सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बेबिलोनको नाश हुँदा शोक र हर्ष

बेबिलोनको नाश हुँदा शोक र हर्ष

अध्याय ३७

बेबिलोनको नाश हुँदा शोक र हर्ष

१. महान बेबिलोन अचानक नष्ट हुँदा “पृथ्वीका राजाहरूले” के कस्तो प्रतिक्रिया व्यक्‍त गर्नेछन्‌?

 बेबिलोनको नाश यहोवाका जनहरूका लागि सुसमाचार हो। तर जाति जातिहरूका लागि नि? यसको जवाफ यूहन्‍नाले दिन्छन्‌: “औ त्यो जलेको धुवाँ देखेर त्यससँग व्यभिचार गर्ने र सुख-विलासमा रहने पृथ्वीका राजाहरू त्यसको निम्ति रुने र बिलौना गर्नेछन्‌। त्यसको वेदनाको डरले टाढा उभिएर तिनीहरू यसो भन्‍नेछन्‌, ‘हाय! हाय! त्यो ठूलो शहर बेबिलोन, त्यो बलियो शहर! किनकि एकै घण्टामा तँमाथिको इन्साफ आएको छ!’ ”—प्रकाश १८:९, १०.

२. (क) रातो रङ्‌गको जनावरका प्रतीकात्मक सिङहरूले नै महान बेबिलोनलाई नष्ट गर्दा उसको पतनमाथि “पृथ्वीका राजाहरू” किन शोकित हुन्छन्‌? (ख) ती शोकित राजाहरू त्यो नाश हुन लागेको शहरदेखि किन टाढै उभिन्छन्‌?

राष्ट्रहरूको यो प्रतिक्रिया देखेर हामी छक्क पर्न सक्छौं। किनकि त्यो रातो रङ्‌गको जनावरकै दशवटा सिङहरूले बेबिलोनलाई नष्ट पारेको हो। (प्रकाश १७:१६) तर महान बेबिलोनको उपयोगिता ऊ खतम भइसकेपछि मात्र “पृथ्वीका राजाहरूले” महसुस गर्दछन्‌। जनतालाई शान्त र वशमा राख्न महान बेबिलोनले ठूलो भूमिका निभाउने गर्थ्यो। पादरीहरूले युद्धहरूलाई पवित्र घोषित गरी दिन्थे। सिपाही भर्ना गरी दिने दलालको काम गर्थे। युवकहरूलाई युद्धमा अग्रसर हुने प्रोत्साहन दिन्थे। धर्म पवित्रताको पर्दा जस्तै थियो। त्यसको पछि लुकेर भ्रष्ट शासकहरूले जनसाधारणमाथि थिचोमिचो गर्थे। (यर्मिया ५:३०, ३१; मत्ती २३:२७, २८-तुलना गर्नुहोस्‌) तर अब हेर्नुहोस्‌। यी शोकाकुल राजाहरू त्यो नाश भइ रहेको शहरदेखि टाढै उभिन्छन्‌। तिनीहरू उसलाई मदत दिन नजिक जाँदै जाँदैनन्‌। तिनीहरू उसको विनाश देखेर शोकित छन्‌। तर उसको निम्ति खतरा मोल्न तयार छैनन्‌।

व्यापारीहरू रुन्छन्‌ र विलौना गर्छन्‌

३. महान बेबिलोनको नाश हुँदा अरू कसले पनि खेद प्रकट गर्छन्‌ र यसका लागि यूहन्‍नाले कुन कारणहरू प्रस्तुत गर्छन्‌?

