सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

सर्पको शिर कुच्याउने

सर्पको शिर कुच्याउने

अध्याय ४०

सर्पको शिर कुच्याउने

दर्शन १४—प्रकाश २०:१-१०

विषय: अगाध खाँदमा शैतानको थुनाइ, सहस्र वर्षीय शासन, मानिसजातिको अन्तिम जाँच र शैतानको विनाश।

पूर्ति समयावधि: महासङ्‌कष्टको अन्तदेखि शैतानको विनाशसम्म

१. बाइबलको प्रथम भविष्यवाणी कसरी पूरा हुँदै आएको छ?

 के तपाईंलाई बाइबलको प्रथम भविष्यवाणीको सम्झना छ? स्वयं यहोवा परमेश्‍वरले सर्पलाई सम्बोधन गर्नु हुँदै त्यो भविष्यवाणी भन्‍नु भएको थियो: “तेरो र स्त्रीको बीचमा, र तेरो सन्तान र स्त्रीको सन्तानको बीचमा म दुश्‍मनी हालिदिनेछु। त्यसले तेरो शिर कुच्याउनेछ, र तैंले त्यसको कुर्कुच्चो डस्नेछस्‌।” (उत्पत्ति ३:१५) यसको चरम पूर्तिको बेला अब आएको छ! यहोवाको स्त्रीरूपी स्वर्गीय सङ्‌गठनको विरुद्धमा शैतानले लड्‌दै आएको युद्ध हामीले पहिल्याइ सक्यौं। (प्रकाश १२:१, ९) सर्पको पार्थिव सन्तान अर्थात्‌ त्यसको धर्म, राजनीति र व्यापार सबैले मिलेर स्त्रीको सन्तान येशू ख्रीष्ट र उहाँका १,४४,००० अभिषिक्‍त अनुयायीहरूलाई यहाँ पृथ्वीमा क्रूरतासाथ सताएका छन्‌। (यूहन्‍ना ८:३७, ४४; गलाती ३:१६, २९) शैतानले येशूलाई तडपाइ तडपाइ मारेको थियो। तर यो मृत्यु कुर्कुच्चोको चोटजस्तो मात्र भयो। परमेश्‍वरले आफ्नो विश्‍वासी पुत्रलाई तेस्रो दिनमै बिउँताउनु भयो।—प्रेरित १०:३८-४०.

२. सर्पलाई कसरी कुच्याइन्छ र सर्पको पार्थिव सन्तानलाई के हुन्छ?

तर सर्प र उसको सन्तानबारे नि? सा.यु. ५६-तिर प्रेरित पावलले रोमका मसीहीहरूलाई एउटा लामो पत्र लेखे। पत्रको अन्तमा उनले तिनीहरूलाई यसो भन्दै प्रोत्साहित पारे: “औ शान्तिको परमेश्‍वरले शैतानलाई चाँडैनै तिमीहरूका खुट्टामनि कुल्चनुहुनेछ।” (रोमी १६:२०) यो कुनै साधारण चोट हुनेछैन। शैतान कच्याककुचुक पारिनेछ! पावलले यहाँ युनानी शब्द सिनट्रिबो प्रयोग गरेका थिए जसको अर्थ हो पिनेर धूलोपीठो पार्नु, पैतालामनि कुल्चनु र कच्याककुचुक पारेर सम्पूर्णतः नाश गर्नु। सर्पको मानवीय सन्तानले चाहिं प्रभुको दिनमा ठूलो विपत्ति भोग्नेछ। यो विपत्ति पनि महासङ्‌कष्टमै समाप्त हुनेछ। त्यतिखेर महान बेबिलोन र संसारका राजनैतिक रीतिथितिहरूका साथै तिनीहरूका आर्थिक र सैनिक समर्थकहरू पनि नष्ट हुनेछन्‌। (प्रकाश १८ र १९ अध्यायहरू) यसप्रकार यहोवाले ती दुई सन्तानबीचको दुश्‍मनीलाई अन्त गर्नुहुन्छ। परमेश्‍वरकी स्त्रीको सन्तान सर्पको पार्थिव सन्तानमाथि विजयी हुन्छ! सर्पको सन्तान नामेट हुन्छ!

शैतान अगाध खाँदमा

३. यूहन्‍नाले शैतानलाई के हुन्छ भन्छन्‌?

तर शैतान र त्यसका प्रेतहरूलाई के हुनेछन्‌? यूहन्‍ना हामीलाई भन्छन्‌: “अनि अगाध खाँदको साँचो र एउटा ठूलो साङ्‌गलो हातमा लिएको एउटा दूत स्वर्गबाट ओर्लेर आएका मैले देखें। औ तिनले त्यस अजीङ्‌गरजस्तो जानवर, त्यो पुरानो सर्प, जो दियाबल र शैतान पनि हो, त्यसलाई पक्रेर एक हजार वर्षसम्म बाँधे, र हजार वर्ष भुक्‍तान नहोउञ्जेल त्यसले जाति जातिलाई फेरि नठगोस्‌ भनेर तिनले त्यसलाई अगाध खाँदमा फालिदिए। औ त्यसलाई बन्द गरेर त्यसमाथि छाप लगाए। त्यसपछि त्यो केही समयको निम्ति फुकाइनुपर्छ।”—प्रकाश २०:१-३.

४. अगाध खाँदको साँचो राख्ने स्वर्गदूत को हुन्‌ र हामीलाई यो कसरी थाह लाग्छ?

यी स्वर्गदूत को हुन्‌? यहोवाको प्रमुख शत्रुको यसप्रकार ठेगाना लाउन सक्ने दूत अवश्‍य अत्यन्त शक्‍तिशाली हुनुपर्छ। उनीसित “अगाध खाँदको साँचो र एउटा ठूलो साङ्‌गलो” छ। के यसले हामीलाई एउटा अघिल्लो दर्शनको सम्झना गराउँदैन र? गराउँछ। त्यस दर्शनमा सलहहरूको राजालाई “अगाध खाँदको दूत” भनिएको थियो! (प्रकाश ९:११) अतः हामीले यहाँ फेरि यहोवाको प्रमुख प्रमाणीकरणकर्ता अर्थात्‌ महिमायुक्‍त येशू ख्रीष्टलाई कार्यरत भएको देख्छौं। उहाँ नै ती प्रधानदूत हुनुहुन्छ जसले शैतानलाई स्वर्गबाट फालिदिनु भएको थियो। उहाँले नै महान बेबिलोनको न्याय गर्नु भएको थियो। आरमागेडोनमा “पृथ्वीका राजाहरू र तिनीहरूका सेनाहरू”को पनि उहाँले नै टुङ्‌गो लगाइ दिनु भयो। यसकारण अब शैतानलाई अगाध खाँधमा थुन्‍ने महाकार्य पनि उहाँले नै गर्नु हुनेछ! उहाँले यो काम कुनै अर्को स्वर्गदूतलाई सुम्पने कुरै आउँदैन।—प्रकाश १२:७-९; १८:१, २; १९:११-२१.

