सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

प्रभुको दिनमा भैंचालोहरू

प्रभुको दिनमा भैंचालोहरू

अध्याय १८

प्रभुको दिनमा भैंचालोहरू

१, २. (क) ठूलो भैंचालोबाट बाँच्नु कस्तो अनुभव हो? (ख) छैटौं छाप खुल्दा यूहन्‍ना के वर्णन गर्छन्‌?

 के तपाईंले कहिल्यै कुनै जोडदार भैंचालोको अनुभव गर्नु भएको छ? यो निश्‍चय कुनै रमाइलो अनुभव हुँदैन। ठूलो भैंचालो आउँदा पहिले त रिंगटै लाग्ने गरी भैं हल्लिन सक्छ। गुडुंगडुंगडुंग आवाज पनि सुन्‍न सकिन्छ। तपाईं आफ्नो बचाउका लागि सम्भवतः कुनै टेबलमनि लुक्न खोज्नु होला। यसैबीच भैं झन्‌-झन्‌ हल्लिँदै जान्छ। तर कहिले चाहिं एक्कासी जोडसित एउटै झडको आउँछ। तुरुन्तै भाँडाकुडा, फर्निचर र घरहरू घर्ल्यामघुर्लुम कानै खानेगरी खस्छन्‌। नोक्सान बयान गरी नसक्ने हुन्छ। कहिले त यो प्रथम ध्वंसात्मक झडकोपछि पनि अन्य थतर्कोहरू अझ पीडा र बरबादी फैलाउँदै आउँछन्‌।

यसै कुरालाई ध्यानमा राखेर अब छैटौं छाप खोल्दा यूहन्‍नाले गरेको वर्णनमाथि विचार गर्नुहोस्‌: “जब उहाँले छैटौं छाप खोल्नुभयो तब मैले हेरें, र त्यहाँ ठूलो भूकम्प भयो।” (प्रकाश ६:१२क) यो घटना निश्‍चय पनि त्यही समयावधिभित्र घट्‌ने होला जसको दौडान अरू छापहरू पनि खोलिन्छन्‌। तर यो भैंचालो प्रभुको दिनमा ठीक कहिले हुने हो र यो वास्तवमा कस्तो खालको भूकम्प हो?—प्रकाश १:१०.

३. (क) आफ्नो उपस्थितिसम्बन्धी भविष्यवाणी गर्नु हुँदा येशूले कुन कुन घटनाहरूबारे भविष्यवाणी गर्नुभयो? (ख) प्राकृतिक भैंचालोहरू र प्रकाश ६:१२-को ठूलो लाक्षणिक भैंचालोबीच के सम्बन्ध छ?

बाइबलमा वास्तविक र लाक्षणिक भूकम्पहरूको चर्चा निकै पटक गरिएको छ। आफ्नो राजकीय शक्‍तिसहितको उपस्थितिसम्बन्धी चिह्न दिनु हुँदा येशूले “ठाउँ-ठाउँमा भैंचालो जानेछ” भनेर अग्रिमवाणी गर्नु भयो। यी भैंचालोहरू “कष्टका शुरू”-को एउटा भाग हुने थिए। सन्‌ १९१४-देखि, खासगरी पृथ्वीको जन सङ्‌ख्या बढेर लाखौं लाख पुगेको बेलामा प्राकृतिक भूकम्पहरूले हाम्रो पीडाग्रस्त समयलाई अझ पिरोलिरहेको छ। (मत्ती २४:३, ७, ८) तथापि, यिनीहरूले भविष्यवाणी पूरा गरे तापनि तिनीहरू आखिर प्राकृतिक प्रकोपहरू मात्र हुन्‌। यिनीहरू प्रकाश ६:१२-मा चर्चित ठूलो लाक्षणिक भैंचालोभन्दा पहिले नै हुन्छन्‌। तर प्रकाश ६:१२-को भूकम्प चाहिं शैतानको मानवीय पार्थिव रीतिरिवाजलाई जगैदेखि थर्काउने अनेक थतर्कोपछि आउने ध्वंसात्मक र आखिरी प्रकम्प हुनेछ। a

मानव समाजमा भूकम्पहरू

४. (क) सन्‌ १९१४-देखि ध्वंसात्मक घटनाहरू सुरु हुनेछन्‌ भन्‍ने प्रतीक्षामा यहोवाका जनहरू कहिलेदेखि थिए? (ख) सन्‌ १९१४-मा कुन समयावधि समाप्त हुने थियो?

स्‌न्‌ १९१४-देखि अन्यजातिहरूको समयको समापनलाई चिह्नित गराउने ध्वंसात्मक घटनाहरू घटनेछन्‌ भनेर यहोवाका साक्षीहरूले १८७०-को दशकदेखि नै प्रतीक्षा गर्दै आएका थिए। अन्यजातिहरूको यो समय “सात काल” (२,५२० वर्ष) पनी भनिन्छ। सोही “सात काल” सा.यु.पू. ६०७-अर्थात्‌ यरूशलेममा दाऊदको राज्य उजाड भएको समयदेखि सा.यु. १९१४-मा स्वर्गीय यरूशलेममा येशूको राज्यरोहण हुने बेलासम्मै कायम रह्‍यो।—दानिएल ४:२४, २५; लूका २१:२४, किङ्‌ग जेम्स भर्सन. b

५. (क) सी. टी. रसलले अक्टोबर २, १९१४-मा के घोषणा गरे? (ख) सन्‌ १९१४-देखि के कस्ता राजनैतिक उथलपुथलहरू भएका छन्‌?

अक्टोबर २, १९१४-को दिन, ब्रुकलिन न्यु योर्कको बेथेल परिवारले भाग लिने बिहानको उपासनाका लागि सी. टी. रसल आउँदा उनले यो सनसनीपूर्ण घोषणा गरे: “अन्यजातिहरूको समय समाप्त भएको छ; तिनीहरूका राजाहरूको म्याद सिद्धियो।” नभन्दै, १९१४-मा सुरु भएको त्यो विश्‍वव्यापी उथलपुथलले यति गहिरो प्रभाव पाऱ्‍यो कि धेरै समयदेखि चलिआएका थुप्रै राजसत्ताहरू लोप भए। सन्‌ १९१७-को बोल्शेविक क्रान्तिद्वारा जारसत्ता परास्त भएपछि मार्क्सबाद र पूँजीबाद बीच लामो समयसम्म सङ्‌घर्ष भइरह्‍यो। राजनैतिक परिवर्तनका प्रकम्पहरूले विश्‍वभरि मानवसमाजमा उथलपुथल मच्चाउन छाडेको छैन। आज अधिकांश सरकारहरू एक दुई सालभन्दा बढी टिक्दै टिक्दैनन्‌। यस्तो राजनैतिक अस्थिरताको एउटा उदाहरण इटाली हो। यस देशमा दोस्रो युद्धपश्‍चात्‌का ४२ सालहरूमै ४७ नयाँ सरकारहरू खडा भए। तापनि यी परिवर्तनहरू त सुरुसुरुमा हुने साना थतर्कोहरू मात्र हुन्‌। सबैभन्दा ठूलो र अन्तिम सरकारी उथलपुथल त आउन बाँकी नै छ। र त्यसपछि के हुने हो? सारा पृथ्वीमाथि परमेश्‍वरको राज्यले शासन चलाउनेछ।—यशैया ९:६, ७.

