सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परमेश्‍वरको इस्राएललाई छाप लगाउने काम

परमेश्‍वरको इस्राएललाई छाप लगाउने काम

अध्याय १९

परमेश्‍वरको इस्राएललाई छाप लगाउने काम

दर्शन ४—प्रकाश ७:१-१७

विषय: १,४४,०००-लाई छाप लगाइएको छ र यहोवाको सिंहासन र थुमाको अगाडि ठूलो भीड उभिएको देखिन्छ

पूर्ति समयावधि: सन्‌ १९१४-मा येशूको राज्यारोहणपछि उहाँको सहस्रवर्षीय शासनसम्म।

१. ईश्‍वरीय क्रोधको ठूलो दिनमा “को खडा हुन सक्छ?”

 “को खडा हुन सक्छ?” (प्रकाश ६:१७) हो, को खडा हुन सक्छ? ईश्‍वरीय क्रोधले शैतानको रीतिरिवाजलाई ध्वस्त पार्दा संसारका शासकहरू र मानिसहरूले सायद उक्‍त प्रश्‍न सोध्नेछन्‌। त्यो आउने विपत्तिमा मानव जीवन नै सखाप होला जस्तो तिनीहरूलाई लाग्नेछ। तर वास्तवमा सखाप हुनेछ र? परमेश्‍वरको अगमवक्‍ताले हामीलाई यो खुसीको आश्‍वासन दिन्छन्‌: “औ परमप्रभुको नाउँ लिने जोसुकै पनि बचाइनेछ।” (योएल २:३२) यस तथ्यलाई प्रेरित पत्रुस र पावलले पनि पुष्टि दिन्छन्‌। (प्रेरित २:१९-२१; रोमी १०:१३) हो, यहोवाको नाउँ लिने जम्मै बाँच्नेछन्‌। यिनीहरू को हुन्‌? आउँदो दर्शनले बताउनेछ।

२. यहोवाको न्यायको दिनमा बाँच्न सक्नु किन अचम्मको कुरा हो?

यहोवाको न्यायको दिनमा कुनै पनि व्यक्‍ति बाँच्न सक्नु ठूलो आश्‍चर्यको कुरा हो। किनकि त्यस दिनको वर्णन परमेश्‍वरको एक जना अर्को अगमवक्‍ताले यसप्रकार गरेका छन्‌: “हेर, परमप्रभुको आँधी! क्रोध उठेको छ, आँधी बेह्री, दुष्टहरूको शिरमा त्यो बज्रिनेछ। जबसम्म उहाँले आफ्नो मनको इच्छा कार्यहरूमा परिणत गर्नुहुन्‍न, तबसम्म परमप्रभुको भयङ्‌कर रीस शान्त हुनेछैन। पछिका दिनहरूमा तिमीहरू यो बुझ्नेछौ।” (यर्मिया ३०:२३, २४) हामीले त्यो आँधीको सामना गर्ने कदम उठाउनु अत्यावश्‍यक छ!—हितोपदेश २:२२; यशैया ५५:६, ७; सपन्याह २:२, ३.

चार वटा बतासहरू

३. (क) स्वर्गदूतहरूले गर्ने कुन विशेष सेवा यूहन्‍नाले देख्छन्‌? (ख) “चार बतास” कुन कुराको प्रतीक हो?

यहोवाको क्रोध दन्कनुअघि स्वर्गका दूतहरूले एउटा खास काम गर्छन्‌। सो काम यूहन्‍नाले अब दर्शनमा देख्छन्‌। “त्यसपछि पृथ्वीमा, अथवा समुद्रमा, अथवा कुनै रूखमा बतास नचलोस्‌ भनेर चार दूतहरू पृथ्वीका चारै बतासलाई रोकेर पृथ्वीका चारकुनामा उभिरहेका मैले देखें।” (प्रकाश ७:१) हाम्रालागि आज यसले के अर्थ राख्छ? यी “चारै बतासहरू” विनाशक न्यायका प्रतीक हुन्‌ जो दुष्ट पार्थिव समाजमाथि, व्यवस्थाहीन मानवीय समाजको “समुद्र”माथि र पृथ्वीका मानिसहरूबाट शक्‍ति र समर्थन चुस्ने ठूल-ठूला रूखहरू समान शासकहरूमाथि बज्रनै लागेका छन्‌।—यशैया ५७:२०; भजन ३७:३५, ३६.

