सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलको महान विषय

बाइबलको महान विषय

अध्याय २

बाइबलको महान विषय

पवित्रशास्त्रको अर्थ खोल्न प्रकाशको पुस्तकका बन्द रहस्यहरूले बाइबलका सच्चा विद्यार्थीहरूलाई धेरै समयदेखि अन्योलमा पारेका छन्‌। ती रहस्यहरू परमेश्‍वरले तोक्नु भएको समयमा खुल्नु परेको थियो। तर कसरी, कहिले र कसले? तोकिएको समय नजिक आएपछि परमेश्‍वरको आत्माले नै अर्थ खोलिदिने थियो। (प्रकाश १:३) ती पवित्र रहस्यहरू पृथ्वीमा परमेश्‍वरका जोसिला सेवकहरूलाई प्रकट हुने थिए। यसबाट तिनीहरूले परमेश्‍वरको न्यायवचन घोषणा गर्ने सामर्थ्य पाउने थिए। (मत्ती १३:१०, ११) यस प्रकाशनमा दिइएका व्याख्याहरू अचूक छन्‌ भन्‍ने दाबी हामी गर्दैनौं। बरु प्राचीन समयका यूसुफले झैं हामी यसो भन्छौं: “अर्थ [खोल्नु] ता परमेश्‍वरकै हातमा हुँदैन र?” (उत्पत्ति ४०:८) तथापि यहाँ उल्लिखित व्याख्याहरू पूर्णतः बाइबलसित मेल खान्छन्‌ र हाम्रा दुर्घटनाग्रस्त समयका घटनाहरूमा ईश्‍वरीय भविष्यवाणी अति नै अद्‌भुत रीतिले पूरा भएको छ भनी हामी दृढ विश्‍वास गर्दछौं।

१. यहोवाको महान उद्देश्‍य के हो?

 बाइबलको एउटा उक्‍ति यसप्रकार छ: “कुनै कामको सुरुभन्दा त्यसको अन्त असल हुन्छ।” (उपदेशक ७:८) यसैअनुरूप यहोवाले अन्ततः आफ्नो महान नाउँलाई सारा सृष्टिको सामुन्‍ने पवित्र तुल्याउनु हुनेछ। उहाँको यस उद्देश्‍यको भव्य पूर्तिबारे हामी प्रकाशको पुस्तकमा पढ्‌न पाउँछौं। सोही सम्बन्धमा परमेश्‍वरले आफ्नो एक जना प्राचीन अगमवक्‍ताद्वारा बारम्बार यो घोषणा गर्नु भयो: “तिनीहरूले मनै परमप्रभु [यहोवा, NW] हुँ भनी जान्‍नेछन्‌।”—इजकिएल २५:१७; ३८:२३.

२.प्रकाश र बाइबलका सुरु सुरुका पुस्तकहरूले हामीलाई के सन्तोषजनक ज्ञान हासिल गर्ने मदत दिन्छ?

तर जसरी प्रकाशको पुस्तकमा मङ्‌गलमय समाप्तिको वर्णन गरिएको छ, त्यस्तैगरी आरम्भको व्याख्या चाहिं बाइबलका सुरु सुरुका पुस्तकहरूमा पाइन्छ। अतः यी जम्मै पुस्तकहरूलाई नियालेर जाँच्यौं भने सम्बद्ध विवादहरू बुझ्ने मदतका साथै परमेश्‍वरका उद्देश्‍यहरूबारे अन्तर्दृष्टि पाउनेछौं। यसबाट ठूलो मानसिक सन्तुष्टि अनुभव गर्नेछौं! जोडदार ढङ्‌गमा सक्रिय हुने प्रेरणा पाउनेछौं। मानवजातिको अद्‌भुत भविष्यमा हामीले पनि भाग लिन सक्नेछौं। (भजनसंग्रह १४५:१६, २०) अतः सम्पूर्ण बाइबलको पृष्ठभूमि र मुख्य विषयबारे छलफल गर्नु उपयुक्‍त देखिन्छ। यसो गऱ्‍यौं भने सारा मानवपरिवारले सामना गर्नु परेको सबैभन्दा महत्त्वपूर्ण विवाद र त्यस विवादलाई टुङ्‌गो लगाउने परमेश्‍वरको स्पष्ट उद्देश्‍यलाई हामीले मनमा राख्न सक्नेछौं।

३. उत्पत्तिको पुस्तकको कुन भविष्यवाणीमा प्रकाशको पुस्तक लगायत सम्पूर्ण बाइबलको मुख्य विषय आधारित छ?

