सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाको स्वर्गीय सिंहासनको भव्यता

यहोवाको स्वर्गीय सिंहासनको भव्यता

अध्याय १४

यहोवाको स्वर्गीय सिंहासनको भव्यता

दर्शन २—प्रकाश ४:१–५:१४

विषय: परमेश्‍वरको न्यायआसनको सामु डरलाग्दा घटनाहरू

पूर्ति समयावधि: यस दर्शनमा १९१४-देखि सहस्त्रवर्षीय राज्यको अन्तसम्मै र त्यसपछि पनि हुने घटनाहरू समाविष्ट छन्‌ जब स्वर्ग र पृथ्वीको प्रत्येक जीवित प्राणीले यहोवाको प्रशंसा गर्नेछन्‌।—प्रकाश ५:१३.

१. यूहन्‍नाले हामीलाई बताएका दर्शनहरूमा हामीले किन गहिरो चासो लिनु पर्छ?

 हाम्रो मनमा खुलदुली मच्चाउने अझ केही दर्शनहरू यूहन्‍नाले अब हामीलाई बताउने छन्‌। प्रेरणाद्वारा उनी अझ पनि प्रभुकै दिनमा छन्‌। अतः यूहन्‍नाद्वारा वर्णित कुराहरूले हामी सोही दिनमा बाँच्नेहरूका लागि गहिरो अर्थ राख्छ। स्वर्गीय वास्तविकताहरूबाट अदृश्‍यताको पर्दा यहोवाले यी दर्शनहरूद्वारा उघार्नु हुन्छ। पृथ्वीमा कार्यान्वयन हुने न्यायिक फैसलाहरूबारे पनि उहाँ आफ्नो दृष्टिकोण प्रकट गर्नुहुन्छ। साथै, हाम्रो आशा चाहे स्वर्गीय होस्‌ वा पार्थिव, यी प्रकाशित कुराहरूले हामीलाई यहोवाको उद्देश्‍यमा आफ्नो स्थान बुझ्ने मदत दिन्छ। यसकारण हामी सबैले यूहन्‍नाको यस अभिव्यक्‍तिप्रति तीब्र चासो दिइ नै रहनु पर्छ: “जसले अगमवाणीका वचनहरू पढछ, र जस जसले सुन्छन्‌, र त्यसमा लेखिएका कुराहरू पालन गर्छन्‌, तिनीहरू धन्यका हुन्‌।”—प्रकाश १:३.

२. यूहन्‍नाले अब के अनुभव गर्छन्‌?

यूहन्‍नाले अब जुन दृश्‍य देख्छन्‌ त्यो आज मानिसको सामु भिडिओद्वारा प्रस्तुत गरिने सबै दृश्‍यहरूभन्दा सर्वोत्तम छ! त्यसबारे उनी यसप्रकार लेख्छन्‌: “यी कुरापछि मैले हेरें, र हेर, स्वर्गमा एउटा खुला ढोका देखें, औ मसँग बोलिरहेको पहिलो आवाज तुरहीको सोर जस्तो यसो भनेको मैले सुनें, ‘यतामाथि आऊ, र अब यसपछि हुनआउने कुराहरू म तिमीलाई देखाउनेछु।’ ” (प्रकाश ४:१) अन्तरिक्षयात्रीहरू भ्रमण गर्ने बाहिरी अन्तरिक्षभन्दा धेरै नै उच्च र यो भौतिक ब्रह्‍माण्डका आकाशगङ्‌गाहरूदेखि पनि कता हो कता टाढा स्वंय यहोवा बास गर्नु हुने अदृश्‍य स्वर्गको दर्शन यूहन्‍नालाई दिइन्छ। मानो एउटा खुला ढोकाबाट प्रवेश गरेर स्वयं यहोवा विराजमान हुनु हुने खास स्वर्गलोकको रोमाञ्चकारी र विशाल दृश्‍यको आनन्द उठाउने निम्तो यूहन्‍नाले पाउँछन्‌। (भजन ११:४; यशैया ६६:१) कस्तो सुअवसर!

३. “तुरहीको सोर जस्तो”-सुन्दा हामीलाई कुन कुराको सम्झना हुन्छ र यसको स्रोत निस्सन्देह को हुनुहुन्छ?

यो “पहिलो आवाज” कसको हो, सो बाइबलमा भनिएको छैन। तर केही समयअघि सुनिएको येशूको प्रभावशाली स्वरजस्तै यो पनि सुन्‍नमा तुरहीको जोडदार आवाज जस्तै छ। (प्रकाश १:१०, ११) यसले हामीलाई सीनै पर्वतमा यहोवाको उपस्थिति बोध गराउने नरसिङ्‌गाको चर्को आवाजको सम्झना गराउँछ। (प्रस्थान १९:१८-२०) निःसन्देह यी आधिकारिक बोलावटहरूको वैभवशाली स्रोत यहोवा नै हुनुहुन्छ। (प्रकाश १:१) आफ्नो विशाल सर्वाधिकार क्षेत्रको सबैभन्दा पवित्रस्थान भित्र यूहन्‍नालाई प्रवेश गराउन उहाँले दर्शनमा ढोका खोल्नु भएको छ।

यहोवाको दिव्य उपस्थिति

४. (क) यूहन्‍नाको दर्शनले अभिषिक्‍त मसीहीहरूका लागि के अर्थ राख्छ? (ख) पृथ्वीमा सधैंभरि बाँच्ने आशा राख्नेहरूका लागि दर्शनले के अर्थ राख्छ?

