सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका कार्यहरू—महान र अद्‌भुत

यहोवाका कार्यहरू—महान र अद्‌भुत

अध्याय ३१

यहोवाका कार्यहरू—महान र अद्‌भुत

दर्शन १०—प्रकाश १५:१–१६:२१

विषय: यहोवा उहाँको मन्दिरभित्र; उहाँको क्रोधको सात कचौरा पृथ्वीमा खन्याइन्छ

पूर्ति समयावधि: १९१९देखि आरमागेडोनसम्म

१, २. (क) यूहन्‍नाले कुन चाहिं तेस्रो चिह्न रपोर्ट गर्छन्‌? (ख) यहोवाका सेवकहरूले स्वर्गदूतहरूको कुन भूमिकाबारे धेरै नै अघि थाह पाएका थिए?

 एउटी स्त्रीले छोरा जन्माउँछिन्‌! त्यो छोरालाई निल्न एउटा ठूलो अजिङ्‌गर ढुकेर बसिरहेको छ! प्रकाशको १२-औं अध्यायमा उल्लिखित यी दुइटा ज्वलन्त स्वर्गीय चिह्नहरूबाट हामी बुझ्छौं कि परमेश्‍वरकी स्त्रीको सन्तान र शैतान तथा त्यसको प्रेतवादी सन्तानबीच चलिआएको वर्षौं पुरानो शत्रुता अब बल्ल चरमोत्कर्षमा पुग्न लागेको छ। ती प्रतीकहरूलाई विशेष जोड दिंदै यूहन्‍ना भन्छन्‌: “अनि स्वर्गमा एउटा ठूलो चिह्न देखियो . . . औ स्वर्गमा अर्को एउटा चिह्न देखियो।” (प्रकाश १२:१, ३, ७-१२) यूहन्‍ना अब तेस्रो चिह्नको व्याख्या गर्छन्‌: “मैले स्वर्गमा ठूलो र अचम्मको एउटा चिह्न देखें, अर्थात्‌ आखिरी सात विपत्ती लिएका सात दूतहरू, किनकि तिनीहरूमै परमेश्‍वरको क्रोध समाप्त भएको छ।” (प्रकाश १५:१) यो तेस्रो चिह्नले पनि यहोवाका सेवकहरूका लागि खास अर्थ राख्तछ।

हेर्नुहोस्‌, परमेश्‍वरको इच्छा पूरा गर्नमा स्वर्गदूतहरूले यहाँ फेरि महत्त्वपूर्ण भूमिकाहरू निभाइरहेछन्‌। यहोवाका सेवकहरूलाई यो धेरै समयअघि देखि नै थाहा भएको कुरा हो। किनभने ईश्‍वरीय प्रेरणा पाएर प्राचीन भजनरचयिताले पनि यसप्रकारका स्वर्गदूतहरूलाई सम्बोधन समेत गर्दै यसो भनेका थिए: “हे परमप्रभुका दूत हो, हे शक्‍तिमान वीर हो, जसले उहाँको वचन शिरोपर गर्दछ, उहाँकै वचनको शब्द सुन्दै उहाँलाई धन्यको भन।” (भजन १०३:२०) अब यो नयाँ दृश्‍यमा स्वर्गदूतहरूलाई सातवटा आखिरी विपत्तिहरू खन्याउने काम दिइन्छ।

३. सात विपत्तिहरू के हुन्‌ र तिनीहरूलाई खन्याउनुको अर्थ के हो?

