सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बेबिलोनको पतन भएको छ!”

बेबिलोनको पतन भएको छ!”

अध्याय ३०

बेबिलोनको पतन भएको छ!”

१. दोस्रो स्वर्गदूतले के उद्‌घोषणा गर्छन्‌ र महान बेबिलोन को हो?

 परमेश्‍वरको न्यायको घडी हो यो! सुन्‍नुहोस्‌ ईश्‍वरीयवाणी के भन्छ: “अनि एउटा अर्को दूत, अर्थात्‌ दोस्रोचाहिं, यसो भन्दै पछिपछि लागे, ‘सारा जातिलाई त्यसको व्यभिचारको क्रोधको मद्य पियाउनलाउने बेबिलोनको पतन भएको छ, पतन भएको छ!’ ” (प्रकाश १४:८) यहाँ प्रकाशको पुस्तकले महान बेबिलोनतर्फ हाम्रो ध्यान प्रथम पटक केन्द्रित गर्दछ। हाँलाकि यो अन्तिम पटक होइन। पछिगएर अध्याय १७-मा महान बेबिलोन एउटी विलासी वेश्‍याको रूपमा प्रस्तुत गरिनेछ। तर ऊ को हो? ऊ एउटा विश्‍वव्यापी साम्राज्य हो। ऊ धर्मसित सम्बन्धित छ। परमेश्‍वरकी स्त्रीको सन्तानसित लडनका लागि प्रयोग गरिने ऊ शैतानको हातमा एउटा नकली व्यवस्था हो। (प्रकाश १२:१७) महान बेबिलोन झूटो धर्मको सम्पूर्ण विश्‍व साम्राज्य हो। उसमा ती जम्मै धर्महरू सम्मिलित छन्‌ जसले पुरातन बेबिलोनका धार्मिक शिक्षाहरू र क्रियाकलापहरूलाई कायम राख्नका साथै त्यसको जस्तै मनोवृत्ति प्रदर्शित गर्छन्‌।

२. (क) बेबिलोनी धर्म पृथ्वीको हर भागमा कसरी फैलिन पुग्यो? (ख) महान बेबिलोनको सबैभन्दा प्रमुख अंश के हो र त्यो एउटा शक्‍तिशाली सङ्‌गठनको रूपमा कहिलेदेखि देखा पऱ्‍यो?

करीब ४,००० वर्षअघि बाबेलको धरहरा बनाउन खोज्ने मानिसहरूको भाषालाई यहोवाले बेबिलोनमै अलमलाइ दिनु भएको थियो। बेग्लाबेग्लै भाषा बोल्ने मानिसहरूको बेग्लाबेग्लै समूह पृथ्वीको कुनाकुनासम्म फैलियो। तर तिनीहरू जहाँ गए तापिन आफूसित त्यही धर्मत्यागी विश्‍वास र क्रियाकलापहरू लगे जसमा आजका धेरैजसो धर्महरू आधारित छन्‌। (उत्पत्ति ११:१-९) महान बेबिलोन शैतानी सङ्‌गठनको धार्मिक अङ्‌ग हो। (यूहन्‍ना ८:४३-४७-सित तुलना गर्नुहोस्‌।) आज उसको सबैभन्दा प्रमुख अंश धर्मत्यागी मसीहीजगत हो। ख्रीष्टपश्‍चात्‌ चौथो शताब्दीतिर बाइबलको सट्टा बेबिलोनी धर्ममा आधारित थुप्रै धार्मिक रीतिथिति लिएर एउटा शक्‍तिशाली र अधर्मी सङ्‌गठनको रूपमा मसीहीजगत देखा पऱ्‍यो।—२ थिस्सलोनिकी २:३-१२.

३. महान बेबिलोनको पतन भयो भनी कसरी भन्‍न सकिन्छ?

तर तपाईं भन्‍नु होला, ‘धर्मले पृथ्वीमा अझ पनि ठूलो भूमिका निभाइ नै रहेछ। यसकारण स्वर्गदूतले महान बेबिलोनको पतन भयो भन्‍नु मिल्छ र?’ सोच्नुहोस्‌, सा.यु.पू. ५३९-पश्‍चात्‌ पुरातन बेबिलोनको पतन हुँदा के भएको थियो? इस्राएलीहरू आफ्नो देश फर्केर त्यहाँ साँचो उपासना पुनःस्थापित गर्न मुक्‍त भएका थिए! यस्तैगरी १९१९-मा आत्मिक इस्राएल एउटा झन्‌ झन्‌ बढ्‌दो आध्यात्मिक समृद्धिमा पुनःस्थापित भयो र यसबाट सोही साल महान बेबिलोनको पतन पनि प्रत्यक्षतः देखियो। उसले उप्रान्त परमेश्‍वरका मानिसहरूलाई दबाएर राख्न सकेन। यसबाहेक, ऊ भित्रै पनि ठूलो गडबडी मच्चिन थाल्यो। खासगरी १९१९-देखि उसको भ्रष्टाचार, बेइमानी र अनैतिकता उदाङ्‌ग भएको छ। युरोपका धेरै जसो देशहरूमा थोरै मानिसहरू मात्र चर्च जाने गर्छन्‌। परमेश्‍वरको सत्य वचनका सबै प्रेमीहरूको सामु महान बेबिलोनको बेइज्जती भइसकेको छ। ऊ अब फाँसीको प्रतीक्षामा छ। ऊमाथि यहोवाको धार्मिक न्यायिक फैसला कार्यान्वयन हुन मात्र बाँकी छ।

बेबिलोनको अपमानजनक पतन

४-६. ‘महान बेबिलोनले त्यसको व्यभिचारको क्रोधको मद्य सारा जाति’लाई कसरी पिउन लगायो?

महान बेबिलोनको अपमानजनक पतनसित सम्बन्धित परिस्थितिहरूको हामी अब अझ विस्तारसित जाँच गरौं। स्वर्गदूत यहाँ भन्छन्‌ कि ‘महान बेबिलोनले आफ्नो व्यभिचारको क्रोधको मद्य सारा जातिलाई पिउन लगाइ।’ यसको अर्थ के हो? यो विजयसित सम्बन्धित कुरा हो। उदाहरणका लागि यहोवाले यर्मियालाई यसो भन्‍नु भएको थियो: “ ‘मेरो हातबाट यो क्रोधको दामद्यको कचौरा ली, र ती जम्मै जातिहरू, जसकहाँ म तँलाई पठाउनेछु, तिनीहरूलाई त्यो पिउनलगा। त्यो पिएर तिनीहरू धरमराउनेछन्‌, औ मैले तिनीहरूका बीचमा पठाएको तरवारको कारणले तिनीहरू बौलाहा होइजानेछन्‌।’ ” (यर्मिया २५:१५, १६) सा.यु.पू. छैटौं र सातौं शताब्दीहरूमा यहोवाले धर्मत्यागी यहूदासमेत थुप्रै राष्ट्रहरूमाथि सङ्‌कष्टको एउटा प्रतीकात्मक कचौरा खन्याउन प्राचीन बेबिलोनको प्रयोग गर्नु भयो। उहाँका आफ्नै मानिसहरू पनि निवार्सित भए। तर अन्ततः बेबिलोनको पनि पतन भयो किनकि उसको राजाले “स्वर्गका परमेश्‍वर” यहोवाको विरुद्धमा अहङ्‌कार गऱ्‍यो।—दानियल ५:२३.

