सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

प्रथम अभिशाप—सलहहरू

प्रथम अभिशाप—सलहहरू

अध्याय २२

प्रथम अभिशाप—सलहहरू

१. स्वर्गदूतहरूले तुरही फुक्नासाथै कसले पनि पछिबाट आफ्नो काम गर्छन्‌ र पाँचौं तुरहीको फुकाइद्वारा के घोषणा हुन्छ?

 पाँचौं स्वर्गदूतले तुरही फुक्ने तयारी गर्छन्‌। चार वटा स्वर्गीय तुरहीहरू त फुकि सकेका छन्‌। पृथ्वीको तेस्रो भाग अर्थात्‌ यहोवाको नजरमा सबैभन्दा दोषी मसीहीजगतमाथि चारवटा विपत्तिहरू पनि पठाइ सकियो। उसको मरणासन्‍न रोगी अवस्था सबैलाई प्रकट गराइएको छ। माथि स्वर्गदूतहरूले तुरही फुक्‌नासाथै, पृथ्वीमा मानव सन्देशवाहकहरूले पनि आफ्नो काम गर्छन्‌। अब पाँचौं स्वर्गदूतले तुरही फुकेर प्रथम अभिशाप घोषणा गर्नै लागेका छन्‌। यो विपत्ति पहिलेका विपत्तिहरूभन्दा धेरै नै डरलाग्दो छ। यो विपत्ति सलहहरूको भयानक आक्रमणसित सम्बन्धित छ। तर पहिले हामी केही शास्त्रपदहरू हेरौं जसले हामीलाई यो विपत्ति अझ राम्ररी बुझ्ने मदत दिनेछ।

२. यूहन्‍नाले देखेका जस्तै सलहहरूको आक्रमण बाइबलको अर्को कुन पुस्तकमा पनि वर्णन गरिएको छ र त्यसले प्राचीन इस्राएलमाथि के कस्तो असर पारेको थियो?

सा.यु.पू. नवौं शताब्दीमा लेखिएको बाइबल पुस्तक योएलमा सलहहरू लगायत अन्य कीराहरूको आक्रमण वर्णित छ। यो विपत्ति यूहन्‍नाले देखेको विपत्तिसित मिल्दोजुल्दो छ। (योएल २:१-११, २५) a उक्‍त विपत्तिले धर्मत्यागी इस्राएलीहरूलाई निकै नै पिरोल्ने थियो। तर त्यसको परिणास्वरूप केही यहूदीहरू व्यक्‍तिगत रूपमा पश्‍चात्तापी भएर फेरि यहोवाको अनुग्रहका पात्रहरू बन्‍ने थिए। (योएल २:६, १२-१४) त्यो समय आएपछि यहोवाले एकातिर “सबै [प्रकारका मानिसहरू, NW]” माथि पवित्र आत्मा खन्याउनु हुँदा “परमप्रभुको महा र भयङ्‌कर दिन”-बारे अग्रिमसूचना दिने डरलाग्दा र आश्‍चर्यमय घटनाहरू पनि घट्‌ने थिए।—योएल २:११, २८-३२.

प्रथम शताब्दीको विपत्ति

३, ४. (क) योएल दोस्रो अध्यायमा लेखिएको कुरा कहिले र कसरी पूरा भयो? (ख) सा.यु. प्रथम शताब्दीमा तांतीका तांती सलहहरूको जस्तै आक्रमण कुन अर्थमा हुन गयो र त्यो आक्रमण कहिलेसम्म चल्यो?

योएलको दोस्रो अध्यायमा लिखित कुराहरू प्रथम शताब्दीमा पूरा भएको थिए। त्यतिखेर, पेन्तिकोसको दिन सा.यु. ३३-मा पवित्र आत्मा खन्याएर मसीहीहरूलाई प्रथम पटक अभिषेक गरियो। यसले गर्दा थुप्रै भाषाहरूमा परमेश्‍वरका “महाकार्यहरूका विषयमा” कुरा गर्ने तिनीहरूले शक्‍ति पाए। परिणामस्वरूप त्यहाँ एउटा ठूलो भीड जम्मा भयो। ती चकित दर्शकहरूले योएल २:२८, २९का शब्दहरूको पूर्ति देखिरहेका छन्‌ भनी प्रेरित पत्रुसले सोही शास्त्रपदहरू उद्धृत गर्दै तिनीहरूलाई बुझाइ दिए। (प्रेरित २:१-२१) तर त्यहाँ साँच्चैका कीराहरूको आक्रमणले गर्दा मानिसहरू पीडित भएका अथवा कुनै कुनैले चाहिं पश्‍चात्ताप गरेको कुनै लेखा छैन।

