सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

प्रकाशको पुस्तक र तपाईं

प्रकाशको पुस्तक र तपाईं

अध्याय ४४

प्रकाशको पुस्तक र तपाईं

१. (क) प्रकाशको पुस्तकमा उल्लिखित अद्‌भुत प्रतिज्ञाहरूबारे स्वर्गदूतले यूहन्‍नालाई के आश्‍वासन दिन्छन्‌? (ख) “म चाँडै आउँछु” कसले भन्‍नु हुन्छ र यो ‘आउने’ काम कहिले हुने हो?

 नयाँ यरूशलेमको आनन्ददायी वर्णन पढेपछि सायद तपाईं सोध्नु होला: ‘यतिको अद्‌भुत कुरा पूरा हुन सम्भव छ र?’ यस प्रश्‍नको उत्तर दिंदै यूहन्‍ना स्वर्गदूतका यी शब्दहरू उद्धृत गर्छन्‌: “औ तिनले मलाई भने, ‘यी कुराहरू विश्‍वासयोग्य र सत्य छन्‌। औ परमप्रभु, अगमवक्‍ताहरूका आत्माका परमेश्‍वरले आफ्ना दासहरूलाई झट्टै हुनआउने कुराहरू देखाउनालाई उहाँका दूत पठाउनुभयो। औ हेर, म चाँडै आउँछु। यस पुस्तकको अगमवाणी पालन गर्ने धन्यको हो।’” (प्रकाश २२:६, ७) प्रकाशको पुस्तकका जम्मै अद्‌भुत प्रतिज्ञाहरू साँच्चै नै पूरा हुनेछन्‌! येशूको नाउँमा बोल्दै स्वर्गदूत भन्छन्‌ कि अब येशू “चाँडै” आउनु हुनेछ। यो अवश्‍य उही आगमन हुनुपर्छ जब येशू “चोर” जस्तै आउनु भएर आफ्ना शत्रुहरूलाई नष्ट पार्नु हुनेछ र प्रकाशको पुस्तकको आनन्दमय तथा महान चरमोत्कर्ष आरम्भ पनि गर्नु हुनेछ। (प्रकाश १६:१५, १६) हामी त्यतिखेर आनन्दित घोषित हुन चाहन्छौं भने हामीले आजै आफ्नो जीवनको गतिविधिलाई प्रकाशको “पुस्तक” अनुरूप ढाल्नु अत्यावश्‍यक छ।

२. (क) प्रकाशको पुस्तकका थुप्रै अर्थपूर्ण कुराहरूप्रति यूहन्‍नाको प्रतिक्रिया कस्तो हुन्छ र स्वर्गदूतले उनलाई के भन्छन्‌? (ख) स्वर्गदूतले “हेर, तिमीले यसो नगर” “परमेश्‍वरलाई नै दण्डवत गर” भनेका शब्दहरूबाट हामी के सिक्न सक्छौं?

यतिका अर्थपूर्ण कुराहरू प्रकाश भएको देखेपछि स्वभाविकतः यूहन्‍ना एकछिन स्तब्ध भए: “यी कुरा सुन्‍ने र देख्ने म यूहन्‍ना हुँ। औ जब मैले यी कुरा सुनें र देखें, तब मलाई यी कुरा देखाउने दूतको पाउमा दण्डवत्‌ गर्न म घोप्टें। तर तिनले मलाई भनें, ‘हेर, तिमीले यसो नगर। म तिम्रो र अगम बोल्ने तिम्रा दाज्यू-भाइहरूको र यस पुस्तकका वचनहरू पालन गर्नेहरूको सँगी दास हुँ। परमेश्‍वरलाईनै दण्डवत्‌ गर।’” (प्रकाश २२:८, ९; प्रकाश १९:१०-तुलना गर्नुहोस्‌।) स्वर्गदूतहरूको उपासना नगर्नु भनेर यहाँ दुई पटक दिएको चेताउनी यूहन्‍नाको पालोमा अति नै उपयुक्‍त थियो। त्यतिखेर केही व्यक्‍तिहरू स्वर्गदूतहरूको उपासना गरीटोपल्थे अथवा स्वर्गदूतहरूबाट विशेष जानकारी हासिल भएको दाबी समेत गर्थे। (१ कोरिन्थी १३:१; गलाती १:८; कलस्सी २:१८) आज उक्‍त चेताउनीले हामीलाई परमेश्‍वरको मात्र उपासना गर्न प्रोत्साहित गर्छ। (मत्ती ४:१०) हामीले अरू कुनै व्यक्‍ति वा चीजको उपासना गर्दै शुद्ध उपासनालाई कलङ्‌कित पार्नु हुँदैन।—यशैया ४२:५, ८.

