विजेताहरू हुने कोशिश
अध्याय ८
विजेताहरू हुने कोशिश
स्मर्ना
१. (क) महिमावान येशूबाट अब कुन चाहिं मण्डलीले सन्देश पाउँछ? (ख) आफूलाई “आदि” र “अन्त” भनेर सम्बोधन गर्दै येशूले त्यस मण्डलीका मसीहीहरूलाई कुन कुराको सम्झना गराउनु हुन्छ?
प्राचीन एफिसस आज एउटा उजाड खण्डहरको रूपमा छ। तर येशूको दोस्रो सन्देशको गन्तव्यस्थान चाहिं अहिले पनि चहलपहलपूर्ण एउटा शहर नै छ। एफिससको खण्डहरदेखि करीब ३५ मील उत्तरतिर इजमिर भन्ने एउटा तुर्की शहर छ। त्यहाँ यहोवाका साक्षीहरूको चार वटा जोशिलो मण्डली आज पनि पाइन्छ र त्यहाँ नै प्रथम शताब्दीमा स्मर्ना थियो। अब सुन्नुहोस् येशू के भन्नुहुन्छ: “अनि स्मर्नामा भएको मण्डलीका दूतलाई लेख। यी कुरा आदि र अन्तले भन्दछ, जो मरेको थियो, तर जीवित भएको छ।” ( प्रकाश २:८) यी शब्दहरूद्वारा येशूले स्मर्नाका मसीहीहरूलाई सम्झाउँनु हुँदैछ कि उहाँ नै त्यो प्रथम र अन्तिम निष्ठावान व्यक्ति हुनुहुन्छ जसलाई स्वयं यहोवाले बिउँताउनु भएर अमर आत्मिक जीवन प्रदान गर्नु भयो। बाँकी अभिषिक्त मसीहीहरूलाई चाहिं येशूले नै बिउँताउनु हुनेछ। अतः स्वर्गमा उहाँसित अमर जीवन पाउने आशा राख्ने आफ्ना भाइहरूलाई सल्लाह दिन येशू सम्पूर्णतया योग्य हुनुहुन्छ।
२. “मरेर फेरि जीवित” हुनु भएको ती व्यक्तिले भन्नु भएका कुराहरूबाट सबै मसीहीहरूले किन सान्त्वना पाउँछन्?
२ धार्मिकताका लागि सतावट सहने सम्बन्धमा येशूले नै बाटो देखाउनु भयो। यसका लागि उहाँले आफ्नो इनाम पनि पाउनु भयो। मृत्युसम्मै उहाँको विश्वासिलोपना र पुनरुत्थान सबै मसीहीहरूको आशाको आधार हुन गएको छ। (प्रेरित १७:३१) हामीले सच्चाइको खातिर जे जति भोग्नु परे तापनि त्यो व्यर्थ जाँदैन भनेर येशूको ‘मृत्यु र पुनःरुत्थान’ ले प्रमाणित गरी दिएको छ। येशूको पुनरुत्थान सबै मसीहीहरूका लागि ठूलो प्रोत्साहनको स्रोत हो। खासगरी तिनीहरूले आफ्नो विश्वासको कारण कष्ट भोग्नु पर्दा। यस्तै कष्ट के तपाईंले पनि भोग्नु परिरहेको छ? छ भने, स्मर्नाको मण्डलीलाई येशूले अब भन्नु हुने यी शब्दहरूबाट तपाईं प्रोत्साहित हुन सक्नुहुन्छ:
३. (क) येशूले स्मर्नाका मसीहीहरूलाई के प्रोत्साहन दिनु भयो? (ख) स्मर्नाका मसीहीहरू दरिद्र भए तापनि येशूले तिनीहरू “धनी” छन् किन भन्नु भयो?
