सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

मीठो-र-तीतो सन्देश

मीठो-र-तीतो सन्देश

अध्याय २४

मीठो-र-तीतो सन्देश

दर्शन ६—प्रकाश १०:१–११:१९

विषय: सानो पुस्तकको दर्शन; मन्दिरका अनुभवहरू; सातौं तुरहीको आवाज

पूर्ति समयावधि: सन्‌ १९१४-मा येशूको राज्यारोहणदेखि महासङ्‌कष्टसम्म

१, २. (क) दोस्रो विपत्तिको परिणाम के भयो र यो विपत्ति समाप्त भएको घोषणा कहिले गरिन्छ? (ख) यूहन्‍नाले अब स्वर्गबाट तल कसलाई ओर्लिरहेका देख्छन्‌?

 दोस्रो अभिशाप ध्वंसात्मक थियो। त्यसले मसीहीजगत र उसका अगुवाहरू अर्थात्‌ ‘एक तिहाइ मानिसहरूलाई’ पिरोल्यो। तिनीहरूलाई आत्मिक तवरमा मृत साबित गरी दियो। (प्रकाश ९:१५) अब यसपछि तेस्रो विपत्तिले के गर्ने हो, यूहन्‍ना सोचमा परेका होलान्‌। तर पर्खनुहोस्‌! प्रकाश ११:१४ पूरा नहोउञ्जेल दोस्रो विपत्ति समाप्त हुनै सक्‍तैन। तर त्योभन्दा अघि यूहन्‍नाले घटनाहरूको एउटा विशेष मोड देख्छन्‌ जसमा उनी आफैले पनि भाग लिनु पर्छ। यो मोड एउटा अति नै भीषण दृश्‍यसाथ सुरु हुन्छ:

अनि मैंले बादल ओडेको अर्को एउटा बलवान दूतलाई स्वर्गबाट ओर्लेको देखें। तिनको शिरमा इन्द्रेनी थियो, र तिनको मुख सूर्यजस्तो र खुट्टाहरू आगोका खामाहरूजस्ता थिए।”—प्रकाश १०:१.

३. (क) “बलवान स्वर्गदूत” को हुन्‌? (ख) उनको शिरको इन्द्रेनीको महत्त्व के हो?

यी “बलवान स्वर्गदूत” को हुन्‌? उहाँ निश्‍चय नै महिमित येशू ख्रीष्ट हुनुहुन्छ। तर उहाँले यहाँ एउटा बेग्लै भूमिका निभाउनु हुँदैछ। उहाँले अदृश्‍यताको बादल ओढ्‌नु भएको छ। यो देखेर हामी यूहन्‍नाले केही समयअघि भनेका यी शब्दहरू सम्झन्छौं: “हेर, उहाँ बादलहरूका साथमा आउनुहुन्छ र हरेक आँखाले र उहाँलाई छेंडनेहरूले उहाँलाई देख्नेछन्‌।” (प्रकाश १:७; मत्ती १७:२-५-सित तुलना गर्नुहोस्‌।) उहाँको शिरमा भएको इन्द्रेनीले हामीलाई यहोवाको सिंहासनको सम्झना गराउँछ। यसको दर्शन यूहन्‍नाले केही समयअघि पाएका थिए। उक्‍त दर्शनमा पनि “पन्‍ना जस्तो इन्द्रेनी” थियो। (प्रकाश ४:३; इजकिएल १:२८-सित तुलना गर्नुहोस्‌।) त्यो इन्द्रेनीले परमेश्‍वरको सिंहासनको वरिपरि रहेको शान्ति र सौम्यतालाई जनाइ रहेको थियो। सोही प्रकार, यी स्वर्गदूतको शिरमा भएको इन्द्रेनीले पनि उनलाई शान्तिको खास दूत अर्थात्‌ यहोवाले अग्रिमवाणी गर्नु भएको “शान्तिको राजकुमार”को रूपमा परिचित गराउँछ।—यशैया ९:६, ७.

४. (क) बलवान स्वर्गदूतको “सूर्य” जस्तै अनुहार र (ख) “आगोका खामाहरू” जस्तै खुट्टाबाट के बोध हुन्छ?

