सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

येशू प्रोत्साहन दिन आउनु हुन्छ

येशू प्रोत्साहन दिन आउनु हुन्छ

अध्याय ४

येशू प्रोत्साहन दिन आउनु हुन्छ

१. यूहन्‍नाले अब कसलाई सम्बोधन गर्दै लेख्छन्‌ र यस समाचारमा आज कसले गहिरो चासो लिनु पर्छ?

 अब हुन लागेको कुरामा परमेश्‍वरका जनहरूका मण्डलीहरूसित सम्बन्धित सबै जनाले गहिरो चासो लिनु पर्छ। यहाँ अब एकपछि अर्को समाचारहरूको श्रृंखला प्रस्तुत गरिन्छ। “तोकिएको समय” नजिक आउँदा ती समाचारहरूको खास प्रयोग हुनेछ। (प्रकाश १:३) आफ्नै अनन्तकालीन लाभका लागि हामीले ती उद्‌घोषणाहरूलाई ध्यान दिनु पर्छ। रेकर्ड यसप्रकार छ: “यूहन्‍नाबाट एशियामा भएका सातैवटा मण्डलीलाई—उहाँबाट, जो हुनुहुन्छ, हुनुहुन्थ्यो र हुनआउनुहुनेछ, उहाँको सिंहासनको सामने भएका सातै आत्माहरूबाट, औ विश्‍वासयोग्य साक्षी, मरेकाबाट बिउँतनेहरूमध्ये ज्येष्ठ र पृथ्वीका राजाहरूका मालिक, येशू ख्रीष्टबाट, तिमीहरूलाई अनुग्रह र शान्ति।”—प्रकाश १:४, ५क.

२. (क) “सात” सङ्‌ख्या कुन कुराको प्रतीक हो? (ख) ती “सातैवटा मण्डलीहरूलाई” पठाएको समाचार प्रभुको दिनमा कसमाथि लागू हुन्छ?

यहाँ यूहन्‍नाले “सातैवटा मण्डलीलाई” सम्बोधन गर्छन्‌ र यी मण्डलीहरूको नाउँ भविष्यवाणीमा हामीलाई पछि बताइनेछ। “सात” भन्‍ने सङ्‌ख्या प्रकाशको पुस्तकमा निकै पटक दोहोरिन्छ। यो सङ्‌ख्याबाट परमेश्‍वर र उहाँको अभिषिक्‍त मण्डलीसित सम्बन्धित कुराहरूको परिपूर्णता बोध हुन्छ। तर आज प्रभुको दिनमा परमेश्‍वरका जनहरूका दसौं हजार मण्डलीहरू विश्‍वभरि स्थापित भएका छन्‌। यसकारण प्रथमतः अभिषिक्‍त जनहरूका “सातैवटा मण्डलीलाई” भनिएको कुरा निश्‍चय पनि आज परमेश्‍वरका जम्मै जनहरूमा लागू हुनुपर्छ। (प्रकाश १:१०) हो, पृथ्वीको हर भागमा रहने यहोवाका साक्षीहरूका जम्मै मण्डलीहरू र उनीहरूसित सम्बन्धित सबै मानिसहरूका लागि एउटा विशेष समाचार यूहन्‍नासित छ।

३. (क) यूहन्‍नाको अभिवादनअनुसार “अनुग्रह र शान्ति” कहाँबाट आउँछ? (ख) प्रेरित पावलले प्रयोग गरेको कुन अभिव्यक्‍ति यूहन्‍नाको अभिवादनसित मिल्दोजुल्दो छ?