महान बेबिलोनले अनेक विजयहरू पनि हासिल गरेको छ। तर ती धेरैजसो विजयहरू अप्रत्यक्ष छन्‌। उसले वेश्‍याको चाल चलेर अथवा धार्मिक व्यभिचार गरेर ‘सबै जातिलाई पिउन लाएको’ छ। उसले राजनैतिक शासकहरूलाई आफूसित सन्धि गर्न अथवा मित्रता बढाउन फकाएको छ। धार्मिक प्रलोभनहरूद्वारा उसले राजनैतिक, व्यापारिक तथा आर्थिक शोषण गर्ने षडयन्त्र रचेको छ। उसले मात्र राजनैतिक तथा व्यापारिक कारणहरूका निम्ति धार्मिक सतावट, धार्मिक युद्धहरू तथा राष्ट्रिय युद्धहरू भडकाएको छ। अनि यी सबै परमेश्‍वरकै इच्छा हो भन्दै उसले ती युद्धहरूलाई पवित्र घोषित गरेको छ।

शिन्टो जापान, हिन्दू भारत, बौद्ध धर्म मान्‍ने भियतनाम, “मसीही” कहलाइने उत्तर आयरलैण्ड तथा ल्याटिन अमेरिकाको २०-औं शताब्दीका युद्ध र राजनीतिमा धर्मले निभाएको भूमिका सबैलाई विदितै छ। यसबाहेक दुवै विश्‍व-युद्धहरूको दौडान दुवै पक्षका सिपाहीहरूलाई आपसमा काटमार गर्न रणभूमिमै उपस्थित भएर उक्साउने पादरीहरूको भूमिका पनि बिर्सन सकिंदैन। महान बेबिलोनको वेश्‍यावृत्तिको एउटा खास उदाहरण १९३६-३९-को स्पेनिश गृहयुद्धमा उसले निभाएको भूमिका हो। त्यस युद्धमा कम्तिमा पनि ६,००,००० मानिसहरू मारिएका थिए। रगतको यो होलीलाई बढावा दिनेहरूमध्ये क्याथोलिक पादरी र तिनीहरूका समर्थकहरू थिए। यसको अन्य कारणहरूमध्ये एउटा त चर्चको सम्पत्ति र शक्‍तिका लागि त्यतिखेरको कानुनी सरकार एउटा खतरा थियो।

७. महान बेबिलोनको मुख्य तारो को हुन गएको छ र उसले यस तारोको विरुद्धमा के कस्ता उपायहरू प्रयोग गरेको छ?

महान बेबिलोन शैतानको सन्तानको धार्मिक हिस्सा भएको हुनाकारण उसले सधैं नै यहोवाकी “स्त्री” अर्थात्‌ “माथिको यरूशलेम”लाई आफ्नो मुख्य तारो बनाएको छ। अभिषिक्‍त मसीहीहरूको मण्डली परमेश्‍वरकी स्त्रीको सन्तान हो भन्‍ने कुरा प्रथम शताब्दीमा स्पष्ट भएको थियो। (उत्पत्ति ३:१५; गलाती ३:२९; ४:२६) त्यो शुद्ध मण्डलीलाई धार्मिक व्यभिचारमा फँसाएर त्यसमाथि विजयी हुन महान बेबिलोनले खूबै कोशिश गऱ्‍यो। उसको जालमा धेरै जना फँस्नेछन्‌ र परिणामस्वरूप ठूलो धर्मत्याग हुनेछ भनेर प्रेरित पावल र पत्रुसले चेताउनी दिएका थिए। (प्रेरित २०:२९, ३०; २ पत्रुस २:१-३) यसै अनुरूप, मसीही मण्डलीलाई भ्रष्ट पार्ने अभियानमा महान बेबिलोन निकै सफल हुँदै गयो। सो कुरा यूहन्‍नाको जीवनको अन्तताका येशूले सात मण्डलीहरूलाई पठाउनु भएका सन्देशहरूबाट देख्न सकिन्छ। (प्रकाश २:६, १४, १५, २०-२३) तर उसलाई कतिसम्म गर्न दिइनेछ, सो येशूले बताइ सक्नु भएको थियो।

गहुँ र सामा

८, ९. (क) येशूले भन्‍नु भएको गहुँ र सामाको उखानबाट के बोध हुन्छ? (ख) “मानिसहरू सुतेको” बेलामा के भयो?

गहुँ र सामाको उखानमा येशूले एक जना मानिसबारे कुरा गर्नु भयो जसले आफ्नो खेतमा असल बीउ छरे। तर “मानिसहरू सुतेको बेलामा” एउटा शत्रु आएर त्यस ठाउँमा सामा छरी दियो। केही समयपश्‍चात्‌ त्यस ठाउँमा गहुँलाई सामाले ढपक्क ढाकिदिन्छ। आफ्नो यो उखानको अर्थ येशूले यसप्रकार खोल्नु भयो: “असल बिउ छर्ने मानिसको पुत्र हो। औ खेत संसार हो। असल बिउ जो हुन्‌, ती राज्यका सन्तान हुन्‌, र सामा दुष्टका सन्तान हुन्‌। तिनलाई छर्ने शत्रु शैतान हो।” यसपछि उहाँले बताउनु भयो कि “जगतको अन्तसम्मै” गहुँ र सामा दुवैलाई सङ्‌गसङ्‌गै उम्रन दिइनेछ। अनि लाक्षणिक सामाहरूलाई स्वर्गदूतहरूले ‘बटुल्नेछन्‌’।—मत्ती १३:२४-३०, ३६-४३.

येशू र प्रेरित पावल तथा पत्रुसका चेताउनीहरू पूरा भयो। “मानिसहरू सुतेको बेलामा” अर्थात्‌ प्रेरितहरूको मृत्युपश्‍चात्‌ तथा परमेश्‍वरको बगालको देखरेख गर्ने मसीही निरीक्षकहरू निदाउँन थालेपछि मण्डलीभित्र नै बेबिलोनी धर्मत्याग पलाउन थाल्यो। (प्रेरित २०:३१) चाँडै गहुँभन्दा सामा धेरै भए र गहुँ देखा पर्नै छाड्यो। कैयौं शताब्दीसम्म त स्त्रीको सन्तानलाई महान बेबिलोनको विस्तीर्ण वस्त्रले सम्पूर्णतः ढाकेकोजस्तै देखियो होला।

१०. १८७०-को दशकसम्ममा के भयो र यसप्रति महान बेबिलोनले के कस्तो प्रतिक्रिया व्यक्‍त गऱ्‍यो?