यी विपत्तिहरू के हुन्‌? यी पनि सातवटा तुरहीको आवाज जस्तै कडा न्यायिक उद्‌घोषणाहरू हुन्‌। यी उद्‌घोषणाहरूद्वारा यस संसारका विभिन्‍न पक्षहरूप्रति यहोवाको दृष्टिकोण प्रकट हुन्छ र उहाँका न्यायिक फैसलाहरूको अन्तिम परिणामबारे चेताउनी पनि दिइन्छ। (प्रकाश ८:१–९:२१) यी विपत्तिहरू खन्याउनुको अर्थ ती न्यायिक फैसलाहरूलाई कार्यान्वयन गर्नु हो। त्यतिबेला यहोवाको प्रकोपका पात्रहरू उहाँको क्रोधको दिनमा नष्ट हुनेछन्‌। (यशैया १३:९-१३; प्रकाश ६:१६, १७) अतः यी विपत्तिहरूद्वारा नै “परमेश्‍वरको क्रोध समाप्त” हुन्छ। तर यी विपत्तिहरू खन्याउने कार्य वर्णनगर्नुअघि यूहन्‍नाले हामीलाई केही मानिसहरूबारे भन्छन्‌ जसमाथि यी विपत्तिहरूको प्रतिकूल प्रभाव पर्नेछैन। जङ्‌गली जनावरको छाप थाप्न अस्वीकार गरेपछि अब यी भक्‍त जनहरूले यहोवाको बदलाको दिन घोषणा गर्दै उहाँको प्रशंसा गाउँछन्‌।—प्रकाश १३:१५-१७.

मोशा र थुमाको भजन

४. अब यूहन्‍नाले के देख्छन्‌?

अब यूहन्‍नाको सामु यो सुन्दर दृश्‍य उघारिन्छ: “मैले आगोसँग मिसिएको ऐनाको समुद्रजस्तै देखें, र त्यस जनावरमाथि, त्यसको मूर्तिमाथि र त्यसको नाउँको संख्यामाथि विजयी भएर परमेश्‍वरका वीणाहरू लिएकाहरूलाई ऐनाको समुद्रमाथि उभिरहेका देखें।”—प्रकाश १५:२.

५. “आगोसँग मिसिएको ऐनाको समुद्र”-ले केलाई चित्रित गर्छ?

यो त्यही “समुद्रको ऐना” हो जसलाई यूहन्‍नाले केही समयअघि परमेश्‍वरको सिंहासनको सामु राखिएको देखेका थिए। (प्रकाश ४:६) यो समुद्रको ऐना सुलेमानको मन्दिरमा भएको “विशाल खड़कुँला” (पानी हाल्ने भाँडो) जस्तै छ जसबाट पूजारीहरूले नुहाउने पानी लिने गर्थे। (१ राजा ७:२३) अतः यसले त्यो “पानी” अर्थात्‌ परमेश्‍वरको वचनलाई चित्रित गर्छ जसद्वारा येशूले अभिषिक्‍त मसीहीहरूले बनेको याजकीय मण्डलीलाई शुद्ध तुल्याउनु हुन्छ। (एफिसी ५:२५, २६; हिब्रू १०:२२) यो ऐनाजस्तै समुद्र “आगोसँग मिसिएको” छ। यसको अर्थ यी अभिषिक्‍त जनहरू तिनीहरूले पालन गर्नु पर्ने उच्च सिद्धान्तहरूको प्रयोगद्वारा आगोमा खारिए जस्तैगरी जाँचिनेछन्‌। यसबाहेक, परमेश्‍वरको वचनमा उहाँका शत्रुहरूको विरुद्धमा अग्निमय न्यायिक वाणीहरू पनि छन्‌ भन्‍ने कुराको सम्झना हामीलाई गराइन्छ। (व्यवस्था ९:३; सपन्याह ३:८) यी मध्ये केही अग्निमय न्यायिक वाणीहरू अब खन्याउनै लागेका सातवटा आखिरी विपत्तिहरूद्वारा प्रकट हुन्छन्‌।

६. (क) स्वर्गमा ऐनाको समुद्रको सामु उभिएका गायकहरू को हुन्‌ र हामी यो कसरी भन्‍न सक्छौं? (ख) तिनीहरू कुन तरिकामा “विजयी” भएका छन्‌?

