन्धकको जस्तो रङ्‌ग भएको छातीको कवच लगाएका दर्शनमा देखें। ती घोडाहरूका शिरहरू सिंहहरूका शिरजस्ता रहेछन्‌, औ तिनीहरूका मुखबाट आगो, धुवाँ र गन्धक निस्कँदारहेछन्‌। यी तीन रुढीहरूद्वारा र तिनीहरूका मुखबाट निस्केका आगो, धुवाँ र गन्धकबाट मानिसहरूका तेस्रो भाग मारिए।”—प्रकाश ९:१६-१८.

७, ८. (क) कसको नेतृत्वमा घोडचढीहरूको फौज वेगसित अघि लम्कन्छ? (ख) घोडचढीहरूको फौज यिनीहरूभन्दा अघि आएका सलहहरूसित कुन कुन कुरामा मिल्दोजुल्दो छ?

स्पष्टतया, यी घोडचढीहरू चार स्वर्गदूतहरूको निर्देशनअनुसार वेगसित अघिअघि लम्कन्छन्‌। कस्तो डरलाग्दो दृश्‍य! यस्ता घोडचढीहरूको फौजले तपाईंको पीछा गरेमा तपाईंलाई कस्तो लाग्ने थियो! तिनीहरूलाई हेर्दै मुटु डरले ढुकढुक हुने थियो। तर हेर्नुहोस्‌, यी घोडचढीहरू धेरै कुरामा यिनीहरूभन्दा अघि आएका सलहहरू जस्तै छन्‌। उदाहरणका लागि, ती सलहहरू घोडाहरू जस्तै थिए; घोडचढीहरूको फौजमा घोडाहरू नै छन्‌। त्यसैले ईश्‍वरतान्त्रिक युद्धमा सलहहरू र घोडचढीहरू, दुवै संलग्न छन्‌। (हितोपदेश २१:३१) सलहहरूका दाँत सिंहहरूका जस्तै थिए; घोडचढीहरूको सिर सिंहहरूका जस्तै छन्‌। अतः दुवै नै यहूदाको कुलको सिंह, येशू ख्रीष्टसित सम्बन्धित छन्‌ र उहाँ नै तिनीहरूको अगुवा, निर्देशक र आदर्श हुनुहुन्छ।—प्रकाश ५:५; हितोपदेश २८:१.

सलह र घोडचढीहरू दुवैले यहोवाको न्याय कार्यान्वयन गर्ने काममा भाग लिन्छन्‌। मसीहीजगतका लागि ध्वंसात्मक आगो र धिक्कारको अग्रिमसूचना दिने धुवाँबाट सलहहरू बाहिर निस्कन्छन्‌; घोडाहरूको मुखबाट आगो, धुवाँ र गन्धक निस्कन्छ। सलहहरूले छातीमा फलामको कवच लगाएका थिए। तिनीहरूको हृदयलाई धार्मिकताप्रतिको अटल भक्‍तिले सुरक्षित राखेको छ भनी यसबाट बोध हुन्थ्यो। घोडचढीहरूले रातो, नीलो र पहेंलो रङ्‌गका छातीपाताहरू लाउँछन्‌। यिनले ती घोडाहरूको मुखबाट जोडसित निस्कने घातक न्याय सन्देशहरूको आगो, धुवाँ र गन्धकलाई प्रतिबिम्बित गर्छन्‌। (उत्पत्ति १९:२४, २८-सित तुलना गर्नुहोस्‌; लूका १७:२९, ३०) सलहहरूको पुच्छरले पिरोल्न सक्थ्यो। तर घोडाहरूको सर्पजस्तै पुच्छरहरूले चाहिं मानिसहरूलाई मारी दिन सक्छन्‌! मानौं सलहहरूले थालेको कामलाई घोडचढीहरूले पूर्णतया सिध्याउनु परेको छ।

९. घोडचढीहरूको फौजले केलाई चित्रित गर्छ?