यूहन्‍नाले के देख्छन्‌? सुन्‍नुहोस्‌, उनले अब हामीलाई आफ्नो महान अनुभव बताउँन लागेका छन्‌: “म तुरुन्तै आत्मामा भएँ, र हेर, स्वर्गमा एउटा सिंहासन राखेको थियो, र त्यस सिंहासनमा कोही एक जना विराजमान हुनुभएको थियो।” (प्रकाश ४:२) क्षणभरमै परमेश्‍वरको सक्रिय शक्‍तिद्वारा यूहन्‍ना आत्मिक तवरमा यहोवाको सिंहासनकै सामु पुग्छन्‌। यूहन्‍नाका लागि यो कस्तो सनसनीपूर्ण अनुभव हो! उनलाई त्यही स्वर्गको ज्योतिर्मय पूर्वदर्शन दिइन्छ, जहाँ उनी र अन्य अभिषिक्‍त मसीहीहरूका लागि “अविनाशी, विशुद्ध र नष्ट नहुने हक” साँचेर राखिएको छ। (१ पत्रुस १:३-५; फिलिप्पी ३:२०) पृथ्वीमा सधैं बाँच्ने आशा राख्नेहरूका लागि पनि यूहन्‍नाको दर्शनले गहिरो अर्थ राख्छ। यसबाट तिनीहरूले यहोवाको महिमावान उपस्थितिलाई कदर गर्ने मदत पाउँछन्‌। साथै, यहोवाले राष्ट्रहरूको न्याय गरी सक्नु भएपछि पृथ्वीमा मानवीय जीवन सञ्चालन गर्दा प्रयोग गर्नु हुने स्वर्गको शासकीय प्रबन्धलाई पनि तिनीहरूले राम्ररी बुझ्ने सहायता पाउनेछन्‌। यहोवा साँच्चै नै सर्वोत्कृष्ट व्यवस्थापक हुनुहुन्छ!

५. वाचाको सन्दुकको ढकनाले चित्रित गरेको कुन चाहिं वास्वविकता यूहन्‍नाले अब देख्छन्‌?

यूहन्‍नाले त्यहाँ माथि स्वर्गमा देखेका धेरैजसो कुराहरू उजाडस्थानको बासस्थानका विशेषताहरूसित मिल्दोजुल्दो छ। उक्‍त बासस्थान साँचो उपासना गर्ने मण्डपको रूपमा इस्राएलीहरूका लागि केही १६०० वर्षअघि निर्माण गरिएको थियो। बासस्थानको अति पवित्र स्थानभित्र वाचाको सन्दुक राखिन्थ्यो। सोही सन्दुकको सुनको ढकनामाथिबाट यहोवा बोल्नु हुन्थ्यो। (प्रस्थान २५:१७-२२; हिब्रू ९:५) अतः सन्दुकको ढकना यहोवाको सिंहासनको प्रतीक थियो। तर अब भने यूहन्‍नाले त्यो प्रतीकको वास्तविकता नै देख्छन्‌: सार्वभौम प्रभु यहोवा आफ्नो उच्च स्वर्गीय सिंहासनमा विशुद्ध महिमाबीच स्वयं विराजमान हुनुहुन्छ!

६. यूहन्‍नाले हामीलाई यहोवाबारे कस्तो आभास दिन्छन्‌ र सो आभास किन उपयुक्‍त छ?

यहोवाको सिंहासनको दर्शन पाउने अघिअघिका अगमवक्‍ताहरूको विपरीत, यूहन्‍नाले चाहिं सिंहासनमा विराजमान व्यक्‍तिको विवरणात्मक व्याख्या प्रस्तुत गर्दैनन्‌। (इजकिएल १:२६, २७; दानिएल ७:९, १०) बरु सिंहासनमा विराजमान व्यक्‍तिबारे यूहन्‍नाले आफ्नो धारणा यी शब्दहरूमा व्यक्‍त गर्छन्‌: “औ त्यसमाथि बस्नुहुने जो हो, सो हेर्दा स्फटिक र सार्डिस मणि जस्तै देखिनुहुन्थ्यो, र सिंहासनको वरिपरि हेर्दाखेरि पन्‍ना जस्तो इन्द्रेनी थियो।” (प्रकाश ४:३) कस्तो अतुलनीय भव्यता! यूहन्‍नालाई चमचम चम्किने मणिहरूको शान्त र ज्योतिर्मय सौन्दर्यको आभास हुन्छ। नभन्दै चेला याकूबले पनि यहोवालाई “ज्योतिहरूको पिता” भनेर सम्बोधन गरेका थिए! (याकूब १:१७) प्रकाशको पुस्तक लेखेको केही समयपश्‍चात्‌ यूहन्‍ना आफैले पनि यसो भने: “परमेश्‍वर ज्योति हुनुहुन्छ र उहाँमा कत्ति पनि अँध्यारो छैन।” (१ यूहन्‍ना १:५) यहोवाको यर्थाथतः कति महिमावान व्यक्‍तित्व छ!

७. यहोवाको सिंहासनको वरिपरि रहेको इन्द्रधनुषबाट हामी के सिक्न सक्छौं?