के ती दिनहरूमा कुनै लाक्षणिक विपत्ति आएको थियो त? हो, अवश्‍य आएको थियो! त्यो विपत्ति भर्खरै अभिषिक्‍त मसीहीहरूको अटुट प्रचार अभियानले गर्दा आएको थियो। b यहोवाले यी अभिषिक्‍त मसीहीहरूद्वारा नै सुन्‍ने, पश्‍चात्ताप गर्ने र उहाँको आशिष थाप्ने यहूदीहरूलाई निम्त्याउनु भयो। (प्रेरित २:३८-४०; ३:१९) यो निम्तो स्वीकार्ने व्यक्‍तिहरू उहाँको ठूलो अनुग्रहका पात्र हुन सके। तर निम्तो अस्वीकार गर्नेहरूका लागि चाहिं प्रथम शताब्दीका ती मसीहीहरू सखाप पार्ने सलहहरूको धुइरोजस्तै भए। ती मसीहीहरू यरूशलेमदेखि सारा यहूदिया र सामरियासम्मै फैलिए। चाँडै तिनीहरू जताततै थिए। येशूको पुनरुत्थान र त्योसित सम्बन्धित सबै कुरा खुल्लमखुल्ला धोषणा गर्दै विश्‍वास नगर्ने यहूदीहरूलाई तिनीहरूले पिरोल्न थाले। (प्रेरित १:८; ४:१८-२०; ५:१७-२१, २८, २९, ४०-४२; १७:५, ६; २१:२७-३०) यो पिरोल्ने काम सा.यु. ७० अर्थात्‌ त्यो “भयङ्‌कर दिन”सम्मै चलिरह्‍यो जब यहोवाले यरूशलेमलाई नाश गर्न रोमी सेनाहरू पठाउनु भयो। विश्‍वाससाथ यहोवाको नाउँ पुकार्ने मसीहीहरू मात्र बाँच्न सके।—योएल २:३२; प्रेरित २:२०, २१; हितोपदेश १८:१०.

अहिले सलहरूपी विपत्ति

५. योएलको भविष्यवाणी १९१९-देखि कसरी पूरा भएको छ?

योएलको भविष्यवाणी फेरि अन्तको समयमा पूरा हुनेछ भनी हामीले आशा राखेका थियौं। र त्यो आशा पूरा भएको छ! संयुक्‍त राज्य अमेरिकाको सिडर प्वाइन्ट, ओहायोमा, १९१९, सेप्टेम्बर १-८-सम्म आयोजित बाइबल विद्यार्थीहरूको सम्मेलनमा यहोवाको आत्मा उहाँका मानिसहरूमाथि विशेष मात्रामा खन्याइयो। तिनीहरू विश्‍वव्यापी प्रचार अभियान आयोजित गर्न सक्रिय भए। स्वर्गमा येशूको राज्यारोहण भएको कुरा सबै मसीही भनौंदाहरूमध्ये यिनीहरूले मात्र स्वीकारे। साथै यो सुसमाचार घोषित गर्न तिनीहरू हर प्रयास गर्दै अघि बढे। भविष्यवाणीबमोजिम तिनीहरूले निरन्तर प्रचार गर्दा धर्मत्यागी मसीहीजगतलाई विपत्तिले पिरोलेको जस्तै भयो।—मत्ती २४:३-८, १४; प्रेरित १:८.

६. (क) पाँचौं दूतले आफ्नो तुरही फुक्दा यूहन्‍नाले के देखे? (ख) त्यस “तारा”-ले कसलाई चित्रित गर्छ र किन?

त्यो विपत्तिको वर्णन यरूशलेमको विनाशको करीब २६वर्षपछि लिखित प्रकाशको पुस्तकमा पनि गरिएको छ। यस वर्णनमा योएलको वर्णनमा नभएको कुन थप कुरा पाइन्छ? हामी यूहन्‍नाकै वृत्तान्त खोलेर पढौं: “अनि पाँचौं दूतले फुके, र स्वर्गबाट पृथ्वीमा एउटा तारा खसेको देखें, र तिनलाई अगाध खाँदको खाल्टोको साँचो दिइएको थियो।” (प्रकाश ९:१) यो “तारा” यूहन्‍नाले प्रकाश ८:१०-मा देखेको ताराभन्दा बेग्लै छ। प्रकाश ८:१०-को तारा खसिरहेको थियो। तर उनले अहिले देख्ने तारा चाहिं “खसेको” अथवा “खसिसकेको, [NW]” छ। यस तारालाई पृथ्वीमा गर्नुपर्ने खास काम पनि दिइएको छ। यो तारा कुनै आत्मा वा शारीरिक व्यक्‍ति हो कि? “अगाध खाँदको खाल्टोको साँचो” राख्ने व्यक्‍तिले नै पछिगएर शैतानलाई “अगाध खाँदमा” थुनेको वर्णन हामी पाउँछौं। (प्रकाश २०:१-३) अतः उनी कुनै शक्‍तिशाली आत्मिक व्यक्‍ति हुनुपर्छ। प्रकाश ९:११-मा यूहन्‍ना भन्छन्‌ कि “अगाध खाँदको दूत तिनीहरूका [सलहहरूका] राजा” थिए। यी दुवै पदहरूले एकै जना व्यक्‍तिलाई सङ्‌केत गरेको हुनुपर्छ। किनभने अगाध खाँदको साँचो राख्ने व्यक्‍ति नै स्वभाविकतः अगाध खाँदको दूत पनि हुनुपर्छ। अनि तारा चाहिं यहोवाद्वारा नियुक्‍त राजाकै प्रतीक हुनुपर्छ। किनभने अभिषिक्‍त मसीहीहरूले येशू ख्रीष्टलाई मात्र आफ्नो स्वर्गदूतीय राजा स्वीकारेका छन्‌।—कलस्सी १:१३; १ कोरिन्थी १५:२५.