सुलेमानको मन्दिरको “विशाल खड़कुँला” पुजारीहरूको प्रयोगका लागि थियो। यसकारण स्वर्गीय ‘समुद्रको ऐनाअगाडि’ उभिएका गायकहरू पनि पुजारीहरू नै हुनुपर्छ। यिनीहरूसित “परमेश्‍वरका वीणाहरू” छन्‌। अतः हाम्रो विचारमा यिनीहरू पनि ती २४ प्राचीनहरू र १,४४,००० सित सम्बन्धित छन्‌ किनकि यी दुवै समूहले वीणाको सुरमा गाना गाउँछन्‌। (प्रकाश ५:८; १४:२) यूहन्‍नाले देख्ने यी गायकहरू “जनावरमाथि, त्यसको मूर्तिमाथि र त्यसको नाउँको संख्यामाथि विजयी” हुन्छन्‌। यसकारण यी गायकहरू १,४४,००० जनहरूमध्येका ती सदस्यहरू हुनपर्छ जो अन्तिम दिनहरूमा यसै पृथ्वीमा बाँचेका हुन्छन्‌। सामूहिक तवरमा तिनीहरू वास्तवमा विजयी हुन्छन्‌। सन्‌ १९१९ देखि झन्डै ९० वर्षसम्मै तिनीहरूले जनावरको चिह्न थाप्न अथवा त्यसको मूर्तिलाई नै मानव शान्तिको एक मात्र आशा स्वीकार्न इन्कार गर्दै आएका छन्‌। तिनीहरूमध्ये धेरै जना त मृत्यु पर्यान्त धैर्यधारण गरी विश्‍वासी रहे र अब तिनीहरू स्वर्गमा छन्‌। त्यहाँबाट तिनीहरूले अझ पनि पृथ्वीमै रहेका आफ्ना भाइहरूको गीतमा बडो आनन्द र रुचि लिन्छन्‌।—प्रकाश १४:११-१३.

७. प्राचीन इस्राएलमा वीणाको प्रयोग कसरी गरिन्थ्यो र यूहन्‍नाको दर्शनमा परमेश्‍वरको सामु वीणाहरू देख्नासाथै हाम्रो हृदय के गर्नका लागि तम्तयार हुनुपर्छ?

यी विजयी भक्‍तहरूसित परमेश्‍वरका वीणाहरू छन्‌। यस सम्बन्धमा यिनीहरू प्राचीनकालीन लेवीहरू जस्तै हुन्‌, जसले यहोवाको उपासना गर्दा वीणा बजाउँदै भजन गाउँथे। केहीले त वीणाको धुनमा भविष्यवाणी पनि गर्थे। (१ इतिहास १५:१६; २५:१-३) इस्राएलीहरूले गाउने आनन्द, कृतज्ञता र जयजयकारका भजनहरू वीणाको सुमधुर धुनले सुसज्जित हुन्थे। (१ इतिहास १३:८; भजन ३३:२; ४३:४; ५७:७, ८) शोकित अवस्थामा अथवा कैदमा पर्दा वीणाको आवाज सुनिंदैन थियो। (भजन १३७:२) अतः यस दर्शनमा पनि परमेश्‍वरका वीणाहरू देख्नासाथै परमेश्‍वरका लागि धन्यवाद र जयजयकारको एउटा हर्षोल्लासपूर्ण विजयगान सुन्‍न हाम्रो हृदय तम्तयार हुनु पर्ने हो। a

८. कुन गीत गाइन्दैछ र त्यसका शब्दहरू के हुन्‌?

यूहन्‍नाले पनि यस्तै कुरा व्याख्या गर्छन्‌: “औ तिनीहरूले यसो भनेर परमेश्‍वरका दास मोशाको भजन र थुमाको भजन गाउँदारहेछन्‌, ‘हे परमप्रभु परमेश्‍वर सर्वशक्‍तिमान, तपाईंका काम ठूला र आश्‍चर्यपूर्ण छन्‌। तपाईं युगयुगका महाराजा, तपाईंका मार्ग धार्मिक र सत्य छन्‌। हे परमप्रभु, तपाईंको डर कसले मान्दैन? र तपाईंको नाउँको महिमा कसले गर्दैन? किनकि तपाईं मात्र पवित्र हुनुहुन्छ। सबै जातिहरू तपाईंको सामने आएर दण्डवत गर्नेछन्‌। किनभने तपाईंको धार्मिक कार्यहरू प्रकट भएका छन्‌।’ ”—प्रकाश १५:३, ४.

