सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

याहले गर्नु भएका इन्साफहरूका लागि उहाँको प्रशंसा गर

याहले गर्नु भएका इन्साफहरूका लागि उहाँको प्रशंसा गर

अध्याय ३८

याहले गर्नु भएका इन्साफहरूका लागि उहाँको प्रशंसा गर

१. यूहन्‍नाले स्वर्गमा “ठूलो भीडको आवाज” जस्तै के शब्दहरू सुन्छन्‌?

 महान बेबिलोन अब छैन! कस्तो सुखद खबर हो यो! यूहन्‍नाले स्वर्गमा पनि हर्षोल्लासपूर्ण जयजयकार सुन्छन्‌! “यी कुरापछि स्वर्गमा एउटा ठूलो भीडको यसो भन्‍ने एउटा ठूलो आवाज जस्तो मैले सुनें, ‘हल्लेलूयाह, मुक्‍ति, महिमा र शक्‍ति हाम्रा परमेश्‍वरका हुन्‌। a किनकि उहाँका इन्साफ सच्चा र धार्मिक हुन्छन्‌। किनभने उहाँले पृथ्वीलाई त्यसको व्यभिचारले भ्रष्ट पारेकी त्यो ठूलो वेश्‍याको इन्साफ गर्नुभएको छ, र उहाँले आफ्नो दासहरूको रगतको बदला त्यसमाथि लिनुभएको छ।’ औ दोस्रोपल्ट तिनीहरूले फेरि ‘हल्लेलूयाह’ भने। औ त्यसको धुवाँ सदा सर्वदा मास्तिर जाँदोरहेछ।”—प्रकाश १९:१-३.

२. (क) “हल्लेलूयाह” भन्‍ने शब्दको अर्थ के हो र यसलाई यूहन्‍नाले यहाँ दुई पटक सुन्‍नुको तात्पर्य के हो? (ख) महान बेबिलोनको विनाशको श्रेय कसले पाउँछ? व्याख्या गर्नुहोस्‌।

साँच्चै नै हल्लेलूयाह गाउने समय आएको छ! ईश्‍वरीय नाउँ यहोवाको सङ्‌क्षिप्त रूप “याह” भएको हुनाले हल्लेलूयाहको अर्थ हो: “हे मानिसहरू, याहको प्रशंसा गर।” यसले हामीलाई भजनरचयिताले गरेको यो आग्रहको सम्झना गराउँछ: “सास हुने जति सबैले परमप्रभुको [याह, NW] प्रशंसा गर। परमप्रभुको प्रशंसा गर!” (भजन १५०:६) तर यूहन्‍नाले फेरि यहाँ प्रकाशको पुस्तकमा स्वर्गीय गायनटोलीले दुई दुई पटक “हल्लेलूयाह” भनेर गाएको सुन्छन्‌। यसबाट सत्यता प्रकाशित गर्ने ईश्‍वरीय कार्यमा निरन्तरता प्रदर्शित हुन्छ। मसीही युनानी शास्त्र र त्यो भन्दा पहिले लिपिबद्ध हिब्रू शास्त्रको परमेश्‍वर एउटै हुनुहुन्छ र उहाँको नाउँ हो यहोवा। पुरातन बेबिलोनको पतन गराउने परमेश्‍वरले नै अब महान बेबिलोनको पनि इन्साफ र विनाश गराउनु भएको छ। यो महान कार्यका लागि उहाँको महिमा गर! महान बेबिलोनको नाश गराउन उहाँले विभिन्‍न राष्ट्रहरूलाई माध्यमको रूपमा प्रयोग गर्नु भए तापनि त्यस पछाडिको मूल शक्‍ति चाहिं उहाँकै हो। यहोवालाई नै हामीले मुक्‍तिको श्रेय दिनु पर्छ।—यशैया १२:२; प्रकाश ४:११; ७:१०, १२.

३. महा वेश्‍याले पाएको इन्साफका लागि ऊ किन योग्यको छ?

यो महा वेश्‍या यसप्रकारको इन्साफ पाउने योग्यको किन छे? यहोवाले नूहलाई र नूहद्वारा सारा मानिसजातिलाई दिनु भएको आज्ञा अनुसार जथाभावी रगत बगाउने मान्छे मृत्युदण्डको योग्य हुन्छ। यो कुरा परमेश्‍वरले इस्राएललाई दिनु भएको व्यवस्थामा पनि दोहोऱ्‍याइएको छ। (उत्पत्ति ९:६; गन्ती ३५:२०, २१) यसबाहेक, मोशाको व्यवस्था अन्तर्गत शारीरिक तथा आत्मिक व्यभिचार, दुवै मृत्युको योग्य हुन्थ्यो। (लेवी २०:१०; व्यवस्था १३:१-५) महान बेबिलोन हजारौं सालदेखि रगतको दोषी छ। ऊ महा व्यभिचारिणी पनि हो। उदाहरणका लागि, रोमन क्याथोलिक चर्चले आफ्ना पादरीहरूका लागि विवाह निषेध गरेको हुनाकारण तिनीहरूबीच ज्यादै लैङ्‌गिक अनैतिकता फैलिएको छ। तिनीहरूमध्ये कति एड्‌सको शिकार समेत भएका छन्‌। (१ कोरिन्थी ६:९, १०, १ तिमोथी ४:१-३) तर ‘स्वर्गसम्मै चुल्लिने’ उसको महा पाप चाहिं आत्मिक व्यभिचार हो। त्यसले झूटा शिक्षाहरू सिकाएको छ र भ्रष्ट राजनीतिज्ञहरूसित लागेर घीनलाग्दा कार्यहरू गरेको छ। (प्रकाश १८:५) तर अब भने बल्ल, उसले सजाय भोगेकी छ। यसैकारण त स्वर्गीय गायनटोलीले पनि फेरि “हल्लेलूयाह” गान गाउँछन्‌।

४. महान बेबिलोनको धुवाँ “सदा सर्वदा मास्तिर” उठ्‌नु कुन कुराको प्रतीक हो?

