सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

येशूको नाउँमाथि सुदृढ आस्था राख्ने

येशूको नाउँमाथि सुदृढ आस्था राख्ने

अध्याय ९

येशूको नाउँमाथि सुदृढ आस्था राख्ने

पर्गामम

१. येशूले यसपछि दिनु हुने सन्देश कुन मण्डलीले पाए र ती मसीहीहरू कस्तो शहरमा बसेका थिए?

 स्मर्नादेखि ५० मील उत्तर समुद्री तट हुँदै कैकस नदीको उपत्यकाबाट अझ १५ मील भित्र गयौं भने हामी पर्गामममा आइपुग्छौं। यसलाई आज बर्गामा भनिन्छ। यो शहर जुइस्‌ अथवा जुपिटरको मन्दिरका लागि प्रसिद्ध थियो। यो मन्दिरको वेदीलाई पुरातत्त्ववेत्ताहरूले १८०० को दशकमा जर्मनी पुऱ्‍याए। त्यस वेदीलाई बर्लिनको पर्गामोन संग्राहलयमा गैर मसीही देवताहरूका थुप्रै मूर्तिहरूसित आज पनि देख्न सकिन्छ। त्यतिका मूर्तिपूजाबीच रहेको मण्डलीलाई प्रभु येशूले के सन्देश पठाउनु हुनेछ?

२. येशूले आफूलाई कसरी चिनाउनु हुन्छ र उहाँसित “धारिलो दुइधारे तरवार” हुनुको अर्थ के हो?

सर्वप्रथम येशूले आफूलाई स्पष्ट रीतिले चिनाउनु हुँदै यसो भन्‍नुहुन्छ: “अनि पर्गामममा भएको मण्डलीको दूतलाई लेख। यी कुरा धारिलो दुइ-धारे तरवार भएकोले भन्दछ।” ( प्रकाश २:१२) येशूले यहाँ प्रकाश १:१६ मा उल्लिखित आफ्नो परिचयलाई दोहोऱ्‍याउनु हुन्छ। येशूले न्यायाधीश र प्रमुख कार्यान्वयनकर्ताको हैसियतमा आफ्ना अनुयायीहरूलाई सताउने सबैको नाश गर्नु हुनेछ। यो आशा कति सान्त्वनादायी छ! तथापि मूर्तिपूजा, अनैतिकता, झूट बोल्ने, तथा बेइमानी गर्ने र खाँचोमा परेकाहरूको हेरविचार नगर्ने मसीही भनौंदाहरूको विरुद्धमा यहोवाले येशू ख्रीष्ट आफ्नो “करारको दूत” द्वारा न्याय गर्नु हुनेछ। उक्‍त चेताउनीलाई मण्डली भित्र-का सबै जनाले मनमा राख्नु पर्छ। (मलाकी ३:१, ५; हिब्रू १३:१-३) परमेश्‍वरले येशूद्वारा दिनु हुने सल्लाह र सुधारलाई सुन्‍नैपर्छ!

३. पर्गामममा कुन प्रकारको झूटो उपासना गरिन्थ्यो र त्यहाँ “शैतानको सिंहासन” थियो भनेर किन भन्‍न सकिन्छ?

येशूले अब मण्डलीहरूलाई यसो भन्‍नुहुन्छ: “तिमी कहाँ रहन्छौं? अर्थात्‌ शैतानको सिंहासन भएकै ठाउँमा भन्‍ने म जान्दछु।” ( प्रकाश २:१३क) हो, ती मसीहीहरू चारैतिरबाट शैतानी उपासनाले घेरिएका थिए। जुइस्‌को मन्दिरबाहेक त्यहाँ एस्क्युलेप्यस अर्थात्‌ बिरामी निको पार्ने देवताको वेदी पनि थियो। साथै, पर्गामम शहर सम्राट-पूजाका लागि प्रसिद्ध थियो। जुन हिब्रू शब्दलाई “शैतान” भनेर अनुवाद गरिएको छ, त्यस शब्दको अर्थ हो “विरोधी” तथा “विद्रोही” र उसको “सिंहासन” भन्‍नाले केही समयसम्म ईश्‍वरले चल्न दिनु भएको विश्‍वशासनको बोध हुन्छ। (अय्यूब १:६, न्यु वर्ल्ड ट्रान्सलेशन रेफ्‌रेन्स बाइबल, पादटिप्पणी) शैतानको “सिंहासन” ले पर्गामममा जरा गाडेको कुरा, त्यहाँको विस्तृत मूर्तिपूजाबाट स्पष्ट झल्किन्छ। त्यहाँका मसीहीहरूले राष्ट्रियताको नाउँमा शैतानलाई दण्डवत नगर्दा ऊ साँच्चै नै कति क्रोधित भएको हुनुपर्छ!

४. (क) येशूले पर्गाममका मसीहीहरूलाई कुन कुराका लागि प्रशंसा गर्नुहुन्छ? (ख) मसीहीहरूसित गर्नु पर्ने व्यवहारबारे सम्राट ट्राजनलाई उनको व्यक्‍तिगत प्रतिनिधि प्लाइनीले के लेखे? (ग) पर्गाममका मसीहीहरूले खतराको बावजूद पनि के गरे?