६. (क) यो नयाँ र घटनायुक्‍त युगको वर्णन एच. जी. वेल्सले कसरी गरे? (ख) सन्‌ १९१४-देखिको युगबारे एक जना दार्शनिक र राजनीतिज्ञले के लेखे?

इतिहासकारहरू, दार्शनिक र राजनैतिक नेताहरूले सन्‌ १९१४-लाई एउटा नयाँ र घटनायुक्‍त युगको सुरुआत मानेका छन्‌। उक्‍त युग सुरु भएको १७ वर्षपछि इतिहासकार एच. जी. वेल्सले यो टिप्पणी गरे: “अगमवक्‍तालाई राम्रा राम्रा कुराहरूबारे अगमवाणी गर्न निश्‍चय मनपर्छ। तर केवल देखेका कुरा भन्‍न उनी बाध्य छन्‌। र उनले भने सिपाहीहरू, राष्ट्रवादीहरू, सुदखोरहरू र आर्थिक ठगहरूले भरिएको संसार देख्छन्‌; एउटा यस्तो संसार जो शङ्‌का उपशङ्‌का र घृणाको वशमा छ; जहाँ बचेखुचेको व्यक्‍तिगत स्वाधीनता पनि चाँडचाँडो लोप भइरहेछ। एउटा यस्तो संसार जो वर्ग सङ्‌घर्षतर्फ भौतारिंदै अझ अन्य युद्धहरूका लागि तयार हुँदैछ।” सन्‌ १९५३-मा दार्शनिक बर्टरेन्ड रसलले यसो भने: “संसारको गतिविधिबारे हरेक चेतनशील व्यक्‍ति १९१४-देखि धेरै नै चिन्तित छन्‌। उनीहरू संसारलाई भाग्यले अझ ठूलो बरबादीतिर जबरजस्ती तान्दै लगेको देख्छन्‌। . . . उनीहरूको नजरमा मानव समाज युनानी वियोगान्त नाटकको अभिनेता जस्तै छ जसलाई क्रोधित देवताहरूले हुत्याउँदै लगिरहेछ र जसको भाग्य अब आफ्नो वशमा छैन।” राजनीतिज्ञ हेरल्ड मेकमिलनले २० औं शताब्दीको शान्त सुरुआतबारे १९८०-मा यसो भने: “मैले त्यसप्रकारको संसारमा जन्म लिएँ जहाँ सबै कुरा झन्‌ झन्‌ राम्रो हुँदै गइरहेको थियो। . . . तर अचानक १९१४-को एउटा बिहान जम्मै चूरचूर भयो।”

७-९. (क) मानव समाजलाई १९१४-देखि के कस्ता उथलपुथलहरूले हल्लाएको छ? (ख) येशूको उपस्थितिको दौडान मानव समाजमा हुने उथलपुथलहरूमा अन्ततः कस्ता अवस्थाहरू पनि सम्मिलित हुनेछ?

दोस्रो विश्‍वयुद्धका साथै उथलपुथलको अझ अर्को बाढी चल्यो। पृथ्वीलाई स-सानो युद्धहरू र संसारभरि फैलिएको आतंकवादले हल्लाइ नै रहेछ। आतंकवाद वा आमविनाशकारी हतियार भएका राष्ट्रहरूले ती प्रयोग गर्लान्‌ भन्‍ने खतराले गर्दा धेरै जना यसबारे सन्दिग्ध छन्‌।

तापनि मानव समाजको जगलाई १९१४-देखि युद्धहरूले मात्र हल्लाएको छैन। एउटा अति नै ठूलो खलबली त अक्टोबर २९, १९२९-मा संयुक्‍त राज्य अमेरिकाको सट्टा बजारको ह्रास थियो। यसपछि महामन्दी सुरु भयो जसको असर सारा पूँजीवादी देशहरूमाथि पऱ्‍यो। त्यो महामन्दी १९३२ र १९३४-बीच मच्चेको भए तापनि त्यसको प्रभाव हामी आजसम्मै महसुस गर्दछौं। आर्थिक तवरमा सोतर परेको संसारलाई १९२९-देखि कामचलाउ योजनाहरूले टालटुल गर्दै आएको छ। सरकारहरू न्यून वित्तभरण गर्छन्‌। सन्‌ १९७३-मा मच्चिएको तेल सङ्‌कट र १९८७-को सट्टा बजारको ह्रासले आर्थिक साम्राज्यलाई अझ हल्लाए। यसैबीच लाखौं मानिसहरूले धेरैजसो ऋण लिंदै खरीद गर्छन्‌। अरू कति चाहिं आर्थिक चटक, स्तुपीकरण, चिट्ठा र जुवाको अनेक रूपको सिकार भएका छन्‌। यस्ता कतिपय योजनाहरूलाई सरकारले नै बढावा दिइरहेको हुन्छ जबकि सरकारको काम मानिसहरूलाई यस्ता योजनाहरूबाट बचाउनु हो। मसीहीजगतका टेलिभिजन प्रचारकहरूले पनि करोडौं डलरको आफ्नो भाग थाप्न हात पसार्छन्‌!—यर्मिया ५:२६-३१-सित तुलना गर्नुहोस्‌।

केही समयअघिका आर्थिक सङ्‌कटहरूले गर्दा मुसोलिनी र हिटलर जस्ता मानिसहरूले शक्‍ति ओगट्‌ने मौका पाए। र यस्ता व्यक्‍तिहरूलाई रिझाउन महान बेबिलोन पनि अग्रसर भइहाल्यो। उदाहरणका लागि, भेटिकनले इटालीसित १९२९-मा र जर्मनीसित १९३३-मा सम्झौता गऱ्‍यो। (प्रकाश १७:५) यसपछिका अन्धकारमय दिनहरू येशूले आफ्नो उपस्थितिबारे दिनु भएको भविष्यवाणीको निश्‍चय एउटा पूर्ति थियो। “मानिसहरूमा सङ्‌कष्ट हुने, संसारमा हुने घटनाहरूको डर र आशाले मानिसहरू मूर्च्छा पर्ने, [र] आकाशमा शक्‍तिहरू डग्मगाउने” सबै अन्ततः उहाँको उपस्थितिसम्बन्धी भविष्यवाणीको एउटा भाग हुनेछ भनी येशूले भविष्यवाणी गर्नु भएको थियो। (लूका २१:७-९, २५-३१) c हो, १९१४ देखि मानव समाजलाई हल्लाउने कम्पहरू बन्द भएका छैनन्‌। बरु झन झन जोरदार प्रकम्पहरू एकपछि अर्को भइ नै रहेका छन्‌।

यहोवाले पनि हल्लाउनु हुन्छ

१०. (क) मानव गतिविधिहरूमा यतिका थुप्रै प्रकम्पहरू किन छन्‌? (ख) यहोवाले के गर्नु हुँदैछ र कुन कुराको तयारीमा?

