सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

महान बेबिलोनको दण्ड कार्यान्वयन

महान बेबिलोनको दण्ड कार्यान्वयन

अध्याय ३५

महान बेबिलोनको दण्ड कार्यान्वयन

१. स्वर्गदूतले चहकिलो रातो रङ्‌गको जनावरको वर्णन कसरी गर्छन्‌ र प्रकाशको पुस्तकका प्रतीकहरूलाई बुझ्न कुन प्रकारको बुद्धि चाहिन्छ?

 प्रकाश १७:३-को जङ्‌गली जनावरको अझ वर्णन गर्दै स्वर्गदूत यूहन्‍नालाई यसो भन्छन्‌: “ज्ञान भएको अर्थ यसैमा छ। ती सात शिर पर्वतहरू हुन्‌, जसमाथि त्यो स्त्री बस्तछ। औ तिनीहरू ती सात राजाहरू हुन्‌—पाँचवटाको पतन भइसक्यो, एउटाचाहिं छँदै छ, र अर्को अझै आएको छैन। औ त्यो आएपछि त्यसले अलि बेर अवश्‍य रहनैपर्छ।” (प्रकाश १७:९, १०) माथिबाट आउने बुद्धिको यहाँ स्वर्गदूत चर्चा गर्दैछन्‌। यस बुद्धिद्वारा मात्र प्रकाशको पुस्तकका चिह्नहरू बुझ्न सकिन्छ। (याकूब ३:१७) यसै बुद्धिले यूहन्‍नावर्ग र उनका सङ्‌गीहरूलाई हाम्रो समयसालको गम्भीरताबारे प्रबुद्ध बनाउँछ। चाँडै नै कार्यान्वयन हुने यहोवाको न्यायप्रति त्यसले भक्‍त हृदयहरूमा मूल्याङ्‌कन बढाउँछ र यहोवाप्रति एउटा स्वस्थकर भय विकसित गराउँछ। हितोपदेश ९:१०-ले भनेझैं: “परमप्रभुको डर मान्‍नु बुद्धिको प्रथम खुड्‌किलो हो, परम-पवित्रको ज्ञाननै समझ-शक्‍ति हो।” तर हामीलाई त्यस जङ्‌गली जनावरबारे ईश्‍वरीय बुद्धिले के प्रकट गर्छ?

२. रातो रङ्‌गको जनावरका सात शिरहरूको अर्थ के हो र कसरी “पाँचवटाको पतन भइसक्यो, र एउटा चाहिं छँदै छ?”

त्यो भयानक जनावरका सात शिरहरूको अर्थ सात “पर्वतहरू” अथवा सात “राजा” हुन्‌। शास्त्रमा यी दुवै अभिव्यक्‍तिहरू सरकारी शक्‍तिहरूलाई बोध गर्दा प्रयोग गरिन्छ। (यर्मिया ५१:२४, २५; दानियल २:३४, ३५, ४४, ४५) बाइबलअनुसार छ वटा विशेष विश्‍व-शक्‍तिहरूले परमेश्‍वरका जनहरूको गतिविधिमाथि प्रभाव पारे। ती विश्‍व-शक्‍तिहरू हुन्‌: मिस्र, अश्‍शूर, बेबिलोन, मादी-फारसी, युनान र रोम। यूहन्‍नाले प्रकाशको पुस्तक पाउञ्जेलसम्म यीमध्येका पाँच विश्‍व-शक्‍तिहरू आएर पनि गइसकेका थिए। रोम चाहिं पूरै शासनारुढ थियो। त्यसैकारण “पाँचवटाको पतन भइसक्यो, एउटाचाहिं छँदै छ” भनिन्छ। तर यी पछि आउने अझ “अर्को” बारे के नि?

३. (क) रोमी साम्राज्य कसरी विभाजित हुन गयो? (ख) पश्‍चिमी क्षेत्रमा के कस्ता घटनाहरू घटे? (ग) पवित्र रोमी साम्राज्यलाई कुन दृष्टिले हेर्नु पर्छ?

यूहन्‍नाको समयदेखि सयौं वर्षपश्‍चात्‌ पनि रोमी साम्राज्य कायम रह्‌यो। त्यसको शक्‍ति बढ्‌दै गयो। सा.यु. ३३०-मा सम्राट कन्स्टनटाइनले आफ्नो राजधानी रोमदेखि बाइज्यान्टियममा सारे र त्यसलाई कन्सटेन्टीनोपल भन्‍ने नयाँ नाउँ दिए। सा.यु. ३९५-मा रोमी साम्राज्य पूर्व र पश्‍चिम, दुई भागमा विभाजित भयो। सा.यु. ४१०-मा स्वयं रोमलाई नै भिसिगोथहरूको (एउटा जर्मन जाति जसले एरियन “मसीही धर्म” अपनाएका थिए) राजा आलारिकले पराजित गरे। जर्मन [मसीही] जातिहरूले स्पेन तथा उत्तर अफ्रिकातिर पर्ने रोमका निकै इलाकाहरूलाई पनि आफ्नो कब्जामा पारे। युरोपमा शताब्दियौंसम्म उथलपुथल, अशान्ति र अनेक सुधारहरूको बतास चलिरहेको थियो। पश्‍चिमपट्टि प्रसिद्ध सम्राटहरू खडा भए। तीमध्ये एक जना चार्लमेन थिए जसले ९-औं शताब्दीमा पोप लिओ तृत्तीयसित सन्धि गरे। अर्का सम्राट फ्रेड्‌रिक द्वितीय थिए जसले १३ औं शताब्दीसम्म शासन गरे। यिनीहरूको राज्य पनि पवित्र रोमी साम्राज्य भनिन्थ्यो। तापनि पहिलेका वैभवशाली रोमी साम्राज्यको तुलनामा यी राज्यहरू धेरै नै साना थिए। यो वास्तवमा एउटा नयाँ साम्राज्य नभएर त्यो प्राचीन विश्‍व-शक्‍तिकै एकप्रकारको पुनःस्थापना अथवा अवशेष थियो।

