सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परमेश्‍वरको न्यायको दिन—त्यसको आनन्दमय परिणाम!

परमेश्‍वरको न्यायको दिन—त्यसको आनन्दमय परिणाम!

अध्याय ४१

परमेश्‍वरको न्यायको दिन—त्यसको आनन्दमय परिणाम!

दर्शन १५—प्रकाश २०:११–२१:८

विषय: आम पुनरुत्थान, न्यायको दिन तथा नयाँ आकाश र नयाँ पृथ्वीसम्बन्धी आशिष्‌हरू

पूर्ति समयावधि: हजार वर्षीय शासन

१. (क) आदम र हव्वाले पाप गरेपछि मानिसजातिले के गुमाए? (ख) परमेश्‍वरको कुन उद्देश्‍य बदलेको छैन र हामीलाई यो कसरी थाह हुन्छ?

 हामी मानवको रूपमा सधैंभरि बाँच्न सृजिएका थियौं। आदम र हव्वाले परमेश्‍वरका आज्ञाहरू पालन गरेका भए तिनीहरू कहिल्यै मर्ने थिएनन्‌। (उत्पत्ति १:२८; २:८, १६, १७; उपदेशक ३:१०, ११) तर पाप गरेपछि तिनीहरूले जीवन र सिद्धता दुवै आफ्नोलागि र आफ्नो सन्तानका लागि गुमाए। मृत्युले क्रूरतासाथ मानिसजातिमाथि राज्य गर्न थाल्यो। (रोमी ५:१२, १४; १ कोरिन्थी १५:२६) तथापि, प्रमोदवनरूपी पृथ्वीमा सिद्ध मानवहरूलाई बसाल्ने परमेश्‍वरको उद्देश्‍य बद्‌लेन। मानिसजातिप्रति अपार प्रेम दर्शाउँदै उहाँले आफ्नो एक मात्र पुत्र येशूलाई पठाउनु भयो। येशूले आफ्नो सिद्ध मानव जीवन आदमका “धेरै” सन्तानको छुटकाराका लागि अर्पण गर्नु भयो। (मत्ती २०:२८; यूहन्‍ना ३:१६) येशूले आफ्नो त्यस बलिदानको कानुनी महत्त्वको आधारमा विश्‍वासी मानवहरूलाई प्रमोदवनरूपी पृथ्वीमा पुनः जीवन प्रदान गर्न सक्नुहुन्छ। (१ पत्रुस ३:१८; १ यूहन्‍ना २:२) मानिसजातिलाई “खुशी हुने” र “रमाउने” कति ठूलो कारण हो यो!—यशैया २५:८, ९.

२. प्रकाश २०:११-मा यूहन्‍ना के भन्छन्‌ र त्यो “ठूलो सेतो सिंहासन” के हो?

शैतानलाई अब अगाध खाँदमा थुनिसकेपछि येशूको महिमावान हजार वर्षीय राज्य सुरु हुन्छ। यो त्यो “दिन” हो जब परमेश्‍वरले स्वयं “नियुक्‍त गर्नु भएको मानिसद्वारा धर्मपूर्वक संसारको इन्साफ गर्नुहुनेछ।” (प्रेरित १७:३१; २ पत्रुस ३:८) यूहन्‍ना घोषणा गर्छन्‌: “अनि मैले एउटा ठूलो सेतो सिंहासन र त्यसमाथि विराजमान हुनुहुनेलाई देखें। उहाँको सामनेबाट पृथ्वी र आकाश भागे, र तिनीहरूका निम्ति कतै ठाउँ पाइएन।” (प्रकाश २०:११) यो “ठूलो सेतो सिंहासन” के हो? यो “सबको न्यायकर्त्ता परमेश्‍वरको” न्यायआसन हुनुपर्छ। (हिब्रू १२:२३) अब चाहिं येशूले चढाउनु भएको छुडौतीको बलिदानबाट लाभ उठाउने योग्यका को को छन्‌, सो ठम्याउन उहाँले मानिसजातिको न्याय गर्नु हुनेछ।—मर्कूस १०:४५.

३. (क) परमेश्‍वरको सिंहासन “ठूलो” र “सेतो” हुनुको अर्थ के हो? (ख) न्यायको दिनमा कसले न्याय गर्नु हुनेछ र के को आधारमा?