४. (क) चार स्वर्गदूतहरूले के लाई प्रतिनिधित्व गर्छन्‌? (ख) चार वटा बतासलाई छाडी दिएपछि शैतानको पार्थिव सङ्‌गठनमाथि के असर पर्नेछ?

निःसन्देह यी चार दूतहरूले स्वर्गदूतहरूका चार स्वर्गीय वर्गहरूलाई प्रतिनिधित्व गर्छन्‌। तोकिएको समय नआउञ्जेल यहोवाले न्याय कार्यान्वयन गर्नबाट रोक्न उक्‍त दूतहरूको नै प्रयोग गर्नुहुन्छ। तर ती स्वर्गदूतहरूले एकै पटक उत्तर, दक्षिण, पूर्व र पश्‍चिमबाट ईश्‍वरीय क्रोधको आँधी चलाउँदा, जताततै विध्वंस मच्चिनेछ। यो विध्वंस यहोवाले चार वटा बतास प्रयोग गर्दै प्राचीन एलामीहरूलाई तितरबितर र चूरचूर पार्नु हुँदा मच्चेको विध्वंस जस्तै हुनेछ। तर यो चाहिं धेरै नै विस्तृत स्तरमा हुनेछ। (यर्मिया ४९:३६-३८) यहोवाले आम्मोनको राष्ट्रलाई ध्वस्त पार्दा चलाउनु भएको “आँधी बेह्री”-लाई पनि माथ गर्ने तूफानी बतास चल्नेछ। (आमोस १:१३-१५) यहोवाको क्रोधको दिनमा उहाँले सदाका लागि आफ्नो सार्वभौमिकताको प्रमाणिकरण गर्नु हुँदा शैतानी सङ्‌गठनको कुनै पनि भाग यस पृथ्वीमा टिक्न पाउने छैन।—भजन ८३:१५, १८; यशैया २९:५, ६.

५. परमेश्‍वरको न्याय कार्यान्वयनको प्रभाव विश्‍वव्यापी तवरमा हुनेछ भनेर बुझ्न हामीलाई यर्मियाको भविष्यवाणीले कसरी मदत दिन्छ?

तर परमेश्‍वरको न्यायदण्डले सारा पृथ्वीमा नै विध्वंस मच्चाउने छ भनी के हामी निश्‍चित हुन सक्छौं र? यर्मिया अगमवक्‍ता के भन्छन्‌, फेरि सुन्‍नुहोस्‌: “परमप्रभु भन्‍नुहुन्छ, ‘हेर, विपत्ति एक जातिदेखि अर्को जातिसम्मै फैलिंदै जानेछ, पृथ्वीको पल्लो भागदेखि एउटा ठूलो तूफान चल्नेछ। त्यस दिन परमप्रभुले मार्नुभएकाहरू पृथ्वीको एक कुनादेखि अर्को कुनासम्म हुनेछन्‌। तिनीहरूका निम्ति कसैले विलाप गर्नेछैन, नता ती लाशहरूलाई कसैले जम्मा गर्नेछ न गाडनेछ। तिनीहरू जमीनमा मल हुनेछन्‌।” (यर्मिया २५:३२, ३३) यसै तूफानी आँधीबेह्री चलेको बेलामा सारा संसारलाई अन्धकारले ढाक्नेछ। त्यसका शासकीय सङ्‌गठनहरू हल्लिएर लोप हुनेछन्‌। (प्रकाश ६:१२-१४) तर भविष्य सबैका लागि चाहिं अँध्यारो हुनेछैन। ती चार बतासहरू कसका निम्ति रोकेर राखिएका हुन्‌?

परमेश्‍वरका दासहरूमाथि छाप लगाउने

६. चारै बतासलाई रोक्न ती स्वर्गदूतहरूलाई कसले भन्छ र यसो गर्दा कुन काम पूरा गर्न सकिन्छ?