हेर्नुहोस्‌, यूहन्‍नाले सिंहासनको वरिपरि पन्‍ना जस्तै हरियो इन्द्रधनुष देख्छन्‌। यहाँ इन्द्रधनुष भनेर अनुवादित युनानी शब्दले (आइ’रिस) सम्पूर्णतः गोलाकारलाई बोध गराउँछ। बाइबलमा इन्द्रधनुषको प्रथम चर्चा नूहको पालोमा गरिएको थियो। जलप्रलयको पानी सुकेपछि यहोवाले बादलमा एउटा इन्द्रधनुष देखाउनु भएर त्यसको अर्थ यी शब्दहरूमा बुझाउनु भयो: “म बादलमा मेरो धनु राख्तछु, औ मेरो र पृथ्वीको बीचमा त्यो एउटा करारको चिह्न हुनेछ। जब म पृथ्वीमा बादल फिंजाउँछु, तब बादलमा धनु देखा पर्छ र आफ्नो करारलाई सम्झनेछु, मेरो र तिमीहरू र हरेक किसिमका जीवित प्राणीको बीचमा रहेको छ, र पानीले फेरि कहिल्यै सबै प्राणीलाई नाश गर्ने प्रलय ल्याउनेछैन।” (उत्पत्ति ९:१३, १५) अतः उपरोक्‍त स्वर्गीय दर्शनले यूहन्‍नालाई कुन कुराको सम्झना गरायो? दर्शनको इन्द्रधनुषले यूहन्‍नालाई ठीक पनि यहोवासित शान्तिपूर्ण मिलाप कायम राख्ने आवश्‍यकताको सम्झना गरायो होला। एउटा यस्तो मिलाप जसको आनन्द आज यूहन्‍नावर्गले उठाइरहेको छ। यसबाहेक यूहन्‍ना यहोवाको शान्त र सौम्य उपस्थिति देखेर पनि अति नै प्रभावित भएको हुनुपर्छ। सोही सौम्यता यहोवाले नयाँ पार्थिव समाजमाथि आफ्नो पाल टाङ्‌गनु हुँदा सबै आज्ञाकारी मानवहरूमा छाउने छ।—भजन ११९:१६५; फिलिप्पी ४:७; प्रकाश २१:१-४.

२४ जना प्राचीनहरूको पहिचान

८. यूहन्‍नाले सिंहासनको वरिपरि कसलाई देख्छन्‌ र यिनीहरूले कसको प्रतिनिधित्व गर्छन्‌?

प्राचीन बासस्थानमा सेवा गर्नका लागि पूजारीहरू नियुक्‍त हुन्थे भन्‍ने कुरा यूहन्‍नालाई थाह थियो। यसकारण उनले अब वर्णन गर्नै लागेको कुरा देखेर उनी स्वयं छक्क परे होलान्‌: “औ सिंहासनको वरिपरि चौबीसवटा सिंहासनहरू थिए, र शिरमा सुनका मुकुटहरू र सेता पोशाकहरू पहिरेका चौबीस जना धर्म-गुरुहरू ती सिंहासनहरूमा मैले देखें।” (प्रकाश ४:४) हो, त्यहाँ पूजारीहरूको सट्टा २४ जना प्राचीनहरू छन्‌। उनीहरू सिंहासनहरूमा बसेर राजाहरूले झैं मुकुट लगाएका छन्‌। यी प्राचीनहरू को हुन्‌? उनीहरू मसीही मण्डलीका अभिषिक्‍त जनहरू हुन्‌। आफ्नो पुनरुत्थानपछि यिनीहरू यहोवाले प्रतिज्ञा गर्नु भएको स्वर्गीय स्थानमा छन्‌। तर यो हामी कसरी भन्‍न सक्छौं?

९, १०. ती २४ जना प्राचीनहरूले स्वर्गमा महिमायुक्‍त अभिषिक्‍त मसीही मण्डलीलाई चित्रित गर्छन्‌ भनी हामी कसरी भन्‍न सक्छौं?

सर्वप्रथम, उनीहरूले मुकुट लाएका छन्‌। बाइबल भन्छ, अभिषिक्‍त मसीहीहरूले ‘अविनाशी मुकुट’ लाउनेछन्‌ र अमरत्व अथवा कहिले अन्त नहुने जीवन प्राप्त गर्नेछन्‌। (१ कोरिन्थी ९:२५; १५:५३, ५४) यी २४जना प्राचीनहरू यहाँ सिंहासनहरूमा बसेका छन्‌। यसकारण सुनका ती मुकुटहरू यहाँ शाही अख्तियारकै प्रतीक हुन्‌। (प्रकाश ६:२; १४:१४-सित तुलना गर्नुहोस्‌।) अतः स्पष्टतया यी २४-जना प्राचीनहरूले येशूका पदचिह्नमा हिंड्‌ने स्वर्गीय स्थानमा बसिसकेका अभिषिक्‍त अनुयायीहरूलाई चित्रित गर्छन्‌। किनकि येशूको राज्यमा तिनीहरू सिंहासनहरूमा बस्नेछन्‌ भनेर स्वयं येशूले तिनीहरूसित वाचा बाँध्नु भएको थियो। (लूका २२:२८-३०) स्वर्गमा यहोवाको सामु—स्वर्गदूतहरू होइनन्‌—येशू र यी २४ जना प्राचीनहरूले मात्र शासन गर्नेछन्‌ भनी वर्णन गरिएको पाईन्छ।

१० उक्‍त वर्णन येशूले लाओडिसियाको मण्डलीसित गर्नु भएको यो प्रतिज्ञासित मिल्दोजुल्दो छ: “जसले जित्छ, त्यसलाई म मेरो सिंहासनमा मसित बस्न दिनेछु।” (प्रकाश ३:२१) तर स्वर्गमा यी २४ जना प्राचीनहरूलाई शासकीय काम मात्र दिइने छैन। प्रकाशको पुस्तकको सुरुमै यूहन्‍नाले येशूबारे यसो भने: “[उहाँले] हामीलाई एउटा राज्य र उहाँका पिता परमेश्‍वरका पूजाहारीहरू तुल्याउनु [भयो]।” (प्रकाश १:५, ६) यिनीहरू दुवै राजा र पूजाहारीहरू हुन्‌। “तिनीहरू परमेश्‍वर र ख्रीष्टका पूजाहारीहरू भएर उहाँसँग एक हजार वर्षसम्म राज्य गर्नेछन्‌।”—प्रकाश २०:६.

११. चौबिस जना प्राचीनहरू हुनु किन उपयुक्‍त हो र त्यस सङ्‌ख्याको महत्त्व के हो?