परमेश्‍वरको सिंहासन “ठूलो” छ। त्यसमा सार्वभौम प्रभु यहोवाको महानता झल्किन्छ। त्यो “सेतो” पनि छ र यसले चाहिं उहाँको निष्खोट धार्मिकताप्रति ध्यान आकर्षित गर्छ। उहाँ नै मानिसजातिको सर्वोच्च न्यायाधीश हुनुहुन्छ। (भजन १९:७-११; यशैया ३३:२२; ५१:५, ८) तथापि उहाँले न्याय गर्ने काम येशू ख्रीष्टलाई सुम्पनु भएको छ: “किनकि पिताले कसैको इन्साफ गर्नुहुन्‍न, तर सबै इन्साफ गर्ने काम पुत्रलाई दिनुभएको छ।” (यूहन्‍ना ५:२२) येशूसित उहाँका १,४४,००० सहशासकहरू पनि छन्‌ जसलाई हजार वर्षसम्म “इन्साफ गर्ने अख्तियार” दिइन्छ। (प्रकाश २०:४) तापनि, न्यायको दिनमा प्रत्येक व्यक्‍तिलाई के हुने हो, त्यसको निर्णय यहोवाकै स्तरहरूको आधारमा गरिनेछ।

४. “आकाश र पृथ्वी भागे” भन्‍नुको अर्थ के हो?

तर कुन अर्थमा “पृथ्वी र आकाश भागे”? यो आकाश उही स्वर्ग हो जो छैटौं छाप खोल्ने बेलामा पुस्तकको मुठा बेह्रिएझैं हटेर गएको थियो। अर्थात्‌ यी उही मानव शासकीय शक्‍तिहरू हुन्‌ जसलाई “भक्‍तिहीन मानिसको इन्साफ र विनाशको दिनसम्म छुट्टाई आगोको निम्ति साँचेर राखिएका छन्‌।” (प्रकाश ६:१४; २ पत्रुस ३:७) यिनीहरूको शासनमनि बस्ने सङ्‌गठित व्यवस्था चाहिं पृथ्वी हो। (प्रकाश ८:७) आकाश र पृथ्वी भागेर जानुको अर्थ चाहिं जङ्‌गली जनावर, पृथ्वीका राजाहरू, तिनीहरूका सेनाहरू, जङ्‌गली जनावरको चिह्न थाप्नेहरू र त्यसको मूर्ति पूज्नेहरू सबैको विनाश हुनु हो। (प्रकाश १९:१९-२१) शैतानको पृथ्वी र आकाशमाथि यसरी न्याय कार्यान्वयन भइसकेपछि महान न्यायाधीशले एउटा अर्को न्यायको दिन घोषणा गर्नुहुन्छ।

हजार वर्षीय न्यायको दिन

५. पुरानो पृथ्वी र पुरानो स्वर्ग भागिसकेपछि कसको न्याय गर्न बाँकी रहन्छ?

पुरानो पृथ्वी र पुरानो आकाश भागि सकेपछि अब कसको न्याय गर्न बाँकी रहन्छ? निश्‍चय पनि १,४४,००० जनहरूको त होइन। तिनीहरूको इन्साफ भएर तिनीहरूमाथि छाप समेत लगाइ सकिएको हुन्छ। आरमागेडोन पश्‍चात्‌ पृथ्वीमा अभिषिक्‍त जनहरूमध्ये कोही जीवित रहेका छन्‌ भने उनीहरूले पनि चाँडै आफ्नो मृत्युपश्‍चात्‌ पुनरुत्थानद्वारा स्वर्गीय इनाम थाप्नेछन्‌। (१ पत्रुस ४:१७; प्रकाश ७:२-४) तथापि, महा-सङ्‌कष्टबाट निस्केको ठूलो भीडका लाखौं जनहरू चाहिं अहिले सबैले देख्नेगरी त्यो “ठूलो सिंहासनको सामु” उभिन्छन्‌। येशूले बगाउनु भएको रगतमाथि विश्‍वास गरेको हुनाले यिनीहरू बचाउका लागि धर्मी ठहरिसकेका छन्‌। तर हजार वर्षको दौडान तिनीहरूलाई येशूले “जीवनका पानीका फोहोराहरूसम्म” डोऱ्‍याउँदै लैजानु हुँदा तिनीहरूको इन्साफ भइ नै रहनेछ। तत्पश्‍चात्‌ मानवीय सिद्धता प्राप्त गरेर जाँचिसकिएपछि तिनीहरू सम्पूर्णतः धर्मी घोषित हुनेछन्‌। (प्रकाश ७:९, १०, १४, १७) महासङ्‌कष्ट पार गर्ने केटाकेटीहरू र सम्भवतः हजार वर्षको दौडान ठूलो भीडले जन्माउने बच्चाहरूको पनि त्यसैगरी इन्साफ गर्नु आवश्‍यक हुनेछ।—उत्पत्ति १:२८; ९:७; १ कोरिन्थी ७:१४-तुलना गर्नुहोस्‌।