बाइबलको प्रथम पुस्तक उत्पत्तिले हामीलाई “सुरु” को कुरा बताउँछ। यसमा हामीले परमेश्‍वरको उत्कृष्ट पार्थिव सृष्टि अर्थात्‌ मानिस र उहाँका सृष्टिका अन्य कार्यहरूको वर्णन पाउँछौं। उत्पत्तिकै पुस्तकमा परमेश्‍वरले करीब ६००० वर्षअघि अदनको बगैंचामा स्वयं भन्‍नु भएको प्रथम ईश्‍वरीय भविष्यवाणी प्रस्तुत गरिएको छ। प्रथम स्त्री हव्वालाई धोका दिन भर्खर मात्र एउटा सर्पको प्रयोग भएको थियो; यसपछि यहोवाको आज्ञा उल्लङ्‌घन गर्दै हव्वाले आफ्नो पति आदमलाई पनि “असल र खराबको [ज्ञानको] रूखको फल खान” फुस्लाइन्‌। यो पापी दम्पतीलाई न्यायको फैसला सुनाउनु हुँदा परमेश्‍वरले सर्पलाई यसो भन्‍नुभयो: “तेरो र स्त्रीको बीचमा, र तेरो सन्तान र स्त्रीको सन्तानको बीचमा म दुश्‍मनी हालिदिनेछु। त्यसले तेरो शिर कुच्याउनेछ, र तैंले त्यसको कुर्कुच्चो डस्नेछस्‌।” (उत्पत्ति १:१; २:१७; ३:१-६, १४, १५) यसै भविष्यवाणीमाथि प्रकाशको पुस्तक लगायत सम्पूर्ण बाइबलको मूल विषय आधारित छ।

४. (क) परमेश्‍वरले प्रथम भविष्यवाणी भन्‍नु भएपछि हाम्रा प्रथम आमाबाबुलाई के भयो? (ख) प्रथम भविष्यवाणीबारे के कस्ता प्रश्‍नहरू उठ्‌छन्‌ र तिनको जवाफ जान्‍न हामीलाई किन खाँचो छ?

यो भविष्यवाणी भन्‍नेबित्तिकै परमेश्‍वरले हाम्रा प्रथम आमाबाबुलाई अदनबाट निकालिदिनु भयो। तिनीहरूले त्यस उप्रान्त प्रमोदवनमा अनन्त जीवन पाउने आशा राख्न सकेनन्‌; तिनीहरूले अदन बाहिर बाँझो जमीनमा आफ्नो बाँकी जीवन बिताउनु पऱ्‍यो। मृत्युदण्ड पाएपछि तिनीहरूबाट जन्मने सन्तान पनि पापी नै हुने भए। (उत्पत्ति ३:२३–४:१; रोमी ५:१२) तथापि अदनको बगैंचामा भनिएको भविष्यवाणीको अर्थ के हो? यसमा को को विथोलित छन्‌? प्रकाशको पुस्तकसित यसको के सम्बन्ध छ? यसले आज हाम्रोलागि के महत्त्व राख्तछ? जुन दुःखद्‌ घटनाको कारण यहोवाले त्यो भविष्यवाणी भन्‍नु भयो, त्यही घटनाका कुप्रभावहरूबाट व्यक्‍तिगत रूपमा बाँच्नका लागि हामीले उक्‍त प्रश्‍नहरूका जवाफहरू जान्‍नु अत्यावश्‍यक छ।

नाटकका मुख्य पात्रहरू

५. सर्पले हव्वालाई छकाउँदा परमेश्‍वरको सार्वभौमिकता र नाउँलाई के गरियो तर यस विवादको टुङ्‌गो कसरी लगाइनेछ?

उत्पत्ति ३:१५ को भविष्यवाणीले हव्वासित झूट बोल्ने सर्पलाई सम्बोधन गर्छ। सर्पको भनाइअनुसार हव्वाले परमेश्‍वरको आज्ञा उल्लङ्‌घन गरे तापनि तिनी मर्ने थिइनन्‌, तिनी स्वतन्त्र अथवा एउटी देवी बन्‍ने थिइन्‌। यसप्रकार सर्पले यहोवालाई झूटो ठहराउन खोज्यो। उहाँको सर्वोच्च शासन तिरस्कार गरेर पनि मानिसले उन्‍नति गर्न सक्छन्‌ भन्‍ने सङ्‌केत त्यसले गऱ्‍यो। (उत्पत्ति ३:१-५) यसप्रकार यहोवाको सार्वभौमिकतालाई चुनौती दिइयो र उहाँको असल नाउँलाई कलङ्‌कित पारियो। तर धार्मिक न्यायाधीश यहोवाले आफ्नो पुत्र येशू ख्रीष्टको राज्य शासनद्वारा कसरी आफ्नो सार्वभौमिकताको औचित्य स्थापित गर्नु हुँदै आफ्नो नाउँबाट सबै कलङ्‌क हटाउनु हुनेछ, सो वर्णन प्रकाशको पुस्तकमा पाइन्छ।—प्रकाश १२:१०; १४:७.

६. हव्वासित सर्पद्वारा बोल्ने व्यक्‍तिलाई प्रकाशको पुस्तकले कसरी चिनाउँछ?

त्यहाँ “सर्प” भन्‍नाले के एउटा वास्तविक सर्पलाई मात्र सम्बोधन गरिएको हो? पटक्कै होइन! प्रकाशको पुस्तकले हामीलाई सर्पद्वारा बोल्ने त्यो कुख्यात आत्मिक व्यक्‍ति चिन्‍ने मदत दिन्छ। त्यो “अजिङ्‌गरजस्तै पशु . . . वृद्ध साँप . . . सारा संसारलाई ठग्ने दियाबल र शैतान” ले नै “आफ्नो छलले हव्वालाई छकायो।”—प्रकाश १२:९; २ कोरिन्थी ११:३.

७. उत्पत्ति ३:१५ की स्त्री आत्मिक संसारकै हुनुपर्छ भनेर कुन कुराले सङ्‌केत गर्दछ?