९. यस गीतको केही अंशलाई “मोशाको भजन” किन भनिन्छ?

यी विजेताहरूले “मोशाको भजन” गाउँछन्‌। अर्थात्‌ एउटा यस्तो गीत जो मोशाले पनि यस्तै परिस्थितिहरूमा गाएका थिए। मिस्रमा दशवटा विपत्तिहरू र लाल समुद्रमा मिस्री सेनाहरूको विनाश देखेपछि इस्राएलीहरूले मोशाको अगुवाइमा यहोवाको जयजयकार गर्दै एउटा विजयगान गाएका थिए। तिनीहरू सबै मिलेर यो घोषणा गरे: “परमप्रभुले सदा सर्वदै राज्य गर्नुहुनेछ।” (प्रस्थान १५:१-१९) जङ्‌गली जनावरमाथि विजयी भएर सात आखिरी विपत्तिहरू घोषणा गर्ने यूहन्‍नाको दर्शनका गायकहरूले पनि “युगयुगका महाराजाको” जयजयकार गाउनु अति नै उपयुक्‍त छ!—१ तिमोथी १:१७.

१०. मोशाले अर्को कुन गीत रचेका थिए र त्यसको अन्तिम पद ठूलो भीडसित कसरी सम्बन्धित छ?

१० इस्राएलीहरूले कनान देशलाई कब्जा गर्ने तयारी गरिरहेको बेलामा वृद्ध मोशाले त्यस राष्ट्रलाई एउटा अर्को भजनद्वारा यसो भने: “म परमप्रभुको नाउँ घोषणा गर्नेछु, परमेश्‍वरको महानताको कदर गर।” यस भजनको अन्तिम पद गैरइस्राएलीहरूका लागि पनि उत्साहवर्धक थियो र मोशाका ती प्रेरित शब्दहरूले आज ठूलो भीडलाई समेत सम्बोधन गर्दै यसो भन्छन्‌: “हे अन्यजाति हो, उहाँका प्रजाको प्रशंसा गर।” र तिनीहरूले प्रशंसा किन गर्नु? “किनकि उहाँले आफ्ना दासहरूको रगतको बदला लिनुहुनेछ, औ आफ्ना विरोधीहरूलाई साटो लिनुहुनेछ।” यो धार्मिक न्याय कार्यान्वयनले यहोवामाथि भरोसा राख्ने सबै जनालाई प्रफुल्लित तुल्याउनेछ।—व्यवस्था ३२:३, ४३; रोमी १५:१०-१३; प्रकाश ७:९.

११. यूहन्‍नाले सुनेको गीत आजसम्मै कसरी पूरा भइरहेछ?

११ आज प्रभुको दिनमा हुन पाएको भए मोशा कति रमाउने थिए होलान्‌! स्वर्गीय भजन मण्डलीसित स्वरमा स्वर मिलाएर उनी पनि यसो भन्दै गाउने थिए: “सबै जातिहरू तपाईंको सामने आएर दण्डवत गर्नेछन्‌!” यस सर्वोत्कृष्ट भजनको आज पनि भव्य पूर्ति देख्न सकिन्छ। यो पूर्ति दर्शनमा मात्र होइन साक्षात देख्न सकिन्छ। “सबै जातिहरू”बाट लाखौं मानिसहरू यहोवाको पार्थिव सङ्‌गठनमा एकत्रित भइरहेछन्‌।

१२. यस विजयगानलाई किन “थुमाको भजन” पनि भनिन्छ?

१२ तर यो भजन मोशाको मात्र नभएर “थुमाको” पनि हो। कसरी? मोशा इस्राएलीहरूका लागि यहोवाका अगमवक्‍ता थिए। तर यहोवाले मोशाजस्तै एउटा अर्को अगमवक्‍ता उठाउनु हुनेछ भनेर स्वयं मोशाले नै अग्रिमवाणी गरेका थिए। त्यो अर्को अगमवक्‍ता थुमा, येशू ख्रीष्ट हुनुहुन्छ। मोशा “परमेश्‍वरका दास” थिए भने येशू परमेश्‍वरको पुत्र अथवा महान मोशा हुनुहुन्थ्यो। (व्यवस्था १८:१५-१९; प्रेरित ३:२२, २३; हिब्रू ३:५, ६) यसकारण, ती गायकहरूले वास्तवमा “थुमा”-को भजन पनि गाउँछन्‌।

१३. (क) येशू मोशाभन्दा महान हुनु भए तापनि किन मोशाजस्तै हुनुहुन्छ? (ख) हामीहरू ती गायकहरूसित कसरी एक हुन सक्छौं?

