सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

महान शहरको विध्वंस

महान शहरको विध्वंस

अध्याय ३६

महान शहरको विध्वंस

दर्शन १२—प्रकाश १८:१–१९:१०.

विषय: महान बेबिलोनको पतन र विनाश; थुमाको विवाहको उद्‌घोषणा

पूर्ति समयावधि: १९१९-देखि महासङ्‌कष्ट पछिसम्म

१. महासङ्‌कष्टको सुरु कुन घटनासाथ हुनेछ?

 अकस्मात्‌, आश्‍चर्यमय र विध्वंसक—यस्तो हुनेछ महान बेबिलोनको अन्त! इतिहासको त्यो एउटा अति नै विनाशक घटना हुनेछ। यही घटनाबाट त्यो “महासङ्‌कष्ट” सुरु हुनेछ “जो जगतको सुरुदेखि अहिलेसम्म भएको छैन, नता फेरि कहिल्यै हुनेछ।”—मत्ती २४:२१.

२. राजनैतिक साम्राज्यहरू आए गए तापनि कुन प्रकारको साम्राज्य चाहिं रहिरहेको छ?

झूटो धर्म धेरै नै लामो समयदेखि चल्दै आएको छ। यहोवाको विरोध गर्ने र मानिसहरूलाई बाबेलको धरहरा बनाउन लगाउने रक्‍तपिपासु निम्रोदको पालोदेखि झूटो धर्म अटुट रीतिले चलि आएको छ। यहोवाले ती विद्रोहीहरूको भाषा खलबलाउनु भएर तिनीहरूलाई पृथ्वीभरि तितरबितर पारिदिनु हुँदा तिनीहरू जहाँजहाँ गए बेबिलोनी झूटो धर्म पनि तिनीहरूले आफ्नो साथ मै लगे। (उत्पत्ति १०:८-१०; ११:४-९) तत्पश्‍चात्‌ अनेक राजनैतिक साम्राज्यहरू आएगए, तर बेबिलोनी धर्म चाहिं यथावत रह्‍यो। त्यसले अनेक रूप धारण गर्दै आयो। अन्ततः त्यो झूटो धर्मको विश्‍व साम्राज्य अर्थात्‌ भविष्यवाणी गरिएको महान बेबिलोन हुन गयो। त्यसको प्रमुख भाग मसीहीजगत हो जो वास्तवमा पुरातन बेबिलोनी शिक्षा र धर्मत्यागी “मसीही” धर्मसिद्धान्तहरूमा ओतप्रोत छ। इतिहासमा महान बेबिलोन यति लामो समयदेखि चलि आएको हुनाले यसको एक दिन नाश हुनेछ भनी विश्‍वास गर्न धेरै मानिसहरूलाई गाह्रो लाग्छ।

३. प्रकाशको पुस्तकले झूटो धर्मको विनाशमाथि कसरी जोड दिन्छ?

यसैकारण झूटो धर्म निश्‍चय नै नष्ट हुनेछ भनेर उसको पतन र त्यसपछिको सर्वनाशतर्फ लैजाने घटनाक्रमबारे दुइटा बेग्लै र विस्तृत विवरण प्रकाशको पुस्तकले प्रस्तुत गर्नु उचित हो। हामीले झूटो धर्मलाई उसका पुराना राजनैतिक प्रेमीहरूले ध्वस्त पारिदिने “महा वेश्‍याको” रूपमा त देखिसक्यौं। (प्रकाश १७:१, १५, १६) तर अब अझ अर्को दर्शनद्वारा हामी उसलाई एउटा शहरको रूपमा देख्नेछौं जो पुरातन बेबिलोनको धार्मिक प्रतिरूप हो।

महान बेबिलोनले पल्टा खान्छ

४. (क) यसपछि यूहन्‍नाले कुन दर्शन देख्छन्‌? (ख) ती स्वर्गदूत को हुन्‌, हामी कसरी ठम्याउन सक्छौं र महान बेबिलोनको पतनको घोषणा उनैले गर्नु किन उचित हो?

यूहन्‍नाले आफ्नो वर्णन अघि बढाउँदै यसो भन्छन्‌: “यी कुरापछि ठूलो अख्तियार भएको अर्को एउटा दूत स्वर्गबाट आइरहेको मैले देखें। औ पृथ्वी तिनको महिमाले उज्यालो भयो। औ तिनी यसो भनेर शक्‍तिशाली सोरले कराए, ‘महान बेबिलोनको पतन भएको छ, पतन भएको छ।’ ” (प्रकाश १८:१, २क) यूहन्‍नाले स्वर्गदूतको उक्‍त उद्‌घोषणा सुनेको यो दोस्रो पटक हो। (प्रकाश १४:८-हेर्नुहोस्‌) तर यस पटक चाहिं स्वर्गदूतको वैभवले त्यस उद्‌घोषणाको महत्त्वलाई जोड दिन्छ। ती स्वर्गदूतको ज्योतिले सारा पृथ्वी नै उज्यालो हुन्छ! उनी को हुन सक्छन्‌? इजकिएल अगमवक्‍ताले शताब्दियौंअघि एउटा स्वर्गीय दर्शनको वर्णन गर्दा “पृथ्वी उहाँको [यहोवाको] महिमाले चम्क्यो” भनेर बयान गरेका थिए। (इजकिएल ४३:२) यहोवाको जस्तै महिमासाथ चम्कने एक मात्र स्वर्गदूत प्रभू येशू हुनुहुन्छ। उहाँ नै “परमेश्‍वरको तत्त्वको प्रतिबिम्ब” हुनुहुन्छ। (हिब्रू १:३) सन्‌ १९१४ मा येशू स्वर्गमा राजा हुनुभयो। त्यस समयदेखि उहाँले पृथ्वीमाथि यहोवाको सह-शासक र न्यायाधीशको रूपमा अख्तियार चलाउनु हुँदैछ। यसकारण महान बेबिलोनको पतनको घोषणा पनि उहाँले नै गर्नु उपयुक्‍त हो।

५. (क) महान बेबिलोनको पतन उद्‌घोषणा गर्न ती स्वर्गदूतले कसलाई प्रयोग गर्छन्‌? (ख) “परमेश्‍वरको परिवार” हुने दाबी गर्नेहरूमाथि परमेश्‍वरको न्याय सुरु हुँदा मसीहीजगतलाई के भयो?