३ “तिम्रो कष्ट र तिम्रो दरिद्रता ( तर तिमी ता धनी छौ), र यहूदी हुँ भनेर हिंड्ने, तर ती त्यस्ताहरू होइनन्, तर शैतानका सभाका भएका, तिनीहरूको निन्दा मलाई थाह छ।” ( प्रकाश २:९) येशूले स्मर्नाका आफ्ना भाइहरूको आलोचना गर्नु हुन्न। तिनीहरूको आत्मीयतापूर्ण सराहना मात्र गर्नुहुन्छ। तिनीहरूले आफ्नो विश्वासको खातिर धेरै नै सङ्कष्ट भोगेका छन्। सम्भवतः आफ्नो विश्वासकै कारण तिनीहरू आर्थिक तवरमा पनि दरिद्र छन्। (हिब्रू १०:३४) तापनि तिनीहरू मुख्यतः आत्मिक कुराहरूबारे नै चिन्तित रहन्छन्। येशूले अह्राउनु भएझैं तिनीहरूले स्वर्गमा धन थुपारेका छन्। (मत्ती ६:१९, २०) अतः प्रमुख गोठालाको नजरमा तिनीहरू “धनी” छन्।—याकूब २:५-सित तुलना गर्नुहोस्।
४. स्मर्नाका मसीहीहरूले कसबाट धेरै नै विरोधको सामना गर्नु पऱ्यो र येशूले ती विरोधीहरूलाई कुन दृष्टिले हेर्नुभयो?
४ स्मर्नाका मसीहीहरूले शारीरिक यहूदीहरूको तर्फबाट औधी विरोधको सामना गरेका छन् र यस कुरालाई येशूले विशेष ध्यान दिनुहुन्छ। सुरुसुरुमा त यहूदी मतका धेरै जनाले मसीही धर्म नफैलिओस् भनेर कडा विरोध गरेका थिए। (प्रेरित १३:४४, ४५; १४:१९) अब यरूशलेम नाश भएको केही दशकपछि फेरि स्मर्नाका ती यहूदीहरूले त्यही शैतानी प्रवृत्ति देखाइरहेछन्। नभन्दै येशूको नजरमा तिनीहरू “शैतानका सभा” हुन्। a
५. स्मर्नाका मसीहीहरूले अझ के कस्ता परीक्षाहरूको सामना गर्न बाँकी नै थियो?
५ यस्तो घृणाको सामना गर्नु परेको बेलामा स्मर्नाका मसीहीहरूलाई येशूले यो सान्त्वना दिनुहुन्छ: “तिमीले कष्ट भोग्न लागेका कुराहरूसँग नडराऊ, हेर, तिमीहरू परीक्षामा पर भनेर शैतानले तिमीहरूमध्ये कुनै कुनैलाई कैदमा हाल्नआँटेको छ, र तिमीहरूलाई दशै दिन कष्ट हुनेछ! तिमी मृत्युसम्मै विश्वासी होऊ, र म तिमीलाई जीवनको मुकुट दिनेछु।” ( प्रकाश २:१०) यहाँ येशूले युनानी भाषामा “तिमी” भन्ने सर्वनामको बहुवचन प्रयोग गर्नु भयो। अतः उहाँले भन्नु भएका कुराहरू सारा मण्डलीका लागि थियो। स्मर्नाका मसीहीहरूले सामना गर्नु परेका परीक्षाहरू चाँडै नै अन्त हुनेछ भनेर येशूले प्रतिज्ञा गर्न सक्नुहुन्न। तिनीहरूमध्ये कति जना अझ पनि सताइनेछन् र झ्यालखानमा थुनिनेछन्। तिनीहरूले “दश दिन” सम्मै कष्ट भोग्नेछन्। दश अङ्क पार्थिव सम्पूर्णताको प्रतीक हो। तसर्थ, आध्यात्मिक तवरमा सम्पन्न ती निष्ठावान व्यक्तिहरू पनि आफ्नो मानवीय जीवनकालमा सम्पूर्ण रीतिले जाँचिने छन्।
६. (क) स्मर्नाका मसीहीहरूलाई भयभीत हुने खाँचो किन थिएन? (ख) स्मर्नाको मण्डलीमा पठाउनु भएको सन्देशलाई येशूले के भनेर टुङ्ग्याउनु भयो?