बलवान स्वर्गदूतको अनुहार “सूर्य” जस्तो थियो। पहिलेको दर्शनमा पनि यूहन्‍नाले येशूलाई ईश्‍वरीय मन्दिरमा देख्दा येशूको अनुहार “पूरा शक्‍तिसँग चम्केको सूर्यजस्तै थियो।” (प्रकाश १:१६) येशू “धर्मको सूर्य” पनि हुनुहुन्छ र यहोवाको नाउँको डर राख्नेहरूलाई लाभान्वित पार्ने आरोग्यतासाथ उहाँ चम्कनु हुन्छ। (मलाकी ४:२) तर यी स्वर्गदूतको अनुहार मात्र होइन, उनका खुट्टाहरू पनि “आगोका खामाहरू जस्तै” ज्वाजल्यमान छन्‌। उनको दृढ उभाइ त्यो व्यक्‍तिको जस्तै छ जसलाई यहोवाले “स्वर्ग र पृथ्वीमा . . . सारा अख्तियार” सुम्पनु भएको छ।—मत्ती २८:१८; प्रकाश १:१४, १५.

५. बलवान स्वर्गदूतको हातमा यूहन्‍नाले के देख्छन्‌?

यूहन्‍नाले यो पनि देख्छन्‌: “औ तिनको हातमा खोलिराखेको एउटा सानो पुस्तक थियो, औ तिनले आफ्नो दाहिने खुट्टा समुद्रमा र देब्रे खुट्टा पृथ्वीमा राखे।” (प्रकाश १०:२) फेरि अर्को पुस्तक? हो, तर यस पटक चाहिं त्यो बन्द छैन। हामीले पनि यूहन्‍ना सँगसँगै अझ रोमाञ्चकारी कुराहरू प्रकाश भएको चाँडै नै देख्ने आशा गर्न सक्छौं। तर पहिले हामीलाई हुन लागेका कुराहरूको पृष्ठभूमि बताइन्छ।

६. (क) येशूका खुट्टाहरू पृथ्वी र समुद्रमाथि हुनु किन उपयुक्‍त छ? (ख) भजन ८:५-८ कहिले सम्पूर्णतः पूरा भयो?

येशूको वर्णनलाई हामी फेरि दोहोऱ्‍याएर हेरौं। उहाँका अग्निमय खुट्टाहरू पृथ्वी र समुद्रमाथि छन्‌ जहाँ अहिले उहाँको पूरा अधिकार चल्छ। यो भविष्यसूचक भजनमा लेखिएको जस्तै छ: “किनकि तपाईंले त्यसलाई दूतहरूभन्दा केही मात्र कम गरेर बनाउनुभएको छ, र त्यसलाई गौरव र आदरको मुकुट लगाइदिनुभएको छ। तपाईंको बाहुलीका कार्यहरू सबैमाथि तपाईंले त्यसलाई प्रभुत्व दिनुभएको छ। भेडा र गोरुहरू सबै वनका जानवरहरू पनि। आकाशका चराहरू र समुद्रका माछाहरू, र समुद्रभित्र बग्ने सबै जन्तुहरू।” (भजन ८:५-८; हिब्रू २:५-९-पनि हेर्नुहोस्‌।) यो भजन सम्पूर्ण रीतिले १९१४-मा पूरा भयो। त्यतिखेर येशूलाई परमेश्‍वरको राज्यको राजा बनाइयो र अन्तको समय पनि सुरु भयो। अतः यहाँ यूहन्‍नाले यस दर्शनमा देखेका कुराहरू पनि १९१४-देखि नै पूरा हुन थाल्छन्‌।—भजन ११०:१-६; प्रेरित २:३४-३६; दानियल १२:४.

सातवटा गर्जनहरू

७. बलवान स्वर्गदूत कसरी कराउँछन्‌ र उनको पुकारको सार्थकता के हो?