यति ठूलो अख्तियार भएका स्वर्गदूतले मानिसजातिलाई यस्तो अद्‌भुत समाचार सुनाउन कसलाई चलाउँछन्‌? उही मानिसहरूलाई जो महान बेबिलोनको पतनद्वारा स्वतन्त्र भए। यी मानिसहरू यूहन्‍नावर्ग अर्थात्‌ शेष अभिषिक्‍त जनहरू हुन्‌। यिनीहरूले महान बेबिलोनको हातबाट १९१४-देखि १९१८-सम्म धेरै नै दुःखकष्ट भोगे। तर १९१८-मा प्रभु यहोवा र “[अब्राहामसित गरिएको] करारको दूत” येशू ख्रीष्टले मसीही हुने दाबी गर्नेहरू अर्थात्‌ “परमेश्‍वरकै परिवारबाट” इन्साफ गर्न थाल्नु भयो। धर्मत्यागी मसीहीजगतमाथि कारबाही सुरु भयो। (मलाकी ३:१; १ पत्रुस ४:१७) ऊमाथि प्रथम विश्‍व-युद्धको दौडान आएको ठूलो रक्‍तदोष, यहोवाका साक्षीहरूलाई सताउन उसले रचेका षडयन्त्रहरू र उसका बेबिलोनी रीतिथितिहरू उसको न्यायको घडीमा मदतकारी हुन सकेनन्‌; नता महान बेबिलोनको अरू कुनै भागले परमेश्‍वरको अनुमोदन जित्न सक्यो।—यशैया १३:१-९-तुलना गर्नुहोस्‌।

६. महान बेबिलोनको पतन १९१९-सम्म भइसकेको थियो भनेर किन भन्‍न सकिन्छ?

यसकारण, १९१९-सम्म महान बेबिलोनको पतन भइसकेको थियो। परमेश्‍वरका जनहरूका लागि आफ्नो आध्यात्मिक समृद्धिको देशमा मानौं एकै दिनमा पुनःस्थापित हुने बाटो खुलेको थियो। (यशैया ६६:८) त्यो सालसम्म महान दारा, यहोवा परमेश्‍वर र महान कोरेस, येशू ख्रीष्टले घटनाहरूलाई यस्तो मोड दिइसक्नु भएको थियो कि झूटो धर्मले यहोवाका जनहरूलाई अब उप्रान्त आफ्नो कब्जामा राख्न सकेन। तिनीहरूले यहोवाको सेवा र इच्छुक व्यक्‍तिहरूलाई वेश्‍यारूपी महान बेबिलोनको विनाश र यहोवाको सार्वभौमिकताको निकटतम प्रमाणिकरणबारे कुनै रोकटोक बिना घोषणा गर्न सके!—यशैया ४५:१-४; दानियल ५:३०, ३१.

७. (क) महान बेबिलोनको विनाश १९१९-मा नभए तापनि उसलाई यहोवाले कुन दृष्टिले हेर्न थाल्नु भयो? (ख) महान बेबिलोनको पतन १९१९-मा हुँदा यहोवाका जनहरूलाई के भयो?

यो साँचो हो १९१९-मै महान बेबिलोनको नाश भएन। जस्तो कि बेबिलोनको पुरातन शहर पनि फारसी कोरेसको सेनाको कब्जामा पर्नासाथै सा.यु.पू. ५३९-मै नष्ट भएन। तर यहोवाको दृष्टिमा महान बेबिलोनको पतन भइसकेको थियो। उसको निसाफ भइसकेको थियो। ऊमाथि निसाफको कार्यान्वयन हुन मात्र बाँकी थियो; यसैकारण झूटो धर्मले यहोवाका जनहरूलाई त्यस उप्रान्त कैदमा राख्न सकेन। (लूका ९:५९, ६०-तुलना गर्नुहोस्‌।) तिनीहरू समयानुकूल आहार दिने मालिकको विश्‍वासी र बुद्धिमान दासको रूपमा सेवा गर्न मुक्‍त भए। तिनीहरूले मालिकबाट “स्याबासी” पाए। तिनीहरू यहोवाको कार्यमा व्यस्त हुन फेरि नियुक्‍त भए।—मत्ती २४:४५-४७; २५:२१, २३; प्रेरित १:८.

८. यशैया २१:८, ९-को पहरादारले कुन घटना घोषणा गर्छन्‌ र त्यो पहरादारले आज कसलाई चित्रित गर्छ?

इतिहासको यो अति नै महत्त्वपूर्ण घटनाबारे अग्रिमवाणी गर्न यहोवाले हजारौं वर्षअघि अन्य अगमवक्‍ताहरू प्रयोग गर्नु भएको थियो। यशैयाले एउटा पहरादारबारे कुरा गरे जो ‘सिंहझैं गर्जेर’ यसो भन्थे: “ ‘हे परमप्रभु, म दिनभरि पहरा बस्ने धरहरामा उभिरहन्छु, र रातभरि पनि पहरामा बसिरहन्छु।’ ” र यस पहरादारले कुन कुरा बुझेर त्यसको घोषणा सिंहको जस्तै साहससाथ गर्छन्‌? यही कुरा: “बाबेलको पतन भयो, पतन भयो, र त्यसका कुँदेर बनाएका देवताका सबै मूर्तिहरू जमीनमा चक्नाचूर पारिएका छन्‌।” (यशैया २१:८, ९) यस पहरादारले आज जागृत यूहन्‍नावर्गलाई राम्ररी चित्रित गर्दछ जसले प्रहरीधरहरा पत्रिकासाथै अन्य प्रकाशनहरू प्रयोग गर्दै बेबिलोनको पतन चारैतर्फ घोषणा गर्छ।

महान बेबिलोनको अधोगति

९, १०. (क) प्रथम विश्‍व-युद्धदेखि बेबिलोनी धर्मको के अधोगति हुँदै छ? (ख) ती शक्‍तिशाली दूतले महान बेबिलोनको पतित अवस्थाको वर्णन कसरी गर्छन्‌?

सा.यु.पू. ५३९-मा प्राचीन बेबिलोनको पतन उसको लामो अधोगतिको प्रारम्भ थियो जो अन्ततः उसको विनाशमा टुङ्‌गियो। यस्तैगरी, प्रथम विश्‍व-युद्धदेखि यता बेबिलोनी धर्मको प्रभाव विश्‍वभरि निकै नै घट्‌दै गएको छ। उदाहरणका लागि, जापानमा दोस्रो विश्‍व-युद्धपश्‍चात्‌ सम्राट पूजा प्रतिबन्धित भयो। चीनमा सबै धार्मिक नियुक्‍ति र गतिविधिहरू साम्यवादी सरकारको नियन्त्रणमा छ। प्रोटेस्टेन्ट उत्तर युरोपमा धेरैजसो मानिसहरूले धर्मको बेवास्ता गर्न थालेका छन्‌। हालसालै रोमन क्याथोलिक चर्च चाहिं उसको विश्‍वव्यापी क्षेत्रमा अनेक प्रकारको गुटबन्दी र फूटले गर्दा कमजोर भएको छ।—मर्कूस ३:२४-२६ तुलना गर्नुहोस्‌।

१० यी जम्मै गतिविधिहरू निःसन्देह ‘यूफ्रेटिसको पानी सुकाइ’को एउटा भाग हो। महान बेबिलोनमाथि सैनिक आक्रमण हुने यो तयारी हो। ठूल-ठूलो घाटाको कारण चर्च फेरि ‘मगन्ते’ हुनुपर्छ भनेर १९८६-मा पोपले गरेको घोषणा पनि उक्‍त ‘सुकाइ’कै एउटा अर्को चिन्ह हो। (प्रकाश १६:१२) विशेषगरी १९१९-देखि महान बेबिलोन आमजनताको नजरमा एउटा आत्मिक बन्जर साबित भएको छ र यसबारे शक्‍तिशाली स्वर्गदूतले पनि यहाँ यसप्रकार घोषणा गर्छन्‌: “त्यो भूतहरूको निवासस्थान, सबै अशुद्ध आत्माको खोर र सबै अशुद्ध र घिनलाग्दा चराहरूको खोर भएको छ।” (प्रकाश १८:२ख) चाँडै नै त्यो अहिलेको इराकको बेबिलोनी खण्डहरजस्तै उजाड र सुनसान हुनेछ।—यर्मिया ५०:२५-२८ पनि हेर्नुहोस्‌।

११. महान बेबिलोन कुन अर्थमा “भूतहरूको निवासस्थान” र “सबै अशुद्ध आत्माको खोर र सबै अशुद्ध र घिनलाग्दा चराहरूको खोर भएको छ”?