कसै कसैमाथि बचाउको छाप कसरी लगाइन्छ, सो यूहन्‍नाले यसप्रकार व्याख्या गर्छन्‌: “औ मैले अर्को एउटा दूतलाई जीवित परमेश्‍वरको छाप लिएर सूर्योदय हुनेपट्टिबाट उक्लेको देखें, औ पृथ्वी र समुद्रलाई हानि पुर्‌याउने अख्तियार दिइराखेका चारवटा दूतलाई यसो भनेर तिनले ठूलो सोरले भने, ‘हामीले हाम्रा परमेश्‍वरका दासहरूका निधारमा छाप नलगाउञ्जेलसम्म पृथ्वी, समुद्र र रूखहरूमाथि केही हानि नगर।’ ”—प्रकाश ७:२, ३.

७. वास्तवमा, पाँचौं स्वर्गदूत को हुन्‌ र उनलाई चिन्‍ने मदत हामी कुन प्रमाणबाट पाउन सक्छौं?

यी पाचौं स्वर्गदूतको नाउँ त दिएको छैन। तापनि प्राप्त प्रमाणअनुसार उनी महिमित प्रभु येशू नै हुनुपर्छ। किनकि प्रधानदूत येशूले झैं यी स्वर्गदूतले अन्य स्वर्गदूतहरूमाथि अख्तियार चलाएको हामी यहाँ देख्छौं। (१ थिस्सलोनिकी ४:१६; यहूदा ९) यिनी पनि पूर्वबाटै उक्लेर आउँछन्‌, जसरी “सूर्योदयका राजाहरू” यहोवा र उहाँको ख्रीष्ट न्याय कार्यान्वयन गर्न आउनु हुन्छ र जसरी प्राचीन बेबिलोनलाई होंच्याउन राजा दारा र कोरेस पनि आएका थिए। (प्रकाश १६:१२; यशैया ४५:१; यर्मिया ५१:११; दानिएल ५:३१) ख्रीष्टलाई जस्तै यी स्वर्गदूतलाई पनि अभिषिक्‍त मसीहीहरूमाथि छाप लगाउने काम सुम्पिएको छ। (एफिसी १:१३, १४) यसबाहेक, विनाशको बतास चल्न थालेपछि जाति जातिहरूमाथि न्याय कार्यान्वयन गर्नमा अगुवाइ पनि येशूले नै लिनु हुनेछ। (प्रकाश १९:११-१६) अतः परमेश्‍वरका दासहरूमाथि छाप नलागुञ्जेल शैतानको पार्थिव रीतिरिवाजलाई नष्ट नगर्ने आदेश दिने व्यक्‍ति स्वभाविकतः येशूबाहेक अरू कोही हुन सक्‍तैन।

८. छाप लाउने काम के हो र त्यो कहिले सुरु भयो?

यो छाप लगाउने काम के हो र परमेश्‍वरका यी दासहरू को हुन्‌? छाप लगाउने काम सा.यु. ३३-मा पेन्तिकोसको दिनमा सुरु भएको थियो। त्यतिखेर प्रथम यहूदी मसीहीहरूलाई पवित्र आत्माले अभिषेक गरियो। पछि परमेश्‍वरले “अन्यजातिहरूका” मानिसहरूलाई पनि बोलाउनु भएर अभिषिक्‍त गर्नुभयो। (रोमी ३:२९; प्रेरित २:१-४, १४, ३२, ३३; १५:१४) प्रेरित पावलको लेखोटअनुसार अभिषिक्‍त मसीहीहरूले तिनीहरू “ख्रीष्टका हुन्‌” भन्‍ने प्रमाण पाएका छन्‌। साथै, परमेश्‍वरले “हामीमाथि छाप पनि मार्नुभयो र हाम्रो हृदयमा बैनाको रूपमा आत्मा दिनु भयो” भन्‍ने कुरा पनि उनले थपे। (२ कोरिन्थी १:२१, २२; प्रकाश १४:१-सित तुलना गर्नुहोस्‌।) अतः परमेश्‍वरले यी दासहरूलाई धर्मपुत्रको रूपमा अपनाउनु हुँदा तिनीहरूले आफ्नो स्वर्गीय हकको बैना अथवा छाप पनि पाउँछन्‌। (२ कोरिन्थी ५:१, ५; एफिसी १:१०, ११) जसले गर्दा तिनीहरू यसो भन्‍न सक्छन्‌: “हामी परमेश्‍वरका सन्तान हौं भनी आत्मासँग आत्मा आफैले हाम्रा गवाही दिनुहुन्छ। औ सन्तान हौं भनेता हकवाला पनि हौं र ख्रीष्टसँग साझे-हकवाला। यदि उहाँसँगै दुःख भोग्छौं भनेता—उहाँसँगै महिमित पनि हुनेछौं।”—रोमी ८:१५-१७.