यी बलवान स्वर्गदूतबारे यूहन्‍नाले सोचिरहेको बेलामा अचानक स्वयं स्वर्गदूतले नै यूहन्‍नालाई झसङ्‌ग पारिदिन्छन्‌: “औ एउटा सिंह गर्जेझैं तिनी ठूलो सोरले कराए, र तिनी कराएपछि ती सात गर्जनहरूले तिनका आवाज निकाले।” (प्रकाश १०:३) यो ठूलो स्वरले यूहन्‍नाको ध्यान आकृष्ट गराउँछ र येशू वास्तवमा ‘यहूदाका कुलका सिंह’ हुनुहुन्छ भन्‍ने प्रमाण पनि प्रस्तुत गर्छ। (प्रकाश ५:५) साथै, स्वयं यहोवा पनि समय समयमा “गर्जनु” हुन्छ भन्‍ने कुरा यूहन्‍नालाई निश्‍चय थाहा भएकै कुरा हो। यहोवाको गर्जनले आत्मिक इस्राएलको एकत्रिकरण र ‘परमप्रभुको ठूलो विनाशको दिन’-बारे अग्रिमसूचना दिन्छ। (होशे ११:१०; योएल ३:१४, १६; आमोस १:२; ३:७, ८) यस्तैगरी, यी बलवान स्वर्गदूतको सिंहको जस्तै गर्जनले पनि समुद्र र पृथ्वीमा हुने ठूलठूला घटनाहरूको अग्रिमवाणी गर्छ। सिंहको जस्तै यो गर्जनले अरू सातवटा गर्जनहरूलाई आवाज दिन निम्त्याउँछ।

८. ‘सातवटा गर्जनहरू’को आवाज के हो?

यूहन्‍नाले पहिले पनि यहोवाकै सिंहासनबाट गर्जनहरूको आवाज निस्केको सुनेका थिए। (प्रकाश ४:५) दाऊदको पालोमा, साँच्चैको गर्जनलाई कुनै बेला “परमप्रभुको सोर” भनिन्थ्यो। (भजन २९:३) येशूको पार्थिव सेवकाईको समयमा यहोवाले आफ्नो नाउँलाई महिमित पार्ने उद्देश्‍य सबैले सुन्‍ने गरी उद्‌घषण गर्नु हुँदा त्यो आकाशवाणी धेरैलाई त बादल गर्जेको जस्तै लागेको थियो। (यूहन्‍ना १२:२८, २९) यसकारण, ती ‘सात गर्जनहरूको आवाज’ पनि यहोवाको आफ्नै उद्देश्‍यका अभिव्यक्‍तिहरू हुन्‌ भनी ठान्‍नु मनासिब हो। “सातवटा” गर्जनहरू थिए भन्‍नुको अर्थ यूहन्‍नाले सुनेका कुराहरू सम्पूर्ण थिए।

९. स्वर्गबाट एउटा आवाजले के आदेश दिन्छ?

तर सुन्‍नुहोस्‌! एउटा अर्को स्वर पनि सुनिन्छ। त्यसले दिएको आदेश यूहन्‍नालाई विचित्र लाग्यो होला। “औ जब ती सात गर्जनहरूले आफ्ना आफ्ना आवाज निकाले, तब म लेख्नलागेको थिएँ, र स्वर्गबाट यसो भन्‍ने आवाज मैले सुनें, ‘ती सातै गर्जनहरूले निकालेका आवाजहरूलाई छाप लगाऊ, र तिनलाई नलेख।’ ” (प्रकाश १०:४) ती गर्जनरूपी सन्देशहरूलाई सुन्‍न र लेख्न यूहन्‍ना अवश्‍य पनि उत्सुक थिए होलान्‌। जसरी आज पनि यहोवाले प्रकट गर्नु भएका उद्देश्‍यहरू प्रकाशित गर्न यूहन्‍नावर्ग उत्सुकताका साथ पर्खिरहन्छ। तर यस्ता प्रकाशहरू यहोवाले तोक्नु भएको समयमा मात्र पाउन सकिन्छ।—लूका १२:४२; दानियल १२:८, ९-पनि हेर्नुहोस्‌.

पवित्र रहस्यको समाप्त

१०. बलवान स्वर्गदूतले कसको नाउँमा शपथ खान्छन्‌ र कुन घोषणा बारे?

१० तथापि, अहिले भने यहोवाले यूहन्‍नालाई एउटा अर्कै जिम्मेवारी सुम्पनु हुन्छ। सातवटा गर्जन गर्जिसकेपछि ती बलवान स्वर्गदूत फेरि बोल्छन्‌: “अनि मैंले देखेको पृथ्वी र समुद्रमा उभिरहेका दूतले आफ्नो दाहिने हात स्वर्गतिर उचाले, अनि तिनले ‘अब बेर लाग्दैन’ भनेर सदा सर्वदा जीवित रहनुहुने, स्वर्ग र त्यसमा भएका कुराहरू, पृथ्वी र त्यसमा भएका कुराहरू, समुद्र र त्यसमा भएका कुराहरूलाई सृष्टि गर्नुहुनेको नाउँमा शपथ हाले।” (प्रकाश १०:५, ६) ती बलवान स्वर्गदूतले कसको नाउँमा शपथ खान्छन्‌? महिमावान येशूले आफ्नो नाउँमा होइन तर सर्वोच्च अख्तियारवाला, स्वर्ग र पृथ्वीको अनन्तकालीन सृष्टिकर्ताको नाउँमा शपथ खानुहुन्छ। (यशैया ४५:१२, १८) यो शपथ खाइसकेपछि अब चाहिं परमेश्‍वरले अलिकता पनि विलम्ब गर्नु हुनेछैन भनेर स्वर्गदूतले यूहन्‍नालाई विश्‍वास दिलाउँछन्‌।

