सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

नयाँ आकाश र नयाँ पृथ्वी

नयाँ आकाश र नयाँ पृथ्वी

अध्याय ४२

नयाँ आकाश र नयाँ पृथ्वी

१. स्वर्गदूतले यूहन्‍नालाई हजार वर्षको आरम्भतिर लैजाँदा यूहन्‍नाले कुन कुराको वर्णन गर्छन्‌?

 यस महिमायुक्‍त दर्शनलाई अझ प्रष्ट पार्दै स्वर्गदूतले यूहन्‍नालाई हजार वर्षीय शासनको आरम्भमै लैजान्छन्‌। त्यहाँ उनले कुन कुराको वर्णन गर्छन्‌? “अनि मैले नयाँ आकाश र नयाँ पृथ्वी देखें, किनकि पहिलो आकाश र पहिलो पृथ्वी ता बितिहाले, समुद्र ता अब रहँदैरहेनछ।” (प्रकाश २१:१) एउटा अत्यन्तै मनमोहक दृश्‍य देखा पर्छ!

२. (क) नयाँ आकाश र नयाँ पृथ्वीबारे यशैयाले गरेको भविष्यवाणी सा.यु.पू. ५३७-मा पुनःस्थापित यहूदीहरूमाथि कसरी पूरा भयो? (ख) यशैयाको भविष्यवाणीको अझ एउटा पूर्ति हुन बाँकी नै छ भनी हामी कसरी भन्‍न सक्छौं र यो प्रतिज्ञा कसरी पूरा हुन्छ?

यूहन्‍नाको दिनभन्दा सयौं वर्षअघि यहोवाले यशैयालाई यसो भन्‍नु भएको थियो: “हेर म नयाँ आकाश र नयाँ पृथ्वी सृष्टि गर्नेछु, अघिअघिका कुराहरूको सम्झना हुनेछैन, नता ती स्मरणमा आउनेछन्‌।” (यशैया ६५:१७; ६६:२२) यो भविष्यवाणी प्रथम पटक त्यतिखेर पूरा भयो जब विश्‍वासी यहूदीहरू बेबिलोनमा ७० वर्षको कैदपछि सा.यु.पू. ५३७-मा यरूशलेम फर्के। त्यो पुनःस्थापनामा तिनीहरूले “नयाँ आकाश” अर्थात्‌ नयाँ शासन व्यवस्थाअन्तर्गत्‌ “नयाँ पृथ्वी” अर्थात्‌ शुद्ध पारिएको समाज स्थापित गरे। तर यस भविष्यवाणीको अझ अर्को पूर्ति बाँकी नै छ भनी देखाउँदै प्रेरित पत्रुसले यसो भने: “तर उहाँको प्रतिज्ञाबमोजिम हामी नयाँ स्वर्ग र नयाँ पृथ्वीको बाटो हेर्छौं, जसमा धार्मिकताले बास गर्छ।” (२ पत्रुस ३:१३) अब यो प्रतिज्ञा प्रभुको दिनमा पूरा भइरहेको यूहन्‍नाले हामीलाई देखाउँछन्‌: “पहिलो आकाश र पहिलो पृथ्वी” अर्थात्‌ शैतानको सङ्‌गठित रीतिथितिको साथमा त्यो र त्यसका प्रेतहरूबाट प्रभावित शासन व्यवस्था जम्मै बितेर जानेछन्‌। दुष्ट र विद्रोही मानवजातिको अशान्त “समुद्र” पनि रहने छैन। त्यसको ठाउँमा एउटा “नयाँ आकाश र नयाँ पृथ्वी” अर्थात्‌ परमेश्‍वरको राज्य अथवा नयाँ सरकारअन्तर्गत्‌ नयाँ पार्थिव समाज हुनेछ।—प्रकाश २०:११-तुलना गर्नुहोस्‌।

३. (क) यूहन्‍नाले के वर्णन गर्छन्‌ र नयाँ यरूशलेम के हो? (ख) नयाँ यरूशलेम ‘स्वर्गबाट तल’ कसरी ओर्लन्छ?

