सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

नयाँ विजयगान गाउनु

नयाँ विजयगान गाउनु

अध्याय २९

नयाँ विजयगान गाउनु

दर्शन ९—प्रकाश १४:१-२०

विषय: सियोन डाँडामा थुमासित १,४४,०००-जनहरू छन्‌; पृथ्वीभरि स्वर्गदूतहरूद्वारा उद्‌घोषणाहरू गरिन्छन्‌; फसलहरू काटिन्छ

पूर्ति समयावधि: १९१४-देखि महा सङ्‌कष्टसम्म

१. प्रकाश ७, १२ र १३-औं अध्यायहरूबारे हामीले के सिकिसकेका छौं र अब अझ के सिक्नेछौं?

 यूहन्‍नाको अब अर्को दशर्न कति आरामदायी छ! अजिङ्‌गरको घीनलाग्दा जनावररूपी सङ्‌गठनहरूको सट्टा हामी प्रभुको दिनमा यहोवाका भक्‍त जनहरू र तिनीहरूका गतिविधिहरू देख्छौं। (प्रकाश १:१०) प्रकाश ७:१,-बाट हामीले बुझिसकेका छौं कि पूरै १,४४,००० अभिषिक्‍त दासहरूमाथि परमेश्‍वरको छाप नलागुञ्जेलसम्म चार बतासहरूलाई रोकेर राखिएको छ। यस समयावधिमा अजिङ्‌गर तथा शैतानको विशेष तारो “स्त्रीको बाँकी सन्तान” बन्‍ने छन्‌ भनी हामीले प्रकाश १२:१७-बाट थाह पाएका छौं। अनि यहोवाका विश्‍वासी सेवकहरूमाथि कडा दबाब र क्रूर सतावट ल्याउनका लागि शैतानले खडा गरेका राजनैतिक सङ्‌गठनहरूको ज्वलन्त वर्णन प्रकाश १३-औं अध्यायमा गरिएको छ। तर यो महा शत्रुले परमेश्‍वरको उद्देश्‍यलाई रोक्न सक्ने छैन! शैतानको यो द्वेषपूर्ण गतिविधिको बावजूद जम्मै १,४४,०००-जनहरू सफलतापूर्वक जम्मा गराइन्छन्‌।

२. प्रकाश १४:१-मा हामीलाई यूहन्‍नाले कुन आनन्दमय समापनको अग्रिम झल्को दिन्छन्‌ र थुमा को हुन्‌?

त्यो आनन्दमय परिणामको अग्रिम झल्को यूहन्‍ना र आजको यूहन्‍नावर्गलाई दिइन्छ: “अनि मैले देखें, र हेर, सियोन डाँडामा थुमा खडा हुनुहुन्थ्यो, र उहाँको साथमा उहाँको नाउँ र उहाँको पिताको नाउँ तिनका निधारमा लेखिएका एक लाख चवालीस हजार थिए।” (प्रकाश १४:१) यी थुमा उही माइकल हुन्‌ जसले स्वर्गलाई सफा पार्दै त्यहाँबाट दियाबल र त्यसका प्रेतहरूलाई हटाइ दिएका थिए। उनी उही माइकल हुन्‌ जो अब दानियलको व्याख्याअनुसार यहोवाको धार्मिक न्याय कार्यान्वयन गर्नका लागि “[परमेश्‍वरका] जनहरूका पुत्रहरूको खातिर खडा” भएका छन्‌। (दानियल १२:१, NW; प्रकाश १२:७, ९) परमेश्‍वरका यी आत्मत्यागी थुमा १९१४-देखि सियोन डाँडामा मसीही राजाको हैसियतमा खडा हुनु भएको छ।

३. त्यो “सियोन डाँडा” के हो जहाँ थुमा र १,४४,०००-जनहरू “उभिएका” छन्‌?

