सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

योद्धा राजा आरमागेडोनमा विजयी हुनुहुन्छ

योद्धा राजा आरमागेडोनमा विजयी हुनुहुन्छ

अध्याय ३९

योद्धा राजा आरमागेडोनमा विजयी हुनुहुन्छ

दर्शन १३—प्रकाश १९:११-२१.

विषय: येशूले शैतानको रीतिरिवाजलाई नष्ट पार्न स्वर्गका सेनाहरूको अगुवाइ गर्नुहुन्छ

पूर्ति समयावधि: महान बेबिलोनको विनाशपश्‍चात्‌

१. आरमागेडोन के हो र कुनकुन घटनापछि त्यो सुरु हुनेछ?

 आरमागेडोन—धेरैका लागि यो एउटा डरलाग्दो शब्द हो! तर धार्मिकताका प्रेमीहरूका लागि चाहिं यसले त्यो प्रतीक्षित दिनलाई सूचित गराउँछ जब यहोवाले राष्ट्रहरूमाथि आफ्नो अन्तिम इन्साफ कार्यान्वयन गर्नु हुनेछ। त्यो कुनै मानिसको युद्ध होइन। त्यो त “सर्वशक्‍तिमान परमेश्‍वरको ठूलो दिनको लडाइँ” हुनेछ। पृथ्वीका शासकहरूको विरूद्धमा बदला लिने त्यो उहाँको ठूलो दिन हुनेछ। (प्रकाश १६:१४, १६; इजकिएल २५:१७) महान बेबिलोनको विध्वंस सँगसँगै महासङ्‌कष्ट पनि सुरु भइसकेको हुनेछ। शैतानको उक्साइमा लागेर रातो रङ्‌गको जनावर र त्यसका दश सिङहरूको सारा आक्रमण यहोवाका मानिसहरूमाथि केन्द्रित हुनेछ। परमेश्‍वरको स्त्रीरूपी संगठनसित दियाबल अत्यन्तै क्रोधित भएको हुनेछ। त्यसले आफ्ना ठगाहाहरू चलाउँदै स्त्रीको सन्तानका शेष जनहरूको विरुद्धमा आखिरी र निर्णायक युद्ध लड्‌ने अठोट गर्नेछ। (प्रकाश १२:१७) शैतानको यो आखिरी मौका हो!

२. मागोगको गोग को हो र त्यसलाई यहोवाले आफ्ना मानिसहरूमाथि आक्रमण गर्न कसरी खिंचेर ल्याउनु हुन्छ?

दियाबलको क्रूर आक्रमणको ज्वलन्त वर्णन इजकिएलको ३८-औं अध्यायमा गरिएको छ। त्यहाँ पतित शैतानलाई “मागोग देशको गोग” भनेर सम्बोधन गरिएको छ। यहोवाले त्यो प्रतीकात्मक गोगको मुखमा लाक्षणिक बल्छी लगाउनु भएर त्यसलाई र त्यसका ठूलो सेनालाई तान्दै आक्रमण गर्न उक्साउनु हुन्छ। उहाँले यो कसरी गर्नुहुन्छ? उहाँले आफ्ना साक्षीहरूमाथि गोगको नजर पर्न दिनुहुन्छ। गोगको दृष्टिमा तिनीहरू “जातिजातिहरूबाट भेला भएका . . . गाई वस्तु सम्पत्ति प्राप्त गरेर, संसारको केन्द्रमानै आफ्नो घर बनाएका” असुरक्षित मानिसहरूजस्तै देखा पर्छन्‌। जनावर र त्यसको मूर्तिको उपासना गर्न तिनीहरूले मात्र इन्कार गरेको हुनाले मानौं पृथ्वीको रङ्‌गमञ्चमा तिनीहरू नै सबैको ध्यानको केन्द्रबिन्दु बन्छन्‌। तिनीहरूको आध्यात्मिक बल र समृद्धि देखेर गोग रीसले चूर हुन्छ। अतः त्यो र त्यसको ठूलो सैन्य दल तथा समुद्रबाट निस्कने जनावर र त्यसका दश सिङहरू आक्रमण गर्न ओइरिन्छन्‌। तर परमेश्‍वरका शुद्ध मानिसहरू महान बेबिलोनजस्तो असहाय छैनन्‌। तिनीहरूसित दैवी संरक्षण छ!—इजकिएल ३८:१, २, ४, ११, १२, १५; प्रकाश १३:१.

३. यहोवाले गोगका सेनाहरूको कसरी अन्त गर्नुहुन्छ?

यहोवाले गोग र त्यसको जमातलाई कसरी खतम पार्नुहुन्छ? सुन्‍नुहोस्‌! “ ‘म गोगको विरुद्धमा सबै किसिमका आतंक पठाउनेछु, र त्यसका मानिसहरूले एका अर्काको विरुद्धमा तरवार चलाउनेछन्‌,’ परमप्रभु परमेश्‍वर भन्‍नुहुन्छ!” त्यस युद्धमा नता आणविक न साधारण हातहतियारहरू काम लाग्नेछन्‌ किनकि यहोवा स्वयं यस्तो घोषणा गर्नुहुन्छ: “ ‘रुढी र रक्‍तपातद्वारा म त्यसको इन्साफ गर्नेछु। म त्यसमाथि, त्यसका दलहरूमाथि र त्यससित भएका जाति जातिहरूका सबै भीडहरूमाथि घनघोर वर्षा, ढुङ्‌गाहरूझैं कडा असिना, आगो र गन्धक वर्षाउनेछु। यसरी मेरो महानता र पवित्रताको प्रमाण दिएर धेरै जातिहरूकहाँ आफैलाई प्रकट गर्नेछु। तब तिनीहरूले मनै परमप्रभु हुँ भनी जान्‍नेछन्‌।’ ”—इजकिएल ३८:२१-२३; ३९:११; तुलना गर्नुहोस्‌ यहोशू १०:८-१४; न्याय ७:१९-२२; २ इतिहास २०:१५, २२-२४; अय्यूब ३८:२२, २३.