५. शैतान अर्थात्‌ दियाबललाई अगाध खाँदको स्वर्गदूतले के गर्छन्‌ र किन?

त्यो ठूलो रातो रङ्‌गको अजिङ्‌गरजस्तै पशुलाई स्वर्गबाट तल पृथ्वीमा फाल्दा त्यसलाई “वृद्ध साँप, दियाबल र शैतान . . . सारा संसारलाई ठग्ने” भनिएको थियो। (प्रकाश १२:३, ९) अब पक्रेर थुनिने बेलामा त्यसलाई फेरि “अजिङ्‌गर जस्तो जानवर, पुरानो सर्प, . . . दियाबल र शैतान” भन्दै त्यसको वर्णन गरिन्छ। यो कुख्यात घिच्चू, ठगाहा, निन्दक र विरोधीलाई साङ्‌गलोले बाँधेर “अगाध खाँदमा” फालिन्छ। त्यसले “जातिजातिलाई फेरि नठगोस्‌” भनेर अगाध खाँदको मुखलाई ठ्याम्मै बन्द गरिन्छ। शैतान यसरी हजार वर्षका लागि थुनिन्छ। गहिरो तहखानाभित्र थुनेर राखिएको कैदीजस्तै शैतान पनि यो समयावधिभित्र सम्पूर्णतः निस्क्रिय हुन्छ। त्यसले मानिसजातिमाथि कुनै प्रभाव पार्न सक्नेछैन। अगाध खाँदको दूतले शैतानलाई धार्मिकताको राज्यसित कुनै सम्पर्कनै राख्न नसक्नेगरी हटाउनु हुनेछ। मानिसजातिका लागि कस्तो आराम!

६. (क) प्रेतहरू पनि अगाध खाँदमै जान्छन्‌ भन्‍ने के प्रमाण छ? (ख) अब के सुरु हुन सक्छ र किन?

तर प्रेतहरूलाई के हुन्छ? तिनीहरूलाई पनि “न्यायको दिनसम्म जोगाएर” राखिएको छ। (२ पत्रुस २:४) शैतानलाई “भूतहरूको मालिक बालजिबुल” भनिन्छ। (लूका ११:१५, १८; मत्ती १०:२५) ती प्रेतहरूले धेरै समयदेखि शैतानसित मिलेर काम गर्दै आएका छन्‌। यसकारण तिनीहरूले पनि शैतानले भोग्ने सजाय भोग्नु के उपयुक्‍त नहोला र? धेरै नै अघिदेखि ती प्रेतहरू अगाध खाँदसित डराउँदै आएका छन्‌। एक पटक येशूले तिनीहरूको सामना गर्नु हुँदा तिनीहरूले “हामीलाई अगाध भडखालोमा जाने हुकूम नहोस्‌” भन्दै येशूसित बिन्ती गरेका थिए। (लूका ८:३१) तर शैतान अगाध खाँदमा फालिंदा त्यसका दूतहरू पनि त्यसका साथसाथै अगाध खाँदमा अवश्‍य फालिनेछन्‌। (यशैया २४:२१, २२-तुलना गर्नुहोस्‌।) शैतान र त्यसका प्रेतहरूलाई यसरी अगाध खाँदमा थुनेपछि येशू ख्रीष्टको सहस्र वर्षीय शासन आरम्भ हुन सक्नेछ।

७. (क) अगाध खाँदमा हुँदा शैतान र त्यसका प्रेतहरू कुन अवस्थामा हुन्छन्‌ र हामीलाई यो कसरी थाह हुन्छ? (ख) पाताल र अगाध खाँद के एउटै कुरा हो? (फुटनोट हेर्नुहोस्‌।)

के शैतान र त्यसका दूतहरू अगाध खाँदमा हुँदा सक्रिय हुनेछन्‌? त्यो चहकिलो रातो रङ्‌गको सात शिर हुने जानवरलाई नबिर्सनुहोस्‌ जो “हुनलाई त थियो, तर छैन, र सत्यानाशमा जानालाई अगाध खाँदबाट त्यो आउनलागेको छ।” (प्रकाश १७:८) अगाध खाँदमा हुँदा त्यो ‘थिएन।’ त्यो निस्क्रिय थियो। त्यो ‘अस्तित्वहीन’ अथवा मरेतुल्य थियो। यस्तैगरी, येशूबारे कुरा गर्दा पनि प्रेरित पावलले यसो भने: “पातालमा [अगाध खाँद, NW] को ओर्लन्छ? (अर्थात्‌ खीष्टलाई मरेकोबाट बिउँताउनालाई)।” (रोमी १०:७) हो, अगाध खाँदमा होउञ्जेल येशू मृतावस्थामा हुनुहुन्थ्यो। a त्यसैले शैतान र त्यसका प्रेतहरू पनि हजार वर्षसम्म मृतावस्थामाझैं निस्क्रिय हुनेछन्‌ भन्‍ने निष्कर्षमा पुग्नु मनासिब हो। धार्मिकताका प्रेमीहरूका लागि कस्तो राम्रो समाचार हो यो!

हजार वर्षका लागि न्यायाधीशहरू

८, ९. सिंहासनहरूमा बस्नेहरूबारे यूहन्‍नाले अब हामीलाई के भन्छन्‌ र यिनीहरू को हुन्‌?

हजार वर्षपश्‍चात्‌ शैतान थोरै समयका लागि अगाध खाँदबाट छाडिन्छ। तर किन? जवाफ दिनुअघि यूहन्‍नाले फेरि त्यो समयावधिको प्रारम्भतिर हाम्रो ध्यान आकृष्ट गर्छन्‌। उनी भन्छन्‌: “अनि मैले सिंहासनहरू र तीमाथि बस्नेहरूलाई देखें, र तिनीहरूलाई इन्साफ गर्ने अख्तियार दिइयो।” (प्रकाश २०:४क) सिंहासनहरूमा बसेर स्वर्गमा महिमित येशूसित राज्य गर्ने यी व्यक्‍तिहरू को हुन्‌?

