सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परमेश्‍वरको क्रोधको समापन

परमेश्‍वरको क्रोधको समापन

अध्याय ३२

परमेश्‍वरको क्रोधको समापन

१. सातै कचौराहरू खन्याइ सकेपछि के भइ सकेको हुनेछ र ती कचौराहरूबारे अब के प्रश्‍नहरू उठ्‌छन्‌?

 यूहन्‍नाले सातवटा कचौराहरू खन्याउन नियुक्‍त भएका स्वर्गदूतहरूको परिचय दिइ सकेका छन्‌। उनी भन्छन्‌ यी नै “आखिरी सात विपत्ति” हुन्‌ र “तिनीहरूमै परमेश्‍वरको क्रोध समाप्त” हुनेछ। (प्रकाश १५:१; १६:१) पृथ्वीको दुष्टतामाथि यहोवाको सजाय प्रकट गर्ने यी विपत्तिहरू सम्पूर्णतः खन्याउनै पर्छ। तिनीहरू पूरै खन्याइ सक्दा परमेश्‍वरको न्याय कार्यान्वयन भइसकेको हुनेछ। शैतानी संसार रहने छैन! मानिसजाति र वर्तमान दुष्ट रीतिरिवाजका शासकहरूका लागि यी विपत्तिहरूले के अर्थ राख्तछन्‌? यो नाशवान संसारसित ती विपत्तिहरू नभोग्न मसीहीहरूले के गर्नुपर्छ? यी अत्यावश्‍यक प्रश्‍नहरू हुन्‌ र अब तिनको जवाफ पाउने बेला पनि आइपुगेको छ। यूहन्‍नाले अब उप्रान्त देख्ने कुरा धार्मिकताका सबै प्रेमीहरूका लागि गहिरो रुचिको विषय हुनेछ।

“पृथ्वीको” विरुद्धमा यहोवाको क्रोध

२. प्रथम स्वर्गदूतले आफ्नो कचौरा पृथ्वीमा खन्याउँदा के हुन्छ र यहाँ “पृथ्वी”-ले के चित्रित गर्छ?

प्रथम स्वर्गदूत अघि बढ्‌छन्‌! “औ पहिलो गएर आफ्नो कचौरा पृथ्वीमा खन्याए, र त्यसले गर्दा त्यस जानवरको छाप हुने, र त्यसको मूर्तिलाई पूजा गर्ने मानिसहरूलाई खराब र डरलाग्दो घाउ खटीरा लाग्यो।” (प्रकाश १६:२) प्रथम तुरही फूकेको बेलामा जस्तै यहाँ पनि “पृथ्वी”-ले करीब ४,०००-वर्षअघि निम्रोदको पालोदेखि शैतानद्वारा निर्मित र हेर्नमा स्थायी देखिने राजनैतिक व्यवस्थालाई चित्रित गर्दछ।—प्रकाश ८:७.

३. (क) थुप्रै सरकारहरूले आफ्ना प्रजाहरूबाट उपासनाको माँग कसरी गरेका छन्‌? (ख) राष्ट्रहरूले परमेश्‍वरको राज्यको ठाउँमा कसलाई राखेका छन्‌ र त्यसको उपासना गर्नेहरूमाथि के असर पर्छ?

यी अन्तिम दिनहरूमा थुप्रै सरकारहरूले आफ्नो प्रजाबाट उपासनाकै माग गरेका छन्‌। ईश्‍वरभक्‍ति तथा अरू कुनै पनि भक्‍तिभन्दा देशभक्‍तिलाई नै प्रथम स्थान दिनु पर्छ भनी तिनीहरूले जिद्‌ गरेका छन्‌। (२ तिमोथी ३:१; लूका २०:२५-तुलना गर्नुहोस्‌; यूहन्‍ना १९:१५) आफ्ना युवकहरूलाई युद्धका लागि जबरजस्ती भर्ना गर्ने तथा तिनीहरूलाई युद्धको निम्ति तयार राख्ने काम १९१४-देखि राष्ट्रहरूले सामान्यतः गर्न थालेका छन्‌। खासगरी ती ठूलठूला युद्धका लागि जसले आधुनिक इतिहासको पानालाई रगताम्य पारिदिएको छ। प्रभुको दिनमा परमेश्‍वरको राज्यको ठाउँमा राष्ट्रहरूले जानवरको मूर्ति अथवा राष्ट्र सङ्‌घ र त्यसको उत्तराधिकारी संयुक्‍त राष्ट्रलाई राखिदिएका छन्‌। यो मानव निर्मित सङ्‌घ शान्तिको एक मात्र आशा हो भनी हालसालैका पोपहरूले झैं घोषित गर्नु ईश्‍वरनिन्दा हो! यो सङ्‌घले परमेश्‍वरको राज्यको घोर विरोध गर्छ। त्यसको पूजा गर्ने सबै जना आत्मिक तवरमा अशुद्ध र घावैघावले भरिएका हुन्छन्‌। जसरी मोशाको पालोमा यहोवाको विरोध गर्ने मिस्रीहरू पनि अनेक थरीको घावले पिडित भए।—प्रस्थान ९:१०, ११.

४. (क) परमेश्‍वरको क्रोधको प्रथम कचौराले कुन कुरामाथि विशेष जोड दिन्छ? (ख) पशुको छाप थाप्नेहरूलाई यहोवाले कुन दृष्टिले हेर्नुहुन्छ?

मानिसजातिसमक्ष रहेको फैसलालाई यस कचौराले विशेष जोड दिन्छ। तिनीहरूले या त संसारलाई अप्रसन्‍न तुल्याउनु पर्छ; होइन भने, यहोवाको अप्रसन्‍नताको परिणाम भोग्नु पर्छ। मानिसजातिलाई त्यो पशुको छाप लिन बाध्य पारिएको छ। यहाँसम्म कि “त्यस पशुको नाउँ अथवा त्यसको संख्याको छाप नभईकन कुनै मानिसले किन्‍न अथवा बेच्न” पाउँने छैन। (प्रकाश १३:१६, १७) तर पशुको नाउँ स्वीकार्नेहरूले यसको भारी मोल चुकाउन पर्नेछन्‌! यहोवाको नजरमा तिनीहरू “डरलाग्दो घाउ-खटीरा”-ले भरिएर पीडित हुन्छन्‌। परमेश्‍वरको दृष्टिमा तिनीहरूको यस्तो तिरस्कृत स्थिति १९२२-देखि जनसमक्ष स्पष्ट भएको छ। तिनीहरूका राजनैतिक योजनाहरू सफल भएका छैनन्‌। तिनीहरू पीडामा छन्‌। आध्यात्मिक तवरमा तिनीहरू अशुद्ध छन्‌। पश्‍चात्ताप नगरेमा तिनीहरूको यो “डरलाग्दो” रोग घातक हुनेछ किनकि यो यहोवाको न्यायको दिन हो। सांसारिक रीतिरिवाजको हिस्सा भएर बस्ने मानिसहरू र ख्रीष्टको पक्ष लिएर यहोवाको सेवा गर्ने जनहरूबीच कोही पनि तटस्थ बस्न पाउने छैन।—लूका ११:२३; याकूब ४:४-तुलना गर्नुहोस्‌।

समुद्र रगतमा परिणत हुन्छ

५. (क) दोस्रो कचौरा खन्याइँदा के हुन्छ? (ख) प्रतीकात्मक समुद्रमा बस्नेहरूलाई यहोवाले कस्तो दृष्टिले हेर्नुहुन्छ?

परमेश्‍वरको क्रोधको दोस्रो कचौरा अब खन्याउनै पर्छ। यसले मानिसजातिका लागि के अर्थ राख्नेछ? यूहन्‍ना भन्छन्‌: “औ दोस्रोले आफ्नो कचौरा समुद्रमा खन्याए, र त्यो मरेको मानिसको रगतजस्तै भयो। औ समुद्रमा भएका सबै जीवित प्राणीहरू मरे।” (प्रकाश १६:३) दोस्रो तुरहीको आवाजको निशानाझैं यो कचौराको तारो पनि “समुद्र” अर्थात्‌ यहोवाबाट अलग्गिएको विरोधी मानिसहरूको समूह हो। (यशैया ५७:२०, २१; प्रकाश ८:८, ९) यो “समुद्र” यहोवाको नजरमा रगतजस्तै छ। यो कुनै जीवित प्राणी बस्ने ठाउँ होइन। त्यसैले त मसीहीहरू संसारको सहभागी हुनु हुँदैन। (यूहन्‍ना १७:१४) यस समुद्रमा बस्ने सबै मानिसहरू यहोवाको नजरमा मृत छन्‌ भन्‍ने कुरा दोस्रो कचौरा खन्याउँदा प्रकट हुन्छ। सामूहिक जिम्मेवारीको हिसाबले सारा मानिसजाति नै निर्दोष रगतका दोषी छन्‌। यहोवाको क्रोधको दिन आइपुग्दा तिनीहरू जम्मै उहाँका न्याय कार्यान्वयन कर्त्ताहरूको हातबाट साँच्चै नै मारिनेछन्‌।—प्रकाश १९:१७, १८; एफिसी २:१-तुलना गर्नुहोस्‌; कलस्सी २:१३.

तिनीहरूलाई पिउनका लागि रगत दिइन्छ

६. तेस्रो कचौरा खन्याइँदा के हुन्छ र एक जना स्वर्गदूतबाट र वेदीबाट कस्ता शब्दहरू सुनिन्छन्‌?