यी जम्मै कुरा यहोवाले गर्नु भएको अग्रिमवाणी बमोजिम नै भएको छ: “मैले आफ्नो पवित्र डाँडा सियोनमा आफ्नै राजालाई स्थापित गरेको छु।” (भजन २:६; ११०:२) यस अग्रिमवाणीले पार्थिव सियोन डाँडा अर्थात्‌ पार्थिव यरूशलेमको भौगोलिक स्थानलाई जनाउँदैन जहाँबाट दाऊदको घरानाका मानव राजाहरूले राज्य गर्थे। (१ इतिहास ११:४-७; २ इतिहास ५:२) किनकि सा.यु. ३३-मा येशूको मृत्यु र पुनरुत्थानपछि उहाँ स्वर्गीय सियोन डाँडामा मूल ढुङ्‌गो नियुक्‍त हुनु भयो। यो त्यो ईश्‍वरीय स्थान हो जहाँ यहोवाले “जीवित परमेश्‍वरको शहर, स्वर्गीय यरूशलेम” स्थापित गर्ने फैसला गर्नु भयो। अतः “सियोन पवर्तले” यहाँ येशू र स्वर्गीय यरूशेलम अर्थात्‌ परमेश्‍वरको राज्यमा सामेल हुने उहाँका साझे हकवालाहरूको उच्च स्थानलाई प्रतिनिधित्व गर्छ। (हिब्रू १२:२२, २८; एफिसी ३:६) प्रभुको दिनमा यहोवाले तिनीहरूलाई त्यो महिमावान र शाही स्थान प्रदान गर्नु हुनेछ। बितेका शतब्दियौंदेखि यी अभिषिक्‍त मसीहीहरू अर्थात्‌ “जीवित पत्थरहरू”ले महिमायुक्‍त प्रभु येशूसित उहाँको गौरवशाली राज्यमा एकत्रित भएर सोही स्वर्गीय सियोन डाँडामा खडा हुने बाटो हेर्दै आएका थिए।—१ पत्रुस २:४-६; लूका २२:२८-३०; यूहन्‍ना १४:२, ३.

४. जम्मै १,४४,०००-जनहरू सियोन डाँडामा एकसाथ कसरी उभिन सकेका छन्‌?

यूहन्‍नाले येशूलाई मात्र देख्दैनन्‌। स्वर्गीय राज्यका १,४४,००० साझे हकवालाहरूको सम्पूर्ण समूहलाई नै उनले सियोन डाँडामा उभिएका देख्छन्‌। दर्शनमा सङ्‌केत गरिएको समयावधिसम्म ती १,४४,०००-जनहरूमध्येका धेरै जना स्वर्गमा पुगिसकेका भए तापनि सबै चाहिं पुगेका हुँदैनन्‌। ती पवित्र जनहरूमध्येका केहीले अझ पनि धैर्य धारण गर्न र मृत्युसम्मै विश्‍वासी हुन बाँकी छ भनी यूहन्‍नालाई अलिक बेरपछि सोही दर्शनबाट थाह लाग्छ। (प्रकाश १४:१२, १३) तसर्थ, यी १,४४,०००-का केही जनहरू अझ पनि पृथ्वीमै हुन्छन्‌। तर यसो हो भने, यूहन्‍नाले ती जम्मै जनालाई येशूसित सियोन डाँडामा उभिएको कसरी देख्छन्‌? a किनभने अभिषिक्‍त मसीहीहरूको मण्डलीका सदस्यहरूको हैसियतमा तिनीहरू “सियोन डाँडामा, स्वर्गीय यरूशलेम अर्थात्‌ जीवित परमेश्‍वरको शहरमा . . . आएका” छन्‌। (हिब्रू १२:२२) जसरी पावल पृथ्वीमा छँदा नै उनलाई ख्रीष्ट येशूसित स्वर्गीय स्थानमा बस्न आत्मिक तवरमा बिउँताइएको थियो, त्यसरी नै ती अभिषिक्‍त मसीहीहरू पनि बिउँतिसकेका छन्‌। (एफिसी २:५, ६) यसबाहेक, १९१९-मा तिनीहरूले “यता माथि आऊ” भन्‍ने निम्तो स्वीकारेका थिए र तिनीहरू प्रतीकात्मक रूपमा “बादलमा स्वर्गतिर” गएका थिए। (प्रकाश ११:१२) यी पदहरूलाई ध्यानमा राख्दा हामी बुझ्न सक्छौं कि जम्मै १,४४,०००-जना—आत्मिक तवरमा—अब येशू ख्रीष्टसित सियोन डाँडामा छन्‌।

५. ती १,४४,०००-जनहरूका निधारहरूमा कसका नाउँहरू लेखिएका छन्‌ र प्रत्येक नाउँको महत्त्व के हो?

यी १,४४,०००-जनहरूले जङ्‌गली जनावरका उपासकहरू अर्थात्‌ प्रतीकात्मक ६६६ सङख्या थाप्नेहरूसित केही सम्बन्ध राख्तैनन्‌। (प्रकाश १३:१५-१८) बरु यी भक्‍त जनहरूको निधारमा परमेश्‍वरको नाउँ र थुमाको नाउँ लेखिएको हुन्छ। यहूदी भएको हुनाकारण यूहन्‍नाले हिब्रू भाषामा परमेश्‍वरको नाउँ יהוה b निश्‍चय पढ्‌न सके। येशूको पिताको नाउँ आफ्नो निधारमा प्रतीकात्मक रूपमा लेखिनुको अर्थ यी छानिएका जनहरूले तिनीहरू यहोवाका साक्षीहरू तथा उहाँकै दासहरू हुन्‌ भनी सबैलाई जनाउ दिनु हो। (प्रकाश ३:१२) तिनीहरूका निधारहरूमा येशूको पनि नाउँ हुनुको अर्थ तिनीहरूले उहाँलाई पनि आफ्नो मालिक स्वीकार्नु हो। भविष्यमा उहाँ तिनीहरूको “पति” हुनु हुनेछ। तिनीहरू उहाँको भावी “दुलही” अर्थात्‌ “नयाँ सृष्टि” हुन्‌। तिनीहरू स्वर्गीय जीवन पाउने आशा सामने राखी परमेश्‍वरको सेवा गर्छन्‌। (एफिसी ५:२२-२४; प्रकाश २१:२, ९; २ कोरिन्थी ५:१७) यहोवा र येशू ख्रीष्टसित तिनीहरूको घनिष्ठ सम्बन्धको प्रभाव तिनीहरूको सबै सोचविचार र गतिविधिमा देख्न सकिन्छ।