यिनीहरू दानियलले वर्णन गरेका “पवित्र जनहरू” हुन्‌ जसले परमेश्‍वरको राज्यमा “मानिसका पुत्रजस्तै” व्यक्‍तिसित शासन गर्छन्‌। (दानियल ७:१३, १४, १८) यिनीहरू र यहोवाको सामु स्वर्गीय सिंहासनहरूमा बस्ने २४ प्राचीनहरू एकै हुन्‌। (प्रकाश ४:४) यिनीहरूकै समूहमा १२ प्रेरितहरू पनि सम्मिलित छन्‌ जोसित येशूले यो प्रतिज्ञा गर्नु भएको थियो: “म तिमीहरूलाई साँच्चै भन्दछु, तिमीहरू जो मेरोपछि लागेका छौ, नयाँ सृष्टिमा जब मानिसको पुत्र आफ्ना महिमाको सिंहासनमा बस्नेछ, तब तिमीहरू पनि इस्राएलका बाह्र कुलमाथि इन्साफ गर्दै बाह्रै सिंहासनमा बस्नेछौ।” (मत्ती १९:२८) यसमा पावल र कोरिन्थका विश्‍वासी मसीहीहरू पनि सम्मिलित छन्‌। (१ कोरिन्थी ४:८; ६:२, ३) यिनीहरूसितै लाओडिसियाको मण्डलीका विजयी सदस्यहरू पनि सामेल भएका छन्‌।—प्रकाश ३:२१.

१०. (क) यूहन्‍नाले अब १,४४,००० राजाहरूको वर्णन कसरी गर्छन्‌? (ख) यूहन्‍नाले हामीलाई योभन्दा अघि भनेको कुराअनुसार यी १,४४,००० राजाहरूमा को को सम्मिलित छन्‌?

१० “परमेश्‍वर र थुमामा पहिला फलहरू हुनालाई मानिसहरूमध्येबाट किनिएका” यी अभिषिक्‍त विजेताहरूका लागि १,४४,००० सिंहासनहरू तयार पारिन्छन्‌। (प्रकाश १४:१, ४) यूहन्‍ना अझ यसो भन्दै जान्छन्‌: “औ येशूको साक्षीको निम्ति, र परमेश्‍वरको वचनको निम्ति शिर काटिएकाहरू, र त्यस जनावरलाई र त्यसको मूर्ति पूजा नगर्नेहरू र त्यसको निशाना निधारमा र हातमा नलिनेहरूका आत्माहरूलाई मैले देखें।” (प्रकाश २०:४ख) यी राजाहरूमध्ये अभिषिक्‍त मसीही शहीदहरू पनि छन्‌। यहोवाले तिनीहरूको रगतको बदला कहिले लिनुहुनेछ, सो तिनीहरूले यहोवालाई पाचौं छाप खोल्ने बेलामा सोधेका थिए। त्यतिखेर तिनीहरू प्रत्येकलाई एक एकवटा सेतो वस्त्र दिएर अझ अलिक बेरसम्म पर्खन भनिएको थियो। तर अब भने राजाहरूका महाराजा र प्रभुहरूका प्रभुले तिनीहरूको बदला लिनु भएको छ। उहाँले महान बेबिलोनलाई उजाड पार्नु भएको छ, जाति जातिहरूको नाश गर्नु भएको छ र शैतानलाई अगाध खाँदमा थुनी दिनु भएको छ।—प्रकाश ६:९-११; १७:१६; १९:१५, १६.

११. (क) “शिर काटिएका” भन्‍ने अभिव्यक्‍तिको हामीले के अर्थ लाउनु पर्छ? (ख) जम्मै १,४४,००० जनहरूले एउटा बलिदानरूपी मृत्यु मरे भनी किन भन्‍न सकिन्छ?

११ के यी १,४४,००० शाही न्यायाधीशहरू सबैको नै “शिर काटिएको” थियो? शाब्दिक अर्थमा धेरै नै कमको। तापनि यस अभिव्यक्‍तिमा ती जम्मै अभिषिक्‍त मसीहीहरू सम्मिलित छन्‌ जो कुनै न कुनै रीतिले शहीद भएका थिए। b (मत्ती १०:२२, २८) आफ्नो वश चले त शैतानले अवश्‍य पनि तिनीहरू सबैको नै शिर काटी दिने थियो। तथापि येशूका जम्मै अभिषिक्‍त भाइहरू शहीद भएर मर्दैनन्‌। ती मध्ये धेरै जना त रोग अथवा बूढेसकालले गर्दा मर्छन्‌। तापनि तिनीहरू सबै नै यूहन्‍नाले अहिले देखेको समूहमै सम्मिलित छन्‌। तिनीहरू सबैको मृत्यु एकप्रकारको बलिदान हो। (रोमी ६:३-५) तिनीहरू कोही पनि संसारको सहभागी थिएनन्‌। यसले गर्दा तिनीहरू सबैलाई संसारले घृणा गऱ्‍यो। तिनीहरू संसारको नजरमा मरेतुल्य थिए। (यूहन्‍ना १५:१९; १ कोरिन्थी ४:१३) तिनीहरूमध्ये कसैले पनि त्यो जङ्‌गली जनावर अथवा त्यसको मूर्तिको पूजा गरेनन्‌। मर्ने बेलामा तिनीहरू कसैमाथि पनि जङ्‌गली जनावरको छाप पाइएन। तिनीहरू सबै विजयी भएर मरे।—१ यूहन्‍ना ५:४; प्रकाश २:७; ३:१२ १२:११.

१२. यूहन्‍नाले १,४४,००० राजाहरूबारे के भन्छन्‌ र तिनीहरू कुन बेलामा जीवित हुन्छन्‌?

१२ तर अब यी विजेताहरू पुनः जीवित हुन्छन्‌! यूहन्‍नाको बयान यसप्रकार छ: “तिनीहरू फेरि बाँचे, र ख्रीष्टसँग एक हजार वर्षसम्म राज्य गरे।” (प्रकाश २०:४ग) यसको अर्थ यी न्यायाधीशहरूको पुनरुत्थान राष्ट्रहरूको विनाश तथा शैतान र त्यसका प्रेतहरूलाई अगाध खाँदमा थुनेपछि मात्र हुन्छ भनिएको हो कि? होइन। तिनीहरूमध्ये धेरै जनाको पुनरुत्थान पहिले नै भइसकेको हुन्छ। येशूसित मिलेर तिनीहरूले आरमागेडोनमा जाति जातिहरूमाथि हमला गरिसकेका हुन्छन्‌। (प्रकाश २:२६, २७; १९:१४) प्रेरित पावलको व्याख्याअनुसार तिनीहरूको पुनरुत्थान १९१४-मा येशूको उपस्थिति प्रारम्भ हुनासाथै हुन्छ। केवल कसैकसैको पुनरुत्थान अरूहरूको भन्दा पहिले हुन्छ। (१ कोरिन्थी १५:५१-५४; १ थिस्सलोनिकी ४:१५-१७) अतः तिनीहरू केही समयको दौडानमा मेलैसित पुनःजीवित हुँदै जाँदा स्वर्गमा तिनीहरू प्रत्येकलाई अमरत्वको वरदान दिइन्छ।—२ थिस्सलोनिकी १:७; २ पत्रुस ३:११-१४.