४. पूर्वीय साम्राज्यले के के सफलता प्राप्त गऱ्‍यो तर उत्तर अफ्रिका, स्पेन र सिरियामा प्राचीन रोम अधीनस्थ धेरै जसो पहिलेका क्षेत्रहरूलाई के भयो?

कन्स्टेन्टीनोपलमा केन्द्रित रोमको पूर्वीय साम्राज्य र पश्‍चिमी साम्राज्यबीच एक प्रकारको नाजुक सम्बन्ध कायम रह्‍यो। छैटौं शताब्दीमा पूर्वीय सम्राट जस्टीनियन प्रथमले उत्तर अफ्रिकाको धेरै जसो भागलाई फेरि आफ्नो कब्जामा लिए। उनले स्पेन र ईटालीको मामिलामा दखल दिए। सातौं शताब्दीमा जस्टीनियन द्वितीयले स्लाविक जातिहरूको कब्जामा परेका मेसिडोनी इलाकाहरूलाई फेरि आफ्नै साम्राज्यमा गाभ्न सके। तथापि, आठौं शताब्दीसम्म उत्तर अफ्रिका, स्पेन र सिरियामा पर्ने प्राचीन रोमको आधिपत्यमा रहेका थुप्रै प्रदेशहरू नयाँ इस्लामी साम्राज्यको अधीनमा आइ सकेका थिए। तिनीहरू कन्स्टेन्टिनोपल र रोम, दुवैको वशमा रहेनन्‌।

५. सा.यु. ४१०-मा रोमको शहर पराजित भए तापनि रोमी साम्राज्यको राजनैतिक अस्तित्व विश्‍व-मञ्चबाट नामेट हुनका लागि किन अझ धेरै शताब्दी बित्न पऱ्‍यो?

कन्स्टेन्टिनोपलको शहर चाँहि अझ अलिक बेरसम्म टिक्न सक्यो। फारसी, अरबी, बलगेरी र रूसीहरूले बारम्बार हमला गरे तापनि त्यो तुरुन्तै ढलपल भएन। तर अन्ततः मुसलमानहरूको सट्टा पश्‍चिमका क्रुसेडर्सहरूको सामु १२०३-मा चाहिं त्यो पराजित भयो। सन्‌ १४५३-मा त्यो मुसलमान ओटोमन शासक महम्मद द्वितीयको वशमा आयो र केही समयपछि नै ओटोमन अथवा तुर्की साम्राज्यको राजधानी हुन गयो। यसप्रकार सा.यु. ४१०-मा रोमको पतन भए तापनि कैयौं शताब्दीपछि मात्र रोमी साम्राज्य विश्‍व-मञ्चबाट नामेट हुन सक्यो। तर यसपछि पनि उसको प्रभाव रोममा पोपको शासन र पूर्वीय कट्टर पन्थी चर्चहरूमा आधारित धार्मिक साम्राज्यहरूमा झल्किरह्‍यो।

६. कुनकुन नयाँ साम्राज्यहरू उठ्‌न थाले र कुन चाहिंले सबैभन्दा बढी सफलता हासिल गऱ्‍यो?

तथापि, १५-औं शताब्दीतिर चाहिं कुनै कुनै देशहरूले पूर्णतः नयाँ साम्राज्यहरूको निर्माण गरिरहेका थिए। यीमध्येका केही नयाँ साम्राज्यवादी शक्‍तिहरू रोम कै प्राचीन उपनिवेशहरूमा आधारित थिए। तर तिनीहरू रोमी साम्राज्यको हाँगा चाहिं पटक्कै थिएनन्‌। पोर्तुगाल, स्पेन, फ्रान्स र हलैण्डले टाढा टाढाका क्षेत्रहरूमाथि आधिपत्य जमाउन थाले। तर यीमध्ये सबैभन्दा सफल चाहिं ब्रिटेन भयो। ब्रिटेन अधीनस्थ विशाल साम्राज्यमा ‘सूर्य कहिल्यै डुबेन।’ बेग्लाबेग्लै समयमा यो साम्राज्य उत्तर अमेरिका, अफ्रिका, भारत, दक्षिणपूर्व एसिया र प्रशान्त महासागरका धेरै जसो भागहरूसम्मै फैलिन सक्यो।

७. एकप्रकारको द्वैध विश्‍वशक्‍तिको आरम्भ कसरी भयो र यूहन्‍नाको भनाइअनुसार सातौं ‘शिर’ अथवा विश्‍व-शक्‍ति कहिलेसम्म रहने थियो?