“विश्‍वासयोग्य र सत्य” कहलिनु हुने

४. जङ्‌गी पोशाक पहिरनु भएको येशू ख्रीष्टको वर्णन यूहन्‍ना कसरी गर्छन्‌?

यहोवाले तरवार पठाउनु हुन्छ। तर त्यो तरवार चलाउने व्यक्‍ति को हो? यसको जवाफ प्रकाशकै पुस्तकको एउटा अर्को रोमाञ्चकारी दर्शनमा पाइन्छ। यूहन्‍नाको आँखाको सामु स्वर्गहरू उघ्रिन्छन्‌ र एउटा साँच्चै नै डरलाग्दो दृश्‍य देखा पर्छ। स्वयं येशू ख्रीष्ट युद्धको पोशाकमा प्रकट हुनुहुन्छ! यूहन्‍ना हामीलाई भन्छन्‌: “मैंले स्वर्ग उघ्रेको देखें, र एउटा सेतो घोडा र त्यसमाथि सवार हुने विश्‍वासयोग्य र सत्य कहलिनुहुँदोरहेछ, र उहाँले धार्मिकतामा इन्साफ र लडाइँ गर्नुहुँदो रहेछ। औ उहाँका नजरहरू आगोका ज्वाला रहेछन्‌, औ उहाँका शिरमा धेरै राजमुकुटहरू रहेछन्‌।”—प्रकाश १९:११, १२क.

५, ६. (क) “सेतो घोडा” (ख) “विश्‍वासी र सत्य” भन्‍ने नाउँ (ग) “आगोका ज्वालाहरूजस्ता” आँखा र (घ) “धेरै राजमुकुटहरू” सबैले कुन कुरालाई चित्रित गर्छन्‌?

केही समयअघिको दर्शनमा देखिएका चार घोड सवारहरूझैं यो “सेतो घोडा” पनि धार्मिक युद्धको एउटा उचित प्रतीक हो। (प्रकाश ६:२) र यी पराक्रमी योद्धाभन्दा अझ धर्मी, परमेश्‍वरको अरू कुन पुत्र हुन सक्छ र? “विश्‍वासयोग्य र सत्य” कहलिएको हुनाकारण उहाँ “विश्‍वासयोग्य र साँचो साक्षी” येशू ख्रीष्ट नै हुनुपर्छ। (प्रकाश ३:१४) यहोवाको धार्मिक इन्साफ कार्यान्वयन गर्न उहाँ युद्ध गर्नुहुन्छ। उहाँले यहोवाद्वारा नियुक्‍त न्यायाधीश र “पराक्रमी परमेश्‍वर”को हैसियतमा काम गर्नुहुन्छ। (यशैया ९:६) आफ्ना शत्रुहरूको आउँदो विनाशतर्फ हेर्ने उहाँका आँखाहरू “आगोका ज्वालाहरू” जस्तै भयानक छन्‌।

यस योद्धा राजाको शिर राजमुकुटहरूले सुसज्जित छ। यूहन्‍नाले समुद्रबाट निस्कने जनावरको शिरमा पनि दश राजमुकुटहरू देखेका थिए। ती दश राजमुकुटहरूले पृथ्वीमाथि त्यस जनावरको अल्पकालीन शासनलाई चित्रित गर्थ्यो। (प्रकाश १३:१) तर येशूको शिरमा चाहिं “धेरै राजमुकुटहरू” छन्‌। उहाँ “राजाहरूका महाराजा र प्रभुहरूका महाप्रभु” हुनुभएकोले उहाँको महिमायुक्‍त शासन अतुलनीय छ।—१ तिमोथी ६:१५.

७. येशूको त्यो लिखित नाउँ के हो?

यूहन्‍ना वर्णन अघि बढाउँदै भन्छन्‌: “औ उहाँको एउटा नाउँ लेखिएको रहेछ, जो उहाँबाहेक अरूलाई थाह थिएन।” (प्रकाश १९:१२ख) बाइबलमा परमेश्‍वरको पुत्रलाई येशू, इम्मानुएल र माइकलजस्ता नाउँहरूबाट सम्बोधन गर्दै आइएको छ। तर यहाँ उल्लिखित यो अप्रकटित “नाउँ” चाहिं येशूले प्रभुको दिनमा पाउनुहुने ओहदा र विशेषाधिकारको प्रतीक हुन सक्छ। (प्रकाश २:१७-तुलना गर्नुहोस्‌।) सन्‌ १९१४-पश्‍चात्‌को येशूको वर्णन गर्दै यशैयाले यसो भनेका छन्‌: “उहाँको नाउँ उदेकका युक्‍ति निकाल्नुहुने, पराक्रमी परमेश्‍वर, सनातनका पिता, शान्तिका राजकुमार कहलाइनेछ।” (यशैया ९:६) प्रेरित पावलले पनि येशूको नाउँलाई उहाँको अति नै उच्च ओहदा र विशेषाधिकारहरूसित जोड्‌दै यसप्रकार लेखे: “त्यसैकारणले पनि परमेश्‍वरले उहाँलाई अति उच्च पार्नुभयो, र उहाँलाई त्यो नाउँ प्रदान गर्नुभयो, जो हरेक नाउँभन्दा उच्च छ, कि स्वर्गमा, पृथ्वीमाथि र पृथ्वीमनि भएका हरेक प्राणीले येशूको नाउँमा घुँडा टेक्नुपर्छ।”—फिलिप्पी २:९, १०.

८. त्यो लिखित नाउँ किन येशूलाई मात्र थाह हुन सक्छ र उहाँले त्यो नाउँसित सम्बन्धित केही उच्च विशेषाधिकारहरू अरू कोसित पनि बाँड्‌नु हुन्छ?

