सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परमेश्‍वरको पवित्र रहस्य—त्यसको महिमावान चरमोत्कर्ष!

परमेश्‍वरको पवित्र रहस्य—त्यसको महिमावान चरमोत्कर्ष!

अध्याय २६

परमेश्‍वरको पवित्र रहस्य—त्यसको महिमावान चरमोत्कर्ष!

१. (क) पवित्र रहस्य पूरा भयो भनेर यूहन्‍नाले हामीलाई कसरी सूचित गराउँछन्‌? (ख) स्वर्गदूतीय गण किन चर्को स्वरमा बोल्छन्‌?

 प्रकाश १०:१, ६, ७-मा लिपिबद्ध ती बलवान स्वर्गदूतले शपथ खाएर गरेको घोषणा के तपाईंलाई याद छ? उनले यसो भनेका थिए: “ ‘अब बेर लाग्दैन।’ ” “तर सातौं दूतको आवाजका दिनहरूमा तिनले फूक्नलाग्दा आफ्ना दासहरू, अर्थात्‌ अगमवक्‍ताहरूलाई घोषित सुसमाचार अनुसार परमेश्‍वरको रहस्य खतम हुनेछ।” त्यो अन्तिम तुरही फूक्न यहोवाले तोक्नु भएको समय अब आएको छ! तर त्यो पवित्र रहस्य समाप्त हुन्छ कसरी? यसको जवाफ दिन यूहन्‍ना साँच्चै नै हर्षित छन्‌! उनी लेख्छन्‌: “अनि सातौं दूतले फूके, र त्यसपछि स्वर्गमा यसो भन्‍ने ठूला ठूला आवाज भए, ‘पृथ्वीको राज्य हाम्रा प्रभुको र उहाँका ख्रीष्टको राज्य भएको छ, उहाँले सदा सर्वदा राज्य गर्नुहुनेछ।’ ” (प्रकाश ११:१५) ती स्वर्गदूतीय गणले चर्को स्वरमा बोल्ने, हो गर्जने ठोस कारण छ! किनभने यो ऐतिहासिक उद्‌घोषणाले विश्‍वव्यापी महत्त्व राख्तछ। सबै जीवित सृष्टिका लागि यसको ठूलो महत्त्व छ।

२. कहिले र कुन घटनासाथ पवित्र रहस्यको महान समापन हुन्छ?

पवित्र रहस्य आफ्नो आनन्दमय चरमोत्कर्षमा आइ पुग्छ! महिमायुक्‍त र शानदार रीतिले त्यस रहस्यलाई १९१४-मा पूरा गरिन्छ। प्रभु यहोवाले ख्रीष्टलाई आफ्नो सङ्‌गी राजाको रूपमा सिंहासनमा बसाल्नु हुन्छ। आफ्नो पिताको प्रतिनिधित्व गर्दै मानवजातिको शत्रुतापूर्ण संसारको माझमा येशू ख्रीष्टले सक्रियता साथ शासन गर्न थाल्नु हुन्छ। उहाँ प्रतिज्ञा गरिएको सन्तान हुनुहुन्छ। अतः त्यो सर्प र त्यसको सन्तानलाई नष्ट पार्ने र पृथ्वीमा प्रमोदवनरूपी शान्ति स्थापित गर्ने राजकीय अधिकार उहाँले पाउनु हुन्छ। (उत्पत्ति ३:१५; भजन ७२:१, ७) मसीही राजाको रूपमा येशूले यहोवाको वचन पूरा गर्नु हुनेछ। “सदा सर्वदा” सार्वभौमसत्ताधारी प्रभुको हैसियतमा राज्य गर्नु हुने आफ्नो पिता अथवा “अनन्तको राजा”को येशूले प्रमाणीकरण गर्नु हुनेछ।—१ तिमोथी १:१७.

३. आफू सधैं राजा हुनु भएर पनि यहोवा परमेश्‍वरले पृथ्वीमा अन्य प्रभुसत्ताहरूलाई किन रहन दिनु भएको छ?