महान बेबिलोन बितेर जाँदा राजाहरूले मात्र खेद प्रकट गर्दैनन्‌। “औ पृथ्वीका व्यापारीहरू त्यसको निम्ति रुने र बिलौना गर्नेछन्‌। किनभने कुनै मानिसले तिनीहरूका व्यापारका मालताल फेरि किन्दैनन्‌, अर्थात्‌ सुन, चाँदी, रत्न, मोती, र मसिनो सुती कपडा, बैजनी रङ्‌ग, रेशम, चहकिलो रातो रङ्‌ग, र सबै सुगन्धित काठ, हरेक हस्ती-हाडका भाँडा र हरेक बहुमूल्य काठ, पीतल, फलाम र सिङ्‌गमरमर ढुङ्‌गाले बनेका भाँडा, औ दालचिनी, मसाला, धूप, सुगन्धित मलहम, लोबान, धूप, मद्य, तेल, मसिनो पीठो, गहुँ, गाई-भैंसी, भेडाहरू, घोडाहरू, रथहरू, कमाराहरू, र मानिसका प्राणहरूका व्यापारका मालताल। औ तिम्रो प्राणले इच्छा गरेका फसल तिमीबाट [महान बेबिलोन] गएका छन्‌, र सबै स्वादिष्ट र प्रचूर खर्च हुने खानेकुराहरू तिमीबाट नष्ट भएका छन्‌। औ मानिसहरूले ती कहिल्यै पाउने छैनन्‌।”—प्रकाश १८:११-१४.

४. महान बेबिलोन खतम हुँदा व्यापारीहरू किन विलाप गर्छन्‌?

हो, महान बेबिलोन धनसम्पन्‍न व्यापारीहरूको घनिष्ठ मित्र र असल ग्राहक थियो। उदाहरणका लागि, मसीहीजगतले आफ्ना चर्चहरू र पादरीका औपचारिक निवासहरूमा बितेका शताब्दीहरूको दौडान प्रचुर मात्रामा सुन, चाँदी, रत्न, किम्मती काठपात र अन्य किसिमको भौतिक धन ठूलो मात्रामा थुपार्दै आएको छ। ख्रीष्टको नाउँलाई अपमानित पार्ने क्रिस्मस र अन्य पवित्र भनौंदा चाडहरूमा गरिने फजुल खर्च र मतवालापनलाई अनुमोदन दिएको छ। मसीहीजगतका मिसनरीहरूले टाढा-टाढाका देशहरूमा गएर यस संसारका “व्यापारीहरू”का लागि नयाँ नयाँ बजार खोलिदिएका छन्‌। व्यापारीहरूसित जापान प्रवेश गरेको क्याथोलिक धर्मले १७ औं शताब्दीमा त्यहाँका सामन्तीहरूको युद्धमा समेत भाग लिन थाल्यो। ओसाका किल्लाका पर्खालहरूमनि लडिएको निर्णायक युद्धबारे दी इनसायक्लोपिडिया ब्रिटानिका यसो भन्छ: “क्रुसको चम्किलो चिन्हका साथै मुक्‍तिदाता र स्पेनको रक्षक सन्त जेम्सका प्रतिमाहरू भएको झन्डा फरफराउँदै आउने शत्रुहरूसित टोकुगावा सेनाहरूले लडाइँ लडिरहेका थिए।” तर विजयी पक्षले क्याथोलिक धर्मावलम्बीहरूलाई शास्ती ख्वाइ-ख्वाइ देशबाट नामेट पारी दियो। यस्तैगरी आज पनि सांसारिक गतिविधिहरूमा भाग लिएर चर्चले कुनै हालतमा पनि आशिष पाउने छैन।

५. (क) स्वर्गबाट आउने आवाजले “व्यापारीहरू”को शोकको अझै वर्णन कसरी गर्छ? (ख) “व्यापारीहरू” पनि किन “टाढै उभिन्छन्‌”?