१० मानिसले आफ्नो कदम ठीकसित चाल्न नसकेर नै मानव समाजमा यस्ता खैलाबैला मच्चेका हुन्‌। (यर्मिया १०:२३) यसबाहेक, “सारा संसारलाई ठग्ने” त्यो पुरानो सर्प अर्थात्‌ शैतानले नानाप्रकारका विपत्तिहरू थोपरिरहेको छ। त्यसले सारा मानव परिवारलाई यहोवाको उपासनाबाट टाढा लैजान आफ्नो भएभरको बल लगाएर आखिरी कोशिश गर्दैछ। आधुनिक प्रविधिले पृथ्वीलाई एउटै छिमेकमा परिणत गराइदिएको छ। जसले गर्दा राष्ट्रियता र जातीय घृणाले मानव समाजलाई तल जगैदेखि हल्लाउँदैछ। यसका लागि तथाकथित संयुक्‍त राष्ट्र सँघले पनि कुनै उपाय फेला पार्न सकेको छैन। मानिसले मानिसमाथि पहिलेभन्दा बढी हानी हुने गरी शासन चलाइरहेछ। (प्रकाश १२:९, १२; उपदेशक ८:९) तथापि, स्वर्ग र पृथ्वीका सृजनहार, सार्वभौम सत्ताधारी यहोवा परमेश्‍वरले पृथ्वीका समस्याहरू एकै पटक सदाका लागि हल गर्नुभन्दा अघि, झन्डै ९० वर्षदेखि आफ्नै प्रकारले हल्लाउने काम गर्नु हुँदैछ। कसरी?

११. (क) हाग्गै २:७-मा कुन प्रकारको हल्लाउने कार्य वर्णन गरिएको छ? (ख) हाग्गैको भविष्यवाणी कसरी पूरा भइरहेछ?

११ हाग्गै २:६, ७ यसो भन्छ: “सेनाहरूको परमप्रभु भन्‍नुहुन्छ, ‘अब थोरै बेर बाँकी छ, र म फेरि आकाश, पृथ्वी, समुद्र र जमीन सबैलाई हल्लाउनेछु। औ सबै जातिहरूलाई हल्लाउनेछु, र सबै जाति जातिका धन-सम्पत्तिहरू आउनेछ, र म यस भवनलाई महिमाले परिपूर्ण पारिदिनेछु भनी सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ।’ ” खासगरी १९१९-देखि यहोवाले आफ्ना साक्षीहरूद्वारा पृथ्वीमा मानव समाजको हर तत्त्वलाई आफ्ना न्यायिक फैसलाहरू सुनाउनु भएको छ। यस विश्‍वव्यापी चेताउनीले शैतानको सारा रीतिथितिलाई सतर्क गराएको छ। d यो चेताउनी जति जति चर्को हुँदै जान्छ, ईश्‍वरभीरु मानिसहरू अथवा “जाति जातिका धन-सम्पत्तिहरू”-ले आफूलाई जाति जातिबाट अलग्ग पार्ने प्रेरणा पाएका छन्‌। तिनीहरू शैतानको सङ्‌गठनमा मच्चेको उथलपुथलको कारण बाहिर फालिएका होइनन्‌। बरु, तिनीहरूले स्वयं परिस्थिति बुझेर अभिषिक्‍त यूहन्‍नावर्गसित मिलेर यहोवाको उपासनाको भवनलाई महिमाले भरिदिने काममा भाग लिने फैसला गरेका हुन्‌। तर यो काम आज कसरी भइरहेछ? परमेश्‍वरको स्थापित राज्यको सुसमाचारको जोशपूर्ण प्रचारद्वारा। (मत्ती २४:१४) येशू र उहाँका अभिषिक्‍त अनुयायीहरूद्वारा निर्मित त्यो “कहिले हल्लिन नसक्ने राज्य” यहोवाको महिमा गर्दै सदा सर्वदा कायम रहनेछ।—हिब्रू १२:२६-२९.

१२. मत्ती २४:१४-मा अग्रिमसूचित प्रचार कार्यलाई तपाईंले ध्यान दिन थाल्नु भएको छ भने, प्रकाश ६:१२-को ठूलो भैंचालो सुरु हुनुभन्दा पहिले नै तपाईंले के गर्नुपर्छ?

१२ यस प्रचारकार्यलाई के तपाईंले पनि ध्यान दिन थाल्नु भएको छ? के तपाईं पनि हालैका वर्षहरूमा येशूको मृत्युको स्मरणार्थका लागि उपस्थित हुने लाखौं व्यक्‍तिहरूमध्ये एक हुनुहुन्छ? हुनुहुन्छ भने, बाइबलको सच्चाइबारे अध्ययन गर्न नछाड्‌नुहोस्‌। (२ तिमोथी २:१५; ३:१६, १७) यो शैतानी र विनाश्‍य पार्थिव समाजको भ्रष्ट जीवनशैलीलाई सम्पूर्णतया त्याग्नु होस्‌! नयाँ संसारको मसीही समाजमा प्रवेश गर्नुहोस्‌। अन्तिम ध्वंसात्मक “भैंचालो”-ले शैतानको संसारलाई चूर-चूर पार्नअघि नै त्यो नयाँ संसारको मसीही समाजको गतिविधिमा पूरा भाग लिनुहोस्‌। तर त्यो ठूलो भैंचालो हो के? हामी अब हेरौं।

त्यो ठूलो भैंचालो!

१३. यो ठूलो भैंचालो मानिसहरूले अझसम्म अनुभव गरेका जम्मै भैंचालोहरूभन्दा कसरी बेग्लै हुनेछ?