तर “पृथ्वीको राज्य हाम्रा प्रभु” यहोवाको कसरी हुन गयो? के यहोवा परमेश्‍वर सधैं नै राजा हुनु हुँदैन थियो र? हो, हुनुहुन्थ्यो। त्यसैकारण त लेवी आसाफले पनि यसो भन्दै गाएका थिए: “परमेश्‍वर तादिदेखि मेरा राजा हुनुहुन्छ।” एक जना अर्को भजन रचयिताले पनि यो उद्‌गार गरेका थिए: “परमप्रभुले राज्य गर्नुहुन्छ . . . तपाईंको सिंहासन तादिदेखि स्थिर गरिएको छ। तपाईं उहिलेदेखिनै हुनुहुन्छ।” (भजन ७४:१२; ९३:१, २) तथापि बुद्धिमानीसाथ यहोवाले पृथ्वीमा अन्य प्रभुसत्ताहरूलाई पनि रहन दिनु भएको छ। यसप्रकार, मानव सरकारहरू परमेश्‍वर बिना चल्न सक्छन्‌ वा सक्‍तैनन्‌ भनेर अदनमा उठेको विवादलाई पनि सम्पूर्णतः जाँच गर्न सम्भव भएको छ। मानव शासन नमीठोगरि असफल भएको छ। परमेश्‍वरको अगमवक्‍ताका यी शब्दहरू वास्तवमा साँचो प्रमाणित भएका छन्‌: “हे परमप्रभु, मलाई थाह छ, कि मानिसहरूको मार्ग त्यो आफैमा छैन। आफ्नो पाइलालाई ठीक मार्गमा हिंडाउने शक्‍ति मानिसमा छैन।” (यर्मिया १०:२३) हाम्रा प्रथम आमाबाबुले बाटो बिराए देखिन्‌ सारा पृथ्वी त्यो “वृद्ध सर्प” शैतानको अधीनमा परेको छ। (प्रकाश १२:९; लूका ४:६) तर अब भने एउटा ठूलो परिवर्तन हुने बेला आएको छ! आफ्नो अधिकारयुक्‍त स्थानको प्रमाणीकरण गर्न, यहोवाले पृथ्वीमाथि आफ्नो सार्वभौमिकतालाई एउटा नयाँ ढङ्‌गमा अर्थात्‌ आफूले नियुक्‍त गर्नु भएको मसीही राज्यद्वारा व्यक्‍त गर्न थाल्नु हुन्छ।

४. सन्‌ १९२२-मा तुरही फुक्ने काम सुरु भइसकेपछि कुन कुरालाई प्राथमिकता दिइयो? व्याख्या गर्नुहोस्‌।

सन्‌ १९२२-मा सातवटा तुरही फुक्ने काम सुरु भएपछि, सिडर प्वाँइन्ट ओहायोमा आयोजित बाइबल विद्यार्थीहरूको सम्मेलनमा एउटा विशेष भाषण प्रस्तुत गरियो। “स्वर्गको राज्य नजीक आइपुगेको छ” भन्‍ने शास्त्रपदमा आधारित उक्‍त भाषणका वक्‍ता थिए जे. एफ. रदरफर्ड। (मत्ती ४:१७) उनले भाषणको अन्तमा यसो भने: “आफ्नो कार्यक्षेत्रमा फर्कनुहोस्‌, हे परमप्रधानका पुत्रहरू हो! आफ्नो हतियार धारण गर्नुहोस्‌! संयमी हुनुहोस्‌, सचेत हुनुहोस्‌, सक्रिय हुनुहोस्‌, साहसी हुनुहोस्‌। प्रभुका विश्‍वासी र साँचो साक्षीहरू हुनुहोस्‌। बेबिलोन सम्पूर्णतः उजाड नहोउञ्जेलसम्म युद्धबाट पछि नसर्नुहोस्‌। सुसमाचारलाई चारै तर्फ घोषित गर्नुहोस्‌। संसारले थाह पाउनु परेको छ कि यहोवा नै परमेश्‍वर हुनुहुन्छ र येशू ख्रीष्ट राजाहरूका राजा र प्रभुहरूका प्रभु हुनु हुन्छ। यो एउटा ठूलो दिन हो! हेर्नुहोस्‌! राजाले राज्य गर्नु हुँदैछ! तपाईंहरू उहाँका प्रचार कार्यकर्ताहरू हुनुहुन्छ। यसकारण, राजा र उहाँको राज्यको प्रचार गर्नुहोस्‌, प्रचार गर्नुहोस्‌, प्रचार गर्नुहोस्‌।” शासन चलाइने ख्रीष्ट येशूद्वारा परमेश्‍वरको राज्यलाई प्राथमिकता दिइयो। अनि त्यहाँदेखि परमेश्‍वरको राज्यको प्रचार कार्यले ठूलो बल पायो। सोही प्रचार कार्यमा सातैवटा स्वर्गदूतीय तुरहीद्वारा उद्‌घोषित न्याय वचनहरू पनि सम्मिलित थिए।

५. सन्‌ १९२८-मा बाइबल विद्यार्थीहरूको सम्मेलनमा कुन त्यस्तो घटना घट्यो जसले सातौं तुरहीको आवाजमाथि प्रकाश पाऱ्‍यो?