उन्‍नाइसौं शताब्दीसम्म उत्तर अमेरिकाका केही उपनिवेशहरू ब्रिटेनबाट अलग्गिएर स्वतन्त्र संयुक्‍त राज्य अमेरिका बनिसकेको थियो। यो नयाँ राष्ट्र र उसको पुरानो मातृभूमिबीच केही मात्रामा राजनैतिक अमेल रही नै रह्‌यो। तापनि प्रथम विश्‍व-युद्धले दुवै राष्ट्रहरूलाई आफ्नो साझे फायदा हेर्न बाध्य तुल्यायो। यसले गर्दा दुवैबीच एउटा विशेष सम्बन्ध बलियोगरी स्थापित भयो। यसप्रकार एकप्रकारको द्वैध विश्‍व-शक्‍तिको आरम्भ भयो जसमा हाल विश्‍वको सबैभन्दा धनसम्पन्‍न देश, संयुक्‍त राज्य अमेरिका र विश्‍वको सबैभन्दा विशाल साम्राज्यको केन्द्र, ब्रिटेन सामेल थिए। यही नै हो त्यो सातौं ‘शिर’ अथवा विश्‍वशक्‍ति जो यहोवाका साक्षीहरू प्रथमतः स्थापित भएका क्षेत्रहरूमा र अन्तको समयसम्मै कायम रहनेछ। छैटौं शिरको लामो शासनकालको तुलनामा यो सातौं शिर “अलि बेर” अर्थात्‌ सबै राष्ट्रहरूलाई परमेश्‍वरको राज्यले नष्ट नगरुञ्जेलसम्म रहनेछ।

किन आठौं राजा कहलिएको?

८, ९. स्वर्गदूतले रातो रङ्‌गको जनावरलाई के भनेर सम्बोधन गर्छन्‌ र त्यो कुन अर्थमा सातौंबाट आउँछ?

स्वर्गदूतले यूहन्‍नालाई अझ यसप्रकारको व्याख्या दिन्छन्‌: “औ त्यो जनावर जो हुनालाई त थियो, तर छैन, त्यो आफै पनि सातमध्येबाट निस्केको एउटा आठौं हो, औ त्यो सत्यानाशमा जानेछ।” (प्रकाश १७:११) प्रतीकात्मक रातो रङ्‌गको जनावर ती सात शिर “मध्येबाट निस्कन्छ”; अर्थात्‌ यो रातो रङ्‌गको जनावरको मूल स्रोत नै “समुद्रबाट निस्कने जनावर”-का शिरहरू हुन्‌। यो रातो रङ्‌गको जनावर समुद्रबाट निस्कने जनावरको प्रतिरूप पनि हो। कुन अर्थमा? १९१९-मा एङ्‌गलो अमेरिकी शक्‍ति शासनारूढ शिर थियो। बाँकी छ-वटा शिरहरूको पतन भइसकेको थियो। प्रमुख विश्‍व-शक्‍तिको भूमिका अब यही द्वैध शिरले निभाउन थाल्यो। पङ्‌क्‍तिबद्ध विश्‍व-शक्‍तिहरूको वर्तमान प्रतिनिधि, यो सातौं शिरले नै राष्ट्र संघ स्थापित गर्नमा प्रमुख भूमिका खेल्यो। ऊ आज पनि संयुक्‍त राष्ट्र संघको मुख्य समर्थक र आर्थिक सहयोगको स्रोत छ। अतः त्यो रातो रङ्‌गको जनावर अर्थात्‌ आठौं राजा प्रतीकात्मक तवरमा सात शिरहरू “मध्येबाट निस्केको” हो। यसरी विचार गर्दा यो आठौं शिर ती सातमध्येबाट निस्केको र केही समयअघि प्रकट गरिएअनुसार थुमाको जस्तै दुई सीङ भएको जनावरले (प्रथम जनावरको सातौं शिर अर्थात्‌ एङ्‌गलो अमेरिकी विश्‍व-शक्‍ति) मूर्ति बनाउने र त्यसलाई श्‍वास दिने प्रस्ताव राखेको कुरा जम्मै राम्ररी मिल्दछ।—प्रकाश १३:१, ११, १४, १५.

यसका साथै, राष्ट्र संघका प्रथम सदस्य राष्ट्रहरूमध्ये ग्रेट ब्रिटेनबाहेक ती सरकारहरू पनि सम्मिलित थिए जसले पहिलेका शिरहरूको राजगद्दीबाट राज्य गर्थे। उदाहरणका लागि, युनान, इरान (पर्सिया) र ईटाली (रोम)। अन्ततः प्रथम छ वटा विश्‍व-शक्‍तिहरूको आधिपत्यमा रहेका इलाकाहरूमाथि शासन गर्ने सरकारहरू पनि उक्‍त जनावरको मूर्तिलाई सहयोग पुऱ्‍याउने सदस्यहरू हुन गए। यस अर्थमा पनि त्यो रातो रङ्‌गको जनावर सात वटा विश्‍व-शक्‍तिहरूबाट उत्पन्‍न भएको हो भन्‍न सकिन्छ।

१०. (क) रातो रङ्‌गको जनावर “आफै पनि एउटा आठौं राजा हो” भन्‍नु किन मिल्छ? (ख) पहिलेको सोभियत संघका एक जना नेताले संयुक्‍त राष्ट्र संघका लागि आफ्नो समर्थन कसरी व्यक्‍त गरे?