७. (क) “अगाध खाँद” खोल्दा के हुन्छ? (ख) “अगाध खाँद”के हो र थोरै समय त्यहाँ कसले बिताए?

वृत्तान्त यसरी अघि बढ्‌छ: “औ तिनले अगाध खाँदको खाल्टो खोले, र त्यस खाल्टाबाट ठूलो अगेनाको जस्तो धुवाँ आयो, र खाल्टोको धुवाँको कारणले सूर्य र हावा अँध्यारो भयो औ धुवाँबाट पृथ्वीमा सलहहरू निस्के, र पृथ्वीमा बिच्छीहरूलाई शक्‍ति भएझैं तिनीहरूलाई पनि शक्‍ति दिइयो।” (प्रकाश ९:२, ३) शास्त्रअनुसार, “अगाध खाँद” निस्क्रियता अर्थात्‌ मरेकाहरूको ठाउँ हो। (रोमी १०:७; प्रकाश १७:८; २०:१,-तुलना गर्नुहोस्‌।) यस्तै सापेक्षिक निस्क्रियताको “अगाध खाँद”मा येशूका भाइहरूको सानो समूहले प्रथम विश्‍वयुद्धको अन्ततिर (१९१८-१९) केही समय बिताए। तर १९१९-मा यहोवाले आफ्ना पश्‍चात्तापी सेवकहरूमाथि पवित्र आत्मा खन्याउनु भयो। यसपछि तिनीहरू आफ्नोअगाडि रहेको कामको मुकाबिला गर्न अघि लम्के।

८. सलहहरू छाडिनेबित्तिकै थुप्रै धुवाँ पनि कसरी निस्कन्छ?

यूहन्‍नाको दर्शनमा सलहहरूको धुइरो निस्कँदा “ठूलो अगेनाको धुवाँ” जस्तै निकै धुवाँ आउँछ। c यो कुरा पनि १९१९-मा पूरा भयो। मसीहीजगत र आम संसारका लागि स्थिति अन्धकारमय भयो। (योएल २:३०, ३१-सित तुलना गर्नुहोस्‌।) यी सलहहरू अर्थात्‌ यूहन्‍नावर्गको छुटकारा मसीहीजगतका पादरीहरूका लागि वास्तवमा ठूलो हार थियो। किनभने यी पादरीहरूले राज्यसम्बन्धी कामलाई सधैंका लागि ठप्प बन्द गर्ने षडयन्त्र रचेका थिए र तिनीहरूले फेरि परमेश्‍वरको राज्यलाई तिरस्कार गर्दै थिए। तर अब भने सलहको बथानले ईश्‍वरीय अख्तियार पाएर जोडदार न्यायिक फैसलाहरू सुनाउनमा सो अधिकार प्रयोग गर्न थाले। धर्मत्यागी मसीहीजगतलाई धुवाँजस्तै अँध्यारो कात्रोले ढाक्न थाल्यो। मसीहीजगतको “घाम,” अथवा उसको बाहिरी प्रबुद्धतामा ग्रहण लाग्यो। साथै, “आकाशको शक्‍तिको मालिक” नै वास्तवमा मसीहीजगतको ईश्‍वर हो भन्‍ने तथ्य उदाङ्‌ग हुँदा ईश्‍वरीय न्यायिक फैसलाहरूले “हावा” ड्याम्मै भरियो।—एफिसी २:२; यूहन्‍ना १२:३१; १ यूहन्‍ना ५:१९.

ती पिरोल्ने सलहहरू!

९. सलहहरूले युद्धसम्बन्धी के निर्देशन पाए?