१० सन्‌ १८७०-को दशकसम्ममा अभिषिक्‍त मसीहीहरूले महान बेबिलोनको वेश्‍यावृत्तिबाट आफूलाई अलग पार्न दृढ्‌तापूर्वक प्रयास गर्न थाले। मसीहीजगतले अन्य मूर्तिपूजक धर्महरूबाट लिएका झूटा शिक्षाहरूलाई ती अभिषिक्‍त मसीहीहरूले त्यागे। अन्यजातिहरूको समय १९१४-मा समाप्त हुनेछ भनेर प्रचार गर्दा तिनीहरूले निडरतासाथ बाइबल प्रयोग गरे। साँचो उपासना पुनःजागृत हुने सुरसार देखेर महान बेबिलोनको प्रमुख हतियार मसीहीजगतको पादरीवर्गले घोर विरोध गर्न थाल्यो। तिनीहरूले अभिषिक्‍त मसीहीहरूको त्यो सानो समूहलाई नामेट पार्न युद्धको आतङ्‌कपूर्ण स्थितिको फायदा उठाए। सन्‌ १९१८-मा यी अभिषिक्‍त मसीहीहरूको गतिविधि प्रायः बन्द नै गराउन पाउँदा महान बेबिलोन पूरै सफल भए जस्तै देखियो। उसले तिनीहरूमाथि पूर्ण विजय पाएको जस्तै देखियो।

११. पुरातन बेबिलोनको पतनको परिणामस्वरूप के भयो?

११ तर हामीले अघि नै पढ्यौं कि सा.यु.पू. ५३९-मा अहङ्‌कारी शहर बेबिलोनको ध्वंसात्मक पतन भयो। त्यतिखेर यो पुकार सुनियो: “बाबेलको [बेबिलोन, NW] पतन भयो, पतन भयो!” विश्‍च-साम्राज्यको यो महान आसन कोरेसअधीनस्थ मादी र फारसीहरूको सेनाको सामु परास्त भयो। बेबिलोनको शहर यथावत रहे तापनि बेबिलोनी शक्‍ति चाहिं ह्रास भयो। त्यहाँ रहेका यहूदी कैदीहरू स्वतन्त्र भए। तिनीहरू यरूशलेममा साँचो उपासना पुनःस्थापित गर्न फर्के।—यशैया २१:९; २ इतिहास ३६:२२, २३; यर्मिया ५१:७, ८.

१२. (क) हाम्रो समयमा महान बेबिलोनको पतन भयो भनी कसरी भन्‍न सकिन्छ? (ख) यहोवाले मसीहीजगतलाई सम्पूर्णतः तिरस्कार गर्नु भएको छ भनी कसरी प्रमाणित हुन्छ?

१२ हाम्रो समयमा पनि महान बेबिलोनको पतन भयो भन्‍ने पुकार सुनिएको छ! बेबिलोनी मसीहीजगतले १९१८-मा प्राप्त गरेको अल्पकालीन सफलता १९१९-मा विफलतामा परिणत भयो। शेष अभिषिक्‍त जनहरू अर्थात्‌ यूहन्‍नावर्ग आत्मिक पुनरुत्थानद्वारा पुनःस्थापित भए। महान बेबिलोनको पतन भयो। परमेश्‍वरका मानिसहरूलाई उसले आफ्नो वशमा राख्न सकेन। सलहहरूझैं, ख्रीष्टका अभिषिक्‍त भाइहरू पनि अगाध खाँदबाट स्याउँस्याउँती निस्के। (प्रकाश ९:१-३; ११:११, १२) तिनीहरू आधुनिक “विश्‍वासी र बुद्धिमान दास” थिए र मालिकले आफ्नो पार्थिव सम्पत्तिमाथि तिनीहरूलाई नियुक्‍त गर्नु भयो। (मत्ती २४:४५-४७) मसीहीजगतले यहोवाको पार्थिव प्रतिनिधि हुने दाबी गरे तापनि तिनीहरू यहोवाको नजरमा सम्पूर्णतः तिरस्कृत भए। शुद्ध उपासना पुनःस्थापित भयो। अब महान बेबिलोनको पुरानो शत्रु अर्थात्‌ ती स्त्रीको सन्तानका १,४४,००० सदस्यहरूका शेष जनहरूलाई छाप लाउने काम सिध्याउने बाटो खुल्यो। यी जम्मै गतिविधिबाट त्यो शैतानी धार्मिक सङ्‌गठनको हार बोध भयो।

पवित्र जनहरूको धैर्य

१३. (क) तेस्रो स्वर्गदूतले के घोषणा गर्छन्‌? (ख) जङ्‌गली जनावरको चिह्न पाउनेहरूबारे यहोवाले के न्यायिक फैसला गर्नुहुन्छ?

१३ अब तेस्रो स्वर्गदूत बोल्छन्‌। सुन्‍नुहोस्‌! “अनि एउटा अर्को दूत, तेस्रोचाहिं, ठूलो सोरले यसो भन्दै तिनीहरूका पछिपछि लागे, ‘यदि कुनै मानिसले त्यो जनावर र त्यसको मूर्तिलाई पूजा गर्‌यो, र निधार अथवा हातमा त्यसको छाप लियो भने, त्यसले पनि उहाँको क्रोधको कचौरामा नमिसाएर तयार गरिराखेको परमेश्‍वरको क्रोधको मद्य पिउनेछ।’ ” (प्रकाश १४:९, १०क) प्रभुको दिनमा जङ्‌गली जनावरको मूर्ति नपूज्नेहरूले कष्ट भोग्नेछन्‌ तथा तिनीहरू मारिने समेत छन्‌ भनेर प्रकाश १३:१६, १७-मा प्रकट गरिएको थियो। अब भने आफ्नो “निधार अथवा हातमा [जनावरको] छाप” अथवा “त्यो जनावरको संख्या” थाप्नेहरूलाई दण्ड दिने यहोवाको अठोट हामीलाई थाह हुन्छ। तिनीहरू यहोवाको ‘क्रोधको मद्य’ पिउन बाध्य हुनेछन्‌। तिनीहरूका लागि यसको अर्थ के हुनेछ? सा.यु.पू. ६०७-मा यहोवाले यरूशलेमलाई उहाँको “क्रोधको मद्य” पिउन लाउनु हुँदा यरूशलेमले बेबिलोनीहरूको हातमा “उजाड र नाश, अनिकाल र तरवार” भोग्नु पऱ्‍यो। (यशैया ५१:१७, १९) यस्तैगरी पृथ्वीका राजनैतिक शक्‍तिहरू र तिनीहरूको मूर्ति, संयुक्‍त राष्ट्र सङ्‌घले यहोवाको क्रोधको मद्य पिउँदा तिनीहरूमाथि पनि विपत्ति आइ पर्नेछ। (यर्मिया २५:१७, ३२, ३३) तिनीहरूको सर्वनाश हुनेछ।

१४. जङ्‌गली जनावर र त्यसको मूर्तिको उपासना गर्नेहरू नष्ट हुनु भन्दा अघि तिनीहरूले के भोग्नै पर्छ र यसको वर्णन यूहन्‍ना कसरी गर्छन्‌?