१० यहाँ ध्यान दिनु पर्ने अर्को कुरा के छ भने त्यो रातो रङ्‌गको जनावर “आफै पनि एउटा आठौं” राजा हो। तसर्थ, आज संयुक्‍त राष्ट्र संघलाई एउटा विश्‍व-सरकारको रूप दिएको छ। उसले समय समयमा विश्‍व-सरकारले झैं काम पनि गरेको छ। उसले कोरिया, सिनै प्रायद्वीप, केही अफ्रिकी देशहरू र लेबनोनजस्ता ठाउँहरूमा अन्तर्राष्ट्रिय झगडाहरूको समाधान गर्न सेनाहरू पनि पठाउने गरेको छ। तर ऊ राजाको मूर्ति मात्र हो। कुनै एउटा धार्मिक मूर्ति जस्तै। त्यसले त्यति मात्र शक्‍ति वा प्रभुत्व जमाउन सक्छ जति त्यसलाई बनाउने र उपासना गर्नेहरूले दिएको हुन्छ। कहिलेकाहीं यो प्रतीकात्मक जनावर कमजोर पनि देखिन्छ; तापनि तानाशाही प्रवृत्ति हुने सदस्य राष्ट्रहरूले राष्ट्र संघलाई चारैतिरबाट त्यागेर अगाध खाँदभित्र लरखऱ्‍याउँदै खसाइ दिएको जस्तै आजसम्म संयुक्‍त राष्ट्र संघलाई चाहिं भएको छैन। (प्रकाश १७:८) अन्य क्षेत्रहरूमा पूर्णतः बेग्ला-बेग्लै दृष्टिकोण भए तापनि १९८७-मा पहिलेको सोभियत संघका एक जना प्रमुख नेताले रोमका पोपहरूसित मिलेर संयुक्‍त राष्ट्र संघप्रति समर्थन व्यक्‍त गरे। उनले संयुक्‍त राष्ट्र संघमा आधारित “अन्तर्राष्ट्रिय सुरक्षाको व्यापक व्यवस्था” स्थापित गर्ने आह्वान पनि गरे। यूहन्‍नालाई अब चाँडै थाह लाग्ने छ कि संयुक्‍त राष्ट्र संघले निकै नै अख्तियारसाथ कदम चाल्नेछ। त्यसपछि त्यो “सत्यानाशमा” जानेछ।

एक घण्टाका लागि दश राजाहरू

११. प्रतीकात्मक रातो रङ्‌गको जनावरमाथि भएका दशवटा सीङहरूबारे यहोवाको स्वर्गदूतले के भन्छन्‌?

११ प्रकाशको पुस्तकको अघिल्लो अध्यायमा छैटौं र सातौं स्वर्गदूतहरूले परमेश्‍वरको क्रोधका कचौराहरू खन्याएका थिए। पृथ्वीका राजाहरू अब आरमागेडोनमा परमेश्‍वरको युद्धका लागि एकत्रित गराइँदैछन्‌ र ‘परमेश्‍वरको दृष्टिमा महान बेबिलोनको सम्झना’ गरिनेछ भनेर हामीलाई सूचित गराइएको थियो। (प्रकाश १६:१, १४, १९) अब यिनीहरूमाथि परमेश्‍वरको न्याय कार्यान्वयनको विस्तृत विवरण हामीलाई थाह हुनेछ। सुन्‍नुहोस्‌, यहोवाको स्वर्गदूतले यूहन्‍नालाई के भन्छन्‌: “औ तिमीले देखेका ती दशवटा सीङचाहिं दश राजाहरू हुन्‌, जसले अहिलेसम्म राज्य पाएका छैनन्‌। तर ती जनावर सँगसँगै तिनीहरूले एक घण्टाको निम्ति राजाजस्तै अख्तियार पाउँछन्‌। तिनीहरू एउटै मनका छन्‌। तिनीहरू आफ्ना शक्‍ति र अख्तियार त्यस जनावरलाई दिन्छन्‌। यिनीहरूले थुमाको विरुद्धमा युद्ध गर्नेछन्‌, र थुमाले तिनीहरूलाई जित्नुहुनेछ। किनकि उहाँ प्रभुहरूका महाप्रभु र राजाहरूका महाराजा हुनुहुन्छ। बोलावट भएका, चुनिएका र विश्‍वासीहरू जो उहाँका साथमा आउँछन्‌, उनीहरूले पनि तिनीहरूलाई जित्नेछन्‌।’ ”—प्रकाश १७:​१२-१४.

१२. (क) ती दश सीङहरूले केलाई चित्रित गर्छन्‌? (ख) ती प्रतीकात्मक दश सीङहरूले कुन अर्थमा “अहिलेसम्म राज्य पाएका” थिएनन्‌? (ग) तर ती प्रतीकात्मक दश सीङहरूले अहिले भने कसरी “राज्य पाएका” छन्‌ र कति बेरसम्मका लागि?