डेट्रोइट्‌, मिचिगनमा जुलाई ३०-देखि अगस्त ६, १९२८-सम्मका लागि आयोजित बाइबल विद्यार्थीहरूको सम्मेलनका मुख्य विषयहरूमा सातौं दूतको तुरहीको झलक पाइयो। सम्मेलन कार्यक्रमलाई १०७-वटा रेडिओ स्टेशनहरूद्वारा प्रसारित गरिएको थियो। द न्यु योर्क टाइम्स-का शब्दहरूमा त्यो ‘इतिहासको सबैभन्दा विस्तृत रेडिओ प्रसारण’ थियो। “शैतानको विरुद्धमा र यहोवाको पक्षमा” भन्‍ने प्रभावकारी प्रस्तावना सम्मेलनको दौडान पारित गरियो। यसले आरमागेडोनमा शैतान र त्यसको दुष्ट सङ्‌गठनको पतन र धार्मिकतालाई प्रेम गर्ने सबैको छुटकारालाई सङ्‌केत गऱ्‍यो। साथै सम्मेलनमा विमोचित गभर्नमेन्ट नामक ३६८-पाना भएको पुस्तक पाउँदा सम्मेलनमा उपस्थित सबै जना खूबै रमाए। “परमेश्‍वरले आफ्नो अभिषिक्‍त राजालाई १९१४-मा उहाँको सिंहासनमा बसाल्नु” भएको सबैभन्दा प्रष्ट प्रमाण सोही प्रकाशनमा प्रस्तुत थियो।

यहोवाले आफ्नो हातमा शक्‍ति लिनु हुन्छ

६. परमेश्‍वरको राज्यमा ख्रीष्टको राज्यारोहणको घोषणा यूहन्‍नाले कसरी गर्छन्‌?

परमेश्‍वरको राज्यमा ख्रीष्टको राज्यारोहण—यो उद्‌घोषणा कति आनन्ददायी छ! यूहन्‍ना भन्छन्‌: “औ परमेश्‍वरको सामने आफ्ना आफ्ना सिंहासनमा बस्ने ती चौबीसै धर्मगुरुहरू घोप्टो परी यसो भनेर परमेश्‍वरलाई दण्डवत गरे, ‘हे प्रभु परमेश्‍वर, सर्वशक्‍तिमान, जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो, र हुनुहुनेछ, हामी धन्यवाद चढाउँछौं, किनभने तपाईंले आफ्ना ठूलो शक्‍ति लिनुभयो, र राज्य गर्नुभयो।’ ”—प्रकाश ११:१६, १७.

७. (क) पृथ्वीमा रहेका प्रतीकात्मक २४-जना प्राचीनहरूको शेष भागले र (ख) २४ जना प्रतीकात्मक प्राचीनहरूमध्येबाट स्वर्गीय पुनरुत्थान पाइसकेकाहरूले यहोवालाई कसरी धन्यवाद चढाउँछन्‌, सो व्याख्या गर्नुहोस्‌।

यहोवा परमेश्‍वरलाई यसरी धन्यवाद चढाउनेहरू ती २४ जना प्राचीनहरू हुन्‌। तिनीहरूले आफ्नो स्वर्गीय स्थानमा बसेका ख्रीष्टका अभिषिक्‍त भाइहरूलाई प्रतिनिधित्व गर्छन्‌। यी अभिषिक्‍त १,४४,०००-मध्येबाट पृथ्वीमा रहेका शेष जनहरू १९२२-देखि यता त्यो तुरहीको आवाजपछि सुरु भएको काम गर्न व्यस्त भए। तिनीहरूले मत्ती २४:३–२५:४६-का शब्दहरूको पूरा महत्त्व बुझे। तथापि, ‘मरणान्तक विश्‍वासी रहेका’ तिनीहरूका सङ्‌गीहरू चाहिं प्रभुको दिनको सुरुसुरु मै पुनःरुत्थानद्वारा आ-आफ्नो स्थानमा बसिसकेका थिए। त्यहाँ तिनीहरूले १,४४,०००-को सम्पूर्ण समूहको प्रतिनिधित्व गर्दै यहोवालाई दण्डवत गर्न सके। (प्रकाश १:१०; २:१०) सार्वभौम प्रभुले उहाँको पवित्र रहस्यलाई त्यसको चरमोत्कर्षसम्मै पुऱ्‍याउनु भएकोमा यिनीहरू जम्मै कति कृतज्ञ छन्‌!

८. (क) सातौं तुरहीको फुकाइले राष्ट्रहरूमाथि के कस्तो प्रभाव पार्छ? (ख) राष्ट्रहरूले कसको विरुद्धमा आफ्नो प्रकोप व्यक्‍त गर्दै आएका छन्‌?