येशूका विशेषाधिकारहरू अतुलनीय छन्‌। यस्तो उच्च ओहदा पाउनुको अर्थ यहोवाबाहेक येशूले मात्र बुझ्न सक्नुहुन्छ। (मत्ती ११:२७-तुलना गर्नुहोस्‌।) यसकारण परमेश्‍वरले सृष्टि गर्नु भएका सारा जीवहरूमध्ये केवल येशूले त्यो नाउँको पूर्ण मूल्याङ्‌कन गर्न सक्नुहुन्छ। तथापि, तीमध्येका केही विशेषाधिकारहरूमा येशूले आफ्ना दुलहीवर्गकाहरूलाई सामेल गराउनुहुन्छ। अतः उहाँले यो प्रतिज्ञा गर्नु हुन्छ: “जसले जित्छ . . . म त्यसमाथि . . . मेरो आफ्नै नयाँ नाउँ लेखिदिनेछु।”—प्रकाश ३:१२.

९. (क) येशूले “रगतमा चोपिएको पोशाक पहिरनु” र (ख) उहाँलाई “परमेश्‍वरको वचन” भनेर सम्बोधन गरिनुको अर्थ के हो?

यूहन्‍ना अझ यसो पनि भन्छन्‌: “औ उहाँले रगतमा चोपिएको पोशाक पहिरिनु भएको रहेछ, र उहाँको नाउँ ‘परमेश्‍वरको वचन’ भन्दोरहेछ।” (प्रकाश १९:१३) यो कसको “रगत” हो? यो मानिसजातिको खातिर बगाइएको येशूको रगत हुन सक्छ। (प्रकाश १:५) तर प्रसङ्‌गलाई ध्यानमा राख्दा चाहिं यो रगत सम्भवतः उहाँका शत्रुहरूमाथि यहोवाको न्याय कार्यान्वयन हुँदा बगेको रगत पनि हुन सक्छ। यसले हामीलाई अघिल्लो दर्शनको पनि सम्झना गराउँछ। उक्‍त दर्शनमा परमेश्‍वरका शत्रुहरूमाथि उहाँको ठूलो विजय चित्रण गर्न पृथ्वीको दाख काटेर त्यसलाई परमेश्‍वरको क्रोधको कोलमा कुल्चीमिल्ची गरिन्छ र त्यसबाट निस्केको रगत “घोडाहरूको लगामसम्मै” पुग्छ। (प्रकाश १४:१८-२०) येशूको विजय निर्णायक र पूर्ण हुन्छ भन्‍ने कुराको पुष्टि उहाँको पोशाकमा छर्किएको रगतले दिन्छ। (यशैया ६३:१-६-तुलना गर्नुहोस्‌।) तर अब यूहन्‍नाले येशूको अझ अर्को नाउँको चर्चा गर्छन्‌। त्यो नाउँ हो “परमेश्‍वरको वचन”। यो एउटा सर्वविदित नाउँ हो। यसै नाउँबाट यहोवाको प्रमुख वक्‍ता र सच्चाईको प्रवक्‍ताको रूपमा यी योद्धा राजा चिनिनु हुन्छ।—यूहन्‍ना १:१; प्रकाश १:१.

येशूका सह-योद्धाहरू

१०, ११. (क) येशू युद्धमा एक्लो हुनुहुन्‍न भनेर यूहन्‍नाले कसरी देखाउँछन्‌? (ख) सेता घोडाहरू र घोडसवारहरूले पहिरेका “मसिनो सुती लुगा”ले के बोध गराउँछ? (ग) स्वर्गका “सेनाहरू”मा को को सामेल छन्‌?

१० येशू यस युद्धमा एक्लो हुनुहुन्‍न। यूहन्‍ना हामीलाई भन्छन्‌: “औ स्वर्गमा भएका फौजहरू मसिना, सेता र चोखो सुती लुगा लगाएर, सेता घोडामा चढेर, उहाँका पछिपछि लाग्दथिए।” (प्रकाश १९:१४) यी “सेता” घोडाहरूले धार्मिक युद्धलाई चित्रित गर्छन्‌। “मसिना सुती लुगा” राजाका घोडसवारहरूका लागि उपयुक्‍त पोशाक हो। त्यसको चमचम चम्कने चहकिलो सेतोपनले यहोवाको नजरमा तिनीहरूको शुद्ध र धार्मिक स्थितिलाई सङ्‌केत गर्छ। तर यी “फौजहरूमा” को को सामेल छन्‌? त्यसमा निश्‍चय नै पवित्र स्वर्गदूतहरू सामेल छन्‌। किनकि प्रभुको दिनको सुरु मै माइकल र उहाँका स्वर्गदूतहरूले शैतान तथा त्यसका प्रेतहरूलाई स्वर्गबाट बाहिर लघारी दिएका थिए। (प्रकाश १२:७-९) यसबाहेक, येशू आफ्नो महिमाको सिंहासनमा बस्नु भएर पृथ्वीका जाति जातिहरूलाई न्याय गर्नु हुँदा उहाँको सेवामा “स्वर्गदूतहरू” पनि हाजिर हुनेछन्‌। (मत्ती २५:३१, ३२) अतः परमेश्‍वरको इन्साफ पूर्णतः कार्यान्वयन हुने त्यो आउँदो निर्णायक युद्धमा पनि यी स्वर्गदूतहरूले निश्‍चय येशूको साथ दिनेछन्‌।