१२ ती दश वटा सीङहरूले वर्तमान विश्‍व-मञ्चमा प्रभुत्व जमाउने र जङ्‌गली जनावरको मूर्तिलाई समर्थन गर्ने जम्मै राजनैतिक शक्‍तिहरूलाई प्रतिनिधित्व गर्छन्‌। आजका अधिकांश देशहरू यूहन्‍नाको दिनमा थिएनन्‌। र मिस्र र पर्सिया (इरान) जस्ता जति राष्ट्रहरू थिए, तिनीहरूको राजनैतिक बनौट आज पूर्णतः बेग्लै भइसकेको छ। यसकारण, प्रथम शताब्दीमा ती ‘दश सीङहरूले राज्य पाएका थिएनन्‌।’ तर अहिले प्रभुको दिनमा चाहिं तिनीहरूले “राज्य” अथवा राजनैतिक अख्तियार पाएका छन्‌। विशेषगरी दोस्रो विश्‍व-युद्धपश्‍चात्‌ महान उपनिवेशी सम्राज्यहरूको ह्रासपछि थुप्रै नयाँ राष्ट्रहरूले जन्म लिएका छन्‌। यिनीहरू र धेरै समयदेखि स्थापित अन्य शक्‍तिहरूले त्यो जनावरसित मिलेर “एक घण्टा”का लागि शासन चलाउनै पर्छ। त्यसपछि यहोवाले आरमागेडोनमा जम्मै सांसारिक राजनैतिक शक्‍तिको अन्त गरी दिनु हुनेछ।

१३. ती दश सीङहरू “एकै मन”-का हुन्छन्‌ भन्‍नुको तात्पर्य के हो र यसले गर्दा थुमाप्रति तिनीहरूले निश्‍चय नै कस्तो मनोवृत्ति दर्साउँछन्‌?

१३ आज यी दश सीङहरूलाई प्रेरणा दिने सबैभन्दा जबरदस्त शक्‍ति राष्ट्रियता हो। तिनीहरू सबै “एकै मनका” हुन्‌। तिनीहरू सबै परमेश्‍वरको राज्यलाई स्वीकार्नुको सट्टा आफ्नै राष्ट्रिय सार्वभौमिकतालाई कायम राख्न चाहन्छन्‌। यसैका लागि त तिनीहरूले राष्ट्र संघ र संयुक्‍त राष्ट्र संघलाई समर्थन गरेका थिए। तिनीहरू आफ्नै अस्तित्वलाई सुरक्षित राख्नका लागि विश्‍व शान्ति चाहन्छन्‌। यसैकारण तिनीहरूले निश्‍चय नै थुमा अर्थात्‌ “प्रभुहरूको प्रभु र राजाहरूको महाराजा”-को विरोध गर्नेछन्‌। किनकि यहोवाले यी जम्मै राज्यहरूको ठाउँमा येशू ख्रीष्टको अधीनस्थ आफ्नै राज्य स्थापित गर्ने उद्देश्‍य रच्नु भएको छ।—दानियल ७:१३, १४; मत्ती २४:३०; २५:३१-३३, ४६.

१४. संसारका शासकहरूले थुमासित लडाइँ गर्न कसरी सम्भव हुन्छ र यस युद्धको परिणाम के हुनेछ?

१४ यथार्थमा संसारका यी शासकहरूले स्वयं येशूको खिलाफ केही गर्न सक्ने छैनन्‌। किनकि उहाँ स्वर्गमा तिनीहरूको पहुँचभन्दा धेरै नै टाढा हुनुहुन्छ। तर येशूका भाइहरू अथवा स्त्रीको सन्तानका बाँकी सदस्यहरू भने पृथ्वीमै छन्‌ र यिनीहरूमाथि आक्रमण गर्न सकिन्छ। (प्रकाश १२:१७) यिनीहरूप्रति धेरै जसो सीङहरूले कठोर शत्रुता व्यक्‍त गरिसकेका छन्‌। यसरी तिनीहरूले थुमाको विरुद्धमा युद्ध लड्‌न थालिसकेका छन्‌। (मत्ती २५:४०, ४५) तर चाँडै नै परमेश्‍वरले “यी सबै राज्यहरूलाई चक्नाचूर” पार्ने समय आउनेछ। (दानियल २:४४) त्यतिखेर पृथ्वीका राजाहरूले भएभरको शक्‍ति लगाएर थुमाको विरुद्धमा युद्ध गर्नेछन्‌ भनी हामी चाँडै देख्नेछौं। (प्रकाश १९:११-२१) तर हामी यो पनि बुझ्ने छौं कि यी राष्ट्रहरू सफल हुनेछैनन्‌। तिनीहरू र संयुक्‍त राष्ट्र संघको चहकिलो रातो रङ्‌गको जनावरको “एकै मन” भए तापनि तिनीहरूले महान “प्रभुहरूको महाप्रभु र राजाहरूको महाराजा”लाई पराजित गर्न सक्ने छैनन्‌। नता पृथ्वीमै भएका उहाँका “बोलावट भएका, चुनिएका र विश्‍वासी” अभिषिक्‍त अनुयायीहरूलाई नै जित्न सक्ने छन्‌। किनकि यी अभिषिक्‍त जनहरू पनि शैतानको झूटा आरोपहरूको सामु आफ्नो निष्ठा कायम राखेर विजयी भइ सकेका हुनेछन्‌।—रोमी ८:३७-३९; प्रकाश १२:१०, ११.

वेश्‍यालाई सर्वनाश पार्न

१५. स्वर्गदूतले वेश्‍या र ऊप्रति ती दश सीङ र जनावरको मनोवृत्ति र क्रियाकलापबारे के भन्छन्‌?