१३ मोशाले झैं येशूले पनि सबैको सामु परमेश्‍वरको स्तुति गाउनु भयो। आफ्ना शत्रुहरूमाथि परमेश्‍वरको विजयबारे अग्रिमवाणी गर्नुभयो। (मत्ती २४:२१, २२; २६:३०; लूका १९:४१-४४) येशूले पनि त्यस समयको प्रतीक्षा गर्नुभयो जब अन्यजातिहरू आएर यहोवाको जयजयकार गाउनेछन्‌। यसलाई सम्भव पार्न उहाँले “परमेश्‍वरको” आत्मत्यागी “थुमाको” रूपमा आफ्नो मानव जीवन समर्पन गर्नुभयो। (यूहन्‍ना १:२९; प्रकाश ७:९; यशैया २:२-४; जकरिया ८:२३-तुलना गर्नुहोस्‌।) जसरी मोशाले यहोवा अर्थात्‌ परमेश्‍वरको नाउँको कदर गर्दै त्यसको जयजयकार गर्न सिके, त्यसरी नै येशूले पनि उक्‍त नाउँ प्रकट गर्नुभयो। (प्रस्थान ६:२, ३; भजन ९०:१, १७; यूहन्‍ना १७:६) यहोवा वफादार हुनु भएकोले उहाँका महिमावान प्रतिज्ञाहरू पक्कै पूरा हुनेछन्‌। हामीहरू पनि ती भक्‍त गायकहरू, थुमा र मोशासित भजनका यी शब्दहरूमा आफ्नो सर्वसम्मती व्यक्‍त गर्छौं: “हे परमप्रभु, तपाईंको डर कसले मान्दैन? र तपाईंको नाउँको महिमा कसले गर्दैन?”

कचौरा थामेका स्वर्गदूतहरू

१४. यूहन्‍नाले मन्दिरभित्रबाट कसलाई निस्किरहेका देख्छन्‌ र तिनीहरूलाई के दिइन्छ?

१४ हामीले यी अभिषिक्‍त विजेताहरूको भजन सुन्‍नु उचित हो। किन? किनभने परमेश्‍वरको क्रोधका कचौराहरूमा भएका न्यायिक फैसलाहरूलाई तिनीहरूले पृथ्वीमा घोषणा गरेका छन्‌। तर ती कचौराहरू खन्याउनमा मानिसहरू मात्र विथोलित छैनन्‌। यूहन्‍ना भन्छन्‌: “अनि यी कुरापछि मैले हेरें, र स्वर्गमा साक्षीको मण्डपको मन्दिर उघारियो। त्यहाँ सात विपत्ति भएका चहकिला मणि लगाएका, र छातीमा सुनका फीता लगाएका सातवटा स्वर्गदूत मन्दिरबाट आए। ती चार जीवित जीवातमध्ये एउटाले ती सात स्वर्गदूतलाई सदा सर्वदा जीवित रहनुहुने परमेश्‍वरको क्रोधले भरिएको सुनका सात कचौरा दिए।”—प्रकाश १५:५-७.

१५. ती सात स्वर्गदूतहरू मन्दिरभित्रबाट निस्केको देख्दा हामी किन छक्क पर्नु हुँदैन?