यसपछि उत्पत्ति ३:१५ मा “स्त्री”-को चर्चा गरिएको छ। के ती “स्त्री” हव्वा थिइन्‌? शायद हव्वाले त्यस्तै सोचेकि थिइ होलिन्‌। (उत्पत्ति ४:१ सित तुलना गर्नुहोस्‌।) तर हव्वा आजभन्दा ५,००० वर्षअघि नै मरी सकेकी हुनाले तिनी र शैतानबीच लामो समयसम्म कुनै दुश्‍मनी कायम रहन सम्भव थिएन। यस बाहेक, यहोवा परमेश्‍वरले सम्बोधन गर्नु भएको साँप एउटा अदृश्‍य आत्मा हुनाकारण स्त्री पनि आत्मिक संसारकै हुनु पर्छ। अनि यो समझको पुष्टि प्रकाश १२:१, २ ले दिन्छ। त्यहाँ यी लाक्षणिक स्त्रीको अर्थ आत्मिक व्यक्‍तिहरूले बनेको यहोवाको स्वर्गीय सङ्‌गठन हो भनी सङ्‌केत गरिएको छ।—यशैया ५४:१, ५, १३ पनि हेर्नुहोस्‌।

दुई सन्तानहरूबीच प्रतिद्वन्दिता

८. दुई सन्तानहरूबारे भनिएको कुरामा हामीले गहिरो चासो किन लिनु पर्छ?

उत्पत्ति ३:१५ मा दुई जना सन्तानहरू देखा पर्छन्‌। यिनीहरूमा हामीले गहिरो चासो लिनु पर्छ किनभने पृथ्वीको आधिकारिक सर्वसत्ताधारी हुने विवादमा यी दुई सन्तान विथोलित छन्‌। यस विवादमा के जवान, के बूढा, हामी सबै नै विथोलित छौं। यी दुई सन्तानहरूमध्ये कुन चाहिंलाई तपाईं रुचाउनु हुन्छ?

९. सर्पको सन्तानमा को को अवश्‍य सम्मिलित छन्‌?

प्रथमतः यहाँ सर्पको सन्तानको चर्चा गरिएको छ। त्यो के हो? त्यसमा अवश्‍य पनि ती आत्मिक व्यक्‍तिहरू सम्मिलित छन्‌ जसले शैतानसित लागेर परमेश्‍वरको विरोध गरे र जसलाई पछि शैतान सङ्‌गसङ्‌गै “पृथ्वी तलमा फ्याँकियो।” (प्रकाश १२:९) शैतान अथवा बालजिबुल “भूतहरूको मालिक” हुनाले त्यसको अदृश्‍य सङ्‌गठन पनि ती प्रेतहरूले नै बनेको हुनुपर्छ।—मर्कूस्‌ ३:२२; एफिसी ६:१२.

१०. अरू पनि शैतानको सन्तानमा समावेश छन्‌ भनेर बाइबलले कसरी चिनाउँछ?

१० यस बाहेक येशूले उहाँका दिनका यहूदी धर्मगुरुहरूलाई यसो भन्‍नुभयो: “तिमीहरू ता आफ्नो पिता शैतानका तर्फबाटका हौ, औ आफ्नै पिताका अभिलाषा गर्ने इच्छा गर्छौ।” (यूहन्‍ना ८:४४) परमेश्‍वरको पुत्र येशूको विरोध गरेर ती धर्मगुरुहरूले पनि आफूलाई शैतानको सन्तान साबित गरे। शैतानको सेवा गर्दै तिनीहरूले उसलाई नै आफ्नो लाक्षणिक पिता माने र आफूलाई पनि उसैको सन्तान तुल्याए। यस प्रकार इतिहासभरि अरू थुप्रै मानिसहरूले शैतानको इच्छा गर्दै तथा येशूका अनुयायीहरूलाई सताउदै र विरोध गर्दै आफूलाई शैतानकै सन्तान साबित गरेका छन्‌। शैतानको दृश्‍य पार्थिव सङ्‌गठन पनि सामूहिक रूपमा त्यस्तै मानिसहरूले बनेको छ।—यूहन्‍ना १५:२०; १६:३३; १७:१५ पनि हेर्नुहोस्‌।

स्त्रीको सन्तानको पहिचान

११. कैयौं शताब्दीहरूको दौडान परमेश्‍वरले स्त्रीको सन्तानबारे के प्रकट गर्नु भयो?

११ उत्पत्ति ३:१५ को भविष्यवाणीले अन्तमा स्त्रीको सन्तानको चर्चा गर्दछ। शैतानले एकातिर आफ्नो सन्तान बढाउँदा, अर्कोतिर यहोवाको “स्त्री” अर्थात्‌ पत्नी जस्ती स्वर्गीय सङ्‌गठनद्वारा सन्तान उत्पन्‍न गर्ने तयारी यहोवाले गर्नुहुँदै थियो। त्यस सन्तानको आगमनसित सम्बन्धित विवरण यहोवाले आज्ञाकारी र ईश्‍वरभीरू मानिसहरूलाई करीब ४००० वर्षसम्म क्रमानुसार प्रकट गर्नु भयो। (यशैया ४६:९, १०) अतः अब्राहाम, इसहाक, याकूब र केही अन्य जनहरूले तिनीहरूकै वंशमा त्यो सन्तान जन्मनेछ भन्‍ने प्रतिज्ञामाथि आफ्नो विश्‍वास बढाउन सके। (उत्पत्ति २२:१५-१८; २६:४; २८:१४) यहोवाका यस्ता सेवकहरूको अटल विश्‍वासको कारण तिनीहरूलाई शैतान र त्यसका पिछलग्गूहरूले अक्सर सताउने गर्थे।—हिब्रू ११:१, २, ३२-३८.