११ तर त्यतिखेर स्वर्गदूतबाहेक अरूहरू पनि सम्मिलित हुनेछन्‌। थिआटायराको मण्डलीलाई आफ्नो सन्देश पठाउनु हुँदा येशूले यो प्रतिज्ञा गर्नु भएको थियो: “औ जसले जित्छ, र मेरा कामहरूलाई आखिरसम्म कायम राख्छ, त्यसलाई म जाति जातिमाथि अख्तियार दिनेछु, र त्यसले फलामको डण्डाले कुमालेका भाँडाहरू टुक्रा टुक्रा पारेर फोरेझैं तिनीहरूलाई शासन गर्नेछ, जसरी मैले पनि मेरो पिताबाट पाएको छु।” (प्रकाश २:२६, २७) अतः समय आइपुगेपछि जाति जातिहरूलाई फलामको डण्डाले न्याय गर्ने काममा ख्रीष्टका भाइहरूमध्ये जो जो स्वर्ग गइसकेका छन्‌, तिनीहरूले पनि निश्‍चय नै भाग लिनेछन्‌।

१२. (क) के पृथ्वीमा हुने परमेश्‍वरका सेवकहरूले आरमागेडोनको युद्धमा भाग लिनेछन्‌? (ख) पृथ्वीमा हुने यहोवाका मानिसहरू आरमागेडोनको युद्धमा कसरी विथोलित हुनेछन्‌?

१२ तर पृथ्वीमा रहेका परमेश्‍वरका सेवकहरू बारे नि? आरमागेडोनको युद्धमा यूहन्‍नावर्गकाहरूको कुनै पनि सक्रिय भूमिका हुनेछैन; नता तिनीहरूका सँगीहरू अथवा सबै राष्ट्रहरूबाट निस्केर यहोवाको उपासनाको आत्मिक मण्डलीतर्फ ओइरिरहेका तिनीहरूका भक्‍त सहकर्मीहरूले नै कुनै भाग लिनेछन्‌। यी शान्ति प्रेमी मानिसहरूले आफ्ना तरवारहरू पिटेर हलोको फाली बनाइ सकेका छन्‌। (यशैया २:२-४) तापनि तिनीहरू त्यस युद्धमा विथोलित चाहिं हुनेछन्‌! हामीले बुझिसकेका छौं कि हेर्दा असुरक्षित देखिने यहोवाका मानिसहरूमाथि नै गोग र त्यसको ठूलो दलले क्रूरतापूर्वक आक्रमण गर्नेछन्‌। र यस्तो हुनासाथै यहोवाका योद्धा राजा र उहाँका स्वर्गीय सेनाहरूले ती राष्ट्रहरूलाई नामेट पारी दिने युद्ध आरम्भ गर्नेछन्‌। (इजकिएल ३९:६, ७, ११; दानियल ११:४४–१२:१-सित तुलना गर्नुहोस्‌।) यस युद्धमा परमेश्‍वरका पार्थिव जनहरूले ठूलो चासो लिए तापनि तिनीहरू दर्शक मात्र हुनेछन्‌। आरमागेडोन तिनीहरूका लागि मुक्‍ति हुनेछ। तिनीहरू यहोवाको प्रमाणीकरण गर्ने ठूलो युद्धका प्रत्यक्षदर्शी भएर सदा सर्वदै बाँच्नेछन्‌।

१३. यहोवाका साक्षीहरू सबै सरकारको विरुद्धमा छैनन्‌ भनी कसरी भन्‍न सकिन्छ?

१३ के यसको अर्थ यहोवाका साक्षीहरू सबै सरकारको विरुद्धमा छन्‌? पटक्कै छैनन्‌! बरु “हरेक प्राणी उच्च अख्तियारवालाहरूका अधीनमा रहोस्‌” भन्‍ने प्रेरित पावलको सल्लाह तिनीहरू पालन गर्छन्‌। तिनीहरूलाई थाह छ कि यो वर्तमान रीतिरिवाज रहुञ्जेल परमेश्‍वरले पनि मानव समाजमा केही हद्‌सम्म सुव्यवस्था कायम राख्न ती “उच्च अख्तियारवालाहरूलाई” रहिरहन दिनु हुन्छ। यसकारण यहोवाका साक्षीहरूले कर तिर्छन्‌, कानून पालन गर्छन्‌, ट्राफिक नियमहरू मान्छन्‌, दर्तासम्बन्धी आवश्‍यकताहरू इत्यादि पूरा गर्छन्‌। (रोमी १३:१, ६, ७) तर यति मात्र होइन। तिनीहरू इमान्दार र सत्यवादी भएर, छिमेकीप्रति प्रेम दर्शाएर, आ-आफ्ना परिवारको नैतिकतालाई सुदृढ बनाएर, छोरा-छोरीलाई अनुकरणीय नागरिक हुने प्रशिक्षण दिएर बाइबलका सिद्धान्तहरूको अनुसरण गर्छन्‌। यसप्रकार तिनीहरूले “जे सिजरका हुन्‌ सिजरलाई” मात्र होइन तर “जे परमेश्‍वरका हुन्‌ परमेश्‍वरलाई” दिने गर्छन्‌। (लूका २०:२५; १ पत्रुस २:१३-१७) परमेश्‍वरको वचनअनुसार वर्तमान संसारका सरकारी शक्‍तिहरू अल्पकालीन हुन्‌। यसैले यहोवाका साक्षीहरू अहिलेदेखि नै त्यो अर्थपूर्ण जीवन अथवा त्यो वास्तविक जीवनका लागि तयारी गर्छन्‌ जो ख्रीष्टको राज्य शासन अन्तर्गत अनुभव गर्न सकिनेछ। (१ तिमोथी ६:१७-१९) हुनत यस संसारका शक्‍तिहरूलाई ध्वस्त पार्ने काममा साक्षीहरूले कुनै सक्रिय भाग लिने छैनन्‌। तापनि यहोवाद्वारा आरमागेडोनमा कार्यान्वयन हुनै लागेको इन्साफबारे परमेश्‍वरको प्रेरित वचन बाइबलमा लिपिबद्ध सूचनाको तिनीहरू ठूलो कदर गर्छन्‌।—यशैया २६:२०, २१; हिब्रू १२:२८, २९.