१५ तर ती दश वटा सीङहरूको शत्रुताको तारो परमेश्‍वरका जनहरू मात्र होइनन्‌। स्वर्गदूतले अब यूहन्‍नाको ध्यान फेरि त्यस वेश्‍यातर्फ आकृष्ट गर्छन्‌: “औ तिनले मलाई भने, ‘तिमीले देखेका ती पानीहरू, जहाँ त्यो वेश्‍या बस्तछ, तिनीहरू ता मानिसहरू, भीडहरू, जातिहरू र भाषाहरू हुन्‌। औ तिमीले देखेका ती दश सीङ र त्यस जनावरले त्यस वेश्‍यासँग दुश्‍मनी गर्नेछन्‌, र त्यसलाई उजाड र नाङ्‌गो पार्नेछन्‌। औ त्यसको मासु खानेछन्‌, र त्यसलाई आगोमा भस्म पारिदिनेछन्‌।”—प्रकाश १७:१५, १६.

१६. महान बेबिलोनमाथि राजनैतिक सरकारहरूले आक्रमण गर्दा उसले आफ्नो बचाउका लागि आफ्ना पानीहरूमाथि किन भर गर्न पाउने छैन?

१६ जसरी पुरातन प्राचीन बेबिलोन आफ्नो सुरक्षादायी पानीहरूमाथि भर पर्थ्यो, त्यसरी नै आज महान बेबिलोन पनि “मानिसहरू, भीडहरू, जातिहरू र भाषाहरू”-का आफ्ना सदस्यहरूको विशाल सङख्यामाथि भर गर्छ। यिनीहरूमाथि हाम्रो ध्यान आकृष्ट गरी सकेपछि मात्र स्वर्गदूतले एउटा भयानक घटनाको चर्चा गर्छन्‌: त्यो हो महान बेबिलोनमाथि पृथ्वीका राजनैतिक सरकारहरूले गर्ने हिंसात्मक आक्रमण। त्यतिखेर ती सबै “मानिसहरू, भीडहरू, जातिहरू र भाषाहरू”-ले के गर्नेछन्‌? यूफ्रेटिस नदीको पानी सुक्नेछ भनेर परमेश्‍वरका जनहरूले महान बेबिलोनलाई चेताउनी दिन थालिसकेका छन्‌। (प्रकाश १६:१२) अन्ततः ती पानीहरू ठ्याम्मै सुक्नेछन्‌। तिनीहरूले त्यो घृणास्पद वेश्‍यालाई सबैभन्दा ठूलो खाँचोको घडीमा केही खास समर्थन दिन सक्ने छैनन्‌।—यशैया ४४:२७; यर्मिया ५०:३८; ५१:३६, ३७.

१७. (क) महान बेबिलोनको धनसम्पत्तिले उसलाई किन बचाउन सक्ने छैन? (ख) महान बेबिलानेको विनाश कसरी कुनै हालतमा पनि गरिमायुक्‍त हुनेछैन? (ग) दश सीङ अथवा बेग्लाबेग्लै राष्ट्रहरू बाहेक अरू को पनि महान बेबिलोनलाई सखाप पार्ने अभियानमा जाइ लाग्नेछ?

१७ हो, महान बेबिलोनको विशाल भौतिक धनले उसलाई पटक्कै बचाउन सक्ने छैन। बरु त्यो धन उसको अझ चाँडो विनाशको कारण बन्‍न सक्ने छ। त्यो जङ्‌गली जनावर र दश सीङहरूले ऊ माथि आफ्नो रीस खन्याउँदा उसले पहिरहेको शाही पोशाक र गरगहना जम्मै फुकाइनेछन्‌। उसको भएभरको सम्पत्ति तिनीहरूले लुटनेछन्‌। तिनीहरूले उसलाई “नाङ्‌गै” पार्नेछन्‌। उसको भित्री चरित्र सबैको सामु उदाङ्‌ग पारिनेछ। कस्तो सर्वनाश! उसको अन्त कुनै रीतिले पनि गरिमायुक्‍त हुनेछैन। तिनीहरूले उसलाई नष्ट पार्नेछन्‌। उसको “मासु खानेछन्‌।” उसलाई निर्जीव र हाडैहाड तुल्याएर छाडनेछन्‌। अन्तमा ऊ “आगोमा भस्म” पारिनेछ। कुनै महामारीवाहकझैं ऊ जलाइनेछ। ऊ श्रद्धापूर्वक गाडिने पनि छैन! यो महा वेश्‍याको नाश दश सीङहरूले प्रतिनिधित्व गर्ने राष्ट्रहरूद्वारा मात्र हुने होइन। ऊ माथि स्वयं जङ्‌गली “जनावर” अथवा संयुक्‍त राष्ट्र संघ नै जाइ लाग्नेछ। संयुक्‍त राष्ट्र संघले नै झूटो धर्मलाई नष्ट पार्ने अनुमति दिनेछ। उसका १९० भन्दा धेरै सदस्य राष्ट्रहरू मध्येका धेरै जसोले धर्मप्रति, विशेषगरी मसीहीजगतका धर्महरूप्रति आफ्नो मतद्वारा शत्रुता व्यक्‍त गरी सकेका छन्‌।

१८. (क) बेबिलोनी धर्मको विरोध गर्ने सम्भावना राष्ट्रहरूमा आज पनि कसरी देख्न सकिएको छ? (ख) महा वेश्‍यामाथि गरिने यो ठूलो आक्रमण पछाडि मुख्य कारण के हुनेछ?