६. (क) यूहन्‍नाले कुन समूह देख्छन्‌ र “ठूलो र सानो” भन्‍ने शब्दहरूबाट के बोध हुन्छ? (ख) परमेश्‍वरको स्मरणमा रहेका लाखौं अनगन्ती मानिसहरूको पुनरुत्थान सम्भवतः कसरी गराइनेछ?

तथापि बाँचेको ठूलो भीडभन्दा पनि अझै ठूलो एउटा अर्को समूह यूहन्‍नाले यहाँ देख्छन्‌। यो समूहको सङख्या करोडौं पुग्नेछ! “मैले ठूला र साना सबै मरेकाहरू सिंहासनको सामने उभिरहेका देखें। औ पुस्तकहरू खोलिएका थिए।” (प्रकाश २०:१२क) यहाँ “ठूलो र सानो” भन्‍नाले बितेका ६,००० वर्षभित्र यस पृथ्वीमा बाँच्ने, मर्ने, गण्यमान्य तथा साधारण, सबै नै मानिसहरू समावेश हुन्छन्‌। प्रकाशको पुस्तकको केही समयपछि मात्र यूहन्‍नाद्वारा लिखित सुसमाचारअनुसार येशूले आफ्नो पिताबारे यसो भन्‍नु भएको थियो: “औ उसलाई [येशूलाई] इन्साफको फैसला गर्ने अधिकार दिनुभएको छ, किनभने उ मानिसको पुत्र हो। यसमा अचम्म नमान, किनभने बेला आउँछ, जब चिहानमा हुनेहरू सबैले उसको सोर सुन्‍नेछन्‌ . . . औ निस्किआउनेछन्‌।” (यूहन्‍ना ५:२७-२९) इतिहासभरि मरेका तथा गाडिएका मानिसहरूलाई पुनः जीवित पार्नु अत्यन्त ठूलो अभियान हो! निःसन्देह, परमेश्‍वरको स्मरणमा रहेका यी करोडौं मानिसहरूको पुनरुत्थान एकै पटकमा नभएर क्रमशः बिस्तारै गरिनेछ। ताकि पुनरुत्थान प्राप्त केही जनहरूले सुरुसुरुमा शारीरिक कमजोरी र मनोवृत्ति तथा आफ्नो पुरानो जीवन शैली पछ्याउन खोजे तापनि यसको समाधान ठूलो भीडले गर्न सक्नेछ, चाहे तिनीहरूको सङख्या त्यतिखेर तुलनात्मक रीतिले कमै किन नहोस्‌।

कसको पुनरुत्थान र इन्साफ हुनेछ?

७, ८. (क) कुन पुस्तक खोलिन्छ र त्यसपछि के हुन्छ? (ख) कसकसको पुनरुत्थान हुनेछैन?

यूहन्‍ना फेरि यसो भन्छन्‌: “औ अर्को एउटा पुस्तक पनि खोलियो, जो जीवनको पुस्तक हो। औ तिनीहरूले जे जे गरेका थिए, ती पुस्तकहरूमा तिनीहरूका काम लेखिएबमोजिम ती मरेकाहरूको इन्साफ भएको थियो। अनि समुद्रले त्यसमा भएका मुर्दाहरूलाई दिइहाल्यो, औ मृत्यु र पातालले पनि तिनीहरूमा भएका मुर्दाहरूलाई दिइहाले। औ तिनीहरू प्रत्येकको आफ्नो आफ्नो कामअनुसार इन्साफ भयो।” (प्रकाश २०:१२ख, १३) अति नै रोमाञ्चकारी दृश्‍य! ‘समुद्र, मृत्यु, पाताल’, सबैको आ-आफ्नो भूमिका छ। तर यहाँ विचार गर्नु पर्ने कुरा के छ भने ती अभिव्यक्‍तिहरू सम्पूर्णतः बेग्लै छैनन्‌। a उदाहरणका लागि, योना समुद्रको माझमा माछाको पेटभित्र हुँदा उनको भनाइअनुसार उनी पातालमा [शिओल अथवा हेडिस, NW] थिए। (योना २:२) कुनै व्यक्‍ति आदमद्वारा आएको मृत्युको जकडमा परेको छ भने ऊ पनि सम्भवतः पातालमै छ भन्‍न मिल्छ। हो, कोही पनि बिर्सिइने छैन भन्‍ने पक्का आश्‍वासन यी भविष्यसूचक शब्दहरूमा पाउन सकिन्छ।