अन्तिम युद्धतर्फ!

१४. येशूको मुखबाट निस्कने “धारिलो तरवार” कुन कुराको प्रतीक हो?

१४ येशूले कसको बलमा आफ्नो विजय समाप्त गर्नु हुनेछ? यूहन्‍ना हामीलाई भन्छन्‌: “औ जाति जातिहरूलाई मार्न उहाँको मुखबाट धारिलो तरवार निस्कँदोरहेछ, र उहाँले फलामको डण्डाले तिनीहरूमाथि शासन गर्नु हुनेछ।” (प्रकाश १९:१५क) त्यो “धारिलो तरवार”ले येशूको ईश्‍वरप्रदत अख्तियारलाई चित्रित गर्छ। सोही अख्तियारको बलमा उहाँले परमेश्‍वरको राज्यलाई समर्थन गर्न नचाहने सबैलाई मार्ने आदेश दिनु हुन्छ। (प्रकाश १:१६; २:१६) यो ज्वलन्त चित्रण यशैयाका यी शब्दहरूसित मिल्दोजुल्दो छ: “उहाँले मेरो मुख लाग्ने तरवारजस्तै बनाउनुभयो। उहाँले मलाई आफ्नो हातको छाहारीमनि लुकाउनुभयो। उहाँले मलाई तीखो काँडा बनाउनु भयो। उहाँले मलाई आफ्नो ठोक्रामा गुप्त राख्नु भयो।” (यशैया ४९:२) यहाँ यशैयाले येशूलाई चित्रित गरेका हुन्‌ जसले नचुक्ने काँडाले झैं परमेश्‍वरका न्यायवचनहरूको घोषणा र कार्यान्वयन गर्नुहुन्छ।

१५. घटनाक्रमको यस मोडसम्म कसको पर्दाफास र न्याय भइसकेको हुनेछ र यसका साथै कुन घटना प्रारम्भ हुनेछ?

१५ यतिबेलासम्म येशूले पावलका यी शब्दहरूलाई पूरा गरी सक्नु भएको हुनेछ: “तब त्यो अधर्मी प्रकट हुनेछ, जसलाई प्रभु येशूले आफ्नो मुखको सासले नाश पार्नु हुनेछ, र उहाँको आगमनको प्रकाशले विनाश पार्नुहुनेछ।” हो, १९१४-देखि अधर्मको मानिस अथवा मसीहीजगतको पादरीवर्गको पर्दाफास र इन्साफद्वारा येशूको उपस्थिति [ पारुसिया] प्रष्ट हुँदै आएको छ। यो इन्साफलाई चहकिलो रातो रङ्‌गको जनावर र त्यसका दश सिङहरूले कार्यान्वयन गर्दा अथवा तिनीहरूले मसीहीजगतका साथै महान बेबिलोनको बाँकी जम्मै भागलाई बरबाद पार्दा येशूको उपस्थिति अझ सम्पूर्णतः प्रष्ट हुनेछ। (२ थिस्सलोनिकी २:१-३, ८) यही नै महा सङ्‌कष्टको प्रारम्भ हुनेछ! यसपछि येशूले शैतानको सङ्‌गठनको शेष भागमाथि ध्यान केन्द्रित गर्नु हुँदै यो भविष्यवाणी पूरा गर्नु हुनेछ: “पृथ्वीलाई लौरोले झैं आफ्नो वचनले हिर्काउनु हुनेछ र आफ्नो सासले दुष्टलाई नाश पार्नु हुनेछ।”—यशैया ११:४.

१६. यहोवाद्वारा नियुक्‍त योद्धा राजाको वर्णन भजनसंग्रह र यर्मियाले कसरी गर्छन्‌?

१६ यहोवाद्वारा नियुक्‍त यी योद्धा राजाले नै को मर्नेछन्‌ र को बाँच्ने छन्‌, सो छुट्ट्याउनु हुनेछ। परमेश्‍वरका यी पुत्रलाई भविष्यवाणीरूपी भाषामा सम्बोधन गर्नु हुँदै यहोवा यसो भन्‍नुहुन्छ: “फलामको डण्डाले तिमीले तिनीहरूलाई [पृथ्वीका शासकहरू] फोर्नेछौ। र कुमालेको भाँडालाई जस्तैगरी तिमीले तिनीहरूलाई चक्नाचूर पार्नेछौ।” यर्मियाले पनि यस्ता भ्रष्ट सरकारी नेताहरू र तिनीहरूका चम्चाहरूलाई सम्बोधन गर्दै यसो भने: “विलाप गर, हे गोठाला हो, रोऊ, तिमी बथानका मालिकहरू, खरानीमा लडीबडी गर। किनभने तिमीहरूका मारिने र तितर-बितर हुने दिनहरू आएका छन्‌, छानेर राखेका भेडाझैं तिमीहरू ढल्नेछौ।” ती शासकहरू यो दुष्ट संसारको नजरमा जति नै सुन्दर भए तापनि महाराजाको फलामको डण्डाको एकै प्रहारले कुनै सुन्दर भाँडो चूरचूर भएझैं तिनीहरू पनि चक्नाचूर हुनेछन्‌। दाऊदले प्रभु येशूबारे गरेको भविष्यवाणीअनुरूप नै यो हुनेछ: “परमप्रभुले सियोनबाट तिम्रो पराक्रमको राजदण्ड पठाउनु हुनेछ, तिम्रा शत्रुहरूका बीचमा तिमीले राज्य गर। तिम्रो दाहिनेतर्फ रहने परमप्रभुले उहाँको क्रोधको दिनमा राजाहरूलाई चूर गर्नु हुनेछ। उहाँले जाति जातिको बीचमा इन्साफ गर्नु हुनेछ। उहाँले मृत-शरीरले जमीन भरिदिनुहुनेछ।”—भजन २:९, १२; ८३:१७, १८; ११०:१, २, ५, ६; यर्मिया २५:३४.