“अनुग्रह र शान्ति”—यी गुणहरू कति प्रिय छन्‌! खासगरी ती गुणहरूको स्रोतलाई हामीले मूल्याङ्‌कन गर्दा! ती गुणहरूको स्रोत “स्वयं” सर्वसत्ताधारी प्रभु यहोवा हुनुहुन्छ। उहाँ नै “अनन्तको राजा” हुनुहुन्छ जो “अनादिदेखि अनन्तसम्म” जीवित रहनु हुन्छ। (१ तिमोथी १:१७, NW; भजनसंग्रह ९०:२) तर यहाँ “सातै आत्माहरू” पनि सम्मिलित छन्‌। तिनीहरूले परमेश्‍वरको सक्रिय शक्‍ति अथवा पवित्र आत्माको परिपूर्ण गतिशीलतालाई बोध गराउँछन्‌। तिनीहरूले भविष्यवाणीतर्फ ध्यान दिनेहरूलाई समझशक्‍ति र आशिष प्रदान गर्छन्‌। तर यहाँ विशेष भूमिका निभाउनु हुने व्यक्‍ति “येशू ख्रीष्ट” पनि हुनुहुन्छ। उहाँ “अनुग्रह र सत्यले पूर्ण” हुनुहुन्थ्यो भनेर यूहन्‍नाले पछि लेखे। (यूहन्‍ना १:१४) अतः प्रेरित पावलले कोरिन्थको मण्डलीलाई लेखेको दोस्रो पत्रको अन्तमा जुन विचार पाइन्छ, सोही विचार यूहन्‍नाले पनि आफ्नो अभिवादनमा चलाएका छन्‌ अर्थात्‌: “प्रभु येशू ख्रीष्टको अनुग्रह, परमेश्‍वरको प्रेम र पवित्र आत्माको सङ्‌गति तिमीहरू सबैसित होऊन्‌।” (२ कोरिन्थी १३:१४) यी शब्दहरू आज पनि सच्चाइलाई प्रेम गर्ने प्रत्येक जनमाथि लागू होऊन्‌!—भजनसंग्रह ११९:९७.

“विश्‍वासी साक्षी”

४. यूहन्‍नाले येशूको वर्णन कसरी गर्दै जान्छन्‌ र यी वर्णनात्मक अभिव्यक्‍तिहरू किन उपयुक्‍त छन्‌?

सारा ब्रह्‍माण्डमा यहोवापछि सबैभन्दा महिमावान व्यक्‍ति येशू हुनुहुन्छ। यस तथ्यलाई स्वीकार्दै यूहन्‍नाले येशूलाई “विश्‍वासयोग्य साक्षी, मरेकाबाट बिउँतनेहरूमध्ये ज्येष्ठ र पृथ्वीका राजाहरूका मालिक” भनेर वर्णन गर्छन्‌। (प्रकाश १:५ख) आकाशमा चन्द्रमाले आफ्नो स्थायी ठाउँ पाएझैं, येशू पनि यहोवाको ईश्‍वरत्वको सबैभन्दा महान साक्षी सदाका लागि साबित हुनु भएको छ। (भजनसंग्रह ८९:३७) बलिदानरूपी मृत्युसम्मै उहाँले आफ्नो निष्ठा कायम राख्नु भएपछि उहाँ नै अमरत्वसहितको आत्मिक जीवनमा बिउँताइने प्रथम मानिस पनि हुनु भयो। (कलस्सी १:१८) अहिले उहाँ स्वयं यहोवाको सामने उपस्थित हुनुहुन्छ। “स्वर्ग र पृथ्वीमा सारा अधिकार”ले सुसम्पन्‍न उहाँ पृथ्वीका सबै राजाहरू भन्दा उच्च हुनुहुन्छ। (मत्ती २८:१८; भजनसंग्रह ८९:२७; १ तिमोथी ६:१५) उहाँलाई १९१४ मा पृथ्वीका राष्ट्रहरूमाथि शासन गर्न राजा बनाइयो।—भजनसंग्रह २:६-९.

५. (क) प्रभु येशू ख्रीष्टका लागि यूहन्‍नाले कसरी मूल्याङ्‌कन व्यक्‍त गरिरहन्छन्‌? (ख) येशूको सिद्ध मानव जीवनको वरदानबाट कसले लाभ उठाउँछन्‌ र अभिषिक्‍त मसीहीहरू एउटा विशेष आशिषको साझेदार कसरी भएका छन्‌?