६ तथापि, स्मर्नाका ती मसीहीहरू भयभीत हुने अथवा तिनीहरूलाई कुनै सम्झौता गर्नु पर्ने खाँचो थिएन। अन्तसम्मै विश्वासी भई रहेमा तिनीहरूले “जीवनको मुकुट” अर्थात् स्वर्गमा अमरत्व पाउने थिए। (१ कोरिन्थी ९:२५; २ तिमोथी ४:६-८) यो अनमोल पुरस्कार प्राप्त गर्न प्रेरित पावल आफ्नो पार्थिव जीवन समेत त्याग्न तयार थिए। (फिलिप्पी ३:८) त्यस्तै मनोवृत्ति स्मर्नाका ती विश्वासी जनहरूले पनि निश्चय राखेको हुनुपर्छ। येशूले आफ्नो सन्देशलाई टुङ्गयाउनु हुँदै यसो भन्नुहुन्छ: “जसको कान छ, त्यसले सुनोस्, आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ। जसले जित्छ, त्यसलाई दोस्रो मृत्युबाट केही हानि हुनेछैन।” ( प्रकाश २:११) मृत्युले छुनै नसक्ने अमर स्वर्गीय जीवन पाउने निश्चित आशा ती विजेताहरूलाई दिइन्छ।—१ कोरिन्थी १५:५३, ५४.
“दशै दिन कष्ट”
७, ८. स्मर्नाको मण्डली जस्तै मसीही मण्डली पनि १९१८ मा कसरी पूर्ण रीतिले जाँचमा पऱ्यो?
७ स्मर्नाका मसीहीहरूले जस्तै आज यूहन्नावर्गकाहरू र तिनीहरूका सङ्गीहरूले “सम्पूर्ण रूपमा परीक्षा” को सामना गर्नु परेको छ। सङ्कष्टमा पर्दा पनि तिनीहरू आफ्नो विश्वासमा अटल रहेका छन्। तिनीहरू साँच्चै नै परमेश्वरका जनहरू हुन्। (मर्कूस १३:९, १०) प्रभुको दिन सुरु भएको थोरै समयपश्चात् परमेश्वरका जनहरूको एउटा सानो अन्तरराष्ट्रिय समूह, येशूले स्मर्नाको मण्डलीलाई भन्नु भएको कुराबाट निकै नै आश्वाशित भए। (प्रकाश १:१०) हुनत यिनीहरूले १८७९ देखि नै परमेश्वरको वचनबाट आध्यात्मिक रत्नहरू खनेर निकाल्दै अरूहरूलाई सित्तैमा बाँड्ने गरेका थिए। तथापि, प्रथम विश्वयुद्धको दौडान तिनीहरूले कडा घृणा र विरोधको सामना गरे। यसको एउटा कारण त तिनीहरूले युद्धको जोश र लैलैमा भाग नलिएकोले हो। तिनीहरूले निडरतासाथ मसीहीजगतका गल्तीहरूको पर्दाफास गरी नै रहे। मसीहीजगतका अगुवाहरूले तिनीहरूको विरुद्धमा उक्साएको सतावट १९१८ सम्म त चरम सीमामा पुग्यो। यो सतावट स्मर्नाका मसीहीहरूले त्यतिखेरको यहूदी समाजबाट भोगेको सङ्कष्ट जस्तै थियो।
८ संयुक्त राज्य अमेरिकामा पनि सतावटको एउटा लहर चल्यो। अन्ततः जून २२, १९१८ को दिन वाच टावर सोसाइटीका नयाँ सभापति, जोसेफ एफ. रदरफर्ड र उनका प्रायः सातै जना सङ्गीहरू क्रमशः २०, २० वर्षको दण्ड भोग्न झ्यालखानमा थुनिए। तर जमानतमा तिनीहरूलाई नौं महिनापछि मुक्त गरियो। मई १४, १९१९ मा अपील अदालतले आफ्नो गलत फैसलालाई बदर गऱ्यो; पुर्पक्षमा १३० वटा गल्तीहरू फेला पऱ्यो। सेन्ट ग्रेगोरी द ग्रेट श्रेणीको नाइट् उपाधि प्राप्त रोमन क्याथोलिक न्यायाधीश मेन्टनले १९१८ मा यी मसीहीहरूलाई जमानतमा मुक्त गर्न अस्वीकार गरेका थिए। तर केही समयपश्चात् १९३९ मा उनी आफैले पनि छ पटक घूस मागेको र थापेको अभियोगमा दुई वर्ष जेल र १०,००० डलर जरिमाना भोग्नु पऱ्यो।
९. नाजी जर्मनीमा हिटलरले यहोवाका साक्षीहरूसित कस्तो व्यवहार गरे र यसमा पादरीवर्गको प्रतिक्रिया कस्तो थियो?