९. (क) आत्माद्वारा अभिषिक्‍त परमेश्‍वरका शेष पुत्रहरूले कुन हद्‌सम्म धैर्य धारण गर्नु अनिवार्य छ? (ख) अभिषिक्‍त जनहरूको जाँच कहिलेसम्म चलिरहनेछ?

“उहाँसँगै दुःख भोग्छौं भनेता”—यसको अर्थ के हो? जीवनको मुकुट पाउनका लागि अभिषिक्‍त मसीहीहरूले धैर्य धारण गर्नुपर्छ। तिनीहरू मृत्युपर्यन्त विश्‍वासी रहनुपर्छ। (प्रकाश २:१०) यो ‘एक पटक बाँचेमा सधैंका लागि बाँच्ने’ कुरा होइन। (मत्ती १०:२२; लूका १३:२४) बरु तिनीहरूलाई यो चेताउनी दिइएको छ: “तिमीहरूको बोलावट र चुनाव निश्‍चय गर्नालाई बढ्‌ता प्रयत्न गर।” प्रेरित पावलले जस्तै तिनीहरूले पनि अन्ततः यसो भन्‍न सक्नुपर्छ: “मैले उत्तम लडन्त लडेको छु, मैले दौड सिध्याएको छु, विश्‍वासलाई बचाइराखेको छु।” (२ पत्रुस १:१०, ११; २ तिमोथी ४:७, ८) अतः येशू र उहाँसित आउने स्वर्गदूतहरूले आत्माद्वारा अभिषिक्‍त परमेश्‍वरका पुत्रहरूको ‘निधारमा’ पक्का छाप लगाएर यिनीहरूलाई निर्विवाद “परमेश्‍वरका दासहरू” घोषित नगरुञ्जेल यी आत्माद्वारा अभिषिक्‍त परमेश्‍वरका शेष पुत्रहरूलाई यस पृथ्वीमा जाँच गर्ने र निफन्‍ने काम चलि नै रहनेछ। महासङ्‌कष्टको चौतर्फी बतास चल्न थाल्दा सबै आत्मिक इस्राएलीहरूमाथि पक्का तथा स्थायी रुपमा छाप लगाइसकेको हुनेछ। यसपछि तिनीहरूमध्ये एकाध व्यक्‍तिहरू केही समयका लागि पृथ्वीमा मानवीय रूपमै जीवित रहन सक्छन्‌। (मत्ती २४:१३; प्रकाश १९:७) तापनि तिनीहरूको सदस्यता चाहिं पूरा भइसकेको हुनेछ!—रोमी ११:२५, २६.

कति जनालाई छाप लगाइन्छ?

१०. (क) छाप लगाइएकाहरूको सङ्‌ख्या सीमित छ भनेर कुन शास्त्रपदहरूले सङ्‌केत गर्छन्‌? (ख) जम्माजम्मी कति जनालाई छाप लगाइन्छ र तिनीहरूका नामावली कुन प्रकार प्रस्तुत छन्‌?