एउटा पराजित शहर झैं महान बेबिलोन आगोमा भस्म भएको छ। त्यसबाट उठेको धुँवा “सदा सर्वदा मास्तिर” उठिरहन्छ। आक्रमणकारी सेनाहरूले कुनै शहरलाई जलाइ दिंदा खरानी तातो होउञ्जेल धुवाँ मास्तिर उठिरहन्छ। धुवाँ आइरहेको बेलामै त्यहाँ कसैले त्यसको पुनः निर्माण गर्न खोज्यो भने उसलाई भुघ्रेको रापले पोल्नेछ। यस्तैगरी, महान बेबिलोनको धुवाँ “सदा सर्वदा” मास्तिर उठिरहनुको अर्थ ऊमाथि गरिएको इन्साफ अपरिवर्त्तनीय हुनेछ। त्यो दुष्ट शहरको पुनःनिर्माण फेरि कसैले गर्न सक्ने छैन। झूटो धर्म सदा सर्वदाका लागि खतम हुनेछ। हल्लेलूयाह!—यशैया ३४:५, ९, १०-तुलना गर्नुहोस्‌.

५. (क) ती २४ प्राचीनहरू र चार जीवित प्राणीहरूले के गर्छन्‌ र भन्छन्‌? (ख) मसीहीजगतका चर्चहरूका गायनटोलीहरूले गाउने हल्लेलूयाह भन्दा यो हल्लेलूयाह गान किन धेरै नै सुमधुर छ?

योभन्दा अघिको दर्शनमा यूहन्‍नाले सिंहासन वरिपरि चारजना जीवित जीवातहरूका साथै महिमावान स्वर्गीय स्थानमा विराजमान राज्यका हकदारहरूलाई चित्रित गर्ने २४ प्राचीनहरू देखे। (प्रकाश ४:८-११) अब महान बेबिलोन नष्ट हुँदा तिनीहरूले फेरि तेस्रो पटक हल्लेलूयाह भनेर कराएको यूहन्‍ना देख्छन्‌: “औ ती चौबीसै धर्म-गुरुहरू र ती चार जीवित जीवातहरूले घोप्टो परेर सिंहासनमा विराजमान हुनुभएका परमेश्‍वरलाई ‘आमिन, हल्लेलूयाह’ भनेर दण्डवत गरे।” b (प्रकाश १९:४) हल्लेलूयाह भन्‍ने यो महान समूहगान थुमाको प्रशंसामा गाइने “नयाँ गीत” भन्दा बेग्लै हो। (प्रकाश ५:८, ९) तिनीहरूले अब एउटा वैभवशाली विजयगान गाउन थाल्छन्‌। सर्वसत्ताधारी प्रभु यहोवाले महा वेश्‍या महान बेबिलोनमाथि निर्णायक विजय गर्नु भएको हुनाले तिनीहरू जयजयकार गर्छन्‌। हुन त मसीहीजगतका चर्चहरूमा पनि हल्लेलूयाह गान सामूहिक रूपमा गाइन्छ। तर यहोवा अथवा याहको उपेक्षा र अपमान गर्ने मसीहीजगतका चर्चहरूमा गाइने हल्लेलूयाहभन्दा यो स्वर्गीय हल्लेलूयाह धेरै नै सुमधुर छ। यहोवाको नाउँको निन्दा गर्ने त्यस्तो कपटपूर्ण गायन अब सदाका लागि बन्द भएको छ।

६. कसको “आवाज” सुनिन्छ, त्यसले के गर्ने प्रोत्साहन दिन्छ र सो प्रोत्साहनबमोजिमको काम कसकसले गर्छन्‌?

सन्‌ १९१८-देखि यहोवाले ‘उहाँको नाउँसँग डराउनेहरू, ठूलो र साना दुवैलाई’ इनाम दिन थाल्नु भयो। यिनीहरूमध्ये प्रथमतः ती अभिषिक्‍त मसीहीहरू थिए जसले मृत्युसम्मै आफ्नो विश्‍वास कायम राखे। यिनीहरूलाई उहाँले पुनरुत्थान गराउनु भएर स्वर्गमा २४ प्राचीनको ओहोदामा राख्नु हुन्छ। (प्रकाश ११:१८) अब यिनीहरूलाई हल्लेलूयाह गाउन अरूले पनि साथ दिन्छन्‌। यसबारे यूहन्‍ना भन्छन्‌: “औ सिंहासनबाट यसो भन्‍ने एउटा आवाज आयो, ‘हे परमेश्‍वरको डर मान्‍ने साना ठूला उहाँका सबै दास हो, हाम्रा परमेश्‍वरको प्रशंसा गर।’ ” (प्रकाश १९:५) यो यहोवाको वक्‍ता, ‘सिंहासनबीचमा उभिने’ उहाँको आफ्नै पुत्र येशू ख्रीष्टको “आवाज” हो। (प्रकाश ५:६) स्वर्गमा मात्र नभएर यहाँ पृथ्वीमा पनि “उहाँका सबै दासहरू”-ले यो गीतमा भाग लिन्छन्‌। उक्‍त गीत गाउँदा अगुवाइ चाहिं पृथ्वीमा बाँकी रहेका यूहन्‍नावर्गका अभिषिक्‍त जनहरूले लिन्छन्‌। “हाम्रो परमेश्‍वरको प्रशंसा गर” भन्‍ने आदेश यिनीहरू सबै कति प्रफुल्लित भएर मान्छन्‌!

७. महान बेबिलोन नष्ट भइ सकेपछि यहोवाको प्रशंसा कसले गर्नेछ?