३, ४. स्वर्गदूतले यूहन्‍नालाई अझ के भन्दै जान्छन्‌ र यी शब्दहरूलाई शेष अभिषिक्‍त जनहरूले कसरी पालन गरेका छन्‌?

यूहन्‍ना अझ यसो भन्छन्‌: “अनि तिनले मलाई यसो भन्दारहेछन्‌, ‘यस पुस्तकका अगमवाणीका वचनहरूमा छाप नलाऊ, किनकि समय नजीक छ। जो अधर्मी छ, त्यसले अझै अधर्मनै गरिरहोस्‌, जो फोहोरी छ, त्यो अझै फोहोरीनै भइरहोस्‌, औ जो धर्मात्मा छ, त्यसले अझै धर्मनै गरिरहोस्‌ र जो पवित्र छ, त्यो अझै पवित्रनै भइरहोस्‌।’”—प्रकाश २२:१०, ११.

शेष अभिषिक्‍त जनहरूले आज स्वर्गदूतका ती शब्दहरू पालन गरेका छन्‌। तिनीहरूले अगमवाणीका ती शब्दहरूको सीलबन्दी गरेर तिनलाई लुकाएका छैनन्‌। जायन्स वाच टावर एण्ड हरल्ड अफ क्राइस्ट्‌स प्रेजेन्स-नामक पत्रिकाको प्रथम अङ्‌कमा नै (जुलाई १८७९) प्रकाशको पुस्तकका केही पदहरूमाथि टिप्पणीहरू प्रस्तुत गरिएको थियो। यस पुस्तकको प्रथम अध्यायमा भने झैं यहोवाका साक्षीहरूले बितेका वर्षहरूमा प्रकाशको पुस्तकमाथि ज्योति दिने अन्य पुस्तकहरू प्रकाशित गर्दै आएको छ। सच्चाइका सबै प्रेमीहरूको ध्यान अब फेरि हामी प्रकाशको पुस्तकका शक्‍तिशाली अगमवाणीहरू र तिनीहरूको पूर्तितिर आकृष्ट गर्दछौं।

५. (क) प्रकाशको पुस्तकमा उल्लिखित चेताउनी र सरसल्लाहलाई मानिसहरूले अवहेलना गर्न चाहेमा नि? (ख) नम्र र धर्मी जनहरूको कस्तो प्रतिक्रिया हुनुपर्छ?