१५ स्वर्गीय प्रबन्धहरूका प्रतीकहरू भएको इस्राएली मन्दिरमा प्रधान पूजारी मात्र अति पवित्र स्थानभित्र पस्न पाउँथ्यो। यस स्थानलाई यहाँ “मन्दिर” भनिएको छ। (हिब्रू ९:३, ७) त्यसले स्वर्गमा यहोवा उपस्थित हुनुहुने ठाउँको प्रतिनिधित्व गर्दछ। तर स्वर्गमा चाहिं यहोवाको सामु प्रधान पूजारी येशू ख्रीष्टबाहेक स्वर्गदूतहरू पनि प्रवेश गर्न सक्छन्‌। (मत्ती १८:१०; हिब्रू ९:२४-२६) अतः स्वर्गीय मन्दिरभित्रबाट ती सात स्वर्गदूतहरू बाहिर निस्केको देखिनु कुनै आश्‍चर्यजनक कुरा होइन। तिनीहरूलाई स्वयं यहोवा परमेश्‍वरले नै एउटा काम दिनु भएको छ: तिनीहरूले परमेश्‍वरको क्रोधले भरिएका सातवटा कचौराहरू खन्याउन परेका छन्‌।—प्रकाश १६:१.

१६. (क) ती सात स्वर्गदूतहरू आफ्नो काम गर्न सुयोग्य छन्‌ भनी कसरी देखिन्छ? (ख) यी प्रतीकात्मक कचौराहरू खन्याउने महान कार्यमा अरू पनि सम्मिलित छन्‌ भनेर के ले सङ्‌केत दिन्छ?

१६ ती स्वर्गदूतहरू यो काम गर्न पूर्णतया योग्य छन्‌। यहोवाको नजरमा तिनीहरूको आध्यात्मिक शुद्धता, पवित्रता र धार्मिकतालाई चित्रित गर्ने सफा, चहकिला सूती कपडा तिनीहरूले पहिरेका छन्‌। तिनीहरूले सुनको फित्ता वा पटुका पनि बाँधेका छन्‌। कुनै कामका लागि कमर कस्दा मानिसहरूले फित्ता अथवा पटुका बाँध्ने गर्छन्‌। (लेवी ८:७, १३; १ शमूएल २:१८; लूका १२:३७; यूहन्‍ना १३:४, ५) यसकारण ती स्वर्गदूतहरूले एउटा विशेष कामका लागि पटुका कसेका छन्‌। तिनीहरूको पटुको वा फित्ता सुनले बनेको छ। प्राचीन बासस्थानमा सुनले ईश्‍वरीय अर्थात्‌ स्वर्गीय कुराहरूलाई चित्रित गर्थ्यो। (हिब्रू ९:४, ११, १२) यसको अर्थ, ती स्वर्गदूतहरूले पनि एउटा बहुमूल्य ईश्‍वरीय काज पूरा गर्नु परेको छ। यस महान कार्यमा अरूहरू पनि सम्मिलित छन्‌। जस्तोकि, चार जीवित जीवातहरूमध्येको एक जनाले तिनीहरूको हातमा कचौरा थमाइ दिने गर्छन्‌। निस्सन्देह यी उही प्रथम जीवात हुनुपर्छ जो हेर्नमा सिंह जस्तै थियो। उनले यहोवाको न्यायिक फैसला घोषणा गर्दा आवश्‍यक पर्ने अटल निडरतालाई चित्रित गर्छन्‌।—प्रकाश ४:७.

यहोवा उहाँको मन्दिरमा

१७. यूहन्‍नाले हामीलाई मन्दिरबारे के भन्छन्‌ र यसले हामीलाई प्राचीन इस्राएलको मन्दिरबारे कुन कुराको सम्झना गराउँछ?

१७ अन्ततः दर्शनको यस भाग समाप्त गर्दै यूहन्‍ना हामीलाई भन्छन्‌: “त्यो मन्दिर परमेश्‍वरको महिमा र उहाँको शक्‍तिबाट आउने धुवाँले भरियो। ती सात स्वर्गदूतका सात विपत्ति नसिद्धिउञ्जेल कोही पनि मन्दिरभित्र पस्नसकेनन्‌।” (प्रकाश १५:८) इस्राएलीहरूको इतिहासमा केही यस्ता समयहरू पनि हुन्थे जब शाब्दिक मन्दिरलाई बादलले ढाक्ने गर्थ्यो। यहोवाको महिमा यसरी प्रकट भएको बेलामा त्यहाँभित्र पूजारीहरू पस्नै सक्‍तैन थिए। (१ राजा ८:१०, ११; २ इतिहास ५:१३, १४; यशैया ६:४, ५-तुलना गर्नुहोस्‌।) ती समयसालहरूमा यहोवाले पृथ्वीका गतिविधिहरूमा सक्रिय भाग लिने गर्नुहुन्थ्यो।

१८. सात स्वर्गदूतहरू यहोवाको सामु रिपोर्ट दिन कति बेला मात्र फर्कनेछन्‌?