अतः यी घोडचढीहरूको फौजले केलाई चित्रित गर्छ? यूहन्‍नावर्गले मसीहीजगतको विरुद्धमा ‘चिल्ने र पिरोल्ने’ अधिकारका साथ यहोवाको न्याय अथवा ईश्‍वरीय बदलाको तुरही फुक्ने काम सुरु गरेको थियो। त्यसरी नै यो ‘मार्ने’ काम अर्थात्‌ मसीहीजगत र उसका पादरीहरू आत्मिक तवरमा मरी सकेका छन्‌। तिनीहरू यहोवाको नजरमा तिरस्कृत भएर अब अनन्त विनाशको “आगोको धूनिमा” फालिनै लागेका छन्‌। सम्पूर्ण महान बेबिलोन नाश हुनै पर्छ। अतः यी कुराहरूको घोषणा गर्न यूहन्‍नावर्गलाई नै चलाइने छ भनी ठान्‍नु मनासिब हो। (प्रकाश ९:५, १०; १८:२, ८; मत्ती १३:४१-४३) तथापि, मसीहीजगतको विनाश हुनुभन्दा अघि यूहन्‍नावर्गले “आत्माको तरवार, परमेश्‍वरको वचन” प्रयोग गर्दै मसीहीजगतको मरणासन्‍न स्थितिलाई उदाङ्‌ग पारिदिन्छ। ‘एक तिहाइ मानिसहरूलाई’ प्रतीकात्मक रूपमा मार्ने निर्देशन ती चार वटा स्वर्गदूतहरू र घोडचढीहरूले दिन्छन्‌। (एफिसी ६:१७; प्रकाश ९:१५, १८) अनि परमेश्‍वरको राज्यका प्रचारकहरूको डरलाग्दो टोली युद्ध गर्न अघि लम्कँदा, प्रभु येशूको रेखदेखअन्तर्गत सुव्यवस्था र ईश्‍वरतान्त्रिक निर्देशन झल्कन्छ।

बीस करोड

१०. कुन अर्थमा बीस करोड घोडचढीहरू छन्‌?

१० तर यी घोडचढीहरूको सङ्‌ख्या बीस करोड कसरी हुन सक्छ? a आज लाखौं लाख राज्य प्रचारकहरू छन्‌। तापनि तिनीहरूको सङख्या करोडौं करोडभन्दा धेरै नै कम छ! तर गन्ती १०:३६-मा मोशाका यी शब्दहरूलाई एकछिन सम्झनुहोस्‌: “हे परमप्रभु, इस्राएलका हजारौं हजार [करोडौं करोड, NW] कहाँ फर्केर आउनुहोस्‌।” (उत्पत्ति २४:६०-सित तुलना गर्नुहोस्‌।) यसको शाब्दिक अर्थ “इस्राएलका करोडौं करोड कहाँ फर्केर” आउनुहोस्‌ हुने थियो। अब त्यतिखेर इस्राएलीहरूको सङ्‌ख्या त २०, ३० लाख मात्र थियो। अतः मोशाको भनाइको तात्पर्य के थियो त? इस्राएलीहरू “आकाशका तारा र समुद्रको किनारको बालुवासरह” अनगन्ती हुनेछन्‌ भनेर उनलाई निःसन्देह थाह थियो। (उत्पत्ति २२:१७; १ इतिहास २७:२३) यसैकारण उनले ठूलो तर असीमित सङ्‌ख्यालाई सङ्‌केत गर्न, “करोड” शब्दको प्रयोग गरे। यसैलाई ध्यानमा राख्दै द न्यु इङ्‌गलिश बाइबल-ले पनि यो पदलाई यसरी अनुवाद गरेको छ: “विश्राम लिनुहोस्‌, हे इस्राएलका अनगन्ती हजारौं हजारका प्रभु।” यो अनुवाद युनानी र हिब्रू शब्दकोशअनुसार “करोड” शब्दको एउटा अर्को परिभाषासित पनि मिल्छ। यो अर्को परिभाषा हो “एउटा अनगन्ती भीड,” अथवा “भीड।”—द न्यु थेयर्स ग्रीक इङ्‌गलिश लेक्सीकन अफ द न्यु टेस्टामेन्ट; एन्रर्ड रोबिन्सनद्वारा अनुवादित जेसेनियसको अ हिब्रू एण्ड इङ्‌गलिश लेक्सिकन अफ द ओल्ड टेस्टामेन्ट

११. यूहन्‍नावर्गको सङ्‌ख्या प्रतीकात्मक अर्थमा पनि करोडौं पुग्नका लागि के चाहिन्छ?