तर कसैले प्रकाशको पुस्तकका चेताउनीहरू र सरसल्लाहको बेवास्ता गर्न चाहन्छन्‌ भने त्यसै गरून्‌! “जो अधर्मी छ, त्यसले अझै अधर्मनै गरिरहोस्‌।” यो भ्रष्ट संसारको फोहोरमै लडबडी गर्नेहरू त्यसैमा मर्न चाहन्छन्‌ भने त्यो तिनीहरूको फैसला हो। महान बेबिलोनको विनाश सुरु हुनेबित्तिकै यहोवाका न्यायवचनहरू सम्पूर्णतः कार्यान्वयन हुन थाल्नेछन्‌। अतः नम्र जनहरूले अगमवक्‍ताका यी शब्दहरूलाई विशेष ध्यान दिऊन्‌: “परमप्रभुको खोजी गर। धार्मिकता खोज, नम्रता खोज, परमप्रभुको रीसको दिनमा सायद तिमीहरूले शरण पाउँछौं कि।” (सपन्याह २:३) यहोवालाई जसले आफ्नो जीवन समर्पण गरिसकेको छ अथवा “जो धर्मात्मा छ, त्यसले अझै धर्मनै गरिरहोस्‌ र जो पवित्र छ, त्यो अझै पवित्र नै भइरहोस्‌।” बुद्धिमान मानिसहरूलाई थाह छ कि पापको कुनै पनि अल्पकालीन फायदालाई धार्मिकता र पवित्रता पछ्याउनेहरूले उपभोग गर्ने दीर्घकालीन आशिष्‌हरूसित तुलना गर्न मिल्दैन। बाइबल भन्छ: “तिमीहरू विश्‍वासमा छौ कि छैनौ भनी आफैले आफैलाई जाँचेर तिमीहरू आफ्नो प्रमाण देओ।” (२ कोरिन्थी १३:५) तपाईं आफूले रोज्नु भएको र हिंड्‌नु हुने मार्ग बमोजिम नै इनाम पनि पाउनु हुनेछ।—भजन १९:९-११; ५८:१०, ११.

६. यहोवाले प्रकाशको पुस्तकका पाठकहरूलाई यस भविष्यवाणीमा अन्तिम पटक सम्बोधन गर्नु हुँदै के भन्‍नु हुन्छ?

अनन्तकालका महाराजा यहोवाले अब प्रकाशको पुस्तकका पाठकहरूलाई यस भविष्यवाणीमा अन्तिम पटक सम्बोधन गर्नु हुँदै यसो भन्‍नुहुन्छ: “हेर, म चाँडै आउँछु, र हरेक मानिसलाई आफ्नो आफ्नो कामअनुसार दिने इनाम मसँग छ। म अल्फा र ओमेगा, पहिलो र पछिल्लो, आदि र अन्त हुँ। जीवनको रूखमा आउन शहरका ढोकाहरूभित्र पस्ने अधिकार पाउनालाई आफ्ना लुगा धुनेहरू धन्यका हुन्‌। बाहिरपट्टि ता कुकुरहरू, जादूगरहरू, र व्यभिचारीहरू, झूटा बोल्नेहरू र झूट निको मान्‍नेहरू रहेका हुन्छन्‌।”—प्रकाश २२:१२-१५.

७. (क) के गर्न यहोवा “चाँडै आउनु” हुँदैछ? (ख) मसीहीजगतका पादरीहरूले नयाँ यरूशलेममा किन केही भाग लिन पाउने छैनन्‌?

यहोवा परमेश्‍वरले फेरि एक पटक आफ्नो सनातनको सार्वभौमिकतामाथि जोड दिनुहुन्छ। साथै, उहाँले जे उद्देश्‍य पहिले रचेको हुन्छ, सो अन्तमा पूरा नगरी छाड्‌नु हुँदैन भन्‍ने कुरातर्फ पनि हाम्रो ध्यान आकृष्ट गर्नुहुन्छ। उहाँ आफ्नो न्याय कार्यान्वयन गर्न “चाँडै” आउनु हुँदैछ। उत्सुकतासाथ उहाँको खोजी गर्नेहरूलाई उहाँले पुरस्कृत गर्नु हुनेछ। (हिब्रू ११:६) को पुरस्कृत हुने तथा को तिरस्कृत हुने, सो उहाँकै सिद्धान्तहरूको आधारमा फैसला गरिनेछ। मसीहीजगतका पादरीहरू “लाटा कुकुरजस्तै” भएका छन्‌। यहोवाले यहाँ वर्णन गर्नु भएका खराबीहरूप्रति तिनीहरूले आँखा चिम्लेका छन्‌। (यशैया ५६:१०-१२; व्यवस्था २३:१८, न्यु वर्ल्ड ट्रान्सलेशन रेफ्रेन्स बाइबल-को फुटनोट पनि हेर्नुहोस्‌।) तिनीहरूले झूटलाई तथा झूटा धर्म शिक्षाहरू ‘निको मानेका’ छन्‌। येशूले सात मण्डलीहरूलाई पठाउनु भएको सन्देशको तिनीहरूले पूरै बेवास्ता गरेका छन्‌। तिनीहरूले नयाँ यरूशलेममा भाग लिन कदापि पनि पाउने छैनन्‌।