१३ हो, यी कठिन अन्तिम दिनहरूमा प्राकृतिक र लाक्षणिक दुवै प्रकारका भैंचालोहरू गएका छन्‌। (२ तिमोथी ३:१) तर यी कुनै पनि थतर्कोहरू त्यो ठूलो र अन्तिम भैंचालो चाहिं होइन जो छैटौं छाप खुल्दा यूहन्‍नाले देख्छन्‌। सुरुसुरुका थतर्कोहरू हुने समय पनि बितिसक्यो। अब त एउटा यस्तो ठूलो भैंचालो आउँछ जो मानवजातिले अझसम्म अनुभव गरेको छैन। यो भैंचालो यति ठूलो छ कि यसको नाप मानिसले रेक्टर स्केल अथवा अरू कुनै पनि मानवीय उपकरणद्वारा लिन सक्‍तैन। यो कुनै स्थानीय थतर्को मात्र होइन्‌। यो एउटा आखिरी र ध्वंसात्मक प्रकम्प हो जसले सारा “पृथ्वी” अर्थात्‌ भ्रष्ट मानव समाजलाई बरबाद पारिदिन्छ।

१४. (क) कुन चाहिं भविष्यवाणीले एउटा ठूलो भैंचालो र त्यसको परिणामबारे अग्रिमसूचना दिन्छ? (ख) योएलको अगमवाणी र प्रकाश ६:१२, १३-ले के लाई सङ्‌केत गरेको हुनुपर्छ?

१४ यहोवाका अरू अगमवक्‍ताहरूले पनि यस्तो एउटा भैंचालो र त्यसको विध्वंसक परिणामबारे अग्रिमवाणी गरेका थिए। उदाहरणका लागि, सा.यु.पू. ८२०-तिर योएलले “परमप्रभुको त्यो महा र भयङ्‌कर दिन”-बारे चर्चा गरे जब “सूर्य अँध्यारोमा र चन्द्र चाहिं रगतमा परिवर्त्तन हुनेछ।” पछि उनले यी शब्दहरू पनि थप्छन्‌: “फैसला गरिने बेंसीमा धुइरोको धुइरो छ, किनभने फैसला गरिने बेंसीमा परमप्रभुको दिन नजीक आएको छ। सूर्य र चन्द्र अँध्यारो हुनेछ र ताराहरूले आफ्नो चमक दिनेछैन। परमप्रभु सियोनबाट गर्जनुहुनेछ, यरूशलेमबाट उहाँले आफ्नो सोर सुनाउनुहनेछ। आकाश र पृथ्वी थरथर काम्नेछ, तर परमप्रभु आफ्नो प्रजाको निम्ति शरणस्थान, इस्राएलका सन्तानको निम्ति गढी हुनुहुनेछ।” (योएल २:३१; ३:१४-१६) यसप्रकारको कम्पनले महासङ्‌कष्टमा यहोवाको न्याय कार्यान्वयन हुने समयलाई मात्र सङ्‌केत गर्न सक्छ। (मत्ती २४:२१) अतः प्रकाश ६:१२, १३-मा पाइने समानान्तर विवरण पनि उही घटनासितै सम्बन्धित हुनुपर्छ।—यर्मिया १०:१०; सपन्याह १:१४, १५.

१५. अगमवक्‍ता हबकूकले कुन ठूलो प्रकम्पबारे अग्रिमसूचना दिए?

१५ योएलको करीब २०० वर्षपछि अगमवक्‍ता हबकूकले परमेश्‍वरसित आफ्नो प्रार्थनामा यसो भने: “हे परमप्रभु, मैले तपाईंको कीर्ति सुनें, र म डराएँ। हे परमप्रभु, यस समयमानै आफ्नो कामलाई फेरि नयाँ तुल्याउनुहोस्‌, यस समयमानै त्यो प्रकट गर्नुहोस्‌। क्रोधमा पनि दयाको सम्झना होस्‌।” त्यो “क्रोध”-को समय के हुन सक्छ? हबकूकले महासङ्‌कष्टको विस्तृत विवरण दिंदै यहोवाबारे यसो भन्छन्‌: “खडा भएर उहाँले पृथ्वीलाई नाप्नुभयो, उहाँले हेर्नुभयो, र जाति जातिहरूलाई तितर-बितर पार्नुभयो। . . . क्रोधमा तपाईं पृथ्वीमा हिंड्‌नुभयो, तपाईंको रीसमा तपाईंले जाति जातिहरूलाई दाइँ गर्नुभयो। म परमप्रभुमा रमाहट गर्नेछु, म मेरो उद्धार गर्नुहुने परमेश्‍वरमा रमाउनेछु।” (हबकूक ३:१, २, ६, १२, १८) यहोवाले जाति जातिहरूलाई दाइँ गर्नु हुँदा सारा पृथ्वीभरि साह्रै ठूलो कम्पन गराउनु हुनेछ!

१६. (क) परमेश्‍वरका जनहरूमाथि शैतानको आखिरी आक्रमणबारे अगमवक्‍ता इजकिएलले के भविष्यवाणी गरे? (ख) प्रकाश ६:१२-मा चर्चित ठूलो भैंचालोको परिणाम के हुनेछ?

१६ मागोगको गोगले [पतित शैतान] परमेश्‍वरका जनहरूमाथि अन्तिम आक्रमण गर्दा यहोवाले “इस्राएलको देशभरिनै” “ठूलो भैंचालो” पठाउनु हुनेछ भनेर इजकिएल अगमवक्‍ताद्वारा पनि भविष्यवाणी गरिएको थियो। (इजकिएल ३८:१८, १९) यसमा प्राकृतिक भैंचालोहरू पनि समाविष्ट हुन सक्छन्‌। तर प्रकाशको पुस्तक चिह्नहरूमा प्रस्तुत पुस्तक हो भनी हामीले बिर्सनु हुँदैन। यो र अरू भविष्यवाणीहरू पनि अति नै लाक्षणिक हुन्‌। अतः यस पार्थिव रीतिरिवाजमाथि अझसम्म आइपरेका जम्मै भैंचालोहरूभन्दा धेरै नै ठूलो र आखिरी भूकम्पलाई छैंटौं छापको खुलाइले प्रकट गर्छ जस्तो छ। यो त्यो महा भैंचालो हो जसमा यहोवा परमेश्‍वरको सार्वभौमिकताको विरोध गर्ने सबै मानिसहरू नष्ट हुनेछन्‌।

अन्धकारको समय

१७. त्यो ठूलो भैंचालोले घाम, जून र ताराहरूमाथि कसरी असर पार्दछ?

१७ यूहन्‍नाको बयानअनुसार त्यो ठूलो भैंचालोमा स्वयं स्वर्ग नै विथोलित हुने डरलाग्दा घटनाहरू घटनेछन्‌। उनी भन्छन्‌: “सूर्य केशको भाघ्र जस्तै कालो भयो, र सिङ्‌गै चन्द्र रगतजस्तै भइहाल्यो, औ नेभाराको रूखलाई बतासले हल्लाउँदा नपाकेको फल झरेझैं आकाशका ताराहरू पृथ्वीमाथि खसे।” (प्रकाश ६:१२ख, १३) प्रकृतिको भयानक प्रदर्शन! यो भविष्यवाणी अक्षरशः पूरा हुँदा कस्तो भयानक र निष्पट्ट अन्धकार हुनेछ! दिउँसो घामको न्यानो किरण हुनेछैन! राती सुमधुर चाँदनी हुनेछैन! घनघोर कालो आकाशमा अनगिन्ती ताराहरू चम्कने छैनन्‌! बरु जताततै चिसो र घोर अन्धकार छाएको हुनेछ।—मत्ती २४:२९ तुलना गर्नुहोस्‌।

१८. यरूशलेमका लागि सा.यु.पू. ६०७-मा ‘आकाश अँध्यारो’ कसरी भयो?