१२. (क) कहिले र कुन घटना हुँदा स्त्रीको सन्तानको प्रमुख भाग आउनु भयो? (ख) येशूलाई कुन उद्देश्‍यले अभिषेक गरियो?

१२ आखिर, हाम्रो सामान्य युगको २९ सालमा सिद्ध पुरुष येशू यर्दन नदीमा बप्तिस्मा लिन अघि सर्नुभयो। त्यहाँ यहोवाले उहाँलाई पवित्र आत्माद्वारा नयाँगरी जन्म दिनु हुँदै यसो भन्‍नु भयो: “यिनी मेरो प्यारो पुत्र हुन्‌, जोसँग म खुशी छु।” (मत्ती ३:१७) येशूलाई परमेश्‍वरको आत्मिक सङ्‌गठनबाट पठाइएको हो भनेर त्यहाँ स्पष्ट पारियो। येशूलाई स्वर्गीय राज्यको राजा हुन पनि अभिषेक गरियो। त्यही राज्यले सरकार अथवा सार्वभौमिकतासम्बन्धी विवादको फैसला एकै पटक सधैंका लागि गरेर सारा पृथ्वीमाथि यहोवाको नाउँ र शासन पुनःस्थापित गर्ने थियो। (प्रकाश ११:१५) अतः स्त्रीको सन्तानको प्रमुख व्यक्‍ति अथवा प्रतिज्ञा गरिएको मसीह येशू नै हुनुहुन्छ।—गलाती ३:१६; दानिएल ९:२५ सित तुलना गर्नुहोस्‌।

१३, १४. (क) स्त्रीको सन्तान केवल एक जना प्रमुख व्यक्‍ति मात्र हुने होइन भनेर थाह पाउँदा हामी किन छक्क पर्नु हुँदैन? (ख) स्त्रीको सन्तानको दोस्रो भाग हुनका लागि परमेश्‍वरले मानवजातिबाट कति जना रोज्नु भएको छ र तिनीहरू जम्मै मिलेर कुन सङ्‌गठन बनिन्छ? (ग) स्त्रीको सन्तानसित एकताबद्ध भएर अरू कसले पनि सेवा गर्छन्‌?

१३ तर स्त्रीको सन्तान भनेको एक जना प्रमुख व्यक्‍ति मात्र हुने हो र? शैतानको सन्तानबारे हामीले के देख्यौं? बाइबलअनुसार दुष्ट स्वर्गदूतहरूको एउटा ठूलो पल्टन र ईश्‍वरको अपमान गर्ने मानिसहरू सबै शैतानका सन्तान हुन्‌। यसकारण मसीही सन्तान येशू ख्रीष्टसित पूजाहारी र सह-शासक हुनका लागि परमेश्‍वरले पनि मानवजातिबाट १,४४,००० निष्ठावान व्यक्‍तिहरूलाई रोज्नु भएको कुरा सुन्दा हामी छक्क पर्नु हुँदैन। यी छानिएका जनहरूलाई नै सङ्‌केत गर्दै प्रकाशको पुस्तक भन्छ, परमेश्‍वरको पत्नीस्वरूप सङ्‌गठनसित दुश्‍मनी गर्दै तिनको “बाँकी सन्तानहरूसँग” दियाबल “युद्ध गर्न गयो।”—प्रकाश १२:१७; १४:१-४.

१४ बाइबलमा अभिषिक्‍त मसीहीहरूलाई येशूका भाइहरू भन्‍ने गरिन्छ। अतः तिनीहरूका र येशूका पिता तथा माता एकै हुनुपर्छ। (हिब्रू २:११) तिनीहरूका पिता यहोवा परमेश्‍वर हुनुहुन्छ। तिनीहरूकी माता चाहिं ती “स्त्री” अर्थात्‌ परमेश्‍वरकी पत्नी स्वरूप स्वर्गीय सङ्‌गठन हुनुपर्छ। प्रतिज्ञा गरिएको सन्तानको प्रमुख भाग येशू हुनु भएकोले यी अभिषिक्‍त मसीहीहरू चाहिं सन्तानको दोस्रो भाग हुन्‌। पृथ्वीमा यी आत्माद्वारा अभिषिक्‍त मसीहीहरूको मण्डलीबाट नै परमेश्‍वरको दृश्‍य सङ्‌गठन बनेको हुन्छ। यो दृश्‍य सङ्‌गठन परमेश्‍वरको पत्नी स्वरूप स्वर्गीय सङ्‌गठनको अधीनमा हुन्छ। तर पुनरुत्थानपछि अन्ततः सबै अभिषिक्‍त मसीहीहरू येशू ख्रीष्टसित स्वर्गमा एक हुनेछन्‌। (रोमी ८:१४-१७; गलाती ३:१६, २९) तर आज लाखौं अरू भेडाहरू त्यस सन्तानको भाग नभए तापनि तिनीहरू पृथ्वीमा परमेश्‍वरको सङ्‌गठनसित सेवा गर्न एकत्रित भइरहेका छन्‌। के तपाईं पनि ती अरू भेडामध्येको एक जना हुनुहुन्छ? हुनुहुन्छ भने तपाईंले पार्थिव प्रमोदवनमा अनन्त जीवन पाउने आनन्दमय आशा राख्न सक्नुहुन्छ।—यूहन्‍ना १०:१६; १७:१-३.