हो, “शैतानको सिंहासन” ठीक त्यहाँ पर्गामममै छ। तापनि, येशू यसो भन्‍नुहुन्छ: “तिमीले मेरो नाउँ स्थिर गराएर मेरो गवाही, मेरो विश्‍वासी जन एन्टिपासको दिनमा पनि, ममाथिको विश्‍वास इन्कार गरेनौ। तिनी तिमीहरूकै बीचमा मारिए, जहाँ शैतान बास गर्छ।” ( प्रकाश २:१३ख) कस्तो हृदयस्पर्शी प्रशंसा! पक्कै पनि रोमी सम्राट-पूजा र अन्य प्रेतवादी रीतिथिति पालन गर्न इन्कार गरेको हुनाले नै एन्टिपास शहीद भएको हुनुपर्छ। यूहन्‍नाले यो भविष्यवाणी पाएको थोरै समयपश्‍चात्‌ रोमको सम्राट ट्राजनलाई उनको व्यक्‍तिगत प्रतिनिधि कान्छो प्लाइनीले एउटा पत्र पठाएका थिए। त्यस पत्रमा उनले मसीही हुने आरोप लागेकाहरू माथि चलाउनु पर्ने कारबाहीको व्याख्या गरे र त्यो कारबाहीलाई सम्राटले पनि आफ्नो अनुमोदन दिए। प्लाइनीको भनाइअनुसार मसीही हुन इन्कार गर्नेहरूले उनी “सङ्‌गसङ्‌गै देवताहरू पुकार्ने मन्त्र जप्दै, तपाईंको [ट्राजनको] मूर्तिको सामने धूप र दाखरस चढाएर . . . ख्रीष्टलाई समेत सरापेपछि” तिनीहरूलाई मुक्‍त गरिन्थ्यो। यसो गर्न नमान्‍ने मसीहीहरूलाई चाहिं मृत्युदण्ड दिइन्थ्यो। तर यस्तो खतराको समक्ष पनि पर्गाममका मसीहीहरूले आफ्नो विश्‍वासलाई इन्कार गरेनन्‌। तिनीहरूले ‘येशूको नाउँमाथि सुदृढ आस्था’ राख्न छाडेनन्‌। येशू नै यहोवाको नाउँको प्रमुख संरक्षक र नियुक्‍त न्यायाधीश हुनुहुन्छ भनी स्वीकार्दै तिनीहरूले येशूको उच्च ओहदाको ठूलो सम्मान गरे। परमेश्‍वरको राज्यका वफादार साक्षीहरू भएर तिनीहरू येशूको पाइलामा हिंडे।

५. (क) मसीहीहरूलाई कडा जाँचको सामना गर्न लाउने गरी हाम्रो समयमा सम्राटपूजाले कुन रूप धारण गरेको छ? (ख) द वाचटावर-ले मसीहीहरूका लागि के मदद उपलब्ध गराएको छ?

शैतान नै वर्तमान दुष्ट संसारको शासक हो भनेर येशूले धेरै पटक बताइ सक्नु भएको थियो। तर येशूको निष्ठाको कारण शैतानले उहाँलाई आफ्नो कब्जामा चाहिं पार्न सकेको थिएन। (मत्ती ४:८-११; यूहन्‍ना १४:३०) हाम्रो समयमा खासगरि “उत्तरको राजा” र “दक्षिणको राजा” जस्ता शक्‍तिशाली राष्ट्रहरू विश्‍वशासनका लागि आपसमा सङ्‌घर्ष गरेका छन्‌। (दानिएल ११:४०) देशभक्‍तिको हुरी जोडसित चलेको छ। पुरातन सम्राट-पूजाले यी आधुनिक समयहरूमा सारा पृथ्वीभरि राष्ट्रियताको रूप धारण गरेको छ। यसबारे बाइबल के भन्छ र येशूले जस्तै निडरतासाथ यहोवाको नाउँमा हिंड्‌दै विश्‍वलाई जित्न चाहने मसीहीहरूले के गर्नुपर्छ, इत्यादि निर्देशन नोभेम्बर १, १९३९, नोभेम्बर १, १९७९ र सेप्टेम्बर १, १९८६ को द वाचटावर-का अङ्‌कहरूमा तटस्थासम्बन्धी लेखहरूद्वारा स्पष्ट पारिएको थियो।—मीका ४:१, ३, ५; यूहन्‍ना १६:३३; १७:४, ६, २६; १८:३६, ३७; प्रेरित ५:२९.

६. एन्टिपासले जस्तै यहोवाका साक्षीहरूले पनि यी आधुनिक समयहरूमा कसरी दृढ अडान लिएका छन्‌?