तर अर्कोतिर, सातौं तुरहीको आवाजले जातिजातिलाई आनन्दित तुल्याउँदैन। तिनीहरूले त अब यहोवाको प्रकोप अनुभव गर्ने समय आएको छ। यूहन्‍ना भन्छन्‌: “औ जाति जातिहरू क्रोधित भए, तर तपाईंका दासहरू, अर्थात्‌ अगमवक्‍ताहरू र पवित्र जनहरू, र ठूला साना दुवै तपाईंका नाउँसँग डराउनेहरूलाई तिनीहरूका इनाम दिनालाई र पृथ्वीका नष्टकारीहरूलाई नष्ट गर्नालाई, मरेकाहरूको इन्साफ गर्ने समय र तपाईंको क्रोध आएको छ।” (प्रकाश ११:१८) सन्‌ १९१४-देखि उप्रान्त संसारका राष्ट्रहरूले एकअर्काप्रति, यहोवाको राज्यप्रति र विशेषगरी यहोवाका दुई जना साक्षीहरूप्रति महा क्रोध प्रकट गर्दै आएका छन्‌।—प्रकाश ११:३.

९. जाति जातिहरूले पृथ्वीलाई कसरी बिगार्दै आएका छन्‌ र यसबारे परमेश्‍वरले के गर्ने अठोट गर्नु भएको छ?

इतिहासभरि यी राष्ट्रहरूले तिनीहरूको कहिल्यै खतम नहुने युद्धहरू र दुर्व्यवस्थाद्वारा पृथ्वीलाई बिगार्दै आएका छन्‌। तथापि, १९१४-देखि यसरी बिगार्ने प्रक्रिया तीब्र गतिले बढेको छ। लोभ र भ्रष्टाचारको परिणामस्वरूप मरुभूमिहरू फैलिएका छन्‌, खेतीगर्ने जमीन डरलाग्दो रीतिले घटेको छ। अम्ल वर्षा र रेडिओएक्टिव बादलहरूले विशाल इलाकाहरूलाई नोक्सान पुऱ्‍याएका छन्‌। खाद्यान्‍नका स्रोतहरू दूषित भएका छन्‌। हामीले स्वास लिने हावा र पिउने पानी समेत शुद्ध छैन। दुवै जमीन र पानीका जीवजन्तुका लागि औद्योगिक फोहर-मैलाहरू खतरनाक साबित भएका छन्‌। एक चोटि महाशक्‍तिहरूले आणविक विध्वंसद्वारा सारा मानवजातिलाई सखाप पार्ने धम्की दिएको थियो। तर कति खुशीको कुरा, यहोवाले “पृथ्वीका यी नष्टकारीहरूलाई नष्ट” गर्नुहुनेछ; उहाँले पृथ्वीको दुखःद अवस्थाका लागि जिम्मेवार ती अहङ्‌कारी र ईश्‍वरहीन मानिसहरूको न्याय गर्नुहुनेछ। (व्यवस्था ३२:५, ६; भजन १४:१-३) अतः यी कुकर्मीहरूको लेखा लिन यहोवाले अब तेस्रो अभिशाप तयार पार्नुहुन्छ।—प्रकाश ११:१४.

नष्टकारीहरूलाई धिक्कार!

१०. (क) तेस्रो अभिशाप के हो? (ख) तेस्रो अभिशापले पिरोल्ने काम मात्र किन गर्दैन?

१० अब आयो तेस्रो अभिशाप। त्यो आउनु पनि चाँडै आउँछ! यसै माध्यमद्वारा यहोवाले हामी बसोबास गर्ने यो सुन्दर पृथ्वी अर्थात्‌ उहाँको “पाउदान”लाई तुच्छ ठान्‍नेहरूमाथि विनाश ल्याउनु हुनेछ। (यशैया ६६:१) यो विनाशको आरम्भ परमेश्‍वरको पवित्र रहस्य अर्थात्‌ उहाँको मसीही राज्यले गर्दछ। परमेश्‍वरका शत्रुहरू विशेषगरि मसीहीजगतका धर्मगुरुहरूलाई प्रथम दुई अभिशापहरूले पिरोल्यो, खास तवरमा सलहहरूको आक्रमण र घोडचढीहरूको फौजले। तर स्वयं यहोवाकै राज्यद्वारा सञ्चालित तेस्रो अभिशापले चाहिं मानिसहरूलाई पिरोल्ने मात्र छैन। (प्रकाश ९:३-१९) यसले नष्टकारी मानव समाज र त्यसका शासकहरूलाई हटाउने त्यो अन्तिम मृत्युदायी प्रहार गर्नेछ। आरमागेडोनमा यहोवाको न्याय कार्यान्वयनको यो चरमोत्कर्ष हुनेछ। जस्तो कि दानिएल अगमवक्‍ताले भविष्यवाणी गरेका थिए: “औ ती राजाहरूको समयमा स्वर्गका परमेश्‍वरले एउटा राज्य खडा गर्नुहुनेछ जो कहिल्यै नाश हुनेछैन, नता त्यसको राज्य अरू कुनै जातिको हातमा दिइनेछ। त्यसले यी सबै राज्यहरूलाई चक्नाचूर पार्नेछ, र तिनीहरूको अन्त गरिदिनेछ। तर यो राज्य चाहिं सदा सर्वदै रहिरहनेछ।” महिमायुक्‍त पारिएको पृथ्वीलाई परमेश्‍वरको राज्यले एउटा उच्च पहाडले झैं ढाक्नेछ, यहोवाको सार्वभौमिकताको प्रमाणीकरण गर्नेछ र मानिसजातिलाई सदाका लागि आनन्दित तुल्याउनेछ।—दानिएल २:३५, ४४; यशैया ११:९; ६०:१३.