११, १२. (क) “अब बेर लाग्दैन” भन्‍नुको अर्थ के हो? (ख) कुन कुराको अब टुङ्‌गो लगाइन्छ?

११ यहाँ “बेर” भनेर अनुवाद गरिएको युनानी शब्द ख्रोनोस हो। यसको शाब्दिक अर्थ हो “समय”। यसकारण यहाँ स्वर्गदूतले भनेको कुरालाई “अब समय रहने छैन” अथवा हामीले अझसम्म जुन कुरालाई समय भन्छौं त्यो उप्रान्त रहने छैन भन्‍ने अर्थ लगाएर अनुवाद गर्नुपर्छ भन्‍ने विचार कसैकसैले व्यक्‍त गरेका छन्‌। तर ख्रोनोस शब्दको अगाडि यहाँ कुनै वर्णनात्मक विशेषणको प्रयोग गरिएको छैन। यसकारण यसले साधारणतः समयलाई सङ्‌केत गर्नुको सट्टा एउटा “खास समय” अथवा “समयावधि”लाई बोध गराउँछ। अर्थात्‌, यहोवाको तर्फबाट अब समयमा अझ बेर हुनेछैन। यही ख्रोनोस-बाटै आएको अर्को युनानी क्रिया हिब्रू १०:३७-मा चलाइएको छ। त्यहाँ पावलले हबकूक २:३, ४-बाट उद्धरण गर्दै लेख्छन्‌ कि “आउनु हुने जो हो, सो आउन्यै हुनेछ, र बियाँलो गर्नुहुनेछैन।”

१२ “अब बेर लाग्दैन”—यी शब्दहरू आज उमेर ढल्किरहेको यूहन्‍नावर्गका लागि कति सान्त्वनादायी छन्‌! कुन अर्थमा बेर हुनेछैन? यूहन्‍ना यसो भन्छन्‌: “तर सातौं दूतको आवाजका दिनहरूमा तिनले फूक्नलाग्दा आफ्ना दासहरू अर्थात्‌ अगमवक्‍ताहरूलाई घोषणा भएको सुसमाचारअनुसार परमेश्‍वरको रहस्य खतम हुनेछ।” (प्रकाश १०:७) यहोवाले आफ्नो पवित्र रहस्यलाई त्यसको आनन्दमय चर्मोत्कर्ष र महिमायुक्‍त सफलताको शिखरसम्म पुऱ्‍याउने समय आएको छ!

१३. परमेश्‍वरको पवित्र रहस्य के हो?

१३ तर यो पवित्र रहस्य हो के? यसमा प्रथमतः अदनमा प्रतिज्ञा गरिएको सन्तान समावेश छ। उक्‍त सन्तानको प्रमुख सदस्य येशू ख्रीष्ट साबित हुनुहुन्छ। (उत्पत्ति ३:१५; १ तिमोथी ३:१६) त्यो सन्तानलाई जन्म दिने स्त्री पनि पवित्र रहस्यसित सम्बन्धित छ। (यशैया ५४:१; गलाती ४:२६-२८) अझै, यो पवित्र रहस्यमा सन्तानको प्रमुख सदस्यले राज गर्नु हुने परमेश्‍वरको राज्य र सन्तानका शेष सदस्यहरू पनि सम्मिलित छन्‌। (लूका ८:१०; एफिसी ३:३-९; कलस्सी १:२६, २७; २:२; प्रकाश १:५, ६) अन्तको समयमा यो अनुपम स्वर्गीय राज्यको सुसमाचार पृथ्वीभरि प्रचार गर्नु आवश्‍यक छ।—मत्ती २४:१४.