यस्तो सरसल्लाह अत्यावश्‍यक साबित भएको छ। देशभक्‍तिको विवेकहीन जोश समक्ष अभिषिक्‍त मसीहीहरू र तिनीहरूका सङ्‌गीहरूलाई विश्‍वासमा दह्रो हुने खाँचो छ। राष्ट्रिय झन्डालाई सलामी नगर्दा संयुक्‍त राज्य अमेरिकामा सयौं केटाकेटीहरू र शिक्षकहरू स्कूलहरूबाट निकालिए। जर्मनीमा चाहिं स्वस्तिकालाई सलामी नगर्दा साक्षीहरूलाई बडो क्रूरतासाथ सताइयो। राष्ट्रियताको नाउँमा गरिने यस्तो मूर्तिपूजामा सहभागी हुन नचाहने यहोवाका हजारौं वफादार साक्षीहरूलाई हिटलरका नाजीबादीहरूले मारी नै दिए। सन्‌ १९३० को दशकमा सम्राट-पूजा गर्ने शिन्टो धर्मविधि जापानमा खूबै प्रचलित थियो। त्यतिखेर दुई जना अग्रगामी सेवकहरूले जापानी मातहतमा रहेको ताइवानमा परमेश्‍वरको राज्यको निकै बिउ छरे। तर त्यहाँका सैनिक पदाधिकारीहरूले यी दुई जनालाई झ्यालखानमा थुनिदिए। एक जना त त्यो क्रूर दुर्व्यवहार खप्न नसकेर मरी नै हाले। केही समयपछि अर्कोलाई चाहिं मुक्‍त गरी दिनासाथै पिठ्‌यूँमा पछाडिबाट गोली हानेर मारी दिए। उनी एक जना आधुनिक एन्टिपास सरह भए। आज पनि केही देशहरूमा राष्ट्रियताका प्रतीकहरू र स्वयम्‌ राष्ट्रलाई नै एकनिष्ठ उपासना चढाउने माग गरिन्छ। यस्तो अवस्थामा निडर भएर आफ्नो मसीही तटस्थताका लागि अडान लिंदा थुप्रै जवान मसीहीहरू झ्यालखानमा थुनिएका छन्‌ र एकाध जनाको चाहिं हत्या पनि भएको छ। यस्तो चुनौतीको सामना गर्ने तपाईं पनि एक जना जवान युवक हुनुहुन्छ भने परमेश्‍वरको वचन दिनहुँ पढ्‌ने गर्नुहोस्‌। यसप्रकार तपाईं पनि अनन्त जीवनका लागि “विश्‍वास गर्नेहरूमध्येका” हुनु हुनेछ।—हिब्रू १०:३९–११:१; मत्ती १०:२८-३१.

७. राष्ट्रको उपासनासम्बन्धी विवादको सामना भारतका केही युवा-युवतीहरूले कसरी गरे र परिणामस्वरुप के भयो?

स्कूल पढ्‌ने केटाकेटीहरूले पनि यस्तै किसिमका चुनौतीहरूको सामना गर्नु परेको छ। सन्‌ १९८५ मा भारतको केरला प्रान्तमा यहोवाका साक्षीहरूका तीन जना केटाकेटीहरूले राष्ट्रिय गान गाउन इन्कार गरे। तिनीहरूले बाइबलमा आधारित आफ्नो विश्‍वासलाई दह्रो राखे। अरूहरू गाउन्जेल तिनीहरू आदरपूर्वक उभिरहे। तापनि तिनीहरू स्कूलबाट निकालिए। यस कारबाहीको विरुद्धमा अपील गर्दै तिनीहरूका पिताले त्यो मामिला भारतको सर्वोच्च अदालतसम्म पुऱ्‍याए। त्यहाँका दुई जना न्यायाधीशहरूले हाम्रा केटाकेटीहरूको पक्षमा फैसला गरे। तिनीहरूले साहसपूर्वक यसो भने: “हाम्रो संस्कृतिले सहिष्णुता सिकाउँछ; हाम्रो दर्शनशास्त्रले सहिष्णुता सिकाउँछ; हाम्रो संविधानले सहिष्णुतालाई सक्रिय रूप दिएको छ; अब हामी त्यसलाई रद्द गर्न नखोजौं।” पत्र-पत्रिका र हाम्रो पक्षमा लेखिएका सम्पादकीयहरूद्वारा त्यतिबेला त्यस देशमा बस्ने पृथ्वीको कुल जनसंख्याको पाँच भागको झण्डै एक भागलाई सूचित गराइयो कि त्यहाँ पनि त्यस्ता मसीहीहरू छन्‌ जसले साँचो परमेश्‍वर यहोवाको उपासना गर्छन्‌ र जो बाइबलका सिद्धान्तहरूप्रति वफादार रहन्छन्‌।

कुप्रभावहरू

८. पर्गाममका मसीहीहरूलाई के सुधार दिन येशू आवश्‍यक ठान्‍नु हुन्छ?

हो, पर्गाममका मसीहीहरू निष्ठावान व्यक्‍तिहरू हुन्‌। “तर” येशू भन्‍नुहुन्छ “तिमीहरूको विरुद्धमा मसँग केही कुराहरू छन्‌, किनभने तिमीकहाँ त्यहाँ “बालामको शिक्षा ग्रहण गर्ने कोही कोही छन्‌, जसले इस्राएलीहरूको सामने ठेस लाग्ने ठेउको राखिदिनलाई मूर्तिलाई चढाएका कुराहरू खान र व्यभिचार गर्न बालाकलाई सिकाएको थियो।”—प्रकाश २:१४.