११. (क) एकपछि अर्को कुनकुन आनन्ददायी घटनाहरूको वर्णन भविष्यवाणीले गर्दछ? (ख) कुन अनुग्रहपूर्ण वरदान कसले पाएका छन्‌ र कसरी?

११ तेस्रो अभिशापका साथसाथै एकपछि अर्को आनन्दमय घटनाहरू पनि प्रभुको दिनमा घटनेछन्‌। किनकि ‘मरेकाहरूको इन्साफ गर्ने, उहाँका दास अगमवक्‍ताहरूलाई र उहाँको नाउँसित डराउनेहरूलाई तिनीहरूको इनाम दिने’ समय पनि यही हो। यसको अर्थ मृतावस्थाबाट पुनरुत्थान हुने समय पनि यही नै हो! पहिले नै मृत्युको निद्रामा परिसकेका अभिषिक्‍त जनहरूको पुनरुत्थान प्रभुको दिनको सुरु मै हुन्छ। (१ थिस्सलोनिकी ४:१५-१७) शेष पवित्र जनहरूले चाहिं केही समयपछि तत्कालीन पुनरुत्थान अनुभव गर्नेछन्‌। तथापि, इनाम पाउने अरूहरूमध्ये परमेश्‍वरका दासहरू, पुरातन समयका अगमवक्‍ताहरू र यहोवाको नाउँसित डराउने अन्य मानिसहरू पनि हुनेछन्‌। चाहे तिनीहरू महासङ्‌कष्ट पार गर्ने ठूलो भीडका होउन्‌ वा ख्रीष्टको हजार वर्षीय राज्यमा पुनरुत्थान पाउने “ठूलो र सानाहरू” हुन्‌। चिहान र मृत्युको साँचो परमेश्‍वरको मसीही राजासितै भएकोले अनन्त जीवन पाउने अमूल्य प्रबन्धबाट लाभ उठाउन चाहनेहरूलाई अनन्त जीवन प्रदान गर्ने बाटो पनि उहाँको राज्यशासनले नै खोलिदिनेछ। (प्रकाश १:१८; ७:९, १४; २०:१२, १३; रोमी ६:२२; यूहन्‍ना ५:२८, २९) स्वर्गीय अमरत्व होस्‌ वा पार्थिव अनन्त जीवन, यहोवाको अनुग्रहको यो एउटा वरदान हो। यसलाई पाउने प्रत्येक सदाका लागि कृतज्ञ रहनु पर्छ!—हिब्रू २:९.

लौ हेर्नुहोस्‌, उहाँको वाचाको सन्दूकलाई!

१२. (क) प्रकाश ११:१९-अनुसार यूहन्‍नाले स्वर्गमा के देख्छन्‌? (ख) वाचाको सन्दूक कुन कुराको प्रतीक रहेको थियो र इस्राएलीहरू बेबिलोनी कैदमा गएपछि उक्‍त सन्दूकलाई के भयो?

१२ यहोवाले शासन गर्नु हुँदैछ! आफ्नो मसीही राज्यद्वारा उहाँले मानिसजातिप्रति आफ्नो सार्वभौमिकतालाई अद्‌भुत ढङ्‌गमा व्यक्‍त गर्दै हुनुहुन्छ। यसको पुष्टि यूहन्‍नाले अब देख्ने कुराबाट हुन्छ: “अनि स्वर्गमा भएको परमेश्‍वरको मन्दिर खोलियो। औ उहाँको मन्दिरमा करारको सन्दूक देखियो, र त्यहाँ बिजुलीहरू, आवाजहरू, गर्जनहरू र भूकम्पहरू भए, र ठूला ठूला असिना पर्‌यो।” (प्रकाश ११:१९) प्रकाशको पुस्तकमा यो एक मात्र ठाउँ हो जहाँ परमेश्‍वरको वाचाको सन्दूकको चर्चा गरिएको छ। आफ्ना जन इस्राएलीहरूबीच यहोवाको उपस्थितिको दृश्‍य प्रतीकको रूपमा यो सन्दूक थियो। पहिले बासस्थानमा र पछि सुलेमानले बनाएको मन्दिरमा यसलाई महा पवित्र स्थानभित्र राखिन्थ्यो। तर इस्राएललाई सा.यु.पू. ६०७-मा कैदी बनाएर बेबिलोनमा लग्दा यरूशलेम उजाड पारियो र सन्दूक गायब भयो। यो त्यतिबेलाको कुरा हो जब दाऊदको घरानाका प्रतिनिधिहरू “परमप्रभुको सिंहासनमा” राजा भएर बस्न छाडे।—१ इतिहास २९:२३. a