१४ तर त्यो हुनुभन्दा अघि नै आफूमा जनावरको छाप भएकाहरूले यहोवाको अप्रसन्‍नताका पीडादायी असरहरू भोग्नु पर्छ। जङ्‌गली जनावरको मूर्ति र त्यसको उपासकबारे स्वर्गदूतले यूहन्‍नालाई सूचना दिन्छन्‌: “उहाँका पवित्र दूतहरू र थुमाको सामने आगो र गन्धकमा त्यसले शासना भोग्नेछ। औ तिनीहरूका शासनाको धुवाँ सदा सर्वदा मास्तिर गइरहनेछ। तिनीहरू जसले त्यो जनावर र त्यसको मूर्तिलाई पूजा गर्छन्‌, र जसले त्यसको नाउँको छाप लाउँछ, तिनीहरूलाई दिन-रात आराम पाउनेछैन।”—प्रकाश १४:१०ख, ११.

१५, १६. “आगो र गन्धक” शब्दहरूले प्रकाश १४:१०-मा के बोध गराउँछन्‌?

१५ कसै कसैको विचारमा यहाँ चर्चित ‘आगो र गन्धक’ले अग्निमय नरकको आगोको अस्तित्वलाई प्रमाणित गर्दछ। तर यी शब्दहरूको प्रासङ्‌गिक र सही अर्थ बुझ्ने मदत यस्तैप्रकारको एउटा अर्को भविष्यवाणी पढ्‌दा पाउन सकिन्छ। इस्राएलसित दुश्‍मनी राखेको हुनाकारण एदोमको राष्ट्र दण्डित हुनेछ भनेर यहोवाले यशैयाको पालोमा चेताउनी दिनु भएको थियो। उहाँले यसो भन्‍नुभयो: “एदोमका खोलाहरू अलकत्रामा परिवर्त्तन हुनेछन्‌, त्यसको माटो चाहिं गन्धकमा, र त्यसको देश चाहिं बल्दो अलकत्रामा परिवर्त्तन हुनेछ। त्यो रातदिन कहिल्यै पनि निभ्नेछैन। त्यसको धुवाँ सधैंभरि उठ्‌दै रहनेछ, त्यो पुस्तौंसम्म उजाड भएर रहनेछ, फेरि कहिल्यै त्यसबाट भएर कोही पनि जानेछैन।”—यशैया ३४:९, १०.

१६ के एदोम सधैं बलिरहनका लागि कुनै दन्त्य कथारूपी नरकमा फालियो? कदापि पनि फालिएन। बरु आगो र गन्धकले भस्म भए जस्तैगरी त्यो राष्ट्र विश्‍व मञ्चबाट सम्पूर्णतः लोप भयो। त्यस दण्डको अन्तिम परिणाम अनन्तकालीन सन्ताप नभएर “उजाड [र] . . . सूनसान” थियो। (यशैया ३४:११, १२) यस अवस्थाको ज्वलन्त चित्रण त्यो ‘सधैंभरि मास्तिर उठ्‌ने धुवाँ’ हो। घर जलेर सखाप हुँदा आगो निभिसकेपछि पनि केही समयसम्म खरानीबाट धुवाँ आई नै रहन्छ। यहाँ कुनै ठूलो र विनाशक आगो लागेको कुरा सो धुवाँ देखेर थाह पाइन्छ। आज पनि एदोमको नाशबाट सिक्न सकिने पाठलाई परमेश्‍वरका जनहरूले सम्झिराखेका छन्‌। यस अर्थमा आज पनि प्रतीकात्मक तवरले एदोमको ‘धुवाँ’ मास्तिर उठी नै रहेको छ।

१७, १८. (क) जङ्‌गली जनावरको चिह्न पाउनेहरूलाई के हुनेछ? (ख) जङ्‌गली जनावरका उपासकहरूले कसरी शासना भोग्नेछन्‌? (ग) “तिनीहरूका शासनाको धुवाँ सदा सर्वदा मास्तिर गइरहनेछ” भन्‍नुको अर्थ के हो?

१७ जङ्‌गली जनावरको छाप हुनेहरू पनि मानौं आगोले सम्पूर्णतः नष्ट हुनेछन्‌। भविष्यवाणीले अझ पछि उल्लेख गरेझैं तिनीहरूका लाशहरू गाडिने छैनन्‌। तिनीहरूलाई जनावरहरू र चराहरूले खानेछन्‌। (प्रकाश १९:१७, १८) तिनीहरूले स्पष्टतः सधैंका लागि शाब्दिक रूपमा सन्ताप भोग्ने छैनन्‌! अतः तिनीहरूले कुन अर्थमा “आगो र गन्धकमा . . . शासना” भोग्छन्‌? सच्चाइको घोषणाद्वारा तिनीहरूको पर्दाफास हुन्छ र तिनीहरूले परमेश्‍वरको आउँदो न्यायबारे अग्रिम चेताउनी पाउँछन्‌। यसो गर्दा परमेश्‍वरका जनहरूको तिनीहरूले निन्दा गर्छन्‌। जहाँ सम्म सम्भव हुन्छ, चतुराइका साथ राजनैतिक जङ्‌गली जनावरसित मिलेर यहोवाका साक्षीहरूको हत्या समेत गराउँछन्‌। तर अन्ततः यी सबै विरोधीहरू मानौं आगो र गन्धकबाट भस्म हुनेछन्‌। यिनीहरूको विरुद्धमा यहोवाले गर्नु भएको न्यायिक फैसला एउटा नजीर बन्‍नेछ। भविष्यमा यहोवाको आधिकारिक सार्वभौमिकतालाई फेरि कसैले चुनौती दिएमा त्यसको फैसला यही न्यायिक निर्णयको आधारमा गरिनेछ। यसै अर्थमा “धुवाँ सधैंभरि उठ्‌दै रहनेछ”। विवाद सदाका निम्ति टुङ्‌गिनेछ।