९. बालाम को थियो र उसले आफ्नो सल्लाहद्वारा “इस्राएलीहरूको सामने ठेस लाग्ने ठेउको” कसरी राखिदियो?

मोशाको दिनमा इस्राएललाई सराप्न लाउन मोआबको राजा बालाकले यहोवाका मार्गहरूबारे केही जान्‍ने एक जना गैरइस्राएली अगमवक्‍ता बालामलाई घूस दिएको थियो। तर यहोवाले बालामलाई रोक्नुभयो। यहोवाले उसलाई इस्राएलीहरूका लागि आशिष र तिनीहरूको शत्रुहरूका लागि विपत्ति घोषणा गर्न लाउनु भयो। यसले गर्दा बालाक अप्रसन्‍न भयो। तर उसको अप्रसन्‍नतालाई हर्षमा परिणत गर्न बालामले अर्कै धूर्त आक्रमण प्रणाली अपनाउने सुझाव दियो। उसले इस्राएलका पुरुषहरूलाई घोर लैङ्‌गिक अनैतिकता र झूटा देवता बालको पूजा गर्न उक्साउन मोआबकी स्त्रीहरूको प्रयोग गऱ्‍यो! यो तरकिप सफल भयो। यहोवाको धार्मिक क्रोध दन्कियो। उहाँले इस्राएलका २४,००० व्यभिचारीहरूलाई सखाप पार्ने महामारी पठाउनु भयो। इस्राएलबाट खराबी हटाउन पूजाहारी पीनहासले निश्‍चित कदम चालेपछि मात्र त्यो महामारी रोकियो।—गन्ती २४:१०, ११; २५:१-३, ६-९; ३१:१६.

१०. पर्गाममको मण्डलीभित्र पनि ठेस लाग्ने कस्ता तत्त्वहरू घुसेका छन्‌ र परमेश्‍वरले तिनीहरूका गल्तीहरूलाई माफ गरिदिनु हुनेछ भनी तिनीहरूले किन ठानेको हुन सक्छ?

१० तर अहिले यूहन्‍नाको दिनमा पनि ठेस दिने त्यस्तै प्रकारका तत्त्वहरू पर्गामममा छन्‌ र? छन्‌! मण्डलीभित्र अनैतिकता र मूर्तिपूजा जस्ता कुराहरू घुसेका छन्‌। ती मसीहीहरूले प्रेरित पावलद्वारा दिइएका ईश्‍वरीय चेताउनीहरूलाई ध्यान दिएका छैनन्‌। (१ कोरिन्थी १०:६-११) तिनीहरूले सतावट सहेको हुनाकारण यहोवाले सायद तिनीहरूको लैङ्‌गिक गल्तीहरूलाई माफ दिइहाल्नु हुनेछ भनी तिनीहरू ठान्छन्‌। तर यस्तो सोचाइ गलत हो। तिनीहरूले दुष्टतालाई त्याग्नै पर्छ भनी येशू प्रष्टसित भन्‍नुहुन्छ।

११. (क) मसीहीहरू कुन कुराबारे सतर्क हुनुपर्छ र तिनीहरूले कस्तो सोचाइ अपनाउनु हुन्‍न? (ख) गत सालहरूमा मसीही मण्डलीबाट कति जना बहिष्कार भएका छन्‌ र अक्सर कुन कारणले गर्दा?

११ त्यस्तैगरी आज पनि मसीहीहरूले ‘परमेश्‍वरको अनुग्रहलाई लुच्चाइँमा फिराउनु’ अर्थात्‌ त्यसलाई खराब काम गर्ने एउटा निहुँ बनाउनु हुँदैन। (यहूदा ४) खराबीलाई घृणा र मसीही सद्‌गुणलाई पिछा गर्न हामीले ‘आफ्नो शरीरलाई वशमा’ ल्याउनै पर्छ। (१ कोरिन्थी ९:२७; भजनसंग्रह ९७:१०; रोमी ८:६) परमेश्‍वरको सेवामा जोशिला अथवा सतावटको सामने निष्ठावान छौं भन्दैमा हामीले लैङ्‌गिक अनैतिकतामा भाग लिने छुट पाएका हुँदैनौं। गत सालहरूमा विश्‍वव्यापी मसीही मण्डलीबाट खासगरि लैङ्‌गिक अनैतिकताकै कारण दसौं हजार बहिष्कृत भएका छन्‌। कुनै कुनै सालमा त यसरी बहिष्कृत हुनेहरूको सङ्‌खयाले पिओरको बालले गर्दा इस्राएलमा सखाप हुनेहरूको सङ्‌खयालाई पनि माथ गरेको छ। तिनीहरूजस्तै नहुन हामी सधैं सतर्क भएर बसौं!—रोमी ११:२०; १ कोरिन्थी १०:१२.

१२. पुरातन समयमा परमेश्‍वरका सेवकहरूलाई जस्तै आज मसीहीहरूमाथि पनि कुन सिद्धान्तहरू लागू हुन्छन्‌?