१३. (क) ती १,४४,०००-जनहरूले शासन गर्ने हजार वर्षलाई हामीले कुन दृष्टिले हेर्नु पर्छ र किन? (ख) हिरापोलिसको बासिन्दा पापियासले पनि ती हजार वर्षलाई कुन दृष्टिले हेरे? (फुट नोट हेर्नुहोस्‌।)

१३ तिनीहरूको शासन र न्याय गर्ने काम हजार वर्षसम्म चल्नेछ। के यी शाब्दिक हजार वर्षहरू हुन्‌? अथवा के यसलाई हामीले प्रतीकात्मक वा कुनै अनिश्‍चित्‌ र लामो समयावधि ठान्‍नु पर्छ? हुन त “हजारौं” भन्‍नाले १ शमूएल २१:११-मा झैं एउटा विशाल र अनिश्‍चित सङख्याको बोध हुन सक्छ। तर यहाँ प्रकाशमा चाहिं “हजार” शाब्दिक हो किनकि प्रकाश २०:५-७-मा यसलाई “त्यो हजार वर्ष” भनेर तीन पटक [ NW] सङ्‌केत गरिएको छ। न्याय गर्ने यस समयलाई पावलले “एक दिन” भनेर सम्बोधन गरेका छन्‌: “उहाँले एक दिन ठहराउनुभएको छ, जुन दिनमा उहाँ आफूले नियुक्‍त गर्नु भएको मानिसद्वारा धर्मपूर्वक संसारको इन्साफ गर्नु हुनेछ।” (प्रेरित १७:३१) पत्रुसले पनि यहोवाका लागि एक दिन हजार वर्ष सरह हुन्छ भनेका छन्‌। अतः परमेश्‍वरको न्यायको दिन शाब्दिक हजार वर्षीय समयावधि हुनु मनासिब हो। c२ पत्रुस ३:८.

बाँकी मरेकाहरू

१४. (क) यूहन्‍नाले “बाँकी मरेकाहरू”बारे के कुरा थप्छन्‌? (ख) प्रेरित पावलले प्रयोग गरेका अभिव्यक्‍तिहरूले ‘बाच्ने’ सम्बन्धमा के प्रकाश पार्छन्‌?

१४ तर यी राजाहरूले कसमाथि न्याय गर्नेछन्‌? किनकि प्रेरित यूहन्‍नाले यहाँ यो थप कुरा भनेका छन्‌: (बाँकी मरेकाहरूचाहिं त्यो एक हजार वर्ष नबितुञ्जेल बाँचेनन्‌।) (प्रकाश २०:५क) तर यहाँ ‘बाँच्नु’ शब्दलाई फेरि त्यसको प्रसङ्‌गअनुसार बुझ्नु आवश्‍यक छ। यो शब्दको अर्थ बेग्लाबेग्लै परिस्थितिमा बेग्लाबेग्लै हुन सक्छ। उदाहरणका लागि, पावलले आफ्ना अभिषिक्‍त मसीहीहरूबारे यसो भनेका थिए: “जब तिमीहरू आफ्ना अपराध र पापमा मरेका थियौ, तब उहाँले तिमीहरूलाई सजीव पार्नुभयो।” (एफिसी २:१) हो, अभिषिक्‍त मसीहीहरू प्रथम शताब्दीमै पनि “सजीव” पारिएका थिए। येशूको बलिदानमाथि तिनीहरूको विश्‍वासको आधारमा तिनीहरू धार्मिक घोषित भए।—रोमी ३:२३, २४.

१५. (क) यहोवाका ईसा पूर्व साक्षीहरूले परमेश्‍वरसित कस्तो सम्बन्धको आनन्द उठाउन सके? (ख) अरू भेडाहरू कसरी ‘बाँच्ने’ छन्‌ र तिनीहरू पृथ्वीको पूर्ण रूपमा अधिकारी कहिले हुनेछन्‌?

१५ यस्तैप्रकार, यहोवाका मसीही पूर्व साक्षीहरू पनि परमेश्‍वरसित आफ्नो मित्रताको आधारमा धर्मी घोषित भएका थिए। अब्राहाम, इसहाक र याकूब शारीरिक तवरमा मरे तापनि तिनीहरूलाई “जिउँदा” नै ठानिन्थ्यो। (मत्ती २२:३१, ३२; याकूब २:२१, २३) तथापि, तिनीहरू र पुनरुत्थान हुने अरू सबै तथा आरमागेडोन पार गर्ने विश्‍वासी भेडाहरूको ठूलो भीड र सम्भवतः तिनीहरूको सन्तान सबैले नै मानव सिद्धता प्राप्त गर्न अझ बाँकी नै हुनेछ। यो काम ख्रीष्ट र उहाँका सह-शासक र पूजारीहरूद्वारा सहस्र वर्षीय न्यायको दिनको दौडान येशूको छुडौतीको बलिदानको आधारमा सम्पन्‍न हुनेछ। त्यस दिनको अन्तसम्म “बाँकी मरेकाहरू” पनि ‘बाँच्नेछन्‌’, अर्थात्‌ तिनीहरू सबै नै सिद्ध मानिसहरू बन्‍नेछन्‌। यस्ता सिद्ध मानिसहरूको हैसियतमा तिनीहरू एउटा अन्तिम जाँचमा उत्तीर्ण हुनुपर्छ। यस जाँचमा सफल भइसकेपछि परमेश्‍वरले तिनीहरूलाई सधैंभरि जीवित रहने योग्यको अथवा सम्पूर्णतः धर्मी घोषित गर्नु हुनेछ। तिनीहरूले यस प्रतिज्ञाको पूर्ति पूर्ण रूपमा अनुभव गर्नेछन्‌: “धर्मात्माहरूले देश अधिकार गर्नेछन्‌ र त्यसैमा सधैंभरि रहन्छन्‌।” (भजन ३७:२९) आज्ञाकारी मानिसजातिको भविष्य साँच्चै नै कति उज्यालो छ!

प्रथम पुनरुत्थान

१६. ख्रीष्टसित शासन गर्ने व्यक्‍तिहरूले अनुभव गर्ने पुनरुत्थानको वर्णन यूहन्‍नाले कसरी गर्छन्‌ र किन?

१६ अब ‘फेरि बाँच्ने र ख्रीष्टसँग एक हजार वर्षसम्म राज्य गर्नेहरू’ बारे यूहन्‍ना यसो भन्छन्‌: “पहिलो पुनरुत्थान यही हो।” (प्रकाश २०:५ख) यसलाई किन ‘पहिलो पुनरुत्थान’ भनिन्छ? किनभने प्रथमतः यो समयको हिसाबले “पहिलो पुनरुत्थान” हुन्छ; यसलाई अनुभव गर्ने व्यक्‍तिहरू “परमेश्‍वरमा र थुमामा पहिला फलहरू” हुन्‌। (प्रकाश १४:४) यो उपयोगिताको हिसाबले पनि प्रथम छ। किनकि यसमा सहभागी हुनेहरू येशूसित उहाँको स्वर्गीय राज्यमा सहशासक बन्छन्‌ र बाँकी मानव जातिमाथि न्याय गर्छन्‌। अन्तमा, गुणस्तरको कारण पनि यो पुनरुत्थान प्रथम श्रेणीको हो। बाइबलअनुसार येशू ख्रीष्टबाहेक यो प्रथम पुनरुत्थानमा भाग लिनेहरूलाई मात्र अमरत्व प्रदान गरिन्छ।—१ कोरिन्थी १५:५३; १ तिमोथी ६:१६.

