पाठ ५७
यहोवा यर्मियालाई प्रचार गर्न पठाउनुहुन्छ
यहोवा परमेश्वरले यहुदाका मानिसहरूको भविष्यवक्ता हुन यर्मियालाई रोज्नुभयो। उहाँले यर्मियालाई यहुदाका मानिसहरूलाई प्रचार गर्न र तिनीहरूलाई खराब काम छोड्नू भनेर चेतावनी दिन पठाउनुभयो। यर्मियाले भने: ‘यहोवा म सानै छु। म मानिसहरूसँग बोल्न पनि जान्दिनँ।’ उहाँले भन्नुभयो: ‘नडराऊ। के भन्ने हो, म तिमीलाई सिकाउँछु। म तिमीलाई मदत गर्नेछु।’
यहोवा परमेश्वरले यर्मियालाई त्यहाँका मुखियाहरूलाई जम्मा गर्न र तिनीहरूको अगाडि माटोको भाँडो फुटाएर यसो भन्न लगाउनुभयो: ‘म यरुसलेमलाई यसैगरि नाश गर्नेछु।’ यर्मियाले परमेश्वरले भन्नुभएझैँ गर्दा ती मुखियाहरू असाध्यै रिसाए। पासुहर नाम गरेका पुजारीले तिनलाई पिटे र ठिँगुरोमा हाले। रातभरि तिनी चल्नै सकेनन्। भोलिपल्ट बिहान पासुहरले तिनलाई निकालिदिए। यर्मियाले भने: ‘अब म सक्दिनँ। म तपाईँबारे प्रचार गर्न छोड्छु।’ के तिनले साँच्चै प्रचार गर्न छोडे त? अहँ, छोडेनन्। यसबारे केही समय सोचेपछि तिनले भने: ‘यहोवा परमेश्वरको वचन मभित्र आगो थुनिएझैँ भयो। म प्रचार नगरी बस्नै सक्दिनँ।’ तिनले मानिसहरूलाई चेतावनी दिन बन्द गरेनन्।
वर्षौँ बित्यो अनि यतिबेला यहुदामा नयाँ राजाले शासन गर्दै थिए। पुजारीहरू र झूटा भविष्यवक्ताहरूलाई यर्मियाको सन्देश पटक्कै मन पर्दैनथ्यो। तिनीहरूले शासकहरूलाई भने: ‘यो मान्छे मारिनुपर्छ।’ यर्मियाले भने: ‘तपाईँहरूले मलाई मार्नुभयो भने तपाईँहरूमाथि एक जना निर्दोष व्यक्तिको रगतको दोष लाग्नेछ। मैले तपाईँहरूलाई मेरो आफ्नो होइन तर यहोवा परमेश्वरको वचन सुनाएको हुँ।’ यो कुरा सुनेपछि शासकहरूले भने: ‘यो मानिसलाई मृत्युदण्ड दिनु उचित हुँदैन।’
यर्मियाले प्रचार गर्न छोडेनन् र भारदारहरू क्रोधित भए। तिनीहरूले यर्मियालाई मार्न राजालाई भने। राजाले तिनीहरूलाई
यर्मियासित जे गर्न चाहन्छौ, त्यही गर भने। तिनीहरूले यर्मिया मरून् भनेर तिनलाई हिलैहिलो भएको गहिरो इनारमा फालिदिए। यर्मिया हिलोमा भासिन थाले।एबेद-मेलेक नाम गरेका दरबारका एक अफिसरले राजालाई भने: ‘भारदारहरूले यर्मियालाई इनारमा खसालिदिएका छन्। हामीले तिनलाई त्यहीँ छोडिदियौँ भने तिनी मर्नेछन्।’ त्यसपछि राजाले एबेद-मेलेकलाई ३० जना मानिस लिएर जान र यर्मियालाई इनारबाट निकाल्न भने। परिस्थिति जस्तोसुकै भए तापनि यर्मियाले प्रचार गर्न छोडेनन्। के हामी पनि तिनीजस्तै हुनुपर्दैन र?
“तिमीहरू मेरा चेला भएकाले सबै मानिसले तिमीहरूलाई घृणा गर्नेछन्। तर जसले अन्तसम्म सहन्छ, उसले उद्धार पाउनेछ।”—मत्ति १०:२२