नयाँ गीतजस्तै गाएको

६. कुन गीत गाएको आवाज यूहन्‍नाले सुन्छन्‌ र त्यसको वर्णन उनी कसरी गर्छन्‌?

यसैअनुरूप यूहन्‍ना यो व्याख्या गर्छन्‌: “औ मैले धेरै पानीहरूको सोरजस्तो र ठूलो गर्जनको सोरजस्तो स्वर्गबाट एउटा आवाज सुनें, औ मैले सुनेको त्यो सोर वीणा बजाउनेहरूले बजाइरहेका वीणाहरूको जस्तो थियो। सिंहासनको अगाडि र ती चार जीवित जीवात र धर्म-गुरुहरूका अगाडि तिनीहरूले एउटा नयाँ गीतजस्तै गाउँदारहेछन्‌, औ पृथ्वीबाट किनिएका अर्थात्‌ एक लाख चवालीस हजारले बाहेक कसैले त्यो गीत सिक्नसक्‍तैन थियो।” (प्रकाश १४:२, ३) यी १,४४,०००-जनहरू मिलेर गाएको यो सुमधुर समूहगान सुन्दा यूहन्‍नालाई विशाल झर्नाहरूको झन्कार र घनघोर बादलहरूको घनघन याद आउँछ। वीणाको जस्तै त्यो सुस्पष्ट धुन कति मीठो छ! (भजन ८१:२) त्यो प्रतीभाशाली समूहगानको भव्यतालाई पृथ्वीको अर्को कुन समूह गानले छुन सक्थ्यो र?

७. (क) प्रकाश १४:३-को नयाँ गीत के हो? (ख) भजन १४९:१-को गीत हाम्रो समयका लागि कुन अर्थमा नयाँ हुन गएको छ?

तर यो “नयाँ गीत” हो के? प्रकाश ५:९, १० छलफल गर्दा हामीले देख्यौं कि आत्मिक इस्राएललाई “राज्य र पूजारी तुल्याउने” यहोवाका राजकीय उद्देश्‍यहरू र येशू ख्रीष्टद्वारा उपलब्ध हुने अद्‌भुत प्रबन्धहरूसित यो गीत सम्बन्धित छ। यो नयाँ गीत यहोवाको जयजयकारमा गाइने एउटा प्रशंसागान हो जसबाट परमेश्‍वरको इस्राएलका लागि र परमेश्‍वरको इस्राएलद्वारा यहोवाले गर्नु हुने नयाँ कुराहरू प्रकाशित हुन्छ। (गलाती ६:१६) आत्मिक इस्राएलका सदस्यहरूले भजनरचयिताको यो निम्तोलाई स्वीकार्छन्‌: “परमप्रभुको प्रशंसा गर। परमप्रभुको निम्ति एउटा नयाँ भजन गाओ, र भक्‍त जनहरूको सभामा उहाँको प्रशंसा गर। आफ्नो सृष्टिकर्तामा इस्राएल रमाऊन्‌, सियोनका छोराहरू आफ्ना राजामा आनन्दित होऊन्‌।” (भजन १४९:१, २) हुन त ती शब्दहरू शताब्दियौंअघि लेखिएका थिए। तर हाम्रा दिनहरूमा तिनलाई नयाँ समझका साथ गाइएको छ। १९१४-मा मसीही राज्यले जन्म लियो। (प्रकाश १२:१०) १९१९-मा यहोवाका जनहरूले “राज्यको वचन”लाई पृथ्वीमा नयाँ जोशका साथ घोषणा गर्न थाले। (मत्ती १३:१९) सन्‌ १९१९-मा प्रयोग गरेको वार्षिक पदद्वारा (यशैया ५४:१७) प्रेरित हुँदै र आत्मिक प्रमोदवनमा आफ्नो पुनःस्थापनाको कारण प्रोत्साहित भएर तिनीहरूले सोही साल ‘प्रभुको निम्ति आफ्नो हृदयले गाउन र बजाउन’ थाले।—एफिसी ५:१९.