१८ तर यी राष्ट्रहरूले आफ्नो पुरानो प्रेमिकासित यस्तो दुर्व्यवहार किन गर्नेछन्‌? बेबिलोनी धर्म विरुद्ध यसरी जाइलाग्ने सम्भावना हामीले हालसालैको इतिहासमा देखि सकेका छौं। सरकारी विरोधले गर्दा पहिलेको सोभियत संघ र चीन जस्ता मुलुकहरूमा धर्मको प्रभाव धेरै नै घटेको छ। प्रोटेस्टेन्ट धर्म मान्‍ने युरोपका क्षेत्रहरूमा व्यापक उदासीनता र अविश्‍वासको कारण चर्चहरू रित्तो भएका छन्‌। धर्म प्रायः मरी नै सकेको छ। विशाल क्याथोलिक साम्राज्यमा पनि विरोध र अमेलको फाटो देखा परेको छ र त्यसको समाधान त्यसका नेताहरूले गर्न सकेको छैन। महान बेबिलोनमाथि आइ पर्ने यो ठूलो र अन्तिम आक्रमण यस महा वेश्‍यामाथि परमेश्‍वरको अकाट्य न्यायको एउटा अभिव्यक्‍ति हो भनी हामीले कहिले बिर्सनु हुँदैन।

परमेश्‍वरको विचारको कार्यान्वयन

१९. (क) यस महा वेश्‍यामाथि यहोवाको न्याय कार्यान्वयनलाई सा.यु.पू. ६०७-मा उहाँले धर्मत्यागी यरूशलेममाथि गर्नु भएको विनाशसित कसरी तुलना गर्न सकिन्छ? (ख) सा.यु.पू. ६०७-पछि यरूशलेमको उजाड र सुनसान स्थितिले हाम्रो दिनका लागि के चित्रित गरेको थियो?

१९ यहोवाले यो न्याय कार्यान्वयन कसरी गर्नु हुनेछ? यसको उदाहरण हामी त्यस बेलाको घटनाबाट लिन सक्छौं जब प्राचीन समयमा यहोवाले आफ्नै धर्मत्यागी जातिको विरुद्धमा कदम चाल्नु भएको थियो। उहाँले त्यस जातिबारे यसो भन्‍नु भयो: “यरूशलेमका अगमवक्‍ताहरूमा मैले साह्रै घिनलाग्दो कुरा देखें। तिनीहरू व्यभिचार गर्दछन्‌, र झूटो चाल चल्छन्‌। खराब गर्नेहरूका हात यिनीहरू बलिया पार्दछन्‌। यसैले कोही पनि आफ्नो दुष्टतादेखि फर्कंदैन। तिनीहरू सबै मेरो निम्ति सदोमझैं भएका छन्‌।” (यर्मिया २३:१४) आत्मिक व्यभिचार गर्ने त्यो शहरको ‘वस्त्र उतारेर त्यसका राम्रा राम्रा गहनाहरू लैजान र त्यसलाई नाङ्‌गै पार्न’ यहोवाले सा.यु.पू. ६०७-मा नबुकदनेसरलाई प्रयोग गर्नु भएको थियो। (इजकिएल २३:४, २६, २९) त्यतिखेरको यरूशलेम आज मसीहीजगतको एउटा नमुना थियो। यरूशलेमलाई दिनु भएको जस्तै सजाय यहोवाले मसीहीजगत र झूटो धर्मको शेष भागलाई पनि दिनु हुनेछ भन्‍ने कुरा यूहन्‍नाले पहिले देखेका दर्शनहरूबाट प्रष्ट हुन्छ। निर्धन र लाजमर्दोगरी उदाङ्‌ग तुल्याइ सकेपछि मसीहीजगत कस्तो देखिनेछ, त्यसको एक झलक सा.यु.पू. ६०७ पछि यरूशलेमको उजाड र सुनसान अवस्थामा देख्न सकिन्छ। यस्तै गति अन्ततः महान बेबिलोनको शेष भागको पनि हुनेछ।

२०. (क) यहोवाले आफ्नो न्याय कार्यान्वयन गर्नु हुँदा फेरि मानव शासकहरू नै प्रयोग गर्नु हुनेछ भनेर यूहन्‍नाले कसरी प्रदर्शित गर्छन्‌? (ख) परमेश्‍वरको त्यो “वचन” के हो? (ग) राष्ट्रहरूले तिनीहरूको आफ्नो “मन”-को विचारलाई कसरी पूरा गर्नेछन्‌ र त्यो खासमा कसको विचार हुनेछ?

२० आफ्नो न्याय कार्यान्वयन गर्न यहोवाले फेरि मानव शासकहरूलाई नै प्रयोग गर्नुहुन्छ। “किनकि परमेश्‍वरका वचन पूरा नहोउञ्जेल त्यसको इच्छाबमोजिम गर्न र एकै मनका हुन र त्यस जनावरलाई तिनीहरूका राज्य दिनलाई परमेश्‍वरले तिनीहरूलाई त्यस्तो मन दिनुभएको हो।” (प्रकाश १७:१७) परमेश्‍वरको त्यो “वचन” के हो? महान बेबिलोनलाई पूर्णतः नाश गर्नका लागि उसका विनाशकर्ताहरूलाई एकत्रित गराउने वचन हो त्यो। तथापि, ती राष्ट्रहरूले चाहिं आफ्नै “मन”को विचार पूरा गर्न महान बेबिलोनमाथि आक्रमण गर्नेछन्‌। त्यो महा वेश्‍यामाथि जाइ लाग्नु तिनीहरूकै राष्ट्रिय हितका लागि हो भनी तिनीहरू ठान्‍ने छन्‌। तिनीहरू सोच्नेछन्‌ आफ्नो प्रदेशभित्र सङ्‌गठित धर्मलाई ठाउँ दिनु राष्ट्रिय सार्वभौमिकताका लागि खतरा हो। तर घटनाक्रमलाई खास मोड त पछाडिबाट यहोवाले नै दिनु हुनेछ; ती शासकहरूले परमेश्‍वरको त्यो पुरानो र व्यभिचारी दुश्‍मनलाई एकै चोटमा खतम पार्दा तिनीहरूले यहोवाकै वचन पूरा गरिरहेका हुनेछन्‌!—यर्मिया ७:८-११, ३४-तुलना गर्नुहोस्‌।