९ जर्मनीमा नाजी शासन चलुन्जेल हिटलरले यहोवाका साक्षीहरूको प्रचार कार्यलाई सम्पूर्णतया बन्द नै गरिदियो। वर्षौंसम्म यहोवाका हजारन साक्षीहरूलाई निरोधन शिविर र झ्यालखानाहरूमा क्रूरतासाथ थुनेर राखियो। हिटलरको सेनामा भर्ना हुन अस्वीकार गर्ने झन्डै २०० युवकहरूको चाहिं हत्या गरियो। तर यी जम्मै गतिविधिलाई पादरीवर्गले समर्थन गरिरहेको थियो। यसको एउटा प्रमाण मई २९, १९३८ को द जर्मन वे नामक अखबारमा प्रकाशित स्वयं एक जना क्याथोलिक पादरीका शब्दहरूले नै दिन्छ। उनले अरू कुरा बाहेक यसो भने: “बाइबल स्टुडेन्ट्स [यहोवाका साक्षीहरू] भनौंदाहरूमाथि सरकारी प्रतिबन्ध लगाउने अब पृथ्वीमा एउटै देश छ र त्यो हो जर्मनी! . . . अडोल्फ हिटलर सत्तामा आएपछि उनीसित जर्मनीको क्याथोलिक सङ्घले फेरि बिन्ती गऱ्यो र परिणामस्वरूप हिटलरले यसो भने: ‘यी साँचो बाइबल स्टुडेन्ट्स भनौंदाहरूले [यहोवाका साक्षीहरू] समाजमा कचिङ्गल मात्र उठाउँछन्; . . . मेरो विचारमा तिनीहरू ढोंगीहरू हुन्; त्यो अमेरिकी जज रदरफर्डले हाम्रो जर्मनीका क्याथोलिकहरूको धज्जी उडाएको म सहने छैन; म जर्मनीमा [यहोवाका साक्षीहरूको] सङ्घलाई भङ्ग गर्दछु।’ ” यसपछि पादरीले “स्याबास!” भने।
१०. (क) प्रभुको दिनमा यहोवाका साक्षीहरूले के कस्ता सतावटको सामना गरेका छन्? (ख) मसीहीहरूले अदालतहरूमा धार्मिक स्वतन्त्रताका लागि सङ्घर्ष गर्दा अक्सर के परिणाम भएको छ?
१० सर्प र उसको सन्तानले प्रभुको दिनमा अभिषिक्त मसीहीहरू र तिनीहरूका सङ्गीहरूको विरुद्धमा लडाइँ गर्न कहिल्यै पनि छाडेका छैनन्। तीमध्ये कति त जेलमा थुनिए अर्थात् क्रूरतासाथ सताइए। (प्रकाश १२:१७) यी शत्रुहरूले ‘कानुनको सहारा लिएर षडयन्त्र रच्न’ बन्द गरेका छैनन्। तर यहोवाका जनहरूले पनि दृढतासाथ यो अडान लिएका छन्: “हामीले मानिसहरूको भन्दा परमेश्वरको आज्ञा अवश्य पालन गर्नु पर्छ।” (भजनसंग्रह ९४:२०, किङ्ग जेम्स भर्सन; प्रेरित ५:२९) सन् १९५४ मा वाच टावर पत्रिकाको रिपोर्टअनुसार “सत्तरीभन्दा बढी देशहरूले बितेका चालीस वर्षमा कुनै न कुनै समयमा यहोवाका साक्षीहरूलाई सताएका छन् अथवा तिनीहरूलाई गाह्रो पार्ने किसिमका नियमहरू बनाएका छन्।” तर जहाँ अदालतहरूमा आफ्नो धार्मिक स्वतन्त्रताका लागि सङ्घर्ष गर्न सम्भव भएको छ, त्यहाँ यी मसीहीहरूले सङ्घर्ष गरेका छन्। कतिपय देशहरूमा त ठूल-ठूला विजय पनि हासिल गरेका छन्। संयुक्त राज्य अमेरिकाको सर्वोच्च अदालतबाट मात्र यहोवाका साक्षीहरूले ५० वटा मुद्दा जितेका छन्।
११. येशूले आफ्नो उपस्थितिको चिह्नबारे भन्नु भएको कुन भविष्यवाणी प्रभुको दिनमा यहोवाका साक्षीहरूमाथि पूरा भएको छ?