१८ तर यो पीडादायक सन्देश आज कसले घोषणा गर्छन्‌? नबिर्सनुहोस्‌, आफ्नो निधारमा परमेश्‍वरको छाप नहुने मानिसहरूलाई पिरोल्ने अधिकार ती प्रतीकात्मक सलहहरूसित छ। (प्रकाश ९:५) अतः यी सलहहरूले नै स्वर्गदूतहरूको निर्देशनअनुरूप पिरोल्ने काम गर्छन्‌। यी प्रतीकात्मक सलहहरूले यस्तो निरन्तरतासाथ काम गर्छन्‌ कि जसले “जनावर र त्यसको मूर्तिलाई पूजा गर्छन्‌ र जसले त्यसको नाउँको छाप लाउँछ, तिनीहरूले दिन-रात आराम पाउनेछैन।” अन्ततः तिनीहरूको विनाशपश्‍चात्‌ अथवा यहोवाको सार्वभौमिकताको निर्विवाद प्रमाणीकरणपछि तिनीहरूको सास्तीको “धुवाँ” सधैंभरि उठ्‌दै रहनेछ। त्यो प्रमाणीकरण पूरा नहोउञ्जेल यूहन्‍नावर्गले धैर्य धारण गर्न सकून्‌! नभन्दै स्वर्गदूतले पनि अन्तमा यसो भन्छन्‌: “परमेश्‍वरका आज्ञाहरू पालन गर्ने र प्रभु येशूमा विश्‍वास गर्ने पवित्र जनहरूको धीरज यसैमा छ।”—प्रकाश १४:१२.

१९. पवित्र जनहरूलाई धैर्यको किन आवश्‍यकता पर्छ र यूहन्‍नाको कुन बयानले तिनीहरूलाई बल प्रदान गर्छ?

१९ हो, “पवित्र जनहरूले धीरज”धारण गर्नुको अर्थ तिनीहरूले येशू ख्रीष्टद्वारा यहोवालाई एकाग्रचित्तसाथ उपासना चढाउनु हो। तिनीहरूको सन्देश लोकप्रिय छैन। त्यसले विरोध र सतावट ल्याउँछ। कति शहीद हुनेछन्‌। तर यूहन्‍नाले अब भन्‍नै लागेको कुराबाट तिनीहरूले बल पाउँछन्‌: “अनि मैले स्वर्गबाट यसो भन्‍ने आवाज सुने, ‘यो लेख, अब उप्रान्त प्रभुमा मर्नेहरू धन्यका हुन्‌। आत्मा भन्‍नुहुन्छ, तिनीहरूले आफ्ना आफ्ना परिश्रमबाट आराम पाउनेछन्‌, किनकि तिनीहरूका काम तिनीहरूका पछि लाग्नेछन्‌।’ ”—प्रकाश १४:१३.

२०. (क) यूहन्‍नाले बयान गरेको प्रतिज्ञा र येशूको उपस्थितिबारे पावलको भविष्यवाणी कसरी मिल्दाजुल्दा छन्‌? (ख) शैतानलाई स्वर्गबाट बहिष्कार गरेपछि मर्ने अभिषिक्‍त जनहरूलाई कुन विशेषाधिकारको प्रतिज्ञा गरिन्छ?

२० त्यो प्रतिज्ञा पावलले येशूको उपस्थितिबारे गरेको यस भविष्यवाणीसित राम्ररी मिल्छ: “ख्रीष्टमा मर्नेहरू चाहिं पहिले बिउँतनेछन्‌। तब हामी जिउँदा र बाँचिरहेकाहरू [ती अभिषिक्‍त जनहरू जो प्रभुको दिनमा बाँचेका हुनेछन्‌] पनि प्रभुलाई आकाशमा भेटनालाई तिनीहरूका साथसाथै बादलमा भेट्‌न जानेछौं।” (१ थिस्सलोनिकी ४:१५-१७) स्वर्गबाट शैतानलाई हटाइसकेपछि, ख्रीष्टमा पहिले मरिसकेकाहरू बिउँतिए। (प्रकाश ६:९-११-सित तुलना गर्नुहोस्‌।) यसपछि, प्रभुको दिनमा मर्ने अभिषिक्‍त जनहरूलाई एउटा विशेषाधिकार प्रतिज्ञा गरिन्छ। स्वर्गमा आत्मिक जीवन पाउनका लागि तिनीहरूको पुनरुत्थान क्षणभरमा अर्थात्‌ “आँखाको एक निमेषमा” हुनेछ। (१ कोरिन्थी १५:५२) कति अद्‌भुत कुरा हो यो! तिनीहरूले आफ्ना धार्मिक कार्यहरूलाई अटुट रूपमा स्वर्गमा गर्न पाउँनेछन्‌।

पृथ्वीको कटनी

२१. “पृथ्वीको बाली” बारे यूहन्‍ना हामीलाई के भन्छन्‌?

२१ अरूहरूले पनि यस न्यायको दिनबाट लाभ उठाउनेछन्‌ भनी यूहन्‍ना हामीलाई अगाडि भन्छन्‌: “अनि मैले हेरें, र एउटा सेतो बादल, र त्यसमाथि शिरमा सुनको मुकुट पहिरेका र हातमा लाग्ने हँसिया लिएका मानिसको पुत्रजस्तै एक जनालाई मैले देखें। औ अर्को एउटा दूत त्यस बादलमाथि बस्नेलाई यसो भनेर ठूलो सोरले कराउँदै मन्दिरबाट बाहिर आए, ‘तपाईंको हँसिया पठाएर कटनी गर्नुहोस्‌, किनकि कटनीको घडी आएको छ, किनभने पृथ्वीको बाली पूरै पाकिसकेको छ।’ औ बादलमाथि बस्नेले आफ्नो हँसिया पृथ्वीमाथि फालिदिए, अनि पृथ्वीको कटनी भयो।”—प्रकाश १४:१४-१६.

२२. (क) सुनको राजमुकुट लाएर सेतो बादलमा बस्नु हुने को हुनुहुन्छ? (ख) बाली कटनीको चरमोत्कर्ष कहिले र कसरी हुन्छ?

२२ सेतो बादलमाथि बस्ने व्यक्‍तिको परिचयबारे कुनै शङ्‌का छैन। सेतो बादलमाथि बसेको तथा मनुष्यको पुत्रजस्तै देखिने र शिरमा सुनको मुकुट लाउने व्यक्‍ति मसीही राजा येशू नै हुनुहुन्छ। उहाँलाई नै दानियलले पनि आफ्नो दर्शनमा देखेका थिए। (दानियल ७:१३, १४; मर्कूस १४:६१, ६२) तर यहाँ भविष्यवाणी गरिएको कटनी हो के? पृथ्वीमा हुनुहुँदा येशूले चेला बनाउने कार्यलाई मानव क्षेत्रमा गरिने कटनीसित तुलना गर्नुभयो। (मत्ती ९:३७, ३८; यूहन्‍ना ४:३५, ३६) यो कटनीको चरमोत्कर्ष प्रभुको दिनमा हुनेछ। त्यतिबेला येशूको राज्यारोहणपछि उहाँले आफ्नो पिताको तर्फबाट न्याय कार्यान्वयन गर्नुहुन्छ। अतः, १९१४-देखि उहाँको शासनकाल, कटनीको आनन्दित समय पनि हो।—व्यवस्था १६:१३-१५-सित तुलना गर्नुहोस्‌।

२३. (क) कटनी गर्ने आदेश कसबाट आउँछ? (ख) १९१९-देखि अहिलेसम्म कसलाई बटुल्ने काम चलिरहेको छ?