१८ आध्यात्मिक तवरमा यस्तै प्रकारको अन्धकार प्राचीन इस्राएलमाथि आइपर्नेछ भनी भविष्यवाणी गरिएको थियो। यर्मियाले यो चेताउनी दिएका थिए: “सारा देश उजाड हुनेछ, तापनि म पूरै अन्त्य ता गर्नेछैनँ। यसैको लागि पृथ्वीले विलाप गर्नेछ, औ आकाश अँध्यारो भइजानेछ।” (यर्मिया ४:२७, २८) सा.यु.पू. ६०७-मा उपरोक्‍त भविष्यवाणी पूरा हुँदा यहोवाका जनहरूका लागि सबै कुरा वास्तवमा अँध्यारो भयो। तिनीहरूको राजधानी यरूशलेम बेबिलोनीहरूको कब्जामा पऱ्‍यो। तिनीहरूको मन्दिर नष्ट भयो र तिनीहरूको देश उजाड छाडियो। तिनीहरूका लागि स्वर्गबाट कुनै सान्त्वनादायी ज्योति चम्केन। बरु यर्मियाले विलाप गर्दै यहोवालाई यसो भनेझैं भइरहेको थियो: “तपाईंले . . . दया नगरी हामीलाई मार्नुभयो। तपाईंकहाँ कुनै पनि प्रार्थना नपुगोस्‌ भनेर तपाईंले आफूलाई बादलले ढाकिराख्नुभयो।” (विलाप ३:४३, ४४) यरूशलेमका लागि त्यो आकाशीय अन्धकारको अर्थ मृत्यु र विनाश थियो।

१९. (क) परमेश्‍वरका अगमवक्‍ता यशैयाले प्राचीन बेबिलोनको सम्बन्धमा आकाश अँध्यारो भएको वर्णन कसरी गर्छन्‌? (ख) यशैयाको अगमवाणी कहिले र कसरी पूरा भयो?

१९ केही समयपछि सोही प्रकारको आकाशीय अन्धकारले प्राचीन बेबिलोनका लागि विनाश सूचित गऱ्‍यो। यसबारे परमेश्‍वरको अगमवक्‍ता यसो भन्‍न उत्प्रेरित भएका थिए: “हेर, परप्रभुको दिन देशलाई उजाड पार्न र त्यसका पापीहरूलाई त्यहाँ सर्वनाश पार्न, क्रोध र भयानक रीसको साथ निष्ठूर भएर आउँछ। आकाशका नक्षत्र र तिनका तारा मण्डलले आफ्नो चमक दिनेछैनन्‌। सूर्य पनि उदय हुँदा हुँदै अँध्यारो हुनेछ र चन्द्रमाले ज्योति दिनु छोडनेछ। म संसारलाई त्यसको दुष्ट्याइँको निम्ति दण्ड दिनेछु र दुष्टलाई तिनका अधर्मका निम्ति। म घमण्डीहरूको अहँकारको अन्त गर्नेछु र निष्ठूरहरूको सेखी झार्नेछु।” (यशैया १३:९-११) यो भविष्यवाणी सा.यु.पू. ५३९-मा पूरा भयो जब मादी र फारसीहरूको सामु बेबिलोन पराजित भयो। बेबिलोन प्रमुख विश्‍वशक्‍तिको हैसियतबाट सदाका लागि तल झर्दा उसमाथि छाएको निष्पट्ट अन्धकार, नैराश्‍य र सान्त्वनादायी ज्योतिको अभावलाई उक्‍त भविष्यवाणीले राम्ररी वर्णन गर्छ।

२०. त्यो ठूलो भैंचालो सुरु हुँदा यो रीतिरिवाजले कुन भयानक परिणाम भोग्नेछ?

२० यस्तैगरी महा भैंचालो सुरु हुँदा यो सारा विश्‍व रीतिथिति नैराश्‍यको घनघोर अन्धकारमा डुब्नेछ। शैतानको पार्थिव रीतिरिवाजका चम्किला र उज्याला ज्योति भनौंदाहरूले आशाको कुनै पनि किरण चम्काउने छैनन्‌। अहिले पनि, खासगरी मसीहीजगतमा हुने पृथ्वीका राजनैतिक नेताहरू भ्रष्ट, झूट र अनैतिक जीवनशैलीका लागि कुख्यात छन्‌। (यशैया २८:१४-१९) तिनीहरूमाथि अब पत्यार गर्नै सकिंदैन। यहोवाले न्याय कार्यान्वयन गर्नुहुँदा तिनीहरूको धिपधिपाइरहेको ज्योति झ्याप्प निभ्नेछ। पृथ्वीको गतिविधिमाथि तिनीहरूको चाँदनीरूपी प्रभाव रक्‍ताम्य र मृत्युदायी साबित हुनेछ। तिनीहरूका गण्यमान्य विशिष्ट सांसारिक जनहरू पुछ्रे ताराहरूजस्तै छिन्‍नभिन्‍न हुनेछन्‌। नपाकेका नेभाराहरू आँधीबेह्रीमा छरपस्ट भए झैं तिनीहरू तितरबितर हुनेछन्‌। ‘जगतको शुरूदेखि अहिलेसम्म नभएको र नता फेरि कहिल्यै हुने महासङ्‌कष्टमा’ हाम्रो सारा पृथ्वी थर्कमान हुनेछ। (मत्ती २४:२१) कति भयानक घटना!

“स्वर्ग” हटेर जान्छ

२१. दर्शनमा यूहन्‍नाले “स्वर्ग” र “हरेक पहाड र टापू”बारे के देख्छन्‌?

२१ यूहन्‍नाको दर्शन अझ यसरी अघि बढ्‌छ: “औ स्वर्ग चाहिं पुस्तकको मुठा बेह्रिएझैं हटेर गयो, र हरेक टापू र पहाड तिनीहरूका आफ्ना ठाउँबाट हटेर गए।” (प्रकाश ६:१४) स्पष्टतः यो स्वर्ग वास्तविक स्वर्ग होइन। नता यी पहाड र टापुहरू नै वास्तविक हुन्‌। अतः यिनले कुन कुराहरूको प्रतिनिधित्व गर्छन्‌?

२२. एदोममा कुन चाहिं “स्वर्ग” ‘बेह्रुवा बेह्रिएको जस्तैगरी बेह्रियो’?