११ यूहन्‍नाले सिंहासनको वरिपरि २४-जना प्राचीनहरू देखेको हुनाले यो २४-अङ्‌कको महत्त्व के हो? यिनीहरूलाई प्राचीन इस्राएलका विश्‍वासी पूजाहारीहरूले अनेक ढङ्‌गमा पूर्वचित्रित गरेका थिए। प्रेरित पत्रुसले अभिषिक्‍त मसीहीहरूलाई यसप्रकार लेखे: “तर तिमीहरू ता चुनिएका वंश, राजकीय पूजाहारीगिरी, पवित्र जाति, परमेश्‍वरका निजी प्रजा हौ।” (१ पत्रुस २:९) यहाँ चाखलाग्दो कुरा के हो भने ती प्राचीन यहूदी पूजाहारीहरूलाई केही समयपछि २४ भागमा विभाजित गरिएको थियो। प्रत्येक भागले सालमा कुनकुन हप्ता यहोवाको सेवा गर्नु पर्ने हो, सो पूर्वनिश्‍चित गरिन्थ्यो। यसप्रकार यहोवालाई अटुट पवित्र सेवा चढाउन सकिन्थ्यो। (१ इतिहास २४:५-१९) यसैकारण स्वर्गीय पूजारीहरूबारे यूहन्‍नाको दर्शनमा पनि २४ जना प्राचीनहरू हुनु उपयुक्‍त छ। किनभने यी पूजाहारीहरूले पनि यहोवाको सेवा अटुट रीतिले निरन्तर गरिरहन्छन्‌। यसका जम्मै सदस्यहरू एकत्रित भइसकेपछि यसमा पनि २४ बेग्ला बेग्लै भागहरू हुनेछन्‌। प्रत्येक भागमा ६०००-जना विजेताहरू हुनेछन्‌। किनकि प्रकाश १४:१-४-अनुसार, थुमा येशू ख्रीष्टसित स्वर्गीय सियोन पर्वतमा उभिनका लागि “मानिसहरूमध्येबाट” १,४४,००० (२४ × ६०००) जनहरू “किनिएका” छन्‌। बाह्र अङ्‌कले सन्तुलित ईश्‍वरीय प्रबन्धलाई चित्रित गर्छ भने २४-ले उक्‍त प्रबन्धलाई दोब्बर अथवा अझ बलियो तुल्याउँछ।

बिजुलीहरू, आवाजहरू र गर्जनहरू

१२. यूहन्‍नाले अब के सुन्छन्‌ र देख्छन्‌ अनि “बिजुलीहरू, आवाज र गर्जन” ले कुन घटनाको सम्झना गराउँछ?

१२ यसपछि यूहन्‍नाले के देख्छन्‌ र सुन्छन्‌? “औ त्यस सिंहासनबाट बिजुलीहरू, आवाजहरू र गर्जनहरू आउँथे।” (प्रकाश ४:५क) यसले हामीलाई यहोवाको स्वर्गीय शक्‍तिका अन्य डरलाग्दा प्रदर्शनहरूको सम्झना गराउँछ! उदाहरणका लागि, सीनै पर्वतमा यहोवा “ओर्लनु” हुँदा घटेका घटनाहरूको व्याख्या मोशाले यसप्रकार गरे: “तेस्रो दिन जब बिहान भयो तब पर्वतमा गड्याङगुडुङ्‌ भयो, र बिजुली चम्क्यो र बाक्लो बादल पर्वतमा उठ्यो, र तुरहीको अति चर्को आवाज सुनियो। . . . जब तुरहीको आवाज अझ चर्को गरी बज्नलाग्यो तब मोशा बोल्नलागे र परमेश्‍वरले मेघ-गर्जनमा तिनलाई जवाफ दिनुभयो।”—प्रस्थान १९:१६-१९.

१३. यहोवाको सिंहासनबाट चम्कने बिजुली कुन कुराको प्रतीक हो?

१३ तर प्रभुको दिनमा चाहिं यहोवाले आफ्नो शक्‍ति र उपस्थिति शान्त ढङ्‌गमा प्रकट गर्नुहुन्छ। उहाँ प्राकृतिक बिजुलीहरू चम्काउनु हुन्‍न किनकि यूहन्‍नाले यहाँ देखेको बिजुली एउटा चिह्न मात्र हो। अतः यी बिजुलीहरूले कुन कुरालाई चित्रित गर्छन्‌? यो सबैलाई थाह भएकै कुरा हो कि बिजुली चम्कंदा वरिपरि एकछिनका लागि झल्ल उज्यालो हुन सक्छ। तर बिजुलीले मानिसहरूलाई ठहरै मार्न पनि सक्छ। यसकारण यहोवाको सिंहासनबाट चम्किरहेका यी बिजुलीहरू यहोवाले आफ्ना मानिसहरूमाथि समय समयमा चम्काउनु हुने प्रबुद्धताका किरणहरू हुन्‌। तर योभन्दा पनि अझ महत्त्वपूर्ण त उहाँका अग्निमय न्यायवचनहरू हुन्‌।—तुलना गर्नुहोस्‌ भजन १८:१४; १४४:५, ६; मत्ती ४:१४-१७; २४:२७.

१४. आज पनि आवाजहरू जताततै कसरी सुनिएका छन्‌?

१४ ती आवाजहरू नि? यहोवा सीनै पर्वतमा ओर्लनु हुँदा मोशासित एउटा आवाजले नै कुरा गऱ्‍यो। (प्रस्थान १९:१९) प्रकाशको पुस्तकमा उल्लिखित धेरैजसो आदेश र घोषणाहरू स्वर्गबाट निस्कने आवाजहरूद्वारा नै उपलब्ध भए। (प्रकाश ४:१; १०:४, ८; ११:१२; १२:१०; १४:१३; १६:१, १७; १८:४; १९:५; २१:३) आज पनि यहोवाले आफ्ना जनहरूलाई आदेश र घोषणाहरू सुनाउनु भएको छ। उनीहरूलाई बाइबलका भविष्यवाणीहरू र सिद्धान्तहरू खुलस्तसित बुझाइ दिनु भएको छ। अन्तर्राष्ट्रिय सम्मेलनहरूमा पनि धेरै नै ज्ञानप्रद जानकारीहरू अक्सर प्रकट गरिन्छ। बाइबलका यी सत्य कुराहरू तत्पश्‍चात्‌ विश्‍वभरि प्रचार गरिन्छ। सुसमाचार सुनाउने अन्य विश्‍वासी प्रचारकहरूबारे प्रेरित पावलले यसो भने: “निश्‍चय तिनीहरूको सोर सारा पृथ्वीमा पुग्यो औ तिनीहरूको कुरा संसारको अन्तसम्म।”—रोमी १०:१८.