तेस्रो तुरहीको आवाजले जस्तै परमेश्‍वरको क्रोधको तेस्रो कचौराले पनि ताजा पानीका स्रोतहरूमाथि असर पार्नेछ। “औ तेस्रोले आफ्नो कचौरा नदीहरू, र पानीहरूका मूलहरूमा खन्याए, र ती रगतै भइहाले। औ पानीहरूका दूतले यसो भनिरहेको मैले सुनें, ‘तपाईं धर्मात्मा हुनुहुन्छ। जो हुनुहुन्छ र जो हुनुहुन्थ्यो, हे पवित्र जन, किनभने यसरीनै तपाईंले इन्साफ गर्नुभयो। किनकि तिनीहरूले पवित्र जन र अगमवक्‍ताहरूका रक्‍तपात गरेका थिए। र तपाईंले तिनीहरूलाई रगत पिउन दिनुभयो। तिनीहरू यसका योग्य छन्‌।’ अनि वेदीले यसो भनिरहेको मैले सुनें, ‘हे परमप्रभु परमेश्‍वर, सर्वशक्‍तिमान, तपाईंको इन्साफ सच्चा र धार्मिक छन्‌।’ ”—प्रकाश १६:४-७.

७. “नदीहरू र पानीका मूलहरू”-ले कुन कुरालाई चित्रित गर्छन्‌?

यी “नदीहरू र पानीहरूका मूल”-ले संसारका तथाकथित बुद्धि र निर्देशनका नयाँ स्रोतहरूलाई चित्रित गर्छन्‌। उदाहरणका लागि, राजनैतिक, आर्थिक, वैज्ञानिक, शैक्षिक, सामाजिक तथा धार्मिक दर्शनहरू जसबाट मानव गतिविधि र निर्णयहरू सञ्चालित हुन्छन्‌। जीवनदायी सच्चाइका लागि जीवनको स्रोत, यहोवातर्फ हेर्नुको सट्टा मानिसहरूले आफ्नालागि ‘पानी नरहने फुटेका इनार खनेका छन्‌।’ तिनीहरूले आफ्नो तिर्खा मेटाउन “संसारको ज्ञान”-बाटै पिउने गर्छन्‌ जबकि त्यस्तो ज्ञान “परमेश्‍वरको अगि मूर्खता” हो।—यर्मिया २:१३; १ कोरिन्थी १:१९; २:६; ३:१९; भजन ३६:९.

८. मानिसजाति कुन कुन ढङ्‌गमा रगतको दोषी साबित भएको छ?

यस्तो दूषित “पानी” खाएर मानिसहरू रगतका दोषी भएका छन्‌। उदाहरणका लागि, युद्धमा भाग लिन उत्प्रेरित भएर तिनीहरूले गत शताब्दीका युद्धहरूमा पनि रगतको भेल बगाए जसको कारण दश करोडभन्दा बढी मानिसहरूले ज्यान गुमाए। खासगरी दुइटा विश्‍व-युद्धहरू भड्‌किएको मसीहीजगतमा मानिसहरूले “निर्दोषीको रगत बगाउन हतार” गरेका छन्‌। र यसमा परमेश्‍वरकै साक्षीहरूको रगत पनि सम्मिलित छ। (यशैया ५९:७; यर्मिया २:३४) यहोवाका धार्मिक नियम विपरीत रक्‍तक्षेपणका लागि ठूलो मात्रामा रगतको दुरुपयोग गरेर पनि मानिसजाति रगतका दोषी भएको छ। (उत्पत्ति ९:३-५; लेवी १७:१४; प्रेरित १५:२८, २९) परिणामस्वरूप रक्‍तक्षेपणद्वारा फैलिने एड्‌स, हेपाटाइटिस्‌ र अन्य रोगहरू तिनीहरूले भोग्नु परेको छ। तर चाँडै जब कुकर्मीहरूमाथि मृत्युदण्ड आइपर्नेछ अनि तिनीहरू “परमेश्‍वरको क्रोधको ठूलो कोलमा” कुल्चीमिल्ची हुनेछन्‌, तब भने रक्‍तदोषको बदला पूरा हुनेछ।—प्रकाश १४:१९, २०.

९. तेस्रो कचौरा खन्याउनुमा कुन कुन कुरा सम्मिलित छन्‌?

मोशाको दिनमा नील नदी रगतमा परिणत हुँदा पानीका अन्य स्रोतहरू खोजेर मिस्रीहरू जीवित रहन सकेका थिए। (प्रस्थान ७:२४) तर आजको आत्मिक विपत्तिको बेलामा चाहिं शैतानी संसारको कुनै पनि भागमा मानिसहरूले जीवनदायी पानी पाउन सक्ने छैनन्‌। तेस्रो कचौरा खन्याउनुको अर्थ संसारका “नदीहरू र पानीहरूका मूलहरू” रगत सरह छन्‌ र ती पिउने सबै आत्मिक तवरमा मर्नेछन्‌ भनी घोषणा गर्नु हो। यहोवातर्फ नफर्केमा मानिसहरूले उहाँको हातबाट सजाय भोग्नेछन्‌।—इजकिएल ३३:११-सित तुलना गर्नुहोस्‌.

१०. “पानीहरूका दूत”ले के घोषित गर्छन्‌ र “वेदी”-ले अझ कुन कुराको पुष्टि दिन्छ?

१० सिद्ध धार्मिक फैसला गर्नु हुने यहोवा नै ब्रह्‍माण्डीय न्यायाधीश हुनुहुन्छ भनी “पानीहरूका दूत” अर्थात्‌ यो कचौरा पानीहरूमा खन्याउने दूतले यहोवालाई महिमा दिन्छन्‌। उनले यहोवाको न्यायिक फैसलालाई सङ्‌केत गर्दै “तिनीहरू यसका योग्य छन्‌” भन्छन्‌। निःसन्देह, यो दुष्ट संसारका झूटा शिक्षाहरू र दर्शनहरूले हजारौं वर्षदेखिन्‌ उक्साएको रक्‍तपात र क्रूरता यस स्वर्गदूतले हेर्दै आएका छन्‌। यसैकारण यहोवाको न्यायिक फैसला ठीक छ भनी उनी भन्‍न सक्छन्‌। परमेश्‍वरको “वेदी”-समेतले बोल्न थाल्छ। शहीद भएकाहरूको प्राण प्रकाश ६:९, १०-अनुसार वेदीमन्तिर थिए भनिएको छ। यसकारण यहोवाका फैसलाहरू धर्मी र न्यायसँगत छन्‌ भनेर “वेदीले” अझ जोडदार पुष्टि दिन्छ। a यतिका रगत बगाउने अथवा त्यसको दुरुपयोग गर्ने सबैलाई नै जबरजस्ती रगत पिउन तथा यहोवाको हातमा मृत्यु-दण्ड भोग्न लाउनु निश्‍चय नै उपयुक्‍त हो।

मानिसहरूलाई आगोले पोल्नु

११. परमेश्‍वरको क्रोधको चौथो कचौराको तारो के हो र त्यो खन्याइँदा के हुन्छ?

११ परमेश्‍वरको क्रोधको चौथो कचौराको तारो सूर्य हो। यूहन्‍ना हामीलाई भन्छन्‌: “औ चौथोले आफ्नो कचौरा सूर्यमाथि खन्याए, र मानिसहरूलाई पोल्ने शक्‍ति त्यसले सूर्यलाई दियो। औ मानिसहरू असाध्य गर्मीले भुटभुटिए, र तिनीहरूले ती विपत्तिहरूमाथि शक्‍ति भएका परमेश्‍वरको नाउँको निन्दा गरे। तर तिनीहरूले उहाँलाई महिमा दिनालाई पश्‍चाताप गरेनन्‌।”—प्रकाश १६:८, ९.

१२. यस संसारको “सूर्य” के हो र यस प्रतीकात्मक सूर्यलाई के गर्ने अनुमति दिइन्छ?

१२ आज, यस रीतिरिवाजको अन्ततिर येशूका आत्मिक भाइहरू “पिताको राज्यमा सूर्य जस्ता चम्किला” छन्‌। (मत्ती १३:४०, ४३) येशू स्वयं “धर्मको सूर्य” हुनुहुन्छ। (मलाकी ४:२) तर मानिसजातिको चाहिं आफ्नै “सूर्य” अर्थात्‌ तिनीहरूका शासकहरू छन्‌ जसले परमेश्‍वरको राज्यको विरुद्धमा चम्कने कोशिश गर्छन्‌। मसीही जगतको आकाशका ‘घाम, जून र ताराहरू’ ज्योतिर्मय नभएर अन्धकारमय छन्‌ भनी चौथो तुरहीको आवाजद्वारा घोषणा गरिएको थियो। (प्रकाश ८:१२) तर अब संसारको “सूर्य”को राप सहनै नसक्ने गरी तातिनेछ भनी परमेश्‍वरको क्रोधको चौथो कचौराले प्रदर्शित गर्नेछ। सूर्यरूपी नेता मानिएकाहरूले मानिसहरूलाई “पोल्ने” छन्‌। प्रतीकात्मक सूर्यले यसप्रकार पोल्ने अधिकार पाउनेछ। यहोवाले आफ्नो अग्निमय न्यायको यस भागलाई पनि कार्यान्वयन हुन दिनु हुनेछ। तर यसप्रकारको पोल्ने काम कसरी गरिएको छ?

१३. यस संसारका सूर्यरूपी शासकहरूले मानिसजातिलाई कसरी ‘पोलेका’ छन्‌?