१८ तर पृथ्वीमा भइरहेका कुराहरूमा यहोवाले आज पनि गहिरो रुचि लिनु हुन्छ। ती सात स्वर्गदूतहरूले आफ्नो काम पूरा गरेको उहाँ चाहनु हुन्छ। न्याय गर्ने समयको यो चरमोत्कर्ष हो। यसको वर्णन भजन ११:४-६-मा यसप्रकार गरिएको छ: “परमप्रभु आफ्ना पवित्र मन्दिरमा हुनुहुन्छ, परमप्रभुको सिंहासन स्वर्गमा छ। मानिसका सन्तानलाई उहाँले हेर्नुहुन्छ, मानिसहरूको परीक्षा उहाँ नियालेर गर्नुहुन्छ। परमप्रभुले धर्मात्माको परीक्षा गर्नुहुन्छ, तर दुष्ट र अत्याचार निको मान्‍नेलाई उहाँको आत्माले घृणा गर्छ। दुष्टहरूमाथि उहाँ पासो वर्षाउनुहुन्छ। आगो, गन्धक र प्रचण्ड लूह तिनीहरूको कचौराको भाग हुनेछ।” दुष्टहरूमाथि यी सात विपत्ति नखनाउञ्जेल ती सात स्वर्गदूतहरू यहोवाको सर्वोत्कृष्ट उपस्थितिको सामु फर्कनेछैनन्‌।

१९. (क) के आदेश आउँछ र कसबाट? (ख) सात प्रतीकात्मक कचौराहरू खन्याउने काम कहिले सुरु भएको हुनुपर्छ?

१९ डरलाग्दो आदेश अब बादलको गर्जनजस्तै गुञ्जायमान हुन्छ: “अनि ती सातवटा स्वर्गदूतलाई मन्दिरबाट यसो भनिरहेको एउटा ठूलो सोर मैले सुनें, ‘तिमीहरू जाओ, र परमेश्‍वरको क्रोधका सात कचौरा पृथ्वीमा खन्याओ।’ ” (प्रकाश १६:१) यो आदेश दिने को हुनुहुन्छ? उहाँ निश्‍चय स्वयं यहोवा हुनुपर्छ किनभने उहाँकै ज्योतिर्मय महिमा र शक्‍तिले गर्दा मन्दिरभित्र कोही पनि पस्न पाएनन्‌। यहोवा आफ्नो आत्मिक मन्दिरमा न्याय गर्नका लागि १९१८-मा आउनुभयो। (मलाकी ३:१-५) सायद सोही सालको थोरै समयपश्‍चात्‌त्‌ नै उहाँले परमेश्‍वरको क्रोधको कचौरा खन्याउने आदेश दिनु भएको हुनुपर्छ। यथार्थमा ती प्रतीकात्मक कचौराहरूमा भएका न्यायवचनहरू १९२२-देखि जोडतोडका साथ घोषणा हुन थाल्यो। र तिनीहरूको घोषणाको आवाज आज झन्‌झन्‌ चर्कंदो छ।

कचौराहरू र तुरहीको आवाज

२०. यहोवाको क्रोधका कचौराहरूले के प्रकट गर्छन्‌, कुन कुराको चेताउनी दिन्छन्‌ र ती कसरी खन्याइन्छ?