१३. परमेश्‍वरको वाचाको सन्दूक अब परमेश्‍वरको स्वर्गीय मन्दिरमा देखा पर्नुको तात्पर्य के हो?

१३ अब करीब २,६०० वर्षपछि सन्दूक फेरि एक पटक देखा पर्छ। तर यूहन्‍नाको दर्शनमा यो सन्दूक कुनै पार्थिव मन्दिरमा छैन। यो सन्दूक परमेश्‍वरको स्वर्गीय मन्दिरमा देखा पर्छ। फेरि एक पटक यहोवा दाऊदकै शाही घरानाको एक जना राजाद्वारा शासन गर्नु हुँदैछ। तर यसपटक राजा येशू ख्रीष्ट स्वर्गीय यरूशलेमको सिंहासनमा विराजमान हुनुहुन्छ। उहाँ त्यो उच्च ठाउँमा हुनुहुन्छ जहाँबाट उहाँले यहोवाका न्यायिक फैसलाहरू कार्यान्वयन गर्न सक्नु हुनेछ। (हिब्रू १२:२२) उक्‍त न्यायिक फैसलाहरूलाई प्रकाशको पुस्तकका आउँदो अध्यायहरूले हाम्रा लागि स्पष्ट पारिदिनेछन्‌।

१४, १५. (क) प्राचीन यरूशलेममा वाचाको सन्दूकलाई कसले मात्र देख्न पाउँथ्यो र किन? (ख) परमेश्‍वरको स्वर्गीय मन्दिरमा वाचाको सन्दूकलाई कसकसले देख्न पाउनेछन्‌?

१४ प्राचीन पार्थिव यरूशलेममा नता आम इस्राएलीहरूले न मन्दिरमा सेवा गर्ने पूजारीहरूले नै सन्दूकलाई देख्थे। किनभने त्यो महा पवित्र स्थानमा राखिन्थ्यो र पवित्र स्थान तथा महा पवित्र स्थान बीचको पर्दाले गर्दा त्यसलाई बाहिरबाट देख्न सकिंदैन थियो। (गन्ती ४:२०; हिब्रू ९:२, ३) सालिन्दै प्रायश्‍चितको दिनमा प्रधानपूजारी महा पवित्र स्थानभित्र पस्दा उनले मात्र त्यो सन्दूकलाई देख्न सक्थे। तथापि स्वर्गको मन्दिर उघारिंदा चाहिं त्यो प्रतीकात्मक सन्दूकलाई यहोवाका प्रधान पूजारी येशू ख्रीष्टले मात्र होइन तर यूहन्‍ना लगायत जम्मै १,४४,००० उप-पूजारीहरूले देख्न सक्नेछन्‌।

१५ स्वर्गीय पुनरुत्थान पाउने प्रथम व्यक्‍तिहरूले यो प्रतीकात्मक सन्दूकलाई नजिकबाट देख्न पाउँछन्‌। किनभने तिनीहरू यहोवाको सिंहासन वरिपरि हुने २४ जना प्राचीनहरूकै भाग भएर बसेका छन्‌। साथै पृथ्वीमा हुने यूहन्‍नावर्गले यहोवाको आत्मिक मन्दिरमा उहाँको उपस्थितिलाई महसुस गर्न सक्छन्‌ किनकि तिनीहरू उहाँको आत्माद्वारा प्रबुद्ध भएका छन्‌। यो अद्‌भुत घटनाबारे आम मानिसलाई सचेत तुल्याउने चिन्हहरू पनि देखिएका छन्‌। यूहन्‍नाको दर्शनमा बिजुलीहरू, आवाजहरू, गर्जनहरू, भूकम्पहरू र असिनाको चर्चा गरिएको छ। (प्रकाश ८:५-सित तुलना गर्नुहोस्‌.) यिनीहरूले केलाई चित्रित गर्छन्‌?

१६. कुन अर्थमा बिजुली चम्केको छ, आवाज र गर्जनहरू सुनिएका छन्‌, भूकम्प आएको छ र ठूलो असिना परेको छ?