११ यहाँ “अशुद्ध आत्मा” भन्‍ने अभिव्यक्‍ति सम्भवतः “बोके प्रेत [ NW]” भन्‍ने शब्दबाट लिइएको हुनुपर्छ। यो शब्द पतन भइसकेको बेबिलोनको वर्णन गर्दा यशैयाले चलाएका थिए: “तर जङ्‌गली जानवरहरूले त्यहाँ विश्राम गर्नेछन्‌। तिनीहरूका घरहरू स्यालहरूले भरिएका हुनेछन्‌। शतूर्मूर्गहरू त्यहाँ बस्नेछन्‌, र वन-देवहरू [बोकेप्रेतहरू, NW] त्यहाँ नाच्नेछन्‌।” (यशैया १३:२१) यसबाट साँच्चैका प्रेतात्माहरू बोध नभएर मरूभूमिमा बस्ने लामा लामा रौं भएका जनावरहरूलाई सङ्‌केत गरिएको हुन सक्छ। शायद यसप्रकारको जनावर देख्दा मानिसहरूलाई प्रेतात्माहरूको सम्झना हुन्थ्यो होला। महान बेबिलोनका खण्डहरहरूमा पनि यस्तैखालका जानवरहरूको प्रतीकात्मक अस्तित्त्व, त्यहाँको बासी र विषालु हावा र अशुद्ध चराहरूले उसको आध्यात्मिक तवरमा मृतअवस्थालाई जनाउँछन्‌। ऊ मानिसजातिका लागि कुनै रीतिले पनि जीवनदायी छैन।—एफिसी २:१, २-तुलना गर्नुहोस्‌।

१२. महान बेबिलोनको स्थिति र यर्मियाको ५०-औं अध्यायमा उल्लिखित भविष्यवाणीबीच के समानता छ?

१२ उसको स्थिति यर्मियाको यो अगमवाणीसित पनि मेल खान्छ: “परमप्रभु भन्‍नुहुन्छ, ‘कल्दीहरूमाथि तरवार परेको छ, बाबेलका बासिन्दाहरूमाथि, र त्यसका शासकहरूमाथि र ज्ञानीहरूमाथि पनि! . . . पानी सुकीजाओस्‌ भनेर खडेरी परेको छ! किनभने त्यो मूर्तिहरूको देश हो, र तिनीहरू मूर्तिपूजामा उन्मत्त भएका छन्‌! यसैकारण बाबेलमा जङ्‌गली जानवरहरू र स्यालहरू बस्नेछन्‌, शतूर्मूर्गहरू त्यसमा बास गर्नेछन्‌। त्यसमा अब फेरि कहिल्यै कोही मानिस बस्नेछैन। युगयुगसम्म त्यसमा कोही बासिन्दा बस्नेछैन।’ ” परमेश्‍वरको हातमा सदोम र गमोरा नष्ट भएजस्तै महान बेबिलोन पनि नष्ट हुनेछ। यसबाट उसलाई आफ्नो मूर्तिपूजा र मन्त्र जपाइले बचाउन सक्ने छैन।—यर्मिया ५०:३५-४०.

व्यभिचारको क्रोधको मद्य

१३. (क) ती शक्‍तिशाली दूतले महान बेबिलोनको विस्तृत वेश्‍यावृत्तितर्फ कसरी ध्यान आकर्षित गर्छन्‌? (ख) प्राचीन बेबिलोनमा प्रचलित कुन प्रकारको अनैतिकता आज महान बेबिलोनमा पनि पाइन्छ?

१३ महान बेबिलोनको वेश्‍यावृत्ति कतिको विस्तृत छ, सो देखाउन अब ती शक्‍तिशाली स्वर्गदूत यसो भन्छन्‌: “किनभने यसको व्यभिचारको a क्रोधको मद्यले सारा जातिको पतन भएको छ। औ पृथ्वीका राजाहरूले त्यससँग व्यभिचार गरेका छन्‌, र पृथ्वीका व्यापारीहरू त्यसको सुख-विलासको शक्‍तिले धनी भएका छन्‌।” (प्रकाश १८:३) उसले मानवजातिका जम्मै राष्ट्रहरूलाई आफ्नो अशुद्ध धार्मिक शिक्षादिक्षा सिकाएको छ। युनानी इतिहासकार हेरोडोटसअनुसार, प्राचीन बेबिलोनमा प्रत्येक स्त्रीले जीवनमा एक चोटि आफूलाई वेश्‍याको रूपमा मन्दिरमा चढाउनु पर्थ्यो। घीनलाग्दा यौनकृयाहरू चित्रित गर्ने मूर्तिहरू आज पनि युद्ध-ध्वस्त कम्पुचियाको आङ्‌कोर वाटमा देख्न सकिन्छ। भारतको खजुराहोका मन्दिरहरूमा पनि हिन्दू देव विष्णुको वरिपरि अश्‍लील र कामुक दृश्‍यहरू चित्रण गरिएको छ। संयुक्‍त राज्य अमेरिकामा पहिले १९८७ र पछि फेरि १९८८-मा अनैतिकताको पर्दाफास हुँदा टिभी प्रचारकहरूको संसार नै थर्कियो। व्यापक रूपमा स्वयं धर्मगुरुहरू पनि समसमागमीहरू भएका छन्‌। स्पष्टतः मसीहीजगतले व्यभिचारलाई बिछट्टै अनुमोदन दिएको छ। यद्यपि सारा राष्ट्रहरू त्योभन्दा पनि अझ भयङ्‌कर व्यभिचारको शिकार भएका छन्‌।

१४-१६. (क) फासिस्ट इटालीमा धर्म र राजनीतिबीच आध्यात्मिक तवरमा कुन अवैध सम्बन्ध विकसित भयो? (ख) इटालीले एबिसिन्यामाथि हमला गर्दा रोमन क्याथोलिक चर्चका बिशपहरूले के कस्ता वक्‍तव्यहरू दिए?