यूहन्‍नाले प्रभु येशू ख्रीष्टको मूल्याङ्‌कन यी शब्दहरूमा गरी नै रहन्छन्‌: “हामीलाई प्रेम गर्नुहुने, र आफ्नो रगतले हाम्रा पापबाट हामीलाई छुड़ाउनुहुने, र हामीलाई एउटा राज्य र उहाँका पिता परमेश्‍वरका पूजाहारीहरू तुल्याउनुहुने, उहाँलाई महिमा र पराक्रम सदा सर्वदा होस्‌। आमिन।” ( प्रकाश १:५ग, ६) येशूले आफ्नो सिद्ध मानव जीवन दिनु भयो ताकि उहाँमाथि विश्‍वास गर्नेहरूले सिद्ध जीवन पुनः प्राप्त गर्न सकून्‌। यिनीहरूमध्ये तपाईं प्रिय पाठक पनि सम्मिलित हुन सक्नुहुन्छ! (यूहन्‍ना ३:१६) तर येशूको बलिदानरूपी मृत्युले यूहन्‍नाजस्ता अभिषिक्‍त मसीहीहरूका लागि एउटा विशेष आशिष पाउने बाटो पनि खोलिदियो। यिनीहरू येशूले चढाउनु भएको छुटकाराको बलिदानको आधारमा धर्मी ठहरिएका छन्‌। यिनीहरूले येशूले जस्तै पार्थिव जीवनसित सम्बद्ध सबै आशा र इच्छालाई त्याग्छन्‌। यो सानो बगालकाहरूलाई परमेश्‍वरको आत्माले नयाँ जन्म दिएको हुन्छ। यिनीहरू पुनःरुत्थानपछि येशू ख्रीष्टसित उहाँको स्वर्गीय राज्यमा राजाहरू र पूजाहारीहरूको हैसियतमा सेवा गर्ने आशा राख्छन्‌। (लूका १२:३२; रोमी ८:१८; १ पत्रुस २:५; प्रकाश २०:६) कस्तो महान विशेषाधिकार! नभन्दै, यति दृढतासाथ यूहन्‍नाले महिमा र शक्‍ति येशूकै हो भने!

“बादलहरूका साथ आउनुहुन्छ”

६. (क) यूहन्‍नाले येशू “बादलहरूका साथमा आउनु” हुनेबारे के घोषणा गर्छन्‌ र येशूको कुन चाहिं भविष्यवाणीको सम्झना यूहन्‍नालाई भएको हुन सक्छ? (ख) येशू कसरी ‘आउनु’ हुनेछ र पृथ्वीमा कसले विलाप गर्नेछन्‌?

यसपछि यूहन्‍ना हर्षोल्लाससाथ यो घोषणा गर्छन्‌: “हेर, उहाँ बादलहरूका साथमा आउनुहुन्छ, र हरेक आँखाले र उहाँलाई छेंड़नेहरूले उहाँलाई देख्नेछन्‌, औ पृथ्वीका सबै कुलहरूले उहाँको निम्ति बिलौना गर्नेछन्‌। यसै होस्‌। आमिन।” ( प्रकाश १:७) येशूले केही समयअघि जगतको अन्तबारे गर्नु भएको भविष्यवाणीको सम्झना यहाँ यूहन्‍नालाई भएको हुन सक्छ। येशूले त्यहाँ यसो भन्‍नु भएको थियो: “तब मानिसको पुत्रको चिन्ह आकाशमा देखा पर्नेछ औ पृथ्वीका सब जातिहरू विलाप गर्नेछन्‌ र तिनीहरूले मानिसको पुत्रलाई आकाशका बादलहरूमा शक्‍ति र ठूलो महिमासित आउँदैगरेको देख्नेछन्‌।” (मत्ती २४:३, ३०) अतः येशू ‘आउनु’को अर्थ राष्ट्रहरूमाथि यहोवाको न्यायिक फैसला कार्यान्वयन गर्नु हो। यसले गर्दा पृथ्वीमा महत्त्वपूर्ण परिवर्तनहरू हुनेछन्‌। “पृथ्वीका सबै कुलहरूले” येशूको राजत्वको वास्तविकतालाई अवहेलना गरेका छन्‌। यसकारण तिनीहरूले साँच्चै नै “सर्वशक्‍तिमान परमेश्‍वरको क्रोध” अनुभव गर्नै पर्छ।—प्रकाश १९:११-२१; भजनसंग्रह २:२, ३, ८, ९.

७. येशूलाई “हरेक आखाँले” तथा अनाज्ञाकारीहरू समेतले कसरी “देख्नेछन्‌”?