दुश्‍मनी कसरी बढ्‌दै गयो

१५. (क) शैतानको सन्तानमा कसरी मानिसहरू र स्वर्गदूतहरू समाविष्ट हुँदै गए, वर्णन गर्नुहोस्‌। (ख) नूहको पालोको जलप्रलयमा शैतानको सन्तानलाई के भयो?

१५ मानव इतिहासको सुरुदेखि नै शैतानको सन्तान प्रकट हुन थाल्यो। उदाहरणका लागि, मानव परिवारमा जन्मेको सबैभन्दा पहिलो व्यक्‍ति कयिन “दुष्टबाटको थियो र [उसले] आफ्नो भाइलाई माऱ्‍यो।” (१ यूहन्‍ना ३:१२) यस बाहेक “परमप्रभु आफ्ना हजारौं पवित्र जनहरूका साथमा सबैको इन्साफ गर्नालाई र सबै अधर्मीहरूमाथि तिनीहरूले अधर्मसँग गरेका तिनीहरूका सबै अधर्मी कामहरूका विषयमा र अधर्मी पापीहरूले उहाँका विरुद्धमा बोलेका सबै कठोर कुराहरूको दोष प्रकट गर्नालाई” आउनु हुनेछ भनेर केही समयपछि हनोकले भने। (यहूदा १४, १५) अर्कोतिर, विरोधी स्वर्गदूतहरू पनि शैतानसित लागेर त्यसको सन्तानको एउटा भाग हुन गए। यी स्वर्गदूतहरूले मानिसहरूकी छोरीहरूसित विवाह गर्न स्वर्गमा ‘आफ्ना घरबार छाडेर’ मानवरूप धारण गरे। तिनीहरूका छोराहरू वर्णसङ्‌कर तथा साधारण मानिसहरूभन्दा धेरै नै शक्‍तिशाली व्यक्‍तिहरू भए। यिनीहरूले आफूभन्दा कमजोरहरूको थिचोमिचो गर्थे। संसार हिंसा र खराबीले भरियो। यहाँसम्म कि परमेश्‍वरले त्यो संसारलाई जलप्रलयद्वारा नष्ट पार्नु भयो। मानिसहरूमध्येबाट विश्‍वासी नूह र उनको परिवार मात्र बाँचे। शैतानको वशमा परेका प्रेतहरू तथा ती अनाज्ञाकारी स्वर्गदूतहरू आफ्ना दण्डित पत्नीहरू र वर्णसङ्‌कर छोराहरू त्याग्न बाध्य भए। तिनीहरू फेरि आत्मिकरूप धारण गरेर आत्मिक व्यक्‍तिहरू बस्ने संसारमा फर्के। त्यहाँ तिनीहरू शैतान र त्यसको सन्तानमाथि निकट भविष्यमा आउने परमेश्‍वरको न्यायिक दण्ड पर्खेर बसिरहेका छन्‌।—यहूदा ६; उत्पत्ति ६:४-१२; ७:२१-२३; २ पत्रुस २:४, ५.

१६. (क) जलप्रलयपछि कुन तानाशाह देखा पऱ्‍यो र उसले स्वयंलाई शैतानको सन्तान कसरी साबित गऱ्‍यो? (ख) बेबिलोनको धरहरा बनाउन खोज्नेहरूलाई परमेश्‍वरले कसरी विफल पारिदिनुभयो?

१६ जलप्रलयको थोरै समयपछि निम्रोद नाउँ भएको एक जना तानाशाह पृथ्वीमा देखा पऱ्‍यो। बाइबलमा दिएको वर्णनअनुसार ऊ “परमप्रभुको [विरुद्धमा, NW] शक्‍तिशाली शिकारी” थियो। निस्सन्देह, ऊ पनि सर्पकै सन्तानको एउटा भाग हुनुपर्छ। शैतानले जस्तै उसले पनि विरोधको भाव प्रकट गऱ्‍यो। मानिसजाति सबै ठाउँ फैलिएर पृथ्वीलाई ढाकून्‌ भन्‍ने परमेश्‍वरको उद्देश्‍य थियो। तर यस उद्देश्‍यको विरोध गर्दै निम्रोदले बेबिलोनको शहर बनायो। अनि त्यस शहरमा तिनीहरूले “टुप्पो स्वर्गसम्मै पुग्ने धरहरा” बनाउने फैसला गरे। तर त्यो धरहरा बनाउन खोज्ने मानिसहरूको प्रयासलाई परमेश्‍वरले विफल पारिदिनु भयो। उहाँले तिनीहरूको भाषा खलबलाइ दिनु भयो र “त्यहाँबाट तिनीहरूलाई जम्मै पृथ्वीभरि तितर-बितर पारिदिनुभयो।” तथापि बेबिलोनलाई चाहिं यथावत रहन दिनु भयो।—उत्पत्ति ९:१; १०:८-१२; ११:१-९.

राजनैतिक शक्‍तिहरू देखा पर्छन्‌

१७. मानवजातिको सङ्‌ख्या बढ्‌दै जाँदा मानवपरिवारको एउटा कुन भ्रष्ट पक्ष देखा पऱ्‍यो र यसैको परिणामस्वरूप कुन कुन ठूलठूला साम्राज्यहरू खडा भए?