१३ प्रथम विश्‍व-युद्धपश्‍चात्‌ यस संसारका शासकहरूले विश्‍व सुरक्षाको समस्या समाधान गर्ने प्रयासमा राष्ट्र संघको गठन गरे। तर त्यो सफल भएन। अतः फासिज्म र नाजीवादजस्ता अन्य किसिमका शासनप्रणालीहरू प्रयोग गर्न थालियो। साम्यवाद फैलिंदै गयो। तर मानव समस्याहरूको समाधान गर्नुको सट्टा यी नयाँ शासनप्रणालीहरूका सूर्यरूपी शासकहरूले ‘मानिसहरूलाई असाध्य गर्मीले पोल्न’ थाले। स्पेन, इथियोपिया र मन्चुरियाका स्थानीय युद्धहरूले मानिसलाई दोस्रो विश्‍व-युद्धको संघारमा पुऱ्‍यायो। आधुनिक इतिहासअनुसार करोडौं मानिसहरूको हत्याका लागि मुसोलिनी, हिटलर र स्टालिन प्रत्यक्ष अथवा अप्रत्यक्ष रूपमा जिम्मेवार भए। यी मर्नेहरू मध्ये कति त तिनीहरूका आफ्नै देशवासीहरू पनि थिए। हालसालैमा भियतनाम, कम्पुचिया, इरान, लेबनन र आयरलैण्डका साथै ल्याटिन अमेरिका र अफ्रिकी देशहरूका मानिसहरूलाई अन्तर्राष्ट्रिय अथवा गृह कलहहरूले भत्‌भती “पोलेको” छ। अर्कोतिर महाशक्‍तिहरू बीचको सङ्‌घर्ष जारी नै छ। यिनीहरूका डरलाग्दा आणविक हतियारहरूले सारा मानिसजातिलाई जलाएर खरानी पार्न सक्छन्‌। यी अन्तिम दिनहरूमा मानव परिवारले वास्तवमा पोल्ने “सूर्य” अथवा आफ्ना अधर्मी शासकहरूको सामना गर्नु परेको छ। परमेश्‍वरको क्रोधको चौथो कचौराले यी ऐतिहासिक तथ्यहरूलाई ठोकुवा गरेर तोकेको छ र परमेश्‍वरका मानिसहरूले ती तथ्यहरूको घोषणा पृथ्वीभरि गरेका छन्‌।

१४. मानिसजातिका समस्याहरूको एक मात्र समाधान के हो भनेर यहोवाका साक्षीहरूले निरन्तर सिकाउँदै आएका छन्‌ र यसप्रति आममानिसजातिले के प्रतिक्रिया व्यक्‍त गरेका छन्‌?

१४ मानिसजातिलाई अलमल्याउने समस्याहरूको एक मात्र समाधान परमेश्‍वरको राज्य हो भनी यहोवाका साक्षीहरूले निरन्तर सिकाउँदै आएका छन्‌। सोही राज्यद्वारा आफ्नो नाउँको पवित्रिकरण गर्ने यहोवाको उद्देश्‍य छ। (भजन ८३:४, १७, १८; मत्ती ६:९, १०) तथापि सामूहिक तवरमा मानिसजातिले यो समाधानको वास्तै गरेका छैनन्‌। परमेश्‍वरको राज्यलाई तिरस्कार गर्ने धेरैले परमेश्‍वरको नाउँको निन्दा समेत गर्छन्‌। जस्तोकि यहोवाको सार्वभौमिकता स्वीकार्न फिरऊनले पनि इन्कार गरेका थिए। (प्रस्थान १:८-१०; ५:२) मसीही राज्यमा केही चासो नभएका यी विरोधीहरू आफ्नै पोल्ने “सूर्य” अथवा क्रूर मानवशासकहरूको अधीनमा बसेर दुःख भोग्न रुचाउँछन्‌।

जङ्‌गली जनावरको सिंहासन

१५. (क) पाँचौं कचौरा के माथि खन्याइन्छ? (ख) “पशुको सिंहासन” के हो र त्यसमाथि कचौरा खन्याउनुको अर्थ के हो?

१५ अर्को स्वर्गदूतले अब आफ्नो कचौरा कहाँ खन्याउँछन्‌? “अनि पाँचौंले आफ्नो कचौरा त्यस जानवरको सिंहासनमा खन्याए।” (प्रकाश १६:१०क) त्यो “जानवर” शैतानको सरकारी व्यवस्था हो। त्यो कुनै साँच्चैको जनावर होइन। अतः त्यसको सिंहासन पनि वास्तविक हुन सक्‍तैन। तथापि, सिंहासनको चर्चा गरिएको हुनाकारण, त्यसबाट जनावरले मानिसजातिमाथि जमाएको शाही अख्तियार बोध हुन्छ; जनावरको प्रत्येक सिङमा भएका शाही मुकुटहरूले यस कुराको पुष्टि दिन्छ। वास्तवमा, “जानवरको सिंहासन” जनावरको अख्तियारको मूल तथा जग हो। b जनावरको अख्तियारको सही स्थितिको वर्णन बाइबलले यी शब्दहरूमा गर्छ: “औ त्यस अजीङ्‌गरजस्तै पशुले त्यसलाई [जनावरलाई] आफ्नो शक्‍ति, आफ्नो सिंहासन र ठूलो अख्यितार दियो।” (प्रकाश १३:१, २; १ यूहन्‍ना ५:१९) तसर्थ, यस जनावरको सिंहासनमा कचौरा खन्याउनुको अर्थ आजसम्म जङ्‌गली जनावरलाई समर्थन तथा बढावा दिनमा शैतनाले खेल्दै आएको र अझ पनि खेलिरहेको भूमिकालाई पर्दाफास गर्नु हो।

१६. (क) राष्ट्रहरूलाई थाह होस्‌ नहोस्‌, तिनीहरूले वास्तवमा कसको सेवा गर्दैछन्‌? व्याख्या गर्नुहोस्‌। (ख) संसारले शैतानको व्यक्‍तित्वलाई कसरी झल्काउँछ? (ग) पशुको सिंहासन कहिले नष्ट हुनेछ?

१६ शैतान र राष्ट्रहरूबीचको यो सम्बन्ध कसरी कायम राखिन्छ? येशूको परीक्षा गर्दा शैतानले येशूलाई पृथ्वीका जम्मै राज्यहरू दर्शनद्वारा देखायो। उसले “यो सारा अख्तियार र यिनको गौरव” येशूलाई दिन्छु भन्यो। तर उसको एउटा शर्त थियो। पहिला येशूले शैतानको दण्डवत गर्नु पर्थ्यो। (लूका ४:५-७) यसकारण, सोच्नुहोस्‌, संसारका सरकारहरूले योभन्दा कम मोल चुकाएर आफ्नो अधिकार पाएका होलान्‌ र? कदापि हुन सक्‍तैन। बाइबलअनुसार शैतान यो रीतिरिवाजको देव हो। राष्ट्रहरूलाई यो थाह होस्‌ न होस्‌, तिनीहरूले शैतानकै सेवा गरिरहेका छन्‌। (२ कोरिन्थी ४:३, ४) c यसको प्रमाण वर्तमान सांसारिक व्यवस्थाको बनौट बाटै देख्न सकिन्छ जो सङ्‌कीर्ण राष्ट्रवाद, घृणा र स्वार्थमा आधारित छ। यी सबै शैतानकै इच्छाअनुरूप आयोजित छन्‌ र त्यसको इच्छा हो मानिसजातिलाई जसरी भए पनि आफ्नै वशमा राख्नु। सरकारी भ्रष्टाचार, शक्‍तिको लोभ, मिथ्यापूर्ण कूटनीति, हातहतियारको होडबाजी—जम्मै शैतानकै पतित व्यक्‍तित्वको प्रतिबिम्ब हुन्‌। शैतानका यी अधर्मी स्तरहरूलाई संसारले समर्थन गर्छ र यसरी शैतानलाई आफ्नो ईश्‍वर तुल्याउँछ। तर यो जनावर नामेट हुँदा र परमेश्‍वरकी स्त्रीको सन्तानले स्वयं शैतानलाई अन्ततः अगाध खाँदमा बन्द गरी दिनु हुँदा जानवरको उक्‍त सिंहासन पनि नष्ट हुनेछ।—उत्पत्ति ३:१५; प्रकाश १९:२०, २१; २०:१-३.

अन्धकार र वेदना

१७. (क) जङ्‌गली जनावरको राज्यलाई सुरुदेखि नै ढाकेको आत्मिक अन्धकारसित पाचौं कचौराको के सम्बन्ध छ? (ख) परमेश्‍वरको क्रोधको पाँचौं कचौरा खन्याउँदा मानिसहरूले के कस्तो प्रतिक्रिया देखाउँछन्‌?

१७ यस जनावरको राज्य सुरुदेखि नै आध्यात्मिक अन्धकारमा छ। (तुलना गर्नुहोस्‌ मत्ती ८:१२; एफिसी ६:११, १२) यस अन्धकारको अझ व्यापक घोषणा पाँचौं कचौराले गर्नेछ। परमेश्‍वरको क्रोधको कचौरा बडो नाटकीय ढङ्‌गमा त्यस प्रतीकात्मक पशुकै सिंहासनमा खन्याइन्छ। “औ त्यसको राज्यमा अन्धकार भयो, र वेदना र घाउ खटीराले गर्दा तिनीहरूले आफ्ना आफ्ना जिब्रो चपाए। औ तिनीहरूका वेदना र घाउ खटीराले गर्दा तिनीहरूले स्वर्गका परमेश्‍वरको निन्दा गरे। तर तिनीहरूले आफ्ना कामको पश्‍चाताप गरेनन्‌।”—प्रकाश १६:१०ख, ११.

१८. पाँचौं तुरहीको आवाज र परमेश्‍वरको क्रोधको पाँचौं कचौराबीच के समानता छ?

१८ पाँचौं तुरहीको आवाज र परमेश्‍वरको क्रोधको पाँचौं कचौरा सम्पूर्णतः एउटै होइन। किनकि त्यो तुरहीको आवाजले त सलहहरूको आक्रमणको घोषणा गरेको थियो। साथै, ती सलहहरूको आक्रमण सुरु हुनासाथै सूर्य र हावा अँध्यारो भएका थिए। (प्रकाश ९:२-५) यहोवाले मिस्रमाथि पठाउनु भएको सलहहरूको विपत्तिबारे प्रस्थान १०:१४, १५-मा यसो भनिएको छ: “अनि सलहहरू मिश्रमा आए, र सारा देशभरि बसे। ती हूलका हूल बथानमा थिए। त्यसको अघि नता त्यतिका सलहहरू आएका थिए न पछि फेरि आउनेछन्‌। तिनीहरूले सारा भूमिलाई ढाके, यहाँसम्म कि जमीनै कालो देखियो।” हो, अन्धकार छायो! आज पनि पाँचौं तुरहीको आवाज र परमेश्‍वरको क्रोधको पाँचौं कचौरा खन्याएपछि संसारको आध्यात्मिक अन्धकार सबैलाई एकदमै प्रत्यक्ष भएको छ। आधुनिक सलहहरूका बथानद्वारा घोषित पीडाजनक सन्देश, “ज्योतिभन्दा अन्धकार रुचाउने” ती दुष्ट जनहरूका लागि सङ्‌कष्टदायी र वेदनीय हुन गएको छ।—यूहन्‍ना ३:१९.