येशूले आफ्ना अनुयायीहरूसित बिताउनु भएको आखिरी साँझमा यसो भन्‍नु भएको थियो: “अझ अलि बेर, औ संसारले मलाई फेरि कहिल्यै देख्नेछैन।” (यूहन्‍ना १४:१९) तर यसो हो भने, उहाँलाई “हरेक आँखाले” फेरि कसरी देख्न सक्नेछन्‌ त? येशूका शत्रुहरूले उहाँलाई तिनीहरूको स्वाभाविक आँखाले देख्ने छन्‌ भनी हामीले आशा गर्नु हुँदैन। किनभने येशूको स्वर्गारोहणपछि उहाँ अब “कोही पनि पुग्न नसक्ने ज्योतिमा” रहनु हुन्छ र उहाँलाई “कुनै मानिसले देखेको छैन नता देख्नसक्‍तछ” भनेर प्रेरित पावलले भनेका छन्‌। (१ तिमोथी ६:१६) यसकारण यहाँ यूहन्‍नाले “देख्नु” शब्दलाई “बुझ्नु”को अर्थमा चलाएका छन्‌। जसरी परमेश्‍वरका अदृश्‍य गुणहरूलाई हामी उहाँले सृजनु भएका चीजबीचद्वारा देख्न अथवा बुझ्न सक्छौं। (रोमी १:२०) अतः येशू “बादलहरूका साथमा आउनु हुन्छ” भन्‍नुको अर्थ बादलले ढाकेको सूर्य जस्तै येशू हाम्रा स्वाभाविक आँखाबाट अदृश्‍य हुनु हुनेछ। तर दिउँसो सूर्यलाई बादलले ढाके तापनि हाम्रो वरिपरि ज्योति चाहिं हुन्छ। बादलपछाडि सूर्य छँदैछ भनी हामी विश्‍वस्त हुन्छौं। यसैप्रकार प्रभु येशू अदृश्‍य हुनु भए तापनि उहाँ “बल्दो आगोमा प्रकाश” हुनु हुनेछ र “परमेश्‍वरलाई नचिन्‍नेहरूलाई र हाम्रा प्रभु येशूको सुसमाचार नमान्‍नेहरूलाई बदला” लिनु हुनेछ। यिनीहरू पनि “उहाँलाई देख्न” बाध्य हुनेछन्‌।—२ थिस्सलोनिकी १:६-८; २:८.

८. (क) सा.यु. ३३ सालमा येशूलाई “छेंड्‌नेहरू” को थिए र आज ती को हुन्‌? (ख) येशू अब पृथ्वीमा नहुनु भए तापनि उहाँलाई मानिसहरूले कसरी ‘छेंड्‌न’ सक्छन्‌?

येशूलाई “छेंड्‌नेहरूले” पनि उहाँलाई ‘देख्नेछन्‌’। तर यिनीहरू चाहिं को होलान्‌? सा.यु. ३३ मा येशूले मृत्युदण्ड भोग्नु हुँदा रोमी सिपाहीहरूले उहाँलाई साँच्चै नै छेंडेका थिए। यस हत्याका लागि यहूदीहरू पनि दोषी थिए किनभने पेन्तिकोसको दिनमा उपस्थित केही यहूदीहरूलाई पत्रुसले यसो भने: “येशू जसलाई तपाईंहरूले क्रूसमा टाँग्नुभयो, परमेश्‍वरले उहाँलाई प्रभु र ख्रीष्टसमेत तुल्याउनुभयो।” (प्रेरित २:५-११, ३६; साथै, जकरिया १२:१०; यूहन्‍ना १९:३७-सित पनि तुलना गर्नुहोस्‌) तर ती रोमीहरू र यहूदीहरू त करीब २,००० वर्षअघि नै मरी सके। यसकारण आज ‘उहाँलाई छेंड्‌नेहरू’ लाक्षणिक रूपमा ती राष्ट्रहरू र मानिसहरू हुन्‌ जसले त्यही घृणास्पद मनोवृत्ति देखाउँछन्‌ जस्तो कि येशूलाई मार्ने बेलामा व्यक्‍त गरिएको थियो। तथापि, येशू आज पृथ्वीमा हुनुहुन्‍न। तापनि येशूबारे साक्षी दिने यहोवाका साक्षीहरूलाई विरोधीहरूले सताउँदा अथवा यसप्रकारको सतावटलाई आफ्नो स्वीकृति दिंदा तिनीहरूले स्वयं येशूलाई ‘छेंडेको’ जस्तै हुन्छ।—मत्ती २५:३३, ४१-४६.