१५. प्रभुको दिनको यस भागमा सिंहासनबाट गर्जन सरह कुनकुन कुराहरू सुन्‍नमा आएका छन्‌?

१५ बिजुली चम्कनासाथै अक्सर मेघ पनि गर्जन्छ। दाऊदले मेघको गर्जनलाई “यहोवाको आवाज” सित तुलना गरे। (भजन २९:३, ४) दाऊदका शत्रुहरूको विरुद्धमा यहोवा युद्ध लडनु हुँदा मेघ गर्जन उहाँबाटै आएको भनिन्थ्यो। (२ शमूएल २२:१४; भजन १८:१३) “हाम्रा बुद्धिले नभियाउने महा-कार्यहरू” गर्नु हुँदा यहोवाको आवाज मेघको गर्जन जस्तै थियो भनेर एलिहूले पनि अय्यूबलाई भने। (अय्यूब ३७:४, ५) आफ्ना शत्रुहरूको विरुद्धमा गर्नु हुने महाकार्यहरूबारे यहोवाले प्रभुको यो दिनमा ‘मेघको गर्जन’ जस्तै चेताउनीहरू दिनु भएको छ। यी प्रतीकात्मक गर्जनहरूको चर्को आवाज पृथ्वीभरि गुञ्जयमान भएको छ। बादलको गर्जनजस्तै यी घोषणाहरूतर्फ तपाईंले ध्यान दिनु हुँदै तिनीहरूको आवाजलाई अझ चर्को पार्न आफ्नो जिब्रो प्रयोग गर्नु हुँदैछ भने तपाईं धन्यको हुनुहुन्छ!—यशैया ५०:४, ५; ६१:१, २.

आगोका बत्तीहरू र ऐनाको समुद्र

१६. “आगोको सात बत्ती” कुन कुराको प्रतीक हो?

१६ यूहन्‍नाले अझ के देख्छन्‌? “औ त्यस सिंहासनको सामने आगोका सातवटा बत्तीहरू बलिरहेका थिए, जो परमेश्‍वरका सात आत्मा हुन्‌। औ त्यस सिंहासन अगाडि बिल्लोरजस्तै ऐनाको समुद्र भएझैं थियो।” (प्रकाश ४:५ख, ६ ) यूहन्‍नाले हामीलाई ती सात वटा बत्तीहरूको महत्त्व स्वयं बताउँछन्‌: ती “परमेश्‍वरका सात आत्मा हुन्‌।” सात अङ्‌कले ईश्‍वरीय पूर्णता बोध गराउँछ; यसकारण ती सात वटा बत्तीहरूले पवित्र आत्माको ज्ञानप्रद शक्‍तिको पूर्णतालाई चित्रित गर्छन्‌। आज यूहन्‍नावर्गले यतिको ज्ञानका साथै आध्यात्मिक तवरमा भोकाएका मानिसहरूलाई सो ज्ञान बाँड्‌ने जिम्मेवारी पनि पाएको छ। यसका लागि यो वर्ग अति नै कृतज्ञ छ! र हामी पनि हर्षले गद्‌गद्‌ छौं! प्रत्येक साल वाचटावर पत्रिकाको करोडौं प्रतिद्वारा झन्डै २०० भाषाहरूमा ज्योति चम्किरहेछ।—भजन ४३:३.

१७. “बिल्लोर जस्तो ऐनाको समुद्र”ले कुन कुरालाई प्रतिनिधित्व गर्छ?

१७ यूहन्‍नाले “बिल्लोरजस्तै ऐनाको समुद्र” पनि देख्छन्‌। यहोवाको स्वर्गीय दरवारमा निम्तो पाउनेहरूका लागि यसले के अर्थ राख्छ? पावलको भनाइअनुसार येशूले मण्डलीलाई “वचनद्वारा पानीले धोएर शुद्ध” पार्नु भयो। (एफिसी ५:२६) साथै येशूले पनि उहाँको मृत्युअघि आफ्ना अनुयायीहरूलाई यसो भन्‍नु भएको थियो: “मैले तिमीहरूलाई बोलेका वचनको कारणले गर्दा तिमीहरू अघिनै शुद्ध भइसकेका छौ।” (यूहन्‍ना १५:३) अतः बिल्लोरजस्तै ऐनाको समुद्रले परमेश्‍वरको लिपिबद्ध अर्थात्‌ शुद्ध पार्न सक्ने वचनलाई प्रतिनिधित्व गर्छ। यहोवाको सामु हाजिर हुने राजकीय पूजारीहरू पहिलेबाटै परमेश्‍वरको वचनद्वारा शुद्ध पारिएको हुनुपर्छ।

हेर्नुहोस्‌—“चारवटा जीवित जीवातहरू”

१८. यूहन्‍नाले सिंहासनको बीच र वरिपरि के देख्छन्‌?

१८ यूहन्‍नाले अब एउटा अर्को कुरा पनि देख्छन्‌। त्यसबारे उनी यसप्रकार लेख्छन्‌: “अगाडि र पछाडि जम्मै आँखै आँखा भएका चारवटा जीवित जीवातहरू सिंहासनको बीचमा र वरिपरि थिए।”—प्रकाश ४:६ख

१९. चार जीवित जीवातहरूले केलाई चित्रित गर्छन्‌ र सो हामीलाई कसरी थाह हुन्छ?