१७ बेबिलोनमा मानव समाजका केही यस्ता पक्षहरू देखा परे जो पछि गएर यहोवाको सार्वभौमिकताको विरुद्धमा बढ्‌दै गए। ती पक्षहरूमध्ये एउटा त राजनीति थियो। मानवजातिको सङ्‌ख्या बढ्‌दै जाँदा निम्रोदको उदाहरण अनुसरण गर्ने अथवा शक्‍ति आफ्नो हातमा लिन खोज्ने उच्चाभिलाषी मानिसहरू पनि देखा पर्न थाले। मानिसले मानिसमाथि प्रभुत्व जमाउँदै आफ्नै खति गर्न थाले। (उपदेशक ८:९) उदाहरणका लागि, अब्राहामको पालोमा सदोम, गमोरा र नजिकका अन्य शहरहरूलाई शिनार तथा टाढा-टाढाका देशहरूका राजाहरूले कब्जा गरे। (उत्पत्ति १४:१-४) अन्ततः सेना र विभिन्‍न सङ्‌गठनहरूका टाठा-बाठा मानिसहरूले आफ्नै महिमा र भौतिक लाभका लागि विशाल साम्राज्यहरू स्थापित गरे। बाइबलमा मिस्र, अश्‍शूर, बेबिलोन, मादी-फारसी, युनान र रोम जस्ता केही साम्राज्यहरूबारे चर्चा गरिएको छ।

१८. (क) राजनैतिक शासकहरूप्रति परमेश्‍वरका जनहरूले के कस्तो मनोवृत्ति अपनाउँछन्‌? (ख) राजनैतिक शक्‍तिहरू कहिलेकाहीं परमेश्‍वरकै कामकुराका लागि कसरी उपयोगी भएका छन्‌? (ग) थुप्रै शासकहरूले आफूलाई सर्पको सन्तान कसरी साबित गरेका छन्‌?

१८ यहोवाले ती राजनैतिक शक्‍तिहरूलाई रहिरहन दिनु भयो। ती शक्‍तिहरूको वशमा परेका देशहरूमा बस्नु पर्दा उहाँका जनहरू पनि सापेक्षिक तवरमा आज्ञाकारी हुन्थे। (रोमी १३:१, २) कुनै कुनै बेला त परमेश्‍वरका उद्देश्‍यहरू पूरा गराउन तथा उहाँका जनहरूलाई बचाउन ती राजनैतिक शक्‍तिहरू उपयोगी हुन्थे। (एज्रा १:१-४; ७:१२-२६; प्रेरित २५:११, १२; प्रकाश १२:१५, १६) तर अधिकांश राजनैतिक शासकहरूले चाहिं साँचो उपासनाको घोर विरोध गरेका छन्‌। तिनीहरूले आफूलाई सर्पको सन्तान साबित गरेका छन्‌।—१ यूहन्‍ना ५:१९.

१९. प्रकाशको पुस्तकमा विश्‍वशक्‍तिहरूलाई कसरी चित्रित गरिएको छ?

१९ भनौं भने, हामी मानवहरूलाई आनन्दित तुल्याउन अथवा हाम्रा समस्याहरूको समाधान गर्न मानवीय शासन एकदमै असफल भएको छ। यहोवाले मानवजातिलाई हरप्रकारको सरकार चलाएर हेर्ने मौका दिनु भयो। तर यी सरकारहरूले मानिसहरूमाथि गरेको थिचोमिचो अथवा भ्रष्टाचारलाई चाहिं उहाँ समर्थन गर्नु हुन्‍न। (हितोपदेश २२:२२, २३) प्रकाशको पुस्तकमा अत्याचारी विश्‍व-शक्‍तिहरूलाई एउटा अहङ्‌कारी जङ्‌गली जनावरको रूपमा चित्रित गरिएको छ।—प्रकाश १३:१, २.

स्वार्थी व्यापारीहरू

२०, २१. शैतानको दुष्ट सन्तानका “सेनापतिहरू” र “ठूला मानिसहरू” मा अर्को कुन दोस्रो समूह पनि सम्मिलित हुनै पर्छ र किन?

२० भौतिक मालसामानका बेइमान व्यापारीहरू पनि समयमा देखा परे। यिनीहरूले राजनैतिक नेताहरूसङ्‌ग निकटतम सम्बन्ध गाँसेका छन्‌। प्राचीन बेबिलोनका भग्नावशेषहरूद्वारा थाह लागेको छ कि आपतविपतमा परेका आफ्ना सङ्‌गीमानिसहरूबाट नाजायज फायदा उठाउने व्यापारिक चलनहरू त्यतिखेर निकै नै प्रचलित थिए। तर आज पनि विश्‍वभरिका व्यापारीहरूले सबै कामकुरा आफ्नै स्वार्थका लागि गर्न छाडेका छैनन्‌। अतः कुनै कुनै देशहरूमा थोरै मानिसहरू अति नै धनसम्पन्‍न छन्‌ भने बाँकी धेरै जसो चाहिं साह्रै गरीब हुन्छन्‌। यस औद्योगिक युगमा व्यापारीहरू र उत्पादकहरूले राजनैतिक शक्‍तिहरूलाई डरलाग्दा र नष्टकारी हतियारहरू उपलब्ध गराइ दिएका छन्‌। साथै अहिले आम-विनाशकारी हतियारहरू ठूलो चिन्ताको विषय बनेका छन्‌। यी सबैबाट ती व्यापारीहरूले धेरै नै मुनाफा कमाएका छन्‌। यसप्रकारका लोभी व्यापारी सेठहरू तथा तिनीहरू जस्तै अन्य व्यक्‍तिहरू निश्‍चय पनि शैतानको दुष्ट सन्तानका “सेनापतिहरू” र “ठूला मानिसहरू” मा सम्मिलित छन्‌। तिनीहरू जम्मै त्यस पार्थिव सङ्‌गठनका भाग हुन्‌ जसलाई परमेश्‍वर र येशू ख्रीष्टले विनाशको योग्य ठान्‍नु भएको छ।—प्रकाश १९:१८.