हालाँकि एउटा अज्ञात सङख्याका मानिसहरू पनि छन्‌ जसको पुनरुत्थान हुने छैन। यिनीहरूमध्ये येशू र उहाँका प्रेरितहरूलाई इन्कार गर्ने अपश्‍चातापी शास्त्रीहरू र फरिसीहरू, “अधर्मको मानिस” र “पतित” अभिषिक्‍त मसीहीहरू पनि समाविष्ट हुनेछन्‌। (२ थिस्सलोनिकी २:३; हिब्रू ६:४-६; मत्ती २३:२९-३३) येशूले जगतको अन्तमा हुने बाख्रा खालका मानिसहरू “शैतान र त्यसका दूतहरूका लागि तयार गरिएको अनन्त आगो” अथवा “अनन्त दण्ड”मा जानेछन्‌ भन्‍नु भएको थियो। (मत्ती २५:४१, ४६) अतः यिनीहरूको पनि पुनरुत्थान हुनेछैन!

९. पुनरुत्थानमा कोही चाहिं विशेष अनुग्रहका पात्रहरू हुनेछन्‌ भनी प्रेरित पावलले कसरी सूचित गराउँछन्‌ र यसमा को को समाविष्ट गराइनेछ?

तर अर्कोतिर केही जनहरू चाहिं पुनरुत्थानमा विशेष अनुग्रहका पात्रहरू हुनेछन्‌। यसै कुरालाई सङ्‌केत गर्दै प्रेरित पावलले यसो भने: “अर्थात्‌ धर्मी र अधर्मीहरू समेतको पुनरुत्थान हुन्छ भन्‍ने आशा परमेश्‍वर तर्फ राखेको छु।” (प्रेरित २४:१५) जहाँसम्म पार्थिव पुनरुत्थानको कुरा छ, ती “धर्मी” जनहरूमा प्राचीन समयका विश्‍वासी पुरुष र स्त्रीहरू समावेश हुनेछन्‌। जस्तो कि अब्राहाम, राहाब र अरू धेरै जना जो परमेश्‍वरसित मित्रताको आधारमा धर्मी ठहरिएका थिए। (याकूब २:२१, २३, २५) यसै समूहमा ती धर्मी अरू भेडाहरू पनि हुनेछन्‌ जो आधुनिक समयहरूमा यहोवाप्रति विश्‍वासी भएर मरे। सम्भवतः यस्ता सबै नै निष्ठावान व्यक्‍तिहरू येशूको हजार वर्षीय राज्यको सुरुसुरु मै पुनःजीवित हुनेछन्‌। (अय्यूब १४:१३-१५; २७:५; दानियल १२:१३; हिब्रू ११:३५, ३९, ४०) निश्‍चय पनि पुनरुत्थानमा आउने यस्ता थुप्रै धर्मी जनहरूलाई प्रमोदवन पुनःस्थापित गर्ने विशाल कामको रेखदेख गर्ने विशेष जिम्मेवारीहरू सुम्पिनेछ।—भजन ४५:१६; साथै, यशैया ३२:१, १६-१८; ६१:५; ६५:२१-२३ पनि तुलना गर्नुहोस्‌.

१०. पुनरुत्थान हुनेहरूमध्ये “अधर्मीहरू” को हुन्‌?