२२ “स्वर्गको” अर्थ बुझ्न हामीलाई सबै राष्ट्रहरूको विरुद्धमा यहोवाको क्रोधबारे चर्चा गर्ने यो एउटा अर्कै समानान्तर भविष्यवाणीले मदत दिन्छ: “औ स्वर्गको सारा दल गलिजानेछ, र आकाश चाहिं बेहेरूवा बेह्रिएझैं बेह्रिनेछ।” (यशैया ३४:४) विशेषतः एदोमले दुःख पाउनै पर्छ। तर कसरी? सा. यु. पू. ६०७-मा यरूशलेम नाश भएको थोरै समयपश्‍चात्‌ एदोमलाई पनि बेबिलोनीहरूले ध्वस्त पारे। त्यातिखेर प्राकृतिक स्वर्गमा कुनै विशेष घटना घटेको उल्लेख छैन। तर एदोमको “स्वर्गमा” चाहिं विनाशकारी घटनाहरू घटे। e उसका मानवीय सरकारी शक्‍तिहरू आफ्नो उच्च र स्वर्गरूपी स्थानबाट तल झारिए। (यशैया ३४:५) उप्रान्त कसैले नचलाउने थोत्रो पुस्तकलाई एकातिर पन्छाइएको जस्तैगरी तिनीहरूलाई पनि “बेह्रेर” एकातिर पन्छाइयो।

२३. ‘बेह्रुवा जस्तै बेह्रिने’ ‘स्वर्ग’ के हो र यो समझलाई पत्रुसका शब्दहरूले कसरी पुष्टि दिन्छ?

२३ अतः ‘बेहरूवा बेह्रिएझैं बेह्रिने’ “स्वर्ग”-ले पृथ्वीमाथि ईश्‍वरविरोधी सरकारहरूले चलाएको सरकारहरूलाई बोध गर्छ। त्यस्ता सरकारहरूलाई सेतो घोडाको सर्वविजयी घोडसवारले सदाका लागि हटाउनेछन्‌। (प्रकाश १९:११-१६, १९-२१) यसको पुष्टि प्रेरित पत्रुसका शब्दहरूमा पनि देख्न सकिन्छ। उनले पनि छैटौं छापको खुलाइद्वारा प्रतीकात्मकरूपमा सूचित गराइने घटनाहरूको बाटो हेर्दै यसो भनेका थिए: “तर अहिलेका आकाशहरू र पृथ्वीचाहिं त्यही वचनले, भक्‍तिहीन मानिसको इन्साफ र विनाशको दिनसम्म छुट्ट्याई आगोको निम्ति साँचेर राखिएका छन्‌।” (२ पत्रुस ३:७) तर “हरेक टापु र पहाड तिनीहरूका आफ्ना आफ्ना ठाउँबाट हटेर गए” भन्‍नुको अर्थ के हो?

२४. (क) बाइबलको भविष्यवाणीअनुसार पहाड र टापुहरू कहिले कहिले हल्लिएर आफ्नो ठाउँबाट उखेलिन्छन्‌? (ख) निनवेको पतन हुँदा कसरी ‘पहाडहरू हल्लिए?’

२४ बाइबलको भविष्यवाणीअनुसार ठूला-ठूला राजनैतिक उथलपुथलको दौडान पहाड र टापुहरू हल्लिन्छन्‌ अर्थात्‌ तिनीहरू आफ्नो ठाउँबाट हटाइनेछन्‌। उदाहरणका लागि, निनवेको विरुद्धमा यहोवाको न्यायवचन घोषित गर्दा, नाहूमले यसप्रकार लेखे: “उहाँको सामने पहाडहरू काँप्छन्‌, पर्वतहरू पग्लछन्‌। उहाँको सामने पृथ्वी उजाड हुन्छ, जगत र त्यसमा भएका सबै कुरा।” (नहूम १:५) तर सा.यु.पू. ६३२-मा निनवेको पतन हुँदा साँच्चैका पहाडहरू खसेको उल्लेख चाहिं छैन। तर पहिले पहाडजस्तै बलियो जरा गाडेर बसेको विश्‍वशक्‍तिको चाहिं अचानक पतन भयो।—यर्मिया ४:२४-सित तुलना गर्नुहोस्‌।

२५. यस रीतिरिवाजको आउने अन्तमा “हरेक पहाड र टापु” कसरी आ-आफ्नो ठाउँबाट हटाइनेछन्‌?

२५ अतः छैटौं छाप खोल्दा सूचित गरिएको “हरेक पहाड र टापु” स्वभाविकतः राजनैतिक सरकार र तिनीहरूमा भर पर्ने सांसारिक सङ्‌गठनहरू हुनुपर्छ जो आम मानिसजातिको नजरमा अत्यन्त स्थायी छन्‌। तर यिनीहरू पनि आफ्नो ठाउँबाट जरैसमेत उखेलिनेछन्‌। यिनीहरूमाथि भरोसा गर्नेहरू त्रसित र आतङ्‌कित हुनेछन्‌। यहोवा र उहाँको पुत्रको क्रोधको ठूलो दिन आयो भनेर सबै जनालाई स्पष्ट हुनेछ। शैतानका सङ्‌गठनहरूलाई नामेट पारिदिने आखिरी भैंचालो आउनेछ!

“हामीमाथि खस र हामीलाई लुकाऊ”

२६. परमेश्‍वरको सार्वभौमिकताको विरोध गर्नेहरू त्रसित भएर के गर्नेछन्‌ र डरले के भन्‍न थाल्नेछन्‌?

२६ यूहन्‍ना अझ भन्छन्‌: “अनि पृथ्वीमा राजाहरू, राजकुमारहरू, मुख्य मुख्य कप्तानहरू, धनीहरू, बलियाहरू, हरेक दास र स्वतन्त्र मानिस पहाडका गुफाहरू र चटानहरू हुँदो लुके। औ तिनीहरूले पहाडहरू र चटानहरूलाई भने, ‘हामीमाथि खस, र सिंहासनमा विराजमान हुनुहुनेका सामनेबाट, र थुमाको क्रोधबाट हामीलाई लुकाऊ, किनकि तिनीहरूको क्रोधको ठूलो दिन आएको छ, र को खडा हुनसक्छ?’ ”—प्रकाश ६:१५-१७.

२७. सामरियाका अविश्‍वासी इस्राएलीहरू के भन्दै कराए र ती शब्दहरू कसरी पूरा भए?