१९. शैतान नै यस रीतिरिवाजको देव हो भन्‍ने कुरा खुलेआम प्रकट हुँदा प्रकाश १६:१०, ११अनुसार के हुन्छ?

१९ विश्‍व-शासकको हैसियतमा शैतानले धेरै नै दुःख र कष्ट ल्याएको छ। अनिकाल, युद्ध, हिंसा, अपराध, मादक पदार्थको दुरुपयोग, अनैतिकता, यौनजन्य रोग, बेइमानी र धार्मिक कपट—यी र अझ कुराहरू नै शैतानी रीतिरिवाजका चिनारी हुन्‌। (गलाती ५:१९-२१-तुलना गर्नुहोस्‌) तापनि शैतान यस रीतिरिवाजको देव हो भनी पर्दाफास गर्दा उसको स्तरअनुरूप जीवन बिताउनेहरू दुःखी र लज्जित भए। विशेषगरी मसीहीजगतमा हुनेहरूले “आफ्ना आफ्ना जिब्रो चपाए।” सच्चाइद्वारा तिनीहरूको जीवनशैलीको पर्दाफास भएको धेरैलाई मन पर्दैन। तिनीहरू भयभीत हुन्छन्‌ र यी कुराहरू प्रकाशित गर्नेहरूलाई सताउन थाल्छन्‌। तिनीहरूले परमेश्‍वरको राज्य स्वीकार्दैनन्‌ र यहोवाको पवित्र नाउँको ठट्टा गर्छन्‌। धार्मिक तवरमा तिनीहरूको रोगी र घावैघाउ भएको स्थिति सबैको सामु उदाङ्‌ग भयो भनेर तिनीहरूले स्वर्गको परमेश्‍वरको निन्दा गर्छन्‌। तिनीहरूले “आफ्नो कामको पश्‍चाताप” गर्दैनन्‌। यसकारण हामीले पनि यो रीतिरिवाजको अन्त हुनुभन्दा अघि हूलका हूल मानिसहरूले आफ्नो धर्मपरिवर्तन गर्नेछन्‌ भनेर प्रतीक्षा गर्न सक्‍तैनौं।—यशैया ३२:६.

यूफ्रेटिस नदी सुक्छ

२०. छैटौं तुरहीको आवाज र छैटौं कचौरा खन्याउने प्रक्रियासित यूफ्रेटिस नदी कसरी सम्बन्धित छ?

२० ठूलो नदी यूफ्रेटिसमा बाँधिराखेका ती चारवटा दूतलाई फुकाइदिने” आह्वान छैटौं तुरहीले गरेको थियो। (प्रकाश ९:१४) इतिहासअनुसार यूफ्रेटिस नदीको किनारमा बसालिएको महान शहर बेबिलोन थियो। र १९१९-मा ती चार प्रतीकात्मक दूतहरू फुकाउना साथै महान बेबिलोनको ठूलो पतन भएको थियो। (प्रकाश १४:८) यसकारण, अब परमेश्‍वरको क्रोधको छैटौं कचौरा पनि यूफ्रेटिस नदीसितै सम्बन्धित छ। “औ छैटौंले आफ्नो कचौरा ठूलो नदी, अर्थात्‌ यूफ्रेटिसमा खन्याए। औ सूर्योदय पट्टिबाट आउने राजाहरूको बाटो तयारी होस्‌ भनेर त्यसको पानी सुकिहाल्यो।” (प्रकाश १६:१२) यो पनि महान बेबिलोनका लागि कुखबर हो!

२१, २२. (क) यूफ्रेटिस नदीका सुरक्षादायी पानीहरू सा.यु.पू. ५३९-मा बेबिलोनका लागि कसरी सुके? (ख) ती “पानीहरू” के हुन्‌ जसमाथि महान बेबिलोन बस्छ र यी प्रतीकात्मक पानीहरू आज कसरी सुक्दैछन्‌?

२१ प्राचीन बेबिलोनका समृद्धिशाली दिनहरूमा यूफ्रेटिसका प्रशस्त पानीहरू बेबिलोनको सुरक्षा व्यवस्थाको एउटा महत्त्वपूर्ण भाग थियो। तर सा.यु.पू. ५३९-मा फारसी नेता कोरेसले त्यो पानीको प्रवाहलाई बेग्लै दिशामा मोडेपछि त्यो नदी सुकिहाल्यो। यसप्रकार “सूर्योदयका राजाहरू” (पूर्वका) फारसी कोरेस र मादी दाराका लागि बेबिलोनमा प्रवेश गर्ने र त्यसलाई आफ्नो कब्जामा पार्ने बाटो खुल्यो। सङ्‌कटको ऐन घडीमा यूफ्रेटिस नदीले त्यो महान शहरलाई बचाउन सकेन। (यशैया ४४:२७–४५:७; यर्मिया ५१:३६) यस्तै कुरा आधुनिक बेबिलोन अथवा झूटो धर्मको विश्‍व-व्यापी व्यवस्थामाथि पनि आइ पर्नेछ।

२२ महान बेबिलोन “धेरै पानीहरूमाथि” बस्छ। प्रकाश १७:१, १५-अनुसार यी पानीहरूले “मानिसहरू, जातिहरू, भीडहरू र भाषाहरू” अर्थात्‌ उसका भीडका भीड धर्मावलम्बीहरूलाई चित्रित गर्छन्‌। उसको विचारमा यिनीहरूले उसलाई सुरक्षित राख्नेछन्‌। तर यी “पानीहरू” सुक्दैछन्‌! पश्‍चिम युरोपमा एकताका उसको निकै नै ठूलो प्रभाव थियो। तर अब भने त्यहाँका दशौं करोड मानिसहरूले खुलेआम धर्मको बेवास्ता गर्छन्‌। केही देशहरूमा चाहिं धर्मको प्रभावलाई खत्तम पार्ने खुला नीति अपनाइयो। तापनि त्यहाँका मानिसहरू धर्मको पक्षमा खडा भएका छैनन्‌। यस्तैप्रकार, महान बेबिलोन नाश हुने बेला आउँदा उसका घट्‌दो समर्थकहरूले उसलाई सुरक्षित राख्न सक्ने छैनन्‌। (प्रकाश १७:१६) उसले आज आफूसित करोडौं करोड धर्मावलम्बीहरू छन्‌ भन्दै धाक लाए तापनि, “सूर्योदयका राजाहरू”को सामु महान बेबिलोन असहाय हुनेछ।

२३. (क) सा.यु.पू. ५३९-मा “सूर्योदय”बाट आउने राजाहरू को थिए? (ख) प्रभुको दिनमा “सूर्योदय”बाट आउने राजाहरू को हुन्‌ र तिनीहरूले महान बेबिलोनलाई कसरी नष्ट गर्नेछन्‌?

२३ तर यी राजाहरू को हुन्‌? सा.यु.पू. ५३९-मा तिनीहरू मादी दारा र फारसी कोरेस थिए। प्राचीन शहर बेबिलोनलाई कब्जामा पार्न यहोवाले ती राजाहरूलाई प्रयोग गर्नु भएको थियो। अहिले प्रभुको दिनमा पनि महान बेबिलोनको झूटो धार्मिक रीतिरिवाजलाई मानव शासकहरूले नै नष्ट गर्नेछन्‌। तर यो कार्य ईश्‍वरीय न्यायकै अभिव्यक्‍ति हुनेछ। “सूर्योदयका राजाहरू” यहोवा परमेश्‍वर र येशू ख्रीष्टले मानव शासकहरूलाई महान बेबिलोनमाथि हमला गर्ने र उसलाई सम्पूर्णतः नष्ट पारिदिने “मन” दिनु हुनेछ। (प्रकाश १७:१६, १७) यो न्याय कार्यान्वयन हुनै लागेको छ भन्‍ने आमघोषणा छैटौं कचौरा खन्याएर गरिन्छ!

२४. (क) यहोवाको क्रोधका प्रथम छवटा कचौरामा भएका कुराहरूको घोषणा कसरी गरियो र परिणामस्वरूप के भएको छ? (ख) परमेश्‍वरको क्रोधको अन्तिम कचौराबारे हामीलाई भन्‍नुअघि प्रकाशको पुस्तकले कुन कुरा प्रकट गर्छ?

२४ यहोवाको क्रोधका यी प्रथम छ कचौराहरूले एउटा गम्भीर सन्देश दिन्छन्‌। यस सन्देशलाई स्वर्गदूतहरूको मदतद्वारा परमेश्‍वरका पार्थिव सेवकहरूले पृथ्वीभरि घोषणा गर्दै आएका छन्‌। यसप्रकार शैतानी संसारको हर क्षेत्रलाई आवश्‍यक चेताउनी दिइ सकिएको छ। यहोवाले व्यक्‍ति-व्यक्‍तिलाई धार्मिकताको मार्गमा फर्केर जीवित रहने मौका दिनु भएको छ। (इजकिएल ३३:१४-१६) तापनि, परमेश्‍वरको क्रोधको अझ एउटा कचौरा खन्याउन बाँकी नै छ। तर त्यसबारे भन्‍नुअघि, शैतान र त्यसका पार्थिव प्रतिनिधिहरूले यहोवाको न्याय घोषणाहरूलाई रोक्न के कस्ता प्रयास गरिरहेका छन्‌, सो प्रकाशको पुस्तकले हामीलाई बुझाउनेछ।

आरमागेडोनमा एकत्रित हुने काम

२५. (क) यूहन्‍नाले हामीलाई ती अशुद्ध र भ्यागुताजस्तै “भूतात्माहरू”बारे के भन्छन्‌? (ख) प्रभुको दिनमा पनि घीनलाग्दो भ्यागुतारूपी विपत्ति कसरी आइ लागेको छ र यसको परिणामस्वरूप के भएको छ?