१७. (क) अभिषिक्‍त मसीहीहरूको धन्यको आशाको वर्णन यूहन्‍ना कसरी गर्छन्‌? (ख) “दोस्रो मृत्यु” के हो र १,४४,००० विजेताहरूमाथि त्यसको किन कुनै “शक्‍ति हुँदैन”?

१७ यी अभिषिक्‍त जनहरूका कति धन्यको आशा! यूहन्‍ना पनि यसो भन्छन्‌: “पहिलो पुनरुत्थानमा भाग पाउने धन्य र पवित्र हो! यिनीहरूमाथि दोस्रो मृत्युको शक्‍ति हुँदैन।” (प्रकाश २०:६क) दोस्रो मृत्युको अर्थ नै विनाश हो अथवा पुनरुत्थान हुँदै नहुने गरी नष्ट हुनु हो। तर येशूले स्मर्नाका मसीहीहरूसित गर्नु भएको प्रतिज्ञाअनुसार “पहिलो पुनरुत्थानमा” भाग लिने यी विजेताहरू “दोस्रो मृत्यु” सित डराउनु पर्दैन। (प्रकाश २:११; २०:१४) यिनीहरूमाथि दोस्रो मृत्युको कुनै “शक्‍ति हुँदैन”। किनकि यी विजेताहरूले अमरत्व अथवा अविनाशीपन प्राप्त गरिसकेका हुनेछन्‌।—१ कोरिन्थी १५:५३.

१८. यूहन्‍नाले अब पृथ्वीका नयाँ शासकहरूबारे के भन्छन्‌ र तिनीहरूद्वारा के सम्पन्‍न हुनेछ?

१८ शैतानको शासनकालका पार्थिव राजाहरूभन्दा कति बेग्लै! यी राजाहरूले ज्यादासेज्यादा ५० अथवा ६० वर्षसम्म मात्र राज्य गर्न सकेका छन्‌। अधिकांशले एकाध साल मात्र शासन गरे। तिनीहरूमध्ये धेरैले मानवजातिलाई थिचोमिचो समेत गरे। यसबाहेक, यस्ता परिवर्तनशील शासकहरूको सधैं नै परिवर्तनशील कार्यप्रणालीहरू जाति जातिहरूका लागि कसरी लाभदायक हुन सक्थ्यो र? तर यसको ठीक विपरीत पृथ्वीका नयाँ शासकहरूबारे यूहन्‍ना यसो भन्छन्‌: “तिनीहरू परमेश्‍वर र ख्रीष्टका पूजाहारीहरू भएर एक हजार वर्षसम्म राज्य गर्नेछन्‌।” (प्रकाश २०:६ख) पूरै हजार वर्षसम्म येशूसित तिनीहरूले नै शासन गर्ने छन्‌। पूजारीहरूको हैसियतमा तिनीहरूले येशूको सिद्ध मानव बलिदानको लाभ अरूहरूलाई उपलब्ध गराउनेछन्‌। तिनीहरूले आज्ञाकारी मानिसहरूलाई आध्यात्मिक, नैतिक र शारीरिक सिद्धतातर्फ बढ्‌ने मदत दिनेछन्‌। तिनीहरूको शाही सेवाद्वारा एउटा यस्तो विश्‍वव्यापी मानव समाज स्थापित हुनेछ जसमा यहोवाको धार्मिकता र पवित्रता झल्कनेछ। हजार वर्षसम्मका लागि न्यायाधीशहरू भएर तिनीहरूले इच्छुक मानिसहरूलाई प्रेमपूर्वक अनन्त जीवनको लक्ष्यतर्फ लैजानेछन्‌।—यूहन्‍ना ३:१६.

अन्तिम जाँच

१९. हजार वर्षीय शासनको अन्तसम्म पृथ्वी र मानिसजातिको अवस्था कस्तो हुनेछ र येशूले अहिले के गर्नु हुन्छ?

१९ हजार वर्षीय राज्यको अन्तमा सारा पृथ्वी सुरुको अदनको बगैंचा जस्तै हुनेछ। त्यो स्वयं एउटा प्रमोदवन बन्‍नेछ। सिद्ध मानिसजातिलाई परमेश्‍वरको सामु मध्यस्थको काम गरी दिने पूजारीको खाँचो पर्नेछैन। आदमबाट आएको पापको नाउँ निशानै हुनेछैन। अन्तिम शत्रु मृत्यु नामेट हुनेछ। एउटै सरकारअन्तर्गत एउटा संसार सृजने परमेश्‍वरको उद्देश्‍यलाई ख्रीष्टको राज्यले पूरा गर्नेछ। तत्पश्‍चात्‌ येशूले “परमेश्‍वर अर्थात्‌ पितालाई राज्य सुम्पिदिनुहुनेछ।”—१ कोरिन्थी १५:२२-२६; रोमी १५:१२.

२०. अन्तिम जाँचको समय आउँदा यूहन्‍नाले के हुन्छ भन्छन्‌?

२० अब अन्तिम जाँचको समय आएको छ। अदनका प्रथम मानवहरू जस्तो नभएर मानिसजातिको यो सिद्ध संसार के आफ्नो निष्ठामा दृढ रहनेछ? यूहन्‍ना हामीलाई यसो भन्छन्‌: “अनि हजार वर्ष बितेपछि शैतान त्यसको कैदबाट छुट्‌नेछ, र पृथ्वीको चारै दिशामा भएका देश देशका मानिसहरूलाई ठग्न, अर्थात्‌ गोग र मागोगलाई लडाइँमा जम्मा गर्नालाई निस्केर आउनेछ। तिनका संख्या समुद्रका बालुवा जतिकै हुनेछ। तिनीहरूले सारा पृथ्वीभरि पवित्र जनहरूका छाउनीका वरिपरि र प्रिय शहरहरूलाई घेरे।”—प्रकाश २०:७-९क.

२१. शैतानले आखिरी पटक के प्रयास गर्नेछ र हजार वर्षीय शासनपछि पनि कोही कोही त्यसको पछि लागे भने हामी किन छक्क पर्नु हुँदैन?