स्वर्गबाट निस्कने आवाजले अझ अगाडि यसो भन्छ: “त्यसबाट धनी बनेका यी थोकहरूका व्यापारीहरू त्यसको वेदना, रूवाबासी र बिलौनाको डरले यसो भन्दै टाढै उभिनेछन्‌, ‘हाय, हाय, त्यो ठूलो शहर, जो मसिनो सुती कपडाका बैजनी र चहकिलो रातो लुगा लगाएर सुन, रत्न र मोतीहरूले सिंगारिएको छ! किनभने एकै घण्टामा यति धेरै धन उजाड भएको छ।” (प्रकाश १८:१५-१७क) महान बेबिलोनको विनाशका साथसाथै ती “व्यापारीहरूले” आफ्नो कारोबार-साझेदार खतम भएको देखेर शोक मनाउँछन्‌। हो, तिनीहरूले “हाय, हाय” नै गर्नुपर्छ। तर हेर्नुहोस्‌, तिनीहरूले यो शोक मनाउनु पछाडि पनि स्वार्थ लुकेको छ। तिनीहरू ती राजाहरूजस्तै “टाढै उभिन्छन्‌।” तिनीहरू महान बेबिलोनलाई कुनै किसिमको मदत दिन नजिक जाँदैनन्‌।

६. स्वर्गबाट आउने आवाजले जहाजका मालिक र नाविकहरूले गरेको बिलौनाको वर्णन कसरी गर्छ?

बयान अझ यसो भन्छ: “औ हरेक जहाजका मालिक, जहाजमा जताजतै यात्रा गर्ने हरेक नाविकहरू र समुद्रबाट आफ्ना जीविका चलाउने जति सबै जना टाढा उभिए, र त्यो जलेको धुवाँ हेरेर यसो भनी कराए, ‘त्यो महान शहर जस्तो कुन शहर छ? औ तिनीहरूले आफ्ना आफ्ना टाउकोमा घूलो हालेर रूँदै र बिलौना गर्दै यसो भनेर कराए, ‘हाय, हाय त्यो महान शहर, जसको सम्पत्तिको कारण समुद्रमा जहाज हुनेहरू सबै जना धनी भएका थिए! किनभने एकै घण्टामा त्यो नष्ट भएको छ।” (प्रकाश १८:१७ख-१९) पुरातन बेबिलोन एउटा व्यापारिक शहर थियो जसका थुप्रै पानी जहाजहरू थिए। यस्तैगरी महान बेबिलोनले पनि “पानीहरू” जस्तै आफ्ना मानिसहरूद्वारा निकै व्यापार गर्छ। यसैबाट उसका थुप्रै धर्मावलम्बीहरूले आफ्नो जीविका चलाउँछन्‌। यिनीहरूका लागि महान बेबिलोनको नाश ठूलो आर्थिक नोक्सान हुनेछ! तिनीहरूले आफ्नो जीविकाका लागि ऊजस्तो अर्को स्रोत फेरि कहिले पाउने छैनन्‌।

उसको ह्रासमाथि हर्ष

७, ८. स्वर्गबाट आउने आवाजले महान बेबिलोनसम्बन्धी आफ्नो सन्देश कसरी टुङ्‌ग्‌याउँछ र ती शब्दहरूको पालना कसले गर्नेछन्‌?

प्राचीन बेबिलोन मादी र फारसीहरूद्वारा पराजित हुँदा यर्मियाले यी भविष्यवाणीरूपी शब्दहरू भने: “तब स्वर्ग र पृथ्वी र तिनमा भएका सबै बाबेलको हारमा आनन्दले गाउनेछन्‌।” (यर्मिया ५१:४८) महान बेबिलोन नष्ट हुँदा स्वर्गबाट निस्कने आवाजले आफ्नो सन्देशको चरमोत्कर्ष छुँदै महान बेबिलोनबारे यसो भन्छ: “हे स्वर्ग, पवित्र जनहरू, प्रेरितहरू र अगमवक्‍ता हो, त्यसको निम्ति रमाओ। किनभने परमेश्‍वरले तिमीहरूको इन्साफ त्यसैमाथि गर्नुभएको छ।” (प्रकाश १८:२०) परमेश्‍वरको यो पुरानो शत्रुको नाश देखेर यहोवा र स्वर्गदूतहरूका साथै पुनरुत्थान भएर स्वर्गमा २४ प्राचीनको प्रबन्धअनुसार आ-आफ्नो स्थान लिइसकेका प्रेरितहरू र प्राचीन मसीही अगमवक्‍ताहरू पनि हर्षित हुनेछन्‌।—भजन ९७:८-१२-तुलना गर्नुहोस्‌.