ती सलहहरूलाई युद्धसम्बन्धी के निर्देशन दिइयो? यूहन्‍ना भन्छन्‌: “औ पृथ्वीका घाँसहरूलाई र कुनै हरिया चीजलाई अथवा कुनै रूखलाई होइन, तर निधारमा परमेश्‍वरका छाप नलागेका मानिसहरूलाई मात्र हानि गर्नू भन्‍ने तिनीहरूलाई भनियो। औ उनीहरूलाई मारि ता नहाल्नू, तर पाँच महिनासम्म पीडा दिनू भन्‍ने तिनीहरूलाई अख्तियार दिइयो औ मानिसलाई बिच्छीले डस्ता जस्तो पीडा हुन्छ, तिनीहरूको पीडा त्यस्तै थियो। औ ती दिनमा मानिसले मृत्यु खोज्नेछन्‌, र कुनै रीतिले पाउनेछैनन्‌, तिनीहरूले मर्न इच्छा गर्नेछन्‌, तर मृत्यु तिनीहरूबाट भाग्नेछ।”—प्रकाश ९:४-६.

१०. (क) यो विपत्ति प्रथमतः कसको लागि हो र तिनीहरूमाथि यसले के असर पार्छ? (ख) कुन प्रकारको सन्ताप सम्मिलित छ? (फुटनोट पनि हेर्नुहोस्‌।)

१० यहाँ विचार गर्नुपर्ने कुरा के छ भने यो विपत्ति पहिले आम मानिसहरू अथवा तिनीहरूबीचका प्रमुख व्यक्‍तिहरू अर्थात्‌ ‘हरियोपरियो र रूखहरूमाथि’ आइ पर्दैन। (प्रकाश ८:७-सित तुलना गर्नुहोस्‌।) यी सलहहरूले ती जनहरूलाई मात्र हानि गर्नुपर्छ जसका निधारमा परमेश्‍वरका छाप लागेको छैन। अथवा मसीहीजगतका ती मानिसहरूलाई जसले आफूमा छाप छ भन्‍ने दाबी गर्छन्‌ तर तिनीहरूको गतिविधिले त्यो दाबीलाई झूट साबित गर्छ। (एफिसी १:१३, १४) अतः, यी आधुनिक दिनका सलहहरूको पीडाजनक सन्देशहरू प्रथमतः मसीहीजगतका धर्मगुरुहरूको विरुद्धमा भनिन्छ। यी अहङ्‌कारी मानिसहरूले आफ्नो बगाललाई नता स्वर्गतिर डोऱ्‍याइरहेका छन्‌ न त तिनीहरू आफै त्यहाँ पुग्नेछन्‌ भन्‍ने कुरा खुलेआम घोषित भएको सुन्दा, तिनीहरू कति पीडित भए होलान्‌! d साँच्चै नै, यो त ‘अन्धाले अन्धालाई डोऱ्‍याएको’ जस्तो मात्र हो!—मत्ती १५:१४.

११. (क) परमेश्‍वरका शत्रुहरूलाई कति समयसम्म पिरोल्ने अधिकार सलहहरूलाई दिइएको छ र यसलाई किन अल्प समय भन्‍न मिल्दैन? (ख) सन्ताप कतिको कडा छ?

११ पीडा पाँच महिनासम्म रहन्छ। के यो समयावधि आपेक्षाकृत ज्यादै छोटो हो र? होइन। सलहको दृष्टिकोणबाट पटक्कै होइन। सलहको आयु नै जम्माजम्मी पाँच महिना मात्र हुन्छ। अतः, यी आधुनिक सलहहरू बाँचुञ्जेल तिनीहरूले परमेश्‍वरका शत्रुहरूलाई चिलिरहन्छन्‌। यति जोडसित चिल्छन्‌ कि मानिसहरू बरु मर्न रुचाउँछन्‌। हुनत सलहहरूले चिलेको कोही पनि मानिस मर्न खोजेको समाचार हामीले अझसम्म सुनेका छैनौं। तापनि, यो अभिव्यक्‍तिले हामीलाई त्यो पीडाको अड्‌कल गर्ने मदत दिन्छ। त्यो एउटा यस्तो वेदना हो जुन बिच्छीहरूले निरन्तर टोकेको टोकेकै गर्दा अनुभव गर्न सकिन्छ। एउटा यस्तो दुःख जो यर्मियाको अगमवाणीअनुसार बेबिलोनी विजेताहरूद्वारा तितर-बितर हुने अविश्‍वासी इस्राएलीहरूले अनुभव गर्ने थिए। दुःख खप्नु नसकेर तिनीहरू बरु मर्न रुचाउने थिए।—यर्मिया ८:३; उपदेशक ४:२, ३-पनि हेर्नुहोस्‌.