२१ शैतानको यो आखिरी प्रयास कतिको सफल हुनेछ? त्यसले “पृथ्वीको चारै दिशामा भएका देश देशका मानिसहरूलाई” अर्थात्‌ “गोग र मागोगलाई” ठग्छ। तिनीहरूलाई “लडाइँ” तर्फ लैजान्छ। तर हजार वर्षसम्म यस्तो आनन्ददायी र लाभप्रद ईश्‍वरशासित शासनपश्‍चात्‌ पनि अब शैतानको पक्ष लिने कोही होला र? स्मरण रहोस्‌, अदनको प्रमोदवनमा जीवनको आनन्द उठाइरहेका सिद्ध आदम र हव्वालाई बहकाउन शैतान सफल भएको थियो। प्रथम विद्रोहको कुपरिणाम देखिसकेका स्वर्गीय दूतहरूलाई समेत त्यसले गलत बाटोतिर लैजान सक्यो। (२ पत्रुस २:४; यहूदा ६) अतः परमेश्‍वरको राज्यले हजार वर्षसम्म आनन्दपूर्ण शासन चलाइ सकेपछि पनि केही सिद्ध मानवहरू लोभिएर शैतानको पछिपछि लाग्छन्‌ भने हामी छक्क पर्नु हुँदैन।

२२. (क) “पृथ्वीका चारै दिशामा भएका देश देशका मानिसहरू” भन्‍नुको अर्थ के हो? (ख) विरोधीहरूलाई “गोग र मागोग” किन भनिन्छ?

२२ बाइबलले यी विरोधीहरूलाई “पृथ्वीको चारै दिशामा भएका देशदेशका मानिसहरू” भन्छ। यसको अर्थ त्यतिखेर मानिसजाति फेरि बेग्लाबेग्लै देश तथा राष्ट्रहरूमा विभाजित हुन्छ भनेको होइन। बरु तिनीहरूले आफूलाई यहोवाको धार्मिक र वफादार जनहरूबाट अलग पार्नेछन्‌। राष्ट्रहरूले आज देखाइरहेकै खराब मनोवृत्ति तिनीहरूले प्रदर्शित गर्नेछन्‌। तिनीहरूले इजकिएलको भविष्यवाणीका गोग र मागोगले झैं “खराब युक्‍ति निकाल्नेछन्‌”। तिनीहरूले पृथ्वीमा ईश्‍वरताशासित सरकारलाई खतम पार्ने कोशिश गर्नेछन्‌। (इजकिएल ३८:३, १०-१२) यसैकारण तिनीहरूलाई “गोग र मागोग” भनिन्छ।

२३. विरोधीहरूको सङ्‌ख्या “समुद्रको बालुवा सरह” हुन्छ भन्‍नुको अर्थ के हो?

२३ शैतानसित लागेर विरोध गर्नेहरूको सङख्या “समुद्रका बालुवा जतिकै” हुनेछ। अथवा कति जना? कुनै पूर्व निर्धारित सङ्‌ख्या छैन। (यहोशू ११:४; न्याय ७:१२-तुलना गर्नुहोस्‌।) शैतानका भ्रमात्मक चालहरूप्रति प्रत्येक व्यक्‍तिले के कस्तो प्रतिक्रिया व्यक्‍त गर्नेछ, त्यसैमा विरोधीहरूको कुल सङख्या भर पर्नेछ। तथापि तिनीहरू सबै मिलेर “पवित्र जनहरूका छाउनीको वरिपरि र प्रिय शहरलाई” समेत घेर्न सक्ने भएको हुनाले निःसन्देह तिनीहरूको सङ्‌ख्या निकै नै ठूलो हुनेछ।

२४. (क) “प्रिय शहर” के हो र त्यसलाई कसरी “घेर्न” सकिन्छ? (ख) “पवित्र जनहरूका छाउनी”-ले के लाई चित्रित गर्छ?

२४ यहाँ चर्चित “प्रिय शहर” उही शहर हुनुपर्छ जसबारे महिमावान येशू ख्रीष्टले प्रकाश ३:१२-मा आफ्ना अनुयायीहरूसित कुरा गर्नु भएको थियो। यसै शहरलाई उहाँले “मेरा परमेश्‍वरबाट स्वर्गदेखि तल आउने नयाँ यरूशलेम” भनेर सम्बोधन गर्नु भएको छ। तर यो एउटा स्वर्गीय संगठन हो। तसर्थ यसलाई पार्थिव सेनाहरूले कसरी ‘घेर्न’ सक्छन्‌? यिनीहरूले “पवित्र जनहरूका छाउनी”-लाई घेर्नेछन्‌। छाउनी प्रायः शहरबाहिर हुन्छ; यसकारण “पवित्र जनहरूको छाउनी”-ले यहाँ ती जनहरूलाई चित्रित गरेको हुनुपर्छ जो यस पृथ्वीमा अर्थात्‌ नयाँ यरूशलेमको स्वर्गीय स्थानबाहिर छन्‌। तिनीहरूले पनि यहोवाको शासन व्यवस्थालाई वफादारीसाथ समर्थन गर्छन्‌। अब यस्ता विश्‍वासी जनहरूमाथि शैतानले आक्रमण गर्दा प्रभु येशूको नजरमा त्यो स्वयं उहाँमाथि हमला गरे सरह हुन्छ। (मत्ती २५:४०, ४५) पृथ्वीलाई प्रमोदवन तुल्याउनमा नयाँ यरूशलेमको जे जति योगदान थियो, त्यसलाई “देश देशका मानिसहरूले” नामेट पार्न खोज्नेछन्‌। अतः तिनीहरूले “पवित्र जनहरूका छाउनी”-माथि आक्रमण गर्नुको अर्थ “प्रिय शहरमाथि” नै आक्रमण गर्नु हो।

आगो र गन्धकको कुण्ड

२५. “पवित्र जनहरूका छाउनी”-मा विरोधीहरूले गरेको आक्रमणको परिणाम यूहन्‍नाले कसरी बताउँछन्‌ र शैतानका लागि यसले के अर्थ राख्नेछ?

२५ के शैतानको यो आखिरी प्रयास सफल हुनेछ? पटक्कै हुनेछैन। हाम्रो दिनमा आत्मिक इस्राएलमाथि गोग र मागोगले गरेको आक्रमण जतिकै त्यो असफल हुनेछ! (इजकिएल ३८:१८-२३) परिणामको ज्वलन्त वर्णन गर्दै यूहन्‍ना भन्छन्‌: “र स्वर्गबाट आगो वर्षेर तिनीहरूलाई भस्म गर्‌यो। तिनीहरूलाई ठग्ने त्यो शैतान, आगो र गन्धकको कुण्डमा फालियो जहाँ त्यो जनावर र झूटा अगमवक्‍ताहरू पनि छन्‌।” (प्रकाश २०:९ख-१०क) यस पटक त्यो वृद्ध साँप अथवा शैतान अगाध खाँदमा फालिने मात्र होइन। त्यसलाई कुल्चेर धूलोपिठो पारिनेछ। त्यो आगोले भस्म भएझैं हुनेछ।

२६. “आगो र गन्धकको कुण्ड” साँच्चैको सन्ताप भोग्ने कुण्ड किन हुन सक्‍तैन?