१० येशूले यो छाप पाउनेहरूलाई यसो भन्‍नुभयो: “ए सानो बगाल, नडराओ, किनभने तिमीहरूलाई राज्य दिने तिमीहरूका पिताको शुभेच्छा छ।” (लूका १२:३२) प्रकाश ६:११ र रोमी ११:२५ जस्ता अन्य शास्त्रपदहरूमा पाइने सङ्‌केतअनुसार यस सानो बगालको सङ्‌ख्या वास्तवमा सीमित तथा पूर्वनिश्‍चित गरिएको छ। यसलाई यूहन्‍नाका निम्न शब्दहरूले पुष्टि दिन्छन्‌: “औ छाप लागेकाहरूको सङ्‌खया इस्राएलीहरूको हरेक कुलबाट गरी एक लाख चवालीस हजारलाई छाप लाएको मैले सुनें। यहूदाको कुलबाट बाह्र हजारलाई, रूबेनको कुलबाट बाह्र हजारलाई, गादको कुलबाट बाह्र हजारलाई, आशेरको कुलबाट बाह्र हजारलाई, नप्तालीको कुलबाट बाह्र हजारलाई, मनस्सेको कुलबाट बाह्र हजारलाई, शिमियोनको कुलबाट बाह्र हजारलाई, लेवीको कुलबाट बाह्र हजारलाई, इस्साकारको कुलबाट बाह्र हजारलाई, जबूलूनको कुलबाट बाह्र हजारलाई, यूसुफको कुलबाट बाह्र हजारलाई, बिन्यामीनको कुलबाट बाह्र हजारलाई छाप लगाइयो।”—प्रकाश ७:४-८.

११. (क) यहाँ उल्लिखित १२ गोत्र किन साँच्चैको शारीरिक इस्राएलबारे हुन सक्‍तैन? (ख) प्रकाशको पुस्तकले १२ गोत्रको नामावली किन प्रस्तुत गर्छ? (ग) परमेश्‍वरको इस्राएलमा कुनै एउटा गोत्रले सम्पूर्णतः शाही अथवा मात्र पूजारी काम किन गर्दैन?

११ के यो वृत्तान्त कतै शाब्दिक, शारीरिक इस्राएलबारे त होइन? होइन। किनभने प्रकाश ७:४-८-मा उल्लिखित कुलहरूको नामावली साधारणतः चलाइने कुलीन नामावलीभन्दा बेग्लै छ। (गन्ती १:१७, ४७) स्पष्टतः यो नामावलीको उद्देश्‍य शारीरिक इस्राएलीहरूलाई तिनीहरूको कुलअनुसार चिनाउनु होइन। बरु आत्मिक इस्राएलको समानान्तर सङ्‌गठनात्मक प्रबन्धलाई प्रदर्शित गर्नु हो। यो एउटा सन्तुलित प्रबन्ध हो। यस नयाँ राष्ट्रमा ठीक १,४४,००० सदस्यहरू हुनेछन्‌। अथवा १२ कुलहरूको प्रत्येक कुलबाट १२,००० सदस्यहरू लिइएको हुनेछ। परमेश्‍वरको यस इस्राएलमा कुनै पनि कुल सम्पूर्णतः शाही अथवा पूजारीहरूले मात्र बनेको छैन। किनकि सम्पूर्ण राष्ट्रले नै राजाहरूलेझैं राज्य गर्नेछ र पूजारीको काम पनि सम्पूर्ण राष्ट्रद्वारा नै गरिनेछ।—गलाती ६:१६; प्रकाश २०:४, ६.

१२. ती २४ जना प्राचीनहरूले थुमाको अगाडि प्रकाश ५:९, १०-का शब्दहरू गाउनु किन उपयुक्‍त छ?

१२ हुनत आत्मिक इस्राएलमा समाविष्ट हुने प्रथम मौका शारीरिक यहूदीहरू र यहूदी मतमा लागेका अन्यजातिहरूका मानिसहरूलाई दिइएको थियो। तर तिनीहरूमध्ये थोरैले मात्र मौकाको फायदा उठाए। यसकारण यहोवाले सो निम्तो अन्यजातिका मानिसहरूलाई पनि दिनु भयो। (यूहन्‍ना १:१०-१३; प्रेरित २:४, ७-११; रोमी ११:७) अघिअघिको समयमा “इस्राएलको नागरिक हकबाट अलग भएका” एफिसीहरूलाई जस्तैगरी सबै गैरयहूदीहरूलाई पनि परमेश्‍वरको आत्माको छाप पाउन सम्भव भयो। तिनीहरू पनि त्यस उप्रान्त अभिषिक्‍त मसीहीहरूको मण्डलीको भाग बन्‍न सक्थे। (एफिसी २:११-१३; ३:५, ६; प्रेरित १५:१४) यसैकारण ती २४ जना प्राचीनहरूले थुमाको अगाडि यो गीत गाउनु उचित छ: “ ‘तपाईंले आफ्नै रगतले हरेक कुल, भाषा, मानिस र जातिलाई हाम्रा परमेश्‍वरको निम्ति किन्‍नुभयो। औ तिनीहरूलाई हाम्रा परमेश्‍वरको निम्ति राज्य र पूजाहारी हुने तुल्याउनुभयो, तिनीहरूले पृथ्वीमाथि राज्य गर्छन्‌।’ ”—प्रकाश ५:९, १०.