२३ आफू राजा र न्यायाधीश हुनु भए तापनि कटनी गर्न थाल्नअघि येशू आफ्नो परमेश्‍वर यहोवाको आदेशलाई पर्खनु हुन्छ। त्यो आदेश एउटा स्वर्गदूतद्वारा “मन्दिरबाट” आउँछ र येशूले त्यसको पालना तुरुन्तै गर्नुहुन्छ। सर्वप्रथम, येशूले १९१९-देखि आफ्ना स्वर्गदूतहरूलाई १,४४,०००-का बाँकी सदस्यहरू बटुल्ने काम सिध्याउन लाउनु हुन्छ। (मत्ती १३:३९, ४३; यूहन्‍ना १५:१, ५, १६) यसपछि अरू भेडाहरूको ठूलो भीडलाई बटुल्ने काम सुरु हुन्छ। (यूहन्‍ना १०:१६; प्रकाश ७:९) इतिहास देखाउँछ कि १९३१ र १९३५-बीच यी अरू भेडाहरू निकै नै ठूलो संख्यामा देखा पर्न थाले। प्रकाश ७:९-१७-मा उल्लिखित ठूलो भीडको सही परिचय यहोवाले १९३५-मा यूहन्‍नावर्गलाई प्रदान गर्नु भयो। त्यसपछि यही ठूलो भीडलाई बटुल्ने काममाथि विशेष जोड दिन थालियो। सन्‌ २००५ सम्ममा यिनीहरूको संख्या ६० लाख नाघीसकेको थियो र अझ पनि वृद्धि भइ नै रहेको छ। निश्‍चय नै, मनुष्यको पुत्रजस्तै देखिने व्यक्‍तिले यो अन्तको समयमा एउटा प्रशस्त र आनन्दमय कटनी गर्नु भएको छ।—प्रस्थान २३:१६; ३४:२२-सित तुलना गर्नुहोस्‌।

पृथ्वीको दाखलाई कुल्चनु

२४. पाँचौं स्वर्गदूतको हातमा के छ र छैटौं स्वर्गदूतले के उद्‌घोषणा गर्छन्‌?

२४ मुक्‍तिका लागि फसल काटी सकेपछि अब एउटा अर्को फसल काटने समय आएको छ। यसबारे यूहन्‍ना भन्छन्‌: “अनि अर्को दूत स्वर्गमा भएको मन्दिरबाट बाहिर आए, तिनीसँग पनि एउटा लाग्ने हँसिया थियो। औ आगोमाथि अख्तियार भएको अर्को एउटा दूत वेदीबाट बाहिर आए, र लाग्ने हँसिया भएकालाई तिनले यसो भनेर ठूलो सोरले हपारे, ‘तिम्रो लाग्ने हँसिया पठाऊ, र पृथ्वीका अङ्‌गूरहरूका झुप्पाहरू जम्मा गर, किनकि त्यसका ‘अङ्‌गूर पूरै पाकिसकेका छन्‌।’ ” (प्रकाश १४:१७, १८) प्रभुको दिनमा स्वर्गदूतहरूलाई कटनीसम्बन्धी निकै काम सुम्पिएको छ। तिनीहरूले खराबबाट असललाई छुट्ट्याउनु पर्छ।

२५. (क) पाँचौं स्वर्गदूत मन्दिरबाट बाहिर निस्कनुको तात्पर्य के हो? (ख) ‘मन्दिरबाट निस्कने’ स्वर्गतदूतले कटनी सुरु गर्ने आदेश दिनु किन उचित हो?

२५ पाँचौं स्वर्गदूत मन्दिरभित्र अथवा यहोवाकै सामनेबाट बाहिर आउँछन्‌; अतः अन्तिम कटनी पनि यहोवाकै इच्छाबमोजिम हुन्छ। यी पाँचौं स्वर्गदूतलाई आफ्नो काम सुरु गर्ने आदेश मन्दिरको “वेदीबाट बाहिर” निस्कने एक अर्को स्वर्गदूतद्वारा दिइन्छ। यो महत्त्वूपर्ण छ किनभने वेदिमनिबाट विश्‍वासी जनहरूको प्राणले यो सोधनी गरेको थियो: “हे प्रभु, हे पवित्र र सत्य, अझै कतिसम्म तपाईंले पृथ्वीमा रहनेहरूलाई इन्साफ गरेर हाम्रो रगतको बदला दिनुहुन्‍न?” (प्रकाश ६:९, १०) पृथ्वीको दाखको फसल काटिसकेपछि बदलाका लागि यो पुकार शान्त हुनेछ।

२६. “पृथ्वीको दाख” के हो?

२६ तर “पृथ्वीको दाख” हो के? हिब्रू शास्त्रमा यहूदी राष्ट्रलाई यहोवाको दाखसित तुलना गरिएको थियो। (यशैया ५:७; यर्मिया २:२१) यस्तैगरी, येशू ख्रीष्ट र परमेश्‍वरको राज्यमा उहाँसित सेवा गर्नेहरूलाई पनि एउटा दाखको बोटसित तुलना गरिएको छ। (यूहन्‍ना १५:१-८) यस परिप्रेक्ष्यमा दाखको मुख्य विशेषता फल फलाउनु हो र साँचो मसीही दाखको बोटले यहोवाको प्रशंसामा प्रशस्त फल फलाएको छ। (मत्ती २१:४३) अतः “पृथ्वीको दाख” उपरोक्‍त असली दाखको बोट हुन सक्‍तैन। त्यो त शैतानद्वारा निर्मित नकली दाखको बोट अर्थात्‌ शैतानकै भ्रष्ट दृश्‍य व्यवस्था हुनुपर्छ जसले मानिसजातिमाथि शासन चलाउँछ। त्यसका अनेकौं प्रकारका “अङ्‌गूरका झुप्पाहरू” शताब्दियौंदेखि त्यसमा फलेको प्रेतवादी फल हो। धर्मत्यागी मसीही धर्मलाई विशेष मान्यता दिने यो महान बेबिलोनले यस विषालु दाखको बोटमाथि ठूलो प्रभाव पार्दै आएको छ—व्यवस्था ३२:३२-३५-तुलना गर्नुहोस्‌।

२७. (क) हँसिया भएको स्वर्गदूतले पृथ्वीको दाखको बोटबाट अङ्‌गूरका झुप्पाहरू बटुल्दा के हुन्छ? (ख) हिब्रू शास्त्रमा उल्लिखित कुन भविष्यवाणीहरूमा यो कटनीको विस्तृत विवरण पाइन्छ?