११ तथापि, पृथ्वीमा बाँकी रहेका यूहन्‍नावर्गकाहरू १०,०००-मात्र छन्‌ अर्थात्‌ एउटा शाब्दिक करोडभन्दा निकै नै कम। अतः तिनीहरूलाई अनगन्ती घोडचढीहरूसित तुलना गर्नु मिल्छ र? तिनीहरूको सङख्यालाई प्रतीकात्मक रूपमा मात्र करोडौं पार्नका लागि पनि धेरै नै ठूलो सङख्या थप्नु आवश्‍यक पर्नेछ। तर यहोवाको अपार करुणाद्वारा यसो गर्ने प्रबन्ध मिलाइएको छ। कसरी?

१२, १३. सन्‌ १९१८ देखि १९३५-सम्मका कुन कुन ऐतिहासिक गतिविधिहरूले त्यो सङ्‌ख्या बढाउने प्रबन्धलाई सङ्‌केत गरे?

१२ सन्‌ १९१८-देखि १९२२-सम्म यूहन्‍नावर्गले “अहिले जीवित लाखौं कहिले मर्ने छैनन्‌” भन्‍ने आनन्ददायी आशा, पीडित मानवजातिसमक्ष राख्न थाले। मत्ती २५:३१-३४-मा उल्लिखित भेडाहरूले परमेश्‍वरको राज्य अन्तर्गत पृथ्वीमा जीवन पाउने छन्‌ भनेर १९२३-मा जाहेर गरियो। यस्तै आशा १९२७-को अन्तर्राष्ट्रिय सम्मेलनमा विमोचित गरिएको फ्रीडम फर द पिपल्स [मानिसहरूका लागि स्वतन्त्रता] नामक पुस्तिकाद्वारा पनि प्रस्तुत गराइयो। सन्‌ १९३०-को दशकको सुरुसुरुमै यहोनादाबवर्गका धर्मी जनहरू र मसीहीजगतको दुखःद आध्यात्मिक स्थिति देखेर ‘शोक र विलाप गर्ने’ मानिसहरू, पृथ्वीमा जीवनको आशा राख्ने प्रतीकात्मक भेडाहरू सबै उही नै हुन्‌ भनेर देखाइयो। (इजकिएल ९:४; २ राजा १०:१५, १६) यस्ताहरूलाई आधुनिक “शरण-नगरहरू”-तिर निर्देशित गर्दै अगस्त १५, १९३४-को द वाचटावर-ले भन्यो: “यहोनादाबवर्गकाहरूले परमेश्‍वरको तुरहीको आवाज सुनेर अब परमेश्‍वरकै सङ्‌गठनमा भागेर आउने र परमेश्‍वरका जनहरूसित सङ्‌गत गर्ने चेताउनी सुनेका छन्‌ र अब तिनीहरू परमेश्‍वरकै जनहरूसित बस्ने पनि छन्‌।”—गन्ती ३५:६.

१३ यो यहोनादाब वर्गकाहरूलाई संयुक्‍त राज्य अमेरिकाको वाशिङ्‌गटन डी. सी.-मा आयोजित यहोवाका साक्षीहरूको सम्मेलनमा उपस्थित हुने विशेष निम्तो दिइयो। त्यहाँ शुक्रवार मे ३१-को दिन जे. एफ. रदरफर्डले “त्यो ठूलो भीड” भन्‍ने आफ्नो सुप्रसिद्ध भाषण दिए। यस भाषणद्वारा उनले प्रकाश ७:९-को समूह र मत्ती २५:३३-का भेडाहरू सबै पार्थिव आशा राख्ने एउटै समर्पित समूह हुन्‌ भनेर देखाए। भविष्यमा हुने कुराहरूको एउटा अग्रिम झल्को दिंदै त्यतिखेर ८४०-जना नयाँ साक्षीहरूले बप्तिस्मा लिए र तीमध्ये धेरै जना ठूलो भीडका थिए। b

१४. प्रतीकात्मक घोडचढीहरूको आक्रमणमा ठूलो भीडले पनि भाग लिने थियो कि? र सन्‌ १९६३-मा कुन प्रस्तावना पारित गरियो?