१० तर प्रेरित २४:१५-मा उल्लिखित “अधर्मीहरू” चाहिं को हुन्‌? यिनीहरू ती भीडका भीड मानिसहरू हुन्‌ जो इतिहासको दौडान मरेका छन्‌। विशेषगरी तिनीहरू जो ‘अज्ञानताका समयमा’ बाँचेका थिए। (प्रेरित १७:३०) आफ्नो जन्मस्थल वा बाँचेको समयको कारण यिनीहरूले यहोवाको इच्छाप्रति आज्ञाकारी हुन सिक्ने मौका पाएनन्‌। साथै, यस्ता केही व्यक्‍तिहरू पनि हुन सक्छन्‌ जसले मुक्‍तिको समाचार सुन्‍न पाएर पनि त्यसलाई त्यति नै खेर सम्पूर्णतः ग्रहण गरेनन्‌ अथवा समर्पण र बप्तिस्मासम्म प्रगति गर्नुअघि नै मरी हाले। पुनरुत्थान पश्‍चात्‌ अनन्त जीवन पाउने मौकाको फायदा उठाउने हो भने यस्ताहरूले आफ्नो सोचाइ र जीवनशैलीमा निकै नै काँटछाँट गर्न आवश्‍यक पर्नेछ।

जीवनको पुस्तक

११. (क) “जीवनको पुस्तक” के हो र त्यसमा कसकसको नाउँ लेखिएको हुन्छ? (ख) हजार वर्षको दौडान जीवनको पुस्तक किन खोलिन्छ?

११ यूहन्‍नाले “जीवनको पुस्तक”-को चर्चा गर्छन्‌। यहोवाबाट अनन्त जीवन पाउनेहरूको यो एउटा सूची हो। येशूका अभिषिक्‍त भाइहरूका, ठूलो भीडका र मोशाजस्ता प्राचीन समयका मानिसहरूका नाउँहरू यस सूचीमा लिपिबद्ध छन्‌। (प्रस्थान ३२:३२, ३३; दानियल १२:१; प्रकाश ३:५) तर पुनरुत्थान प्राप्त कुनै पनि “अधर्मी”-को नाउँ चाहिं अहिलेसम्म जीवनको यो पुस्तकमा लेखिएको हुँदैन। यसकारण हजार वर्षीय राज्यको दौडान योग्य ठहरिनेहरूको नाउँ पनि लेख्न त्यो पुस्तक अब खोलिन्छ। ज-जसको नाउँ त्यो पुस्तकमा लेखिंदैन तिनीहरूलाई “अग्नि कुण्डमा” फालिन्छ।—प्रकाश २०:१५; हिब्रू ३:१९-तुलना गर्नुहोस्‌।

१२. जीवनको खुला पुस्तकमा आफ्नो नाउँ लेखिनेछ वा छैन, सो कुन कुरामा भर पर्नेछ र यसबारे यहोवाद्वारा नियुक्‍त न्यायाधीशले के आदर्श छाड्‌नु भएको छ?

१२ अब जीवनको पुस्तकमा त्यतिखेर आफ्नो नाउँ लेखिने हो-होइन सो कुन कुरामा भर पर्नेछ? जुन कुराले आदम र हव्वाको दिनमा महत्त्व राख्यो, सोही कुराले त्यतिखेर पनि महत्त्व राख्नेछ: अर्थात्‌ यहोवाप्रति आज्ञाकारिता। यसै कुरालाई जोड दिंदै प्रेरित यूहन्‍नाले आफ्ना प्रिय सँगी मसीहीहरूलाई यसप्रकार लेखे: “औ संसार बितिजान्छ, र त्यसको अभिलाषा पनि बितेर जान्छ, तर परमेश्‍वरको इच्छाबमोजिम गर्ने चाहिं सधैंभरि रहिरन्छ।” (१ यूहन्‍ना २:४-७, १७) आज्ञाकारिताको मामिलामा यहोवाद्वारा नियुक्‍त न्यायाधीशले हाम्रालागि यो उदाहरण कायम गर्नु भएको छ: “उहाँ पुत्र हुनुहुन्थ्यो, तापनि उहाँले भोग्नुभएको शासनाद्वारा उहाँले आज्ञा पालन गर्न सिक्नुभयो। औ सिद्ध तुल्याईकन उहाँको आज्ञा मान्‍नेहरू सबैका निम्ति उहाँ अनन्त मुक्‍तिको कर्त्ता हुनुभयो।”—हिब्रू ५:८, ९.