हो, ठूलो भीडकाहरू पनि यी दासहरूसितै सम्मिलित छन्‌। सन्‌ १९३५-देखि तिनीहरू महान बेबिलोनबाट बाहिर निस्किरहेका छन्‌ र तिनीहरूले परमेश्‍वरको यो प्रतिज्ञाको पूर्ति अनुभव गरेका छन्‌: “ठूलो साना दुवै परमप्रभुसँग डराउनेहरूलाई उहाँले आर्शीवाद दिनुहुनेछ।” (भजन ११५:१३) वेश्‍यारूपी बेबिलोन नष्ट भइ सकेपछि तिनीहरूमध्येका लाखौंले यूहन्‍नावर्ग र सारा स्वर्गीय सेनासित स्वरमा स्वर मिलाएर “हाम्रो परमेश्‍वरको प्रशंसा” गर्नेछन्‌। प्रतिष्ठित अप्रतिष्ठत दुवैले पुनरुत्थानपश्‍चात्‌ महान बेबिलोन सदाका लागि लोप भएको खबर सुनेर निःसन्देह फेरि हल्लेलूयाह गाउँनेछन्‌। (प्रकाश २०:१२, १५) त्यो पुरानो वेश्‍यामाथि प्रभावकारी रीतिले विजयी हुनु भएका लागि यहोवाको जयजयकार गरिनेछ!

८. यूहन्‍नाले देखेका जयजयकार गाउने स्वर्गीय गायन टोलीहरूले हामीलाई अहिले महान बेबिलोन नष्ट हुनअघि नै के गर्ने प्रेरणा दिन्छ?

यी जम्मै कुराहरूले हामीलाई परमेश्‍वरको काममा पूर्णतः भाग लिने ठूलो प्रेरणा दिन्छ! महान बेबिलोनलाई त्यसको कुर्सीबाट हटाएर नष्ट गर्नुअघि नै याहका सबै सेवकहरूले आफ्नो पूरा हृदय र प्राणले परमेश्‍वरका न्याय वचनहरू र उहाँको राज्यको महान आशा अहिले नै घोषित गरून्‌!—यशैया ६१:१-३; १ कोरिन्थी १५:५८.

‘हल्लेलूयाह—यहोवा नै राजा हुनुहुन्छ!’

९. अन्तिम हल्लेलूयाह किन यति परिपूर्ण र अर्थयुक्‍त छ?

आनन्द मनाउने अझ अरू कारणहरू पनि छन्‌ र तिनको बयान यूहन्‍ना यसप्रकार गर्छन्‌: “औ एउटा ठूलो भीडको सोर र धेरै पानीहरूका आवाज र शक्‍तिशाली गर्जनको आवाज जस्तो यसो भन्‍ने सोर मैले सुनें, हल्लेलूयाह, c किनकि परमप्रभु हाम्रा परमेश्‍वर, सर्वशक्‍तिमानले राज्य गर्नथाल्नु, NW] हुन्छ।” (प्रकाश १९:६) यो अन्तिम हल्लेलूयाहपछि यस घोषणाले सुस्पष्ट अथवा परिपूर्ण रूप धारण गर्छ। यो एउटा यस्तो शक्‍तिशाली स्वर्गीय धुन हो जो सबै मानवीय समूहगानहरू भन्दा प्रतीभाशाली छ। यसको आवाज पृथ्वीका जम्मै झरनाहरूभन्दा भव्य र पार्थिव आँधीबेह्रीहरूभन्दा भयावह छ। “परमप्रभु, हाम्रा परमेश्‍वर, सर्वशक्‍तिमानले राज्य गर्नु [थाल्नु, NW] भयो” भनी यी अनगन्ती स्वर्गीय आवाजहरूले खुसियाली मनाउँछन्‌।

१०. महान बेबिलोनको विध्वंसपछि यहोवाले कुन अर्थमा राज्य गर्न थाल्नु हुन्छ?

१० तर यहोवाले कुन अर्थमा शासन सुरु गर्न थाल्नु भएको छ? भजनरचियताले “परमेश्‍वर तादिदेखि मेरा राजा हुनुहुन्छ” भनी घोषणा गरेदेखि हजारौं वर्ष बिती सकेको छ। (भजन ७४:१२) अब भजनरचयिताको पालोमा त यहोवाको राजत्त्व पुरातन थियो भने यहाँ आएर फेरि ब्रह्‍माण्डीय गायनटोलीले “परमप्रभुले . . . शासन गर्न [सुरु गर्नु, NW]” भएको छ भन्‍नु मिल्छ र? मिल्छ, किनभने महान बेबिलोनको नाश हुँदा नै यहोवाको सार्वभौमिकतालाई अस्वीकार गर्ने परमेश्‍वरको प्रतिद्वन्दीको पनि बल्ल अन्त हुनेछ। झूटो धर्मले पृथ्वीका शासकहरूलाई परमेश्‍वरको विरुद्धमा फेरि कहिल्यै उक्साउन सक्ने छैन। प्राचीन बेबिलोन विश्‍व शासकको ओहदाबाट खस्दा सियोनमा यो विजयी घोषणा सुनियो: “तेरा परमेश्‍वर राज्य गर्नुहुन्छ।” (यशैया ५२:७) परमेश्‍वरको राज्य १९१४-मा स्थापित भइ सकेपछि पनि २४ प्राचीनहरूले यो घोषणा गरेका थिए: “हे प्रभु परमेश्‍वर, सर्वशक्‍तिमान, हामी [तपाईंलाई] धन्यवाद चढाउँछौं किनभने तपाईंले आफ्नो ठूलो शक्‍ति लिनुभयो, र राज्य गर्नुभयो।” (प्रकाश ११:१७) अब महान बेबिलोनको नाशपश्‍चात्‌ यो पुकार फेरि सुनिन्छ: “परमप्रभुले . . . राज्य गर्न [थाल्नु] हुन्छ।” अब साँचो परमेश्‍वर यहोवाको सार्वभौमिकतालाई चुनौती दिने कुनै पनि मानव निर्मित देवता रहने छैन!

थुमाको विवाह नजीकै आइपुग्छ!

११, १२. (क) पुरातन यरूशलेमले प्राचीन बेबिलोनलाई कसरी सम्बोधन गऱ्‍यो र नयाँ यरूशलेम र महान बेबिलोनका लागि यो कसरी एउटा नमूना हुन गएको छ? (ख) महान बेबिलोनमाथि विजय प्राप्त गरी सकेपछि स्वर्गीय सेनाहरूले के भन्दै गाउँछन्‌, के घोषणा गर्छन्‌?