१२ पर्गाममका मसीहीहरूले ‘मूर्तिहरूलाई चढाएको खानेकुरा’ खाएको हुनाले पनि येशूले तिनीहरूलाई हप्काउनु हुन्छ। तर तिनीहरूले यसो कसरी गरे होलान्‌? कोरिन्थीहरूलाई पावलले भनेको कुरालाई ध्यानमा राखेर सोच्दा सम्भवतः तिनीहरूमध्ये कसैकसैले आफ्नो मसीही स्वतन्त्रताको दुरुपयोग गरिरहेको हुन सक्छ। तिनीहरूले जानाजानी अरूहरूको अन्तस्करणलाई ठेस पुऱ्‍याएको हुन सक्छ। सायद तिनीहरूले खास मूर्तिपूजा सम्बन्धी गतिविधिहरूमा पनि भाग लिइरहेका थिए होलान्‌। (१ कोरिन्थी ८:४-१३; १०:२५-३०) आज विश्‍वासी मसीहीहरूले आफ्नो मसीही स्वतन्त्रताको प्रयोग गर्दा निस्वार्थ प्रेम प्रदर्शित गर्नुपर्छ। अरूहरूलाई ठेस नपुगोस्‌ भनी तिनीहरू होसियार रहनु पर्छ। निश्‍चय पनि तिनीहरूले आधुनिक ढाँचाको मूर्तिपूजामा भाग लिनु हुँदैन। उदाहरणका लागि, टी भी, चलचित्र अथवा खेलकुद संसारका कलाकारहरूलाई आफ्नो पूजाको पात्र बनाउनु भएन। पैसालाई तथा आफ्नै पेटलाई ईश्‍वरलाई जतिकै महत्त्व दिनु हुँदैन!—मत्ती ६:२४; फिलिप्पी १:९, १०; ३:१७-१९.

पाखण्डीमतदेखि होसियार!

१३. अब येशूले पर्गाममका मसीहीहरूलाई के हप्की दिनु हुन्छ र यो मण्डलीलाई त्यसको खाँचो किन थियो?

१३ येशूले पर्गाममका मसीहीहरूलाई अझ यसो भनेर पनि हप्काउनु हुन्छ: “यसरी तिमीकहाँ कोही कोही निकोलाइटनहरूका शिक्षा त्यही किसिमले ग्रहण गर्नेहरू पनि छन्‌।” ( प्रकाश २:१५) यसै धर्मसम्प्रदायका कार्यहरूलाई एफिसीहरूले घृणा गरेको हुँदा येशूले अघिमात्र तिनीहरूको प्रशंसा गर्नु भएको थियो। तर पर्गाममका मसीहीहरूलाई चाहिं पाखण्डीमतबाट मण्डलीलाई मुक्‍त राख्ने सम्बन्धमा सरसल्लाहको खाँचो छ। मसीही स्तरहरूलाई कायम राख्नका लागि तिनीहरू अझै दृढ हुनु परेको छ। अनि मात्र येशूले यूहन्‍ना १७:२०-२३ मा प्रार्थना गर्नु भएको एकता कायम रहनेछ। “पक्का सिद्धान्तले अर्ती दिन र फटाहाहरूलाई दोषी ठहराउन” अत्यावश्‍यक छ।—तितस १:९.

१४. (क) सुरुदेखि नै मसीही मण्डलीले को कोसित सङ्‌घर्ष गर्दै आउनु परेको छ र तिनको वर्णन प्रेरित पावलले कसरी गरे? (ख) अलग्गिएर जाने समूहको पछिपछि लाग्ने मनोवृत्ति हुने सबैले येशूको कुन कुरालाई ध्यान दिनुपर्छ?

१४ सुरुदेखि नै मसीही मण्डलीले अहङ्‌कारी धर्मत्यागीहरूसित सङ्‌घर्ष गर्दै आएको छ। ती धर्मत्यागीहरूले यहोवाको प्रबन्धद्वारा उपलब्ध “शिक्षा” को विरुद्धमा “फूट र ठेस लाग्ने” मीठा र चापलुसी बोली बोल्ने गर्छन्‌। (रोमी १६:१७, १८) यस खतराबारे प्रेरित पावलले उनका प्रायः सबै नै पत्रहरूमा चेताउनी दिए। a आधुनिक समयमा येशूले साँचो मण्डलीलाई शुद्धता र एकतामा पुनःस्थापित गरिदिनु भएको छ। तापनि पाखण्डीमतको खतरा छँदै नै छ। अतः अलग्गै छुट्टिएर जाने पाखण्डीहरूको पछिपछि लाग्ने मनोवृत्ति कसैमा छ भने उनले येशूका यी शब्दहरूलाई ध्यान दिनुपर्छ: “यसकारण पश्‍चाताप गर, नत्रता म तिमीकहाँ छिट्टै आउँछु र मेरो मुखको तरवारले तिनीहरूसँग लडाइँ गर्नेछु।”—प्रकाश २:१६.

१५. पाखण्डीमतको सुरुआत कसरी हुन्छ?