१४ नाजीवादी जर्मनीमा हिट्‌लरलाई सत्तामा ल्याउने धर्म र राजनीतिको अवैध सम्बन्धबारे हामीले पुनरावृत्ति गरिसकेका छौं। धर्मले सांसारिक मामिलाहरूमा भाग लिंदा अन्य राष्ट्रहरूले पनि दुःख पाए। उदाहरणका लागि: फासिस्ट इटालीमा, १९२९, फेब्रुअरी ११ तारिखका दिन मुसोलिनी र कार्डिनल गासपारीले लाटरन सन्धिमा हस्ताक्षर गरे। यस सन्धिद्वारा भेटिकन शहर एउटा बेग्लै सार्वभौम देश हुन गयो। पोप पायस एघारौंले “इटाली परमेश्‍वरलाई र परमेश्‍वर चाहिं इटालीलाई फर्काइ दिने” दाबी समेत गरे। तर के यो साँचो थियो? छ वर्षपछि के भयो, विचार गर्नुहोस्‌। एबिसिन्या “एउटा जङ्‌गली राष्ट्र हो; उसले दासत्वलाई अझ पनि मान्यता दिन्छ” भन्दै १९३५, अक्टोबर ३ तारिख इटालीले एबिसिन्यामाथि हमला गऱ्‍यो। तर यहाँ जङ्‌गली वास्तवमा को भइ रहे थियो? के मुसोलिनीको जङ्‌गलीपनालाई क्याथोलिक चर्चले भर्त्सना गऱ्‍यो र? पोपले अनेकार्थक वक्‍तव्यहरू दिंदा उनका बिशपहरूले चाहिं आफ्नो “पितृभूमि” इटालीका सेनाहरूलाई खुलेआम आशिष दिइरहेका थिए। द भेटिकन इन द एज अफ द डिक्टेटर्स-नामक पुस्तकमा एन्थनी रोड्‌सले यसप्रकार लेखेका छन्‌:

१५ “अक्टोबर १९ [१९३५]-को दिन, इटालीको बिशप युडीनले चर्चहरूलाई पठाउने आफ्नो पत्रमा यसो भने: ‘मामिला सही हो वा गलत, त्यसबारे वादविवाद गर्नु अहिले नता समयानुकूल हो न उचित। इटालीवासीहरू र खासगरि मसीहीहरूको हैसियतमा हाम्रो कर्तव्य आफ्नो सेनालाई सफल तुल्याउनु हो।’ पाडुवाको बिशपले पनि अक्टोबर २१-को दिन यसप्रकार पत्र लेखे: ‘जुन सङ्‌कटकालीन स्थितिबाट हामी गुज्रिरहेका छौं, त्यसमा हाम्रा नेताहरू र सेनाहरूमा भरोसा राख्नु होस्‌ भनी तपाईंहरूसित अनुरोध गर्छौं।’ अक्टोबर २४-को दिन क्रेमोनाको बिशपले अनेक सैनिक झन्डाहरूलाई आशिष्‌ दिएपछि यसो भने, ‘यी सिपाहीहरूमाथि परमेश्‍वरको आशिष्‌ रहोस्‌। यिनीहरूले इटालीका बुद्धिजीवीहरूका लागि अफ्रिकाको भूमिमा नयाँ र उर्वर जग्गाहरू जित्नेछन्‌। त्यहाँ रोमी र मसीही संस्कार पुऱ्‍याउने छन्‌। सारा संसारको मसीही पथप्रदर्शकको रूपमा इटाली फेरि एक पटक खडा हुन सकोस्‌।’ ”

१६ अतः रोमन क्याथोलिक पादरीहरूको आशिषसहित एबिसिन्या तहसनहस भयो। तिनीहरूमध्ये कसैले पनि प्रेरित पावलले झैं “सबै मानिसहरूको प्राणको निम्ति निर्दोष छु” भनी दाबी गर्न सक्‍तैन थियो।—प्रेरित २०:२६.

१७. स्पेनका पादरीहरूले आफ्नो “तरवार पिटेर हलोको फाली” नबनाउँदा स्पेनले के कस्तो दुःख भोग्नु पऱ्‍यो?

१७ बेबिलोनको व्यभिचारको शिकार जर्मनी, इटाली र एबिसिन्या मात्र होइन, स्पेन पनि भएको छ। त्यो देशमा रोमन क्याथोलिक चर्चको महाशक्‍तिलाई नियन्त्रणमा ल्याउन तत्कालीन प्रजातान्त्रिक सरकारले आवश्‍यक कदमहरू चाल्न पर्दा १९३६-३९-को गृहयुद्ध भड्‌क्यो। युद्ध चर्किंदै जाँदा क्रान्तिकारी सेनाहरूको क्याथोलिक फासिस्ट नेता फ्रेन्कोले आफूलाई “पवित्र क्रुसेडको मसीही सेनापति” घोषित गरे। जबकि यो पदलाई उनले पछि आफै छाडी दिए। तर यस भिडन्तमा स्पेनका लाखौं मानिसहरू मारिए। यसबाहेक, अनुदारवादी आँकडाअनुसार फ्रेन्कोका राष्ट्रवादीहरूले पप्युलर फ्रन्टका ४०,०००-भन्दा बढी सदस्यहरूको हत्या गरे। र पप्युलर फ्रन्ट पार्टीले चाहिं मठहरूमा बस्ने ८,००० पादरी, नन र अन्य प्रशिक्षार्थीलाई मारे। यो त्रासपूर्ण र दुःखद गृहयुद्धबाट येशूका यी शब्दहरू स्पष्ट रीतिले सत्य प्रमाणित हुन्छन्‌: “तिम्रो तरवार फेरि त्यसैको ठाउँमा हाल, किनभने तरवार लिनेहरू सबै जना तरवारैले नष्ट हुनेछन्‌।” (मत्ती २६:५२) यस्तो घोर रक्‍तपातमा मसीहीजगत ग्रस्त हुनु साँच्चै नै कति घृणास्पद! “आफ्ना आफ्ना तरवार पिटेर हलोको फाली” बनाउन उसका पादरीहरू सम्पूर्णतः असमर्थ भएका छन्‌।—यशैया २:४.

पृथ्वीका व्यापारीहरू

१८. “पृथ्वीका व्यापारीहरू” को हुन्‌?