“अल्फा र ओमेगा”

९. (क) अब को बोल्नु हुन्छ र प्रकाशको पुस्तकमा उहाँ जम्मा कति पटक बोल्नु हुन्छ? (ख) यहोवाले आफूलाई “अल्फा र ओमेगा” अनि “सर्वशक्‍तिमान” भनेर सम्बोधन गर्नुको अर्थ के हो?

अब हेर्नुहोस्‌, एउटा महा अद्‌भुत कुरा हुन लागेको छ! सर्वसत्ताधारी प्रभु यहोवा स्वयं बोल्नु हुनेछ। र यो उचित पनि छ। किनकि उहाँ नै हाम्रा महान शिक्षक र प्रकाशको पुस्तकको असली स्रोत हुनुहुन्छ! उघारिन लागेका दर्शनहरूका लागि उहाँको वाणी एउटा प्रस्तावना जस्तो हुनेछ। (यशैया ३०:२०) हाम्रा परमेश्‍वरले यो घोषणा गर्नुहुन्छ: “अल्फा र ओमेगा मै हुँ, . . . सर्वशक्‍तिमान, जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो र जो हुनआउनुहुनेछ।” ( प्रकाश १:८) प्रकाशको पुस्तकमा यहोवा स्वर्गबाट तीन पटक बोल्नु हुन्छ र तीमध्ये यो पहिलो पटक हो। (प्रकाश २१:५-८; २२:१२-१५ पनि हेर्नुहोस्‌) अल्फा र ओमेगा युनानी वर्णमालाका प्रथम र आखिरी अक्षर हुन्‌ र उक्‍त कुरा प्रथम शताब्दीका मसीहीहरूले तुरुन्तै बुझेको हुनुपर्छ। यहोवाले ती दुईवटा अक्षरहरू आफ्नो निम्ति प्रयोग गर्नु हुँदा उहाँभन्दा अघि अरू कोही पनि सर्वशक्‍तिमान परमेश्‍वर थिएन, नता उहाँपछि कोही हुनेछ भनेर जोड दिनु भएको हो। ईश्‍वरत्त्वको विवादलाई उहाँले सफलतापूर्वक सदाका लागि अन्त गर्नुहुनेछ। आफ्नो सारा सृष्टिमाथि उहाँ एकमात्र सर्वशक्‍तिमान परमेश्‍वर र परम सर्वसत्ताधारी साबित हुनु हुनेछ।—यशैया ४६:१०; ५५:१०, ११-सित तुलना गर्नुहोस्‌.

१०. (क) यूहन्‍नाले अब आफ्नोबारे के व्याख्या गर्छन्‌ र त्यतिखेर उनी कुन ठाउँमा थुनिएका थिए? (ख) यूहन्‍नाले लेखेका कुराहरूलाई मण्डलीहरूमा पुऱ्‍याउन कसले हात बढाएको हुनपर्छ? (ग) आज पनि आध्यात्मिक आहार अक्सर कसरी उपलब्ध गराइन्छ?

१० सबै कुराको परिणाम यहोवाको इच्छाबमोजिम नै हुनेछ भनी यूहन्‍ना विश्‍वस्त छन्‌ र सोही विश्‍वस्तता साथ उनले विश्‍वासमा भएका आफ्ना सङ्‌गीहरूलाई यसो भन्छन्‌: “म यूहन्‍ना, तिमीहरूको भाइ, जो तिमीहरूका साथसाथै येशूमा भएका कष्ट, राज्य र धीरजमा सहभागी छु, परमेश्‍वरको वचन र येशू ख्रीष्टको साक्षीको निम्ति पत्मोस नाउँको टापूमा थिएँ।” ( प्रकाश १:९) हो, सुसमाचारको खातिर यूहन्‍ना पत्मोसको टापूमा कैदी थिए। आफ्ना भाइहरूसित कष्टहरू सहँदै उनी परमेश्‍वरको आउने राज्यमा भाग लिने आशा गरिरहेका थिए र यसै बेलामा उनले प्रकाशको पुस्तकको प्रथम दर्शन पनि देखे। यी दर्शनहरूबाट उनी निस्सन्देह धेरै नै प्रोत्साहित भए। जसरी आज पनि ती दर्शनहरूको पूर्ति देखेर यूहन्‍नावर्गकाहरू उत्साहित हुन्छन्‌। त्यतिखेर यूहन्‍ना थुनामा परेको हुँदा उनले प्रकाशको पुस्तक मण्डलीहरूमा कसरी पठाउन सके, सो हामी जान्दैनौं। (प्रकाश १:११; २२:१८, १९) तर अवश्‍य पनि यस काममा यहोवाका स्वर्गदूतहरूले हात बढाएको हुनुपर्छ। किनकि आज पनि सरकारी प्रतिबन्ध तथा बाधाविघ्नको सामना गर्दा यहोवाका विश्‍वासी साक्षीहरूलाई स्वर्गदूतहरूले अक्सर बचाउने गर्छन्‌। परिणामस्वरूप, सच्चाइका लागि भोकाएका आफ्ना भाइहरूकहाँ यी विश्‍वासी साक्षीहरूले ठीक-ठीक समयमा भोजन पुऱ्‍याउन सकेका छन्‌।—भजनसंग्रह ३४:६, ७.