८. (क) “जीवनको रूख”सम्म को मात्र जान पाउछन्‌ र यसको अर्थ के हो? (ख) ठूलो भीडले कसरी “आफ्ना आफ्ना लुगाहरू” ‘धोएका’ छन्‌ र तिनीहरूले आफ्नो शुद्धतालाई कसरी कायम राख्छन्‌?

यहोवाको नजरमा शुद्ध हुन वास्तवमा “आफ्ना लुगा धुने” अभिषिक्‍त मसीहीहरू मात्र “जीवनको रूख”सम्म जान पाउनेछन्‌। अर्थात्‌ तिनीहरूले स्वर्गमा अमरत्व थाप्ने अधिकार पाउनेछन्‌। (उत्पत्ति ३:२२-२४-तुलना गर्नुहोस्‌; प्रकाश २:७; ३:४, ५) मानवको रूपमा मरेपछि तिनीहरूले पुनरूत्थानद्वारा नयाँ यरूशेलममा प्रवेश पाउँछन्‌। ती १२ स्वर्गूदतहरूले तिनीहरूलाई भित्र पस्न दिन्छन्‌। तर झूट अथवा अशुद्धतामा लागिरहनेहरूले चाहिं स्वर्गीय आशा हुने दाबी गरे तापनि भित्र पस्न पाउँने छैनन्‌। पृथ्वीको ठूलो भीडले पनि “आफ्ना आफ्ना लुगा थुमाको रगतमा धोएर सेता बनाएका छन्‌।” तर तिनीहरूले अब त्यो शुद्धतालाई कायम राख्नु अत्यावश्‍यक छ। जुन जुन खराबीहरूको विरुद्धमा यहोवाले यहाँ चेताउनी दिनु भएको छ, ती खराबीहरूबाट तिनीहरू अलग्गै बस्नु पर्छ। येशूले सात मण्डलीमा पठाउनु भएको सन्देशलाई पनि तिनीहरूले हृदयङ्‌गम गर्न जरुरी छ।—प्रकाश ७:१४; अध्यायहरू २ र ३.

९. येशू के भन्‍नु हुन्छ र उहाँको सन्देश र प्रकाशको पूरा पुस्तकमा मूलतः कसलाई सम्बोधन गरिएको छ?

यहोवा बोलिसक्नु भएपछि येशू बोल्नुहुन्छ। उहाँले प्रकाशको पुस्तक पढ्‌ने असल हृदय भएकाहरूलाई सम्बोधन गर्दै यी प्रोत्साहनजनक शब्दहरू भन्‍नु हुन्छ: “मण्डलीहरूका निम्ति यी कुरा तिमीलाई साक्षी दिनालाई म, येशूले आफ्नो दूत पठाएको छु। म दाऊदको जरा र सन्तान, बिहानको चहकिलो तारा हुँ।” (प्रकाश २२:१६) हो, यी शब्दहरू विशेषतः “मण्डलीहरूका निम्ति” हो। यो सन्देश प्रथमतः पृथ्वीमा भएका अभिषिक्‍त मसीहीहरूको मण्डलीका लागि हो। प्रकाशको पुस्तकमा उल्लिखित सबै कुराले सर्वप्रथम अभिषिक्‍त मसीहीहरूलाई सम्बोधन गर्दछ जो अन्ततः नयाँ यरूशलेममा बास गर्नेछन्‌। त्यसै मण्डलीद्वारा ठूलो भीडले पनि यी अनमोल भविष्यवाणीरूपी सच्चाइहरू बुझ्ने सुअवसर पाउँछन्‌।—यूहन्‍ना १७:१८-२१.