२६ हामीले बुझिसकेका छौं “आगो र गन्धकको कुण्ड” सन्ताप भोग्ने कुनै वास्तविक ठाउँ हुन सक्‍तैन। (प्रकाश १९:२०) शैतानले सदासर्वदा शास्ति भोग्नु पर्ने हो भने त्यसलाई यहोवाले सधैंभरि जीवित राख्नु पर्छ। तर जीवन वरदान हो, सजाय होइन। साथै, पापको सजाय त मृत्यु हो र बाइबलअनुसार मृतकहरूले कुनै प्रकारको पीडा महसुस गर्दैनन्‌। (रोमी ६:२३; उपदेशक ९:५, १०) यस बाहेक पाताल [हेडिस, NW] सँगसँगै मृत्यु पनि सोही आगो र गन्धकको कुण्डमा फालिन्छ भनेर हामी अलिक पछि पढ्‌नेछौं। तर जरुर पनि मृत्यु र पातालले कुनै प्रकारको सन्ताप महसुस गर्न सक्‍तैनन्‌!—प्रकाश २०:१४.

२७. सदोम र गमोरामाथि घटेको कुराबाट हामीले आगो र गन्धकको कुण्डको अर्थ कसरी बुझ्न सक्छौं?

२७ यी जम्मै कुराहरूबाट पक्का हुन्छ कि आगो र गन्धकको कुण्ड एउटा प्रतीक मात्र हो। आगो र गन्धक भन्‍नासाथै हामी प्राचीन सदोम र गमोरामाथि घटेको कुरा सम्झन्छौं। तिनीहरूको घोर दुष्टताको कारण परमेश्‍वरले तिनीहरूलाई नष्ट पार्नु भएको थियो। तिनीहरू नष्ट हुने बेलामा “परमप्रभुले आकाशबाट सदोम र गमोरामाथि आगो र गन्धक वर्षाउनुभयो।” (उत्पत्ति १९:२४) यी दुई शहरमाथि आइपरेको विपत्तिलाई “आगोको अनन्त दण्ड” भनिन्छ। (यहूदा ७) तापनि ती दुई शहरहरूले अनन्त सन्ताप चाहिं भोगेनन्‌। बरु तिनीहरू आफ्ना भ्रष्ट बासिन्दाहरू सँगसँगै सदाका लागि नामेट तथा खतम भए। ती शहरहरू आज देखिंदैनन्‌ नता तिनीहरू ठीक कुन ठाउँमा थिए, सो ठम्याउनै सकिन्छ।

२८. आगो र गन्धकको कुण्ड के हो र पाताल [हेडिस, NW] र अगाध खाँदभन्दा यो कुण्ड किन बेग्लै छ?

२८ यसै अनुरूप, स्वयं बाइबलले आगो र गन्धकको कुण्डको अर्थ यसरी व्याख्या गर्छ: “अग्नि कुण्ड दोस्रो मृत्यु हो।” (प्रकाश २०:१४) स्पष्टतः यो अग्नि कुण्ड र येशूले उल्लेख गर्नु भएको गिहेन्‍ना एउटै हो। यी दुवै नै दुष्टहरूले सदासर्वदा सन्ताप भोग्ने ठाउँ होइनन्‌। बरु त्यहाँ दुष्टहरू नष्ट हुन्छन्‌। (मत्ती १०:२८) यस्तो गरी नष्ट हुन्छन्‌ कि त्यहाँबाट पुनरुत्थान पाउने आशा नै हुँदैन। यसैकारण त मृत्यु, पाताल र अगाध खाँदका साँचोहरूको चर्चा गरिए तापनि आगो र गन्धकको कुण्ड खोल्ने साँचोबारे चाहिं सङ्‌केत समेत छैन। (प्रकाश १:१८; २०:१) स्पष्टतः त्यसले आफ्ना कैदीहरूलाई कहिल्यै मुक्‍त पार्ने छैन।—मर्कूस ९:४३-४७-तुलना गर्नुहोस्‌।

सदा सर्वदै शासना भोग्नेछन्‌

२९, ३०. यूहन्‍नाले दियाबल, जङ्‌गली जनावर र झूटो अगमवक्‍ताबारे के भन्छन्‌ र यसको हामीले कुन अर्थ लाउनु पर्छ?

२९ दियाबल, जङ्‌गली जनावर र झूटा अगमवक्‍तालाई सङ्‌केत गर्दै यूहन्‍ना अब हामीलाई यसो भन्छन्‌: “तिनीहरूले दिन-रात सदासर्वदै शासना भोग्नेछन्‌।” (प्रकाश २०:१०ख) यसको अर्थ के हुन सक्छ? यसभन्दा अघि उल्लेख गरिसक्यो कि जङ्‌गली जनावर र झूटो अगमवक्‍ता जस्ता प्रतीकहरू तथा मृत्यु र पातालले वास्तविक शासना भोग्ने छन्‌ भन्‍नु तार्किक हुनेछैन। अतः सदासर्वदा शैतानले पनि शासना भोग्नेछ भनी विश्‍वास गर्ने हाम्रो कुनै आधार छैन। त्यो त नष्ट हुनेछ।

३० यहाँ “शासना” भनेर अनुवादित युनानी शब्द बासानाइजो-को अर्थ “कसीमा घसेर (धातुहरूलाई) जाँच गर्नु” हो। दोस्रो अर्थ हो “शास्ति ख्वाएर केरकार गर्नु।” (द न्यु थेयर्स ग्रीक इङ्‌गलिश लेक्सीकन्‌ अफ द न्यु टेस्टामेन्ट) तर प्रसङ्‌गलाई दृष्टिगत गर्दा चाहिं शैतानमाथि गरिने कारबाही, यहोवाको शासनको औचित्य र धार्मिकतासम्बन्धी उठेको विवादलाई सदाका लागि झूटो साबित गर्ने कसी वा आधार हुनेछ। सार्वभौम शासनसम्बन्धी त्यो विवाद सदाका लागि टुङ्‌गिनेछ। तत्पश्‍चात्‌ यहोवाको सार्वभौमिकताको विरुद्धमा फेरि चुनौती उठाएमा त्यसलाई लामो समयसम्म जाँच गरेर झूटो साबित गर्न आवश्‍यक हुनेछैन।—भजन ९२:१, १५-तुलना गर्नुहोस्‌.

३१. शैतान अर्थात्‌ दियाबलले भोग्ने सजाय बुझ्न हामीलाई “शासना” शब्दसित सम्बन्धित दुइटा युनानी शब्दहरूले कसरी मदत दिन्छ?