१६ सन्‌ १९१४-देखि धार्मिक गतिविधिमा ठूलो उथलपुथल मच्चेको छ। तर खुशीको कुरा के हो भने यो “भूकम्प”-का साथसाथै परमेश्‍वरको स्थापित राज्यबारे स्पष्ट सन्देश घोषित गर्ने समर्पित आवाजहरू पनि सुनिएका छन्‌। बाइबलमा आधारित गर्जनरूपी चेताउनीहरू पनि घोषित गरिएको छ। बिजुली चम्केझैं परमेश्‍वरको वचनमाथि अन्तरदृष्टि चम्काइएको छ र प्रकाशित गरिएको छ। मसीहीजगत र आम झूटा धर्महरूमाथि परमेश्‍वरको कडा “असिना” रूपी न्यायवचनहरू बज्रेका छन्‌। यी सबै कुराले मानिसहरूको ध्यानलाई आकर्षित गर्नु पर्ने थियो। तर दुःखको कुरा, येशूको पालोमा यरूशलेमका मानिसहरूले झैं आज पनि धेरै जसो मानिसहरू प्रकाशका चिह्नहरूको पूर्तिलाई बुझ्न असफल भएका छन्‌।—लूका १९:४१-४४.

१७, १८. (क) सातवटा स्वर्गदूतहरूद्वारा फुकिएको तुरहीले गर्दा समर्पित मसीहीहरूमाथि के जिम्मेवारी आइपरेको छ? (ख) मसीहीहरूले तिनीहरूको दायित्व कसरी पूरा गर्दैछन्‌?

१७ ती सात स्वर्गदूतहरूले आ-आफ्नो तुरही फुकेका फुकेकै छन्‌। यहाँ पृथ्वीमा हुनै लागेका ऐतिहासिक घटनाहरूको तिनीहरूले पूर्व सङ्‌केत दिन्छन्‌। तर यी उद्‌घोषणाहरूलाई निरन्तर घोषित गर्ने ठूलो जिम्मेवारी समर्पित मसीहीहरूको हो। अनि यस जिम्मेवारीलाई तिनीहरूले कति आनन्दपूर्वक पूरा गरी पनि रहेका छन्‌! यसको एउटा प्रमाण त सन्‌ १९८६ देखि सन्‌ २००५ का २० वर्षमा पाइन्छ। यस समयावधिभित्र तिनीहरूले सेवकाईमा दोब्बर बढी समय बिताए, अर्थात्‌ ६८,०८,३७,०४२ घण्टा बढेर १,२७,८२,३५,५०४ घण्टा भयो। यो १०९ प्रतिशत वृद्धि थियो। साँच्चै नै, “सुसमाचारअनुसार परमेश्‍वरको रहस्य” “सारा पृथ्वीमा” फैलिरहेछ।—प्रकाश १०:७; रोमी १०:१८.

१८ अब परमेश्‍वरको राज्यका उद्देश्‍यहरू प्रकट हुँदै जाँदा अरू दर्शनहरूको बाटो हामी हेर्दछौं।

[फुटनोट]

a रोमन इतिहासकार टेसिटसको रिपोर्टअनुसार सा.यु.पू. ६३-मा यरुशलेमको कब्जापश्‍चात मन्दिरभित्र नियस पम्पे प्रवेश गर्दा त्यहाँ सबै खाली थियो। भित्र वाचाको सन्दूक थिएन।—टेसिटसको इतिहास, ५.९.

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १७३-मा भएको पेटी]

यहोवाको तुरहीरूपी न्यायिक घोषणाहरूका केही मुख्य झलक

१. १९२२, सिडर प्वाँइन्ट, ओहायो: आनन्द, समृद्धि र शान्ति ल्याउन नसक्ने आफ्नो असमर्थताको कारण प्रस्तुत गर्न मसीहीजगतका धर्मगुरुहरू, राजनैतिक नेताहरू र व्यापारीहरूलाई चुनौती दिइयो। मसीही राज्य नै सबै कुराको समाधान हो।

२. १९२३, लस एन्जेलिस, क्यालिफर्निया: “सबै राष्ट्रहरू अब आरमागेडोनतिर गइरहेका छन्‌, तर आजका लाखौं जीवित कहिल्यै मर्ने छैनन्‌” भन्‍ने आम भाषणद्वारा शान्तिप्रेमी “भेडाहरूलाई” मृत्युदायी मानव समुद्रबाट अलग हुने आह्वान दिइयो।

३. १९२४, कलम्बस, ओहायो: स्वाभिमानी भएर मसीही राज्यको प्रचार गर्न इन्कार गरेका हुनाले पादरीहरूलाई दोषी ठहराइयो। साँचो मसीहीहरूले परमेश्‍वरको बदलाको दिन प्रचार गर्दै शोकित मानवहरूलाई सान्त्वना दिनु पर्छ।