११ “हे मेरी बैरी!” यसो भनेर यहोवाको मन्दिर तथा उपासना स्थल यरूशलेमले मूर्तिपूजक बेबिलोनलाई सम्बोधन गर्छ। (मीका ७:८) यस्तैप्रकार, १,४४,००० सदस्य भएकी दुलही वर्ग अथवा “पवित्र शहर, नयाँ यरूशलेम”-ले पनि महान बेबिलोनलाई आफ्नो बैरी भनी सम्बोधन गर्ने प्रशस्त कारण रहेको छ। (प्रकाश २१:२) तर अन्ततः त्यो महान वेश्‍यामाथि आपद्‌-विपद्‌, सङ्‌कट र विनाश आइपरेको छ। उसको तन्त्रमन्त्र र ज्योतिषीहरूले उसलाई बचाउन सकेको छैन। (यशैया ४७:१, ११-१३-सित तुलना गर्नुहोस्‌) साँचो उपासनाको साँच्चै नै ठूलो जीत हो यो!

१२ त्यो घीनलाग्दी वेश्‍या, महान बेबिलोन अब सधैंका लागि खतम भइसकेपछि ती पवित्र कुमारी, थुमाकी दुलहीमाथि ध्यान केन्द्रित गर्न सकिन्छ! त्यसकारण स्वर्गीय सेनाहरूले पनि यहोवाको जयजयकार गर्दै यसप्रकार गाउँछन्‌: “ ‘हामी रमाऔं, अत्यन्त खुशी हौं र उहाँलाई महिमा दिऔं। किनभने थुमाको विवाहको दिन आएको छ, र उहाँकी दुलही आफै तयार हुँदैछिन्‌। तिनले पहिरिनालाई मसिनो सुती लुगा, चहकिलो र चोखो कपडा दिइएको थियो, किनभने मसिनो सुती लुगा पवित्र जनहरूका धार्मिक कामहरू हुन्‌।’ ”—प्रकाश १९:७, ८.

१३. शताब्दीयौं देखि थुमाको विवाहको के तयारी हुँदै आएको छ?

१३ यसै स्वर्गीय विवाहका लागि येशूले बितेका शताब्दीहरूदेखि प्रेमपूर्ण तर्खर गर्दै आउनु भएको छ। (मत्ती २८:२०; २ कोरिन्थी ११:२) उहाँले आत्मिक इस्राएलका १,४४,००० जनहरूलाई शुद्ध गराइ रहनु भएको छ किनकि “उहाँ . . . यस्तो कुनै किसिमको दाग या चाउरी नभएको एउटा प्रतापी मण्डली आफ्नो निम्ति खडा” गर्न चाहनु हुन्छ। (एफिसी ५:२५-२७) परमेश्‍वरबाट “माथिको बोलावटको पुरस्कार” प्राप्त गर्ने उद्देश्‍य राखेर प्रत्येक अभिषिक्‍त मसीहीले पुरानो व्यक्‍तित्वलाई त्यसको आनीबानीसहित हटाउनु परेको छ। उनले नयाँ व्यक्‍तित्व धारण गरेर “प्रभुको निम्ति मनतनले” धार्मिक कार्यहरू गर्नु पर्छ।—फिलिप्पी ३:८, १३, १४; कलस्सी ३:९, १०, २३.

१४. थुमाकी पत्नीवर्गका सम्भाव्य सदस्यहरूलाई शैतानले कसरी भ्रष्ट पार्न खोजेको छ?

१४ सा.यु. ३३-को पेन्तिकोसको दिनदेखि शैतानले थुमाको दुलहीवर्गका सम्भाव्य सदस्यहरूलाई भ्रष्ट पार्न महान बेबिलोनलाई प्रयोग गर्दै आएको छ। प्रथम शताब्दीको अन्तसम्म त त्यसले बेबिलोनी धर्मका बीउहरू मण्डली भित्र छरी सकेको थियो। (१ कोरिन्थी १५:१२; २ तिमोथी २:१८; प्रकाश २:६, १४, २०) मानिसहरूको विश्‍वासलाई भड्‌काउन खोज्नेहरूबारे प्रेरित पावलले यसो भने: “किनभने त्यस्ता मानिसहरू झूटा प्रेरित, छल काम गर्ने, ख्रीष्टका प्रेरितहरूको भेषमा आफूलाई परिवर्त्तन गर्नेहरू हुन्‌। औ यो केही अचम्म होइन किनभने शैतान पनि आफैलाई ज्योतिर्मय स्वर्गदूतहरूको भेषमा परिवर्त्तन गर्दछ।” (२ कोरिन्थी ११:१३, १४) शताब्दीहरू बित्दै जाँदा, धर्मत्यागी मसीहीजगतले महान बेबिलोनको बाँकी भागले झैं धन र मान झल्काउने वस्त्र तथा “बैजनी र चहकिलो रातो लुगा, . . . सुन, रत्न र मोतीहरू” धारण गऱ्‍यो। (प्रकाश १७:४) त्यसका पादरी र पोपहरूले कन्स्टनटाइन र चार्लमेनजस्ता रक्‍तपिपासु सम्राटहरूलाई साथ दिए। त्यसले कहिल्यै पनि “पवित्र जनहरूका धार्मिक कामहरू”-को पोशाक धारण गरेको देखिएन। त्यो एउटी नकली दुलही र शैतानी फरेबको साँच्चै नै सबैभन्दा ठूलो करामत थिइ। अब बल्ल त्यो सदाका लागि खतम भएकी छे!

थुमाकी पत्नीले आफूलाई तयार पारेकी छिन्‌

१५. छाप लाउने काम कसरी गरिन्छ र एक जना अभिषिक्‍त मसीहीले के गर्नु आवश्‍यक छ?

