पाठ ९०
येसु गलगथामा मर्नुहुन्छ
मुख्य पुजारीहरूले येसुलाई राज्यपालको महलमा लगे। पिलातसले सोधे: ‘तिमीहरूले यस मानिसलाई के आरोपमा मकहाँ ल्यायौ?’ तिनीहरूले भने: ‘यसले आफू राजा हुँ भनिरहेको छ!’ पिलातसले येसुलाई सोधे: “के तिमी यहुदीहरूको राजा हौ?” येसुले जवाफ दिनुभयो: “मेरो राज्य यस संसारको होइन।”
त्यसपछि पिलातसले येसुलाई गालिलका शासक हेरोदकहाँ पठाए। हेरोदले येसुमा केही दोष भेट्टाउँछन् कि भनेर तिनले त्यसो गरेका थिए। तर हेरोदले येसुमा कुनै दोष भेट्टाउन सकेनन्। त्यसैले तिनले येसुलाई पिलातसकहाँ फिर्ता पठाए। त्यसपछि पिलातसले मानिसहरूलाई भने: ‘हेरोद र मैले यस मानिसमा कुनै दोष भेट्टाएनौँ। त्यसैले म उसलाई छोडिदिन्छु।’ तब भीड यसो भन्दै कराउन थाल्यो: ‘यसलाई मार्नुहोस्! यसलाई मार्नुहोस्!’ सिपाहीहरूले येसुलाई कोर्रा लगाए, थुके र हिर्काए। तिनीहरूले उहाँको शिरमा काँडाको मुकुट पहिराइदिए र गिज्याउँदै भने: “हे यहुदीहरूका राजा, प्रणाम!” पिलातसले भीडलाई फेरि भने: ‘यस मानिसमा मैले कुनै गल्ती भेट्टाइनँ।’ तर तिनीहरू यसो भन्दै चिच्याए: “त्यसलाई खम्बामा टाँग्नुहोस्!” तब पिलातसले येसुलाई खम्बामा टाँग्न तिनीहरूको हातमा सुम्पिदिए।
तिनीहरूले येसुलाई गलगथा भन्ने ठाउँमा लगे अनि उहाँको हातखुट्टामा किला ठोकेर उहाँलाई खम्बामा टाँगे। येसुले यसरी प्रार्थना गर्नुभयो: “हे बुबा, तिनीहरूलाई क्षमा गर्नुहोस्। किनकि तिनीहरू जे गर्दै छन्, त्यो तिनीहरू जान्दैनन्।” मानिसहरूले येसुलाई खिसी गर्दै भने: ‘तँ परमेश्वरको छोरा होस् भने यातनाको खम्बाबाट ओर्लेर आइज! आफैलाई बचा!’
येसुसँगै खम्बामा टाँगिएको एक जना अपराधीले उहाँलाई भन्यो: “तपाईँ राजा बन्नुभएपछि मलाई सम्झनुहोस्।” तब येसुले उसलाई यस्तो प्रतिज्ञा गर्नुभयो: “तिमी मसित प्रमोदवनमा हुनेछौ।” दिउँसो सारा देशभरि तीन घण्टा अन्धकार छायो। येसुकी आमा मरियम र उहाँका केही चेला खम्बाको नजिकै उभिरहेका थिए। येसुले युहन्नालाई मरियमलाई आफ्नै आमा सम्झेर ख्याल राख्नू भन्नुभयो।
अन्तमा येसुले भन्नुभयो: “सबै पूरा भयो!” उहाँले आफ्नो शिर झुकाएर अन्तिम सास लिनुभयो। त्यतिबेला एउटा शक्तिशाली भूकम्प गयो। मन्दिरको पवित्र कोठा र महापवित्र कोठालाई छुट्ट्याउने बाक्लो पर्दा टुप्पोदेखि फेदसम्म च्यातिएर दुई फ्याक
भयो। एक जना सैनिक अफिसरले भने: ‘यिनी साँच्चै परमेश्वरका छोरा रहेछन्।’“परमेश्वरका प्रतिज्ञाहरू जतिसुकै भए तापनि ती ख्रिष्टद्वारा ‘हुन्छ’ भएका छन्।”—२ कोरिन्थी १:२०