अरू पुस्तकहरू पनि खोलिन्छन्‌

१३. पुनरुत्थानमा आउनेहरूले आफ्नो आज्ञाकारिता कसरी प्रदर्शित गर्नुपर्छ र तिनीहरूले कुनकुन सिद्धान्तहरू पछ्याउनु पर्छ?

१३ पुनरुत्थान प्राप्त यी व्यक्‍तिहरूले आफ्नो आज्ञाकारितालाई कसरी प्रदर्शित गर्नुपर्छ? स्वयं येशूले ती दुई महान आज्ञाहरूलाई औल्याउँदै यसो भन्‍नु भएको थियो: “पहिलो चाँहि यो हो, ‘हे इस्राएल, सुन्‌, परमप्रभु हाम्रा परमेश्‍वर, एउटै परमप्रभु हुनुहुन्छ, औ तैंले परमप्रभु आफ्ना परमेश्‍वरलाई आफ्नो सारा मनले, आफ्नो सारा प्राणले, आफ्नो सारा बुद्धिले र आफ्नो सारा शक्‍तिले प्रेम गर।’ दोस्रो चाहिं यो हो, ‘तैंले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर।’ ” (मर्कूस १२:२९-३१) तिनीहरूले यहोवाका अपरिवर्तनीय सिद्धान्तहरूलाई पनि प्रयोगमा ल्याउनु पर्छ। उदाहरणका लागि, तिनीहरूले चोरी, झूट, हत्या र अनैतिकताजस्ता कुराहरूको विरोध गर्नुपर्छ।—१ तिमोथी १:८-११; प्रकाश २१:८.

१४. अरू कुन पुस्तकहरू खोलिन्छन्‌ र तिनीहरूमा के पाइन्छ?

१४ तथापि हजार वर्षीय राज्यमा खोलिने अन्य अरू पुस्तकहरूको पनि यूहन्‍नाले अहिले भर्खरै चर्चा गरेका छन्‌। (प्रकाश २०:१२) ती चाहिं के हुन्‌? समय समयमा यहोवाले कुनै कुनै खास परिस्थितिहरूका लागि खास निर्देशनहरू दिने गर्नु भएको छ। उदाहरणका लागि, उहाँले मोशाको दिनमा श्रृङ्‌खलाबद्ध नियमहरू दिनु भएको थियो र तिनको पालन गरेमा इस्राएलीहरू बाँच्न सक्थे। (व्यवस्था ४:४०; ३२:४५-४७) प्रथम शताब्दीमा मसीही व्यवस्था अन्तर्गत्‌ विश्‍वासी जनहरूलाई यहोवाका सिद्धान्तहरू पालन गर्ने मदत दिन फेरि नयाँ आज्ञाहरू दिइयो। (मत्ती २८:१९, २०; यूहन्‍ना १३:३४; १५:९, १०) अब यूहन्‍ना भन्छन्‌ कि मरेकाहरूले “जे जे गरेका थिए, ती पुस्तकहरूमा . . . [लेखिएका कुराहरूबमोजिम, NW]” तिनीहरूको “इन्साफ” हुनेछ। स्पष्टतः हजार वर्षको दौडान मानिसजातिका लागि यहोवाका आवश्‍यताहरू विस्तृत विवरणसहित यी पुस्तकहरू खोलेपछि प्रकट गरिनेछन्‌। ती पुस्तकहरूमा उल्लिखित सिद्धान्तहरू र नियमहरू प्रयोगमा ल्याउँदै आज्ञाकारी मानिसहरूले आफ्नो आयु लम्ब्याउन सक्नेछन्‌ र अन्ततः अनन्त जीवन प्राप्त गर्नेछन्‌।

१५. पुनरुत्थानको दौडान कुन शैक्षिक अभियान आवश्‍यक हुनेछ र पुनरुत्थान गराउने काम सम्भवतः कुन रीतिले अघि बढ्‌नेछ?