११ येशूले सिजरको चीज सिजरलाई दिन अह्राउनु भएको थियो। (लूका २०:२५; रोमी १३:१, ७) यस आज्ञाको पालना गर्न जति महत्त्व यहोवाका साक्षीहरूले दिन्छन्, त्यति अरू कुनै पनि समूहले दिएको छैन। तापनि यतिका थुप्रै यहोवाका साक्षीहरूलाई नै अन्य देशहरूमा विभिन्न सरकारहरूले जेलमा थुनिदिएका छन्। यस्तो कार्य आजसम्मै अमेरिका, युरोप, अफ्रिका र एसियामा भइ रहेको छ। येशूले आफ्नो उपस्थितिको चिह्नबारे दिनु भएको महान भविष्यवाणीमा यी शब्दहरू पनि समाविष्ट छन्: “तब तिनीहरूले तिमीहरूलाई घोर शासनाको लागि सुम्पिदिनेछन्, र तिमीहरूलाई मार्नेछन्, औ मेरो नाउँको खातिर सबै जातिमध्ये तिमीहरू घृणित हुनेछौ।” (मत्ती २४:३, ९) प्रभुको दिनमा उक्त शब्दहरू निस्सन्देह यहोवाका साक्षीहरूमाथि पूरा भएका छन्।
१२. यूहन्नावर्गकाहरूले परमेश्वरका जनहरूलाई सतावटको सामना गर्ने बल कसरी प्रदान गरेका छन्?
१२ परमेश्वरका जनहरूले सङ्कष्ट भोग्नु पर्दा तिनीहरूलाई यूहन्नावर्गकाले बारम्बार बलियो तुल्याउन खोजेको छ। तिनीहरूले स्मर्नाका मसीहीहरूलाई येशूले भन्नु भएका शब्दहरूको निचोड सम्झाउने कोशिश गरेका छन्। उदाहरणका लागि, नाजीहरूको तर्फबाट सतावट सुरु हुँदा १९३३ र १९३४ को द वाचटावर मा यी लेखहरू प्रकाशित गरियो: मत्ती १०:२६-३३ मा आधारित “तिनीहरूसित नडराऊ”; दानिएल ३:१७, १८ मा आधारित “अग्निपरीक्षा”; र “सिंहको मुख” भन्ने लेख जसको मूल पद नै दानिएल ६:२२ थियो। यो पुस्तक पहिलो चोटि प्रकाशित भएको सन् १९८० को दशकमा पनि यहोवाका साक्षीहरूले ४० भन्दा बढी मुलुकहरूमा क्रूर सतावट भोगे। तर यस दशकभरि परमेश्वरका जनहरूलाई द वाचटावर पत्रिकाले “सतावटको बावजूद आनन्दित!” र “मसीहीहरूले सतावटको सामना धैर्यसाथ गर्छन्” भन्ने लेखहरूद्वारा बल प्रदान गऱ्यो। b
१३. स्मर्नाका मसीहीहरू जस्तै यहोवाका मसीही साक्षीहरू पनि सतावटको समक्ष किन भयभीत भएका छैनन्?