१२. मसीहीजगतका धर्मगुरुहरूलाई आत्मिक तवरमा पिरोल्ने तर मार्न चाहिं नपाउने अधिकार ती सलहहरूलाई किन दिइन्छ?

१२ यस्ता जनहरूलाई मार्न चाँहि नमार्ने तर आत्मिक तवरमा पिरोल्ने मात्र अनुमति किन दिइयो? मसीहीजगतका झूट र त्रुटिहरूको पर्दाफास गर्ने यो सुरुको अभिशाप हो। तर पछि गएर प्रभुको दिन अघि बढ्‌दै जाँदा उसको मरणासन्‍न स्थिति सम्पूर्णतः जाहेर गराइनेछ। दोस्रो अभिशापको दौडान एक तिहाइ मानिसहरू मारिनेछन्‌।—प्रकाश १:१०; ९:१२, १८; ११:१४.

युद्धका लागि सुसज्जित सलहहरू

१३. ती सलहहरूको रूप कस्तो छ?

१३ हेर्नमा ती सलहहरू कति अनौठा छन्‌! तिनीहरूको वर्णन यूहन्‍ना यसप्रकार गर्छन्‌: “औ ती सलहहरूका आकार लडाइँलाई तयार गरिराखेका घोडाहरूकै जस्ता थिए, तिनीहरूका शिरमा सुनकै जस्ता मुकुटहरू थिए, र तिनीहरूका अनुहारचाहिं मानिसका अनुहारजस्तै थिए। तिनीहरूका केश स्त्रीका केशजस्तै थिए, र तिनीहरूका दाँत सिंहहरूका दाँत जस्ता थिए। औ तिनीहरूका छातीका कवच फलामका कवचहरूजस्तै थिए र तिनीहरूका पखेटाका आवाज लडाइँमा दगुर्ने धेरै घोडाहरू लागेका रथका आवाजजस्तै थियो।”—प्रकाश ९:७-९.

१४. यूहन्‍नाले गरेको सलहहरूको वर्णन, १९१९-मा पुनःजागृत मसीहीहरूको समूहसित किन मिल्यो?

१४ यो वर्णन १९१९-का पुनःजागृत मसीहीहरूको वफादार समूहको एउटा उपयुक्‍त चित्रण हो। घोडाहरूझैं तिनीहरू युद्धका लागि तम्तयार थिए। प्रेरित पावलद्वारा वर्णित ढङ्‌गमा सच्चाइका लागि लड्‌न तिनीहरू उत्सुक थिए। (एफिसी ६:११-१३; २ कोरिन्थी १०:४) तिनीहरूको शिरमा सुनका मुकुटहरू जस्तै केही कुरा यूहन्‍ना देख्छन्‌। तिनीहरूले शिरमा मुकुट पहिरिसकेका चाहिं छैनन्‌। किनकि तिनीहरू पृथ्वीमा छँदै शासन गर्न थाल्दैनन्‌। (१ कोरिन्थी ४:८; प्रकाश २०:४) तथापि, १९१९-मा तिनीहरूको शाही आभास चाहिं थियो। तिनीहरू राजाका भाइहरू थिए। तिनीहरू अन्तसम्मै विश्‍वासी रहेमा तिनीहरूका लागि स्वर्गीय मुकुटहरू साँचेर राखिएको थियो।—२ तिमोथी ४:८; १ पत्रुस ५:४.

१५. सलहहरूका (क) छातीको फलामे कवच, (ख) मानिसहरूको जस्तो अनुहार, (ग) स्त्रीको जस्तै केश, (घ) सिंहहरूको जस्तै दाँत र (ङ) थुप्रै रथको आवाजले के लाई चित्रित गर्छन्‌?

१५ दर्शनमा सलहहरूले छातीमा फलामको कवच लाएका छन्‌। यसले तिनीहरूको अटुट धार्मिकतालाई बोध गराउँछ। (एफिसी ६:१४-१८) तिनीहरूको अनुहार पनि मान्छेको जस्तै छ। यसले चाहिं प्रेमलाई चित्रित गर्छ किनभने मानिस परमेश्‍वरको स्वरूपमा बनिएको थियो र परमेश्‍वर प्रेम हुनुहुन्छ। (उत्पत्ति १:२६; १ यूहन्‍ना ४:१६) तिनीहरूको केश स्त्रीको जस्तै लामो छ। यसले अगाध खाँदको दूत अर्थात्‌ तिनीहरूको राजाप्रति आफ्नो अधीनतालाई सङ्‌केत गर्छ। तिनीहरूको दाँत सिंहको जस्तै छ। सिंहले आफ्नो दाँत मासुलाई धुजाधुजा पार्न प्रयोग गर्छ। सन्‌ १९१९-देखि यूहन्‍नावर्गले फेरि खँदिलो आत्मिक आहार खान सकेको छ। खासगरी “त्यो सिंह, यहूदाका कूलका दाऊदको मूल” येशू ख्रीष्ट अधीनस्थ ईश्‍वरीय राज्यबारे। जसरी सिंह साहसको प्रतीक हो, त्यसरी नै यो कडा सन्देश पचाउन, यसलाई प्रकाशनहरूमा प्रस्तुत गर्न र विश्‍वभरि त्यसको वितरण गर्न साहस अति आवश्‍यक भएको छ। ती प्रतीकात्मक सलहहरूले मानौं “धेरै घोडाहरू लागेको रथ” जस्तै ठूलो हल्ला मच्चाइरहेका छन्‌। हो, प्रथम शताब्दीका मसीहीहरूको उदाहरण अनुकरण गर्दै यी सलहहरूको पनि चुप बस्ने विचार छैन।—१ कोरिन्थी ११:७-१५; प्रकाश ५:५.