१०. येशू आफूलाई (क) “दाऊदको सन्तान र जरा” तथा (ख) “बिहानको चहकिलो तारा” भनेर किन सम्बोधन गर्नु भयो?

१० प्रथमतः यूहन्‍नालाई र उनीद्वारा मण्डलीलाई प्रकाशको पुस्तक दिने जिम्मेवारी येशूलाई सुम्पिएको थियो। येशू “दाऊदको जरा र सन्तान” दुवै हुनुहुन्छ। शारीरिक तवरमा उहाँले दाऊदको घरानामा जन्मिनु भएको थियो। यसकारण उहाँ यहोवाको राज्यको राजा हुने आधिकारिक व्यक्‍ति हुनुहुन्छ। उहाँ दाऊदको “सनातनको पिता” पनि बन्‍नु हुनेछ जसले गर्दा उहाँ दाऊदको “जरा” पनि हुनु हुनेछ। (यशैया ९:६; ११:१, १०) दाऊदको घरानाको उहाँ स्थायी र अमर राजा हुनुहुन्छ। यहोवाले दाऊदसित बाँध्नु भएको वाचा उहाँमै पूरा हुनेछ। उहाँ नै मोशाद्वारा अग्रिमवाणी गरिएको “तारा” पनि हुनुहुन्छ। (गन्ती २४:१७; भजन ८९:३४-३७) उहाँ उषाको झिसमिसे उज्यालोमा उदय हुने “बिहानको तारा” हुनुहुन्छ। (२ पत्रुस १:१९) यो महिमापूर्ण उदयलाई रोक्न महा-शत्रु महान बेबिलोनको सबै प्रयास विफल भयो।

“आऊ” भन

११. यूहन्‍ना अब कुन खुला निम्तो प्रस्तुत गर्छन्‌ र त्यसलाई कसकसले स्वीकार्न सक्छन्‌?

११ अब बोल्ने पालो यूहन्‍नाको हो। आफूले देखेका र सुनेका जम्मै कुराहरूको मूल्याङ्‌कन गर्दै उनी यसो भन्छन्‌: “औ आत्मा र दुलही भन्‍नुहुन्छ, ‘आउनुहोस्‌।’ औ जसले सुन्छ, त्यसले ‘आउनुहोस्‌’ भनोस्‌। जो तिर्खाउँछ, त्यो आओस्‌, जसले मन गर्छ, त्यसले जीवनको पानी सित्तैंमा लेओस्‌।” (प्रकाश २२:१७) येशूको छुडौतीको बलिदानबाट १,४४,०००-जनहरू मात्र लाभान्वित हुने होइनन्‌। यहाँ एउटा खुला निम्तो दिइएको छ। यहोवाको शक्‍तिशाली आत्माले दुलहीवर्गद्वारा यो सन्देशलाई स्पष्टसित घोषित गर्दैछ: “जीवनको पानी सित्तैंमा लेओस्‌!” (यशैया ५५:१; ५९:२१-पनि हेर्नुहोस्‌।) धार्मिकताका लागि तिर्खाउने सबैलाई यहोवाका प्रबन्धहरू उपभोग गर्न “आऊ” भन्‍ने निम्तो दिइन्छ। (मत्ती ५:३, ६) अभिषिक्‍त यूहन्‍नावर्गले दिने यस निम्तोलाई स्वीकार्ने ती सम्भाव्य पार्थिव वर्गका सबै जना कति धन्यका हुन्‌!