१४ सन्‌ १९२२-मा प्रारम्भ गरिएको र १९२७-को टोरन्टो सम्मेलनमा अझ महत्त्व दिइएको यी घोडचढीहरूको आक्रमणमा ठूलो भीडले पनि भाग लिएको छ र? ती चार दूतहरू अर्थात्‌ यूहन्‍नावर्गको निर्देशनअन्तर्गत ठूलो भीडले अवश्‍य भाग लिएको छ! सन्‌ १९६३-मा पृथ्वीभरि ठाउँठाउँमा आयोजित “अनन्त सुसमाचार”-सम्मेलनहरूमा ठूलो भीडले यूहन्‍नावर्गलाई एउटा तहल्का मच्चाउने प्रस्ताव घोषित गर्नमा साथ दिए। “यस संसारले अपूर्व ढङ्‌गमा भूकम्प समान सङ्‌कष्टको सामना गर्नु परेको छ र यसका सारा राजनैतिक सङ्‌गठनहरू र आधुनिक धार्मिक बेबिलोन हल्लिएर चूरचूर हुनेछन्‌” भनेर उक्‍त प्रस्तावनाद्वारा घोषित गरियो। साथै, “हामीले मानिसहरूलाई निष्पक्षतापूर्वक परमेश्‍वरको मसीही राज्य र उहाँका न्यायिक फैसलाहरूको ‘अनन्त सुसमाचार’ घोषित गर्न छाडने छैनौं भन्‍ने निर्णय पनि त्यहाँ गरियो। हुनत, परमेश्‍वरका ती न्यायिक फैसलाहरू उहाँका शत्रुहरूका लागि पीडादायी होलान्‌। तापनि सृष्टिकर्ता परमेश्‍वरलाई आत्मा र सत्यतासाथ ग्रहणयोग्य ढङ्‌गमा उपासना गर्न चाहने सबैको मुक्‍तिका लागि ती न्यायिक फैसलाहरू निश्‍चय कार्यान्वयन हुनेछन्‌।” यो प्रस्तावनालाई पृथ्वीभरि २४ सम्मेलनहरूमा उपस्थित जम्माजम्मी ४५४,९७७ जनहरूले उत्साहपूर्वक अपनाए। यी जनहरूको ९५ प्रतिशतभन्दा बढी सङ्‌ख्या त ठूलो भीड कै थियो।

१५. (क) सन्‌ २००५ मा यहोवाले क्षेत्रमा चलाउनु हुने कार्यशक्‍तिको कति प्रतिशत चाहिं ठूलो भीड थियो? (ख) यूहन्‍नावर्गसित ठूलो भीडको एकतालाई येशूले यूहन्‍ना १७:२०, २१-मा गर्नु भएको प्रार्थनाले कसरी व्यक्‍त गर्छ?