२७ न्याय कार्यान्वयन हुनै पर्छ! “औ ती दूतले तिनको हँसिया पृथ्वीमा फाले, र पृथ्वीको दाखको फसल जम्मा गरे, र त्यसलाई दाखमद्यको कोल, अर्थात्‌ परमेश्‍वरको क्रोधको ठूलो कोलमा फ्याँकिदिए। औ कोल शहरबाहिर कुल्चियो, र कोलबाट रगत घोडाहरूका लगामसम्मै र सय कोशसम्मै पुग्नेगरी बगेर निस्क्यो।” (प्रकाश १४:१९, २०) यस दाखको बोटको विरुद्धमा यहोवाले आफ्नो प्रकोप धेरै नै अघि घोषणा गरी सक्नु भएको छ। (सपन्याह ३:८) यस दाखको कोललाई कुल्चिंदा सारा राष्ट्रहरू नष्ट हुनेछन्‌ भनेर यशैयाको पुस्तकमा उल्लिखित एउटा भविष्यवाणीले स्पष्ट पार्दछ। (यशैया ६३:३-६) योएलको भविष्यवाणीअनुसार पनि “फैसला गरिने बेंसीमा” “धुइरोको धुइरो” राष्ट्रहरू “दाखको कोलमा” नष्ट हुनेछन्‌। (योएल ३:१२-१४) साँच्चै नै एउटा यस्तो विशाल कटनी हुनेछ जस्तो कि फेरि कहिल्यै हुनेछैन! यूहन्‍नाको दर्शनअनुसार त्यतिबेला अङ्‌गूरका झुप्पाहरू मात्र काटिने होइन तर त्यो प्रतीकात्मक बोट नै उखालिएर दाखको कोलमा कुल्चीमिल्ची हुन फालिनेछ। यसप्रकार पृथ्वीको दाख फेरि कहिल्यै पलाउनै नसक्नेगरी सदाका लागि नामेट हुनेछ।

२८. पृथ्वीको दाखको बोटलाई कसले कुल्चिन्छन्‌ र दाखको कोललाई “शहरबाहिर कुल्चिनु”को अर्थ के हो?

२८ दर्शनमा कुल्चीमिल्ची गर्ने काम घोडाहरूले गर्छन्‌ किनकि दाखबाट बगेको रगत “घोडाहरूका लगामसम्मै” पुग्छ। “घोडाहरूले” अक्सर युद्धसम्बन्धी गतिविधिलाई सङ्‌केत गरेको कारण यो पनि युद्धकै समय हुनुपर्छ। शैतानी रीतिरिवाजको विरुद्ध लडिने अन्तिम युद्धमा येशूको पछिपछि लाग्ने स्वर्गका सेनाहरूले “परमेश्‍वरको क्रोधको मद्यको कोल” कुल्चिन्छन्‌ भनिएको छ। (प्रकाश १९:११-१६) स्पष्टतः यिनीहरूले नै पृथ्वीको दाखलाई पनि कुल्चिने छन्‌। दाखको कोल ‘शहरबाहिर’ अर्थात्‌ स्वर्गीय सियोनको बाहिरपट्टि कुल्चिन्छ। किनकि पृथ्वीको दाखलाई पृथ्वीमै कुल्चिनु उचित हो। तर त्यसलाई “शहरबाहिर कुल्चिनु”-को अर्थ स्वर्गीय यरूशेलमको प्रतिनिधित्व गर्ने स्त्रीको सन्तानका शेष जनहरूको कुनै हानि नोक्सानी हुनेछैन भन्‍नु पनि हो। यिनीहरू यहोवाको पार्थिव सङ्‌गठनात्मक प्रबन्धभित्र ठूलो भीडका साथ सुरक्षित रहनेछन्‌।—यशैया २६:२०, २१.

२९. दाखको कोलबाट बगेको रगत कतिको गहिरो हुन्छ, कहाँसम्म फैलिन्छ र यी सबै कुराले के सङ्‌केत गर्छ?

२९ यो ज्वलन्त दर्शनको एउटा समानान्तर हामी दानियल २:३४, ४४-मा पाउँछौं जहाँ परमेश्‍वरको राज्यरूपी ढुङ्‌गाले पृथ्वीका जम्मै राज्यहरूलाई चक्नाचूर पार्दछ। सम्पूर्ण विनाश हुनेछ। मद्यको कोलबाट बग्ने रगतको खोला अति गहिरो छ। घोडाहरूको लगामसम्मै त्यो आइपुग्छ। त्यो करीब १,६०० फर्लङ्‌ टाढासम्मै बग्छ। a चारको वर्गलाई दशको वर्गले गुणा गर्दा (४ × ४ × १० × १०) हुने यो ठूलो सङख्याबाट बोध हुन्छ कि त्यो विनाशको प्रमाण विश्‍वभरि प्रत्यक्ष देख्न सकिनेछ। (यशैया ६६:१५, १६) विनाश सम्पूर्ण र अपरिवर्तनीय हुनेछ। शैतानको दाखले फेरि कहिले पनि जरा गाड्‌न पाउने छैन!—भजन ८३:१७, १८.

३०. शैतानको दाखका फलहरू के हुन्‌ र हामीले के गर्ने अठोट गर्नुपर्छ?

३० हामी बिल्कुलै अन्तको समयमा बाँच्नेहरूका लागि यी दुई कटनीहरूको दर्शन अति नै महत्त्वपूर्ण छ। हामीले आफ्नो वरिपरि हेऱ्‍यौं भने शैतानको दाखको फल सर्वत्र देख्नेछौं। गर्भपात र अन्यप्रकारका हत्या; समसमागमी, व्यभिचार र अनैतिकताको अनेक रूप; बेइमानी र स्वाभाविक स्नेहको अभाव। यी सबै कुराहरूले यस संसारलाई यहोवाको नजरमा भ्रष्ट तुल्याउँछ। शैतानको दाखले “तीतो र विषालु फल” फलाउँछ। यसको पतित, मूर्तिपूजक पद्धतिले मानिसको महान सृष्टिकर्ताको अपमान गर्दछ। (व्यवस्था २९:१८; ३२:५; यशैया ४२:५, ८) तर येशूले यहोवाको जयजयकारका निम्ति फलाउनु भएका असल फलहरू बटुल्ने काममा यूहन्‍नावर्गसित सक्रिय रूपमा सम्बन्धित हुन पाउनु एउटा महान विशेषाधिकार हो! (लूका १०:२) यस संसारको दाखबाट कुनै हालतमा पनि कलङ्‌कित नहुने अठोट हामी सबैले गरौं। यसप्रकार यहोवाले प्रतिकूल न्याय कार्यान्वयन गर्नु हुँदा पृथ्वीको दाख सङ्‌गसङ्‌गै हाम्रो कुल्चीमिल्ची हुनेछैन।