२१ भ्रष्ट राजनीति र लोभी व्यापारबाहेक मानव समाजको एउटा अर्को हिस्सा छ र यो हिस्सा पनि परमेश्‍वरको प्रतिकूल इन्साफ पाउने योग्यको छ। अब यो हिस्सा के हो? यस विश्‍वव्यापी र प्रसिद्ध भागबारे प्रकाशको पुस्तकमा के भनिएको छ, सो सुनेर तपाईं छक्क पर्नु होला।

महान बेबिलोन

२२. प्राचीन बेबिलोनमा कुन प्रकारको धर्मको विकास भयो?

२२ सुरुमा बेबिलोनको निर्माण कुनै एउटा राजनैतिक अभियान मात्र थिएन। यहोवाको सार्वभौमिकताको विरुद्धमा त्यो शहर स्थापित भएको हुनाले त्यसमा धर्मको पनि पूरै हात थियो। वास्तवमा, प्राचीन बेबिलोन धार्मिक मूर्तिपूजाको खास केन्द्र हुन गयो। मृत्युपछि पनि मानव आत्मा अमर रहन्छ र त्यो आत्मा अनन्तकालीन शासना र सन्ताप भोग्न प्रेतहरूद्वारा शासित अर्को लोकमा जान्छ भन्‍ने ईश्‍वरनिन्दक शिक्षाहरू बेबिलोनका पूजारीहरूले सिकाए। तिनीहरूले सृष्टिका अन्य थोक र थुप्रै देवी-देवताको उपासनालाई पनि बढावा दिए। पृथ्वी र पृथ्वीमा मानिसको थालनीसम्बन्धी व्याख्या गर्न खोज्दा तिनीहरूले मनगढन्त दन्त्य-कथाहरू प्रस्तुत गरे। साथै, थुप्रै छोराछोरी पाउन, खेतीपाती सफल पार्न र युद्धमा विजयी हुन तिनीहरूले अश्‍लील धार्मिक रीति पुऱ्‍याउने र बलि चढाउने गर्थे।

२३. (क) बेबिलोनबाट तितरबितर हुँदा त्यहाँका मानिसहरूले आफूसित के पनि लगे र यसको परिणाम के भयो? (ख) सारा संसारलाई ढाक्ने झूटो धर्मको विश्‍वसाम्राज्यलाई प्रकाशको पुस्तकले के नाउँ दिएको छ? (ग) झूटो धर्मले सधैं के को विरोध गर्दै आएको छ?

२३ बेबिलोनबाट बेग्लाबेग्लै भाषा बोल्ने समूहहरू पृथ्वीभरि फैलिंदै जाँदा तिनीहरूले बेबिलोनी धर्म पनि सङ्‌गसङ्‌गै लगे। अतः प्राचीन बेबिलोनसित मिल्दोजुल्दो धार्मिक शिक्षाहरू युरोप, अफ्रिका, उत्तर र दक्षिण अमेरिका, सुदूर पूर्व र प्रशान्त महासागरका टापुहरूमा जताततै फैलियो; तीमध्येका कतिपय शिक्षाहरूलाई केही मानिसहरूले आजसम्मै समाति राखेका छन्‌। त्यसैकारण प्रकाशको पुस्तकमा झूटो धर्मको विश्‍वसाम्राज्यलाई महान शहर बेबिलोन भनेर सम्बोधन गरिएको छ। (प्रकाश १७ र १८ अध्यायहरू) झूटो धर्मको बीउ जहाँ जहाँ छरियो, त्यहाँ त्यहाँ भ्रष्ट पूजारीहरू, अन्धविश्‍वास, अज्ञानता र अनैतिकता फष्टाएको छ। झूटो धर्म शैतानको हातमा एउटा प्रभावकारी साधन साबित भएको छ। महान बेबिलोनले सधैं नै सर्वसत्ताधारी प्रभु यहोवाको साँचो उपासनाको चर्को विरोध गरेको छ।

२४. (क) सर्पले स्त्रीको ‘सन्तानको कुर्कुच्चो’-लाई कसरी डस्न सक्यो? (ख) स्त्रीको सन्तानले अनुभव गरेको चोटलाई केवल कुर्कुच्चोमा लागेको चोटसित किन तुलना गरिएको छ?