८. प्रकाश १४:३-को नयाँ गीतलाई किन १,४४,०००-जनहरूले मात्र सिक्न सक्छन्‌?

तर प्रकाश १४:३-मा उल्लिखित गीतलाई किन १,४४,०००-जनहरूले मात्र सिक्न सक्छन्‌? किनभने तिनीहरू मात्र परमेश्‍वरको राज्यका हकवाला हुन छानिएका छन्‌ र तिनीहरूकै अनुभवहरूसित यो गीत सम्बन्धित छ। तिनीहरू मात्र परमेश्‍वरका धर्मपुत्रहरू बनाइएका र पवित्र आत्माले अभिषिक्‍त गरिएका छन्‌। स्वर्गीय राज्यको सहभागी हुन तिनीहरू मात्र पृथ्वीबाट किनिएकाहरू हुन्‌। मानिसजातिलाई सिद्धता प्राप्त गर्ने मदत दिनका लागि तिनीहरूले मात्र येशू ख्रीष्टसित “राजा र पूजाहारी” भएर हजार वर्षसम्म राज्य गर्नेछन्‌। साक्षात यहोवाकै उपस्थितिमा तिनीहरूले मात्र ‘नयाँ गीतजस्तै गाएको’ देखिन्छ। c यी अनुपम अनुभवहरू र प्रत्याशाहरूको कारण तिनीहरूले मात्र राज्यको खास मूल्याङ्‌कन गर्न सक्छन्‌ र त्यसबारे अरू कसैले न सक्ने एउटा खास ढङ्‌गमा गाउन सक्छन्‌।—प्रकाश २०:६; कलस्सी १:१३; १ थिस्सलोनिकी २:११, १२.

९. अभिषिक्‍त जनहरूले गाएको गीत सुनेर ठूलो भीडले के प्रतिक्रिया व्यक्‍त गरेका छन्‌ र यसप्रकार तिनीहरूले कुन चाहिं आग्रह पूरा गरेका छन्‌?

तथापि तिनीहरूले गाएको सुनेर अरूहरू पनि उत्प्रेरित हुन्छन्‌। तिनीहरूको यो विजयगानलाई १९३५-देखि अरू भेडाहरूको बढ्‌दो ठूलो भीडले पनि सुनेको छ। तिनीहरूसित स्वरमा स्वर मिलाएर यी ठूला भीडकाहरूले पनि परमेश्‍वरको राज्यको उद्‌घोषणा गर्ने प्रेरणा पाएका छन्‌। (यूहन्‍ना १०:१६; प्रकाश ७:९) हुन त यी नयाँ आगन्तुकहरूले त्यो नयाँ गीत परमेश्‍वरको राज्यका भावी शासकहरूले जस्तै गरी गाउन सक्‍तैनन्‌। तापनि तिनीहरूले यहोवाको प्रशंसामा एउटा सुमधुर सामूहिकगान चाहिं गाउन सक्छन्‌। यहोवाले गर्नु भइरहेका नयाँ कुराहरूका लागि यो पनि एउटा स्तुतिगान हुन जान्छ। तिनीहरूले पनि भजनरचयिताको यो आग्रहलाई पूरा गर्छन्‌: “परमेश्‍वरको निम्ति एउटा नयाँ भजन गाओ। हे सारा पृथ्वी, परमप्रभुकै निम्ति गाओ। परमप्रभुको निम्ति गाओ, उहाँको नाउँलाई धन्य भन। दिनहुँ उहाँले दिनुभएको उद्धार प्रचार गर। उहाँको महिमाको वर्णन जाति जातिका बीचमा गर। सारा मानिसहरूका बीचमा उहाँका अचम्मका कामहरू वर्णन गर। हे विभिन्‍न जातिका मानिस हो, परमप्रभुलाईनै महिमा र शक्‍ति देओ। जाति जातिहरूका बीचमा भन, ‘परमप्रभुले राज्य गर्नुहुन्छ।’ ”—भजन ९६:१-३, ७, १०; ९८:१-९.

१०. यी १,४४,०००-जनहरूलाई प्रतीकात्मक २४ प्राचीनहरूको “अगाडि” गाउन कसरी सम्भव छ?