यूहन्‍ना अझ यसो भन्छन्‌: “अनि मैले परमेश्‍वरका तर्फबाट, पतिको निम्ति दुलही जस्तैगरी सिंगारिएर तयार पारिराखेकी, पवित्र शहर नयाँ यरूशलेम स्वर्गबाट तलतिर झरिरहेको देखें।” (प्रकाश २१:२) नयाँ यरूशलेम ख्रीष्टकी दुलही हो। त्यसमा मृत्युसम्मै विश्‍वासी रहेका र महिमित येशू सँगसँगै राजा तथा पूजारी हुन बिउँताइएका अभिषिक्‍त मसीहीहरू समाविष्ट छन्‌। (प्रकाश ३:१२; २०:६) जसरी पुरातन इस्राएलको राजधानी यरूशलेम थियो त्यसरी नै नयाँ रीतिरिवाजको सरकार पनि यो भव्य नयाँ यरूशलेम र तिनको दुलहाले बनेको हुनेछ। यही नै नयाँ आकाश हो। ‘दुलही स्वर्गबाट तलतिर’ साँच्चै नै ओर्लने होइन। बरु यसरी ओर्लनुको अर्थ पृथ्वीतर्फ ध्यान केन्द्रित गर्नु हो। सारा मानवजातिमाथि धार्मिक सरकार सञ्चालन गर्नमा थुमाको दुलहीले उहाँलाई वफादारीसाथ मदत दिने छिन्‌। नयाँ पृथ्वीका लागि यो वास्तवमा एउटा ठूलो आशिष्‌ हो!

४. परमेश्‍वरले अब कुन प्रतिज्ञा गर्नुहुन्छ जो भर्खरै सङ्‌गठित इस्राएली जातिसित गरिएको प्रतिज्ञासित मिल्दोजुल्दो छ?

यूहन्‍नाले हामीलाई अझ यसो भन्छन्‌: “औ सिंहासनबाट यसो भन्‍ने एउटा ठूलो आवाज मैले सुनें, ‘हेर, परमेश्‍वरको बासस्थान मानिसहरूसँग भएको छ। उहाँ तिनीहरूसँग बास गर्नुहुनेछ र तिनीहरू उहाँका मानिसहरू हुनेछन्‌। औ परमेश्‍वर आफै तिनीहरूसँग भएर तिनीहरूका परमेश्‍वर हुनुहुनेछ।’ ” (प्रकाश २१:३) यहोवाले त्यतिखेरको नयाँ इस्राएली राष्ट्रसित वाचा बाँध्नुहुँदा यो प्रतिज्ञा गर्नु भएको थियो: “म तिमीहरूलाई घृणा नगरी तिमीहरूकै बीचमा बास गर्नेछु। म तिमीहरूका बीचमा हिंडडुल गर्नेछु, र म तिमीहरूका परमेश्‍वर हुनेछु, औ तिमीहरू चाहिं मेरा प्रजा हुनेछौ।” (लेवी २६:११, १२) अब यस्तै प्रकारको प्रतिज्ञा यहोवाले फेरि विश्‍वासी मानवहरूसित गर्दै हुनुहुन्छ। हजार वर्षीय न्यायको दिनमा तिनीहरू उहाँका निम्ति अति नै प्रिय जनहरू बन्‍नेछन्‌।

५. (क) सहस्र वर्षीय राज्यमा परमेश्‍वर मानिसजातिसित कसरी बास गर्नु हुनेछ? (ख) हजार वर्षीय राज्यपछि परमेश्‍वर मानिसजातिसित कसरी बास गर्नु हुनेछ?