१९ यी जीवातहरूले केलाई चित्रित गर्छन्‌? यसको जवाफ एक जना अर्को अगमवक्‍ता इजकिएलले देखेको दर्शनबाट पत्ता लगाउन सकिन्छ। इजकिएलले यहोवालाई एउटा स्वर्गीय रथमा सवार हुनु भएको देखे। उक्‍त रथ सँगैसँगै यूहन्‍नाद्वारा वर्णित विशेषताहरू भएका जीवित जीवातहरू पनि थिए। (इजकिएल १:५-११, २२-२८) केही समयपछि इजकिएलले त्यो रथरूपी सिंहासनलाई फेरि ती जीवातहरूसितै देखे। तर यस पटक चाहिं उनले ती जीवित जीवातहरूलाई करूब भनेका छन्‌। (इजकिएल १०:९-१५) तसर्थ यूहन्‍नाले देखेका चार जीवित जीवातहरूले पनि परमेश्‍वरको आत्मिक सङ्‌गठनका थुप्रै उच्चस्तरीय करूबहरूलाई चित्रित गरेको हुनुपर्छ। करूबहरूलाई यहोवाको यति नजिक देखेर यूहन्‍ना कदापि पनि छक्क परेनन्‌। किनकि प्राचीन समयको बासस्थानमा पनि यहोवाको सिंहासनलाई प्रतिनिधित्व गर्ने वाचाको सन्दुकको ढकनामाथि सुनका दुइटा करूबहरू सजाएर राखिएका हुन्थे। यहोवाले राष्ट्रलाई कुनै आदेश दिनु हुँदा ती दुइटा करूबहरूको बीचबाट नै यहोवाको आवाज सुनिन्थ्यो।—प्रस्थान २५:२२; भजन ८०:१.

२०. चार जीवित जीवातहरू “सिंहासनको बीचमा र वरिपरि” छन्‌ भन्‍नुको अर्थ के हो?

२० यी चार जीवित जीवातहरू “सिंहासनको बीचमा र वरिपरि” छन्‌। वास्तवमा यसको खास अर्थ के हो? सम्भवतः यसको अर्थ उनीहरू सिंहासनको वरिपरि यस्तोगरी उभिएका छन्‌ कि सिंहासनको चारैतिर एक एक वटा जीवात खडा छ। तसर्थ टुडेज इङ्‌गलिश भर्सन-का अनुवादहरूले मूल युनानी अभिव्यक्‍तिको मोटामोटी अनुवाद यसरी गरे: “सिंहासनलाई प्रत्येक छेउबाट घेरेका छन्‌।” अरू शब्दहरूमा भन्‍ने हो भने स्वर्गको ठीक माझमा जहाँ सिंहासन छ, त्यहीं नै चार जीवित जीवातहरू पनि छन्‌। सायद यसैकारण द जरूसलेम बाइबल-मा पनि यसको अनुवाद यसरी गरिएको छ: “बीचमा, स्वयं सिंहासनलाई वरिपरिबाट घेरेको।” महत्त्वपूर्ण कुरा के हो भने ती करूबहरू यहोवाको सिंहासन नजिक छन्‌। जस्तो कि इजकिएलले देखेका यहोवाको सङ्‌गठनात्मक रथको प्रत्येक कुनामा पनि करूबहरू थिए। (इजकिएल १:१५-२२) यो सबै कुरा भजन ९९:१-का यी शब्दहरूसित मेल खान्छ: “परमप्रभुले राज्य गर्नुहुन्छ . . . उहाँ करूबहरूमाथि विराजमान हुनुहुन्छ।”

२१, २२. (क) यूहन्‍नाले यी चार जीवित जीवातहरूको व्याख्या कसरी गर्छन्‌? (ख) हरेक जीवित जीवातको रूपले कुन कुरालाई प्रतिनिधित्व गर्छ?

२१ यूहन्‍नाले अझ यसो भन्दै जान्छन्‌: “औ पहिलो जीवात सिंह जस्तै थियो, र दोस्रो जीवात बहरजस्तै, र तेस्रो जीवातको मुख मानिसको जस्तो थियो, र थौथो जीवात उडिरहेको गरूड जस्तो थियो।” (प्रकाश ४:७) यी चार जीवित जीवातहरू हेर्नमा एकअर्काभन्दा किन यति भिन्‍न छन्‌? प्रत्यक्षतः यी बेग्लाबेग्लै जीवित जीवातहरूले खास-खास ईश्‍वरीय गुणहरूमाथि हाम्रो ध्यान आकृष्ट गर्छन्‌। प्रथमतः त्यहाँ सिंह छ। बाइबलमा सिंह साहसको प्रतीक हो। विशेषगरि न्याय र धार्मिकताको खोजी गर्दा। (२ शमूएल १७:१०; हितोपदेश २८:१) अतः सिंहले ईश्‍वरीय गुण, साहसपूर्ण न्यायलाई प्रतिनिधित्व गर्छ। (व्यवस्था ३२:४; भजन ८९:१४) दोस्रो जीवित जीवात चाहिं बहर जस्तै छ। बहरले तपाईंलाई कुन चाहिं गुणको सम्झना गराउँछ? इस्राएलीहरूका लागि बहर त्यसको शक्‍तिले गर्दा ठूलो कामको वस्तु थियो। (हितोपदेश १४:४; अय्यूब ३९:९-११ पनि हेर्नुहोस्‌।) तसर्थ बहरले सामर्थ अर्थात्‌ यहोवाले दिनु हुने सक्रिय शक्‍तिलाई प्रतिनिधित्व गर्छ।—भजन ६२:११; यशैया ४०:२६.