४. १९२५, इन्ड्यानापोलिस, इन्डियाना: शान्ति, समृद्धि, सुस्वास्थ्य, जीवन, स्वाधीनता र अनन्तकालीन आनन्द ल्याउने मसीही राज्यको उज्ज्वल प्रतिज्ञा र मसीही जगतको अन्धकारबीचको विषमता प्रदर्शित गर्ने आशाको सन्देश।

५. १९२६, लण्डन, बेलायत: मसीहीजगत र त्यसको पादरीवर्गलाई सलहहरूको आक्रमणले पिरोल्ने, परमेश्‍वरको राज्यलाई तिनीहरूले अस्वीकार गरेको पर्दाफास गर्ने र स्वर्गीय सरकारको जन्मलाई स्वागत गर्ने।

६. १९२७, टोरोन्टो, क्यानाडा: ‘संगठित मसीही धर्मलाई’ त्याग्ने र यहोवा परमेश्‍वर, उहाँका राजा र राज्यको हार्दिक स्वागत गर्ने निम्तो प्रतीकात्मक घोडचढीहरूद्वारा मानिसहरूकहाँ पुऱ्‍याइयो।

७. १९२८, डेट्रोइट्‌, मिचीगन: शैतानको विरुद्धमा र यहोवाको पक्षमा घोषणा गरियो जसद्वारा १९१४-मा गद्दीनसीन हुनु भएको परमेश्‍वरको अभिषिक्‍त राजाले शैतानको दुष्ट संगठनलाई नाश गरेर मानिसजातिलाई मुक्‍त गराउनु हुनेछ भन्‍ने कुरा स्पष्ट पारियो।

[पृष्ठ १७५-मा भएको पेटी]

पृथ्वीको विनाश

“फुटबल खेल्ने मैदान जति ठूलो एउटा जंगल प्रत्येक तीन सेकण्डमा फाँडिन्छ . . . यसरी जंगल फाँडनाले हजारौं प्रकारका बोटबिरुवा, र जनावरहरू लोप भइरहेका छन्‌।”—इलस्ट्रेटेड एटलस अफ द वर्ल्ड (ऱ्‍यान्ड मक्‌नाली)।

“दुई शताब्दीको मानव बसोबासद्वारा विशाल तालहरू विश्‍वका सबैभन्दा ठूला ढल-निकासहरू हुन गएका छन्‌।”—द ग्लोब एन्ड मेल (क्यानाडा)।

अप्रिल, १९८६मा युक्रेनको चर्नोबिलमा एउटा आणविक भट्टीमा भएको विष्फोटन र आग्निकाण्ड “हिरोशिमा र नागासाकीको बम काण्डपछिको सबै भन्दो उल्लेखनीय आणविक घटना साबित भयो। उक्‍त विष्फोटनले हावा, माटो र पानीमा अरू जम्मै आणविक  योगहरू र विष्फोटित बमहरूले भन्दा बढी र चिरस्थायी असर पारेको छ।”—जामा; द न्यु योर्क टाइम्स.

मिनामाटा, जापानमा रासायनिक पदार्थको कारखानाबाट मेथिलमर्क्युरी समुद्रमा खसालियो। यही रासायनिक तत्त्वद्वारा दूषित माछाहरू खाएर मिनामाटामा “दीर्घकालीन स्नायु रोग सुरु भयो। . . . प्राप्त समाचारअनुसार आजसम्म [१९८५] जापानभरि २५७८ मानिसहरू यस रोगले पीडित छन्‌।”—इन्टरनेश्‍नल जर्नल अफ एपिडेम्योलोजी.

[पृष्ठ १७६-मा भएको पेटी]

प्रकाश ११:१५-१९-मा उल्लिखित ठोस उद्‌घोषणाहरू पछिपछि आउने दर्शनहरूको एउटा परिचय मात्र हुन्‌। जस्तो कि  काश ११:१५, १७-का महान घोषणाहरूलाई प्रकाश १२-ले थप विवरणसाथ पुनःप्रस्तुत गर्छ। अध्याय १३-मा चाहिं पृथ्वी बिगार्ने शैतानको राजनैतिक संगठनको सुरुआत र विकाशको वर्णन गरिंदा प्रकाश ११:१८-लाई पृष्ठभूमिको रूपमा चलाइएको छ। अध्याय १४ र १५-ले चाहिं परमेश्‍वरको राज्यका न्याय वचनहरूको विस्तृत विवरण दिन्छन्‌ जो सातौं तुरहीको आवाज र तेस्रो अभिशापसित सम्बन्धित छन्‌।

[पृष्ठ १७४-मा भएको चित्र]

यहोवाले ‘पृथ्वीका नष्टकारीहरूलाई नष्ट’ गर्नु हुनेछ।