२५ यूहन्‍ना हामीलाई भन्छन्‌: “अनि त्यस अजीङ्‌गरजस्तै पशुको मुखबाट, र त्यस जानवरको मुखबाट, र झूटा अगमवक्‍ताको मुखबाट भ्यागुताहरूजस्ता अशुद्ध आत्माहरू आएका मैले देखें। किनकि चिह्नहरूका काम गर्ने ती भूतहरूका आत्मा हुन्‌। सर्वशक्‍तिमान परमेश्‍वरको ठूलो दिनको लडाइँको निम्ति जम्मै पृथ्वीका राजाहरूलाई जम्मा गर्नालाई तिनीहरू जान्छन्‌।” (प्रकाश १६:१३, १४) मोशाको समयमा यहोवाले फिरऊनको मिश्रलाई घीनलाग्दा भ्यागुताहरूको आक्रमणले प्रहार गर्नु भएको थियो। यहाँसम्म कि “देश गह्नाउनलाग्यो।” (प्रस्थान ८:५-१५) प्रभुको दिनमा पनि घीनलाग्दो भ्यागुतारूपी विपत्ति आइ लागेको छ। तर यो विपत्तिको स्रोत बेग्लै छ। यस विपत्तिको स्रोत शैतानका “अशुद्ध आत्माहरू” हुन्‌। यी आत्माहरू त्यो मिथ्या प्रसारको एउटा चित्रण हो जसले सबै मानव शासकहरू तथा “राजाहरू”-लाई यहोवा परमेश्‍वरको विरुद्धमा भड्‌काउँछन्‌। यी शासकहरूमाथि परमेश्‍वरको क्रोधका कचौराहरूले कुनै असर पारेको शैतान चाहँदैन। बरु “सर्वशक्‍तिमान परमेश्‍वरको ठूलो दिनको लडाइँ” आरम्भ हुँदा तिनीहरू जम्मै उसैको पक्षमा भएको ऊ चाहन्छ।

२६. (क) शैतानको मिथ्या प्रसार कुन तीन स्रोतहरूबाट आउँछन्‌? (ख) “झूटो अगमवक्‍ता” को हो र यो हामी कसरी भन्‍न सक्छौं?

२६ यो मिथ्या प्रसारका स्रोत “अजीङ्‌गर” (शैतान) र जङ्‌गली “जानवर” (शैतानको पार्थिव राजनैतिक व्यवस्था) हुन्‌। हाम्रो भेट यी पशुहरूसित प्रकाशको पुस्तकमा भइसकेको छ। तर अब यो “झूटा अगमवक्‍ता”को हो? ऊ पनि नाउँ मात्रको नयाँ हो। केही समयअघि हामीले शिरमा भेंडाको जस्तै दुइटा सीङ भएको जनावर देख्यौं जसले सात शिर भएको जनावरको सामु ठूलठूला चिन्हहरू गर्थ्यो। यो दुई सीङ हुने भ्रमात्मक जनावरले त्यो सात शिर भएको जनावरका लागि अगमवक्‍ताको काम गर्थ्यो। त्यसले सात शिर हुने जनावरको मूर्ति बनाउनका साथै यसको पूजालाई समेत बढावा दिएको थियो। (प्रकाश १३:११-१४) अतः भेंडाको जस्तै दुई सीङ भएको त्यो जनावर यही “झूटा अगमवक्‍ता” हुनुपर्छ। यही समझलाई पुष्टि दिंदै पछि भनिएको छ, यो दुई सीङ भएको जनावरले पनि . . . [सात शिर हुने जनावरको] दृष्टिमा चिह्नहरू गरेर त्यो जनावरको छाप लिनेहरू जतिलाई र त्यसको मूर्तिको पूजा गर्नेहरूलाई” भ्रममा पार्दछ।—प्रकाश १९:२०.

२७. (क) येशू ख्रीष्ट स्वयंले कस्तो समयानुकूल चेताउनी दिनु हुन्छ? (ख) येशू पृथ्वीमा हुनुहुँदा उहाँले के चेताउनी दिनु भएको थियो? (ग) प्रेरित पावलले पनि येशूकै चेताउनी कसरी दोहोऱ्‍याए?

२७ शैतानको यतिका मिथ्या प्रसारबीच यूहन्‍नाका यी शब्दहरू वास्तवमा उपयुक्‍त छन्‌: “हेर, म चोरजस्तै आउनेछु। त्यो धन्यको हो, जो सतर्क रहन्छ, र आफ्ना लुगाको रखवाली गर्छ। नत्रता त्यो नाङ्‌गै हिंड्‌नेछ र तिनीहरूले त्यसको लाज देख्नेछन्‌।” (प्रकाश १६:१५) यहाँ “चोरजस्तै” को आउने हो? येशू स्वयं। पूर्वघोषित समयमा होइन तर यहोवाको न्यायकार्यान्वयनकर्ताको हैसियतमा उहाँ अचानक आउनु हुनेछ। (प्रकाश ३:३; २ पत्रुस ३:१०) पृथ्वीमै हुनुहुँदा पनि येशूले आफ्नो आगमनलाई चोरको आगमनसित तुलना गर्नु हुँदै यसो भन्‍नु भएको थियो: “यसकारण जागा रहो, किनकि कुन दिन तिमीहरूका प्रभु आउँछन्‌, सो तिमीहरू जान्दैनौं। यसकारण तिमीहरू पनि तयार रहो किनकि मानिसको पुत्र तिमीहरूले नचिताएको बेलामा आउँछ।” (मत्ती २४:४२, ४४; लूका १२:३७, ४०) सोही चेताउनीलाई दोहोऱ्‍याउँदै प्रेरित पावलले यसो भने: “प्रभुको दिन ता रातमा चोर आएझैं आउनेछ। जब मानिसहरूले ‘शान्ति र सुरक्षित’ भनिरहेका हुन्छन्‌, तब . . . अचानकसँग तिनीहरूमाथि विनाश आइलाग्छ।” ‘शान्ति र सुरक्षा!’ को त्यस्तो झूटो घोषणा गर्न उक्साउने शैतान नै हो।—१ थिस्सलोनिकी ५:२, ३.

२८. सांसारिक दबाबहरूसित मुकाबिला गर्ने सम्बन्धमा येशूले के चेताउनी दिनु भयो र त्यो कुन चाहिं “दिन” हो जसको “पासोमा” मसीहीहरू पर्न चाहँदैनन्‌?

२८ मिथ्या प्रसारमा ओतप्रोत यो संसारले आज पनि मसीहीहरूमाथि ल्याउने दबाबबारे चेताउनी दिनु हुँदै येशूले यसो भन्‍नु भयो: “तर तिमीहरू आफ्नो विषयमा होशियार रहो, नत्रता तिमीहरूका मन वाक्क-व्याक्क, नशा र जीवनको फिक्रीले लट्टिएका हुनेछन्‌, औ त्यो दिन तिमीहरूमाथि एक्कासि पासोझैं आइपर्ला। . . . तर आउनलागेका कुराहरूबाट उम्कन र मानिसको पुत्रको सामने खडा हुनसक्नालाई हर घडी प्रार्थना गर्दै जागा रहो।” (लूका २१:३४-३६) “त्यो दिन” “सर्वशक्‍तिमान परमेश्‍वरको ठूलो दिन” हो। (प्रकाश १६:१४) यहोवाको सार्वभौमिकतालाई प्रमाणीकरण गर्ने त्यो “दिन” जसै नजीक आउँछ, जीवनका फिक्रीहरूको मुकाबिला गर्न झन्‌झन्‌ गाह्रो हुनेछ। मसीहीहरू सतर्क र सचेत हुनुपर्छ। त्यो दिनको प्रतीक्षामा जागा बस्नु पर्छ।

२९, ३०. (क) सुतिरहेको अवस्थामा फेला पर्नेहरूको “वस्त्र” फुकालिनेछन्‌ र तिनीहरूलाई लाजमर्दो पारिनेछन्‌ भनेर येशूले दिनु भएको चेताउनीको तात्पर्य के हो? (ख) वस्त्रले ती वस्त्र लाउनेहरूबारे के जानकारी दिन्छ? (ग) मानिसले आफ्नो प्रतीकात्मक वस्त्र कसरी गुमाउन सक्छ र यसको परिणाम के हुनेछ?