१४. तेस्रो विपत्ति परमेश्‍वरको राज्यसित किन सम्बन्धित छ?

१४ निश्‍चय नै अरू कुनै पनि समाचार यो समाचारभन्दा राम्रो हुन सक्‍तैन। तापनि, प्रकाश ११:१४, १५-मा यही राज्यसित तेस्रो विपत्ति सम्बन्धित छ। किन? किनभने परमेश्‍वरको पवित्र रहस्य पूरा भयो अर्थात्‌ परमेश्‍वरको मसीही राज्य आइ पुगेको छ भन्‍ने उद्‌घोषणा शैतानको रीतिरिवाज रुचाउने मानिसहरूका लागि एउटा दुःखदायी समाचार हो। (२ कोरिन्थी २:१६-सित तुलना गर्नुहोस्‌।) तिनीहरूले यति साह्रो मन पराएको विश्‍व-व्यवस्था चाँडै विनाश हुने समाचार हो यो। यहोवाको बदला लिने दिन जसै नजिक आउँछ, यी डरलाग्दा तूफानी चेताउनीहरू घोषणा गर्ने सात गर्जनहरूको आवाजहरू पनि अझ स्पष्ट हुँदै जान्छन्‌।—सपन्याह १:१४-१८.

खुला पुस्तक

१५. स्वर्गबाट निस्कने स्वर र ती बलिया स्वर्गदूतले यूहन्‍नालाई के भन्छन्‌ र यसले यूहन्‍नामाथि के असर पार्छ?

१५ यो सातौं तुरहीको आवाज र परमेश्‍वरको पवित्र रहस्यको समापनको प्रतीक्षा यूहन्‍नाले गरिरहेको बेलामा उनलाई यो थप काम दिइन्छ: “औ स्वर्गबाट मैंले सुनेको आवाज फेरि मसँग यसो भनेर बोलिरहेको मैले सुनें, ‘जाऊ, समुद्र र पृथ्वीमा उभिने दूतको हातमा भएको खुला पुस्तक लेऊ।’ अनि म ती दूतकहाँ गएर त्यो सानो पुस्तक तिनले मलाई दिऊन्‌ भनेर मैले तिनलाई भनें। औ तिनले मलाई भने, ‘यो लेऊ, र यसलाई खाइहाल, र यसले तिम्रो पेट तीतो गराउनेछ, तर तिम्रो मुखमा ता त्यो महजस्तै हुनेछ।’ औ मैले ती दूतका हातबाट त्यो सानो पुस्तक लिएँ, र खाएँ। मेरो मुखमा त्यो महजस्तै गुलियो भयो। त्यो खाएपछि मेरो पेट तीतो भइहाल्यो। अनि मलाई यो भनियो, ‘तिमीले धेरै मानिसहरू, जातिहरू, भाषाहरू र राजाहरूका विषयमा अगमवाणी बोल्नुपर्नेछ।’ ”—प्रकाश १०:८-११.

१६. (क) इजकिएल अगमवक्‍ताको अनुभव र यूहन्‍नाको अनुभव कसरी मिल्दोजुल्दो छन्‌? (ख) त्यो सानो पुस्तक यूहन्‍नालाई किन गुलियो लाग्यो तर पचाउँदा चाहिं त्यो किन तीतो थियो?

१६ यूहन्‍नाको अनुभव र बेबिलोनको निर्वासनमा हुँदा अगमवक्‍ता इजकिएलले गरेको अनुभव दुवै मिल्दाजुल्दा छन्‌। इजकिएललाई पनि मुखमा गुलियो लाग्ने पुस्तक खान लगाइएको थियो। तर त्यसले पेट भरिएपछि इस्राएलको विद्रोही घरानाबारे तीता कुराहरू अग्रिमवाणी गर्न उनी बाध्य भएका थिए। (इजकिएल २:८–३:१५) यस्तैगरी, महिमित येशू ख्रीष्टले यूहन्‍नालाई दिनु भएको खुला पुस्तक एउटा ईश्‍वरीय सन्देश हो। यूहन्‍नाले “जातिहरू, राजाहरू र भाषाहरू”-बारे प्रचार गर्नुपर्छ। त्यो पुस्तक खाँदा उनलाई गुलियो लाग्छ किनभने त्यसको स्रोत ईश्‍वरयी हो। (भजन ११९:१०३; यर्मिया १५:१५, १६-सित तुलना गर्नुहोस्‌।) तर त्यसलाई पचाउँदा चाहिं उनलाई, इजकिएललाई जस्तै गरी, तीतो लाग्छ किनभने त्यसमा विद्रोही मानिसहरूका लागि नमीठा अग्रिमवाणीहरू छन्‌।—भजन १४५:२०.