सहस्र वर्षीय राज्यमा मानिसजातिसित यहोवा एउटा अल्पकालीन प्रबन्धबमोजिम “बास” गर्नु हुनेछ। त्यतिखेर उहाँको शाही पुत्र येशू खीष्टले उहाँको प्रतिनिधित्व गर्नुहुनेछ। तर हजार वर्षको अन्तमा येशूले आफ्नो पितालाई राज्य सुम्पनु भएपछि चाहिं कुनै शाही प्रतिनिधि अथवा मध्यस्थको खाँचो पर्नेछैन। यहोवा आत्मिक तवरमा सधैंका लागि र प्रत्यक्षरूपमा आफ्ना “मानिसहरूसँग” बास गर्नु हुनेछ। (यूहन्‍ना ४:२३, २४ तुलना गर्नुहोस्‌।) यो पुनःस्थापित मानवपरिवारका लागि कस्तो महान विशेषाधिकार हो!

६, ७. (क) यूहन्‍नाले कुन महान प्रतिज्ञा प्रकट गर्छन्‌ र ती आशिषहरू कसले उपभोग गर्नेछन्‌? (ख) आत्मिक र शारीरिक, दुवै प्रकारको प्रमोदवनको वर्णन यशैयाले कसरी गर्छन्‌?

यूहन्‍ना अझ यसो भन्छन्‌: “उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रूवाइ, पीडा फेरि केही हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्‌।” (प्रकाश २१:४) यहाँ हामीलाई पहिलेका प्रेरित प्रतिज्ञाहरूको फेरि सम्झना गराइन्छ। एकताका यशैयाले पनि मृत्यु र शोक नहुने तर दुःखको ठाउँमा हर्ष हुने समयको प्रतीक्षा गर्दथिए। (यशैया २५:८; ३५:१०; ५१:११; ६५:१९) यूहन्‍ना अब किटेर भन्छन्‌ कि ती प्रतिज्ञाहरू हजार वर्षीय न्यायको दिनमा अद्‌भुत रीतिले पूरा हुनेछन्‌। सर्वप्रथम ती आशिष्‌हरूको आनन्द ठूलो भीडले उठाउनेछ। “सिंहासनका बीचमा हुने थुमा”-ले तिनीहरूलाई “जीवनका पानीहरूका फोहोरासम्म” डोऱ्‍याउँदै लैजानु हुनेछ र “परमेश्‍वरले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ।” (प्रकाश ७:९, १७) तर अन्ततः पुनरुत्थान हुने र यहोवाका प्रबन्धहरूमा विश्‍वास गर्ने सबै जना नै त्यहाँ तिनीहरूसित हुनेछन्‌। तिनीहरू सबै मिलेर आध्यात्मिक र भौतिक, दुवै प्रकारको प्रमोदवनको आनन्द उठाउनेछन्‌।

यशैया भन्छन्‌ त्यतिखेर “अन्धाहरूका आँखा खोलिनेछन्‌ र बहिराहरूका कान उघारिनेछन्‌।” हो, “तब लङ्‌गडा मृगझैं उफ्रनेछ, र गूङ्‌गाको जिब्रोले स्तुति गर्नेछ।” (यशैया ३५:५, ६) तब “तिनीहरूले घर बनाएर तिनमा बास गर्नेछन्‌, र तिनीहरूले दाखबारी लगाएर तिनका फल खानेछन्‌। तिनीहरूले बनाएर अरूहरू बस्ने, र तिनीहरूले रोपेर अरूहरूले खाने चाहिं हुनेछैन, किनकि जस्तो रूखको आयु हुन्छ, त्यस्तै मेरो प्रजाको आयु हुनेछ, र छानिएकाहरूले आफ्ना हातले गरेका काम धेरै दिनसम्मै भोग गर्नेछन्‌।” (यशैया ६५:२१, २२) अतः तिनीहरू पृथ्वीबाट उखेलिने छैनन्‌।

८. यी महान प्रतिज्ञाहरूको विश्‍वसनीयताबारे यहोवा स्वयं के भन्‍नुहुन्छ?

