सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

प्रकाश—त्यसको आनन्दमय चरमोत्कर्ष!

प्रकाश—त्यसको आनन्दमय चरमोत्कर्ष!

अध्याय १

प्रकाश—त्यसको आनन्दमय चरमोत्कर्ष!

१. परमेश्‍वर हामी आनन्दित भएको चाहनु हुन्छ भनेर हामी कसरी भन्‍न सक्छौं?

 यूहन्‍नालाई दिइएको प्रकाश–बाइबलको यस रोमाञ्चकारी पुस्तकका साथै ईश्‍वरका वाणीहरू एउटा आनन्दमय चरमोत्कर्षमा पुग्छन्‌। किन आनन्दमय? किनभने बाइबलको मूल लेखक एक जना “[आनन्दित] परमेश्‍वर” हुनुहुन्छ र उहाँसित प्रेम गर्नेहरूलाई उहाँले “महिमाको सुसमाचार” सुम्पिनु हुन्छ। हामी पनि आनन्दित भएको उहाँ चाहनु हुन्छ। यसैकारण त प्रकाशको पुस्तकको सुरु मै हामीलाई यो आश्‍वासन दिइएको छ: “जसले यो अगमवाणीका वचनहरू पढ़छ . . . तिनीहरू धन्यका [आनन्दित, NW] हुन्‌।” यस पुस्तकको अन्तिम पदमा पनि हामीलाई यसो भनिएको छ: “यस पुस्तकको अगमवाणी पालन गर्ने धन्यको हो।”—१ तिमोथी १:११; प्रकाश १:३; २२:७.

२. प्रकाशको पुस्तकबाट आनन्द प्राप्त गर्नका लागि हामीले के गर्नुपर्छ?

हामीले प्रकाशको पुस्तकबाट कसरी आनन्द लिन सक्छौं? त्यसका ज्वलन्त चिह्नहरू अथवा प्रतीकहरूको अर्थ खोजेर। अनि ती बमोजिम जीवन बिताएर। अशान्त मानव इतिहासको चाँडै नै एउटा ध्वंसात्मक अन्त हुनेछ। परमेश्‍वर र येशू ख्रीष्टले वर्तमान दुष्ट रीतिरिवाजमाथि न्याय गर्नु भएर यसको ठाउँमा “मृत्यु [समेत]” नभएको “नयाँ स्वर्ग र नयाँ पृथ्वी” स्थापित गर्नु हुनेछ। (प्रकाश २१:१, ४) यस्तो नयाँ संसारमा साँचो शान्ति र सुरक्षा साथ के हामी बाँच्न चाहँदैनौं र? प्रकाशको पुस्तकमा दिएको रोमाञ्चक भविष्यवाणी लगायत परमेश्‍वरको वचन अध्ययन गर्दै आफ्नो विश्‍वास बढायौं भने हामी अवश्‍य त्यस नयाँ संसारमा बाँच्न सक्नेछौं।

ए’पोक्यालिप्स—त्यो के हो?

३. धेरै मानिसहरूको विचारमा अ’पोक्यालिप्स र आरमागेडोनको अर्थ के हो?

“प्रकाश” लाई अङ्‌ग्रेजीमा ए’पोक्यालिप्स पनि भनिन्छ, होइन र? हो। किनभने प्रकाश भन्‍ने शब्द युनानी शब्द ए’पोकालिप्सिस बाट लिइएको हो। धेरैको विचारमा ए’पोक्यालिप्सको अर्थ आणविक युद्धद्वारा विश्‍वको विनाश हुनु हो। थुप्रै आणविक हातहतियार बनाउने संयुक्‍त राज्य अमेरिका स्थित टेक्सास शहरमा धार्मिक झुकाव भएका मानिसहरूले यसो भन्‍ने गर्थे: “सबैभन्दा पहिला हामी मर्नेछौं।” प्राप्त रिपोर्टअनुसार त्यस क्षेत्रका पादरीहरू विश्‍वस्त थिए कि “आरमागेडोन नआइ छाड्‌दैन, त्यो चाँडै आउनेछ र परमेश्‍वर र शैतान अर्थात्‌ असल र खराबबीचको अन्तिम युद्धले आणविक विध्वंसको रूप लिनेछ।” a

४. “ए’पोक्यालिप्स” शब्दको अर्थ वास्तवमा के हो र बाइबलको अन्तिम पुस्तकलाई पनि “प्रकाश” भन्‍न किन सुहाउँछ?