१७. (क) योद्धा राजाले गर्ने न्यायकर्त्ताको कामको वर्णन यूहन्‍नाले कसरी गर्छन्‌? (ख) परमेश्‍वरको क्रोधको दिन राष्ट्रहरूका लागि कति विपत्तिजनक हुनेछ भनी प्रदर्शित गर्ने केही भविष्यवाणीहरू उल्लेख गर्नुहोस्‌।

१७ पराक्रमी योद्धा राजा दर्शनको अर्को दृश्‍यमा फेरि देखा पर्नुहुन्छ: “औ सर्वशक्‍तिमान परमेश्‍वरको क्रोधको मद्यको कोल उहाँले कुल्चनुहुँदोरहेछ।” (प्रकाश १९:१५ख) यसभन्दा अघिको दर्शनमा यूहन्‍नाले “परमेश्‍वरको क्रोधको कोल कुल्चीमिल्ची” भएको देखिसकेका थिए। (प्रकाश १४:१८-२०) यशैयाले पनि एउटा विनाशकारी कोलको वर्णन गरेका छन्‌। साथै, परमेश्‍वरको क्रोधको दिन सबै राष्ट्रहरूका लागि कति ध्वंसात्मक हुनेछ, सो अन्य अगमवक्‍ताहरूको बयानबाट पनि जानकारी पाउन सकिन्छ।—यशैया २४:१-६; ६३:१-४; यर्मिया २५:३०-३३; दानियल २:४४; सपन्याह ३:८; जकरिया १४:३, १२, १३; प्रकाश ६:१५-१७.

१८. यहोवाले सबै राष्ट्रहरूलाई न्याय गर्ने सम्बन्धमा अगमवक्‍ता योएलले के प्रकट गर्छन्‌?

१८ अगमवक्‍ता योएलअनुसार दाखको कोल र “चारैतिरका जातिहरूको इन्साफ गर्न” यहोवाको आगमन दुवै सम्बन्धित छन्‌। निःसन्देह यहोवाले नै आफ्नो सह-न्यायाधीश येशू र उहाँका स्वर्गीय सेनाहरूलाई यो आदेश दिनुहुन्छ: “हँसिया लगाऊ, किनभने खेत पाकिसकेको छ। आऊ, दाख कुल्च, किनभने दाखको कोल भरिएको छ। दाख-कुण्ड तिनीहरूको दुष्टताले ज्यादै भरिएर पोखिंदैछ। फैसला गरिने बेंसीमा धुइरोको धुइरो छ, किनभने फैसला गरिने बेंसीमा परमप्रभुको दिन नजीक आएको छ। सूर्य र चन्द्र अँध्यारो हुनेछ र ताराहरूले आफ्नो चमक दिनेछैन। परमप्रभु सियोनबाट गर्जनुहुनेछ, यरूशलेमबाट उहाँले आफ्नो सोर सुनाउनुहुनेछ। आकाश र पृथ्वी थरथर काम्नेछ, तर परमप्रभु आफ्नो प्रजाको निम्ति शरणस्थान, इस्राएलका सन्तानको निम्ति गढी हुनुहुनेछ। तब पवित्र पर्वत सियोनमा बास गर्ने, परमप्रभु तिमीहरूका परमेश्‍वर मनै हुँ भनी तिमीहरूले जान्‍नेछौ।”—योएल ३:१२-१७.

१९. (क) पहिलो पत्रुस ४:१७-मा सोधिएको प्रश्‍नको जवाफ कसरी दिइनेछ? (ख) येशूको पोशाकमा लेखिएको नाउँ के हो र त्यो नाउँ किन उचित साबित हुनेछ?

१९ अनाज्ञाकारी राष्ट्र र मानिसहरूका लागि वास्तवमा त्यो अन्धकारको दिन हुनेछ। तर यहोवा र उहाँका योद्धा राजालाई आफ्नो शरणस्थान बनाउनेहरूका लागि चाहिं त्यो उद्धारको दिन हुनेछ! (२ थिस्सलोनिकी १:६-९) सन्‌ १९१८-मा परमेश्‍वरकै घरबाट सुरु भएको इन्साफले चरमोत्कर्ष छोइ सकेको हुनेछ। “सुसमाचार नमान्‍नेहरूको अन्त कस्तो होला?” भनेर १ पत्रुस ४:१७-मा उठाइएको प्रश्‍नले पनि जवाफ पाइसकेको हुनेछ। महिमायुक्‍त विजेताले दाखको कोललाई पूरै कुल्चीमिल्ची गरी सकिएको हुनेछ। प्रत्यक्षतः उहाँ नै ती उत्कृष्ट व्यक्‍ति साबित हुनुहुनेछ जसबारे यूहन्‍नाले यसो भनेका थिए: “औ उहाँको पोशाक र तिघ्रामा ‘राजाहरूका महाराजा, र प्रभुहरूका महाप्रभु’ भन्‍ने एउटा नाउँ लेखिएको रहेछ।” (प्रकाश १९:१६) उहाँ पृथ्वीको जुनसुकै शासक, राजा वा प्रभुभन्दा पनि अति नै पराक्रमी साबित हुनु भएको छ। उहाँको गरिमा र वैभव सर्वोत्कृष्ट छ। उहाँ “सत्यता, नम्रता र धार्मिकताको” निम्ति अघि बढ्‌नु हुन्छ। उहाँ सदाका लागि विजयी हुन भएको छ! (भजन ४५:४) उहाँले नै सर्वसत्ताधारी प्रभु यहोवाको प्रमाणीकरण गर्नुहुन्छ र उहाँको रक्‍ताम्य पोशाकमा पनि यहोवाले नै प्रदान गर्नु भएको नाउँ लेखिएको छ।

परमेश्‍वरको ठूलो साँझको भोज

२०. यूहन्‍नाले “परमेश्‍वरको ठूलो भोज”को वर्णन कसरी गर्छन्‌ र यसबाट हामीलाई यसभन्दा अघिको तर मिल्दोजुल्दो कुन भविष्यवाणीको सम्झना हुन्छ?