१२. प्रकाश २२:१७-मा दिएको निम्तोप्रति ठूलो भीडले कस्तो प्रतिक्रिया व्यक्‍त गर्छन्‌?

१२ सन्‌ १९३०-को दशकदेखि ठूलो भीडको बढ्‌दो सङ्‌ख्याका मानिसहरूले यस निम्तोलाई ‘सुन्दै’ अर्थात्‌ ध्यान दिंदै आएका छन्‌। यिनीहरू पनि आफ्ना सँगी अभिषिक्‍त दासहरूजस्तै यहोवाको नजरमा पवित्र ठहरेका छन्‌। तिनीहरू त्यस समयको आशामा छन्‌ जब मानवजातिमाथि आशिष वर्षाउन नयाँ यरूशलेम स्वर्गबाट तल ओर्लनेछ। प्रकाशको यो उत्साहवर्धक सन्देश सुनेपछि ठूलो भीडकाहरूले अरूलाई “आऊ” भन्छन्‌। अरूलाई पनि यहोवाको सङ्‌गठनमा जम्मा गर्छन्‌ र “जो तिर्खाउँछ, त्यो आओस्‌” भनेर घोषणा गर्ने प्रशिक्षण दिन्छन्‌। यसले गर्दा ठूलो भीडको सङख्या बढ्‌दै गइरहेछ। “जीवनको पानी सित्तैंमा लेओस्‌” भन्‍ने निम्तो दिन आज संसारभरि दुलही वर्गकाहरू ८,७००-जनामात्र छन्‌। तर ठूलो भीडकाहरू चाहिं २३५ मुलुकहरूमा ६०,००,०००-भन्दा बढी छन्‌।

१३. येशूले के चेताउनी दिनुहुन्छ?

१३ यसपछि येशू फेरि यसो भन्दै बोल्नु हुन्छ: “यस पुस्तकको अगमवाणीका वचनहरू सुन्‍ने हरेक मानिसलाई म चेताउनी दिन्छु, ‘यदि कुनै मानिसले तिनमा थप्यो भने, परमेश्‍वरले यस पुस्तकमा लेखिएका विपत्तिहरू त्यसमाथि थप्नुहुनेछ। औ यदि कुनै मानिसले यी वचनहरूबाट केही घटायो भने, परमेश्‍वरले यस पुस्तकमा लेखिएका जीवनको फल र पवित्र शहरबाट त्यसको भाग घटाउनुहुनेछ।”—प्रकाश २२:१८, १९.

१४. यूहन्‍नावर्गकाहरूले प्रकाशको पुस्तकको “भविष्यवाणी”लाई कुन दृष्टिले हेर्ने गर्छन्‌?

१४ यूहन्‍नावर्गकाहरूले प्रकाशको पुस्तकको “भविष्यवाणी”माथि सबैको ध्यान आकर्षित गराउनु पर्छ। तिनीहरूले त्यसमा भएका कुराहरूलाई लुकाउनु हुँदैन। नता त्यसमा कुनै कुरा थप्न मिल्छ। त्यसमा भएको सन्देशलाई तिनीहरूले मानौं “घरका धुरीबाट” खुलेआम प्रचार गर्नुपर्छ। (मत्ती १०:२७) प्रकाशको पुस्तक परमेश्‍वरद्वारा प्रेरित हो। यसकारण परमेश्‍वरले आफ्नो शासनारूढ राजा येशू ख्रीष्टद्वारा बोल्नु भएको तथा पठाउनु भएको वाणीलाई बदलने आँट कसले गर्नु मिल्छ र? यस्तो गर्ने मान्छे जीवनको खोजीमा निश्‍चय नै निष्फल हुनेछ। महान बेबिलोन र बाँकी संसारमाथि आइ पर्ने विपत्तिहरू उसले भोग्नु पर्नेछ।

१५. येशूले यी “कुराहरूको गवाही दिने” र “म चाँडै आउँछु” भन्‍नुको तात्पर्य के हो?