२७ इस्राएलको उत्तरी राज्यको राजधानी सामरियामाथि यहोवाको न्यायवचन घोषणा गर्दा होशेले यसो भने: “इस्राएलको पाप अथवा आवेनका अल्गा अल्गा ठाउँहरू नष्ट हुनेछन्‌। तिनका वेदीहरूमा काँढा र लुहुडे-काढाँहरू उम्रनेछन्‌ र तिनीहरूले पर्वतहरूलाई भन्‍नेछन्‌, ‘हामीलाई ढाक,’ औ डाँडाहरूलाई भन्‍नेछन्‌, ‘हामीमाथि खस।’ ” (होशे १०:८) यी शब्दहरू कसरी पूरा भए? सा. यु. पू. ७४०-मा सामरिया क्रूर अश्‍शूरीहरूको कब्जामा पर्दा इस्राएलीहरूले भाग्ने कुनै ठाउँ नै पाएनन्‌। ती पराजित मानिसहरूले अनुभव गरेका नैराश्‍य, त्रास र एकलासको भाव होशेका शब्दहरूले व्यक्‍त गर्छन्‌। बितेका समयहरूमा अति नै स्थायी देखिने सामरियाका वास्तविक पर्वतहरूले अथवा पहाडजस्ता सङ्‌गठनहरूले सामरीहरूलाई कुनै रीतिले पनि बचाउन सकेनन्‌।

२८. (क) येशूले यरूशलेमका स्वास्नीमानिसहरूलाई के चेताउनी दिनु भयो? (ख) येशूको चेताउनी कसरी पूरा भयो?

२८ यस्तैगरी, येशूलाई पनि रोमी सिपाहीहरूले मार्न लैजाँदा उहाँले यरूशलेमका स्वास्नीमानिसहरूलाई सम्बोधन गर्दै भन्‍नुभयो: “हेर, ती दिन आइरहेका छन्‌, जसमा मानिसहरूले भन्‍नेछन्‌, ‘धन्य बाँझीहरू, गर्भ धारण नगर्ने कोखहरू र नचुसाउने स्तनहरू।’ तब तिनीहरूले डाँडाहरूलाई भन्‍नलाग्नेछन्‌, ‘हामीमाथि खस’ र ढिस्काहरूलाई ‘हामीलाई पूर।’ ” (लूका २३:२९, ३०) रोमीहरूद्वारा सा.यु. ७०-मा यरूशलेमको विनाशको विस्तृत ऐतिहासिक विवरण राम्ररी लेखबद्ध छ। त्यसबाट स्पष्ट देख्न सकिन्छ कि होशेका शब्दहरूझैं येशूका शब्दहरू पनि अक्षरशः पूरा भए। यहूदियामा बस्ने यहूदीहरूका लागि लुक्ने कुनै ठाउँ रहेन। तिनीहरूले यरूशलेममा जताततै लुक्न खोजे तापनि अथवा मासाडा पर्वतको टाकुरामै भागेर गए तापनि यहोवाको न्यायको भयानक अभिव्यक्‍तिबाट तिनीहरू उम्कन सकेनन्‌।

२९. (क) यहोवाको क्रोधको दिन आइपुग्दा यस रीतिरिवाजलाई समर्थन गर्नेहरूमाथि के विपत्ति आइलाग्नेछ? (ख) यहोवाले आफ्नो क्रोध व्यक्‍त गर्नुहुँदा येशूको कुन चाहिं भविष्यवाणी पूरा हुनेछ?

२९ अब फेरि यहोवाको क्रोधको दिनमा पनि त्यस्तै हुनेछ भनेर छैटौं छापको खुलाइबाट देखिन्छ। यो पार्थिव रीतिरिवाज आखिरी पटक हल्लिँदा त्यसलाई आड दिनेहरूले जताततै लुक्ने ठाउँ खोज्नेछन्‌ तर एउटै पनि पाउने छैनन्‌। झूटो धर्म महान बेबिलोनले तिनीहरूलाई नमिठोगरी धोका दिइसकेको हुन्छ। तिनीहरूलाई नता साँच्चैका पहाडहरूका कन्दराहरूले न पहाडजस्तै राजनैतिक र व्यापारी संस्थाहरूले कुनै आर्थिक वा अन्य कुनै प्रकारको मदत दिन सक्नेछन्‌। तिनीहरूलाई यहोवाको क्रोधबाट कुनै कुराले पनि बचाउने छैन। तिनीहरूको त्रसित स्थितिलाई येशूले राम्रोसित वर्णन गर्नु भएको छ: “औ तब मानिसको पुत्रको चिह्न आकाशमा देखा पर्नेछ औ पृथ्वीका सब जातिहरू विलाप गर्नेछन्‌, र तिनीहरूले मानिसको पुत्रलाई आकाशका बादलहरूमा शक्‍ति र ठूलो महिमासित आउँदैगरेको देख्नेछन्‌।”—मत्ती २४:३०.

३०. (क) “को खडा हुन सक्छ?” भन्‍ने प्रश्‍नको तात्पर्य के हो? (ख) यहोवाको न्यायको दिनमा के कोही खडा हुन सक्ने छन्‌ र?

३० हो, सेतो घोडाको विजयी घोडसवारको अख्तियारलाई ज-जसले मान्यता दिएनन्‌, तिनीहरूलाई अब भने आफ्नो गल्ती स्वीकार्न करै लाग्नेछ। सर्पको सन्तानको भाग हुन स्वेच्छासाथ रुचाउने मानिसहरूले शैतानको संसार बितेर जाँदा विनाश भोग्नेछन्‌। (उत्पत्ति ३:१५; १ यूहन्‍ना २:१७) त्यतिखेर विश्‍वस्थिति यस्तो हुनेछ कि धेरैले “को खडा हुन सक्छ?” भनेर सोध्नेछन्‌। तिनीहरूको विचारमा यहोवाको न्यायको दिनमा उहाँको सामु कोही पनि खडा हुन अथवा ग्रहणयोग्य हुन सक्‍तैन। तर तिनीहरूको यो विचार गलत हुनेछ, जस्तो कि प्रकाशको पुस्तकबाट देख्न सकिन्छ।

[फुटनोटहरू]

a साँच्चैका भूकम्पहरू हुनुभन्दा अघि अक्सर प्रकृतिले भूकम्पसूचक सङ्‌केतहरू दिन्छन्‌। यी सङ्‌केतहरूले गर्दा कुकुरहरू भुक्छन्‌, छटपटिन्छन्‌ र अन्य जनावर तथा माछाहरू पनि तुलबुलिन्छन्‌। तर मान्छेलाई चाहिं भैंचालो सुरु नहोउञ्जेलसम्म प्रायः केही पनि थाह हुँदैन।—जुलाई ८, १९८२-को अवेक! पृष्ठ १४ हेर्नुहोस्‌।

b विस्तृत व्यख्याका लागि, पृष्ठ २२, २४ हेर्नुहोस्‌.