२९ तर त्यो दिन आउँदा जो सुतिरहेका हुनेछन्‌, तिनीहरू लाज मर्नेगरी “नाङ्‌गै हिंडन” पर्नेछ भन्‍नुको अर्थ के हो? प्राचीन इस्राएलमा मन्दिर वा शहरमा पाले बस्ने पूजारी वा लेवीको जिम्मेवारी अति नै गहन हुन्थ्यो। यहूदी टिकाकारहरूअनुसार, ती पाले बस्ने व्यक्‍ति सुतिरहेको फेला परेमा उनका लुगाहरू फुकालेर जलाइन्थ्यो। उनलाई सबैको सामु लाजमर्दो पारिन्थ्यो।

३० यस्तै कुरा आज पनि हुन सक्छ भनी येशू यहाँ चेताउनी दिनुहुन्छ। पूजारी र लेवीहरू येशूका अभिषिक्‍त भाइहरूका एउटा अग्रिम चित्रण थिए। (१ पत्रुस २:९) तर येशूको चेताउनी ठूलो भीडमाथि पनि लागू हुन्छ। यहाँ उल्लिखित बाहिरी वस्त्र यहोवाको मसीही साक्षीको परिचय हो। (प्रकाश ३:१८; ७:१४ तुलना गर्नुहोस्‌।) शैतानी संसारको दबाबमा परेर निदाउनेहरू अथवा निष्कृय हुनेहरूका यी वस्त्रहरू खोसिन सक्छन्‌। तिनीहरूले आफ्नो मसीही परिचय गुमाउन सक्छन्‌। यस्तो स्थिति लाजमर्दो हुनेछ। यसले गर्दा सबै कुरा गुमाउने खतरा हुन सक्छ।

३१. (क) मसीहीहरूलाई जागा रहने आवश्‍यकतामाथि प्रकाश १६:१६-ले कसरी जोड दिन्छ? (ख) आरमागेडोनबारे केही धार्मिक गुरुहरूले के अनुमान लाएका छन्‌?

३१ मसीहीहरूलाई जागा बस्न अब झन्‌ अत्यावश्‍यक पर्छ किनकि प्रकाशको पुस्तकको अघिल्लो पद पूरा हुने बेला अब नजिकै आएको छ: “औ तिनीहरूले [प्रेतात्माहरूद्वारा प्रेरित वाणीहरू] तिनीहरूलाई [पृथ्वीका राजाहरू] हिब्रू भाषामा आर-मागेडोनहार-मागेडोन, NW] भन्‍ने ठाउँमा एक साथ जम्मा गरे।” (प्रकाश १६:१६) यो आरमागेडोन भन्‍ने नाउँ बाइबलमा एक पटक मात्र देखा पर्छ। तापनि यसबारे मानिसजातिले अनेक थरि कल्पना गरेका छन्‌। एउटा सम्भाव्य आणविक आरमागेडोनबारे विश्‍व-नेताहरूले सतर्क गराएका छन्‌। आरमागेडोनलाई पुरातन शहर मेगिडोसित पनि जोड्‌न खोजिएको छ किनकि बाइबलकालीन समयमा मेगिडो नै थुप्रै निर्णायक युद्धहरूको घटनास्थल थियो। केही धर्मगुरुहरूले त मेगिडोकै सीमित इलाकामा पृथ्वीको अन्तिम युद्ध लडिनेछ भन्‍ने अनुमान समेत लाएका छन्‌। तर तिनीहरूको यस्तो सोचाइ सच्चाइदेखि धेरै नै टाढा छ।

३२, ३३. (क) हारमागेडोन अर्थात्‌ आरमागेडोन एउटा शाब्दिक ठाउँ नभएर कुन कुराको प्रतीक हो? (ख) बाइबलका अन्य कुन वाक्यहरू “आरमागेडोन”सित मिल्दोजुल्दो अथवा सम्बन्धित छन्‌? (ग) सातौं स्वर्गदूतले परमेश्‍वरको क्रोधको अन्तिम कचौरा कहिले खन्याउनेछन्‌?

३२ आरमागेडोनको अर्थ “मेगिडो पर्वत” हो। तर यो कुनै शाब्दिक ठाउँ होइन। यसले एउटा विश्‍व-स्थितिलाई बोध गराउँछ जहाँ जम्मै राष्ट्रहरू यहोवा परमेश्‍वरको विरुद्धमा जम्मा गराइन्छन्‌ अनि उहाँले तिनीहरूलाई अन्ततः नष्ट गर्नु हुनेछ। यो विनाश विश्‍व-व्यापी हुनेछ। (यर्मिया २५:३१-३३; दानियल २:४४) यो विनाश “परमेश्‍वरको क्रोधको कोल” र “यहोशापातको बेंसी” सित मिल्दोजुल्दो छ किनकि यी दुवै ठाउँहरूमा राष्ट्रहरू यहोवाको हातबाट नष्ट हुन भेला गराइन्छन्‌। (प्रकाश १४:१९; योएल ३:१२, १४) यो घटना “इस्राएलको देश” सित पनि सम्बन्धित छ जहाँ मागोगको गोगका शैतानी सेनाहरू नष्ट हुन्छन्‌। यो विध्वंस “समुद्र र पवित्र डाँडा, अर्थात्‌ सबैभन्दा सुन्दर डाँडाको बीच”-को ठाउँसित पनि सम्बन्धित छ जहाँ ठूला कप्तान माइकलको हातबाट उत्तरको राजाको “अन्त हुनेछ।”—इजकिएल ३८:१६-१८, २२, २३; दानियल ११:४५–१२:१.

३३ शैतान र त्यसका पार्थिव प्रतिनिधिहरूद्वारा फैलिने भ्यागुताको क्वारक्वारजस्तै यस्तो मिथ्या प्रसारले राष्ट्रहरूलाई उपरोक्‍त स्थितिमा पुऱ्‍याएपछि सातौं स्वर्गदूतले परमेश्‍वरको क्रोधको अन्तिम कचौरा खन्याउने छन्‌।

“भइगयो”

३४. सातौं स्वर्गदूतले आफ्नो कचौरा के माथि खन्याउँछन्‌ र “मन्दिरको सिंहासनबाट” कस्तो घोषणा सुनिन्छ?

३४ “औ सातौंले आफ्नो कचौरा हावामा खन्याए, र मन्दिरको सिंहासनबाट यसो भन्‍ने एउटा ठूलो आवाज निस्क्यो, ‘भइगयो।’ ”—प्रकाश १६:१७.

३५. (क) प्रकाश १६:१७-को “हावा” के हो? (ख) आफ्नो कचौरा हावामाथि खन्याउँदा सातौं स्वर्गदूतले के व्यक्‍त गर्छन्‌?

३५ अब यो अन्तिम विपत्ति जीवन टिकाउ माध्यम अर्थात्‌ “हावा”माथि पठाइनेछ। तर यो साँच्चैको “हावा” होइन। यहोवाको प्रतिकूल इन्साफ पाउने योग्यको कुनै पनि त्यस्तो कुरा नता शाब्दिक हावामा छ, न शाब्दिक पृथ्वीमा, न समुद्रमा, न पानीका मूलहरूमा र न सूर्यमै छ। बरु यो त्यो “हावा” हो जसबारे पावलले शैतानलाई “आकाशको [हावाको, NW] शक्‍तिको मालिक” भनेर सम्बोधन गर्दा चर्चा गरेका थिए। (एफिसी २:२) यो त्यो शैतानी “हावा” हो जसमा वर्तमान संसारले श्‍वास लिने गर्छ। यो हावा त्यो झुकाउ अथवा आममानसिक मनोवृत्ति हो जो शैतानको दुष्ट रीतिरिवाजको चिनारी बन्‍न गएको छ। यो त्यो शैतानी सोचाइ हो जसमा यहोवाको सङ्‌गठनबाहिरका जीवनको हर क्षेत्र भिजेको छ। अतः आफ्नो कचौरा हावामा खन्याएर सातौं स्वर्गदूतले शैतान, त्यसको सङ्‌गठन र यहोवाको सार्वभौमिकताको अपमान गर्दै शैतानलाई समर्थन गर्न उक्साउने सबै चीजको विरुद्धमा यहोवाको क्रोध व्यक्‍त गर्छ।

३६. (क) सात विपत्तिहरू वास्तवमा के हुन्‌? (ख) यहोवाले “भइगयो” भन्‍नुको अर्थ के हो?

३६ यो र योभन्दा अघिका छ-वटा विपत्तिहरूले शैतान र त्यसको रीतिरिवाजको विरुद्धमा यहोवाका सम्पूर्ण न्यायिक फैसलाहरू प्रकट गर्छन्‌। ती सबैले शैतान र त्यसको सन्तानको विनाश घोषणा गर्छन्‌। यो अन्तिम कचौरा खन्याइ सकेपछि स्वयं यहोवाले नै “भइगयो” भन्‍नु हुन्छ। अझ भन्‍न केही बाँकी रहने छैन। परमेश्‍वरको क्रोधका यी कचौराहरूमा भएका कुराहरू यहोवालाई चित्तबुझ्दो गरी घोषित भइसकेपछि ती सन्देशहरूद्वारा घोषित न्याय फैसलाहरूलाई कार्यान्वयन गर्नमा कुनै विलम्ब हुनेछैन।

३७. परमेश्‍वरको क्रोधको सातौं कचौरा खन्याइ सकेपछि हुने कुराको वर्णन यूहन्‍ना कसरी गर्छन्‌?

३७ यूहन्‍ना अझ भन्दै जान्छन्‌: “औ बिजुलीहरू, आवाजहरू र गर्जनहरू भए, र ठूलो भूकम्प भयो। यति ठूलो र भयङ्‌कर, कि मानिसहरू पृथ्वीमा भएदेखि यसो त्यति ठूलो भूकम्प भएकै थिएन। औ त्यो ठूलो शहर तीन भाग भयो, र जाति जातिका शहरहरू ढले, र उहाँका क्रोधको डरलाग्दो मद्यको कचौरा दिनालाई परमेश्‍वरको दृष्टिमा महान बेबिलोनको सम्झना भयो। औ सबै टापूहरू लोप भए, र डाँडाहरूको पता लागेन। औ मन मन तौल भएका ठूला ठूला असिनाहरू स्वर्गबाट मानिसहरूमाथि ओइरिन लागे, र मानिसहरूले असिनाको त्यस विपत्तिको कारण परमेश्‍वरको निन्दा गरे, किनभने त्यो विपत्ति ज्यादैनै ठूलो थियो।”—प्रकाश १६:१८-२१.

३८. (क) “ठूलो भूकम्प,” (ख) “ठूलो शहर” महान बेबिलोन तीन भागमा टुक्रिनु (ग) “सबै टापूहरू लोप” हुनु र “डाँडाहरूको पता” नलाग्नु तथा (घ) “असिनाहरू” कुन कुराका प्रतीक हुन्‌?