२० इजकिएलको दर्शनमा गोगको दलको विनाशपछि चराचुरुङ्‌गीहरू र जङ्‌गली जनावरहरू भोजमा निम्ताइन्छन्‌! तिनीहरूले यहोवाका शत्रुहरूका लाश खानेछन्‌। डाँडाकाँडा र खोंचभन्ज्याङबाट मुर्दाहरू हटाउने काममा तिनीहरूले सहयोग पुऱ्‍याउनेछन्‌। (इजकिएल ३९:११, १७-२०) हामीलाई एउटा पुरानो भविष्यवाणीको झलझली सम्झना गराउँदै यूहन्‍ना अब यसो भन्छन्‌: “अनि मैले एउटा दूत सूर्यमा उभिरहेको देखें। तिनले यसो भनेर ठूलो सोरले बीच आकाशमा उड्‌ने सबै चराहरूलाई कराए, ‘परमेश्‍वरको ठूलो भोजमा जम्मा भएर आओ। औ तिमीहरूले राजाहरूका, कप्तानहरूका, घोडाहरू र त्यसमाथि सवार हुनेहरूका, स्वतन्त्र र बँधुवा, ठूला र साना सबैका मासु खानेछौ।’ ”—प्रकाश १९:१७, १८.

२१. (क) “सूर्यमा उभिरहेको” स्वर्गदूत, (ख) जमीनमाथि नै छाडिएका लाशहरू (ग) ती जनहरू जसका लाशहरू जमीनमै छाडिन्छन्‌ र (घ) “परमेश्‍वरको ठूलो भोज” भन्‍ने अभिव्यक्‍तिहरू बाट के बोध हुन्छ?

२१ स्वर्गदूत “सूर्यमा उभिरहेका” छन्‌। यस ठाउँबाट सजिलैसित चराहरूको ध्यान आकर्षित गर्न सकिन्छ। उनले ती चराहरूलाई योद्धा राजा र उनका स्वर्गीय सेनाहरूले मार्नै लागेका व्यक्‍तिहरूको मासु खान निम्ताउँछन्‌। ती मर्नेहरूको लाश जमीनमाथि नै रहन दिइनेछ। अर्थात्‌ सबैको नजरमा तिनीहरू अपमानित भएर मर्नेछन्‌। पुरातन इजेबेलझैं तिनीहरू पनि सम्मानसहित गाडिने छैनन्‌। (२ राजा ९:३६, ३७) विनाश अति नै व्यापक हुनेछ। मर्नेहरू मध्ये राजाहरू, सेनापतिहरू, वीर पुरुष, स्वतन्त्र र बँधुवा, सबै हुनेछन्‌। कोही पनि उम्कन पाउने छैन। यहोवाको विरोध गर्ने यो विद्रोही संसार सम्पूर्णतः नामेट हुनेछ। त्यसपछि अन्योलमा परेका मानिसहरूको अशान्त समुद्र पटक्कै रहनेछैन। (प्रकाश २१:१) यो “परमेश्‍वरको ठूलो भोज” हो किनभने स्वयं यहोवाले नै ती चराहरूलाई निम्त्याउनु भएको छ।

२२. यूहन्‍नाले युद्धको अन्तिम परिणामलाई सारांशमा कसरी प्रस्तुत गर्छन्‌?

२२ अन्तिम युद्धको परिणामलाई यूहन्‍नाले यसप्रकार सङ्‌क्षिप्तमा प्रस्तुत गर्छन्‌: “अनि त्यो जनावर र पृथ्वीका राजाहरू, र तिनका फौजहरू, घोडामा सवारी हुने र उहाँको फौजको विरुद्ध लडाइँ गर्न जम्मा भएको मैले देखें। त्यो जनावर पकडाउ पर्‌यो, र त्यससँग हुने झूटा अगमवक्‍ता, जसले त्यसको दृष्टिमा चिन्हहरू गरेर त्यो जनावरको छाप लिनेहरू जतिलाई र त्यसको मूर्तिको पूजा गर्नेहरूलाई ठेगेको थियो, ती दुवै जिउँदै गन्धकले बलेको आगोको कुण्डमा फालिए। औ बाँकी रहेकाहरूचाहिं घोडामाथि सवारी हुनेको तरवारबाट मारिए, अर्थात्‌ उहाँको मुखबाट निस्केको तरवारले, र सबै चराहरू तिनका मासुले अघाए।”—प्रकाश १९:१९-२१.

२३. (क) “सर्वशक्‍तिमान परमेश्‍वरको ठूलो दिनको लडाइँ” कुन अर्थमा “आरमागेडोनमा” लडिन्छ? (ख) “पृथ्वीका राजाहरूले” कुन चेताउनीलाई ध्यान दिएका छैनन्‌ र यसको परिणाम के हुनेछ?