तर ए’पोक्यालिप्स खासमा हो के? शब्दकोषहरूमा दिएको अर्थअनुसार यो “निकट भविष्यमा हुने ब्रह्‍माण्डीय प्रलय” हो। तर युनानी शब्द ए’पोकालिप्सिस को खास अर्थ चाहिं “पर्दा हटाउनु” अथवा “उघारनु” हो। यसैकारण, बाइबलको अन्तिम पुस्तकलाई “प्रकाश” भन्‍न सुहाउँछ। यस पुस्तकले विश्‍वको विनाशबारे एउटा भाग्यवादी सूचना प्रस्तुत गर्नुको सट्टा ईश्‍वरीय सच्चाइहरूलाई उघारेर देखाइ दिन्छ। यी सच्चाइहरूले हाम्रा हृदयहरूमा उज्यालो आशा र अटल विश्‍वास बढाउन सक्छन्‌।

५. (क) आरमागेडोनमा कस कसको नाश हुनेछ र बाँच्नेहरू को को हुनेछन्‌? (ख) आरमागेडोनमा बाँच्नेहरूले कुन प्रकारको भविष्यबाट आनन्द उठाउनेछन्‌?

हुनत हो, बाइबलको अन्तिम पुस्तकमा आरमागेडोनलाई “सर्वशक्‍तिमान परमेश्‍वरको ठूलो दिनको लडाइँ” भनेर उल्लेख गरिएको छ। (प्रकाश १६:१४, १६) तर त्यो युद्ध आणविक विध्वंसभन्दा पूर्णतः बेग्लै हुनेछ! आणविक विध्वंसमा पृथ्वीका प्रायः सबै नै जीवजन्तु सखाप हुन सक्छ। तर आरमागेडोनमा चाहिं स्वयं परमेश्‍वरद्वारा सञ्चालित शक्‍तिद्वारा परमेश्‍वरका दुष्ट विरोधीहरू मात्र नष्ट हुनेछन्‌। यो आनन्दमय आश्‍वासन हामी परमेश्‍वरको वचनमा पाउँछौं। (भजन ३७:९, १०; १४५:२०) आरमागेडोन अर्थात्‌ ईश्‍वरीय न्यायको यस चरमोत्कर्षमा सबै जातिका मानिसहरूको एउटा ठूलो भीड बाँच्नेछ। अनि ख्रीष्ट येशूले त्यस भीडलाई पार्थिव प्रमोदवनमा अनन्त जीवनतर्फ डोऱ्‍याउनु हुनेछ। के तपाईं पनि त्यस भीडमा सामेल हुन चाहनु हुन्छ? तपाईं सामेल हुन सक्नुहुन्छ! र यो खुशीको खबर तपाईंलाई प्रकाशको पुस्तकले नै दिन्छ।—प्रकाश ७:९, १४, १७.

ईश्‍वरीय रहस्यहरूको खोजी गर्नु

६. प्रकाशको अर्थलाई अझ बढी खुलस्त पार्न यहोवाका साक्षीहरूले बितेका सालहरूको दौडान कुन कुन पुस्तकहरू प्रकाशित गरेको छ?

सन्‌ १९१७ तिर नै वाचटावर सोसाइटीले द फिनिष्ट मिस्ट्री पुस्तक प्रकाशित गरेको थियो। बाइबलका इजकिएल र प्रकाश पुस्तकहरूको प्रत्येक पदको व्याख्या यस प्रकाशनमा प्रस्तुत थियो। अनि बाइबलका भविष्यवाणीहरू पूरा गर्ने विश्‍व-घटनाहरू जसै घट्‌न थाले, १९३० मा लाइट्‌ नामक दुई खण्डे समयानुकूल पुस्तकको विमोचन गरियो। यसले प्रकाशको पुस्तकको पुनः अध्ययनद्वारा प्राप्त नयाँ समझलाई प्रस्तुत गऱ्‍यो। यसप्रकार ‘धर्मीहरूको मार्ग झन्‌ झन्‌ चहकिलो’ हुँदै जाँदा १९६३ मा यहोवाका साक्षीहरूले “बेबिलोन द ग्रेट ह्‍याज फलन्‌!” गड्‌स किङ्‌गडम रुल्स! नामक ७०४ पृष्ठ भएको पुस्तक प्रकाशित गऱ्‍यो। यस पुस्तकमा महान बेबिलोन अर्थात्‌ झूटो धर्मको विश्‍व साम्राज्यको उत्थान र पतनको इतिहासलाई पूर्ण विवरणसहित पेश गरियो। तर यस पुस्तकको चरमोत्कर्ष चाहिं प्रकाशका अन्तिम नौ अध्यायहरूको छलफल थियो। विशेषगरी मण्डलीय गतिविधिबारे पनि ‘धर्मीको मार्ग झन्‌ झन्‌ चहकिलो हुँदै’ जाँदा १९६९ मा ३८४ पृष्ठ भएको ‘देन इज फिनिष्ट द मिस्ट्री अफ गड” पुस्तक प्रकाशित गरियो। यसमा प्रकाशको प्रथम १३ अध्यायहरूको छलफल गरिएको थियो।—भजन ९७:११; हितोपदेश ४:१८.

७. (क) यहोवाका साक्षीहरूले प्रकाशबारे यो पुस्तक किन तयार पारेका छन्‌? (ख) पाठकहरूलाई सिक्ने मदत दिने कुन्‌ कुन्‌ थप कुराहरू यस पुस्तकमा पाइन्छ?