१६. सलहहरूको “पुच्छर र खील बिच्छीका जस्तै” हुनुको तात्पर्य के हो?

१६ तर यसरी प्रचार गर्नुको अर्थ बोल्नु मात्र होइन! “औ तिनीहरूको पुच्छर र खील बिच्छीका जस्तै थिए, औ तिनीहरूका पुच्छरमा पाँच महीनासम्म मानिसलाई नोक्सानी गर्ने शक्‍ति थियो।” (प्रकाश ९:१०) यसको अर्थ के हुन सक्छ? राज्यको प्रचार गर्दै जाँदा यहोवाका साक्षीहरूले परमेश्‍वरको वचनमा आधारित आधिकारिक वचनहरू मौखिक रूपमा र प्रकाशनहरूद्वारा सुनाउँछन्‌। तिनीहरूले सुनाउने सन्देशमा बिच्छीको जस्तै खील पनि हुन्छ किनभने तिनीहरूले यहोवाको आउँदो बदलाको दिनबारे चेताउनी दिन्छन्‌। (यशैया ६१:२) आध्यात्मिक सलहहरूको वर्तमान पुस्ताको जीवनकाल सिद्धिनेअघि नै यहोवाका न्यायिक फैसलाहरू घोषणा गर्ने र सबै अटेर ईश्‍वर निन्दकहरूलाई चोट पुऱ्‍याउने यिनको ईश्‍वरप्रदत कार्य पूरा हुनेछ।

१७. (क) सन्‌ १९१९-मा आयोजित बाइबल स्टुडेन्ट्‌सहरूको सम्मेलनमा कुन कुरा घोषणा गरियो जसले गर्दा अब तिनीहरूको साक्षीकार्यद्वारा मानिसहरूलाई अझ जोडसित चिल्ने भयो? (ख) पादरीवर्ग कसरी पिरोलिएका छन्‌ र तिनीहरूले के प्रतिक्रिया व्यक्‍त गरेका छन्‌?

१७ सन्‌ १९१९-मा आयोजित सम्मेलनमा द गोल्डन एज भन्‍ने पत्रिकाको विमोचन हुँदा सलहहरूको यो ताँती हर्षले गद्‌गद भए। साक्षी दिंदा अझ जोडसित चिल्ने उद्देश्‍यले यो पत्रिका पन्ध्र पन्ध्र दिनमा प्रकाशित हुन्थ्यो। e उदाहरणका लागि, संयुक्‍त राज्य अमेरिकामा बाइबल विद्यार्थीहरूलाई १९१८-१९१९-को समयावधिभित्र सताउने पादरीहरूको कपट सेप्टेम्बर २९, १९२०-मा प्रकाशित द गोल्डेन एज-को २७-औं अङ्‌कद्वारा उदाङ्‌ग पारियो। सन्‌ १९२० र १९३०-को दशकभरि द गोल्डेन एज-ले अझ चिल्ने खालका लेखहरू र कार्टुनहरूद्वारा पादरीहरूलाई पिरोली नै रह्‍यो। राजनीतिमा तिनीहरूको धूर्ततापूर्ण सहभागिता र विशेषगरी क्याथोलिक धर्मगुरुहरूले फासिज्म र नाजी तानाशाहहरूसित गरेका सन्धिहरूको पर्दाफास गरियो। यसको प्रत्युत्तरमा पादरीहरूले चाहिं ‘कानुनको सहारा लिंदै उपद्रव’ मच्चाए र परमेश्‍वरका जनहरूको विरुद्धमा हिंसात्मक हुलहरूलाई उचाले।—भजन ९४:२०, किङ्‌ जेम्स भर्सन।

विश्‍वका नेताहरूलाई चेताउनी

१८. सलहहरूले के काम गर्न परेको थियो र पाँचौं तुरहीको आवाजको प्रतिक्रियामा के विशेष घटना घट्यो?