३८ एक पटक फेरि यहोवाले मानिसजातिका खातिर ठोस कदम उठाउनुहुन्छ। यसको सङ्‌केत “बिजुलीहरू, आवाजहरू र गर्जनहरू”ले दिन्छन्‌। (प्रकाश ४:५; ८:५-तुलना गर्नुहोस्‌।) मानिसजातिलाई मानौं एउटा ध्वंसात्मक भूकम्पले यस्तोगरी हल्लाउनेछ जस्तोकि पहिले कहिल्यै भएको थिएन। (तुलना गर्नुहोस्‌ यशैया १३:१३; योएल ३:१६) यस जोडको थतर्कोले त्यो “ठूलो शहर” अथवा महान बेबिलोनलाई घर्ल्यामघुर्लुम पारिदिन्छ। त्यो तीन भागमा टुक्रिन्छ। त्यो फेरि कहिल्यै उठ्‌नै नसक्नेगरी खस्छ। साथै “जातिजातिका शहरहरू” पनि खस्नेछन्‌। “सबै टापूहरू र सबै डाँडाहरू” अर्थात्‌ यस रीतिरिवाजमा यतिका स्थायी देखिने सङ्‌गठनहरू सबै लोप हुनेछन्‌। सातौं विपत्तिको रूपमा मिश्रमाथि आइपरेका असिनाहरूभन्दा धेरै नै “ठूला” र “मन मन तौल भएका” असिनाहरूले मानिसजातिलाई दुख्नेगरी प्रहार गर्नेछ। d (प्रस्थान ९:२२-२६) बरफका यी ढिकाहरूको बमवर्षा सम्भवतः यहोवाका अति नै कडा मौखिक न्यायवाणीहरूलाई चित्रित गर्छन्‌। यो रीतिरिवाजको अन्त बल्ल आइ पुग्यो भनेर यी न्यायवाणीहरूले घोषित गर्नेछन्‌! यो विनाशक कार्यका लागि यहोवाले साँच्चैको असिना पनि चलाउन सक्नुहुन्छ।—अय्यूब ३८:२२, २३.

३९. सात विपत्तिहरू खन्याइ सकेपछि पनि धेरैजसो मानिसजातिले के गर्न छाडने छैनन्‌?

३९ यसप्रकार, यहोवाको धार्मिक न्यायबाट शैतानको संसार उम्कन पाउने छैन। अधिकांश मानवजातिले अन्तसम्मै परमेश्‍वरको निन्दा र उहाँप्रति अटेर गर्न छाड्‌ने छैनन्‌। तिनीहरू प्राचीनकालको फिरऊन जस्तै हुनेछन्‌। एकपछि अर्को विपत्ति अथवा ती विपत्तिहरूको मृत्युदायी चरमोत्कर्षले तिनीहरूको हृदयलाई नरम तुल्याउने छैन। (प्रस्थान ११:९, १०) अन्तिम घडीमा हूलका हूल मानिसहरूले आफ्नो हृदय एकाएक बदलिने छैनन्‌। “मनै परमप्रभु [यहोवा, NW] हुँ” भनी घोषणा गर्नु हुने परमेश्‍वरलाई तिनीहरूले अन्तिम घडीसम्मै गाली गर्नेछन्‌। (इजकिएल ३८:२३) तापनि, सर्वशक्‍तिमान यहोवा परमेश्‍वरको सार्वभौमिकताको जीत भइसकेको हुनेछ।

[फुटनोटहरू]

a साक्षीको रूपमा काम गर्ने निर्जिव सरसामानहरूका उदाहरणहरूका लागि उत्पत्ति ४:१०; ३१:४४-५३; हिब्रू १२:२४-तुलना गर्नुहोस्‌।

b सिंहासन शब्दको यस्तै प्रयोग येशूलाई सम्बोधन गर्ने यी भविष्यवाणीरूपी शब्दहरूमा पनि देख्न सकिन्छ: “परमेश्‍वर नै सदा सर्वदासम्मै तपाईंको सिंहासन हुनुहुन्छ।” (भजन ४५:६, NW) येशूको शाही अख्तियारको मूल तथा जग यहोवा हुनुहुन्छ।

d यूहन्‍नाले यहाँ युनानी तौलको कुरा गरेका भए, प्रत्येक असिना करीब ४५ पाउण्ड अर्थात्‌ २० किलो गह्रौं हुनेछ। सब थोक सखापै पार्ने असिना पर्नेछ।

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ २२१-मा भएको पेटी]

पृथ्वीमा”

यूहन्‍नावर्गले “पृथ्वीको विरुद्धमा” यहोवाको क्रोधलाई निम्न वक्‍तव्यहरूद्वारा सूचित गर्दै आएका छन्‌:

“कैयौं शताब्दीदेखि प्रयास गर्दै आए तापनि वर्तमान स्थितिलाई सुधार्न र यी दुःखदायी समस्याहरूको समाधान गर्न राजनैतिक दलहरू असमर्थ साबित भएका छन्‌। यस विषयलाई ध्यानपूर्वक अध्ययन गर्ने अर्थशास्त्रीहरू तथा राजनीतिज्ञहरूले पनि केही गर्न सकेका छैनन्‌।”—मिल्यन्स नाउ लिविङ्‌ विल नेभर डाइ, १९२०, पृष्ठ ६१.

“विश्‍वको कुनै एउटा ठोस भागलाई सन्तुष्ट पार्न सक्ने आज एउटा पनि सरकार छैन। धेरैजसो राष्ट्रहरू तानाशाहीहरूको कब्जामा छन्‌। सारा संसारको प्रायः टाट पल्टिसकेको छ।”—अ डिजाइरेवल गवर्नमेन्ट, १९२४, पृष्ठ ५.

“संसारबाट खराबी हटाउने र शान्ति तथा सुरक्षालाई फस्टाउन दिने एक मात्र तरीका यो रीतिरिवाजको अन्त गर्नु हो।”—“दिस गुड न्युज अफ द किङ्‌गडम,” १९५४, पाना २५.

“वर्तमान संसारको व्यवस्था बढ्‌दो पाप, अधार्मिकता र ईश्‍वर र ईश्‍वरीय इच्छाको विरोधले विशेषरूपमा भरिएको छ। . . . यो सुध्रन सक्‍तैन। यो जानै पर्छ!”—द वाचटावर, नोभेम्बर १५, १९८१, पृष्ठ ६.

[पृष्ठ २२३-मा भएको पेटी]

“समुद्रमाथि”

यहोवाबाट अलग्गिएको विरोधी, अशान्त र भक्‍तिहीन मानिसजातिको विरुद्धमा परमेश्‍वरको क्रोध घोषणा गर्दै यूहन्‍नावर्गले दिएका केही अभिव्यक्‍तिहरू यसप्रकार छन्‌:

“प्रत्येक राष्ट्रको इतिहासमा वर्ग संघर्ष देखिन्छ। धेरैको विरुद्धमा थोरै। . . . यस्ता संघर्षहरूको परिणामस्वरूप थुप्रै क्रान्ति, घोर सङ्‌कष्ट र रक्‍तपात भएको छ।”—गवर्नमेन्ट, १९२८, पृष्ठ २४४.

नयाँ संसारमा “त्यो अशान्त, विरोधी र भक्‍तिहीन मानिसहरूको प्रतीकात्मक ‘समुद्र’ रहनेछैन जहाँबाट धेरै समयअघि दियाबलको प्रयोगका लागि त्यो लाक्षणिक जंगली जनावर निस्केको थियो।”—द वाचटावर, सेप्टेम्बर १५, १९६७, पाना ५६७.

“वर्तमान मानव समाज आत्मिक तवरमा बिरामी र रोगी छ। परमेश्‍वरको वचन भन्छ यसको रोग मृत्युदायी छ। यसलाई हामी कसैले पनि बचाउन सक्‍तैनौं।”—ट्रु पीस एन्ड सेक्युरिटी—फ्रम ह्वट सोर्स?, १९७३, पृष्ठ १३.

[पृष्ठ २२४-मा भएको पेटी]

“नदीहरू र पानीका मूलहरूमा”

तेस्रो विपत्तिले “नदीहरू र पानीका मूलहरू”को पर्दाफास यस्ता वक्‍तव्यहरूद्वारा गरेको छ:

“[ख्रीष्टका] शिक्षाहरूका सिद्धान्तहरू सिकाउने दाबी गर्ने पादरीहरूले युद्धलाई न्यायोचित र पवित्र तुल्याएका छन्‌। यी पादरीहरूले रक्‍तपाती योद्धाहरूको संगसंगै आफ्नो पनि फोटो र सालिकहरू प्रदर्शित गर्न रुचाएका छन्‌।”—द वाचटावर, सेप्टेम्बर १५, १९२४, पृष्ठ २७५.

“अध्यात्मवाद [आत्मवाद] अमरत्व र मृत्युपश्‍चात पनि मानिसको आत्मा जीवित रहन्छन्‌ भन्‍ने ठूलो असत्यमा आधारित छ।”—ह्वट डु द स्क्रिप्चर्स से अबाउट्‌ “सर्भाइभल आफ्टर डेथ?”, १९५५, पाना ५१.