१३. येशूको सौतेनी भाइ याकूबले आफ्नो पत्रमा “तितर बितर भएका बाह्रै कुललाई” सम्बोधन गर्नु किन उचित थियो?

१३ मसीही मण्डली “चुनिएका वंश, राजकीय पूजाहारीगिरी, पवित्र जाति, परमेश्‍वरका निजी प्रजा” हो। (१ पत्रुस २:९) शारीरिक इस्राएलको सट्टा अब यो मण्डली नै परमेश्‍वरको राष्ट्र हो। यो मण्डली नै नयाँ इस्राएल पनि हो जो “[वास्तवमा, NW] इस्राएल” हो। (रोमी ९:६-८; मत्ती २१:४३) a यसैकारण येशूका सौतेनी भाइ याकूबले आफ्नो प्रवचनीय पत्रमा अन्ततः १,४४,००० सदस्यहरू हुने “तितर-बितर भइरहेका बाह्रै कुललाई” अथवा अभिषिक्‍त मसीहीहरूको विश्‍वव्यापी मण्डलीलाई सम्बोधन गर्नु उचित थियो।—याकूब १:१.

आज परमेश्‍वरको इस्राएल

१४. आत्मिक इस्राएलमा अक्षरशः १,४४,००० सदस्यहरू हुनेछन्‌ भनेर यहोवाका साक्षीहरूले लगातार विश्‍वास गर्दै आएका छन्‌ भनेर के ले देखाउँछ?

१४ एउटा रुचिकर कुरा के हो भने आत्मिक इस्राएलमा अक्षरशः १,४४,००० जना सदस्यहरू हुनेछन्‌ भनेर चार्ल्स टी. रसलले बुझेका थिए। सन्‌ १९०४-मा प्रकाशित स्टडिज इन द स्क्रिप्चर्स-को खण्ड ६-को इन द न्यु क्रिएशन-नामक उनको पुस्तकमा उनले यसप्रकार लेखे: “चुनिएकाहरू [छानिएका अभिषिक्‍त जनहरू]-को निश्‍चित र तोकिएको सङ्‌ख्या प्रकाशको पुस्तकमा (७:४; १४:१) बारम्बार उल्लिखित सङ्‌ख्या नै हो भनी विश्‍वास गर्ने हामीसित ठोस आधार छ; त्यो सङ्‌ख्या हो १,४४,००० र यिनीहरू ‘मानिसजातिबाट’ किनिएका जनहरू हुन्‌।” सन्‌ १९३०-मा, बाइबल स्टुडेन्ट्‌सद्वारा प्रकाशित लाइट नामक पुस्तकमा पनि सोही विचार यसरी व्यक्‍त गरियो: “ख्रीष्टको शरीरका १,४४,००० अभिषिक्‍त अथवा छाप लाएका सदस्यहरूलाई यहाँ सामूहिक रूपमा देखाइएको छ।” आत्मिक इस्राएलमा अक्षरशः १,४४,००० सदस्यहरू हुनेछन्‌ भनेर यहोवाका साक्षीहरूले लगातार विश्‍वास गर्दै आएका छन्‌।

१५. प्रभुको दिन सुरु हुनुभन्दा अघि बाइबलका इमान्दार विद्यार्थीहरूको विचारमा अन्यजातिहरूको समय समाप्त भएपछि शारीरिक यहूदीहरूले कुन कुराको आनन्द उठाउने थिए?