१५ यसकारण, अब करीब २,००० वर्षपश्‍चात्‌, दुलहीवर्गका जम्मै १,४४,०००-सदस्यहरूले आफूलाई तयार पारेका छन्‌। तर ‘थुमाकी पत्नीले’ इतिहासमा खासगरी कुन समयदेखि आफूलाई तयार पार्न थालिन्‌? सा.यु. ३३-को पेन्तिकोसको दिनदेखि विश्‍वासी अभिषिक्‍त जनहरूमाथि “उद्धारको दिनको निम्ति” प्रतिज्ञाकृत “पवित्र आत्माले छाप” लगाउने काम प्रगतिशील रीतिले गर्न थालियो। प्रेरित पावलअनुसार परमेश्‍वरले “हामीमाथि छाप पनि मार्नु भयो, र हाम्रा हृदयमा बैनाको रूपमा आत्मा दिनुभयो।” (एफिसी १:१३; ४:३०; २ कोरिन्थी १:२२) प्रत्येक अभिषिक्‍त मसीही “बोलावट भएका, [र] चुनिएका” हुन्‌ र तिनीहरूले आफूलाई “विश्‍वासी” पनि साबित गरेका छन्‌।—प्रकाश १७:१४.

१६. (क) प्रेरित पावललाई छाप लाउने काम कहिलेसम्म समाप्त भइसकेको थियो र हामीलाई यो कसरी थाह हुन्छ? (ख) थुमाकी पत्नीले आफूलाई कहिले पूर्ण रीतिले “तयार पारेकी” हुनेछिन्‌?

१६ कैयौं दशकदेखि जाँचिदैं आएपछि स्वयं पावलले पनि यसो भन्‍न सके: “मैले उत्तम लडन्त लडेको छु, मैले दौड सिध्याएको छु, विश्‍वासलाई बचाइराखेको छु। अब उप्रान्त मेरो निम्ति धार्मिकताको मुकुट राखिएको छ, जो धार्मिक न्यायाधीश प्रभुले त्यस दिन मलाई र मलाई मात्र होइन तर उहाँको आगमन प्रिय मान्‍नेहरूलाई समेत दिनुहुनेछ।” (२ तिमोथी ४:७, ८) यी प्रेरित त्यतिखेर जिउँदै थिए अथवा उनी शहीद हुन बाँकी नै थियो। तापनि उनलाई छाप लगाउने काम पूरा भइ सकेको जस्तो देखिन्छ। यस्तैगरी, समय आउनेछ जब पृथ्वीमा रहेका १,४४,०००-जनहरूका बाँकी जम्मै सदस्यहरूलाई यहोवाको निजी सम्पत्तिको रूपमा व्यक्‍तिगत तवरले छाप लगाइ सकेको हुनेछ। (२ तिमोथी २:१९) यो त्यतिबेला हुनेछ जब थुमाकी दुलहीले आफूलाई सम्पूर्ण रीतिले तयार पारेकी हुनेछिन्‌। अर्थात्‌ जब १,४४,०००-जनहरूका अधिकांश सदस्यहरूले आफ्नो स्वर्गीय इनाम पाइसकेका हुनेछन्‌। पृथ्वीमा बाँकी रहेकाहरू चाहिं विश्‍वासी र अनुमोदित साबित भइ सकेका हुनेछन्‌।

१७. थुमाको विवाह कहिले हुन सक्छ?

१७ यहोवाको समयतालिकाको यस मोडमा १,४४,००० जनहरूलाई छाप लाउने काम समाप्त भइ सकेपछि स्वर्गदूतहरूले महा सङ्‌कष्टका चार वटा बतासहरूलाई छाडि दिन्छन्‌। (प्रकाश ७:१-३) सर्वप्रथम, वेश्‍यारूपी महान बेबिलोनमाथि न्याय कार्यान्वयन गरिन्छ। यसपछि शैतानको बाँकी पार्थिव सङ्‌गठनलाई नष्ट पार्न र अन्ततः शैतान र त्यसका प्रेतहरूलाई अगाध खाँदमा हाल्न विजयी ख्रीष्टले चाँडचाँडो आरमागेडोनतिर कदम बढाउनु हुनेछ। (प्रकाश १९:११–२०:३) निस्सन्देह, पृथ्वीमा अभिषिक्‍त जनहरू कोही बाँकी छन्‌ भने ख्रीष्टले आफ्नो विजय पूरा गर्नुभएको लगत्तै तिनीहरू आफ्नो स्वर्गीय इनाम थापेर दुलही वर्गका अरू सङ्‌गीहरूसित सामेल हुनेछन्‌। अनि परमेश्‍वरले तोक्नुभएको समयमा थुमाको विवाह सम्पन्‍न हुन सक्नेछ!

१८. थुमाको विवाहसित सम्बन्धित घटनाक्रमलाई भजन ४५-ले कसरी पुष्टि दिन्छ?

१८ यस घटनाक्रमलाई भजन ४५-को भविष्यसूचक वर्णनमा बताइएको छ। प्रथमतः, सिंहासनमा विराजमान राजा आफ्ना शत्रुहरूमाथि विजयी हुन अग्रसर हुनुहुन्छ। (१-७ पदहरू) यसपछि, विवाह सम्पन्‍न हुन्छ। स्वर्गीय दुलहीलाई उनका कुमारी सङ्‌गीहरू तथा ठूलो भीडकाहरूले साथ दिन्छन्‌। (८-१५ पद) तत्पश्‍चात्‌, विवाह फलयुक्‍त हुन्छ। “पृथ्वीभरिका राजकुमार”-को रेखदेख अन्तर्गत पुनरुत्थान प्राप्त मानिसहरू सिद्ध तुल्याइनेछन्‌। (१६, १७ पद) हो, थुमाको विवाहद्वारा महान आशिष्‌हरू आउनेछन्‌!

निमन्त्रण पाउनेहरू आनन्दित छन्‌

१९. प्रकाशको पुस्तकमा उल्लिखित सात वटा आनन्दहरूमध्येको चौथो आनन्द के हो र यस विशेष आनन्दमा कसले भाग लिन्छन्‌?