निःसन्देह, सबै नै “पवित्र जनहरू”—पुनरुत्थानपश्‍चात्‌ स्वर्गमा पुगिसकेका वा पृथ्वी मै बाँचिरहेका—सबै नै ठूलो भीडका अरू भेडाहरूसित आनन्दले कराउनेछन्‌। समयमा प्राचीन जमानाका जम्मै विश्‍वासी जनहरू पुनरुत्थानद्वारा त्यो नयाँ रीतिरिवाजमा सम्मिलित हुनेछन्‌ र तिनीहरूले पनि त्यो हर्षोल्लासमा भाग लिनेछन्‌। झूटो धर्म मान्‍ने मानिसहरूले जति नै सताए तापनि परमेश्‍वरका जनहरूले तिनीहरूसित बदला लिने प्रयास गरेका छैनन्‌। उनीहरूले यहोवाका यी शब्दहरूलाई सम्झिराखेका छन्‌: “ ‘बदला लिने काम मेरो हो।’ परमप्रभु भन्‍नु हुन्छ।” (रोमी १२:१९; व्यवस्था ३२:३५, ४१-४३) अब भने यहोवाले बदला लिनु भएको छ। महान बेबिलोनले बगाएको जम्मै रगतको बदला लिइसकेको हुनेछ।

एउटा ठूलो जाँतो फालिन्छ

९, १०. (क) एउटा बलवान स्वर्गदूतले अब के गर्छन्‌ र भन्छन्‌? (ख) प्रकाश १८:२१-मा ती बलवान स्वर्गदूतले गरेको जस्तै कुन कार्य यर्मियाको समयमा पनि गरियो र त्यो कार्य कुन कुराको ग्यारेन्टी थियो? (ग) यूहन्‍नाले देखेको बलवान स्वर्गदूतको कार्यले कुन कुराको ग्यारेन्टी दिन्छ?

महान बेबिलोनमाथि यहोवाको यो अन्तिम इन्साफ हो भन्‍ने कुरा यूहन्‍नाले अब देखेको दर्शनबाट प्रमाणित हुन्छ: “अनि एउटा बलवान दूतले जाँतोजस्तै एउटा ठूलो ढुङ्‌गा उठाए, र यसो भनेर समुद्रमा फाले, ‘यसरी नै महान्‌ बेबिलोन ठूलो झोक्काले फालिनेछ, र फेरि कहिल्यै पाइनेछैन।” (प्रकाश १८:२१) यर्मियाको पालोमा पनि जोडदार भविष्यवाणीरूपी अर्थ राख्ने एउटा यस्तै कार्य गरिएको थियो। “बाबेलमा आइपर्ने सबै विपत्ति” पुस्तकमा लेख्न यर्मिया प्रेरित भएका थिए। उनले त्यो पुस्तक सरायाहलाई दिए र उसलाई बेबिलोन जान भने। त्यहाँ यर्मियाले अह्राएबमोजिम सरायाहले त्यस शहरको विरुद्धमा यो घोषणा पढेर सुनाए: “ ‘हे परमप्रभु तपाईंले यस ठाउँको विषयमा भन्‍नुभएको छ, कि म यसलाई सत्यानाश पार्ने छैनँ, औ मानिसहरू र पशुहरू कोही पनि यसमा बास गर्ने छैनन्‌। यो सदाको निम्ति उजाड पारिनेछ।’ ” यसपछि सरायाहले पुस्तकलाई ढुङ्‌गासित बाँधेर यूफ्रेटिस नदीमा फाली दिंदै यसो भने: “ ‘मैले त्यसमाथि ल्याउने विपत्तिको कारणले बाबेल यसरीनै फेरि कहिल्यै नउठ्‌ने गरी डुब्नेछ।’ ”—यर्मिया ५१:५९-६४.