१५ तथापि, आजको शारीरिक इस्राएल के अलिकता पनि विशेष आशिष पाउने योग्यको छैन र? प्रभुको दिन सुरु हुनुभन्दा केही समयअघि मात्र बाइबलका इमान्दार विद्यार्थीहरूले परमेश्‍वरको वचनका थुप्रै आधारभूत सच्चाइहरू पुनः पत्ता लगाइरहेका थिए। उदाहरणका लागि अन्यजातिको समय समाप्त हुनासाथै यहूदीहरू फेरि परमेश्‍वरको नजरमा अनुग्रहित हुनेछन्‌ भनी तिनीहरूले ठाने। यसले गर्दा १८८९-मा प्रकाशित सी. टी. रसलको पुस्तक द टाइम इज एट ह्‍यान्ड (स्टडिज इन द स्क्रिपचर्सको खण्ड २)-ले यर्मिया ३१:२९-३४ शारीरिक यहूदीहरूमाथि लागू गर्दै यो टिप्पणी गऱ्‍यो: “अन्यजातिहरूको अधीनमा बसेर इस्राएलीहरूले सा.यु.पू. [६०७] देखि भोग्दै आएको सजाय संसारलाई विदितै छ। त्यो सजाय अझ पनि कायम छ। र तिनीहरूको पुनः स्थापना सा.यु. १९१४ अथवा तिनीहरूको २,५२० वर्षीय ‘सात काल’ समाप्त हुनुभन्दा अघि हुनेछ भनी विश्‍वास गर्ने कुनै कारण छैन।” त्यो सात काल अर्थात्‌ १९१४-पछि चाहिं यहूदीहरू राष्ट्रिय तवरमा पुनःस्थापित हुनेछन्‌ भन्‍ने अनुमान लगाइयो। र यो अनुमान १९१७-मा अझ सम्भाव्य देखियो किनकि प्यालेष्टाइनलाई यहूदी राष्ट्र बनाउने बालफर उद्‌घोषणालाई समर्थन गर्न ब्रिटेन वचनवद्ध भयो।

१६. मसीही समाचारलाई शारीरिक यहूदीहरूकहाँ पुऱ्‍याउन यहोवाका साक्षीहरूले के कस्ता प्रयासहरू गरे र यसको परिणाम के भयो?

१६ प्रथम विश्‍वयुद्धपछि प्यालेष्टाइनी इलाकालाई ग्रेट ब्रिटेनको जिम्मामा सुम्पिदियो। थुप्रै यहूदीहरूलाई अब यस देशमा फर्कने बाटो खुल्यो। सन्‌ १९४८-मा इस्राएलको राष्ट्र स्थापित भयो। अब यहूदीहरू साँच्चै नै ईश्‍वरीय आशिषका पात्र हुनेछन्‌ भन्‍ने अझ ठूलो सङ्‌केत के हुन सक्थ्यो र? धेरै वर्षसम्म यहोवाका साक्षीहरूले पनि यही विश्‍वास गरे। तिनीहरूले १९२५-मा कमफर्ट फर द ज्यूज शीर्षक भएको १२८ पन्‍ने पुस्तक पनि प्रकाशित गरे। सन्‌ १९२९-मा चाहिं लाइफ शीर्षक भएको ३६० पन्‍ने आकर्षक पुस्तकको विमोचन गरियो। यो पुस्तक खासगरी यहूदीहरूका लागि तयार गरिएको थियो। यसमा बाइबलको अय्यूब नामक पुस्तकसम्बन्धी विशेष छलफल प्रस्तुत थियो। यस मसीही समाचारलाई यहूदीहरूकहाँ पुऱ्‍याउन विशेषतः न्यु योर्क शहरमा ठूलो प्रयत्न गरियो। र खुशीको कुरा, केहीले सुने पनि। तर धेरैजसो यहूदीहरूले चाहिं तिनीहरूका प्रथम शताब्दीका पुर्खाहरूलेझैं मसीहको उपस्थितिको प्रमाणलाई इन्कार गरे।

१७, १८. नयाँ वाचा र पुनःस्थापनासम्बन्धी बाइबलका भविष्यवाणीहरूबारे परमेश्‍वरका पार्थिव दासहरूले के बुझे?