१८ अब “पृथ्वीका व्यापारीहरू” को हुन्‌? तिनीहरू निःसन्देह उही साहू, महाजन र ठूल-ठूला व्यापारका धूर्त प्रचालकहरू हुन्‌। तर यसको अर्थ वैध व्यापार गर्नु गलत हो भन्‍न खोजेको होइन। किनकि बाइबलमा व्यापारीहरूका लागि पनि हामी बुद्धिमतापूर्ण सल्लाह पाउँछौं। बेइमानी र लोभजस्ता कुराहरूको विरुद्धमा बाइबलले चेताउनी दिएको छ। (हितोपदेश ११:१; जकरिया ७:९, १०; याकूब ५:१-५) “सन्तुष्टतासहितको भक्‍ति”लाई नै ठूलो आर्जन मानिएको छ। (१ तिमोथी ६:६, १७-१९) तर शैतानको संसार धार्मिक सिद्धान्त अनुरूप हिंड्‌ने गर्दैन। भ्रष्टाचार जताजतै व्यापक छ। चाहे त्यो धर्म, राजनीति वा व्यापारमै किन नहोस्‌। ठूल-ठूलो ओहदामा बसेका सरकारी कर्मचारीहरूले गरेको हिनामिना वा हातहतियारको अवैध व्यापारको पर्दाफास समय समयमा समाचार माध्यमहरूद्वारा सुन्‍न पाइन्छ।

१९. पृथ्वीका व्यापारीहरूबारे प्रकाशको पुस्तकमा प्रतिकूल चर्चा गरिएको कारण बुझ्न हामीलाई विश्‍व अर्थ व्यवस्थाले कसरी मदत दिन्छ?

१९ प्रत्येक साल विश्‍वभरि १०,००,००,००,००,००० डलर भन्दा बढी मोलको हातहतियार व्यापार हुन्छ। जबकि अर्कोतिर लाखौं मानिसहरू जीवनका दैनिक आवश्‍यकताहरूबाट वञ्चित छन्‌। तर यति मात्र होइन। आज संसारको अर्थ व्यवस्थाको मूलाधार नै हातहतियार बन्‍न गएको जस्तो देखिन्छ। अप्रिल ११, १९८७-मा लन्डनको स्पेक्टेटर-मा प्रकाशित एउटा लेखले यसो भन्यो: “प्रत्यक्ष रूपमा सम्बन्धित उद्योगहरूको मात्र गन्ती गर्दा पनि संयुक्‍त राज्य अमेरिकामा ४,००,००० र युरोपमा ७,५०,००० जागिरहरू समावेश छन्‌। तर रोचक कुरा के हो भने, एकातिर हातहतियार उत्पादनमा सामाजिक र आर्थिक भूमिका बढ्‌दै जाँदा अर्कोतिर उत्पादकहरू चाहिं कहाँसम्म सुरक्षित छन्‌, सो यर्थाथ प्रश्‍न गौण भएर गएको छ।” पृथ्वीभरि सम्भाव्य शत्रुहरूसित समेत बम र अन्य हतियारहरूको व्यापार गर्दा विशाल मुनाफा कमाइन्छ। कुनै दिन यी बमहरू ती बेच्नेहरूलाई नै नष्ट गर्न अग्निमय विध्वंसको रूपमा फिर्ता आउन सक्छन्‌। कस्तो विरोधाभास! यसबाहेक, हातहतियार उद्योगसित सम्बन्धित भ्रष्टाचारको कुरा गरेर साध्य छैन। स्पेक्टेटर अनुसार संयुक्‍त राज्य अमेरिकामा मात्र “प्रत्येक वर्ष पेन्टागनबाट [संयुक्‍त राज्य अमेरिकाको प्रतिरक्षा केन्द्र] ९० करोड डलर मूल्यको हातहतियार बेपत्ता हुन्छ।” यसैकारण त प्रकाशको पुस्तकमा पृथ्वीका व्यापारीहरूबारे प्रतिकूल चर्चा हुनु कुनै आश्‍चर्यको कुरा होइन!

२०. धर्मले भ्रष्ट व्यापारिक प्रणालीहरूमा भाग लिएको कुरा कुन उदाहरणहरूबाट देख्न सकिन्छ?

२० महिमायुक्‍त स्वर्गदूतद्वारा अग्रिमघोषणा गरिएजस्तै यस्तो भ्रष्ट व्यापारिक गतिविधिमा धर्म पूर्ण रीतिले विथोलित छ। उदाहरणका लागि, १९८२-मा इटालीको बेङ्‌को एम्ब्रोसियाना टाट पल्टँदा त्यसमा भेटिकनको पनि पूरै हात थियो। त्यसबारे १९८०-को दशकभरि मुद्दा चल्यो। तर पैसा गयो कहाँ? यसको जवाफ आजसम्म फेला पार्न सकिएको छैन। यस्तो जालसाजीपूर्ण टाट पल्टाउने मतियार भएको अभियोगमा भेटिकनका तीन जना पादरीहरू र एक जना अमेरिकी आर्कबिशपको नाउँमा मिलानका तीन जना म्याजिस्ट्रेटहरूले फेब्रुअरी १९८७-मा पक्राउ-पुर्जी पठाए। तर यो सुपुर्दगी अनुरोधलाई भेटिकनले अस्वीकार गऱ्‍यो। ती पक्राउ-पुर्जीहरूलाई ठूलो विरोधको बावजूद भेटिकन र इटाली सरकारबीच एउटा पुरानो सन्धिको आधारमा इटालीको सबैभन्दा उच्च अपील अदालतले खारेज गरी दियो।

२१. समकालीन शंकास्पद व्यापारिक गतिविधिहरूमा येशू साझेदार हुनुहुन्‍न थियो भनी हामी कसरी थाहा पाउन सक्छौं तर आजको बेबिलोनी धर्ममा हामी के देख्छौं?

२१ तर के येशू आफ्नो समयमा शंकास्पद व्यापारिक लेनदेनमा साझेदार हुनुहुन्थ्यो? हुनुहुन्‍नथियो। उहाँको नाउँमा एउटा जग्गासम्म पनि थिएन। उहाँको “शिर राख्ने ठाउँ” थिएन। एक जवान र धनी शासकलाई येशूले यो सल्लाह दिनु भएको थियो: “तिमीसँग भएको जति बेचेर गरीबहरूलाई बाँडीदेऊ, तिमीलाई स्वर्गमा धन हुनेछ, र आऊ मेरोपछि लाग।” यो वास्तवमा राम्रो सल्लाह थियो। यसले उसलाई सबै व्यापारिक चिन्ताहरूबाट मुक्‍त गराउन सक्थ्यो। (लूका ९:५८; १८:२२) तर यसको ठीक विपरीत बेबिलोनी धर्मले ठूल-ठूलो व्यापारसित अनुचित सम्बन्ध राख्दै आएको छ। उदाहरणका लागि, १९८७-मा एल्बेनी टाइम्स युनियन-को रिपोर्टअनुसार आणविक हातहतियार, अश्‍लील चलचित्रहरू र चुरोट उत्पादन गर्ने कम्पनीहरूमा पनि क्याथोलिक चर्चको मौज्दात छ भनेर संयुक्‍त राज्य अमेरिकाको मियामी, फ्लरिडास्थित क्याथोलिक आर्कडायोसिजको प्रमुख प्रशासकले स्वीकारे।

“हे मेरा मानिस हो, त्यसबाट निस्केर आओ”

२२. (क) स्वर्गबाट एउटा आवाजले के भन्छ? (ख) सा.यु.पू. ५३७-मा र सा.यु. १९१९-मा परमेश्‍वरका मानिसहरू किन रमाउन सके?