१८ आधुनिक समयका सलहहरूले एउटा काम गर्नु परेको थियो। परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गरिनु थियो। झूटहरूको पर्दाफास हुनु थियो। हराएका भेडाहरूलाई खोजेर जम्मा गर्नु थियो। सलहहरूले यी सारा कामहरू गर्न थाल्दा संसार जिल्ल परेर हेरिरहन बाध्य पऱ्‍यो। यूहन्‍नावर्गले चाहिं स्वर्गदूतहरूको आज्ञाअनुसार मसीहीजगत यहोवाको प्रतिकूल इन्साफको योग्य छ भन्‍ने तथ्यको पर्दाफास गर्न छाडेको छैन। पाँचौं तुरहीको प्रत्युत्तरमा, यी प्रतिकूल फैसलाहरूको एउटा खास पक्षलाई मे २५-३१, १९२६-मा, बाइबल स्टुडेन्ट्‌सको लण्डन, इङ्‌गलैण्डमा आयोजित सम्मेलनमा विशेष जोड दिइयो। “विश्‍वका शासकहरूका लागि गवाही” भन्‍ने प्रस्तावका साथै “विश्‍वशक्‍तिहरू किन डगमगाइरहेछन्‌ र यसको उपाय” भन्‍ने आम-भाषण रोयल एल्बर्ट हलमा प्रस्तुत गरियो। भोलिपल्टै लण्डनको एउटा सुप्रसिद्ध अखबारमा यी दुवै प्रस्तावहरू अक्षरशः छापिए। यसपछि, यी सलहहरूको बथानले सोही प्रस्तावको ५ करोड प्रति पर्चाको रूपमा विश्‍वभरि वितरण गरे। पादरीहरूका लागि कति ठूलो सन्ताप! वर्षौंपछि पनि बेलायतका मानिसहरूले यो आच्छु-आच्छु पार्ने पर्दाफासहरूबारे कुरा गर्ने गर्थे।

१९. प्रतीकात्मक सलहहरूले युद्धका लागि अझ के शस्त्र पाए र त्यसमा लन्डन म्यानिफेस्टोबारे के भनिएको थियो?

१९ यस सम्मेलनमा, यी सलहहरूले डेलिवरेन्स [छुटकारा] नामक एउटा नयाँ पुस्तक युद्धका लागि अझ शस्त्रको रूपमा पाए। यस पुस्तकमा अन्य कुराबाहेक ख्रीष्टको स्वर्गीय राज्य अर्थात्‌ त्यो ‘बालक सरकारले’ १९१४-मा जन्म लियो भन्‍ने प्रमाण तथा चिह्नको शास्त्रीय छलफल प्रस्तुत गरिएको थियो। (मत्ती २४:३-१४; प्रकाश १२:१-१०) यसपछि सोही पुस्तकले लण्डनमा १९१७-मा प्रकाशित र “संसारका सबैभन्दा महान प्रचारकहरू”मध्ये गनिने आठ जना पादरीहरूको हस्ताक्षर भएको वक्‍तव्यलाई उद्धृत गऱ्‍यो। ती आठ पादरीहरूले प्रोटेस्टेन्ट चर्चका मुख्य सम्प्रदायहरू अर्थात्‌ बेप्टिस्ट, कंग्रिगेश्‍नल, प्रेस्बीटेरियन, एपिस्कोपेल्यन र मेथोडिस्ट समूहहरूको प्रतिनिधित्व गर्दथिए। “वर्तमान सङ्‌कटले अन्यजातिहरूको समयको अन्तलाई सूचित गराउँछ” र “अब कुनै पनि समयमा प्रभुको प्रकाश हुन सक्छ” भनी उक्‍त वक्‍तव्यमा घोषणा गरिएको थियो। हो, ती पादरीहरूले येशूको उपस्थितिको चिह्नलाई बुझ्न त बुझेका रहेछन्‌! तर यसबारे के तिनीहरूले केही गर्न चाहे? डेलिवरेन्स [छुटकारा] नामक पुस्तक भन्छ: “सबैभन्दा छक्कपर्दो कुरा त यो हो कि जुन मानिसहरूले त्यो वक्‍तव्यमा हस्ताक्षर गरेका थिए, त्यही मानिसहरूले हामी संसारको अन्तमा र प्रभुको दोस्रो उपस्थितिको समयावधिमा छौं भन्‍ने प्रमाणलाई स्वीकार गर्न पछि इन्कार गरे।”

२०. (क) पादरीवर्गले सलहहरूको पल्टन र तिनीहरूको राजासम्बन्धी के फैसला गरेका छन्‌? (ख) यूहन्‍नाको भनाइअनुसार सलहहरूको पल्टनको अगुवा को हुन्‌ र उनको नाउँ के हो?