१० तर ती २४ प्राचीनहरूले स्वर्गमा महिमा प्राप्त १,४४,०००-लाई नै चित्रित गरेको हुनाकारण, यी १,४४,००० जनहरू ती प्राचीनहरूको “अगाडि” कसरी गाउन सक्छन्‌? प्रभुको दिनको सुरुसुरुमा “ख्रीष्टमा मर्नेहरू”लाई आत्मिक व्यक्‍तिहरूको रूपमा बिउँताइयो। यसकारण, विजयप्राप्त विश्‍वासी अभिषिक्‍त मसीहीहरू अब स्वर्गमा छन्‌। त्यहाँ तिनीहरूले प्रतीकात्मक रूपमा त्यो काम गरिरहेका छन्‌। यस कामलाई पूजारीरूपी २४ वर्गीय प्राचीनहरूले गर्ने कामसित तुलना गर्न सकिन्छ। तिनीहरू यहोवाको स्वर्गीय सङ्‌गठनको दर्शनमा सम्मिलित छन्‌। (१ थिस्सलोनिकी ४:१५, १६; १ इतिहास २४:१-१८; प्रकाश ४:४; ६:११) यसकारण १,४४,०००-का शेष जनहरू जो अझ पनि पृथ्वी मै छन्‌, तिनीहरूले त्यो नयाँ गीत पुनरुत्थानद्वारा स्वर्गमा पुगिसकेका आफ्ना भाइहरूका सामु अथवा ती भाइहरूले देख्नेगरि गाइरहेछन्‌।

११. यी अभिषिक्‍त विजेताहरूलाई कहिले २४ प्राचीनहरू र कहिले चाहिं १,४४,००० भनेर किन सम्बोधन गरिन्छ?

११ तर यहाँ हामीले के सोध्न सक्छौं भने, यी विजेताहरूलाई प्रतीकात्मक २४ प्राचीनहरू र साथै १,४४,०००-जनहरू पनि भनेर किन सम्बोधन गरिएको छ? किनभने प्रकाशको पुस्तकले यो एउटै समूहको दुइटा बेग्लाबेग्लै पक्ष प्रस्तुत गर्छ। उदाहरणका लागि, २४ जना प्राचीनहरू, स्वर्गमा राजा र पूजारीहरूको रूपमा सधैं नै यहोवाको सिंहासन वरिपरि तिनीहरूको आफ्नो खास ठाउँमा देखा पर्छन्‌। तिनीहरूले १,४४,०००-जनहरूका सम्पूर्ण समूहलाई आफ्नो स्वर्गीय स्थानमा उभिएको चित्रित गर्छन्‌। यद्यपि तिनीहरूमध्येका केही जनहरू अझ पनि पृथ्वी मै छन्‌। (प्रकाश ४:४, १०; ५:५-१४; ७:११-१३; ११:१६-१८) तथापि, प्रकाश ७-अध्यायले चाँहि १,४४,०००-जनहरू मानिसजातिबाट किनिएको कुरामाथि ध्यान केन्द्रित गर्छ। आत्मिक इस्राएलका जम्मै सदस्यहरूमाथि आफ्नो छाप लाउने र एउटा अनगन्ती ठूलो भीडलाई मुक्‍ति दिने यहोवाको महान उद्देश्‍यमाथि यस अध्यायले जोड दिन्छ। तर प्रकाशको १४-औं अध्यायमा चाहिं एउटा यस्तो चित्र प्रस्तुत गरिएको छ जसबाट राज्य वर्गका जम्मै १,४४,००० विजेताहरू सियोन डाँडामा थुमासित एकत्रित हुने कुरा पक्का हुन्छ। यी १,४४,०००-जनहरू मध्ये गनिनका लागि के कस्ता आवश्‍यकताहरू पूरा गर्नु पर्छ, त्यो पनि थाह दिइएको छ र त्यसलाई हामी अब बुझ्नेछौं। d

थुमाका अनुयायीहरू

१२. (क) यूहन्‍नाले १,४४,०००-जनहरूको वर्णन कसरी अघि बढाउँछन्‌? (ख) ती १,४४,०००-जनहरू कुन अर्थमा कुमारीहरू हुन्‌?

१२ “पृथ्वीबाट किनिएका” १,४४,०००-को आफ्नो वर्णन अगाडि बढाउँदै यूहन्‍ना हामीलाई भन्छन्‌: “स्त्रीहरूसँग नबिटुलिएका यिनै हुन्‌, तिनीहरू कुमारीजस्तै चोखा हुन्‌। थुमा जताजता जानुहुन्छ उहाँका पछिपछि लाग्ने यिनै हुन्‌। यिनीहरू परमेश्‍वरमा र थुमामा पहिला फलहरू हुनालाई मानिसहरूमध्येबाट किनिएका थिए। औ तिनीहरूका मुखमा कुनै झूट थिएन। तिनीहरू निर्दोष छन्‌।” (प्रकाश १४:४, ५) ती १,४४,०००-जनहरू “कुमारीहरू” हुन्‌ भन्‍नुको अर्थ यस वर्गका सदस्यहरू शारीरिक तवरमा अविवाहित छन्‌ भनेको होइन। एक जना मसीहीका लागि अविवाहित रहनु लाभदायक भए तापनि कुनै कुनै परिस्थितिमा चाहिं विवाह गर्नु नै बेस हुनेछ भनेर प्रेरित पावलले स्वर्गीय बोलावट भएका मसीहीहरूलाई लेखेका थिए। (१ कोरिन्थी ७:१, २, ३६, ३७) अतः यस समूहको विशेषता आध्यात्मिक कौमार्य हो। तिनीहरूले सांसारिक राजनीति र झूटो धर्मसित आत्मिक व्यभिचार गरेका छैनन्‌। (याकूब ४:४; प्रकाश १७:५) ख्रीष्टकी विवाहित दुलहीको रूपमा तिनीहरूले “टेढा र बरालिएको पुस्ताका बीचमा” आफूलाई शुद्ध “निष्खोट र सुधा” राखेका छन्‌।—फिलिप्पी २:१५.