१९ यूहन्‍नाले अब प्रकाशको पुस्तकको सात वटा आनन्दहरूको चौथो आनन्द लिपिबद्ध गर्छन्‌: “अनि दूतले [उही दूत जसले यूहन्‍नालाई यी सबै कुराहरू प्रकट गर्दै आएका छन्‌] मलाई भने, ‘यो लेख, थुमाको विवाहको भोजमा निमन्त्रण पाउनेहरू धन्यका हुन्‌!’ औ तिनले मलाई भने, ‘परमेश्‍वरका सत्य वचनहरू यिनै हुन्‌।’ ” (प्रकाश १९:९) d “थुमाको विवाहको भोजमा निमन्त्रण पाउनेहरू” दुलही वर्गका सदस्यहरू हुन्‌। (मत्ती २२:१-१४-तुलना गर्नुहोस्‌) अभिषिक्‍त दुलहीवर्गका सबै नै सदस्यहरू यो निम्तो पाएकोमा आनन्दित छन्‌। उक्‍त निम्तो पाउने धेरै ता स्वर्ग अथवा विवाह भोजको स्थलमा पुगिसकेका छन्‌। पृथ्वीमा बाँकी रहेकाहरू पनि निम्तो पाएकोमा खुशी छन्‌। (यूहन्‍ना १४:१-३; १ पत्रुस १:३-९) यिनीहरू पुनरुत्थानपश्‍चात्‌ स्वर्गमा पुगेपछि संयुक्‍त दुलही वर्गको सम्पूर्ण भागले त्यो परमानन्दित विवाहमा भाग लिन थाल्नेछ।

२०. (क) “परमेश्‍वरका सत्य वचनहरू यीनै हुन्‌” भन्‍नुको अर्थ के हो? (ख) स्वर्गदूतको आवाज सुनेर यूहन्‍ना कुन हद्‌सम्म प्रभावित भए र यो देखेर स्वर्गदूतले के प्रतिक्रिया व्यक्‍त गरे?

२० स्वर्गदूत अझ थप्छन्‌ कि “परमेश्‍वरका सत्य वचनहरू यिनै” हुन्‌। यहाँ “सत्य” भनेर अनुवाद गरिएको शब्द युनानी शब्द एलेथिनोस्‌-बाट लिइएको हो। यसको मूल अर्थ “यथार्थ” अथवा “भरपर्दो” हो। यी वचनहरू वास्तवमा यहोवाबाट आएको हुनाकारण तिनीहरू जम्मै विश्‍वासयोग्य र भरपर्दा छन्‌। (१ यूहन्‍ना ४:१-३; प्रकाश २१:५; २२:६-तुलना गर्नुहोस्‌।) यो सुन्‍न पाउँदा र भविष्यमा दुलहीवर्गले पाउने आशिषहरूबारे मनन गर्दा यूहन्‍ना कति खुशी भए होलान्‌। किनकि विवाह भोजका लागि उनले पनि निम्तो पाएका थिए। उनी हृदयदेखि यति साह्रो प्रभावित भए कि उनलाई स्वर्गदूतले पनि सम्झाउनु पऱ्‍यो। यसबारे यूहन्‍ना यसो भन्छन्‌: “अनि तिनलाई दण्डवत्‌ गर्न म तिनका खुट्टा अगाडि घोप्टें। औ तिनले मलाई भनें, ‘तिमीले यसो नगर, म येशूको साक्षी ग्रहण गर्ने तिम्रा भाइहरूको र तिम्रो सहकर्मी हुँ। परमेश्‍वरलाई दण्डवत्‌ गर।’ ”—प्रकाश १९:१०क.

२१. (क) प्रकाशको पुस्तकले स्वर्गदूतहरूबारे के जानकारी दिन्छ? (ख) मसीहीहरूले स्वर्गदूतहरूप्रति कस्तो मनोवृत्ति राख्नु पर्छ?

२१ प्रकाशको पुस्तकभरि स्वर्गदूतहरूको विश्‍वासिलोपन र परिश्रमको ठूलो प्रमाण पाइन्छ। स्वर्गदूतहरू सत्य प्रकट गर्ने माध्यमको रूपमा प्रयोग गरिन्छन्‌। (प्रकाश १:१) तिनीहरू मानिसहरू सँगसँगै सुसमाचार प्रचार गर्ने र प्रतीकात्मक विपत्तिहरू खन्याउने काममा भाग लिन्छन्‌। (प्रकाश १४:६, ७; १६:१) शैतान र त्यसका दूतहरूलाई स्वर्गबाट हटाउने बेलामा स्वर्गदूतहरूले येशूसित मिलेर युद्ध गरेका थिए। अतः आरमागेडोनमा पनि तिनीहरूले येशूलाई साथ दिंदै फेरि युद्ध गर्नेछन्‌। (प्रकाश १२:७; १९:११-१४) तिनीहरूलाई यहोवाको सामु जाने अनुमति छ। (मत्ती १८:१०; प्रकाश १५:६) तापनि तिनीहरू परमेश्‍वरका नम्र दासहरू मात्र हुन्‌। साँचो उपासनामा स्वर्गदूतहरूलाई पुज्ने, सापेक्षिक उपासना चढाउने तथा कुनै “सन्त” वा “दूत”द्वारा परमेश्‍वरको उपासना गर्ने खण्ड छँदै छैन। (कलस्सी २:१८) मसीहीहरूले यहोवाको मात्र उपासना गर्छन्‌ र उहाँलाई आफ्ना बिन्तीहरू येशूको नाउँमा चढाउँछन्‌।—यूहन्‍ना १४:१२, १३.

भविष्यवाणीमा येशूको भूमिका

२२. स्वर्गदूतले यूहन्‍नालाई के भन्छन्‌ र ती शब्दहरूको अर्थ के हुन्‌?