११. यूहन्‍नाले जस्तै आज यूहन्‍नावर्गले पनि कुन विशेषाधिकारको ठूलो मोल गर्छन्‌?

११ यहोवाले मण्डलीहरूका निम्ति यूहन्‍नालाई एउटा सञ्चार माध्यमको रूपमा प्रयोग गर्नु भयो। यसरी प्रयोग हुन पाएकोमा यूहन्‍नाले कति गहिरो मूल्याङ्‌कन व्यक्‍त गरे होलान्‌! र त्यसै गरी आज पनि यूहन्‍नावर्गले परमेश्‍वरको घरानालाई “ठीक ठीक समयमा खान” दिने आफ्नो विशेषाधिकारको ठूलो मोल गर्छन्‌। (मत्ती २४:४५) तपाईंलाई पनि अनन्त जीवन पाउने महिमावान लक्ष्य प्राप्त गर्न यो आध्यात्मिक आहारको प्रबन्धले बलियो तुल्याओस्‌।—हितोपदेश ३:१३-१८; यूहन्‍ना १७:३.

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ २१-मा भएको पेटी]

कठिन समयहरूमा पनि आध्यात्मिक आहार उपलब्ध गराएको

यी अन्तिम दिनहरूमा यहोवाका साक्षीहरूले ठूलो सतावट र कठिनाइ अनुभव गर्नु परेको छ। आफ्नो विश्‍वासलाई बलियो राख्न उनीहरूले आध्यात्मिक आहार पाउनु अत्यावश्‍क छ। तथापि, उनीहरूका लागि प्रायःजसो यथेष्ट मात्रामा खुराक उपलब्ध गराउन सम्भव भएको छ। यसका निम्ति यहोवाले आफ्नो शक्‍तिको विशेष प्रदर्शन गर्नु भएकोमा हामी अति नै कृतज्ञ छौं।

उदाहरणका लागि, हिटलरको समयमा क्रूर नाजी अधिकारीहरूले जर्मनीमा द वाचटावर माथि सरकारी प्रतिबन्ध लगाएका थिए। तापनि यहोवाका साक्षीहरूले यस पत्रिकाको स्टेन्सिल प्रतिलिपिहरू बनाएर वितरण गर्थे। तर एक दिन ह्‍यामबर्ग शहरमा यी प्रतिलिपिहरू बनाउने घरमाथि गिस्टापोले हमला गरे। घर सानो थियो र त्यहाँ कुनै पनि कुरा राम्ररी लुकाउने ठाउँ थिएन। टाइपराइटरलाई एउटा दराजभित्र छाडियो र स्टेन्सिल प्रतिलिपि बनाउने यन्त्रलाई चाहिं तल्लो तलाको कोठामा आलुको बस्ताभित्र राखियो। त्यो बस्तापछाडि हाम्रा पत्रिकाहरूले टन्‍नै भरिएको सुटकेस पनि थियो! गिस्टापो अफसरहरूले ती नदेख्ने त कुरै थिएन! तर के भयो? दराज खोलेर हेर्ने गिस्टापोले टाइपराइटरै नदेख्ने ढंगमा दराज खोल्यो। तल्लो तलाको कोठाबारे चाहिं घरधनी यसो भन्छन्‌: “जुन कोठामा वाचटावर ले भरिभराउ सुटकेस थियो, त्यही कोठाको ठीक बीचमा ती तीन जना अफसरहरू उभिए। तर तीमध्ये कुनैले पनि त्यो सुटकेस देखेनन्‌; तिनीहरू एक छिनका लागि मानौं अन्धा नै भए जस्तो छ।” ईश्‍वरको गुण मान्दै यो भन्‍नु पर्छ कि यस अद्‌भुत घटनाको परिणामस्वरूप कठिन र खतरायुक्‍त समयहरूमा पनि यस परिवारले आध्यात्मिक आहार उपलब्ध गराइ रहन सके।