३१ यसबाहेक, अर्को सम्बन्धित शब्द बासानिस्टेस अर्थात्‌ “शास्ति खुवाउने व्यक्‍ति”-को अर्थ बाइबलमा “बन्दीपाले” पनि हो। (मत्ती १८:३४, किङ्‌गडम इन्टरलिन्यर) यसर्थ, शैतान पनि अग्नि कुण्डमा सदाका लागि बन्द हुनेछ। ऊ त्यहाँ बाट कहिल्यै मुक्‍त हुने छैन। अन्ततः, युनानी सेप्टुआगिन्ट-मा [जससित यूहन्‍ना राम्ररी परिचित थिए] सम्बन्धित शब्द बासानोस-लाई प्राणघातक अपमान बोध गराउन प्रयोग गरिएको छ। (इजकिएल ३२:२४, ३०) तसर्थ, आगो र गन्धकको कुण्डमा शैतानले भोग्ने सजाय अपमानजनक हुनेछ। ऊ सदाका लागि मर्नेछ। उसका कामहरू पनि ऊ सँगसँगै खतम हुनेछन्‌।—१ यूहन्‍ना ३:८.

३२. प्रेतहरूले के सजाय भोग्नेछन्‌ र हामी यो कसरी बुझ्छौं?

३२ तर यस पदमा फेरि पनि प्रेतहरूको चर्चा गरिएको छैन। के तिनीहरू हजार वर्षको अन्तमा शैतानसित मुक्‍त हुनेछन्‌? के तिनीहरूले पनि शैतान सँगसँगै अनन्त मृत्युको सजाय भोग्ने छन्‌? प्राप्त प्रमाणअनुसार हो तिनीहरू मुक्‍त गराइनेछन्‌ र त्यसपछि तिनीहरूले अनन्त मृत्युको सजाय पनि भोग्नेछन्‌। भेडा र बाख्राहरूको उखानमा येशूले बाख्राहरू “शैतान र त्यसका दूतहरूका लागि तयार गरिएको अनन्त आगोमा” जानेछन्‌ भन्‍नु भएको थियो। (मत्ती २५:४१) यो “अनन्त आगो” पक्कै पनि त्यो आगो र गन्धकको कुण्ड हो जसमा शैतान फालिनेछ। दियाबलका स्वर्गदूतहरू त्यो सँगसँगै स्वर्गबाट निष्कासित भएका थिए। स्पष्टतः हजार वर्षको सुरुमा पनि तिनीहरू शैतानसँगै अगाध खाँदमा थुनिएको हुनुपर्छ। अनि स्वभाविकतः तिनीहरू आगो र गन्धकको कुण्डमा शैतानसँगै नष्ट हुनेछन्‌।—मत्ती ८:२९.

३३. अन्तमा उत्पत्ति ३:१५-को एकएक कुरा कसरी पूरा हुनेछ र अब यहोवाले यूहन्‍नाको ध्यान कतातिर खिंच्नु हुन्छ?

३३ यसप्रकार, उत्पत्ति ३:१५-मा उल्लिखित भविष्यवाणीको एकएक कुरा पूरा हुन्छ। शैतान अग्नि कुण्डमा फालिंदा त्यो एउटा मृत सर्पजस्तै हुनेछ। त्यसको शिर फलामको कुर्कुच्चोले कच्याककुचुक भए जस्तै हुनेछ। त्यो र त्यसका प्रेतहरू सदाका लागि नामेट हुनेछन्‌। त्यसउप्रान्त प्रकाशको पुस्तकमा तिनीहरूको चर्चा समेत गरिंदैन। तिनीहरूलाई यसरी हटाउने भविष्यवाणी गरी सक्नु भएपछि यहोवाको आत्माले एउटा अर्को विषयतिर ध्यानआकर्षित गराउँछ। यस विषयमा पार्थिव आशा राख्ने सबैले विशेष रुचि लिन्छन्‌, अर्थात्‌: “राजाहरूको महाराजा” तथा “बोलावट भएका र चुनिएका र विश्‍वासीहरू”को स्वर्गीय शासनबाट मानवजाति कसरी लाभान्वित हुनेछन्‌? (प्रकाश १७:१४) जवाफका लागि यूहन्‍नाले हामीलाई पुनः हजार वर्षीय शासनको आरम्भ मै लिएर जान्छन्‌।

[फुटनोटहरू]

a अन्य शास्त्रपदहरूअनुसार येशू मृतावस्थामा हुनु हुँदा उहाँ पातालमा [हेडिसमा, NW] हुनुहुन्थ्यो। (प्रेरित २:३१) तथापि, पाताल र अगाध खाँद भन्‍नाले सधैं एउटै ठाउँ बोध हुन्छ भन्‍नु मिल्दैन। किनभने अगाध खाँदभित्र जङ्‌गली जनावर र शैतान गए तापनि पातालमा चाहिं मानिसहरू मात्र जान्छन्‌ भनी उल्लेख गरिएको देखिन्छ। पुनरुत्थान नहोउञ्जेलसम्म तिनीहरू त्यहाँ मृत्युको निद्रामा हुन्छन्‌।—अय्यूब १४:१३; प्रकाश २०:१३.

b मानिसहरूको शिर काट्‌न रोममा परम्परागत बञ्चरो (युनानी, पिलेकस) प्रयोग गरिन्थ्यो। हालाँकि यूहन्‍नाको दिनमा धेरै जसो तरवारको प्रयोग हुन्थ्यो। (प्रेरित १२:२) यसैकारण, यहाँ प्रयोग गरिएको युनानी शब्द पेपेलेकिस्मिनोन्‌ (“बञ्चरोले काटिएका)-को अर्थ “मारिएको” हो।

c चौथो शताब्दीको इतिहासकार युसेब्यसअनुसार हिरापोलिसको बासिन्दा पापियासले पनि ख्रीष्टले हजार वर्षसम्म राज्य गर्नु हुनेछ भनी विश्‍वास गर्थे। (हालाँकि यस मामिलामा युसेब्यसको पनि उनीसित सहमति थिएन।) साथै, आफ्नो बाइबलसम्बन्धी केही ज्ञान पापियासले प्रकाशकै पुस्तकका लेखक यूहन्‍नाका केही चेलाहरूबाट पाएका थिए भनिन्छ।—द हिस्ट्ररी अफ दी चर्च, युसेब्यस, तेस्रो खण्ड, ३९.

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ २९३-मा भएको चित्र]

मृतसागर। सदोम र गमोराको सम्भाव्य स्थल

[पृष्ठ २९४-मा भएको चित्र]

“तेरो र स्त्रीको बीचमा, र तेरो सन्तान र स्त्रीको सन्तानको बीचमा म दुश्‍मनी हालिदिनेछु। त्यसले तेरो शिर कुच्याउनेछ, तैंले त्यसको कुर्कुच्चो डस्नेछस्‌”