२२ तेस्रो जीवित जीवातको अनुहार मान्छेको जस्तै छ। यो चाहिं पक्कै पनि ईश्‍वरीय प्रेमको प्रतीक हो किनभने पृथ्वीमा मानिस मात्र परमेश्‍वरको स्वरूपमा प्रेमको सर्वोत्कृष्ट गुणसहित सृजिएको थियो। (उत्पत्ति १:२६-२८; मत्ती २२:३६-४०; १ यूहन्‍ना ४:८, १६) यहोवाको सिंहासन वरिपरि सेवा गर्दा करूबहरूले निःसन्देह उपरोक्‍त गुण प्रदर्शित गर्छन्‌। तर चौथो जीवित जीवातको विषयमा चाहिं हामी के भन्‍न सक्छौं? हेर्नमा यो उडिरहेको गरूड जस्तो छ। गरूडको विशेष दृष्टिशक्‍तितर्फ स्वयं यहोवाले नै हाम्रो ध्यान आकृष्ट गर्नु हुँदै यसो भन्‍नुहुन्छ: “[गरूडले] टाढा टाढा राम्ररी नियाली [हेर्छ]।” (अय्यूब ३९:२९) यसकारण गरूड दूरदर्शी बुद्धिको एउटा सुहाउँदो प्रतीक हो। बुद्धिको स्रोत यहोवा हुनुहुन्छ। उहाँका आदेशहरू पालन गर्दा करूबहरूले पनि ईश्‍वरीय बुद्धि चलाउँछन्‌।—हितोपदेश २:६; याकूब ३:१७.

यहोवाको जयजयकार गुञ्जायमान हुन्छ

२३. चार जीवित जीवातहरू “आँखाहरूले भरिएको” हुनुको अर्थ के हो र तिनीहरूको तीन तीन जोडा पखेटाले कुन कुरामाथि जोड दिन्छ?

२३ यूहन्‍नाले आफ्नो वृत्तान्त कायम राख्दै यसो भन्छन्‌: “औ ती चारवटा जीवातहरूका छ छवटा पखेटा भएका वरिपरि र भित्रपट्टिसमेत जम्मै आँखाहरूले भरिएका थिए, र तिनीहरूलाई रातदिन ‘पवित्र, पवित्र, पवित्र, प्रभु परमेश्‍वर सर्वशक्‍तिमान हुनुहुन्छ, जो हुनुहुन्थ्यो, हुनुहुन्छ र हुनआउनुहुनेछ’ यसो भन्‍ना बाहेक फुर्सतै थिएन।” (प्रकाश ४:८) आँखाहरूको यो पूर्णताले दूरदर्शी दृष्टिलाई बोध गराउँछ। चार जीवित जीवातहरूले निरन्तर यस क्षमताको प्रयोग गर्छन्‌ किनकि तिनीहरूलाई निद्राको खाँचो पर्दैन। तिनीहरूले उहाँको अनुकरण गर्छन्‌ जसबारे यो लेखिएको छ: “जसका हृदय उहाँप्रति भक्‍त छन्‌ तिनीहरूलाई सहायता र सान्त्वना दिन सारा पृथ्वीभरिनै परमप्रभुको दृष्टि रहिरहन्छ।” (२ इतिहास १६:९) यतिका थुप्रै आँखाहरू भएको हुनाकारण ती करूबहरूले सबै ठाउँ हेर्न सक्छन्‌। कुनै कुरा पनि तिनीहरूबाट लुक्न सक्‍तैन। यसप्रकार तिनीहरू परमेश्‍वरका न्यायिक कार्यहरूमा सेवा गर्न तमतयार छन्‌। उहाँबारे यसो भनिएको छ: “परमप्रभुको नजर दुष्ट र असल दुवैलाई हेर्दै सर्वत्र रहन्छ।” (हितोपदेश १५:३) यसबाहेक, कुनै कुरामाथि जोड दिंदा बाइबलमा अङ्‌क तीनको प्रयोग गरिन्छ। अतः तीन जोडा पखेटाहरू हुनुको अर्थ ती करूबहरू बिजुलीको वेगसित एक ठाउँदेखि अर्को ठाउँ यहोवाको न्यायको घोषणा र कार्यान्वयन गर्न जान सक्छन्‌।

२४. करूबहरूले यहोवाको जयजयकार कसरी गर्छन्‌ र यो पनि कुन कुराको एउटा प्रतीकात्मक व्याख्या हो?

२४ सुन्‍नुहोस्‌! करूबहरूले गाइरहेका यहोवाको प्रशंसागान कति हृदयग्राही, कति सुमधुर छ: “ ‘पवित्र, पवित्र, पवित्र प्रभु परमेश्‍वर, जो हुनुहुन्थ्यो, हुनुहुन्छ र हुनआउनुहुनेछ।’ ” यहाँ फेरि अङ्‌क तीनले भावनाको गहिराइलाई सङ्‌केत गर्दछ। करूबहरूले यहोवा परमेश्‍वरको पवित्रताको बयान हृदयको गहिराइदेखि नै गर्छन्‌। उहाँ नै पवित्रताको स्रोत र सर्वोच्चस्तर हुनुहुन्छ। उहाँ सधैं “अल्फा र ओमेगा, पहिलो र पछिल्लो, आदि र अन्त” तथा “अनन्तको राजा” पनि हुनुहुन्छ। (१ तिमोथी १:१७; प्रकाश २२:१३) एकछिन पनि नरोकी ती करूबहरूले सारा सृष्टिको सामु यहोवाका अनुपम गुणहरू घोषणा गर्छन्‌।

२५. यहोवाको उपासना गर्नमा जीवित जीवातहरू र २४ जना प्राचीनहरू कसरी सर्वसम्मत छन्‌?