१५ पाखण्डीमतको सुरुआत हुन्छ कसरी? सम्भवतः आफूलाई शिक्षक ठान्‍ने कुनै एक जनाले शङ्‌का-उपशङ्‌का उत्पन्‍न गर्न सक्छ। उसले बाइबलसम्बन्धी कुनै सच्चाइलाई विवादास्पद तुल्याउने कोशिश गर्न सक्छ। उदाहरणका लागि, (हामी अन्तिम दिनमा छौं भन्‍ने) कुनै बाइबलसम्बन्धी शिक्षाको सत्यताबारे उसले विवाद खडा गर्न सक्छ। यसप्रकार उसको पछिपछि लाग्ने केही व्यक्‍तिहरूको एउटा समूह अलग्गिएर जान सक्छ। (२ तिमोथी ३:१; २ पत्रुस ३:३, ४) अथवा यहोवाको कार्यप्रणालीको कसै कसैले आलोचना पनि गर्न सक्छ। घर-घर गएर राज्यको समाचार प्रचार गर्न नता आवश्‍यक छ न शास्त्रअनुसारै हो भन्दै सबै कामकुरा आरामसित गर्ने मनोवृत्तिलाई यस्ता तत्वहरूले बढावा दिन सक्छन्‌। तर येशू र उहाँका प्रेरितहरूको उदाहरण अनुकरण गर्दै प्रचार सेवामा भाग लिएमा त्यसप्रकारका व्यक्‍तिहरूले नम्र हुने मदत पाउन सक्थे; तर यसको विपरीत तिनीहरू अलग्गिएर सामूहिक रूपमा आकलझुकल बाइबल पढेजस्तो गर्दै आरामको जिन्दगी बिताउन चाहन्छन्‌। (मत्ती १०:७, ११-१३; प्रेरित ५:४२; २०:२०, २१) यस्ताहरूले येशूको मृत्युको स्मरणार्थ, रगतबाट अलग रहने शास्त्रीय प्रतिबन्ध, सांसारिक चाडबाड र तमाखुको प्रयोगबारे आफ्नै विचारलाई प्राथमिकता दिन्छन्‌। यसबाहेक तिनीहरू यहोवाको नाउँलाई समेत होच्याउन खोज्छन्‌; चालै नपाइकन तिनीहरू फेरि महान बेबिलोनकै छाडा गतिविधिमा भासिंदै जान्छन्‌। तर त्यो भन्दा पनि खराब त तिनीहरू शैतानबाट प्रेरित भएर ‘आफ्नै सङ्‌गी नोकरहरूलाई’ अर्थात्‌ एकताकाका आफ्नै भाइहरूलाई पिट्‌न थाल्छन्‌।—मत्ती २४:४९; प्रेरित १५:२९; प्रकाश १७:५.

१६. (क) धर्मत्यागीहरूको कारण ढलपल हुनेहरूले तुरुन्तै पश्‍चाताप किन गर्नुपर्छ? (ख) पश्‍चाताप गर्न नचाहनेहरूलाई के हुनेछ?

१६ धर्मत्यागीहरूको प्रभावमा परेर ढलपल हुनेहरूले येशूको आह्वान सुनेर तुरुन्तै पश्‍चाताप गर्नु अत्यावश्‍यक छ। तिनीहरूले धर्मत्यागीहरूको प्रचारलाई विष सम्झेर इन्कार गर्नुपर्छ! येशूले आफ्नो मण्डलीलाई दिनु हुने धार्मिक, पवित्र र मायालु सच्चाइको ठीक विपरीत धर्मत्यागीहरूका शिक्षाहरू डाह र द्वेषमा आधारित हुन्छन्‌। (लूका १२:४२; फिलिप्पी १:१५, १६; ४:८, ९) पश्‍चाताप गर्नै नचाहनेहरूसित प्रभु येशू वास्तवमा उहाँको “मुखको तरवारले लडाइँ” गर्नु हुनेछ। उहाँले पृथ्वीमा आफ्ना अनुयायीहरूसित बिताउनु भएको अन्तिम साँझमा तिनीहरू सबै एक होऊन्‌ भनेर प्रार्थना गर्नु भएको थियो। सोही एकतालाई कायम राख्न उहाँले आज आफ्ना जनहरूबीच एउटा सफाइ अभियान चलाउनु हुँदैछ। (यूहन्‍ना १७:२०-२३, २६) धर्मत्यागीहरूले येशूको दाहिने हातमा भएका ताराहरूको प्रेमपूर्ण सल्लाह र मदत इन्कार गर्छन्‌। यसकारण येशूले पनि तिनीहरूको इन्साफ गर्नु हुनेछ र “सबैभन्दा कडा सजाय” दिनु हुँदै तिनीहरूलाई “बाहिरको अन्धकारमा” फालिदिनु हुन्छ। तिनीहरू बहिष्कृत हुन्छन्‌। तिनीहरू परमेश्‍वरका जनहरूबीच खमिर भएर बस्न पाउँदैनन्‌।—मत्ती २४:४८-५१; २५:३०; १ कोरिन्थी ५:६, ९, १३; प्रकाश १:१६.

‘गुप्तमा रहेको मन्‍न र सेतो पत्थर’

१७. ‘जित्ने’ अभिषिक्‍त मसीहीहरूले के पुरस्कार पाउने छन्‌ र पर्गाममका मसीहीहरूले कुन कुन कुरासित मुकाबिला गर्नु परेको थियो?