१३. ती १,४४,०००-जनहरूलाई येशू ख्रीष्टकी दुलही हुन किन सुहाउँछ र कुन अर्थमा “थुमा जताजता जान्छन्‌, तिनीहरू पनि पछिपछि” लाग्छन्‌?

१३ यसबाहेक, तिनीहरूको मुखमा “कुनै झूट” पाइएन। यस सम्बन्धमा तिनीहरू आफ्नो राजा येशू ख्रीष्ट जस्तै छन्‌। सिद्ध मानिस हुनु हुँदा उहाँले “नता कुनै पाप गर्नुभयो, न उहाँको मुखमा छलको कुरा पाइयो।” (१ पत्रुस २:२१, २२) तसर्थ, निष्खोट र सत्य भएर बसेका यी १,४४,०००-जनहरू यहोवाको प्रधान पूजारीका लागि एउटी शुद्ध दुलहीको रूपमा तयार पारिएका छन्‌। येशू पृथ्वीमा हुनुहुँदा उहाँले राम्रा हृदय हुनेहरूलाई आफ्नो पछि लाग्न निम्ताउनु भयो। (मर्कूस ८:३४; १०:२१; यूहन्‍ना १:४३) यो निम्तो स्वीकार्नेहरूले उहाँको जीवन शैली अनुकरण गरे तथा उहाँका शिक्षाहरू पालन गरे। यसप्रकार तिनीहरू आफ्नो पार्थिव जीवनभरि “थुमा जताजता जानुहुन्छ, उहाँका पछिपछि लाग्ने” गर्छन्‌ र थुमाले पनि तिनीहरूलाई शैतानको यस संसारबीच बाटो देखाउने काम गरी दिनुहुन्छ।

१४. (क) यी १,४४,०००-जनहरू “परमेश्‍वर र थुमाका” निम्ति पहिलो फल कसरी भए? (ख) ठूलो भीड पनि कुन अर्थमा प्रथम फलहरू हुन्‌?

१४ यी १,४४,००० जनहरू “पृथ्वीबाट” तथा “मानिसजातिबाट” किनिएका हुन्‌। तिनीहरूलाई परमेश्‍वरका धर्मपुत्रहरू बनाइएका छन्‌। पुनरुत्थानपछि तिनीहरूले फेरि रगत र मासुको रूप धारण गर्ने छैनन्‌। चौथो पदमा भने झैं तिनीहरू “परमेश्‍वर र थुमाका पहिला फलहरू” हुनेछन्‌। प्रथम शताब्दीमा येशू नै “मर्नेहरूमा पहिलो फल” हुनुहुन्थ्यो। (१ कोरिन्थी १५:२०, २३) तर १,४४,०००-जनहरू चाहिं येशूको बलिदानद्वारा असिद्ध “मानिसजातिबाट किनिएका” “अगौटे फल” हुन्‌। (याकूब १:१८) तापनि, मानिसजातिबाट फलसरह यिनीहरू मात्र जम्मा गरिने होइनन्‌। प्रकाशको पुस्तकले गन्‍नै नसकिने ठूलो भीड भित्र्याउने कुराको सङ्‌केत दिइसकेको छ। त्यो भीडले चर्को स्वरमा यसो भन्छ: “सिंहासनमा विराजमान हुनुहुने हाम्रा परमेश्‍वर र थुमामा मुक्‍ति छ।” यस ठूलो भीडले महा सङ्‌कष्ट पार गर्नेछ। र जसै तिनीहरूले “जीवनका पानीहरूका फोहोराहरू”बाट नयाँ बल लिने छन्‌, तिनीहरू पृथ्वीमा मानव सिद्धता पनि प्राप्त गर्दै जानेछन्‌। महा सङ्‌कष्टको केही समयपछि मानव चिहान रित्तो पारिनेछ। त्यहाँबाट लाखौं अनगन्ती मानिसहरूलाई बिउँताएर जीवनका सोही फोहोराहरूबाट पिउने मौका दिइनेछ। यी कुराहरूलाई ध्यानमा राखेर, ठूलो भीडलाई अरू भेडाहरूमध्येको पहिलो फल ठान्‍नु उचित हुनेछ। किनकि प्रथमतः यिनीहरूले नै पृथ्वीमा सधैंभरि बाँच्ने आशा लिएर ‘आफ्ना लुगाहरूलाई थुमाको रगतमा धोएर सेतो बनाएका छन्‌।’—प्रकाश ७:९, १०, १४, १७; २०:१२, १३.