यी प्रतिज्ञाहरूमाथि मनन गर्दा हाम्रो मन भव्य अग्रिम झलकहरूले भरिभराउ हुन्छ! स्वर्गको प्रेमपूर्ण शासन व्यवस्थामनि विश्‍वासी जनहरूका लागि अद्‌भुत प्रबन्धहरू गरिएको छ। के यसप्रकारका प्रतिज्ञाहरू पत्यार गर्न गाह्रो लाग्छ? यी प्रतिज्ञाहरू पतमोसको टापुमा निर्वासित एक बूढा मान्छेका कल्पनाहरू मात्र हुन्‌ कि? यसको जवाफ स्वयं यहोवा दिनुहुन्छ: “औ सिंहासनमा विराजमान हुनुहुनेले भन्‍नुभयो, ‘हेर, म सब कुरा नयाँ तुल्याउँछु।’ औ उहाँले भन्‍नुभयो, ‘लेख, किनकि यी कुराहरू विश्‍वासयोग्य र सत्य छन्‌।’ उहाँले मलाई भन्‍नुभयो, ‘ती हुनआएका छन्‌। अल्फा र ओमेगा, आदि र अन्त्य मनै हुँ।’ ”—प्रकाश २१:५, ६क.

९. यी भावी प्रतिज्ञाहरूको पूर्तिलाई किन सम्पूर्णतः निश्‍चित ठान्‍न सकिन्छ?

विश्‍वासी मानवजातिले भविष्यमा उपभोग गर्न पाउने यी आशिषहरूको ग्यारेन्टी पत्रमाथि मानौं यहोवाले स्वयं हस्ताक्षर गर्नु भएको जस्तै छ। र उहाँको ग्यारेन्टीमाथि शङ्‌का कसले गर्न सक्छ र? यहोवाका यी प्रतिज्ञाहरू यति निश्‍चित छन्‌ कि उहाँको नजरमा ती मानौं पूरा भइसकेका अथवा ‘हुन आइसकेका छन्‌।’ के यहोवा नै “अल्फा र ओमेगा” र जो “हुनुहुन्छ, हुनुहुन्थ्यो र हुनआउनु” “सर्वशक्‍तिमान प्रभु परमेश्‍वर” हुनुहुन्‍न र? (प्रकाश १:८) अवश्‍य हुनुहुन्छ। उहाँ स्वयं यो घोषणा गर्नुहुन्छ: “मनै पहिलो र पछिल्लो हुँ, मबाहेक अरू परमेश्‍वर छैन।” (यशैया ४४:६) त्यसो हुनाले नै उहाँले भविष्यवाणीहरू लेख्ने प्रेरणा दिन सक्नुहुन्छ र तिनलाई एकएक गरी पूरा पनि गर्नुहुन्छ। कति विश्‍वासवर्धक! उहाँ प्रतिज्ञा गर्नुहुन्छ: “हेर, म सब कुरा नयाँ तुल्याउँछु।” यी अद्‌भुत कुराहरू साँच्चै नै हुने हुन्‌ वा होइनन्‌, सो शङ्‌का गर्दै बस्नुको सट्टा हामीले विचार गर्नु पर्ने प्रश्‍न त यो हो: ‘यस्ता आशिष्‌हरूको अधिकारी हुनका लागि मैले व्यक्‍तिगत रूपमा के गर्नु पर्छ?’

तिर्खाएकाहरूका लागि “पानी”

१०. यहोवाले कुन “पानी” दिनुहुन्छ र त्यो वास्तवमा के हो?