१० पुस्तकलाई ढुङ्‌गामा बाँधेर नदीमा फाल्नुको अर्थ बेबिलोन फेरि कहिल्यै उठ्‌नै नसक्ने गरी सदाका लागि लोप हुने कुराको एउटा ग्यारेन्टी थियो। यस्तै काम एउटा शक्‍तिशाली दूतले गरेको यूहन्‍नाले देख्नु पनि महान बेबिलोनप्रति यहोवाको उद्देश्‍य पूरा हुने पक्का ग्यारेन्टी नै हो। प्राचीन बेबिलोनको सम्पूर्णतः उजाड अवस्था भविष्यमा झूटो धर्ममाथि आइपर्ने विपत्तिको एउटा शक्‍तिशाली अग्रिम झलक हो।

११, १२. (क) ती बलवान स्वर्गदूतले अब महान बेबिलोनलाई कसरी सम्बोधन गर्छन्‌? (ख) धर्मत्यागी यरूशलेमबारे यर्मियाले कसरी भविष्याणी गरे र त्यसले हाम्रो समयमा के महत्त्व राख्छ?

११ ती बलवान स्वर्गदूतले अब महान बेबिलोनलाई सम्बोधन गर्दै यसो भन्छन्‌: “औ वीणा बजाउनेहरू, गवैयाहरू, बाँसुरी बजाउनेहरू र तुरही बजाउनेहरूको आवाज तँमा कहिल्यै सुनिनेछैन, र जुनसुकै शिल्पको शिल्पकारी पनि तँमा कहिल्यै पाइनेछैन। जाँतोको ढुङ्‌गाको आवाज पनि तँमा कहिल्यै सुनिनेछैन। औ बत्तीको उज्यालो तँमा कहिल्यै चम्कनेछैन। औ दुलहा र दुलहीको सोर पनि तँमा कहिल्यै सुनिनेछैन। किनभने तेरा व्यापारीहरू पृथ्वीका मालिकहरू थिए, किनकि तेरो जादूगरीले सारा जाति ठगिएका थिए।”—प्रकाश १८:२२, २३.

१२ सोही ढङ्‌गमा यर्मियाले पनि धर्मत्यागी यरूशलेमबारे यो भविष्यवाणी गरेका थिए: “तिनीहरूबाट आनन्द र हर्षको आवाज, दुलहाको सोर र दुलहीको सोर, जाँतोको पिंधाइ र बत्तीको उज्यालो म उठाइलानेछु। यो सारा देश नष्ट र उजाड हुनेछ।” (यर्मिया २५:१०, ११) मसीहीजगत महान बेबिलोनको एउटा प्रमुख भाग हो जसले गर्दा ऊ पनि निर्जीव र निर्जन हुनेछ। सा.यु.पू. ६०७ पछि यरूशलेमको उजाड अवस्था जस्तै। एकताका चिन्तामुक्‍त, आनन्द र दैनिक चहलपहलले भरिएको मसीहीजगत पराजित र त्यागिएको हुनेछ।

१३. महान बेबिलोनले अचानक कस्तो पल्टा खान्छ र उसका “व्यापारीहरू” यसबाट कसरी प्रभावित हुन्छन्‌?

१३ स्वर्गदूतले यहाँ यूहन्‍नालाई भनेझैं, महान बेबिलोनको शक्‍तिशाली अन्तर्राष्ट्रिय साम्राज्य सम्पूर्णतः सुखा, मरूभूमिजस्तै बन्जरमा परिणत हुनेछ। उसको धर्मलाई ठूल-ठूला करोडपतिहरू लगायत “व्यापारीहरू”ले निजी फायदाका लागि अथवा आफ्नै कर्तुतहरूलाई ढाकछोप गर्न प्रयोग गरेका छन्‌। र यिनीहरूको चमकदमकमा सामेल हुन पादरीवर्गले पनि लाभदायक ठानेका छन्‌। तर ती व्यापारीहरूले महान बेबिलोनलाई पछिसम्मै आफ्नो साझेदार हुन दिने छैनन्‌। उसले राष्ट्रहरूलाई आफ्नो तन्त्रमन्त्रसम्बन्धी धार्मिक गतिविधिहरूद्वारा फेरि भ्रममा पार्न सक्ने छैन।