२१. महान बेबिलोनलाई नष्ट गर्दा रातो रङ्‌गको जनावर प्रयोग हुने भएकोले संयुक्‍त राष्ट्र संघलाई राष्ट्रहरूले मिलेर स्पष्टतः के गर्नेछन्‌?

२१ हो, महान बेबिलोनलाई नष्ट पार्दा राष्ट्रहरूले त्यही रातो रङ्‌गको जनावर अर्थात्‌ संयुक्‍त राष्ट्र संघलाई नै प्रयोग गर्नेछन्‌। तिनीहरूले यो आफ्नै मनले गर्ने छैनन्‌। यहोवाले नै तिनीहरूलाई “एकै मनका हुन र त्यस जनावरलाई तिनीहरूका राज्य दिने . . . मन दिनु हुनेछ।” ठीक समय आइपुग्दा राष्ट्रहरूले संयुक्‍त राष्ट्र संघलाई बलियो पार्ने आवश्‍यकता देख्नेछन्‌। तिनीहरूले त्यसलाई दाँत दिएजस्तै हुनेछ अर्थात्‌ आफ्नो भएभरको अख्तियार र शक्‍ति तिनीहरूले संयुक्‍त राष्ट्रलाई दिनेछन्‌। यसले गर्दा “परमेश्‍वरका वचन पूरा नहोउञ्जेल” झूटो धर्मसित अन्तसम्मै सफलतापूर्वक युद्ध गर्न संयुक्‍त राष्ट्र संघ सक्षम हुनेछ। यसप्रकार त्यो प्राचीन वेश्‍याको अन्त हुनेछ!

२२. (क) प्रकाश १७:१८-मा स्वर्गदूतले आफ्नो गवाही समाप्त गर्ने विधिबाट के बोध हुन्छ? (ख) यो रहस्य उघारिन्दा यहोवाका साक्षीहरूले आफ्नो प्रतिक्रिया कसरी व्यक्‍त गर्छन्‌?

२२ झूटो धर्मको साम्राज्यमाथि यहोवाले निश्‍चय नै आफ्नो न्याय कार्यान्वयन गर्नु हुनेछ भनेर मानौं पुष्टि दिंदै स्वर्गदूतले आफ्नो गवाही यसो भन्दै टुङ्‌गयाउँछन्‌: “तिमीले देखेका त्यो स्त्रीचाहिं त्यो महान शहर हो, जसले पृथ्वीका राजाहरूमाथि राज्य गर्छ।” (प्रकाश १७:१८) बेलसजरको समयको बेबिलोनझैं, महान बेबिलोन पनि ‘तराजुमा जोखिंदा हलुङ्‌गो ठहरिएको छ।’ (दानियल ५:२७, द न्यु इङ्‌गलिश बाइबल) उसको विनाश चाँडो र आखिरी हुनेछ। त्यस महा वेश्‍या र चहकिलो रातो रङ्‌गको जनावरको रहस्य खुलेको देख्दा यहोवाका साक्षीहरूले कस्तो प्रतिक्रिया व्यक्‍त गर्छन्‌? तिनीहरू जोशिलो भएर यहोवाको न्यायको दिन घोषणा गर्छन्‌। तर साँचो हृदयसाथ सत्य खोज्नेहरूलाई चाहिं “अनुग्रहसहितको” जवाफ दिन्छन्‌। (कलस्सी ४:५, ६; प्रकाश १७:३, ७) महा वेश्‍या नष्ट हुँदा बाँच्न चाहनेहरूले चाँडै, हो तुरुन्तै कदम चाल्नु पर्छ! र यही कुरा हामी आउँदो अध्यायमा बुझ्नेछौं।

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ २५२-मा भएको चित्र]

सात विश्‍व-शक्‍तिहरूको क्रम

मिस्र

अश्‍शूर

बेबिलोन

मादी -फारसी

युनान

रोम

एङ्‌गलो -अमेरिका

[पृष्ठ २५४-मा भएको चित्र]

“त्यो आफै पनि . . . एउटा आठौं राजा हो।”

[पृष्ठ २५५-मा भएको चित्र]

थुमाको उपेक्षा गर्दै तिनीहरूले “आफ्ना शक्‍ति र अख्तियार त्यस जनावरलाई दिन्छन्‌।”

[पृष्ठ २५७-मा भएको चित्र]

प्राचीन यरूशलेम जस्तै महान बेबिलोनको मुख्य भाग मसीहीजगत पनि सम्पूर्णतः ध्वस्त हुनेछ।