१० यहोवा स्वयं यो घोषणा गर्नुहुन्छ: “तिर्खाउनेहरूलाई जीवनको पानीको फोहराबाट म सितैंमा दिनेछु।” (प्रकाश २१:६ख) आफ्नो तिर्खा मेटाउन चाहने मानिस प्रथमतः आफ्नो आध्यात्मिक आवश्‍यकताहरूबारे चेतनशील हुनुपर्छ। साथै, यहोवाले दिनु हुने “पानी” स्वीकार्न तयार हुनुपर्छ। (यशैया ५५:१; मत्ती ५:३) तर यो कुन चाहिं “पानी” हो? यसको जवाफ येशूले सामरियामा इनार नजिक एउटी आइमाईलाई साक्षी दिनु हुँदा प्रष्ट पार्नु भयो। उहाँले भन्‍नु भयो: “मैले दिने पानी जसले पिउला त्यो कहिल्यै तिर्खाउनेछैन। तर जुन पानी म त्यसलाई दिनेछु, त्यो पानी त्यसमा अनन्त जीवनसम्म उम्रिरहने पानीको मूल बनिनेछ।” “अनन्त जीवनसम्म उम्रिरहने पानीको [त्यो] मूल” परमेश्‍वरबाट ख्रीष्टद्वारा बग्ने प्रबन्ध हो जसले मानिसजातिलाई सिद्ध जीवन पुनःप्रदान गर्नेछ। ती सामरी आइमाईजस्तै हामी पनि पानीको त्यो मूलबाट आफ्नो तिर्खा मेट्‌ने गरी पिउन कति उत्सुक हुनु पर्ने हो! ती आइमाईजस्तै हामी पनि अरूहरूलाई सुसमाचार सुनाउने उद्देश्‍यले शारीरिक कामकुराहरू त्याग्न तम्तयार हुनुपर्छ!—यूहन्‍ना ४:१४, १५, २८, २९.

विजेताहरू

११. यहोवाले कस्तो प्रतिज्ञा गर्नुहुन्छ र ती शब्दहरू प्रथमतः कसमाथि लागू हुन्छ?

११ त्यो आरामदायी “पानी” पिउनेहरू विजयी पनि हुनुपर्छ। किनकि यहोवा अझ यसो भन्‍नुहुन्छ: “जित्ने यी कुराको हकदार हुनेछ। म त्यसको परमेश्‍वर हुनेछु, र त्यो मेरो छोरो हुनेछ।” (प्रकाश २१:७) यो प्रतिज्ञा र सात मण्डलीहरूलाई पठाइएको सन्देश मिल्दोजुल्दो छ; अतः, यी शब्दहरू सर्वप्रथम अभिषिक्‍त अनुयायीहरूमाथि लागू हुनुपर्छ। (प्रकाश २:७, ११, १७, २६-२८; ३:५, १२, २१) ख्रीष्टका आत्मिक भाइहरूले युगौंदेखि नयाँ यरूशलेमको सहभागी बन्‍ने विशेषाधिकारको बडो उत्सुक्‍तासाथ प्रतीक्षा गर्दै आएका छन्‌। येशूले झैं तिनीहरू पनि विजयी भएमा तिनीहरूको आशा पूरा हुनेछ।—यूहन्‍ना १६:३३.

१२. प्रकाश २१:७-मा उल्लिखित यहोवाको प्रतिज्ञा ठूलो भीडमाथि कसरी पूरा हुनेछ?

१२ यही प्रतिज्ञामाथि जाति जातिहरूबाट लिइएको ठूलो भीडले पनि आस लगाएर बसेको छ। तसर्थ तिनीहरूले पनि जित्नु पर्छ। तिनीहरूले महासङ्‌कष्ट पार नगरुञ्जेल वफादारीसाथ परमेश्‍वरको सेवा गर्नुपर्छ। अनि तिनीहरूले आफ्नो पार्थिव हक अर्थात्‌ ‘जगतको उत्पत्तिदेखि तिनीहरूका लागि तयार गरिएको राज्य’ पाउनेछन्‌। (मत्ती २५:३४) यिनीहरू र हजार वर्षपश्‍चात जाँचमा उत्तीर्ण हुने प्रभुका अरू पार्थिव भेडाहरू सबैलाई “पवित्र जनहरू” भनिन्छ। (प्रकाश २०:९) तिनीहरूले आफ्नो सृष्टिकर्ता यहोवा परमेश्‍वरसित पवित्र र पुत्रानुरूप सम्बन्धको आनन्द उठाउने छन्‌। तिनीहरू उहाँको ब्रह्‍माण्डीय सङ्‌गठनका सदस्यहरू बन्‍नेछन्‌।—यशैया ६६:२२; यूहन्‍ना २०:३१; रोमी ८:२१.