१५ येशूले अब अन्तमा प्रोत्साहनको यी दुई शब्द बोल्नु हुन्छ: “यी कुराको गवाही दिनेले भन्‍नुहुन्छ, ‘म चाँडै आउँछु।’” (प्रकाश २२:२०क) येशू “विश्‍वासयोग्य र साँचो साक्षी” हुनुहुन्छ। (प्रकाश ३:१४) प्रकाशको पुस्तकका दर्शनहरूबारे उहाँले साक्षी दिनु भएको हो भने ती दर्शनहरू साँचो हुनै पर्छ। उहाँ र यहोवा परमेश्‍वर दुवैले आफ्नो निकटतम आगमन अथवा उहाँहरू “चाँडै” आउनु हुने कुरामाथि जोड दिनुहुन्छ। सोही कुरा येशूले यहाँ पाचौं पटक भन्दै हुनुहुन्छ। (प्रकाश २:१६; ३:११; २२:७, १२, २०) त्यो महा वेश्‍या, राजनैतिक राजाहरू तथा “हाम्रा प्रभु [यहोवा] र उहाँको ख्रीष्टको राज्य”को विरोध गर्ने सबैजनामाथि उहाँहरू न्याय कार्यान्वयन गर्न आउनु हुनेछन्‌।—प्रकाश ११:१५; १६:१४, १६; १७:१, १२-१४.

१६. यहोवा परमेश्‍वर र येशू चाँडै आउनु हुने कुरा थाह पाएपछि तपाईंले अब के गर्ने अठोट गरी हाल्नु पर्छ?

१६ यहोवा परमेश्‍वर र येशूको निकटतम आगमन बारे थाह पाएपछि तपाईं अझ तीव्रतासाथ “परमेश्‍वरको त्यस दिनको बाटो” हेर्न प्रोत्साहित हुनुपर्छ। (२ पत्रुस ३:१२) शैतानको पृथ्वीको रीतिरिवाज जति नै स्थायी देखिए तापनि त्यो भ्रम मात्र हो। शैतान अधीनस्थ सांसारिक शासकहरूको स्वर्गले हासिल गरेको जस्तो देखिने सफलता क्षणिक मात्र हुनेछ। यी सबै कुराहरू बितेर जानेछन्‌। (प्रकाश २१:१) यहोवा, येशू ख्रीष्टको हातमा सुम्पनु भएको उहाँको राज्य तथा उहाँले प्रतिज्ञा गर्नु भएको नयाँ संसारमा मात्र स्थायित्व पाइनेछ। यो तथ्य कहिल्यै नबिर्सनुहोस्‌!—१ यूहन्‍ना २:१५-१७.

१७. यहोवाको पवित्रताको मूल्याङ्‌कन गर्नुहुन्छ भने तपाईंले के गर्नुपर्छ?

१७ अतः तपाईंले प्रकाशको पुस्तकबाट जे जति सिक्नु भएको छ, ती कुराहरूको गहिरो प्रभाव तपाईंको जीवनमा पर्न दिनुहोस्‌। तपाईंले साक्षात यहोवाको उपस्थितिको एक झलक पाउनु भएको छ। हाम्रो सृष्टिकर्ताको सर्वोत्कृष्ट महिमा र पवित्रता देखेर के तपाईं प्रभावित हुनु भएन? (प्रकाश ४:१–५:१४) यस्तो परमेश्‍वरको सेवा गर्न पाउनु कस्तो महान विशेषाधिकार हो! उहाँको पवित्रताको मूल्याङ्‌कन गर्नुहुन्छ भने येशूले सात मण्डलीलाई पठाउनु भएको सन्देशमाथि विशेष ध्यान दिनुहोस्‌। भौतिकवाद, मूर्तिपूजा, उदासीनता, धर्मत्यागी साम्प्रदायिकता अथवा यहोवाको नजरमा तपाईंको सेवालाई अस्वीकृत तुल्याउने हर कुराबाट टाढा बस्नुहोस्‌। (प्रकाश २:१–३:२२) प्रेरित पत्रुसले यूहन्‍नावर्गलाई भनेका यी शब्दहरू सिद्धान्तः ठूलो भीडमाथि पनि लागू हुन्छ: “तिमीहरूलाई बोलाउनुहुने जस्तो पवित्र हुनुहुन्छ, तिमीहरू आफै पनि जीवनका सबै रहनसहनमा पवित्र होओ।”—१ पत्रुस १:१५, १६.