१५ ठूलो भीडले यूहन्‍नावर्गलाई मसीहीजगतमाथि विपत्तिहरू खन्याउने काममा कुनै शर्त बिना साथ दिंदै आएको छ। सन्‌ २००५ मा यहोवाले क्षेत्रमा प्रयोग गर्नु हुने कार्यशक्‍तिको ९९.८ प्रतिशतभन्दा बढी त ठूलो भीड नै थियो। यसका सदस्यहरू हृदयबाटै यूहन्‍नावर्गसित एकताबद्ध छन्‌ र यसबारे येशूले यूहन्‍ना १७:२०, २१-मा यसप्रकार प्रार्थना गर्नु भएको थियो: “म तिनीहरूका निम्ति मात्र बिन्ती गर्दिनँ, तर तिनीहरूका वचनद्वारा मलाई विश्‍वास गर्नेहरूका निम्ति पनि, र तिनीहरू सबै एक होऊन्‌, जसरी हे पिता, तपाईं ममा, औ म तपाईंमा, तिनीहरू पनि हामीमा होऊन्‌, र तपाईंले नै मलाई पठाउनुभयो भनी संसारले विश्‍वास गरोस्‌।” येशूको नेतृत्वमा यूहन्‍नावर्ग अघिअघि बढ्‌दै जाँदा तिनीहरूसित यो जोशिलो ठूलो भीडले पनि इतिहासको सबैभन्दा ध्वंसात्मक घोडचढीहरूको आक्रमणमा भाग लिने गर्छ! c

१६. (क) प्रतीकात्मक घोडाहरूका मुख र पुच्छरहरूको वर्णन यूहन्‍ना कसरी गर्छन्‌? (ख) यहोवाका जनहरूको मुख सेवाका लागि कसरी तयार पारिएका छन्‌? (ग) ‘सर्पका जस्तै तिनीहरूका पुच्छरहरू’ले के लाई चित्रित गर्छ?

१६ घोडचढीहरूको यो फौजलाई युद्धको शस्त्र चाहिन्छ। र यहोवाले त्यो शस्त्र कति राम्ररी उपलब्ध गराइ दिनु भएको छ! यसको वर्णन यूहन्‍नाले गर्छन्‌: “किनकि ती घोडाहरूको शक्‍ति तिनीहरूका मुख र पुच्छरहरूमा रहेछ, किनभने तिनीहरूका पुच्छर, शिरभएका साँपजस्तै रहेछन्‌, र तिनैले हानि गर्दारहेछन्‌।” (प्रकाश ९:१९) यो कामका लागि यहोवाले आफ्ना समर्पित र बप्तिस्माप्राप्त सेवकहरूलाई नियुक्‍त गर्नु भएको छ। उहाँले तिनीहरूलाई ईश्‍वरतान्त्रिक सेवकाई पाठशाला र मण्डलीका अन्य सभाहरूद्वारा वचन प्रचार गर्न सिकाउनु भएको छ। यसले गर्दा तिनीहरूले अधिकारपूर्वक “सिक्नेहरूको बोलीसाथ” बोल्न सक्छन्‌। उहाँले आफ्नो वचन तिनीहरूको मुखमा हालिदिनु भएको छ र तिनीहरूलाई उहाँका न्यायिक फैसलाहरू “घर-घरमा र खुल्लमखुल्ला” सुनाउन पठाउनु भएको छ। (२ तिमोथी ४:२; यशैया ५०:४; ६१:२; यर्मिया १:९, १०; प्रेरित २०:२०) यूहन्‍नावर्ग र ठूलो भीडले आफ्नो पछिपछि चिल्ने खालको समाचार अर्थात्‌ वर्षौंदेखि वितरण गर्दै आइएका करोडौं बाइबल, पुस्तक, पुस्तिका र पत्रिकाहरू छाड्‌दै आएका छन्‌ जसलाई “पुच्छरहरू”सित तुलना गर्न सकिन्छ। यहोवाबाट आउने “हानि”-को समाचार पाउने विरोधीहरूका लागि त यी घोडचढीहरूको फौज साँच्चै नै बीस करोडजस्तै देखिन्छ।—योएल २:४-६-सित तुलना गर्नुहोस्‌.