२० परमेश्‍वरको आउने राज्य घोषित गर्नुको सट्टा मसीहीजगतका पादरीहरूले शैतानकै संसारलाई साथ दिन रुचाएका छन्‌। तिनीहरू सलहहरूको ताँती र तिनीहरूका राजासित सहभागी हुन चाहँदैनन्‌। सलहहरूका राजाबारे यूहन्‍ना अब यसो भन्छन्‌: “अगाध खाँदको दूत तिनीहरूमाथि तिनीहरूका राजाजस्तै थिए। हिब्रू भाषामा त्यसको नाउँ एबाड्डोन, [जसको अर्थ हो “विनाश”] र ग्रीक भाषामा त्यसको नाउँ अपोल्लियोन [जसको अर्थ हो “विनाशकर्ता”] हो।” (प्रकाश ९:११) “अगाध खाँदको दूत” र “विनाशकर्ता”-को हैसियतमा येशूले मसीहीजगतलाई साँच्चै नै पिरोल्ने अभिशाप पठाउनु भएको थियो। तर कति कुराहरू अझ हुन बाँकी नै छ!

[फुटनोटहरू]

a योएल २:४, ५,-लाई (जहाँ कीराहरूलाई घोडाहरू र मानिसहरूको रूपमा वर्णन गरिएको छ र जसले रथहरूको जस्तै आवाज निकाल्छन्‌) प्रकाश ९:७-९-सित तुलना गर्नुहोस्‌; साथै योएल २:६, १०-लाई (जहाँ यी कीराहरूको आक्रमणको पीडादायी परिणामको वर्णन गरिएको छ) पनि प्रकाश ९:२,-सित तुलना गर्नुहोस्‌।

b कृपया डिसेम्बर १, १९६१-को द वाचटावर-मा प्रकाशित “युनाइटेड अगेन्स्ट नेशन्स इन द भ्याली अफ डिशिजन” [निर्णयको उपत्यकामा राष्ट्रहरूको विरुद्धमा एकत्रित] भन्‍ने लेख हेर्नुहोस्‌।

c याद राख्नुहोस्‌, अगाध खाँदमा आगो थियो अथवा त्यो एक प्रकारको नरक थियो भनेर प्रमाणित गर्न यो शास्त्रपदको प्रयोग गर्न मिल्दैन। यूहन्‍नाको भनाइअनुसार उनले देखेको धुवाँ ठूलो भट्टीको धुवाँ “जस्तै” मात्र थियो। (प्रकाश ९:२) अगाध खाँदमा साँच्चै नै ह्वारह्वारती आगो बलेको कुरा उनी गर्दैनन्‌।

d यहाँ प्रयोग गरिएको युनानी शब्द मूल शब्द ब्या-स्या-नाइ-जो बाट आएको हो। यसलाई कहिलेकाहीं शाब्दिक सन्ताप बोध गराउन प्रयोग गरिन्छ। तथापि, यस शब्दलाई मानसिक सन्ताप चित्रण गर्न पनि प्रयोग गर्न सकिन्छ। उदाहरणका लागि, २ पत्रुस २:८-मा हामी पढ्‌छौं कि सदोममा भएको खराब कामकुरा देखेर लूतको “सच्चा मन दिनहुँ दुःखित [पीडित, NW]” हुन्थ्यो। प्रेरितहरूको समयसालका धर्म-गुरुहरूले पनि चाहे बेग्लै कारणले गर्दा किन नहोस्‌, मानसिक पीडा अनुभव चाहिं गरेका थिए।

e यो पत्रिकालाई १९३७-मा कन्सोलेशन नाउँ दिइयो र १९४६-देखि चाहिं यसलाई अवेक! भनिन्छ।

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ -मा भएको चित्र]

पाँचौं तुरहीको आवाजपछि तीनवटा अभिशापहरूमध्ये प्रथम अभिशाप प्रस्तुत हुन्छ

[पृष्ठ -मा भएको चित्र]

तिम्रा काँडाहरू तीखा तीखा छन्‌, राजाका शत्रुहरूका बीचमा ती हुनेछन्‌। (भजन ४५:५) यो उपशीर्षकसाथ प्रस्तुत माथिको कार्टुनजस्तै थुप्रै कार्टुनहरू १९३०-को दशकमा प्रकाशित गरियो र यिनले “परमेश्‍वरका छाप नलागेका मानिसहरूलाई” एकदम चिल्यो।

[पृष्ठ -मा भएको चित्र]

द रोयल एल्बर्ट हल, जहाँ डेलिवरेन्स [छुटकारा] नामक पुस्तकको विमोचन गर्नाका साथै “संसारका शासकहरूका लागि गवाही” भन्‍ने प्रस्तावना पनि पारित गरियो