२२ स्वर्गदूत अब यसो भन्छन्‌: “येशूको साक्षी अगमवाणीको आत्मा हो।” (प्रकाश १९:१०ख) किन? किनभने येशू र उहाँले यहोवाको उद्देश्‍यमा निभाउनु हुने भूमिकाकै कारण सबै प्रेरत भविष्यवाणीहरू गरिएका छन्‌। बाइबलको प्रथम भविष्यवाणीद्वारा सन्तानको आगमनको प्रतिज्ञा गरियो। (उत्पत्ति ३:१५) ती सन्तान येशू हुनु भयो। यसै मौलिक प्रतिज्ञाको आधारमा पछिबाट भएका प्रकाशहरूद्वारा थुप्रै भविष्यसूचक सच्चाइहरूको विशाल पहाड खडा भयो। प्रेरित पत्रुसले विश्‍वासी अन्यजाति कर्निलियसलाई यसो भने: “उहाँकै [येशू] सबै अगमवक्‍ताहरूले गवाही दिएका छन्‌।” (प्रेरित १०:४३) यसको करीब २० वर्षपछि प्रेरित पावलले यसो पनि भने: “परमेश्‍वरका जुनसुकै प्रतिज्ञाहरू पनि उहाँमा [येशूमा] ‘हो’ नै भनिएका छन्‌। यसैकारण उहाँद्वारा परमेश्‍वरको महिमाको निम्ति ‘आमिन’ भन्‍ने पनि छ।” (२ कोरिन्थी १:२०) अझ ४३ वर्षपछि यूहन्‍ना आफैले पनि हामीलाई यो कुराको सम्झना गराउँछन्‌: “सत्यता चाहिं येशू ख्रीष्टबाट आयो।”—यूहन्‍ना १:१७.

२३. येशूको उच्च ओहदा र अख्तियारले गर्दा यहोवालाई चढाइने हाम्रो उपासनमा किन कुनै बाधा पर्दैन?

२३ के यसबाट यहोवालाई चढाउने उपासना कुनै मात्रामा कम हुन्छ? हुँदैन। स्वर्गदूतले होशियारी दिलाउँदै यसो भनेको सम्झिराख्नुहोस्‌: “परमेश्‍वरलाई दण्डवत्‌ [उपासना, NW] गर।” येशू कहिले पनि यहोवासित प्रतिस्पर्धा गर्न चाहनु हुन्‍न। (फिलिप्पी २:६) यो साँचो हो कि “येशूलाई दण्डवत्‌” गर्न सबै स्वर्गदूतहरूलाई अह्राइन्छ। सारा सृष्टिले पनि उहाँको उच्च स्थान स्वीकार्दै “येशूको नाउँमा घुँडा टेक्नुपर्छ।” तर नबिर्सनुहोस्‌, यी जम्मै कुरा “परमेश्‍वर पिताको महिमाको निम्ति” गरिन्छ। (हिब्रू १:६; फिलिप्पी २:९-११) यहोवाले येशूलाई उच्च अख्तियार दिनु भयो र त्यो अख्तियार स्वीकार गर्दै हामी परमेश्‍वरको महिमा गर्छौं। येशूको शासनको अधीनमा रहन नचाहनुको अर्थ हामीले यहोवा परमेश्‍वरलाई अस्वीकार गर्नु हो।—भजन २:११, १२.

२४. हामी कुन दुइटा अद्‌भूत घटनाहरूको प्रतीक्षामा छौं र त्यसकारण हामीले कुन शब्दहरू घोषणा गर्नुपर्छ?

२४ यसकारण, आउनुहोस्‌ हामी स्वरमा स्वर मिलाएर भजन १४६ देखि १५०-का यी प्रारम्भिक शब्दहरू गाउने गरौं: “परमप्रभुको प्रशंसा गर!” झूटो धर्मको बेबिलोनी विश्‍व-साम्राज्यमाथि यहोवाले गर्नु हुने विजयको प्रतीक्षामा यो हल्लेलूयाह समूहगानको आवाज जोडसित गुञ्जयमान होस्‌! र थुमाको विवाह जसै जसै नजिक आउँछ, आनन्द झन्‌ झन्‌ बढ्‌दै जाओस्‌!

[फुटनोटहरू]

a न्यु वर्ल्ड ट्रान्सलेशन रेफरेन्स बाइबल, फुटनोट.

b न्यु वर्ल्ड रेफरेन्स बाइबल, फुटनोट।

c न्यु वर्ल्ड ट्रान्स्लेशन रेफ्‌रेन्स बाइबल, फुटनोट.

d प्रकाश १:३; १४:१३; १६:१५-पनि हेर्नुहोस्‌.

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ २७३-मा भएको पेटी]

सदोम र गमोरालाई पत्र”

यसै शीर्षकमनि, नोभेम्बर १२, १९८७-को दिन, लन्डनको डेली टलिग्राफ-ले चर्च अफ इंगलैण्डको धर्मसभाको सामु प्रस्तुत प्रस्तावबारे समाचार दिएको थियो। उक्‍त प्रस्ताव समलिंगी “मसीहीहरूलाई” चर्चबाट बहिष्कार गर्ने विषयमा थियो। स्तम्भकार गड्‌फ्रे बार्करले यसो भने: “केन्टरबेरीको आर्कबिशपले हिजो खिन्‍नतासाथ भने: ‘सन्त पावल स्वयंले आज चर्च अफ इंगलैण्डलाई पत्र लेख्न परेमा त्यो पत्रको शीर्षक के हुन्थ्यो होला?’ ” यसबारे श्रीमान बार्कर आफैले यसरी टिप्पणी गरे: “निश्‍चय पनि ‘सदोम र गमोरालाई पत्र’ भन्‍ने शीर्षक राखिने थियो” र अगाडि अझ थप्दै भने “डा. रुन्सी [आर्कबिशप]-को विचारमा त्यो पत्र रोमीको प्रथम अध्यायसित मिल्दोजुल्दो हुने थियो।”