१७ स्पष्ट भयो कि व्यक्‍तिगत रूपमा होस्‌ वा राष्ट्रिय तवरमा, यहूदीजाति चाहिं प्रकाश ७:४-८-मा वा प्रभुको दिनसित सम्बन्धित बाइबलका भविष्यवाणीहरूमा चर्चित इस्राएल होइन रहेछ। परम्परालाई पछ्याउँदै यहूदीहरूले ईश्‍वरीय नाउँ प्रयोग गर्न इन्कार गरी नै रहे। (मत्ती १५:१-३, ७-९) यहोवाका साक्षीहरूद्वारा १९३४-मा जेहावा शीर्षक भएको पुस्तक प्रकाशित गऱ्‍यो। त्यसमा यर्मिया ३१:३१-३४ बारे छलफल गर्दै यो पक्का निष्कर्ष प्रस्तुत गरियो: “इस्राएलको प्राकृतिक वंशज र आम मानवजातिसित नयाँ वाचाको केही सम्बन्ध छैन। त्यो वाचा केवल आत्मिक इस्राएलमा सीमित छ।” बाइबलमा चर्चित पुनःस्थापनासम्बन्धी भविष्यवाणीहरूको नता शारीरिक यहूदीहरू न इस्राएलको राजनैतिक राष्ट्रसित नै केही सम्बन्ध छ। किनकि इस्राएलको राजनैतिक राष्ट्र, संयुक्‍त राष्ट्र सङ्‌घको सदस्य हो र संयुक्‍त राष्ट्र सङ्‌घ चाहिं त्यो संसारको भाग हो जसबारे येशूले यूहन्‍ना १४:१९, ३० र १८:३६-मा चर्चा गर्नु भएको छ।

१८ सन्‌ १९३१-मा परमेश्‍वरका दासहरूले पृथ्वीमा हर्षोल्लाससाथ यहोवाका साक्षीहरू भन्‍ने पद स्वीकार गरे। तिनीहरूले पूर्णहृदयसहित भजन ९७:११-का यी शब्दहरूलाई समर्थन गर्न सके: “धर्मात्माहरूको निम्ति ज्योति, र हृदयमा सोझा भएकाहरूको निम्ति आनन्द छर्नुभएको छ।” मात्र आत्मिक इस्राएल नयाँ वाचामा बाँधिएको कुरा तिनीहरूले स्पष्टसित बुझ्न सके। (हिब्रू ९:१५; १२:२२, २४) त्यसमा अटेर शारीरिक इस्राएल अथवा आम मानवजातिका लागि कुनै ठाउँ थिएन। यति बुझेपछि ईश्‍वरतान्त्रिक इतिहासका पानाहरूमा अद्‌भुत रीतिले ईश्‍वरीय ज्योति प्रकाशमान हुने बाटो खुल्यो। यहोवाले उहाँको नजिक हुन चाहने सबै मानिसहरूप्रति आफ्नो अनुकम्पा, प्रेमपूर्ण दया र सच्चाइ कसरी प्रशस्तगरी दर्शाउनु हुन्छ, त्यो पनि यसबाट प्रकट हुने भयो। (प्रस्थान ३४:६; याकूब ४:८) हो, ती चार स्वर्गदूतहरूले विनाशको बतासलाई रोकेको हुनाकारण इस्राएलको परमेश्‍वरबाहेक अरूहरू पनि लाभान्वित हुने भए। तिनीहरू को हुन्‌? के तपाईं पनि तिनीहरूमध्ये एक जना हुन सक्नुहुन्छ? हामी हेरौं।

[फुटनोट]

a एकदमै सुहाउनेगरी इस्राएल नाउँको अर्थ पनि “परमेश्‍वर सङ्‌घर्ष गर्नु हुन्छ; परमेश्‍वरसित सङ्‌घर्ष गर्ने” हो।—उत्पत्ति ३२:२८, न्यु वर्ल्ड ट्रान्सलेशन रेफरेन्स बाइबल, पादटिप्पणी.

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ ४-मा भएको पृष्ठभरिको चित्र]

[पृष्ठ ११७-मा भएको चित्र]

परमेश्‍वरको साँचो इस्राएललाई छान्‍ने काम सा.यु. ३३-देखि सुरु भएर १९३५-सम्म कायम रह्‌यो। सन्‌ १९३५-मा वाशिङ्‌गटन डी. सी. -मा आयोजित यहोवाका साक्षीहरूको एउटा महत्त्वपूर्ण सम्मेलनमा पार्थिव जीवन पाउने आशा भएका ठूलो भीडलाई जम्मा गर्ने काममाथि विशेष जोड दिइयो। (प्रकाश ७:९)