१७. सरकारी प्रतिबन्धको कारण साहित्य वितरण गर्न नसकिने देशहरूमा पनि के यहोवाका साक्षीहरूले घोडचढीको फौजको आक्रमणमा भाग लिएका छन्‌? व्याख्या गर्नुहोस्‌।

१७ यी घोडचढीहरूको एउटा जोशिलो भाग ती देशहरूमा बस्ने भाइहरू हुन्‌ जहाँ यहोवाका साक्षीहरूको काममाथि सरकारी प्रतिबन्ध लगाइएको छ। ब्वाँसाहरूको बीचमा बस्ने भेडाहरूझैं हाम्रा ती भाइहरू “सर्पझैं चनाखो र ढुकुरझैं सोझो” हुनुपर्छ। तर यहोवाप्रति आज्ञाकारी हुँदै तिनीहरू आफूले देखेका र सुनेका कुराहरूबारे बोल्न बन्द गर्दैनन्‌। (मत्ती १०:१६; प्रेरित ४:१९, २०; ५:२८, २९, ३२) तथापि, वितरण गर्नका लागि तिनीहरूसित थोरै मात्र प्रकाशनहरू हुँदा अथवा हुँदै नहुँदा तिनीहरूले घोडचढीहरूको फौजको आक्रमणमा भाग लिंदैनन्‌ भन्‍नु मिल्छ र? पटक्कै मिल्दैन! बाइबलका सत्य कुराहरू बताउन तिनीहरूसित यहोवाले दिनु भएको मुख र अख्तियार छ। तिनीहरूले अनौपचारिक ढङ्‌गमा तर अनुनयपूर्वक बाइबल अध्ययनहरू सुरु गर्दै थुप्रै ‘मानिसहरूलाई सत्यको मार्गमा डोऱ्‍याउँने गर्छन्‌।’ (दानियल १२:३) तिनीहरूले आफ्नो पछिपछि मानिसहरूलाई पिरोल्ने साहित्यहरू छाड्‌दै आफ्ना पुच्छरहरूले चिल्न त चिल्दैनन्‌। तर यहोवाको प्रमाणीकरण हुने दिनको आगमनबारे कुशलता र विवेकसाथ साक्षी दिंदा तिनीहरूको मुखबाट प्रतीकात्मक आगो, धुवाँ र गन्धक चाहिं निस्कन्छ।

१८. यस घोडचढीहरूको फौजले यो पीडाजनक सन्देशलाई छपाएर त्यसको कति प्रति, कतिवटा भाषाहरूमा वितरण गरेको छ?

१८ अन्य ठाउँहरूमा चाहिं राज्यसम्बन्धी साहित्यद्वारा मसीहीजगतका बेबिलोनी धर्मसिद्धान्तहरू र तौरतरिकाहरूको पर्दाफास भइ नै रहेको छ। आफूले भोग्नु पर्ने सन्ताप उसले प्रतीकात्मक रूपमा भोगी नै रहेकी छे। नविनतम छाप्ने प्रणालीहरू प्रयोग गर्दै घोडचढीहरूको यो ठूलो फौजले सन्‌ २००५ अघिका ६८ वर्षहरूभित्र पृथ्वीका ४५० भन्दा बढी भाषाहरूमा बाइबलहरू, पुस्तकहरू, पत्रिकाहरू र पुस्तिकाहरूको अरबौं प्रति वितरण गरेको थियो! यो सङ्‌ख्या बीस करोडभन्दा निश्‍चय नै कता हो कता ठूलो छ। यी पुच्छरहरूले साँच्चै नै कति साह्रो चिलेको छ!

१९, २०. (क) यी पीडाजनक सन्देशहरूको खास तारो मसीहीजगत भए तापनि मसीहीजगत भन्दा धेरै टाढाका देशहरूमा केहीले के कस्तो प्रतिक्रिया देखाएका छन्‌? (ख) यूहन्‍नाले आम मानिसको प्रतिक्रियालाई कसरी वर्णन गरेका छन्‌?