२० यहोवाको क्रोधका कचौराहरूले विश्‍व-घटनाहरूका केही विशेषताहरूमाथि यहोवाको दृष्टिकोण प्रकट गर्छन्‌ र तिनीहरूमाथि यहोवाको न्याय कार्यान्वयनबारे चेताउनी दिन्छन्‌। पृथ्वीमा मोशा र थुमाको भजन गाउने अभिषिक्‍त मसीहीहरूको मण्डलीको माध्यमद्वारा ती स्वर्गदूतहरूले कचौराहरू खन्याउने गर्छन्‌। परमेश्‍वरको राज्य सुसमाचार हो भनी घोषणा गर्दा यूहन्‍नावर्गले ती क्रोधका कचौराहरूमा भएका कुराहरूलाई पनि निडरतासाथ प्रकट गरी दिएका छन्‌। (मत्ती २४:१४; प्रकाश १४:६, ७) यसप्रकार तिनीहरूको दुई-धारे सन्देश मानिसजातिलाई मुक्‍तिको खबर दिने बेलामा शान्तिको सन्देश हुन्छ भने “हाम्रो परमेश्‍वरको बदला दिने दिन”को घोषणा गर्ने बेलामा चाहिं युद्धको सन्देश हुन जान्छ।—यशैया ६१:१, २.

२१. परमेश्‍वरको क्रोधका प्रथम चार कचौराहरूको तारो र प्रथम चार तुरहीका आवाजहरूबीच के समानता र के भिन्‍नता छ?

२१ प्रथम चारवटा तुरहीका तारोहरू अर्थात्‌ पृथ्वी, समुद्र, नदी, पानीका फोहोराहरू र ज्योतिका स्वर्गीय स्रोतहरूमै परमेश्‍वरको क्रोधका प्रथम चारवटा कचौराहरू खन्याइन्छन्‌। (प्रकाश ८:१-१२) तर तुरहीका आवाजहरूले “तेस्रो” भागमाथि मात्र विपत्ति घोषणा गरेका थिए। जबकि परमेश्‍वरको क्रोधका कचौराहरू खन्याएको असर चाहिं व्यापक हुनेछ। प्रभुको दिनमा “तेस्रो” भाग अर्थात्‌ मसीहीजगतमाथि प्रथमतः ध्यान केन्द्रित गरिए तापनि यहोवाको पीडादायी न्यायवचनहरू र तिनले गर्दा भोग्नु पर्ने सङ्‌कष्टबाट चाहिं शैतानको रीतिरिवाजको कुनै पनि भाग उम्कन पाउनेछैन।

२२. आखिरी तीन तुरहीका आवाजहरू कसरी भिन्‍न थिए र ती यहोवाको क्रोधका तीन अन्तिम कचौराहरूसित कसरी सम्बन्धित छन्‌?

२२ अन्तिम तीनवटा तुरहीका आवाजहरू बेग्लै थिए। तिनीहरूलाई अभिशाप भनिएको थियो। (प्रकाश ८:१३; ९:१२) तीमध्ये प्रथम दुई अभिशापहरूमा सलहहरू र घोडाहरूका घोडचढीहरूले विशेष भूमिका निभाए। तेस्रो अभिशापले चाहिं यहोवाको राज्यको जन्मलाई घोषित गऱ्‍यो। (प्रकाश ९:१-२१; ११:१५-१९) हामीले देख्नेछौं उहाँको क्रोधका अन्तिम तीनवटा कचौराहरूले पनि यही विषयका केही पक्षहरूलाई नै ढाक्छन्‌। तापनि तिनीहरू ती तीन अभिशापहरूभन्दा अलिक बेग्लै छन्‌। अब यहोवाको क्रोधका कचौराहरू खन्याइँदा प्रकट हुने अद्‌भुत कुराहरूप्रति हामी विशेष ध्यान दिउँ।

[फुटनोट]

a यहाँ एउटा रोचक कुरा के हो भने, १९२१-मा यूहन्‍नावर्गले द हार्प अफ गड नामक बाइबल अध्ययन सामग्रीको विमोचन गरेको थियो। यसको ५० लाखभन्दा बढी प्रति करीब २० भाषाहरूमा वितरण भयो र यसले अझ थुप्रै अभिषिक्‍त गायकहरू भित्र्याउनमा मदत दियो।

[अध्ययनका लागि प्रश्‍नहरू]