१३, १४. परमेश्‍वरका महान आशिष्‌हरू उपभोग गर्न सक्नका लागि हामी दृढतासाथ के कस्ता कामकुराहरूदेखि अलग्ग बस्नु पर्छ र किन?

१३ यस महान आशालाई सामने राखेर आज यहोवाका साक्षीहरूले शैतानको संसारको दूषित तुल्याउने कुराहरूबाट आफूलाई शुद्ध राख्नु कति आवश्‍यक छ! हामीहरू बलियो, अडिग र आफ्नो फैसलामा स्थिर हुनुपर्छ। नत्रभने शैतानले हामीलाई त्यस ठाउँमा घिसार्दै लैजानेछ जसको वर्णन यहोवा स्वयं यी शब्दहरूमा गर्नुहुन्छ: “तर डराउनेहरू, विश्‍वास नगर्नेहरू, घिनलाग्दाहरू, ज्यानमाराहरू, व्यभिचारीहरू, जादूगरहरू, मूर्तिपूजकहरू र सबै झूट बोल्नेहरूको भाग आगो र गन्धक बलेको कुण्डमा हुनेछ, जो दोस्रो मृत्यु हो।” (प्रकाश २१:८) हो, भावी विजेताले यो पुरानो संसारलाई दूषित पार्ने कामकुराहरूबाट आफूलाई अलग राख्नु पर्छ। हर दबाब र परीक्षाहरूको सामु विश्‍वासी भएर उनी विजयी हुनुपर्छ।—रोमी ८:३५-३९.

१४ मसीहीजगतले ख्रीष्टको दुलही हुने दाबी गरे तापनि यहाँ यूहन्‍नाद्वारा वर्णित घृणास्पद कुराहरू सबै उसमा पाईन्छन्‌। त्यसैकारण ऊ पनि बेबिलोनको बाँकी भाग सँगसँगै सदाका लागि नष्ट हुन्छ। (प्रकाश १८:८, २१) सोही कुकर्महरू गर्ने अथवा गर्न प्रोत्साहन दिने अभिषिक्‍त अथवा ठूलो भीडका जनहरूले पनि अनन्त विनाशै भोग्नेछन्‌। यस्तो गतिविधिको पछि लागि नै रहेमा तिनीहरू ईश्‍वरका प्रतिज्ञाहरूको हकदार हुनेछैनन्‌। नयाँ पृथ्वीमा यस्ता कामहरू फेरि शुरू गर्न खोज्नेहरू तुरुन्तै नष्ट हुनेछन्‌। पुनरुत्थानको कुनै आशा बिना तिनीहरूले दोस्रो मृत्यु भोग्नु पर्नेछ।—यशैया ६५:२०.

१५. विजेताहरूमध्ये उल्लेखनीय को को हुन्‌ र कुन दर्शनका साथ प्रकाशको पुस्तक एउटा सर्वोत्कृष्ट चरमोत्कर्षमा पुग्छ?

१५ विजेताहरूमध्ये प्रमुख थुमा, येशू ख्रीष्ट हुनुहुन्छ र उहाँको साथमा उहाँकी दुलही अर्थात्‌ १,४४,००० जनहरूले बनेको नयाँ यरूशेलम पनि उल्लेखनीय छ। अतः नयाँ यरूशलेमकै एउटा सर्वोत्कृष्ट दर्शनका साथ प्रकाशको पुस्तक पनि समाप्त हुनु अति नै उपयुक्‍त हो! यूहन्‍नाले अब एउटा अन्तिम दृश्‍यको वर्णन गर्छन्‌।

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ ३०२-मा भएको चित्र]

नयाँ पार्थिव समाजमा सबैका लागि आनन्ददायी काम र सङ्‌गति हुनेछ