२२ यूहन्‍नाका अब अगाडिका शब्दहरूले भविष्यवाणीरूपी नमुनाको पूर्तिलाई अझ अर्को पुष्टि दिन्छ: “अनि मैले स्वर्गबाट यसो भन्‍ने अर्को आवाज सुनें, ‘हे मेरा मानिस हो, त्यसबाट निस्केर आओ। त्यसका पापसँग तिमीहरूको केही संगत हुन नपाओस्‌। त्यसका विपत्तिहरू तिमीहरूले भोग्न नपरोस्‌।’ ” (प्रकाश १८:४) पुरातन बेबिलोनको पतनसम्बन्धी हिब्रू शास्त्रका भविष्यवाणीहरूमा यहोवाले आफ्ना जनहरूलाई दिनु भएको यो आदेश पनि समाविष्ट छ: “बाबेलको बीचबाट भाग।” (यर्मिया ५०:८, १३) यस्तैप्रकार, भविष्यमा हुने महान बेबिलोनको विनाशलाई ध्यानमा राख्दै त्यसबाट भाग्ने आग्रह परमेश्‍वरका जनहरूलाई आज पनि गरिन्छ। सा.यु.पू. ५३७-मा बेबिलोनबाट भाग्ने मौका पाउँदा विश्‍वासी इस्राएलीहरू खुबै रमाएका थिए। त्यस्तैगरी, १९१९-मा परमेश्‍वरका जनहरू बेबिलोनको कैदबाट मुक्‍त हुँदा धेरै नै रमाए। (प्रकाश ११:११, १२) र त्यस समयदेखि उप्रान्त यो भाग्ने आह्वानलाई अझ लाखौंले पालन गरेका छन्‌।

२३. महान बेबिलोनबाट भाग्ने कुरालाई स्वर्गबाट निस्कने आवाजले कसरी जोड दिन्छ?

२३ तर महान बेबिलोनबाट भाग्न अथवा विश्‍व-धर्महरूबाट आफ्नो सदस्यता खारेज गरेर सम्पूर्णतः अलग हुन के साँच्चै नै जरुरी छ र? छ किनभने पुरातनकाल देखिको यो धार्मिक राक्षस, महान बेबिलोनप्रति हामीले परमेश्‍वरको दृष्टिकोण लिनु पर्छ। उहाँले यसलाई महा वेश्‍या भनेर सम्बोधन गर्न हिचकिचाउनु भएन। र अब स्वर्गबाट आउने आवाजले पनि यूहन्‍नालाई यस वेश्‍याबारे अझ यसो भन्छ: “किनभने त्यसका पाप स्वर्गसम्म चुल्लिएका छन्‌, र परमेश्‍वरले त्यसका अधर्म सम्झनुभएको छ। त्यसले जे दिएकी थिई, त्यही त्यसलाई देओ। जति त्यसले आफ्नै गौरव र सुख-विलास गरेकी छ, त्यत्तिकै त्यसलाई वेदना र शोक देओ, किनकि त्यसले मनमा भन्दछ, ‘महारानी भएर बसेकी छु। म विधवा होइन, म कुनै किसिमले शोक देख्नेछैनँ।’ यसकारण एकै दिनमा त्यसका विपत्तिहरू आउनेछन्‌—मृत्यु, अफसोस र अनिकाल, र त्यो आगोमा भस्म पारेर जाइजानेछ। किनभने त्यसको इन्साफ गर्ने परमेश्‍वर बलवान हुनुहुन्छ।”—प्रकाश १८:५-८.

२४. (क) कुन कुरामा सहभागी नहुन परमेश्‍वरका जनहरू महान बेबिलोनबाट भाग्नु पर्छ? (ख) महान बेबिलोनबाट ननिस्कनेहरू उसका कुन पापहरूमा सहभागी हुन्छन्‌?

२४ निश्‍चय, कडा शब्दहरू हुन्‌ ती! अतः सही कदम उठाउनु अत्यावश्‍यक छ। सोही कदम उठाउन यर्मियाले आफ्ना समकालीन इस्राएलीहरूलाई यसो भन्दै आग्रह गरे: “बाबेलबाट भाग। यो परमप्रभुको बदला लिने दिन हो, उहाँले त्यसलाई साटो फेर्ने दिन। हे मेरो प्रजा, त्यसको बीचबाट निस्केर आओ! परमप्रभुको भयानक रीसदेखि सबै मानिसहरूले आफ्नो आफ्नो ज्यान बचाऊन्‌।” (यर्मिया ५१:६, ४५) आज पनि स्वर्गबाट आउने आवाजले परमेश्‍वरका जनहरूलाई महान बेबिलोनका विपत्तिहरूमा सम्भागी नहुन त्यसबाट भाग्ने चेताउनी दिन्छ। महान बेबिलोनका साथै सारा संसारमाथि यहोवाको तर्फबाट आउने विपत्तिरूपी निसाफबारे आज घोषणा भइरहेछ। (प्रकाश ८:१–९:२१; १६:१-२१) यी विपत्तिहरूबाट उम्कन र अन्ततः झूटो धर्म सँगसँगै नष्ट नहुनका लागि परमेश्‍वरका जनहरूले आफूलाई झूटो धर्मबाट अलग पार्नु पर्छ। साथै, त्यस सङ्‌गठनभित्र बसी रहनुको अर्थ त्यसका पापहरूमा सहभागी हुनु हो। आत्मिक व्यभिचार र “पृथ्वीमा मारिएका सबैका रगतका लागि” ऊ जतिको दोषी छ, तिनीहरू पनि उतिकै दोषी हुनेछन्‌।—प्रकाश १८:२४; तुलना गर्नुहोस्‌ एफिसी ५:११ र १ तिमोथी ५:२२

२५. पुरातन बेबिलोनबाट परमेश्‍वरका मानिसहरू कसरी निस्के?

२५ तथापि, परमेश्‍वरका जनहरू महान बेबिलोनबाट कसरी बाहिर निस्कन्छन्‌? प्राचीन बेबिलानबाट निस्कने यहूदीहरूले बेबिलोन शहरबाट प्रतिज्ञाको देशसम्मै यात्रा गर्नु परेको थियो। तर यति मात्र यथेष्ट थिएन। यशैयाले इस्राएलीहरूलाई यो भविष्यवाणीरूपी आह्वान गरे: “गइहाल, गइहाल, त्यहाँबाट जाऊ! अशुद्ध थोक नछोऊ! हे परमप्रभुका पात्र बोक्ने हो, त्यसको बीचबाट निस्केर जाऊ। तिमीहरू आफूलाई शुद्ध पार।” (यशैया ५२:११) हो, यहोवाको उपासनालाई धमिल्याउन सक्ने बेबिलोनी धर्मका जम्मै अशुद्ध क्रियाकलापहरू तिनीहरूले त्याग्नु परेको थियो।

२६. ‘तिनीहरूको बीचबाट निस्केर आओ औ अशुद्ध कुरा नछोओ’ भन्‍ने आह्वानलाई कोरिन्थका मसीहीहरूले कसरी पालन गरे?