c सन्‌ १८९५ देखि १९३१ सम्म अर्थात्‌ ३५ वर्षभन्दा धेरैसमय देखि वाचटावर पत्रिकाले लूका २१:२५, २८ र ३१-का शब्दहरूलाई आफ्नो आवरण पृष्ठमा उद्धृत गर्दै आयो। शब्दहरूको पछिल्तिरचाहिं आँधीबेह्री चलेको समुद्रमाथि घनघोर बादल छाएको आकाशलाई ज्योति दिने विद्युतघरको चित्र थियो।

d उदाहरणका लागि, सन्‌ १९३१-को एउटा खास अभियानमा पृथ्वीभरि पादरीहरू, राजनीतिज्ञहरू र व्यापारीहरूलाई यहोवाका साक्षीहरूले द किङ्‌गडम, द होप अफ द वर्ल्ड भन्‍ने पुस्तिका व्यक्‍तिगत तवरमा गएर दिए।

e सोही अनुरूप “स्वर्ग” शब्दको प्रयोग यशैया ६५:१७, १८-मा पनि गरिएको छ। यहाँ उल्लिखित “नयाँ स्वर्ग”-को भविष्यवाणीको प्रथम पूर्ति राज्यपाल यरूबाबेल र प्रधानपूजारी येशूवाको शासनव्यवस्थामा भयो। प्रतिज्ञा गरिएको देशमा यहूदीहरू बेबिलोनी कैदबाट फर्केपछि उक्‍त शासन व्यवस्था स्थापित भएको थियो।—२ इतिहास ३६:२३; एज्रा ५:१, २; यशैया ४४:२८.

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १०५-मा भएको पेटी/चित्र]

१९१४-को अग्रसूचना

“सा.यु. ६०६-मा परमेश्‍वरको राज्यको अन्त गराइयो, श्रीपेच उतारियो र सारा पृथ्वी अन्यजातिहरूको हातमा सुम्पियो। सा.यु.पू. ६०६-देखि सुरु भएको २,५२० वर्ष सा.यु. १९१४-मा समाप्त हुनेछ।” f—१८७७-मा प्रकाशित द थ्री वर्ल्डस, ८३.

“ ‘अन्यजातिको समय’ २,५२० वर्षीय समयावधि हो जसको सुरुआत सा.यु.पू. ६०६ र अन्त सा.यु. १९१४-मा भयो। यसबारे बाइबलमा स्पष्ट र ठोस प्रमाण पाईन्छ।”—स्टडीस इन द स्क्रिप्चर्स, खण्ड २, पृष्ठ ७९। लेखक सि. टी. रसल, १८८९-मा प्रकाशित।

चार्ल्स टेज रसल र उनका संगी बाइबल विद्यार्थीहरूले कयौं दशकअघि नै बुझेका थिए कि अन्यजातिहरूको समय १९१४-मा समाप्त हुनेछ। (लूका २१:२४) यसको अभिप्राय तिनीहरूले पूर्णतया त्यतिखेर बुझेका थिएनन्‌। तापनि १९१४ इतिहासमा एउटा अत्यन्त महत्त्वपूर्ण साल हुनेछ भनी तिनीहरू विश्‍वस्त थिए र तिनीहरू ठीक साबित पनि भए। तत्सम्बन्धी एउटा पत्रिकाको उद्धरणमाथि विचार गर्नुहोस्‌:

“युरोपमा अचानक युद्धको सुरुआतद्वारा एउटा असाधारण अगमवाणी पूरा भएको छ। बाइबलमा अगमवाणी गरिएको क्रोधको दिन १९१४-मा सुरु हुनेछ भनेर बितेको करीब २५ वर्षदेखि ‘मिलिएनल डनर्स’ कहलिने ‘अन्तर्राष्ट्रिय बाइबल विद्यार्थीहरू’-ले प्रचारकार्य र पत्रिका वितरणद्वारा संसारलाई घोषणा गर्दै आएका छन्‌। ‘१९१४-देखि होसियार!’ यही नै यी घुमुवा प्रचारकहरूको पुकार रहेको छ।“—द वर्ल्ड नामक न्यु योर्कको एउटा पत्रिका, अगस्त ३०, १९१४.

[फुटनोट]

f ती बाइबलका विद्यार्थीहरूले “सा.यु.पू.” र “सा.यु.” बीच सुन्‍ना साल हुँदैन भनेर त्यतिखेर बुझेका थिएनन्‌ र यो पनि ईश्‍वरकै कृपा हुनु पर्छ। पछि थप अनुसन्धानपश्‍चात्‌ सा.यु.पू. ६०६ लाई सुधारेर सा सा.यु. ६०७ बनाउँदा, त्यो सुन्‍ना साललाई पनि हटाइयो। यसले गर्दा “सा.यु. १९१४” बारे गरिएको अग्रिमवाणीमा कुनै अदलबदल गर्नु परेन।”—सन्‌ १९४३-मा यहोवाका साक्षीहरूद्वारा प्रकाशित “द ट्रुथ श्‍याल मेक यु फ्री” को पृष्ठ २३९.

[पृष्ठ १०६-मा भएको पेटी]

१९१४—एउटा ऐतिहासिक मोड

कोपेनहेगेन, १९८७-मा प्रकाशित पोलिट्‌केन-को विश्‍व इतिहास—इतिहासको शक्‍ति र अर्थ भन्‍ने पुस्तकले ४०-औं पृष्ठमा यो टिप्पणी गरेको छ:

“यो १९-औं शताब्दीको विश्‍वासले प्राणघातक चोट १९१४-मा खायो। युद्ध सुरु हुनु भन्दाअघिको वर्षमा डेनिश इतिहासकार र राजनीतिज्ञ पिटर मन्चले आशावादी भएर लेखे: ‘ठूल-ठूला युरोपेली शक्‍तिहरूबीच युद्ध हुने सम्भावनालाई बल दिने प्रमाण कतै पनि देखिंदैन। “युद्धको खतरा” नै भविष्यमा लोप भएर जानेछ जसरी १८७१-देखि समय समयमा लोप भएको पनि छ।’

“तर यसको ठीक विपरीत उनले पछिगएर आफ्नो आत्मवृत्तान्तमा फेरि यसप्रकार लेखेको पाउँछौं: ‘सन्‌ १९१४-मा युद्धको सुरुआत मानव इतिहासको ठूलो मोड हो। त्योभन्दा अघिको उज्यालो र प्रगतिशील युगमा हामी धेरथोर निश्‍चिन्त भएर विभिन्‍न अभियानहरू चलाउन सक्थ्यौं। तर त्यसपछि हामीले दुर्घटना, घृणा र असुरक्षाले भरिएको अर्कै युगमा कदम राख्यौं। त्यसबेलादेखि हामीमाथि अन्धकार छाएको छ। यसै अन्धकारमा हजारौं वर्षदेखि मानवनिर्मित यो सांस्कृतिक आधार सधैंका लागि हराउने हो कि? यसको जवाफ न त्यति बेला कसैले दियो न अहिले दिन सकेका छन्‌।’ ”

[पृष्ठ ११०-मा भएको चित्र]

‘त्यसको ठाउँबाट हरेक पहाड हटाइयो’

[पृष्ठ १११-मा भएको चित्र]

तिनीहरू कन्दराहरूमा लुके