१७ यहोवाको पवित्र आत्माको निर्देशनअनुसार येशूले दिनु भएको सल्लाह मान्‍नेहरूले एउटा महान पुरस्कार पाउनेछन्‌। उहाँ के भन्‍नुहुन्छ, सुन्‍नुहोस्‌! “जसको कान छ, त्यसले सुनोस्‌, आत्माले मण्डलीहरूलाई के भन्‍नुहुन्छ। जसले जित्छ, त्यसलाई गुप्तमा रहेको मन्‍न दिनेछु र म उसलाई एउटा सेतो पत्थर दिनेछु, त्यस पत्थरमा एउटा नयाँ नाउँ लेखिएको हुन्छ, जो पाउनेले बाहेक अरू कसैले जान्दैन।” ( प्रकाश २:१७) यसप्रकार स्मर्नाका मसीहीहरूलाई जस्तै पर्गाममका मसीहीहरूलाई पनि ‘जित्ने’ प्रोत्साहन दिइन्छ। पर्गामम अर्थात्‌ शैतानको सिंहासन भएको ठाउँमा बस्नेहरूले मूर्तिपूजाबाट आफूलाई सम्पूर्णतया अलग राख्नु पर्छ। तिनीहरूले बालाक, बालाम र निकोलाइटनहरूसित सम्बन्धित अनैतिकता, पाखण्डीमत र धर्मत्यागको मुकाबिला गर्नुपर्छ। यसो गरेमा ती अभिषिक्‍त मसीहीहरूलाई “गुप्तमा रहेको मन्‍न” खान निम्त्याइनेछ। यसको अर्थ के हो?

१८, १९. (क) यहोवाले इस्राएलीहरूलाई दिनु भएको मन्‍न के थियो? (ख) गुप्त मन्‍न के थियो? (ग) गुप्त मन्‍न खानुको अर्थ के हो?

१८ मोशाको समयमा इस्राएलीहरू उजाडस्थानबाट यात्रा गर्दा तिनीहरूलाई यहोवाले मन्‍न खुवाएर जीवित राख्नु भयो। त्यो मन्‍न गुप्त थिएन। विश्रामको दिनबाहेक प्रत्येक बिहान त्यो एउटा चमत्कारद्वारा देखा पर्थ्यो। त्यसका मसिना दानाहरूले भुइँलाई तुसारोले जस्तै ढपक्क ढाकेको हुन्थ्यो। इस्राएलीहरूलाई जीवित राख्ने यो एउटा ईश्‍वरीय प्रबन्ध थियो। यहोवाले मोशालाई यसै “रोटी” को केही भाग एउटा सुनको भाँडामा हालेर वाचाको सन्दुकभित्र “[इस्राएलीहरूको] पुस्तौं पुस्तौंसम्म” राख्न अह्राउनु भएको थियो।—प्रस्थान १६:१४, १५, २३, २६, ३३; हिब्रू ९:३, ४.

१९ कस्तो उपयुक्‍त प्रतीक! यस मन्‍नलाई बासस्थानको अति-पवित्र स्थानमा लुकाएर राखिन्थ्यो। सन्दुकको ढकनामाथि चाहिं यहोवाको उपस्थितिलाई सङ्‌केत गर्ने चमत्कारपूर्ण ज्योति देखा पर्थ्यो। (प्रस्थान २६:३४) कसैले पनि त्यस पवित्रस्थानमा पसेर गुप्तमा राखिएको मन्‍न खान पाउँदैन थिए। तथापि येशू भन्‍नुहुन्छ, उहाँका विजयी अभिषिक्‍त अनुयायीहरूले चाहिं त्यो “गुप्त मन्‍न” खान पाउनेछन्‌। तिनीहरूभन्दा अघि येशूले गर्नु भएझैं तिनीहरूले पनि “सकलीको नमुना गरी हातले बनाएको पवित्रस्थान भित्र होइन तर . . . स्वर्गमै प्रवेश” गर्न पाउनेछन्‌। (हिब्रू ९:१२, २४) तिनीहरूको पुनरुत्थान हुँदा तिनीहरूले अमरत्व धारण गर्नेछन्‌। तिनीहरू अमर र अविनाशी हुनेछन्‌। अतः तिनीहरूले त्यो अविनाशी “गुप्त मन्‍न” खान पाउनु यहोवाको अद्‌भुत वरदानको एउटा प्रतीक हो। विजेताहरूको त्यो सानो समूह साँच्चै नै कति भाग्यमानी हुन्‌।—१ कोरिन्थी १५:५३-५७.

२०, २१. (क) अभिषिक्‍त मसीहीहरूलाई एक एकवटा सेतो पत्थर दिनुको अर्थ के हो? (ख) जम्मा १,४४,००० सङ्‌ग मात्र सेता पत्थरहरू भएको हुनाकारण ठूलो भीडले के आशा राखेको छ?