१५. यी तीन बेग्लाबेग्लै पहिला फलहरू र मोशाको व्यवस्था बमोजिम मनाइने पर्वहरूबीच के समानता पाइन्छ?

१५ यी तीन पहिला फलहरू (येशू ख्रीष्ट, १,४४,००० र ठूलो भीड) र पुरातन मोशाको व्यवस्था अन्तर्गत मनाइने तीनवटा पर्वहरूबीच धेरै नै समानताहरू पाइन्छन्‌। निसान १६-को दिन, अखमिरी चाडको पर्वमा यहोवालाई एक बीटो जौको प्रथम उपज चढाइन्थ्यो। (लेवी २३:६-१४) अब निसान १६-कै दिनमा येशूलाई पनि मृत्युबाट बिउँताइएको थियो। निसान १६-को दिनदेखि ५०-औं दिन अर्थात्‌ तेस्रो महिनामा इस्राएलीहरूले गहुँको प्रथम उपज कटनी गरेको पर्व मनाउने गर्थे। (प्रस्थान २३:१६; लेवी २३:१५, १६) यो पर्वलाई पेन्तिकोस पनि भनिन्थ्यो (“पचासौं” भन्‍ने युनानी शब्दबाट) र सा.यु. ३३-को पेन्तिकोसकै दिनमा १,४४,००० जनहरूका प्रथम सदस्यहरू पवित्र आत्माद्वारा अभिषिक्‍त भए। अन्ततः, सातौं महिनामा जम्मै फसल भित्र्याइदा चाहिं झुप्रो बासको चाड मनाइन्थ्यो। आनन्द र कृतज्ञता व्यक्‍त गर्ने यो पर्वभरि इस्राएलीहरू एक हप्तासम्म खजूर र अन्य रूखका हाँगाहरूले बनाइएका झुप्राहरूमा बस्ने गर्थे। (लेवी २३:३३-४३) यस्तैप्रकार ठूलो फसलको भाग, ठूलो भीडले पनि सिंहासनको अगाडि “हातमा खजूरका हाँगाहरू लिएर” आफ्नो कृतज्ञता व्यक्‍त गर्छन्‌।—प्रकाश ७:९.

अनन्त सुसमाचार घोषित गर्ने

१६, १७. (क) यूहन्‍नाले स्वर्गदूतलाई कहाँ उडिरहेको देख्छन्‌ र यी स्वर्गदूतले के घोषणा गर्दैछन्‌? (ख) राज्यको प्रचार कार्यमा को को सम्मिलित छन्‌ र यस कुरालाई के कस्ता अनुभवहरूले सङ्‌केत गर्छन्‌?

१६ यूहन्‍ना यसपछि लेख्छन्‌: “अनि पृथ्वीमा रहने हरेक जाति, कुल, भाषा र मानिसहरूलाई घोषणा गर्ने अनन्त सुसमाचार साथमा भएका एउटा दूत स्वर्गको बीचमा उडिरहेको देखें। औ तिनले ठूलो सोरले भन्दारहेछन्‌, ‘परमेश्‍वरसँग डराओ, र उहाँलाई महिमा देओ। किनकि उहाँको ठूलो इन्साफको समय आएको छ, र स्वर्ग, पृथ्वी, समुद्र र पानीका मूलहरू बनाउनुहुनेलाई दण्डवत्‌ गर।’ ” (प्रकाश १४:६, ७) यी स्वर्गदूत “स्वर्गको बीचमा” उडिरहेका छन्‌ जहाँ चराहरू उडने गर्छन्‌। (प्रकाश १९:१७-तुलना गर्नुहोस्‌।) यसैकारण उनको आवाज पृथ्वीभरि सुन्‍न सकिन्छ। यी स्वर्गदूतको विश्‍वव्यापी घोषणा टेलिभिजनको कुनै पनि समाचार प्रसारभन्दा कति व्यापक छ।