१५ ईश्‍वरशासित शिक्षाको कस्तो ठूलो र विस्तृत अभियान चलाउनु आवश्‍यक हुनेछ! यहोवाका साक्षीहरूले सन्‌ २००५ मा औसतन ६०,६१,५३४ गृह बाइबल अध्ययनहरू विभिन्‍न ठाउँहरूमा सञ्चालन गर्दै थिए। तर पुनरुत्थानमा भने बाइबल र ती नयाँ पुस्तकहरूमा आधारित अनगन्ती लाखौं लाख अध्ययनहरू निश्‍चय सञ्चालित गरिनेछन्‌! परमेश्‍वरका सबै जनहरूलाई शिक्षक बन्‍न आवश्‍यक हुनेछ! तिनीहरूलाई जोडदार प्रयास गर्न खाँचो पर्नेछ। पुनरुत्थान प्राप्त जनहरूले पनि उन्‍नति गर्दै गएपछि उक्‍त विशाल शैक्षिक कार्यक्रममा भाग लिन सक्नेछन्‌। सायद जिउँदाहरूले पुनरुत्थानमा आउने आफ्ना परिवारका पुराना सदस्यहरू र मित्रहरूलाई स्वागत गर्ने तथा सिकाउने मौका पाउनेछन्‌ र यी पुनरुत्थान भएकाहरूले पछि फेरि अझ अरूहरूलाई स्वागत गर्ने र शिक्षा दिन सक्ने छन्‌। (१ कोरिन्थी १५:१९-२८, ५८-तुलना गर्नुहोस्‌।) आज सच्चाइको प्रचार गर्ने यहोवाका ६० लाखभन्दा बढी साक्षीहरूले पुनरुत्थानको समयमा पाउन सकिने विशेषाधिकारहरूका लागि एउटा बलियो जग बसाल्दैछन्‌।—यशैया ५०:४; ५४:१३.

१६. (क) कसका नाउँहरू जीवनको पुस्तकमा लेखिएका हुँदैनन्‌? (ख) ती को हुन्‌ जसको पुनरुत्थान “जीवनको” पुनरुत्थान साबित हुनेछ?

१६ पार्थिव पुनरुत्थानबारे येशूले भन्‍नु भयो “भलो गर्नेहरू जीवनको पुनरुत्थानको निम्ति र कुभलो गर्नेहरूचाहिं इन्साफको पुनरुत्थानको निम्ति निस्किआउनेछन्‌।” यहाँ चर्चित “जीवन” र “इन्साफ” दुइटा विपरीत परिणामहरू हुन्‌। पुनरुत्थान प्राप्त व्यक्‍तिहरूले प्रेरित शास्त्र र अन्य पुस्तकहरूमा आधारित शिक्षा पाएपछि पनि “कुभलो” गर्छन्‌ भने तिनीहरू जीवन पाउने अयोग्यका साबित हुनेछन्‌। तिनीहरूका नाउँहरू जीवनको पुस्तकमा लेखिने छैनन्‌। (यूहन्‍ना ५:२९) यिनीहरूबाहेक पहिले विश्‍वासी जीवनशैली अपनाउने तर पछि हजार वर्षको दौडान कुनै कारणवश गलत बाटोतिर लाग्नेहरूको नाउँ पनि जीवनको पुस्तकबाट मेटिन सक्छ। (प्रस्थान ३२:३२, ३३) अर्कोतिर ती पुस्तकहरूमा लेखिएका कुराहरू आज्ञाकारितासाथ पालन गर्नेहरूको नाउँ चाहिं उक्‍त लिखित सूची तथा जीवनको पुस्तकमा रहनेछ। तिनीहरू बाँची नै रहनेछन्‌। तिनीहरूको पुनरुत्थान “जीवनको” पुनरुत्थान साबित हुनेछ।

मृत्यु र पातालको [हेडिस, NW] अन्त

१७. (क) यूहन्‍नाले कुन अद्‌भुत कार्यको वर्णन गर्छन्‌? (ख) पाताल कहिले रित्ताइन्छ? (ग) आदमबाट आएको मृत्यु कहिले “अग्नि-कुण्डमा” फालिनेछ?