१७. (क) यूहन्‍नालाई “फेरि” भविष्यवाणी गर्न अह्राउनेहरू को को हुन्‌ र यसको अर्थ के हो? (ख) यूहन्‍नाले देखेको प्रभावकारी दृश्‍य कहिले पूरा हुनेवाला थियो?

१७ यूहन्‍नालाई फेरि भविष्यवाणी भन्‍न अह्राउने व्यक्‍तिहरू निश्‍चय पनि यहोवा परमेश्‍वर र येशू ख्रीष्ट नै हुनुहुन्छ। पतमोसको टापुमा निर्वासित भए तापनि यूहन्‍नाले प्रकाशको पुस्तकमा अझसम्म लेखिएका कुराहरूद्वारा मानिसहरू, राष्ट्रहरू, भाषाहरू र राजाहरूबारे भविष्यवाणी गरी सकेका छन्‌। अतः यहाँ “फेरि” शब्दको अर्थ चाहिं उनले प्रकाशको पुस्तकमा लिपिबद्ध बाँकी कुराहरूलाई पनि लेखेर प्रकाशित गर्नुपर्छ। तर याद गर्नुहोस्‌, यूहन्‍नाले यो भविष्यसूचक दर्शनमा स्वयं भाग लिइरहेका छन्‌। उनले लेखेका कुराहरू वास्तवमा एउटा भविष्यवाणी हो, जो १९१४ पछि पूरा हुनेछ। त्यतिखेर ती बलवान स्वर्गदूतले पृथ्वी र समुद्रमाथि आफ्नो पाइला राखेर उभिएका हुनेछन्‌। अतः यो प्रभावकारी चित्रणले आज यूहन्‍नावर्गका लागि के अर्थ राख्तछ?

आजको सानो खुला पुस्तक

१८. प्रभुको दिनको सुरुसुरुमा यूहन्‍नावर्गले प्रकाशको पुस्तकमा के कस्तो चासो देखाए?

१८ यूहन्‍नाले अब देखेका कुराहरू प्रभुको दिनको सुरुसुरुमा यूहन्‍नावर्गको अनुभवका विशेष पूर्वचित्रण हुन्‌। तिनीहरूले त्यतिखेर यहोवाका उद्देश्‍यहरू र ती सातवटा गर्जनहरूको अर्थ सम्पूर्ण रीतिले बुझेका थिएनन्‌। तापनि, प्रकाशको पुस्तकमा तिनीहरूको गहिरो चासो थियो र त्यसका विभिन्‍न भागहरूमाथि चार्ल्स टेज रसलले आफ्नो जीवनकालमा केही टिप्पणीहरू पनि लेखेका थिए। १९१६-मा उनको मृत्युपश्‍चात्‌ उनका लेखहरूलाई जम्मा गरेर द फिनिश्‍ड मिस्ट्री नामक पुस्तकमा प्रकाशित पनि गरियो। तर केही समयपछि यो पुस्तक प्रकाशको पुस्तकको व्याख्या गर्नमा असन्तोषजनक साबित भयो। यो ईश्‍वर प्रेरित पुस्तकलाई सही ढङ्‌गमा बुझ्नका लागि त्यहाँ उल्लिखित दर्शनहरू पूरा हुन नथालेसम्म ख्रीष्टका भाइहरूले अझ केही समयसम्म पर्खनु पऱ्‍यो।

१९. (क) सात गर्जनहरू पूर्णतया प्रकाश हुनुभन्दा अघि नै यूहन्‍नावर्गलाई यहोवा परमेश्‍वरले कसरी प्रयोग गर्नुभयो? (ख) यूहन्‍नावर्गलाई त्यो सानो खुला पुस्तक कहिले दिइयो र तिनीहरूका लागि यसले के अर्थ राख्यो?