विस्मयकर रक्‍तदोष

१४. यहोवाको इन्साफ यति कडा भएको के कारण ती बलवान स्वर्गदूतले प्रस्तुत गर्छन्‌ र यस्तैगरी येशूले पनि उहाँ पृथ्वीमा हुनुहुँदा के भन्‍नु भएको थियो?

१४ यहोवाले महान बेबिलोनमाथि यति कडा इन्साफ किन गर्नु हुन्छ, सो ती बलवान स्वर्गदूतले अन्तमा बताउँछन्‌: “त्यसैमा अगमवक्‍ताहरू, पवित्र जनहरू र पृथ्वीमा मारिएका सबैका रगत पाइएको थियो।” (प्रकाश १८:२४) “पृथ्वीमा बहेका जम्मै धर्मी जनका रगत” अथवा “धर्मी हाबिल . . . देखि बरखियाको छोरो जकरियाको रगत”-का लागि यरूशलेमका धर्मगुरुहरू दोषी छन्‌ भनी तिनीहरूलाई येशूले आफू पृथ्वीमा हुनुहुँदा भन्‍नु भएको थियो। र यसैबमोजिम त्यो दुष्ट पुस्ता सा.यु. ७०-मा नष्ट भएको थियो। (मत्ती २३:३५-३८) आज फेरि धर्मावलम्बीहरूको अझ एउटा पुस्ता छ जो परमेश्‍वरका सेवकहरूलाई सताएर रक्‍तदोषी भएको छ।

१५. नाजी जर्मनीमा क्याथोलिक चर्च कुन दुई कुराका लागि दोषी थियो?

१५ द क्याथोलिक चर्च एण्ड नाजी जर्मनी भन्‍ने आफ्नो पुस्तकमा गुन्टर लुवीले यसप्रकार लेखेका छन्‌: “बभेरियामा अप्रिल १३ [१९३३]-को दिन यहोवाका साक्षीहरूमाथि सरकारी प्रतिबन्ध लगाइँदा यो निषेधित धर्म मान्‍ने कुनै व्यक्‍ति फेला परेमा सो रिपोर्ट गर्ने जिम्मेवारी धर्म र शिक्षा मन्त्रालयले चर्चलाई दिंदा सो चर्चले स्वीकार गरे।” अतः हजारौं साक्षीहरूलाई यातना शिविरहरूको शिकार बनाउनमा क्याथोलिक चर्च बराबर दोषी छ; मारिएका सयौं साक्षीहरूको जीवनरक्‍तले ती चर्चहरूको हात रङ्‌गिएको छ। विल्हेम कुसेरोजस्ता जवान साक्षीहरू सिपाहीहरूको हातबाट गोली खाएर साहसपूर्वक मर्न तयार भए। यसपश्‍चात्‌ हिटलरको नजरमा यी कर्तव्यनिष्ठ बाधकहरूका लागि यसरी गोली खाएर मर्नु यथेष्ट सजाय भएन; अतः उसले विल्हेमको भाइ, २० वर्षीय वोल्फगैङ्‌गलाई शिर कटाएर मारी दियो। तर उता क्याथोलिक चर्चले चाहिं जवान जर्मन क्याथोलिकहरूलाई आफ्नो पितृभूमिको सेनामा भर्ना भएर ज्यान दिन तयार हुन प्रोत्साहित गरिरहेको थियो। हो, चर्चको रक्‍तदोष प्रत्यक्ष छ!