२३ यूहन्‍नाको व्याख्याअनुसार यहोवाको क्रोधको छैटौं कचौरा खन्याइसकेपछि प्रेतहरूको अफवाहद्वारा “जम्मै पृथ्वीका राजाहरूलाई” “सर्वशक्‍तिमान परमेश्‍वरको ठूलो दिनको लडाइँको निम्ति” जम्मा गराइन्छ। यो युद्ध आरमागेडोनमा लडिन्छ। त्यो कुनै साँच्चैको ठाउँ होइन। त्यो एउटा विश्‍वव्यापी परिस्थिति हो जहाँ यहोवाको न्याय कार्यान्वयन गरिन्छ। (प्रकाश १६:१२, १४, १६, किङ्‌ग जेम्स भर्सन) अब यूहन्‍नाले युद्ध-पंक्‍तिहरू पनि देख्छन्‌। त्यहाँ, परमेश्‍वरको विरुद्धमा “पृथ्वीका राजाहरू र तिनका फौजहरू” भेला भएका छन्‌। तिनीहरूले यहोवाद्वारा नियुक्‍त राजाको अधीनमा बस्न हठ्‌पूर्वक इन्कार गरेका छन्‌। जबकि उहाँले तिनीहरूलाई यो प्रेरित चेताउनी पहिलेदेखि नै दिंदै आउनु भएको छ: “पुत्रलाई चुम्बन गर, नत्रता उहाँ रिसाउनुहुनेछ, र तिमीहरू बाटैमा नष्ट हुनेछौ।” तापनि तिनीहरूले ख्रीष्टको शासन स्वीकारेका छैनन्‌। अतः तिनीहरू मर्नैपर्छ।—भजन २:१२.

२४. (क) जङ्‌गली जनावर र झूटो अगमवक्‍तामाथि के कारबाही गरिन्छ र तिनीहरू त्यतिखेर कुन अर्थमा “जिउँदै” हुन्छन्‌? (ख) “आगोको कुण्ड” किन प्रतीकात्मक हुनुपर्छ?

२४ शैतानको राजनैतिक सङ्‌गठनको प्रतिनिधित्व गर्ने अर्थात्‌ समुद्रबाट निस्कने सात शिर र दश सिङ भएको जङ्‌गली जनावर अब लोप हुनेछ। त्यसको साथसाथै झूटो अगमवक्‍ता अर्थात्‌ सातौं विश्‍व-शक्‍ति पनि बितेर जानेछ। (प्रकाश १३:१, ११-१३; १६:१३) ती दुवै “जिउँदै” हुँदा अथवा पृथ्वीमा रहेका परमेश्‍वरका जनहरूको विरुद्धमा एकमत भएर जाइलाग्दा लाग्दै तिनीहरू “आगोको कुण्डमा” फालिन्छन्‌। के यो कुनै साँच्चैको “आगोको कुण्ड“ हो? होइन। जसरी जङ्‌गली जनावर र झूटो अगमवक्‍ता पनि साँच्चैका जनावरहरू होइनन्‌। त्यो कुण्ड वास्तवमा सम्पूर्ण र अन्तिम विनाशको एउटा प्रतीक मात्र हो। यो एउटा यस्तो ठाउँ हो जहाँबाट कुनै पनि कुरा कहिल्यै फिर्ता आउन सक्‍तैन। यसै ठाउँमा मृत्यु र पातालका साथै दियाबल पनि फालिनेछ। (प्रकाश २०:१०, १४) तर दुष्टहरूले अनन्त सन्ताप भोग्ने ठाउँ चाहिं यो होइन। यस्तो विचार मात्र पनि यहोवाको नजरमा घृणास्पद छ।—यर्मिया १९:५; ३२:३५; १ यूहन्‍ना ४:८, १६.

२५. (क) “घोडामाथि सवारहुनेको तरवारबाट” मारिनेहरू को हुन्‌? (ख) यसरी “मारिनेहरू”मध्येबाट पनि कसै कसैको पुनरुत्थान हुनेछन्‌ भनी आशा गर्नु के उचित हो?

२५ सरकारमा प्रत्यक्षतः भाग नलिने तर यस भ्रष्ट संसारको सुध्रनै नसक्ने भाग हुने मानिसहरू पनि “घोडामाथि सवारी हुनेको तरवारबाट” मारिनेछन्‌। येशूले तिनीहरूलाई मृत्युको योग्य घोषित गर्नु हुनेछ। तर यिनीहरूको सम्बन्धमा आगोको कुण्डको चर्चा गरिएको छैन। अतः के यिनीहरूको चाहिं पुनरुत्थान हुनेछ भनी हामीले ठान्‍नु उचित हो? यहोवाबाट नियुक्‍त न्यायाधीशको हातमा मारिनेहरूको पुनरुत्थान हुनेछ भनी कतै पनि लेखिएको हामी पाउँदैनौं। येशू स्वयंले भन्‍नु भएझैं जो “भेंडा” होइनन्‌, तिनीहरू जम्मै “शैतान र त्यसका दूतहरूका लागि तयार गरिएको अनन्त आगोमा” अर्थात्‌ “अनन्त दण्डमा” जानेछन्‌। (मत्ती २५:३३, ४१, ४६) “भक्‍तिहीन मानिसको इन्साफ र विनाशको दिन”-को यो चरमोत्कर्ष हुनेछ।—२ पत्रुस ३:७; नहुम १:२, ७-९; मलाकी ४:१.

२६. आरमागेडोनको परिणाम सारांशमा बताउनुहोस्‌।

२६ यसप्रकार शैतानको जम्मै पार्थिव सङ्‌गठनको अन्त हुनेछ। राजनैतिक शासनको “पहिलो आकाश” बितिसकेको हुनेछ। शैतानले शताब्दीयौंदेखि निमार्ण गर्दै आएको स्थायी देखिने “पृथ्वी” अब सम्पूर्णतः नाश भइसकेको हुनेछ। समुद्र अर्थात्‌ यहोवाको विरोध गर्ने दुष्ट मानिसहरूको समूह अब उप्रान्त रहनेछैन। (प्रकाश २१:१; २ पत्रुस ३:१०) तर यहोवाले शैतानलाई चाहिं के गर्नु हुनेछ? यूहन्‍ना अब हामीलाई भन्छन्‌।

[अध्ययनका लागि प्रश्‍नहरू]