१९ यो पीडाजनक सन्देशद्वारा ‘एक तिहाइ मानिसहरूलाई’ मार्ने उद्देश्‍य यहोवाको थियो। अतः यो सन्देशको खास तारो मसीही जगत थियो। तर यो सन्देश, मसीहीजगतका देशहरूबाहेक अन्य देशहरूसम्म पनि पुगेको छ जहाँ मसीहीजगतका धर्महरूको कपट कुख्यात छ। यो भ्रष्ट धार्मिक सङ्‌गठन पिरोलिएको देखेर के ती देशका मानिसहरू यहोवाको नजिक आएका छन्‌? धेरै जना आएका छन्‌! मसीहीजगतको नजिकको प्रभाव-क्षेत्रबाहिर बस्ने नम्र र प्रिय मानिसहरूले आलेटाले नगरिकन उचित कदम चालेका छन्‌। तर आम मानिसहरूको प्रतिक्रिया चाहिं यूहन्‍ना यसरी वर्णन गर्छन्‌: “औ यी विपत्तिबाट नमारिएका बाँकी मानिसले तिनीहरूका हातका काममा पश्‍चाताप गरेनन्‌, नता तिनीहरूले भूतहरू, सुन, चाँदी, पीतल, ढुङ्‌गा र काठका मूर्तिहरू पूज्न छोडे, जसले नता देख्छन्‌, न सुन्छन्‌, न हिंडडुल गर्नसक्छन्‌, औ नता तिनीहरू आफैले गरेका हत्या, न जादुगिरी, न व्यभिचार, न चोरीको पश्‍चाताप गरे।” (प्रकाश ९:२०, २१) यस्ता अपश्‍चात्तापी मानिसहरूको मन फिराउन कुनै विश्‍वव्यापी धर्मपरिवर्तन अभियान चलाइने छैन। आफ्ना दुष्ट कार्यहरूमा अटेर भएर त्यसैमा लागिरहने मानिसहरूले यहोवा प्रकट हुने ठूलो दिनमा उहाँबाट प्रतिकूल इन्साफ भोग्नेछन्‌। तर “परमप्रभुको नाउँ लिने [सबै] बचाइनेछ।”—योएल २:३२; भजन १४५:२०; प्रेरित २:२०, २१.

२० हामीले जुन कुरा भर्खरै छलफल गऱ्‍यौं, त्यो दोस्रो विपत्तिको एउटा भाग हो। तर यो विपत्ति सम्पूर्ण रीतिले सिद्धिनुअघि अझ धेरै कुरा हुन बाँकी छ र ती हामीले आउँदा अध्यायहरूमा देख्नेछौं।

[फुटनोटहरू]

a हेन्री बार्कले स्वेटको कमेन्टरी अन रेभलेशन-ले यो “बीस करोड” भन्‍ने सङ्‌ख्याबारे यसप्रकार टिप्पणी गरेको छ: “यसप्रकारको विशाल सङ्‌ख्याको हामीले कुनै शाब्दिक पूर्ति खोज्नु मनासिब छैन र यस निष्कर्षलाई तत्पश्‍चात्‌ दिएको वर्णनले पुष्टि दिन्छ।”

b योभन्दा अघिका ११९-२६-पृष्ठ हेर्नुहोस्‌; यसका साथै, यहोवाका साक्षीहरूद्वारा १९३२-मा प्रकाशित भिन्डिकेशन, बुक थ्री, पृष्ठ ८३-८४-पनि हेर्नुहोस्‌.

c यूहन्‍नाले देखेका यी घोडचढीहरूले सलहहरूले जस्तैगरी “सुनको जस्ता मुकुटहरू” लाएका थिएनन्‌। (प्रकाश ९:७) यो अति नै मनासिब पनि छ किनभने घोडचढीहरूको ठूलो भाग अर्थात्‌ ठूलो भीडले परमेश्‍वरको स्वर्गीय राज्यमा शासन गर्ने आशा राखेको छैन।

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १४९-मा भएको चित्र]

छैटौं तुरहीको आवाजले दोस्रो विपत्तिको घोषणा गर्दछ

[पृष्ठ १५०, १५१-मा भएको चित्र]

चार दूतहरूले इतिहासको सबैभन्दा विशाल घोडचढीहरूको फौजको आक्रमणलाई निर्देशन दिन्छन्‌

[पृष्ठ १५३-मा भएको चित्र]

अनगन्ती घोडचढीहरूको फौजले बाइबलमा आधारित लाखौं प्रकाशनहरूको वितरण गरिसकेको छ

[पृष्ठ १५४-मा भएको चित्र]

बाँकी मानिसहरूले पश्‍चात्ताप गरेनन्‌