१६, १७. (क) महान बेबिलोनमाथि कस्तो रक्‍त दोष पनि लगाउनु पर्छ र नाजी हत्याकाण्डमा मारिएका यहूदीहरूका लागि पनि भेटिकन कसरी दोषी भयो? (ख) आधुनिक समयमा मात्र सयकडौं युद्धहरूमा लाखौं मानिसहरूको हत्याका लागि झूटो धर्म कसरी दोषी हुन गएको छ?

१६ तथापि, भविष्यवाणीअनुसार “पृथ्वीमा मारिएका सबैको” रगतको दोष महान बेबिलोनमाथि थोपर्नु पर्छ। र यो कुरा आधुनिक समयमा निश्‍चय नै सत्य साबित भएको छ। उदाहरणका लागि, जर्मनीमा हिटलरलाई सत्तामा ल्याउन क्याथोलिक षडयन्त्रले विशेष भूमिका निभाएको थियो। जसले गर्दा नाजी हत्याकाण्डमा ६० लाखभन्दा बढी यहूदीहरूको हत्याका लागि भेटिकन पनि दोषी छ। यसबाहेक, हाम्रो समयमा मात्र सयकडौं युद्धहरूमा लाखौं मानिसहरू मारिएका छन्‌। के यसका लागि पनि झूटो धर्म दोषी छ? छ। दुई प्रकारले।

१७ एक त धेरैजसो युद्धहरू धार्मिक मतभेदहरूसित सम्बन्धित छन्‌। उदाहरणका लागि, भारतमा १९४६-४८-मा हिन्दू र मुसलमानबीच मच्चेको हिंसा मूलतः धर्मसम्बन्धी थियो। हजारौं हजार मानिसहरू मारिए। इराक र इरानबीच १९८०-को दशकताका चलेको झगडा धार्मिक साम्प्रदायिकतामै आधारित थियो र यसमा पनि हजारौं मानिसहरू मरे। उत्तरी आयरलैण्डमा पनि क्याथोलिक र प्रोटेस्टन्टहरूबीचको हिंसामा हजारौंको ज्यान गयो। यस सम्बन्धमा स्तम्भकार सी. एल. सुल्जबर्गरले १९७६-मा यसो भने: “यो निर्विवाद सत्य हो कि आज विश्‍वभरि लडिएका आधाभन्दा बढी युद्धहरू यात प्रत्यक्षतः धार्मिक विवादहरू हुन्‌ या धार्मिक विवादहरूसित सम्बन्धित छन्‌।” तर यो कुनै नयाँ कुरा होइन। महान बेबिलोनको अशान्त इतिहासभरि यस्तै हुँदै आएको छ।

१८. विश्‍वका धर्महरू रगतको दोषी हुने अर्को के कारण छ?

१८ दोस्रो तरिका के हो? यहोवाको दृष्टिमा विश्‍वका धर्महरू रगतको दोषी छन्‌ किनभने यहोवा आफ्ना सेवकहरूबाट के चाहनु हुन्छ, सो तिनीहरूले आफ्ना मतावलम्बीहरूलाई पत्यार लाग्दो ढङ्‌गमा बुझाइ दिएका छैनन्‌। परमेश्‍वरका साँचो उपासकहरूले येशू ख्रीष्टको अनुकरण गर्दै सबै राष्ट्रका व्यक्‍तिहरूप्रति प्रेम दर्शाउनु पर्छ भनेर तिनीहरूले मानिसहरूलाई पत्यार लाग्दो तरिकामा सिकाइ दिएका छैनन्‌। (मीका ४ :३, ५; यूहन्‍ना १३:३४, ३५; प्रेरित १०:३४, ३५; १ यूहन्‍ना ३:१०-१२) उक्‍त कुराहरू महान बेबिलोनका धर्महरूले नसिकाएको हुनाकारण तिनीहरूका धर्मावलम्बीहरूलाई अन्तर्राष्ट्रिय युद्धको भुमरीले तानेको छ। बीसौं शताब्दीको प्रथम ५० वर्षभित्र लडिएका दुई विश्‍वयुद्धहरूमा यो कस्तो स्पष्ट देखियो! दुवै विश्‍वयुद्धहरूको सुरुआत मसीहीजगतमै भएको थियो। एउटै धर्मका अनुयायीहरूले एकअर्कालाई काटमार गरे! मसीही भनी दाबी गर्ने सबैले बाइबलका सिद्धान्तहरूलाई हृदयङ्‌गम गरेका भए ती युद्धहरू कदापि लडिने थिएनन्‌।