१७ सबैलाई जङ्‌गली जनावर र त्यसको मूर्तिको होइन, यहोवाको भय मान्‍न आग्रह गरिन्छ। यहोवा अत्यन्त शक्‍तिशाली हुनुहुन्छ। उहाँको तुलना शैतान अधीनस्थ कुनै पनि जनावरसित गर्न मिल्दैन। उहाँले नै स्वर्ग र पृथ्वी सृजनु भयो र अब भने पृथ्वीमाथि इन्साफ गर्ने उहाँको समय आएको छ! (तुलना गनुहोस्‌ उत्पत्ति १:१; प्रकाश ११:१८) येशू पृथ्वीमा हुनु हुँदा उहाँले हाम्रो समयबारे यो भविष्यवाणी गर्नु भएको थियो: “औ राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिनेछ, त्यसपछि अन्त हुनेछ।” (मत्ती २४:१४) यस जिम्मेवारीलाई अभिषिक्‍त मसीहीहरूको मण्डलीले पूरा गरिरहेछ। (१ कोरिन्थी ९:१६; एफिसी ६:१५) तर यस प्रचार कार्यमा अदृश्‍य स्वर्गदूतहरूले पनि भाग लिइरहेको कुरा प्रकाशको पुस्तकबाट यहाँ थाह लाग्दछ। त्यसैकारण त, कुनै पीडित तथा आध्यात्मिक मदतका लागि तृषित र बडो उत्सुकतासाथ प्रार्थना समेत गरिरहेका व्यक्‍तिहरूको घरसम्म यहोवाको साक्षीलाई पुऱ्‍याउनमा स्वर्गदूतको भूमिका कति पटक स्पष्टसित देख्न सकिएको छ!

१८. स्वर्गको बीचमा उडिरहेका स्वर्गदूतअनुसार, के गर्ने घडी आइ पुगेको छ र अझ घोषणाहरू अब कसकसले गर्नेछन्‌?

१८ स्वर्गको बीचमा उडने स्वर्गदूतले घोषणा गरे झैं न्यायको घडी अब आएको छ। परमेश्‍वरले कस्तो न्याय गर्नु हुनेछ? दोस्रो, तेस्रो, चौथो र पाँचौं स्वर्गदूतले गर्ने घोषणाहरू सुनेर मानिसको कान पाक्‌ने छ।—यर्मिया १९:३.

[फुटनोटहरू]

a १ कोरिन्थी ४:८-अनुसार, अभिषिक्‍त मसीहीहरू पृथ्वीमा हुँदा हुँदै राजाहरू भएर शासन गर्न थाल्दैनन्‌। तापनि, प्रकाश १४:३, ६, १२, १३-को प्रसङ्‌गअनुसार, तिनीहरूले आफ्नो पार्थिव जीवन पद्धतिको अन्तसम्मै धैर्य धारण गर्छन्‌ र सुसमाचार प्रचार गरेर नयाँ गीत गाउन भाग लिन्छन्‌।

b यसको पुष्टि अन्य दर्शनहरूमा हिब्रू नाउँहरूको प्रयोगबाट देख्न सकिन्छ; येशूलाई हिब्रू नाउँ “एबाड्डोन” (जसको अर्थ हो “विनाश”) दिइएको छ र उहाँले “हिब्रू भाषामा आर-मागेडोन” भन्‍ने ठाउँमा न्याय कार्यान्वयन गर्नु हुन्छ।—प्रकाश ९:११; १६:१६.

c शास्त्रले “नयाँ गीत जस्तो” भन्छ किनभने अगमवाणी रूपी वचनमा त्यो गीत प्राचीन समयमै लेखिसकिएको थियो। तर त्यसलाई गाउने योग्यको कोही पनि फेला परेको थिएन। तथापि परमेश्‍वरको राज्य स्थापना पश्‍चात्‌ र पवित्र जनहरूको पुनरुत्थान सुरु भएपछि ती भविष्यवाणीहरू वास्तविकतामा परिणत हुन थाले र उक्‍त गीतलाई त्यसको सम्पूर्ण भव्यतासाथ गाउने समय आयो।

d हामी यसको तुलना घरानालाई ठीक ठीक समयमा खाना दिने विश्‍वासी र बुद्धिमान दासको स्थितिसित गर्न सक्छौं। (मत्ती २४:४५) आहार दिने जिम्मेवारी दास समूहको हो। तर त्यो आत्मिक आहारबाट लाभ चाहिं घरानाले उठाउँछन्‌ जो उही समूहका व्यक्‍तिगत सदस्यहरू हुन्‌। तिनीहरू जम्मै एउटै समूह हुन्‌ तर वर्णन मात्र बेग्ला बेग्लै ढङ्‌गमा अर्थात्‌ एउटा सामूहिक र अर्को व्यक्‍तिगत तवरमा गरिएको छ।

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ २०२, २०३-मा भएको चित्र]

१,४४,०००

२४ प्राचीनहरू

थुमा ख्रीष्ट येशूका साझे हकवालाहरूको दुई बेग्लाबेग्लै रूप