२४ प्रथम शताब्दीका फरिसी र सदूकीहरू सर्पको सन्तानको एउटा अति नै दोषी भाग थिए। तिनीहरूले स्त्रीको सन्तानको प्रमुख प्रतिनिधिलाई सताउन र अन्ततः मारी नै दिने काममा अगुवाइ लिए। यसप्रकार त्यो सर्पको सन्तानले स्त्रीको ‘सन्तानको कुर्कुच्चो डस्न’ सक्यो। (उत्पत्ति ३:१५; यूहन्‍ना ८:३९-४४; प्रेरित ३:१२, १५) यसलाई केवल कुर्कुच्चोको चोट किन भनिन्छ? किनभने यस चोटले स्त्रीको सन्तानलाई पृथ्वीमा थोरै समयका लागि मात्र असर पाऱ्‍यो। यो कुनै स्थायी चोट थिएन। यहोवाले येशूलाई तेस्रो दिनमा पुनःजीवित पार्नु भएर उहाँलाई आत्मिक जीवन प्रदान गर्नु भयो।—प्रेरित २:३२, ३३; १ पत्रुस ३:१८.

२५. (क) महिमित पारिनु भएको येशूले शैतान र त्यसका दूतहरूको विरुद्धमा कसरी कदम चालिसक्नु भएको छ? (ख) शैतानको पार्थिव सन्तानलाई कहिले हटाइनेछ? (ग) परमेश्‍वरको स्त्रीको सन्तानले सर्प अर्थात्‌ शैतानको “शिर” कुच्याउनुको अर्थ के हुनेछ?

२५ महिमित पारिनु भएको येशू ख्रीष्ट अब परमेश्‍वरको दाहिने हातमा हुनु हुन्छ। त्यहाँबाट उहाँले परमेश्‍वरका दुश्‍मनहरूमाथि न्याय गर्नु हुँदैछ। उहाँले शैतान र त्यसका स्वर्गदूतहरूको विरुद्धमा कदम चालिसक्नु भएको छ। उहाँले तिनीहरूलाई पृथ्वी तलमा फ्याँकिदिनु भएर तिनीहरूको गतिविधिलाई सीमित पारिदिनु भएको छ। यसैको परिणामस्वरूप आज हाम्रो समयमा विपत्तिहरू बढेको बढेकै छ। (प्रकाश १२:९, १२) तर परमेश्‍वरले महान बेबिलोन र शैतानको बाँकी जम्मै पार्थिव सङ्‌गठनहरूमाथि न्याय गर्नु हुँदा चाहिं अग्रिमवाणी गरिएअनुसार शैतानको पार्थिव सन्तान हटाइनेछ। अन्तमा परमेश्‍वरको स्त्रीको सन्तानले त्यो धूर्त सर्पको “शिर कुच्याउनेछ”। त्यो सम्पूर्णतया नाश हुनेछ र मानवजातिको गतिविधिमा त्यसले उप्रान्त कहिले पनि हात हाल्न पाउने छैन।—रोमी १६:२०.

२६. प्रकाशको पुस्तकको भविष्यवाणीलाई जाँच गर्नु किन अत्यावश्‍यक छ?

२६ यी सबै कसरी पूरा हुनेछन्‌? यही कुरालाई बाइबलमा प्रकाशको पुस्तकले हाम्रालागि उघारिदिएको छ। दर्शनहरूको श्रृङ्‌खलाद्वारा त्यो प्रकट गरिएको छ। प्रभावशाली चिह्नहरू र प्रतीकहरूले त्यसमाथि ज्योति चम्काएको छ। आउनुहोस्‌, ठूलो अभिरुचिसाथ हामी यस शक्‍तिशाली भविष्यवाणीको जाँच गरौं। प्रकाशका शब्दहरू सुन्यौं र पालन गऱ्‍यौं भने हामी वास्तवमा आनन्दित हुनेछौं! हामीले सार्वभौमसत्ताधारी प्रभु यहोवाको नाउँलाई महिमित पार्नमा भाग लिने छौं र उहाँबाट अनन्तकालीन आशिष पाउने छौं। कृपया पढ्‌दै जानु होस्‌ र सिकेका कुराहरूलाई बुद्धिमानीका साथ प्रयोगमा ल्याउनु होस्‌। सो गर्नु भयो भने, मानव-इतिहास आफ्नो चरमोत्कर्षमा पुगेको यस बखतमा तपाईंले मुक्‍ति पाउन सक्नुहुन्छ।

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १३-मा भएको पेटी/चित्र]

व्यापारिक लेनदेनसम्बन्धी प्राचीन क्यूनिफर्म लेखहरू

जेम्स बी. प्रिचर्डद्वारा सम्पादित एन्शन्ट नियर इस्टर्न टेक्स्ट्‌स पुस्तकमा करीब ३०० नियमहरू छन्‌ जसको सङ्‌कलन हामुराबीले बेबिलोनी समयमा गरेका थिए। तत्कालीन व्यापारिक संसारमा प्रचलित खुलेआम बेइमानीको भर्त्सना गर्न आवश्‍यक भएको कुरा यी नियमहरूबाट देख्न सकिन्छ। उदाहरणका लागि: “कुनै प्रतिष्ठित व्यक्‍तिले अर्को प्रतिष्ठित व्यक्‍तिको छोरा अथवा दासको हातबाट केही साक्षीहरू अथवा उचित कागत-पत्र बिना चाँदी, सुन, दास, दासी, गोरु, भेडा, गधा वा अरू कुनै पनि चीज किन्यो अथवा सुरक्षित राखिदिनका लागि थाप्यो भने, त्यो प्रतिष्ठित व्यक्‍ति चोर हो र उसलाई मार्नैपर्छ।”