यसपछि लेखकले रोमी १:२६-३२-मा उल्लिखित पावलका यी शब्दहरू उद्धृत गरे: “यसैकारण परमेश्‍वरले तिनीहरूलाई तिनीहरूका नीच अभिलाषाको निम्ति छोडिदिनु भयो, किनभने तिनीहरूका स्त्रीहरूले आफ्ना स्वाभाविक व्यवहारलाई अस्वभाविकमा परिवर्त्तन गरे, र त्यसरी नै स्त्रीहरूतर्फको स्वभाविक व्यवहार त्यागेर कामुकतामा एक दोस्रोतिर जलेर पुरुषहरूले पुरुषहरूसितै निर्लज्ज काम गरे, र आफ्नो कसूरको उचित दण्ड पाए। यस्ता यस्ता काम गर्नेहरू मृत्युका योग्य हुन्छन्‌ भन्‍ने परमेश्‍वरको धार्मिक-विधान जानेर पनि तिनीहरू यस्ता काम गर्ने मात्र होइनन्‌, तर यस्ता गर्नेहरूलाई पूर्ण सहमत पनि दिन्छन्‌।” अन्तमा उनले यसो भनेर कुरा टुंग्याए: “सन्त पावललाई त जनसाधारणको मात्र फिक्री थियो। तर डा. रुन्सीका लागि त गुरुहरू नै समस्या भएका छन्‌।”

आर्कबिशपलाई किन यसप्रकारको समस्या छ? अक्टोबर २२, १९८७-को लन्डन डेली मेल-को एउटा मुख्य समाचारअनुसार: “तीन जना पादरीहरूमध्ये एक जना समलिंगी छन्‌। . . . समलिंगीहरूलाई चर्चबाट हटाउने अभियान चलाउनु ‘चर्च अफ इंगलैण्ड’लाई बन्द गर्नु हो।’ ” उपरोक्‍त रिपोर्टमा समलिंगी पुरुष तथा स्त्री मसीही आन्दोलनको “पूज्य” जनरल सेक्रेटेरीलाई यसप्रकार उद्धृत गरिएको थियो: “यस्तो प्रस्ताव स्वीकृत भएमा चर्च बरबाद हुनेछ र यो कुरा आर्कबिशप अफ केन्टरबेरीलाई थाह छ। चर्च अफ इंगलैण्डको करीब करीब ३०देखि ४० प्रतिशत पादरीहरू समलिंगी छन्‌। र चर्चको कामकाजमा सबैभन्दा बढी योगदान पनि तिनीहरूले नै दिइरहेका छन्‌।” गिर्जा जाने मान्छेहरूको घटदो संख्या केही हद्‌सम्म त्यो बढदो समलिंगी पादरीवर्गप्रति घृणाको एउटा अभिव्यक्‍ति हो।

चर्चको धर्मसभाले के फैसला गऱ्‍यो? ३८८-सदस्यहरूको बहुसंख्याले (पादरी वर्गको ९५-प्रतिशतले) एउटा फितलो फैसलाको पक्ष लियो। यसबारे नोभेम्बर १४, १९८७-को दी इकोनोमिस्ट-ले यसप्रकार रिपोर्ट गऱ्‍यो: “चर्च अफ इंगलैण्डले समलिंगी गतिविधिहरूको विरोध गर्छ। तर कडाकडीसाथ होइन। आफ्नो समलिंगी पादरीहरूलाई ध्यानमा राख्दै चर्चको संसदले यो हप्ता फैसला गऱ्‍यो कि समलिंगी कार्य, व्यभिचार जस्तो पाप होइन; ‘लैंगिक सम्बन्ध स्थायी वैवाहिक सम्बन्धमा मात्र उचित रीतिले अनुभव गर्न सकिने आत्म-समर्पणको अभिव्यक्‍ति हो’ भन्‍ने आदर्शको सामु मात्र समलिंगी कार्य अलिक निम्न देखिन्छ।” आर्कबिशप अफ केन्टरबेरीको यो अडानलाई प्रेरित पावलले रोमी १:२६, २७-मा व्यक्‍त गरेको सुस्पष्ट अभिव्यक्‍तिसित तुलना गर्दै दी इकोनोमिस्ट-मा पावलका शब्दहरूको उद्धरणमनि “आफू के भनिरहेछन्‌, सो सन्त पावललाई थाह थियो” भन्‍ने उप-शीर्षक छपाइएको थियो।

येशू ख्रीष्टलाई पनि आफूले के सिकाउनु हुँदैछ सो थाह थियो र आफ्नो कुरालाई उहाँले स्पष्ट ढंगमा व्यक्‍त गर्नु हुन्थ्यो। उहाँको शिक्षा तिरस्कार गर्ने धर्मावलम्बीहरूलाई भन्दा “न्यायको दिनमा . . . सदोम मुलुकको दशा बढ्‌ता सहनसक्ने हुनेछ” भनेर उहाँले साफसाफ भन्‍नु भयो। (मत्ती ११:२३, २४) परमेश्‍वरको पुत्र र उहाँका शिक्षा तिरस्कार गर्नेहरू सदोमका मानिसहरूभन्दा दोषी हुनेछन्‌ भनेर देखाउन येशूले यहाँ अत्युक्‍ति प्रयोग गर्नु भयो। यहूदा ७-अनुसार सदोमका मानिसहरूले “आगोको अनन्त दण्ड” अर्थात्‌ अनन्त विनाश भोगे। (मत्ती २५:४१, ४६) अतः यी मसीही भनौंदा अगुवाहरूको झन के गति हुने होला? किनकि यिनीहरूले त अन्धकारमा रहेको आफ्नो बगाललाई परमेश्‍वरको राज्यका उच्च नैतिक सिद्धान्तहरूदेखि टाढा, यो संसारको अश्‍लिल र जथाभावी गर्ने तौरतरिकातिर आँखा चिम्लेर लगिरहेछन्‌। (मत्ती १५:१४) स्वर्गबाट निस्कने आवाजले झूटो धर्म महान बेबिलोनबारे यो अत्यावश्‍यक आह्वान गर्छ: “हे मेरा मानिस हो, त्यसबाट निस्केर आओ। त्यसका पापसँग तिमीहरूको केही संगत हुन नपाओस्‌। त्यसका विपत्तिहरू तिमीहरूले भोग्न नपरोस्‌।”—प्रकाश १८:२, ४.

[पृष्ठ २७५-मा भएको चित्र]

महान बेबिलोनमाथि याह अन्तिम पटक विजयी हुनु भएकोमा उहाँको प्रशंसा गर्ने चारचार हल्लेलूयाह गान स्वर्गमा गुञ्जयमान हुन्छ।