१७ यसपछि यूहन्‍नाले एउटा अत्यन्त अद्‌भुत कुराको वर्णन गर्छन्‌! “औ मृत्यु र पाताल अग्नि-कुण्डमा फालिए। योचाहिं, अर्थात्‌ अग्नि-कुण्ड, दोस्रो मृत्यु हो। जीवनको पुस्तकमा नलेखिएको जुनसुकै पनि अग्नि-कुण्डमा फालियो।” (प्रकाश २०:१४, १५) सहस्र वर्षीय न्यायको दिन अन्त हुनेबेलासम्म “मृत्यु र पाताल” सम्पूर्णतः हटाइसकिन्छ। तर यसो गर्न हजार वर्ष किन लाग्छ? किनभने परमेश्‍वरको स्मृतिमा हुने प्रत्येक व्यक्‍तिको पुनरुत्थान भइसकेपछि मात्र पाताल अर्थात्‌ सारा मानिसजातिको चिहान रित्ताइन्छ। तर वंशाणुगत प्राप्त पापको दाग मानिसहरूमा रहुञ्जेल, आदमको पाप तिनीहरूसित रहिरहन्छ। यसकारण येशूको बलिदानको मूल्यद्वारा रोग, बूढेसकाल र वंशानुगत आएका अन्य कमजोरीहरू नहटुञ्जेलसम्म पृथ्वीमा पुनरुत्थान पाउने तथा आरमागेडोनबाट बाँच्ने ठूलो भीड सबैले नै ती पुस्तकहरूमा लिखित कुराहरू पालन गर्नुपर्छ। अन्तमा आदमबाट आएको मृत्यु र पाताल [हेडिस, NW] दुवै “अग्निकुण्डमा” फालिनेछन्‌। तिनीहरू सदाका लागि हटाइनेछन्‌!

१८. (क) प्रेरित पावलले येशूको राजत्वको सफलताबारे कसरी वर्णन गर्छन्‌? (ख) सिद्ध पारिएको मानव परिवारलाई येशूले के गर्नुहुन्छ? (ग) हजार वर्षको अन्तमा अरू कुन कुन घटनाहरू पनि घट्‌छन्‌?

१८ यसप्रकार प्रेरित पावलले कोरिन्थीहरूलाई लेखेको पत्रमा वर्णित कार्यक्रम पूरा हुनेछ: “किनकि सारा शत्रुलाई आफ्ना पाउमनि नराखुञ्जेल उहाँले राज्य गर्नैपर्छ। सबैभन्दा पछि नामेट हुने शत्रु, मृत्यु [आदमबाट आएको] हो।” यसपछि के हुन्छ? “औ जब सबै कुरा उहाँको अधीनमा भएका हुन्छन्‌, तब परमेश्‍वर सबैमा सर्वश्रेष्ठ हुनालाई, सबै कुरा उहाँको अधीनमा ल्याउनुहुने पुत्र पनि उहाँको अधीनमा हुनुहुनेछ।” अर्को शब्दमा भन्‍ने हो भने येशूले “पितालाई राज्य सुम्पिदिनुहुनेछ।” (१ कोरिन्थी १५:२४-२८) हो, आदमबाट आएको मृत्युलाई येशूले आफ्नो बलिदानको मूल्यद्वारा पराजित गर्नुहुनेछ। त्यसपछि उहाँले आफ्नो पिता यहोवासमक्ष सिद्ध पारिएको मानव परिवार प्रस्तुत गर्नु हुनेछ। स्वभाविकतः यसै बेला अर्थात्‌ हजार वर्षको अन्तमा शैतान मुक्‍त गराइनेछ। कसकसको नाउँ जीवनको पुस्तकमा सदाका लागि लेखिने हो, सो फैसला गर्ने अन्तिम जाँच हुनेछ। ती नाउँहरूमध्ये तपाईंको आफ्नो नाउँ पनि राख्ने जोडदार “प्रयत्न” गर्नुहोस्‌!—लूका १३:२४; प्रकाश २०:५.

[फुटनोट]

a तर समुद्रबाट पुनरुत्थान हुनेहरूमध्ये ती भ्रष्ट जनहरू चाहिं हुनेछैनन्‌ जो नूहको समयमा जलप्रलयमा नष्ट भएका थिए; तिनीहरूको त्यो विनाश आखिरी थियो; जसरी महासङ्‌कष्टमा यहोवाको न्याय कार्यान्वयन पनि आखिरी हुनेछ।—मत्ती २५:४१, ४६; २ पत्रुस ३:५-७.

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ २९८-मा भएको चित्र]

जीवनको पुस्तकमा ती “अधर्मीहरू”का नाउँहरू पनि लेखिनेछन्‌ जसले आफ्नो पुनरुत्थान पश्‍चात्‌ हजार वर्षीय शासनको दौडान खोलिने पुस्तकहरूमा भएका कुराहरू पालन गर्नेछन्‌