अब अहिले फेरि प्रकाशबारे एउटा अर्को पुस्तक किन प्रकाशित गरियो? किनभने अहिलेसम्म प्रकाशित धेरैजसा जानकारीहरू अति नै विस्तृत विवरणसहित प्रस्तुत गरिएका थिए। जसले गर्दा तिनलाई थुप्रै भाषाहरूमा अनुवाद गरेर विश्‍वभरि वितरण गर्न सम्भव भएन। अतः प्रकाशबारे अन्य भाषाहरूमा सजिलैसित अनुवाद गर्न सकिने एउटै पुस्तक तयार गर्न उचित देखियो। साथै, यस पुस्तकमा नक्साहरू, रेखाचित्रहरू र सारांशहरू पनि दिइएको छ। यी थप कुराहरूबाट पाठकहरूले यस अद्‌भुत भविष्यवाणीको उत्कृष्ट महत्त्व बुझ्ने र सिक्ने सहायता पाउनेछन्‌।

८. यो पुस्तक प्रकाशित गर्ने अझ ठूलो कारण के हो?

यो पुस्तक प्रकाशित गर्ने एउटा अझ ठूलो कारण चाहिं आजसम्म बुझेको सच्चाइलाई सूचित गराउनु हो। यहोवाले आफ्नो वचनको अर्थलाई निरन्तर झन्‌-झन्‌ खुलस्त पार्दै आउनु भएको छ। अतः हामी प्रतीक्षा गर्दछौं कि जसै महासङ्‌कष्ट नजिक आउँछ, प्रकाश र अन्य अरू भविष्यवाणीहरूको हाम्रो समझ पनि अझ स्पष्ट हुँदै जानेछ। (मत्ती २४:२१; प्रकाश ७:१४) हामीले सही जानकारी पाउनु अत्यावश्‍यक छ। प्रेरित पत्रुसले पनि ईश्‍वरीय भविष्यवाणीबारे यसप्रकार लेखे: “झिसमिसे उज्यालो नहोउञ्जेल, र तिमीहरूका हृदयमा बिहानको तारा नउदाउञ्जेल अन्धकारमा बलिरहेको दियोलाईझैं गरी तिमीहरूले त्यसलाई ध्यान दियौ भने असल गर्नेछौ।”—२ पत्रुस १:१९.

९. (क) परमेश्‍वरले के सृजनु हुनेछ भनेर प्रकाश र अन्य भविष्यवाणीहरूबाट देख्न सकिन्छ? (ख) नयाँ संसार के हो र तपाईं त्यसमा कसरी प्रवेश गर्न सक्नुहुन्छ?

यहोवा परमेश्‍वरको उद्देश्‍य नयाँ स्वर्ग र नयाँ पृथ्वी सृजनु हो भनेर देखाउन प्रकाशको पुस्तकले बाइबलका अरू पनि थुप्रै भविष्यवाणीहरूलाई पुष्टि दिन्छ। (यशैया ६५:१७; ६६:२२; २ पत्रुस ३:१३; प्रकाश २१:१-५) प्रकाशको समाचारमा प्रथमतः अभिषिक्‍त मसीहीहरूलाई सम्बोधन गरिएको छ। नयाँ स्वर्गमा येशूसित सह-शासक हुनका लागि यी अभिषिक्‍त मसीहीहरूलाई येशूले आफ्नो रगतको मोल तिरेर किन्‍नु भएको हो। (प्रकाश ५:९, १०) तथापि ख्रीष्टको राज्य अन्तर्गत अनन्त जीवनको आशा राख्ने लाखौं व्यक्‍तिहरूको विश्‍वासलाई पनि यो सुसमाचारले बलियो पार्नेछ। के तपाईं पनि ती लाखौंमध्ये एक हुनुहुन्छ? हुनुहुन्छ भने, प्रमोदवनमा प्रशस्त शान्ति, सुस्वास्थ्य र परमेश्‍वरका अनन्तकालीन वरदानहरूको आनन्द उठाउँदै नयाँ पृथ्वीको एउटा भाग भएर बाँच्ने तपाईंको आशालाई प्रकाशको पुस्तकले बल प्रदान गर्नेछ। (भजनसंग्रह ३७:११, २९, ३४; ७२:१, ७, ८, १६) तपाईं त्यो नयाँ संसारमा प्रवेश गर्न चाहनु हुन्छ भने प्रकाशको पुस्तकमा उल्लिखित चाँडै नै इतिहासलाई नयाँ मोड दिने चरर्मोत्कर्षको ज्वलन्त विवरणप्रति ध्यान दिनु अत्यावश्‍यक छ, हो, अनिवार्य छ।—सपन्याह २:३; यूहन्‍ना १३:१७.

[फुटनोट]

a जुडोइशः साइटुङ्‌ग, म्युनिक, जर्मनी, जनवरी २४, १९८७.

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ ७-मा भएको पृष्ठभरिको चित्र]