१९. महान बेबिलोनमाथि कुन विस्मयकारी रगतको दोष छ?

१९ यो जम्मै रक्‍तदोष यहोवाले महान बेबिलोनमाथि थोपर्नु हुन्छ। धर्मगुरुहरू, विशेषगरी मसीहीजगतका धर्मगुरुहरूले मानिसहरूलाई बाइबलमा आधारित सच्चाइ सिकाएको भए यति बृहत्‌ रक्‍तपात कुनै हालतमा पनि हुने थिएन। अतः, प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा महान बेबिलोन अर्थात्‌ महान वेश्‍या र झूटो धर्मको विश्‍व साम्राज्यले यहोवालाई “अगमवक्‍ता र पवित्र जनहरूको रगत” मात्र नभएर “पृथ्वीमा मारिएका सबैको” रगतको लेखा दिनु पर्नेछ। हो, महान बेबिलोनको रक्‍तदोष साँच्चै नै विस्मयकारी छ। ऊ नष्ट हुनै पर्छ!

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ २७०-मा भएको पेटी]

सम्झौताको मोल

आफ्नो पुस्तक द क्याथोलिक चर्च एण्ड नाजी जर्मनी-मा गुन्टर लुवीले यसप्रकार लेखे: “जर्मनका क्याथोलिकहरूले सुरुदेखि नै नाजी शासनको लगातार विरोध गरेको भए विश्‍व इतिहासले सम्भवतः बेग्लै मोड लिने थियो। त्यो संघर्षमा हिटलरलाई पराजित गर्न तथा थुप्रै अपराधहरू गर्न देखि रोक्न नसकिए तापनि, कमसेकम चर्चको नैतिक मान चाहिं निकै नै बढ्‌ने थियो। हुन त त्यो संघर्षमा अति नै धेरै मानिसहरूको ज्यान बलिदान हुने थियो। तर यी बलिदानहरू सबैभन्दा महान संघर्षको खातिर हुने थिए। घरैको स्थिति अशान्त भइ दिएमा हिटलरले सम्भवतः विदेश गई युद्ध लड्‌ने आँट गर्ने थिएन। फलःस्वरूप लाखौंको ज्यान बच्ने थियो। . . . नाजीवादको विरोध गर्ने हजारौं जर्मनहरूलाई हिटलरको यातना शिविरहरूमा शास्ति ख्वाइ ख्वाइ मार्दा, पोलिश शिक्षित वर्गको हत्या हुँदा, हजारौं रूसीहरूलाई स्लाविक उन्टरमेन्शेण [तुच्छ मानिस] ठान्दै दुर्व्यवहारको शिकार बनाइ मार्दा र ‘गैर आर्यजाति’ हुनाकारण ६०,००,००० भन्दा बढी मानिसहरूको हत्या हुँदा जर्मनीका क्याथोलिक चर्चका अधिकृतहरूले ती जम्मै अत्याचार गर्ने शासनलाई झन बल दिने गरे। रोमन क्याथोलिक चर्चको आध्यात्मिक अगुवा र सर्वोच्च नैतिक गुरु, रोमको पोप मौन रह्‌यो।”—पृष्ठ ३२०, ३४१.

[पृष्ठ २६८-मा भएको चित्र]

शासकहरू “हाय, हाय” भन्छन्‌

[पृष्ठ २६८-मा भएको चित्र]

व्यापारीहरू “हाय, हाय” भन्छन्‌