सन्‌ १९६० को दशकमा नाइजेरिया र नाइजेरियाबाट स्वाधीनता प्राप्त बायाफ्रा प्रान्तबीच गृह युद्ध चल्यो। बायाफ्रालाई चारैतिरबाट नाइजेरियाले घेरेको हुनाकारण बाहिरी संसारसित सम्पर्क राख्ने बायाफ्राको एक मात्र माध्यम एउटा सानो हवाइ अड्डा थियो। बायाफ्राका साक्षीहरूले पाउनु पर्ने आध्यात्मिक आहार नपाउने खतरा देखियो। तर १९६८ को सुरु मै बायाफ्राका अधिकारीहरूले आफ्ना एक जना निजामती सेवकलाई एउटा ठूलो जिम्मेवारीका साथ युरोपमा खटाइ दिए। अनि अर्को सेवकलाई चाहिं बायाफ्राको हवाइ अड्डामा काम गर्न नियुक्‍त गरे। यी दुवै जना यहोवाका साक्षीहरू थिए। अब बायाफ्रा र बाहिरी संसारबीचको एक मात्र सम्पर्क माध्यमको एक एक छेउमा ती दुई जना बस्न पाए। ती दुवैको विचारमा यो प्रबन्ध स्वयं यहोवाले नै गर्नु भएको थियो। अतः बायाफ्रामा आध्यात्मिक आहार भित्राउने खतराग्रस्त कार्य गर्न उनीहरू दुवै अघि बढे। उनीहरूले युद्ध चलुञ्जेल यो कार्य गर्न सके। ती मध्ये एक जनाले यसबारे यो टिप्पणी गरे: “यसप्रकारको प्रबन्ध मानिसले कुनै हालतमा पनि मिलाउन सक्‍तैन थियो।”

[पृष्ठ १९-मा भएको पेटी]

प्रकाशको पुस्तकका प्रतीकात्मक संख्याहरू

संख्या लाक्षणिक अर्थ

कुनै कुरालाई पक्कागरी स्थापित गर्छ।

(प्रकाश ११:३, ४; व्यवस्था १७:६-सित तुलना गर्नुहोस्‌।)

कुनै कुरामाथि जोड तथा बल दिंदा प्रयोग गरिन्छ।

(प्रकाश ४:८; ८:१३; १६:१३, १९)

विश्‍वव्यापी अथवा चौतर्फी सन्तुलित नापलाई सङ्‌केत गर्छ।

(प्रकाश ४:६; ७:१, २; ९:१४; २०:८; २१:१६)

असिद्धता, असामान्य वा अनौठो कुराहरूलाई चित्रण गर्छ।

(प्रकाश १३:१८; २ शमूएल २१:२०.)

यहोवाका अथवा शैतानका उद्देश्‍यहरूबारे ईश्‍वरद्वारा

निर्धारित सम्पूर्णतालाई प्रतिनिधित्व गर्दछ।

(प्रकाश १:४, १२, १६; ४:५; ५:१, ६; १०:३, ४; १२:३)

१० पार्थिव कुराहरू सम्बन्धी शारीरिक सम्पूर्णता।

(प्रकाश २:१०; १२:३; १३:१; १७:३, १२, १६)

१२ स्वर्ग वा पृथ्वीमा ईश्‍वरद्वारा स्थापित संगठनहरू।

(प्रकाश ७:५-८; १२:१; २१:१२, १६; २२:२)

२४ यहोवाको प्रशस्त (दोब्बर) पार्थिव वा स्वर्गीय

संगठनात्मक प्रबन्ध। (प्रकाश ४:४)

प्रकाशमा उल्लिखित केही अंकहरूलाई चाहिं अक्षरशः बुझ्नु पर्छ। यसो गर्नमा अक्सर त्यसको प्रसंगले मदत दिन्छ। (प्रकाश ७:४, ९; ११:२, ३; १२:६, १४; १७:३, ९-११; २०:३-५.)