२५ यहोवाको जयजयकारले सारा स्वर्ग गुञ्जायमान हुन्छ! यूहन्‍नाले अझ यो व्याख्या गर्छन्‌: “औ जब ती जीवित जीवातहरूले त्यस सिंहासनमा र सदा सर्वदा विराजमान हुनुहुनेलाई महिमा र आदर र धन्यवाद चढाउँछन्‌, तब ती चौबीस जना धर्म-गुरुहरू सिंहासनमा विराजमान हुनुहुनेका सामने घोप्टो पर्दछन्‌, र सदा सर्वदा जीवित रहनुहुनेलाई दण्डवत्‌ गर्छन्‌, र तिनीहरूका आफ्ना आफ्ना मुकुट सिंहासनको सामने यसो भनेर राख्छन्‌, ‘हे हाम्रा प्रभु र परमेश्‍वर, तपाईं महिमा, आदर र शक्‍ति ग्रहण गर्ने योग्यको हुनुहुन्छ, किनभने सबै कुरा तपाईंलेनै सृष्टि गर्नुभएको हो, र तपाईंकै इच्छाबमोजिम ती भए, र सृजिए।’ ” (प्रकाश ४:९-११) सम्पूर्ण शास्त्रमा, यहोवा हाम्रो परमेश्‍वर र सर्वसत्ताधारी प्रभुलाई चढाइएको यो सर्वोत्कृष्ट अभिनन्दन हो!

२६. ती २४ जना प्राचीनहरूले यहोवाको सामु किन आफ्नो मुकुट झिक्छन्‌?

२६ येशूद्वारा प्रदर्शित मनोवृत्ति यी २४-जना प्राचीनहरूमा पनि छ। तिनीहरूले यहोवाको सामु आफ्नो मुकुट समेत झिक्छन्‌। परमेश्‍वरको सामु ठूलो हुन खोज्ने विचार तिनीहरूको मनमा पटक्कै छैन। तिनीहरूको राजत्वको एकमात्र उद्देश्‍य परमेश्‍वरलाई श्रद्धा र महिमा दिनु हो भनेर तिनीहरूले येशूलेझैं सधैं नै नम्रतापूर्वक स्वीकार्छन्‌। (फिलिप्पी २:५, ६, ९-११) तिनीहरूले अधीनताको भावसाथ आफ्नो तुच्छतालाई ध्यानमा राख्छन्‌। तिनीहरूको शासन यहोवाकै सार्वभौमिकतामाथि आधारित छ भनी तिनीहरू मानी लिन्छन्‌। सबै कुरा सृष्टि गर्नु हुने परमेश्‍वरकै जयजयकार र महिमा गर्नमा तिनीहरू करूबहरू र बाँकी विश्‍वासी सृष्टिसित हृदयबाटै सहमति जनाउँछन्‌।—भजन १५०:१-६.

२७, २८. (क) यस दर्शनबारे यूहन्‍नाको व्याख्याले हामीमाथि के असर पार्नु पर्ने हो? (ख) यसपछि यूहन्‍नाले देख्ने र सुन्‍ने कुराहरूबारे के प्रश्‍नहरू उठ्‌छन्‌?

२७ यूहन्‍नाद्वारा वर्णित यो दर्शन पढेर प्रभावित नहुने को होला? यो कति भव्य, कति शानदार छ! तर यसको वास्तविकता झन्‌ कस्तो होला? कृतज्ञ हृदय हुने कोही पनि व्यक्‍ति यहोवाको महानताले अनुप्राणित हुनेछ। उसले चार जीवित जीवातहरू र २४ जना प्राचीनहरूसित मिलेर प्रार्थना र परमेश्‍वरको नाउँको आम घोषणा गर्दै परमेश्‍वरको जयजयकार गर्नेछ। उहाँ उही परमेश्‍वर हुनुहुन्छ जसको साक्षी हुने सुअवसर आज मसीहीहरूले पाएका छन्‌। (यशैया ४३:१०) नबिर्सनुहोस्‌, यूहन्‍नाको दर्शन प्रभुको दिनका लागि हो र सोही समयावधिमा आज हामी बाँचिरहेका छौं। हामीलाई निर्देशन र बल दिन “सात आत्माहरू” सधैं नै तयार छन्‌। (गलाती ५:१६-१८) पवित्र परमेश्‍वरको सेवा गर्दा हामीलाई पवित्र हुने मदत दिन परमेश्‍वरको वचन पनि आज उपलब्ध छ। (१ पत्रुस १:१४-१६) भविष्यवाणीका यी शब्दहरूलाई आवाज दिंदै पढ्‌न पाएकोमा हामी निश्‍चय नै आनन्दित छौं। (प्रकाश १:३) यिनीहरूले हामीलाई यहोवाप्रति विश्‍वासी हुने ठूलो प्रेरणा दिन्छ। यिनीहरूले हामीलाई सक्रिय भएर यहोवाको जयजयकार गर्न छाडेर संसारतिर अलमलिन दिंदैन!—१ यूहन्‍ना २:१५-१७.

२८ स्वर्गमा खुला ढोकाबाट प्रवेश गर्ने निम्तो पाउँदा आफूले देखेका कुराहरूको मात्र यूहन्‍नाले अहिलेसम्म वर्णन गरेका छन्‌। उनले सर्वप्रथम यहोवा आफ्नो स्वर्गीय सिंहासनमा गौरव र वैभवसाथ विराजमान हुनु भएको वर्णन गर्छन्‌। उहाँलाई सबैभन्दा शक्‍तिशाली, भव्य र वफादार सङ्‌गठनले घेरेको छ। ईश्‍वरीय दरवार लागेको छ। (दानिएल ७:९, १०, १८) मानौं कुनै विशेष घटनाका लागि मञ्च तयार छ। तर त्यो घटना के हो र त्यसले आज हामीमाथि के असर पार्छ? दृश्‍य जसै अघि बढ्‌छ, हामी हेर्दै जानेछौं!

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ ७५-मा भएको पृष्ठभरिको चित्र]

[पृष्ठ ७८-मा भएको पृष्ठभरिको चित्र]