२० उनीहरूले एक-एकवटा “सेतो पत्थर” पनि पाउँछन्‌। रोमी अदालतहरूमा न्यायको घोषणा गर्दा पत्थरहरूको प्रयोग गरिन्थ्यो। b सेतो पत्थरको अर्थ रिहाइ र कालो पत्थरको अर्थ सजाय अर्थात्‌ मृत्युदण्ड पनि हुन्थ्यो। येशूले पर्गाममका मसीहीहरूलाई “सेतो पत्थर” दिनुको अर्थ उहाँले तिनीहरूलाई निर्दोष, शुद्ध र सफा घोषित गर्नु हो। तर येशूका शब्दहरूको एउटा बेग्लै अर्थ पनि हुन सक्छ। रोमीहरूको समयमा विशेष समारोहहरूमा प्रवेश पाउनका लागि पनि सेतो पत्थरको प्रयोग गरिन्थ्यो। यसकारण विजयी अभिषिक्‍त मसीहीका लागि यो सेतो पत्थरले एउटा विशेष अर्थ राख्न सक्छ। उनले थुमाको विवाह हुँदा स्वर्गमा एउटा सम्माननीय स्थान पाउन सक्छन्‌। यस्ता पत्थरहरू जम्मा १,४४,००० लाई मात्र उपलब्ध छ।—प्रकाश १४:१; १९:७-९.

२१ तर तपाईं चाँहि तिनीहरूका सङ्‌गी उपासकहरूको ठूलो भीडमध्येको एक हुनुहुन्छ भने के तपाईंको चाहिं केही वास्तै गरिने छैन? पटक्कै होइन! स्वर्गमा प्रवेश दिने सेतो पत्थर सायद तपाईंले नपाउनु होला। तर धैर्य धारण गर्नु भयो भने चाहिं महासङ्‌कष्टमा बाँच्नु भएर तपाईंले एउटा पार्थिव प्रमोदवन पुनःस्थापित गर्ने आनन्दमय काममा भाग लिन सक्नुहुनेछ। पुनरुत्थान भएका मसीही पूर्व समयका विश्‍वासी जनहरू र हालै मरेका केही “अरू भेडाहरू” ले पनि तपाईंलाई उक्‍त काममा साथ दिनेछन्‌। अन्ततः मृतावस्थाबाट मुक्‍त गराइएका सबैले नै पुनरुत्थानद्वारा पार्थिव प्रमोदवनमा जीवनको वरदान पाउनेछन्‌।—भजनसंग्रह ४५:१६; यूहन्‍ना १०:१६; प्रकाश ७:९, १४.

२२, २३. अभिषिक्‍त मसीहीहरूलाई दिने सेतो पत्थरमा लेखिएको नाउँको महत्त्व के हो र यसबाट के प्रोत्साहन पाउन सकिन्छ?

२२ पत्थरमा लेखिएको नयाँ नाउँ के हो? नाउँले व्यक्‍तिलाई चिनाउँछ र उसलाई अरू व्यक्‍तिहरूबाट छुट्ट्याउने मदत पनि दिन्छ। विजयी भएर आफ्नो पार्थिव जीवन समाप्त गरेपछि मात्र ती अभिषिक्‍त मसीहीहरूलाई त्यो सेतो पत्थर दिइन्छ। यसर्थ स्वर्गमा येशूसित एक हुने तिनीहरूको विशेषाधिकारसित यो पत्थरमा लेखिएको नाउँ स्पष्टतः सम्बन्धित छ। त्यो विशेषाधिकार शाही सेवा गर्न पाउने एउटा खास सुअवसर हो जसको आनन्द उठाउन र मूल्याङ्‌कन गर्न परमेश्‍वरको राज्यका उत्तराधिकारीहरूले मात्र सक्छन्‌। अतः त्यो नाउँले एउटा ओहदालाई बोध गराउँछ जसलाई “पाउनेले बाहेक अरू कसैले जान्दैनन्‌।”—प्रकाश ३:१२-सँग तुलना गर्नुहोस्‌।

२३ “आत्माले मण्डलीहरूलाई के भन्‍नुहुन्छ” सो यूहन्‍नावर्गकाहरूले सुन्‍ने र त्यसलाई प्रयोगमा ल्याउने कति ठूलो कारण छ! यसले गर्दा यूहन्‍नावर्गकाहरू पृथ्वीमा रहुञ्जेल तिनीहरूको सङ्‌गतिको आनन्द उठाउँदै विश्‍वासी भएर सेवा गर्न र यहोवाको राज्यको घोषणा गर्ने काममा भाग लिन ठूलो भीडकाहरू पनि अति नै प्रोत्साहित हुन्छन्‌!

[फुटनोटहरू]

b न्यु वर्ल्ड ट्रान्सलेशन रेफ्‌रेन्स बाइबल-मा प्रेरित २६:१० र त्यसको पादटिप्पणी पनि हेर्नुहोस्‌।

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ ४३-मा भएको चित्र]

गैर मसीही उपासनाका यी व्यापक प्रमाणहरू बर्लिनको पर्गामम म्युजियममा प्रदर्शित छन्‌।

[पृष्ठ ४५-मा भएको चित्र]

अलिकता मन्‍नलाई वाचाको सन्दुकभित्र लुकाइ राखिएको थियो। विजयी अभिषिक्‍त जनहरूलाई त्यो गुप्त मन्‍न दिनुको अर्थ तिनीहरूले अमरत्व पाउनु हो

[पृष्ठ ४५-मा भएको चित्र]

सेतो पत्थर थुमाको विवाहमा प्रवेश पाउनेहरूका लागि हो