२६ यशैयाका तिनै शब्दहरूलाई उद्धृत गर्दै प्रेरित पावलले पनि कोरिन्थीहरूलाई लेखेको आफ्नो पत्रमा यसो भने: “विश्‍वास नगर्नेहरूसँग समान भएर एउटै हलोमा नजोतियौ, किनकि धर्म र अधर्मको के संसर्ग हुन्छ? . . . ‘यसकारण, तिनीहरूका बीचबाट निस्केर आओ, र तिमीहरू अलग होओ। अशुद्ध कुरा नछोओ।’ ” यो आदेश पालन गर्न कोरिन्थका मसीहीहरूले कोरिन्थ छाडनु आवश्‍यक थिएन। तर तिनीहरूले झूटो धर्मका अशुद्ध मन्दिरहरूबाट आफूलाई अलग राख्नु चाहिं आवश्‍यक थियो। साथै, तिनीहरूले त्यहाँका मूर्तिपूजकहरूको अशुद्ध गतिविधिहरूबाट पनि आफूलाई आध्यात्मिक तवरमा छुट्टै राख्नु परेको थियो। यसैप्रकार, परमेश्‍वरका जनहरू १९१९-मा महान बेबिलोनबाट अलग्ग हुन थाले। आफूसित बाँकी रहेका केही अशुद्ध शिक्षा र क्रियाकलापहरूबाट तिनीहरूले आफूलाई शुद्ध तुल्याए। यसप्रकार एउटा शुद्ध जातिको रूपमा तिनीहरू उहाँको सेवा गर्न सक्षम भए।—२ कोरिन्थी ६:१४-१७; १ यूहन्‍ना ३:३.

२७. प्राचीन बेबिलोन र महान बेबिलोनमाथि गरिएको निसाफबीच के समानताहरू पाउन सकिन्छ?

२७ पुरातन बेबिलोनको पतन र अन्ततः विनाश उसका पापहरूको सजाय थियो। “किनभने त्यसमाथि पर्ने दण्डको निर्णय आकाश औ स्वर्गसम्मै पुगेको छ।” (यर्मिया ५१:९) त्यस्तैगरी महान बेबिलोनका पापहरू पनि “स्वर्गसम्मै चुल्लिएका छन्‌।” तिनीहरूमाथि स्वयं यहोवाको ध्यान आकृष्ट भएको छ। महान बेबिलोन अन्याय, मूर्तिपूजा, अनैतिकता, दबाब, चोरी र हत्याको दोषी छ। पुरातन बेबिलोनले यहोवाको मन्दिर र उहाँका साँचो उपासकहरूसित दुर्व्यवहार गर्दै आएको थियो। अतः यो नै उसको पतनको एउटा कारण हुन गयो। (यर्मिया ५०:८, १४; ५१:११, ३५, ३६) यस्तैगरी महान बेबिलोनले पनि शताब्दीयौंदेखि साँचो उपासकहरूसित दुर्व्यवहार गर्दै आएको छ। तर यसको बदलामा परमेश्‍वरले पनि उसको पतन र अन्ततः विनाश गराउनु हुनेछ। हो, उसको अन्तिम विनाश वास्तवमा “परमप्रभु हाम्रा परमेश्‍वरको बदला”-को दिनको सुरु हुनेछ।—यशैया ३४:८-१०; ६१:२; यर्मिया ५०:२८.

२८. यहोवाले महान बेबिलोनमाथि निसाफको कुन स्तर प्रयोग गर्नुहुन्छ र किन?

२८ मोशाको व्यवस्था अन्तर्गत कोही इस्राएलीले आफ्नो सँगीबाट कुनै कुरा चोरेको खण्डमा उसले कम्तिमा त्यसको दोब्बर तिर्नु पर्थ्यो। (प्रस्थान २२:१, ४, ७, ९) महान बेबिलोनको नाश हुँदा पनि यहोवाले निसाफको प्रायः त्यस्तै सिद्धान्त प्रयोगमा ल्याउनु हुनेछ। उसले अरूको विरुद्धमा जे गऱ्‍यो, त्यसको ठीक दोब्बर उसको विरुद्धमा गरिनेछ। त्यसलाई दया देखाइने छैन किनकि महान बेबिलोनले पनि आफ्नो शिकार हुनेहरूलाई पटक्कै दया देखाएको छैन। पृथ्वीका मानिसहरूको रगत चुसेर उसले “सुख विलास” गरेको छ। तर अब भने उसले कष्ट र शोक अनुभव गर्नेछ। पुरातन बेबिलोनले पनि आफूलाई अत्यन्तै सुरक्षित ठान्दै यसो भनेको थियो: “म विधवा भएर बस्नेछैनँ, नता छोराछोरीहरूको वियोग जान्‍नेछु।” (यशैया ४७:८, ९, ११) यस्तैगरी महान बेबिलोनले पनि आफूलाई सुरक्षित ठान्छ। तर यहोवा “बलवान” हुनुहुन्छ। उहाँले त्यसको विनाश चाँडै मानो “एकै दिनमा” गर्ने फैसला गर्नु भएको छ!

[फुटनोट]

a न्यु वर्ल्ड ट्रान्स्लेशन रेफ्रेन्स बाइबल, फुट नोट।

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ २६३-मा भएको पेटी]

“पृथ्वीका राजाहरूले त्यससँग व्यभिचार गरेका छन्‌”

युरोपका व्यापारीहरूले १८००-को दशकको सुरुसुरुमा चीनभित्र ठूलो मात्रामा अफिम लैजाने अवैध धन्दा गर्दै थिए। यो तस्करी रोक्ने प्रयासमा चिनियाँ अधिकृतहरूले बेलाइती व्यापारीहरूबाट २०,०००-बाकस अफिम जफत गरे। यसले गर्दा चीन र बेलाइतको सम्बन्ध तनावपूर्ण भयो। यी दुई देशबीचको सम्बन्ध बिग्रँदै जाँदा केही प्रोटेस्टेन्ट मिसनरीहरूले निम्नलिखित वक्‍तव्यहरू दिंदै बेलाइतलाई युद्ध सुरु गर्न प्रोत्साहित गरे:

“यी कठिनाइहरू देखेर मेरो हृदय अति नै पुल्कित हुन्छ। किनकि यो स्थितिले गर्दा अंग्रेजी सरकारको प्रकोप जाग्न सक्छ र ख्रीष्टको सुसमाचारलाई चीनभित्र पस्न नदिने बाधाको पर्खाललाई परमेश्‍वरले आफ्नो महाशक्‍तिद्वारा ढाल्न सक्नु हुनेछ।”—हेनरिएट्टा शक, सर्धन ब्याप्टिस्ट मिसनरी.