“मानव दर्शनहरू, राजनीतिज्ञहरू, सामाजिक व्यवस्थापकहरू, आर्थिक सल्लाहकारहरू, र धार्मिक परम्पराहरूका समर्थकहरूले वास्तविक जीवनदायी विश्राम दिन सकेका छैनन्‌ . . . यस्ता पानी पिउनेहरूले रगतको पवित्रतासम्बन्धी सृष्टिकर्ताको नियम उल्लंघन गरेका छन्‌ र धार्मिक सतावटमा समेत भाग लिएका छन्‌।”—१९६३-को “अनन्त सुसमाचार” अन्तर्राष्ट्रिय सम्मेलनमा पारित गरिएको प्रस्तावना।

“मानिसबाट वैज्ञानिक मुक्‍ति होइन तर मानव विनाशको मात्र प्रत्याशा गर्न सकिन्छ। . . . संसारका जम्मै मनोविज्ञानवेताहरू र मनोचिकित्सकहरूले मानिसजातिको सोचाइमा परिवर्तन ल्याउने छन्‌ भनी हामी आशा राख्न सक्‍तैनौं। . . . कुनै अन्तर्राष्ट्रिय प्रहरी दल गठन हुनेछ र यो एउटा सुरक्षित ठाउँ बन्‍नेछ भनी हामी ढुक्क बस्न सक्‍तैनौं।”—सेविङ्‌ग द ह्‍युमन रेस—इन द किङ्‌गडम वे, १९७०, पाना ५.

[पृष्ठ २२५-मा भएको पेटी]

“सूर्यमाथि”

मानव शासनको “सूर्य”ले मानिसजातिलाई प्रभुको दिनमा पोल्दा’, यूहन्‍नावर्गले चाहिं निम्न वक्‍तव्यहरूद्वारा विद्यमान कुराहरूबारे मानिसलाई अवगत गराउँदै आएका छन्‌:

“हिटलर र मुसोलिनी जस्ता निरङ्‌कुश तानाशाहहरू विश्‍व-शान्तिका लागि खतरा हुन्‌। तापनि स्वतन्त्रता हरण गर्ने तिनीहरूको अभियानलाई रोमन क्याथोलिक चर्चले आफ्नो पूरा समर्थन दिइरहेछ।”—फेसिज्म अर फ्रिडम, १९३९, पाना १२.

“इतिहासभरि मानव तानाशाहहरूले प्रतिपादन गर्दै आएको सिद्धान्त हो: शासन गर अथवा विनाश गर! तर अब परमेश्‍वरद्वारा नियुक्‍त राजा येशू ख्रीष्टले प्रयोगमा ल्याउनु हुने नियम यो हो: शासित हुनुहोस्‌ वा नष्ट।”—ह्वेन अल नेशन्स युनाइट अन्डर गड्‌स किङ्‌गडम, १९६१, पाना २३.

“सन्‌ १९४५-देखि साढे दुई करोड भन्दा बढी मानिसहरू विश्‍वभरि लडिएका करीब १५०-वटा युद्धहरूमा मारिएका छन्‌।”—द वाचटावर, जनवरी १५, १९८०, पृष्ठ ६.

“संसारभरिका राष्ट्रहरूले अन्तर्राष्ट्रिय उत्तरदायित्व अथवा व्यवहार प्रणालीको वास्तै गर्दैनन्‌। आफ्नो स्वार्थ सिद्धिका लागि कुनै कुनै राष्ट्रहरूले काटमार, हत्या, अपहरण, बम विष्फोटन अथवा आफूलाई जे उचित लाग्छ, सोही गर्न ठीक ठान्छन्‌। . . . राष्ट्रहरूले एकअर्काबाट यस्तो मूर्ख र गैरजिम्मेवार व्यवहार कहिलेसम्म सहँदै बस्नेछन्‌?”—द वाचटावर, फेब्रुअरी १५, १९८५, पृष्ठ ४.

[पृष्ठ २२७-मा भएको पेटी]

“पशुको सिंहासनमाथि”

यहोवाका साक्षीहरूले पशुको सिंहासनको पर्दाफास गरिदिएका छन्‌ र त्यसप्रति यहोवाको अप्रसन्‍नता यसप्रकारका केही वक्‍तव्यहरूद्वारा घोषणा गरेका छन्‌:

“राष्ट्रहरूका शासकहरू र राजनैतिक गुरुहरू दुष्ट अलौकिक शाक्‍तिहरूको वशमा छन्‌। र यी शक्‍तिहरूले ती शासकहरूलाई आरमागेडोनको निर्णायक प्रतिद्वन्दतर्फ मानौं आत्महत्याको यात्रामा जबरजस्ती घसार्दै लैजाँदैछन्‌।”—आफ्टर आरमागेडोन—गड्‌स न्यु वर्ल्ड, १९५३, पाना ८.

“गैर-ईश्‍वरतान्त्रिक मानव सरकारको ‘जनावरले’ त्यसको शक्‍ति, अख्तियार र सिंहासन अजिंगरबाट पाएको हो। यसकारण त्यसले आफ्नो मूलस्रोत, अजिंगरकै मार्ग स्वभाविकतः पछ्याउनै पर्छ।”—आफ्टर आरमागेडोन—गड्‌स न्यु वर्ल्ड, १९५३, पृष्ठ १५.

“अन्यजातिहरू . . . परमेश्‍वरको प्रमुख शत्रु, दियाबल तथा शैतानकै पक्षमा मात्र हुन सक्छन्‌।”—“ईश्‍वरीय विजय” अन्तर्राष्ट्रिय सम्मेलन, १९७३-मा पारित प्रस्तावना।

[पृष्ठ २२९-मा भएको पेटी]

“त्यसको पानी सुकिहाल्यो”

अहिले पनि थुप्रै ठाउँहरूमा बेबिलोनी धर्मका लागि समर्थन सुक्दै जाँदैछ। अतः “सूर्योदयपट्टि”-का राजाहरूले आक्रमण गर्दा के हुनेछ, त्यसको सङ्‌केत यसबाट पाइन्छ।

“राष्ट्रिय सर्वेक्षणबाट थाह लागेको छ कि थाइलैण्डको नगरपालिकामा पर्ने इलाकाहरूका ७५ प्रतिशत मानिसहरू धर्मोपदेश सुन्‍न बौद्ध धर्मका गुम्बा तथा बिहारहरूमा पटक्कै जाने गर्दैनन्‌। गाँउघरमा पनि अब पचास प्रतिशत मानिसहरू मात्र ती धार्मिक स्थलहरू धाउने गर्छन्‌।”—बैङ्‌कोक पोस्ट, सेप्टेम्बर ७, १९८७, पाना ४.

“टाव धर्मले दुई हजार र्वषअघि जुन ठाउँमा [चीन] जन्म लिएको थियो, त्यही ठाउँमा आज त्यसको प्रभाव कम हुन गएको छ। पहिले पहिले त यस धर्मका पूजारी र तिनका उत्तराधिकारीहरूले जादूटोनाका चमत्कारी प्रदर्शनहरूको भरमा थुप्रै मानिसहरूलाई आफूतिर आकर्षित गर्थे। तर अब भने जादूटोनाको त्यो सहारा छैन। ती पूजारीहरूको कुनै उत्तराधिकारीहरू पनि हुने छैनन्‌ जस्तै देखिन्छ। यहाँसम्म कि चीनमा टाव धर्म एउटा संगठित धर्मको रूपमै नरहने खतरा छ।”—द एटलान्टा जर्नल एण्ड कन्स्टिच्युशन, सेप्टेम्बर १२, १९८२, पृष्ठ ३६-ए.

“संसारभरिमा विदेशी मिसनरीहरूको सबैभन्दा ठूलो [करीब ५,२०० जना] जमघट जापानमा छ। तापनि त्यस देशको एक  तिशतभन्दा कम मानिसहरू मात्र मसीही छन्‌। यहाँ १९५०-को दशकदेखि काम गर्दै आएका एक जना फ्रान्सेस्कन पादरीअनुसार “जापानमा विदेशी मिसनरीको जमाना अब समाप्त भइसक्यो”।—द वल स्ट्रिट जर्नल, जुलाई ९, १९८६, पाना १.

बेलायतमा बितेको करीब तीन दशकभित्र “१६,००० एंगलिकन चर्चहरू मध्येका करीब २,००० चर्चहरू प्रयोग नभएको कारण बन्द भए। कट्टरपन्थी मसीही देशहरूमा पनि गिर्जाको उपस्थिति तल झरेको छ। . . . [डरहामको बिशपअनुसार] ‘अब बेलायत एउटा मसीही देश हो भन्‍न मिल्दैन जस्तो देखिन्छ।’ ”—द न्यु योर्क टाइम्स, में ११, १९८७, पृष्ठ ए४.

“घण्टौं लामो तर्कविर्तकपछि आज [ग्रीसको] संसदले त्यहाँको समाजवादी सरकारलाई ग्रीक अर्थोडक्स चर्चले ओगटेका ठूलठूला सम्पत्तिहरू कब्जा गर्ने अनुमति दियो। . . . यस नियमबमोजिम अब होटेल, मार्बलका खानीहरू र कार्यालय भवनहरू जस्ता चर्चका ठूलठूला आर्थिक लगानी सञ्चालनमा गैरपादरीहरूले पनि अधिकार पाएका छन्‌।”—द न्यु योर्क टाइम्स, अप्रिल ४, १९८७, पृष्ठ ३.

[पृष्ठ २२२-मा भएको चित्र]

परमेश्‍वरको क्रोधको प्रथम चार कचौरा खन्याएपछि आउने विपत्तिहरू प्रथम चारवटा तुरहीको आवाजपछि हुने विपत्तिहरू जस्तै छन्‌।

[पृष्ठ २२६-मा भएको चित्र]

पशुको सिंहासन शैतानले त्यो जङ्‌गली जनावरलाई दिइएको अख्तियार हो भनेर पाँचौं कचौराले प्रष्ट पार्दछ।

[पृष्ठ २३१-मा भएको चित्र]

प्रेतहरूको मिथ्या प्रसारले पृथ्वीका शासकहरूलाई त्यो केन्द्रीय स्थिति अथवा हारमागेडोनतर्फ भेला गराइरहेका छन्‌ जहाँ तिनीहरूमाथि यहोवाको न्याय खन्याइनेछ

[पृष्ठ २३३-मा भएको चित्र]

शैतानको दूषित “हावा”बाट प्रभावित मानिसहरूले यहोवाको धार्मिक न्याय कार्यान्वयन भोग्नै पर्नेछ