१३ साँच्चै नै यहोवाका मसीही साक्षीहरूले प्रतीकात्मक दश दिनका लागि शारीरिक सतावट र अन्य जाँचहरू भोगिरहेका छन्। तिनीहरू स्मर्नाका मसीहीहरू जस्तै भयभीत भएका छैनन्; हामी पनि पृथ्वीमा आपद्विपद् बढ्दै जाँदा भयभीत हुनु हुँदैन। हामी जस्तोसुकै सङ्कष्ट भोग्न तयार छौं; आनन्दपूर्वक हामी अरूहरूलाई हाम्रो ‘धनसम्पत्ति लुट्न’ दिन पनि राजी छौं। (हिब्रू १०:३२-३४) यदि हामीले परमेश्वरको वचन अध्ययन गऱ्यौं र त्यसलाई अपन्यायौं भने विश्वासमा दृढ भएर उभिन सक्नेछौं। तपाईंको निष्ठालाई यहोवाले सुरक्षित राख्न सक्नुहुन्छ र सुरक्षित राख्नु पनि हुनेछ भनेर विश्वस्त हुनुहोस्। “तिमीहरूका सारा फिक्री उहाँमाथि राखिदेओ, किनकि उहाँले तिमीहरूको फिक्री गर्नुहुन्छ।”—१ पत्रुस ५:६-११.
[फुटनोटहरू]
a यूहन्नाको मृत्युको करीब ६० वर्षपश्चात् ८६ वर्षीय पोलिकार्पले येशूमाथि विश्वास गर्न नछाडेको हुनाकारण उनलाई स्मर्ना मै जलाएर मारे। द मार्टियरडम अफ पोलिकार्प नामक एउटा सम्भवतः समकालीन लेखअनुसार पोलिकार्पलाई जलाउने दिन “महा विश्रामको दिन” थियो। तापनि काठ बटुल्ने काममा “यहूदीहरूले आफ्नो पुरानो बानी जनाउँदै ठूलो जोशका साथ” भाग लिएका थिए।
b द वाचटावर-का यी अङ्कहरू पनि हेर्नुहोस्: नोभेम्बर १, १९३३; अक्टोबर १ र १५, डिसेम्बर १ र १५, १९३४; मई १, १९८३.
[अध्ययनका लागि प्रश्नहरू]
[पृष्ठ ३९-मा भएको पेटी/चित्र]
धेरै वर्षदेखि इतिहासकारहरूले नाजी शासनभरि यहोवाका जर्मन साक्षीहरूको निष्ठाबारे प्रमाण प्रस्तुत गर्दै आएका छन्। इतिहासकार क्लोडिया कून्जको १९८६ मा प्रकाशित मदर्स इन द फादरलैन्ड नामक पुस्तकमा यसो भनिएको छ: “नाजी मतको विरोध गर्ने थुप्रै जर्मनहरू आफूले घृणा गरेको शासनमनि बाँच्न पनि सक्षम भए। . . . तथ्याङ्क र आदर्शको यो रंगमञ्चमा एकातिर थिए २०,००० यहोवाका साक्षीहरू। यिनीहरूले नाजी राष्ट्रप्रति आज्ञाकारी हुन एकमत भएर स्पष्टतः अस्वीकार गरे। . . . सबैभन्दा एकताबद्ध भएर विरोध गर्ने ती मानिसहरूको बलको आधार तिनीहरूको धर्म नै थियो। यहोवाका साक्षीहरूले सुरुदेखि नै नाजी शासनको कुनै पनि गतिविधिलाई सहयोग पुऱ्याएनन्। गेस्टापोले १९३३ मा तिनीहरूको प्रमुख कार्यालयलाई ध्वस्त पारिदियो र १९३५ मा चाहिं तिनीहरूमाथि सरकारी प्रतिबन्ध लगाइयो। तापनि यहोवाका यी साक्षीहरूले ‘हाइल हिटलर’ भन्न समेत इन्कार गरे। यिनीहरूमध्येका करिब आधा जतिलाई [धेरै जसो पुरुषहरू] निरोधन शिविरहरूमा पठाइए। हजार जना जति मारिए। अझ अर्को हजार जना जति १९३३ र १९४५ बीच मरे। . . . तर क्याथोलिक र प्रोटेस्टेन्टहरूले चाहिं हिटलरलाई सहयोग दिने प्रोत्साहन आफ्नै पादरीहरूबाट पाए। तिनीहरूले सो सहयोग नदिनुको अर्थ आफ्नै गिर्जा र राष्ट्रको आदेश उल्लंघन गरेको हुने थियो।”