[फुटनोट]

a १,६०० फर्लाङ्‌ करीब ३०० किलोमिटर अथवा १८० माइल हुन्छ।—प्रकाश १४:२०, न्यु वर्ल्ड ट्रान्स्लेशन रेफ्रेन्स बाइबल, फुट नोट।

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ २०८-मा भएको पेटी]

‘उसको व्यभिचारको मद्य’

महान बेबिलोनको एउटा प्रमुख हिस्सा रोमन क्याथोलिक चर्च हो। यस चर्चलाई रोमले शासन गर्दछ र प्रत्येक पोप प्रेरित पत्रुसको उत्तराधिकारी हो भन्‍ने दाबी गरिन्छ। यी तथाकथित उत्तराधिकारीहरूबारे प्रकाशित केही तथ्यहरू यसप्रकार छन्‌:

फोरमोसस्‌ (८९१-९६): “फोरमोसस्‌को मृत्युको नौ महिनापश्‍चात्‌ उनको लाशलाई पोपहरूको चिहानबाट निकालेर ‘लाशको हाजिरीमा’ जाँचबूच कारबाही चलाइयो। यस न्यायसभाको अध्यक्षता नयाँ पोप स्तिफनले गरे। पोपको ओहोदामा छँदा अचाक्ली उच्चाभिलाषी हुने आरोप ती मृत पोपमाथि लगाइयो र उनले गरेका जम्मै कामहरू खारेज गरियो . . .। लाशलाई पहिराएको पोपको औपचारिक पोशाक हटाइयो र दाहिने हातका औंलाहरू पनि काटिए।”—न्यु क्याथोलिक इनसायक्लोपिडिया.

स्तिफन छैटौं (८९६-९७): “[फोरमोसस्‌को लाशको पुर्पक्षको] केही महिनापश्‍चात नै पोप स्तिफनलाई पनि कडा प्रतिक्रियावादीहरूले आफ्नो ओहोदाबाट हटाइ दिए; उनीबाट पोपको अधिकार चिह्न खोसियो, उनी झ्यालखानमा थुनिए र अन्ततः झुन्डाएर मारियो।”—न्यु क्याथोलिक इनसायक्लोपिडिया.

सर्जियस तेस्रो (९०४-११): “उनीभन्दा अघिका दुई जना पोपहरूलाई . . . झ्यालखानमै झुन्ड्याएर मारियो . . .। सर्जियस तृतीयलाई रोमको थियोफायल्याक्टस परिवारले समर्थन गरे जसकी एउटी छोरी मारोज्याबाट उनको एक जना छोरा भयो भन्छन्‌। यही छोरा पछिगएर पोप जोन एघारौं भए।”—न्यु क्याथोलिक इनसायक्लोपिडिया.

स्तिफन सातौं (९२८-३१): “पोप जोन दशौंका अन्तिम सालहरूमा उनले रोमको दोना सेनाट्रिक्स मारोज्यालाई अप्रसन्‍न तुल्याएको हुनाकारण उनी झ्यालखानमा थुनिए र पछि उनको हत्या भयो। यसपश्‍चात्‌ मारोज्याले पोप लियो छैटौंलाई पोप बनाइन्‌। तर पोप भएको साढे छ महिनापछि नै उनको मृत्यु भइ हाल्यो। उनीपछि, सम्भवतः मारोज्याको बलमा स्तिफन सातौं पोप हुन गए। . . . उनी दुई वर्ष पोप होउञ्जेलसम्म मारोज्याको डरले पूरै निस्क्रिय थिए।”—न्यु क्याथोलिक इनसायक्लोपिडिया.

जोन एघारौं (९३१-३५): “स्तिफन सातौंको मृत्युपछि . . . थियोफायल्याक्टसको घरानाकी मारोज्या आफ्नै छोरा जोनलाई पोप बनाउनमा सक्षम भइन्‌। तिनको छोरा त्यतिबेला करीब २० वर्षको युवक थिए। उनी पोप छँदा आफ्नी आमाको वशमा थिए।”—न्यु क्याथोलिक इनसायक्लोपिडिया.

जोन बाह्रौं (९५५-६४): “पोप नियुक्‍त हुँदा उनी अठाह्र वर्षका पनि थिएनन्‌। समकालीन रिपोर्टअनुसार उनलाई आध्यात्मिक कुराहरूमा केही चासो थिएन। असभ्य किसिमका मनोरञ्जनहरूमा उनको विशेष रुचि थियो र अचाक्ली छाडा जीवनशैली बिताउने गर्थे।”—दी अक्सफोर्ड डिक्श्नरी अफ पोप्स.

बेनेडिक्ट नवौं (१०३२-४४; १०४५; १०४७-४८): “आफ्नो धर्म पितालाई पोपको ओहदा बेचेर त्यसलाई पछि फेरि दुइ पटक फिर्ता लिएका लागि उनी कुख्यात थिए।”—द न्यु इनसायक्लोपिडिया ब्रिटेनिका.

विश्‍वासी पत्रुसको उदाहरण अनुकरण गर्नुको सट्टा यी र अन्य पोपहरूको प्रभाव खराब थियो। तिनीहरूले रक्‍तदोष, आत्मिक र शारीरिक, दुवै प्रकारको व्यभिचार र इजेबेलको जस्तो प्रभाव आफूद्वारा सञ्चालित चर्चभित्र पस्न दिए। (याकूब ४:४) यस्ता तथ्यहरूलाई विस्तृत विवरणका साथ बाइबल स्टुडेन्ट्‌सद्वारा प्रकाशित पुस्तक द फिनिष्ड मिस्ट्रि-मा प्रकाशित गरियो। यो एउटा तरीका थियो जसबाट बाइबल स्टुडेन्ट्‌सहरूले ती दिनहरूमा ‘पृथ्वीलाई हरप्रकारको विपत्तिले प्रहार गरे।’—प्रकाश ११:६; १४:८; १७:१, २, ५.

[पृष्ठ २०६-मा भएको चित्र]

सिंहासनमा विराजमान ख्रीष्टेल स्वर्गदूतहरूको सहयोग लिएर न्याय कार्यान्वयन गर्नुहुन्छ।

[पृष्ठ २०७-मा भएको चित्र]

सा.यु.पू. ५३९-मा बेबिलोनको पतनपछि उसका कैदीहरू मुक्‍त भए