१८. कुन काममा तपाईंले यथाशक्य भाग लिनु पर्छ र यो काम आज किन अत्यन्तै महत्त्वपूर्ण छ?

१८ यसबाहेक, “परमप्रभुको ग्रहणयोग्य वर्ष र हाम्रा परमेश्‍वरको बदला दिने दिन” घोषणा गर्ने जोश तपाईंमा पुनःजागृत होस्‌। (यशैया ३५:४; ६१:२) तपाईं सानो बगालको हुनसक्नु हुन्छ वा ठूलो भीडको, यहोवाको क्रोधका सात वटा कचौराहरूबाट खन्याइएका विपत्तिहरू घोषणा गर्ने काममा तथा शैतानको संसारमाथि परमेश्‍वरको न्याय सुनाउनमा यथाशक्य भाग लिने गर्नुहोस्‌। यसबाहेक, स्वरमा स्वर मिलाएर यहोवा र उहाँको ख्रीष्टको स्थापित राज्यसम्बन्धी अनन्तको सुसमाचारलाई हर्षोल्लासपूर्वक उद्‌घोषणा गर्नुहोस्‌। (प्रकाश ११:१५; १४:६, ७) यस कामलाई आफ्नो जीवनमा विशेष प्राथमिकता दिनुहोस्‌। हामी मध्ये यहोवाको सेवा गर्न नथालेकाहरूले चाहिं अब हामी प्रभुको दिनमा छौं भन्‍ने कुरा बुझेपछि सुसमाचार घोषणा गर्ने प्रेरणा पाऊन्‌। यिनीहरू पनि परमेश्‍वरलाई आफ्नो जीवन समर्पण गर्ने लक्ष्य राखेर अघि बढ्‌न सकून्‌। बप्तिस्मा लिन सकून्‌। स्मरण रहोस्‌, “समय नजीकै छ”!—प्रकाश १:३.

१९. उमेर ढल्किसकेको प्रेरित यूहन्‍नाका अन्तिम शब्दहरू के हुन्‌ र तिनीहरूप्रति तपाईंको प्रतिक्रिया के छ?

१९ अतः हामी यूहन्‍ना सँगसँगै हृदयको गहराइबाट प्रार्थना गर्दछौं: “आमिन, आउनुहोस्‌, हे प्रभु येशू।” पाको प्रेरित यूहन्‍नाले फेरि यसो भन्छन्‌: “प्रभु येशूको अनुग्रह सबै पवित्र जनहरूसँग रहोस्‌।” (प्रकाश २२:२०ख, २१) यस प्रकाशनका तपाईं सबै पाठकहरूमाथि सो कामना पूरा होस्‌। प्रकाशको महान चरमोत्कर्ष अब नजीकै छ भन्‍ने कुरामाथि तपाईंको विश्‍वास रहोस्‌। अनि तपाईंले पनि हामीसित मिलेर हार्दिक “आमिन!” भन्‍न सक्नु हुनेछ।

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ ३१४-मा भएको चित्र]

“बाहिरपट्टि त कुकुरहरू . . . छन्‌”

[पृष्ठ ३१५-मा भएको चित्र]

“शहरका ढोकाहरूभित्र पस्ने अधिकार पाउनाका लागि आफ्ना लुगा धुनेहरू धन्यका हुन्‌”