अन्ततः युद्ध सुरु भयो।—त्यसलाई आज अफिम युद्ध भन्‍ने गर्छन्‌। मिसनरीहरूले यसप्रकारका वक्‍तव्यहरू दिंदै बेलाइतलाई हार्दिक प्रोत्साहन दिए:

“वर्तमानमा भइरहेका गतिविधिहरूलाई अफिमसम्बन्धी एउटा घटना अथवा अंग्रेजी मामिला मात्र म ठान्‍न सक्‍तिनँ। म यसलाई ईश्‍वरको ठूलो कृपा ठान्दछु। उहाँले मानव दुष्टताकै प्रयोगद्वारा चीनलाई सबैबाट अलगपार्ने पर्खाल तोड्‌नु हुनेछ र चीनप्रति दया देखाउने आफ्नो उद्देश्‍य पूरा गर्नु हुनेछ।”—पीटर पार्कर, कंग्रिगेश्‍नलिस्ट मिसनरी.

एक जना अर्को कंग्रिगेश्‍नलिस्ट मिसनरी, सेमुएल डब्लु. विलियम्सले अझ यसो भने: “अझसम्म घटेका घटनाहरूमा परमेश्‍वरको हात स्पष्ट छ। पृथ्वीमा तरवार चलाउन आएको हुँ भन्‍नु हुने व्यक्‍ति यहाँ आउनु भएको छ भन्‍ने कुरामा हामीलाई कुनै शङ्‌कै छैन। उहाँले चाँडै नै आफ्ना शत्रुहरूलाई नष्ट गर्नु भएर आफ्नो राज्य स्थापित गर्नु हुनेछ। शान्तिको राजकुमार स्थापित नहोउञ्जेल उहाँले विध्वंसमाथि विध्वंस मच्चाइ रहनु हुनेछ।”

चीनका नागरिकहरूको वीभत्स हत्याबारे मिसनरी जे. लुविस शकले यसरी लेखे: “यसप्रकारका दृश्‍यहरूलाई म . . . ईश्‍वरीय सच्चाइलाई बाधा दिने फोहोर मैला फाल्ने प्रभुको तरिका ठान्छु।”

कॅग्रिगेश्‍नलिस्ट मिसनरी, एलाइजा सी. ब्रिडम्यानले अझ यसो भने: “परमेश्‍वरले आफ्नो राज्यका लागि बाटो तयार पार्न अक्सर जनताको शक्‍तिशाली बाहुबल प्रयोग गर्नु भएको छ। . . . यी महान घटनाहरूमा मानिस नै माध्यम भए तापनि पछिल्तिरबाट निर्देशन दिने शक्‍ति चाहिं ईश्‍वरीय हुन्छ। सबै राष्ट्रहरूको महान शासकले चीनलाई ताडना दिन तथा होच्याउन बेलाइतलाई प्रयोग गर्नु भएको छ।”—द मिसनरी एन्टरप्राइज इन चाइना एन्ड अमेरिका-मा प्रकाशित (जॅन के. फेरबैङ्‌क-द्वारा सम्पादित एउटा हार्वार्ड अध्ययन) यी उद्धरणहरू स्टुवार्ट क्रेटन मिलरले लेखेको निबन्ध “एन्ड्‌स एन्ड मिन्स” (१९७४) बाट लिएको हो।

[पृष्ठ २६४-मा भएको पेटी]

“पृथ्वीका व्यापारीहरू . . . धनी भएका छन्‌”

सन्‌ १९२९ र दोस्रो विश्‍व-युद्धबीच [बर्नाडिनो] नोगाराले [भेटिकनको अर्थ प्रशासक] भेटिकनका दलालहरू र भेटिकनको पूँजी, दुवैलाई इटालीको अर्थव्यवस्थाका विभिन्‍न क्षेत्रहरूमा अर्थात्‌ विद्युत, दूरसञ्चार, बैङ्‌क कर्जा, सानोतीनो रेलमार्ग, कृषि औजार, सिमेन्ट र कृत्रिम रेशाहरूको उत्पादन गर्ने काममा प्रयोग गरे। यी मध्ये धेरै जसो कारोबार फायदाजनक साबित भयो।

“नोगाराले ला सोसिएटा इटालियाना डेला विस्कोसा, ला सुपरटेसिल, ला सोसिएटा मेरिडियोनाल इन्डस्ट्री टेसिली र ला सिसारियोन लगायत अन्य कम्पनीहरूलाई हडप गरे। यी जम्मै कम्पनीहरू गाभेर उनले एउटै कम्पनी बनाए। यस कम्पनीको नाउँ सिसा-विस्कोसा राखियो। अब यो नयाँ कम्पनीलाई उनले ब्यारन फ्रान्सेस्का मारिया ओडासा भन्‍ने मानिसको जिम्मा लगाइ दिए जो भेटिकनका एक विश्‍वासी गैरपादरी थिए। यसपछि नोगाराले यो नयाँ कम्पनीलाई पनि कपडा उत्पादन गर्ने इटालीको सबैभन्दा ठूलो कम्पनी स्निया विस्कोसामा गाभ्ने चाल चले। अन्ततः, स्निया विस्कोसामा भेटिकनको भूमिका बढ्‌दै गयो। समयमा भेटिकनले यस कम्पनीलाई सम्पूर्णतः आफ्नै कब्जामा लियो। प्रमाणको रूपमा, ब्यारन ओडासा त्यसको उप-सभापति हुन गए।

“यसप्रकार नोगाराले कपडा उद्योगमा कदम राखे। तर उनले अन्य उद्योगहरूमा पनि अरू विभिन्‍न ढंगहरूमा कदम बढाए। किनभने भित्रभित्र नोगाराको अनेक चाल थियो। इटालीको अर्थ व्यवस्थालाई जीवित तुल्याउन जे जति यी निःस्वार्थ मानिसले गरे, . . . त्यति त इटालीको सारा इतिहासमा शायद अरू कुनै व्यापारीले गर्न सकेन। . . . बेनिटो मुसोलिनी आफ्नो कल्पनाअनुसारको साम्राज्य बनाउन सम्पूर्णतः सफल हुन कहिल्यै सकेनन्‌। तर उनले भेटिकन र बरनाडिनो नोगारालाई एउटा अर्कै  कारको राज्य निर्माण गर्ने मदत चाहिं दिए।”—निनो लो बेलो-ले लेखेको द भेटिकन एम्पायर, पृष्ठ ७१-७३.

पृथ्वीका व्यापारीहरू र महान बेबिलोनबीच रहेको घनिष्ठ सहयोगको यो एउटा मात्र उदाहरण हो। यी व्यापारीहरूले आफ्नो साझेदार खतम हुँदा निश्‍चय नै शोक मनाउनेछन्‌!

[पृष्ठ २५९-मा भएको चित्र]

जसै मानवजाति पृथ्वीमा फैलिंदै गए, तिनीहरूले आफूसित बेबिलोनी धर्म पनि लगे

[पृष्ठ २६१-मा भएको चित्र]

पहरादारले जस्तैगरी यूहन्‍नावर्गले बेबिलोनको पतन उद्‌घोषित गर्छन्‌

[पृष्ठ २६६-मा भएको चित्र]

प्राचीन बेबिलोनका खण्डहरहरूले महान बेबिलोनमाथि आउने विनाशको अनिष्ट सूचना दिन्छन्‌