१९ तथपि, यूहन्‍नालाई जस्तै तिनीहरूलाई पनि यहोवाले सातवटा गर्जनहरूको आवाज प्रकाशित हुनुभन्दा अघि नै प्रयोग गर्नुभयो। तिनीहरूले १९१४-भन्दा ४० वर्षअघि देखि नै परिश्रमी भएर प्रचार गरेका थिए। प्रथम विश्‍वयुद्धको दौडान सक्रिय रहन तिनीहरूले सङ्‌घर्ष गरेका थिए। मालिक आइपुग्दा उहाँको परिवारलाई ठीकठीक समयमा तिनीहरूले नै खाना दिइरहेका थिए। (मत्ती २४:४५-४७) अतः १९१९-मा त्यो सानो खुला पुस्तक अर्थात्‌ मानिसजातिलाई प्रचार गर्नुपर्ने खुला सन्देश पनि तिनीहरूलाई नै दिइयो। इजकिएललाई दिएको सन्देशजस्तै तिनीहरूलाई सुम्पिएको सन्देश पनि एउटा अविश्‍वासी सङ्‌गठन अर्थात्‌ मसीहीजगतका लागि थियो जसले परमेश्‍वरको सेवा गर्ने दाबी गरे तापनि वास्तवमा गरेको चाहिं थिएन। यूहन्‍नालेझैं येशूका भाइहरूले पनि “मानिसहरू, जातिहरू, भाषाहरू र राजाहरू” बारे अझ प्रचार गर्नु परेको थियो।

२०. यूहन्‍नाले त्यो पुस्तक खानु कुन कुराको चित्रण थियो?

२० यो काम गर्न उनीहरू पछि राजी भएको कुरा यूहन्‍नाले पुस्तक खाएर चित्रित गरे। यो काम यूहन्‍नावर्गको अभिन्‍न भाग हुन गयो। परमेश्‍वरको प्रेरित वचनको यस भागसित तिनीहरू सम्पूर्णतः संलग्न भए। सोही वचनबाट तिनीहरूले पौष्टिक शक्‍ति लिने गरे। तर तिनीहरूले प्रचार गर्ने ईश्‍वरीय न्यायवचनहरू चाहिं धेरै जसो मानिसहरूका लागि नमीठो हुने थियो। किनकि यी वचनहरूमा प्रकाशको आठौं अध्यायमा अग्रिमवाणी गरिएका विपत्तिहरू सम्मिलित थिए। तथापि, इमान्दार मसीहीहरूलाई चाहिं ती न्याय वचनहरूबारे थाहा हुनु र ती घोषित गर्नका लागि परमेश्‍वरकै हातमा प्रयोग हुन पाउनु वास्तवमा एउटा मीठो अनुभव थियो।—भजन १९:९, १०.

२१. (क) सानो पुस्तकको सन्देश ठूलो भीडका लागि पनि कसरी मीठो साबित भएको छ? (ख) विरोधीहरूका लागि सुसमाचार किन खराब समाचार हो?

२१ समयमा यो पुस्तकको सन्देश “हरेक जाति, कुल र मानिस र भाषा भाषाहरूको . . . ठूलो भीड”लाई पनि गुलियो लाग्न थाल्यो। यिनीहरू ती व्यक्‍तिहरू थिए जो मसीहीजगतमा विद्यमान घृणास्पद कुराहरूको कारण पीडित थिए। (प्रकाश ७:९; इजकिएल ९:४) अब यिनीहरूले पनि जोडतोडका साथ सुसमाचार प्रचार गर्छन्‌। मीठा मीठा शब्दहरू प्रयोग गर्दै यिनीहरूले भेडा खालका मसीहीहरूका लागि यहोवाका अद्‌भुत प्रबन्धहरूको वर्णन गर्छन्‌। (भजन ३७:११, २९; कलस्सी ४:६) तर विरोधीहरूका लागि यो खराब समाचार हो। किन? किनभने जुन व्यवस्थामा तिनीहरूले भरोसा गरेका छन्‌, त्यसले मात्र क्षणिक सन्तोष प्रदान गरेको भए पनि, त्यो अब नष्ट हुनै पर्छ। तिनीहरूका लागि परमेश्‍वरको सुसमाचार नाशको समाचार हो।—फिलिप्पी १:२७, २८; व्यवस्था २८:१५-सित तुलना गर्नुहोस्‌; २ कोरिन्थी २:१५, १६.

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १६०-मा भएको चित्र]

यूहन्‍नावर्ग र तिनीहरूका सङ्‌गीहरूले सारा मानिसजातिलाई मीठो र तीतो समाचार सुनाउँछन्‌